विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग एक) खण्ड पाँच

के तिमीहरूसित थप प्रश्‍नहरू छन्? (परमेश्‍वर, तपाईँले परमेश्‍वरको जाँच गर्नुको अर्थबारे हामीसँग अझै सङ्गति गर्नुहुन्थ्यो कि? परमेश्‍वरलाई जाँच्ने कार्य मानिसहरूमा कुन-कुन रूपमा प्रकट हुन्छन्?) परमेश्‍वरको जाँच तब हुन्छ जब मानिसहरूलाई परमेश्‍वरले कसरी काम गर्नुहुन्छ भन्‍ने थाहा हुँदैन, र तिनीहरूले उहाँलाई नचिनेर वा नबुझेर बारम्बार उहाँप्रति अनुचित मागहरू राख्छन्। उदाहरणको लागि, कोही बिरामी हुँदा, उसले परमेश्‍वरले नै उसलाई निको पार्नुपर्छ भनी प्रार्थना गर्न सक्छ। “म उपचारको खोजीमा लाग्दिनँ—परमेश्‍वरले मलाई निको पार्नुहुनेछ कि छैन हेरौँ।” त्यसैले, निकै समय प्रार्थना गरेपछि पनि परमेश्‍वरले केही नगर्नुहुँदा, उसले भन्छ, “परमेश्‍वरले केही पनि गर्नुभएन, त्यसैले म औषधि लिनेछु र उहाँले मलाई रोक्नुहुन्छ कि हुन्न हेर्नेछु। यदि उक्त औषधि मेरो घाँटीमा अड्कियो, वा यदि मैले पानी पोखाएँ भने, त्यो परमेश्‍वरले मलाई रोक्नुभएको र त्यो सेवन गर्न नदिन खोज्‍नुभएको हुन सक्छ।” जाँच भनेको त्यही हो। अथवा उदाहरणको लागि, तँलाई सुसमाचार प्रचार गर्न लगाइयो रे। सामान्य परिस्थितिहरूमा, तेरो कर्तव्यमा के-के पर्छन् र तैँले के गर्नुपर्छ भन्नेबारे सबैले सङ्गति र विचारविमर्शमार्फत निर्णय गर्छन्, र त्यसपछि सही समय आएपछि तैँले त्यो काम गर्छस्। यदि तैँले काम गरिरहेको बेलामा केही आइपर्‍यो भने, त्यो परमेश्‍वरको सार्वभौमिकता हो—यदि परमेश्‍वरले रोक्नुहुन्थ्यो भने, उहाँले सक्रिय रूपमै रोक्नुहुनेछ। तर मानौँ तैँले प्रार्थनामा यसो भन्छस् रे, “हे परमेश्‍वर, आज म सुसमाचार प्रचार गर्न बाहिर जाँदै छु। के म बाहिर जानु तपाईँको अभिप्रायबमोजिम हुन्छ? थाहा छैन, सुसमाचार स्विकार्ने सम्भावना भएका आजको व्यक्तिले यसलाई स्विकार्न सक्छ सक्दैन, र तपाईँले यसलाई ठ्याक्कै कुन तरिकाले सञ्चालन गर्नुहुन्छ। मेरो अनुरोध छ, तपाईँका प्रबन्धहरू, र तपाईँका मार्गदर्शनहरू गरिपाऊँ, र तपाईँले मलाई यी कुराहरू देखाइदिनुहोस्।” प्रार्थना गरेपछि, तँ चलमल नगरी त्यहीँ बस्छस्, र भन्छस्, “परमेश्‍वरले त्यसबारे किन केही पनि भन्नुहुन्न? सायद मैले उहाँका वचनहरू पर्याप्त मात्रामा नपढ्ने हुनाले उहाँले मलाई ती कुराहरू देखाउन नसक्‍नुभएको हो कि। यदि त्यसो हो भने, म तुरुन्तै त्यता बाहिर निस्‍कनेछु। यदि म अघि बढ्ने क्रममा घोप्टो लडेँ भने, सायद त्यो परमेश्‍वरले मलाई रोकिरहनुभएको हुन सक्छ, तर यदि सबथोक सहज रूपमा अघि बढ्यो र परमेश्‍वरले मलाई रोक्नुभएन भने, त्यो परमेश्‍वरले मलाई अघि बढ्न दिनुभएको हुन सक्छ।” त्यो एउटा जाँच हो। हामी किन त्यसलाई जाँच भनिरहेका छौँ? परमेश्‍वरको काम व्यावहारिक हुन्छ; मानिसहरूले आफूले गर्नुपर्ने कर्तव्यहरू गरे, आफ्ना दैनिक जीवन मिलाए, र सिद्धान्तहरूअनुसार हुनेगरी आफ्नो सामान्य मानवताको जीवन जिए पुग्छ। परमेश्‍वरले कसरी कार्य गर्नुहुनेछ वा उहाँले कस्तो मार्गदर्शन दिनुहुनेछ भनी जाँच गर्नु आवश्यक छैन। आफूले गर्नुपर्ने काम गर्नतिर मात्र ध्यान दे; सधैँ अन्य कुराहरू नसोच्, जस्तो कि, “के परमेश्‍वरले मलाई यसो गर्न दिनुहुन्छ, कि दिनुहुन्न? यदि मैले यसो गरेँ भने, परमेश्‍वरले मलाई कसरी सम्हाल्‍नुहुनेछ? के मैले यसलाई यो तरिकाले गर्नु ठिक हो?” यदि कुनै कुरा ठिक हो भन्ने प्रस्ट छ भने, त्यही काम गर्नतिर मात्र ध्यान दे; अनेकथरीका कुराहरूबारे सोच्नतिर नलाग्। परमेश्‍वरको मार्गदर्शनको लागि प्रार्थना गर्नुचाहिँ अवश्यै ठिकै हो, यस दिन उहाँले तेरो जीवनलाई मार्गदर्शन गरिदिनुहोस्, उहाँले आज तैँले निर्वाह गर्ने कर्तव्यलाई मार्गदर्शन गरिदिनुहोस् भनी प्रार्थना गर्नु ठिकै हो। व्यक्तिमा समर्पणको हृदय र मनोवृत्ति भए पुग्छ। उदाहरणको लागि, तँलाई थाहै छ, यदि तैँले हातले बिजुली छोइस् भने, तँलाई झट्का लाग्नेछ, र तैँले आफ्नो ज्यान गुमाउन पनि सक्छस्। तैपनि तैँले त्यसबारे यस्तो सोच्छस्: “केही छैन, परमेश्‍वरले मेरो सुरक्षा गरिरहनुभएको छ। परमेश्‍वरले मेरो रक्षा गर्नुहुनेछ कि छैन र परमेश्‍वरको सुरक्षाले कस्तो अनुभूति गराउँछ भनी हेर्न मैले कोसिस मात्र गर्नुपर्छ।” त्यसपछि तैँले हातले त्यसलाई छुन्छस्, र फलस्वरूप, तँलाई झट्का लाग्छ—त्यो एउटा जाँच हो। कतिपय कुराहरू प्रस्ट रूपले गलत हुन्छन् र ती गर्नु हुँदैन। तैपनि, परमेश्‍वरले कस्तो प्रतिक्रिया दिनुहुनेछ भनी हेर्न, यदि तैँले गरिछोड्छस् भने, त्यो एउटा जाँच हो। कतिपय मानिसहरू भन्छन्, “मानिसहरूले आफूलाई भड्किलो तरिकाले सजाएको र बाक्लो मेकअप घसेको परमेश्‍वरलाई मन पर्दैन। तर म त्यसै गर्छु र परमेश्‍वरले भित्री रूपमा धिक्कार्नुहुँदा कस्तो महसुस हुन्छ त्यो हेर्नेछु।” मेकअप गरिसकेपछि तिनीहरूले ऐनामा हेर्छन्: “अहो, म त भूतजस्तै देखिन्छु, तर मलाई यो अलि घिनलाग्दो देखिने र आफूलाई ऐनामा हेर्न नसकिने मात्र महसुस भयो। त्यसबाहेक अरू केही पनि महसुस भएन—मलाई परमेश्‍वरले घृणा गर्नुभएको महसुस भएन, र उहाँका वचनहरूले मलाई तत्काल ढालेको र न्याय गरेको पनि महसुस भएन।” यो कस्तो व्यवहार हो? (जाँच्ने व्यवहार।) यदि तैँले कहिलेकाहीँ आफ्नो कर्तव्यमा झारा टार्छस्, र त्यो कुरा तँलाई प्रस्ट रूपले थाहा छ भने, तैँले पश्‍चात्ताप