विषयवस्तु तेह्र: तिनीहरूले मानिसहरूको हृदयका साथै मण्डलीको आर्थिक पक्ष नियन्त्रण गर्छन् (खण्ड तीन)
ख. भेटीहरू फजुलमा उडाउनु, दुरुपयोग गर्नु, सापट दिनु, जालसाजीपूर्वक प्रयोग गर्नु, र चोर्नु
१. भेटीहरू फजुलमा उडाउनु
ख्रीष्टविरोधीहरू सोच्छन्, हैसियत र अख्तियारले तिनीहरूलाई भेटीहरू आफ्नो स्वामित्वमा लिन र प्रयोग गर्न प्राथमिकता दिने शक्ति दिन्छ। त्यसोभए, तिनीहरूले त्यो शक्ति प्राप्त गरेपछि, भेटीहरू कसरी विनियोजन र प्रयोग गर्छन् त? के तिनीहरूले यो काम मण्डलीका नियमहरू वा मण्डलीका कार्य आवश्यकतासम्बन्धी सिद्धान्तहरूअनुसार गर्छन् त, कि गर्दैनन्? के तिनीहरूले यसो गर्न सक्छन् त? (अहँ, सक्दैनन्।) तिनीहरूले यसो गर्न नसक्नुले धेरै कुराहरूलाई छुन्छ। ख्रीष्टविरोधीहरूले हैसियत प्राप्त गरिसकेपछि, तिनीहरू मण्डलीका केही कामहरूमा अपरिहार्य रूपमै संलग्न नभई सक्दैनन्, जुन काममा मण्डलीको सम्पत्तिको व्यय र विनियोजनहरू पर्छन्। त्यस्तो अवस्थामा, तिनीहरूले कुन सिद्धान्तहरूद्वारा मण्डलीको सम्पत्ति विनियोजन गर्छन्? के त्यो मितव्ययी हुने सिद्धान्त हो? के त्यो मिहिन रूपमा खर्च योजना बनाउनु र सम्भव भएसम्म मितव्ययी हुनु हो? के त्यो यावत् थोकमा परमेश्वरको घरबारे विचार गर्नु हो? होइन। तिनीहरू साइकल चढेर कुनै ठाउँमा पुग्न सक्ने भए पनि बसमै पैसा खर्च गर्छन्। अनि जब तिनीहरूलाई सधैँ बसमा वा भाडाको गाडीमा जान असुविधाजनक वा असहज लाग्छ, तब तिनीहरूले परमेश्वरको घरको पैसाले कार किन्ने विचार गर्छन्। अनि कार किन्ने बेलामा पनि, तिनीहरूले कम मूल्यका र औसत मोडलका कारप्रति नाक खुम्च्याउँछन्, र ब्रान्ड र नाम चलेको आयातित उच्चस्तरीय मोडल नै रोज्छन्, जसको मूल्य चिनियाँ रकम दस लाखभन्दा बढी पर्छ। तिनीहरूले सोच्छन्, “यो ठूलो कुरा होइन, र जे भए पनि पैसा तिर्ने त परमेश्वरको घरले हो, साथै परमेश्वरको घरको पैसा भनेको सबैको पैसा हो। सबै जना मिलेर एउटा कार किन्नु कुनै गाह्रो काम होइन। परमेश्वरको घर अत्यन्तै ठूलो छ, सारा ब्रह्माण्ड नै परमेश्वरको हो, त्यसैले परमेश्वरको घरले एउटा कार किन्नु त्यस्तो ठूलो कुरा हो र? शैतानको संसारमा, मानिसहरूले चढ्ने सबै कारहरूको मूल्य दसौँ लाख पर्छ, त्यसैले हाम्रो मण्डलीले दस लाखमै एउटा कार किन्नु निकै मितव्ययी कुरा हो। त्यसअलावा, यो कार मैले मात्र प्रयोग गर्नको लागि होइन, यसलाई त सम्पूर्ण मण्डलीले साझा रूपमा प्रयोग गर्नेछ।” ख्रीष्टविरोधीहरूले मुख खोल्नेबित्तिकै, कुनै हिचकिचाहट, डर र ग्लानि महसुसबिना नै दस लाखभन्दा बढी खर्च भइहाल्छ। अनि, कार किनेपछि तिनीहरूले त्यसैमा आनन्द लिन थाल्छन्। तिनीहरू हिँडेर जानुपर्ने ठाउँहरूमा उप्रान्त पैदल जाँदैनन्, साइकल चढेर जानुपर्ने ठाउँहरूमा साइकलमा जान छाड्छन्, र भाडाका गाडीमा जान सकिने ठाउँहरूमा भाडाका गाडीमा जाँदैनन्; त्यसको सट्टामा तिनीहरू “तोकिएको कार” प्रयोग गर्न जिद कस्छन्। तिनीहरू यस्तो शेखबाजी शैलीमा व्यवहार गर्छन्, मानौँ तिनीहरू ठुलै काम गर्न सक्छन्। ख्रीष्टविरोधीहरूले व्यर्थमा धेरै पैसा खर्च गर्छन्, तिनीहरूले किन्ने सबथोक राम्रो, उच्चस्तरीय र अत्याधुनिक हुनुपर्छ। उदाहरणको लागि, आधारभूत र उच्च गुणस्तरका कुनैकुनै मेसिन वा सामाग्रीहरूको मूल्य दसौँ हजारले फरक पर्न सक्छ। यी परिस्थितिहरूमा, ख्रीष्टविरोधीहरूले उच्चस्तरीय मोडल नै किन्न चाहनेछन्, र जबसम्म तिनीहरूले आफ्नै पैसा खर्च गर्नु परिरहेको हुँदैन, तबसम्म तिनीहरूलाई यसो गर्दा कुनै चिन्ता हुनेछैन। यदि तिनीहरूले आफ्नै गोजीको पैसा तिर्नुपर्थ्यो भने, तिनीहरूसित तल्लो स्तरको वा कम गुणस्तरको किन्नसमेत पैसा हुँदैनथ्यो, तर जब तैँले त्यसको पैसा परमेश्वरको घरले तिर्नेछ भनेर भन्छस्, तब तिनीहरूले उच्चस्तरीय नै चाहनेछन्। के यिनीहरू पशु होइनन् र? के तिनीहरू विवेकहीन छैनन् र? के यो भेटीहरू फजुलमा उडाउनु होइन र? (हजुर, हो।) भेटीहरू फजुलमा उडाउने मानिसहरूमा कमजोर मानवता हुन्छ, तिनीहरू स्वार्थी र घृणित हुन्छन्! ख्रीष्टविरोधीहरूले भेटीहरू प्रयोग गर्ने शक्ति प्राप्त गरिसकेपछि, तिनीहरूले ती भेटीहरू आफ्नै लागि लिन चाहन्छन्, र सिद्धान्तहरूबारे वास्तै नगरी तिनलाई प्रयोग गर्न थाल्छन्, र हरेक खरिदमा उच्चस्तरीय सरसामान लिन जिद् कस्छन्। चस्मा किन्दा पनि तिनीहरूले निलो प्रकाश र अल्ट्राभ्वाइलेट किरणहरू छेक्ने, सबैभन्दा सफा लेन्स भएको उच्चस्तरीय चस्मा चाहन्छन्, र कम्प्युटर खरिद गर्दा पनि उच्चस्तरीय र सबैभन्दा नयाँ मोडलको चाहन्छन्। तिनीहरूलाई आफ्नो कर्तव्यमा विभिन्न उपकरण र सामाग्रीहरू काम लाग्ने वा नलाग्ने जे भए पनि, यस्ता सरसामान किन्ने कुरा उठ्नेबित्तिकै, तिनीहरू उच्चस्तरीय नै किन्न चाहन्छन्। के यो भेटीहरू उडाउनु होइन र? आफ्नै पैसा खर्च गर्नुपर्दा तिनीहरूलाई मितव्ययी हुन आउँछ, र त्यो व्यावहारिक छ भने जस्तोसुकै सामानले पनि काम चल्छ, तर परमेश्वरको घरको लागि केही चिज किन्ने कुरामा, तिनीहरूले व्यावहारिकता र पैसा बचत गर्नेबारे विचारै गर्दैनन्। तिनीहरूले त बस त्यो चर्चित ब्रान्डको हुनुपर्छ, त्यसले तिनीहरूको हैसियत देखाउनुपर्छ भन्ने मात्र सोच्छन्, र जुन सबैभन्दा महङ्गो छ तिनीहरूले त्यही किन्छन्। के यो तिनीहरूको आफ्नै विनाश निम्त्याउनु होइन र? भेटीहरू पानी बगाएसरी खर्च गर्नु—के ख्रीष्टविरोधीहरूले गर्ने यही होइन र? (हो।)
