विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग तीन) खण्ड चार
हामीले भर्खरै खुलासा गरेको कुरा ख्रीष्टविरोधीहरूले मण्डलीलाई र परमेश्वर देहधारी हुनुभएको देहलाई मण्डलीका परिस्थितिहरू र परमेश्वरको कामको फैलावटअनुसार कसरी व्यवहार गर्छन् भन्ने हो। यो ख्रीष्टविरोधीहरूले कसरी आफ्नो मुडअनुसार ख्रीष्टलाई व्यवहार गर्छन् भन्ने कुराको एउटा पक्ष हो। के मैले छलफल गरेका यी कुराहरू मण्डलीमा भइरहेका छन्? के ती गम्भीर मामलाहरू हुन्? के ती उल्लेख गर्न योग्य छन्? (छन्।) यी मामलाहरू सङ्गति गर्नुको के महत्त्व छ? के यसको मतलब यो सुनेपछि कतिपय मानिसहरूले अबदेखि यी मामलाहरूबारे सोधपुछ गर्ने आँट गर्नेछैनन्, मण्डलीका अवस्था र परिस्थितिहरूबारे जिज्ञासु हुने आँट गर्नेछैनन् भन्ने हो? त्यसको महत्त्व त्यो मात्र हो? (होइन।) त्यसोभए, यी कुराहरू खुलासा गर्नुको महत्त्व के हो? मानिसहरूले यसबाट कस्तो सत्यता बुझ्नुपर्छ? यदि तिमीहरूले यसबारे अझै पनि सोचेका छैनौ भने, तिमीहरूले बोल्न छोड्दा हुन्छ। म यो कुरा तिमीहरूसँग अन्त्यमा सङ्गति गर्नेछु। यी तिमीहरूबाट धेरै टाढाका मामला हुन्, त्यसैले यसलाई तत्काल व्यक्त गर्न तिमीहरूलाई गाह्रो लाग्न सक्छ। तिमीहरूले एकाग्र भएर सोच्नुपर्छ र आफ्नो भाषा मिलाउनुपर्छ; कहाँबाट सुरु गर्ने भनेर तिमीहरूलाई थाहा नहुन सक्छ, वा तिमीहरू त्यसलाई प्रस्ट रूपमा व्यक्त गर्न सक्षम नहुन सक्छौ। मानिसहरूले बुझ्ने कुरा एकदमै थोरै हुन्छ, यो निकै दयनीय हो। कुनै मामलाको सार र कारण प्रस्ट रूपले व्याख्या गर्न नसक्नु भनेको यी कुराहरूलाई छर्लङ्गै नदेख्नुको सङ्केत हो।
जब मानिसहरूले स्वर्गको परमेश्वरमा विश्वास गर्छन् र परमेश्वरप्रति आफूलाई समर्पित गरेर कर्तव्यहरू पूरा गर्छन्, तब मानिसहरूका लागि मण्डली, परमेश्वरको घर, र परमेश्वर एउटै अवधारणा हुन् भनेर भन्न सकिन्छ। मण्डलीमा आफ्नो कर्तव्य गर्नुलाई परमेश्वरप्रति आफूलाई समर्पित गरेको मानिन्छ; परमेश्वरको घरको लागि काम गर्नु भनेको मण्डलीको लागि काम गर्नुजस्तै हो, र यो परमेश्वरप्रति बफादार हुनु र परमेश्वरको आज्ञा स्विकार्नु पनि हो। यी कुराहरूलाई पर्यायवाची रूपमा छलफल गर्न सकिन्छ र एउटै अवधारणाको रूपमा हेर्ने गरिन्छ। तर जब परमेश्वर देह बनेर साधारण व्यक्तिको रूपमा देखा पर्नुहुन्छ, धेरैजसो मानिसहरूको लागि, मण्डली, परमेश्वरको घर, र परमेश्वर (भन्नुको मतलब, ख्रीष्ट) सजिलै छुट्टिन्छन्। मानिसहरूले सोच्छन्, “मण्डलीको लागि काम गर्नु र परमेश्वरको घरको लागि, परमेश्वरको लागि काम गर्नु एउटै हो; परमेश्वरको घरको लागि काम गर्नु भनेको आफ्नो कर्तव्य गर्नु हो। तर ख्रीष्टका लागि कामकुरा गर्ने सन्दर्भमा, म त्यति निश्चित छैनँ। के त्यसले कुनै व्यक्तिको सेवा गरेको जनाउँदैन र? यो कताकता कुनै व्यक्तिको लागि काम गर्नेजस्तो देखिन्छ।” धेरैको हृदयको गहिराइमा, यी तीन कुराहरू प्रस्ट रूपले छुट्ट्याउन र जोड्न कठिन हुन्छ। धेरैजसो मानिसहरूको हकमा, जब तिनीहरू परमेश्वरको घरमा कर्तव्य गर्छन्, तिनीहरूले कसको लागि कर्तव्य गर्छन् भन्ने सम्बन्धमा यो नै तिनीहरूको आधारभूत बुझाइ हो: जब तिनीहरू मण्डलीभित्रै कर्तव्यहरू गर्छन्, तिनीहरू मण्डली भनिने संस्था, अर्थात् यो नामको निम्ति कर्तव्य गरिरहेका हुन्छन्। त्यसोभए मण्डलीको तथाकथित वरिष्ठचाहिँ को हो त? त्यो अवश्यै स्वर्गको परमेश्वर हो, जुन सबैको मनमा निर्विवाद छ। परमेश्वरको घरको लागि काम गर्नुलाई धेरैजसो मानिसहरूले त्यो नाम र दाजुभाइ-दिदीबहिनीहरूको समूहको लागि काम गर्नुको रूपमा बुझ्छन्, र यसलाई निश्चय नै कर्तव्य गर्नुमा वर्गीकरण गर्न सकिन्छ; यो कर्तव्य गर्नु नै हो, र यो अवश्यै परमेश्वरप्रति पनि लक्षित हुन्छ। त्यसकारण, मानिसहरूको मनमा, मण्डली, दाजुभाइ-दिदीबहिनीहरू, र परमेश्वरको घरलाई बराबर मान्न सकिन्छ, यी सबै स्वर्गको अस्पष्ट परमेश्वरप्रति लक्षित हुन्छन्। यसले के बुझाउँछ? धेरैजसो मानिसहरूको हकमा, परमेश्वरको घरमा, कर्तव्यहरू गर्ने होस् वा मामलाहरू व्यवस्थापन गर्ने, तिनीहरूले त्यो काम अमूर्त संस्थाको रूपमा मण्डलीको लागि, दाजुभाइ-दिदीबहिनीहरूको मूर्त समूहको लागि, र विशेषगरी स्वर्गको अस्पष्ट र अदृश्य परमेश्वरको लागि गरिरहेका हुन्छन्—तिनीहरूले आफ्नो कर्तव्य गर्ने यी तीनको लागि हो। देहधारी परमेश्वरको कुरा गर्नुपर्दा, मानिसहरूले उहाँलाई मण्डलीको एक सदस्य, वा दाजुभाइ-दिदीबहिनीहरूमध्ये सर्वोच्च अगुवाको रूपमा मान्न सक्छन्, अनि अवश्य नै कतिपयले