विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग दुई) खण्ड तीन
ख. छानबिन र विश्लेषण, अनि साथमा जिज्ञासा
अब हामी दोस्रो विषयवस्तुमा आउँछौँ—छानबिन र विश्लेषण, अनि साथमा जिज्ञासा। के यो विषयवस्तु बुझ्न सजिलो छ? देहधारी परमेश्वरका कार्य र वचनहरू, साथै उहाँको हरेक वचन र कार्यमा प्रकट हुने व्यक्तित्व र स्वभाव, वा उहाँका रुचिहरूलाई समेत सामान्य मानिसहरूले सही रूपमा लिनुपर्छ। साँच्चिकै परमेश्वरको पछि लाग्ने र सत्यता पछ्याउनेहरूले ख्रीष्टका यी बाहिरी प्रकटीकरणहरूलाई उहाँको देहको सामान्य पाटोको रूपमा लिन्छन्। ख्रीष्टले बोल्नुहुने वचनहरूबारे भन्नुपर्दा, तिनीहरूले तिनलाई ती सत्यता हुन् भन्ने मनोवृत्तिले सुन्न र बोध गर्न सक्छन्, र यी वचनहरूमार्फत परमेश्वरका अभिप्रायहरू र अभ्यासका सिद्धान्तहरू बुझ्न, र सत्यता वास्तविकतामा प्रवेश गर्ने अभ्यासको मार्ग भेट्टाउन सक्छन्। तर ख्रीष्टविरोधीहरू फरक तरिकाले व्यवहार गर्छन्। जब तिनीहरू ख्रीष्टले बोल्नुभएको र कार्य गर्नुभएको देख्छन्, तिनीहरूको हृदयभित्र स्वीकार वा समर्पण होइन, छानबिन हुन्छ: “यी वचनहरू कहाँबाट आउँछन्? यी कसरी बोलिन्छन्? एकपछि अर्को वाक्य—के यी पूर्वनियोजित हुन्छन् कि पवित्र आत्माद्वारा प्रेरित हुन्छन्? के यी वचनहरू सिकिएका हुन् कि अग्रिम रूपमा तयार पारिएका हुन्? मलाई किन थाहा नभएको? यी कतिपय वचनहरू अत्यन्तै साधारण, अर्थात् सामान्य कुराकानी जस्तो सुनिन्छन्। यो परमेश्वर जस्तो देखिँदैन; के परमेश्वरले साँच्चै यति सामान्य रूपमा, यति साधारण तरिकाले बोल्नुहुन्छ? म छानबिन गरेर यो कुरा थाहा पाउन सक्दिनँ, त्यसैले म उसले पृष्ठभूमिमा के गर्छ भनेर नियाल्नेछु। के उसले समाचारपत्रहरू पढ्छ? के उसले कुनै चर्चित पुस्तकहरू पढेको छ? के उसले व्याकरण अध्ययन गर्छ? उसले प्रायजसो कस्ता मानिसहरूसँग अन्तरक्रिया गर्छ?” तिनीहरू सत्यताप्रति समर्पण वा स्वीकारको मनोवृत्ति बोक्दैनन्, बरु कुनै विद्वानले वैज्ञानिक अनुसन्धान गरेको वा शैक्षिक विषयहरू अध्ययन गरेको मनोवृत्तिद्वारा ख्रीष्टको छानबिन गर्छन्। तिनीहरू ख्रीष्टका वचनहरूका विषयवस्तु र उहाँको बोल्ने शैली, ख्रीष्टले सम्बोधन गर्नुहुने श्रोताहरू, साथै हरेकपटक ख्रीष्टले बोल्नुहुँदाको उहाँको मनोवृत्ति र उद्देश्यहरू छानबिन गर्छन्। जबजब ख्रीष्टले बोल्नु वा कार्य गर्नुहुन्छ, तिनीहरूका कानमा पुग्ने सबथोक, तिनीहरूले देख्न सक्ने सबथोक, र तिनीहरूले जेबारे सुन्छन् त्यो सबै तिनीहरूको छानबिनको विषय बन्छ। तिनीहरू ख्रीष्टले बोल्नुहुने हर शब्द र वाक्य, उहाँले चाल्नुहुने हर कदम, उहाँले सम्हाल्नुहुने हर व्यक्ति, मानिसहरूलाई व्यवहार गर्ने उहाँको तरिका, उहाँको बोली र आचरण, हेराइ र मुहारको भाव, उहाँको जियाइ शैली र समयतालिका, साथै अरूसँग अन्तरक्रिया गर्ने उहाँको तरिका र अरूप्रतिका उहाँका मनोवृत्तिहरू छानबिन गर्छन्—तिनीहरूले यी सबै छानबिन गर्छन्। यो छानबिनमार्फत, ख्रीष्टविरोधीहरू यस्तो निष्कर्षमा पुग्छन्: मैले ख्रीष्टलाई जसरी हेरे पनि, उहाँमा सामान्य मानवता नै भएको देखिन्छ; उहाँ निकै साधारण हुनुहुन्छ, सत्यता व्यक्त गर्ने क्षमताबाहेक उहाँमा अत्यन्तै विशेष केही पनि छैन। के यो साँच्चिकै देहधारी परमेश्वर हुन सक्छ? तर जतिसुकै छानबिन गरे पनि, तिनीहरू एउटा पक्का निष्कर्षमा पुग्न सक्दैनन्; जतिसुकै छानबिन गरे पनि, तिनीहरू ख्रीष्ट नै तिनीहरूले हृदयमा स्विकारेको परमेश्वर हुनुहुन्छ भनेर निश्चित हुन सक्दैनन्। तिनीहरू ख्रीष्टलाई छानबिन गर्नेहरू हुन्, परमेश्वरको काम अनुभव गर्नेहरू होइनन्—तिनीहरूले कसरी पो परमेश्वरबारे ज्ञान हासिल गर्न सक्छन् र?
