विषयवस्तु छ: तिनीहरू कुटिल शैलीमा व्यवहार गर्छन्, तिनीहरू स्वेच्छाचारी र तानाशाही हुन्छन्, तिनीहरू अरूसँग कहिल्यै सङ्गति गर्दैनन्, र अरूलाई जबरजस्ती आज्ञापालन गर्न लगाउँछन् (खण्ड पाँच)
ख्रीष्टविरोधीहरू स्वेच्छाचारी र तानाशाही हुन्छन्, अरूसँग कहिल्यै सङ्गति गर्दैनन्, र तिनीहरूले सारा मामलामा अन्तिम निर्णय गर्नैपर्छ—के यी समस्याहरू सबै प्रस्ट रूपमा देखिँदैनन् र? अरूसँग सङ्गति गर्नु र सिद्धान्तहरू खोज्नु औपचारिकता वा देखावटी प्रक्रिया होइन; यसको उद्देश्य के हो? (सिद्धान्तअनुसार आफ्ना कर्तव्यहरू निर्वाह गर्नु, र ती निर्वाह गर्न मार्ग प्राप्त गर्नु।) ठिक भनिस्; यसको उद्देश्य आफ्ना कर्तव्य निर्वाह गर्न सिद्धान्त र मार्ग प्राप्त गर्न सक्नु हो। परमेश्वरका वचनहरूमा सत्यता खोजेर अनि सिद्धान्तहरू बुझेर मात्र आफ्नो कर्तव्य प्रभावकारी रूपमा निर्वाह गर्न सकिन्छ भनेर तैँले सुरुमा बुझ्नैपर्छ। यदि तैँले समस्या समाधान गर्न सत्यतामा सङ्गति गर्छस् भने, कस्तो विधि अपनाउनुपर्छ? कुन-कुन मानिसहरूलाई संलग्न गराउनुपर्छ? सही व्यक्तिहरू छनोट गर्नुपर्छ; तैँले मुख्य रूपमा सत्यता बुझ्न सक्ने राम्रो क्षमताका केही मानिससँग सङ्गति गर्नुपर्छ, किनकि यसो गर्दा प्रभावकारी नतिजाहरू प्राप्त हुनेछ। यो जरुरी छ। यदि तैँले समझ नभएका कमजोर क्षमताका अन्योल मानिसहरू चयन गरिस्, जसलाई जति नै छलफल गरे पनि सत्यता बुझाउन वा सत्यतासम्म पुऱ्याउन सकिनेछैन भने, प्रचुर मात्रामा सत्यतामा सङ्गति गरे पनि, कुनै नतिजाहरू निस्कनेछैनन्। मण्डलीमा पैदा हुने समस्याहरूका बाबजुद, परमेश्वरका चुनिएका मानिसहरूलाई जानकारी पाउने अधिकार हुन्छ अनि उनीहरूले मण्डलीको कामको परिस्थिति र विद्यमान समस्याहरू थाहा पाउनुपर्छ। यदि अगुवा र कामदारहरूले आफूमाथिकाहरूलाई छल गर्छन् र आफूमुनिकाहरूबाट सत्यता लुकाउँछन्, अरूलाई अलमल्ल पार्ने विधिहरू अपनाउँछन् भने, परमेश्वरका चुनिएका मानिसहरूलाई तिनीहरूको खुलासा र रिपोर्ट गर्ने, वा त्यो परिस्थिति माथिल्लो तहमा पुर्याउने अधिकार हुन्छ। यो परमेश्वरका चुनिएका मानिसहरूको कर्तव्य र दायित्व पनि हो। कतिपय झूटा अगुवाहरू स्वेच्छाचारीपूर्वक र तानाशाही रूपमा कार्य गर्छन्, मण्डलीमा परमेश्वरका चुनिएका मानिसहरूलाई नियन्त्रणमा राख्छन्। यो परमेश्वरलाई प्रतिरोध र विरोध गर्नु हो, यो ख्रीष्टविरोधीहरूको निरन्तर अभ्यास हो। यदि परमेश्वरका चुनिएका मानिसहरूले यो कुरा खुलासा र रिपोर्ट गरेनन्, अनि मण्डलीको काम रोकियो वा सुस्त भयो भने, अगुवा र कामदारहरूले मात्र नभई परमेश्वरका चुनिएका मानिसहरूले पनि जिम्मेवारी लिनुपर्छ, किनकि झूटा अगुवा र ख्रीष्टविरोधीहरूले मण्डलीमा शक्ति चलाउँदा दुःख पाउने त परमेश्वरका चुनिएका मानिसहरूले नै हो, सम्भवत: उनीहरूको मुक्ति पाउने मौका नष्ट हुन्छ। त्यसकारण, परमेश्वरका चुनिएका मानिसहरूलाई झूटा अगुवा र ख्रीष्टविरोधीहरूको रिपोर्ट र खुलासा गर्ने अधिकार र जिम्मेवारी हुन्छ, जुन मण्डलीको काम र परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशका लागि लाभदायी हुन्छ। कतिपय अगुवा र कामदारहरू भन्छन्: “तिमीहरू सबै जना म स्वेच्छाचारी र तानाशाही छु भन्छौ, हैन? यसपटक म त्यस्तो हुनेछैनँ। म सबैलाई आफ्ना राय व्यक्त गर्न दिनेछु। एक दिन, दुई दिन—ती कुरा बताउन तिमीहरूलाई जति समय लागे पनि म पर्खनेछु।” कहिलेकाहीँ, केही विशेष समस्याहरू सामना गर्दा, विवादहरू कैयौँ दिनसम्म लम्बिन्छन् तर समाधान निस्कँदैन, अनि तिनीहरू पर्खी नै रहन्छन्। तिनीहरू कामलाई अघि बढाउनुअघि सबैजना सर्वसम्मतिमा पुगुञ्जेल पर्खन्छन्। यसले कति काममा ढिलाइ गराउँछ? यसले कामकुरामा धेरै ढिलाइ गराउँछ; यो प्रस्ट रूपले गैरजिम्मेवारीपन प्रकट हुनु हो। यदि कुनै अगुवा वा कामदारले निर्णयहरू गर्न सक्दैन भने कसरी मण्डलीको काम प्रभावकारी रूपले व्यवस्थापन गर्न सक्छ र? मण्डलीका काममा, अगुवा र कामदारहरूसँग निर्णयहरू गर्ने अधिकार हुन्छ भने दाजुभाइ-दिदीबहिनीहरूसँग सुसूचित हुने अधिकार हुन्छ। तर, अन्त्यमा अगुवा र कामदारहरूले नै निर्णयहरू गर्नैपर्छ। यदि कुनै अगुवा वा कामदारले निर्णय गर्न सक्दैन भने, उसको क्षमता अत्यन्तै कमजोर छ, र ऊ नेतृत्वको भूमिकाका लागि उपयुक्त छैन। ऊ अगुवा भए पनि, उसले वास्तविक काम गर्न वा मानकअनुरूप हुनेगरी आफ्ना कर्तव्य निर्वाह गर्न सक्दैन। कतिपय अगुवा र कामदारहरू एउटै विषयमा लामो समयसम्म बहस गरेर पनि निर्णय गर्न सक्दैनन्, र अन्त्यमा, जो बढी जोरदार देखिन्छ उसकै अनुसार गर्छन्। के यो सिद्धान्तअनुसारको विधि हो? (होइन।) तिनीहरू कस्ता किसिमका अगुवा हुन्? तिनीहरू केवल अन्योलमा परेका मानिस हुन्। यदि तँ “ख्रीष्टविरोधीहरू