गरेर आफूलाई परिवर्तन गरे पुग्छ। तर तँ त सधैँ प्रार्थना गरिरहेको हुन्छस्, “हे परमेश्‍वर, म झाराटारुवा भएँ—मेरो अनुरोध छ, तपाईँ मलाई अनुशासनमा राख्नुहोस्!” तेरो अन्तस्करणले के उद्देश्यको काम गर्छ? यदि तँसित अन्तस्करण छ भने, तैँले आफ्नो व्यवहारको जिम्मेवारी लिनुपर्छ। तैँले त्यसमा लगाम लाउनुपर्छ। परमेश्‍वरलाई प्रार्थना नगर्—त्यो प्रार्थना एउटा जाँच बन्नेछ। एउटा गम्भीर कुरालाई लिएर त्यसलाई ठट्टा र जाँचमा परिणत गर्नुलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ। मानिसहरूले कुनै समस्या सामना गरी परमेश्‍वरलाई प्रार्थना गर्दा र उहाँलाई खोज्दाको समयमा, अनि उनीहरूले देखाउने केही मनोवृत्ति, माग, र परमेश्‍वरप्रतिको व्यवहारमा, प्राय केही जाँचहरू देखा पर्ने गर्छन्। अनि, यी जाँचका मूलभूत पक्षहरू के हुन्? यो कि, तँ परमेश्‍वरले कस्तो व्यवहार गर्नुहुनेछ, वा परमेश्‍वरले कुनै कुरा गर्न सक्नुहुन्छ कि हुन्न भनी हेर्न चाहन्छस्। तँ परमेश्‍वरलाई जाँच्न चाहन्छस्; तँ यो मामलामार्फत परमेश्‍वर कस्तो हुनुहुन्छ, परमेश्‍वरले बोल्नुभएका कुन वचनहरू सही र सटीक छन्, कुन साँचो बन्न सक्छन्, र उहाँले कुन वचनहरू पूरा गर्न सक्नुहुन्छ भनी पुष्टि गर्न चाहन्छस्। यी सबै जाँचहरू हुन्। के यस्ता कार्यशैलीहरू तिमीहरूमा नियमित रूपमा देखा पर्छन्? मानौँ कि तैँले कुनै काम सही गरेको छस् कि छैनस्, वा त्यो सत्यता सिद्धान्तहरूसँग मिल्छ कि मिल्दैन भनी तँलाई थाहा छैन रे। यहाँ, तैँले यो मामलामा जे गरेको छस् त्यो जाँच हो होइन, वा त्यो सकारात्मक हो कि होइन भनी पुष्टि गर्न सक्ने दुइटा विधिहरू छन्। एउटा विधि भनेको विनम्र र सत्यता खोजी गर्ने हृदय धारण गर्नु, र यसो भन्नु हो, “मलाई आइपरेको कुरालाई मैले यसरी सम्हालेको र हेरेको छु, र मैले यसलाई यो तरिकाले सम्हालेकोले अहिले यो यस्तो भएको छ। मैले गर्नुपर्ने यही थियो कि थिएन भनेर मैले कुनै भेउ पाएको छैनँ।” यस्तो मनोवृत्तिबारे तँलाई के लाग्छ? यो सत्यता खोज्ने मनोवृत्ति हो—यसमा कुनै जाँच छैन। मानौँ तैँले “सङ्गति गरेपछि यो कुराबारे सबैले सँगै निर्णय गरे” भनेर भन्छस् रे। अनि, कसैले सोध्छ रे, “यसको प्रभारी को हो? मुख्य निर्णयकर्ता को हो?” अनि तैँले भन्छस् रे: “सबैजना।” अनि, यसमा तेरो अभिप्राय यस्तो हुन्छ रे: “यदि तिनीहरूले यो कुरालाई सिद्धान्तहरूबमोजिम सम्हालिएको रहेछ भनेर भनेमा, म यो मैले गरेको हुँ भन्नेछु। यदि तिनीहरूले यसलाई सिद्धान्तहरूबमोजिम सम्हालिएको रहेनछ भनेर भनेमा, म सुरुमा यो कसले गरेको हो र कसले निर्णय गरेको हो भनेर भन्दिनँ। यसो गरेमा, यदि तिनीहरूले दोषारोपण गर्न जिद्‌ नै कसे पनि, मलाई दोष लगाउनेछैनन्, र कोही अपमानित भयो नै भने पनि, म एक्लै अपमानित हुनेछैन।” यदि तैँले त्यस्तो अभिप्रायले बोल्छस् भने, त्यो एउटा जाँच हो। कसैले यसो भन्‍न सक्छ, “मान्छेले सांसारिक कुराहरू पछ्याउँदा परमेश्‍वरले घृणा गर्नुहुन्छ। उहाँले मानवजातिका स्मृति दिवस र चाडपर्वजस्ता कुराहरू घृणा गर्नुहुन्छ।” अब तँलाई यो कुरा थाहा भइसकेपछि, परिस्थितिहरूले साथ दिएसम्म तैँले यस्ता कुराहरू पन्छाउने सक्दो प्रयास गर्न सक्छस्। तर मानौँ कुनै चाडपर्वमा काम गर्ने क्रममा तैँले जानाजान सांसारिक मामलाहरू पछ्याउँछस्, र तैँले त्यसो गर्दा तेरो अभिप्राय यस्तो हुन्छ रे: “म त मैले यसो गर्दा परमेश्‍वरले मलाई अनुशासनमा राख्नुहुनेछ कि छैन, उहाँले मप्रति ध्यान दिनुहुनेछ कि छैन भनेर मात्र हेरिरहेको छु। म त मप्रति उहाँको मनोवृत्ति कस्तो छ, र उहाँको तिरस्कार कति गहिरो रहेछ भनेर मात्र हेरिरहेको छु। भनिन्छ कि परमेश्‍वरले यसलाई तिरस्कार गर्नुहुन्छ रे, उहाँ पवित्र हुनुहुन्छ र उहाँले दुष्टतालाई घृणा गर्नुहुन्छ रे, त्यसैले म उहाँले दुष्टतालाई कसरी घृणा गर्नुहुन्छ र उहाँले मलाई कसरी ताडना दिनुहुनेछ भनी हेर्नेछु। मैले यी कामकुरा गर्दा, यदि परमेश्‍वरले मलाई बान्ता र पखाला गराउनुभयो, चक्कर लगाउनुभयो, र ओछ्यानबाट निस्कन नसक्ने तुल्याउनुभयो भने, परमेश्‍वरले यी कुराहरूलाई साँच्चै तिरस्कार गर्नुहुन्छ भन्ने देखिनेछ। उहाँ बोलिरहनुभएको मात्र हुनेछैन—तथ्यहरूले त्यसलाई पुष्टि गर्नेछन्।” यदि तँ सधैँ यस्तो दृश्य देख्ने आशामा हुन्छस् भने, तेरा व्यवहार र आशयहरू कस्ता छन् त? तैँले जाँचिरहेको छस्। मान्छेले परमेश्‍वरलाई कहिल्यै जाँच्नु हुँदैन। जब तैँले परमेश्‍वरलाई जाँच्छस्, तँबाट उहाँ लुक्‍नुहुनेछ र आफ्नो अनुहार छोप्नुहुनेछ, अनि तेरा प्रार्थनाहरू बेकार हुनेछन्। कतिपयले सोध्‍न सक्छन्, “म हृदयमा इमानदार भएर पनि हुँदैन र?” हो, तँ हृदयमा इमानदार भएर पनि हुँदैन। परमेश्‍वरले मानिसहरूलाई उहाँको जाँच गर्न दिनुहुन्न; उहाँले दुष्टतालाई घृणा गर्नुहुन्छ। जब तैँले यी दुष्ट विचार र सोचहरू मनमा खेलाउँछस्, परमेश्‍वर तँबाट लुक्नुहुनेछ। उहाँले तँलाई अन्तर्दृष्टि दिन छोड्नुहुनेछ, बरु तँलाई पाखा लगाउनुहुनेछ, अनि तँलाई प्रकाश नगरुन्जेल तैँले मूर्ख, अवरोधपूर्ण, र बाधक कामहरू गर्दै जानेछस्। मानिसहरूले परमेश्‍वरलाई जाँच गर्दा आउने परिणाम यही हो।

