विषयवस्तु तेह्र: तिनीहरूले मानिसहरूको हृदयका साथै मण्डलीको आर्थिक पक्ष नियन्त्रण गर्छन् (खण्ड एक)

अ. ख्रीष्टविरोधीहरूले मानिसहरूको हृदय नियन्त्रण गर्छन्

आज हामी ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूको तेह्रौँ विषयवस्तु—तिनीहरूले मानिसहरूको हृदयका साथै मण्डलीको आर्थिक पक्ष नियन्त्रण गर्छन्—भन्‍नेबारे सङ्गति गरौँ। ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूका आधारमा हेर्दा, यीमध्ये प्रत्येक विषयवस्तुले सत्यताप्रति वितृष्ण, क्रूर र दुष्ट रहेको तिनीहरूको स्वभाव र सार समेट्छ। विषयवस्तु तेह्र पनि यसको अपवाद होइन। “तिनीहरूले मानिसहरूको हृदयका साथै मण्डलीको आर्थिक पक्ष नियन्त्रण गर्छन्”—यस प्रकटीकरणका आधारमा, तैँले ख्रीष्टविरोधीहरू महत्त्वाकाङ्क्षी मात्र नभई लोभी पनि हुन्छन् भन्ने देख्न सक्छस्; तिनीहरूले आफ्नो हृदयमा धेरै आवश्यकताहरू बोकेका हुन्छन्। के यी चाहनाहरू वैध हुन्छन् त? (अहँ, हुँदैनन्।) के मानिसहरूको हृदय नियन्त्रण गर्नु सकारात्मक कुरा हो? “नियन्त्रण” शब्दबाटै प्रस्टसँग के देख्न सकिन्छ भने, यो सकारात्मक कुरा होइन। यो कुन अर्थमा सकारात्मक होइन त? नियन्त्रण जमाउनु किन गलत हो? के तिमीहरू मानिसहरूको हृदय नियन्त्रण गर्न चाहन्छौ? (चाहँदैनौँ।) तिमीहरूले त्यसो गर्न नचाहे पनि, कहिलेकाहीँ यस्तो समय आउँछ, जुन बेला तिमीहरू त्यसरी नै कार्य नगरी बस्‍नै सक्दैनौ। यसलाई “स्वभाव” भनिन्छ; यसलाई “सार” भनिन्छ। ख्रीष्टविरोधीहरूले मानिसहरूको हृदय नियन्त्रण गर्नु भनेको वैध आवश्यकता होइन, न त यो न्यायोचित र मनासिब नै हो; यो त नकारात्मक कुरा हो। यो “मानिसहरूको हृदय नियन्त्रण गर्नु” भनेको के हो? मानिसहरूको हृदय नियन्त्रण गर्नु भनेको अमूर्त कुरा होइन; यो त निकै मूर्त र विशिष्ट कुरा हो, जसका विशिष्ट विधि, आचरण र भाषा, साथै विशिष्ट सोच, दृष्टिकोण, अभिप्राय र मनसायहरू हुन्छन्। अब त्यसो भएकाले, ख्रीष्टविरोधीहरूले मानिसहरूको हृदय नियन्त्रण गर्नुका ठोस प्रकटीकरणहरूचाहिँ के-के हुन् त, र यो नियन्त्रणलाई ठ्याक्कै कसरी परिभाषित गरिन्छ त? (अरूको अनुमोदन र सम्मान प्राप्त गर्नका निम्ति, र अरूलाई बहकाउने लक्ष्य हासिल गर्नका लागि बाह्य दुःख र मूल्यचुकाइजस्ता कुराहरूको प्रदर्शनी प्रयोग गरेर।) ख्रीष्टविरोधीहरूले मानिसहरूको निगाह प्राप्त गर्न खास प्रकारका आचरण र प्रकटीकरणहरू प्रयोग गर्छन्, र यसमार्फत मानिसहरूको हृदयमा स्थान बनाउँछन्, र मानिसहरूलाई आफ्नो सम्मान गर्न लगाउँछन्। जब ख्रीष्टविरोधीहरूले अरूको सम्मान प्राप्त गर्छन्, यो परिणाम स्वतः नै मानिसहरूलाई बहकाउने प्रकृतिको हुन्छ। तर ख्रीष्टविरोधीहरूको हृदयमा यी उपायहरू प्रयोग गरेर अरूलाई भ्रममा पार्ने आत्मगत चाहना साँच्चै हुँदैन; तिनीहरूले चाहेको कुरा त सम्मानित हुनु हो—तिनीहरूको उद्देश्य नै त्यही हो। अरू केही छ? (ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बहकाउन र आफ्नो पक्षमा ल्याउन सानातिना निगाहहरू प्रयोग गर्छन्, साथै अरूलाई तिनीहरूको सम्मान र प्रशंसा गर्न लगाउन र तिनीहरूका आदेशहरू पालना गर्न लगाउन तिनीहरूले आफ्ना क्षमता र वरदानहरू प्रदर्शन गर्छन्, र यसरी तिनीहरूले मानिसहरूको मन जित्ने र उनीहरूमाथि नियन्त्रण राख्ने आफ्नो लक्ष्य हासिल गर्छन्।) यो एउटा पक्ष हो। (ख्रीष्टविरोधीहरू आत्मिक भएको ढोँग गर्छन्। तिनीहरूलाई काँटछाँट गर्दा तिनीहरूले त्यो कुरा बुझ्दैनन्, तैपनि तिनीहरू बुझेको र त्यसलाई पालना गर्न सक्षम भएको नाटक गर्छन्, ताकि अरूलाई तिनीहरूले उत्सुकतापूर्वक सत्यता पछ्याइरहेका र धेरै आत्मिक बुझाइ प्राप्त गरेका छन् भन्ने भान परोस्। तिनीहरू अरू मानिसहरूलाई आफूलाई सम्मान गर्न र आदरभावले हेर्न लगाउन सत्यता पछ्याउने र बुझ्ने मानिसको जस्तो भेष धारण गर्छन्।) यो अर्को पक्ष हो। ख्रीष्टविरोधीहरू सधैँ तिनीहरू कति आत्मिक छन्, र तिनीहरू सत्यता पछ्याउन र त्यसप्रति समर्पित हुन सक्षम छन् भनेर अरूलाई देख्न लगाउन चाहन्छन्। वास्तवमा, तिनीहरूमा अलिकति पनि बुझाइ हुँदैन, तर तिनीहरूले अरूलाई तिनीहरूलाई सम्मान गर्ने र आदरभावले हेर्ने तुल्याउन आत्मिक व्यक्तिको आवरण पहिरिन्छन्। तिनीहरूले मानिसहरूको हृदय नियन्त्रण गर्न यस्ता उपायहरू प्रयोग गर्छन्। थप केही छ? (ख्रीष्टविरोधीहरू देखावा गर्न र आफूलाई स्थापित गर्नका लागि शब्द र धर्मसिद्धान्तहरूबारे बोल्छन्, ताकि अरूले तिनीहरू सत्यता बुझ्छन् र तिनीहरूसित कद छ भन्ने सोचून्, र तिनीहरूलाई सम्मान गरून्, आराधना गरून् र तिनीहरूका कुरा सुनून्। यी उपायहरूद्वारा तिनीहरूले मानिसहरूलाई नियन्त्रण गर्छन्।) यो एउटा ठोस प्रकटीकरण हो, तर “तिनीहरू शब्द र धर्मसिद्धान्तहरूबारे बोल्छन्” भन्नु पूर्णतया उचित हुँदैन। ख्रीष्टविरोधीहरूलाई आफूले शब्द र धर्मसिद्धान्तहरूबारे बोलिरहेको छु भन्‍ने कुरा थाहै हुँदैन; तिनीहरू त आफूले बोल्ने कुराहरू