ख्रीष्टविरोधीहरूले ख्रीष्टलाई छानबिन गर्दा परमेश्वरको भव्यता देख्न सक्दैनन्, परमेश्वरको धार्मिकता, सर्वशक्तिमान्ता, र अख्तियारयुक्तता देख्न सक्दैनन्। तिनीहरूले जति छानबिन गरे पनि, तिनीहरू ख्रीष्टसित परमेश्वरको सार छ भन्ने निष्कर्षमा पुग्न सक्दैनन्; तिनीहरू यसलाई छर्लङ्गै देख्न र बुझ्न सक्दैनन्। कतिपय मानिसहरूले भन्छन्: “जहाँ तिमीले छर्लङ्ग देख्न वा बुझ्न सक्दैनौ, त्यहीँ सत्यता खोज्नुपर्छ।” यसप्रति ख्रीष्टविरोधीको जवाफ यस्तो हुन्छ: “म त यहाँ कुनै सत्यता खोज्नुपर्ने देख्दिनँ, गहिरो छानबिन गर्नलायक शङ्कास्पद विवरणहरू मात्र छन्।” अनि छानबिन र विश्लेषण गरेपछि, तिनीहरूले यस्तो निष्कर्ष निकाल्छन्: यो ख्रीष्टले केही वचनहरू मात्र बोल्न सक्नुहुन्छ, त्यसबाहेक, उहाँमा साधारण मानिसहरूमा भन्दा फरक केही पनि छैन। उहाँमा कुनै विशेष वरदान छैन, कुनै विशेष क्षमता छैन, र येशूले जस्ता चिन्ह र अचम्मका कामहरू गर्ने कुनै अलौकिक शक्ति छैन। उहाँ जे भन्नुहुन्छ त्यो सबै कुनै मरणशील व्यक्तिका शब्दहरू हुन्। त्यसैले, के उहाँ साँच्चै ख्रीष्ट हुनुहुन्छ त? यो कुराको त थप विश्लेषण र छानबिन गर्नुपर्ने हुन्छ। यसरी तिनीहरूले जे-जसरी हेरे पनि, ख्रीष्टमा परमेश्वरको सार देख्न सक्दैनन्; तिनीहरूले जे-जसरी छानबिन गरे पनि, ख्रीष्टमा परमेश्वरको पहिचान छ भन्ने निष्कर्ष निकाल्न सक्दैनन्। एक ख्रीष्टविरोधीको नजरमा, परमेश्वरले देहधारण गर्नुभएको देहमा असाधारण शक्तिहरू, विशेष वरदानहरू, आश्चर्यकर्महरू देखाउने क्षमता, साथै परमेश्वरको अख्तियार प्रकट र अभ्यास गर्ने सार र सामर्थ्य हुनुपर्छ। तर तिनीहरूसामु रहेको यो साधारण व्यक्तिमा यी सबै गुणहरू छैनन्, र उहाँको बोलीमा उच्च शब्दचातुर्य छैन; धेरै कुराबारे व्याख्या गर्दासमेत, उहाँले बोलीचालीको भाषा प्रयोग गर्नुहुन्छ, जुन मानव धारणाहरूसँग मिल्दैन, र त्यो विश्वविद्यालयको कुनै प्राध्यापकको स्तरको समेत हुँदैन। ख्रीष्टविरोधीहरूले ख्रीष्टको बोली जतिसुकै छानबिन गरे पनि, ख्रीष्टका कार्यहरू, साथै काम गर्नमा उहाँले लिनुहुने मनोवृत्ति र शैलीहरू जतिसुकै छानबिन गरे पनि, तिनीहरूले ख्रीष्ट—अर्थात् यो साधारण व्यक्ति—मा परमेश्वरको सार देख्न सक्दैनन्। त्यसकारण, ख्रीष्टविरोधीहरूको हृदयमा, यो व्यक्ति सबैभन्दा पछ्याउन लायक हुनुका कारणहरू तिनीहरूले छर्लङ्गै देख्न नसक्ने तिनै धेरै कुराहरू, वचनहरू र घटनाहरू हुन्—तिनीहरूको लागि छानबिन र विश्लेषणको लायक कुरा त्यही हुन्, यस व्यक्तिलाई पछ्याउनुमा तिनीहरूको सबैभन्दा ठूलो प्रेरणा तिनै हुन्। कस्ता सामग्री र विषयहरू तिनीहरूको छानबिन र विश्लेषणका लायक हुन्छन्? जीवन प्रवेशबारे ख्रीष्टले बोल्नुभएका तिनै वचनहरू; साधारण मानिसहरूले वास्तवमै यस्ता कुराहरू बोल्न सक्दैनन्, उनीहरूमा साँच्चै ती कुराहरू हुँदैनन्, साथै यस्ता वचनहरू वास्तवमै मानवजातिमाझ कुनै अर्को दोस्रो व्यक्तिमा पनि भेटिँदैनन्—ती कहाँबाट आउँछन् भन्ने कुरा थाहा हुँदैन। ख्रीष्टविरोधीहरू बारम्बार छानबिन गर्छन्, तर यसबारे कहिल्यै निष्कर्षमा पुग्न सक्दैनन्। उदाहरणको लागि, जब म कुनै व्यक्ति कस्तो छ, र उसका सार र स्वभाव के हुन् भन्नेबारे बोल्छु, तब साधारण मानिसहरूले यी विवरणहरूलाई मिहीन रूपमा वास्तविक व्यक्तिसँग भिडाएर हेर्छन् र उक्त मामला पुष्टि गर्छन्। जब ख्रीष्टविरोधीहरूले यी वचनहरू सुन्छन्, तिनीहरूले उक्त मामला भिडाएर हेर्न र बुझ्न स्विकार्ने मनोवृत्ति नभई विश्लेषण गर्ने मनोवृत्ति अपनाउँछन्। तिनीहरूले केचाहिँ विश्लेषण गर्छन् त? “तिमीलाई यो व्यक्तिको परिस्थितिबारे कसरी थाहा हुन्छ? तिमीलाई उसमा यस्तो स्वभाव छ भनेर कसरी थाहा हुन्छ? तिमीले त्यसलाई चित्रण गर्ने आधार के हो? तिमी ऊसँग धेरै सम्पर्कमा रहेका छैनौ, त्यसैले तिमीले उसलाई कसरी बुझ्छौ? हामी ऊसँग लामो समयदेखि सम्पर्कमा छौँ, तर हामी किन उसलाई छर्लङ्गै देख्न वा बुझ्न सक्दैनौँ? म आफैले हेर्नुपर्छ, तिम्रो कुरा मात्र पत्याउनु हुँदैन। तिमीले भनेको कुरा सही वा ठिक नहुन पनि सक्छ।” केही मानिसहरूले मसँग अन्तरक्रिया गर्ने क्रममा, मैले तिनीहरूलाई कुनै निश्चित काम वा पेशामा मार्गदर्शन गर्न सक्छु। यदि यो मार्गदर्शनको शैली र विधि उनीहरूसँग भएको प्राविधिक ज्ञानसँग मिल्दो छ र त्यसले चित्त बुझ्छ भने, उनीहरूले अनकनाउँदै त्यसलाई कार्यान्वयन गर्नेछन्। तर यदि त्यसले उनीहरूको चित्त बुझ्दैन भने, उनीहरूले मनमा प्रतिरोध गर्नेछन् र यस्तो मनन गर्नेछन्, “तिमी किन यसरी गर्छौ? के यो यस क्षेत्रविपरीत छैन र? मैले किन तिम्रो कुरा