ख्रीष्टलाई परमेश्वरको घरको प्रवक्ता वा प्रतिनिधिको रूपमा पनि बुझ्छन्। त्यसकारण, धेरै मानिसहरूको लागि, तिनीहरू मण्डलीमा कसको निम्ति कर्तव्यहरू गरिरहेका छन् भन्ने अवधारणा निकै अस्पष्ट हुन्छ। उदाहरणको लागि, यदि कसैलाई दाजुभाइ-दिदीबहिनीहरूको निम्ति केही काम गर्न, वा कुनै सेवा प्रदान गर्न आग्रह गरियो भने, तिनीहरू त्यसो गर्नुलाई पूर्णतया जायज मान्छन्। अथवा यदि तिनीहरूलाई मण्डली वा परमेश्वरको घरको लागि केही गर्न आग्रह गरियो भने, तिनीहरू त्यो गर्न खुसी हुन्छन्, र त्यो आफ्नो अकाट्य कर्तव्य भएको महसुस गर्छन्। तर यदि देहधारी ख्रीष्टले तिनीहरूलाई उस्तै काम गराउनुभयो वा सुम्पनुभयो भने, तिनीहरू निराश हुन्छन्: “एउटा व्यक्तिको लागि काम गर्ने? म मानिसहरूको सेवा गर्नको लागि परमेश्वरमा विश्वास गर्न आएको होइन; म आफ्नो कर्तव्य गर्न आएको हुँ। म कसैको सेवा गर्न आएको होइन, म यहाँ कसैको लागि सेवा गर्न आएको होइन!” मण्डलीमा कर्तव्य गरिरहेका मानिसहरू धेरै छन्। यदि तैँले तिनीहरूलाई मण्डलीको लागि केही गर्न, परमेश्वरको घर वा दाजुभाइ-दिदीबहिनीहरूको लागि केही गर्न आग्रह गरिस् भने, तिनीहरू खुसीसाथ यी कामहरू स्विकार्छन्, र आफूसँग त्यसो गर्ने ठोस आधार रहेको महसुस गर्छन्। कस्तो आधार? “म यो परमेश्वरबाट आएको भनी स्विकार्छु; यो मेरो कर्तव्य हो, मेरो जिम्मेवारी हो।” तर देहधारी परमेश्वरले तिनीहरूलाई केही काम अह्राउनुहुँदा, “परमेश्वरबाट आएको भनी स्विकार्ने” तिनीहरूको सैद्धान्तिक आधार गायब हुन्छ, र तिनीहरू त्यो गर्न निरुत्सुक, बेखुसी र अनिच्छुक हुन्छन्। तिनीहरू सोच्छन्, “यदि त्यो मण्डलीको लागि हो भने, ठिक छ, किनभने म मण्डलीको लागि काम गर्ने व्यक्ति हुँ; यदि त्यो दाजुभाइ-दिदीबहिनीहरूका लागि हो भने, त्यो पनि ठीकै छ, किनभने उनीहरू सबै परमेश्वरको घरकै, अर्थात् परमेश्वरकै हुन्; यदि त्यो परमेश्वरको घरका लागि हो भने, ‘परमेश्वरको घर’ भन्ने नाम अत्यन्तै पवित्र, अत्यन्तै भव्य र आदर्शमयी भएको हुनाले, परमेश्वरको घरको लागि काम गर्नु पूर्ण रूपले न्यायोचित हुन्छ, र त्यसले महिमा र कदर ल्याउँछ। तर तपाईँजस्तो महत्त्वहीन व्यक्तिको लागि केही गर्नु, यो के हो? के यो मैले आफ्नो कर्तव्य गर्नु हो? यो सही वा उचित देखिँदैन। यो मेरो कर्तव्य पूरा गर्नु होइन, न त काम नै हो। मैले यसलाई कुन रूपमा हेर्नुपर्छ?” तिनीहरू यसलाई कसरी सम्हाल्ने भन्नेबारे निश्चित नभएर दोधारमा पर्छन्। तिनीहरू सोच्छन्, “यो काम होइन, न त यो मेरो कर्तव्य पूरा गर्नु हो, र यसबाट निश्चय नै दाजुभाइ-दिदीबहिनीहरूलाई लाभ मिल्दैन। यदि तपाईँ मलाई तपाईँको निम्ति यो गर्न आग्रह गर्नुहुन्छ भने ठिक छ, म गर्न त गर्नेछु, तर म त्यसमा खुसी वा सन्तुष्ट हुनेछैन। यो सही वा उचित देखिँदैन! मैले तपाईँको लागि जे गरेँ त्यो कसले सम्झिनेछ वा थाहा पाउनेछ? के त्यसले कसैको निगाह प्राप्त गर्न सक्छ? के त्यसबाट मलाई कुनै इनाम मिल्छ? के त्यो मेरो कर्तव्य पूरा गरेकोमा गनिन्छ? के मैले त्यसलाई सत्यता सिद्धान्तहरूअनुसार गर्नुपर्छ?” तिनीहरू हृदयमा अनिच्छुक हुन्छन्, स्विकार्न नहुने काम स्विकारेझैँ त्यो असहज र अनावश्यक भएको महसुस गर्छन्। तिनीहरू समस्यामा परेको महसुस गर्छन् र आनाकानीपूर्वक त्यसो गर्छन्, साथै केही लाभको आशा राख्छन्, मुख फोरेर “म यो काम गर्न चाहन्नँ” भनेरसमेत भन्छन्, र निकै आनाकानी गर्छन्। यदि तँ त्यो काम गर्न चाहँदैनस् भने, म भन्छु, तैँले गर्नुपर्दैन। म जबरजस्ती कसैलाई पनि मेरो निम्ति व्यक्तिगत काम गराउँदिनँ। यदि तँ गर्न चाहन्छस् भने गर्; गर्न चाहँदैनस् भने, म अरू नै कोही खोज्नेछु। जो इच्छुक छ, म उसैलाई गराउनेछु। के त्यो सरल छैन र? परमेश्वरको घरमा पछ्याउने मानिसहरू यति धेरै भएपछि, त्यो काम गर्न सहमत र इच्छुक व्यक्ति खोज्न सजिलो छ। म त्यस्तो व्यक्ति भेट्टाउन सक्छु। तँलाई नै रोज्नुपर्छ भन्ने छैन; यो निकै सजिलो छ! के परमेश्वरको घरमा भरपर्दो, निष्कपट, र काम सम्हाल्न सक्ने व्यक्ति भेट्टाउन गाह्रो छ र? (छैन।) मैले निजी तवरमा कुनै पनि व्यक्तिसँग अत्यन्तै निकट वा राम्रो सम्बन्ध विकास नगरेको, र कुनै व्यक्तिगत मित्रता वा गहिरो भावनात्मक नाताहरू नगाँसेको भए पनि, यी तीस वर्षमा, सर्वशक्तिमान् परमेश्वरको मण्डलीका सबैले खाएका, पिएका र सुनेका भनेकै मेरा वचनहरू हुन्। यी मानिसहरूले, सारमा होस् वा हृदयको गहिराइमा, बाहिरी रूपमा होस् वा शाब्दिक रूपमा, मलाई नै विश्वास गर्छन् र पछ्याउँछन्। मैले