विषयवस्तु छ: तिनीहरू कुटिल शैलीमा व्यवहार गर्छन्, तिनीहरू स्वेच्‍छाचारी र तानाशाही हुन्छन्, तिनीहरू अरूसँग कहिल्यै सङ्गति गर्दैनन्, र अरूलाई जबरजस्ती आज्ञापालन गर्न लगाउँछन् (खण्ड छ)

कतिपय ख्रीष्टविरोधी आफूलाई निकै राम्ररी लुकाउँछन्, केही कुरा देख्दा केही नबोली केवल मुस्कुराउँछन्, धेरै मामलामा मौन रहन्छन्, गहिरो ज्ञान भएको नाटक गर्छन् र कुनै अडान देखाउँदैनन्। तँलाई पहिलोपटक तिनीहरूका सम्पर्कमा आउँदा, तिनीहरूलाई छर्लङ्गै बुझ्न सजिलो हुँदैन; तँलाई तिनीहरू गहन र उल्लेखनीयसमेत लाग्न सक्छ। तँ यस्ता ख्रीष्टविरोधीहरूलाई कसरी खुट्ट्याउँछस्? तैँले तिनीहरू वास्तवमा के मन पराउँछन्, के कुरामा ध्यान दिन्छन्, तिनीहरूलाई केमा रुचि छ, र तिनीहरू कोसँग बोल्छन् भनेर राम्ररी ध्यान नियाल्नुपर्छ। तैँले यी पक्षहरू नियालेर तिनीहरूलाई बुझ्न सक्छस्। यसअलावा, तिमीहरू सबैलाई थाहा हुनुपर्ने एउटा कुरा छ: अगुवा वा कामदारको तह जे भए पनि, तिनीहरूले अलिअलि सत्यता बुझेकाले र तिनीहरूसँग अलिकति प्रतिभा भएकाले यदि तिमीहरूले तिनीहरूको आराधना गऱ्यौ, र तिनीहरूसँग सत्यता वास्तविकता छ र तिनीहरूले तिमीहरूलाई मदत गर्न सक्छन् भन्ने विश्वास गऱ्यौ भने, अनि यदि तिमीहरूले सबै कुरामा तिनीहरूलाई आदरभावले हेऱ्यौ र तिनीहरूमा भर पऱ्यौ, र यसमार्फत मुक्ति पाउने प्रयास गऱ्यौ भने, यो तिमीहरूको मूर्खता र अज्ञानता हो। अन्त्यमा, यसबाट केही प्राप्त हुनेछैन, किनभने तिमीहरूको सुरुवाती विन्दु नै अन्तर्निहित रूपमा गलत छ। कसैले जतिसुकै सत्यता बुझे पनि, ऊ ख्रीष्टको ठाउँमा उभिन सक्दैन, र कोही जति नै वरदान प्राप्त भए पनि, यसको अर्थ ऊसँग सत्यता छ भन्ने हुँदैन—त्यसैले अरू मानिसलाई आराधना गर्ने, आदरभावले हेर्ने र पछ्याउने जोकोहीलाई अन्त्यमा हटाइनेछ र दोषी ठहराइनेछ। परमेश्‍वरमा विश्वास गर्नेहरूले उहाँलाई मात्र आदरभावले हेर्न र पछ्याउन सक्छन्। दर्जा जेसुकै भए पनि, अगुवा र कामदारहरू आम मानिस नै हुन्। यदि तैँले तिनीहरूलाई आफूभन्दा ठिक्क माथिको व्यक्तिको रूपमा हेर्छस्, यदि तँलाई तिनीहरू तँभन्दा माथि छन्, तिनीहरू बढी योग्य छन्, र तिनीहरूले तँलाई अगुवाइ गर्नुपर्छ, तिनीहरू सबै कुरामा अरूभन्दा निकै नै उच्च छन् भन्ने लाग्छ भने, तँ गलत छस्—त्यो तेरो भ्रम हो। अनि यो भ्रमले तँमा के-कस्ता परिणामहरू निम्त्याउँछन् त? यसले तँलाई थाहै नपाई तेरा अगुवाहरूलाई वास्तविकतासँग नमिल्ने मापदण्डहरूअनुसार मापन गर्ने, र तिनीहरूका समस्या र कमीकमजोरीहरूलाई सही तरिकाले लिन नसक्ने तुल्याउँछ; यसका साथै, तँलाई थाहै नभई, तँ गहन रूपमा तिनीहरूको विशेष गुण, वरदान र प्रतिभाहरूतर्फ तानिन्छस्, यसरी तँलाई थाहा हुनुअगावै, तैँले तिनीहरूको आराधना गरिरहेको हुन्छस्, र तिनीहरू तेरो ईश्वर बन्छन्। तिनीहरू तेरो आदर्श व्यक्ति, तेरो आराधनाको पात्र बन्न सुरु गरेको क्षणदेखि, तँ तिनीहरूको अनुयायीहरूमध्ये एक बनेको क्षणसम्मको मार्ग नै तँलाई अचेत रूपमा परमेश्‍वरदेखि टाढा लैजाने मार्ग हो। अनि तँ परमेश्‍वरबाट क्रमिक रूपमा टाढा जाँदै गर्दा, तैँले आफूले अझै पनि परमेश्‍वरलाई पछ्याइरहेको छस्, तँ उहाँका घरमा छस्, तँ उहाँको उपस्थितिमा छस् भन्ने विश्वास गरिरहेको हुन्छस् जबकि वास्तवमा, तँलाई शैतानका नोकरहरूले ख्रीष्टविरोधीहरूले बन्दी बनाइसकेका हुनेछन्। तैँले यो कुरा पत्तै पाउनेछैनस्। यो अत्यन्तै खतरनाक अवस्था हो। यो समस्या समाधान गर्न एकातर्फ, ख्रीष्टविरोधीहरूको प्रकृति सार चिन्ने क्षमता, र सत्यतालाई घृणा गर्ने र परमेश्‍वरलाई प्रतिरोध गर्ने ख्रीष्टविरोधीहरूको कुरूप अनुहार छर्लङ्गै