वास्तविकता हुन्, ती ठूला सिद्धान्त र प्रवचनहरू हुन् भन्‍ने विश्‍वास गर्छन्, र मानिसहरूलाई बहकाउन तिनीहरूले यी कुराहरू प्रयोग गर्छन्। यदि ख्रीष्टविरोधीहरूले ती कुराहरू शब्द र धर्मसिद्धान्त हुन् भनेर थाहा पाउँथे भने, तिनीहरूले ती कुराहरूबारे बोल्न छाड्नेथिए। अरू केही छ? (ख्रीष्टविरोधीहरू निर्लज्ज रूपमा सिद्धान्तहरूको विपरीत जान्छन्, र छलपूर्वक सबैको विश्‍वास प्राप्त गर्न आफूसँग भएका शक्ति र भ्रामक आत्मिक सिद्धान्तहरू प्रयोग गर्छन्, र यसरी मानिसहरूमाथि नियन्त्रण राख्ने आफ्नो लक्ष्य हासिल गर्छन्।) (ख्रीष्टविरोधीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूको माथिसँगको सम्बन्ध टुटाउँछन्। तिनीहरूले कार्य प्रबन्धहरू कार्यान्वयन गर्दैनन्, आफ्नो अधिकारक्षेत्रभित्र पूर्ण शक्ति चलाउँछन्, साथै आफ्नै राज्यहरू स्थापित गर्ने र मानिसहरूलाई नियन्त्रण गर्ने कोसिस गर्छन्।) यो पनि एउटा ठोस प्रकटीकरण हो। यसलाई अझ उचित रूपमा भन्नुपर्दा, तिनीहरूले माथिलाई धोका दिन्छन्, आफूभन्दा मूनिकाहरूबाट कुरा लुकाउँछन्, र मानिसहरूको निगाह जित्‍ने प्रयास गर्छन्, तिनीहरू मानिसहरूको हृदयलाई नियन्त्रण गर्ने लक्ष्य हासिल गर्नका लागि अरूलाई साँचो परिस्थिति हेर्न दिँदैनन्, र छलपूर्वक अरूको विश्‍वास प्राप्त गर्छन्। तिनीहरूले माथिलाई धोका दिनु र आफूभन्दा मूनिकाहरूबाट कुरा लुकाउनुको उद्देश्य माथिलाई र ब्रदर-सिस्टरहरूलाई आफूबारेको सत्यता बुझ्न नदिनु हो, ताकि माथिले र ब्रदर-सिस्टरहरूले तिनीहरूमाथि भरोसा गरून्, र अन्त्यमा ब्रदर-सिस्टरहरू तिनीहरूकै मात्र आराधना गर्ने बन्‍न पुगून्—त्यसपछि तिनीहरूले मानिसहरूको हृदय नियन्त्रण गर्ने आफ्नो लक्ष्य हासिल गरेका हुनेछन्। थप केही छ? (मानिसहरूले पालना गरून् भनेर ख्रीष्टविरोधीहरूले सही देखिने धेरै प्रावधानहरू सिर्जना गर्छन्, र सत्यतालाई प्रतिस्थापित गर्न यी प्रावधानहरू प्रयोग गर्छन्, ताकि मानिसहरूलाई यी प्रावधानहरू पालना गर्नु भनेको सत्यता अभ्यास गर्नुसरह हो भन्ने लागोस्। यी माध्यमहरूद्वारा ख्रीष्टविरोधीहरूले मानिसहरूको हृदय नियन्त्रण गर्छन् र मानिसहरूलाई आफूतर्फ डोर्‍याउँछन्।) यसलाई ख्रीष्टविरोधीहरूले तिनीहरूको कुरा मानिसहरूले सुनून्, र यसरी मानिसहरूको हृदय नियन्त्रण गर्ने तिनीहरूको लक्ष्य हासिल होस् भनेर सत्यता सिद्धान्तहरूको ठाउँमा धेरै नियम र प्रावधानहरू बनाउनु, र आफूलाई आत्मिक र सत्यता बुझ्ने व्यक्तिका रूपमा प्रस्तुत गर्न खोजेको भनी व्याख्या गर्नुपर्छ। यदि तिनीहरूले बनाउने नियमहरू मण्डली जीवनका लागि र आफ्नो कर्तव्य निर्वाह गर्ने मानिसहरूका लागि लाभदायी हुने भए, साथै यदि ती सत्यता सिद्धान्तहरूविपरीत नहुने भए र तिनले परमेश्‍वरको घरका हितहरूमा कुनै हानि नगर्ने भए, यसमा केही पनि गलत हुनेथिएन। मण्डलीमा अनेकथरीका मानिसहरू सम्हाल्ने क्रममा, सत्यता सङ्गति गर्नुबाहेक, मानिसहरूलाई ठेगानमा राख्न केही प्रशासनिक नियमहरू स्थापित गर्नु जरुरी हुन्छ। यदि यी प्रशासनिक नियमहरू सत्यता सिद्धान्तहरूविपरीत छैनन्, बरु मानिसहरूका लागि लाभदायी छन् भने, ती सकारात्मक कुराहरू हुन्, र यसो गर्नु मानिसहरूको हृदय नियन्त्रण गर्नु होइन। तर यदि यी नियमहरूलाई सत्यता सिद्धान्तहरूका रूपमा प्रस्तुत गरिँदै छ भने, यसमा समस्या छ। अब त्यसोभए, के ख्रीष्टविरोधीहरू मानिसहरूलाई लाभ हुने र सत्यता सिद्धान्तहरूसँग मिल्दा नियमहरू बनाउन सक्षम छन् त? (अहँ, छैनन्।) यसलाई कसरी व्याख्या गर्ने भनेर सारांशमा भन त। (ख्रीष्टविरोधीहरूले सत्यता सिद्धान्तहरूसँग मेल नखाने केही नियमहरू बनाउँछन् र मानिसहरूलाई आज्ञापालन गर्न लगाउन तिनीहरूले आफूमा आत्मिकता भएको र आफूले सत्यता बुझेको नाटक गर्छन्, र मानिसहरूको हृदय नियन्त्रण गर्ने तिनीहरूको लक्ष्य हासिल गर्छन्।) यो तुलनात्मक रूपले सुहाउँदो हुन्छ। थप केही छ? (ख्रीष्टविरोधीहरू आफ्नो चलाखीपन र अन्तर्ज्ञान देखाउन, र मानिसहरूलाई आफ्नो सम्मान गर्ने तुल्याउनका लागि ठूल्ठूला विचारहरू फलाक्न रुचाउँछन्। उदाहरणका लागि, कुनै मामलामा सबैले छलफल गरेर त्यसबारे के गर्ने भनी निर्णय गरिसकेपछि, ख्रीष्टविरोधीहरूले सिद्धान्तहरूको एउटा सङ्ग्रह भट्याएर अरू सबैका सुझावहरू खण्डन गर्छन् र सबैजनालाई तिनीहरूको कुराचाहिँ सुन्‍न लगाउँछन्, जबकि तिनीहरूको दृष्टिकोण त्योभन्दा खासै राम्रो केही हुँदैन। त्यसपछि, समय बित्दै जाने क्रममा, मामला जेसुकै भए पनि, कसैले पनि सत्यता सङ्गति गर्ने वा सत्यता सिद्धान्तहरू खोज्ने आँट गर्नेछैन, उनीहरूले ख्रीष्टविरोधीहरूलाई नै अन्तिम निर्णय गर्न दिनुपर्ने महसुस गर्नेछन्, र यसरी अन्त्यमा ख्रीष्टविरोधीहरू मानिसहरूलाई नियन्त्रण गर्ने आफ्नो लक्ष्यमा पुग्नेछन्।) ख्रीष्टविरोधीहरूले हरेक मोडमा ठूल्ठूला विचारहरू फलाक्छन्, अरूका सुझावहरू खण्डन गर्छन्, आफ्नो देखावा गर्छन्, र अरूलाई तिनीहरू निकै चलाख भएको विश्‍वास दिलाउँछन्, र