विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग एक) खण्ड तीन
ख. परमेश्वरको सर्वशक्तिमान्तालाई तिरस्कार गर्नु
ख्रीष्टविरोधीहरू परमेश्वरको सर्वशक्तिमान्तालाई कसरी हेर्छन्? एउटा ख्रीष्टविरोधीको लागि, “सर्वशक्तिमान्ता” अत्यन्तै भावनात्मक शब्द हो, जसले उसका महत्त्वाकाङ्क्षा र चाहनाहरू उत्तेजित पार्न सक्छ भन्दा जायजै हुन्छ, किनभने ऊ त्यस्तै व्यक्ति हुन अत्यन्तै मन पराउँछ। महाशक्तिशाली, सर्वशक्तिमान् र सर्वव्यापक हुनु, हरकुराको लागि सक्षम हुनु, हरकुरा गर्न जान्नु, हरकुरा गर्न सक्नु—यदि कसैले यस्तो क्षमता प्राप्त गर्थ्यो भने, यदि ऊसँग यस्तो क्षमता हुन्थ्यो भने, उसको लागि सबथोक एकदमै सजिलो हुनेथ्यो। उसले कसैको डर मान्नु पर्दैनथ्यो; उसमा सर्वोच्च अख्तियार र सर्वोच्च हैसियत हुनेथ्यो, र उसले अरूमाथि शासन गर्न सक्नेथ्यो। ऊसँग अरू मानिसहरूलाई नियन्त्रण र चालबाजी गर्ने पूर्ण शक्ति हुनेथ्यो। तर यो एउटा ख्रीष्टविरोधीको पहुँचभन्दा धेरै परको कुरा हो, र यसले उसको महत्त्वाकाङ्क्षा, चाहना, र साँचो रङ्ग पर्दाफास गर्छ। एकातिर, “परमेश्वरको सर्वशक्तिमान्ता” भन्ने वाक्यांशले उसमा अनेकथरीका कल्पना, उत्सुकता र धारणाहरू भरिदिन्छ। अर्कोतिर, उसले उहाँमाथिको आस्थामार्फत परमेश्वरको सर्वशक्तिमान्ताबारे अन्तर्ज्ञान प्राप्त गर्न चाहन्छ, ताकि उसले आफ्ना क्षितिजहरू फराकिलो पार्न, आफ्नो अन्तर्ज्ञान बढाउन, र आफ्नो उत्सुकता पूरा गर्न सकोस्। अझै अर्को कुरा त उसले सर्वशक्तिमान् बनूँ, हजारौँद्वारा आराधना गरिऊँ, र अझ धेरै मानिसहरू आफ्नो अगाडि लम्पसार परून् र आफ्नो लागि हृदयमा ठाउँ राखून् भनेर प्रयत्न गरिरहेको हुन्छ। त्यसोभए, के ख्रीष्टविरोधीहरूमा परमेश्वरको सर्वशक्तिमान्ताबारे साँचो ज्ञान हुन्छ त? के त्यसप्रति तिनीहरूमा साँचो आस्था हुन्छ त? फेरि पनि, यो कुरा परमेश्वरको धर्मी स्वभावमा भएजस्तै नै हुन्छ—ख्रीष्टविरोधीहरू तथ्यहरूसित नमिल्ने धारणाहरू, अस्पष्ट र खोक्रा कल्पनाहरूद्वारा भरिएका मात्र हुँदैनन्—तिनीहरूले त परमेश्वरको सर्वशक्तिमान्ताबारे गहिरो शङ्काहरू पनि उब्जाउँछन्। तिनीहरू सन्देही हुन्छन्; तिनीहरूले त्यसमा विश्वास गर्दैनन्: “सर्वशक्तिमान्ता? यो संसारमा त्यस्तो सर्वशक्तिमान् कहाँ छ? त्यस्तो सर्वव्यापी र सर्वशक्तिशाली व्यक्ति कहाँ छ? त्यस्तो व्यक्ति त कोही पनि छैन! संसारमा महान् र प्रसिद्ध मानिसहरू अनेकौँ छन्, र असाधारण शक्ति भएका मानिसहरू प्रशस्त छन्: उदाहरणको लागि, अगमवक्ता, अनि अनेकथरीका ज्योतिषी र भविष्य व्याख्याताहरू छन्, तर ती पनि सर्वशक्तिशाली छैनन्। अझै पनि ‘परमेश्वरको सर्वशक्तिमान्ता’ पछाडि एउटा प्रश्न चिह्न राख्न जरुरी छ, र यो कुरा राम्ररी अनुसन्धान हुनुपर्छ।” त्यसैले, एक ख्रीष्टविरोधीको नजरमा, परमेश्वरसित सर्वशक्तिमान्ताको सार हुँदैन, किनकि उसले यस्तो विश्वास गर्छ, “परमेश्वर कसरी सर्वशक्तिमान् हुन सक्नुहुन्छ भनेर म कल्पना गर्न वा बुझ्न सक्दिनँ, त्यसैले उहाँको यो ‘सर्वशक्तिमान्ता’ भन्ने कुरा अस्तित्वमै छैन। म यो कुरा मान्दिनँ। परमेश्वरका क्षमता र सामर्थ्यहरू ठ्याक्कै कति ठूला छन्? विगत, वर्तमान् र भविष्यका कसैले पनि ती कुरा देखेका पनि छैनन्, र देख्ने पनि छैनन्।” ख्रीष्टविरोधीहरूले निरन्तर हृदयमा शङ्का र