विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग चार) खण्ड तीन

तल दिइएको परिस्थितिहरू ख्रीष्टविरोधीहरूका पहिले उल्लेख गरिएको कुन प्रकटीकरणमा पर्छ भनी सोचविचार गर र खुट्ट्याओ। एउटा अगुवा थियो जो हरदिन बिहानदेखि बेलुकासम्म काम गर्थ्यो, र निकै जिम्मेवार देखिन्थ्यो। तैपनि, ऊ विरलै देखिन्थ्यो, जसले ऊ काममा निकै व्यस्त छ र शायद यतिकै बसिरहेको छैन भन्‍ने आभास गराउँथ्यो, र उसले मूल्य चुकाउँदै कर्तव्य गरिरहेजस्तो देखिन्थ्यो। पछि, जब तिनीहरूको आवास घर र आँगनमा काम गर्नुपर्ने थियो, तब हामीले तिनीहरूलाई काममा मार्गदर्शन गर्न कसैको प्रबन्ध गर्‍यौँ। हामी नहुँदा, उसले आफै अघि बढेर मार्गदर्शन गर्न मदत गर्नुपर्थ्यो र कामको लागि जिम्मेवार हुनुपर्थ्यो; उसले आफै पहल गर्नुपर्थ्यो। के यो मनासिब र उचित होइन र? के यी घरायसी कामकाजमा मैले नै सधैँ निगरानी राखिरहनुपर्छ र? (पर्दैन।) प्रायः यस्ता शारीरिक कामहरूले सत्यतालाई साँच्चिकै समेट्दैनन्। मानिसहरूले लगनसाथ काम मात्र गर्नुपर्छ, विनाशकारी कार्यहरूमा संलग्न हुनु हुँदैन, अनुपालन गर्ने हुनुपर्छ, र जे गर्न भनिएको छ त्यही गर्नुपर्छ—यति गर्न सरल र सजिलो छ। पछि, जब त्यस क्षेत्रका कार्यहरू मूलतः सबै पूरा भए, तर चालु व्यवस्थापन अझै पनि आवश्यक नै थियो, र मैले यो जिम्मेवारी उक्त अगुवालाई हस्तान्तरण गरेँ। मैले उसलाई त्यस क्षेत्रको स्वच्छता कायम राख्न, र मर्मतसम्भारका सबै कामहरू राम्रोसँग हेरिने सुनिश्‍चित गर्न भनेँ। त्यसमा मुख्यगरी दुइटा कुराहरू थिए: पहिलो, सबै निश्चित ठाउँ र कोठाहरूमा भित्रबाहिर दुवैतिर स्वच्छ र सफा राख्ने। दोस्रो, बिरुवाहरूको राम्रो हेरविचार गर्ने; उदाहरणको लागि, भर्खरै रोपिएका बिरुवाहरू नमरून् भनेर तिनमा पानी हाल्ने, सिजनअनुसार र तिनको वृद्धिअनुरूप तिनलाई आवश्यकताअनुसार काटछाँट गर्ने, र आवश्यक पर्दा मल हाल्ने। यिनै दुई कामहरू थिए—के तिमीहरूलाई यो धेरै भयो जस्तो लाग्छ? के यो थकानयुक्त हुन सक्छ? (सक्दैन।) यी दुई कामहरू खासै धेरै होइनन्; खाना खाएपछि टहल्दा टहल्दै यी दुई काम पूरा गर्न सकिन्छ। यसअलावा, के तैँले आफ्नो जियाइ वातावरणको पनि ख्याल राख्नुपर्दैन र? मानवको रूपमा जिउनु भनेको ठ्याक्कै यस्तै हुन्छ; यसप्रकारका कामहरू सामान्य मानव जीवनका लागि अत्यावश्यक छन्। तैँले आफ्नो जियाइ वातावरण आफैले व्यवस्थापन गर्नुपर्छ। यदि गर्दैनस् भने, तँ जनावरभन्दा फरक छैनस्। त्यसपछि के तँलाई अझै पनि मानव भन्‍न मिल्छ र? जनावरहरूले आफ्ना वरिपरिका ठाउँलाई व्यवस्थित गर्दैनन्; तिनीहरूका शारीरिक आवश्यकताहरू पूरा गर्ने तोकिएका ठाउँहरू हुँदैनन्, र तिनीहरूका खाने र सुत्ने निश्‍चित ठाउँहरू हुँदैनन्। मानवहरू यस अर्थमा जनावरहरूभन्दा श्रेष्ठ छन्; मानवहरूले आफ्नो वातावरण व्यवस्थापन गर्छन्, स्वच्छताबारे ध्यान दिन्छन्, र आफू वरिपरिका ठाउँलाई स्तरीय राख्छन्। त्यसैले, मैले उसलाई यो काम गर्न लगाउनु अतिशय थिएन, होइन र? (हो।) यी कामहरू अह्राएपछि, म अर्को ठाउँ गएँ, र त्यो अगुवाले उक्त काम कार्यान्वयन गर्नुपर्थ्यो। एकदिन, म वातावरण कसरी व्यवस्थित गरिँदै छ भनेर जाँच्न गएँ, र बाटोमा, मलाई मुटु दुख्‍ने, झर्को लाग्‍ने र रिस उठ्ने अनुभूति भयो! तिमीहरूको विचारमा के भयो जस्तो लाग्छ? के कुराले यस्ता संवेगहरू निम्त्याउन सक्छ? (उसले परमेश्‍वरका आदेश र प्रबन्धहरू कार्यान्वयन गरेन।) ठ्याक्कै भनिस्, भन्‍ने नै यस्तै हो—उसले तिनलाई कार्यान्वयन गरेन। म त्यहाँ नहुँदाखेरि, मौसम खासै सुक्खा थिएन, तर भर्खरै रोपिएका धेरैजसो बिरुवाका पातहरू सुक्दै थिए, र कतिपय त झर्दै पनि थिए। रिसउठ्दो कुरा त के थियो भने, दुई चर्चित फूलहरू फूल्ने बिरुवाका पातहरू अत्यन्तै हरियोबाट बैजनी रातो भएका थिए, झन्डै पहेँलो हुन लागेका थिए। के यो कुरा सुन्दा तिमीहरूलाई रिस उठ्छ? अझै रिसउठ्ने कुरा त, प्रवेशद्वारमा सिमेन्टले बनाइएको सफा मञ्चमा टोकरीहरू, पोलिथिनका झोलाहरू, फोहोरहरू, काम सक्‍किएर बाँकी रहेका काठका टुक्राहरू, किलाहरू, र ज्यावलहरू छरिएका थिए—सबथोक छरपस्ट थियो, जसले फोहोरी र अव्यवस्थित भद्रगोल स्थिति बनाएको थियो! यस्तो दृश्य देख्दा कोचाहिँ रिसाउँदैन होला र? यस्तोमा नरिसाउने त एकखाले व्यक्ति मात्र हो—जो जनावर वर्गका हुन्, जसको स्तर हुँदैन वा जो आफ्ना वरिपरिका वातावरणप्रति संवेदनशील हुँदैन, गन्ध, स्वच्छता, वा सहजताप्रति उदासीन हुन्छ, र के राम्रो वा नराम्रो भन्‍नेबारे पूर्णतया अनजान हुन्छ। सामान्य मानवता भएको, आफ्नो वातावरणको मापदण्ड र सोच्ने शक्ति भएको जोसुकै व्यक्ति यस्तो अवस्था देखेपछि रिसाउँछ। त्यहाँ मानिसहरूको