यसमार्फत अरू मानिसहरूलाई बहकाउने र नियन्त्रणमा राख्‍ने आफ्नो लक्ष्य हासिल गर्छन्। हामीले विगतमा ख्रीष्टविरोधीहरूले मानिसहरूलाई नियन्त्रण गर्ने र बहकाउने प्रकटीकरणहरूबारे धेरै सङ्गति गरेका छौँ। ख्रीष्टविरोधीहरूले यसो गर्दा, यसमा थुप्रै प्रकारका रणनीति, प्रकटीकरण र विधिहरू संलग्न हुन्छन्। मानिसहरूलाई बहकाउन तिनीहरू कहिलेकाहीँ कार्यहरू प्रयोग गर्छन्, कहिलेकाहीँ बोली प्रयोग गर्छन्, र अरू बेलामा एक प्रकारको दृष्टिकोण प्रयोग गर्छन्। समग्रमा भन्नुपर्दा, ख्रीष्टविरोधीहरूले गर्ने यी सारा कामकुराहरूमा अन्तर्निहित लक्ष्यहरू हुन्छन्; यीमध्ये कुनै पनि कार्यहरू शुद्ध र खुलस्त हुँदैनन्, र यीमध्ये कुनै पनि सत्यतासँग मिल्दा हुँदैनन्। तिनीहरूले जे गर्छन् त्यो सबै मानिसहरूलाई बहकाउन र तिनीहरूलाई आफ्नो सम्मान र आराधना गर्ने तुल्याउनकै निम्ति गर्छन्। ख्रीष्टविरोधीहरूले बाहिरी रूपमा जे भन्छन् र गर्छन्, ती आवरण मात्र हुन्—ती सबै असल आचरण र मानिसहरूले असल ठान्‍ने कामकुराहरू हुन्—तर खासमा, यदि कसैले ती कुराहरूको सार छानबिन गर्ने हो भने, निस्सन्देह ख्रीष्टविरोधीहरूका कार्यपद्धतिहरूमा लुकेका अन्तर्निहित मनसाय र उद्देश्यहरू भन्नै नमिल्ने, सत्यताविपरीत र परमेश्‍वरलाई घिन लाग्‍ने खालका हुन्छन्।

मानिसहरूको हृदय नियन्त्रण गर्ने तिनीहरूको कार्यशैलीका आधारमा मूल्याङ्कन गर्दा, ख्रीष्टविरोधीहरूको मानवता घृणास्पद र स्वार्थी हुन्छ, र तिनीहरूको स्वभाव सत्यताप्रति वितृष्ण, दुष्ट, र क्रूर हुन्छ। ख्रीष्टविरोधीहरूले आफ्ना उद्देश्यहरू हासिल गर्न लाजको कुनै भावना नराखी अनेकथरीका घृणास्पद र गोप्य चालहरू प्रयोग गर्छन्—यो तिनीहरूको दुष्ट प्रकृतिको एउटा विशेषता हो। यसअलावा, तिनीहरू सधैँ मानिसहरूलाई नियन्त्रण गर्न, र आफूअनुकूल प्रयोग गर्न र तिनीहरूमाथि प्रभुत्व जमाउन चाहन्छन्, र त्यसका लागि मानिसहरू इच्छुक छन् कि छैनन् भन्नेबारे कुनै चासो राख्दैनन्, र त्यसबारे तिनीहरूलाई कुनै जानकारी दिने वा तिनीहरूबाट कुनै सहमति प्राप्त गर्ने काम गर्दैनन्। तिनीहरू मानिसहरूले हृदयमा सोच्ने र चाहने सबथोक तिनीहरूकै चालबाजी अन्तर्गत होस् भन्‍ने चाहन्छन्, तिनीहरू मानिसहरूले हृदयमा तिनीहरूका लागि ठाउँ राखून्, तिनीहरूलाई आराधना गरून् र हरकुरामा तिनीहरूलाई हेरून् भन्ने चाहन्छन्। तिनीहरू आफ्ना शब्द र दृष्टिकोणहरूद्वारा मानिसहरूलाई चारैतिरबाट घेर्न र प्रभाव पार्न, साथै तिनीहरूका आफ्नै इच्छाहरूका आधारमा उनीहरूलाई आफूअनुकूल चालबाजी र नियन्त्रण गर्न चाहन्छन्। यो कस्तो स्वभाव हो? के यो क्रूरता होइन र? यो त बाघले आफ्ना दाह्राले तेरो घाँटी ङ्याक्नुजस्तै हो—तैँले जति नै सास फेर्न र चलमलाउन खोजे पनि, तैँले चाहेजस्तो गर्न सक्दैनस्, बरु तँ त्यसको डरलाग्दो मुखको दरिलो र घातक पकडमा रहन्छस्। तैँले मुक्त हुन जति कोसिस गरे पनि सक्दैनस्, र तैँले बाघलाई बङ्गारा खुकुलो पार्न बिन्ती गरे पनि, त्यो असम्भव हुन्छ, त्यहाँ छलफलका लागि ठाउँ नै हुँदैन। ख्रीष्टविरोधीहरूमा ठ्याक्कै यस्तै स्वभाव हुन्छ। मानौँ, तैँले तिनीहरूलाई छलफलमा संलग्न गराइस् र यसो भनिस् रे, “के तपाईँ मानिसहरूलाई नियन्त्रण गर्ने उपायहरू सोच्न छोड्न सक्नुहुन्न? के तपाईँ आफूलाई उचित व्यवहारमा ढालेर एक अनुयायी बन्न सक्नुहुन्न? के तपाईँ आफूलाई उचित व्यवहारमा ढालेर आफ्ना कर्तव्यहरू पूरा गर्न र आफ्नो स्थानमा रहन सक्नुहुन्न?” के तिनीहरू यसमा सहमत हुन सक्लान् त? के तैँले तेरो असल आचरण वा आफूले बुझेको सत्यता प्रयोग गरेर तिनीहरूलाई तिनीहरूको मार्गमा हिँडिरहनबाट रोक्न सक्लास् र? के तिनीहरूको दृष्टिकोण बदल्न सक्ने कोही छ त? ख्रीष्टविरोधीहरूको क्रूर स्वभावलाई मूल्याङ्कन गर्दा, तिनीहरूका सोच र दृष्टिकोणहरू कसैले पनि बदल्न सक्नेछैन, न त मानिसहरूको हृदय नियन्त्रण गर्ने तिनीहरूको चाहनालाई नै कसैले बदल्न सक्‍नेछ। तिनलाई कसैले पनि बदल्न सक्दैन, र तिनीहरूसँग कुनै संवाद हुन सक्दैन—यसलाई “क्रूरता” भनिन्छ। मानिसहरूलाई नियन्त्रण गर्ने ख्रीष्टविरोधीहरूको महत्त्वाकाङ्क्षा र चाहना तिनीहरूको सारको प्रकटीकरण हो। यदि तैँले तिनीहरूलाई सुधार्न असल आचरण प्रयोग गरिस् भने, के त्यसले काम गर्ला त? यदि तैँले तिनीहरूलाई सहयोग र साथ दिन काँटछाँट, न्याय र सजाय भोगेको आफ्नो व्यावहारिक अनुभव प्रयोग गर्थिस् भने—के तिनीहरू रूपान्तरण हुन सक्नेथिए त? के तिनीहरू आफूले गरिरहेको काम रोक्नेथिए त? (अहँ, रोक्नेथिएनन्।) के तिमीहरूले यसअघि यस्तो व्यक्तिलाई भेटेका छौ? (हजुर। यस्तो व्यक्तिका सन्दर्भमा कुरा गर्नुपर्दा, उसले जहाँसुकै आफ्नो कर्तव्य पूरा गर्ने भए पनि, र उसले एकदुई पटक असफलता भोगे पनि र ठेस खाए पनि, वा रोगको ताडना भोगे पनि, हैसियत पछ्याउने उसको चाहना बदल्न सकिँदैन। ऊ जहाँ गए पनि, उसले हैसियत र शक्ति प्राप्त गर्न चाहन्छ।) यदि ठाउँ वा समूह परिवर्तन गरेर तिनीहरू