अनिश्चितता बोकेका हुन्छन्, त्यसैले मण्डलीमा र दाजुभाइ-दिदीबहिनीहरूलाई हुने सबथोक तिनीहरूको अनुसन्धानको विषय र क्षेत्र बन्छ। अनि, तिनीहरूले के अनुसन्धान गरिरहेका हुन्छन्? तिनीहरूले पैदा हुने हरेक कुरा र कुनै समूहमा वा कुनै व्यक्तिलाई हुने हरेक कुरा अनुसन्धान गरिरहेका हुन्छन्, अनि परमेश्वरले के गर्नुभएको छ, उहाँले कसरी काम गर्नुभएको छ, त्यसमा कुनै चिन्ह र अचम्मका कार्यहरू छन् छैनन्, मान्छेले बुझ्न नसक्ने वा मान्छेको क्षमता र पहुँचबाहिरका कुनै ताजा र अद्वितीय घटनाहरू छन् छैनन् भनेर अनुसन्धान गरिरहेका हुन्छन्। त्यसबाहेक, तिनीहरूले कुनै दाजुभाइ वा दिदीबहिनीले उनीहरूमा परमेश्वरले मान्छेका अपेक्षाभन्दा बाहिरको काम गर्नुभएको अनुभवबारे बोलेका छन् छैनन् भनेर अनुसन्धान गरिरहेका हुन्छन्। यसको एउटा उदाहरण तिनीहरू सबैभन्दा भोकाएको बेलामा दन्त्यकथामा जस्तै गरी एउटी केटी नदीमा पाइने सङ्खेकीराको खबटाबाट निस्केर तिनीहरूको लागि भोजन तयार गर्नु हो। अर्को उदाहरण तिनीहरूलाई कोषको अभाव भइरहेको बेलामा तिनीहरूको घरमा अचानक सुन देखा पर्नु, वा तिनीहरूको खोजी भइरहेको बेलामा तिनीहरूलाई पिछा गर्नेहरू अचानक अन्धो भएर केही पनि देख्न नसक्ने हुनु, र एउटा स्वर्गदूत आएर तिनीहरूलाई “नडराऊ, बच्चा—म तिमीलाई मद्दत गर्न आएको छु” भनेर भन्नु हो। एउटा फरक उदाहरण दिनुपर्दा, दाजुभाइ-दिदीबहिनीहरूले गम्भीर कुटाइ र क्रूर यातना भोगिरहेको बेला, परमेश्वरको महान् ज्योति चम्किएर अपराधीहरूलाई अन्धा पारिदिनु, र तिनीहरूलाई भुइँमा लडीबुडी गर्दै कृपा माग्ने तुल्याउनु, र परमेश्वरको त्यो बदलापछि दाजुभाइ-दिदीबहिनीहरूलाई फेरि कहिल्यै हिर्काउने आँट नगर्ने बनाउनु हो; अथवा, उनीहरूले परमेश्वरका वचनहरू पढिरहेको तर जति कडा प्रयास गर्दा पनि ती वचनहरू बुझ्न नसकेको, र उनीहरू निदाउनै लागेको बेलामा, तुवाँलोमा एउटा आकृति देखिनु र त्यसले उनीहरूलाई “नसुत; ब्युँझ—मेरा वचनहरूको अर्थ यो हो” भनेर भन्नु; अथवा, केही आइपरेर उनीहरूले गल्ती गर्नै लागेको बेलामा, त्यसो गर्दा गलत हुन्छ र यसो गर्दा सही हुन्छ भन्ने एउटा शक्तिशाली, अन्तर्मनको हप्काइ र ताडनाद्वारा सजग बनाइनु। यदि साधारण मानिसहरूले अनुभव गर्न नसक्ने र उनीहरूको क्षमतामा नभएको यीमध्ये कुनै पनि घटना मण्डलीमा, परमेश्वरको घरमा, वा परमेश्वरलाई पछ्याउने कसैलाई घट्यो भने, त्यो नै परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ भन्ने पर्याप्त प्रमाण हुन्छ। तर यदि यस्तो केही पनि भएन, वा यदि ती अत्यन्तै कम मात्रामा मात्र भए, र ती भइहाले पनि, त्यो हल्ला मात्रै भएर तिनका वास्तविकता र विश्वासयोग्यतामा ठूलो सम्झौता गरिएको छ भने, के परमेश्वरको सर्वशक्तिमान्ता तथ्य हो त, कि होइन? के परमेश्वरसँग सर्वशक्तिमान्ताको सार छ त, कि छैन? एउटा ख्रीष्टविरोधीले उसको हृदयमा यी कुराहरूपछाडि प्रश्नचिह्न खडा गर्छ।