सिधै कसैलाई पनि विशेष लाभ वा प्रतिज्ञाहरू नदिएको, र सिधै कसैलाई प्रशंसा वा बढुवा नगरेको भए पनि, जसले मलाई सुरुदेखि हालसम्म पछ्याएको छ उसले प्रचुर मात्रामा परमेश्वरका वचनहरू खाएको र पिएको छ। मैले बोलेको कुरामार्फत, यी मानिसहरूले चाहे केही सत्यताहरू बुझेका भए पनि वा चाहे आचरणसम्बन्धी धर्मसिद्धान्तहरू बुझेका भए पनि, के तिनीहरूले धेरै कुरा हासिल गरेका छैनन् र? (छन्।) यो दृष्टिकोणबाट हेर्दा, म तिमीहरूप्रति ऋणी हुनु नपर्ने हो, होइन र? मैले यसो भन्न नहुने हो, तर आज मैले यो कुरा यहाँ भन्नैपर्छ। तिमीहरूचाहिँ मप्रति ऋणी हुनुपर्ने होइन र? (हो।) त्यसोभए, यदि मैले व्यक्तिगत रूपमा तिमीहरूमध्ये कसैलाई केही गर्न अह्राएँ भने, तिमीहरू अनिच्छुक हुनु हुँदैन, होइन त? (हामी इच्छुक छौँ।) जुनसुकै दृष्टिकोणबाट भए पनि, मैले तिमीहरूलाई केही गर्न आग्रह गर्दा, के मैले तिमीहरूलाई फकाउनु वा खुसामद गर्नुपर्ने हो, वा मिठा वचन र प्रतिज्ञाहरू दिनुपर्ने हो त? (होइन।) तर कतिपय मानिसहरू अनिच्छुक हुन्छन्, र भन्छन्: “तपाईँको लागि केही गर्न किन कुनै प्रेरणा मिल्दैन? त्यसबाट कुनै लाभ नहुने मात्र नभई त्यो थकानयुक्त र समस्याजनक पनि छ!” यो सुन्दा तिमीहरूलाई कस्तो महसुस हुन्छ? (कन्सिरी तात्छ।) यदि संसारको नजरमा मामुली रहेको कुनै साधारण व्यक्तिलाई कुनै उच्च अधिकारीले कुनै काम सुम्प्यो र उसलाई भेट्न आयो भने, ज्यादै खुसी र सम्मानित महसुस गरेर उसले त्यसलाई हरतरिकाले चापलुसी गर्ने कोसिस गर्न सक्छ, र उसले त्यो सानो मामलालाई जीवनभर कहिल्यै बिर्सने पनि छैन। यदि मानिसहरूले हैसियत भएको व्यक्तिलाई यस्तो व्यवहार गर्न सक्छन् भने, ख्रीष्टलाई किन त्यस्तै व्यवहार गर्न सक्दैनन्? तिनीहरू किन यसो गर्न सक्दैनन्? किन यस्तो हुन्छ? (किनभने मानवहरू जन्मसिद्ध रूपमै परमेश्वरप्रति शत्रुवत् हुन्छन्।) ठिक भनिस्; यसले त्यही कुरा प्रमाणित गर्छ। मानिसहरू उच्च हैसियतको शैतानसँग मिल्न सक्छन्, तर तिनीहरू हृदयबाटै ख्रीष्टलाई तिरस्कार गर्छन्, उहाँलाई प्रतिरोध र अस्वीकार गर्छन्, नकार्छन्, र त्याग्छन्। यदि कुनै दियाबलससामु ढोग्न र आराधना गर्न लगाइयो भने, तिनीहरू खुसीसाथ घुँडा टेकेर झुकिहाल्छन्, तर जोबाट तिनीहरूले अत्यन्तै धेरै कुरा पाएका छन्, त्यही ख्रीष्ट अर्थात् यस साधारण व्यक्तिको प्रसङ्गमा, तिनीहरू परमेश्वरलाई आफूसरह ठानेर उहाँसित उभिन र बोल्न वा अन्तरक्रिया गर्नसमेत अनिच्छुक हुन्छन्। यस्ता प्राणीहरू के हुन्? तिनीहरू दियाबलस हुन्, मानव हैनन्। पछि, मैले अरू कसैलाई उक्त काम सम्हाल्न आग्रह गरेँ, र यो व्यक्ति ठीकै थियो। यसबारे सन्देश ल्याउने व्यक्तिले भन्यो: “यसपटक उक्त काम सम्हाल्ने व्यक्ति साँच्चिकै खुसी छ, ऊ परमेश्वरको लागि केही गर्न साँच्चिकै इच्छुक छ।” मैले भनेँ, “ठिक छ, यदि ऊ इच्छुक छ भने राम्रो हो। तर यस्तो सानो काम गर्नु कुनचाहिँ ठूलो कुरा हो र? यो अपेक्षित नै हो, त्यो घोषणा गर्न कुनै सन्देश पठाउनु आवश्यक छैन।” यो पठाइएको सन्देशबारे तिमीहरूलाई के लाग्छ? यो सुन्दा तिमीहरूलाई कस्तो महसुस हुन्छ? के यसले तिमीहरूलाई निराश महसुस गराउँछ? (गराउँछ।) यसले तिमीहरूलाई किन निराश महसुस गराउँछ? (यो मानिसहरूले गर्नुपर्ने कुरा नै हो, तर तिनीहरू आफूलाई परमेश्वरसामु कृपापात्र बनाउने कोसिस गरिरहेका हुन्छन्, मानौँ परमेश्वरको लागि केही गर्नु भनेको परमेश्वरलाई ठूलो निगाह प्रदान गर्नु हो।) त्यसोभए, यो भन्नेचाहिँ कस्तो व्यक्ति हो? उसको चरित्र कस्तो छ? (उसको चरित्र निकृष्ट छ, उसमा विवेक छैन।) यो मानवताको कमी हुनु हो।
कतिपय मानिसहरूको हकमा, तिनीहरूले परमेश्वरको अनुग्रह र आशिष्हरूबारे, परमेश्वरले मान्छेलाई भरणपोषण गर्नेबारे सुन्नेबित्तिकै, तिनीहरूको हृदय अत्यन्तै भावुक हुन्छ, र तिनीहरूले परमेश्वरलाई निरन्तर धन्यवाद दिइरहन्छन्: “परमेश्वरले मान्छेलाई अति धेरै प्रेम गर्नुहुन्छ!” तिनीहरू अत्यधिक मात्रामा उत्साहित हुन्छन्! जबजब यी विषयहरू उल्लेख हुन्छन्, तब यी मानिसहरूका आँखा आँसुले भरिन्छन्, तिनीहरूका हृदय मार्मिक हुन्छन्, र तिनीहरू लगनसाथ परमेश्वरप्रति आफूलाई समर्पित गर्न दृढसङ्कल्पित हुन्छन्। तर जब तिनीहरूलाई यस दृश्य र मूर्त देहधारी परमेश्वरका लागि थोरै केही गर्न आग्रह गरिन्छ, तब तिनीहरू अत्यन्तै अपमानित महसुस गर्छन्, र निरुत्सुक र अनिच्छुक बन्छन्। यहाँ के भइरहेको छ? (तिनीहरू देहधारी परमेश्वरमा नभई अस्पष्ट परमेश्वरमा विश्वास गर्छन्। तिनीहरू स्वर्गको