रूपान्तरण हुँदैनन् भने, तिनीहरू अलि बुढा हुञ्जेल पर्खँदा कसो होला—के तिनीहरू त्यसपछि अलि परिवर्तन होलान् त? के तिनीहरूले शक्ति र अख्तियारको पछ्याइलाई अलि त्याग्लान् त, के त्यो पछ्याइ अलि कमजोर बन्ला त? (अहँ। उमेरसँग यसको कुनै सम्बन्ध छैन; तिनीहरूको यो स्वभाव बदल्न सकिँदैन।) ख्रीष्टविरोधीहरूमाथि क्रूर स्वभावले शासन र नियन्त्रण गर्छ, त्यसैले तिनीहरू बदलिन सक्दैनन्। यस्तो लाग्छ, ख्रीष्टविरोधीहरूको क्रूर स्वभाव केही मानिसहरू आफैले भोगेको र देखेको कुरा हो। ख्रीष्टविरोधीहरूद्वारा मानिसहरूको हृदय नियन्त्रण गरिनु एउटा वास्तविकता हो र यसको तथ्यगत प्रमाण छ—यो निकै गम्भीर मामला हो। यस्ता मानिसहरूले मानिसहरूको हृदय नियन्त्रण गर्ने कुरा बिर्सन वा पाखा लगाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको प्रकृति सार नै यस्तै हुन्छ। व्यक्तिपरक दृष्टिकोणबाट हेर्दा, तिनीहरूले त्यो कुरा पाखा लगाउन नसकेको देखिन्छ; वस्तुगत दृष्टिकोणबाट हेर्दा, तिनीहरूलाई कसैले पनि रूपान्तरण गर्न नसकिने हुन्छ—तिनीहरू सम्पूर्ण रूपले ख्रीष्टविरोधीहरू हुन्। ल मलाई भन् त, के निष्कासित भएर ब्रदर-सिस्टरहरूको साथ गुमाएपछि अरूको हृदय नियन्त्रण गर्ने चाहना गुमाएका कुनै ख्रीष्टविरोधीहरू छन् त? के ख्रीष्टविरोधीहरू तिनीहरूको परिवेश वा भौगोलिक स्थानमा आउने परिवर्तनहरूका आधारमा बदलिएलान् त? (अहँ, बदलिनेछैनन्।) तिनीहरू समय र स्थान परिवर्तनसँगै परिवर्तन हुनेछैनन्—यो कुरा तिनीहरूको प्रकृति सारद्वारा निर्धारित हुन्छ। मानिसहरूको हृदय नियन्त्रण गर्ने क्रममा, ख्रीष्टविरोधीहरू वास्तवमा मानिसहरूमाझ शक्ति प्रयोग गर्न खोजिरहेका हुन्छन्, अर्थात् हर्ताकर्ता बन्‍ने, आफै निर्णय गर्ने, र मानिसहरूलाई नियन्त्रण गर्ने र मानिसहरूको हृदयलाई चालबाजी गर्ने शक्ति प्रयोग गर्न खोजिरहेका हुन्छन्—तिनीहरूले प्राप्त गर्ने इच्छा राखेको शक्ति नै यही हो। मानिसहरूको हृदय नियन्त्रण गर्नहेतु, ख्रीष्टविरोधीहरूले मानिसहरूलाई तिनीहरूको सम्मान गर्ने तुल्याउन, मानिसहरूलाई झुक्याउन र बहकाउन, र मानिसहरूसामु आफ्नो झूटो रूप प्रस्तुत गर्न हर तरिका र उपायहरू प्रयोग गर्नेछन्, र तिनीहरूले आफ्ना भ्रष्ट स्वभावहरू र चरित्र ढाकछोप गर्न पनि केही निश्‍चित तरिका र उपायहरू प्रयोग गर्नेछन्, अनि मानिसहरूलाई तिनीहरूको सत्यताप्रति वितृष्ण र ख्रीष्टविरोधी सार खुट्ट्याउन वा छर्लङ्गै देख्नबाट समेत रोक्नेछन्। बाह्य रूपमा, तिनीहरूले आफूलाई कुनै दोष वा त्रुटि नभएका, वा भ्रष्ट स्वभावको कुनै छनक नभएका, आत्मिक र सिद्ध मानिसका रूपमा प्रस्तुत गर्ने गर्छन्, र यसरी तिनीहरू अरूलाई आफूलाई सम्मान गर्ने, आदरभावले हेर्ने, प्रशंसा, आराधना र भरोसा गर्ने तुल्याउने आफ्नो लक्ष्यमा पुग्छन्। यी लक्ष्यहरूमा पुग्नु भनेको, सारभूत रूपमा, तिनीहरूले मानिसहरूको हृदय नियन्त्रण गर्नुको परिणाम हो। ख्रीष्टविरोधीहरूका सारा स्वभाव र प्रकटीकरणहरूबारेको यो सङ्गतिमा, हाम्रो छलफल सबैभन्दा बढी ख्रीष्टविरोधीहरूले मानिसहरूको हृदय नियन्त्रण गर्ने अनि शक्ति र लाभका लागि हानथाप गर्ने कुरामा केन्द्रित भएको छ। अब यस विषयमा हामीले धेरै सङ्गति गरिसकेकाले, आजका लागि हामी यसलाई यही टुङ्ग्याऔँ।

आ. ख्रीष्टविरोधीहरूले मण्डलीको आर्थिक पक्ष नियन्त्रण गर्छन्

आज हामीले सङ्गति गर्न लागेको मुख्य विषय के हो भने, मानिसहरूको हृदय नियन्त्रण गर्ने प्रयास गर्न खोज्नु, र शक्तिप्रतिको तिनीहरूको महत्त्वाकाङ्क्षा र चाहनाबाहेक, ख्रीष्टविरोधीहरूको अर्को एउटा पनि घातक प्रकटीकरण छ। त्यो हो, तिनीहरूले मण्डलीको आर्थिक पक्षप्रति पनि ठूलो चाहना देखाउँछन्, त्यस्तो चाहना जसलाई लोभ पनि भन्न सकिन्छ। हैसियतप्रतिको प्रेमको अलावा, ख्रीष्टविरोधीहरूमा आर्थिक पक्षप्रति पनि विशेष प्रेम हुन्छ। आर्थिक पक्षप्रति तिनीहरूले लिने रुचि र आनन्द प्रचुर र पूर्ण हुन्छ; हामी यसलाई ख्रीष्टविरोधीहरूले मण्डलीको आर्थिक पक्ष नियन्त्रण गरेको भनेर परिभाषित गर्छौँ। ख्रीष्टविरोधीहरूले मण्डलीको आर्थिक पक्ष नियन्त्रण गर्न खोज्नु र मानिसहरूको हृदय नियन्त्रण गर्न खोज्नु उस्तै कुरा हुन्—दुवै समान रूपले अमान्य र बेसमझ प्रयासहरू हुन्। यो प्रस्ट रूपले अपमानजनक कुरा हो। मानिसहरूको हृदय नियन्त्रण गर्ने महत्त्वाकाङ्क्षा र चाहना राख्नु नै घिनलाग्दो कुरा हो, यो पहिले नै अत्यन्तै अपमानजनक छ, त्यसमाथि ख्रीष्टविरोधीहरू मण्डलीको आर्थिक पक्षसमेत नियन्त्रण गर्न चाहन्छन्—यो तिनीहरूमा हुने अझ घृणास्पद कुरा हो। अब त्यसोभए, जब ख्रीष्टविरोधीहरूले मण्डलीको आर्थिक पक्ष नियन्त्रण गर्न खोज्छन्, यसका ठोस प्रकटीकरणहरू के-के हुन् त? के यो तिनीहरूले मानिसहरूको हृदय नियन्त्रण गर्न खोजेभन्दा सजिलो तरिकाले खुट्ट्याउन सकिने हुन्छ? जब ख्रीष्टविरोधीहरू मानिसहरूको हृदय नियन्त्रण गर्न खोजिरहेका हुन्छन्, तब तिनीहरूले प्रयोगमा ल्याउने केही