(परमेश्‍वर, मेरो एउटा प्रश्‍न छ। म मण्डलीमा सरसामान व्यवस्थापन गर्छु। यस कर्तव्यप्रति मेरो मनोवृत्ति सधैँ बेवास्ते र अगम्भीर रहँदै आएको छ। दाजुभाइ-दिदीबहिनीहरूले मेरो गल्ती औँल्याए र काटछाँट गरे, र तिनीहरूले मसँग एउटा मान्छेले गोप्य रूपमा खोकीको औषधि सेवन गरेकोबारे परमेश्‍वरले एकपटक दिएको उदाहरणमा सङ्गति गरे: परमेश्‍वरले उसलाई अनुशासनमा राख्नुभएन वा हप्काउनुभएन बरु उसले त्यो औषधि सेवन गरेपछि उहाँले उसलाई हटाइदिनुभयो। परमेश्‍वरको स्वभावले मान्छेका उल्‍लङ्घन सहँदैन—मलाई ती वचनहरू थाहा छ, तर मेरो दृष्टिकोणमा परमेश्‍वर कृपालु र प्रेमिलो हुनुहुन्छ, सायद उहाँले मलाई त्यस मान्छेलाई जस्तै व्यवहार गर्नु हुनेछैन। त्यसैले, म डराएको छैनँ। परमेश्‍वरको आजको सङ्गतिका आधारमा, मलाई आफूमा परमेश्‍वरको जाँच गर्ने र उहाँसित कहिल्यै नडराउनेजस्ता उहाँको धर्मी स्वभावप्रति शङ्कालु मनोवृत्ति र ख्रीष्टविरोधी व्यवहार रहेको महसुस हुन्छ।) कुनै व्यक्तिप्रति परमेश्‍वरको मनोवृत्ति त्यो व्यक्ति उहाँसँग डराएको छ कि छैन भन्ने कुरामा आधारित हुँदैन, न त कुनै मामलामा त्यस व्यक्तिले राख्ने क्षणिक मनोवृत्तिमा नै आधारित हुन्छ। व्यक्तिले आफ्नो जीवनका मामुली मामलाहरूमा देखाउन र प्रकट गर्न सक्ने खराब बानी र गैरजिम्मेवार तौरतरिकाहरूलाई परमेश्‍वर गम्भीर समस्या ठान्नुहुन्न। आफ्नो आवश्यक कर्तव्यमा आफू समर्पित हुन र जिम्मेवारी वहन गर्न सके मात्र पनि पर्याप्त हुन्छ। यदि तँ आफूलाई सरसामान व्यवस्थापनको जिम्मेवारी लिन सधैँ असक्षम महसुस गर्छस्, र तँ यसलाई राम्रोसँग गर्न आफ्नो सारा शक्ति समर्पित गर्न सक्दैनस् भने, त्यसले के देखाउँछ? एकातिर, यसले तँ व्यवस्थापनमा राम्रो छैनस् भन्ने देखाउँछ; त्यसबाहेक, यसले तँ कामका लागि उपयुक्त छैनस् भन्ने देखाउँछ। यदि तँलाई त्यस जागिरमा रहिरहँदा, कुनै दिन विपत्ति निम्तिन सक्छ जस्तो लाग्छ भने, त्यस स्थानमा अरू कसैलाई सिफारिस गर्नु नै उत्तम हुन्छ; तेरो सट्टामा मण्डलीका उपयुक्त अरू कसैलाई त्यो काम गर्न दे, र त्यसपछि तैँले आफ्नो दक्षता र रूचिअनुसारको काम गर्, र त्यो कर्तव्य निर्वाह गर्दा बफादार बन्। यसबाहेक, यदि कसैले साँच्चै सत्यतालाई प्रेम गर्छ र साँच्चै परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न, साथै इज्जतसाथ जिउन, र अरूद्वारा घृणित नहुन, बरु सम्मानित हुन चाहन्छ भने, ऊ सबै कुरा राम्ररी गर्न सङ्कल्पित हुनुपर्छ। त्यसो गर्दा, उसले परमेश्‍वरसामु यसो भन्ने सङ्कल्प राख्नुपर्छ: परमेश्‍वर, यदि मैले राम्रो गर्न सकिनँ भने मलाई अनुशासनमा राख्नुहोस्—कृपया आफ्नो काम गर्नुहोस्। मानिसहरू अरूलाई राम्ररी व्यवस्थापन गर्न सक्दैनन्; बढीमा, तिनीहरूले कसैलाई कुनै एउटा क्षेत्रमा प्रतिभावान् बन्न सिकाउन सक्छन्। तर कसैले हिँड्ने मार्ग, जीवनबारे उसको दृष्टिकोण, उसले जीवनमा रोज्ने लक्ष्यहरू, र ऊ कस्तो प्रकारको व्यक्ति बन्न रोज्नेछ भन्ने सम्बन्धमा, उसलाई कसैले मद्दत गर्न सक्दैन। परमेश्‍वरका वचन र परमेश्‍वरले मात्र मानिसहरूलाई परिवर्तन गर्न सक्‍नुहुन्छ। यो कुरा कसरी साकार हुन्छ? त्यसमा मानिसहरू आफै असहाय हुन्छन्—तिनीहरूले कामकुरा परमेश्‍वरलाई नै सम्हाल्न दिनुपर्छ। त्यसोभए, परमेश्‍वर काम गर्न इच्छुक हुनुअघि, उहाँलाई काम गर्न दिन व्यक्तिले कस्तो मापदण्ड पूरा गर्नुपर्छ? उसमा सर्वप्रथम यस्तो सङ्कल्प हुनैपर्छ, उसमा यस्तो इच्छा हुनैपर्छ, र उसले यसो भन्नुपर्छ “मलाई थाहा छ मैले कहिल्यै यो काम राम्रोसँग गर्न सकेको छैनँ। दाजुभाइ-दिदीबहिनीहरू सन्तुष्ट भएका छैनन्—म आफै पनि सन्तुष्ट भएको छैनँ—तर म यसलाई राम्रोसँग गर्न चाहन्छु। म के गरूँ? म परमेश्‍वरसामु आएर प्रार्थना गर्नेछु र उहाँलाई ममा काम गर्न दिनेछु।” यदि तँ आफूमा परमेश्‍वरलाई काम गर्न दिन्छस् भने, तैँले सर्वप्रथम कष्ट भोग्न सक्छस्—जब परमेश्‍वर तँलाई अनुशासनमा राख्नुहुन्छ, हप्काउनुहुन्छ, तब तैँले यी कुराहरू स्विकार्न सक्‍नुपर्छ। आज्ञाकारी हुनु र हृदयमा स्वीकार गर्नु भनेको कुनै पनि कामको राम्रो सुरुवात हुनु हो। के भन्‍न सकिन्छ भने, पूर्ण रूपमा मुक्ति पाउनुअघि सबैले परमेश्‍वरको धार्मिकता र सर्वशक्तिमान्‌ताबारे शङ्का गर्छन्। तर फरक के छ भने, साधारण भ्रष्ट मानिसहरू, आफ्नो शङ्काको बाबजुद पनि, सामान्य रूपमा कर्तव्य निभाउन, सत्यता पछ्याउन, र अलिअलि गर्दै परमेश्‍वरलाई चिन्न सक्छन्; तिनीहरूको व्यक्तिपरक चाहना सक्रिय र सकारात्मक हुन्छ। ख्रीष्टविरोधीहरू ठिक उल्टो हुन्छन्: तिनीहरूका व्यक्तिपरक चाहनाहरू स्वीकार गर्ने र आज्ञाकारी हुँदैनन्, र तिनीहरूले मान्‍ने आकाङ्क्षा राख्दैनन्; बरु, तिनीहरू प्रतिरोधी हुन्छन्। तिनीहरू स्विकार्ने खालका हुँदैनन्। त्यसोभए सामान्य भ्रष्ट मानिसहरूको राम्रो पक्ष के हो त? हृदयमा, तिनीहरू सकारात्मक कुराहरूलाई स्वीकार र प्रेम गर्छन्—यति हो, तिनीहरू आफ्नो भ्रष्ट स्वभावले गर्दा, कहिलेकाहीँ आफूलाई सम्हाल्न सक्दैनन्, काम राम्ररी गर्दैनन् र परिस्थितिहरू तिनीहरूको क्षमता र पहुँचबाहिर जान्छन्, र त्यसैले तिनीहरू परमेश्‍वर तिनीहरूलाई चाहनुहुन्‍न, घृणा गर्नुहुन्छ भनेर प्रायजसो हृदयदेखि नै नकारात्मक र कमजोर हुन्छन्। के यो राम्रो भावना हो? यस्तो भावना आउनु राम्रो कुरा हो—यसको मतलब तैँले मुक्ति पाउने अवसर छ, र यो तँलाई मुक्ति दिन सकिन्छ भन्ने सङ्केत हो। यदि तँ त्योसमेत महसुस गर्न सक्दैनस् भने, सत्यता प्राप्त गर्ने र मुक्ति पाउने तेरो आशा न्यून