एउटा केटो माथिका ब्रदरसँगै दाँत माझ्ने ब्रसहरू किन्न गएको थियो। उसले ब्रदरको लागि एक डलरभन्दा अलि बढी मूल्य पर्ने ब्रस किन्यो तर आफ्नो लागि चाहिँ १५ डलरभन्दा बढी मूल्य पर्ने आयतित ब्रस किन्यो। अब, के तिमीहरूले तिनीहरूको हैसियतको हिसाबमा माथिका ब्रदर र त्यो साधारण ब्रदरबीच केही फरक, केही भिन्नता थियो भन्नेथिएनौ र? (भन्नेथियौँ।) तर्कको हिसाबमा—हैसियत, दर्जा, वा परमेश्वरको विनियोजन गर्ने तरिकाजस्ता कुराहरू उल्लेख नगरौँ, र माथिका ब्रदरले यतिका वर्ष कडा मेहनत गर्दै आएको तथ्यबारे मात्र छलफल गरौँ—के उसले उच्च गुणस्तरको वस्तु प्रयोग गर्नुपर्ने होइन र? तर ऊ यसबारे रोजीछानी गर्ने खालको थिएन। उसले कस्ता सिद्धान्तहरू पछ्याइरहेको थियो त? सकेसम्म मितव्ययी हुने: यस्तो सामान कुनै परिष्कृत कुरा होइन, त्यसैले त्यति महङ्गो प्रयोग गर्नु जायज हुँदैन, त्यसमा त्यति धेरै पैसा खर्च गर्नु जरुरी छैन, त्यो प्रयोग गर्न योग्य छ भने काफी हुन्छ। अब, यी दुई मानिसहरूको पहिचान, दर्जा, र हैसियतको कुरा आउँदा, तिनीहरूबीच एउटा असमानता छ, र राम्रो सामान प्रयोग गर्नुपर्ने व्यक्तिको लागि सबैभन्दा औसत सामान किनिएको थियो, र औसत सामान प्रयोग गर्नुपर्ने व्यक्तिको लागि चाहिँ सबैभन्दा राम्रो गुणस्तरको किनिएको थियो। यसमा समस्या के थियो? यी दुईमध्ये कसमा समस्या थियो? त्यो राम्रो सामान प्रयोग गर्ने व्यक्तिमा समस्या थियो। उसलाई ऊ को हो भनेर कुनै ज्ञान थिएन र उसमा लाजको भावना नै थिएन, र परमेश्वरको घरले पैसा तिर्थ्यो भने उसले सबैभन्दा राम्रो र महङ्गो सामान किन्थ्यो। के यो व्यक्तिमा अलिकति पनि समझ थियो र? यदि उसले माथिका ब्रदरसँग किनमेल गर्दा त यसो गर्छ भने—उनकै अगाडि यी कुराहरू छान्छ भने—ऊ एक्लैले किनमेल गरिरहेको भए उसले के गर्थ्यो होला? उसले कति पैसा अनावश्यक रूपमा खर्च गर्थ्यो होला? ऊ अझै अघि बढ्नेथ्यो, र त्यसमा त्यो दस डलरको भिन्नता नहुनेथ्यो; उसले जुनसुकै मूल्यका सामानहरू किन्ने, र तिनको लागि जतिसुकै पैसा खर्च गर्ने आँट गर्नेथ्यो। उसले परमेश्वरको घरका भेटीहरू र पैसा यसरी नै खर्च गर्यो; के उसले आफ्नै विनाश निम्त्याइरहेको थिएन र? कतिपय मानिसहरू यस्तो सोच्छन्, “मैले परमेश्वरको घरको लागि यति ठूलो काम गरेको छु, यति धेरै जोखिमहरू लिएको छु, यति धेरै कठिनाइहरू सहेको छु, र म धेरैपटक जेल परेको छु। विशेष व्यवहार पाउनु त मेरो अधिकार नै हो नि।” के यो तेरो “अधिकार” सत्यता हो त? जो जेल परेको छ, वा जसले कठिनाइहरू भोगेको छ, वा धेरै वर्षसम्म उहाँको लागि यात्रा गरेको छ, उसले विशेष व्यवहारको अधिकार पाउनुपर्छ, र भेटीहरू प्रयोग गर्न र हडप्न, साथै तिनलाई मनमौजी रूपमा उडाउन पहिलो प्राथमिकता पाउनुपर्छ, र यो एउटा प्रशासनिक आदेश हो भनेर परमेश्वरले उहाँको कुन वचनमा प्रबन्ध गर्नुभएको छ? के परमेश्वरले कहिल्यै यस्तो कुनै वचन व्यक्त गर्नुभएको छ? (अहँ, छैन।) त्यसोभए, यस्तो व्यक्तिका साथै अगुवा, कामदार, र परमेश्वरको घरमा आफ्नो कर्तव्य गर्ने सारा मानिसहरूले भेटी कसरी प्रयोग गर्नुपर्छ भन्नेबारे परमेश्वरले के भन्नुभएको छ त? तिनीहरूले तिनलाई सामान्य व्यय र सामान्य खर्चहरूको लागि प्रयोग गर्नुपर्छ; भेटीहरूलाई प्रयोग गर्ने वा कब्जामा लिने विशेष अधिकार कसैलाई पनि हुँदैन। परमेश्वरले उहाँका भेटीहरू कुनै एक व्यक्तिको निजी सम्पत्ति बनाउनुहुनेछैन। त्यो सँगसँगै, मानिसहरूले भेटीहरू प्रयोग र विनियोजन गर्दा पैसा फजुलमा उडाउनुपर्छ भनेर परमेश्वरले तोक्नुभएको छैन। कस्तो व्यक्तिले पैसा फजुलमा उडाउँछ? फजुलमा पैसा उडाउने व्यक्तिको स्वभाव कस्तो हुन्छ? यो त पशु, तानाशाह, बदमास, गुन्डा, र लाजपचेका घृणास्पद खलपात्रहरूले गर्ने चिज हो, यो ख्रीष्टविरोधीहरूले गर्ने चिज हो। थोरै पनि मानवता भएको र केही लाज भएको कोही पनि यतिसम्म गिर्दैन। कतिपय मानिसहरू छन्, जो मण्डली अगुवा बनेपछि, यसले तिनीहरूलाई भेटीहरू र मण्डलीको सम्पत्ति प्रयोग गर्ने अख्तियार दिन्छ भन्ठान्छन्। तिनीहरूले भएभरका चिजहरू किन्न चाहन्छन् र ती चिज किन्ने दुस्साहस देखाउँछन्, र तिनीहरूले भएभरका सबै चिजहरू माग्न चाहन्छन्। तिनीहरूले जे किन्छन्, र जे प्रयोग गर्छन् त्यो पाउन तिनीहरू आफूलाई योग्य ठान्छन्; त्यसअलावा, तिनीहरूले कहिल्यै मूल्य सोध्ने कष्ट गर्दैनन्। अनि यदि कसैले तिनीहरूलाई सस्तो र साधारण चिज किनिदियो भने, तिनीहरू रिसाउनेछन् र त्यस व्यक्तिविरुद्ध तिक्तता बोक्नेछन्। तिनीहरू ख्रीष्टविरोधीहरू हुन्।
२. भेटीहरू दुरुपयोग गर्नु
ख्रीष्टविरोधीहरूले मण्डलीका आर्थिक पक्षहरू नियन्त्रण गर्ने प्रयास गर्नुको अर्को प्रकटीकरण दुरुपयोग हो। “दुरुपयोग” शब्द बुझ्न सजिलो हुनुपर्छ। के दुरुपयोगको अर्थ मण्डलीको सम्पत्ति लिएर दाजुभाइ-दिदीबहिनीहरूलाई दिनु वा त्यसलाई मण्डलीको काममा विनियोजन गर्नु ताकि त्यसलाई उचित प्रयोग गरियोस् भन्ने हो? (अहँ, होइन।) त्यसोभए “दुरुपयोग” को अर्थ के हो त? (त्यसको अर्थ त्यसलाई उचित तरिकाले खर्च नगरेर मनमौजी रूपमा वा गुपचुप तरिकाले प्रयोग गर्नु हो।) “त्यसलाई गुपचुप तरिकाले प्रयोग गर्नु” भन्नु सही भए पनि, त्यसले ठ्याक्कै अर्थ दिँदैन। यदि कुनै व्यक्तिले पूर्णकालीन कर्तव्य गरिरहेकाहरूको जिउने खर्चहरूको लागि गुपचुप तरिकाले मण्डलीको सम्पत्ति प्रयोग गर्छ भने, यसमा केही गल्ती छैन, र यो दुरुपयोग होइन। दुरुपयोग त निन्दित हुन्छ, र यो