ठूलै समूह बस्थे, तर तिनीहरूले यति सानो कामसमेत सम्हाल्न सकेनन्। तिनीहरू कस्ता खाले मानिस हुन्? मैले निर्देशन दिएपछि, तिनीहरूले तिनलाई यस्तो व्यवहार गरे, तिनीहरूले त्यस ठाउँलाई यस्तो बनाए। यहाँको वातावरण व्यवस्थापन गर्नु र यी केही कुराहरू ख्याल राख्नु थकानयुक्त काम होइन, हो र? यसले तेरो कुनै पनि क्रियाकलापमा बाधा पार्दैन, पार्छ र? यसले तेरा भेलाहरूमा, प्रार्थनाहरूमा, वा परमेश्‍वरको वचन पढ्नमा असर पार्दैन, पार्छ त? त्यसोभए यो किन गर्न सकिँदैन? मैले नजिकै बसेर निगरानी गरिरहेको र हेरिरहेको बेलामा यी मानिसहरूले केही काम गर्छन्, तर म निस्केर हिँड्नेबित्तिकै तिनीहरू रोकिन्छन्; कसैले पनि जिम्मेवारी लिँदैन। यहाँ के भइरहेको छ? के तिनीहरू यो ठाउँलाई आफ्नो घर ठान्छन्? (ठान्दैनन्।) तिनीहरू अझै पनि ख्रीष्टको राज्य तिनीहरूको न्यानो घर हो भन्छन्, तर के तिनीहरूले साँच्चिकै त्यस्तै सोच्छन् त? के तिनीहरूले साँच्चै त्यस्तै व्यवहार गर्छन् त? गर्दैनन्। तिनीहरूले आफू जिउने वातावरणलाई समेत व्यवस्थापन गर्दैनन्। मैले तिनीहरूलाई निर्देशन दिएपछि पनि कसैले जिम्मेवारी लिँदैन, र कसैले वास्ता गर्दैन। काम गर्न भनिएमा, तिनीहरूले थोरै काम गर्छन्, तर काम सकिएपछि, तिनीहरूले सरसामान लापरवाहीपूर्वक जथाभाबी फाल्छन्, र सोच्छन्, “जसलाई मतलब छ उसले मिलाएर राखे हुन्छ, यो मेरो चासोको विषय होइन। मलाई खाने र बस्ने व्यवस्था भए पुग्छ।” यो कस्तो प्रकारको मानवता हो? कस्तो प्रकारको नैतिकता हो? के यस्तो व्यक्तिमा अलिकति पनि सामान्य मानवता हुन्छ? यतिका वर्ष परमेश्‍वरमा विश्‍वास गरेर पनि कुनै परिवर्तन नआउनु साँच्चिकै अकल्पनीय कुरा हो! म तिमीहरूको लागि अत्यन्तै धेरै प्रयत्न लगाएर यी काम गर्छु, अत्यन्तै राम्रोसँग सबथोक प्रबन्ध गर्छु। म यहाँ बस्दिनँ, म यो कुनै कुराको आनन्द लिँदिनँ—यो सबै तिमीहरूकै लागि हो। तिमीहरू कृतज्ञ हुनु पर्दैन; बस् आफ्नो जिउने वातावरण व्यवस्थापन गर, त्यति गरे पुग्छ—यो काम गर्न किन यति कठिन भएको? पछि, यस व्यवहारको एउटा कारण रहेछ भनेर मैले थाहा पाएँ। मानिसहरूले आफ्नो परिवार र करियर छाडेका भए पनि वा आफ्नो अध्ययन र भावी सम्भाव्यता त्यागेका भए पनि, तिनीहरू परमेश्‍वरको घरमा आफ्नो कर्तव्य गर्न आउँछन्, न कि मेरा दीर्घकालीन कामदारहरू बन्‍न। किन? तिनीहरूले एक सुको पाउँदैनन्, अनि मेरो कुरा किन सुन्नुपर्‍यो? तिनीहरूले मेरो लागि किन वातावरण व्यवस्थापन गर्नुपर्‍यो? तिनीहरूले मेरो लागि यो प्रयत्न किन गर्नुपर्‍यो र? तिनीहरूले यस्तै सोच्छन्। तिनीहरूलाई आफ्नो काम राम्रोसँग गर्नु र आफ्नो कर्तव्य पूरा गर्नु नै पर्याप्त छ, र आफ्नो कामको दायराभित्रका मामलाहरू सम्हाल्दा आफ्ना जिम्मेवारीहरू पूरा भइहाल्छन् भन्‍ने लाग्छ। मैले अरू जे अह्राए पनि, यदि त्यो तिनीहरूको कर्तव्य र पेशासँग सम्बन्धित छ भने, तिनीहरूले विचार गर्लान्, तर बाँकी कुराको लागि भने मैले अरू नै कोही खोज्नुपर्छ। यसले दिन खोजेको सन्देश के हो भने, “हामी राज्यका मानिसहरू हौँ; हामीले कसरी यस्ता फोहोरी र थकानयुक्त काम गर्न मिल्छ? हामी त श्रेष्ठ मानवहरू हौँ; हामीलाई सधैँ निम्नस्तरीय र अपमानजनक काम गराउँदा हाम्रो छविमा हानि पुग्छ! हामी निश्‍चित पहिचान भएका मानिसहरू हौँ, तिमी किन हाम्रो लागि परिस्थितिहरू कठिन बनाइरहन्छौ?” यो कुरा बुझेपछि, धेरैजसो मानिसहरू किन काम गर्नप्रति वितृष्ण, प्रतिरोधी र अनिच्छुक हुन्छन, र तिनीहरू आफ्नो काम गर्दा किन आफूलाई अरूसँग तुलना गर्छन् र चालबाजी गर्दै आफ्नो कर्तव्यबाट पन्छिन्छन् भन्‍नेबारे मैले केही अन्तर्ज्ञान प्राप्त गरेँ—धेरैजसोले सत्यता पछ्याउँदैनन्, त्यसैले यस्तो भएको रहेछ। सत्यता नपछ्याउनु भनेको त एउटा आम भनाइ हो, तर वास्तवमा, धेरै मानिसहरू स्वभावैले सहजता मन पराउने र कामलाई घृणा गर्ने हुन्छन्। तिनीहरू जसोतसो जीवन धान्‍ने मानसिकताद्वारा नियन्त्रित भएका हुन्छन्, र सँगसँगै, तिनीहरू सत्यता पछ्याउनु भनेको सँगै बसेर कुराकानी र छलफल गर्नु हो भन्‍ने विश्‍वास गर्छन्, जस्तो कि ठूलो रातो अजिङ्गरको राष्ट्रमा मानिसहरू निरन्तर रूपमा बैठक बस्छन्, समाचारपत्र पढ्छन्, र चियाको चुस्की लिन्छन्—तिनीहरूले त्यो नै परमेश्‍वरमा विश्‍वास गर्नु र आफ्नो कर्तव्य गर्नु हो भन्ठान्छन्। किसानहरूले झैँ काम र श्रम गर्ने विषय उठ्नेबित्तिकै, धेरैले सोच्छन्, यसरी जिउनुसँग हामी इसाईहरूको कुनै सम्बन्ध छैन। एक इसाईको जीवन “तल्लो स्तरका सुखहरू” बाट अलग हुन्छ। अन्तर्निहित रूपमा, तिनीहरूले आफू संसारका पट्टाइलाग्दा कुराहरूभन्दा माथि रहेको—सफाइ, कीट नियन्त्रण, खेतीपाती, काटछाँट, फूल