देख्ने क्षमता आवश्यक पर्छ; त्यसैले, यसको लागि ख्रीष्टविरोधीहरूले मानिसहरूलाई भ्रम र फन्दामा पार्न प्रायजसो प्रयोग गर्ने शैलीका साथै तिनीहरूले कामकुरा गर्ने तरिकासित परिचित पनि हुनुपर्छ। अर्कोतर्फ, तिमीहरूले परमेश्‍वरको स्वभाव र सारसम्बन्धी ज्ञानको खोजी गर्नैपर्छ। ख्रीष्ट मात्र सत्यता, बाटो र जीवन हुनुहुन्छ, र कुनै व्यक्तिलाई पुज्दा तँमाथि विपत्ति र दुर्भाग्य आइपर्छ भनेर तँ स्पष्ट हुनैपर्छ। ख्रीष्टले मात्र मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्छ भनेर तैँले भरोसा गर्नैपर्छ, र तैँले पूर्ण विश्वासका साथ ख्रीष्टलाई पछ्याउन र उहाँप्रति समर्पित हुन जरूरी छ। यो मात्रै मानव जीवनको सही मार्ग हो। कतिपयले यसो भन्लान्: “ठिकै छ, मैले अगुवाहरूको आराधना गर्नुका कारणहरू छन्—म प्रतिभावान् जोकोहीलाई आफ्नो हृदयमा स्वतः आराधना गरिहाल्छु। म मेरा धारणाअनुरूपका कुनै पनि अगुवाको आराधना गर्ने गर्छु।” तैँले परमेश्‍वरमा विश्वास गरे पनि किन मानिसलाई आराधना गर्ने हठ गर्छस्? आखिरमा, तँलाई मुक्ति दिने को हुनुहुन्छ? कसले तँलाई साँचो रूपमा प्रेम गर्नुहुन्छ र रक्षा गर्नुहुन्छ—के तैँले यो कुरालाई साँच्चै देख्न सक्दैनस्? यदि तँ परमेश्‍वरलाई विश्वास गर्छस् र उहाँलाई पछ्याउँछस् भने, तैँले उहाँको वचनप्रति ध्यान दिनुपर्छ, र यदि कसैले सही तरिकाले बोल्छ र व्यवहार गर्छ, अनि त्यो सत्यता सिद्धान्तहरूअनुरूप छ भने, बस सत्यताप्रति समर्पित हो—के यो यति सजिलो कुरा होइन र? तँ किन यति नीच छस्? किन तँ पछ्याउनको लागि आफूले आराधना गर्ने व्यक्ति खोज्नमै जोड दिन्छस्? तँ किन शैतानको दास हुन मन पराउँछस्? यसको साटो किन सत्यताको सेवक नहुने? यसमा व्यक्तिमा समझ र इज्जत छ कि छैन भन्ने कुरा देखिन्छ। तैँले आफैबाट सुरु गर्नुपर्छ: आफैलाई विभिन्न प्रकारका सत्यताहरूले सुसज्जित गर्, विभिन्न मामला र मानिसहरू प्रकट हुने विभिन्न तरिकाहरू पहिचान गर्न सक्ने बन्, विभिन्न मानिसहरूको व्यवहारको प्रकृति के हो र तिनीहरूले कस्ता स्वभावहरू प्रकट गर्छन् भन्ने कुरा जान्, विभिन्न प्रकारका मानिसहरूको सारलाई छुट्याउन सिक्, र तेरो वरिपरिका मानिसहरू कस्ता छन्, तँ कस्तो व्यक्ति होस्, र तेरो अगुवा कस्तो व्यक्ति हो भन्नेबारे स्पष्ट बन्। यी सबै कुरा स्पष्ट रूपमा देखेपछि, तैँले मानिसहरूलाई सत्यता सिद्धान्तहरूअनुसार सही तरिकाले व्यवहार गर्न सक्नेछस्: यदि तिनीहरू दाजुभाइ-दिदीबहिनीहरू हुन् भने, तैँले तिनीहरूलाई प्रेमपूर्वक व्यवहार गर्नेछस्, र यदि तिनीहरू दाजुभाइ-दिदीबहिनीहरू नभएर दुष्ट मानिस, ख्रीष्टविरोधी, वा अविश्‍वासी हुन् भने, तैँले तिनीहरूसँग दूरी कायम गर्नेछस् र तिनीहरूलाई त्याग्नेछस्। यदि तिनीहरू सत्यता वास्तविकता भएका मानिसहरू हुन् भने, तैँले तिनीहरूलाई आदर गरे पनि, तिनीहरूको आराधना गर्नेछैनस्। कसैले पनि ख्रीष्टको स्थान लिन सक्दैन; ख्रीष्ट मात्रै व्यावहारिक परमेश्‍वर हुनुहुन्छ। ख्रीष्टले मात्र मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्छ, र ख्रीष्टलाई पछ्याएर मात्र तैँले सत्यता र जीवन प्राप्त गर्न सक्छस्। यदि तैँले यी कुराहरूलाई स्पष्ट रूपमा देख्न सक्छस् भने, तँसित कद छ र तँ ख्रीष्टविरोधीहरूको भ्रममा पर्ने सम्भावना हुँदैन, न त तैँले ख्रीष्टविरोधीहरूको भ्रममा पर्छु भनेर डर मान्नु जरुरी नै हुन्छ।