सुन्नुपर्यो? यदि तिमीले भनेको कुरा गलत छ भने, मैले तिम्रो कुरा सुन्न मिल्दैन; मैले आफ्नै मार्ग पछ्याउनुपर्छ। यदि तिमी सही छौ भने, मैले तिमी कसरी सही छौ र तिमीले यो कुरा कसरी थाहा पायौ भनेर बुझ्नुपर्छ। के तिमीले यो कुरा अध्ययन गर्यौ? यदि अध्ययन गरेनौ भने, तिमीले कसरी थाहा पाउन सक्यौ? यदि तिमीले यो कुरा अध्ययन नगरेको भए, तिमीले यो बुझ्दैनौ; यदि तिमीले बुझ्छौ भने, त्यो सामान्य होइन। तिमीले यो कसरी बुझ्छौ? तिमीलाई कसले बतायो, कि तिमी आफैले गोप्य रूपमा सिक्यौ?” तिनीहरूले भित्रभित्रै विश्लेषण र छानबिन गर्छन्। मैले बोल्ने हरेक वाक्यले, मैले सम्हाल्ने हरेक मामलाले, ख्रीष्टविरोधीहरूको फिल्टर पार गर्नुपर्छ र तिनीहरूको परीक्षण छिचोल्नुपर्छ। त्यसले तिनीहरूको परीक्षण पार गरे मात्र तिनीहरूले त्यसलाई स्विकार्नेछन्; पार गरेन भने, तिनीहरूले आलोचना गर्नेछन्, राय निर्माण गर्नेछन्, र प्रतिरोध सिर्जना गर्नेछन्।
परमेश्वरले देहधारण गर्नुभएको देह नै सारा मानिसहरूको लागि सबैभन्दा ठूलो रहस्य हो। यो सम्बन्धमा के भइरहेको हो भनेर कसैले पनि बुझ्न सक्दैन, न त यो देहमा कसरी परमेश्वरको सार पूरा हुन्छ—परमेश्वर कसरी व्यक्ति बन्नुभएको छ, यस व्यक्तिले कसरी परमेश्वरको मुखका वचनहरू बोल्न र परमेश्वरको काम गर्न सक्छ, र परमेश्वरको आत्माले यस व्यक्तिलाई कसरी मार्गदर्शन र निर्देशन गर्नुहुन्छ भन्ने कुरा नै कसैले बुझ्न सक्छ। यो सबै काममा, मानिसहरूले यस देहबाट न त ठूला दर्शनहरू देखेका छन्, न त कुनै महत्त्वपूर्ण चालहरू देखेका छन्—यसमा विशेष केही पनि भइरहेको देखिँदैन; सबथोक सामान्य देखिन्छ। परमेश्वरले मानिसहरूलाई थाहै नदिई इस्राएलमा भएको महिमालाई पूर्वमा ल्याउनुभएको छ। यस व्यक्तिको बोलाइ र काम गराइमार्फत, कसैले पनि कसरी हो भनेर थाहै नपाउनेगरी, एउटा नयाँ युगको सुरुवात भएको छ, र पुरानो युगको अन्त्य भएको छ। तर ज-जसले साँच्चिकै परमेश्वरमा विश्वास गर्छन्, जो सरल र खुला हृदयका छन्, जसमा मानवता र समझ छ, उनीहरूले यी मामलाहरू छानबिन गर्दैनन्। यदि तिनीहरूले छानबिन गर्दैनन् भने केचाहिँ गर्छन् त? निष्क्रिय रूपमा प्रतीक्षा मात्र गर्छन् त? होइन—तिनीहरूले यी वचनहरू सत्यता हुन् भनेर बुझ्छन्, यी सारा वचनहरूको स्रोत परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्छन्, र यसरी यो साधारण व्यक्ति ख्रीष्ट हो भनेर स्विकार्छन्, र उहाँलाई आफ्नो प्रभु र परमेश्वरको रूपमा स्विकार्छन्, र अरू कुरा केही पनि सोच्दैनन्। अर्कोतर्फ, ख्रीष्टविरोधीहरूले यी सारा वचनहरू र यो सबै काम परमेश्वरबाट आउँछन्, यो सारा बोलाइ र काम गराइको स्रोत परमेश्वर हुनुहुन्छ भनेर बुझ्न सक्दैनन्, त्यसकारण यस साधारण व्यक्तिलाई आफ्नो प्रभु र परमेश्वरको रूपमा स्विकार्दैनन्। बरु, तिनीहरूले छानबिनलाई अझ तीव्र पार्छन् र हृदयमा प्रतिरोध गर्छन्। तिनीहरूले केको प्रतिरोध गर्छन् त? “तिमीले जतिसुकै बोले पनि, तिमीले गरेको काम जतिसुकै महान् भए पनि, तिम्रो स्रोत जोसुकै भए पनि, तिमी साधारण व्यक्ति रहुञ्जेल, तिम्रो बोल्ने शैली मेरा धारणाहरूसँग नमिलेसम्म, तिम्रो रूप मेरो आँखामा पर्ने वा मेरो सम्मान जित्ने गरी भव्य नभएसम्म, म तिमीलाई छानबिन र विश्लेषण गर्ने नै छु। तिमी मेरो छानबिनको वस्तु हौ; म तिमीलाई मेरो प्रभु, मेरो परमेश्वरको रूपमा स्विकार्न सक्दिनँ।” तिनीहरूको यो छानबिन र विश्लेषणको क्रममा, ख्रीष्टविरोधीहरूले आफ्ना धारणा, विद्रोहीपन, र भ्रष्ट स्वभावहरू समाधान गर्न नसक्ने मात्र होइन, बरु उल्टै तिनीहरूका धारणाहरू दिनदिनै बढ्दै र झन्झन् गम्भीर पनि बन्दै जान्छन्। उदाहरणको लागि, जब कुनै मण्डली अगुवा मण्डलीमा बाधा र विनाश निम्त्याउने ख्रीष्टविरोधीको रूपमा प्रकाश हुन्छ, र यस्तो घटना घट्दा, ख्रीष्टविरोधीहरूको पहिलो प्रतिक्रिया भनेको यस्तो प्रश्न सोध्नु हो: “के ख्रीष्टलाई यसबारे थाहा छ? यो मण्डली अगुवालाई कसले नियुक्त गर्यो? यसप्रति ख्रीष्टको प्रतिक्रिया के छ? उसले यसलाई कसरी सम्हालिरहेको छ? के ख्रीष्टले यो व्यक्तिलाई चिन्छ? के ख्रीष्टले यसअघि यो व्यक्ति ख्रीष्टविरोधी हो भनेर भनेको छ, वा यो घटनाको अगमवाणी गरेको छ? यो मण्डलीमा यस्तो ठूलो समस्या आइसकेपछि, के यो कुरा थाहा पाउने पहिलो व्यक्ति ख्रीष्ट थियो?” म त मलाई थाहा थिएन, मैले पनि यसबारे भर्खरै थाहा पाएको हुँ भन्छु। “त्यो ठिक होइन—तिमी परमेश्वर हौ, तिमी ख्रीष्ट हौ; तिमीलाई किन थाहा हुँदैन? तिमीलाई थाहा हुनुपर्छ।” म ख्रीष्ट, अर्थात् एक साधारण व्यक्ति भएकै कारण, मैले थाहा पाउनु पर्दैन। मण्डलीसँग