छ। यो ठ्याक्कै यस्तो भावना हो जसले तँमा अझै पनि विवेक, मर्यादा र निष्ठा छ—तँमा अझै पनि चेतना छ भन्ने देखाउँछ। यदि तँसित यी कुराहरूसमेत छैनन् भने, तँ साँच्चिकै ख्रीष्टविरोधी, अविश्‍वासी होस्। अहिले, तँसँग अविश्‍वासीका केही व्यवहार, उसले प्रकट गर्ने केही कुरा, र उसको केही स्वभाव मात्र छन्, तर तँ अविश्‍वासी होइनस्। परमेश्‍वरप्रति विश्‍वासको तेरो मार्ग, तेरो खोजी, तेरो दृष्टिकोण, र तेरो जीवनको हरेक क्षेत्रमा धेरै समस्या र कमीकमजोरी भए पनि, उहाँको नजरमा तँ उहाँमा विश्‍वास गर्छस्, र तँ उहाँको अनुयायी होस्। त्यसोभए अब यी समस्याहरू कसरी समाधान गर्ने त? त्यो सजिलो छ। यदि तँ विवेक र समझ राख्ने, सत्यता पछ्याउने र सकारात्मक कुराहरूलाई प्रेम गर्ने आधारभूत आवश्यकताहरू पूरा गर्छस् भने, यी सबै समस्या समाधान गर्न सकिन्छ—यो केवल समयको कुरा हो। यदि तँ परमेश्‍वरबाट आएको सत्यता, ताडना र अनुशासन स्वीकार गर्न सक्छस् भने, तैँले पहिलो खुड्किलो पार गरिसकेको छस्। दोस्रो बाधा के हो भने, तैँले आफ्नो तर्फबाट, आफ्नो भ्रष्ट स्वभाव, र तँमाथि हरकुरा आइपर्दा तँमा उत्पन्न हुने स्थितिहरूलाई समाधान गर्न सिक्नुपर्छ, र तैँले परमेश्‍वरका वचनहरू पढ्दा, साथै सङ्गति सुन्दा र दाजुभाइ-दिदीबहिनीहरूका अनुभवात्मक गवाहीहरू सुन्दा, परमेश्‍वरका वचनहरूद्वारा समस्याहरू समाधान गर्न सिक्नुपर्छ। त्यो कुरा के हो भने, तैँले बारम्बार उहाँसामु आएर आफ्ना परिस्थिति र स्थितिहरूबारे, साथै तैँले सामना गरेका समस्याहरूबारे खुला रूपमा उहाँलाई बताउन सक्नुपर्छ र उहाँको काटछाँट, अनुशासन र ताडना, साथै उहाँले गर्ने तेरो प्रकाश र तँप्रतिको उहाँको मनोवृत्तिलाई समेत इमानदारीपूर्वक स्विकार्न सक्नुपर्छ—उहाँप्रति तेरो हृदय खुला रहनुपर्छ, बन्द हुनु हुँदैन। अनि, तेरो हृदय खुला रहुञ्जेल, तेरो विवेक र समझले काम गर्न सक्छ, र सत्यताले तँमा प्रवेश गरेर तँभित्र परिवर्तन ल्याउन सक्नेछ। त्यसपछि यी सबै समस्या हल गर्न सकिनेछ। ती हल गर्नै नसकिने हुँदैनन्; ती कुनै पनि ठूलो समस्या होइनन्। मानिसहरूले कर्तव्यपालनमा झारा टार्नु सामान्य कुरा हो। भ्रष्ट मानवजातिमा भेटिने सबैभन्दा सामान्य अवस्था यही हो। एउटा अवस्था भनेको झूटहरूले भरिएको हुनु हो, अर्को अवस्था भनेको सबै कुरामा अल्छी गर्नु, झारा टार्नु, र गैरजिम्मेवार हुनु, अल्याङटल्याङ गर्ने स्थितिमा हुनु, आलटाल गर्ने अवस्थामा हुनु हो—सारा भ्रष्ट मानवजातिमा हुने कुरा यही हो। यी कुराहरू मान्छेले परमेश्‍वरको प्रतिरोध गर्नु र सत्यता अस्वीकार गर्नुभन्दा एकदमै कम गम्भीर छन्। ती परमेश्‍वरले मान्छेमा हेर्ने कुरा पनि होइनन्। यदि परमेश्‍वरले मानिसहरूलाई पूर्ण कडाइकासाथ मापन गर्नुहुने हो भने, तिनीहरूले एउटा गलत कुरा भनेमा पनि, उहाँले तिनीहरूलाई चाहनुहुनेछैन; एउटा सानो गल्ती गर्नेबित्तिकै, तिनीहरूलाई उहाँले चाहनुहुनेछैन; यदि मानिसहरू जवानीको आवेगमा आउँछन् र अधीर भई काम गर्छन् भने, परमेश्‍वरले तिनीहरूलाई मन पराउनुहुनेछैन, अनि तिनीहरू उहाँद्वारा त्यागिने र हटाइने व्यक्ति बन्‍नेछन्। यदि त्यस्तै हुँदो हो त, एउटै व्यक्तिले पनि मुक्ति पाउनेछैन। अनि, कतिपयले भन्नेछन्, “के तपाईँले परमेश्‍वर मानिसहरूलाई तिनीहरूको व्यवहारमार्फत दोषी ठहराउनुहुन्छ र तिनीहरूका परिणामहरू तय गर्नुहुन्छ भनेर भन्नुभएको होइन र?” त्यो अर्कै मामला हो। स्वभाव परिवर्तन र मुक्ति हासिल गर्नका निम्ति मानिसहरूले सत्यता पछ्याउने मार्गमा, मान्छेमा हुने यस्ता स्थितिहरू परमेश्‍वरको दृष्टिकोणमा सबैभन्दा आम, र सबैभन्दा साधारण र सामान्य कुराहरू हुन्। परमेश्‍वर यी कुराहरूलाई हेर्दा पनि हेर्नुहुन्न। अनि, उहाँ के कुरा हेर्नुहुन्छ त? उहाँ तँमा सकारात्मक पछ्याइ छ कि छैन, साथै सत्यता र सकारात्मक कुराहरूप्रति र स्वभाव परिवर्तनको पछ्याइप्रति तेरो कस्तो मनोवृत्ति छ भनी हेर्नुहुन्छ। उहाँले तँमा त्यस्तो चाहना छ कि छैन, तैँले प्रयत्न गरिरहेको छस् कि छैनस् भन्ने कुरा हेर्नुहुन्छ। जब परमेश्‍वर तँमा यी कुराहरू छन्, गल्ती गर्दा तँलाई तेरो विवेकले घोच्छ, तँ त्यसलाई घृणा गर्न जान्दछस्, र तैँले परमेश्‍वरसामु आएर प्रार्थना गर्न, साथै उहाँसामु स्विकार्न र पश्‍चात्ताप गर्न जान्दछस् भनी देख्नुहुन्छ, तब उहाँले तँमा आशा छ, तँलाई हटाइनेछैन भनेर भन्‍नुहुनेछ। के तँलाई परमेश्‍वरको धर्मी स्वभाव, उहाँको कृपा र प्रेम सबै खोक्रा वाक्यांशहरू हुन् जस्तो लाग्छ? ठ्याक्कै भन्नुपर्दा परमेश्‍वरमा यस्तो सार भएकाले नै उहाँ हरप्रकारको व्यक्तिप्रति एउटा मनोवृत्ति राख्नुहुन्छ, र यी मनोवृत्तिहरू अत्यन्तै व्यावहारिक हुन्छन्—यी बिलकुलै खोक्रा हुँदैनन्।

