विषयवस्तु छ: तिनीहरू कुटिल शैलीमा व्यवहार गर्छन्, तिनीहरू स्वेच्छाचारी र तानाशाही हुन्छन्, तिनीहरू अरूसँग कहिल्यै सङ्गति गर्दैनन्, र अरूलाई जबरजस्ती आज्ञापालन गर्न लगाउँछन् (खण्ड तीन)
आ. ख्रीष्टविरोधीहरूको स्वेच्छाचारी र तानाशाही व्यवहार, अनि तिनीहरूले कसरी मानिसहरूलाई जबरजस्ती पालन गर्न लगाउँछन् भन्ने कुराको विश्लेषण
ख्रीष्टविरोधीहरू स्वेच्छाचारी र तानाशाही शैलीमा कार्य गर्छन्, अरूसँग कहिल्यै सङ्गति गर्दैनन् वा परामर्श माग्दैनन्, आफूखुसी काम गर्छन्, र अरूलाई जबरजस्ती पालन गर्न लगाउँछन्। के भन्न सकिन्छ भने ख्रीष्टविरोधीहरूले जे गरे पनि, तिनीहरूले जस्तोसुकै प्रबन्ध वा निर्णयहरू गरे पनि, अरूसँग सङ्गति गर्दैनन्, सहमतिमा पुग्दैनन्, समस्याहरू समाधान गर्न सत्यता खोज्दैनन्, र आफ्ना कर्तव्य पूरा गर्दा लागु गर्नुपर्ने सिद्धान्तहरू खोज्दैनन्। यसअलावा, तिनीहरू मानिसहरूलाई तिनीहरूले किन निश्चित तौरतरिकाले कामकुरा गरिरहेका छन् भनी बुझ्न दिँदैनन्, जसले गर्दा मानिसहरू अन्योलमा पर्छन् र तिनीहरूको कुरा सुन्न बाध्य हुन्छन्। यदि कसैले कुनै कुरा नबुझेर त्यसबारे ख्रीष्टविरोधीलाई सोधेमा, ऊ सङ्गति वा व्याख्या गर्न अनिच्छुक हुन्छ। यस मामलामा ख्रीष्टविरोधीले कस्तो परिस्थिति कायम राख्न चाहन्छ? एक-एक कुरा थाहा पाउने अनुमति कसैलाई पनि हुँदैन; सुसूचित हुने अधिकार कसैसँग पनि हुँदैन। ऊ आफूले जे चाहन्छ त्यही गर्छ, र उसलाई सही लागेको कुरा राम्ररी कार्यान्वयन हुनैपर्छ। अरूलाई प्रश्न गर्ने अधिकार हुँदैन, झन् उनीहरू ऊसँग सहकार्य गर्न त झनै योग्य हुँदैनन्; उनीहरूको भूमिका आज्ञापालन गर्ने र समर्पित हुने मात्र हो। ख्रीष्टविरोधी यसलाई कसरी हेर्छ? “तिमीहरूले मलाई अगुवाका रूपमा चुनेकाले तिमीहरू मेरो व्यवस्थापनअन्तर्गत छौ र तिमीहरूले मेरो कुरा सुन्नैपर्छ। यदि तिमीहरू मेरो कुरा सुन्न चाहँदैनौ भने, तिमीहरूले मलाई नचुन्नुपर्थ्यो। यदि तिमीहरू मलाई चुन्छौ भने, तिमीहरूले मेरो कुरा सुन्नुपर्छ। सबथोकमा मेरो अन्तिम निर्णय हुन्छ!” उसको नजरमा, ऊ र दाजुभाइ-दिदीबहिनीहरूबीचको सम्बन्ध के हो? ऊ आदेश दिने व्यक्ति हो। दाजुभाइ-दिदीबहिनीहरूले सही र गलत छुट्याउन मिल्दैन, सोधपुछ गर्न मिल्दैन, र उसलाई आरोप लगाउन, खुट्ट्याउन, प्रश्न गर्न वा शङ्का गर्न पाउँदैनन्; यी सबै निषेध गरिएका हुन्छन्। ख्रीष्टविरोधीले योजना, अभिव्यक्ति, र विधिहरू प्रस्ताव मात्र गर्नुपर्छ, अनि सबैले त्यसमा कुनै प्रश्न नगरी वाहवाही गर्नैपर्छ र सहमति