अस्पष्ट परमेश्वरलाई भव्य ठान्छन्, तर देहधारी परमेश्वरलाई महत्त्वहीन देख्छन्।) मैले सुनेको छु, कति मानिसहरू दाजुभाइ-दिदीबहिनीहरूका जुत्ता सफा गर्न, मोजा धुन, र कपडासमेत धोइदिन अत्यन्तै तयार हुन्छन्, तर ख्रीष्टको लागि केही गर्न आग्रह गर्दा, तिनीहरू अनिच्छुक हुन्छन्। अरूले यो देखिसहँदैनन् र भन्छन्, “यो व्यक्तिलाई के भएको छ? ऊ ख्रीष्टको लागि भन्दा दाजुभाइ-दिदीबहिनीहरूको लागि काम गर्न रुचाउँछ। यो कस्तो व्यक्ति हो?” कतिपय मानिसहरू, मैले कुनै काममा खटाउँदा, र परमेश्वरको घरका सिद्धान्तहरू र मण्डलीका नियमहरूअनुसार कार्य गर्न लगाउँदा, त्यो सुनेपछि त्यसलाई गम्भीरतापूर्वक लिँदैनन्। तिनीहरू भन्छन्: “तपाईँ के कुरा गर्दै हुनुहुन्छ? मैले दाजुभाइ-दिदीबहिनीहरूलाई सोध्नुपर्छ; मैले दाजुभाइ-दिदीबहिनीहरूबारे विचार गर्नुपर्छ, ताकि उनीहरूमध्ये अधिकांशलाई लाभ होस्।” उदाहरणको लागि, मैले केही मानिसहरूलाई फलफूलका बिरुवा रोप्ने जिम्मेवारी दिएँ र यो क्षेत्रमा कस्ता फलफूलका बिरुवा रोप्न उपयुक्त छ भनी बजारमा गएर हेर्न पनि निर्देशन दिएँ। एकातिर, ती स्थानीय हावापानी र माटोको लागि उचित हुनैपर्छ, र अर्कोतिर, हामीले कुन फलफूललाई स्थानीय जनताले उच्च पौष्टिक महत्त्वका ठान्छन् भनी हेर्नुपर्छ र तिनलाई छानेर उचित मात्रामा रोप्नुपर्छ। मैले बोलिसकेपछि, मेरो कुरा सुन्नेहरूले कस्तो कार्य गर्नुपर्छ? (तिनीहरूले तपाईँले भन्नुभएको कुरालाई तत्काल कार्यान्वयन गर्नुपर्छ।) तिनीहरूले त्यसलाई कसरी कार्यान्वयन गर्नुपर्छ? (तिनीहरूले सान्दर्भिक जानकारीहरू खोज्नुपर्छ, ज्ञान भएका मानिसहरूलाई सोध्नुपर्छ, त्यसका ससाना विवरणहरूबारे केही सिक्नुपर्छ, र त्यसलाई कार्यान्वयन गर्नुपर्छ।) त्यस तरिकाले कार्यान्वयन गर्नु नै मेरा निर्देशनहरू पछ्याउनु हो, जुन स्थानीय हावापानीबारे विचार गर्ने र कुन फलफूल पोषणयुक्त छन् भनी जाँच्ने भन्ने हो। अब, के तिमीहरूलाई मेरा सोचविचारहरू बृहत् र व्यावहारिक थिए भन्ने लाग्छ? तर मेरो कुरा सुन्नेहरूले तिनलाई कसरी कार्यान्वयन गरे? तिनीहरूले स्थानीय मण्डलीका सारा दाजुभाइ-दिदीबहिनीहरूको राय सोधे, सबैलाई कस्तो फलफूल खान मन पर्छ भनी सोधे, र त्यसपछि रोप्नको लागि सबैका प्रिय फलफूलको मात्रा र अनुपात हिसाब गरे। तिनीहरूले त्यसलाई यसरी कार्यान्वयन गरे। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूका रायहरू खोजे, यस समूह र यस पदवीनामलाई नै हृदयमा सर्वोच्च ठाने। दाजुभाइ-दिदीबहिनीहरूको सेवा गर्नु नै तिनीहरूको कर्तव्यको उद्देश्य र लक्ष्य हो। तिनीहरूलाई लाग्छ कि दाजुभाइ-दिदीबहिनीहरूको सेवा गर्नु नै परमेश्वरको घरको सेवा गर्नु हो, र परमेश्वरको घरको सेवा गर्नु नै दाजुभाइ-दिदीबहिनीहरूको सेवा गर्नु हो। दाजुभाइ-दिदीबहिनीहरू खुसी र सन्तुष्ट भए भने, परमेश्वर पनि खुसी र सन्तुष्ट हुनुहुन्छ। दाजुभाइ-दिदीबहिनीहरू परमेश्वरका पूर्ण प्रतिनिधि हुन्, सत्यताका प्रतीक हुन्, र परमेश्वरका प्रवक्ता हुन्। दाजुभाइ-दिदीबहिनीहरूकै अन्तिम निर्णय चल्छ; उनीहरू नै परमेश्वरको घरका मुख्य आधार हुन्। त्यसकारण, जे गरिए पनि, त्यसलाई दाजुभाइ-दिदीबहिनीहरूको पदवीनाम र समूहबाट छुट्ट्याउन मिल्दैन। परमेश्वरको घरमा काम गर्ने वा कर्तव्य निभाउने जोकसैको लागि, दाजुभाइ-दिदीबहिनीहरू मात्र तिनीहरूको सेवाका उचित लक्षित पात्रहरू हुन्। तिनीहरूले त्यसलाई त्यसरी नै कार्यान्वयन गरे; मेरो कुराले कुनै अर्थ राख्दैनथ्यो। मेरा निर्देशनहरू जति विस्तृत भए पनि, तिनीहरूको निम्ति ती खोक्रो धर्मसिद्धान्त, र नाराहरू मात्र थिए। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्ना रायहरू पूर्ण रूपमा व्यक्त गर्न दिनु, उनीहरूलाई बोल्ने र निर्णय गर्ने पर्याप्त अधिकार दिनु, साथै परमेश्वरको घरमा लोकतन्त्र अभ्यास गर्नु नै सर्वोच्च सत्यता हो भन्ने विश्वास गर्थे। मैले जे भने पनि, तिनीहरूले त्यसलाई यसरी हेर्थे: “तपाईँ हावादारी कुरा गर्नुहुन्छ, औपचारिकता मात्र पूरा गर्नुहुन्छ, र त्यसपछि त्यो दाजुभाइ-दिदीबहिनीहरूको जिम्मेवारी बन्छ, तपाईँको जिम्मेवारी रहँदैन। तपाईँ पाखा लाग्न सक्नुहुन्छ! हामी के खान्छौँ र पिउँछौँ भन्ने कुराको तपाईँसँग कुनै सरोकार छैन; पैसा मात्र तिर्नुहोस्, अरू केही पनि गर्नु पर्दैन। हामीलाई खान र पिउन पुग्छ, त्यो नै सर्वोच्च सत्यता हो। परमेश्वरको घरको सेवा गर्नु, दाजुभाइ-दिदीबहिनीहरूको सेवा गर्नु, दाजुभाइ-दिदीबहिनीहरूलाई खुसी पार्नु, उनीहरूलाई पूर्ण मानव अधिकार र स्वतन्त्रता दिनु, यो नै सर्वोच्च सत्यता हो।” यी कस्ता मानिसहरू हुन्? के ख्रीष्टविरोधीहरूले यसै गर्नेथिएनन् र? ख्रीष्टविरोधीहरू सत्यताप्रति वितृष्ण रहने पहिलो प्रकटीकरण भनेको तिनीहरू सत्यतालाई निन्दा र अस्वीकार गर्छन्; त्यसपछि, तिनीहरूले आफूलाई व्यवहार र कार्यान्वयन योग्य लागेका वैकल्पिक सिद्धान्त र नाराहरू खोज्छन्, सार्वजनिक रूपमा सत्यता उल्लङ्घन गर्छन्, र ख्रीष्टलाई सार्वजनिक रूपमा निन्दा र इन्कार गर्छन्। ख्रीष्टविरोधीहरू यस्तै सानो मामलामा प्रकाश हुन्छन्। के तिनीहरू सत्यता स्विकार्ने मानिसहरू हुन् त? (होइनन्।)
