विषयवस्तु पाँच: तिनीहरूले मानिसहरूलाई भ्रममा पार्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रण गर्छन् (खण्ड तीन)

ख्रीष्टविरोधीहरूले जति नै प्रवचन सुने पनि, सत्यता बुझ्न सक्दैनन्। तिनीहरूले बुझ्न र स्पष्टसँग व्यक्त गर्न सक्ने सबै धर्मसिद्धान्त हुन्। तिनीहरू आफूले बुझ्न र सम्झन सक्ने ती वचनहरूलाई लिएर मानव धारणा र कल्पनाअनुरूप आत्मिक धर्मसिद्धान्तमा परिणत गर्न तिनमा घोत्लिन्छन्, र त्यसपछि तिनलाई मनपरी फैलाउँछन्, अरूलाई ती व्याख्या गर्छन्। जब आत्मिक बुझाइ नभएका र सत्यता नबुझ्नेहरूले यी कुरा सुन्छन्, तब तिनीहरूलाई ती एकदमै अर्थपूर्ण लाग्छ र तिनीहरू ती स्विकार्न इच्छुक हुन्छन्। फलस्वरूप, तिनीहरू भ्रममा पर्छन् र ख्रीष्टविरोधीहरूलाई आराधना गर्न थाल्छन्। समस्या त्यहीँबाट सुरु हुन्छ। वास्तवमा, ख्रीष्टविरोधीहरू सत्यतालाई बिलकुलै बुझ्दैनन्। यदि तैँले तिनीहरूका तथाकथित सही शब्दहरूलाई ध्यानपूर्वक सुनिस् र खुट्ट्याइस् भने, ती मानव धारणा र कल्पनासँग मिल्दा खोक्रा सिद्धान्त हुन् भनेर थाहा पाउनेछस्। अवश्य नै, सत्यता नबुझ्नेहरू यी शब्दहरू सही छन् भन्ने सोच्छन् र सजिलै तिनमा फस्छन्। के तिमीहरूले यस्ता परिस्थितिहरू अनुभव गरेका छौ? के तिमीहरू उदाहरण दिन सक्छौ? यदि तिमीहरू उदाहरण दिन सक्छौ अनि ती शब्द र धर्मसिद्धान्तहरू बताउन खप्पिसहरूले अरूलाई कसरी भ्रममा पार्छन् भनेर प्रस्टसित देख्न सक्छौ भने, यसले तिमीहरू ती कुरा बुझ्छौ र लागु गर्न सक्छौ भनेर प्रमाणित गर्छ। यदि तिमीहरू उदाहरण दिन सक्दैनौ भने, त्यसले तिमीहरूले ती अझै बुझेका छैनौ र लागु गर्न सक्दैनौ भन्ने सङ्केत गर्छ। तिमीहरू शब्द र धर्मसिद्धान्तहरू बोल्नमा खप्पिसहरूलाई भेट्दा, पक्कै पनि तिनीहरूलाई खुट्ट्याउन सक्नेछैनौ। (म त्यस्तो स्थितिमा परेको छु। जब दाजुभाइ-दिदीबहिनीहरू काटछाँट, ताडना, र अनुशासन भोग्छन्, अनि परमेश्‍वरको अभिप्राय बुझ्दैनन्, तब मसित खोजी गर्न आउँछन्। वास्तवमा, म पनि परमेश्‍वरको अभिप्राय वा यी समस्याहरूको सार बुझ्दिनँ। तर म उनीहरूलाई केही खोक्रा शब्दहरू बताउँछु, उदाहरणका लागि, “काटछाँट, ताडना, र अनुशासन सबै परमेश्‍वरको प्रेम र उहाँको मुक्ति हुन्। परमेश्‍वर हाम्रा भ्रष्ट स्वभावहरूमा यिनै तरिकाले काम गर्नुहुन्छ।” यसो भनिरहँदा पनि, म आफूले उनीहरूलाई उनीहरूका समस्याहरूको सार पूर्ण रूपमा बुझाएको छैनँ भनेर महसुस गर्न सक्छु, जस्तै उनीहरूले किन यो परिस्थिति सामना गरिरहेका छन्, उनीहरूका कार्य र प्रकटीकरणहरू कस्तो भ्रष्ट स्वभावअन्तर्गत पर्छन् वा तिनको प्रकृति कस्तो होला, अनि परमेश्‍वरको अभिप्राय के हो—मैले यी र अझ धेरै कुराहरूमा उनीहरूलाई सङ्गति गर्न सकेको छैनँ। मैले केही सही धर्मसिद्धान्त र मिठा नाराहरू मात्र भनेको छु, जसले वास्तवमा कसैलाई मद्दत गर्दैनन्।) यसको कारण के हो भने तँ आफैमा सत्यताबारे प्रस्ट बुझाइ छैन, त्यसैले तैँले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका वास्तविक समस्याहरू समाधान गर्न सक्दैनस्। त्यसोभए, के ख्रीष्टविरोधीहरूले मानिसहरूलाई भ्रममा पार्नु र यसको बीचमा कुनै भिन्नता छ? ख्रीष्टविरोधीहरू मानिसहरूलाई सद्भाव राखेर सहयोग गर्दैनन्; तिनीहरूको मनसाय र उद्देश्य नै उनीहरूलाई भ्रममा पार्नु र नियन्त्रण गर्नु हुन्छ। जब ख्रीष्टविरोधीहरू यस्ता कामकुरा गर्छन्, र नाराहरू फलाकिरहेका हुन्छन्, तब तिनीहरूको व्यवहार र तिनीहरूले कस्तो स्वभाव प्रकट गर्छन्, सो हेर्—ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउने कडी यही हो। कतिपय मानिसहरूको कद सानो हुन्छ, अनि उनीहरूमा सत्यताको प्रस्ट बुझाइ हुँदैन। उनीहरूको कामको तीव्रताले आवश्यक नतिजाहरू प्राप्त नहोलान्, तर उनीहरूमा मानिसहरूलाई भ्रममा पार्ने वा नियन्त्रण गर्ने मनसाय वा उद्देश्य हुँदैन। उनीहरू मानिसहरूलाई डोऱ्याएर परमेश्‍वरसामु ल्याउन पनि चाहन्छन्—उनीहरूको क्षमताले आफ्नो चाहना पूरा गर्न नसकेको मात्र हो। उनीहरूले स्पष्ट नतिजाहरू हासिल नगरेका भए पनि, मानिसहरूले उनीहरूमा सही अभिप्रायहरू छन्, उनीहरू मानिसहरूलाई डोऱ्याएर परमेश्‍वरसामु ल्याउन चाहन्छन् भनेर बुझ्न सक्छन्। तर, ख्रीष्टविरोधीहरूको उद्देश्य के हो? (मानिसहरूको अनुमोदन पाउनु, अनि मानिसहरूलाई तिनीहरूको कुरा सुन्न र तिनीहरूलाई पछ्याउन लगाउनु हो।) त्यसोभए, तिनीहरूले भन्ने कुरा र आफ्नो चाहना पूरा गर्ने क्षमता नभएको व्यक्तिको कुराबीच के भिन्नता छ? पर्याप्त क्षमता नहुने व्यक्ति हृदयदेखि बोल्छ, तर समस्याको सार र जडलाई छर्लङ्ग बुझ्न सक्दैन; उसले त्यसमा प्रस्टसित सङ्गति गर्न सक्दैन, र अन्त्यमा, उसले त्यो समस्या समाधान गर्न वा अरूलाई भरणपोषण गर्न सक्दैन। अब, कुनै ख्रीष्टविरोधीका शब्दहरू के-के हुन्? के ती उसको हृदयबाट आउँछन्? (अहँ, आउँदैनन्।) आउँदैनन् भन्ने प्रस्ट छ: उसले भन्ने सबै कुरा झूट हो। उसले किन झूट बोल्नुपर्ने हो? ऊ तँलाई ठग्न र भ्रममा पार्न चाहन्छ। उसले यसो भन्न खोजेको हुन्छ, “मैले अगुवाको रूपमा गर्नुपर्ने काम गरिसकेको छु, मैले सङ्गति गर्नुपर्ने कुरा गरेको छु, र मैले भनेको सबै कुरा सही हो। यदि तिमी ती स्विकार्दैनौ र समस्या समाधान भएन भने, त्यो तिम्रो गल्ती हो—मलाई दोष नदेऊ।” ऊ साँचो रूपमा तेरा समस्याहरू समाधान गर्न चाहँदैन, बरु झारा टारिरहेको हुन्छ, र आफ्नो हैसियत कायम राख्न ऊसँग यी सही कुराहरू भन्नुको विकल्प नै हुँदैन। ऊ आफ्नो इच्छाविपरीत यी कुराहरू भन्छ, र उसले ती कुराहरू भने पनि, आफ्नो स्वेच्छाले भनिरहेको हुँदैन—उसले हृदयमा साँच्चै सोचिरहेको कुरा यो हुँदैन। त्यसकारण, कुनै-कुनै ख्रीष्टविरोधीहरूले सामान्यतया केही सही शब्दहरू भन्न सिक्न सक्छन्, अरूलाई तिनीहरूको नकारात्मकतालाई जित्न मद्दत गर्छन्, तर जब तिनीहरू आफै काटछाँटमा पर्छन् वा बर्खास्त हुन्छन्, तब तिनीहरू अत्यन्तै