रोपाइ, र आदि इत्यादि कुराहरू तिनीहरूसँग असम्बन्धित भएको विश्‍वास गर्छन्; तिनीहरू यस्तो तल्लो स्तरको जीवनयापनबाट धेरै पहिले नै माथि उठिसकेका छन्। के धेरैजसो मानिसहरूको स्थिति यही होइन र? (हो।) के यसप्रकारको स्थिति सच्याउन सजिलो छ? कतिपय मानिसहरूलाई मेसिन चलाउन सिक्न लगाउँदा, तिनीहरूले त्यसलाई गम्भीर रूपमा लिँदैनन् र जानाजानी त्यसलाई नराम्रोसित प्रयोग गरेरसमेत केही दिनमै उक्त मेसिन बिगार्छन्। अनि, भर्खरै किनिएका मेसिनहरू भाँचिन्छन्, र तिनको मर्मत खर्च सस्तो हुँदैन। तिनीहरू सोच्छन्: “तिमीले मलाई सिक्न भनेको होइन र? अब मैले मेसिन भाँचेर मेसिन नै बाँकी नरहेपछि, मैले विश्राम लिन पाउँछु नि, होइन र? मैले अबदेखि काम गर्नुपर्दैन होला, पर्छ त? तिमी मलाई सिक्न भनिरहन्थ्यौ, त्यसको नतिजा यही हो। के तिमीले यही देख्न चाहेका थियौ?” कतिपय मेसिनहरूको मर्मत खर्च लगभग नयाँ किन्दा जति नै पर्छ। कति मानिसहरू त यस्ता गल्तीहरू गरेपछि पनि बिलकुलै नराम्रो वा ग्लानि महसुस गर्दैनन्। तैँले यसलाई पहिले उल्लेखित “परमेश्‍वरको घरको पैसा एक सुको पनि खर्च नगर्ने, किनकि यो परमेश्‍वरलाई चढाइएको भेटी हो” भन्‍ने धारणासित तुलना गर्दा, कुन भनाइचाहिँ साँचो रूपमा बोलिएको हो, र कुन व्यवहारचाहिँ वास्तविकता हो? तिनीहरूले मेसिन भताभुङ्ग पार्छन्, र दुईपटक मर्मत गर्ने खर्चले नयाँ मेसिन किन्‍न पुग्छ। यो पैसा खेर फाल्ने व्यवहार नै वास्तविकता हो, तर भेटीहरू फजुलमा नउडाउनेसम्बन्धी भनाइ झूटो, छली र भ्रामक कुरा हो। यसअघि छलफल गरिएको उदाहरणको सन्दर्भमा, यदि हामीले यसलाई एक ख्रीष्टविरोधीको स्वभाव वा सारमा वर्गीकृत गर्ने हो भने, यो आजको छलफलको कुन पक्षसँग सम्बन्धित हुनेथ्यो? यसलाई कुन पक्षअन्तर्गत राखिनेथ्यो? तिनीहरू भन्छन्, “म यहाँ आफ्नो कर्तव्य गर्न आएको हुँ, तिम्रो दीर्घकालीन श्रमिक बन्‍नलाई होइन।” के यो भनाइ सही छ? तँ यहाँ आफ्नो कर्तव्य गर्न आएको होस्, तर त्यो कर्तव्यमा के पर्छ र के पर्दैन भनेर कसले तय गरेको छ? के यी कार्यहरू तैँले गर्नुपर्ने कामकै हिस्सा होइनन् र? ठ्याक्‍कै त्यस्तै, जस्तो कि दैनिक जीवनमा बाहिर गई पैसा कमाएर आफ्नो परिवार पाल्नु तेरो जिम्मेवारी हो। यदि तँ सागसब्जी चाहन्छस् र आफैले रोप्ने निर्णय गर्छस् भने, त्यो तेरो निर्णय हो, तर के त्यसको मतलब अन्य घरायसी कामहरू तेरो जिम्मेवारी होइनन् भन्‍ने हो त? तँ यहाँ तेरो कर्तव्य गर्न आएको होस् भन्‍ने भनाइ सही हो, तर तँ दीर्घकालीन श्रमिक बन्‍न आएको होइनस् भन्‍ने भनाइमा समस्या छ। “दीर्घकालीन श्रमिक” भन्नुको अर्थ के हो? तँलाई कसले दीर्घकालीन श्रमिकझैँ व्यवहार गरिरहेको छ? तँलाई कसैले पनि दीर्घकालीन श्रमिक ठानिरहेको छैन, र यी काम गर्दैमा वा थोरै मेहनत लगाउँदैमा तँ दीर्घकालीन श्रमिक बन्दैनस्। म तँलाई दीर्घकालीन श्रमिकको रूपमा हेर्दिनँ, न त परमेश्‍वरको घरले नै तँलाई त्यस रूपमा प्रयोग गर्छ। तैँले जुन तेरो जिम्मेवारी हो त्यही काम गर्छस्; यी सबै तेरो कर्तव्यको दायराभित्रै पर्छन्। सानो तहमा, यसले तेरो दैनिक जीवन सुचारु राख्ने, तेरो शारीरिक सु-स्वास्थ्य र सामान्य शारीरिक कार्यहरू सुनिश्‍चित गर्ने, साथै तँ राम्रोसँग जिउने सुनिश्‍चित गर्ने कुरालाई जनाउँछ। बृहत् तहमा, हरेक काम परमेश्‍वरको काम फैलाउनुसँग सम्बन्धित छ। त्यसैले तँ किन यी केही काम गर्न इच्छुक हुन्छस् र अरू काम गर्न इच्छुक हुँदैनस्? तँ किन रोजीछानी गर्छस्? तँ किन थोरै मेहनत लगाउनु, केही सफाइको काम गर्नु, र वातावरण व्यवस्थापन गर्नुलाई दीर्घकालीन श्रमिकको काम, अर्थात् साधारण श्रम मान्छस्? एउटा कारण यस्तो छ: ख्रीष्टका आदेशहरू र उहाँका सारा मागहरूका सन्दर्भमा, मानिसहरू आफूलाई इच्छा लागेका कामलाई आफ्नो कर्तव्यको पाटो मान्छन्, तर तिनीहरूलाई इच्छा नलागेका वा तिनीहरूले प्रतिरोध गर्ने कामलाई दीर्घकालीन श्रमिकका काम ठान्छन्। के यो तथ्यहरू बङ्ग्याउनु होइन र? यो मानिसहरूको बुझाइमा विचलन हो। यो विचलन केले गराउँछ? मानिसहरूका प्राथमिकताहरूले। अनि यी प्राथमिकताहरू कतातिर ढल्केका हुन्छन्? यो कुरा देहले कष्ट पाउँछ पाउँदैन भन्‍नेमा भर पर्छ। यदि देहलाई आराम मिल्दैन, यसले कठिनाइ वा थकान भोग्छ भने, मानिसहरू प्रतिरोधी बन्छन्। तिनीहरूलाई गर्न इच्छा लागेका आकर्षक र सम्मानयोग्य कार्यहरूलाई आनाकानीपूर्वक स्विकारिन्छ र त्यसलाई आफ्नो कर्तव्य गरेको मानिन्छ। के यो मनोवृत्तिलाई परमेश्‍वरको विरोध गरेको मान्‍न सकिँदैन र? मानिसहरू आफूलाई गर्न इच्छा नलागेका कार्यहरूको खरो विरोध गर्छन् र तिनलाई पूरा गर्न अस्वीकार गर्छन्; तैँले जति नै राम्रोसँग तर्क गरे पनि, तिनीहरूले