म प्रायः केही मानिसहरूले यसो भनेको सुन्छु, “ओहो, हेर त दाजुभाइ-दिदीबहिनीहरू कति रिसाएका छन्”; वा, “ओहो, हेर त दाजुभाइ-दिदीबहिनीहरू कति खुसी छन्”; वा, “ओहो, हेर त दाजुभाइ-दिदीबहिनीहरूलाई कति धेरै प्रहार गरिएको छ; उनीहरूले साँच्चै दुःख भोगिरहेका छन्।” तिनीहरूको हृदयमा दाजुभाइ-दिदीबहिनीहरूले किन यति उच्च हैसियत राख्छन्? तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई किन त्यति धेरै प्रेम गर्छन्? यति धेरै मानिसहरूलाई प्रेम गर्ने तिनीहरूको हृदय कति ठूलो होला? ल ठिक छ; म केही कुरा भन्नेछु र तैँले मैले भनेझैँ गर्, हुन्छ? तैँले यति धेरै मानिसहरूलाई राख्न सक्छस्, त्यसैले मजस्तो थप एक व्यक्तिलाई थप्दा कुनै समस्या हुँदैन, होइन र? तैँले मलाई पनि राख्न सक्नुपर्ने होइन र? त्यसको उल्टो, तिनीहरूले मेरो कुरालाई स्थान दिन सक्दैनन्, न त मलाई अटाउन नै सक्छन्। तिनीहरूले सारा दाजुभाइ-दिदीबहिनीहरूलाई राख्न सक्छन्, मण्डलीका सबैलाई राख्न सक्छन्, तर ख्रीष्टलाई राख्नै सक्दैनन्। यो कस्तो प्राणी हो? के यो मानवजाति हो? के यस्तो व्यक्ति ख्रीष्टको अनुयायी हुन योग्य हुन्छ? (हुँदैन।) त्यसोभए हामीले तिनीहरूलाई कसरी चित्रण गर्नुपर्छ? (दियाबलस, ख्रीष्टविरोधी भनेर।) के तिनीहरू परमेश्वरको घरका लोकतान्त्रिक निर्वाचनहरूको अवधारणालाई गलत व्याख्या गरिरहेका छैनन् र? दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्वरको घरका मामलाहरूमा संलग्न गराएर, उनीहरूलाई आफ्ना रायहरू व्यक्त गर्न दिएर, उनीहरूलाई अगुवाहरू चयन गर्न र बर्खास्त गर्न दिएर, साथै उनीहरूलाई निर्णयहरू गर्न दिएर—के तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरू परमेश्वरको घरका वरिष्ठ हुन् भन्ने लाग्छ? के यो परमेश्वरको घरका लोकतान्त्रिक निर्वाचनहरूबारे गलत बुझाइ होइन र? लोकतान्त्रिक निर्वाचनहरूको सिद्धान्त के हो? के दाजुभाइ-दिदीबहिनीहरूलाई लोकतान्त्रिक तरिकाले मत हाल्न दिनुको अर्थ तिनीहरूले अन्तिम निर्णय गर्न सक्छन् भन्ने हो? के त्यसको अर्थ मानिसहरूका भ्रष्ट स्वभावहरूलाई नै अन्तिम निर्णय गर्न दिनु हो? के यसको अर्थ दियाबलसहरू र शैतानहरूलाई शक्ति सम्हाल्न दिनु हो? होइन, यसको अर्थ दाजुभाइ-दिदीबहिनीहरू, अर्थात् यी प्राकृतिक र भ्रष्ट मानवहरू आफैलाई शक्ति सम्हाल्न दिनु होइन, यो त दाजुभाइ-दिदीबहिनीहरूले हृदयमा बुझेको सत्यतालाई चाहिँ शक्ति सम्हाल्न दिनु हो। यो आवेशीपनलाई शक्ति सम्हाल्न दिनु होइन, यो मानव धारणाहरूलाई शक्ति सम्हाल्न दिनु होइन, यो मानव विद्रोह र प्रतिरोधलाई शक्ति सम्हाल्न दिनु होइन, र यो मानिसहरूका दुष्ट स्वभावहरूलाई शक्ति सम्हाल्न दिनु होइन—यो त सत्यतालाई शक्ति सम्हाल्न दिनु हो। कति मानिसहरू सोध्छन्, “केही मण्डलीका निर्वाचनहरूबाट अन्त्यमा किन ख्रीष्टविरोधीहरू नै चुनिन्छन्, वा मण्डलीका अगुवा र कामदारहरूले किन गलत निर्णयहरू गर्छन्?” किनभने मानिसहरूको कद अत्यन्तै सानो छ; तिनीहरू सत्यता बुझ्दैनन् र मानिसहरूलाई खुट्ट्याउन सक्दैनन्। तर मण्डलीका निर्वाचनहरूको सिद्धान्त सत्यता सिद्धान्तहरूमा आधारित हुन्छ; यो सत्यताको जगमा निर्मित हुन्छ। त्यसैले, यी ख्रीष्टविरोधीहरूले—यी आत्मिक बुझाइ नभएकाहरूले—गलत रूपमा के विश्वास गर्छन्? तिनीहरूले परमेश्वरको घरमा दाजुभाइ-दिदीबहिनीहरूलाई महान् भनेर सम्मान गरिने, दाजुभाइ-दिदीबहिनीहरूलाई उच्च पारिने, र दाजुभाइ-दिदीबहिनीहरूको नामपदवी र समूहलाई परमेश्वरको नजरमा सम्मानयोग्य रूपमा हेरिने भन्ठान्छन्। तर खासमा, के दाजुभाइ-दिदीबहिनीहरू सम्मानयोग्य हुन्छन् त? के उनीहरूमा सत्यता हुन्छ त? धेरैजसो दाजुभाइ-दिदीबहिनीहरूमा सत्यता वास्तविकता हुँदैन, उनीहरूका कार्यहरूमा सिद्धान्तहरू हुँदैनन्, साथै उनीहरूले परमेश्वरको घरका विभिन्न कार्य परियोजनाहरूमा अराजकतासमेत सिर्जना गर्न