ख्रीष्टविरोधीहरूको सारबारे विगत केही समयदेखि जारी हाम्रो कुराकानी सबैले सुन्नका लागि हो, ताकि एकातिर उनीहरूले ख्रीष्टविरोधीहरूलाई बुझ्न र खुट्ट्याउन, अनि तिनीहरू को हुन् भनी निर्धारण गर्न, र तिनीहरूलाई इन्कार गर्न सकून्; यसको उद्देश्य हरव्यक्तिमा ख्रीष्टविरोधीहरूमा भएझैँ ख्रीष्टविरोधी स्वभाव हुन्छ, तर साँचो ख्रीष्टविरोधीहरूलाई मात्र हटाइन्छ र त्यागिन्छ, जबकि ख्रीष्टविरोधी स्वभाव भएका साधारण मानिसहरू परमेश्‍वरले मुक्ति दिने मानिस हुन्, उनीहरू उहाँले हटाउने मानिस होइनन् भनी सबैलाई थाहा दिनु पनि हो। ख्रीष्टविरोधीहरूको सार र तिनीहरूको स्वभावको हरपक्षबारे मानिसहरूसँग सङ्गति गर्नुको उद्देश्य मानिसहरूलाई दोषी ठहराउनु होइन—यसको उद्देश्य त मानिसहरूलाई मुक्ति दिनु, उनीहरूलाई एउटा मार्ग दिनु, र वास्तवमा उनीहरूमा कस्ता भ्रष्ट स्वभावहरू छन्, परमेश्‍वरले मानवजाति उहाँका शत्रु हुन् भन्नुहुँदा उहाँले भन्न खोज्नुभएको के हो र उहाँ किन त्यसो भन्नुहुन्छ, अर्थात् मान्छेमा हुने ठ्याक्कै कस्ता भ्रष्ट स्वभाव, र परमेश्‍वरप्रति मान्छेले देखाउने प्रतिरोध र विद्रोहीपनका कस्ता प्रकटीकरणहरूले उहाँलाई त्यसो भन्ने, र त्यस्तो दोषी ठहराउने तुल्याउँछन् भनी प्रस्ट रूपमा बुझाउनु हो। ठ्याक्कै भन्नुपर्दा, परमेश्‍वरले मान्छेलाई मुक्ति दिन चाहनुहुने हुनाले, र उहाँले मानवजातिलाई, उहाँका अनुयायीहरूलाई, वा उहाँले चुनेकाहरूलाई नत्याग्नुहुने हुनाले, उहाँ यस तरिकाले अथक रूपमा बोल्ने र काम गर्ने गर्नुहुन्छ। परमेश्‍वरले यसरी बोल्नु र काम गर्नुको उद्देश्य उहाँ कति प्रेमिलो हुनुहुन्छ, मानिसहरूसित उहाँ कति गम्भीर र धैर्यशील हुनुहुन्छ, र उहाँले कति प्रयत्न लगाइरहनुभएको छ भन्नेबारे मानिसहरूलाई बुझाउनु मात्र होइन। अनि, यी कुराहरू बुझ्नुको के अर्थ छ? जब मानिसहरूले यी कुराहरू बुझ्छन्, तब उनीहरूमा परमेश्‍वरप्रति अलिकति कृतज्ञताभन्दा बढी केही पनि हुँदैन—तर उनीहरूको भ्रष्ट स्वभाव बिलकुलै समाधान भएको हुँदैन। मानिसहरूलाई मुक्ति दिन परमेश्‍वरले प्रयत्न र सङ्कल्प गर्नुभएको छ, उहाँले ठट्टा गरिरहनुभएको छैन भनी मानिसहरूलाई बुझाउनका निम्ति परमेश्‍वरले यति धेरै अत्यन्त लगनशील धैर्यपूर्वक बोल्नुहुन्छ; परमेश्‍वर मानवजातिलाई मुक्ति दिन चाहनुहुन्छ, र त्यसमा उहाँ दृढ हुनुहुन्छ। यसलाई कसरी हेर्नुपर्छ? परमेश्‍वरले सत्यताको कुनै पक्षमाथि पनि एकतर्फी रूपमा वा एउटा कोणबाट मात्र बोल्नुहुन्न, न त एउटै तरिकाले मात्र नै बोल्नुहुन्छ—बरु, उहाँ त्यो कुरा मानिसहरूलाई फरकफरक कोणबाट, फरकफरक शैलीमा, र फरकफरक भाषा र मात्रामा बताउनुहुन्छ, ताकि मानिसहरूले आफ्नो भ्रष्ट स्वभाव र आफूलाई चिनून्, र यसमार्फत उनीहरूको पछ्याइले कस्तो दिशा लिनुपर्ने हो, र उनीहरूले कस्तो मार्ग लिनुपर्ने हो त्यो बुझून्। मानिसहरूले आफ्ना शैतानी, भ्रष्ट स्वभाव परिवर्तन गरून्, र मानिसहरूलाई भ्रष्ट तुल्याउन शैतानले प्रयोग गर्ने संसारसँग व्यवहार गर्ने दर्शनहरू, बाँच्ने उपायहरू, जियाइका तरिका र शैलीहरू त्यागून् भनेर उहाँ यसो गर्नुहुन्छ, र यसको साटो उनीहरूलाई परमेश्‍वरले मानिसहरूलाई देखाएका र बताएका उपाय, शैली, निर्देशन, र लक्ष्यअनुसार जिउन लगाउनुहुन्छ। परमेश्‍वरले यो सबै गर्नुको उद्देश्य मानिसहरूलाई त्यस कुरामा मनाउनु, उहाँका श्रमसाध्य अभिप्रायहरू, वा उहाँका सारा कार्यहरूको कठिनाइ देखाउनु होइन। तैँले त्यो कुरा थाहा पाउनु आवश्यक छैन। तैँले परमेश्‍वरका वचनहरूमा आफूले अभ्यास गर्नुपर्ने कुरा खोज्‍न, र तिनमा भएका सत्यता र परमेश्‍वरका अभिप्रायहरू बुझ्नमा मात्र ध्यान दे; सत्यता वास्तविकतामा प्रवेश गर्; सत्यता सिद्धान्तहरूअनुसार जिउने, र सत्यता सिद्धान्तहरूअनुसार आफूलाई आचरणमा ढाल्ने र कार्य गर्ने गर्, र आफूलाई मुक्ति मिल्ने गरी परमेश्‍वरले दिएको आज्ञा पूरा गर्। यसबाट परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ, र मान्छेको मुक्तिको कुरा पूर्ण रूपमा हासिल हुनेछ, र यसले मान्छेलाई फाइदा पनि गर्नेछ। जब मानिसहरूको कुरामा धेरै धर्मसिद्धान्त मिसिन्छ, जब उनीहरू अत्यन्तै सतही कार्य गर्छन्, सधैँ झारा टार्छन्, जब तिनीहरूको निकृष्टता अति नै बढी हुन्छ—खासगरी जवान मानिसहरू जसमा नियमहरू पालना गर्ने प्रवृत्ति हुँदैन, जो कहिलेकाहीँ अबेर सुत्न रुचाउँछन्, जोसँग अरूका लागि उचित वा उपयोगी नहुने केही बानी हुन्छन्—उनीहरूलाई यी कुराहरूमा जबरजस्ती नगर्। उनीहरूप्रति अलि धैर्यशील बन्। यदि तँ सत्यता पछ्याउन इच्छुक छस्, परमेश्‍वरका वचनहरू पढ्ने प्रयत्न गर्न सक्छस्, बारम्बार परमेश्‍वरसामु आउन सक्छस्, र उहाँसामु आफ्नो हृदय खोल्न सक्छस् भने, उहाँले काम गर्नुहुनेछ। कसैले पनि कसैलाई मानव शक्ति वा मानव उपायहरूद्वारा परिवर्तन गर्न सक्दैन, तेरा आमाबुबाले समेत तँलाई परिवर्तन गर्न सक्दैनन्।

तँ आज परमेश्‍वरको घरमा आउनु परमेश्‍वरको काम हो, र यहाँ तैँले यस उमेरमा र दुष्ट प्रवृत्तिहरूको बाबजुद पनि, सुरक्षित र निरन्तर रूपमा प्रवचनहरू सुन्न सक्छस्, र एक पैसा पनि नकमाई आफ्नो कर्तव्य निभाउन सक्छस्—यो परमेश्‍वरको काम हो। परमेश्‍वर किन यसो गर्नुहुन्छ? परमेश्‍वर तेरो के कुरा मन पराउनुहुन्छ? तँमा केही न केही न्यायबोध र विवेक हुनु; तँलाई दुष्ट प्रवृत्तिहरूप्रति वितृष्ण हुनु, र तैँले सकारात्मक कुराहरू मन पराउनु; साथै तैँले परमेश्‍वरको राज्यको आगमन, साथै ख्रीष्ट र सत्यताको शासनको अपेक्षा गर्नु। तेरा यी इच्छाहरू छन्, र परमेश्‍वर तेरा यिनै कुराहरू मन पराउनुहुन्छ, यही कारणले गर्दा उहाँले तँलाई उहाँको घरमा ल्याउनुभएको हो। के तँलाई परमेश्‍वर तेरा नराम्रा गल्ती र बानीहरू देख्नुहुन्न जस्तो लाग्छ? परमेश्‍वरलाई तेरा गल्तीहरू थाहा हुन्छ—उहाँ ती सबै जान्नुहुन्छ। अनि, उहाँलाई थाहा हुन्छ भने, उहाँ ती किन वास्ता गर्नुहुन्न? यस्ता कुराहरूले मानिसहरूको हृदयमा बारम्बार