विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग पाँच) खण्ड एक
इ. परमेश्वरका वचनहरूलाई तिरस्कार गर्नु
आज हामी यसअघिकै सङ्गतिलाई जारी राख्नेछौँ, जसले “तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन्” भन्ने ख्रीष्टविरोधीहरूको दसौँ प्रकटीकरणलाई सम्बोधन गरेको थियो। यस विषयवस्तुलाई तीन खण्डमा विभाजन गरिएको छ। पहिलो दुइटा सङ्गति गरिसकिएका छन्, र आज हामी ख्रीष्टविरोधीहरू परमेश्वरका वचनहरूलाई तिरस्कार गर्छन् भन्ने तेस्रो खण्ड सङ्गति गर्नेछौँ। यसअघि, यस पक्षबारे केही प्रकटीकरण र भनाइहरूबारे सङ्गति गरिएको थियो, जस्तै ख्रीष्टविरोधीहरू कसरी परमेश्वरका वचनहरूलाई शङ्का गर्छन्, तिनलाई विश्वास गर्दैनन्, तीप्रति जिज्ञासाले भरिएका हुन्छन्, र तिनीहरूमा कसरी विश्वासको कुनै पनि तत्त्व हुँदैन र केवल शङ्का, जाँच र अनुमान मात्र हुन्छन्। छोटकरीमा भन्नुपर्दा, ख्रीष्टविरोधीहरू परमेश्वरका वचनहरूलाई सत्यता मान्दैनन्, न त तिनलाई अभ्यास नै गर्छन्। मामलाहरू सामना गर्नुपर्दा, तिनीहरू परमेश्वरका वचनहरूअनुसार अभ्यासका सिद्धान्तहरू खोज्दैनन्। हृदयमा, तिनीहरू बारम्बार परमेश्वरका वचनहरूप्रति शङ्का, प्रतिरोध, र इन्कार गर्छन्। यी सबैलाई ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरू तिरस्कार गर्नुका प्रकटीकरणहरू मान्न सकिन्छ। आज हामी ख्रीष्टविरोधीहरूले ठ्याक्कै कसरी परमेश्वरका वचनहरू तिरस्कार गर्छन् भनेर चिरफार गर्न परमेश्वरका वचनहरूप्रति ख्रीष्टविरोधीहरूका अझ गहन र विशिष्ट मनोवृत्ति र कार्यहरूबारे थप सङ्गति गर्नेछौँ। ख्रीष्टविरोधीहरूले कसरी परमेश्वरका वचनहरू तिरस्कार गर्छन् भन्ने सन्दर्भमा, हामी एक-एक विषयवस्तु सङ्गति गर्नेछौँ। के यो तरिका बढी प्रस्ट हुँदैन र? (हुन्छ।) यदि मैले साधारण तरिकाले सङ्गति गर्नुपर्यो, र तिमीहरूमा निश्चित बुझ्ने क्षमता, पर्याप्त सामर्थ्य, र आत्मिक बुझाइ थियो, र तिमीहरूले प्राय: परमेश्वरका वचनहरूबाट ज्योति प्राप्त गर्थ्यौ भने, मैले यसअघि जे सङ्गति गरेँ त्यो नै वास्तवमा तिमीहरूको लागि पर्याप्त हुनेथ्यो। तर धेरैजसो मानिसहरूमा परमेश्वरका वचनहरू बुझ्ने क्षमता नै हुँदैन; तिनीहरू परमेश्वरका वचनहरूलाई बुझ्नुपर्ने सत्यताको रूपमा लिने स्तरमा पुगेकै हुँदैनन्। त्यसकारण, हामीले एक-एक विषयवस्तु सङ्गति गर्नुपर्छ। यस विषयलाई विशिष्टीकृत रूपमा केही स-साना खण्डहरूमा विभाजित गरिएको छ।
क. ख्रीष्टविरोधीहरूले स्वेच्छाचारी रूपमा परमेश्वरका वचनहरूलाई छेडछाड गर्छन् र अर्थ्याउँछन्
पहिलो विषयवस्तु ख्रीष्टविरोधीहरूले स्वेच्छाचारी रूपमा परमेश्वरका वचनहरूलाई छेडछाड गर्छन् र अर्थ्याउँछन् भन्ने हो। यसअघि, हामीले केही विशेष उदाहरणहरूमार्फत यस पक्षबारे सङ्गति गरेका छौँ, तर लक्षित र विस्तृत चिरफार नगरी संक्षिप्त रूपमा मात्र सङ्गति गर्यौँ। ख्रीष्टविरोधीहरूले स्वेच्छाचारी रूपमा परमेश्वरका वचनहरूलाई छेडछाड गर्नु र अर्थ्याउनुका प्रकटीकरणहरू के-के हुन्? यस विषयवस्तुका सम्बन्धमा, ख्रीष्टविरोधीहरूले कस्तो व्यवहार गर्छन्? ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरूप्रति यस्तो व्यवहार देखाउन र यस्ता कार्यहरू अपनाउन सक्नुले, तिनीहरूको प्रकृतिको दृष्टिकोणबाट, तिनीहरू हृदयमा परमेश्वरका वचनहरू सत्यता हुन्, ती पवित्र र रिस उठाउन नसकिने छन् भनी विश्वास गर्दैनन् भन्ने जनाउँछ। परमेश्वरले सत्यताका वचनहरूको जुनसुकै पक्ष व्यक्त गर्नुभए पनि, मानिसहरूलाई ती सामान्य वा गहन जस्तोसुकै लागे पनि, त्यो परमेश्वरका वचनहरू नै हो, त्यो सत्यता नै हो, र त्यो छुट्ट्याउनै नमिल्नेगरी तिनीहरूको जीवन प्रवेश, स्वभाव रूपान्तरण, र मुक्तिसित जोडिएको हुन्छ। तर ख्रीष्टविरोधीहरूले यसलाई यो तरिकाले हेर्दैनन्; तिनीहरू हृदयमा यसबारे सचेत हुँदैनन्, न त तिनीहरूमा यस्तो चेतना वा बुझाइ नै हुन्छ। तिनीहरूले परमेश्वरका वचनहरू सत्यता हुन् भनी विश्वास गर्दैनन्, न त आफ्नो जीवन प्रवेशको लागि परमेश्वरका वचनहरूको ठूलो महत्त्वलाई नै चिन्छन्। त्यसको उल्टो, तिनीहरूले परमेश्वरका वचनहरू बाहिरबाट हेर्दा मानव वचनहरूजस्ता मात्र र निकै साधारण देखिने विश्वास गर्छन्। परमेश्वरका अनुयायी, परमेश्वरको घर, र मण्डली सबैले तिनलाई “परमेश्वरका वचनहरू” भनेको कारणले मात्र ती अति महत्त्वपूर्ण देखिन्छन्। तर वास्तवमा, बाहिरबाट हेर्दा, परमेश्वरका वचनहरू मानिसहरूले अक्सर बोलिरहने साधारण वाक्यांशहरूजस्ता मात्र देखिन्छन्। शाब्दिक रूपमा, यी वचनहरूमा मानव भाषाका तत्त्वहरू छन्, तिनमा मानव भाषाका तर्क, सोच, र शब्दावली छन्, जसमा केही बोलीचालीका शब्दहरू, टुक्काहरू, भनाइहरू, र दुई-अंशीय उखानहरूसमेत पर्छन्। ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरूलाई व्यक्तिले कल्पना गरेजस्तो भव्य, अगम्य, वा गहन कुराको रूपमा, वा स्वर्गबाट आएका पौराणिक धर्मशास्त्रहरूको रूपमा हेर्दैनन्। तिनीहरूको लागि, ती सरल र साधारण मात्र हुन्छन्। तसर्थ, धेरै सूक्ष्मजाँचपछि, तिनीहरू अन्ततः हृदयमा एउटा निर्क्योलमा पुग्छन्: यी वचनहरू केवल सरल भाषा हुन्, यी निकै व्यावहारिक छन्, यी विश्वासीहरूले पढ्नुपर्ने कुराहरू हुन्, र यी व्यक्तिको व्यवहार र आस्थामा मदत गर्न सक्ने वचनहरू हुन्। धेरै पढेपछि, तिनीहरू यही निष्कर्षमा पुग्छन्। कतिपय ख्रीष्टविरोधी र अहम्वादीहरूले पनि परमेश्वरका वचनहरू लिन्छन् र एकैपटकमा धेरै अध्याय र पृष्ठहरू पढ्छन्। कतिपयले त एक महिनामै “वचन देहमा देखा पर्नुहुन्छ” भन्ने पुस्तकसमेत सुरुदेखि अन्त्यसम्म पूरै पढ्छन्, जसले तिनीहरूको मन र सोचमा गहन छाप पार्छ। तिनीहरूले केही आत्मिक शब्दावलीहरू, परमेश्वरको बोलीको भाव र शैली, साथै परमेश्वरका अलग-अलग चरणका वचनहरूको विषयवस्तुबारेसमेत सामान्य बुझाइ प्राप्त गर्छन्। पढिसकेपछि, तिनीहरूले यसो भन्छन्, “परमेश्वरका वचनहरू ठिकठिकै मात्र छन्। मैले ती सबै एकपटकमै पढेर परमेश्वरको छ-हजार वर्षे व्यवस्थापन योजनाको साधारण विषयवस्तु बुझेको छु। त्यसकारण, परमेश्वरका वचनहरू त्यति गहन छैनन्। परमेश्वरका वचनहरूलाई उचालेर सत्यताको स्तरमा पुर्याउनु, र मानिसहरूको जीवन प्रवेशको लागि अत्यावश्यक कुरा ठान्नु अलि चरमता हो जस्तो देखिन्छ।” त्यसकारण, तिनीहरूले यी वचनहरूलाई जसरी हेरे पनि, परमेश्वरका वचनहरूबारे तिनीहरूको हृदयको अन्तिम निर्क्योल यही हुन्छ कि ती वचनहरू मानिसहरूले कल्पना गरेजस्तो गहन वा बुझ्न गाह्रो छैनन्। शिक्षित र आँखाहरू भएको जोकसैले तिनलाई बुझ्न सक्छन्। बारम्बार पढेपछि पनि तिनीहरूले परमेश्वरका वचनहरूबाट मानिसहरूले बुझ्नुपर्ने विभिन्न सत्यताहरू चिन्न र बुझ्न, अनि तीबाट अन्तर्दृष्टि, भरणपोषण, र सहयोग प्राप्त गर्न नसक्ने मात्र नभई, तिनीहरूलाई परमेश्वरका वचनहरू सत्यता र स्वर्गका धर्मशास्त्रहरूभन्दा धेरै पर छन् भन्ने पनि लाग्छ। यस्तो निष्कर्षमा पुगेपछि, ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरूलाई झनै बढी तिरस्कार गर्छन्। तिनीहरू परमेश्वरका वचनहरू यति मात्र हुन्, परमेश्वर यति मात्र हुनुहुन्छ, र सत्यता भनेको यो मात्र हो भन्ने विश्वास गर्छन्। यस्तो मनोवृत्ति र बुझाइले, परमेश्वरका वचनहरू र “वचन देहमा देखा पर्नुहुन्छ” भन्ने पुस्तकप्रति ख्रीष्टविरोधीहरूको भित्री अडानले तिनीहरूलाई परमेश्वरका वचनहरूलाई र सत्यतालाई झनै तिरस्कार गर्ने तुल्याउँछ। तिनीहरूले आफ्नो ज्ञान र बुद्धि प्रयोग गर्दै, र साथमा आफ्ना स्मरण र चलाखीपनमा भरोसा गरेर यी वचनहरूका विषयवस्तु र तथाकथित सिद्धान्तहरू, र तिनमा प्रयोग भएका केही भाव, शैली, र सामान्य अभिव्यक्ति र टुक्काहरू भएका शब्दावलीहरू तीव्र गतिमा बुझ्छन्। त्यसपछि, तिनीहरूले आफूले सबथोक हासिल गरेको र आफूसँग सबै कुरा भएको महसुस गर्छन्। यस्तो बुझाइ र मनोवृत्तिले तिनीहरूलाई हृदयमा परमेश्वरका वचनहरूलाई झनै मनोमानी रूपमा तिरस्कार गर्ने र सवाल उठाउने साथै परमेश्वरको पहिचान र सारबारे झनै शङ्का गर्ने तुल्याउँछ।
ख्रीष्टविरोधीहरूको प्रकृति हेर्दा, यो देख्न सकिन्छ कि तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन्, र तिनीहरूले सकारात्मक कुराहरू तिरस्कार गर्छन्, र परमेश्वरको नम्रता र गुप्तता, अनि परमेश्वरको विश्वसनीयता, वास्तविकता, र प्रेमिलोपन तिरस्कार गर्छन्। यो तिरस्कारको श्रृङ्खलाले ख्रीष्टविरोधीहरूलाई अचेतन र स्वाभाविक तवरमा केही वाकवाकलाग्दा कार्यहरू गराउँछ जसलाई परमेश्वरले घिनाउनुहुन्छ र निन्दा गर्नुहुन्छ। यी कार्यहरूमा स्वेच्छाचारी रूपमा परमेश्वरका वचनहरूलाई छेडछाड गर्ने र अर्थ्याउने कार्यहरू पर्छन्। छेडछाड गर्नुले के जनाउँछ? ख्रीष्टविरोधीहरू परमेश्वरका वचनहरूमा सत्यता हुन्छ र परमेश्वरका वचनहरूले मानिसहरूलाई जीवन प्रदान गर्न सक्छन् भनेर विश्वास गर्दैनन्, र यी वचनहरू मान्छेले बाँच्नको लागि भरोसा गर्ने जग र मान्छेको प्रगतिको दिशा र मार्ग हुन् भनेर त झनै विश्वास गर्दैनन्। त्यसकारण, तिनीहरू परमेश्वरले किन यी तरिकाले बोल्नुहुन्छ भनेर बुझ्दैनन्, न त तिनीहरू परमेश्वरले किन यस्ता वचनहरू विशेष सन्दर्भमा बोल्नुहुन्छ भनेर नै जान्दछन्, र तिनीहरू परमेश्वरले किन यी विशेष विषयवस्तुहरू बोल्नुहुन्छ भन्नेबारे त झनै अनभिज्ञ हुन्छन्। यी विषयवस्तुहरू कसरी आए, परमेश्वरले के सोच्नुहुन्छ, र यी वचनहरू बोल्ने क्रममा मानिसहरूमा के