शैली र स्वभावहरू मानिसहरूले खुट्ट्याउन सक्छन्। तर यदि तिनीहरू अत्यन्तै गोप्य र कुटिल छन्, र तिनका पछाडि केही कथन, रणनीति, वा शैतानी चालहरू छन्, र तिनलाई ख्रीष्टविरोधीहरूले बाहिर खुलासा गर्दैनन्, बस मनमनै मात्र सोच्छन् भने, यी कुराहरू सजिलै खुट्ट्याउन सकिनेछैनन्। तर मण्डलीका आर्थिक पक्षहरू नियन्त्रण गर्न खोज्नुका केही ठोस प्रकटीकरण र शैलीहरू हुनुपर्छ। के तिमीहरूलाई यी शैलीहरू खुट्ट्याउन सजिलो लाग्छ? जब तिमीहरूले यी कुराहरू आफ्नै आँखाले देखेका र आफ्नै कानले सुनेका हुन्छौ, के तिमीहरू यी ख्रीष्टविरोधीहरूका कार्य हुन् भनेर खुट्ट्याउन सक्छौ? (यदि ती प्रस्ट व्यवहारहरू हुन् भने, सक्छौँ। उदाहरणको लागि, ख्रीष्टविरोधीहरूले भेटीहरू सुरक्षा गर्ने प्रभारी को हो भनेर सोधपुछ गर्ने गर्छन्।) यो सजिलै खुट्ट्याउन सकिन्छ किनभने आर्थिक पक्ष एक संवेदनशील मामला हो, र धेरैजसो मानिसहरूले यसबारे सोधपुछ गर्दैनन्, तिनीहरू आर्थिक पक्षबारे षडयन्त्र गर्ने लोभी मानिसहरू रहेछन् भने मात्र तिनीहरूले यस्ता जानकारीबारे चासो राख्ने र सोधपुछ गर्नेछन्। त्यसैले, अब हामी मण्डलीका आर्थिक पक्षहरू नियन्त्रण गर्न खोज्‍ने ख्रीष्टविरोधीहरूका ठोस प्रकटीकरणहरू कस्ता हुन्छन् भन्नेबारे सङ्गति गरौँ।

ख्रीष्टविरोधीहरूले मण्डलीका आर्थिक पक्षहरू नियन्त्रण गर्ने विषय सन्दर्भमा, धेरैजसो मानिसहरूले मनमा यो कुरालाई तिनीहरूले विगतमा देखेका ठगी वा मण्डलीको सम्पत्ति दुरुपयोगका उदाहरणहरूसँग जोड्नेछन्, होइन र? अथवा सायद केही मानिसहरू यस्ता पनि हुन्छन् जो उमेरदार नभएका वा छोटो समय मात्र परमेश्‍वरमा विश्‍वास गरेका कारण, यी कुराहरूबारे त्यति चासो राख्दैनन् र यीबारे सोच्दा पनि सोच्दैनन्। त्यसैले, हामी अब यसबारे विस्तारमा सङ्गति गरौँ, जसले गर्दा तिमीहरूले मण्डलीका आर्थिक पक्षहरूसँग सम्बन्धित केही समस्या, नियम, साथै वर्जित कुराहरू बुझ्न सक्छौ। कतिपय यसो भन्नेहरू पनि छन्, “मैले मण्डलीका आर्थिक पक्षसित सम्बन्धित मामलाहरूबारे कहिल्यै चासो राखेको वा सोधपुछ गरेको छैन। ममा त्यस्तो लोभ छैन। मसँग यसको कुनै सरोकार छैन, र यो मण्डलीको निकै संवेदनशील विषय हो, त्यसैले मैले यसबारे जाने पनि नजाने पनि ठिकै हुनेछ।” के यो दृष्टिकोण ठिक छ त? (अहँ, छैन।) कसरी? तर तिमीहरूले जे सोचे पनि, आज हामीले सङ्गति गरिरहेको विषयले ख्रीष्टविरोधीहरूको स्वभाव समेट्छ, र ख्रीष्टविरोधीहरूको स्वभाव विश्‍लेषण र चिरफार गर्ने दृष्टिकोणबाट हेर्दा, तिमीहरू प्रत्येकले यो सब पूरा र प्रस्टसित बुझ्नु सार्थक हुनेछ। हामी यो मामला प्रयोग गरेर ख्रीष्टविरोधीहरूको स्वभाव चिरफार गर्नेछौँ, त्यसैले अब हामी पहिला ख्रीष्टविरोधीहरूले मण्डलीको सम्पत्तिलाई कुन रूपमा हेर्छन्, मण्डलीको सम्पत्ति भनेको ठ्याक्कै के हो र तिनीहरूको सोचमा त्यो कसको स्वामित्त्वको कुरा हो, साथै ख्रीष्टविरोधीहरूले मनमा यो सम्पत्तिलाई कसरी लिन्छन् र विनियोजन गर्छन् भन्नेबारे सङ्गति गरौँ। सर्वप्रथम, मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूले चढाएका पैसा र विभिन्न वस्तुहरूलाई ख्रीष्टविरोधीहरूले कसरी परिभाषित गर्छन्? तिनीहरूको चरित्रलाई हेर्दा, ख्रीष्टविरोधीहरू लोभी हुन्छन्, र तिनीहरूको लोभ ज्यादै ठूलो हुन्छ, त्यसैले तिनीहरू यो सम्पत्तिप्रति उदासीन रहनेछैनन्। बरु, तिनीहरूले यसमा निकै चासो राख्नेछन्, र मण्डलीको सम्पत्ति कति छ, यसको सुरक्षा प्रभारी को हो, यो कहाँ राखिएको छ, र यसबारे कति मानिसहरूलाई थाहा छ भन्नेबारे ध्यानपूर्वक जाँच्‍ने र पत्ता लगाउने गर्छन्। मण्डलीको आर्थिक पक्षसम्बन्धी आधारभूत जानकारी सम्बन्धमा, ख्रीष्टविरोधीहरूले सुरुमै यसमा सबैभन्दा बढ्ता चासो देखाउनेछन्, र यसप्रति विशेष ध्यान दिनेछन्, सोधपुछ गर्नेछन्, र यताउता बुझ्‍नेछन्, र यो जानकारी प्राप्त गर्न सक्दो प्रयास गर्नेछन्। यदि तिनीहरूमा कुनै लोभ नभएको भए, र यदि तिनीहरूले कुनै षडयन्त्रहरू नपालेका भए, के तिनीहरूले यी कुराहरूमा रुचि राख्नेथिए त? (पक्कै राख्नेथिएनन्।) ख्रीष्टविरोधीहरू सामान्य मानवता भएका मानिसहरूभन्दा फरक हुन्छन्, किनकि तिनीहरूको चासोमा गोप्य मनसाय हुन्छ। तिनीहरूको चासो यो सम्पत्ति सुरक्षित राख्नेबारे हुँदैन, तिनीहरू त यसको स्वामित्व लिन, वा यसलाई आफूले चाहेअनुसार प्रयोग गर्न सक्षम हुन चाहन्छन्। त्यसैले, ख्रीष्टविरोधीहरूले मण्डलीको आर्थिक पक्ष नियन्त्रण गर्ने कार्यको पहिलो प्रकटीकरण मण्डलीको सम्पत्ति स्वामित्वमा लिन र प्रयोग गर्न प्राथमिकता दिनु हो।

क. मण्डलीको सम्पत्ति स्वामित्वमा लिन र प्रयोग गर्न प्राथमिकता दिनु