जब परमेश्वरले काम गर्नुहुन्छ, बोल्नुहुन्छ र मान्छेलाई मुक्ति दिनुहुन्छ, तब ख्रीष्टविरोधीहरू सधैँ यी चिन्हहरू, अचम्मका कार्यहरू र असाधारण शक्तिहरू पछ्याइरहेका हुन्छन्। तिनीहरूले वास्तविकता वा तथ्यहरूसँग नमिल्ने कुराहरू पछ्याइरहेका हुन्छन्। मान्छेलाई मुक्ति दिने परमेश्वरको कामसँग, वा सत्यतासँग, वा मानिसको स्वभाव परिवर्तनसँग तिनीहरूले पछ्याउने यी कुराहरूको बिलकुलै कुनै सम्बन्ध हुँदैन। तैपनि, तिनीहरू ती कुरालाई नै पछ्याउन दृढ हुन्छन्। तिनीहरू परमेश्वरको सर्वशक्तिमान्ताबारे उत्सुकताले भरिएका हुन्छन्। प्रायः प्रार्थनामा, तिनीहरूले परमेश्वरलाई यस्तो अनुरोध गर्छन्: “हे परमेश्वर, के तपाईँ मलाई तपाईँको सर्वशक्तिमान्ता प्रकट गरिदिनुहुन्छ? हे परमेश्वर, के तपाईँ सर्वशक्तिमान् हुनुहुन्न र? यदि हुनुहुन्छ भने, म तपाईँलाई मेरो लागि यो मामला सुल्झाइदिनहुन अनुरोध गर्छु। परमेश्वर, यदि तपाईँ सर्वशक्तिमान्, सर्वशक्तिशाली र सर्वव्यापी हुनुहुन्छ भने, मलाई सहयोग गर्नुहुन म तपाईँलाई बिन्ती गर्छु, किनकि अहिले म चुनौतीहरू सामना गरिरहेको छु। परमेश्वर, यदि तपाईँ सर्वशक्तिमान् हुनुहुन्छ भने, म तपाईँलाई मेरा शरीरका रोगहरू हटाउनुहुन, मैले भोगिरहेका परिस्थितिहरू हटाउनुहुन, र मलाई खतराबाट बचाउनुहुन बिन्ती गर्छु। परमेश्वर, यदि तपाईँ सर्वशक्तिमान् हुनुहुन्छ भने, मलाई आफ्नो कर्तव्य पूरा गर्ने क्रममा रातारात अक्कलमन्द र चलाख, प्रतिभाशाली र वरदानयुक्त बनाउनुहुन म तपाईँलाई बिन्ती गर्छु, ताकि मैले अध्ययन नै नगरी व्यावसायिक सिपहरू हासिल गर्न, दक्ष बन्न, र अरूभन्दा फरक हुन सकूँ। हे परमेश्वर, यदि तपाईँ सर्वशक्तिमान् हुनुहुन्छ भने, तपाईँमाथिको मेरो आस्थालाई अपमान गर्ने र गिज्याउनेलाई दण्डित गर्नुहुन र प्रतिशोध लिनुहुन म तपाईँलाई अनुरोध गर्छु। तिनीहरूलाई अन्धो-बहिरो बनाइदिनुहोस्, तिनीहरूको टाउकोमा घाउ पारिदिनुहोस्, र खुट्टाका पैतालाबाट पिप बग्ने बनाइदिनुहोस्। तिनीहरूलाई कुकुरमराइ मर्ने पारिदिनुहोस्। परमेश्वर, यदि तपाईँ सर्वशक्तिमान् हुनुहुन्छ भने, म तपाईँलाई बिन्ती गर्छु, मलाई तपाईँको सर्वशक्तिमान्ता हेर्न दिइदिनुहोस्।” परमेश्वरले यति धेरै वचनहरू बोल्नुभएको छ र यति धेरै काम गर्नुभएको छ, तैपनि ख्रीष्टविरोधीहरू त्यसलाई नदेखेझैँ गर्छन् र पाखा लगाउँछन्; तिनीहरूले परमेश्वरका वचनहरूलाई कहिल्यै हृदयमा लिँदैनन्, न त उहाँको काम र मान्छेलाई मुक्ति दिने उहाँको महत्त्वपूर्ण कामको हरेक चरणलाई हृदयमा लिने, वा त्यसलाई गम्भीरतापूर्वक लिने नै गर्छन्। बरु, तिनीहरू परमेश्वरलाई चिन्ह र अचम्मका कार्यहरू गर्न, उहाँको काममा आश्चर्यकर्महरू देखाउन, तिनीहरूका आँखा खुल्नेगरी र उत्सुकता पूरा हुनेगरी विशेष कुराहरू गर्न, र उहाँको अस्तित्व प्रमाणित गर्न, र उहाँ सर्वशक्तिमान् रहनुभएको कुरा प्रमाणित गर्न अनुरोध गर्न जिद्दी गर्छन्। अझ हाँसउठ्दो कुरा त ख्रीष्टविरोधीहरू प्रार्थनामा यस्तो निवेदनसमेत गर्छन्: “हे परमेश्वर, म तपाईँलाई देख्न सक्दिनँ, त्यसैले मेरो आस्था सानो छ। म तपाईँलाई सपनामै भए पनि तपाईँको वास्तविक स्वरूप प्रकट गर्न अनुरोध गर्छु—म तपाईँलाई तपाईँको सर्वशक्तिमान्ता प्रकट गरिदिनुहुन अनुरोध गर्छु, ताकि मैले तपाईँमा आस्था राख्न र विश्वस्त रूपमा तपाईँको अस्तित्वमा विश्वास गर्न सकूँ। यदि त्यो प्रकट गर्नुभएन भने, तपाईँमाथिको आस्थामा ममा सधैँ शङ्काहरू भइरहनेछन्।” तिनीहरूले परमेश्वरका काम र वचनहरूमा उहाँको अस्तित्व देख्न वा उहाँको सार र स्वभाव चिन्न सक्दैनन्, अनि तिनीहरू आफूलाई दह्रिलो पार्न र तिनीहरूको आस्था स्थापित गर्न उहाँलाई मान्छेले बुझ्न नसक्ने थप काम गराउन चाहन्छन्। परमेश्वरले