देख्ने, के हासिल गर्ने, र के हुन दिने उद्देश्य राख्नुहुन्छ भन्ने सन्दर्भमा, साथै—यी वचनहरूमा—परमेश्वरले हासिल गर्ने उद्देश्य राख्नुभएका सबै कुराहरू, उहाँका अभिप्रायहरू, र सत्यताका सन्दर्भमा, ख्रीष्टविरोधीहरू पूर्णतया अनभिज्ञ र अज्ञानी हुन्छन्—यस सम्बन्धमा तिनीहरू ज्ञानहीन आम मानिसजस्तै हुन्। त्यसकारण, तिनीहरू हृदयमा परमेश्वरले यो वाक्यांश यस तरिकाले नभन्नुपर्थ्यो, त्यो वाक्य यसपछि आउनुपर्छ, यस वाक्यलाई यस तरिकाले भन्नुपर्छ, त्यस अनुच्छेदमा यस्तो भाव वा त्यस्तो आरोहअवरोह हुनुपर्छ, यो शब्द चयन गलत छ, र त्यो शब्द परमेश्वरको पहिचानलाई ख्याल नगर्ने र त्योसँग असुहाउँदो छ भन्ने महसुस गर्छन्, र यसरी तिनीहरूले आफ्ना रायहरू निर्माण गर्छन्। तिनीहरूको नजरमा, परमेश्वरका वचनहरू यस संसारको कुनै पनि चर्चित वा महान् व्यक्तिका कामजति राम्रा छैनन्। तिनीहरूलाई परमेश्वरको वाणी पर्याप्त मात्रामा मिहिन छैन, त्यो शब्दहरूको थुप्रो मात्र हो, र नजिकबाट सूक्ष्मजाँच गर्दा, केही वचनहरू मानव व्याकरण र शब्दका नियमहरूअनुरूप हुँदैनन् भन्ने महसुस हुन्छ। “यी वचनहरूमा कसरी सत्यता हुन सक्छ? यी कसरी परमेश्वरका वचनहरू हुन सक्छन्? ती कसरी सत्यता हुन सक्छन्?” ख्रीष्टविरोधीहरूले हृदयमा अनुमान लगाउनु र मनन गर्नुको साथसाथै शङ्का र निन्दा पनि गरिरहेका हुन्छन्। यस्तो मनोवृत्ति, यस्ता सोचहरू, र परमेश्वरका वचनहरूमाथि यस्तो दृष्टिकोण बोकेर, ख्रीष्टविरोधीहरूले आफ्ना दुष्ट पन्जाहरू तयार पार्छन्।
मलाई केही वर्षअघि भजन समूहमा एउटा घटना घटेको याद छ। तिनीहरू मण्डलीमा गाउनको लागि परमेश्वरका वचनहरूको एउटा अत्यावश्यक अनुच्छेदको सङ्गीत रचना गर्न चाहन्थे। रचनाको क्रममा, तिनीहरूले परमेश्वरको वाणी र शब्द सङ्ख्या लयसँग नमिलेको पाए; शब्दरचनाको प्रत्येक हरफमा धेरै शब्दहरू थिए। यसअलावा, पूरै गीतको लयलाई परमेश्वरका वचनहरूसँग जोड्दा, त्यसले शब्दहरू अति धेरै र लामो बनाउँथ्यो। अनि, तिनीहरूले के समाधान निकाले त? तिनीहरूले एउटा उपाय भेट्टाए: तिनीहरूले प्रस्ट अर्थ नबदलिनेगरी परमेश्वरका वचनहरूका केही वाक्यांश र शब्दावलीहरू हेरफेर गरे—उदाहरणको लागि, चार अक्षरी टुक्कालाई दुई अक्षरी शब्दमा परिणत गर्ने, वा लामो, अनावश्यक, र बकवास वाक्यहरूलाई मेटाउने काम गरे। यस सिद्धान्तलाई पछ्याएर, तिनीहरूले परमेश्वरका वचनहरूको सम्पादित संस्करणमा सङ्गीत भरे र गाउनको लागि त्यसलाई मण्डलीमा प्रसारित गरे। धेरैजसो अलमल्ल मानिसहरूले त्यसलाई परमेश्वरका वचनहरूको भजन भन्ठाने, तर यस्तो अनुच्छेद बिलकुलै परमेश्वरको वचन थिएन भनेर कसलाई थाहा थियो र? त्यो त ख्रीष्टविरोधीहरूद्वारा स्वेच्छाचारी रूपमा परिमार्जित र सङ्क्षेपित, छेडछाड र हेरफेर गरिएको अनुच्छेद थियो। पछि, जब एउटा कार्यक्रमको लागि यस भजनलाई तयार पारिँदै थियो, मैले उक्त भजन परमेश्वरका वचनहरूको कुन अध्यायबाट छानिएको हो भनेर सोधेँ। तिनीहरूले मलाई त्यो कुनै विशेष अध्यायको पहिलो अनुच्छेद भएको बताए। मैले त्यो अनुच्छेद फेला पारेँ र त्यसलाई भजन सङ्ग्रहमा भएकोसँग तुलना गरेँ, र त्यसबाट म निकै चकित भएँ। भजन सङ्ग्रहको उक्त अनुच्छेद परमेश्वरका वचनहरूको अध्यायबाट छानिएको खण्ड हो भनिएको थियो, तर त्यसलाई चिन्नै नसकिनेगरी हेरफेर गरिएको थियो। त्यो वाणीको भाव पूरै हराएको थियो, धेरै महत्त्वपूर्ण वचनहरू छुटेका थिए, वाणीको विषयवस्तु भद्रगोल भएको थियो, साथै शब्दहरूको अनुक्रमसमेत उल्टो पारिएको थियो। यदि यो अनुच्छेद फलानो अध्यायबाट लिइएको हो भनी कसैले पनि मलाई नभनेको भए, मलाई लाग्दैन कि यो कुन अध्यायबाट लिइएको हो भनेर कसैले पनि थाहा पाउन सक्थ्यो; यो मूल अनुच्छेदसँग बिलकुलै मिल्दैनथ्यो। बाहिरबाट हेर्दा, यी मानिसहरूले आफ्नो कर्तव्य गरिरहेका थिए: परमेश्वरका वचनहरूमा सङ्गीत भरेर सबैलाई गाउन र अपनाउन दिएपछि, परमेश्वरका वचनहरूले निरन्तर रूपमा मानिसहरूलाई डोर्याउन र मार्गदर्शन गर्न सक्थे, र यसबाट मानिसहरूलाई परमेश्वरका वचनहरूमा प्रवेश गर्न मदत मिल्न सक्थ्यो। यो कस्तो गजबको कार्य थियो! तर ख्रीष्टविरोधीहरूमा परमेश्वरको डर मान्ने हृदय हुँदै नहुने भएकोले, तिनीहरूले परमेश्वरका वचनहरूलाई साधारण मानिसहरूले कुराकानी गर्दा बोलेका शब्दहरूकै रूपमा लिए, र स्वेच्छाचारी रूपमा तिनलाई मेटाउने र छेडछाड गर्ने काम गरे। एउटा पनि प्रश्न नसोधी र कसैको पनि अनुमति वा सहमति नलिई—वा कसैबाट अख्तियारी प्राप्त गर्ने काम त झनै नगरी—तिनीहरूले परमेश्वरका वचनहरूलाई पूर्ण रूपमा परिवर्तन गरे, तैपनि मानिसहरूलाई भने तिनीहरूले आफूले आफ्नो कर्तव्य गरिरहेको, र यसरी परमेश्वरका वचनहरूमा सङ्गीत भरेको