ख्रीष्टविरोधीहरूले हैसियत प्राप्त गरेपछि, तिनीहरूमा भित्री रूपमा एउटा गलत र निर्लज्ज विचार, अर्थात् अगुवा बनेपछि तिनीहरूले मण्डलीका आर्थिक पक्षहरूबारे जानकारी लिने अधिकार मात्र नभई ती कुरा नियन्त्रण गर्ने पूर्ण शक्तिसमेत प्राप्त हुन्छ भन्‍ने विचार पैदा हुन्छ। अनि, मण्डलीका आर्थिक पक्षहरूमाथि नियन्त्रण राख्नुमा तिनीहरूको उद्देश्य के हुन्छ? मण्डलीको सम्पत्ति स्वामित्वमा लिन र प्रयोग गर्न प्राथमिकता दिने शक्ति प्राप्त गर्नु। मण्डलीको सम्पत्ति स्वामित्वमा लिन र प्रयोग गर्न प्राथमिकता दिनुको अर्थ के हो? त्यसको अर्थ यो हो कि, तिनीहरू कुनै मण्डलीको प्रभारी रहुञ्जेल, तिनीहरूको सुपरिवेक्षणमा रहेका दाजुभाइ-दिदीबहिनीहरूले चढाएका पैसा र सामानहरू सबै तिनीहरूको व्यवस्थापन, प्रयोग र स्वामित्वअन्तर्गत पर्छन्। के यो विचार ठिक हो, कि बेठिक हो? प्रस्ट रूपले यो बेठिक हो, तर ख्रीष्टविरोधीहरूले यस्तै सोच्छन्। अगुवा बनेपछि तिनीहरूले गर्ने पहिलो काम भनेकै आर्थिक पक्षहरू सम्बन्धमा प्रयत्‍न लगाउनु र योजनाहरू रच्नु हो। सर्वप्रथम, तिनीहरूले मण्डलीका आर्थिक पक्षहरू कसले व्यवस्थापन गरिरहेको छ, आर्थिक पक्षहरू कति मानिसहरूले व्यवस्थापन गरिरहेका छन्, मण्डलीसँग कति पैसा छ, र यी आर्थिक पक्षहरू व्यवस्थापन गर्ने मानिसहरू आफ्ना सक्षम दाहिने हात वा भरोसायोग्य एजेन्ट हुन् होइनन् भनी पत्ता लगाउँछन्। यदि होइनन् भने, तिनीहरूले हतारहतार कुनै न कुनै निहुँ बनाएर उनीहरूलाई बर्खास्त गर्छन् र उनीहरूको ठाउँमा आफ्नै एजेन्टहरू राख्छन्। अनि, के तिनीहरू ती आर्थिक पक्षहरू व्यवस्थापन गर्ने मानिसहरू प्रतिस्थापन गरेपछि रोकिन्छन् त? अहँ, यो त्यति सामान्य कुरा होइन। तिनीहरूका महत्त्वाकाङ्क्षाहरू योभन्दा अखण्डै ज्यादा हुन्छन्; तिनीहरू मण्डलीको सम्पत्तिको तथ्याङ्कबारे प्रष्ट बुझाइ राख्न जिद्‌ कस्छन्। मानिसहरूलाई भेटी चढाउन आह्वान गर्नुअलावा, ख्रीष्टविरोधीहरूले यो सम्पत्ति कसरी सम्हाल्छन्? लगाउनको लागि केही किन्नुपर्दा र चिकित्सककहाँ जानुपर्दा, तिनीहरूले मण्डलीबाट पैसा लिन्छन्, साथै आफूसँग कपडाको अभाव छ भने, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूले दान दिएका केही राम्रा सामानहरू छानेर लिन्छन्। तर ती कुरा छानेर मात्र तिनीहरूलाई पुग्दैन; तिनीहरूलाई त हरेक कपडा लगाएर हेर्नुपर्छ, अनि तिनीहरूले सबैभन्दा राम्राहरू आफूसँगै राख्छन्, र आफूले नचाहेका निकृष्ट कपडाहरू मण्डलीको लागि छाड्छन्। छोटकरीमा भन्‍नुपर्दा, तिनीहरूले आफ्नो खाना, खर्च र ०.२० रेन्मिन्बी बस भाडामा समेत मण्डलीको पैसा नै प्रयोग गर्छन्, अनि कतिपयले त विलासी सामानहरू, स्वास्थ्य पूरक सामग्रीहरू, कस्मेटिक सामानहरू, र व्यक्तिगत प्रयोजनका सारा सामाग्रीहरू समेत मण्डलीको पैसाले नै किन्छन्। ख्रीष्टविरोधीहरू अगुवाइको पदमा पुग्नेबित्तिकै, र थोरै काम गर्नुपहिले नै मण्डलीको सम्पत्ति प्रयोग गर्नमा निकै सक्रिय हुनेछन्, र तिनीहरूले यही कार्यलाई नै प्राथमिकतामा राख्‍नेछन्। ख्रीष्टविरोधीहरूले यो सम्पत्ति प्रयोग गर्न थालेपछि, तिनीहरूको पूरै आत्मिक दृष्टिकोण र जीवनको गुणस्तर समग्र रूपमा रूपान्तरित हुनेछ र पहिलेभन्दा बिलकुलै फरक बन्‍नेछ। अवसर पाउनेबित्तिकै, तिनीहरूले हेयरस्टाइल मिलाउनेछन् र शरीर मसाज गराउनेछन्, तिनीहरूले आफैलाई लाडप्यार गर्नेछन्, आफ्नो स्वास्थ्यको हेरचाह हुने कामकुराहरू गर्नेछन्, र आफ्नो लागि स्वास्थ्यवर्धक सुप बनाउनेछन्—तिनीहरूले प्रयोग गर्ने विभिन्न विद्युतीय सामग्रीहरू समेत उन्नत हुनेछन्। अगुवा बन्नेबित्तिकै, ख्रीष्टविरोधीहरूले मण्डलीका धनी मानिसहरू र भेटी चढाउन सक्नेहरूको टिपोट राख्‍नेछन्। त्यसपछि ती धनाढ्य मानिसहरूले पैसाको खोला बगाउनुपर्ने हुन्छ, र ख्रीष्टविरोधीहरूको नजरमा बारम्बार भेटी चढाउनेहरू मण्डलीका बहुमूल्य सदस्य र प्रिय पात्रहरू बन्‍नेछन्। जब ख्रीष्टविरोधीहरू मण्डलीमा प्रवेश गर्छन्, त्यो अङ्गुरको बगैँचामा स्याल पस्नुजस्तै हो—त्यो अङ्गुरको बगैँचामा विपत्ति आउनेछ। त्यो स्यालले राम्रा अङ्गुरहरू खाने मात्र नभई पूरै बगैँचा फोहोर पार्नेछ।

ख्रीष्टविरोधीहरूको मनमा, दाजुभाइ-दिदीबहिनीहरूले चढाएका पैसा र सामानहरू, जसलाई एकमुस्टमा “भेटी” भनेर चिनिन्छ, ती सबै मण्डलीका “सार्वजनिक” सम्पत्ति हुन्। तर यसको अर्थ यो सार्वजनिक सम्पत्ति साझा प्रयोजनको लागि हो भन्ने होइन; बरु यसले त यो सबैले चढाएको साझा भेटी हो र व्यावहारिक प्रयोजनको लागि यसको प्रयोगाधिकार अगुवाहरूमा निहित हुन्छ भन्ने जनाउँछ। ख्रीष्टविरोधीहरूको दृष्टिकोणमा, मण्डलीको सम्पत्ति स्वामित्वमा लिन र प्रयोग गर्न प्राथमिकता दिनु तिनीहरूले छुटाउनै नमिल्ने कर्तव्य हो, किनकि तिनीहरू अगुवा हुन्, तिनीहरू शीर्ष स्थानमा रहन्छन्, साथै मण्डलीको सबथोक, विशेषगरी राम्राराम्रा सामानहरू तिनीहरूको स्वामित्त्वमा र तिनीहरूको अख्तियारअन्तर्गत हुनुपर्छ। ख्रीष्टविरोधीहरू यस्तो विश्‍वास गर्छन्: “दाजुभाइ-दिदीबहिनीहरूले चढाउने पैसा र सामानहरू परमेश्‍वरलाई दिइँदै छ भनेर भन्नु सतही अभिव्यक्ति मात्र हो। परमेश्‍वरले यीमध्ये कति सामानहरू नै प्रयोग गर्न सक्नुहुन्छ र? के स्वर्गबाट आएर परमेश्‍वरले यी