स्वेच्छाचारी र तानाशाही हुन्छन्, र मलाई त्यस्तो बन्छु कि भन्ने डर लाग्छ; म ख्रीष्टविरोधीका मार्गमा हिँड्न चाहँदिनँ। म सबैले आफ्ना रायहरू व्यक्त गरुन्जेल पर्खनेछु, र त्यसपछि टुङ्गोमा पुगेर र कुनै ठिक्कको विधिको सारांश निकालेर निर्णय गर्नेछु” भनिस् भने—के त्यो स्वीकार्य हुन्छ? (हुँदैन।) किन हुँदैन? यदि नतिजा सत्यता सिद्धान्तहरूसँग मिल्दैन भने, तँ यस तरिकाले अघि बढे पनि, के त्यो प्रभावकारी हुन सक्छ? के त्यसले परमेश्वरलाई सन्तुष्ट पार्नेछ? यदि त्यो प्रभावकारी भएन र त्यसले परमेश्वरलाई सन्तुष्ट पारेन भने, समस्या गम्भीर हुन्छ। सत्यता सिद्धान्तअनुसार कार्य नगर्नु, आफ्नो कर्तव्य निर्वाहमा गैरजिम्मेवार हुनु, झारा टार्नु, र शैतानको दर्शनअनुसार कामकुरा गर्नु भनेको परमेश्वरप्रति अबफादार हुनु हो। यो परमेश्वरलाई धोका दिनु हो! ख्रीष्टविरोधीका रूपमा शङ्का गरिनुबाट वा आलोचना खेप्नुबाट जोगिन तँ आफूले पूरा गर्नुपर्ने जिम्मेवारीहरूबाट पन्छिन्छस् र शैतानी दर्शनको “सम्झौता गर्ने” विधि अपनाउँछस्। फलस्वरूप, तैँले परमेश्वरका चुनिएका मानिसहरूलाई क्षति पुर्याउँछस् र मण्डलीका काममा असर पार्छस्। के यो सिद्धान्तमा नचल्नु होइन र? के यो स्वार्थी र घृणास्पद कुरा होइन र? अगुवा वा कामदारको नाताले, तैँले सिद्धान्तअनुसारै बोल्नुपर्छ र काम गर्नुपर्छ, नतिजा प्राप्त हुने गरी र दक्षतापूर्वक आफ्नो कर्तव्य पूरा गर्नैपर्छ। जसरी परमेश्वरको घरका काममा फाइदा पुग्छ र सत्यता सिद्धान्तसँग मेल खान्छ तैँले त्यही तरिकामा कार्य गर्नुपर्छ। उदाहरणका लागि, मनमा व्यावहारिक नतिजालाई राखेर नै मण्डलीका सामानहरू खरिद गर्नुपर्छ। ती सामानहरू उचित मूल्यको र काम लाग्ने हुनुपर्छ। यदि तैँले सिद्धान्त पालना नगरी लापरवाहीपूर्वक पैसा खर्च गरिस् भने, परमेश्वरको घरका हित र परमेश्वरका भेटीहरूको नोक्सान हुन सक्छ। तिमीहरूले यस्तो परिस्थितिलाई कसरी सम्हाल्नेथियौ? (माथिको मार्गदर्शन खोज्नेथियौँ।) माथिको मार्गदर्शन खोज्नु एउटा तरिका हो। यसअलावा, अल्छी नहो। राम्ररी अनुसन्धान गर्, विस्तृत रूपमा सोधपुछ गर्, अरूलाई सल्लाह माग्, वृत्तान्त बुझ्, र पर्याप्त तयारी गर्; सायद त्यसपछि तुलनात्मक रूपमा उचित समाधान भेट्टाउन सकिन्छ। यदि तैँले यो प्रारम्भिक काम गरिनस् र वृत्तान्त नबुझी लापरवाहीपूर्वक कार्य गरिस्, फलस्वरूप धेरै पैसा खर्च भयो भने, त्यसलाई के भनिन्छ? त्यसलाई झाराटारुवा हुनु भनिन्छ। कतिपय मानिस यसरी आफ्नो कर्तव्य निर्वाह गर्छन्, आफूले गर्ने काममा पारदर्शी हुँदैनन्। उनीहरू रिपोर्ट गर्नुपर्ने आधा कुरा मात्र रिपोर्ट गर्छन्, बाँकी कुरा लुकाउँछन् किनभने उनीहरूलाई पूर्ण रूपमा पारदर्शी हुँदा आफूमाथि समस्या आइपर्नेछ र आफूले थप अनुसन्धान र सुधार गर्नुपर्नेछ भन्ने लाग्छ। त्यसैले, उनीहरू वास्तविक परिस्थिति र वृत्तान्त अरूबाट लुकाउँछन्, तुरुन्तै काम सकाउँछन् र त्यसपछि परमेश्वरको घरलाई पैसा तिर्न भन्छन्। तर निरीक्षण गर्दा, उनीहरूको काम मानकअनुरूप हुँदैन र त्यो फेरि गर्नुपर्ने हुन्छ, र अझ धेरै पैसा खेर जान्छ। के यो परमेश्वरको घरलाई क्षति पुर्याउनु होइन र? के यो यहूदाको व्यवहार होइन र? (हो।) यहूदाको व्यवहारमा परमेश्वरको घरका हितहरूलाई धोका दिनु समावेश छ। परिस्थितिहरू सामना गर्नुपर्दा, यस्तो व्यक्ति मण्डलीबाहिरका मानिसहरूका पक्षमा लाग्छ, आफ्नो देहबारे मात्र विचार गर्छ र परमेश्वरको घरका हितहरूबारे बिलकुलै सोच्दैन। के उसमा परमेश्वरप्रति कुनै बफादारी हुन्छ? (हुँदैन।) अलिकति पनि बफादारी हुँदैन। उसलाई परमेश्वरको घरका हितहरूलाई धोका दिँदा र मण्डलीका काममा क्षति पुर्याउँदा आनन्द लाग्छ—यो यहूदाको व्यवहार हो। अर्को परिस्थिति पनि छ: कतिपय कर्तव्यमा अरू क्षेत्रका विशेष ज्ञान र विशेषज्ञता समावेश हुन्छन् जुन सबैलाई थाहा नहोला। यस्ता अवस्थामा, तैँले समस्याबाट पटक्कै पन्छिनु हुँदैन। यो प्रचुर सूचनाका युगमा, तँ अल्छी हुनु हुँदैन, बरु सक्रियतापूर्वक सान्दर्भिक तथ्याङ्क र जानकारी खोज्नुपर्छ। तैँले सुरुमा सबैभन्दा आधारभूत जानकारी प्राप्त गरेर, उक्त पेशा वा क्षेत्रको आधारभूत बुझाइ प्राप्त गर्छस्, र त्यसपछि त्यस क्षेत्रको दायराभित्रका थप पक्षहरूबारे सिक्दै जान्छस्, चाहे त्यो तथ्याङ्क होस् वा विभिन्न व्यावसायिक शब्दावली, यसरी तँ त्यससँग आधारभूत रूपमा परिचित हुन्छस्। यस स्तरमा पुगेपछि, बफादारीपूर्वक र मानकअनुरूप हुनेगरी आफ्ना कर्तव्यहरू पूरा गर्नु अझ बढी लाभदायक हुँदैन र? (हुन्छ।) त्यसोभए, आफ्नो कर्तव्य निर्वाह गर्दा यो सारा तयारीको कामको उद्देश्य के हो? अनुसन्धान गर्नु, विवरण बुझ्नु, र त्यसपछि सङ्गति र समालोचनात्मक छलफलमार्फत उपयुक्त