विश्वास दिलाए। यो कस्तो व्यवहार र तरिका हो? यस्तो व्यवहार र यस्तो तरिकामा लाग्ने व्यक्तिको स्वभाव कस्तो हुन्छ? जो यस्तो विधि अपनाउँछन्, जो परमेश्वरका वचनहरूलाई यस्तो मनोवृत्तिले हेर्छन्, के तिनीहरूले परमेश्वरका वचनहरूलाई हेर्ने तरिकामा तिनीहरूको हृदयभित्र वास्तवमा कुनै डर हुन्छ? के तिनीहरूले परमेश्वरका वचनहरूलाई प्रिय ठान्छन्? के तिनीहरूले परमेश्वरका वचनहरूलाई सत्यताको रूपमा लिन्छन्? परमेश्वरका वचनहरूप्रतिको तिनीहरूको आदररहित र सामान्य मनोवृत्तिलाई हेर्दा, तिनीहरूले परमेश्वरका वचनहरूलाई प्रिय नठान्ने मात्र नभई, तिनलाई खेलौनाको रूपमा समेत लिन्छन्, र लहडैलहडमा यतिकै तिनलाई हेरफेर गरिदिन्छन्। के परमेश्वरका वचनहरूप्रतिको तिनीहरूको मनोवृत्तिले परमेश्वर स्वयम्प्रतिको तिनीहरूको मनोवृत्तिलाई जनाउँदैन र? (जनाउँछ।) यो ठ्याक्कै एउटै कुरा हो। परमेश्वरका वचनहरूले परमेश्वर स्वयम्लाई जनाउँछन्; ती परमेश्वरको अभिव्यक्ति, उहाँको स्वभावको अभिव्यक्ति, र उहाँको सारको प्रकटीकरण हुन्। यदि मानिसहरूले परमेश्वरका वचनहरूप्रति यति आदररहित र लापरवाह व्यवहार गर्छन् भने, तिनीहरूले परमेश्वरलाई कस्तो व्यवहार गर्छन् भनेर भनिरहनै पर्दैन। यसले धेरै कुरा बताउँछ।
मानिसहरू बाहिरी रूपमा परमेश्वरलाई पछ्याउँछन्, उहाँको निम्ति त्याग गर्छन्, समर्पित हुन्छन्, र कठिनाइ सहन्छन्, तर परमेश्वरका वचनहरूप्रति तिनीहरूको मनोवृत्ति अत्यन्तै आदररहित र सामान्य हुन्छ। ख्रीष्टविरोधीहरूले “वचन देहमा देखा पर्नुहुन्छ” भन्ने पुस्तकलाई सुन्दर तरिकाले सजाउन, कपडामा बेर्न, र सबैभन्दा सुरक्षित स्थानमा राख्न पनि सक्छन्। तर यसले के प्रमाणित गर्न सक्छ? के यसले तिनीहरूले परमेश्वरका वचनहरूलाई प्रिय ठान्छन्, तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय हुन्छ भन्ने देखाउन सक्छ र? के यी देखावटी कार्यहरूले परमेश्वरका वचनहरूप्रति तिनीहरूका आदररहित मनोवृत्तिलाई छोप्न सक्छन् र? सक्दैनन्। जबजब तिनीहरूले परमेश्वरका वचनहरू पढ्छन्, तिनीहरू सधैँ तिनका केही शब्द, अभिव्यक्ति, र भावहरू हेरफेर गर्न चाहन्छन्। अनि कतिपय ख्रीष्टविरोधीहरू कुन हदसम्म दुस्साहसी हुन्छन्? जब तिनीहरूले परमेश्वरका वचनहरूमा आफ्ना धारणाहरूसँग नमिल्दो कुनै कुरा भेटाउँछन्, वा तिनीहरूलाई कुनै अनुचित शब्द प्रयोग गरिएको छ वा व्याकरण मिलेको छैन भन्ने लाग्छ, वा तिनीहरूलाई कुनै विरामचिन्ह नै गलत छ भन्ने लाग्छ, तब तिनीहरूले परमेश्वरका वचनहरूमा विरामचिन्ह राख्न नमिलेको, अनुचित शब्द चयन गरेको, वा बेमनासिब लाग्ने भनाइ रहेको कुरा सारा संसारले थाहा पाऊन् भन्ने कामना गर्दै, उक्त मामलालाई चर्को सोरले उद्घोष गर्दै बढाइचढाइ गर्नेछन्। तिनीहरूले उपहास र तिरस्कारी भावले यो कुरा फैलाउँछन्। यस्तो लाग्छ, यी क्षणहरूमा, तिनीहरूले अन्ततः परमेश्वरका वचनहरूमा त्रुटिहरूको प्रमाण, फाइदा उठाउने मौका, र खोट भेटाएको ठान्छन्, र तिनीहरू अन्ततः परमेश्वरका वचनहरूमा पनि गल्तीहरू हुन्छन् र परमेश्वर सिद्ध हुनुहुन्न भनेर ढुक्क हुन्छन्। के यो ख्रीष्टविरोधी स्वभाव होइन र? ख्रीष्टविरोधीहरू परमेश्वरका वचनहरूमा गल्ती र त्रुटिहरू भेटाउने उद्देश्य राख्छन्; यो शत्रुताको मनोवृत्ति हो, समर्पण र स्वीकारको मनोवृत्ति होइन। ख्रीष्टविरोधीहरूले स्वेच्छाचारी रूपमा परमेश्वरका वचनहरूलाई छेडछाड गर्ने र अर्थ्याउनेबारे भन्नुपर्दा, के भर्खरै उल्लेख गरिएको भजन समूहमा घटेको घटनालाई परमेश्वरका वचनहरूलाई छेडछाड गरेको मान्न सकिन्छ? (सकिन्छ।) ल भन् त, कस्तो व्यक्तिले यति स्वेच्छाचारी रूपमा परमेश्वरका वचनहरूलाई हेरफेर गर्छ होला? के तिनीहरूमा परमेश्वरको कुनै डर हुन्छ? (हुँदैन।) यो कस्तो स्वभाव हो? पहिलो कुरा, के तिनीहरूले परमेश्वरका वचनहरूलाई परमेश्वरका वचनहरूको रूपमा लिन्छन्? (लिँदैनन्।) त्यसोभए तिनीहरूले परमेश्वरका वचनहरूलाई केको रूपमा लिन्छन्? तिनीहरूले तिनलाई मानव शब्दहरूको रूपमा लिन्छन्। मानिसहरूको अनुभवात्मक गवाहीका शब्दहरू मिलेका छैनन् वा अधुरा छन् भने तिनलाई हेरफेर गर्नु स्वीकार्य होला, तर परमेश्वरका वचनहरूलाई पनि त्यसै गर्ने आँट गर्नु, यो कस्तो प्रकृतिको कुरा हो? के यो परमेश्वरको डर मान्ने हृदयबिना मनोमानी रूपमा र लापरवाहीपूर्वक कार्य गर्नु होइन र? स्वेच्छाचारी रूपमा परमेश्वरका वचनहरूमाथि टिप्पणी गर्ने र तिनलाई हेरफेर गर्ने, र आफ्ना विचार वा दृष्टिकोणसँग नमिल्नेबित्तिकै तिनलाई परिवर्तन गर्ने आँट गर्नु—के यो गम्भीर प्रकृतिको कुरा होइन र? (हो।)