नकारात्मक बन्छन्, तिनीहरूले पूर्ण रूपमा आफूलाई चिन्न सक्दैनन्, र दाजुभाइ-दिदीबहिनीहरूलाई मद्दत दिन उनीहरूमा भरोसा गर्नुपर्छ। के यस्तो भएको छ? (छ।) यस्ता कुराहरू एकदमै बारम्बार हुन्छन्। कुनै ख्रीष्टविरोधीले अरूलाई निरन्तर रूपमा प्रचार गर्ने शब्द र धर्मसिद्धान्तहरूले उसलाई मद्दतसमेत गर्न सक्दैनन्। त्यसोभए, के यी शब्दहरू उसको भित्रैबाट आउँछन्? के ती उसको वास्तविक अनुभवहरूका नतिजा हुन्? (होइनन्।) त्यसोभए उसले भन्ने कुरा शब्द र धर्मसिद्धान्तहरू मात्र हो, आफ्नो साँचो कदको प्रतिबिम्ब होइन। उसले अरूलाई सहयोग गर्नका लागि गर्ने काममा पूर्ण रूपले बाहिरी झूटा प्रभाव, कार्य, र झारा टार्ने असल व्यवहार प्रयोग गरेर मानिसहरूलाई अगुवाको रूपमा उसलाई स्वीकार र अनुमोदन गर्न लगाउनु समावेश छ। मानिसहरूले उसलाई अगुवाको रूपमा स्वीकार र अनुमोदन गरेपछि, के उनीहरू ऊसामु झुक्दैनन् र? यदि उनीहरू ऊसामु झुक्छन् भने, के ख्रीष्टविरोधीले हैसियत प्राप्त गर्दैन र? के त्यसपछि उसको हैसियत सुरक्षित हुँदैन र? उसको उद्देश्य ठ्याक्कै यही हो। कतिपय अगुवा र कामदारहरूमा सत्यताको बुझाइ हुँदैन, अनि आफ्नो काम सम्हाल्दा तिनीहरूको क्षमताले तिनीहरूको चाहना पूरा गर्न सक्दैन। यो बढीमा तिनीहरूको सानो कद र तिनीहरू मानकअनुरूपका अगुवा होइनन् भन्ने कुराको सङ्केत हो। तर कुनै ख्रीष्टविरोधीले काम गर्दा, उसले दाजुभाइ-दिदीबहिनीहरूलाई साथ दिन वा सहयोग गर्न सक्छु कि सक्दिनँ भनेर विचार गर्दैन। उसले आफ्नै हैसियत र हितबारे मात्र सोच्छ। ती दुईबीचको भिन्नता यही हो: तिनीहरूका स्वभावहरू फरक हुन्छन्। त्यसकारण, ख्रीष्टविरोधीले धेरै मिठा शब्दहरू बोल्ने भए पनि, तिनले आफ्नो वास्तविकता झल्काउँदैनन्। उसले आफ्नो इच्छाविपरीत ती शब्दहरू भन्छ; उसले बाहिरी रूपमा सही लाग्ने केही धर्मसिद्धान्त र नारा, वा मानव भावनासित मिल्ने शब्दहरू प्रयोग गरेर मानिसहरूलाई सल्लाह दिने र झारा टार्ने मात्र गरिरहेको हुन्छ। उसले किन झारा टार्नुपरेको? किनकि यदि उसले कुनै नकारात्मक वा कमजोर व्यक्तिलाई देख्यो र उसलाई बेवास्ता गरेर सहयोग गरेन भने, अरूले ऊ वास्तविक काम गरिरहेको छैन र अगुवाको रूपमा आफ्ना जिम्मेवारी पूरा गरिरहेको छैन भनेर भन्नेछन्। यस्ता आरोपको डरले, उसलाई काम गर्नुको विकल्प हुँदैन। त्यसकारण, उसको उद्देश्य पूर्ण रूपले आफ्ना कर्तव्यहरू गर्नु होइन; ऊ यदि दाजुभाइ-दिदीबहिनीहरूलाई कष्ट आइपर्दा ऊ तुरुन्तै देखा परेन अनि उसले आफ्ना जिम्मेवारी निभाउँदै उनीहरूलाई सहयोग र भरणपोषण गरेन भने, उनीहरूले उसलाई उप्रान्त समर्थन गर्नेछैनन् भनेर डराउँछ। अर्को निर्वाचनमा, उनीहरूले उसलाई नरोज्न सक्छन्, र ऊ सच्चा अगुवा हुनेछैन, बरु उसको केवल खोक्रो पदवी हुनेछ। के उसको हृदयको चाहना खोक्रो पदवी पाउनु मात्र हो? (होइन।) त्यसोभए, ऊ के चाहन्छ? ऊ वास्तविक शक्ति र हैसियत चाहन्छ, ऊ दाजुभाइ-दिदीबहिनीहरूले भित्री रूपमा आफूलाई आराधना र समर्थन गरून् र पछ्याऊन् भन्ने चाहन्छ। त्यसकारण, ऊ हरेक निर्वाचनमा अगुवाको रूपमा चयन हुने प्रयत्न गर्छ—उसको उद्देश्य त्यही हो।

कतिपय तथाकथित अगुवा र कामदारहरू चुनाव नजिकिँदै गर्दा अत्यन्तै उत्साहित हुन्छन्, चारैतिर आफूलाई प्रदर्शन गर्छन् र असामान्य व्यवहार गर्छन्। यस्ता मानिसहरू ख्रीष्टविरोधी वर्गका हुन सक्छन्। यदि तिनीहरूले यस्तो व्यवहार गर्न सक्छन् भने, त्यो घृणास्पद कुरा हो! साँच्चै विवेक र समझ हुने व्यक्तिलाई आफूले मनसाय र उद्देश्य बोकेर काम गर्दा हृदयमा स्वतः ग्लानि महसुस हुनेछ। आफ्नो विवेक र समझद्वारा रोकिएपछि, उसले पहिले आफू त्यति उत्साहित नभएको महसुस गर्नेछ, र मानिसहरूले उसको अचानक उत्साहलाई प्रस्ट रूपले देख्नेछन्। उसलाई आफूप्रति घृणासमेत लाग्छ, र त्यस्तो व्यवहार गर्नुभन्दा चुनावमा नउठ्नु उत्तम लाग्छ। उसले यतिका वर्षदेखि परमेश्‍वरमा विश्वास गरेको अनि अलि कद र केही लज्जाबोध विकास गरेको हुनाले, अन्त्यमा ऊ आफूलाई रोक्न सक्षम हुन्छ। तर ख्रीष्टविरोधीहरू आफूलाई रोक्दैनन्; तिनीहरू आफूलाई जे मन लाग्छ त्यही गर्छन् र जसरी इच्छा लाग्छ त्यसरी काम गर्छन्। तिनीहरूमा महत्त्वाकाङ्क्षा र विभिन्न मनसाय, उद्देश्य र षड्यन्त्रहरू हुन्छन्। तिनीहरूलाई हृदयमा त्यो सबै थाहा हुन्छ, तर तिनीहरू अझै यसरी नै कामकुरा गर्न जिद् कस्छन्, सधैँ आफ्नै ख्याति र हैसियतबारे सोच्छन्। तिनीहरूलाई मण्डली र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका लागि कामकुरा गर्दा धेरै घाटा हुन्छ र त्यसो गर्नु उपयुक्त हुँदैन भन्ने लाग्छ। त्यसकारण, तिनीहरू आफूले गर्ने हरकुरामा आफूलाई पहिले राख्छन्, र सधैँ आफ्नै मात्र भलो खोज्छन्। चुनाव आएपछि, तिनीहरू चारैतिर मनाउन-फकाउन सक्दो प्रयास गर्छन्, आफूलाई चयन गर्न मानिसहरूलाई भ्रमाउने र लोभ्याउने गर्छन्, अनि मतदानको क्रममा आफ्ना लागि गोप्य रूपले एकदुई मतसमेत थप्छन्। के ख्रीष्टविरोधीहरूले यसरी काम गर्नु घिनलाग्दो कुरा होइन र? यदि तिनीहरूमा महत्त्वाकाङ्क्षा नभएका भए, किन तिनीहरू त्यो हदसम्म जान्थे र? के यो त महत्त्वाकाङ्क्षाले काम गरेको हो भन्ने प्रस्ट छैन र? कसैले कोही व्यक्ति महत्त्वाकाङ्क्षी छ भन्नु सकारात्मक कुरा होइन; निस्सन्देह, यस्ता मानिसहरूले गर्ने सबथोक घिनलाग्दो र व्यक्त गर्न नसकिने हुन्छ। ख्रीष्टविरोधीहरूले गर्ने सबथोक झूटो र छली हुन्छ; तिनीहरू सधैँ मानिसहरूलाई भ्रममा पार्न झूटो रूप प्रयोग गर्छन्। त्यस मामिलाको सत्यता थाहा नहुनेहरूले यो देखेर सोच्छन्, “अगुवाले विगत केही दिनमा धेरै मेहनत गरेका छन्, सुत्नु र खानु त्यागेका छन्, दिनरात काम गरेका छन्, हरेक कुरामा नेतृत्व लिएका छन्। उनले धेरै कष्ट भोगेका छन्, उनी यति लखतरान भएका छन् कि निकै दुब्लाएका छन्—उनको कपाल पनि अझ धेरै फुलेको छ।” यो देखेर कतिपय दाजुभाइ-दिदीबहिनीहरूमा