आफ्नै प्रशासनिक आदेशहरू र मानिसहरूलाई सम्हाल्ने सिद्धान्तहरू छन्। जब ख्रीष्टविरोधीहरू देखा पर्छन्, तिनीहरूलाई मण्डलीका सिद्धान्तहरूअनुसार निकाल्न र निष्कासन गर्न सकिन्छ। यसले परमेश्वरको हातमा शक्ति छ, सत्यताको हातमा शक्ति छ भन्ने कुरा प्रतिबिम्बित गर्छ। मैले सबथोक थाहा पाउनु आवश्यक छैन। यदि मण्डलीले प्रशासनिक आदेशहरू र मानिसहरूलाई सम्हाल्ने सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्न सकेन भने, म हस्तक्षेप गर्नेछु। तर यदि दाजुभाइ-दिदीबहिनीहरूले मानिसहरूलाई निकाल्ने र निष्कासन गर्ने परमेश्वरको घरका सिद्धान्तहरू बुझ्छन् भने, म त्यसमा संलग्न हुनु आवश्यक छैन। जहाँ सत्यताको शक्ति चल्छ, त्यहाँ मैले हस्तक्षेप गर्नुपर्दैन। के यो एकदमै सामान्य होइन र? (हो।) तर ख्रीष्टविरोधीहरूले यस मामलाबारे समस्याहरू सिर्जना गर्न र धारणाहरू विकास गर्न सक्छन्, र यी धारणाहरू प्रयोग गरेर ख्रीष्टलाई नकार्न र ख्रीष्टसँग परमेश्वरको सार छ भन्ने तथ्यलाई निन्दा गर्नसमेत सक्छन्। ख्रीष्टविरोधीहरू ठ्याक्कै यही गर्छन्। केही चिज तिनीहरूका धारणा, कल्पना, वा अपेक्षाहरूसँग नमिलेकै कारण, तिनीहरूले ख्रीष्टको सार नकार्न सक्छन्। ख्रीष्टको हरेक पक्षबारे तिनीहरूको छानबिनले यो निष्कर्षमा पुर्याउँछ: तिनीहरूले ख्रीष्टमा परमेश्वरको सार देख्दैनन्; त्यसैले, तिनीहरूले यस व्यक्तिमा परमेश्वरको सार र पहिचान भएको भनेर परिभाषित गर्न सक्दैनन्। यसले त्यस्तो परिस्थितिमा पुर्याउँछ कि जहाँ केही नभएसम्म त ठिकै हुन्छ, तर केही आइपर्नेबित्तिकै पहिला उफ्रेर ख्रीष्टको पहिचान नकार्ने र ख्रीष्टलाई निन्दा गर्ने ख्रीष्टविरोधीहरू नै हुन्छन्। त्यसोभए ख्रीष्टविरोधीहरूको छानबिनको उद्देश्यचाहिँ ठ्याक्कै के हो त? तिनीहरूको छानबिन र विश्लेषणको उद्देश्य सत्यतालाई अझ राम्रोसँग बुझ्नु नभई प्रमाण खोजेर लाभ लिनु, परमेश्वरले देहधारण गर्नुभएको तथ्यलाई नकार्नु, र परमेश्वरले धारण गर्नुभएको देह नै ख्रीष्ट अर्थात् परमेश्वर हो भन्ने तथ्यलाई नकार्नु हो। ख्रीष्टविरोधीहरूले ख्रीष्टको छानबिन र विश्लेषण गर्नुपछाडिको मनसाय र उद्देश्य यही हो।
ख्रीष्टलाई पछ्याउने र अनुयायीको नाटक गर्ने क्रममा, ख्रीष्टविरोधीहरू छानबिन र विश्लेषणको मनोवृत्ति बोक्छन्, र अन्त्यमा सत्यता बुझ्न वा ख्रीष्ट नै प्रभु अर्थात् परमेश्वर हुनुहुन्छ भन्ने तथ्यबारे निश्चित हुन सक्दैनन्। तैपनि तिनीहरू किन यति अनकनाउँदै, यति अनिच्छापूर्वक पछ्याउँछन्, र परमेश्वरको घरमै बस्छन्? हामीले यसअघि छलफल गरेको एउटा कुरा के हो भने, तिनीहरू आशिष्हरू प्राप्त गर्ने अभिप्राय राख्छन्; तिनीहरू महत्त्वाकाङ्क्षी हुन्छन्। अर्को कुरा, ख्रीष्टविरोधीहरूमा साधारण मानिसहरूमा नहुने जिज्ञासा हुन्छ। कस्तो जिज्ञासा? त्यो अनौठा र असामान्य घटनाहरूप्रति तिनीहरूको आकर्षण हो। ख्रीष्टविरोधीहरू यो संसारका सारा अनौठा र असामान्य घटनाहरू, प्रकृतिका नियमहरू नाघ्ने सारा घटनाहरूबारे विशेष जिज्ञासु हुन्छन्। तिनीहरूमा धेरै कुराहरू उजागर गर्ने र तिनको गहिराइमा पुग्ने चाहना हुन्छ। यो खोजबिनको सार के हो? यो सबथोक बुझ्न र सबथोकपछाडिको सत्यता जान्न चाहने विशुद्ध अहङ्कार हो, मानौँ त्यो थाहा नपाए तिनीहरू अयोग्य देखिन्छन्। मामला जेसुकै भए पनि, तिनीहरू त्यो थाहा पाउने पहिलो व्यक्ति बन्न चाहन्छन्, यो मामलाका भित्रीबाहिरी कुराबारे सबैभन्दा जानकार र सबैभन्दा ठूलो ज्ञाता बन्न चाहन्छन्—तिनीहरू हरेक अर्थमा “सबैभन्दा ठूलो” बन्न चाहन्छन्। त्यसैले, तिनीहरू परमेश्वरले देहधारण गर्नुभएको मामलालाई पनि बेवास्ता गर्ने वा छुटाउने गर्दैनन्। तिनीहरू भन्छन्, “परमेश्वरको देहधारण नै मानव संसारको सबैभन्दा ठूलो रहस्य हो। यो सबैभन्दा ठूलो रहस्य, यो सबैभन्दा आश्चर्यजनक कुरामा ठ्याक्कै के भइरहेको छ? यसले साधारण अपेक्षाहरू पार गर्छ र यो देह साधारण मानवहरूभन्दा फरक छ, त्यसैले भिन्नता केमा छ? म आफैले हेर्नैपर्छ र बुझ्नैपर्छ।” यो “आफैले हेर्न र बुझ्न” भनेर तिनीहरूले भन्नुको मतलब के हो? यसको मतलब हो, “म संसारका धेरै देशहरू गएको छु, चर्चित हिमाल र ऐतिहासिक स्थलहरू घुमेको छु, र मैले चर्चित र बुद्धिमान् व्यक्तिहरूको अन्तर्वार्ता लिएको छु; उनीहरू सबै साधारण मानिसहरू हुन्। मैले यो ख्रीष्टलाई मात्र भेटेको छैन र उहाँबाट मात्र सिकेको छैन। यो ख्रीष्टको सार ठ्याक्कै के हो? म आफैले हेर्नैपर्छ र बुझ्नैपर्छ।” तिनीहरू ठ्याक्कै केचाहिँ आफै हेर्न र बुझ्न चाहन्छन् त? “मैले सुनेको छु कि परमेश्वरले चिन्ह र अचम्मका कामहरू गर्न