सिधै अस्वीकार र विरोध गर्छन्। के मानिसहरूका यी स्थिति र समस्याहरू समाधान गर्न सजिलो छ? यो सबै कुनै व्यक्तिले सत्यतालाई कति प्रेम गर्छ भन्‍ने कुरामा भर पर्छ। यदि कसैले सत्यतालाई बिलकुलै प्रेम गर्दैन र ऊ सत्यताप्रति वितृष्ण रहन्छ भने, ऊ कहिल्यै बदलिनेछैन। तर यदि तँमा कष्ट भोग्ने सङ्कल्प छ, तँ देहविरुद्ध विद्रोह गर्न सक्छस्, र तँमा साँचो समर्पण र समर्पणको मनोवृत्ति छ भने, यी कुराहरूलाई सजिलै सुल्ट्याउन सकिन्छ, होइन र? (हो।) व्यक्तिको जीवनमा, कुनै पनि काम नगर्ने भन्‍ने कुरै हुँदैन। कति मानिसहरू भन्छन्, “विगतका सम्राटहरूले कुनै काम गर्दैनथे।” के त्यो वास्तवमै साँचो हो त? अधिकांश सम्राटहरू दरबारीय जीवन जिउँदै आफ्ना सारा दिन बिताउँदैनथे। कतिले त सानै उमेरमा कविता र साहित्य पढ्न थाल्थे, र बिहानदेखि बेलुकासम्म काम गर्थे। गद्दी आरोहण गरेपछि, तिनीहरू छद्मभेषमा मानिसहरूका दुःख बुझ्न जान्थे र राष्ट्रिय सङ्कटका समयमा, कति त युद्ध मैदानमा समेत जान्थे। यस्ता सम्राटहरू धेरै नभए पनि, केही त पक्कै थिए। केही पनि नगर्ने सम्राटहरू भए पनि, केही मानिसहरूले भनेजस्तै, ती एकदमै कम सङ्ख्यामा थिए। जुन व्यक्ति आफूलाई तोकिएको कुनै पनि गतिविधिमा संलग्न हुँदैन तर पनि उत्कृष्ट कुराहरू प्राप्त गर्ने सपना देख्छ उसले मनोकल्पना मात्र गरिरहेको हुन्छ।

धेरै मानिसहरू साधारण श्रममा मेहनत लगाउनुलाई सधैँ इज्जत नभएको कुरा भन्ठान्छन्। के यो विचार सही हो? त्यस्ता व्यक्तिहरू पनि छन्, जो यसरी मेहनत लगाउनुलाई श्रम गर्नुको रूपमा हेर्छन्, जो अगुवा र कामदारहरूले मण्डलीको काम गर्नुमात्र कर्तव्य निर्वाह गर्नु हो भन्‍ने विश्‍वास गर्छन्—के यस्तो बुझाइ सही हो? (होइन।) तैँले यस मामलालाई निम्न तरिकाले बुझ्न जरुरी छ: परमेश्‍वरले मानिसहरूलाई गर्नू भनी आवश्यक गराउनुभएका सबै कुराहरू र परमेश्‍वरको घरमा हुने विभिन्‍न प्रकारका काम मानिसहरूले निर्वाह गर्नु आवश्यक छ—यी सबै कुराहरू मानिसहरूका कर्तव्यमा गनिन्छन्। मानिसहरूले जुनसुकै काम गरे पनि, यो उनीहरूले निर्वाह गर्नुपर्ने कर्तव्य हो। कर्तव्यहरूले एकदमै फराकिलो दायरा समेटेका हुन्छन्, र यिनमा थुप्रै क्षेत्रहरू समावेश हुन्छन्, तर तैँले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, सरल भाषामा भन्‍नुपर्दा, यो तेरो दायित्व र तैँले गर्नुपर्ने काम हो। यदि तैँले यसलाई हृदयबाटै राम्रोसँग निर्वाह गर्न खोज्छस् भने, परमेश्‍वरले तँलाई अनुमोदन गर्नुहुनेछ, र तँलाई साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिको रूपमा मान्नुहुनेछ। तँ जोसुकै भए पनि, यदि तैँले सधैँ आफ्नो कर्तव्यबाट भाग्‍ने वा लुक्‍ने प्रयास गर्छस् भने, त्यहाँ समस्या छ। यसलाई हल्का रूपमा भन्दा, तँ अत्यन्तै अल्छी, अत्यन्तै धूर्त छस्, तँ फोकटमा बस्छस्, तँलाई फुर्सत मन पर्छ र परिश्रम मन पर्दैन। यसलाई अझै गम्‍भीर रूपमा भन्दा, तँ आफ्‍नो कर्तव्य निर्वाह गर्न अनिच्‍छुक छस्, र तँसँग कुनै बफादारी वा समर्पण छैन। यदि तैँले यो सानो कामको भार बोक्न पनि शारीरिक मेहनत लगाउन सक्दैनस् भने, तैँले केचाहिँ गर्न सक्छस्? तैँले के कामचाहिँ राम्ररी गर्न सक्छस्? यदि कुनै व्यक्तिमा आफ्नो कर्तव्यप्रति साँच्चिकै बफादारी र जिम्‍मेवारीबोध छ भने, त्यो परमेश्वरद्वारा माग गरिएको, र परमेश्वरको घरलाई खाँचो भएसम्म, तिनीहरूले आफ्नै निर्णय नगरी माग गरिएको जे पनि गर्नेछन्। के आफूले गर्न सक्ने र गर्नुपर्ने कर्तव्य लिनु र राम्रोसँग गर्नु नै कर्तव्य निर्वाह गर्नुको एउटा सिद्धान्त होइन र? (हो।) बाहिर साधारण श्रम गर्ने कतिपय मानिसहरू असहमत हुन्छन्, र भन्छन्, “तपाईँहरू आफ्नै कोठामा बसेर, घाम र बतासबाट बचेर आफ्‍नो कर्तव्य पूरा गर्दै सारा दिन बिताउनुहुन्छ। यसमा बिलकुलै कठिनाइ छैन, तपाईँहरूको कर्तव्य हाम्रोभन्दा धेरै नै आरामदायी छ। आफूलाई हाम्रो ठाउँमा राख्नुहोस्, अनि बाहिर हावाहुरी र वर्षामा घण्टौँ काम गर्न सहन सक्नुहुन्छ कि हुन्न, हेरौँ न।” वास्तवमा, सबै कर्तव्यमा केही कठिनाइ हुन्छन्। शारीरिक श्रममा शारीरिक कठिनाइ हुन्छ, अनि मानसिक श्रममा मानसिक कठिनाइ हुन्छ; प्रत्येक कर्तव्यको आफ्नै कठिनाइ हुन्छ। सबै कुरा भन्‍नुभन्दा गर्नु कठिन हुन्छ। मानिसहरूले साँच्‍चै कुनै काम गर्न सुरु गर्दा, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको, एक हिसाबमा, तिनीहरूको चरित्र हो, र अर्को हिसाबमा, तिनीहरूले सत्यतालाई प्रेम गर्छन् कि गर्दैनन् भन्‍ने हो। सुरुमा हामी चरित्रबारे कुरा गरौँ। यदि कुनै व्यक्ति राम्रो चरित्रको छ भने, उसले सबै कुराको सकारात्मक पक्षलाई देख्छ, उसले