ख्रीष्टविरोधीप्रति दया पलाउँछ, र अन्त्यमा, चुनावको समय, उनीहरूले उसलाई मत हाल्छन्। के ख्रीष्टविरोधीले आफ्नो लक्ष्य हासिल गरेको हुँदैन त? (हुन्छ।) षड्यन्त्र रच्नु र चाल चल्नु भनेको यही हो, दुष्ट हुनु भनेको यही हो। त्यसकारण, ख्रीष्टविरोधीहरूले मानिसहरूलाई शब्दहरूले मात्र नभई कैयौँपटक त्यस्ता कार्य र व्यवहारले पनि भ्रममा पार्छन् जसले मौन रूपमा मानिसहरूलाई तिनीहरू कति उत्साहित, कति समर्पित, र दाजुभाइ-दिदीबहिनीहरूबारे कति विचारशील छन् भन्ने भान पार्छन्। तिनीहरू यी राम्रा र सही देखिने अभिव्यक्ति अनि बाहिरी झूटो रूप प्रयोग गरेर मानिसहरूलाई आफू उनीहरूले स्विकार्नुपर्ने मानकअनुरूपका अगुवा, असल अगुवा हो भनी बारम्बार बताउँछन्, बारम्बार जोड दिन्छन्, र थाहा दिन्छन्। यो लोकतान्त्रिक देशहरूको चुनावजस्तै हो, जहाँ उम्मेदवारहरू यताउता गएर भाषण दिन्छन्, मनाउने-फकाउने गर्छन्, र चारैतिर अभियान चलाउँछन्। तिनीहरू मतदानको क्रममा बेइमानीसमेत गर्छन्। तर यी मानिसहरूलाई लाज लाग्दैन; तिनीहरू “असली पुरुष निर्मम हुनैपर्छ” भन्ने विश्वास पालन गर्छन्। तिनीहरू चुनाव जित्न आवश्यक हर उपाय प्रयोग गर्छन्—गैरविश्वासीहरूको सोचाइ र दृष्टिकोण यही हो। के यी ख्रीष्टविरोधीहरू पनि यसो गर्छन्? अवश्य गर्छन्! शक्ति र हैसियतका निम्ति, यी व्यक्तिहरू हृदयको गहिराइमा सबै कुरामा जोस-जाँगरका साथ लाग्छन्, र त्यो फत्ते गर्न दिमाग खियाउँछन्। तिनीहरू आफ्नो कुरामा पटक्कै सन्तुष्ट हुँदैनन्। त्यसैले, शक्ति र हैसियतका लागि ठूलो उत्साह हुनेहरू, अर्थात् आफ्ना महत्त्वाकाङ्क्षालाई नियन्त्रण गर्न नसक्नेहरू अन्त्यमा अगुवाका रूपमा चुनिए भने, तिनीहरू ख्रीष्टविरोधीको मार्ग मात्र पछ्याइरहेका हुँदैनन्; तिनीहरू आफै ख्रीष्टविरोधीसमेत बन्न सक्छन्। के तिमीहरूमा महत्त्वाकाङ्क्षाहरू छन्? के तिमीहरू आफ्नो महत्त्वाकाङ्क्षालाई मानवता र समझको सीमाभित्रै नियन्त्रण गर्न सक्छौ? यदि नियन्त्रण गर्न सक्छौ भने, ख्रीष्टविरोधीको मार्ग पछ्याउने खतरालाई पन्छाउन सक्छौ, र तिमीहरू ख्रीष्टविरोधी बनेर हटाइनेछैनौ। यदि तिमीहरूलाई आफ्ना महत्त्वाकाङ्क्षाहरू ज्यादै ठूला छन्, आफू हैसियतका निम्ति बारम्बार कुनै पनि उपायको सहारा लिन्छु, अनि खानपान त्याग्न, र कुनै पनि कष्ट सहन पनि इच्छुक छु, अनि कुनै पनि घृणास्पद विधि अपनाउन तयार छु भन्ने महसुस हुन्छ भने, यदि तिमीहरू आफू निर्लज्ज हुने बिन्दुमा पुगिसकेका छौ र तिमीहरूका महत्त्वाकाङ्क्षाहरूलाई नियन्त्रण गर्न गाह्रो छ भने, समस्या हुनेछ—निस्सन्देह, तिमीहरू ख्रीष्टविरोधी हौ। यदि तँ ख्रीष्टविरोधीका प्रकटीकरणहरू मात्र देखाउँछस् भने, अझै पनि मुक्तिको आशा हुन्छ। तर के तँ खतरामुक्त हुन्छस्? त्यो भएको छैन। यदि तँ ख्रीष्टविरोधीका यी प्रकटीकरणहरू देखाउँछस् भने, त्यसको मतलब तँ अझै परमेश्‍वरको विरोधमा छस्, कुनै पनि बेला उहाँलाई प्रतिरोध र इन्कार गर्न तयार छस्। अथवा, परमेश्‍वरले गरेको कुनै कुरा तेरा धारणासित नमिल्ने भएकाले, सायद तँ परमेश्‍वरलाई अध्ययन गर्न, उहाँलाई गलत बुझ्न, उहाँको आलोचना गर्न, र उहाँबारे धारणासमेत फैलाउन सक्छस्। त्यसपछि तँ परमेश्‍वरलाई अस्वीकार गरेर आफ्नै बाटो लाग्न, र अन्त्यमा परमेश्‍वरद्वारा हटाइन सक्छस्। तैँले कुनै पनि समय र स्थानमा प्रकट गर्ने कामकुराले तेरो स्वभावलाई जनाउन सक्छन्। त्यसकारण, तैँले सधैँ र हर ठाउँ प्रकट गर्ने कामकुरा तेरो स्वभावको प्रकटीकरण हुन्। किन हामी सधैँ स्वभाव परिवर्तनबारे छलफल गरिरहेका हुन्छौँ? किनभने स्वभाव परिवर्तन नहुने व्यक्ति परमेश्‍वरको शत्रु हो। ख्रीष्टविरोधीहरू सबै असाध्यै अपश्चात्तापी हुन्छन्, र आफ्नो जीवन परमेश्‍वरको विरोध गर्न र अन्त्यसम्म उहाँविरुद्ध खडा हुन समर्पण गर्छन्। तिनीहरूले परमेश्‍वर हुनुहुन्छ, उहाँले मानवजाति सृष्टि गर्नुभयो, र उहाँ मानवजातिलाई मुक्ति दिन सक्नुहुन्छ भनेर भित्री रूपमा स्विकारे पनि, आफ्नो प्रकृतिका कारण, आफू हिँड्ने मार्ग बदल्न सक्दैनन्, न त परमेश्‍वरको प्रतिरोध गर्ने र विरोध गर्ने सारलाई बदल्न नै सक्छन्।

ख्रीष्टविरोधीहरूको व्यवहारको सार भनेको निरन्तर विविध उपाय र विधि प्रयोग गरेर आफ्ना महत्त्वाकाङ्क्षा र चाहना पूरा गर्नु, मानिसहरूलाई बहकाउनु र फन्दामा पार्नु, अनि उच्च हैसियत प्राप्त गर्नु हो ताकि मानिसले तिनीहरूलाई पछ्याऊन् र आराधना गरून्। तिनीहरूले आफ्नो हृदयको गहिराइमा मानवजातिको लागि परमेश्‍वरसँग जानी-जानी होड गरिरहेका नहुन सक्छन्, तर एउटा कुरा निश्‍चित छ: तिनीहरूले मानवको लागि परमेश्‍वरसँग होड नगरे पनि, तिनीहरूले अझै पनि मानवको बीचमा हैसियत र शक्ति प्राप्त गर्न चाहन्छन्। एक दिन तिनीहरूले हैसियतका लागि परमेश्‍वरसँग होड गरिरहेका छन् भन्‍ने तिनीहरूले पत्ता लगाए पनि, र तिनीहरूले आफैलाई अलिकति लगाम लगाए पनि, तिनीहरूले अझै हैसियत र ख्याति पछ्याउन विभिन्न विधिहरू प्रयोग गर्छन्; केही मानिसहरूको अनुमोदन र आदर प्राप्त गरेर वैध हैसियत प्राप्त गर्न सकिन्छ भनेर तिनीहरूलाई हृदयमा स्पष्टै थाहा हुन्छ। छोटकरीमा भन्दा, ख्रीष्टविरोधीहरूले हरेक काममा कर्तव्य निर्वाह गरेजस्तो देखिए पनि, यसको परिणाम भनेको मानिसहरूलाई बहकाउनु, र तिनीहरूलाई आफ्नो पूजा गर्न र आफूलाई पछ्याउन लगाउनु हो—यसरी तिनीहरूले आफ्‍नो कर्तव्य निर्वाह गर्नु भनेको आफैलाई उचाल्‍नु र आफ्नै बारेमा गवाही दिनु हो। मानिसहरूलाई नियन्त्रण गर्ने—र मण्डलीमा हैसियत र शक्ति प्राप्त गर्ने—तिनीहरूको महत्वाकाङ्क्षा कहिल्यै परिवर्तन हुनेछैन। तिनीहरू पूराको पूरा ख्रीष्टविरोधी हुन्। परमेश्‍वरले जे भन्‍नुभए पनि वा गर्नुभए पनि, र उहाँले मानिसहरूलाई जे गर्न लगाउनुभए पनि, ख्रीष्टविरोधीहरूले जे गर्नुपर्ने हो त्यो गर्दैनन् वा उहाँका वचनहरू र मापदण्डहरूअनुसार आफ्‍नो कर्तव्य निर्वाह गर्दैनन्, न त कुनै पनि