सक्छन्। यदि माथिबाट समस्याहरूमा हस्तक्षेप, साथै सामयिक सुधार र समाधान नगरिने हो भने, के यी दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्लान् त? उनीहरूले आफ्नो कर्तव्य पूरा राम्ररी गर्न नसक्ने मात्र होइन, उनीहरूले धेरै बाधा र अवरोधहरू सिर्जना गर्नसमेत सक्छन्। के यी मानिसहरूमा सत्यता हुन्छ त? के उनीहरू महान् भनी सम्मानित हुन योग्य छन् त? छैनन्। त्यसोभए किन ख्रीष्टविरोधीहरू अझै यस तरिकाले व्यवहार गर्छन् त? यो तिनीहरूको जन्मसिद्ध प्रकृति हो। तिनीहरू सत्यता नकार्न र ख्रीष्टलाई निन्दा गर्न बहाना खोज्छन्—के यो तिनीहरूको जन्मसिद्ध प्रकृति होइन र? तिनीहरूमा शैतानको प्रकृति छ; तिनीहरू बेकाबु रूपले त्यसद्वारा प्रेरित छन्।
आजको सङ्गति मुख्यगरी ख्रीष्टविरोधीहरूले ख्रीष्टलाई कस्तो व्यवहार गर्छन्, त्यो तिनीहरूको मुडमा भर पर्छ भन्नेमा केन्द्रित छ। हामी जे सङ्गति गरिरहेका छौँ त्यसको हरेक पक्ष ख्रीष्टविरोधीहरूको मुडसँग सम्बन्धित छ। बाहिरबाट हेर्दा, त्यो यस्तो देखिन्छ, तर खासमा, यो मुड कसरी पैदा हुन्छ? यो ख्रीष्टविरोधीहरूको भ्रष्ट स्वभाव र सारद्वारा निर्धारित हुन्छ। ख्रीष्टविरोधी सार भएको कारण, तिनीहरूले अनेकथरीका सोचहरू पैदा गर्छन्, र यी विभिन्न सोचहरूद्वारा सञ्चालित भएर, तिनीहरूले विभिन्न धारणा, विचार, दृष्टिकोण, र अडानहरू उत्पन्न गर्छन्, अनि यसमार्फत तिनीहरूले विभिन्न मुडहरू सिर्जना गर्छन्। यी मुडहरू उत्पन्न भएपछि, ख्रीष्टविरोधीहरूले स्वर्गको परमेश्वर र पृथ्वीको परमेश्वर—ख्रीष्ट—लाई विभिन्न तरिकाले, र विभिन्न विधि र मनोवृत्तिद्वारा व्यवहार गर्छन्। यी तरिका, विधि, र मनोवृत्तिहरूबाट, ख्रीष्टविरोधीहरूको सार सत्यताप्रति वितृष्ण, सत्यताप्रति शत्रुवत्, ख्रीष्टलाई नकार्ने र ख्रीष्टलाई निन्दा गर्ने प्रकारको भएको भनी काफी रूपमा प्रमाणित गर्न सकिन्छ। जब तिनीहरूले सत्यताका साथै देहधारी परमेश्वरको सार र पहिचान संलग्न मामलाहरू सामना गर्छन्, तब तिनीहरू जानीबुझी परमेश्वरको विरोधमा उभिन्छन्, र परमेश्वरका शत्रुहरूको भूमिका खेल्छन्। जब केही पनि भइरहेको हुँदैन, तब तिनीहरू परमेश्वरको नाम फलाक्छन्, र आफ्नो बोलीमा निरन्तर रूपले “परमेश्वर, मेरो परमेश्वर” भनेरसमेत भट्याउँछन्। तिनीहरू हरेक कुरामा सुरुमा परमेश्वरलाई पुकार्छन्: “परमेश्वर, हेर्नुस्,” “परमेश्वर, तपाईँलाई थाहा छ,” “परमेश्वर, मेरो कुरा सुन्नुस्,” “परमेश्वर, मैले एउटा मामलाबारे खोजी गर्नु छ,” “परमेश्वर, परिस्थिति यस्तो छ,” आदि इत्यादि। तर “परमेश्वर” लाई पुकार्दा, तिनीहरू हृदयमा ख्रीष्टप्रतिका धारणा, शत्रुता, र तिरस्कारले भरिएका हुन्छन्। जब मण्डली, परमेश्वरको घर, र ख्रीष्टले विभिन्न वातावरण र परिस्थितिहरू सामना गर्छन्, ख्रीष्ट र परमेश्वरप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति बारम्बार बदलिन्छ, र त्यसमा थुप्रै रूपान्तरणहरू आउँछन्। ख्रीष्टले तिनीहरूलाई मागहरू राख्नुहुँदा र तिनीहरूलाई दया र मैत्रीभाव देखाउनुहुँदा, तिनीहरूको मनोवृत्ति निकै भद्र र नम्र देखिन्छ; ख्रीष्टले तिनीहरूलाई काटछाँट गर्दै कठोर व्यवहार गर्नुहुँदा, ख्रीष्टप्रति तिनीहरूमा हुने मनोवृत्ति घिन, घृणा र अवहेलनाको हुन्छ, र उहाँलाई बेवास्ता र अस्वीकारसमेत गर्ने खालको हुन्छ। जब ख्रीष्टले प्रस्टसित तिनीहरूलाई इनाम र आशिष्हरूको प्रतिज्ञा गर्नुहुन्छ, तिनीहरू हृदयमा गोप्य रूपले रमाउँछन्, साथै उहाँलाई चापलुसी गर्ने, खुसामद गर्ने, र चिल्लो घस्ने कामसमेत गर्छन्, र यी लाभहरू प्राप्त गर्नको निम्ति आफ्नो इज्जत र निष्ठा त्याग्नसमेत हिचकिचाउँदैनन्। तर तिनीहरूको मनोवृत्ति जे-जस्तो भए पनि, तिनीहरू ख्रीष्टलाई साँचो रूपमा कहिल्यै स्विकार्दैनन् र उहाँमाथि कहिल्यै आस्था राख्दैनन्, उहाँप्रति साँचो रूपमा समर्पित हुने त कुरै नगरौँ। ख्रीष्टप्रति तिनीहरूमा पन्छिने, निन्दा गर्ने, र सतर्कपूर्ण हिचकिचाहटको मनोवृत्ति हुन्छ, र तिनीहरू हृदयको गहिराइदेखि नै उहाँलाई अस्वीकार गर्छन्। तिनीहरू जहाँ भए पनि वा तिनीहरूको मुड जस्तो भए पनि, तिनीहरूको सार बदलिँदैन। तिनीहरूले बेलाबेलामा केही अनपेक्षित परिवर्तन वा बदलावहरू देखाए पनि, यी अस्थायी कुराहरू हुन्। यसको कारण के हो भने, ख्रीष्टविरोधीहरूको प्रकृति सार ख्रीष्टप्रति शत्रुवत् हुन्छ, र त्यसैले तिनीहरूले सच्चा रूपमा यस साधारण व्यक्तिलाई आफ्नो प्रभु, अर्थात् आफ्नो परमेश्वरको रूपमा कहिल्यै स्विकार्नेछैनन्।