सिद्धान्तबमोजिम हुँदैन। उदाहरणको लागि, कतिपय मण्डली अगुवाहरूले मण्डलीको पैसा नियन्त्रणमा लिन्छन्, र जब तिनीहरूका छोराछोरीसँग कलेज जाने पैसाको अभाव हुन्छ, र तिनीहरूसँग घरमा त्यति पैसा हुँदैन, तब तिनीहरू परमेश्वरसामु प्रार्थना गर्न आउँछन्, र यसो भन्छन्, “हे परमेश्वर, सुरुमा मलाई मेरो गल्ती स्विकार्न र तपाईंसँग क्षमा माग्न दिनुहोस्। यदि तपाईंले दण्ड दिनैपर्छ भने, कृपया मेरो बच्चाको साटो मलाई दण्डित गर्नुहोस्। मलाई यो ठिक होइन भन्ने थाहा छ, तर अहिले म कठिन स्थितिमा छु, र मैले यसो गर्नुपरेको छ। तपाईंको अनुग्रह सधैँ प्रचुर हुन्छ, त्यसैले आशा छ योचोटि तपाईंले मलाई छोडिदिनुहुनेछ र मलाई आशिष् दिनुहुनेछ। मेरो बच्चाको कलेजको ट्युसन फिस तिर्न बिस तिस हजार रेन्मिन्बी कमी छ, र यताउता सापट माग्दै जोरजाम गर्दा पनि मसँग अझै पर्याप्त पैसा छैन। के म मेरो बच्चाको ट्युसन शुल्क तिर्न तपाईंको पैसा चलाउन सक्छु?” अनि, तिनीहरूले प्रार्थना गरिसकेपछि, तिनीहरूलाई अलि शान्ति महसुस हुन्छ, र परमेश्वर यसमा सहमत हुनुभयो भन्ठानेर, तिनीहरूले निजी प्रयोजनको लागि पैसा लान्छन्। यो दुरुपयोग हो, होइन र? पैसालाई जे कुरामा प्रयोग गर्नुपर्ने हो त्यसमा प्रयोग नगरेर अन्यत्र प्रयोग गर्नु, परमेश्वरको घरका भेटीहरू प्रयोग गर्ने सिद्धान्तहरू उल्लङ्घन गर्नु: यसैलाई “दुरुपयोग” भनिन्छ। जब परिवारको कुनै सदस्य बिरामी पर्छ र पैसाको आवश्यकता पर्छ, वा कुनै व्यावसायिक कारोबारमा तिनीहरूलाई पैसाको कमी हुन्छ, तब तिनीहरूले भेटीहरूबारे षडयन्त्रहरू रच्न थाल्छन्, अनि तिनीहरूले हृदयमा प्रार्थना गर्छन्, र यसो भन्छन्: “हे परमेश्वर, कृपया मलाई क्षमा गर्नुहोस्, मैले त्यसो गर्न चाहेको थिइनँ, तर मेरो परिवारले साँच्चै नै केही कठिनाइहरू सामना गरिरहेको छ। तपाईंको प्रेम सागरझैँ विशाल र आकाशझैँ असीमित छ र तपाईं मानिसहरूका अपराधहरू सम्झनुहुन्न। मैले यो रकम प्रयोग गरिसकेपछि, मेरो पारिवारिक व्यावसायले केही पैसा कमाएलगत्तै म तपाईंलाई यसको दुईगुणा तिर्नेछु, कृपया मलाई यो रकम प्रयोग गर्न दिनुहोस्।” तिनीहरूले यसरी नै परमेश्वरको भेटी चलाउँछन्। चाहे कुनै आफन्तलाई पैसा चाहिएको होस् वा कुनै साथीलाई, यदि यी अगुवाहरूको हातमा पैसा छ भने, तिनीहरूले दिनेछन्, र यसक्रममा न त सिद्धान्तहरूबमोजिम कार्य गर्नेछन् न त अरूको सहमति नै लिनेछन्, यी परमेश्वरलाई चढाइएका भेटीहरू हुन् भन्ने तथ्यबारे तिनीहरूले एकपटक सोच्ने त झन् कुरै नगरौँ। बरु, तिनीहरूले आफै पहल गरेर निर्णय लिनेछन्, अनि पैसा मण्डलीबाहिर लानेछन् र त्यसलाई अन्य उद्देश्यको लागि प्रयोग गर्नेछन्। के यो दुरुपयोग होइन र? (हो।) यो दुरुपयोग हो। अब, कतिपय मानिसहरूले चाहिँ गुपचुपमा भेटीहरू दुरुपयोग गरेपछि पूरै पैसा फिर्ता गर्छन्; तर के त्यसको अर्थ तिनीहरू भेटी दुरुपयोग गरेको पापको दोषी रहँदैनन् भन्ने हो? के त्यसको अर्थ तिनीहरू दोषबाट मुक्त हुन्छन् भन्ने हो? अथवा, यदि दुरुपयोग भएको समयमा, तिनीहरूसँग कारणहरू, कुनै सन्दर्भ, वा कठिनाइहरू थिए भने, र तिनीहरूसित पैसा दुरुपयोग गर्नुबाहेक अर्को कुनै विकल्प नै थिएन भने, के यो दुरुपयोगलाई माफी गरेर निन्दा नगर्न मिल्छ? (अहँ, मिल्दैन।) त्यसो हो भने, भेटीहरू दुरुपयोग गर्नु एउटा गम्भीर पाप हो! के यो यहूदाले जे गरेको थियो त्योभन्दा कुनै फरक छ र? के भेटीहरू दुरुपयोग गर्ने मानिसहरू यहूदाजस्तै होइनन् र? (हजुर, हुन्।) जब तिनीहरूका छोराछोरीहरू विश्वविद्यालय गइरहेका हुन्छन्, जब तिनीहरूको परिवारको कसैले कुनै व्यावसाय गरिरहेका हुन्छन्, वा कुनै वृद्ध व्यक्तिलाई उपचारको आवश्यकता परेको हुन्छ, वा खेती गर्नको लागि तिनीहरूसँग कुनै मल हुँदैन, यी सारा परिस्थितिहरूमा, तिनीहरू मण्डलीको पैसा खर्च गर्न चाहन्छन्। कतिपयले त लाज वा डर नमानी दाजुभाइ-दिदीबहिनीहरूले चढाएका भेटीका रसिदसमेत नष्ट पार्छन् र पैसा कुम्ल्याउँछन् र आफूखुसी खर्च गर्छन्। कतिपयले त भेलाहरूमा दाजुभाइ-दिदीबहिनीहरूले चढाएको पैसाको भेटीसमेत लिन्छन्, र भेला सकिनेबित्तिकै, तिनीहरू त्यसले सरसामान किन्छन्। अनि कतिपय दाजुभाइ-दिदीबहिनीहरू यस्ता हुन्छन्, जो यी मानिसहरूले भेटीहरू दुरुपयोग गरेको आफ्नै आँखाले देखे पनि, अझै तिनीहरूलाई नै पैसा राख्न दिन्छन्, त्यसप्रति कसैले पनि जिम्मेवारी उठाउँदैनन्, र त्यसलाई रोक्न कोही पनि अघि सर्दैनन्। उनीहरू सबै यी अगुवाहरूलाई चिढ्याउने डर मान्छन्, त्यसैले तिनीहरूले खर्च गर्दा उनीहरूले हेरेर बस्ने काम मात्र गर्छन्। अनि यस्तो हुँदा, के तैँले त्यो पैसा परमेश्वरलाई चढाइस् कि चढाइनस्? यदि तैँले अरू मानिसहरूलाई दान दिइरहेको छस् भने, तैँले त्यो पैसा परमेश्वरलाई चढाएको होइन भनेर प्रस्ट पार्नुपर्छ, र त्यसपछि परमेश्वरले त्यो पैसा सम्झनुहुनेछैन। त्यसपछि, त्यो पैसा कसको हो, त्यसलाई कसले खर्च गर्छ, र त्यसलाई कसरी खर्च गरिन्छ, ती सबै कुराहरूको परमेश्वरको घरसित कुनै सम्बन्ध हुनेछैन। तर अर्कोतर्फ, यदि तेरो यो पैसा वास्तवमै परमेश्वरलाई चढाइएको हो, तैपनि मण्डलीले त्यसलाई प्रयोग गर्ने मौका नपाउँदै कुनै व्यक्तिले त्यसलाई त्यसरी नै खर्चन्छ, त्यसरी नै फजुलमा उडाउँछ, र तैँले अलिकति पनि चिन्ता लिँदैनस्, न त त्यसलाई रोक्छस् न त रिपोर्ट नै गर्छस् भने, त्यो अवस्थामा, तँमा समस्या छ, तँ पापमा मुछिएको छस्, साथै जब तिनीहरू दण्डित हुन्छन्, तँ पनि उम्कन सक्नेछैनस्।