सत्यता बुझेको परिणामस्वरूप तिनीहरूले शक्ति र हैसियतसम्‍बन्धी तिनीहरूको खोजीलाई नै त्याग्छन्। जतिखेर पनि तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू अझै रहिरहेका हुन्छन्, यिनैद्वारा अझै पनि तिनीहरूको हृदय कब्जा गरिएको र तिनीहरूको सम्पूर्ण अस्तित्व नियन्त्रित पारिएको हुन्छ, र यसरी यिनैद्वारा तिनीहरूका बानीबेहोरा र विचारहरू निर्देशित गरिएको, र तिनीहरू हिँड्ने मार्ग निर्धारित भएको हुन्छ। तिनीहरू खाँटी ख्रीष्टविरोधी हुन्। ख्रीष्टविरोधीहरूमा सबभन्दा बढी के देखिन्छ? कतिपय मानिस भन्छन्, “ख्रीष्टविरोधीहरू मानिस प्राप्त गर्न परमेश्‍वरसित होडबाजी गर्छन्, तिनीहरू परमेश्‍वरलाई स्विकार्दैनन्।” तिनीहरूले परमेश्‍वरलाई नस्विकार्ने चाहिँ होइन; तिनीहरू हृदयमा सच्चा रूपले उहाँको अस्तित्व स्विकार्छन् र त्यसमा विश्वास गर्छन्। तिनीहरू उहाँलाई पछ्याउन इच्छुक हुन्छन् र सत्यता खोज्न चाहन्छन्, तर त्यसो गर्न सक्दैनन्, त्यसैले दुष्टता गर्न सक्छन्। तिनीहरूले मिठा कुराहरू धेरै भन्न सक्ने भए पनि एउटा कुरा कहिल्यै परिवर्तन हुँदैन: शक्ति र हैसियतका लागि तिनीहरूको महत्त्वाकाङ्क्षा र चाहना कहिल्यै परिवर्तन हुनेछैनन्। तिनीहरूले कहिल्यै असफलता वा रोकावटका कारण, वा परमेश्‍वरले तिनीहरूलाई पन्छाउनुभएको वा त्याग्नुभएको कारण शक्ति र हैसियत पछ्याउन छोड्नेछैनन्। ख्रीष्टविरोधीहरूको प्रकृति यस्तो हुन्छ। त्यसोभए तँ के भन्छस्, के कुनै ख्रीष्टविरोधीले कष्ट भोगेको, वा सत्यता अलि बुझेको, र परमेश्‍वरबारे अलि ज्ञान हासिल गरेको कारण कहिल्यै आफ्नो मार्ग परिवर्तन गरेर सत्यता पछ्याउन थालेको छ—के यस्ता मानिसहरू छन्? हामीले त्यस्तो कहिल्यै देखेका छैनौँ। हैसियत र शक्तिका निम्ति ख्रीष्टविरोधीहरूको महत्त्वाकाङ्क्षा र पछ्याइ कहिल्यै परिवर्तन हुनेछैनन्, अनि तिनीहरूले शक्ति हातमा लिएपछि, त्यसलाई कहिल्यै छोड्नेछैनन्; यसले ठ्याक्कै तिनीहरूको प्रकृति सार निर्धारण गर्छ। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई ख्रीष्टविरोधीहरूका रूपमा चित्रण गर्नुमा कुनै पनि गल्ती छैन; यो कुरालाई तिनीहरूको प्रकृति सारले नै निर्धारित गरेको छ। सायद, कतिपय मानिसहरूले ख्रीष्टविरोधीहरू मानवका निम्ति परमेश्‍वरसित होडबाजी गर्छन् भनी विश्‍वास गर्छन्। तर, कहिलेकाहीँ ख्रीष्टविरोधीहरूले उहाँसँग होड गर्नैपर्छ भन्ने हुँदैन; तिनीहरूको ज्ञान, बुझाइ, अनि हैसियत र शक्तिको चाहना सामान्य मानिसहरूका भन्दा फरक हुन्छ। सामान्य मानिसहरू कहिलेकाहीँ सेखीले भरिएका हुन सक्छन्; तिनीहरूले अरूको श्रेय पाउने, राम्रो प्रभाव पार्ने, र राम्रो दर्जाका लागि प्रतिस्पर्धा गर्ने कोसिस गर्न सक्छन्। सामान्य मानिसहरूको महत्त्वाकाङ्क्षा यही हो। यदि तिनीहरू अगुवाइबाट बर्खास्त भए, र तिनीहरूको हैसियत गुम्यो भने, तिनीहरूलाई कठिन पर्नेछ, तर तिनीहरूको वातावरण परिवर्तन भयो, तिनीहरूको कदमा केही वृद्धि भयो, सत्यतामा केही प्रवेश प्राप्त भयो, वा सत्यताको बारेमा गहन बुझाइ प्राप्त भयो भने, तिनीहरूको महत्त्वाकाङ्क्षा बिस्तारै सेलाउँदै जान्छ। तिनीहरूले लिने मार्गमा र तिनीहरू अघि बढ्ने दिशामा परिवर्तन आउँछ, र प्रतिष्ठा र शक्ति सम्‍बन्धी तिनीहरूको खोजी बिलाएर जान्छ। तिनीहरूका चाहनाहरू पनि बिस्तारै कम हुँदैजान्छन्। तापनि, ख्रीष्ट विरोधीहरू फरक हुन्छन्: तिनीहरूले प्रतिष्ठा र शक्ति सम्‍बन्धी आफ्‍नो खोजीलाई कहिल्यै पनि त्याग्‍न सक्दैनन्। जुनै पनि समयमा, कुनै पनि वातावरणमा, र तिनीहरूको वरिपरि जस्तो सुकै मानिसहरू भए पनि र तिनीहरू जत्ति नै वृद्ध भए पनि तिनीहरूको महत्त्वाकाङ्क्षा र चाहना कहिल्यै परिवर्तन हुनेछैन। कुन कुराले तिनीहरूको महत्त्वाकाङ्क्षा कहिल्यै परिवर्तन हुँदैन भन्ने सङ्केत दिन्छ? उदाहरणका लागि, मानिलिऊँ ऊ मण्डली अगुवा हो। ऊ आफ्नो हृदयमा सधैँ मण्डलीका सबैलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर सोचिरहेको हुन्छ। यदि उसलाई ऊ अगुवा नरहेको अर्को मण्डलीमा सरुवा गरियो भने, के ऊ खुसीसाथ सामान्य अनुयायी हुनेछ? कदापि हुनेछैन। ऊ अझै पनि कसरी हैसियत प्राप्त गर्ने, र कसरी सबैलाई नियन्त्रण गर्ने भनेर नै सोचिरहेको हुनेछ। ऊ जहाँ गए पनि, राजाझैँ शासन गर्न चाहन्छ। उसलाई मानिसहरू नै नभएको ठाउँमा, भेडाहरूको बथानमा राखिए पनि ऊ अझै पनि बथानलाई नेतृत्व गर्न चाहन्छ। यदि उसलाई कुकुर र बिरालाहरूसँग राखियो भने, ऊ कुकुर र बिरालाहरूको राजा हुन, र ती जनावरहरूमाथि शासन गर्न चाहन्छ। ऊ महत्त्वाकाङ्क्षाले भरिएको हुन्छ, हुँदैन र? के यस्ता मानिसहरूको स्वभाव पैशाचिक हुँदैन र? के यी शैतानका स्वभावहरू होइनन् र? शैतान ठ्याक्कै यस्तै हुन्छ। स्वर्गमा, शैतान परमेश्‍वर बराबर भएर उभिन चाहन्थ्यो, र पृथ्वीमा फालिएपछि त्यसले सधैँ मानिसलाई नियन्त्रण गर्ने, मानिसलाई त्यसको आराधना गर्न र त्यसलाई परमेश्‍वरको रूपमा लिन लगाउने प्रयास गऱ्यो। ख्रीष्टविरोधीहरू सधैँ मानिसहरूलाई नियन्त्रण गर्न चाहन्छन् किनकि तिनीहरूमा शैतानी प्रकृति हुन्छ; तिनीहरू आफ्नो शैतानी स्वभावअनुसार जिउँछन्, जुन सामान्य मानिसहरूको समझको सीमाबाहिर गइसकेको छ। के यो अलि असामान्य कुरा होइन र? यो असामान्यताले केलाई जनाउँछ? यसको अर्थ तिनीहरूको व्यवहार सामान्य मानवतामा पाइनु हुँदैन। त्यसोभए, यो व्यवहारचाहिँ के हो त? यसलाई केले नियन्त्रण गर्छ? यसलाई तिनीहरूको प्रकृतिले नियन्त्रण गर्छ। तिनीहरूमा दुष्टात्माको सार हुन्छ, र तिनीहरू सामान्य भ्रष्ट मानवजातिजस्तो हुँदैनन्। फरक यही हो। ख्रीष्टविरोधीहरू आफ्नो शक्ति र हैसियतको पछ्याइमा कुनै कुरामा पनि नरोकिनुले तिनीहरूको प्रकृति सार खुलासा गर्ने मात्र नभई, मानिसहरूलाई तिनीहरूको घिनलाग्दो रूप ठ्याक्कै शैतान र पिशाचहरूको रूप हो भन्नेसमेत देखाउँछ। तिनीहरू हैसियतका लागि मानिसहरूसित मात्र होड