जनाउनैपर्छ। यो अलि जबरजस्ती भएन र? यो कस्तो तरकिब हो? यो स्वेच्छाचारी र तानाशाही कुरा हो। यो कस्तो स्वभाव हो? (क्रूर।) सतही अर्थमा, “स्वेच्छाचारी” ले एक्लै निर्णयहरू गर्नु, अन्तिम निर्णय गर्नुलाई जनाउँछ; अनि “तानाशाही” को अर्थ एक्लैले कुनै मूल्याङ्कन वा निर्णय गरेपछि, अरू सबैले भिन्न मत वा अभिव्यक्ति नराखी, प्रश्नसमेत नगरी त्यो कार्यान्वयन गर्नैपर्ने स्थिति हो। स्वेच्छाचारी र तानाशाही हुनु भनेको कुनै परिस्थिति आइपर्दा, के गर्ने भनी निर्णय गर्नुअघि यसलाई आफैले मनन र विचार गर्नु हो। तिनीहरू कसरी कामकुरा गर्ने भन्नेबारे अरू कसैको सुझावविना, पर्दापछाडि आफै निर्णय गर्छन्; तिनीहरूका आफ्नै सह-कर्मचारी, सहकर्मी वा उच्च तहका अगुवाहरूले समेत हस्तक्षेप गर्न सक्दैनन्—स्वेच्छाचारी र तानाशाही हुनु भनेको यही हो। तिनीहरूले जस्तोसुकै परिस्थिति सामना गरे पनि, यसरी कार्य गर्नेहरू मनमा कुरा खेलाएर र जानाजानी दिमाग खियाएर निरन्तर अघि बढ्छन्, कहिल्यै अरूको परामर्श लिँदैनन्। तिनीहरू दिमागमा अनेक तरिकाले सोच्छन्, तर तिनीहरूले वास्तवमा के सोचिरहेका छन् भनेर कसैलाई थाहा हुँदैन। किन कसैलाई थाहा हुँदैन? किनकि तिनीहरूले यो कुरा भन्दैनन्। कतिपय मानिसले तिनीहरू बोलक्कड नभएर मात्र यस्तो हो भन्ठान्लान्, तर खास कुरा त्यही हो? यो व्यक्तित्वको मामला होइन; यो अरूलाई अन्धकारमा राख्न जानाजानीको निर्णय हो। तिनीहरू आफ्नै तवरले कामकुरा गर्न चाहन्छन्, तिनीहरूका आफ्नै लेखाजोखा हुन्छन्। तिनीहरू के लेखाजोखा गरिरहेका हुन्छन्? तिनीहरूका लेखाजोखा आफ्नै हित, हैसियत, ख्याति, प्राप्ति, र प्रतिष्ठासँग सम्बन्धित हुन्छन्। तिनीहरू कसरी आफ्नै पक्षमा कार्य गर्ने, आफ्नो हैसियत र प्रतिष्ठामा आँच आउन कसरी नदिने, अरूले तिनीहरूलाई छर्लङ्गै नदेख्ने गरी कसरी कार्य गर्ने, र विशेष गरी आफ्ना कार्यहरू माथिबाट कसरी लुकाउने भन्नेबारे मनन गर्छन्, र अन्त्यमा कसैलाई कुनै कमजोरी नदेखाई लाभ प्राप्त गर्ने आशा गर्छन्। तिनीहरू सोच्छन्, “यदि मैले क्षणिक भूलचूकमा केही गलत कुरा भनेमा, सबैले मलाई छर्लङ्गै देख्नेछन्। यदि कसैले बेला न कुबेला बोलेर मेरो बारेमा माथिलाई रिपोर्ट गर्यो भने, माथिले मलाई बर्खास्त गर्न सक्छन्, अनि म आफ्नो हैसियत गुमाउनेछु। त्यसअलावा, यदि मैले अरूसँग सधैँ सङ्गति गरेँ भने, के मेरा सीमित क्षमताहरू सबैसामु प्रस्ट हुनेछैनन् र? के अरूले मलाई तुच्छ ठान्लान् र?” लौ भन् त, यदि ती कुरा साँच्चै छर्लङ्गै देखिएमा, के त्यो राम्रो हुनेछ कि