सकारात्मक दृष्टिकोणबाट र सत्यताको आधारमा कामकुराहरू स्विकार्न र बोध गर्न सक्षम हुन्छ; अर्थात्, उसको हृदय, चरित्र, र आत्मा इमानदार छन्—यो चरित्रको दृष्टिकोण हो। अब हामी अर्को पक्ष अर्थात् व्यक्तिले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्‍नेबारेमा कुरा गरौँ। सत्यतालाई प्रेम गर्नु भनेको सत्यता स्वीकार गर्न सक्षम हुनु हो, भन्‍नुको मतलब, तैँले परमेश्‍वरका वचनहरू बुझे पनि वा नबुझे पनि, र तैँले परमेश्‍वरको अभिप्राय बुझे पनि नबुझे पनि, कामबारे र तैँले निर्वाह गर्नुपर्ने कर्तव्यबारे तेरो विचार, राय र दृष्टिकोण सत्यताअनुरूप भए पनि नभए पनि, तैँले अझै पनि यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्न सक्छस्; यदि तँ समर्पित र सच्चा छस् भने, त्यो नै काफी हुन्छ, यसले तँलाई आफ्नो कर्तव्य निर्वाह गर्न योग्य बनाउँछ, र यो न्यूनतम माग हो। यदि तँ समर्पित र सच्चा छस् भने, तैँले कुनै काम गर्दा, तँ झाराटारुवा हुनेछैनस्, र तँ छली रूपमा सुस्ताउनेछैनस्, बरु तैँले त्यसमा आफ्नो पूरै हृदय र शक्ति लगाउनेछस्। यदि कुनै व्यक्तिको भित्री स्थिति गलत छ, र उसमा नकारात्मकता उत्पन्न हुन्छ भने, उसको हुटहुटी हराउँछ, र ऊ झाराटारुवा हुन चाहन्छ; उसलाई आफ्नो स्थिति ठीक छैन भनेर हृदयमा राम्ररी थाहा हुन्छ, तैपनि ऊ सत्यता खोजी गरेर यसलाई सुल्झाउने प्रयास गर्दैन। यस्ता मानिसहरूमा सत्यताप्रति प्रेम हुँदैन, र तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्न अलिअलि मात्र इच्छा गर्छन्; तिनीहरू कुनै पनि प्रयास गर्न वा कठिनाइ भोग्‍न अनिच्छुक हुन्छन्, र सधैँ छली रूपमा सुस्ताउने कोसिस गरिरहेका हुन्छन्। वास्तवमा, परमेश्‍वरले पहिले नै यो सबै कुरा छानबिन गरिसक्नुभएको हुन्छ—त्यसो भए, तिनीहरूलाई किन उहाँ थोरै पनि ध्यान दिनुहुन्‍न? परमेश्‍वर त उहाँका चुनिएका मानिसहरू ब्युँझिऊन् र ती मानिसहरूलाई खुट्ट्याएर खुलासा गरून् र हटाऊन् भनेर मात्र प्रतीक्षारत हुनुहुन्छ। तैपनि, त्यस्ता मानिसहरूले अझै यस्तो सोच्छन्, “म कति चलाख छु, हेर त। हामी उही खाना खान्छौं, तर काम गरिसकेपछि, तिमीहरू थाकेर लखतरान हुन्छौ र म बिलकुलै थाक्दिनँ। सबैभन्दा बाठो मै हुँ। म त्यस्तो कडा मेहनत गर्दिनँ; जसले कडा मेहनत गर्छ त्यो मूर्ख हो।” के तिनीहरूले इमानदार मानिसहरूलाई यसरी हेर्नु ठीक हुन्छ? हुँदैन। साँच्‍चै भन्‍ने हो भने, आफ्नो कर्तव्य निर्वाह गर्दा कडा मेहनत गर्ने मानिसहरूले सत्यता अभ्यास गरिरहेका र परमेश्‍वरलाई सन्तुष्ट पारिरहेका हुन्छन्, त्यसैले तिनीहरू नै सबैभन्दा बाठा मानिसहरू हुन्। केले तिनीहरूलाई बाठा तुल्याउँछ? तिनीहरू भन्छन्, “म परमेश्‍वरले मलाई गर्न नलगाउनुभएको कुनै पनि कुरा गर्दिन, र म उहाँले गर्न लगाउनुभएको सबथोक गर्छु। उहाँले जे भन्‍नुहुन्छ म त्यही गर्छु, म मेरो हृदय र सारा ऊर्जा यसैमा लगाउँछु, मैले सक्‍ने सबै कुरा यसमा लगाउँछु, र म बिलकुलै झारा टार्दिनँ। मैले यो कुनै व्यक्तिको लागि गरिरहेको छैन, मैले त यो परमेश्‍वरको लागि गरिरहेको छु। परमेश्‍वरले मलाई अत्यन्तै प्रेम गर्नुहुन्छ; परमेश्‍वरलाई सन्तुष्ट पार्न मैले यो काम गर्नुपर्छ।” यो सही मनस्थिति हो। फलस्वरूप, जब मण्डलीले मानिसहरूलाई सफा गर्छ, तब आफ्नो कर्तव्य निर्वाह गर्दा, धुर्त्याइँ गर्नेहरू सबैलाई हटाइन्छ, तर परमेश्‍वरको छानबिन स्विकार्ने इमानदार मानिसहरू मण्डलीमै रहन्छन्। ती इमानदार मानिसहरूका स्थितिहरूमा सुधार आइरहन्छ, र तिनीहरूमाथि आइपर्ने सबै कुरामा परमेश्‍वरले नै तिनीहरूको रक्षा गर्नुहुन्छ। अनि केले गर्दा तिनीहरूले यो सुरक्षा प्राप्त गर्छन्? किनभने तिनीहरू हृदयमा इमानदार हुन्छन्। तिनीहरूले कर्तव्य निर्वाह गर्दा कठिनाइ वा थकानको डर मान्दैनन्, र तिनीहरू आफूलाई सुम्पिइएको कुनै पनि कुरामा चयनशील हुँदैनन्; तिनीहरूले किन भनेर सोध्दैनन्, तिनीहरू आफूलाई जसो गर्न भनिएको छ त्यसै गर्छन्, कुनै छानबिन वा विश्‍लेषण नगरी, वा अरू कुनै कुराबारे विचार नगरी आज्ञापालन गर्छन्। तिनीहरूले कुनै पनि हिसाबकिताब गर्दैनन्, र सबै थोकमा आज्ञापालन गर्न सक्छन्। तिनीहरूको भित्री स्थिति सधैँ निकै सामान्य हुन्छ। खतरा सामना गर्दा, परमेश्‍वरले तिनीहरूको रक्षा गर्नुहुन्छ, जब तिनीहरूमाथि रोग वा महामारी आइलाग्छ, तब पनि परमेश्‍वरले तिनीहरूको रक्षा गर्नुहुन्छ, र भविष्यमा तिनीहरूले आशिष्‌हरू मात्र पाउनेछन्। कतिपय मानिसहरूले यस मामलालाई छर्लङ्गै देख्‍न सक्दैनन्। जब तिनीहरूले इमानदार मानिसहरूले कर्तव्य निर्वाह गर्दा इच्छापूर्वक कठिनाइ र थकान सहेको देख्छन्, तब तिनीहरूले यी इमानदार मानिसहरू मूर्ख हुन् भन्‍ने