समाधानहरू खोज्नु सबै मानकअनुरूप हुनेगरी आफ्नो कर्तव्य पूरा गर्ने तयारीकै पाटो हुन्। राम्रोसँग यी तयारीहरू गर्नुले आफ्नो कर्तव्य निर्वाहमा बफादारीलाई देखाउँछ; यसले झाराटारुवाहरूलाई प्रकाश पनि गर्छ। अविश्वासीहरू र आफ्ना कर्तव्य निर्वाहमा आफूलाई साँचो रूपमा परमेश्वरप्रति समर्पित नगर्नेहरूको मनोवृत्ति कस्तो हुन्छ? तिनीहरू पूर्णतया झाराटारुवा हुन्छन्; तिनीहरूले मण्डलीका निम्ति जे खरिद गरे पनि, आफ्नै सनकअनुसार लापरवाहीसाथ पैसा खर्च गर्छन्, माथिको मार्गदर्शन खोज्दैनन्, र आफूले सबथोक बुझेका छौँ भन्ने सोच्छन्। फलस्वरूप, तिनीहरू परमेश्वरको घरको पैसा खेर फाल्छन्। के तिनीहरू खर्चालु, विपत्ति निम्त्याउने व्यक्ति होइनन् र? तिनीहरू परमेश्वरका भेटीहरू नोक्सान गर्छन् र आफूले दुष्टता गरिरहेको र परमेश्वरको प्रतिरोध गरिरहेको छु भनेर थाहासमेत पाउँदैनन्; तिनीहरूलाई हृदयमा कुनै पछुतो लाग्दैन। परमेश्वरका चुनिएका मानिसहरूले तिनीहरूलाई खुलासा गर्दा र खुट्ट्याउँदा, अनि तिनीहरूलाई निकाल्न र निष्कासन गर्न भोट गर्दा मात्र, तिनीहरूको अलि होस खुल्छ र तिनीहरू पछुताउन थाल्छन्। तिनीहरूलाई आफ्ना कार्यहरूले यस्ता गम्भीर परिणाम निम्त्याउनेछन् भनेर महसुस भएको हुँदैन—साँच्चै, आफै नचेतेसम्म तिनीहरूको चेत खुल्दैन! यस्ता मानिसहरू बढीजसो अधकल्चा बुद्धि भएका मूर्ख हुन्छन्, तैपनि तिनीहरू अगुवा र कामदार भएर परमेश्वरको घरका लागि कार्यहरू निर्वाह गर्ने आकाङ्क्षा राख्छन्। तिनीहरू गधालाई धोएर गाई बनाउन खोजेजस्तै निर्लज्ज हुन्छन्। यी मानिसहरू अविश्वासी हुन्; तिनीहरूले जति नै वर्ष विश्वास गरेका भए पनि, सत्यता बुझ्दैनन्। तैपनि तिनीहरू सधैँ परमेश्वरको घरका अगुवा र कामदार हुन चाहन्छन्, सधैँ शक्ति चलाउन र अन्तिम निर्णय गर्न चाहन्छन्—के तिनीहरू लाज पचेका निर्लज्ज होइनन् र? यस्ता मानिसहरूलाई किन अविश्वासी मानिन्छ? किनभने तिनीहरूले धेरै वर्षसम्म परमेश्वरमा विश्वास गर्नुका साथै धेरै प्रवचनहरू सुने पनि, सत्यताहरू बुझ्दैनन् र कुनै पनि सत्यता अभ्यास गर्न सक्दैनन्, जसले गर्दा तिनीहरू अविश्वासी हुन्। के तिमीहरू कसैले यस्ता व्यवहार देखाउँछौ? देखाउने जतिले हात उठाऊ। तिमीहरू सबैले देखाउँछौ? त्यसोभए तिमीहरू सबै जना अविश्वासी हौ, र त्यो गम्भीर समस्या हो। परमेश्वरमा सच्चा विश्वास गर्नेहरूले यदि निरन्तर रूपमा प्रवचनहरू सुन्छन् भने, केही सत्यता बुझ्नेछन् र केही प्रगति गर्नेछन्, जसले गर्दा तिनीहरू बोली र व्यवहारमा अझ भरपर्दो बन्नेछन्। यदि कसैले वर्षौँसम्म प्रवचन सुनेर पनि कुनै प्रगति गर्दैन भने, ऊ अन्योलमा परेको व्यक्ति, पशु र अविश्वासी हो। कतिपय मानिसले तीनदेखि पाँच वर्ष परमेश्वरमा विश्वास गर्दा निकै कुरा बुझ्छन् अनि आफ्ना बोली र व्यवहारमा सत्यता खोज्न सक्छन्। यदि तिनीहरूले आफ्ना कर्तव्य निर्वाहमा त्रुटिहरू देखेमा वा परमेश्वरको घरलाई केही क्षति पुर्याएमा, तिनीहरू दुःखी हुन्छन् र आत्मग्लानि महसुस गर्छन् र आफूलाई घृणा गर्छन्; तिनीहरूलाई आफ्नो एकछिनको गल्ती, अवफादारी, अल्छीपन, वा देहसुखमा लिप्त भएको कारण यस्ता ठूला त्रुटिहरू भएको र यस्तो ठूलो क्षति निम्तिएको हो भन्ने लाग्छ, र तिनीहरू यसका लागि आफूलाई घृणा गर्छन्। हृदयमा पछुतो मान्ने यस्ता मानिसहरूमा केही मानवता हुन्छ र तिनीहरू मुक्ति प्राप्त गर्ने मोडमा पुग्न सक्छन्। यदि कसैले धेरै वर्ष प्रवचनहरू सुनेपछि पनि कुनै सत्यता बुझ्दैन, आफ्नो कर्तव्य निर्वाहमा गल्तीहरू गरिरहन्छ, परमेश्वरका घरमा सधैँ समस्या खडा गर्छ र मण्डलीका काममा क्षति पुर्याउँछ, अनि हृदयमा पछुतोसमेत गर्दैन भने, यस्तो व्यक्तिमा पटक्कै मानवता हुँदैन, ऊ सुँगुर र कुकुरभन्दा खराब हो। के उसले अझै पनि आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्छ? उसले कर्तव्य निर्वाह गरे पनि, त्यो झारा टार्ने हुन्छ, र त्यसले परमेश्वरको अनुमोदन पाउँदैन।
कतिपय मानिसले बोल्दा परमेश्वरको घरलाई सधैँ “हाम्रो परिवार” भन्छन्, कुराकानीमा लगातार “हाम्रो परिवार” को चर्चा गर्छन्। उनीहरू त्यो मिठो पाराले भन्छन्! उनीहरूले भन्ने गरेको “हाम्रो परिवार” भनेको के हो? यहाँ त परमेश्वरको घर, परमेश्वरको परिवार, र मण्डली मात्र हुन्छ। के सधैँ “हाम्रो परिवार” भन्नु उचित हो? मलाई त त्यो उचित लाग्दैन। “हाम्रो परिवार” भन्ने शब्दलाई प्रयोग गर्न सकिन्छ, तर यदि भनिने कुरा वास्तविकतासँग मिले मात्र त्यो उचित हुन्छ। यदि तँ सत्यता पछ्याउने व्यक्ति होइनस्, यदि तँ सधैँ झारा टार्दै आफ्ना कर्तव्यहरू निर्वाह गर्छस्, मण्डलीको कामलाई पटक्कै कायम राख्दैनस्, मण्डलीको कामलाई गम्भीर रूपमा बिलकुलै लिँदैनस्, तैपनि “हाम्रो परिवार” भनिरहन्छस् भने, त्यो