परमेश्वरका वचनहरूलाई छेडछाड गर्नमा अरू को संलग्न छ? सुसमाचार प्रचार गर्ने क्रममा, केही सुसमाचार स्विकार्ने सम्भावना भएकाहरू परमेश्वरका वचनहरूको सम्पर्कमा आउँछन् र तिनीहरूले परमेश्वरको भाव, शैली, उहाँको बोल्ने दृष्टिकोण, र त्यसमा प्रयोग हुने शब्द र सर्वनामहरूसमेत, र अन्य धेरै पक्षहरूबारे विभिन्न धारणाहरू बनाउँछन्। फरकफरक मानिसहरू सबैका फरकफरक धारणाहरू हुन्छन्; फरक सम्प्रदायका मानिसहरूका फरकफरक रुचि र मागहरू हुन्छन्। सुसमाचार समूहका कतिपय सदस्यहरूले यसो भन्छन्, “यस तरिकाले सुसमाचार प्रचार गर्न गाह्रो छ! परमेश्वरका कतिपय वचनहरू अति कठोर छन्; कतिपय वचनहरू हेर्दा त परमेश्वरले मानिसहरूलाई सरापिरहनुभएजस्तो देखिन्छ। तिनीहरू बिलकुलै नम्र छैनन्, तिनमा प्रेम छैन, र ती सबै दैनिक प्रयोजनका भाषा हुन्। कति वचनहरू त विशेष रूपले निश्चित जातिहरूप्रति लक्षित हुन्छन्, जबकि कतिपयले चाहिँ रहस्यहरू खोल्छन्—मानिसहरूलाई यी कुनै पनि कुरा स्वीकार्य लाग्दैनन्! यी वचनहरू सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूको लागि परमेश्वरको नयाँ काम स्विकार्नमा अवरोध बनेका छन्। हामी के गरौँ?” अनि कसैले भन्छ, “मसँग एउटा समाधान छ। सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूले यी वचनहरूको कारण परमेश्वरको नयाँ काम स्विकार्न सक्दैनन् भने, तिनलाई किन नमेटाउने? मानिसहरूले स्विकार्न अनिच्छुक वचन र विषयवस्तुहरू छन् भने, एउटै वाक्य नै भए पनि, ती सबैलाई चिन्ह लगाउने, र छाप्ने क्रममा तिनलाई हटाइदिने। यसो गरियो भने, सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूले ती पढ्दा, त्यसमा तिनीहरूको स्वभिमानमा चोट पुर्याउने वा तिनीहरूको चित्त दुखाउने कुनै पनि वचनहरू हुनेछैनन्, न त तिनीहरूका धारणाहरूसँग नमिल्ने कुनै कुरा नै हुनेछन्। परमेश्वरका सबै वचनहरू उचित हुनेछन्, ती वचन स्विकार्नेहरूमा कुनै पनि धारणाहरू हुनेछैनन्, र तिनीहरूले सहज रूपमा परमेश्वरको नयाँ काम स्विकार्न सक्नेछन्।” सुसमाचार समूहका कतिपयले वास्तवमै यसो गरे, तिनीहरूले माथि नसोधी वा माथिको अनुमतिसमेत नलिई यी सङ्क्षेपित र छेडछाड गरिएका परमेश्वरका वचनहरूका पर्चा छापेर व्यापक रूपमा वितरण गरे। काममा आफूलाई सहज होस् भनेर, अनि अझ बढी मानिसहरू प्राप्त गर्न, आफ्नो कार्य सामर्थ्य देखाउन, र आफ्नो कर्तव्यमा बफादार देखिन, तिनीहरूले यो विधि रचे र यसलाई पुस्तकको रूपमा छापेर वास्तविकतामा समेत परिणत गरे। तर यो पुस्तक “वचन देहमा देखा पर्नुहुन्छ” भन्ने पुस्तकभन्दा पूर्ण रूपमा फरक छ। के यो परमेश्वरका वचनहरूलाई छेडछाड गर्ने विधि होइन र? (हो।) के परमेश्वरका वचनहरूलाई छेडछाड गर्नु भनेको परमेश्वरको प्रतिरोध गर्ने एउटा तरिका हो भनेर धेरैजसो मानिसहरूलाई थाहा हुन्छ? (हुन्छ।) के धेरैजसो मानिसहरूमा यो चेतना छ? आज, यति धेरै सङ्गति गरेपछि, तिमीहरूले सजिलै हुन्छ भन्न सक्छौ। तर यदि तिमीहरूले तिन वा पाँच वर्ष पहिले सुसमाचार प्रचार गरिरहेका भए, के परमेश्वरको एउटा शब्द वा वाक्यसमेत हेरफेर गर्नु हुँदैन भनेर तिमीहरूलाई थाहा हुनेथ्यो? के तिमीहरूमा परमेश्वरको डर मान्ने यस्तो हृदय हुनेथ्यो? (हुनेथिएन।) त्यसोभए, कुन सन्दर्भमा चाहिँ तिमीहरूमा यो चेतना हुँदैनथ्यो? के तिमीहरूमा परमेश्वरको डर मान्ने हृदय हुँदै नभएको सन्दर्भमा तिमीहरूले स्वेच्छाचारी रूपमा परमेश्वरका वचनहरूलाई छेडछाड गर्ने आँट गरेका हुनेथ्यौ? यदि कसैमा परमेश्वरको डर मान्ने हृदय हुँदै हुँदैन भने, तिनीहरूले स्वेच्छाचारी रूपमा परमेश्वरका वचनहरूलाई छेडछाड गर्ने आँट गर्नेछन्, र यसरी मूल अर्थ, परमेश्वरको वाणीको शैली, र परमेश्वरका वचनहरूको कुनै निश्चित अनुच्छेदले पार्न चाहेको प्रभाव परिवर्तन गरिदिनेछन्, र यस अनुच्छेदका अभिप्रायहरू, चुरो कुरा, र यसले जोड दिने कुराहरू हटाइदिनेछन्—यो सबै छेडछाड गर्नु हो।
केही वर्षअघि, एउटा जम्काभेटमा, सुसमाचार समूहको एकजनाले एउटा प्रश्न उठायो: “कुनै निश्चित जातीय समूहलाई परमेश्वरको नयाँ कामबारे गवाही दिँदा, उनीहरू घिन महसुस गर्छन् र जुन भागमा परमेश्वरले उनीहरूको खुलासा गर्नुहुन्छ ती भागहरू सुन्न अनिच्छुक हुन्छन्, र उनीहरूले ती भागहरूबारे धारणाहरू बनाउँछन्। त्यसकारण ती वचनहरू तिनीहरूले परमेश्वरको नयाँ काम स्विकार्नमा बाधक बन्छन्। हामीले ती वचनहरूलाई हेरफेर गर्ने सोचिरहेका छौँ। तिनलाई परिवर्तन गरेपछि, उनीहरूले तिनलाई स्विकार्न सक्नेछन्, र परमेश्वरको नयाँ काम वा परमेश्वरको यो देहधारणबारे कुनै धारणाहरू बाँकी रहनेछैनन्।” तिमीहरूलाई यो प्रश्नबारे के लाग्छ? यसरी भेटेर सुसमाचारको कामबारे छलफल गर्ने यो अवसर नभएको भए, तिनीहरू आफैले जिम्मा लिएर यी वचनहरू हेरफेर गरिसकेका हुन सक्थे। सायद तिनीहरूले कल्पना