धेरै वचनहरू बोल्नुभएको छ र धेरै काम गर्नुभएको छ, तर उहाँका वचनहरू जति नै व्यावहारिक भए पनि, उहाँले बोल्नुभएका सत्यताहरू मानिसहरूको लागि जतिसुकै ज्ञानवर्धक भए पनि, तिनीहरूले ती कुराहरू जतिसुकै तुरुन्त बुझ्न आवश्यक भए पनि, ख्रीष्टविरोधीहरूले चासो दिँदैनन्, र तिनलाई हृदयमा लिँदैनन्। वास्तवमा, परमेश्वरले जति धेरै बोल्नुहुन्छ, र जति धेरै विशिष्ट काम गर्नुहुन्छ, त्यति नै तिनीहरू घिन, रिस र प्रतिरोध महसुस गर्छन्। यसअलावा, तिनीहरूमा परमेश्वरविरुद्ध भर्त्सना र ईशनिन्दासमेत उत्पन्न हुनेछ; तिनीहरूले उहाँविरुद्ध नाराबाजी गर्नेछन्: “के तपाईँको सर्वशक्तिमान्ता यी वचनहरूमा छ? तपाईँले गर्ने त्यति नै हो, वचनहरू व्यक्त गर्ने मात्र हो? यदि तपाईँले नबोल्नुभएको भए, के तपाईँ सर्वशक्तिमान् हुनुहुन्थेन र? यदि तपाईँ सर्वशक्तिमान् हुनुहुन्छ भने, नबोल्नुहोस्। हामीलाई जीवन प्राप्त गर्न र स्वभाव परिवर्तन गर्न सक्षम पार्न भनेर, सत्यताबारे भाषणबाजी वा सङ्गति गर्ने, अनि मान्छेलाई सत्यता प्रदान गर्ने नगर्नुहोस्। यदि तपाईँले हामी सबैलाई रातारात स्वर्गदूत, अर्थात् तपाईँका दूत बन्न दिनुहुन्थ्यो भने—बल्ल, त्यो सर्वशक्तिमान्ता हुनेथ्यो!” जब परमेश्वरले उहाँका वचनहरू बोल्नुहुन्छ र उहाँको काम गर्नुहुन्छ, तब ख्रीष्टविरोधीहरूको प्रकृति अलिअलि गर्दै, केही पनि नलुकी, खुलासा र पर्दाफास हुनेछ, अनि सत्यताप्रति वितृष्ण र प्रतिरोधी हुने तिनीहरूको सार पनि पूर्ण रूपले उदाङ्गो हुनेछ। जब परमेश्वरले निरन्तर उहाँको काम अगाडि बढाउनुहुन्छ, तब परमेश्वरको पहिचान र उहाँको सारलाई तिरस्कार गर्ने ख्रीष्टविरोधीहरूको स्वभाव र सार पनि समयक्रमसँगै बिस्तारै खुलासा र प्रकाश हुँदै जानेछ। ख्रीष्टविरोधीहरूले अस्पष्ट कुराहरू पछ्याउँछन्; तिनीहरूले चिन्ह र अचम्मका कार्यहरू पछ्याउँछन्—अनि वास्तविकतासँग नमिल्ने यो महत्त्वाकाङ्क्षा र चाहनाको अधीनमा रहेर, सत्यताप्रति वितृष्ण रहने र सत्यतालाई घृणा गर्ने तिनीहरूको प्रकृति ज्योतिमा ल्याइन्छ। तर अर्कोतर्फ, साँच्चिकै वास्तविकता र सत्यता पछ्याउने, र सकारात्मक कुराहरूप्रति विश्वास र प्रेम गर्नेहरूले उहाँका काम र वचनहरूमा परमेश्वरको सर्वशक्तिमान्ता देख्छन्—अनि यी मानिसहरूले जे देख्न, जे प्राप्त गर्न, र जे थाहा पाउन सक्छन्, ती कुराहरू ख्रीष्टविरोधीहरूले कहिल्यै थाहा पाउन र प्राप्त गर्न सक्दैनन्। ख्रीष्टविरोधीहरूलाई के विश्वास लाग्छ भने, यदि मानिसहरूले परमेश्वरबाट जीवन प्राप्त गर्ने हो भने त्यसमा चिन्ह र अचम्मका कार्यहरू हुनुपर्छ; तिनीहरू चिन्ह र अचम्मका कार्यहरूविना, परमेश्वरका वचनहरूबाट मात्र जीवन र सत्यता प्राप्त गर्नु, र त्यसमार्फत स्वभाव परिवर्तन गर्नु र मुक्ति पाउनु असम्भव कुरा हो भन्ने विश्वास गर्छन्। ख्रीष्टविरोधीको लागि त त्यो कहिल्यै सम्भव नहुने कुरा हो—त्यो मान्य हुँदैन। त्यसैले, तिनीहरू अथक रूपमा प्रतीक्षा र प्रार्थना गर्छन्, र परमेश्वरले तिनीहरूको लागि चिन्ह र अचम्मका कार्यहरू देखाउनुहुने, र आश्चर्यकर्महरू गर्नुहुने आशा गर्छन्—यदि उहाँले त्यसो गर्नुभएन भने, उहाँको सर्वशक्तिमान्ता अस्तित्वमा छैन। यसको तात्पर्य के हो भने, यदि परमेश्वरको सर्वशक्तिमान्ता छैन भने, परमेश्वर निश्चय नै हुनुहुन्न। ख्रीष्टविरोधीहरूको तर्क नै यही हो। तिनीहरू परमेश्वरको धार्मिकता र उहाँको सर्वशक्तिमान्ताको निन्दा गर्छन्।