द्वन्द्व सिर्जना गर्छन्। उनीहरू भन्छन्: “के परमेश्‍वरले मजस्तोलाई मुक्ति दिनुहुन्छ होला त? के मजस्तो व्यक्तिले मुक्ति प्राप्त गर्न सक्छ त? म अत्यन्तै दुष्ट र भ्रष्ट छु, अनुशासनमा बस्न एकदमै आनाकानी गर्छु, अत्यन्तै विद्रोही छु—साथै म परमेश्‍वरलाई प्रतिरोध र शङ्का गर्छु। परमेश्‍वरले मलाई कसरी रोज्न सक्नुहोला त?” तँलाई के कुराले सताइरहेको छ? परमेश्‍वरले मात्र तँलाई मुक्ति दिन सक्नुहुन्छ; उहाँले सक्नुहुन्छ भनेर तैँले विश्‍वास गर्नुपर्छ। तैँले परमेश्‍वरका वचनहरू सुनेर ती स्विकार्न र अभ्यास गर्नमा ध्यान दिए पुग्छ। ती अन्य मामलाहरूमा नअल्झी—तिनको कारण सधैँ नकारात्मक नबन्। कसैले पनि तेरा दोषहरूलाई तँविरुद्ध प्रयोग गर्ने कोसिस गरिरहेको छैन; तँविरुद्ध कसैले कुनै कुरा राखेको छैन। परमेश्‍वर ती कुराहरू हेर्नुहुन्न। यदि दैनिक जीवनका यस्ता महत्त्वहीन कुराहरूद्वारा सिर्जित खराब बानी, कमजोरी, वा निकृष्टताबाट तँलाई तेरो उचित मार्ग र सत्यता पछ्याइमा बाधा पुगेको छ भने, के त्यो घाटा होइन र? के त्यो सार्थक नहुनु होइन र? (हो।) अहिले धेरै मानिस यस्तै स्थितिमा अल्झिरहेको हुनुपर्छ। कतिपय मानिस अत्यन्तै हतारिनु उनीहरूको व्यक्तित्व हो, र उनीहरू आफूले गर्ने जुनसुकै कुरामा अत्यन्तै रूखो छन्, र अध्ययन गर्न मन पर्दैन भन्छन्। उनीहरू आफूमा खराब बानीहरू भएको पनि बताउँछन्: उनीहरूलाई बिहान उठ्न र साँझ सुत्न मन लाग्दैन, उनीहरू गेम खेल्न रुचाउँछन्; उनीहरूलाई कहिलेकाहीँ त्यतिकै गफगाफ गर्न, र कहिलेकाहीँ ठट्टा गर्न मन लाग्छ। उनीहरू सोध्छन्: के परमेश्‍वरले मलाई मुक्ति दिनुहुन्छ होला त? तँसित आफूबारे यति धेरै धारणा र कल्पनाहरू हुनु समस्या होइन र? तँ किन अलि खोजी गर्दैनस्? वास्तवमा परमेश्‍वरको दृष्टिकोण के हो, र उहाँका वचनहरूले वास्तवमा के भन्छन्? के यी कुराहरू उहाँका वचनहरूमा समस्याको रूपमा उल्लेख गरिएका छन्? कतिपय मानिस आफूलाई राम्रा लुगा लगाउन मन लाग्दा पनि आफूलाई नियन्त्रण गर्नुपर्छ भन्छन्। अरूले आफूलाई मासु खान मन पर्छ भन्छन्, र अत्यन्तै भोक देखाउँछन्। यी साना समस्याहरू हुन्। यी कमजोरी, यी व्यक्तित्व, वा जीवनका यी बानीहरू बढीमा व्यक्तिको मानवताका कमजोरीहरू हुन्; ती भ्रष्ट स्वभावमा पर्दैनन्। मानिसहरूले साँच्चिकै समाधान गर्नुपर्ने भनेको उनीहरूको भ्रष्ट स्वभाव हो। वृहत्तर प्रसङ्गलाई हेर्न नबिर्सी। जब तैँले आफूमा भ्रष्ट स्वभाव भएको थाहा पाउँछस्, र त्यसमा चिन्तन गर्न र त्यसलाई खुट्ट्याउन थाल्छस्, त्यसका लागि प्रयत्न गर्छस्, र त्यसलाई घृणा गर्न थाल्छस्, तब तेरा ती साना कमीकमजोरीहरू बिस्तारै परिवर्तन हुनेछन्—ती समस्या रहनेछैनन्। कतिपय जवान मानिस रमाइलो गर्नमा रुचि राख्छन्। उनीहरूले आफूलाई तोकिएको काम सम्पन्न गरेपछि, केहीबेर रमाइलो गर्नु ठिकै हो। कतिपय युवती राम्री हुन, राम्रा कपडा लगाउन र मेकअप गर्न रुचाउँछन्। उनीहरूले हद पार गर्दैनन् भने, र अनौठा कपडाहरू वा बाक्लो मेकअप लगाउँदैनन् भने, त्यो पनि ठिकै हो। त्यो सब ठिकै छ; उनीहरूलाई कसैले रोक लगाउँदैन। यी कुनै पनि कुराहरू समस्या होइनन्। यी जीवनका बानी, जीवन गुणस्तरको माग, र व्यक्तित्वका ससाना समस्याहरू—यी कुनै पनि कुराले तँलाई परमेश्‍वरको प्रतिरोध गराउन, र सत्यताविरुद्ध लैजान सक्दैन। तँलाई साँच्चै परमेश्‍वरको प्रतिरोध गराउने, उहाँसामु आउनबाट रोक्ने र उहाँविरुद्ध विद्रोह गराउने त तेरो भ्रष्ट स्वभाव हो। जब तैँले आफ्नो भ्रष्ट स्वभाव पत्ता लगाउन, चिन्न, र त्यसलाई घृणा गर्न सक्छस्, र जब तैँले सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्ने व्यक्तिपरक चाहना प्राप्त गर्छस्, तब यी सारा ससाना कमजोरीहरू समाधान गरिन सक्छन्। अनि तेरो भ्रष्ट स्वभाव समाधान भएपछि—सबैभन्दा ठूलो समस्या, अर्थात् परमेश्‍वरप्रतिको तेरो प्रतिरोध समाधान भएपछि—के तेरा ती साना कमजोरीहरू अझै समस्या नै रहनेछन् त? त्यो समय आएपछि, तैँले आफूलाई कस्तो आचरणमा ढाल्छस्, कसरी जिउँछस्, के खान्छस्, के पिउँछस्, कसरी आनन्द लिन्छस्, कसरी आफ्नो कर्तव्य गर्छस्, र अरूसित कसरी उठबस गर्छस् भन्नेजस्ता ससाना कुराहरू बिस्तारै सिद्धान्तपरक बन्दै जानेछन्। त्यतिन्जेल, तैँले आफ्नो भ्रष्ट स्वभाव समाधान गर्नु व्यक्तिको जीवनको ठूलो मामला थियो र अब पनि ठूलै मामला रहनेछ, र आफ्नो भ्रष्ट स्वभाव समाधान भइसकेपछि, अरू सारा समस्याहरू पनि समाधान हुन्छन् भनेर थाहा पाउनेछैनस्। जब तैँले परमेश्‍वरविरुद्ध विद्रोहको समस्या समाधान गरेको हुन्छस्, तब तँ मानव स्वरूपमा इज्जतसाथ जिउनेछस्। तैँले केही सानातिना कमजोरी देखाउन छोडेको पनि हुन सक्छ। मानिसहरूले तँलाई तँ असल जवान होस्, परमेश्‍वरप्रतिको आस्थामा तँ निष्ठावान् छस्, तँ परमेश्‍वरको विश्‍वासीझैँ देखिन्छस् भनेर प्रशंसा गर्न पनि सक्छन्। तर यदि परमेश्‍वरले तैँले अझै उहाँविरुद्ध विद्रोह गर्न सक्छस् भनेर भन्नुभयो भने, तेरा बाहिरी असल व्यवहारहरू बेकार छन्, चाहे ती जतिसुकै राम्रा नै किन नहोऊन्। मूल समस्या समाधान भएको छैन—तेरो भ्रष्ट स्वभाव अझै सुल्झिएको छैन, र तैँले अझै परमेश्‍वरविरुद्ध विद्रोह गर्न सक्छस्। तँ मुक्ति पाउनबाट अझै धेरै टाढा छस्! तँमा असल व्यवहारहरू मात्र भएर के काम? के तैँले तीद्वारा आफूलाई झुक्याइरहेको छैनस् र?