गर्दैनन्, परमेश्‍वरसँग पनि हैसियतका लागि होड गर्ने आँट गर्छन्। तिनीहरू तब मात्र सन्तुष्ट हुनेछन् जब तिनीहरूले परमेश्‍वरका चुनिएका जनहरूलाई आफ्नै लागि लैजान्छन् र उनीहरूलाई पूर्ण रूपले आफ्नो नियन्त्रणमा लिन्छन्। ख्रीष्टविरोधीहरू जुनै मण्डली वा मानिसहरूको समूहमा भए पनि, हैसियत प्राप्त गर्न, शक्ति हातमा लिन, र मानिसहरूलाई आफ्नो कुरा सुन्न लगाउन चाहन्छन्। मानिसहरू इच्छुक वा सहमत भए पनि नभए पनि, ख्रीष्टविरोधीहरू अन्तिम निर्णय गर्न र मानिसहरूलाई आफ्नो आज्ञापालन गराउन र आफूलाई स्वीकार गर्न लगाउन चाहन्छन्। के यो ख्रीष्टविरोधीको प्रकृति होइन र? के मानिसहरू तिनीहरूका कुरा सुन्न इच्छुक हुन्छन्? के उनीहरू तिनीहरूलाई चयन र अनुमोदन गर्छन्? गर्दैनन्। तर ख्रीष्टविरोधीहरू अझै पनि अन्तिम निर्णय गर्न चाहन्छन्। चाहे मानिसहरू सहमत होऊन् वा नहोऊन्, ख्रीष्टविरोधीहरू आफ्नो पक्षमा बोल्न र काम गर्न चाहन्छन्, तिनीहरू सबैको नजरमा देखिन चाहन्छन्। तिनीहरू अरू मानिसमाथि आफ्ना विचारहरू लाद्नसमेत प्रयास गर्छन्, र यदि मानिसहरूले त्यो स्विकारेनन् भने, ख्रीष्टविरोधीहरूले दिमाग खियाएर उनीहरूलाई त्यो स्विकार्न लगाउने प्रयास गर्नेछन्। यो कस्तो समस्या हो? यो लाज पचाउनु र निर्लज्जपन हो। यस्ता मानिसहरू खाँटी ख्रीष्टविरोधी हुन्, र तिनीहरू अगुवा भए पनि नभए पनि, ख्रीष्टविरोधी नै हुन्। तिनीहरूमा ख्रीष्टविरोधीको प्रकृति सार हुन्छ।

कतिपय मानिस मण्डलीका अगुवाहरू को हुन्, को चाहिँ सुसमाचार प्रचार गर्ने कार्यमा संलग्न छ, तिनीहरू सबै कहाँ बस्छन्, तिनीहरूको कोसँग नजिकको सम्बन्ध छ आदि कुरा पत्ता लगाउनुलाई सधैँ ठूलो महत्त्व दिन्छन्। शैतानको सुराकीजस्तै, तिनीहरू सधैँ यी कुराहरूको चियोचर्चो गरिरहेका र पत्ता लगाइरहेका हुन्छन्। किन तिनीहरू सधैँ यी मामलाहरूबारे चासो राख्छन्? धेरै मानिसले तिनीहरूका मनसाय बुझ्न सक्दैनन्; तिनीहरूलाई यी व्यक्तिहरू अलि असामान्य छन् भन्ने मात्र लाग्छ। धेरैजसो मानिस यी कुराहरूमा रूचि राख्दैनन्; उनीहरू आफ्नै कर्तव्यमा व्यस्त हुन्छन् र अर्को काममा हात हालिहिँड्ने यिनीहरूसँग समय नै हुँदैन। उनीहरू आफ्नै कर्तव्य निर्वाहमा ध्यान दिन्छन् र सत्यता अभ्यासमा केन्द्रित हुन्छन्, र थाहै नपाई तिनीहरूका स्वभावहरू परिवर्तन हुन्छन्—यो परमेश्‍वरको अनुग्रह हो। तर, मण्डलीसम्बन्धी सबै प्रकारका मामलाहरूको चियोचर्चो गर्न र पत्ता लगाउन अत्यन्तै उत्साहित हुने खालको व्यक्ति पनि हुन्छ। उसले कुनै अगुवालाई भेटेपछि सोध्छ, “तपाईंले मण्डलीमा त्यो फलानो-फलानो दुष्ट व्यक्तिलाई कसरी तह लगाउनुभयो?” अगुवाले जवाफ दिन्छ, “हामीले जसरी तह लगाए पनि तिमीलाई केको चासो? तिमी यसमा के चियोचर्चो गर्दै छौ? के तिमी त्यस व्यक्तिलाई चिन्छौ?” त्यो व्यक्तिले भन्छ, “यतिकै चासो राखेको, तपाईंलाई थाहै छ? यो परमेश्‍वरको घरको मामला हो। परमेश्‍वरको घरको सदस्य हुनुका नाताले, हामी जोसिलो हुनुपर्छ र हामीले उहाँको घरका मामलाहरूलाई राम्रोसँग ध्यान दिनुपर्छ। हामी तीबारे कसरी उदासीन हुन मिल्छ र?” अगुवाले उसलाई बताउँछ, “तिमीले यस मामलामा चियोचर्चो गर्नु हुँदैन। प्रवचन सुन्न र भेलाहरूमा सहभागी हुनमा ध्यान देऊ। तिम्रो उचित काम त परमेश्‍वरका वचनहरू खानु र पिउनु हो। तिमीले परमेश्‍वरमा उचित रूपमा विश्वास गरे पुग्छ।” त्यस व्यक्तिले जिद्दी गर्छ, “त्यो राम्रो होइन, मैले चासो राख्नुपर्छ।” उसलाई कसैले नबताउने भएकाले, उसले कहाँ गएर चियोचर्चो गर्ने भनी सोच्छ। जब माथिल्ला अगुवाहरूले उसको घरमा सहकर्मी भेला सञ्चालन गर्छन्, तब उसलाई त्यहाँ प्रवेश गर्नु र सामेल हुनु अलि अनुचित लाग्छ, त्यसैले ऊ पानी लिएर आएको बहाना बनाउँछ, र त्यो दुष्ट व्यक्तिलाई निष्कासन गरियो कि रहन दिइयो भनेर सोधपुछ गर्छ। कसैले नबताएपछि, ऊ बाहिर जान्छ र ढोका अलिकति उघारेर अरूले नदेख्ने गरी उभिएर सुन्छ। के यो व्यक्ति मानसिक रोगी होइन र? हो, ऊ मानसिक रोगी हो; बोलीचालीको भाषामा, हामी त्यसलाई “लाउके” भन्छौँ। यस्तो व्यक्तिमा निश्चय नै महत्त्वाकाङ्क्षाहरू हुन्छन्। ऊ अगुवा बन्न चाहन्छ, तर सक्दैन, त्यसैले उसले अरूका मामलामा हस्तक्षेप गरेर आफूलाई सहानुभूति दिन्छ, र त्यो सँगसँगै उसलाई धेरै कुरा थाहा छ र उसमा ठूलो अन्तर्ज्ञान छ भनेर मानिसहरूले देखेको सुनिश्चित गर्छ। यसरी, ऊ भविष्यमा अगुवाका रूपमा चुनिन सक्छ। अगुवा बन्नका लागि, ऊ हरेक कुरामा सहभागी हुन, सबथोकबारे सोधपुछ गर्न, र सबथोक जान्न चाहन्छ। उसलाई आफू दिनदिनै यी मामलाहरूमा संलग्न भइयो भने, आफू अगुवा नबने पनि, कामकुराको प्रभारी चाहिँ होइन्छ, र यसले गर्दा आफूलाई मानिसहरूले आदर गर्न सक्छन् भन्ने लाग्छ। उसलाई सत्यतामा अलिकति पनि रूचि हुँदैन; ऊ अरूका मामलामा हस्तक्षेप गर्नेबारे मात्र चासो राख्छ—ऊ आफूले जान्न चाहेका कुराहरूको चियोचर्चो गर्नमा पोख्त हुन्छ। जहाँ समस्या हुन्छ, ऊ त्यहाँ पुग्छ, दिक्क बनाउने झिँगाझैँ भन्किहिँड्छ। के यस्ता मानिसहरू घृणास्पद हुँदैनन् र? तिनीहरू यतिसम्म अन्योल हुन्छन्, तैपनि निकै ऊर्जावान् हुन्छन्—तिनीहरू कुनै उचित काम गर्नेबारे सोच्दै सोच्दैनन्। तिनीहरू आफ्नो घरमा पाहुना राख्ने कर्तव्य निभाउँछन्, तैपनि किचनको भुइँ फोहोर भए पनि पुछ्न इच्छुक हुँदैनन्। तिनीहरूलाई आफूले महत्त्वपूर्ण मामलाहरू सम्हालिरहेको, र भुइँ पुछ्नु साधारण मानिसहरूले गर्ने कुरा हो भन्ने लाग्छ। तिनीहरू आफूमा भएको क्षमताले तल्लो स्तरका यस्ता कामहरू गर्न सक्दैनन्। तिनीहरू कुनै वास्तविक काम बिलकुलै गर्दैनन्, आफ्नो कर्तव्यमा पर्ने काम सम्हाल्न सक्दैनन्, कुनै पनि कर्तव्य राम्ररी निर्वाह गर्न सक्दैनन्, र इमानदारीपूर्वक वा व्यावहारिक रूपमा कामकुरा गर्दैनन्; बरु, तिनीहरू मण्डलीको काम, साथै मण्डलीका अगुवा, कामदारहरू र दाजुभाइ-दिदीबहिनीहरूसँग सम्बन्धित महत्त्वपूर्ण