जब परमेश्वरले मानिसहरूलाई मुक्ति दिइरहनुभएको हुन्छ, ख्रीष्टविरोधीहरू उहाँका वचनहरू, उहाँका विभिन्न मापदण्डहरू, र उहाँका अभिप्रायहरूप्रति पूर्ण उदासीन रहन्छन्। तिनीहरूले हृदयको गहिराइबाटै यी कुराहरूको प्रतिरोध गर्छन् र तीप्रति वितृष्ण बन्छन्। तिनीहरूले जे कुरामा चासो राख्छन् त्यो सारा सकारात्मक कुराहरूको वास्तविकता होइन, न त त्यो सत्यता पछ्याएर परमेश्वरका योजनाबद्ध कार्यहरूप्रति समर्पित हुनुको नतिजास्वरूप मान्छेले प्राप्त गर्न सक्ने मुक्ति र सिद्धता नै हो। त्यसोभए, तिनीहरू के कुरामा चाहिँ चासो राख्छन् त? तिनीहरू आफूले देख्नेगरी परमेश्वरले चिन्ह र अचम्मका कार्यहरू प्रकट गरून् र आश्चर्यकर्महरू प्रदर्शन गरून्, र त्यसो गरेर उहाँले तिनीहरूलाई अन्तर्ज्ञान प्राप्त गर्न सक्षम पारून्, र तिनीहरूलाई विशिष्ट मानिसहरू, महामानवहरू, विशेष शक्ति भएका मानिसहरू, र असाधारण मानिसहरूमा परिणत हुन सक्षम पारून् भन्ने कुरामा चासो राख्छन्। तिनीहरू परमेश्वरको सर्वशक्तिमान्तामार्फत आफूलाई साधारण मानिसहरू, सामान्य मानिसहरू, र भ्रष्ट मानिसहरू भन्नेजस्ता पद, पहिचान र हैसियतहरूबाट मुक्त पार्ने चाह राख्छन्। त्यसैले, परमेश्वरको कामको क्रममा तिनीहरूले जस्तासुकै धारणा वा समस्याहरू सामना गरे पनि, तिनीहरू सत्यता खोजेर तिनलाई समाधान गर्दैनन्। तिनीहरू सत्यता बुझ्न वा स्वभाव परिवर्तन गर्न असक्षम हुने मात्र होइनन्—त्यति मात्र नभई, तिनीहरूले त तिनीहरूका धारणाहरूसँग नमिल्ने उहाँका सारा कामको कारण परमेश्वरलाई आलोचना गर्ने, र उहाँलाई निन्दा र प्रतिरोध गर्नेसमेत गर्नेछन्। ख्रीष्टविरोधीहरूको नजरमा, परमेश्वरले गर्नुहुने सारा व्यावहारिक काम भनेको त तिनीहरूले मान्यता नदिने कुनै कुरा हो—यो तिनीहरूले निन्दा गर्ने कुरा हो। अनि अन्त्यमा, यिनै दृष्टिकोण र परमेश्वरबारेका यिनै परिभाषाहरूले गर्दा नै तिनीहरूले हृदयमा परमेश्वरको सारको अस्तित्वलाई पूर्ण रूपमा नकार्छन्, र त्योभन्दा नि पूर्ण रूपमा परमेश्वरको सारको अस्तित्वविरुद्ध निन्दा गर्ने, हिलो पोत्ने, र ईशनिन्दा गर्ने गर्छन्। यस्तो किन हुन्छ भने, परमेश्वरमाथिको तिनीहरूको विश्वास परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ, परमेश्वरले तिनीहरूका गुनासाहरू समाधान गर्नुहुनेछ, तिनीहरूले भोगेका अन्यायको बदला लिनुहुनेछ, तिनीहरूले घृणा गर्ने र हेयको दृष्टिले हेर्ने सबैलाई उहाँले परास्त गर्नुहुनेछ, अर्थात् परमेश्वरले तिनीहरूका चाहना र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नुहुनेछ भन्ने जगमा स्थापित भएको हुन्छ। परमेश्वरमाथिको तिनीहरूको विश्वासको जग नै यही हो। तर हालसम्म आइपुग्दा, अब ती दुष्ट मानिसहरू यस्तो परमेश्वर हुनुहुन्न र परमेश्वरले तिनीहरूको लागि केही गर्ने कुनै सम्भावना छैन भन्ने देख्छन्। तिनीहरूको दृष्टिकोणबाट हेर्दा, तिनीहरूको लागि यो परिस्थिति अत्यन्तै प्रतिकूल छ—यो भयानक छ। त्यसैले, तिनीहरूले धेरै कुराहरू अनुभव गरिसकेपछि, परमेश्वरबारे तिनीहरूका संशय र शङ्काहरू यति गम्भीर हुँदै जान्छन् कि अन्त्यमा तिनीहरू परमेश्वर र उहाँको घर छोड्ने, बाह्य संसार पछ्याउने, दुष्ट प्रवृत्तिहरू