कतिपय मानिस केही ख्रीष्टविरोधीलाई प्रकट गरिएको र हटाइएको देख्दा चिन्तित हुन्छन्, र भन्छन्: “यसो हेर्दा ख्रीष्टविरोधीहरू दुष्ट मानिसझैँ नदेखिए पनि, तिनीहरूका कामकुरालाई खुट्ट्याउँदा तिनीहरू किन त्यति दुष्ट भएको पाइन्छ? ख्रीष्टविरोधीहरू वास्तवमै निकै कुटिल हुन्छन् भन्ने देखिन्छ। तर म कमजोर क्षमताको छु, र यदि मैले फेरि यस्ता ख्रीष्टविरोधीहरूलाई भेटेँ भने, मलाई लाग्छ म तिनीहरूलाई खुट्ट्याउन सक्नेछैनँ। म कसरी ख्रीष्टविरोधीहरूदेखि जोगिनुपर्छ?” तैँले आफू कमजोर क्षमताको भए पनि, भ्रममा परिएला भनेर सधैँ चिन्ता लिनु वा तिनीहरूबाट कसरी जोगिने भनेर सधैँ सोच्नु पर्दैन। तैँले सत्यता बुझ्नमा मात्र ध्यान दिनुपर्छ, अझ धेरै परमेश्‍वरका वचनहरू पढ्नुपर्छ, र समय पाउँदा, ख्रीष्टविरोधीहरूले गरेका दुष्ट कार्यहरूबारे गम्भीर रूपले मनन गर्नुपर्छ, र आफूलाई सोध्नुपर्छ, “तिनीहरूको दुष्टता कहाँ हुन्छ? के कुराले तिनीहरू यस्तो दुष्टता गर्न प्रेरित भए? के सामान्य मानिसहरूले यस्तो दुष्टता गर्न सक्छन्? सत्यता बुझ्नेहरूले तिनीहरूलाई कसरी खुट्ट्याउँछन्? मैले तिनीहरूलाई कसरी खुट्ट्याउनु?” तैँले परमेश्‍वरको वचनद्वारा मानिसहरूको सार छर्लङ्ग देखेपछि, सबथोक बुझ्नेछस्। जब तैँले लगातार रूपमा यी कामकुराबारे सोच्छस्, तब अनजानमै खुट्ट्याउन सिक्नेछस्, र मानिसहरूलाई भ्रममा पार्न खोज्ने ख्रीष्टविरोधीहरूको फेरि सामना गर्नुपर्दा स्वत: खुट्ट्याउन सक्नेछस्। यसका लागि धेरै अनुभवहरू भोग्नुपर्छ; यो तैँले अझ धेरै प्रवचन सुन्दैमा सिक्न सकिने कुरा होइन। यो त धेरै फाइदा लुटाइएपछि वा धेरै घाटा बेहोरेपछि समाजमा अनुभव प्राप्त गर्नुजस्तै हो—“गल्तीबाट नै पाठ सिकिन्छ।” यो त्यही विचार हो। परमेश्‍वरप्रतिको हाम्रो विश्वासमा, मुख्य कुरा सत्यता बुझ्नु हो। तैँले जति धेरै सत्यता बुझ्छस्, त्यति नै धेरै कामकुरा छर्लङ्गै बुझ्नेछस्। यदि तँ कुनै पनि सत्यता बुझ्दैनस् भने, ज्ञान भएर पनि काम छैन। ज्ञानले मात्र तैँले कुनै कुरा छर्लङ्गै बुझ्न सक्दैनस्; तेरो दृष्टिकोण सांसारिक मानिसहरूको जस्तै छ, त्यसैले तैँले जे कुराबारे टिप्पणी गरे पनि त्यो बकवास र भ्रम हुनेछ। तैँले अहिले कतिपय मानिसलाई छर्लङ्गै बुझ्न सक्दैनस् भने चिन्ता नगर्। तैँले सत्यता बुझेपछि, स्वत: खुट्ट्याउने शक्ति प्राप्त गर्नेछस्। अहिलेका लागि, बस आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नमा ध्यान दे, परमेश्‍वरका वचनहरू अझ धेरै खाने र पिउने गर्, अनि सत्यताबारे अझ धेरै मनन गर्। तैँले सत्यता बुझेको दिन, मानिसहरूलाई खुट्ट्याउन सक्नेछस्। तैँले कसैको व्यवहार हेरेर नै उसलाई के भइरहेको छ भनी हृदयमा थाहा पाउनेछस्; कसैले कुनै समस्याबारे रिपोर्ट गरेको सुनेर नै, तैँले त्यस समस्याको सार छर्लङ्गै बुझ्न सक्नेछस्; अनि कसैको विचार र दृष्टिकोण सुनेर नै उसको कद थाहा पाउनेछस्। तैँले खासै धेरै प्रयास नगरी नै, कुनै मामला वा व्यक्तिबारे सबथोक बुझ्न सक्नेछस्—सत्यता बुझ्नुको नतिजा यही हो। तर, यदि तँ सत्यता पछ्याउँदैनस्, बरु आफ्ना कल्पनामा भरोसा गरेर मानिसहरूको मूल्याङ्कन गर्छस्, उनीहरूको आराधना गर्छस्, उनीहरूमा भर पर्छस्, र उनीहरूलाई अन्धाधुन्ध चापलुसी गर्छस्, अनि यदि सत्यता पछ्याउने मार्गमा हिँड्दैनस् भने, अन्तिम नतिजा के हुनेछ? तँलाई जोकोहीले भ्रममा पार्न सक्छ; तैँले जोकोहीलाई, सबैभन्दा प्रस्ट ख्रीष्टविरोधीलाई समेत देख्न सक्नेछैनस्। उसले तँलाई मूर्ख बनाउनेछ, र तैँले अझै पनि उसलाई उसको क्षमताका कारण प्रशंसा गर्नेछस्, हरदिन उसको फन्को मार्नेछस्। त्यसोभए, तँ साँच्चै अन्योलमा परेको व्यक्ति होस्, र तँ व्यावहारिक परमेश्‍वरमा नभई कुनै अस्पष्ट परमेश्‍वरमा विश्वास गर्छस्, र तँ सत्यता पछ्याउने व्यक्ति पक्कै होइनस् भनेर निश्चित रूपमा भन्न सकिन्छ।