मामिलाबारे चियोचर्चो गर्न उत्सुक हुन्छन्। तिनीहरू हरकुरामा आफ्ना विचार राख्न चाहन्छन्, र यदि मानिसहरू त्यो सुन्न इच्छुक नभएमा, तिनीहरू यसो भन्छन्, “यदि तिमीले मेरो कुरा ध्यान दिएनौ भने, तिमीलाई घाटा हुनेछ!” के यो अव्यावहारिक कुरा होइन र? (हो।) त्यसकारण, कतिपय ख्रीष्टविरोधीहरू लुकेका हुन्छन्; तिनीहरूले हैसियत पाउनैपर्छ भन्ने छैन। त्योविना पनि, तिनीहरू अझै अति उत्साहित र ऊर्जावान् हुन्छन्। यदि तिनीहरूले हैसियत प्राप्त गर्ने हो भने, कति नराम्रो हुनेथ्यो होला? तिनीहरू कति माथि उफ्रिन्थे होलान्? तिनीहरूलाई आफू झरेर मरे पनि फरक पर्नेथिएन। ल भन्, यदि यस्ता मानिसहरू अगुवाका रूपमा चुनिएका भए, के परमेश्‍वरका चुनिएका मानिसहरूले खुसीको जीवन पाउन सक्थे? कतिपय ख्रीष्टविरोधीहरू लुकेका हुन्छन्—यसको अर्थ के हो? यसको अर्थ ख्रीष्टविरोधीहरू हैसियत पाएपछि ख्रीष्टविरोधी बन्ने होइनन्; तिनीहरू सुरुदेखि नै ख्रीष्टविरोधी थिए। यति मात्र हो, मानिसहरूको कद सानो भएर उनीहरूले तिनीहरूलाई खुट्ट्याउन नसकेकाले, वा सायद केही मण्डलीले सत्यता पछ्याउनेहरू भेट्टाउन नसकेकाले, उनीहरूले आफ्ना अगुवाका रूपमा कामकुराको योजना बनाउन र कामकाज गर्न सक्ने यी उत्साहित मानिसहरूलाई रोजेका हुन्। अहिलेका लागि, तिनीहरूलाई अगुवाका रूपमा छान्नु सही थियो कि गलत भन्नेबारे छलफल नगरौँ; तिनीहरू ख्रीष्टविरोधी हुन् भन्ने पत्ता लागेपछि के गर्नुपर्छ भन्नेमा ध्यान दिऔँ। तिनीहरूलाई खुलासा र अस्वीकार गर्नुपर्छ। यदि कुनै व्यक्तिलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गरिएको छ र उसलाई पदबाट बर्खास्त गरिएको छ भने, के यस्ता मानिसहरूलाई भविष्यमा फेरि अगुवाका रूपमा चयन गर्दा हुन्छ? (अहँ, हुँदैन।) किन? (तिनीहरूको प्रकृति परिवर्तन हुनेछैन।) ख्रीष्टविरोधीको रूपमा चित्रण भएको जो कोहीलाई फेरि अगुवाको रूपमा चुन्नु हुँदैन किनकि उसको प्रकृति सार परिवर्तन हुन सक्दैन। ख्रीष्टविरोधीहरू शैतानका लागि मात्र काम गर्छन्; तिनीहरू केवल शैतानका दास हुन्। तिनीहरूले सत्यताको खातिर कहिल्यै केही गर्ने वा भन्नेछैनन्। ख्रीष्टविरोधीको सार नै परमेश्‍वरसँग शत्रुता गर्ने, सत्यताप्रति वितृष्ण राख्ने, र त्यसलाई अस्वीकार र अनादर गर्ने हुन्छ। तिनीहरूको प्रकृति परिवर्तन हुनेछैन। यदि यसअघि यस्ता मानिसहरू अगुवा भएका छैनन् भने, तिनीहरूलाई चुन्नु हुँदैन, र यदि तिनीहरू यसअघि अगुवा थिए तर तिनीहरूलाई बर्खास्त गरिएको थियो भने, के तिनीहरू भविष्यमा फेरि पनि अगुवा बनेको खण्डमा परिवर्तन हुनेछन्? (अहँ, हुनेछैनन्।) तिनीहरू अझै पनि ख्रीष्टविरोधी नै हुन्छन्। तिनीहरूको प्रकृति सारले यो कुरा निर्धारण गर्छ।

आ. ख्रीष्टविरोधीहरूले मानिसहरूलाई कसरी लोभ्याउँछन् भन्ने कुराको विश्लेषण

हामीले भर्खरै ख्रीष्टविरोधीहरूले मानिसहरूलाई भ्रममा पार्नुका प्रकटीकरणहरूबारे छलफल गऱ्यौँ। भ्रममा पार्नु र लोभ्याउनुको लगभग एउटै अर्थ हुन्छ, तर प्रकृति र विधि दुवै हिसाबले ती फरक हुन्छन्। भ्रममा पार्नु भनेको झूटो रूप प्रयोग गरेर मानिसहरूलाई गलत दिशामा डोऱ्याउनु, उनीहरूलाई ती साँचो हुन् भनी विश्‍वास गराउनु हो। लोभ्याउनु भनेको जानाजानी केही विधि प्रयोग गरेर मानिसहरूलाई कुनै निश्चित व्यक्तिको कुरा सुन्न र उसको मार्ग पछ्याउन लगाउनु हो—तिनीहरूको अभिप्राय प्रस्टै हुन्छ। भ्रममा पार्नु र लोभ्याउनुमा मानिसहरूलाई भ्रममा पार्न सही देखिने शब्दहरू प्रयोग गर्नु, मानिसहरूलाई भ्रममा पार्न मानव धारणासँग मिल्दो र उनीहरूले सजिलै स्विकार्ने कुराहरू भन्नु समावेश छन्। मानिसहरू तिनीहरूलाई थाहै नपाई विश्‍वास गर्न र पछ्याउन, तिनीहरूसँगै ताँतीमा उभिन र तिनीहरूको गिरोहमा आबद्ध हुन थाल्छन्। यसरी, ख्रीष्टविरोधीहरूले मानिसहरूलाई मानिसहरूको सही समूहबाट आफ्नो समूहमा तान्छन्। छोटकरीमा भन्नुपर्दा, यदि मानिसहरूले ख्रीष्टविरोधीहरूका यस्ता कार्यहरू स्विकार्छन् भने, सायद उनीहरू तिनीहरूलाई विश्‍वास र आराधना गर्छन्, र त्यसपछि ख्रीष्टविरोधीहरूले भनेका सबथोक स्विकार्छन् र पालन गर्छन्, तिनीहरूलाई थाहै नपाई पछ्याउन थाल्छन्। के उनीहरूलाई मूर्ख बनाइएका र धोका दिइएका होइनन् र? कतिपय ख्रीष्टविरोधी मानिसहरूसित अन्तरक्रिया र कुराकानी गर्ने क्रममा उनीहरूलाई भ्रममा पार्ने र लोभ्याउने आफ्नो लक्ष्य हासिल गर्न प्रायः निश्चित तरकिबहरू चलाउँछन्, जसको फलस्वरूप मण्डलीभित्र विभाजन, दलबन्दी, र गुटबन्दी पैदा हुन्छ। उदाहरणका लागि, यदि कुनै ख्रीष्टविरोधी दक्षिणको हो र उसले दक्षिणको अर्को व्यक्तिलाई भेट्यो भने, त्यो ख्रीष्टविरोधीले भन्ला, “हामी दुवै दक्षिणका हौँ: हामी एउटै धाराको पानी पिएर हुर्केका हौँ, र हामी एउटै भाषा बोल्छौँ। उत्तरका मानिसहरू हाम्रो भाषा बोल्दैनन्—तिनीहरूसित नजिक हुन असम्भव छ! हामी सबैले एउटै परमेश्‍वरमा विश्‍वास गर्ने भए पनि, उत्तरकाहरूको जीवन शैलीहरू हाम्राभन्दा फरक छन्, र हाम्रा व्यक्तित्व मिल्दैनन्। हामीले कुरा गर्ने कुनै कुरा छैन। त्यसैले, तिमी र म परिवारजस्तै हौँ र हामी एक हुनुपर्छ।” यो कुरा व्यावहारिक, उसले कुनै निश्चित दृष्टिकोण मात्र व्यक्त गरिरहेकोझैँ लाग्ला, तर उसले यो कुरा मनसाय र उद्देश्य राखेर भनेको हुन्छ, र मानिसहरूले त्यो खुट्ट्याउनुपर्छ। वास्तवमा, ख्रीष्टविरोधीले जे भन्छ त्यो उसको हृदयको कुरा हुँदैन; ऊ छेपारोजस्तै हुन्छ, उसले व्यक्तिअनुसार बोली फेरेर बोल्छ। ख्रीष्टविरोधीले उत्तरका मानिसहरू भेट्दा, यसो भन्ला, “उत्तर अत्यन्तै राम्रो छ; त्यहाँको हावा स्वच्छ छ। म दक्षिणमा जन्मेको भए पनि, उत्तरको पानी पिएर हुर्केको हुँ। अरू केहीले नभए पनि त्यसले हामीलाई नजिक बनाउँछ!” जब उत्तरका मानिसहरूले यो कुरा सुन्छन्, तब तिनीहरूलाई त्यो ख्रीष्टविरोधी अत्यन्तै राम्रो व्यक्ति हो भन्ने लाग्न सक्छ र ऊसँग सङ्गत गर्न