सक्छ। तिनीहरू येशू नै प्रभु र ख्रीष्ट हो भनेर भन्छन्; मानिसहरूको जिज्ञासा पूरा गर्न उसले कस्ता चिन्ह र अचम्मका कामहरू गर्यो त? म एउटा घटना सम्झिन्छु, जहाँ प्रभु येशूले एउटा निबारोको रूखलाई श्राप दिएपछि, त्यो ओइलियो। के यो ख्रीष्टले अहिले त्यस्तै गर्न सक्छ? मैले हेर्न र बुझ्न जरूरी छ, र मौका मिल्यो भने, उसले यस्ता कार्यहरू गर्न सक्छ सक्दैन भनी जाँच्नुपर्छ। भनिन्छ कि देहधारी परमेश्वरसँग परमेश्वरको अख्तियार हुन्छ, जसले कुँजो परेकोलाई हिँड्ने, अन्धोलाई देख्ने, बहिरोलाई सुन्ने, र बिरामीलाई निको बनाउँछ। यी चमत्कारिक र नवीन घटनाहरू हुन्; मानव संसारमा तिनलाई साधारण मानिसहरूमा नहुने असाधारण क्षमता मानिन्छन्। यो म आफैले हेर्नुपर्ने कुरा हो।” यसअलावा, तिनीहरूको दिमागमा अल्झिरहने अर्को सबैभन्दा महत्त्वपूर्ण मामला पनि छ। तिनीहरू भन्छन्: “विगत र वर्तमान जीवन, र यो मानव संसारमा हुने पुनर्जन्मको चक्रको वास्तविकता ठ्याक्कै के हो? साधारण मानिसहरूले यो कुरा प्रस्टसित बुझाउन सक्दैनन्। परमेश्वर त देहधारी बनिसकेको छ, र उसले सबथोकमाथि शासन गर्छ, त्यसैले के ख्रीष्टलाई यसबारे थाहा छ? मौका मिल्यो भने, मैले उसलाई सोध्न र यस मामलाबारे जानकारी लिन जरूरी छ; मैले उसलाई मेरो रूप जाँच्न र मेरो नियति राम्रो छ छैन, विगतको जीवनमा म के थिएँ, म जन्तु थिएँ कि मानव भनेर हेर्न लगाउनैपर्छ। यदि उसलाई यी कुराहरू थाहा छ भने, म प्रभावित हुनेछु; त्यसले उसलाई असाधारण, सामान्य मानिसहरूभन्दा अलग, र सायद ख्रीष्ट नै बनाउनेछ। साथै, स्वर्गमा परमेश्वरको सिंहासन र बासस्थान छ भनेर भनिन्छ, त्यसोभए के यो देहधारी परमेश्वरलाई परमेश्वरको बासस्थान र स्वर्गको राज्य कहाँ छन् भनेर थाहा छ? स्वर्गको राज्यमा सुन बिछ्याइएका चहकिला र शानदार बाटाहरू छन् भनेर भनिन्छ; यदि यो देहधारी परमेश्वरले हामीलाई भ्रमणमा लान सके, के हाम्रो पूरै जीवन अर्थपूर्ण हुने र हाम्रो आस्था व्यर्थ नहुने हुन्थेन र? यसअलावा, हामीले खेतीपाती पनि गर्नुपर्थेन; भोक लाग्दा, ख्रीष्टले एउटै वाक्यले ढुङ्गालाई खानामा परिणत गर्न सक्थ्यो। पाँचवटा रोटी र दुईवटा माछाले नै उसले पाँच हजार जनालाई भोजन गरायो; के त्यो हाम्रो लागि ठूलो फाइदा हुन्थेन र? अनि ख्रीष्टले बोल्दा के हुन्छ? उसले जिउँदो पानी प्रदान गर्छ भनिन्छ, तर यो जिउँदो पानीचाहिँ कहाँ छ? त्यो कसरी प्रदान गरिन्छ, त्यो कसरी बग्छ? यी सबै खोज गर्नलायक मामलाहरू हुन्, हरेक मामला निकै नवीन छ। यदि मैले आफ्नै आँखाले यीमध्ये एउटा मात्र पनि देख्न सके, म यस जीवनकालमा एक साधारण व्यक्ति नभई, वृहत् ज्ञान र अनुभव भएको व्यक्ति नै बन्नेथिएँ।” के तिनीहरूमा यो जिज्ञासा हाबी भइरहेको छैन र? (छ।)
कति मानिसहरू सत्यता प्राप्त गर्न नभई, दिमागमा अरू युक्तिहरू सोचेर परमेश्वरमा विश्वास गर्छन्, ख्रीष्टलाई स्विकार्छन् र ख्रीष्टलाई पछ्याउँछन्। कति मानिसहरू मलाई भेट्नेबित्तिकै सोध्छन्, “‘प्रकाश’ को पुस्तकका सात महामारी र सात कचौराहरूको अर्थ के हो? सेतो घोडाले के सङ्केत दिन्छ? के साढे तीन वर्षको महाविपत्ति आइपुगेको छ?” म जवाफ दिन्छु, “तँ केको बारे सोधिरहेको छस्? प्रकाश भनेको के हो?” तिनीहरूले प्रतिवाद गर्छन्, “तिमीलाई प्रकाशबारे समेत थाहा छैन? तिमीलाई त परमेश्वर भनिन्छ, तर म त खासै निश्चित भइनँ!” अरूले सोध्छन्, “सुसमाचार प्रचार गर्ने क्रममा, हामी रहस्यमय मामलाहरूबारे सोध्ने मानिसहरू भेट्छौँ। हामी के गरौँ?” तिनीहरूले भनिनसक्दै, म भनिदिन्छु, “जसले सत्यता खोजी गर्नुको सट्टा सधैँ रहस्यहरूबारे सोध्छ ऊ सत्यता स्विकार्ने व्यक्ति होइन; उसले भविष्यमा मुक्ति पाउन सक्दैन। जो सधैँ रहस्यहरू खोज्छन्, तिनीहरू उपयुक्त मानिस होइनन्; यस्ता मानिसहरूलाई सुसमाचार प्रचार नगर्।” म किन यसो भन्छु? आखिर, यी प्रश्नहरू कसले सोधिरहेको छ? ती अरू कोही होइनन्; तिनीहरू आफै हुन्। तिनीहरू यी प्रश्नहरू सोधेर तिनका जवाफ जान्न चाहन्छन्, र तिनीहरू कसले सोधिरहेको छ भनेर मलाई थाहै हुन्न भन्ठान्छन्, मानौँ म तिनीहरूलाई भित्रसम्म छर्लङ्गै देख्नै सक्दिनँ! मैले त्यसो भनेपछि, तिनीहरू त्यो सुन्छन् र सोच्छन्, “परमेश्वरले मलाई अनुपयुक्त भन्नुभयो, त्यसैले अबउप्रान्त म सोध्दिनँ।” मेरो शैली कस्तो छ? के यसले प्रभावकारी रूपमा तिनीहरूलाई चुप पारेन त? यदि मैले जवाफ दिएको भए, के त्यो तिनीहरूको योजनालाई साथ दिएको हुन्थेन र? त्यसपछि त तिनीहरू औँला दिँदा डुँडुलो निल्थे, र अनन्त रूपमा प्रश्नहरू सोधिरहन्थे। के मसित तिनीहरूलाई यी कुरा बुझाउने दायित्व छ त? अनि यति