कतिपय मानिस ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउनेबारे धेरै प्रवचन सुनेपछि पनि, तिनीहरूलाई खुट्ट्याउन सक्दैनन्। उनीहरू खुट्ट्याउने केही विधि मात्र बुझ्छन् तर उनीहरूमा वास्तविक अनुभव हुँदैन। उनीहरूले वास्तवमै ख्रीष्टविरोधीहरूका दुष्ट कार्यहरू सामना गर्दा, फेरि पनि ती खुट्ट्याउन सक्दैनन्। उनीहरूले प्रवचन सुनेपछि ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन नसके पनि, आफूलाई आफूले सुनेका कुरासँग तुलना गर्छन् र झन्-झन् आफूलाई ख्रीष्टविरोधीझैँ ठान्न थाल्छन्। अन्त्यमा, उनीहरू आफै ख्रीष्टविरोधी भएको विश्वास गर्छन्। यस्तो खुट्ट्याइमा कुनै समस्या छैन। उनीहरूलाई ख्रीष्टविरोधीहरू खुट्ट्याउनेबारे विवरण राम्ररी थाहा छ, उनीहरूमा चित्रण गर्ने सिद्धान्तहरू नभएको मात्र हो। यो ठूलो समस्या होइन; यसबाट उनीहरूको प्रवचन सुनाइ प्रभावकारी बनेको छ भन्ने देखिन्छ। उनीहरूले वास्तविक ख्रीष्टविरोधीहरू नखुट्ट्याएका भए पनि आफूलाई खुट्ट्याएका छन्, त्यो पनि राम्रो कुरा हो। उनीहरू पहिला आफू बच्छन्, र ख्रीष्टविरोधी बन्नबाट जोगिन्छन्, जुन ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने यी प्रवचनहरू सुन्नुको फलदायी नतिजा हो। आफूलाई ख्रीष्टविरोधीका रूपमा खुट्ट्याउन सक्नु सामान्य कुरा होइन; यस्तो खुट्ट्याइमा विस्तृत अवलोकन गर्नुपर्छ, र मलाई लाग्छ यो खुट्ट्याइ नै हो। अहिले आफूलाई खुट्ट्याउनु राम्रो कुरा हो; त्यसो गर्न ढिलो भइसकेको छैन। यदि तैँले दुष्टता गरेको वा विपत्तिहरू निम्त्याएको थिइस् र त्यसपछि तँलाई ख्रीष्टविरोधी भनेर चित्रण गरिएको थियो भने, त्यो ढिलो भइसकेको हुनेथ्यो। यदि तैँले अहिले आफूलाई खुट्ट्याउन सक्छस् भने, बढीमा, त्यसको अर्थ ख्रीष्टविरोधीहरूको जस्तै विशेषताहरू देखाउँछस्, ख्रीष्टविरोधीहरूका मार्गमा हिँडिरहेको छस्, र तैँले गलत मार्ग रोजेको छस् भन्ने हुन्छ—तँलाई यस तरिकाले मात्र चित्रण गर्न सकिन्छ। अझै पनि मार्ग परिवर्तन गर्ने समय छ, तर यदि तैँले परिवर्तन नगर्ने निर्णय गरिस् भने त्यो खतरनाक हुन्छ। ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउने विषयबारे धेरैपटक सङ्गति गरिएको छ, र अहिलेसम्म कतिपय मानिस साँच्चै खुट्ट्याउन सक्ने भएका छन्। उनीहरू आफूले प्रकट गर्ने ख्रीष्टविरोधी स्वभावहरू पहिचान गर्न सक्छन्, जुन नतिजा हो र त्यसले उनीहरूले खुट्ट्याउने शक्ति प्राप्त गरेका छन् भनी प्रमाणित गर्छ। यदि उनीहरू ख्रीष्टविरोधीहरूको प्रकृति सार भएकाहरू र ख्रीष्टविरोधी स्वभावहरू मात्र भएकाहरूबीच थप फरक छुट्ट्याउन सक्छन् भने, पूर्ण रूपमा खुट्ट्याउन माहिर भएका हुनेछन्। यो चाँडै हासिल गर्न सकिने कुरा हो, त्यसैले चिन्तित हुन आवश्यक छैन। यदि मानिसहरूले आफ्ना ख्रीष्टविरोधी स्वभावहरू खुट्ट्याउन सक्छन्, आफू ख्रीष्टविरोधी मार्गमा हिँडिरहेको छ कि छैन भनी चिन्न सक्छन्, र ख्रीष्टविरोधीहरूको प्रकृति सार के हो भनी बुझ्छन् भने, उनीहरूले ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन सिकिसकेका हुन्छन्। ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन सक्नु व्यक्तिले कति वर्ष परमेश्‍वरमा विश्वास गरेको छ भन्ने कुरासँग सम्बन्धित नभई, बरु कुनै व्यक्तिले सत्यताका लागि प्रयत्न गर्न र त्यसलाई बुझ्न सक्छ कि सक्दैन भन्ने कुरासँग सम्बन्धित छ। कतिपय मानिसले धेरै वर्षदेखि परमेश्‍वरमा विश्वास गर्दै आएका हुन्छन् र ख्रीष्टविरोधीहरू खुलासा गर्नेबारे धेरै प्रवचन सुनेका हुन्छन्, तर उनीहरूका ख्रीष्टविरोधी स्वभाव र प्रकटीकरणहरू बिलकुलै परिवर्तन भएका हुँदैनन्। मैले जसरी सत्यतामा सङ्गति गरे पनि, उनीहरूलाई