सोच्छन्। ल भन् त, के यो मूर्खता हो? यो सच्चाइ हो, यो साँचो आस्था हो। साँचो आस्थाबिना साँच्‍चिकै कहिल्यै बुझ्न वा बुझाउन नसकिने त्यस्ता धेरै कुराहरू छन्। जसले सत्यता बुझ्छन्, जो सधैँ परमेश्‍वरसामु जिउँछन् र उहाँसँग सामान्य सङ्गत गर्छन्, र जो परमेश्‍वरप्रति साँच्चै समर्पित हुन्छन् र साँच्चिकै उहाँको डर मान्छन्, तिनीहरूलाई मात्र साँच्चिकै के भइरहेको छ भनेर हृदयमा सबैभन्दा प्रस्ट थाहा हुन्छ। किन तिनीहरूलाई चाहिँ थाहा भएको तर अरूलाई नभएको? यो कुरा तिनीहरूले सत्यता अभ्यास गरेर अनि इमानदार मानिस बनेर प्राप्त गरेको अनुभवबाट आउँछ। यो अनुभव कुनै पनि व्यक्तिले दिन सक्दैन, न त यसलाई कसैले चोर्न वा लैजान नै सक्छ। के यो आशिष् होइन र? यस्तो आशिषित हुने अवस्था साधारण मानिसहरूले प्राप्त गर्न सक्दैनन्। अनि किन यस्तो भएको? किनभने मानिसहरू अत्यन्तै छली र दुष्ट हुन्छन्; तिनीहरूमा इमानदारीको कमी हुन्छ, तिनीहरू इमानदार मानिस हुन सक्दैनन्, र तिनीहरूमा साँचो हृदय हुँदैन, त्यसैले तिनीहरूले सीमित कुरा मात्र प्राप्त गर्छन्। ख्रीष्टविरोधीहरूको कुरा गर्नुपर्दा, तिनीहरूलाई उल्लेख गर्न झन् कम आवश्यक छ। विभिन्‍न मामलाहरूप्रति तिनीहरूका मनोवृत्तिहरू, साथै तिनीहरूको प्रकृति सारको आधारमा, र विशेषगरी ख्रीष्टप्रति तिनीहरूको मनोवृत्तिको आधारमा हेर्दा, ख्रीष्टविरोधी मानिसहरूले यो आशिष् कहिल्यै प्राप्त गर्नेछैनन्। किन यस्तो हुन्छ? किनकि तिनीहरूका हृदय अत्यन्तै दुष्ट र धूर्त हुन्छन्! तिनीहरूले मानिसहरूलाई व्यक्तिअनुसार फरकफरक व्यवहार गर्छन्, तिनीहरू छेपारोले झैँ आफ्नो रङ्ग फेर्छन्, र तिनीहरूका सोचहरू सधैँ चलिरहन्छन्, तिनीहरू फाइदा नदेखेसम्म कुनै एक सिन्को भाँच्दैनन्, परमेश्‍वरप्रति सच्चा हुँदैनन्, उहाँप्रति कुनै समर्पण राख्दैनन्, र उहाँसँग लेनदेन मात्र गर्छन्। यस्तो मनोवृत्ति र सारको परिणाम के हुन्छ? के हुन्छ भने, तिनीहरूले जुनसुकै मामलामा पनि विभिन्‍न मानिस र परिस्थितिहरूको सार, साथै यी परिस्थितिहरूसँग सम्बन्धित सत्यताहरू छर्लङ्गै देख्न वा बुझ्न असक्षम हुन्छन्। परमेश्‍वरका वचनहरू तिनीहरूसामु प्रस्तुत छन्, र तिनीहरू शिक्षित छन्, पढ्न र विश्‍लेषण गर्न जान्दछन्, बौद्धिक छन्, र सूक्ष्मजाँच गर्न जान्दछन्, तब किन तिनीहरूले बुझ्न सक्दैनन्? तिनीहरू जति वर्षसम्म बाँचे पनि, ८० वर्षसम्म नै बाँचे पनि, तिनीहरूले अझै बुझ्नेछैनन्। तिनीहरूले किन बुझ्नेछैनन्? सबैभन्दा महत्त्वपूर्ण कारण यो हो कि तिनीहरूका आँखामा पट्टी बाँधिएका छन्। कतिपय मानिसहरू भन्छन्, “तर हामीले त तिनीहरूका आँखा छोपिएका देखेका छैनौँ।” छोपिएका त तिनीहरूका हृदयहरू हुन्। छोपिएका भन्नुको मतलब के हो? यसको मतलब तिनीहरूको हृदयले अन्तर्दृष्टि पाएका छैनन्; तिनीहरू सदाको लागि छोपिएका छन्। पहिले, “मानिसहरूको हृदय बोधो छ” भनिन्थ्यो। त्यसोभए, ख्रीष्टविरोधीहरूको हृदय कसले बोधो बनाएको हो? वास्तवमा, परमेश्‍वरले नै तिनीहरूलाई अन्तर्दृष्टि नदिनुभएको हो। उहाँ तिनीहरूलाई सिद्ध पार्न वा मुक्ति दिन चाहनुहुन्‍न। उहाँले केवल उचित समयमा, गम्भीर र महत्त्वपूर्ण क्षणहरूमा, तिनीहरूलाई थोरै रोक्न र परमेश्‍वरको घरका हितहरूमा हानि पुग्नबाट जोगाउन मात्र हस्तक्षेप गर्नुहुन्छ। तर जब परमेश्‍वरका वचनहरू, सत्यता, उहाँप्रति समर्पित हुने, आफूलाई चिन्‍ने, र उहाँलाई चिन्‍ने मामलाहरूको कुरा आउँछ, धेरैजसो समय उहाँले तिनीहरूलाई कहिल्यै अन्तर्दृष्टि दिनुहुन्‍न। कतिले भन्लान्, “त्यो ठिक होइन। उहाँले तिनीहरूलाई अन्तर्दृष्टि दिनुहुन्‍न भनेर तपाईँले कसरी भन्‍न मिल्छ? ख्रीष्टविरोधीका रूपमा चित्रण गरिएका कतिपय मानिसहरू निकै चलाख हुन्छन्। कुनै प्रवचन सुनेपछि, यदि तपाईँले तीन घन्टासम्म बोल्नुभयो भने, तिनीहरूले छ घन्टासम्म बोल्न सक्छन्। के त्यो अन्तर्दृष्टि होइन र?” तिनीहरूले जति नै घन्टा बोल्‍न सके पनि, ३० घन्टै बोल्‍न सके पनि, तिनीहरूले बोल्‍ने त केही शब्द र धर्मसिद्धान्तहरू मात्र त हो। के फरिसी र शास्‍त्रीहरू यी मानिसहरूभन्दा राम्रो बोल्न सक्दैनथे र? तिनीहरू सबैजना प्रचार गर्न माहिर थिए, र कुशलतापूर्वक बोल्थे, तर त्यसले के फाइदा गर्‍यो? परमेश्‍वर आइपुग्‍नुहुँदा पनि तिनीहरूले उहाँको प्रतिरोध र निन्दा नै गरे। यसबाट तिनीहरूले के पाए? यसबाट तिनीहरूले विनाश, अनन्त विनाश, र महाविपत्ति पाए। बाहिरबाट हेर्दा, परमेश्‍वरको घरमा सबैले आफ्नो कर्तव्य निर्वाह गरिरहेको देखिन्छ, हरव्यक्तिले दिनमा तीन छाक खाना खान्छन्, दिनमा आफ्ना कर्तव्यहरू निर्वाह गर्छन्, र रातमा विश्राम लिन्छन्। तर धेरै वर्षपछि, विभिन्‍न प्रकारका मानिसहरूबीचका