पछ्याउने, र आफूलाई शैतानको अँगालोमा पार्ने निर्णयमा पुग्छन्। ती मानिसहरूको स्थिति अन्ततः यस्तै बन्छ। परमेश्वरको धर्मी स्वभाव र उहाँको सर्वशक्तिमान्ताप्रति ख्रीष्टविरोधीहरूले राख्ने मनोवृत्तिको आधारमा भन्नुपर्दा, ख्रीष्टविरोधीहरू वास्तवमै अविश्वासी हुन्। तिनीहरूमा परमेश्वरमाथि अलिकति पनि आस्था हुँदैन, न त परमेश्वरको कामप्रति अलिकति समर्पण वा स्वीकार नै हुन्छ। सकारात्मक कुराहरू र सत्यताको कुरा आउँदा, तीप्रति तिनीहरू घिनाउँछन् र प्रतिरोधी हुन्छन्। त्यसकारण, तैँले त्यसलाई जसरी हेरे पनि ख्रीष्टविरोधीहरूको अविश्वासी सार साँच्चिकै अस्तित्वमा हुन्छ। यो अरूले तिनीहरूमाथि थोपर्ने कुरा होइन, र यो तिललाई पहाड बनाउनु होइन—तिनीहरूको यो सार त तिनीहरूलाई यावत् थोक आइपर्दा तिनीहरूले प्रकाश गर्ने सारा दृष्टिकोण र व्यावहारिक कदमहरूका आधारमा निर्धारित हुन्छ।
ख्रीष्टविरोधीहरू वर्षौँसम्म परमेश्वरमा विश्वास गर्छन्, तैपनि मान्छेको भाग्यमाथि परमेश्वर सार्वभौम हुनुहुन्छ भन्ने तथ्य देख्न सक्षम बन्दैनन्। तिनीहरू त्यो तथ्य बुझ्न सक्दैनन्। तिनीहरू आफ्नै आँखाअगाडिको तथ्यसमेत बुझ्न सक्दैनन्—के त्यो अन्धोपन होइन र? परमेश्वरको धर्मी स्वभाव र उहाँको सर्वशक्तिमान्ता प्रायजसो मण्डलीको काम, उहाँका चुनिएका मानिसहरू, र घटित हुने हरप्रकारका कुराहरूमा प्रकट हुन्छन्। उहाँले मानिसहरूलाई यी कुराहरू सबैतिर हेर्न दिनुहुन्छ—तर ख्रीष्टविरोधीहरू अन्धा हुन्छन् र यी कुराहरू देख्न सक्दैनन्। ख्रीष्टविरोधीहरूले धेरै वर्षसम्म परमेश्वरलाई पछ्याएपछि यो त्यो चर्चित वाक्यांश बोल्नेछन्: “मैले यतिका वर्ष परमेश्वरमा विश्वास गरेर केचाहिँ पाएको छु र?” तिनीहरूले वास्तवमै केही पनि प्राप्त नगरेजस्तै नै देखिन्छ। परमेश्वरले मान्छेका लागि जीवन खन्याइदिनुभएको छ, तर ख्रीष्टविरोधीहरूले केही पनि प्राप्त गरेका छैनन्। के त्यो दयनीय होइन र? वास्तवमै हो! ख्रीष्टविरोधीहरूको त्यो वाक्यांशले समस्यालाई अत्यन्तै राम्ररी चित्रण गर्छ। परमेश्वरका वचनहरू सुन्ने र उहाँको काम अनुभव गर्ने, उहाँका वचनहरूलाई आफ्नो जीवनको रूपमा स्विकार्ने हरव्यक्तिले चाहिँ यसो भन्नेथियो: “हामीले परमेश्वरमा धेरै वर्ष विश्वास गरेका छौँ, र हामीले उहाँबाट धेरै पाएका छौँ। अनुग्रह र आशिष्हरू मात्र होइन, उहाँको सुरक्षा र उहाँको कृपा पनि पाएका छौँ—अझ महत्त्वपूर्ण कुरा त परमेश्वरबाट हामीले धेरै सत्यताहरू बुझेका र प्राप्त गरेका छौँ। हामी इज्जतसाथ मानव स्वरूपमा जिउँछौँ। हामी आफूलाई आचरणमा ढाल्न जान्दछौँ। हामी परमेश्वरप्रति अत्यन्तै धेरै ऋणी छौँ। उहाँले चुकाउनुहुने मूल्यसँग, र उहाँले हाम्रो लागि जे गर्नुहुन्छ त्योसँग तुलना गर्दा, हाम्रा कठिनाइहरू उल्लेख गर्न लायकसमेत छैनन्। मान्छेले परमेश्वरको प्रेमको ऋण चुक्ता गर्नुपर्छ।” तर ख्रीष्टविरोधीहरू ठिक उल्टो हुन्छन्। तिनीहरू भन्छन्, “विगत केही वर्षदेखि परमेश्वरले काम गरिरहनुभएको छ, तर मैले किन केही पनि प्राप्त नगरेको? तिमीहरू सबैले यो र त्यो प्राप्त गरेको छु, यस्तो र उस्तो अनुभव गरेको छु भनेर भन्छौ—तर के ती अनुभवहरूले तिमीहरूको भरणपोषण गर्छन्? ती अनुभवहरूको के महत्त्व छ? आशिष्, अनुग्रह, चिन्ह र अचम्मका कार्यहरू देख्नुको तुलनामा, के ती उल्लेख गर्न पूर्णतया अयोग्य