ख्रीष्टविरोधीहरूले ख्रीष्टलाई कस्तो व्यवहार गर्छन्, त्यो तिनीहरुको मुडमा भर पर्छ भन्नेसम्बन्धी विभिन्न पक्षहरूको सङ्गति मूलतः सकिएको छ। मैले यसअघि तिमीहरूलाई सोधेको, सम्बोधन गर्नुपर्ने अन्तिम सवाल भनेको यी मामलाहरू खुलासा गर्नुको महत्त्व के हो, र मानिसहरूले बुझ्नुपर्ने सत्यता के हो भन्ने हो। यी मामलाहरू खुलासा गर्नुको महत्त्व दुइटा पक्षहरूबाट भन्न सकिन्छ। एउटा पक्षले परमेश्वरप्रतिको मानिसहरूको साँचो मनोवृत्तिको सार साँच्चिकै के हो भनेर खुलासा गर्छ, र यसले मानवजातिको भ्रष्टताका विभिन्न प्रकटीकरणहरू चिन्न मद्दत गर्छ। यो आफूलाई चिन्न र मानिसहरूका भ्रष्ट स्वभावहरू चिन्न उपयोगी हुन्छ। अर्को पक्षले चाहिँ मानिसहरूलाई परमेश्वरप्रति सही मनोवृत्ति वास्तवमा कस्तो हुनुपर्छ भनेर थाहा दिन्छ। तँलाई तैँले परमेश्वरलाई जुन तरिकाले व्यवहार गर्छस् त्यो नै उहाँलाई परमेश्वरको रूपमा व्यवहार गर्नु हो भन्ने लाग्न सक्छ, तर खासमा, यसमा धेरै अशुद्धताहरू छन्, शैतानका धेरै तत्त्वहरू छन्—यी ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरू हुन्, जसलाई परमेश्वरले मान्ने वा स्विकार्ने गर्नुहुन्न। यो पखाल्नैपर्ने अशुद्धता हो। सकारात्मक र नकारात्मक दुवै दृष्टिकोणबाट यसको महत्त्व छ: कम्तीमा पनि, नकारात्मक दृष्टिकोणबाट भन्नुपर्दा, यसले तँलाई यी कुराहरू नकारात्मक छन्, यी ख्रीष्टविरोधीका प्रकटीकरणहरू हुन् भनेर थाहा दिन्छ। सकारात्मक पक्ष के हो भने, यसले तँलाई परमेश्वरले यी कुराहरू मन पराउनुहुन्न, तैँले उहाँलाई यसरी व्यवहार गरेको उहाँले स्विकार्नुहुन्न भनेर थाहा दिन्छ। यसको आशय के हो भने, मानिसहरूलाई परमेश्वरप्रतिको आफ्नो व्यवहार जतिसुकै सही, राम्रो, तर्कसङ्गत, वा मानव भावनाहरूसँग मिल्दो लागे पनि, परमेश्वरले त्यो स्विकार्नुहुन्न। यदि परमेश्वरले त्यो स्विकार्नुहुन्न भने, तैँले के गर्नुपर्छ? यदि तैँले “म त्यो काम यसरी गर्नेछु, मलाई यो राम्रो हो भन्ने लाग्छ र म यसमै अडिने छु; चाहे तपाईँले यसलाई स्विकार्नुहोस् वा नस्विकार्नुहोस्, म त सिधा हिसाबले काम गरिरहेको छु” भनेर भनिस् भने, के यो ठिक हो? (होइन।) हामी अरू मामलाको सन्दर्भमा, यो मनोवृत्ति सही हो कि होइन भनेर छलफल गर्नेछैनौँ; परमेश्वरलाई व्यवहार गर्ने कुरामा, यस तरिकाले व्यवहार गर्नु निकै खतरनाक हो, र तैँले मार्ग परिवर्तन गर्नुपर्छ। परमेश्वरले स्विकार्न नसक्ने कुराप्रति मानिसहरूको मनोवृत्ति कस्तो हुनुपर्छ? मानिसहरूमा हुनुपर्ने एउटै मात्र मनोवृत्ति भनेको परमेश्वरबाट आउने सबथोक स्विकार्नु हो; चाहे उनीहरूलाई त्यो राम्रो लागे पनि नराम्रो लागे पनि, त्यो सुन्नलायक वा रूखो र अप्रिय लागे पनि, उनीहरूले निःशर्त रूपमा स्विकार्नुपर्छ र समर्पित हुनुपर्छ, त्यसलाई आफूलाई परिवर्तन र शुद्धीकरण गर्ने सत्यताको रूपमा लिनुपर्छ। यी मामलाहरू खुलासा गर्नुको महत्त्व के हो? के यसलाई नकारात्मक र सकारात्मक दुवै पक्षबाट सम्बोधन गरिएको छैन र? त्यसोभए, मानिसहरूले बुझ्नुपर्ने सत्यता के हो त? (परमेश्वर नै सत्यता हुनुहुन्छ, परमेश्वर नै सृष्टिकर्ता हुनुहुन्छ। चाहे देहधारी रूपमा होस् वा अरू कुनै पनि तरिकाले देखा परेर होस्, उहाँले बोल्नुहुने वचनहरू सत्यता हुन्, र हामीले निःशर्त रूपमा समर्पित हुनुपर्छ र स्विकार्नुपर्छ।) के यो भनाइलाई सबैले आमेन भन्न सक्छौँ? (आमेन।) म पनि त्यसलाई आमेन भन्छु; निःशर्त रूपमा स्वीकार गर्नु र समर्पित हुनु, यो नै सत्यता हो। परमेश्वर मानिसहरूमाझ जुन रूपमा वा जुन तरिकाले देखापर्नुभए पनि वा जिउनुभए पनि, परमेश्वर जुन स्वरूपमा अस्तित्वमा हुनुभए पनि, परमेश्वर सदैव परमेश्वर नै रहनुहुन्छ। यो नै सत्यता हो, र यो नै मानिसहरूले सबैभन्दा बुझ्नुपर्ने सत्यता हो। दोस्रो कुरा, सृष्टि गरिएको प्राणीमा परमेश्वरप्रति निःशर्त समर्पणको मनोवृत्ति हुनुपर्छ। यसअलावा, मानिसहरूले नबुझ्ने अर्को कुरा छ: मानिसहरू किन परमेश्वरलाई पछ्याउँछन्? के त्यो न्यास्रोपन मेटाउनलाई हो? के तिनीहरूको दिमाग भर्न र तिनीहरूको आत्मिक खोक्रोपन सम्बोधन गर्नलाई हो? के त्यो तिनीहरूको भावी नियति समाधान गर्नलाई हो? के यो सफा हुनलाई हो, कि सत्यताको विश्वविद्यालय जानलाई हो? मानिसहरू परमेश्वरलाई पछ्याएर के समाधान गर्न खोज्छन्? यो मानिसहरूले जान्नुपर्ने कुरा हो। (तिनीहरू आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न खोज्छन्।) ठिक भनिस्। मानिसहरू आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न परमेश्वरलाई