३. भेटीहरू सापट दिनु
भेटीहरूको स्वेच्छाचारी प्रयोग, अनुचित उपभोग र खर्च संलग्न हुने सबथोक अपरिहार्य रूपमा प्रशासनिक आदेशहरूसित सम्बन्धित हुन्छ, र यसमा ती आदेश उल्लङ्घन गर्ने विशेषता हुन्छ। कतिपयले मण्डलीको सम्पत्तिको व्यवस्थापन गर्ने क्रममा यसो भन्न सक्छन्: “मण्डलीको सम्पत्ति त्यतिकै बसिरहेको छ। हिजोआज, बैंकहरूसित हरप्रकारका लगानी कार्यक्रमहरू छन्, जस्तै बोण्ड र कोषहरू, ती सबैले राम्रो ब्याज दिन्छन्। यदि हामीले मण्डलीबाट पैसा लिएर यसलाई लगानी गऱ्यौँ र हामीले केही ब्याज कमाउन सक्यौँ भने, के यसले परमेश्वरको घरलाई फाइदा पुऱ्याउँदैन र?” त्यसपछि, यस विषयमा छलफल नगरी, मण्डलीमा कसैको सहमति प्राप्त नगरी, उनीहरू आफैले पैसा सापट दिन्छन्। त्यसो गर्नुको उद्देश्य के हो? यसलाई राम्ररी भन्दा, यो कार्य परमेश्वरको घरले केही ब्याज कमाओस् भनी परमेश्वरको घरलाई विचार गर्दै त्यसो गर्नु हो; तर वास्तविकतामा, यी मानिसहरूले स्वार्थी मनसाय बोकिरहेका हुन्छन्। उनीहरू कसैलाई थाहा नदिई पैसा सापट दिन चाहन्छन् र त्यसपछि, अन्त्यमा, मूलधन परमेश्वरको घरमा फिर्ता गर्छन् र ब्याजचाहिँ आफ्नै लागि राख्छन्। के यो मनमा एक बेइमान उद्देश्य राख्ने कार्य होइन र? यसलाई भेटी सापट दिनु भनिन्छ। के भेटी सापट दिनुलाई त्यसको उचित प्रयोग मान्न सकिन्छ? (सकिँदैन, यसलाई उचित मान्न सकिँदैन।) अरूले यसो भन्छन्, “परमेश्वरले मानवजातिलाई प्रेम गर्नुहुन्छ, परमेश्वरको घर स्नेही छ। कहिलेकहीँ, हाम्रा दाजुभाइ-दिदीबहिनीहरूलाई पैसाको कमी हुँदा, के हामीले उनीहरूलाई परमेश्वरका भेटीहरू सापट दिन सक्दैनौं र?” त्यसपछि कतिपय मानिसहरूले यस विषयमा आफैले निर्णय गर्छन्, र कतिपय ख्रीष्टविरोधीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई यसो भन्दै अपिलसमेत गर्छन् र उक्साउँछन्: “परमेश्वरले मानवजातिलाई प्रेम गर्नुहुन्छ, परमेश्वरले जीवन दिनुहुन्छ, मानिसलाई सबै कुरा दिनुहुन्छ, त्यसैले केही पैसा सापट दिनु कुनै ठूलो कुरा हुने थिएन, हुने थियो र? हाम्रा दाजुभाइ-दिदीबहिनीहरूलाई उनीहरूको जरुरी खाँचोहरूको समयमा मदत पुऱ्याउनु, उनीहरूका जीवनका कठिनाइहरूमा मदत गर्न पैसा सापट दिनु के परमेश्वरको अभिप्राय होइन? यदि परमेश्वरले मानवजातिलाई प्रेम गर्नुहुन्छ भने मानिसहरूले एकअर्कालाई कसरी प्रेम गर्न सक्दैनन् र? जानुहोस्, उनीहरूलाई केही पैसा सापट दिनुहोस्!” अज्ञानी मानिसहरूको ठूलो बहुमतले यो सुनेर यसो भन्छन्: “यदि तपाईं त्यसो भन्नुहुन्छ भने निश्चय दिनेछौँ। जे भए पनि, यो सबैको पैसा हो, त्यसैले यसलाई हामी सबैले कसैलाई सहयोग गरेका मानौँ।” त्यसकारण, जब एक व्यक्तिले ठुल्ठुला विचारहरू फलाक्छ र चापलुसहरूको झुन्डले उसको कुरा खान्छ, र अन्त्यमा पैसा बाहिर जान्छ। यस्तोमा के तैँले “यो पैसा परमेश्वरलाई चढाइएको हो” भन्नु केही अर्थ हुन्छ त? यदि अर्थ हुन्छ भने, त्यो अघिबाटै परमेश्वरको पैसा हो र त्यसलाई पवित्र कुराका रूपमा अलग गरिसकिएको छ, त्यसैले त्यसको प्रयोग परमेश्वरले स्थापित गर्नुभएका सिद्धान्तहरूअनुसार गरियो भने मात्रै त्यो उचित प्रयोग हुनेछ। यदि कुनै अर्थ हुँदैन भने, यदि तैँले चढाएको पैसाको कुनै अर्थ हुँदैन भने, तैँले त्यो भेटी चढाउनु कस्तो कार्य हो? के त्यो खेलाँची मात्र हो? के तैँले परमेश्वरसँग ठट्टा गर्दैछस् र उहाँलाई धोखा दिँदैछस्? तैँले चढाउन चाहेका कुराहरू वेदीमा राखेपछि, तैँले तीबारे दुःख मान्न थाल्छस्, किनकी ती चिजहरू त्यहाँ राखिए पनि परमेश्वरले ती प्रयोग गरिरहनुभएको छैन, र आखिरमा उहाँलाई ती कुराहरूको कुनै उपयोग छैन जस्तो देखिन्छ। त्यसैले तैँले तिनलाई प्रयोग गर्नुपर्ने हुँदा, तिनलाई तँ आफैले लिन्छस् र प्रयोग गर्छस्। अथवा हुनसक्छ, तैँले धेरै नै चढाएको छस्, र पछि पछुताएर तैँले त्यसबाट केही फिर्ता लिन्छस्। अथवा हुन सक्छ, भेटी चढाउँदा तैँले स्पष्ट रूपमा सोचविचार गरिरहेको थिइनस्, र अब त्यसको लागि उपयोगिता थाहा पाएकोले, तैँले त्यो फिर्ता लिन्छस्। यो कस्तो प्रकृतिको व्यवहार हो? पैसा र यी वस्तुहरू: व्यक्तिले एकपटक यी वस्तुहरू परमेश्वरलाई चढाएपछि, यी वेदीमा चढाउनुजस्तै हो, अनि वेदीमा चढाइएका यी कुराहरू के हुन्? यी भेटीहरू हुन्। चाहे यो एउटा ढुङ्गा, वा बालुवाको एउटा कण, बफ्याएको एउटा रोटी, वा एक कचौरा पानी मात्रै भए पनि, जब तँ यसलाई वेदीमा राख्छस्, तब यो वस्तु परमेश्वरको हुन्छ, मानिसको हुँदैन, र कुनै पनि मानिसले अब त्यसलाई छुनु हुँदैन। चाहे यो तैँले आफ्नै निम्ति लोभ गरेको होस् वा नहोस्, वा तैँले यसको एक उचित उपयोग छ भनी विचार गरे पनि नगरे पनि, अब यसमा कुनै मानिसको अधिकार हुँदैन। कतिपयले भन्छन्, “के परमेश्वरले मानवजातिलाई प्रेम गर्नुहुन्न र? यदि उहाँले मानवजातिलाई एक हिस्सा दिनुभयो भने के हुन्छ र? अहिले, तपाईं तिर्खाउनुभएको छैन र तपाईंलाई पानीको आवश्यकता छैन, तर म तिर्खाएको छु, त्यसैले म किन पिउन सक्दिनँ र?” तर त्यसबेला तैँले परमेश्वर त्यसमा सहमत हुनुहुन्छ वा हुनुहुन्न त्यो हेर्नुपर्छ। यदि परमेश्वर सहमत हुनुहुन्छ भने, त्यसले उहाँले तँलाई अधिकार दिनुभएको छ र तँसित त्यो उपयोग गर्ने अधिकार छ भनी प्रमाणित गर्दछ; तर यदि परमेश्वर सहमत हुनुहुन्न भने तँसित त्यो उपयोग गर्ने कुनै अधिकार हुँदैन। तँसँग अधिकार नभएको, परमेश्वरले तँलाई अधिकार नदिनुभएको अवस्थामा, परमेश्वरको