अत्तोपत्तो हुँदैन। उनीहरूले अहिले सङ्गतिका विषयसँग आफूलाई जोड्लान्, तर कदम चाल्ने वा आफ्नो कर्तव्य निभाउने सन्दर्भमा, उनीहरू पुरानै मार्गमा फर्कन्छन्। के यो यस्ता मानिसहरूका लागि समस्याजनक र खतरनाक कुरा होइन र? यो निकै खतरनाक हो! मैले जसरी सङ्गति गरे पनि, मेरो कुरा सुनिरहेको बेला उनीहरूलाई जतिसुकै आत्मग्लानि वा खिन्न महसुस भए पनि, त्यसपछि उनीहरू बिलकुलै परिवर्तन हुँदैनन्। उनीहरू आफूले किन चापलुसी र चाकरी गर्नेहरूलाई सधैँ बढुवा र संवर्धन गर्छु भनी चिन्तन गर्दैनन्, न त आफूले अरूलाई किन सिद्धान्तका आधारमा नभई आफ्नै सनकअनुसार व्यवहार गर्छु भनेर नै चिन्तन गर्छन्। उनीहरू आफूलाई मन पर्ने मानिसहरू दुष्ट वा खराब भए पनि तिनीहरूदेखि दिक्क मान्दैनन्, र तिनीहरूलाई बढुवा दिइरहन्छन् र प्रयोग गरिरहन्छन्। त्योभन्दा पनि, उनीहरू आफू किन फिटिक्कै सत्यता पछ्याउँदिनँ र ख्रीष्टविरोधीहरूका मार्गमा हिँडेको छु भनेर त झनै चिन्तन गर्दैनन्। धेरै दुष्टता गरेर पनि कुनै वास्तविक चिन्तन नगर्नु वा परिवर्तन नहुनु खतरनाक कुरा हो। हालैका भेलाहरूमा, ख्रीष्टविरोधीहरूको स्वभाव र सारलाई खुलासा गर्नेबारे सङ्गति गरिएको छ। ख्रीष्टविरोधीहरूको स्वभाव सामान्यतया देखिने भ्रष्ट स्वभावहरूभन्दा गोप्य र दुष्ट हुन्छ। ख्रीष्टविरोधीहरू सत्यताप्रति वितृष्ण हुन्छन्, तिनीहरू सत्यतालाई घृणा गर्छन्, अनि सत्यता वा परमेश्‍वरको न्याय र सजाय पटक्कै स्विकार्न सक्दैनन्। त्यसोभए ख्रीष्टविरोधीहरूको परिणाम, तिनीहरूको अन्त्य के हुन्छ? तिनीहरू निश्चय नै हटाइनेछन्। परमेश्‍वरले ख्रीष्टविरोधीहरूलाई कसरी चित्रण गर्नुहुन्छ? सत्यतालाई घृणा गर्ने र परमेश्‍वरको विरोध गर्नेहरूका रूपमा—तिनीहरू परमेश्‍वरका शत्रु हुन्! सत्यताको विरोध गर्नु, परमेश्‍वरलाई घृणा गर्नु, र सबै सकारात्मक कुरालाई घृणा गर्नु—यो साधारण मानिसहरूमा पाइने क्षणिक कमजोरी वा मूर्खता होइन, न त क्षणिक विकृत बुझाइबाट उत्पन्न हुने गलत सोच र दृष्टिकोणको प्रकटीकरण नै हो; समस्या यो होइन। समस्या त तिनीहरू ख्रीष्टविरोधी, परमेश्‍वरका शत्रु हुनु, तिनीहरूले सारा सकारात्मक कुरा र सारा सत्यतालाई घृणा गर्नु हो; तिनीहरू परमेश्‍वरलाई घृणा र विरोध गर्ने पात्र हुन्। परमेश्‍वरले यस्ता पात्रहरूलाई कसरी हेर्नुहुन्छ? परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुन्न! यी मानिसहरू सत्यतालाई तिरस्कार र घृणा गर्छन्, तिनीहरूमा ख्रीष्टविरोधीहरूको प्रकृति सार हुन्छ। के तिमीहरूले यो कुरा बुझ्यौ? यहाँ दुष्टता, क्रूरता, र सत्यताप्रतिको घृणाको खुलासा भइरहेको छ। यो त भ्रष्ट स्वभावहरूमध्ये सबैभन्दा गम्भीर शैतानी स्वभावहरू हो, जसले सामान्य भ्रष्ट मानवजातिले प्रकाश गर्ने भ्रष्ट स्वभावहरू नभई शैतानका सबैभन्दा विशिष्ट र चुरो विशेषताहरूलाई जनाउँछ। ख्रीष्टविरोधीहरू परमेश्‍वरविरोधी शक्ति हुन्। तिनीहरूले मण्डलीलाई बाधा दिन र नियन्त्रण गर्न सक्छन्, अनि तिनीहरूमा परमेश्‍वरको व्यवस्थापन कार्यलाई भत्काउने र बिथोल्ने क्षमता हुन्छ। यो त भ्रष्ट स्वभावका सामान्य मानिसहरूले गर्न सक्ने कुरा होइन; ख्रीष्टविरोधीहरूले मात्र यस्ता कार्यहरू गर्न सक्छन्। यस मामलालाई कम नआँक्।