पछ्याउँछन्। के मानिसहरू आफ्नो भ्रष्ट स्वभावलाई आफैले समाधान गर्न सक्छन्? के प्रसिद्धि, ज्ञान र शिक्षा भएका मानिसहरूले त्यसलाई समाधान गर्न सक्छन्? के मानवजातिमाझ यो समस्यालाई समाधान गर्न सक्ने कोही छ? (यसलाई कसैले पनि समाधान गर्न सक्दैन।) परमेश्वर आज यही समस्या समाधान गर्न आउनुभएको छ; देहधारी परमेश्वर, अर्थात् परमेश्वर स्वयम्ले मात्र यसलाई समाधान गर्न सक्नुहुन्छ। मानवझैँ देखिनुहुने देहधारी ख्रीष्टले यो समस्या किन समाधान गर्न सक्नुहुन्छ? मानवहरूसँग भाषा, सोच, र विचारहरू हुन्छन्, तैपनि उनीहरूले किन समाधान गर्न सक्दैनन्? के कुरामा भिन्नता छ? (परमेश्वर नै सत्यता, मार्ग, र जीवन हुनुहुन्छ; मानवहरूसँग सत्यता हुँदैन।) परमेश्वर नै सत्यता, मार्ग र जीवन हुनुहुन्छ। यो तथ्यलाई स्विकारेर अनि परमेश्वर देहधारी हुनुभएको सारा देहलाई स्विकारेर मात्र मानिसहरूका भ्रष्ट स्वभावहरू समाधान गर्न सकिन्छ। यसको आशय मानिसहरू आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्न परमेश्वरसामु आउँछन् भन्ने हुन्छ, जसको अर्थ सत्यता प्राप्त गर्न परमेश्वरसामु आउनु हो। सत्यता प्राप्त गरेर मात्र मानिसहरूका भ्रष्ट स्वभावहरू समाधान गर्न सकिन्छ। तैँले सत्यता प्राप्त नगरी तिनलाई कसरी समाधान गर्न सक्छस् र? के धर्मसिद्धान्तहरूले भ्रष्ट स्वभाव समाधान गर्न सक्छन् र? के त्यो ज्ञानले गर्न सक्छ? के त्यो धारणा र कल्पनाहरूले गर्न सक्छन्? सक्दैनन्। व्यावहारिक देहधारी परमेश्वरले मात्र तँलाई तिनको समाधान गर्न मद्दत गर्न सक्नुहुन्छ। त्यसकारण, कुनै पनि चर्चित पात्र, महान् व्यक्ति, वा सन्तलाई आराधना गर्नु अर्थहीन छ; तिनले तेरा वास्तविक कठिनाइहरू समाधान गर्न वा तँलाई मुक्ति दिन सक्दैनन्। यसअलावा, कुनै पनि विषय, पेशा, वा ज्ञानको क्षेत्र सिकेर तेरा वास्तविक कठिनाइ वा वास्तविक समस्याहरू समाधान हुन सक्दैनन्। यदि तैँले “म यो साधारण व्यक्तिलाई हेयको दृष्टिले हेर्छु” भनेर भन्छस् भने, तेरो दृष्टिकोण बदलिनुपर्छ। तथ्य यही हो; परमेश्वरले यसरी नै कार्य गर्नुभएको छ। यदि तँ परमेश्वरलाई आफ्नो जीवनको रूपमा स्विकार्न चाहन्छस् भने, तैँले परमेश्वरको हरेक वाक्य र उहाँको हरेक कार्य स्विकार्नुपर्छ। यदि तँ परमेश्वरलाई सत्यताको रूपमा मान्छस् भने, तैँले परमेश्वर जुन तरिकाले वा जुन रूपमा अस्तित्वमा हुनुभए पनि वा देखा पर्नुभए पनि उहाँ सधैँ सत्यता हुनुहुन्छ भन्ने विवादरहित र पूर्ण तथ्यलाई विश्वास र स्वीकार गर्नुपर्छ। यो तथ्यलाई स्विकारिसकेपछि, तैँले परमेश्वर देहधारण हुनुभएको देह, अर्थात् यस साधारण व्यक्तिलाई कस्तो मनोवृत्तिले हेर्नुपर्छ? त्यसैमा सत्यता खोज्नुपर्छ।
ख्रीष्टविरोधीहरूले ख्रीष्टलाई कस्तो व्यवहार गर्छन् त्यो तिनीहरूको मुडमा भर पर्छ भन्नेसम्बन्धी प्रकटीकरणहरू खुलासा गर्दा, मानिसहरूले बुझ्नुपर्ने अन्तर्निहित सत्यता के हो? केही विषयवस्तुहरू सारांशीकृत गर् ताकि यी कुराहरू प्रष्ट होऊन्, अनि त्यसपछि तैँले यो सत्यता बुझ्छस् र तँ यसबारे प्रस्ट हुन्छस्। (हामीले चारवटा विषयवस्तुहरू सारांशीकृत गर्यौँ: पहिलो, परमेश्वर सधैँ परमेश्वर नै रहनुहुन्छ, र यो नै सत्यता हो। दोस्रो, परमेश्वरप्रति सृजित प्राणीमा निःशर्त समर्पणको मनोवृत्ति हुनुपर्छ। तेस्रो, परमेश्वर नै सत्यता, मार्ग, र जीवन हुनुहुन्छ, साथै यो तथ्यलाई स्विकारेर अनि परमेश्वर देहधारी हुनुभएको पूरै देहलाई स्विकारेर मात्र मानिसहरूका भ्रष्ट स्वभावहरू समाधान गर्न सकिन्छ। चौथो, यदि मानिसहरूले परमेश्वरलाई सत्यताको रूपमा मान्छन् भने, तिनीहरूले परमेश्वर जुन तरिकाले वा स्वरूपमा रहनुभए पनि वा देखा पर्नुभए पनि, उहाँ सधैँ सत्यता हुनुहुन्छ भन्ने विवादरहित तथ्यलाई विश्वास र स्वीकार गर्नुपर्छ।) के यी चार विषयवस्तुहरू महत्त्वपूर्ण छन्? (हजुर।) वास्तवमा, यी विषयवस्तुहरू धर्मसिद्धान्तको सन्दर्भमा सबैलाई थाहा छ, तर ख्रीष्टलाई कस्तो व्यवहार गर्ने भन्ने मामलामा कुन सत्यता सिद्धान्तहरू संलग्न हुन्छन् भन्ने सम्बन्धमा, वास्तविक परिस्थितिहरू सामना गर्दा मानिसहरू दुविधामा पर्छन्। तिनीहरू तिनलाई अभ्यास गर्न जान्दैनन्, र तिनीहरूले पहिले बुझेका सत्यताहरू लागु गर्नै नसकिने धर्मसिद्धान्त मात्र बन्छन्। मानिसहरूले जतिसुकै धर्मसिद्धान्तहरू बुझे पनि त्यो बेकार छ भनी देखाउन यही पर्याप्त छ; सत्यता नबुझेमा, तिनीहरूका समस्याहरू अझै पनि समाधान गर्न सकिँदैन।
जून २०, २०२०
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।