ज्ञानले तैँले के नै गर्न सक्थिस् र? मलाई थाहा भए पनि, म तँलाई भन्दिनँ। मैले तँलाई किन भन्नुपर्यो? के म धर्मशास्त्रको व्याख्याता हुँ? के तँ धर्मशास्त्रीय अध्ययनको लागि यहाँ आएको होस्? तँ मेरो छानबिन गर्न आउँछस्, अनि के म तेरो छानबिनको निम्ति आफ्नो हृदय खोलूँ? के त्यो उचित हो? तँ मलाई जाँच्न आउँछस्, अनि के म तँलाई मेरो जाँच गर्न दिऊँ? के त्यो उचित हो? तँ सत्यता स्विकार्न आएको होइनस्; तँ शत्रुता, शङ्का र सोधपुछको मनोवृत्ति बोकेर प्रश्नहरू सोध्न आउँछस्। म तँलाई जवाफ दिँदै दिन्न। कति मानिसहरू भन्छन्, “जुनै प्रश्नको पनि जवाफ दिन जरूरी छैन र?” त्यो कुरा मामलामा भर पर्छ। सत्यता र मण्डलीको कामको सन्दर्भमा, मैले अझै पनि परिस्थितिबारे विचार गर्नुपर्छ। यदि मैले यसअघि नै तँलाई भनिसकेको छु र तँ अझै थाहा नभएको नाटक गर्दै, नम्रपूर्वक सोधेको बहाना बनाउँछस् भने, म तँलाई जवाफ दिनेछैन। म तँलाई काटछाँट गर्नेछु, र त्यसपछि तैँले बुझ्नेछस्। ख्रीष्टविरोधीहरूले ख्रीष्टलाई कसरी छानबिन र विश्लेषण गर्छन्, साथै ख्रीष्ट र परमेश्वरको सारबारे तिनीहरूको के जिज्ञासा हुन्छ भन्ने दृष्टिकोणबाट हेर्दा, ख्रीष्टविरोधीहरू ठ्याक्कै केचाहिँ छानबिन गरिरहेका हुन्छन्? तिनीहरू सत्यताबारे छानबिन गरिरहेका हुन्छन्। तिनीहरू परमेश्वरले गर्नुहुने हरेक चिजलाई आफ्नो छानबिन र विश्लेषणको विषय बनाउँछन्, र यसलाई समय काट्ने उपायको रूपमा प्रयोग गर्छन्। तिनीहरू अविश्वासीहरू कुनै धर्मशास्त्रीय विद्यालयमा पढ्न गएझैँ गरी परमेश्वरलाई पछ्याउँछन् मानौँ तिनीहरू ज्ञानको कुनै निश्चित क्षेत्र वा विधा अध्ययन गर्ने विद्वान हुन्। के यस्ता मानिसहरूले परमेश्वरको अन्तर्दृष्टि प्राप्त गर्न सक्छन्? के तिनीहरूले ज्योति प्राप्त गर्न सक्छन्? के तिनीहरूले सत्यता बुझ्न सक्छन्? (सक्दैनन्।)
मण्डलीमा कति कामहरू यसअघि कहिल्यै नदेखिएका कामहरू हुन्छन्, र कतिपयमा त पेशागत काम पनि संलग्न हुन्छ। मैले यस्तो काममा मार्गदर्शन गर्दा, कतिपय मानिसहरू गम्भीर र नम्र रूपमा सुन्छन्, र यी कर्तव्यहरू गर्दा पालना गर्नुपर्ने सिद्धान्तहरू, र अभ्यास र प्रवेश गर्नुपर्ने सत्यता वास्तविकता बोध गर्छन्। तर कतिपय मानिसहरू दिमाग खियाएर हृदयमा छानबिन गर्छन्; तिनीहरू सोच्छन्, “तिमीले यी क्षेत्रहरूको अध्ययन गरेका छैनौ। त्यसबाहेक, के तिमीले साँच्चै यति धेरै क्षेत्रहरू अध्ययन गर्न सक्छौ? कसले सबथोक बुझ्न र जान्न सक्छ? तिमी केका आधारमा हामीलाई मार्गदर्शन गर्छौ? हामीले किन तिम्रो कुरा सुन्ने? हामीलाई मार्गदर्शन गर्दा तिमीले भनेको कुराले कहिलेकाहीँ साँच्चै अर्थ राख्ने भए पनि, तिमीलाई यो कुराचाहिँ कसरी थाहा हुन्छ? यदि मैले केही कुरा अध्ययन गरिनँ भने, मैले त्यसबारे थाहा पाउनेछैन। मैले मनन गर्नुपर्छ, थप जान्ने, हेर्ने, र सुन्ने प्रयत्न गर्नुपर्छ, अनि त्यो अवस्थामा पुग्ने कोसिस गर्नुपर्छ, जहाँ मलाई तिम्रो मार्गदर्शन आवश्यक नहोस् र त्यो म आफैले गर्न सकूँ। तिमीले पनि क्रमिक रूपमा सिक्दै, अलिअलि गर्दै त्यसको ज्ञान हासिल गर्दै गएको देखिन्छ।” तिनीहरूले बाहिरी स्वरूपहरू मात्र हेर्छन्, र यो देख्दैनन् कि एकातिर, यस व्यक्तिले जे भन्नुभए पनि वा जे गर्नुभए पनि, त्यसका सिद्धान्तहरू हुन्छन्—जुन कामको मार्गदर्शन भइरहेको भए पनि, त्यो सिद्धान्तअनुसार गरिएको हुन्छ, र त्यो सिद्धान्त मानिसहरूका वास्तविक आवश्यकताहरू र वास्तविक कामका अपेक्षित नतिजाहरूसँग सम्बन्धित हुन्छ। अर्कोतिर, सबैभन्दा महत्त्वपूर्ण कुरा, यस व्यक्तिले केही पनि सिक्नुभएको हुँदैन; उहाँको ज्ञान, सिकाइ, अन्तर्ज्ञान, र अनुभव उल्लेखनीय हुँदैनन्। तर मानिसहरूले एउटा कुरा बिर्सनु हुँदैन: उहाँको अन्तर्ज्ञान, ज्ञान, अनुभव, र विज्ञता प्रचुर वा उल्लेखनीय भए पनि नभए पनि, हालको काम गर्न जिम्मेवार स्रोत यो बाह्य देह होइन, यस देहको सार हो—परमेश्वर स्वयम्। त्यसकारण, यदि तैँले यस देहको स्वरूप, अर्थात् उहाँको उचाइ र रूप, स्वर, स्वरको आरोहअवरोह, र बोल्ने शैलीको आधारमा मूल्याङ्कन गर्छस् भने, तैँले किन उहाँले यी कार्यहरू गर्न सक्नुहुन्छ र किन उहाँ तिनमा योग्य हुन सक्नुहुन्छ भनेर व्याख्या गर्न वा बुझ्न सक्नेछैनस्, तैँले यो कुरा छर्लङ्गै बुझ्न सक्नेछैनस्। के यो कुरा छर्लङ्गै बुझ्न नसक्नुको अर्थ यो समाधान गर्न नसकिने मामला हो भन्ने हो? होइन, यसलाई समाधान गर्न सकिन्छ। तैँले त्यसलाई छर्लङ्गै बुझ्नुपर्दैन; बस तैँले एउटा कुरा मात्र थाहा पाउन, याद गर्न र स्विकार्न आवश्यक छ: परमेश्वरले धारण गर्नुभएको देह नै ख्रीष्ट