थाल्छन्। ख्रीष्टविरोधी आफ्नै फाइदाका लागि समूह बनाएर उसको आफ्नै गुटबन्दी बनाउने लक्ष्य पूरा गर्नहेतु मानिसहरूलाई भ्रममा पार्न र लोभ्याउनमा, मण्डलीलाई विभाजित पार्न विभिन्न रणनीतिहरू प्रयोग गर्नमा, दक्षिण र उत्तरका मानिसहरूलाई भिन्न समूहहरू निर्माण गराउनमा अत्यन्तै माहिर हुन्छ। विशेष गरी मण्डलीको चुनावका बेला, यदि ख्रीष्टविरोधीले उत्तरका कुनै दाजुभाइ वा दिदीबहिनी चयन हुन सक्ने देखेमा, धाँधली गर्छ, गोप्य रूपले मत हेरफेर गर्छ, र अन्त्यमा, सम्पूर्ण मण्डली अगुवा र डिकनहरू दक्षिणकै चुनिन पुग्छन्। ख्रीष्टविरोधीहरू मानिसहरूलाई भ्रममा पार्न र लोभ्याउन कुनै कसर बाँकी छोड्दैनन्, विभाजन र फूट गराउँछन् र यी विधिहरू प्रयोग गरेर मण्डलीलाई टुक्राउँछन् र नियन्त्रण गर्छन्। तिनीहरूले यसो गर्नुको उद्देश्य के हो? (आफ्नै स्वतन्त्र राज्य स्थापित गर्न।) स्वतन्त्र राज्य स्थापना गर्नुको प्रकृति कस्तो हुन्छ? यसको अर्थ ख्रीष्टसित घोर अमेल हुनु, परमेश्‍वरका चुनिएका जनलाई आफ्नो भनी दाबी गर्नु, र परमेश्‍वर समान भएर उहाँविरुद्ध उभिनु हो। के यो परमेश्‍वरविरुद्ध विरोध प्रदर्शन गर्नुजस्तै होइन र? (हो।) यो ठ्याक्कै त्यही हो। त्यसोभए, ख्रीष्टविरोधीहरूले यस्तो कार्य गर्नुका परिणामहरू के-के हुन्? तिनीहरूका कार्यले मण्डलीको काममा गम्भीर रूपले बाधा र अवरोध पुऱ्याउँछन्, र ती सिधै परमेश्‍वरको स्वभावलाई चिढ्याउने कुरा हुन्। परमेश्‍वर क्रोधित भएर तिनको प्रतिवाद गर्नुहुनेछ, अनि यस्ता सबै ख्रीष्टविरोधीले निश्चय नै दण्ड र विनाश भोग्नैपर्छ—यसमा शङ्कै छैन। व्यवस्थाको युगमा, मोशाको आलोचना गर्ने २५० जना अगुवाहरूले सिधै दण्ड पाएका थिए। अनुग्रहको युगमा, प्रभु येशूलाई क्रूसमा टाँग्नेहरूले पनि सिधै दण्ड भोगे; तिनीहरू श्रापित भए र तिनीहरूको नराम्रोसँग अन्त्य भयो। ख्रीष्टविरोधीहरूले परमेश्‍वरको विरोध गर्नुको परिणाम र परमेश्‍वरको प्रतिरोध गर्नेहरूले भोग्नुपर्ने अन्त्य यही हो।

कसरी ख्रीष्टविरोधीहरू मण्डलीलाई विभाजित गर्न विभिन्न विधि प्रयोग गरेर मानिसहरूलाई लोभ्याउँछन्? पहिलो कुरा, कुनै ख्रीष्टविरोधीले प्रतिभावान् र बोल्नमा सिपालु मानिसहरूलाई लोभ्याउनेछन्, पहिला तिनीहरूमा आफ्नो राम्रो छाप पार्नेछन्, साथी बनाएर आफ्नो शक्तिको दायरा बढाउनेछन्। उसले गरिब मानिसहरू वा कम क्षमताका वा निकै निष्कपट मानिसहरूलाई ध्यान दिनेछैन वा बहिष्कारसमेत गर्ला। उसले समाजमा हैसियत र धन हुने मानिसहरूको मन जित्ने उपाय सोच्नेछ, जबकि इमानदारीसाथ समर्पित हुने र थोरै पैसा भएका, वा सामाजिक हैसियत कम हुने, कुनै उल्लेखनीय शक्ति नहुने, र अरूले सजिलै धम्काउने दाजुभाइ-दिदीबहिनीहरूलाई मण्डलीमा दोस्रो दर्जाका नागरिक मानिन्छ। यसरी, केही दर्जन सदस्यहरू भएको मण्डली थाहै नपाउने गरी मानिसहरूको दुई वर्गमा विभाजित हुन्छ। यसको जिम्मेवार को हो? (ख्रीष्टविरोधीहरू।) ख्रीष्टविरोधीहरूले यस्ता कामकुरा गर्नेछन्। यदि साँच्चै सत्यता बुझ्ने असल अगुवाले मण्डलीभित्र यस्तो परिस्थिति देखा परिरहेको थाहा पाएमा, सत्यता प्रयोग गरेर त्यो समाधान गर्नेछ। उसले मण्डलीका मानिसहरूलाई दर्जाअनुसार छुट्टिन वा उनीहरूको सामाजिक हैसियतका आधारमा वर्गीकृत हुन दिनेछैन, न त मण्डलीलाई टुक्राउने नै छ। उसले सबै दाजुभाइ-दिदीबहिनीहरू, उनीहरू जहाँबाट आए पनि वा उनीहरूसँग कुनै सामाजिक हैसियत भए पनि नभए पनि, परमेश्‍वरका वचनहरूमा र परमेश्‍वरसामु एकताबद्ध भएको सुनिश्चित गर्नेछ। अर्कोतिर, ख्रीष्टविरोधीहरू यस्ता समस्याहरू समाधान नगर्ने मात्र होइन बरु आफ्ना लक्ष्यहरू हासिल गर्न मानिसहरूका भ्रष्ट स्वभावहरू प्रयोग गर्छन्। तिनीहरू सामाजिक हैसियत र धन भएकाहरूलाई खोज्छन् र लोभ्याउँछन्। तिनीहरू उनीहरूलाई कसरी लोभ्याउँछन्? तिनीहरूले यसो भन्न सक्छन्, “तिम्रो सामाजिक हैसियत परमेश्‍वरले दिनुभएको आशिष् हो जुन परमेश्‍वरद्वारा निर्धारित थियो। तिमीले आफ्ना अवस्थाहरूलाई परमेश्‍वरको घरमा आफ्नो कर्तव्य पूरा गर्न प्रयोग गर्नुपर्छ। अहिले म अगुवा हुँ, र आफ्नो विश्‍वासका कारण यो क्षेत्रमा निकै परिचित छु। मेरो परिवारले मलाई धेरै सताउँछ, र मेरो नेतृत्व भूमिकाको सम्बन्धमा केही जोखिमहरू छन्। मलाई आफू सुरक्षित हुन तिमीजस्ता मानिसहरूको सहयोगको खाँचो छ। यदि तिमीले मेरा लागि त्यति गरिदिन सक्छौ भने, तिमीले भविष्यमा धेरै आशिष् पाउनेछौ, र जीवनमा तीव्र प्रगति गर्नेछौ!” यसरी नै ख्रीष्टविरोधीहरू मानिसहरूलाई तिनीहरूको पछि लाग्न लोभ्याउने र फुस्ल्याउने गर्छन्। यदि कुनै ख्रीष्टविरोधीलाई कोही मन पऱ्यो वा ऊ उपयोगी लाग्यो भने, त्यसलाई सजिला कर्तव्यहरू वा ऊ सबैको नजरमा पर्ने कर्तव्यहरू गर्न लगाउँछ, र उसलाई अघि बढाउन सक्दो प्रयास गर्छ। ऊ परमेश्‍वरको घरमा मानिसहरूलाई प्रयोग गर्ने सिद्धान्तहरू त्यसले पूरा गर्छ कि गर्दैन भनेर वास्ता गर्दैन। यदि यस व्यक्तिसँग सामाजिक हैसियत छ र त्यो उसका लागि उपयोगी हुन सक्छ भने, उसले त्यसलाई लोभ्याउँछ। ख्रीष्टविरोधीहरू आफ्ना लक्ष्यहरू पूरा गर्नका निम्ति समाजमा धन र हैसियत भएकाहरूसित नजिकिन्छन्, उनीहरूलाई चिप्लो घस्छन्, र लोभ्याउँछन्, त्यो सँगसँगै तिनीहरूबाट सिधै फाइदा उठाउँछन्। तिनीहरूसँग पैसा, शक्ति र हैसियत भएका मानिसहरूलाई लोभ्याउने दोस्रो विधि पनि हुन्छ, त्यो हो, उनीहरूलाई लिप्त बनाउनु। त्यस्ता मानिसहरूले प्रायः मण्डलीमा गलत कुरा गर्छन्, दाजुभाइ-दिदीबहिनीहरूको उत्साह कम गरिदिन्छन् र मण्डली जीवनमा बाधा पुऱ्याउँछन्। ख्रीष्टविरोधीहरू खुसीसाथ हेरेर बस्छन् र उनीहरूलाई गर्न मन लाग्ने दुष्कर्महरू गर्न दिन्छन्। ख्रीष्टविरोधीले लिप्त बनाउनुको उद्देश्य के हो? उनीहरूलाई लोभ्याउनु र लोभ्याइसकेपछि उनीहरूबाट फाइदा उठाउनु हो। ख्रीष्टविरोधीहरू बहाना बनाएर उनीहरूलाई यस्तोसमेत भन्छन्, “तिमीहरूले मलाई अगुवाका रूपमा चुने