नराम्रो? वास्तवमा, सत्यता पछ्याउनेहरूका लागि, इमानदार मानिसहरूका लागि छर्लङ्गै देखिनु र केही इज्जत र प्रतिष्ठा गुमाउनुले खासै फरक पार्दैन। उनीहरू यी कुराहरूमा खासै चिन्तित देखिँदैनन्; उनीहरू तीप्रति कम सजग देखिन्छन् र तिनलाई धेरै महत्त्व दिँदैनन्। तर ख्रीष्टविरोधीहरू ठिक उल्टो हुन्छन्; तिनीहरू सत्यता पछ्याउँदैनन्, र तिनीहरू आफ्नो हैसियत अनि आफूप्रति अरूका बुझाइ र मनोवृत्तिहरूलाई जीवनभन्दा बढी महत्त्वपूर्ण ठान्छन्। तिनीहरूलाई आफ्ना मनका कुरा वा सत्यता भन्न लगाउनु हदै गाह्रो हुन्छ; धेरै लाभहरू दिएर पनि पर्याप्त नहुन सक्छ। यदि तिनीहरूलाई आफ्ना गोप्य कुरा वा निजी मामलाहरू खुलाउन लगाइयो भने, त्यो झनै कठिन हुनेछ—तिनीहरूले ज्यानै गए पनि त्यो नगर्न सक्छन्। यो कस्तो प्रकृति हो? के यस्तो व्यक्तिले सत्यता स्विकार्न सक्छ? के उसले मुक्ति पाउन सक्छ? पक्कै पनि सक्दैन। आखिर, “कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गो नै हुन्छ।”
ख्रीष्टविरोधीहरू आफ्नो आत्ममूल्य, हैसियत, इज्जत, र आफ्नो शक्ति कायम राख्न सक्ने कुनै पनि कुरालाई विशेष महत्त्व दिन्छन्। तँ तिनीहरूसित यसो भन्दै सङ्गति गर्छस्, “मण्डलीको काम गर्दा, चाहे त्यो बाह्य मामला होस् वा आन्तरिक प्रशासन, कर्मचारी समायोजन, वा अरू कुनै कुरा होस्, तपाईँहरूले दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गर्नैपर्छ। अरूसँग सहकार्य गर्न सिक्ने पहिलो चरण भनेको सङ्गति गर्न सिक्नु हो। सङ्गति भनेको बेकारको कुराकानी वा आफ्नो नकारात्मकता वा परमेश्वरविरुद्ध विद्रोह व्यक्त गर्नु मात्र होइन। तपाईँहरूले अरूलाई प्रभाव पार्नका लागि आफ्नो नकारात्मक वा विद्रोही स्थितिहरू पोखाउनु हुँदैन। मुख्य कुरा त कसरी परमेश्वरका वचनहरूमा सिद्धान्तहरू खोज्ने र सत्यता बुझ्ने भन्नेबारे सङ्गति गर्नु हो।” तर, तैँले सत्यताबारे जति सङ्गति गरे पनि, त्यसले तिनीहरूलाई प्रभावित पार्न वा तिनीहरूले काम गर्ने र आफूलाई आचरणमा ढाल्ने सिद्धान्त र दिशालाई परिवर्तन गर्न सक्दैन। यो कस्तो स्वभाव हो? हल्का रूपमा भन्नुपर्दा, यो हठीपन हो; कडाइका साथ भन्नुपर्दा, यो क्रूरता हो। खासमा, यसलाई क्रूरता भन्नु उचित हुन्छ। ब्वाँसोले भेडालाई गाँजिरहेको कुरा विचार गर्; यदि तैँले “म बरु खरायो दिन्छु, त्यो भेडालाई जान दे, हुन्छ?” भनी मोलतोल गरिस् भने, त्यो सहमत हुनेछैन। तैँले, “म तँलाई गाई दिन्छु, हुन्छ?” भनिस् भने, त्यो कदापि सहमत हुँदैन। त्यसले पहिला भेडा खानेछ, र त्यसपछि गाई