अनुचित हो। त्यो झूट र ढोँगको सङ्केत हो, यसले घृणा र तिरस्कार निम्त्याउँछ; तर, यदि तँ साँच्चै सत्यता वास्तविकता भएको र मण्डलीको कामलाई कायम राख्ने व्यक्ति होस् भने, परमेश्वरको घरलाई “हाम्रो परिवार” भन्नु स्वीकार्य हुन्छ। अरूलाई यो कुरा साँचो, झूटरहित लाग्छ, र तिनीहरूले तँलाई दाजुभाइ वा दिदीबहिनीका रूपमा हेर्नेछन्, तँलाई मन पराउनेछन् र प्रशंसा गर्नेछन्। यदि तैँले हृदयमा सत्यतालाई प्रेम गर्दैनस्, न त सत्यता नै स्विकार्छस्, र तँ आफ्नो कर्तव्य निर्वाहमा गैरजिम्मेवार छस् भने, परमेश्वरको घरलाई “हाम्रो परिवार” नभन्। तैँले गम्भीरतापूर्वक सत्यता पछ्याउनुपर्छ, आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्नुपर्छ, र मण्डलीको कामलाई कायम राख्न सक्नुपर्छ ताकि परमेश्वरका चुनिएका मानिसहरूले तँ परमेश्वरको घरको अंश होस् भनी महसुस गरून्। त्यसपछि, तैँले “हाम्रो परिवार” भन्दा, अरूलाई कुनै तिरस्काररहित निकटता महसुस हुनेछ, किनभने तँ हृदयमा परमेश्वरको घरलाई साँच्चै आफ्नै घर ठान्छस्, र आफ्नो कर्तव्य निर्वाहमा तँ साँच्चै जिम्मेवार हुन्छस् र तैँले मण्डलीको काम कायम राख्छस्। जब तँ “हाम्रो परिवार” भन्छस्, त्यो पूर्ण रूपमा उचित लाग्छ, त्यसमा झूटको सङ्केत देखिँदैन। यदि व्यक्तिले मण्डलीको कामप्रति कुनै जिम्मेवारी देखाउँदैन, आफ्नो कर्तव्य झारा टार्दै निर्वाह गर्छ, एउटा सिन्को उठाउन, फोहोर कोठा सफा गर्न, वा फोहोर सोहोर्न वा जाडो याममा हिउँ सोहोर्न वा आँगन सफा गर्न समेत कष्ट गर्दैन, परमेश्वरको घरको सदस्यजस्तो नभएर बाहिरी व्यक्तिजस्तो देखिन्छ भने, के यस्तो व्यक्ति परमेश्वरको घरलाई “हाम्रो परिवार” भन्न योग्य हुन्छ? तिनीहरू केवल सेवाकर्ता, अस्थायी कामदार, जीवनविनाका शैतानका मानिस हुन्, परमेश्वरको घरका सदस्य नै होइनन्। अनि तिनीहरू अझै पनि प्रायजसो निर्लज्ज भई परमेश्वरको घरलाई “हाम्रो परिवार” भन्छन्, मुख खोल्नेबित्तिकै त्यसो भन्छन्, अत्यन्तै आत्मीयताका साथ त्यसो भन्छन्, दाजुभाइ-दिदीबहिनीहरूलाई अत्यन्तै न्यानो सम्बोधन गर्छन्—तर तिनीहरू कुनै वास्तविक कामहरू सम्हाल्दैनन्। कामहरू सम्हाल्दा, तिनीहरू गल्तीहरू गर्छन्, परमेश्वरको घरलाई क्षति पुर्याउँछन्। के तिनीहरू केवल पाखण्डी होइनन् र? यस्ता मानिसहरू एकदमै अनैतिक, कुनै विवेक वा समझ नभएका हुन्छन्। परमेश्वरको विश्वासीको नाताले व्यक्तिमा हुनुपर्ने सबैभन्दा आधारभूत गुणहरू विवेक र समझ हुन्, अनि ऊ सत्यता स्विकार्न पनि सक्षम हुनुपर्छ। यदि उसमा विवेक र समझसमेत छैन अनि ऊ सत्यता बिलकुलै स्विकार्दैन भने, के ऊ अझै पनि परमेश्वरको घरलाई “हाम्रो परिवार” भन्न योग्य हुन्छ? ऊ अस्थायी कामदार र सेवाकर्ता मात्र हो; ऊ शैतानको हो र परमेश्वरको घरसँग उसको खासै सम्बन्ध छैन। परमेश्वर यस्ता मानिसहरूलाई स्विकार्नुहुन्न; उहाँको नजरमा तिनीहरू दुष्ट मानिस हुन्। धेरै मानिस परमेश्वरमा विश्वास गर्छन् तर सत्यता पटक्कै पछ्याउँदैनन्, परमेश्वरको घरका मामलाहरूप्रति उदासीन हुन्छन्। तिनीहरू आफूले सामना गर्ने समस्याहरूलाई मतलब गर्दैनन्, आफ्ना जिम्मेवारीहरूलाई बेवास्ता गर्छन्, कठिनाइमा परेका दाजुभाइ-दिदीबहिनीहरूबाट टाढा रहन्छन्, अनि खराब कामकुरा गर्ने र परमेश्वरको घरका हितहरूलाई हानि गर्ने वा मण्डलीको काम बरबाद गर्नेहरूलाई घृणा गर्दैनन्। तिनीहरूलाई सही र गलतका महत्त्वपूर्ण मामलाहरू थाहा हुँदैन; परमेश्वरका घरमा जे आइपरे पनि तिनीहरूलाई त्यसको चासो हुँदैन। के तिनीहरू परमेश्वरको घरलाई आफ्नै घर ठान्छन्? निश्चय नै ठान्दैनन्। यी मानिसहरू परमेश्वरको घरलाई “हाम्रो परिवार” भन्न योग्य छैनन्; त्यसो भन्नेहरू पाखण्डी मात्र हुन्। कस्ता मानिसहरू “हाम्रो परिवार” भन्न योग्य हुन्छन्? भर्खरै, मैले कतिपय मानिस अवश्यै अल्पसङ्ख्यक भए पनि, वास्तवमा खराब हुँदैनन् भन्ने देखेको छु। अहिलेका लागि हामी तिनीहरूले कति सत्यता बुझ्छन्, वा तिनीहरूको कद वा आस्था कत्रो छ भन्नेबारे कुरा गर्नेछैनौँ, तर यी मानिसहरू साँच्चै परमेश्वरमा विश्वास गर्छन्, वास्तविक कामहरू गर्न सक्छन्, र आफूले निर्वाह गर्ने कर्तव्यमा साँच्चै जिम्मेवार हुन्छन्—तिनीहरूमा मानवताको केही प्रतिरूप हुन्छ। यस्ता मानिसहरूलाई मात्र साँचो रूपमा परमेश्वरको घरको अंश मान्न सकिन्छ। जब तिनीहरू “हाम्रो परिवार” भन्छन्, तब त्यो न्यानो र साँच्चै हृदयस्पर्शी लाग्छ। उदाहरणका लागि, मण्डलीलाई एउटा टेबुल चाहिएको थियो, जुन किन्नुपर्यो भने छ-सात सय डलर पर्नेथ्यो। कतिपय दाजुभाइ-दिदीबहिनीले भने, “त्यो त अति महँगो भो। हामीले काठ किनेर आफैले बनाउँदा धेरै पैसा जोगिन सक्छ। त्यसले पनि उतिकै राम्रो काम गर्नेछ, कुनै फरक पर्दैन।” यो