गरेअनुसार, त्यस जातीय समूहका तीन, पाँच, दस, वा त्योभन्दा बढी मानिसहरूले त्यसपछि परमेश्वरको नयाँ काम स्विकार्न सक्थे। तर त्यसलाई अहिलेको लागि यही छोडे पनि, सुसमाचार प्रचार गर्नेहरू सधैँ परमेश्वरका वचनहरूलाई परिवर्तन गरेर मानव धारणाहरूअनुरूप बनाउन चाहन्छन्। तिनीहरू जुन वचनहरूमा परमेश्वरले भ्रष्ट मानवजातिको खुलासा र न्याय गर्नुहुन्छ, जुन वचनहरूमा उहाँले भ्रष्ट मानवजातिको सार खुलासा गर्नुहुन्छ, तिनीहरू ती वचनहरू सधैँ मेटाउन चाहन्छन्। यो कस्तो प्रकृतिको व्यवहार हो? के यसप्रकारको कार्यले परमेश्वरको डर मान्ने हृदय प्रतिबिम्बित गर्छ? (गर्दैन।) मेरो विचारमा त, कुनै निश्चित जात वा सम्प्रदायका मानिसहरूमा परमेश्वरका वचनहरूबारे धारणाहरू हुने होइन; मूलतः सुसमाचार प्रचार गर्ने मानिसहरूमै धारणाहरू हुन्छन्। परमेश्वरका वचनहरू तिनीहरूको लागि स्वीकार्य हुँदैनन्; तिनीहरू भित्रैदेखि तीप्रति प्रतिरोधी र वितृष्ण हुन्छन्, तिनीहरू परमेश्वरका यी वचनहरू सुन्न चाहँदैनन् र तिनीहरूलाई यी वचनहरू मन पर्दैनन्। तिनीहरू यदि यी साँच्चिकै परमेश्वरका वचनहरू हुन् भने, ती प्रेममय हुनुपर्छ र तिनले यति उदाङ्गो र प्रस्ट रूपमा मानिसहरूको खुलासा गर्नु हुँदैन, त्यसो गर्नु त गालामा चड्कन हान्नुजस्तै हो भन्ठान्छन्। त्यसकारण, यदि तिनीहरूले सुसमाचार प्रचार गर्नुपर्यो भने, तिनीहरू यी वचनहरूलाई हटाउन जोरदार माग गर्छन्। सुसमाचार प्रचार गर्न र मानिसहरू प्राप्त गर्नको लागि, के परमेश्वरले एकपटक मात्र पनि सम्झौता गर्न, र अझ बढी कुशलतापूर्वक र मिठासपूर्वक बोल्न सक्नुहुन्छ? अझ धेरै मानिसहरूलाई परमेश्वरको नयाँ काम स्वीकार गराउन, अझ धेरै मानिसहरूलाई परमेश्वरसामु ल्याउन, के परमेश्वरले उहाँको रणनीति र बोल्ने शैली परिवर्तन गर्न, भ्रष्ट मानवजातिसँग सम्झौता गर्न र तिनीहरूसामु झुक्न, शिर निहुराउन, माफी माग्न, र क्षमायाचना गर्न मिल्छ? तसर्थ, समस्या मूलत: सुसमाचारको काम गर्नेहरूमै हुन्छ, कुनै निश्चित सम्प्रदायका मानिसहरूमा होइन। परमेश्वरका वचनहरूको एउटा शब्द वा वाक्य परिवर्तन नगरी पनि, र परमेश्वरका वचनहरूले सारा मानिसहरूलाई धारणाहरू बनाउने तुल्याउनुको बाबजुद पनि, धेरै मानिसहरू अझै पनि बिस्तारै परमेश्वरसामु आउँछन् र उहाँको नयाँ काम स्विकार्छन्। के तिनीहरूका धारणाहरूले तिनीहरूलाई परमेश्वरको नयाँ काम स्विकार्नबाट रोकेका छन् र? बिलकुलै रोकेका छैनन्। यदि परमेश्वरले बोल्नुभएका यी वचनहरू मानिसलाई चाहिने कुरा हुन्नथे भने र तिनले मानिसको वास्तविक परिस्थिति प्रतिबिम्बित गर्दैनथे भने, मानिसहरूले परमेश्वरका वचनहरू नस्विकार्नुलाई पनि बुझ्न सकिन्थ्यो, र परमेश्वरले उहाँको बोल्ने तरिका र उहाँको वाणीका विषयवस्तु परिवर्तन गर्न सक्नुहुन्थ्यो। तर परमेश्वरले बोल्नुभएको हरेक शब्द र वाक्यले मानिसको वास्तविक परिस्थिति झल्काउँछ र त्यो मानिसको जीवन प्रवेश र मुक्तिसँग सम्बन्धित हुन्छ। यदि मानिसहरूले धारणाहरू बोकेका छन् र तिनलाई स्विकार्न सक्दैनन् भने, यसले मानवहरू दुष्ट, फोहोरी, र अत्यन्तै गहिरो रूपमा भ्रष्ट तुल्याइएका छन्, र तिनीहरू परमेश्वरसामु आउन लायक छैनन् भन्ने प्रमाणित गर्छ। यसले परमेश्वरका वचनहरू गलत छन् वा ती सत्यता होइनन् भन्ने प्रमाणित गर्दैन।
परमेश्वरका वचनहरू र कामबारे भ्रष्ट मानवजातिमा धारणाहरू हुनुलाई कसरी सम्बोधन गरिनुपर्छ? सुसमाचार प्रचार गर्नेहरूले परमेश्वरका वचनहरूको मलजल पाएका छन् र धेरै वर्षसम्म ती वचनहरू सुनेका छन्। तिमीहरू कति सत्यता बुझ्छौ भन्ने कुरा बिर्सँदा र सैद्धान्तिक रूपमा मात्र बोल्दा, परमेश्वरको कामका दर्शनहरू, परमेश्वरका अभिप्रायहरू, परमेश्वरको छ-हजार वर्षे व्यवस्थापन योजनाको उद्देश्य, मानिसलाई मुक्ति दिने परमेश्वरको काम—के तिमीहरूले सत्यताका यी सबै पक्षहरू बुझेका, याद गरेका र बोध गरेका छैनौ र? यदि तँ यी सबै कुराले सुसज्जित भएको भए, के तँ अझै पनि मानिसहरूमा धारणाहरू हुने कुराले डराउनेथिस् र? यदि तँलाई डर लाग्छ भने, सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूलाई तैँले पूर्वसक्रिय रूपमा प्रस्ट पार्नुपर्छ; तिनीहरूलाई परमेश्वरका अभिप्रायहरूबारे गवाही दिनुपर्छ, र सत्यताबारे प्रस्ट रूपमा बुझाउनुपर्छ! यदि तैँले धेरै वर्षसम्म परमेश्वरका वचनहरू सुनेपछि पनि तीबारे बुझाउन वा प्रस्ट पार्न सक्दैनस् भने, तँ पूर्णतया बेकार छस्! तैँले यो कर्तव्य गरिरहेको छस्, र तँ हरदिन यी शीर्षकहरू, यी विषयवस्तुहरू, र यी मामलाहरूमा संलग्न हुन्छस्—सुसमाचार प्रचार गरेर मानिसहरू प्राप्त गर्नको लागि तँ किन अझै पनि परमेश्वरका वचनहरूलाई छेडछाड गर्नेजस्तो घृणास्पद विधि