सबै दुष्ट मानिसमा दुष्ट स्वभावहरू हुन्छन्। कतिपय दुष्टता निष्कपट मानिसहरूलाई निरन्तर रूपमा धम्काउने, उनीहरूलाई व्यङ्ग्य वा छड्के हान्दै व्यवहार गर्ने, उनीहरूलाई सधैँ हाँसोका पात्र बनाउने, र उनीहरूको फाइदा लुट्नेजस्ता क्रूर स्वभावहरूमार्फत व्यक्त गरिन्छ। दुष्ट मानिसहरू अर्को दुष्ट व्यक्तिलाई भेट्दा खुसामदी गर्छन्, तर कुनै कमजोर व्यक्ति भेट्दा उसलाई कुल्चन्छन् र आफ्नो हैकम जमाउँछन्। यिनीहरू हदै क्रूर र दुष्ट मानिस हुन्। इसाईहरूलाई धम्काउने वा दमन गर्ने जोकोही व्यक्तिका भेषमा दियाबलस हो; ऊ आत्माविहीन पशु र दुष्ट दियाबलसको अवतार हो। यदि दुष्ट मानिसहरूको समूहमाझ निष्कपट मानिसहरूलाई नहेप्ने, इसाईहरूलाई क्रूर व्यवहार नगर्ने, आफ्नो स्वार्थमा हानि पुऱ्याउनेहरूमाथि मात्र रिस पोखाउने मानिसहरू छन् भने, यी मानिसहरूलाई गैरविश्‍वासीहरूमाझ राम्रा मानिस मानिन्छ। तर ख्रीष्टविरोधीहरूको दुष्टता कसरी फरक हुन्छ? ख्रीष्टविरोधीहरूको दुष्टता मुख्यतः तिनीहरूको प्रतिस्पर्धा गर्ने विशेष झुकावमा प्रकट हुन्छ। तिनीहरू स्वर्गसँग, धर्तीसँग, र अन्य मानिससँग होड गर्ने आँट गर्छन्। तिनीहरूले अरूलाई हेप्न नदिने मात्र होइन, तिनीहरूले अरूलाई हेप्ने र सास्ती दिने काम पनि गर्छन्। हरदिन, तिनीहरू मानिसहरूलाई कसरी सास्ती दिने भनेर विचार गर्छन्। यदि तिनीहरूले कसैलाई ईर्ष्या वा घृणा गर्छन् भने, उसलाई कहिल्यै छोड्नेछैनन्। ख्रीष्टविरोधीहरू यिनै तरिकामा दुष्ट हुन्छन्। यो दुष्टता अरू कहाँ प्रकट हुन्छ? यो तिनीहरूको कामकुरा गर्ने कुटिल तरिकामा देख्न सकिन्छ—केही दिमाग, केही ज्ञान र केही सामाजिक अनुभव भएका मानिसहरूलाई तिनीहरूलाई बुझ्न गाह्रो हुन्छ। तिनीहरू अत्यन्तै कुटिल तरिकाले कामकुरा गर्छन्, र यो दुष्टताको हदसम्म पुग्छ; यो साधारण छलीपन होइन। तिनीहरू धेरैजसो मानिसहरूले भन्दा बढी छलछाम गर्न र चाल चल्न सक्छन्। धेरैजसो मानिसहरू तिनीहरूसँग प्रतिस्पर्धा गर्न र तिनीहरूलाई सम्हाल्न सक्दैनन्। यो ख्रीष्टविरोधी हो। म किन साधारण मानिसहरूले तिनीहरूलाई सम्हाल्न सक्दैनन् भन्छु? किनभने तिनीहरूको दुष्टता यति चरम हुन्छ कि तिनीहरूमा मानिसहरूलाई बहकाउने अति ठूलो शक्ति हुन्छ। तिनीहरू अनेकथरीका उपायहरू सोचेर मानिसहरूलाई तिनीहरूको आराधना गर्न र तिनीहरूलाई पछ्याउन लगाउन सक्छन्। तिनीहरू अनेकथरीका मानिसहरूलाई शोषण गरेर पनि मण्डलीका काममा बाधा र हानि पुऱ्याउन सक्छन्। यस्ता परिस्थितिहरूमा, परमेश्‍वरको घरले ख्रीष्टविरोधीहरूको हरप्रकारको प्रकटीकरण, स्वभाव, र सारबारे बारम्बार सङ्गति गर्छ, ताकि मानिसहरूले तिनीहरूलाई खुट्ट्याउन सकून्। यो आवश्यक छ। कतिपय मानिसहरू बुझ्दैनन्, र भन्छन्, “किन सधैँ ख्रीष्टविरोधीहरूलाई कसरी खुट्ट्याउने भन्नेबारे मात्र सङ्गति गर्नु?” किनभने ख्रीष्टविरोधीहरू मानिसहरूलाई भ्रममा पार्न पूर्ण रूपले सक्षम हुन्छन्। तिनीहरू कुनै घातक महामारीले जस्तै धेरै मानिसलाई भ्रममा पार्न सक्छन्, त्यसले सङ्क्रमण फैलाएर एकैपटक धेरैलाई हानि गर्न र मार्न सक्छ; यो अत्यन्तै सङ्क्रामक र फैलिने हुन्छ, अनि यसको सङ्क्रमण र मृत्यु दर निकै उच्च हुन्छ। के यी गम्भीर परिणामहरू होइनन् र? यदि मैले तिमीहरूसित यसरी सङ्गति गरिनँ भने, के तिमीहरू ख्रीष्टविरोधीहरूको भ्रम र नियन्त्रणमा पर्नबाट जोगिन सक्छौ? के तिमीहरू साँच्चै परमेश्‍वरतर्फ फर्कन र उहाँप्रति समर्पित हुन सक्छौ? यो एकदमै गाह्रो छ। साधारण मानिसहरूले कुनै अहङ्कारी स्वभाव प्रकट गर्दा, त्यसले बढीमा, अरूलाई उनीहरूको अहङ्कारको कुरूप स्थिति देखाइदिन्छ। उनीहरू कहिलेकाहीँ घमण्ड गर्छन्, कहिलेकाहीँ सान देखाउँछन् र देखावा गर्छन्, अनि कहिलेकाहीँ आफ्नो हैसियत जमाउन अरूलाई भाषण छाँट्न रुचाउँछन्। तर के ख्रीष्टविरोधीहरूका सन्दर्भमा पनि कुरा यही हो? यसो हेर्दा, तिनीहरूले आफ्नो हैसियतको दाबी गरेको वा त्यसलाई रुचाएको जस्तो नदेखिएला, तिनीहरूलाई हैसियतमा कहिल्यै रुचि नभएको देखिएला, तर भित्र भने, तिनीहरूमा त्यसप्रति