भिन्‍नताहरू उल्लेखनीय बन्छन्, र विभिन्‍न प्रकारका मानिसहरूका परिणामहरू खुलासा हुन्छन् र तिनीहरूका भिन्नताहरू थाहा पाइन्छ। कति मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्ने मौखिक घोषणा गर्छन्, तर सही मार्ग पछ्याउँदैनन्, बरु नरकतिर दौडिन्छन्। तर अरूचाहिँ सत्यतालाई प्रेम गर्छन् र निरन्तर त्यसको लागि मरिमेट्छन्, त्यसैले तिनीहरू बिस्तारै सत्यता वास्तविकतामा प्रवेश गर्छन्। कति मानिसहरू सधैँ आरामदायी जीवन जिउन चाहन्छन् र आफ्नो कर्तव्य निर्वाहमा झन्झन् धूर्त बन्छन्, र अन्त्यमा हटाइन्छन्। कतिले सत्यता स्विकार्न सक्छन्, हृदयमा तिनीहरू झन्झन् इमानदार बन्छन्, र आफ्नो जीवन स्वभावमा परिवर्तनको अनुभव गर्छन्, अनि तिनीहरूले परमेश्‍वर र मानिसहरू दुवैको प्रेम पाउँछन्। कतिले चाहिँ सधैँ शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्नमा जोड दिन्छन्, र त्यति प्रचार गरिसकेपछि तिनीहरू परमेश्‍वरद्वारा तिरस्कृत हुन्छन् र यसरी बरबाद हुन्छन्। कतिपयसँग आत्मिक बुझाइ हुँदैन, र तिनीहरूले जति बढी प्रवचनहरू सुन्छन्, तिनीहरू त्यति नै बढी दुविधामा पर्छन्, त्यति नै कम सत्यतामा रुचि राख्छन्, र त्यति नै कम समर्पित बन्छन्, र यसरी तिनीहरू मनोमानी र लहडी तरिकाले कार्य गर्न चाहन्छन्, सधैँ आफ्नै चाहनाहरू पूरा गर्न खोज्छन् र प्रसिद्धि, लाभ र हैसियत प्राप्त गर्ने उद्देश्य राख्छन्—यो खतरनाक कुरा हो। कति मानिसहरू वर्षौँसम्म परमेश्‍वरलाई पछ्याउँछन्, अनि परमेश्‍वरका वचनहरू खाएपछि-पिएपछि र धेरै कुराहरू अनुभव गरेपछि, तिनीहरूले धेरै सत्यताहरू बुझ्छन्, परमेश्‍वरमाथि झन्झन् बढी आस्था राख्छन्, र परमेश्‍वरको अनुमोदन प्राप्त गर्छन्। यी सबै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्, मण्डली जीवन जिउँछन्, र आफ्ना कर्तव्यहरू निर्वाह गर्छन्, त्यसोभए किन आठदस वर्षपछि तिनीहरूका नतिजाहरू फरक हुन्छन्, तिनीहरूको प्रकारअनुसार हुन्छन्? यसले के चित्रण गर्छ? के मानिसहरूको प्रकृति सारमा भिन्‍नताहरू हुँदैनन् र? (हुन्छन्।)

हामीले छलफल गरेका ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूमध्ये यो कुन वर्गमा पर्छ भन्‍नेबारे तिमीहरूले सुन्नुपर्ने र विचार गर्नुपर्ने अर्को मामला यहाँ छ। कतिपय मण्डलीहरूमा, दुष्ट मानिसहरूले तानासाही र बेमनासिब तरिकाले कार्य गरिरहेको प्रस्ट देखिन्छ। तिनीहरूले कुनै ठोस काम गर्न सक्दैनन्, तैपनि तिनीहरू सधैँ शक्ति हातमा लिन चाहन्छन्। तिनीहरूले जे काम सुरु गरे पनि त्यसमा बाधा र विनाश निम्त्याउँछन् र सिद्धान्तहरू पालना गर्दैनन्, साथै तिनीहरूले जेसुकै गरे पनि त्यसमा कहिल्यै मूल्य चुकाउन चाहँदैनन्, तैपनि सधैँ अरूले तिनीहरूको कुरा सुनून् भन्‍ने चाहन्छन्। छोटकरीमा भन्दा, यस्तो व्यक्ति मण्डलीमा रहुन्जेल ऊबाट अरू धेरैलाई बाधा पुग्नेछ, साथै परमेश्‍वरको घरको काम र मण्डलीको व्यवस्थामा असर र क्षति पुग्नेछ। यस्ता मानिसहरूले खुल्लमखुल्ला कुनै ठूलो दुष्टता वा दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गर्ने काम नगरे पनि, यदि तैँले तिनीहरूको मानवता, सार, विभिन्‍न मामलाहरूबारे तिनीहरूका दृष्टिकोणहरू, साथै दाजुभाइ-दिदीबहिनीहरू, परमेश्‍वरको घरको काम, र तिनीहरूका आफ्नै कर्तव्यहरूप्रति तिनीहरूका मनोवृत्तिहरू हेरिस् भने, तिनीहरू विशुद्ध रूपमा दुष्टहरूको दर्जामा पर्छन्। यदि दाजुभाइ-दिदीबहिनीहरूले देख्नुपहिले नै यस्तो व्यक्तिसँग मेरो भेट भयो भने, मैले उसलाई कसरी सम्हाल्नुपर्छ? के उसलाई निकाल्‍न उसले कुनै गम्भीर गल्ती गरुन्जेल वा महाविपत्ति निम्त्याउन्जेल कुर्नुपर्छ, र उसले “ठूलो सनसनी मच्चाएपछि” मात्र उसलाई धपाउनुपर्छ? के त्यो जरुरी छ? (छैन।) त्यसोभए मैले के गर्नुपर्छ? कम्तीमा पनि, मैले उसलाई उसको कर्तव्यबाट बरखास्त गर्नुपर्छ। त्यसपछि, मैले उसलाई एक्ल्याएर राख्‍नुपर्छ वा निकाल्नुपर्छ, अरूलाई असर नपुगोस् भनेर उसलाई कर्तव्य गर्न रोक लगाउनुपर्छ। परमेश्‍वरको घरको महत्त्वपूर्ण काममा, यस्ता दुष्ट मानिसहरूलाई उपस्थित हुने अनुमति छैन—के यो सिद्धान्त सही हो? यदि तिनीहरू प्रकट भएका छैनन् भने, भैगो ठिकै छ, तर तिनीहरू प्रकट भएर प्रस्ट रूपमा देखिनुका साथै दुष्ट मानिसहरूका रूपमा चित्रित भएपछि, के तिनीहरूलाई सफाइ गर्नु ठिक होइन र? (हो।) कति मानिसहरूले भन्‍न सक्छन्, “त्यसरी हुँदैन। तिमीले त तिनीहरूलाई छर्लङ्गै देखेका छौ, तर अरूले देखेका छैनन्। तिनीहरूलाई सफाइ गर्दा अरूलाई असर पर्नेछ। यदि तिमीले तिनीहरूलाई छर्लङ्गै देखेकै कारण सफाइ गर्‍यौ भने, के त्यसको अर्थ तिमी एक्लैले निर्णय गरिरहेका छौ भन्‍ने हुँदैन र? के त्यो