सुनेपछि, मलाई हृदयमा कस्तो महसुस भयो? मेरो मन अलि छोयो: “यी मानिसहरू खराब छैनन्; उनीहरू परमेश्वरको घरका लागि पैसा जोगाउन जान्दछन्।” यस्ता मानिसहरू भेटी फजुल खर्च गर्नेहरूका तुलनामा धेरै राम्रा हुन्, कम्तीमा उनीहरूमा केही विवेक र समझ अनि थोरै मानव भावना हुन्छ। कतिपय मानिसले थाहै नपाई परमेश्वरको घरलाई सयौँ वा हजारौँ डलर घाटा गराउँछन्, यो तिनीहरूको चासोको विषय होइन समेत भन्छन्, र हृदयमा कुनै ग्लानि महसुस गर्दैनन्। अर्कोतिर, यसो भन्ने अरू हुन्छन्, “दस वा आठ डलर बचाउनु पनि राम्रै हो। हामी आफैले समाधान गर्न सक्ने कामकुरामा अनावश्यक पैसा खर्च गर्नु हुँदैन। हामीले जहाँ सकिन्छ बचत गर्नुपर्छ। खर्च गर्नै नपर्ने पैसा खर्च गर्नु आवश्यक छैन। हामीले थोरै कठिनाइ सहनु र मेहनत गर्नु ठिक हुन्छ।” यस्तो भन्न सक्नेहरू मात्र विवेक र समझ भएका, सामान्य मानवता बोकेका, र साँच्चै परमेश्वरको घरसँग मेल खाने मानिस हुन्। यी मानिसहरूसँग परमेश्वरको घरलाई “हाम्रो परिवार” भन्न सक्ने अधिकार हुन्छ किनभने उनीहरू परमेश्वरको घरका हितलाई विचार गर्छन्। कतिपय मानिस परमेश्वरको घरका हितबारे बिलकुलै सोच्दैनन्। के उनीहरूले यस्ता विचार गर्न नसक्ने हो र? उनीहरू आफ्नो जीवनका सन्दर्भमा, अत्यन्तै मितव्ययी हुन्छन्, एक पैसा खर्च गर्न पनि हिचकिचाउँछन्, सधैँ सबैभन्दा सस्तो र सबैभन्दा व्यावहारिक सामान किन्न चाहन्छन्, सक्दो बचत गर्छन्, मोलमोलाइ गर्छन्, एक-एक हिसाब लगाउँछन्, आफ्ना जीवन व्यवस्थापनमा दक्ष भएको प्रस्ट देखिन्छन्। तर परमेश्वरको घरका लागि कामकुरा गर्ने सन्दर्भमा भने, उनीहरू यसरी काम गर्दैनन्। उनीहरू परमेश्वरको घरको पैसा चलाउँदा, अत्यधिक खर्च गर्छन्, जसरी मन लाग्छ त्यसरी खर्च गर्छन्, मानौँ खर्च गरिएन भने त्यो खेर जानेछ। के त्यो अत्यन्तै खराब चरित्रको सङ्केत होइन र? यस्ता मानिसहरू अति स्वार्थी हुन्छन्, परमेश्वरको घरलाई पटक्कै विचार गर्दैनन्, आफूलाई सन्तुष्ट पार्न मात्र खोज्छन्। उनीहरू जालझेल गरेर स्वर्गको राज्यमा प्रवेश गर्ने र सबैभन्दा कम मूल्य चुकाएर ठुलाठुला आशिषहरू प्राप्त गर्ने आशा राख्छन्। यस्ता स्वार्थी र घृणास्पद मानिसहरू अझै पनि यस्ता ठुलठुला महत्त्वाकाङ्क्षा र चाहनाहरू पाल्छन्; यसले उनीहरूमा चरित्रको गम्भीर अभाव छ भन्ने देखाउँछ!
के अब हामीले मूलत: कसरी ख्रीष्टविरोधीहरू कुटिल रूपमा व्यवहार गर्छन् र तिनीहरू स्वेच्छाचारी र तानाशाही छन् भन्ने प्रकटीकरणबारे पूर्ण रूपमा सङ्गति गरेका छौँ? (गरेका छौँ।) त्यसोभए त्यसको सारांश निकालौँ। ख्रीष्टविरोधीहरूले कुटिल रूपमा कामकुरा गर्नु, र तिनीहरू स्वेच्छाचारी र तानाशाही हुनु, तिनीहरूमा हुने दुई भिन्न तर उत्तिकै महत्त्वपूर्ण र सँगसँगै देखिने सामान्य व्यवहारहरू हुन्। यस प्रकटीकरणले ख्रीष्टविरोधीहरूका दुइटा प्रमुख स्वभावहरू खुलासा गर्छ—दुष्टता र क्रूरता; तिनीहरू दुष्ट र क्रूर दुवै हुन्छन्। कहिलेकाहीँ, तैँले तिनीहरूको क्रूर पक्ष नदेख्न सक्छस्, तर दुष्ट पक्ष देख्न सक्छस्। तिनीहरू नरम व्यवहार गर्छन्, जसले गर्दा तिनीहरूको कुनै पनि बलजफ्ती वा असभ्य व्यवहार देख्न कठिन हुन्छ। तिनीहरू बाहिरी रूपले उग्र देखिँदैनन्, न त तिनीहरू तँलाई कुनै कुरा बलजफ्ती नै गराउँछन्, तर तिनीहरू तँलाई अरू दुष्ट माध्यमहरूमार्फत जालमा पार्छन्, बिस्तारै तिनीहरूका नियन्त्रणमा पार्छन्, तिनीहरूका उद्देश्यहरू पूरा गराउँछन्—यसरी तँ तिनीहरूद्वारा शोषित हुन्छस्। तँ थाहै नपाई तिनीहरूका पासोमा पर्छस्, स्वेच्छाले तिनीहरूको चालवाजी र खेलवाडप्रति समर्पित हुन्छस्। किन तिनीहरूले यस्ता परिणामहरू ल्याउन सक्छन्? ख्रीष्टविरोधीहरू प्रायजसो सही कथन र भनाइहरू प्रयोग गरेर तँलाई निर्देशन दिन्छन् र प्रभाव पार्छन्, केही कामकुरा गर्न उक्साउँछन्, तिनीहरूले भन्ने सबथोक ठिक हो, तैँले त्यो पालन गर्नुपर्छ र त्यो यस तरिकाले गर्नुपर्छ भन्ने महसुस गराउँछन्, नत्र तँलाई आफू सत्यताविरुद्ध गइरहेको छु भन्ने लाग्नेछ, तैँले तिनीहरूको अवज्ञा गर्नु भनेको परमेश्वरविरुद्ध विद्रोह गर्नु हो भन्ने महसुस गर्नेछस्। त्यसो गर्दा, तैँले स्वेच्छाले तिनीहरूलाई पालन गर्छस्। यसको अन्तिम नतिजा के हुन्छ? मानिसहरूले तिनीहरूका शब्दहरू पछ्याएर तिनीहरूले भन्ने कुरा अभ्यास गरे पनि, के तिनीहरू सत्यता बुझ्छन् र? के परमेश्वरसँग तिनीहरूको सम्बन्ध झन्-झन् निकट बन्दै छ कि टाढिँदै छ? परिस्थितिहरू सामना गर्नुपर्दा, मानिसहरूले परमेश्वरसामु आएर उहाँलाई प्रार्थना गर्न नसक्ने मात्र होइन, तर तिनीहरूलाई परमेश्वरका वचनहरूमा सत्यता सिद्धान्तहरू कसरी खोज्ने, परमेश्वरका अभिप्राय र मागहरू कसरी बुझ्ने भनेर पनि थाहा हुँदैन। बरु, तिनीहरू