भेटीहरू मानिसहरूसित बाँडेर लिन सक्नुहुन्छ र? त्यसैले, यी भेटीहरू कसरी खर्च, विनियोजन र प्रयोग गर्ने भनेर मानिसहरूले नै निर्णय गर्नुपर्ने होइन र?” मण्डलीको सम्पत्ति सम्बन्धमा ख्रीष्टविरोधीहरूले बोक्ने निर्लज्ज विचार यही हो। योभन्‍दा नि निर्लज्ज कुरा के छ? तिनीहरूले यसो भन्छन्: “मानिसहरूले धर्तीमा चढाएका पैसा र सामानहरू स्वर्गको परमेश्‍वरले प्रयोग गर्न सक्नुहुन्न, त्यसैले यी कुराहरू कसरी विनियोजन र प्रयोग गर्न सकिन्छ? के मण्डलीका अगुवाहरूले तिनलाई उपभोग गर्न, प्रयोग गर्न, र तीबाट आनन्द लिन मद्दत गर्नुपर्दैन र? त्यसो गर्नु भनेको स्वर्गको परमेश्‍वरले नै ती कुरा प्रयोग गर्नुसरह हुनेछ।” त्यसैले, ख्रीष्टविरोधीहरूले पक्कै पनि दाजुभाइ-दिदीबहिनीहरूका भेटीहरूलाई आफ्नै व्यक्तिगत सम्पत्ति बनाउँछन्। तिनीहरू कसले के र कहिले चढाउँछ भन्नेबारे पूर्ण रूपले प्रस्ट हुन्छन्—यी कुराहरूबारे तिनीहरूलाई रिपोर्ट गरिनु र थाहा दिइनु जरूरी हुन्छ। तिनीहरूले अरू मामलाहरूबारे चिन्ता लिँदैनन्। तिनीहरूको लागि आफ्नो शक्तिमाथि दह्रिलो पकड राख्नेबाहेक अर्को एउटा सबैभन्दा महत्त्वपूर्ण कुरा छ—त्यो हो, मण्डलीका आर्थिक पक्षहरू नियन्त्रण गर्नु। तिनीहरूको लागि अगुवा हुनुको सार्थकता त्यही हो। ख्रीष्टविरोधीहरूले मण्डलीको सम्पत्तिलाई जेजसरी हेर्छन् र सम्हाल्छन्, के त्यसमा सत्यतासँग वा परमेश्‍वरका मापदण्डहरूसँग मिल्ने कुनै पनि पक्ष छ त? (अहँ, छैन।) सुरुवातदेखि आजको दिनसम्‍मै, के परमेश्‍वरले कहिल्यै दाजुभाइ-दिदीबहिनीहरूले उहाँलाई दिएका भेटीहरू कुन व्यक्तिले स्वामित्त्वमा लिनुपर्छ वा प्रयोग गर्नुपर्छ भनेर भन्नुभएको छ? के परमेश्‍वरले मण्डलीका अगुवा र कामदारहरू, प्रेरित, र अगमवक्ताहरूलाई मण्डलीको सम्पत्ति स्वामित्वमा लिन र प्रयोग गर्न प्राथमिकता दिने अख्तियार हुनुपर्छ भनेर कहिल्यै भन्नुभएको छ? के परमेश्‍वरले जो अगुवा बन्छ उसले नै मण्डलीको सम्पत्ति प्रयोग गर्न र स्वामित्त्वमा लिन पाउँछ भनेर भन्नुभएको छ? (अहँ, भन्नुभएको छैन।) त्यसोभए ख्रीष्टविरोधीहरूमा किन यस्तो गलतबुझाइ भएको हो? मण्डलीको सम्पत्ति सम्बन्धमा परमेश्‍वरका वचनहरूमा त्यस्ता कुनै प्रस्ट सर्तहरू छैनन्, तैपनि ख्रीष्टविरोधीहरूले किन त्यसप्रति यस्तो दृष्टिकोण राख्छन् त? (तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुँदैन।) के यो त्यति सरल कुरा हो त? यो सन्दर्भमा तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुँदैन भन्नु खोक्रो अभिव्यक्ति मात्र हो। यी शब्दहरूले ख्रीष्टविरोधीहरूको स्वभाव छुन सक्दैनन्। के ख्रीष्टविरोधीहरू अगुवाइको पदमा नहुँदा तिनीहरू मण्डलीको सम्पत्तिप्रति लालायित हुँदैनन् त? (हुन्छन्।) त्यसोभए के तैँले तिनीहरू अगुवा बनेपछि तिनीहरूले परमेश्‍वरको डर मान्ने हृदय गुमाउँछन् भन्न मिल्छ त? तिनीहरू अगुवा बन्नुअघि तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुन्छ भन्ने अवश्यै हो र? के यसो भन्न मिल्छ त? (मिल्दैन।) त्यसैले, यस्तो व्याख्या मान्य हुँदैन। ख्रीष्टविरोधीहरू मण्डलीको सम्पत्तिप्रति लालायित हुन्छन्: यस्तो किन हो? (तिनीहरूमा दुष्ट स्वभाव हुन्छ।) (तिनीहरूको प्रकृतिनै लोभी हुन्छ।) (तिनीहरू प्रकृतिले नै अरू सबथोक छोडी नाफा खोज्ने खालका हुन्छन्।) के सबथोक छोडी नाफा खोज्नु नै ख्रीष्टविरोधीहरूको स्वभाव सार हो त? (होइन।) यो तिनीहरूको चरित्रको एउटा प्रकटीकरण मात्र हो। त्यसैले, अब हामी ख्रीष्टविरोधीहरूको भित्री स्वभाव के हो भनी चिरफार गरौँ। (त्यो दुष्ट र क्रूर हुन्छ।) सर्वप्रथम त त्यो क्रूर हुन्छ, र त्यसपछि दुष्ट हुन्छ। क्रूर भन्नुको अर्थ के हो? त्यसको अर्थ अरू मानिसहरू सहमत भए पनि नभए पनि वा उनीहरूले जे सोचे पनि तिनीहरूले बलजफ्तीपूर्वक ती वस्तुहरू खोसिलिनेछन् जुन तिनीहरूको वस्तु वा स्वामित्त्वको कुरा होइन: यो एउटा क्रूर स्वभाव हो। ख्रीष्टविरोधीहरू अर्थात् यी दियाबलस र शैतानहरूको जन्मसिद्ध प्रकृति सार भनेकै यावत् थोकको लागि परमेश्‍वरसित होडबाजी गर्नु हो। मण्डलीभित्र, ख्रीष्टविरोधीहरू उहाँका चुनिएका मानिसहरूको लागि परमेश्‍वरसित लडाइँ गर्नुबाहेक, मानिसहरूले उहाँलाई चढाएका भेटीहरू खोस्नेसमेत प्रयास गर्छन्। बाहिरी रूपमा, ख्रीष्टविरोधीहरू लालची भएझैँ देखिन्छन्, तर वास्तवमा, त्यो तिनीहरूसँग ख्रीष्टविरोधी स्वभाव र सार भएकाले गर्दा हो। तिनीहरूले मानिसहरूद्वारा परमेश्‍वरलाई चढाइएका पैसा र सामानहरू राख्ने र हसुर्ने इच्छा राख्नु—यो सारभूत रूपमा क्रूरता हो। यो त उदाहरणको लागि, तैँले एउटा नयाँ न्यानो ज्याकेट किनिस् जुन स्टाइलिस र राम्रो गुणस्तरको छ, अनि कसैले त्यसलाई देखेर “तिम्रो यो न्यानो ज्याकेट मेरोभन्दा राम्रो छ। मैले लगाइरहेको झुत्रो ज्याकेटमा प्वालैप्वाल छन्, र यसको स्टाइल नै छैन। तिम्रो चाहिँ किन यति राम्रो हुन सक्छ?” भनेर भन्नु र त्यसो भनिसकेपछि उसले तँबाट बलपूर्वक