प्रयोग गर्नेबारे सोच्छस्? बाहिरबाट हेर्दा, यो कुनै गलत कार्य, कुनै घृणास्पद उपाय, अयोग्यता प्रदर्शनजस्तो मात्र देखिएला, तर मूलभूत रूपमा यो एउटा ख्रीष्टविरोधीको सारको निःसन्देह प्रकटीकरण हो—त्योभन्दा कम कतै होइन। परमेश्वरको वचनलाई मूल्यवान् ठानेर जोगाउने, परमेश्वरको वचनको कदर गर्ने, परमेश्वरको वचनको डर मान्ने, परमेश्वरले भन्नुभएका हरेक शब्द र वाक्यका साथै उहाँले हरेक खण्डमा जसरी बोल्नुहुन्छ र जे बोल्नुहुन्छ त्यसको आदर गर्नेहरू परमेश्वरका मानिसहरू नै हुन्। परमेश्वरका शत्रुहरूले मात्र प्रायजसो उहाँका वचनहरूको ठट्टा र खिसी गर्छन्। तिनीहरूले तिनलाई तिरस्कार गर्छन्। तिनीहरूले परमेश्वरका वचनहरूलाई सत्यताको रूपमा, सृष्टिकर्ताले व्यक्त गर्नुभएका वचनहरूको रूपमा लिँदैनन्। त्यसकारण, तिनीहरूका हृदयमा तिनीहरूले प्राय परमेश्वरका वचनहरूलाई बिगार्ने र मनोमानी तरिकाले व्याख्या गर्ने इच्छा गर्छन्। अन्तमा, धेरै मानिसहरूबाट प्रशंसा पाउनको निम्ति तिनीहरूले परमेश्वरका वचनलाई बदल्नका निम्ति आफ्ना मार्गहरू, आफ्ना विचारका तरिकाहरू र आफ्ना सोचका तर्कको प्रयोग गर्छन्, ताकि ती वचनहरू भ्रष्ट मानवका स्वादहरू, भ्रष्ट मानवका दृष्टिकोणहरू र भ्रष्ट मानवका सोच्ने शैली र दर्शनसँग मिलून्। परमेश्वरका वचनहरूको जुनसुकै भाग भए पनि, यो जसरी बोलिए पनि र जुनसुकै दृष्टिकोणबाट बोलिए पनि परमेश्वरको वचन भनेको परमेश्वरको वचन नै हो। भ्रष्ट मानवजातिले अझ सहज तरिकाले बुझ्न, कदर गर्न सकोस् र अझ सहज तरिकाले परमेश्वरको वचन प्राप्त गर्न सकोस् ताकि तिनीहरूले उहाँका वचनहरूका सत्यता बुझ्न सकून् भनेर परमेश्वरले आफ्ना अभिप्रायहरूबारे बुझाउन र मानवजातिले प्रवेश गर्नुपर्ने कुरा बताउनको निम्ति प्रायजसो मानव भाषाहरू, मानव विधिहरूका साथै मार्गहरू, बोलीको सुर र मानिसहरूको निम्ति बोल्नलाई सहज हुने मौखिक तर्क प्रयोग गर्नुहुन्छ। तैपनि ख्रीष्टविरोधीहरूले यी अदृश्य विधिहरू र यो अदृश्य स्वर अनि विभिन्न अदृश्य वचनहरू दुरुपयोग गरेर परमेश्वरलाई निन्दा गर्छन् र उहाँको वचन सत्यता हो भन्ने कुरालाई इन्कार गर्छन्। के कुरा यही होइन र? (हो।) यी ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरूसित तुलना गर्नहेतु प्राय: चर्चित मानिसहरूका ज्ञान र कामहरू, साथै चर्चित मानिसहरूका भाषण, शब्दावली, र चालढालसमेत प्रयोग गर्छन्। तिनीहरूले जति तुलना गर्छन्, त्यति नै तिनीहरूलाई परमेश्वरका वचनहरू ज्यादै सतही, ज्यादै सिधा, ज्यादै बोलीचालीका भाषाजस्तो लाग्छन्। तसर्थ, तिनीहरू झन्झन् परमेश्वरका वचनहरूलाई हेरफेर गर्न, ती वचनहरूलाई “सच्याउन,” साथै परमेश्वरको बोल्ने भाव, शैली र दृष्टिकोणलाई “सच्याउन” चाहन्छन्। परमेश्वरले जे-जसरी बोल्नुभए पनि वा उहाँका वचनहरूले मान्छेलाई जति नै फाइदा दिने भए पनि, ख्रीष्टविरोधीहरूले हृदयमा परमेश्वरका वचनहरूलाई कहिल्यै सत्यता मान्दैनन्। तिनीहरूले परमेश्वरका वचनहरूमा सत्यता, अभ्यासका सिद्धान्तहरू, वा जीवन प्रवेशको मार्ग खोज्दै खोज्दैनन्। त्यसको साटो, तिनीहरूले निरन्तर रूपमा परमेश्वरका वचनहरूलाई सूक्ष्मजाँचको दृष्टिकोणले, अध्ययनको मनोवृत्तिले, पूर्ण सूक्ष्मजाँच र अनुसन्धानको मनोवृत्तिले हेर्छन्। सम्पूर्ण सूक्ष्मजाँच र अनुसन्धानपछि, तिनीहरूले अझै पनि परिवर्तन र संशोधन गर्न आवश्यक रहेका परमेश्वरका धेरै वचनहरू छन् भन्ने महसुस गर्छन्। तसर्थ, ख्रीष्टविरोधीहरूको हकमा भन्नुपर्दा, तिनीहरू पहिलो पटक परमेश्वरका वचनहरूको सम्पर्कमा आएको दिनदेखि आजसम्म—१०, २०, वा ३० वर्षसम्म विश्वास गरिसकेपछि—भित्रभित्रै, तिनीहरूले अझै परमेश्वरका वचनहरूमा मानिसहरूले चर्चा गर्ने गरेको जीवन, सत्यता, राज्यको प्रवेशद्वार वा स्वर्ग जाने मार्ग हुन्छन् भनी विश्वास गर्दैनन्। तिनीहरूले त्यो कुरा देख्न र थाहा पाउन सक्दैनन्। त्यसोभए, तिनीहरूले के महसुस गर्छन्? तिनीहरू जति बढी विश्वास गर्यो, त्यति नै बढी परमेश्वरका वचनहरू अत्यन्तै बोलीचालीको भाषाजस्तो लाग्नुको कारण के होला भनेर अचम्म मान्छन्। तिनीहरू जति बढी विश्वास गर्यो, त्यति नै कम तिनीहरूलाई परमेश्वरका वचनहरूमा चासो लाग्नुको कारण के होला भनेर अचम्म मान्छन्। तिनीहरूले परमेश्वरका वचनहरू साँच्चिकै सत्यता हुन् कि होइनन् भनेर शङ्का गर्न थाल्छन्। यो कस्तो सङ्केत हो? राम्रो सङ्केत हो कि नराम्रो सङ्केत हो? (नराम्रो सङ्केत हो।) तिनीहरूले यो अवस्थासम्म परमेश्वरमा विश्वास गरेको हुनु पनि ठूलै आश्चर्य हो! तिनीहरूको विश्वास निकासहीन मार्गमा पुगिसकेको छ, तिनीहरूले सत्यतालाई पूर्ण रूपमा देख्न छाडिसकेका छन्। के यो तिनीहरूको आस्थाको अन्त्य होइन र?