स्वामित्वमा रहेको कुनै वस्तु प्रयोग गर्नु भनेको वर्जित गरिएको ठूलो कुरा उल्लङ्घन गर्नु हो, जुन कार्यलाई परमेश्वरले सबैभन्दा बढी घृणा गर्नुहुन्छ। परमेश्वरले मानिसहरूबाट हुने उल्लङ्घन सहनुहुन्न भनेर मानिसहरूले सधैँ भन्ने गर्छन्, तर तिनीहरूले परमेश्वरको स्वभाव वास्तवमा कस्तो छ, वा तिनीहरूले गर्ने कुन कुराहरूले सबैभन्दा बढी उहाँको स्वभाव चिढ्याउने सम्भावना हुन्छ भनेर कहिल्यै बुझेका हुँदैनन्। परमेश्वरका भेटीहरूको मामलामा, धेरै मानिसहरूले त्यसलाई निरन्तर आफ्नो मनमा राख्छन्, आफूलाई जसरी मन लाग्छ त्यसरी तिनलाई प्रयोग गर्न वा विनियोजन गर्न, आफ्नै इच्छाअनुसार तिनलाई उपयोग, कब्जा गर्न वा फजुलमा उडाउन चाहन्छन्; तर म तँलाई भन्छु, तँ खतम होलास्, तँ मृत्युको योग्य बन्लास्! परमेश्वरको स्वभाव यस्तो हुन्छ। परमेश्वरले कसैलाई पनि उहाँका सम्पत्तिहरू छुन दिनुहुन्न; उहाँको मर्यादा यस्तो हुन्छ। केवल एउटा स्थितिमा मात्र परमेश्वरले मानिसहरूलाई ती प्रयोग गर्ने अधिकार दिनुहुन्छ, र त्यो हो मण्डलीका नियमहरू र तिनलाई प्रयोग गर्ने सिद्धान्तहरूअनुसार उचित प्रयोग गर्नु। यी सीमाहरू भित्र रहनु परमेश्वरको लागि स्वीकार्य छ, तर यी सीमाहरूबाट भड्केर जानु परमेश्वरको स्वभाव चिढ्याउनु, र प्रशासनिक आदेशहरूको उल्लङ्घन हुनेछ। यो यतिसम्म कडा छ, सम्झौता गर्ने कुनै ठाउँ छैन, र कुनै वैकल्पिक तरिका छैन। त्यसकारण, जसले भेटीहरू फजुलमा उडाउने, दुरुपयोग गर्ने र सापट दिने गर्छन्, तिनीहरू परमेश्वरको नजरमा ख्रीष्टविरोधीका रूपमा चित्रण हुन्छन्। अनि, तिनीहरूलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्नेजस्तो कठोर व्यवहार किन गरिन्छ? यदि परमेश्वरमा विश्वास गर्ने कुनै व्यक्तिले परमेश्वरको स्वामित्वमा रहेको र पवित्र कुराका रूपमा अलग गरिएका वस्तुहरू जथाभाबी छुने, वा प्रयोग गर्ने वा बरबाद पार्ने कार्यसम्म गर्छ भने त्यो कस्तो खालको व्यक्ति हो? त्यस्तो व्यक्ति परमेश्वरको शत्रु हो। परमेश्वरका शत्रुहरूले मात्र उहाँका सम्पत्तिप्रति त्यस्तो मनोवृत्ति राख्छन्; कुनै साधारण भ्रष्ट व्यक्तिले त्यसो गर्दैन, एउटा जनावरले पनि त्यसो गर्दैन, केवल परमेश्वरका शत्रुहरू, शैतान, र ठूलो रातो अजिङ्गरले मात्र त्यस्तो काम गर्छ। के यसो भन्नु अति कठोर हुन्छ? होइन, यो तथ्य हो र यसो भन्नु पूर्ण रूपले सही छ। शैतानका खलकले कसरी परमेश्वरका सामानहरू छुन सक्छन् र? परमेश्वरको मर्यादा यस्तो हुन्छ!
४. जालसाजीपूर्वक भेटीहरू प्रयोग गर्नु
अरू कतिपय मानिसहरू यस्ता छन्, जो अनेक बहानामा परमेश्वरको परिवारलाई यसो भन्दै पैसा र सामानहरू माग्छन्, “हाम्रो मण्डलीलाई एउटा कुर्सीको कमी छ, त्यसैले हाम्रो लागि एउटा किनिदिनू। हाम्रो मण्डलीका कतिपय दाजुभाइ-दिदीबहिनीहरूसँग कर्तव्य पूरा गर्नका लागि कम्प्युटर छैनन्, त्यसैले हाम्रो लागि एउटा म्याक किनिदिनू। हामीले कामको क्रममा मानिसहरूलाई बारम्बार सम्पर्क गर्छौँ, र फोन छैन भने हाम्रो कामै हुँदैन, त्यसैले हामीलाई एउटा आइफोन किनिदिनू। तर एउटा मात्र भएर हुँदैन, एउटाले त अत्यन्तै असुविधाजनक हुन्छ, किनकि कहिलेकाहीँ हामी फरकफरक मानिसहरूसँग सम्पर्कमा रहनुपर्छ। अनि, एउटा मात्र लाइन हुँदा सजिलै निगरानीमा पर्न सकिन्छ, त्यसैले धेरै लाइनहरू भए मात्र काम हुन्छ।” अनि त्यसैले, यीमध्ये कतिपय मानिसहरूसँग चारपाँच वटा फोनहरू हुन्छन् र तिनीहरूले एकैपटक दुईतीन वटा ल्यापटप बोक्छन्; तिनीहरू अत्यन्तै प्रभावशाली देखिन्छन्, तर तिनीहरूको कार्य सम्पादन कमजोर हुन्छ। तिनीहरूले यी सारा वस्तुहरू कसरी प्राप्त गरे? तिनीहरूले त्यो सबै जालसाजीपूर्वक प्राप्त गरे। विगतमा, हामीले एउटी मूर्ख आइमाईको कुरा गरेका थियौँ, जो खाट्टी ख्रीष्टविरोधी थिई। जब परमेश्वरको घरले एउटा मण्डली भवन नवीकरण गरिरहेको थियो, उसले एउटा केटोसँग मिलेर जालसाजीपूर्वक मण्डलीको पैसा प्रयोग गरी, र परमेश्वरको घरलाई ठूलो क्षति पुर्याई। त्यो मान्छेले भवन नवीकरण गर्दा सबैभन्दा महङ्गा सरसामान किनेर एकदमै धेरै थप पैसा खर्च गराउँदै गैरविश्वासी ठेकेदारले जस्तै पैसा कुम्ल्यायो। जब केही मानिसहरूले त्यहाँ समस्या देखे, त्यो मूर्ख महिलाले उसलाई त्यो कुरा लुकाउन र ढाकछोप गर्न मद्दत गरी, अनि तिनीहरूले मिलेर परमेश्वरको घरको पैसा धुत्ने काम गरे। तर अन्त्यमा, तिनीहरू समातिए, र ती दुवै निष्कासित भए। यसमा तिनीहरू आफैले आफ्नो विनाश निम्त्याए र आफ्नो जीवन बर्बाद पारे। के अब रोइकराइ गरेर तिनीहरूलाई केही फाइदा हुन्थ्यो र? यो सबै कुराको अन्त्य यसरी भयो, तर तिनीहरूले सुरुमा किन त्यस्तो व्यवहार गरे त? त्यो मूर्ख महिलाले जालसाजीपूर्वक भेटीहरू प्रयोग गरिरहँदा परिणामहरूबारे किन ध्यानपूर्वक विचार गरिन? के परमेश्वरको घरले उसलाई निष्कासन गर्नु र पैसा फिर्ता गराउनु कठोर थियो र? (अहँ, हुनुहुन्थेन।) त्यसले जे पाउनुपर्ने हो त्यो पाई! यस्तो व्यक्ति दयाको लायक हुँदैन। तिनीहरूसित कृपालु हुने कुरा हुँदैन। अनि त्यसपछि हामीले यसअघि कुरा गरेको महिला अगुवा छे। उसले गोप्य रूपमा मण्डलीको धेरै पैसा लिएर एउटा गैरविश्वासीलाई सापट दिई। पछि, उसलाई तह लगाइयो। कतिपयले मनमनै सोच्लान्, “उसले त अलिकति पैसा सापट दिएकी मात्र होइन र? उसलाई फिर्ता गर्न लगाए भैगो नि। उसलाई किन निकाल्नु? त्यसो गर्दा त कुनै असल व्यक्ति एक्कासी गैरविश्वासी बन्छ, र उसले जिउनको लागि काम खोज्न जानुपर्छ। ऊ अत्यन्तै दयनीय छे!” के त्यो व्यक्ति दयनीय छे? बरु तँ किन ऊ तिरस्कारलायक छे भनेर भन्दैनस्? तँ किन उसले गरेका कामहरू हेर्दैनस्? उसले गरेको काम तँलाई ऊप्रति जीवनभर घिनाउने बनाउन काफी छ, तर तँ त उसलाई दया देखाइरहेको छस्! ज-जसले उसलाई दया देखाउँछन्—तिनीहरू कस्ता मानिसहरू हुन्? तिनीहरू सबै मन्दबुद्धि भएका र सबैप्रति अविवेकीपूर्ण रूपमा दया देखाउने मानिसहरू हुन्।
५. भेटीहरू चोर्नु
ख्रीष्टविरोधीहरूले मण्डलीका आर्थिक पक्षहरू नियन्त्रण गर्नुको एउटा अन्तिम प्रकटीकरण छ, र त्यो हो, भेटीहरू चोर्नु। कतिपय अज्ञानी मानिसहरूले भेटीहरू चढाउँदा “दायाँ हातले के गरिरहेको छ भनेर बायाँ हातलाई थाहा नदिने” सिद्धान्त पालना गर्छन्, र आफूले चढाउने रकम कोही भरोसायोग्य छ छैन भनेर आफूलाई थाहै नभएको व्यक्तिको हातमा थम्याउँछन्। उनीहरू भन्छन्, “यसपटक मैले ठुलै रकम चढाइरहेको छु, त्यसैले यसबारे कसैलाई थाहा नदिनू, र यसलाई खातामा नलेख्नू। म यो काम परमेश्वरसामु गरिरहेको छु, अरू मानिसहरूसामु होइन। परमेश्वरलाई त्यो कुरा थाहा भयो भने हुन्छ। यदि हामीले दाजुभाइ-दिदीबहिनीहरूलाई थाहा दियौँ भने, सायद उनीहरूले मलाई आराधना गर्नेछन्। त्यसैले, उनीहरूले मलाई सम्मान नगरून् भनेर म यो काम गोप्य रूपमा गरिरहेको छु।” यसो गरेपछि, उनीहरूलाई आफूप्रति निकै राम्रो महसुस हुन्छ, र उनीहरूले सोच्छन्, “मैले सिद्धान्तपूर्ण, गुपचुप, र शान्त तरिकाले भेटी चढाएँ, त्यसलाई अभिलेखमा राखिनँ, र त्यसबारे कुनै पनि दाजुभाइ-दिदीबहिनीहरूलाई थाहा दिइनँ।” तर यसरी अज्ञानी रूपमा काम गर्दा, लोभी मानिसहरूलाई मौकाको फाइदा लुट्ने बाटो खुलेको हुन्छ। भेटी चढाउनेबित्तिकै, त्यो भेटी दिइएको ख्रीष्टविरोधी बैंक जान्छ र त्यो रकम जम्मा गर्छ र त्यसलाई आफ्नै ठान्छ। उसले भेटी चढाउने व्यक्तिलाई यसोसमेत भन्छ, “अर्कोपटक भेटी चढाउँदा पनि तपाईंले यसैगरी चढाउनुपर्छ। यो तरिका सही हो र सिद्धान्तहरूसँग मिल्छ; भेटीहरू चढाउँदा नम्र हुनुपर्छ। परमेश्वरको घरले भेटी चढाउन मानिसहरूलाई अनुरोध नगर्नू भनेको छ। यसको मतलब यसले मानिसहरूलाई नम्र हुन, भेटी चढाएपछि पनि त्यसबारे कुरा नगर्न, र दिइएको रकम नखुलाउन, र कसलाई दिइयो भनेर त झनै नभन्न आग्रह गरिरहेको छ।” के यो भेटी चढाउने व्यक्तिले भित्रैसम्म मानिसहरूलाई बुझ्न सक्छ र? उसले किन यस्तो मूर्खतापूर्ण कदम चाल्छ? मानव हृदय कति दुष्ट र अनिष्टकर हुन सक्छ भन्ने थाहा नभएर उसले त्यो व्यक्तिमा सम्पूर्ण रूपमा भरोसा गर्छ, र अन्त्यमा, उसको पैसा चोरिन्छ। यो एउटा व्यक्तिले कुनै ख्रीष्टविरोधीलाई पैसा चोर्ने मौका दिनु हो। तर यस्तो मौका नपाई पनि कुनै ख्रीष्टविरोधीले पैसा चोर्न सकेको कुनै घटना छ? के त्यस्ता घटनाहरू छन् जहाँ कसैले हिसाबकिताब राख्ने क्रममा जानाजान गलत रकम वा कम रकम लेख्छ र मानिसहरूले ध्यान नदिइरहेको बेलामा गुपचुप रूपमा थोरैथोरै गर्दै पैसा निकाल्छ? यस्ता खालका मानिसहरू धेरै छन्। यस्ता मानिसहरू धनका लोभी हुन्छन्, तिनीहरू निकृष्ट र दुर्भावपूर्ण चरित्रका हुन्छन्, र तिनीहरूले अवसर पाउनेबित्तिकै जे पनि गर्न सक्छन्। एउटा भनाइ नै छ, “अवसर तयार व्यक्तिको पक्षधर हुन्छ।” लोभ नभएका मानिसहरूले यी कुराहरू ख्याल गर्दैनन्, तर लोभी मानिसहरूले सधैँ ख्याल गर्छन्। तिनीहरूको दिमागले निरन्तर रूपमा षड्यन्त्र रच्नेबारे सोचिरहेको र पैसा प्रयोग गरेर फाइदा उठाउने मौकाहरू खोजिरहेको हुन्छ, र यसरी मौकाको फाइदा उठाउँदै गोप्य रूपमा पैसा खर्च गर्ने उपायहरू रचिरहेको हुन्छ।
एउटी मूर्ख आइमाई थिई। एकपटक ऊसँग कुरा गर्ने क्रममा मैले मण्डलीले केही पुस्तकहरू छपाउन चाहेको विषय उठाएँ, र छपाइबारे उसलाई केही थाहा छ कि भनी सोधेँ। जवाफमा उसले धेरै सिद्धान्तहरू बोली र त्यसपछि तुरुन्तै यसो भनी, “प्रायजसो, छापाखानाहरूले पुस्तकहरू छाप्दा कमिसन दिन्छन्। यदि हामीले कुनै गैरविश्वासीलाई यो काम गरायौँ भने, पक्कै पनि ठूलै शङ्कास्पद गतिविधिहरू हुनेछ, र उसले गोप्य रूपमा पक्कै राम्रो नाफा लिनेछ।” बोल्ने क्रममा ऊ खुसीले मुस्कुराउन थाली। उसका आँखाहरू चम्किला बने, उसको आँखीभौ ठाडो भयो, र उसका गालाहरू रातो भए, र ऊ खुसी र उत्तेजित बनी। मैले मनमनै सोचेँ, “यदि तैँले यो छपाइको काम सम्हाल्न सक्छेस् भने, सम्हाल्, र तँलाई त्यसबारे जति थाहा छ, मलाई त्यति नै बता। तँ के कारणले यति उत्साहित बनेकी?” तर मैले यसलाई मनमा सोच्न थाल्नेबित्तिकै, मैले थाहा पाएँ: यसमा नाफा हुने थियो। उसलाई छपाइ कसरी गर्ने, कुन पुस्तकहरू छाप्नुपर्ने हो, त्यसको गुणस्तर कस्तो हुनेछ, वा कसरी छापाखाना खोज्ने भन्नेबारे उसलाई कुनै चासो थिएन—उसलाई त त्यसको एक अंश लिनुको मात्र चासो थियो। अहिलेसम्म केही पनि गरिएको थिएन, तर उसले कमिसन लिनेबारे कुरा गर्न थालिसकेकी थिई। मैले सोचेँ, “गरिबीले तँलाई पागल बनाएको हुनुपर्छ। तैँले कसरी परमेश्वरको घरका पुस्तकहरू छपाउँदा, त्यसबाट कमिसन पाउने आशा गर्न सकिस्? पुस्तकहरू वितरण गर्दा, परमेश्वरको घरले एक सुको कमाउँदैन, सबथोक सित्तैमा दिइन्छ, अनि तँचाहिँ त्यसको हिस्सा प्राप्त गर्न चाहन्छेस्?” के यो आइमाईले काल खोजिरहेकी थिइन र? उसलाई यो काम दिन परमेश्वरको घर सहमत हुनुपहिले नै, जब मैले सोधपुछ मात्र गर्दै थिएँ, उसले हिस्साबारे कुरा गर्न थालिसकेकी थिई। यदि त्यो काम वास्तवमै उसलाई सुम्पिइन्थ्यो भने, ऊ कमिसन पाउने कुरामै रोकिने थिइन, बरु ऊ त सारा पैसा लिएर भागेकी हुन सक्थी—तैँले उसलाई जति दिन्थिस् उसले तँबाट त्यति नै धेरै धुत्ने थिई, उसले त्यति नै धेरै चोर्ने थिई। के मैले यसलाई बढाइचढाइ गरिरहेको छु त? त्यो मूर्ख आइमाई निकै अनैतिक थिई, थिइन र? मलाई सोध्छस् भने, ऊ एक लुटेरी र गुन्डी थिई जो सकुन्जेल पैसा प्राप्त गर्ने दुस्साहस गर्थी। अहिलेको लागि परमेश्वर यसमा सहमत हुनुहुन्छ कि हुनुहुन्न भनेर सोध्न थाती राखौँ, र हामी दाजुभाइ-दिदीबहिनीहरूलाई मात्र उसले सद्विवेकसाथ यो काम सम्हाल्छे कि सम्हाल्दिन, उसले जसरी सम्हाल्छे त्यसलाई उनीहरूले स्विकार्न सक्छन् कि सक्दैनन्, र परमेश्वरका चुनिएका मानिसहरूले उसलाई माफी दिन सक्छन् कि सक्दैनन् भनेर सोधौँ।