तिमीहरूका लागि अहिले समाधान गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण समस्या कुन हो? (भ्रष्ट स्वभावको समस्या।) कतिपयले भन्‍न सक्छन्: “मलाई रङ्गीचङ्गी लुगाहरू लगाउन मन पर्छ, तर परमेश्‍वरको घरलाई यो मन पर्दैन, त्यसैले म यो व्यवहारविरुद्ध विद्रोह गर्नेछु।” तैँले त्यसो गर्नु पर्दैन—मन पर्छ भने लगा। कतिपयले भन्छन्: “मलाई पाउडर र श्रृङ्गार लगाउन मन पर्छ, र हरदिन मानिसहरूलाई देख्दा राम्री बन्न मन लाग्छ—त्यसो गर्दा कति राम्रो हुन्छ!” यदि तँसित समय छ भने त्यो पनि ठिकै छ। कतिपयले भन्छन्: “मलाई मिठो परिकार खाना मन पर्छ—मलाई मसालेदार र अमिलो खानेकुरा पनि मन पर्छ।” जबसम्म तँसँग साधन, अवसर र खाली समय हुन्छ, तैँले धीत मरुन्जेल यी कुराहरू खान सक्छस्। तैँले यी इच्छाहरू पूरा नगरेको, तिनलाई काबुमा राखेको र तीविरुद्ध विद्रोह गरेको भए पनि, तेरो भ्रष्ट स्वभाव समाधान हुँदैनथ्यो। तैँले तिनलाई काबुमा राख्दा के परिणाम आउन सक्थ्यो र? तैँले धेरै दैहिक कष्टहरू मात्र सहनेथिस्, र तैँले हृदयमा धेरै अन्याय परेको महसुस गर्नेथिइस्—अनि, फलस्वरूप त्यसले तँमा कस्तो प्रकारको नकारात्मक परिणाम ल्याउनेथ्यो? तैँले परमेश्‍वरका लागि धेरै कष्ट भोग्नुपरेको र सत्यता प्राप्त गरेको महसुस गर्नेथिइस्, जबकि खासमा, तँसित केही पनि हुनेथिएन वा तँ केही पनि हुनेथिइनस्। त्यसैले तँ सुन्दर, मर्यादित र भद्र रूपमा लुगा लगाउन सक्छस्—तँ दाजुभाइ वा दिदीबहिनीजस्तो देखिन सक्छस्, र राम्रोसँग नियममा रहने हुन सक्छस्—तर यदि तँ कर्तव्य पालन गर्दा सत्यता सिद्धान्तहरूसमेत खोज्‍न सक्दैनस्, र मण्डलीको काममा अवरोध गर्छस् र बाधा दिन्छस् भने, के तेरो आधारभूत समस्या समाधान हुन्छ र? (हुँदैन।) त्यसकारण, यसलाई जसरी हेरे पनि, सबैभन्दा मूलभूत कुरा भनेको परमेश्‍वरका वचन र सत्यता बुझ्नु, सत्यता वास्तविकतामा प्रवेश गर्नु, र आफ्नो भ्रष्ट स्वभाव समाधान गर्नु हो। केही सानातिना समस्या र बाह्य व्यवहारहरूमा आफ्नो प्रयत्न खेर नफाल्, ती कुराहरूमा घोत्लिने, तिनलाई नत्याग्ने, हृदयमा सधैँ ग्लानि र ऋणी महसुस गर्ने, र ती कुराहरूलाई ठूला कुराहरू हुन् भन्ठान्दै समाधान गर्ने नगर्। त्यसको परिणामस्वरूप, तेरो भ्रष्ट स्वभाव सदाका लागि समाधान नहुने हुन सक्छ। यदि तँलाई आफू कस्तो प्रकारको व्यक्ति हुँ वा आफूमा कस्तो प्रकारको भ्रष्ट स्वभाव छ भन्नेसमेत थाहा छैन भने—यदि तँसँग यसबारे अलिकति पनि बुझाइ छैन भने, के यसले कामकुरा भद्रगोल पार्दैन र? जब तँ आफ्नो भ्रष्ट सार थाहा पाउँछस्, तब तेरा ती साना समस्याहरू उप्रान्त समस्या रहँदैनन्। स्वाभाविक रूपमै, जब तँ सत्यता बुझ्छस्, र सत्यता वास्तविकतामा प्रवेश गर्छस्, र सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न सक्षम बन्छस्, तब तँ बिस्तारै ती साना समस्याहरूबाट मुक्त हुनेछस्। यो बेचैन वा सुस्त व्यक्तित्व हुनु, वा धेरै बोल्ने वा शान्त हुनुजस्तै हो—यी कुराहरू समस्या होइनन्। यी त व्यक्तित्वसम्बन्धी समस्या हुन्। कतिपय मानिसको शब्द चयन स्पष्ट हुन्छ, जबकि अरूको हुँदैन; केही व्यक्ति आँटिला हुन्छन् र धेरै मानिसको अगाडि बोल्ने आँट गर्छन्, जबकि अरू कम आँटिला हुन्छन् र धेरै मानिस हुँदा बोल्ने आँट गर्दैनन्; कतिपय मानिस बहिर्मुखी हुन्छन् भने कतिपय अन्तर्मुखी हुन्छन्। यीमध्ये कुनै पनि समस्या होइनन्। त्यसोभए, समस्या के हो त? परमेश्‍वरको प्रतिरोध गर्ने ख्रीष्टविरोधीहरूको स्वभाव—त्यो समस्या हो। त्यो सबैभन्दा ठूलो समस्या हो र त्यो मानिसका सबै भ्रष्टताको स्रोत हो। यदि तैँले भ्रष्ट स्वभावको समस्या समाधान गरिस् भने, अरू कुनै पनि समस्या समस्या रहनेछैन।

थप प्रश्‍नहरू छन्? (परमेश्‍वर, मेरो एउटा प्रश्‍न छ: म आफ्नो सत्यता पछ्याइमा सामान्य आत्मिक जीवन जिउँछु, तर सत्यतालाई प्रेम गर्ने र पछ्याउने मेरो हृदय त्यति बलियो छैन। जब मलाई मेरो स्थिति गलत छ भन्ने महसुस हुन्छ, तब म लगनशील भई एकदुई दिन पछ्याउँछु, तर ती दिन कटेपछि, म फेरि सुस्ताउँछु। यो स्थिति बारम्बार आइरहन्छ, र यो सत्यताप्रति वितृष्ण हुने स्वभाव हो भनेर मलाई थाहा छ, तर म अझै त्यसलाई जरैबाट समाधान गर्न सक्दिनँ।) त्यसबाट पन्छिन सकिँदैन—मान्छेको जीवन प्रवेश त्यस्तै हुन्छ। सधैँ यो समस्या समाधान गर्ने चाहना राखेर तैँले गल्ती गरिरहेको हुन्छस्। उदाहरण दिनुपर्दा: कतिपय महिलाले श्रीमान्‌ खोजी गर्दा, उसको रूप औसत भए पनि फरक पर्दैन, तर ऊ रोमान्टिक हुनैपर्छ भन्ने मापदण्ड राख्छन्। उसलाई तिनीहरू पहिलोपटक भेटेको समय र स्थान, श्रीमतीको जन्मदिन, तिनीहरूको वैवाहिक वार्षिकोत्सव इत्यादि कुराहरू याद हुनैपर्छ। उसले हरेक महत्त्वपूर्ण दिन याद राख्नैपर्छ, र उसले बारम्बार “आइ लभ यु, माइ डार्लिङ्!” भन्न, र श्रीमतीलाई बारम्बार उपहारहरू किनिदिन पनि बिर्सनु हुँदैन। ऊ यसरी श्रीमान्‌को जाँच गर्छे: “हाम्रो पहिलो डेट कुन दिन थियो? प्रणय दिवस कहिले पर्छ?” यी महिलाहरू प्रायः यसरी नै रोमान्स र उत्तेजना खोजिरहेका हुन्छन्, अनि तिनीहरू आफ्नो जीवन अलि खल्लो भएमा, चिढिन्छन्, र श्रीमान्‌सित गुनासो गर्छन्: “कस्तो बुद्धु मान्छे। तिमीलाई रोमान्स भनेको के हो थाहै छैन। तिमीसँग जीवन बिताउनु अत्यन्तै निरस छ! तिमीसित आएर मेरो जीवन बर्बाद भयो!” के यस्तै कमजोरी देखाउने महिलाहरू अनेकौँ छैनन् र? अनि जब तैँले अरू कसैको श्रीमान् रोमान्टिक छ, ऊ महिलालाई फकाउन जान्दछ, उसले आफ्नी श्रीमतीलाई राजकुमारीलाई झैँ व्यवहार गर्छ भनेर भन्छस्, तब यी महिलाहरू अत्यन्तै ईर्ष्यालु बन्छन्, र त्यो श्रीमान् खोस्न पाए हुन्थ्यो भन्ने चाहना राख्छन्। तिनीहरू खल्लो र साधारण जीवन जिउन पूर्णतया अनिच्छुक हुन्छन्। के तैँले यस्तो कमजोरी देखाएको छस्? (छु।) परमेश्‍वरले काम गर्नुहुँदा र मानिसहरूलाई मुक्ति दिनुहुँदा, आश्‍चर्यजनक र रोमाञ्चक क्षणहरू