के तिमीहरूले यो तथ्य थाहा पाएका छौ? सबैजनाले जुन दिनदेखि परमेश्वरमा विश्वास गर्न, उहाँका वचनहरू पढ्न, आफ्ना परिवार, करियर, अध्ययन, र संसारमा आफ्ना सम्भाव्यताहरू त्याग्न थाले, त्यही दिनदेखि नै सबैजना एउटै सुरुवाती बिन्दुमा थिए। तर दौडको दौरान, कतिपय मानिसहरू थाहै नपाई पछि परे र तिनीहरूले त्यसउप्रान्त आफ्नो कर्तव्य गर्न चाहेनन्। तिनीहरू कहाँ गए? कतिपयलाई “ख” समूहहरूमा झारियो, अरूलाई साधारण मण्डलीहरूमा झारियो, र कतिपय चाहिँ बल्लतल्ल अल्पकालीन कर्तव्य मण्डलीहरूमा रहन सफल भए। जो परमेश्वरको घरमा आफ्नो कर्तव्य गर्न चाहँदैनन् र निकालाको निशानामा पर्छन्, र कर्तव्य गर्न जसको योग्यता नै पुग्दैन—तिनीहरू किन आज तिनीहरू जहाँ छन् त्यहाँ पुगे त? यदि तैँले परमेश्वरप्रतिको तिनीहरूको मनोवृत्तिलाई मानव नजरले हेर्ने कोसिस गरिस् भने, तैँले त्यसलाई देख्नै सक्दैनस्, किनकि तिनीहरूको हृदयमा के छ भनेर तँलाई थाहै छैन। तिनीहरूले परमेश्वरलाई प्रेम गर्छन् कि घृणा गर्छन्, तिनीहरूले उहाँको प्रतिरोध गर्छन् कि तिनीहरू उहाँप्रति समर्पित हुन्छन्, तैँले भन्न सक्दैनस्। त्यसकारण, तैँले व्यक्तिको स्वभाव सार कसरी निर्धारण गर्छस्? यो सजिलो छ: बस तैँले परमेश्वरका वचनहरूप्रतिको तिनीहरूको मनोवृत्ति हेर्। परमेश्वरका वचनहरूप्रति तिनीहरूका मनोवृत्तिका सन्दर्भमा यस समूहका मानिसहरूको एउटा साझा विशेषता छ: परिस्थिति जस्तोसुकै भए पनि, तिनीहरूले भरणपोषणको लागि परमेश्वरका वचनहरूको आवश्यकता महसुस गर्दैनन्। तिनीहरूले जस्तोसुकै कठिनाइहरू सामना गर्नुपरे पनि, तिनीहरू सिद्धान्तहरू खोजी गर्ने वा परमेश्वरका वचनहरूमा सत्यता खोज्ने काम गर्दैनन्। यी मानिसहरूले परमेश्वरका वचनहरू विरलै पढ्छन्, र कसैले परमेश्वरका वचनहरू प्रार्थना-वाचन गर्दा वा तीबारे आफ्नो बुझाइ सङ्गति गर्दा तिनीहरूले घिनसमेत महसुस गर्छन्। अनि, तिनीहरूले त्यो घिन कसरी देखाउँछन्? तिनीहरू सोच्छन्, “तिमीले भनिरहेको सबै कुरा मलाई पहिल्यै थाहा छ; तिमीले भन्नै पर्दैन। मैले यसअघि नै परमेश्वरका यी वचनहरू पढेको छु; म सबथोक बुझ्छु।” यदि तिनीहरूले सबथोक बुझ्थे भने, तिनीहरू किन निकालिए? तिनीहरूलाई किन “ख” समूहहरूमा झारियो? यहाँ के भइरहेको छ? यसको जड के हो भने, यी मानिसहरूले मूलभूत रूपमा परमेश्वरका वचनहरू स्विकार्दैनन्; तिनीहरू तिनलाई तिरस्कार गर्छन् र तीप्रति शत्रुवत् हुन्छन्। के परमेश्वरका वचनहरूलाई तिरस्कार गर्ने र तीप्रति शत्रुवत् रहने व्यक्तिले तिनको अभ्यास गर्न सक्छ? तैँले तिनीहरूलाई “यदि तिमीलाई कुनै परिस्थिति आइपरेको छ भने, तिमीले परमेश्वरका वचनहरू पढ्नुपर्छ!” भनेर भन्दा, तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? तिनीहरूले कस्ता विशेष प्रतिक्रियाहरू जनाउँछन्? (तिनीहरूले व्यावहारिक समस्यालाई व्यावहारिक समाधानहरू चाहिन्छन्; परमेश्वरका वचनहरू पढ्नु आवश्यक छैन भन्नेछन्।) तिनीहरू परमेश्वरका वचनहरू पढ्नु अस्पष्ट पद्धति हो, र व्यावहारिक समस्याहरूलाई व्यावहारिक समाधानहरूको आवश्यकता पर्छ भन्ठान्छन्। यो एक ख्रीष्टविरोधीको भाव हो। तिनीहरूले भन्न खोजेको के हो? “मानवहरूका आफ्नै तरिकाहरू हुन्छन्; परमेश्वरका वचनहरू पढेर के काम? के तिमीलाई परमेश्वरका वचनहरूले सबथोक समाधान गर्न सक्छन् जस्तो लाग्छ?” यदि कुनै व्यक्तिलाई केही कठिनाइ आइपर्यो भने, तिनीहरूले त्यो एउटा कठिनाइ मात्र हो, त्यस व्यक्तिको भित्री स्थिति वा स्वभावको प्रतिबिम्ब बिलकुलै होइन भन्ने अनुमान लाउँछन्। तिनीहरूले त्यो कुरा देख्दैनन्, न त त्यसलाई तथ्यको रूपमा नै लिन्छन्। तिनीहरू यस्तो विश्वास गर्छन्, “मानव कठिनाइहरू भनेको कुनै यन्त्रको पेच हराउनुजस्तै हो; पेच हालेपछि त्यो समाधान भइहाल्छ। किन परमेश्वरका वचनहरू खोजी गर्नु? त्यो सबै झूटो आत्मिकता हो। म त कहिल्यै त्यस्तो गर्दिनथेँ; यो मूर्खता हो! के तिमीलाई परमेश्वरका वचनहरूले सबथोक समाधान गर्न सक्छन् जस्तो लाग्छ? त्यस्तो बिलकुलै हुँदैन।” प्रस्ट रूपले नै यो सत्यता नस्विकार्ने व्यक्ति हो। यसअलावा, जब केही मानिसहरूले समस्याहरू सामना गर्छन्, र मदत गर्नलाई जब तैँले तिनीहरूसित सङ्गति गर्छस्, र तिनीहरूलाई परमेश्वरका वचनहरूको एउटा अनुच्छेद पढेर सुनाउँछस्, तब त्यो सुनेपछि तिनीहरूले यस्तो प्रतिक्रिया दिन्छन्: “मैले त्यो अनुच्छेद कण्ठ पारिसकेको छु, मैले त्यो धेरैपटक वाचन गरेको छु। तिमी किन मलाई भनिरहेका छौ? म यो कुरा तिमीले भन्दा राम्रो बुझ्छु, र यो बेकार छ, यसले मेरो समस्या समाधान गर्नेछैन!” यहाँ समस्या के हो त? (तिनीहरू सत्यता स्विकार्दैनन्।) तिनीहरू सत्यता स्विकार्दैनन् र तिनीहरूको आफ्नै भ्रष्टता स्विकार्न मान्दैनन्, र त्यो समस्याजनक कुरा हो। तिनीहरू आफ्नो भ्रष्टता स्विकार्दैनन्, र त्यसैले तिनीहरू परमेश्वरका वचनहरू पढ्नु भनेको झारा टार्नु मात्र हो, यो बेकार हो भन्ठान्छन्। तिनीहरू आफ्ना समस्याहरू समाधान गर्न तीव्र उपाय, अर्थात् चमत्कारिक उपचार खोज्न चाहन्छन्, र यो समस्याको सार भनेकै सत्यता स्विकार्न नमान्नु हो।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।