साँच्चिकै सत्यतालाई शक्ति सम्हाल्न दिनु हो त? हामीले दाजुभाइ-दिदीबहिनीहरूसँग भेला भएर सङ्गति गर्नुपर्छ, तिनीहरूको चिरफार गर्नुपर्छ, तिनीहरूमाथि वैचारिक काम गर्नुपर्छ, सामग्रीहरू सङ्कलन गर्नुपर्छ र अघि बढ्नुपहिले सबैको अनुमोदन प्राप्त गर्नुपर्छ। तिमीले प्रक्रियाहरू पालना गर्नुपर्छ, यदि गरेनौ भने, के तिमीले मण्डलीको कामका प्रबन्धहरू उल्लङ्घन गरिरहेका हुँदैनौ र? के यो गलत हुँदैन र? पहिला तिमी आफैले मण्डलीका कार्य प्रबन्धहरू पालना गर्नुपर्छ; तिमीले तिनलाई बिथोल्न मिल्दैन। यसअलावा, चाहे त्यो जेसुकै होस्, सबथोक दाजुभाइ-दिदीबहिनीहरूबारे सोचेर नै गरिने होइन र? त्यस्तो हुने भएकोले, तिमीले सबै दाजुभाइ-दिदीबहिनीहरूलाई यसबारे पूर्ण रूपमा सचेत बनाउनुपर्छ र सत्यताको यो पक्षबारे प्रस्ट पार्नुपर्छ। तिमीले तिनीहरूलाई अकमक्‍क पार्नु हुँदैन; तिमीले सबै दाजुभाइ-दिदीबहिनीहरूलाई खुट्ट्याउन सक्षम तुल्याउनुपर्छ।” यदि यी प्रक्रियाहरू पालना गरिएका छैनन् र मैले कसैलाई निकाल्न भनेँ भने, तिमीहरूले त्यो काम कसरी अघि बढाउँथ्यौ? तिमीहरू दुविधामा हुनेथ्यौ, होइन त? तिमीहरूले आफूलाई अल्झिएको अवस्थामा पाउनुले तिमीहरूमा यस्ता दृष्टिकोणहरू छन् भन्‍ने प्रमाणित गर्छ। म जेबारे बोलिरहेको छु त्यो भइसकेको छ। एउटा महत्त्वपूर्ण कार्य परिवेशमा, खराब मानवता भएको एउटा दियाबलसले कर्तव्य गर्ने क्रममा कठिनाइ र थकानबाट बच्ने कोसिस गर्दै छलीपूर्वक सुस्ताउँदै ढिलो काम गर्थ्यो। उसले हरमोडमा मण्डलीको काममा बाधा र अवरोध पुर्‍याउँथ्यो, र काटछाँट गरिँदा, ऊ उपद्रवी बन्थ्यो, र सत्यतालाई पूर्ण रूपमा इन्कार गर्थ्यो। ऊ सधैँ पदमा बसेर निर्णयहरू गर्न र अरूलाई आदेश पनि दिन चाहन्थ्यो, साथै उसले मण्डलीका हितहरूबारे विचार गर्ने वा सिद्धान्तहरू पालना गर्ने काम कहिल्यै गर्दैनथ्यो, उसका प्राथमिकताहरूअनुसार मात्र कार्य गर्थ्यो। ऊ कामको प्रभारी भएको समयमा, मैले उसलाई गर्न भनी निर्देशन दिएका धेरै कुराहरू उसले बेवास्ता गर्‍यो, र मेरा वचनहरू केही पनि होइनझैँ गर्‍यो। आफ्ना कामहरू नगर्नुको अलावा, उसले बाधाहरू पनि निम्त्यायो। मण्डली भनेको आफ्ना कर्तव्यहरू पूरा गर्ने एउटा महत्त्वपूर्ण थलो हो—यदि उसले ऊ आफ्नो कर्तव्य गर्न आएको नभई राजकुमारझैँ आरामदायी रूपमा जिउन वा चाँडै सेवानिवृत्त हुन आएको हो भन्‍ने सोचेको थियो भने, ऊ गलत थियो। परमेश्‍वरको घर न त कुनै कल्याणकारी संस्था हो, न कुनै आश्रयस्थल हो। त्यो मान्छेजस्ता नालायकहरू जहाँ गए पनि काम छैन; तिनीहरू आफ्नो कुनै पनि कर्तव्यमा बफादार हुँदैनन्, सधैँ झारा टार्छन् र यतिकै भौँतारी हिँड्छन्। त्यसकारण, मैले उसलाई तुरुन्तै निकाल्न भनेँ। के यो अभ्यास गर्न सजिलो हुन्थ्यो? (हुन्थ्यो।) तर कुनै एकप्रकारको व्यक्तिको लागि यस्तो सजिलो मामलासमेत कार्यान्वयन गर्न गाह्रो हुन्छ। मैले बोलेको तीन महिनापछि बल्‍ल त्यो दुष्ट व्यक्तिलाई बलजफ्तीपूर्वक निकालेर पठाइयो। यसो गर्नुको कारण के थियो? मैले त्यो मान्छेलाई हटाउने आदेश जारी गरेपछि, त्यस मण्डलीको अगुवाले उक्त काम “कार्यान्वयन” गर्न थाल्यो। उसले यसलाई कसरी कार्यान्वयन गर्‍यो त? उसले एउटा भेला बोलाएर सबैलाई उक्त निर्णयबारे मत हाल्न भन्यो। धेरै छलफल गरेपछि, बहुमत अन्ततः उसलाई हटाउन सहमति भयो, तर विपक्षमा एउटा मत खस्यो, त्यसैले उक्त मामलालाई स्थगित गरियो। त्यो अगुवाले असहमत व्यक्तिलाई पनि सम्बोधन गर्नुपर्ने, र ऊसित छलफल गरेर उसलाई सहमतिमा ल्याउनुपर्ने भन्यो। त्यहीबेला, मैले त्यो मान्छेलाई धपाइयो कि धपाइएन भनेर दुईपटक सोधेँ, र त्यो अगुवाले उसलाई धपाइएको छैन, अझै पनि प्रमाणहरू जुटाउँदै र मिलाउँदै छ भनी जवाफ दियो। मेरो पिठ्यूँपछाडि, उसले यस्तो पनि भन्यो, “एउटा व्यक्ति मात्र पनि असहमत रहुन्जेलसम्‍म, हामीले उसलाई हटाउन मिल्दैन।” उसले यसो भन्नुको मतलब के थियो भने, ऊ त्यो मान्छेलाई हटाउन चाहँदैनथ्यो, त्यसैले उसले यो अनर्थक कारण भेट्टायो। वास्तवमा, उसले अरूलाई झुक्याइरहेको थियो; उसलाई त्यो मान्छे चिढिने डर थियो र उसले त्यसलाई हटाउने आँट गरेन। अन्त्यमा, माथिबाट एउटा अन्तिम चेतावनी आयो: “यो मान्छेलाई धपाउनैपर्छ। यदि ऊ गएन भने, तँ जानैपर्छ। तिमीहरूमध्ये एक जना जानैपर्छ; तँ आफै छान्!” जब उसले यो कुरा सुन्यो, उसले सोच्यो, “म त जान सक्दिनँ; मैले मेरो पदको पर्याप्त आनन्द लिएको छैनँ!” त्यसपछि मात्र उसले त्यो दियाबलसलाई धपायो। ल भन् त, यो अगुवाले दियाबलसलाई किन रक्षा गर्‍यो? के यो ख्रीष्टविरोधी शैली होइन र? यो ठ्याक्कै ख्रीष्टविरोधी व्यवहार हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्