हो। ख्रीष्टप्रति मानिसहरूमा हुनुपर्ने सिद्धान्त, अडान, र मनोवृत्ति भनेको छानबिन, विश्लेषण, वा जिज्ञासा पूरा गर्ने होइन, बरु मान्ने, स्विकार्ने, सुन्ने र समर्पित हुने हो। यदि तैँले छानबिन र विश्लेषण गर्छस् भने, के त्यसले अन्त्यमा तँलाई परमेश्वरको सार देख्न मद्दत गर्नेछ? गर्नेछैन। परमेश्वरले कसैलाई पनि उहाँको विश्लेषण वा छानबिन गर्न अनुमति दिनुहुन्न; तैँले जति धेरै छानबिन र विश्लेषण गर्छस्, परमेश्वर तँबाट त्यति नै धेरै लुक्नुहुनेछ। परमेश्वरले लुक्नुहुँदा मानिसहरूले के महसुस गर्छन्? तिनीहरूको हृदयमा परमेश्वरको अवधारणा अनिश्चित बन्छ, सत्यताको अवधारणा अस्पष्ट बन्छ, र तिनीहरूले पछ्याउनुपर्ने मार्गको सबथोक धूमिल बन्छ। यो कुनै पर्खालले तेरो दृश्य छेकिरहेको जस्तै हो; तैँले अगाडिको दिशा देख्न सक्दैनस्, त्यो पूरै धमिलो हुन्छ। परमेश्वर कहाँ हुनुहुन्छ? परमेश्वर को हुनुहुन्छ? के परमेश्वर साँच्चिकै हुनुहुन्छ? यी प्रश्नहरू तेरो अगाडि उभिएको कालो पर्खालजस्तै हुन्, जुन परमेश्वरले तँबाट उहाँको मुहार लुकाउनुभएको हो, तैँले उहाँलाई देख्न नसक्ने तुल्याउनुभएको हो। तेरा लागि सारा दर्शनहरू अस्पष्ट बन्छन्, ती हराउँछन्, र तेरो हृदय अन्धकारले भरिन्छ। अनि जब तेरो हृदय अँध्यारो हुन्छ, के तँसित अझै पनि अगाडि बढ्ने मार्ग हुन्छ? के तँलाई अझै पनि के गर्ने भन्ने थाहा हुन्छ? हुँदैन। तेरो मूल दिशा र लक्ष्यहरू जतिसुकै प्रस्ट भएका भए पनि, जब तैँले परमेश्वरको छानबिन र विश्लेषण गर्छस्, तब ती अस्पष्ट र अँध्यारो बन्छन्। जब मानिसहरू यस्तो परिस्थिति र स्थितिमा फस्छन्, तिनीहरू खतरामा पर्छन्; परमेश्वरको छानबिन गर्नमा ध्यान केन्द्रित गर्नेहरूलाई यस्तै हुन्छ। ख्रीष्टविरोधीहरू सधैँ यस्तै परिस्थितिमा हुन्छन्, तिनीहरूको अगाडि पूर्ण अन्धकार हुन्छ, तिनीहरू सकारात्मक कुराहरू के हुन्, सत्यता के हो भन्ने कुरा खुट्ट्याउन असक्षम हुन्छन्। परमेश्वरले जे गर्नुभए पनि, तिनीहरू त्यो वास्तवमै परमेश्वर हुनुहुन्छ, त्यो परमेश्वर स्वयम् हुनुहुन्छ भनेर पुष्टि गर्न सक्दैनन्; तिनीहरूले जसरी हेरे पनि तिनीहरूले देहधारीलाई व्यक्तिको रूपमा मात्र देख्छन्, किनकि तिनीहरू सधैँ छानबिन र विश्लेषण गरिरहेका हुन्छन्, र त्यसैले परमेश्वरले पनि तिनीहरूलाई अन्धो पारिरहनुहुन्छ। तैँले तिनीहरूका आँखाहरू खुला, चम्किला र ठूला देख्छस्, तर तिनीहरू अन्धा नै हुन्छन्। परमेश्वरले मानिसहरूबाट आफ्नो मुहार लुकाउनुहुँदा, तिनीहरूको हृदयमा गिर्खा आएजस्तै, पूर्ण अन्धकारमा डुबेजस्तै हुन्छ। तिनीहरू बाहिरी कुरा मात्र देख्छन्, त्यसभित्र रहेको मार्ग बुझ्न सक्दैनन्, र अन्तर्निहित सत्यता बुझ्नबाट चुक्छन्—अझ भन्नुपर्दा, तिनीहरू परमेश्वरको सार वा उहाँको स्वभाव बुझ्न सक्दैनन्।
परमेश्वरको देखापराइ र कामलाई विश्लेषण र छानबिन गरेर त्यसले कुनै नतिजाहरू दिनेछैन। विश्लेषण र छानबिन गर्ने स्थितिमा नफस्नु महत्त्वपूर्ण छ; यो नकारात्मकताको मार्ग हो। त्यसोभए सकारात्मक मार्ग के हो त? तैँले यो परमेश्वरको काम हो, यो साधारण व्यक्ति नै परमेश्वरले धारण गर्नुभएको देह हो र उसमा परमेश्वरको सार छ भनेर दृढ विश्वास गरेकाले, तैँले निःशर्त स्विकार्नुपर्छ र तँ समर्पित हुनुपर्छ। मानिसहरू यस देहमा असहमत हुनुपर्ने धेरै पक्षहरू छन्, मानव धारणा र कल्पनाविपरीतका धेरै पक्षहरू छन् भन्ने महसुस गर्छन्; त्यो मानिसहरूमा हुने समस्या हो। परमेश्वर यही तरिकाले चल्नुहुन्छ, र बदलिनुपर्ने भनेको मानिसहरूका धारणाहरू, तिनीहरूका भ्रष्ट स्वभावहरू, र परमेश्वरप्रतिका तिनीहरूका मनोवृत्तिहरू हुन्, परमेश्वर देहधारी हुनुभएको देह होइन। मानिसहरूले यसमा सत्यता खोज्न, परमेश्वरका अभिप्रायहरू खोज्न, र आफ्नो उचित दृष्टिकोण र स्थान लिन आवश्यक छ, उहाँलाई परमेश्वरको रूपमा स्विकारेपछि पनि उहाँको छानबिन गर्न, वा उहाँले के गर्नुहुन्छ र के भन्नुहुन्छ भनेर विश्लेषण र छलफल गर्न चाहने होइन। त्यो ठूलो समस्या बन्नेछ। जब तेरो स्थान साथै सत्यता स्विकार्ने तेरो कोण गलत हुन्छन्, तैँले सबथोकलाई जे-जसरी हेर्छस् त्यसको परिणाम बदलिनेछ, र त्यसले तेरो पछ्याइको मार्ग र दिशा प्रभावित पार्नेछ। परमेश्वरले जे गर्नुहुन्छ वा जे भन्नुहुन्छ, त्यो मानव धारणाहरूसँग मिल्नु नमिल्नु अस्थायी समस्या मात्र हो। मानवजातिलाई परमेश्वरले गर्ने सारा कामको योगदान र मूल्य, त्यसले मानव जीवनमा ल्याउने मूल्य शाश्वत हुन्छ। तिनलाई कुनै पनि व्यक्ति, शैक्षिक विधा, अभिव्यक्ति वा तर्क, वा प्रवृत्तिद्वारा परिवर्तन गर्न सकिँदैन। यही नै सत्यताको मूल्य