पनि, र ममा तिमीहरूलाई अगुवाइ गर्ने जिम्मेवारी भए पनि, यो मण्डली मेरो मात्र होइन। म मण्डलीभित्र एक्लै निर्णयहरू गर्न सक्दिनँ। तिमीहरूले पनि सहयोग गर्नुपर्छ; यदि केही आइपऱ्यो भने तिमीहरू पनि केही भन्न सक्छौ—सहकार्य गर्नु भनेको यही हो।” तिनीहरू यो कुरा धनी, प्रभावशाली, र तिनीहरूका लागि फाइदाजनक मानिसहरूलाई भन्छन्, उनीहरूलाई नियन्त्रण गर्न सक्ने हदमा नपुगुञ्जेल लोभ्याउन सक्दो गर्छन्। तर, तिनीहरू परमेश्‍वरमा साँचो विश्‍वास गर्ने तर पैसा, सामाजिक हैसियत, वा कुनै प्रस्ट उपयोगिता नभएकाहरूलाई बहिष्कार गर्न, आक्रमण गर्न, वा सिधै बेवास्ता गर्न हदै प्रयास गर्छन्। तिनीहरूले उपेक्षा गर्नुको अर्थ के हो? “यदि हामीमध्ये थोरै जना एक भयौँ र बलियो गढ बन्यौँ भने, मेरो अनुमानमा तिमीहरू सर्वसाधारणले कुनै ठूलो प्रभाव पार्न सक्दैनौ। यदि तिमी आज्ञाकारी तरिकाले मेरा कुराहरू सुन्छौ भने, म तिमीलाई विश्‍वास गरिरहन दिनेछु। तर यदि तिमी सानातिना गल्तीहरू कोट्याइरहन्छौ, मेरो बारेमा आफ्ना रायहरू राख्छौ, वा माथिल्लो तहलाई मेरो रिपोर्ट गरिरहन्छौ भने, म तिमीलाई सास्ती दिनेछु र निष्कासित गर्नेछु!” यो तिनीहरूको योजना हो। कतिपय मानिसहरूमा समझशक्ति हुँदैन र उनीहरू डराएर यसो भन्छन्, “हामीले तिनीहरूलाई फिटिक्कै चिढ्याउनु हुँदैन। तिनीहरूले आफ्नै गुट बनाएका छन्, तर हामी त्यसो गर्न सक्दैनौँ। हाम्रो बोलीमा त्यति दम हुँदैन, र यदि हामीले भूलवश तिनीहरूलाई नाराज पार्ने केही भन्यौँ र त्यो अगुवाले हामीलाई वास्तवमै निष्कासित गऱ्यो भने, हामीले परमेश्‍वरमा विश्‍वास गर्ने अवसर गुमाउनेछौँ।” यी मानिसहरूको सातोपुत्लो उड्छ। ख्रीष्टविरोधीहरूले मानिसहरूलाई लोभ्याउँदा, यस व्यवहारभित्र दुष्ट, क्रूर र दुर्भावपूर्ण स्वभाव हुन्छ। तिनीहरूले मानिसहरूलाई लोभ्याउनुको उद्देश्य के हो? यो आफ्नो पद बलियो पार्नलाई पनि हो। तिनीहरूले गुट वा गिरोह बनाउनुको उद्देश्य के हो? यो तिनीहरूको शक्तिको दायरा फैलाउनु, मानिसहरूलाई तिनीहरूको समर्थन गर्न लगाउनु, आफ्नो शक्ति र हैसियत झनै सुरक्षित पार्नु हो। के तिमीहरूमध्ये कसैलाई यस्ता मामलाहरू आइपरेका छन्? जब कुनै ख्रीष्टविरोधीले मण्डलीलाई नियन्त्रण गर्छ, तब पैसा र हैसियत हुने, वा दबदबा राख्ने जो कोही उसको वरिपरि झुम्मिन्छ, र तिनीहरू सँगै नियन्त्रण जमाउँछन्, गुट, चार, पाँच, वा छ जनाको गिरोह बन्छन्। तिनीहरूका समस्या खुलासा गर्ने अनुमति कसैलाई पनि हुँदैन। ख्रीष्टविरोधी यी मानिसहरूलाई लोभ्याउँछ किनकि तिनीहरूलाई नियन्त्रण गर्न उसलाई चुनौतीपूर्ण हुन्छ। उसले तिनीहरूलाई लोभ्याएर खिच्न, आफ्नो सहयोगी बनाउन, त्यसरी आफ्नो पद जोगाउन जरुरी हुन्छ। त्यसबाहेक, यी मानिसहरूमा एउटा उपयोगिता छ जसको ख्रीष्टविरोधीले फाइदा उठाउन सक्छ। तिनीहरूलाई लोभ्याउने उसको विधि त एक अर्थमा, तिनीहरूलाई शान्त पार्ने र आफ्नो पदलाई खतरामा पार्नबाट जोगाउने तरिका हो।

ख्रीष्टविरोधीहरूले मानिसहरूलाई लोभ्याउनुको यस पक्षसम्बन्धी हामीले भर्खरै दुइटा प्रकटीकरणबारे छलफल गऱ्यौँ। के तिमीहरूको मण्डलीमा यस्ता कुराहरू हुन्छन्? भन त, के यस्तो कुरा हुन्छ? (हुन्छ।) पक्कै हुन्छ। त्यसोभए, मानिसहरूलाई लोभ्याउनुसँग सम्बन्धित सबै कुरामध्ये, कस्ता अरू केही प्रकटीकरणमा ख्रीष्टविरोधीहरूले मानिसहरूलाई लोभ्याउने प्रकृति हुन्छ? उनीहरूलाई लोभ्याउनुका परिणामहरू के-के हुन्? किन ख्रीष्टविरोधीहरू मानिसहरूलाई लोभ्याउन चाहन्छन्? के यदि तिनीहरूले मानिसहरूलाई लोभ्याएनन् भने, के तिनीहरूले मानिसहरूलाई नियन्त्रण गर्ने आफ्नो लक्ष्य हासिल गर्न सक्छन्? (सक्दैनन्।) तिनीहरूले आफूसामु आफ्ना कुरा सुन्ने र आफ्ना इच्छासँग मिल्दा मानिसहरूलाई ल्याउनैपर्छ, ताकि तिनीहरूले कुनै पद ओगट्न र अख्तियार चलाउने पात्रहरू पाउन सकुन्। यदि वरपर तिनीहरूको कुरा सुन्ने कोही छैन भने, के तिनीहरू हैसियत र शक्ति पाउने आफ्नो महत्त्वाकाङ्क्षा पूरा गर्न असक्षम हुनेछैनन् र? त्यसकारण, तिनीहरूले लोभ्याउन सकिने हरप्रकारको व्यक्तिलाई लोभ्याएपछि मात्र पद र शक्ति प्राप्त गर्छन्। तिनीहरूले लोभ्याउन नसकिनेहरूलाई कस्तो व्यवहार गर्छन्? (तिनीहरूले उनीहरूलाई बहिष्कार र आक्रमण गर्छन्।) तिनीहरूले उनीहरूलाई आक्रमण र बहिष्कार गर्न थाल्छन्। के मण्डलीका लोभ्याउन नसकिनेहरूलाई तथाकथित “श्रोताहरू” बनाउने ख्रीष्टविरोधीहरू छैनन् र? मण्डलीद्वारा जारी गरिएका प्रवचन, भजन, र परमेश्‍वरका वचनका पुस्तकहरू यी मानिसहरूलाई बिलकुलै दिइँदैनन्, वा उनीहरूलाई लामो समयसम्म भेलाहरूबारे जानकारी दिइँदैनन्। यस्ता कुराहरू निश्चय नै हुन्छन्, र ती सबै ख्रीष्टविरोधीहरूले गर्ने कुरा हुन्। ख्रीष्टविरोधीहरूले आक्रमण र बहिष्कार गर्नेहरूको नाम मण्डलीले हटाएको हुँदैन, उनीहरूले इच्छापूर्वक मण्डली छाडेका हुँदैनन्, र तिनीहरूले स्वेच्छाले भेलाहरूमा सहभागी हुन छाडेका हुँदैनन्। उनीहरू सबै परमेश्‍वरका इमानदार विश्‍वासी हुन्, तर उनीहरूमा ख्रीष्टविरोधी सम्बन्धी केही खुट्ट्याउने क्षमता भएकाले, उनीहरू प्रायः बहिष्कृत हुन्छन् र उनीहरूले परमेश्‍वरका वचनका पुस्तक वा प्रवचन, भजन, र मण्डलीले जारी गरेका विभिन्न कामका बन्दोबस्तहरूमा तुरुन्तै पहुँच प्राप्त गर्न सक्दैनन्, न त उनीहरूले परमेश्‍वरका वचनहरू खान र पिउन नै सक्छन्। अर्कोतर्फ, ख्रीष्टविरोधीहरूको अधीनमा रहने, अर्थात्, तिनीहरूका कुरा सुन्न सक्ने, तिनीहरूले लोभ्याएका र तिनीहरूसामु आत्मसमर्पण गरेका व्यक्तिहरूले परमेश्‍वरको घरद्वारा वितरित विभिन्न पुस्तक र भिडियोहरूको प्राथमिकताका साथ सुविधा पाउँछन्, यस्तो निगाहपूर्ण व्यवहार पाउँछन्। यसरी ख्रीष्टविरोधीहरूका व्यवहार र कार्यका कारण मण्डली लथालिङ्ग हुन पुग्छ र विभाजित हुन्छ, अनि मानिसहरूको हृदयमा अशान्ति छाउँछ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्