त्यसपछि कतिपय त्यस्ता मानिसहरू छन् जसलाई उल्लेख गर्दासमेत घिन लाग्छ। जब तिनीहरू परमेश्वरको घरका लागि कुनै काम लिन्छन्, तब तिनीहरूले गैरविश्वासीहरूसँग मिलेर मूल्य बढाउँछन्, र परमेश्वरको घरलाई अत्यधिक रकम तिराएर घाटा लगाउँछन्। यदि तैँले त्यो खरिद नगर्ने वा तिनीहरूको प्रस्ताव नमान्ने कुरा गरिस् भने, तिनीहरू सबै रिसाउनेछन्, र तँलाई मनाउन वा निरुत्साहित गर्न, र मण्डलीबाट पैसा प्राप्त गर्न अनेक कोसिसहरू गर्नेछन्। जब गैरविश्वासीहरूलाई पैसा तिरिन्छ, र जब तिनीहरूले लाभ पाएका हुन्छन्, र तिनीहरूको छवि पनि बढेको हुन्छ, तब तिनीहरू भर्खरै चिठ्ठा जितेझैँ खुसी हुन्छन्। यो त बाहिरी मानिसहरूको पक्ष लिनु, भेटीहरू फजुलमा उडाउनु, र परमेश्वरको घरको लागि कहिल्यै पटक्कै लाभ प्राप्त गर्ने कोसिस नगर्नु हो। अनि, पुस्तकहरू छाप्न जिम्मा लिने ती मूर्ख आइमाईहरू किन बरखास्त भए? किनकि तिनीहरूले परमेश्वरको घरलाई घाटा तुल्याए, र लापरवाहीपूर्वक काम गरे। जब तिनीहरूले गैरविश्वासीहरूसँग मोलमोलाइ गरे, तिनीहरूले सकुन्जेल मूल्य घटाइरहे, यतिसम्म कि त्यो उत्पादन मूल्यभन्दा पनि कम भयो, त्यो घिनलाग्दो अवस्थासम्म पुग्यो र गैरविश्वासीहरूले तिनीहरूसँग काम गर्नै चाहेनन्। अन्त्यमा, ती गैरविश्वासीहरू मन नलागीनलागी सहमत त भए, तर गुणस्तर निकै घट्यो। ल भन् त, के त्यस्तो एउटा पनि व्यक्ति छ जसले घाटामा व्यापार गरोस्? यो संसारका मानिसहरूलाई बाँच्नु छ, र व्यवसाय गर्दा तिनीहरूले उत्पादन खर्चका अलावा जिउने खर्च र श्रम लागत पूर्ति हुनेगरी पर्याप्त पैसा कमाउनुपर्छ। ती आइमाईहरूले मूल्यमा हदभन्दा ज्यादा सम्झौता गर्दै त्यसलाई सक्दो घटाएर ती गैरविश्वासीहरूलाई कुनै पैसा कमाउनै दिएनन्, र तिनीहरूले परमेश्वरको घरको लागि पैसा बचत गरिरहेको ठाने, तर अन्त्यमा के भयो? अर्को पक्षले कामको गुणस्तर र बाइन्डिङमा सम्झौता गरिदियो। यदि तिनीहरूले यसैबाट घाटा पूर्ति गर्दैनथे भने, के तिनीहरूलाई घाटा लाग्दैनथ्यो त? यदि तिनीहरूले घाटा बेहोर्नुपर्थ्यो भने, के तिनीहरूले यो काम गर्थे त? के तिनीहरूले ती आइमाईहरूलाई मोलमोलाइमा जित्न दिन सक्थे र? अहँ, त्यो असम्भव थियो। यदि तिनीहरूले ती आइमाईहरूलाई मोलमोलाइमा जित्न दिन्थे भने, तिनीहरूले व्यवसाय गरिरहेकै हुँदैनथे, तिनीहरूले परोपकार गरिरहेका हुन्थे। ती मूर्ख आइमाईहरूले यो कुरा छर्लङ्ग देख्न नै सकेनन्, तिनीहरूले यस तरिकाले परमेश्वरको घरको काम सम्हाले, र कामकुरा लथालिङ्ग पारे। अनि अन्त्यमा, तिनीहरूले बहानैबहाना बनाए र यसो भने: “मैले परमेश्वरको घरको बारेमा सोचिरहेकी थिएँ। मैले परमेश्वरको घरको पैसा बचत गरिरहेकी थिएँ। एक रुपैयाँ बचाउनु भनेको एक रुपैयाँ बचाउनु हो, र दुई रुपैयाँ बचाउनु भनेको एक रुपैयाँ कमाउनु हो!” तिनीहरूले बकवास बोलेका बोल्यै थिए! के तिनीहरूलाई औद्योगिक प्रावधानहरूको अर्थ थाहा थियो र? के तिनीहरूलाई स्थापित अभ्यासहरू र मनासिब हुनुको अर्थ थाहा थियो? अनि, अन्तिम नतिजा के भयो? कतिपय पुस्तकहरू अत्यन्तै कम गुणस्तरका थिए, एकदुई पटक पल्टाएपछि पन्नाहरू उक्किन थाल्थे, र पूरै पुस्तक च्यातिन्थे, जसले गर्दा त्यो पढ्न सम्भव हुँदैनथ्यो, त्यसैले सबथोक फेरि छाप्नुको विकल्प नै थिएन। के यसबाट पैसा बचत भयो कि झन् बढी खर्च लाग्यो? (झन् बढी खर्च भयो।) यो ती मूर्ख आइमाईहरूले निम्त्याएको असफलता थियो।
ख्रीष्टविरोधीहरूले भेटीलाई जुन रूपमा लिन्छन् त्यसमा सिद्धान्त र मानवता बिलकुलै हुँदैन र यही नै तिनीहरूको दुष्ट र क्रूर स्वभावको प्रस्ट प्रमाण हो। तिनीहरूले भेटी र परमेश्वरका सारा सम्पत्तिलाई जुन रूपमा लिन्छन् त्यसको आधारमा भन्नुपर्दा, ख्रीष्टविरोधीको स्वभाव साँच्चै परमेश्वरविरोधी हुन्छ। तिनीहरूले परमेश्वरका भेटीहरूलाई अत्यन्तै अवहेलना गर्छन्, तीसँग खेलवाड गर्छन् र तिनलाई जसरी मन लाग्छ त्यही रूपमा लिन्छन्, तीप्रति अलिकति पनि सम्मान देखाउँदैनन्, र तिनीहरूमा कुनै पनि सीमा हुँदैन। यदि तिनीहरूले परमेश्वरका सम्पत्तिहरूप्रति यस्तै व्यवहार गर्छन् भने, परमेश्वर स्वयम्प्रति कस्तो व्यवहार गर्लान्? अथवा उहाँले बोल्नुभएका वचनहरूप्रति कस्तो व्यवहार गर्लान्? जवाफ प्रस्टै छ। यो ख्रीष्टविरोधीको प्रकृति सार हो, यो दुष्टता र क्रूरता हाबी भएको ख्रीष्टविरोधीको सार हो; यो एक पक्का ख्रीष्टविरोधी हो। यसलाई राम्रोसँग याद राख्: भेटीहरू फजुलमा उडाउन, दुरुपयोग गर्न, सापट दिन, जालसाजीपूर्वक प्रयोग गर्न, वा चोर्न सक्ने व्यक्तिको हकमा, अन्य प्रकटीकरणहरू हेर्न आवश्यक पर्दैन। यीमध्ये एउटा प्रकटीकरण छ भने, यो व्यक्तिलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्न त्यो नै पर्याप्त हुन्छ। तिनीहरू यस्ता व्यक्ति हुन् होइनन्, र भविष्यमा तिनीहरूले यस्ता काम गर्न सक्छन् सक्दैनन् भनेर हेर्न तैँले सोधपुछ वा अनुसन्धान गर्न आवश्यक छैन, तिनीहरूलाई जाँच्न त झनै आवश्यक छैन। तिनीहरूसँग एउटा गुण मिल्नेबित्तिकै, त्यसले तिनीहरूले ख्रीष्टविरोधी अर्थात् परमेश्वरको शत्रु हुने निर्धारित गर्छ। एकपटक तिमीहरू सबैले हेर: चाहे त्यो तिमीहरूले चुनिसकेको अगुवा होस्, वा तिमीहरूले चयन गर्ने निर्णय गरेको अगुवा होस्, वा तिमीहरूलाई निकै राम्रा लाग्ने मानिसहरूमध्येको एक होस्, चाहे यस्तो आचरण वा यस्तो प्रवृति देखाउने जोसुकै नै किन नहोस्, ऊ ख्रीष्टविरोधी नहुन सक्दै सक्दैन।