अविश्वसनीय कुरा भन्छन्: “मैले मुख्यतः समर्थन र भरणपोषणका लागि अगुवाहरूमा भर परेर धेरै वर्षदेखि परमेश्वरमा विश्वास गर्दै आएको छु। जे आइपरे पनि, यदि अगुवाहरूले सङ्गति दिएमा, अघि बढ्ने मार्ग प्राप्त हुन्छ। अगुवाहरूविना केही हुँदैन।” तिनीहरूले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गर्दै आएका भए पनि, तिनीहरूको कद यत्रो मात्र छ, अझै पनि तिनीहरू अगुवाहरूविना चल्नै सक्दैनन्। के यो दयनीय अवस्था होइन र? यसको भित्री अर्थ के हो? यसको तात्पर्य तिनीहरू परमेश्वरलाई प्रार्थना गर्न, उहाँमा भर पर्न, उहाँतर्फ हेर्न, वा उहाँका वचनहरू खान र पिउन जान्दैनन् भन्ने हो। तिनीहरूलाई यी सब कुरा बुझ्नका लागि अगुवाहरूको साथ चाहिन्छै चाहिन्छ; तिनीहरूले विश्वास गर्ने परमेश्वरलाई अगुवाले प्रतिस्थापित गर्न सक्छ। परमेश्वरमा यस्तो व्यक्तिको विश्वास भनेको वास्तवमा आफ्ना अगुवाहरूमाथिको विश्वास हो भन्न सकिन्छ। तिनीहरू अगुवाहरूले भन्ने सबथोक सुन्छन्, र उनीहरूले जे भने पनि विश्वास गर्छन्। तिनीहरू साँचो रूपमा कसलाई विश्वास गर्छन्, पछ्याउँछन् र कसको आज्ञापालन गरिरहेका हुन्छन्—परमेश्वर कि अगुवाहरू? के यो धर्मका मानिसहरूले नामका लागि मात्र प्रभुमा विश्वास गर्नु, तर वास्तवमा आफ्ना पाष्टरहरूलाई विश्वास गर्नु, पछ्याउनु र भरोसा गर्नुजस्तो होइन र? के यो मानवद्वारा नियन्त्रित हुनु होइन र? तँ अगुवाहरूलाई आराधना गर्छस्, सारा मामलामा तिनीहरूको कुरा सुन्छस्। यो त मानवलाई विश्वास गर्नु र पछ्याउनु, मानिसद्वारा बाधित र नियन्त्रित हुनु हो। परमेश्वरले अत्यन्तै प्रस्ट रूपमा बोल्नुभएको छ, तैपनि तँ उहाँका वचनहरू बुझ्न सक्दैनस्, न त ती अभ्यास गर्न नै जान्दछस्, तर दियाबलस र शैतानहरूले केही शब्द बोल्नेबित्तिकै तिनीहरूलाई बुझ्छस्? तँ वास्तवमा केचाहिँ बुझ्छस्? कहिलेकाहीँ तँ कुनै प्रावधान वा धर्मसिद्धान्त बुझ्छस्—के त्यसलाई सत्यता बुझेको मानिन्छ? (मानिँदैन।) त्यो सत्यता बुझ्नु होइन; त्यो त भ्रममा पर्नु हो। त्यो ठ्याक्कै त्यही हो।
ख्रीष्टविरोधीहरूले कुटिल व्यवहार गर्नु अनि तिनीहरू स्वेच्छाचारी र तानाशाही हुनुका प्रकटीकरणमा, तिनीहरूका प्रमुख स्वभावहरू दुष्टता र क्रूरता हुन्। यो दुष्टता कहाँ प्रकट हुन्छ? यो तिनीहरूको कुटिल व्यवहारमा प्रकट हुन्छ। अनि तिनीहरूको क्रूरता कहाँ प्रकट हुन्छ? (स्वेच्छाचारी र तानाशाही हुनुमा।) यो मुख्यतः तिनीहरू स्वेच्छाचारी र तानाशाही हुनुमा, र अरूलाई बलजफ्ती आज्ञापालन गर्न लगाउनुमा प्रकट हुन्छ; तिनीहरूको बलजफ्तीले क्रूर स्वभावलाई देखाउँछ। परमेश्वर उहाँ र सत्यताप्रति मानिसहरू समर्पित भएको माग गर्नुहुन्छ। परमेश्वर कुन तरिकाले काम गर्नुहुन्छ? परमेश्वरले आफ्ना वचनहरू व्यक्त गर्नुभएपछि, मानिसहरूलाई परमेश्वरमा विश्वास गर्नुको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको उनीहरू सत्यता र उहाँका वचनप्रति समर्पित हुनु हो भनेर बताउनुहुन्छ। तँलाई यो सत्यता थाहा छ, यो वाक्यांश ठिक हो भन्ने थाहा छ, तर तँ समर्पित हुने कि नहुने र कसरी समर्पित हुने भन्ने सन्दर्भमा, परमेश्वरको कस्तो मनोवृत्ति हुन्छ? तँसित स्वतन्त्र इच्छा छ, छनोट गर्ने अधिकार छ। यदि तँ समर्पित हुन चाहन्छस् भने, समर्पित हो; यदि तँ समर्पित हुन चाहँदैनस् भने, समर्पित हुनु पर्दैन। तर, जहाँसम्म समर्पित नहुनुले कस्ता परिणामहरू ल्याउँछन्, परमेश्वरले मानिसहरूमा के कुराको छानबिन गर्नुहुन्छ, र तिनीहरूबारे उहाँका निष्कर्षहरू के-के हुन् भन्ने कुरा छ, परमेश्वरले यी मामलाहरूमा अतिरिक्त कुरा केही पनि गर्नुहुन्न। उहाँ तँलाई चेतावनी दिनुहुन्न, धम्काउनुहुन्न, वा बाध्य पार्नुहुन्न, तँलाई मूल्य तिर्न लगाउनुहुन्न वा त्यसका लागि दण्ड दिनुहुन्न। परमेश्वरले त्यसरी कार्य गर्नुहुन्न। परमेश्वरले मानिसहरूलाई मुक्ति दिइरहनुभएको अवधिमा, जब उहाँले मानवहरूलाई भरणपोषण गर्न वचनहरू व्यक्त गरिरहनुभएको हुन्छ, तब उहाँले मानिसहरूलाई गल्तीहरू गर्न, गलत मार्ग लिन, उहाँविरुद्ध विद्रोह गर्न र मूर्ख कामकुरा गर्न दिनुहुन्छ। तर उहाँ आफ्ना वचन र आफ्ना काम गर्ने केही विधिहरूमार्फत, बिस्तारै मानिसहरूलाई उहाँका मागहरू के हुन्, सत्यता भनेको के हो, र के सही र के गलत हो भनी बुझ्न दिनुहुन्छ—उदाहरणका लागि, काटछाँट, ताडना, र अनुशासनमार्फत, अनि अर्तीहरूमार्फत पनि यसो गर्नुहुन्छ। कहिलेकाहीँ, उहाँ तँलाई केही अनुग्रह प्रदान गर्नुहुन्छ, तँभित्र हलचल ल्याउनुहुन्छ, वा तँलाई केही ज्योति र अन्तर्दृष्टि दिनुहुन्छ, र तँलाई के सही र के गलत हो, परमेश्वरका मागहरू वास्तवमा के-के हुन्, मानवले कस्तो पद ग्रहण गर्नुपर्छ, र मानिसहरूले के अभ्यास गर्नुपर्छ भनी जान्न