छैनन् र? त्यसैले, मलाई लाग्छ, यतिका वर्ष परमेश्वरमा विश्वास गर्दा पनि मैले केही पनि प्राप्त गरेको छैन। मैले सहेको दुख र परमेश्वरको निम्ति गरेको त्याग र अर्पणको तुलनामा, मैले प्राप्त गरेका कुराहरू बिलकुलै कुनै अर्थका छैनन्! सत्यता भनेको केही अभिव्यक्ति र सिद्धान्तहरूबाहेक के नै हो र? त्यो केही धर्मसिद्धान्तहरूबाहेक के नै हो र? मैले यी वचनहरू र यी सत्यताहरू सुनेको छु, तर मलाई ममा कुनै अत्यन्तै ठूलो परिवर्तन आएको छ जस्तो लाग्दैन! पहिलो कुरा त, यी कुराहरूबारे सोच्न मेरो दिमाग फुर्तिलो छैन। साथै, मेरो उमेर ढल्कँदै छ, र मेरो स्वास्थ्यमा पहिलेजस्तो सुधार आइरहेको छैन। मेरो कपाल फुलेको छ, मेरो अनुहार अझ धेरै चाउरी परेको छ—मेरा केही दाँतहरू पनि फुक्लेका छन्, र नयाँ दाँत पलाएका छैनन्। परमेश्वरले मुक्ति पाउनेहरू बालबालिकाजस्तै ऊर्जावान्, र जीवन्त हुन्छन् भन्नुहुन्छ, तर म अत्यन्तै दुब्लो ज्यानको र बुढो अनुहारको छु। म बच्चा बनेको छैन। परमेश्वरका वचनहरूअनुसार, कपाल फुलेका बुढा मानिसहरू कालो कपाल भएका युवामा परिणत हुन सक्छन्। मचाहिँ किन परिवर्तन नभएको हो? परमेश्वर भन्नुहुन्छ, उहाँले मानिसहरूलाई पूर्ण रूपमा रूपान्तरण गर्नुहुनेछ, तर मलाई त्यस्तो भएको छैन; म नयाँ व्यक्ति बनेको छैन। म अझै म नै छु, र मलाई केही आइपर्दा, मैले अझै पनि त्यसलाई आफैले कसरी सम्हाल्ने भनेर उपाय लगाउनुपर्छ। मेरा दैहिक कठिनाइहरू पनि बढ्दैछन्—म प्रायजसो कमजोर र नकारात्मक हुन्छु। त्यसबाहेक, विगत दुई वर्षदेखि मेरो स्मरणशक्ति घटेको छ। मैले परमेश्वरका वचनहरू अत्यन्तै धेरै पढ्छु, तर उहाँले मेरो स्मरणशक्ति बलियो बनाउनुभएको छैन। के परमेश्वरले मानिसहरूलाई तिनीहरूको शरीर बुढो हुनबाट रोक्ने अलिकति विशेष क्षमता दिन सक्नुहुन्न? मलाई लाग्छ अहिलेको सबैभन्दा ठूलो सवाल भनेको मानिसहरूलाई पूर्ण रूपमा रूपान्तरित गर्ने कुरा हो; सत्यताले त्यो सवाल हल गर्न सकेको देखिँदैन। यदि परमेश्वरले मानिसहरूलाई चम्किलो स्वर्गदूतझैँ रूप हुने, निराकार बन्न सक्ने, ठोस पर्खालबाट निस्कन सक्ने, उत्पीडन र खतरा सामना गर्नुपर्दा एउटा मन्त्र जपेर हराउन सक्ने, र कहिल्यै पकडमा नआउने कुनै नयाँ व्यक्तिमा साँच्चिकै परिणत गर्न सक्ने कुरा भन्नुहुन्थ्यो भने—यदि परमेश्वरका वचनहरू बारम्बार पढेर मानिसहरूको कपाल नफुल्ने, अनुहार चाउरी नपर्ने, र फुक्लेको ठाउँमा नयाँ दाँत पलाउने हुन्थ्यो भने—त्यो गजब हुनेथ्यो! पूर्ण रूपमा रूपान्तरित हुनु भनेको त्यही हो! यदि परमेश्वरले ती कामहरू गर्नुहुन्थ्यो भने, म कुनै सङ्कोचबिना उहाँ परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्नेथिएँ। तर यदि उहाँले सत्यता बोल्न र प्रचार गर्न जारी राख्नुभयो भने, मेरो आस्था चाँडै बिलाउनेछ; चाँडै, म विश्वासलाई निरन्तरता दिन सक्षम रहनेछैन, र सायद मैले त्यसउप्रान्त आफ्नो कर्तव्य निर्वाह गर्न सक्नेछैन। मैले कर्तव्य निभाउनै चाहनेछैन।” ख्रीष्टविरोधीले परमेश्वरलाई पछ्याउने क्रममा, उसको हृदयमा बारम्बार यो वा त्यो मागहरू उत्पन्न भइरहनेछन्, र उसका धारणाहरूमा अनेकथरीका शङ्का र कठोर मागहरू उत्पन्न भइरहनेछन्, साथै उसका वातावरण र व्यक्तिगत चाहनाहरूको कारण उसमा अनेकथरीका अनौठा सोचहरू आइरहनेछन्। तर यसमा एउटै मात्र कुरा हुन्छ: उसले