हो। हुन सक्छ अहिले यस साधारण व्यक्तिका वचन र कार्यहरूले तेरो जिज्ञासा वा आडम्बर पूरा गर्न नसक्लान्, तिनले तँलाई पूर्ण रूपमा विश्वास दिलाउन वा तेरो मन र बोलीलाई जित्न पनि नसक्लान्; तर आज उहाँले बोल्नुहुने सारा वचनहरू, साथै यस युग र अवधिमा उहाँले सम्पूर्ण मानवजाति, सम्पूर्ण युग, र परमेश्वरको समग्र व्यवस्थापन योजनाप्रति गर्नुहुने सारा कामका योगदानहरू अनन्तसम्मै एकनास रहन्छन्—यो तथ्य हो। त्यसकारण, तैँले एकदिन यस्तो महसुस गर्नेछस्: “बीसतीस वर्षअघि, मैले यस साधारण व्यक्तिले भन्नुभएको कुनै एउटा भनाइलाई छानबिन, गलत व्याख्या, प्रतिरोध, र आलोचना तथा निन्दासमेत गरेँ। बीसतीस वर्षपछि, जब म फेरि त्यो भनाइलाई सम्झिन्छु, मेरो हृदय ऋणीपन र आत्मग्लानिले भरिन्छ।” भ्रष्ट मानवहरू परमेश्वरसामु नीचा र महत्त्वहीन हुन्छन्, तिनीहरू सधैँभरि शिशु नै हुन्छन्, र उल्लेख गर्न लायक हुँदैनन्। कुनै व्यक्तिले जतिसुकै काम गर्ने भए पनि, जुनसुकै अवधिमा जुनसुकै सन्दर्भमा परमेश्वरले बोल्नुभएको हरेक वचनले सारा मानवजातिमाझ पुर्याएको योगदानको तुलनामा, त्यो स्वर्ग र पृथ्वीबीचको भिन्नता जस्तै हुन्छ! त्यसैले, तैँले परमेश्वर मानिसहरूले छानबिन, विश्लेषण र शङ्का गर्ने वस्तु होइन भनेर बुझ्न जरूरी छ। परमेश्वरको काम र परमेश्वरले धारण गर्नुभएको देहको उद्देश्य मानिसहरूको जिज्ञासा पूरा गर्नु होइन। उहाँले यो सारा काम गर्नुको उद्देश्य समय कटाउनु वा यतिकै दिन बिताउनु होइन—उहाँको अभिप्राय एउटा युगका मानिसहरूलाई मुक्ति दिनु हो, सारा मानवजातिलाई मुक्ति दिनु हो, र उहाँले हासिल गर्न चाहनुभएका कामका नतिजाहरू सदासर्वदा रहिरहून् भन्ने हो। ख्रीष्टविरोधीहरू ख्रीष्टलाई छानबिन र विश्लेषण गरिनुपर्ने, र तिनीहरूको जिज्ञासा पूरा गर्ने साधारण व्यक्तिका रूपमा व्यवहार गर्छन्। यसको प्रकृति के हो? के यसलाई बुझ्न वा माफी गर्न सकिन्छ? तिनीहरू सदाका पापी हुन्, तिनीहरू सदाका लागि श्रापित र अक्षम्य हुन्छन्! यदि कुनै व्यक्तिमा मानवता छ, उसले सत्यता बुझ्छ, र उसमा सत्यता वास्तविकता छ भने, उसलाई छानबिन गर्नुसमेत निकै घिनलाग्दो हुन्छ। ख्रीष्टलाई साधारण व्यक्तिको रूपमा हेर्नु र भित्री रूपमा छानबिन गर्नु, उहाँको हरेक कामलाई शत्रुता र अपमानसाथ हेर्नु, र उहाँले बोल्नुहुने वचनहरूबारे जिज्ञासा मात्र पूरा गर्न खोज्नु—र कतिपय मानिसहरूले मलाई देखेपछि “अलि धेरै सत्यता सङ्गति गर, तेस्रो स्वर्गको भाषाबारे अलि धेरै सङ्गति गर, हामीलाई थाहा नभएको अलि धेरै कुराहरू भन” भनेरसमेत भन्नु—तिनीहरूले यस व्यक्तिलाई कुन रूपमा लिन्छन्? आफ्नो न्यास्रो मेटाउने व्यक्ति? परमेश्वरले यस मामलालाई कसरी चित्रण गर्नुहुन्छ? के यो परमेश्वरविरुद्धको ईशनिन्दा होइन र? यदि यसलाई मानिसहरूप्रति लक्षित गरियो भने, यसलाई उपहास र गिल्ला भनिन्छ; यदि यसलाई परमेश्वरप्रति लक्षित गरियो भने, यसलाई ईशनिन्दा भनिन्छ।
यस प्रकटीकरण—छानबिन, विश्लेषण, र जिज्ञासा—को अन्तर्वस्तुभित्र ख्रीष्टविरोधीहरूको प्रकृति सार आफसेआफ दुष्टको रूपमा, र सत्यताप्रति वितृष्ण हुनुका रूपमा प्रकट हुन्छ। तिनीहरूले सबै सकारात्मक कुराहरूलाई बेवास्ता गर्छन्; तिनीहरूले ती सबैलाई तिरस्कार गर्छन् र उपेक्षा गर्ने मनोवृत्तिले हेर्छन्, परमेश्वर देहधारी हुनुभएको देहलाई समेत बाँकी राख्दैनन्। तिनीहरूलाई सारा मामलाहरूमा आफ्नो जिज्ञासा पूरा गर्नुपर्छ, सबथोकलाई आफ्नो छानबिनको दायरामा ल्याउनुपर्छ, र तिनीहरू सबथोकको निष्कर्ष निकाल्न र गहिराइमा पुग्न, र के भइरहेको छ भनेर पत्ता लगाउन चाहन्छन्, ताकि तिनीहरू जानकार र बुद्धिमान् देखिऊन्। यही नै मानवहरूको भ्रष्ट स्वभाव हो। सबथोक छानबिन गर्ने बानी परेपछि, तिनीहरू छानबिनलाई परमेश्वरतिर लक्षित गर्छन्। यसबाट तिनीहरूलाई के प्राप्त हुन्छ? सिद्धता र मुक्ति? होइन, यसले तिनीहरूमा अधोगति र अनन्त विनाश मात्र ल्याउँछ! ख्रीष्टविरोधीहरूलाई यसरी नै चित्रण गरिन्छ। तिनीहरू श्रापित र निन्दनीय हुन्छन्। परमेश्वर देहधारी हुनुभएको देहलाई हेर्दा, तिनीहरूले कहिल्यै पनि अनुयायी वा सृजित प्राणीहरूको स्थान लिएर उहाँलाई स्विकार्ने र हेर्ने गर्दैनन्; बरु, तिनीहरू उहाँलाई एउटा विद्वान, सबथोक जानेझैँ गर्ने व्यक्ति, जिज्ञासाहरूले भरिएको व्यक्ति, र सत्यता बुझ्न नसक्ने र सकारात्मक कुराहरूलाई तिरस्कार गर्ने अहङ्कारी व्यक्तिको कोण र दृष्टिकोणबाट बुझ्छन् र लिन्छन्। यस्ता मानिसहरूले मुक्ति पाउन सक्दैनन् भन्ने कुरा प्रस्टै छ।
जून ६, २०२०
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।