दिनुहुन्छ। उहाँ तँलाई बुझ्न लगाउने क्रममा केही छनौट पनि दिनुहुन्छ। यदि तैँले “म विद्रोही हुनेछु, म जिद्दी हुनेछु, म सही कुरा रोज्न चाहँदिनँ, म बफादार हुन चाहँदिनँ, म यसरी नै कार्य गर्न चाहन्छु!” भनिस् भने, अन्त्यमा, तँ आफ्नो गन्तव्य र परिणामका लागि आफै जिम्मेवार हुन्छस्। तैँले आफ्ना कार्यहरूको जिम्मेवारी लिनुपर्छ र मूल्य तिर्नुपर्छ; परमेश्वरले यस सम्बन्धमा केही गर्नुहुन्न। परमेश्वर निष्पक्ष र धर्मी हुनुहुन्छ। यदि तँ उहाँका मागअनुसार कार्य गर्छस् र तँ परमेश्वरप्रति समर्पित हुने व्यक्ति होस्, वा, यदि त्यसको उल्टो तँ परमेश्वरका मागअनुसार कार्य गर्दैनस् र परमेश्वरप्रति समर्पित हुने व्यक्ति होइनस् भने, दुइटै अवस्थामा, तेरो गन्तव्य जहाँसुकै भए पनि, परमेश्वरले त्यो निकै पहिले निर्धारण गरिसक्नुभएको हुन्छ। परमेश्वरले थप केही पनि गर्नु पर्दैन। यदि तैँले आज परमेश्वरका मागअनुसार कार्य गरिनस् भने उहाँले तँलाई अनुशासनमा राख्नुहुनेछ, ताडना, वा दण्ड दिनुहुनेछ, तँमाथि विपत्तिहरू ल्याउनुहुनेछ भन्ने त होइन—परमेश्वर त्यस्तो काम गर्नुहुन्न। परमेश्वर त मानिसहरूलाई समर्पणबारे सत्यता बुझ्न मद्दत गर्नका लागि मात्र उनीहरू समर्पित भएको माग गर्नुहुन्छ; त्यसमा “बाध्य पार्ने” भन्ने नै हुँदैन। परमेश्वर मानिसहरूलाई समर्पित हुन वा सत्यताको यो पक्ष अभ्यास गर्न बाध्य पार्नुहुन्न। त्यसकारण, परमेश्वरको तरिकामा, चाहे उहाँले मानिसहरूलाई योजनाबद्ध गर्नुहोस्, उनीहरूको भाग्य चलाउनुहोस्, उनीहरूलाई अगुवाइ गर्नुहोस्, वा उनीहरूलाई सत्यताद्वारा भरणपोषण गर्नुहोस्, यी कार्यहरूको आधार बाध्यतामा आधारित हुँदैन, न त त्यो आवश्यकता नै हो। यदि तैँले परमेश्वरको वचनअनुसार कार्य गरिस् भने, बिस्तारै झन्-झन् बढी सत्यता बुझ्नेछस्, अनि परमेश्वरसामु तेरो अवस्था निरन्तर सुध्रिनेछ—तैँले राम्रो अवस्था कायम राख्नेछस्, अनि परमेश्वरले पनि तँलाई दैनिक जीवनमा तैँले नबुझ्ने पक्षहरूमा अन्तर्दृष्टि दिनुहुनेछ। तर, यदि तँ सत्यता अभ्यास गर्दैनस्, परमेश्वरप्रति समर्पित हुँदैनस्, र सत्यता पछ्याउन अनिच्छुक हुन्छस् भने, तैँले अत्यन्तै सीमित कुरा प्राप्त गर्नेछस्। यी दुईबीचको एकदमै फरक कुरा यही हो। परमेश्वर पक्षपात गर्नुहुन्न; उहाँ सबैप्रति निष्पक्ष हुनुहुन्छ। कतिपय मानिस भन्छन्: “परमेश्वरले बलजफ्ती अभ्यास गराउनुभएको भए, के म गर्दिनथेँ र?” परमेश्वर मानिसहरूलाई बाध्य पार्नुहुन्न; त्यो त शैतानले गर्छ। परमेश्वर त्यसरी काम गर्नुहुन्न। बाध्य पारिँदा मात्र तँ परमेश्वरप्रति समर्पित हुन सक्छस् भने, तँ के हुन्छस्? के तँ परमेश्वरप्रति साँच्चै समर्पित भइरहेको हुन्छस्? परमेश्वरले चाहनुहुने समर्पण त्यस्तो होइन। परमेश्वरले बताउनुहुने समर्पणमा त व्यक्तिले सत्यता बुझाइका आधारमा विवेक र समझअनुसार स्वेच्छाले परमेश्वरका वचनहरू अभ्यास गर्छ। समर्पणताको अन्तर्निहित अर्थ यही हो। यसमा बाध्यता, प्रतिबन्ध, धम्की, वा कुनै पनि प्रकारको बन्धन वा नियन्त्रण संलग्न हुँदैन। त्यसकारण, जब तँलाई कुनै मामलामा निकै बाँधिएको वा नियन्त्रित महसुस भएमा, त्यो निश्चय नै परमेश्वरको काम होइन। एक अर्थमा, त्यो मानव सोचाइ वा विकृत बुझाइ र आफैले लगाएको बाधाहरूबाट उत्पन्न हुन सक्छ। अर्को अर्थमा, त्यो अरू कसैले तँलाई नियन्त्रण गर्न खोजिरहेको, प्रावधानहरू वा केही सही लाग्ने तर्क वा सिद्धान्त प्रयोग गरेर तँलाई नियन्त्रण गरेको, जसले गर्दा तैँले आफ्नो सोचाइमा केही विकृतिहरू विकास गरेको हुन सक्छ। यसले तेरा बुझाइमा समस्या छ भन्ने देखाउँछ। यदि तँलाई आफू स्वेच्छाले र खुसीसाथ परमेश्वरप्रति समर्पित छु भन्ने लाग्छ भने, यो पवित्र आत्माको काम र साथै साँचो मानवता, विवेक र समझबाट आएको हो।
परमेश्वरको घरमा सत्यताप्रति, उहाँको घरको कार्य प्रबन्धप्रति, र मण्डलीका प्रबन्धहरूप्रति समर्पित नहुने कतिपय मानिस हुन्छन्। परमेश्वरको घरले यस कुरालाई कसरी सम्हाल्छ? के यसलाई समाधान गर्न जबरजस्ती कार्यान्वयन गरिने कुनै विधिहरू छन्? यदि कुनै अगुवाले वास्तविक काम गर्दैन, कार्य प्रबन्धअनुसार काम गर्दैन, र सत्यता अभ्यास गर्दैन, वा वास्तविक काम गर्न सक्दैन भने, परमेश्वरको घरले त्यसलाई कसरी सम्हाल्छ? (परमेश्वरको घरले उसलाई बर्खास्त गर्छ।) ऊ सिधै बर्खास्त हुन्छ, तर के ऊ निष्कासित हुन्छ? (हुँदैन।) दुष्टता नगरेकाहरू निष्कासित हुँदैनन्। साधारण दाजुभाइ-दिदीबहिनीहरूका सन्दर्भमा भन्नुपर्दा, यदि उनीहरूलाई कुनै कर्तव्य निर्वाह गर्न खटाइयो तर उनीहरू त्यो नकार्छन् भने, के यसलाई समर्पित नभएको मानिन्छ? यदि उनीहरू गएनन् भने, अरू कोही भेट्टाउन सकिन्छ; के कसैलाई जबरजस्ती कुनै कर्तव्य निर्वाह गराइन्छ र? (गराइँदैन।) कुनै जोरजबरजस्ती हुँदैन। सत्यतामा सङ्गति गरेर, यदि उनीहरू स्विकार्न र समर्पित हुन इच्छुक हुन्छन् भने त्यो ठिकै हो। यसलाई जोरजबरजस्ती गरिएको मानिँदैन; यो उनीहरूको व्यक्तिगत सहमति र इच्छाअनुसार उनीहरूलाई यो कर्तव्य निर्वाह गर्न खटाउनु हो। उदाहरणका लागि, कतिपय मानिसलाई खाना पकाउन मन पर्छ तर उनीहरूलाई सरसफाइका काममा खटाइन्छ, र उनीहरू भन्छन्, “यदि मलाई सफाइ गर्न लगाइयो भने, म सफा गर्नेछु। म परमेश्वरको घरका बन्दोबस्तहरूप्रति समर्पित हुन्छु।” के यसमा कुनै जोरजबरजस्ती छ? के यसमा कसैको इच्छाविपरीत कुनै जबरजस्ती गरिएको हुन्छ? (हुँदैन।) यो उनीहरूको इच्छुकता र समर्पणअनुसार प्रबन्ध गरिएको हो, कसैलाई कुनै कठिन परिस्थितिमा पारिएको वा कसैलाई जबरजस्ती कुनै कुरा गर्न लगाइएको होइन। त्यस्ता अवस्थाहरू पनि हुन सक्छन् जहाँ कुनै निश्चित कर्तव्यका लागि अस्थायी रूपमा कोही भेट्टाउन सकिँदैन, र तँलाई त्यस ठाउँमा अस्थायी रूपमा खटाइन्छ; त्यसमा तँ व्यक्तिगत रूपमा इच्छुक नहुन सक्छस्, तर कामका लागि यो जरुरी हुन्छ, यो एउटा विशेष अवस्था हो। तँ परमेश्वरको घरको सदस्य होस्, तैँले परमेश्वरको घरको खाना खान्छस् र त्यहाँ आफ्ना कर्तव्यहरू निर्वाह गर्छस्—के तैँले आफूलाई परमेश्वरमा विश्वास गर्ने र उहाँलाई पछ्याउने व्यक्ति मान्ने भएकाले यो सानो मामलामा आफ्नो देहविरुद्ध विद्रोह गर्न सक्दैनस्? यो त वास्तवमा समर्पण वा कष्टमा समेत गणना हुँदैन; यो अस्थायी मात्र हो, तँलाई लामो समयका लागि यो कर्तव्य निर्वाह गर्न भनिएको होइन। कतिपय मानिस आफूलाई अह्राइएको काम फोहोर र थकाइलाग्दो छ भनी गुनासो गर्छन् अनि त्यो गर्न अनिच्छुक हुन्छन्। यदि उनीहरूले त्यस्तो कुरा उठाएमा, उनीहरूलाई तुरुन्तै अर्को काममा खटाउनुपर्छ। तर, यदि उनीहरू मुखले मात्र यो कुरा भनिरहेका छन् तर वास्तवमा समर्पित हुन र कष्ट भोग्न इच्छुक छन् भने, उनीहरूले आफ्नो कर्तव्य निर्वाह जारी राख्नुपर्छ। के यो शैली उपयुक्त छ? (छ।) के यो सिद्धान्त ठिक छ? (ठिक छ।) परमेश्वरको घरले मानिसहरूलाई कदापि उनीहरूको इच्छाविपरीत जबरजस्ती गर्दैन। कतिपय मानिस जे कर्तव्य निर्वाह गरे पनि अल्छी, गैरजिम्मेवार हुने र उनीहरूमा बफादारी नहुने अर्को परिस्थिति हुन्छ। कहिलेकाहीँ, उनीहरू गोप्य रूपमा समेत खराब कामकुरा गर्छन्। जब उनीहरू राम्रोसँग आफ्नो कर्तव्य निर्वाह गर्दैनन्, तब बहानाहरू बनाउँछन्, त्यो कर्तव्य आफूलाई उपयुक्त छैन, त्यसमा आफू सिपालु छैन, वा आफूले सम्बन्धित क्षेत्र नबुझेको दाबी गर्छन्। तर वास्तवमा, उनीहरूले यी कारणहरूले गर्दा राम्रोसँग कर्तव्य निर्वाह गर्न नसकेका होइनन् भनेर सबैलाई प्रस्टसित थाहा हुन्छ। यस्ता मानिसहरूलाई कसरी सम्हाल्नुपर्छ? यदि उनीहरूले अन्तै कर्तव्य निर्वाह गर्ने अनुरोध गर्छन् भने, के यसमा सहमति जनाउनुपर्छ? (पर्दैन।) त्यसोभए के गर्नुपर्छ? यस्ता मानिसहरू कर्तव्य निर्वाहका लागि उपयुक्त हुँदैनन्; उनीहरू मन नलागी-नलागी र उचित मनोवृत्तिविना कर्तव्य निभाउँछन्, त्यसैले उनीहरूलाई बरखास्त गर्नुपर्छ। कुनै कर्तव्य निर्वाह गर्न अह्राउनेबित्तिकै अरट्ठो र प्रतिरोधी बन्ने अर्को प्रकारको व्यक्ति हुन्छ। ऊ हदै अनिच्छुक र बेराजी हुन्छ, आफ्नो असन्तुष्टिलाई यस्तो सोच्दै मुस्किलले दबाउँछ, “म केही वर्ष यहीँ गुपचुप बस्छु र जसोतसो गुजारा चलाउनेछु, त्यसपछि म कहाँ पुग्छु, कसलाई थाहा!” यस्ता अभिप्रायहरू राख्ने मानिसहरूलाई कर्तव्य निर्वाह गर्न दिनु हुँदैन, र उनीहरूले अरू कर्तव्य निर्वाह गर्न चाहे पनि, अनुमति दिइँदैन। यस्ता मामलालाई बलपूर्वक नै सम्हाल्नुपर्छ। किन? किनभने उनीहरूको सार छर्लङ्गै देखिन्छ—उनीहरूलाई बुझ्नेहरूले उनीहरू अविश्वासी हुन् भन्छन्; उनीहरू वरपरका मानिसहरू पनि उनीहरू कर्तव्य निर्वाह गर्न उपयुक्त छैनन् भन्छन्। त्यस्ता मानिसहरू गैरविश्वासी हुन्, र तिनीहरूलाई पखाल्नैपर्छ। यदि पखालिएन भने, उसले बाधा दिन, गलत कार्य गर्न, र मण्डलीभित्र परमेश्वरका चुनिएका मानिसहरूलाई हानि गर्न मात्र सक्छ, जुन बिलकुलै स्वीकार्य हुँदैन। यस्ता मामिलालाई मण्डलीमा कर्तव्य निर्वाह गर्नेहरूलाई व्यवहार गर्ने तरिकाका सिद्धान्तअनुसार सम्हाल्नुपर्छ; उनीहरू इच्छुक नहुनुले केही फरक पार्दैन। के यो जोरजबरजस्ती हो? यो जोरजबरजस्ती होइन; यो त सिद्धान्तअनुसार कार्य गर्नु, परमेश्वरको घरका हित र कामलाई कायम गर्नु हो। यो अविश्वासी र परमेश्वरका घरमा सित्तैमा बस्नेहरूलाई पखाल्नु हो। यदि तँ सित्तैमा बस्न चाहन्छस् भने, अन्त कतै बस्, यहाँ होइन। परमेश्वरको घर कुनै अवकाश गृह होइन; यसले कामचोरहरूलाई पाल्दैन। बुझिस्?
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।