परमेश्वरले बोल्नुहुने वचनहरू बुझ्न सक्दैन, र परमेश्वरले मानिसहरूलाई मुक्ति दिनहेतु काम गर्नुहुन्छ भनेर देख्न सक्दैन, परमेश्वरले सारा काम गर्नुको उद्देश्य मानिसलाई मुक्ति दिनु हो, र त्यो उद्देश्य मानिसहरूलाई स्वभाव परिवर्तन गर्न सक्षम पार्नु हो भनेर त झनै बुझ्न सक्दैन। त्यसैले, विश्वास गर्दै जाने क्रममा, उसको हुटहुटी हराउँछ; विश्वास गर्दै जाने क्रममा, उसको हृदयमा नकारात्मकता र हताशका भावनाहरू उत्पन्न हुँदै जान्छन्, र उसमा पछि हट्ने, विश्वास गर्न छोड्ने भावनाहरू पैदा हुँदै जान्छन्। परमेश्वरको सारको सम्बन्धमा त, उसले त्यसलाई विश्वास गर्नेछ कि छैन, मान्नेछ कि छैन र स्वीकार गर्नेछ कि छैन भन्ने कुरै बिर्सिदे—विश्वास गर्दै जाने क्रममा, उसले त्यो कुराबारे चिन्ता लिने कष्टै गर्दैन। त्यसैकारण, जब तैँले सङ्गतिमा कुनै कुरा परमेश्वरको धार्मिकता साथै उहाँको सर्वशक्तिमान्ता र सार्वभौमिकता हो, र मानिसहरूले त्यसप्रति समर्पित हुनुपर्छ र त्यो कुरा जान्नुपर्छ भनेर भन्छस्, तब ख्रीष्टविरोधीहरूले बाहिरी रूपमा छिसिक्कसमेत बोल्नेछैनन्—तिनीहरूले बिलकुलै कुनै दृष्टिकोण व्यक्त गर्नेछैनन्। तर भित्री रूपमा, तिनीहरूमा घिन उत्पन्न हुनेछ: तिनीहरूले सुन्न चाहनेछैनन्; तिनीहरू सुन्न अनिच्छुक हुनेछन्; तीमध्ये कतिपय त बस उठेर हिँड्नेछन्। जब सबैले प्रवचनहरू सुनिरहेका हुन्छन्, जब अरूले परमेश्वरका वचनहरू सङ्गति गरिरहेका हुन्छन्, जब दाजुभाइ-दिदीबहिनीहरू ठूलो जोससाथ आफ्नो अनुभवात्मक गवाही सङ्गति गरिरहेका हुन्छन्—तब ख्रीष्टविरोधीहरू के गरिरहेका हुन्छन्? तिनीहरूले चिया पिइरहेका, पत्रिका पढिरहेका, फोन चलाइरहेका, र बकम्फुसे गफ गरिरहेका हुन्छन्। अनि, यी मौन कार्यहरूद्वारा विरोध र प्रतिरोध गरेर तिनीहरू आफ्ना व्यवहारमार्फत परमेश्वरले गर्नुहुने सारा काम बेकार छ भनी पुष्टि गर्न खोजिरहेका हुन्छन्: “तिमीहरू कामकुराको औचित्य पुष्टि गर्न मात्र खोजिरहेका छौ, र आफैलाई मूर्ख बनाइरहेका छौ—परमेश्वर र सत्यता अस्तित्वमै छैनन्, र मानवजातिले परमेश्वरबाट मुक्ति पाउनु पूरै असम्भव छ!” तिनीहरूको नजरमा, सत्यतामा विश्वास गर्ने, परमेश्वरप्रति समर्पित हुने, र परमेश्वरले मानवजातिलाई मुक्ति दिन सक्नुहुन्छ भन्ने तथ्यमा विश्वास गर्ने सबै मूर्खहरू हुन्—उनीहरू सबै दिमाग नभएका मानिसहरू हुन्, र उनीहरू सबै फसाइएकाहरू हुन्। तिनीहरूलाई लाग्छ कि व्यक्तिको भाग्य उसकै हातमा हुन्छ, अरूलाई त्यो कुरा योजनाबद्ध गर्न दिन सकिँदैन, मानिसहरू गोटी होइनन्, उनीहरूमा दिमाग हुन्छ र समस्याहरूबारे स्वतन्त्र रूपमा सोच्ने क्षमता हुन्छ—यदि कसैले आफ्नै भाग्यसमेत नियन्त्रण गर्न सक्दैन भने, ऊ काम नलाग्ने तल्लो स्तरको व्यक्ति हो भन्ने तिनीहरू विश्वास गर्छन्। त्यसैले, चाहे जेसुकै होस्, तिनीहरू आफ्नो भाग्य परमेश्वरलाई सुम्पेर नियन्त्रण गर्न दिन अनिच्छुक हुन्छन्। परमेश्वरले गर्नुहुने सबै कुराहरूप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति यस्तै हुन्छ। तिनीहरू सुरुदेखि अन्त्यसम्मै शैतानका नोकरहरूको भूमिका खेल्ने रमिते र अविश्वासी भएर बस्छन्। तिनीहरू भातमाराहरू र किचलो गर्नेहरू हुन्—तिनीहरू गोप्य रूपमा घुसपैठ गरेका दुष्कर्मी हुन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।