बलियो चाहना हुन्छ। यो त केही सम्राट वा गैरविश्‍वासीहरूका लुटेरा सरदारहरूजस्तै हुनु हो: तिनीहरू आफ्नो भूमिका लागि लड्दा, आफ्ना साथीहरूसँगै कष्टहरू भोग्छन्, विनम्र र महत्त्वाकाङ्क्षारहित देखिन्छन्। तर के तैँले तिनीहरूको हृदयभित्र लुकेका चाहनाहरू देखेको छस्? तिनीहरूले किन यस्ता कष्टहरू सहन सक्छन्? तिनीहरूको चाहनाले नै तिनीहरूलाई बल दिन्छ। तिनीहरू मनमा ठूलो महत्त्वाकाङ्क्षा पाल्छन्, कुनै पनि कष्ट भोग्न वा कुनै पनि अपमान, बदनाम, तिरस्कार, र बेइज्जती सहन तयार हुन्छन् ताकि तिनीहरू एक दिन सिंहासनमा बस्न सकून्। के यो कुटिलपन होइन र? के तिनीहरू कसैलाई यो महत्त्वाकाङ्क्षाबारे थाहा दिन सक्छन्? (सक्दैनन्।) तिनीहरू त्यसलाई लुकाउँछन् र गोप्य राख्छन्। यसो हेर्दा त तिनीहरू अरूले सहन नसक्ने कुरा सहन सक्ने, असह्य कष्टहरू भोग्न सक्ने, आफू वरपरका मानिसहरूका नजरमा दृढ, महत्त्वाकाङ्क्षाविनाको, व्यावहारिक र असल व्यक्ति देखिन्छन्। तर तिनीहरूले गद्दी सम्हालेर वास्तविक शक्ति प्राप्त गरेको दिन, आफ्नो अख्तियार बलियो बनाउन र हडपिनबाट जोगाउन आफूसँगै कष्ट भोगेका र लडेका सारा मानिसहरूलाई मार्छन्। सत्यता प्रकट भएपछि मात्र मानिसहरूले तिनीहरू कति धूर्त रहेछन् भनेर थाहा पाउँछन्। जब तँ फर्केर हेर्छस् र तिनीहरूले गरेको सबथोक महत्त्वाकाङ्क्षाद्वारा प्रेरित भएको देख्छस्, तब तैँले तिनीहरूको स्वभाव दुष्ट रहेछ भनेर थाहा पाउँछस्। यो कस्तो तरकिब थियो? यो कुटिलपन थियो। यो ख्रीष्टविरोधीहरूको कार्य गर्ने स्वभाव हो। ख्रीष्टविरोधीहरू र आधिकारिक शक्ति प्रयोग गर्ने दियाबलस राजाहरू एकै प्रकारका हुन्; यदि तिनीहरूले शक्ति र हैसियत पाएनन् भने, मण्डलीमा विनाकारण कष्ट भोग्ने र सहनेछैनन्। अर्को शब्दमा भन्नुपर्दा, यी मानिसहरू परमेश्‍वरको घरमा उहाँको साधारण भक्त हुन सम्झौता गरेर, वा चुपचाप र गुमनाम रूपमा केही कर्तव्य गरेर साधारण अनुयायी हुनुमा कदापि सन्तुष्ट हुँदैनन्; तिनीहरू निश्चय नै यसो गर्न इच्छुक हुनेछैनन्। यदि हैसियत भएको कसैलाई ख्रीष्टविरोधी मार्गमा हिँडेका कारण बर्खास्त गरिन्छ, र उसले “अब हैसियत नभएपछि, म सिधै साधारण व्यक्तिका रूपमा काम गर्नेछु, आफूले सक्ने जस्तोसुकै कर्तव्य गर्नेछु; हैसियतविना पनि म त्यतिकै परमेश्‍वरमा विश्वास गर्न सक्छु” भन्ने सोच्छ भने, के ऊ ख्रीष्टविरोधी हो? होइन, यो व्यक्ति एकपटक ख्रीष्टविरोधी मार्गमा हिँडेको हो, उसले क्षणिक मूर्खताका कारण एकपटक गलत मार्ग लिएको हो, तर ऊ ख्रीष्टविरोधी होइन। वास्तविक ख्रीष्टविरोधीले चाहिँ के गर्छ त? यदि उसले आफ्नो हैसियत गुमायो भने, विश्वास गर्न छोड्नेछ। त्यति मात्र होइन, उसले आफ्नो शक्ति प्राप्तिको महत्त्वाकाङ्क्षा र चाहना पूरा गर्न अरूलाई भ्रममा पार्ने, आफूलाई आराधना गर्न र पछ्याउन लगाउने विभिन्न उपायसमेत सोच्नेछ। ख्रीष्टविरोधीहरूका मार्गमा हिँड्नेहरू र वास्तविक ख्रीष्टविरोधीहरूबीचको भिन्नता यही हो। हामी ख्रीष्टविरोधीहरूका यी स्वभाव सारहरू र प्रकटीकरणहरूलाई खुट्ट्याउँछौँ र चिरफार गर्छौँ किनकि यस समस्याको प्रकृति एकदमै गम्भीर हुन्छ। धेरैजसो मानिस ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन सक्दैनन्। साधारण दाजुभाइ-दिदीबहिनीहरूको त कुरै छाडौँ, आफूले केही सत्यता बुझेको ठान्ने कतिपय अगुवा र कामदारहरूसमेत ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन पूर्ण रूपले पोख्त हुँदैनन्। तिनीहरू कति पोख्त छन् भनी बताउन गाह्रो छ, जसले तिनीहरूको कद अत्यन्तै सानो छ भन्ने देखाउँछ। ख्रीष्टविरोधीहरूलाई सही रूपमा खुट्ट्याउन सक्नेहरू मात्र साँचो कद भएका मानिस हुन्।