त्यो न्यानो ज्याकेट फुकालेर लानु र उसको बिग्रेको ज्याकेट तँलाई दिनुजस्तै हो। अनि, तैँले ऊसित साट्न इन्कार गर्नै मिल्दैन—उसले तँलाई सास्ती दिनेछ, कुट्नेछ र मार्नसमेत सक्‍नेछ। के तैँले उसको प्रतिरोध गर्ने आँट गर्नेथिस् त? तैँले उसको प्रतिरोध गर्ने आँट गर्दैनथिस्, र तेरो इच्छाविपरीत उसले तेरो सामान लानेछ। त्यसैले, त्यो व्यक्तिको स्वभाव कस्तो हो? त्यो क्रूर स्वभाव हो। त्यसमा र ख्रीष्टविरोधीहरूले मण्डलीको सम्पत्ति हडप्ने र प्रयोग गर्ने स्वभावमा कुनै भिन्नता छ? (अहँ, छैन।) सम्पत्तिबारे ख्रीष्टविरोधीहरूको दृष्टिकोणअनुसार, तिनीहरू अगुवा र “अधिकारी” बनेर तिनीहरूले मण्डलीको सम्पत्ति हडपेलगत्तै मण्डलीको सम्पत्ति तिनीहरूकै हुन्छ। भेटी जसले चढाएको भए पनि, वा भेटीको रूपमा जे चढाइएको भए पनि, ख्रीष्टविरोधीहरूले त्यसलाई हडप्‍नेछन्। कुनै कुरा हडप्‍नुको अर्थ के हो? त्यसको अर्थ मण्डलीका नियमहरूअनुसार उचितसँग प्रयोग र विनियोजन हुनुपर्ने मण्डलीको सम्पत्ति ख्रीष्टविरोधीहरूको नियन्त्रणमा पुग्छ, र त्यसपछि त्यसलाई प्रयोग गर्ने शक्ति तिनीहरूमा मात्र हुन्छ भन्ने हो। मण्डलीको कामको लागि वा मण्डलीका सेवकहरूलाई आवश्यक पर्दासमेत, ख्रीष्टविरोधीहरूले त्यो सम्पत्ति प्रयोग गर्न अनुमति दिँदैनन्। त्यसलाई तिनीहरूले मात्र प्रयोग गर्न पाउँछन्। मण्डलीको सम्पत्ति केकसरी प्रयोग र विनियोजन गर्ने भन्‍ने सम्बन्धमा ख्रीष्टविरोधीहरूले नै अन्तिम निर्णय गर्छन्; यदि तिनीहरूले तँलाई प्रयोग गर्न दिन चाहेमा, तैँले त्यसलाई प्रयोग गर्न सक्छस्, र यदि चाहेनन् भने, तैँले प्रयोग गर्न सक्दैनस्। ख्रीष्टविरोधीहरूले स्वामित्त्वमा लिइसकेपछि, यदि मण्डलीको भेटी प्रशस्त छैन र तिनीहरूका व्यक्तिगत खर्चमा प्रयोग गरेर सिद्धियो भने, मण्डलीको कामको लागि पैसा बाँकी नरहला भनेर तिनीहरूले वास्तै गर्दैनन्। तिनीहरूले मण्डलीको काम वा मण्डलीको सामान्य खर्चबारे पनि विचार गर्दैनन्। तिनीहरू त त्यो रकम लिएर आफ्नै लागि खर्च गर्न मात्र चाहन्छन्, र त्यसलाई आफ्नै कमाइ मान्छन्। के यस तरिकाले काम गर्नु लाजमर्दो होइन र? (हो नि।) तुलनात्मक रूपले सम्पन्न क्षेत्रहरूमा रहेका कतिपय मण्डलीहरूमा ख्रीष्टविरोधीहरूले यस्तो सोच्छन्: “यो ठाउँ निकै राम्रो छ। खर्चको कुरा आउँदा, मैले जति पनि खर्च गर्न र जेसुकै गर्न सक्छु, मण्डलीका नियम र सिद्धान्तहरू पालना गर्नुपर्दैन। मैले जसरी चाहन्छु त्यसरी खर्चन सक्छु। अगुवा बनेदेखि, अन्ततः म हिसाब नगरी जति पनि खर्च गरेर जीवन जिउन सक्ने भएको छु। मैले कुनै कुरामा पैसा खर्च गर्न चाहेमा मैले भन्नु मात्र पर्छ, त्यसबारे चिन्ता लिनुपर्दैन, र निश्‍चय नै त्यसबारे कसैसित कुरा गर्नुपर्दैन।” मण्डलीको सम्पत्ति खर्च गर्ने सम्बन्धमा, ख्रीष्टविरोधीहरू आफैले सारा शक्ति प्रयोग गर्छन्, लापरवाहीपूर्वक कार्य गर्छन्, र पानीझैँ पैसा बगाउँछन्। मण्डलीका सिद्धान्तहरू वा कार्य बन्दोबस्तहरूबमोजिम कुनै पनि काम नगर्नुअलावा, ख्रीष्टविरोधीहरूले मण्डलीको सम्पत्तिलाई पनि बिनाकुनै सिद्धान्त त्यही रूपमा लिन्छन्। के तिनीहरूले सिद्धान्तहरू नबुझेको हो कि? होइन, तिनीहरूलाई मण्डलीको सम्पत्ति बाँडफाँड र खर्च गर्नेसम्बन्धी सिद्धान्तहरू राम्रोसँग थाहा हुन्छ, तर तिनीहरूले आफ्नो लोभ र चाहनाहरू नियन्त्रणमा राख्न सक्दैनन्। तिनीहरू विनाहैसियतका साधारण मानिसहरू हुँदा, नम्र हुन्छन् र सामान्य दैनिक जीवन जिउँछन्, तर अगुवा बनेलगत्तै, तिनीहरूले आफूलाई ठूलो सोच्छन्। तिनीहरू लवाइखवाइबारे विशेष सचेत बन्छन्—तिनीहरूले सामान्य खाना खान छाड्छन्, अनि आफ्नो लागि गुणस्तरीय र चर्चित ब्राण्डका कपडा खोज्छन्। सबथोक उच्च गुणस्तरको हुनुपर्छ; त्यसपछि मात्र तिनीहरूलाई आफ्नो पहिचान र हैसियतसित मिलेको अनुभूति हुन्छ। ख्रीष्टविरोधीहरू अगुवा बनेलगत्तै, दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई उपहारहरू टक्र्याउनैपर्छ, मानौँ उनीहरू तिनीहरूप्रति ऋणी छन्। यदि कुनै राम्रो चिज भेटिएमा त्यसलाई प्राथमिकता दिनैपर्छ, र दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूमाथि पैसा खर्च गर्नुपर्ने अपेक्षा गरिन्छ। ख्रीष्टविरोधीहरू अगुवा बन्नुको अर्थ मण्डलीको सम्पत्ति आफूले स्वामित्वमा राख्न र प्रयोग गर्न प्राथमिकता दिने शक्ति आफूमा हुनु हो भन्ठान्छन्। तिनीहरूले यस तरिकाले सोच्ने मात्र नभई व्यवहार पनि यस्तै गर्छन्। यसअलावा, तिनीहरूले यो कुरालाई धेरै परसम्‍म र अरू मानिसहरूलाई घिन लाग्‍ने हदसम्म लैजान्छन्। यो दृष्टिकोणबाट हेर्दा, ख्रीष्टविरोधीहरूको चरित्र कस्तो हुन्छ? अगुवा बनेपछि, अलिकति काम गर्नुअगावै, तिनीहरू भेटीहरू लिन र तिनको प्रयोगमा प्राथमिकता पाउन चाहन्छन्। कस्तो व्यक्तिले यस्ता कामकुराहरू गर्न सक्छ? डाँका, तानाशाह, वा रैथाने दादाले मात्र यस्ता कामकुराहरू गर्न सक्छन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्