आज मैले सङ्गति गरेका कुराहरूबाट तिमीहरूले कुनै खालको पाठ सिकेका छौ? के तिमीहरूले कुनै सत्यताको बुझाइ प्राप्त गरेका छौ? तिमीहरू यसबारे प्रस्ट रूपमा बोल्न सक्दैनौ, त्यसैले तिमीहरूले कस्तो पाठ सिक्नुपर्छ भनेर म तिमीहरूलाई बताउनेछु। मानिसहरूले परमेश्वरलाई चढाउने वस्तुहरूबारे तैँले कुनै पनि योजनाहरू रच्नु हुँदैन। यी वस्तुहरू जे भए पनि, यी मूल्यवान् भए पनि नभए पनि, यी तँलाई काम लागे पनि नलागे पनि, यी बहुमूल्य भए पनि नभए पनि—तैँले यीबारे कुनै पनि योजनाहरू रच्नु हुँदैन। यदि तँसँग क्षमता छ भने बाहिर गएर पैसा कमा—तँलाई जति मन लाग्छ त्यत्ति कमा, यसमा कसैले पनि हस्तक्षेप गर्नेछैन, तर तैँले परमेश्वरका भेटीहरूबारे कुनै पनि योजनाहरू कदापि रच्नु हुँदैन। तिमीहरूमा यो सतर्कता हुनुपर्छ; तिमीहरूमा यो चेतना हुनुपर्छ। माथिको कुरा एउटा पाठ हो। अर्को पाठ यो हो कि, भेटीहरू फजुलमा उडाउने, दुरुपयोग गर्ने, सापट दिने, जालसाजीपूर्वक प्रयोग गर्ने, र चोरी गर्ने काममा संलग्न हुने जोकोहीलाई यहूदा कोटिको व्यक्ति मानिनुपर्छ। यसप्रकारका कार्य र अभ्यासहरू गर्ने मानिसहरूले अघिबाटै परमेश्वरको स्वभाव चिढ्याएका हुन्छन्, र परमेश्वरले तिनीहरूलाई मुक्ति दिनुहुनेछैन। तैँले यो मामलाबारे कुनै गलत सोच राख्नु हुँदैन। मैले यसलाई यसरी प्रस्तुत गरेको छु र परमेश्वरले यी कुराहरू हुन दिनुहुनेछ। यो तय भइसकेको छ, र यसमा सम्झौता गर्ने कुनै ठाउँ छैन। कतिपय मानिसहरूले यसो भन्नेछन्: “मैले एउटा सन्दर्भमा दुरुपयोग गरेको थिएँ: मैले जथाभावी रूपमा त्यो पैसा खर्च गर्दा म कलिलै र अज्ञानी थिएँ, तर मैले परमेश्वरको घरलाई अति धेरै पैसा ठगिनँ, बिसदेखि तीस युआनसम्म वा तीस वा पचास युआन मात्र चोरेँ।” तर यो कति रकम हो भन्ने कुरा होइन; समस्या के हो भने, जब तैँले यसो गर्छस्, तेरा कार्यहरूको निसाना परमेश्वर हुनुहुन्छ। तैँले परमेश्वरका थोकहरू छोएको हुन्छस्, र तैँले त्यसो गर्नु अस्वीकार्य हुन्छ। परमेश्वरका थोकहरू साझा सम्पत्ति होइनन्, ती सबैको होइनन्, ती मण्डलीका होइनन्, ती परमेश्वरको घरका होइनन्: ती परमेश्वरका हुन्, र तँ यी अवधारणाहरूबारे दुविधामा पर्नु हुँदैन। परमेश्वरले त्यस्तो सोच्नुहुन्न, न त उहाँले तँलाई “मेरा थोकहरू र भेटीहरू मण्डलीका हुन्, र तिनलाई मण्डलीद्वारा वितरण गरिनुपर्छ” भनेर नै भन्नुभएको छ, उहाँले “मलाई चढाइएका सारा भेटीहरू मण्डलीका हुन्, परमेश्वरको घरका हुन्, र ती दाजुभाइ-दिदीबहिनीहरूका नियन्त्रणमा छन्, र जसले तिनको प्रयोग गर्न चाहन्छ उसले त्यसको रिपोर्ट मात्र गर्नुपर्छ” भनेर त झनै भन्नुभएको छैन। परमेश्वरले यस्तो भन्नुभएको छैन, उहाँले कहिल्यै यस्तो भन्नुभएन। त्यसोभए, परमेश्वरले के भन्नुभयो त? परमेश्वरलाई चढाइएको चिज परमेश्वरकै हुन्छ, अनि त्यो चिज वेदीमा राखिसकेपछि त्यो सधैँको लागि परमेश्वरको हुन्छ, र कुनै पनि मानवसँग अनधिकृत रूपमा त्यो प्रयोग गर्ने अधिकार वा शक्ति हुँदैन। भेटीहरूबारे योजनाहरू रच्नु, र तिनलाई दुरुपयोग गर्नु, जालसाजीपूर्वक प्रयोग गर्नु, चोर्नु, सापट दिनु, र फजुलमा उडाउनु—यी सबै कार्यहरूलाई परमेश्वरको स्वभावविरुद्ध गरिएको उल्लङ्घन, र ख्रीष्टविरोधीहरूका कार्यहरूको निन्दा गरिन्छ, र यी कार्यहरू पवित्र आत्माविरुद्ध गरिने ईश्वरनिन्दाको पापसरह हुन्, र यसको निम्ति परमेश्वरले तँलाई कहिल्यै क्षमा गर्नुहुनेछैन। परमेश्वरको मर्यादा त्यस्तो हुन्छ, र मानिसहरूले यसलाई कदापि कम आँक्नु हुँदैन। तैँले अरू मानिसहरूलाई लुट्दा वा उनीहरूबाट चोरी गर्दा कानुनतः तँलाई एकदुई वर्ष वा तीनदेखि पाँच वर्षको सजाय हुन सक्छ, र तीनदेखि पाँच वर्ष जेल बसेपछि तँ कुनै अपराधको दोषी रहनेछैनस्। तर जब तैँले परमेश्वरका थोकहरू र परमेश्वरका भेटीहरू लिन्छस्, परमेश्वरको नजरमा त्यो सधैँ एउटा पाप हुन्छ, एउटा यस्तो पाप जसलाई क्षमा गर्न सकिँदैन। मैले तँलाई यी वचनहरू भनेको छु, र जो यीविरुद्ध जान्छ उसले परिणामहरू भोग्नुपर्नेछ। समय आएपछि, मैले तँलाई भनिनँ भनेर तैँले गुनासो नगर्नु नै बेस हुनेछ। मैले मेरो वचन आज तँलाई यसैमार्फत प्रस्ट पारेको छु, काठमा किला ठोकेझैँ यसलाई ठाउँमा घुसाएको छु, र यो कुरा पूरा हुने नै छ। तैँले यसलाई विश्वास गर्नु नगर्नु तेरो कुरा हो। कतिपयले आफूलाई डर लागेको छैन भन्छन्। ल, यदि तँलाई डर लागेको छैन भने, परिस्थितिहरू कस्ता हुनेछन्, पर्खेर हेर्। तँ दण्डित हुञ्जेल नपर्खी, किनकि त्यतिन्जेल रुन, दाह्रा किट्न, र छाती पिट्न ज्यादै ढिला भइसकेको हुनेछ।
अक्टोबर २४, २०२०
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।