अहिले तिमीहरू सबैले सामना गरिरहेको ठूलो समस्या के हो? धेरैजसो मानिस झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन सक्दैनन् र सजिलै तिनीहरूका भ्रममा पर्छन्, जुन समाधान गरिएन भने एकदमै खतरनाक हुन्छ। त्यसकारण, म तिमीहरूले विभिन्न प्रकारका मानिसहरूबीच फरक छुट्ट्याउन सिक भन्ने माग गर्छु। मानिसहरूका विभिन्न व्यवहार र अभिव्यक्तिले कस्तो स्वभावलाई प्रतिनिधित्व गर्छन् भनी खुट्ट्याऊ, र यिनका आधारमा, त्यस व्यक्तिको सार खुट्ट्याऊ। यसअलावा, तिमीहरूले के चाहिँ सत्यता वास्तविकता हो र के चाहिँ शब्द र धर्मसिद्धान्त मात्र हुन् भनेर फरक छुट्ट्याउन सक्नुपर्छ। यदि यी खुट्ट्याउन सकेनौ भने, तिमीहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्नेछैनौ। खुट्ट्याउने शक्तिबिना तिमीहरूले कसरी वास्तविकतामा प्रवेश गर्ने मार्ग प्राप्त गर्न सक्छौ? कतिपय अगुवा र कामदारहरू शब्द र धर्मसिद्धान्तहरू मात्र बक्ने गर्छन्, शब्द र धर्मसिद्धान्तहरू बुझ्नु नै आफूसँग वास्तविकता हुनु भन्ठान्छन्। त्यसैले, शब्द र धर्मसिद्धान्तहरू बक्ने क्रममा, तिनीहरूलाई सन्तुष्ट र न्यायोचित महसुस हुन्छ, तिनीहरू झन्-झन् बढी उत्साहित बन्छन्। तर तिनीहरूमाथि परीक्षाहरू आइपर्दा, तिनीहरू डगमगाउँछन् र, आफू कसरी डगमगायो भनेर थाहा नपाए पनि यसो भन्छन्, “परमेश्‍वरले मलाई किन सुरक्षा दिनुभएन?” के यो लाजमर्दो असफलता होइन? त्यसैले, कतिपय अगुवा र कामदारहरू सधैँ शब्द र धर्मसिद्धान्तहरूबारे कुरा गर्छन्—के तिमीहरू यसलाई खुट्ट्याउन सक्छौ? (सक्दैनौँ।) कहिलेकाहीँ म कतिपय अगुवा र कामदारहरू शब्द र धर्मसिद्धान्तबारे मात्र कुरा गर्छन् अनि तिनीहरू अगुवा हुन उपयुक्त छैनन् भनेर केही दाजुभाइ-दिदीबहिनीहरूले भनेको सुन्छु, र उनीहरू तिनीहरूलाई बर्खास्त गर्न अनुरोध गर्छन्। तर, जब उनीहरूलाई कुनै नयाँ अगुवा चयन गर्न लगाइन्छ, तब धेरैजसो मानिसले खुट्ट्याउन सक्दैनन्, अनि चयन गरिएका अगुवा र कामदारहरू पनि खासै वास्तविकताविना नै शब्द र धर्मसिद्धान्तहरूबारे मात्र कुरा गर्ने हुन्छन्। यो एकदमै गम्भीर, एकदमै कठिन समस्या हो। जब तिमीहरू यी मामलाबारे मेरो सङ्गतिका वचनहरू सुन्छौ, तब के तिमीहरू साधारण अगुवाहरूले भन्ने कुराभन्दा कुनै भिन्नता खुट्ट्याउन सक्छौ? यदि तँ त्यो भिन्नता खुट्ट्याउन सक्छस् भने, तँलाई सत्यता वास्तविकता के हो भन्ने थाहा छ। यदि तँ त्यो खुट्ट्याउन सक्दैनस् र कुरा एउटै हो भन्ठानेर “हामीले पनि परमेश्‍वरका वचनहरू बोल्न सिकेका छौँ, र हामीले भन्ने र परमेश्‍वरले भन्ने कुरा एउटै हो” भनी सोच्छस् भने, त्यो समस्याजनक कुरा हो। त्यसले तँ सत्यता बिलकुलै बुझ्दैनस्, परमेश्‍वरका वचनहरूको नक्कल गर्न र ती थोरै कन्ठाग्र भन्न मात्र जान्दछस्, सत्यता पटक्कै बुझ्दैनस् भन्ने साबित गर्छ। धेरैजसो ख्रीष्टविरोधीहरूमा केही प्रतिभा र वाक्पटुता हुन्छ, जसले तिनीहरूलाई मानिसहरूलाई भ्रममा पार्ने पुँजी दिन्छ। त्यसमाथि तिनीहरूको दुष्ट स्वभाव अनि चालबाज बोली र व्यवहार भएपछि त, तिनीहरू वास्तवमै मानिसहरूलाई भ्रममा पार्न सक्षम हुन्छन्। यदि तिमीहरू शब्द र धर्मसिद्धान्तहरू बक्न मात्र सक्छौ र सत्यता वास्तविकतालाई खुट्ट्याउन सक्दैनौ भने, ख्रीष्टविरोधीहरूका भ्रममा पर्न मात्र सक्छौ। यो तिमीहरूको नियन्त्रणबाहिरको कुरा हुन्छ! सत्यता नबुझ्नेहरूले जे इच्छा गरे पनि, तिनीहरू ख्रीष्टविरोधीहरूका भ्रममा नपर्न असम्भव हुन्छ। शैतानको प्रभावबाट मुक्त हुनु सामान्य मामला होइन, हो त?

जून ११, २०१९

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्