खासै धेरै हुँदैनन्, र उहाँले तेरा लागि खुसीका आश्‍चर्यहरू सिर्जना गर्नुहुनेछैन। त्यो खल्लो र साधारण हुन्छ—व्यावहारिक हुनु भनेको त्यही हो। सत्यता पछ्याउनलाई भावना जरुरी हुँदैन। तेरो हृदयमा त्यो पछ्याइ हुन्जेलसम्‍म; अनि, तैँले आफ्नो मार्गमा विचलन आउँछ कि आउँदैन, र तैँले निर्वाह गर्ने कर्तव्यमा मानव त्रुटिको कारण कुनै गल्ती वा क्षतिहरू भएका छन् कि छैनन् भनेर बेलाबेला जाँच गरुन्जेलसम्‍म, र तैँले त्यस अवधिमा दाजुभाइ-दिदीबहिनीहरूले कर्तव्य निर्वाह गर्नेबारे तँसँग नभएको कुनै नयाँ अन्तर्ज्ञान वा ज्ञान प्राप्त गरेका छन् कि छैनन् भन्नेबारे, तँमा नभएका अन्तर्ज्ञान वा ज्ञानबारे, तैँले परमेश्‍वरका वचनहरू पढ्दा तीबारे तेरो बुझाइमा विकृतिहरू आएका छन् कि छैनन् भन्नेबारे, तिनमा तेरो पहुँचबाहिरका, वा तैँले अनुभव नगरेका, वा बेवास्ता गरेका इत्यादि कुराहरू थिए कि थिएनन् भन्‍नेबारे सङ्गति गरुन्जेलसम्‍म—यस्ता सबै मार्ग, लक्ष्य र दिशाहरू सामान्य र सही रहुन्जेलसम्‍म, त्यो नै पर्याप्त हुनेछ। तेरो सामान्य दिशा सही हुन्जेल, त्यो नै पर्याप्त हुन्छ। उत्साह र आश्‍चर्यहरू खोजी नगर्। कसैले पनि तँलाई आश्‍चर्यचकित पार्नेछैन। परमेश्‍वरमा विश्‍वास गर्नु र सत्यता पछ्याउनु भनेको सामान्य मानिसहरूले जीवन जिएजस्तै हो। धेरैजसो समय यो निकै सामान्य हुन्छ, किनभने तँ यही संसारमा जिउँछस्, जहाँ केही पनि अलौकिक हुँदैन, र वास्तविक जीवनबाट केही पनि अलग हुँदैन। यो त्यति अरोचक हुन्छ। तर यस्तो अरोचक जीवन र विश्‍वास नगर्नेहरूको जीवनबीच एउटा भिन्नता हुन्छ: तैँले परमेश्‍वरमा विश्‍वास गर्दा र आफ्नो कर्तव्य निर्वाह गर्दा आफ्नो भ्रष्ट स्वभावबारे निरन्तर रूपमा थाहा पाइरहेको हुन्छस्, परमेश्‍वरसँगको तेरो सम्बन्ध निरन्तर सच्याइरहेको र परिवर्तन गरिरहेको हुन्छस्, र आफूले नबुझ्ने सत्यताहरूबारे निरन्तर थाहा पाइरहेको हुन्छस्, र आफूले थाहा नपाएका वा नबुझेका सत्यताहरू थाहा पाइरहेको र स्विकारिरहेको हुन्छस्। भिन्नता त्यही हो। यो पहिले नै ठूलो भिन्नता हो—तिमीहरू अरू के माग्न सक्छौ र? के परमेश्‍वरको घरमा, मण्डलीमा र तेरो वरपर पर्याप्त घटनाहरू घट्दैनन् र? मानिसहरूले चिन्तन गर्नका लागि परमेश्‍वरको कामको सुरुवातदेखि अहिलेसम्मका घटनाहरू नै पर्याप्त छन्। दिनहरू बित्‍न बेर लाग्दैन: दसबीस बर्ष एकैछिनमा बित्छन्, अनि अर्को छिनमा तिस, पचास बर्ष बितिसकेका हुन्छन्। एउटा व्यक्तिको जीवन लगभग त्यति नै हो। त्यसमा अरू के उत्साह खोज्‍ने हो र? यी कुराहरू नै पर्याप्त रूपमा रोमाञ्चक छन्। तेरो वरपर घट्ने सारा घटनाहरूले तँलाई अद्वितीय कुराहरू पत्ता लगाउन, सत्यता पत्ता लगाउन मद्दत गर्छन्, र तेरा लागि ती आश्‍चर्यजनक पनि हुन्छन्। त्यो खल्लो हुँदैन, हुन्छ र? (अहँ, हुँदैन।) सत्यता पछ्याउनु भनेको उत्साह खोज्नु होइन। यो भौतिक संसारमा सामान्य मानवतामा जिउनेहरूको वास्तविकता त्यही हो। उत्साह खोज्दै नहिँड्—उत्साह र भावना खोजी गर्नु भनेको धेरै फुर्सद हुने मानिसहरूले गर्ने कुरा हो। मानिसहरूले कर्तव्य गर्ने र सत्यता पछ्याउने क्रममा, हरदिन नयाँ पाठहरू सिक्छन्। कतिपयले यसो भन्छन्, “त्यसोभए, मैले किन सिकिरहेको छैनँ त?” सायद तेरो प्रगति झन् सुस्त भएको छ; यदि तँ हरमहिना केही कुरा सिक्छस् भने, त्यो नै पर्याप्त हो। तैँले प्रगति गर्छस् र सत्यता पछ्याइरहेको छस् भने, तँसित केही उपलब्धि हुनेछ। के यो सङ्गतिले उक्त समस्या समाधान गरेको छ? (गरेको छ।) कसरी? कुन शब्दहरूले त्यसलाई समाधान गरे? (परमेश्‍वरमाथिको विश्‍वासमा मेरो पछ्याइपछाडिका दृष्टिकोणहरू व्यावहारिक छैनन्—मेरो पछ्याइ व्यावहारिक छैन, र यो मलाई थाहा भएको छ भन्ने शब्दहरूले। म सधैँ उत्तेजना पछ्याउन खोजिरहेको हुन्छु, सधैँ विविध कुराहरू अनुभूत गर्न, अनि धारणा र कल्पनाहरूले मात्र परमेश्‍वरलाई व्यवहार गर्न खोजिरहेको हुन्छु, उहाँसित आदरपूर्ण दूरी कायम राखिरहेको हुन्छु, तर जीवन प्रवेशको क्रममा मानिसहरूमा कमजोरीहरू हुनेछन्, र त्यस क्रममा उनीहरू वृद्धि हुनेछन्, र उनीहरूले अनेक थरीका परिस्थितिहरू सामना गर्नेछन् भन्ने कुरा बेवास्ता गरिरहेको हुन्छु। त्यो सामान्य हो।) तैँले त्यसलाई सही रूपमा बुझेको छस्। जब अरू कुनै परिस्थितिहरू आइपरेका हुँदैनन्, तब मानिसहरूले आफ्नो कर्तव्य जसरी गर्नुपर्ने हो त्यसरी नै गर्नुपर्छ, र जसरी पछ्याउनुपर्ने हो त्यसरी नै पछ्याउन जारी राख्नुपर्छ। उत्साह खोज्‍ने, वा विविध कुराहरू अनुभूत गर्ने नगर्; अति संवेदनशील भएर यसो नभन्, “आज म किन खराब मुडमा छु? अहो, परमेश्‍वरसँगको मेरो सम्बन्ध टाढिएको छ—म तुरुन्तै प्रार्थना गर्नेछु!” त्यस्तो अति संवेदनशील हुनुपर्ने जरुरी छैन। परमेश्‍वर मतलब गर्नुहुन्न; उहाँ तेरा ती ससाना मामलाहरूबारे चासो लिनुहुन्न! तैँले भन्‍न सक्छस्, “मैले कैयौँ दिन प्रार्थना गरेको छैनँ, तर जब म कार्य गर्छु तब म प्रायः हृदयमा परमेश्‍वरलाई खोज्छु, र म परमेश्‍वरको डर मान्ने हृदय कायम राख्छु।” त्यसमा कुनै समस्या छैन। कतिपयले भन्नेछन्, “अहो, म आफ्नो कर्तव्यमा यति व्यस्त भएँ कि मैले परमेश्‍वरका वचनहरू नपढेको कैयौँ दिन भयो।” तैँले प्रक्रिया पुर्‍याइनस्—तैँले त्यसलाई बेवास्ता गरिस्—तर कर्तव्य गर्ने क्रममा, तैँले धेरै समस्या पत्ता लगाएको छस्, र तैँले केही भ्रष्ट स्वभाव प्रकट गरेको छस्, साथै तैँले त्यस अवधिमा अरूको सङ्गति सुनेको छस्, र त्यसले तँमा ठूलो सुधार गरेको छ। के त्यो साँचो लाभ होइन र? के तँ सत्यता बुझ्न र प्राप्त गर्नका निम्ति परमेश्‍वरका वचनहरू पढ्दैनस् र? कुनै खास तरिका वा शैलीमा तँलाई त्यसो गराउन जिद्‌ कस्नुको के अर्थ छ? ठिक छ। अब हामी आजको सङ्गति यहीँ टुङ्ग्याउनेछौँ। फेरि भेटौँला! (धन्यवाद परमेश्‍वर, फेरि भेटौँला!)

मे ३०, २०२०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्