खानेछ। त्यो एउटा खाएर सन्तुष्ट हुँदैन; त्यसले दुइटै चाहन्छ। यो कस्तो स्वभाव हो? (अतृप्त लोभी र अत्यन्तै क्रूर।) यो अति क्रूरता हो! त्यसै गरी, ख्रीष्टविरोधीहरूको अत्यन्तै क्रूर स्वभावको सन्दर्भमा भन्नुपर्दा, सत्यतामा सङ्गति गरेर, तिनीहरूलाई काटछाँट गरेर वा सल्लाह दिएर काम छैन। तैँले अझ उच्च हैसियत वा धेरै लाभद्वारा आकर्षित नगरेसम्म त्यस्तो कुनै कुराले पनि तिनीहरूको जरा गाढेर बसेको हैसियतको पछ्याइ वा अरूलाई नियन्त्रण गर्ने चाहना परिवर्तन गर्न सक्दैन। अन्यथा, तिनीहरूले आफ्नो मुखमा परिसकेको सिकारलाई कदापि छोड्नेछैनन्। कदापि नछोड्नुको अर्थ के हो? त्यसको अर्थ, तिनीहरूले कुनै निश्चित हैसियत प्राप्त गरिसकेपछि यो अवसरलाई प्रयोग गरेर जोरदार रूपमा आफूलाई प्रस्तुत र प्रदर्शन गर्नेछन्। के प्रदर्शन गर्छन्? आफ्ना विभिन्न प्रतिभा र वरदानहरू, आफ्नो पृष्ठभूमि, शिक्षा, मूल्य, र सामाजिक हैसियत प्रदर्शन गर्छन्, आफू कति सक्षम र दक्ष छन्, आफूले कसरी मानिसहरूलाई नचाउन र चालबाजी गर्न सक्छन्, कसरी मानिसहरूलाई वशमा पार्न सक्छन् भनी घमण्ड गर्छन् र सान देखाउँछन्। सत्यता र समझ नभएकाहरूलाई यो सुनेपछि त्यस्ता ख्रीष्टविरोधीहरू अत्यन्तै प्रभावशाली रहेछन् भन्ने लाग्छ; तिनीहरूलाई हीनताबोध हुन्छ, र तिनीहरू स्वेच्छाले ख्रीष्टविरोधीको नियन्त्रणमा अधीनस्थ हुन्छन्।
कतिपय ख्रीष्टविरोधीहरू षड्यन्त्र रच्नमा अत्यन्तै धूर्त र मनका कुरा नखोल्ने हुन्छन्। तिनीहरू सर्वोच्च शैतानी दर्शन पालना गर्छन्, जुन कुनै पनि परिस्थितिमा विरलै बोल्नु र आफूले सामना गर्ने कुनै पनि परिस्थितिमा आफ्नो अडान सजिलै व्यक्त नगर्नु, बोल्नैपर्ने बाध्यता आइपरेपछि मात्र बोल्नु हो। तिनीहरू केवल सबैका कार्यहरू ध्यानपूर्वक नियाल्छन्, मानौँ तिनीहरूको उद्देश्य बोल्नु वा कार्य गर्नुअघि आफू वरिपरिकालाई राम्ररी बुझ्नु र छर्लङ्गै चिन्नु हो। तिनीहरूले पहिला कोचाहिँ आफ्नो सिकार हुन र सहयोगी बन्न सक्छ, र आफ्नो “राजनैतिक शत्रु” का रूपमा कोबाट सावधान रहनुपर्छ भनी पहिचान गर्छन्। कहिलेकाहीँ तिनीहरू बोल्दैनन् वा अडान लिँदैनन्, मौन रहन्छन्, तैपनि भित्रभित्र मनन र आकलन गरिरहेका हुन्छन्; यी व्यक्तिहरू हृदयमा धूर्त हुन्छन् र विरलै खुलेर बोल्छन्। के तिमीहरू यस्तो व्यक्तिलाई निकै दुष्ट भन्नेथियौ? यदि तिनीहरू प्रायः खुलेर बोल्दैनन् भने, तैँले तिनीहरूलाई कसरी खुट्ट्याउन सक्छस्? के तिनीहरूलाई छर्लङ्गै चिन्न सजिलो छ? यो एकदमै गाह्रो छ। यस्ता मानिसहरूको हृदय शैतानी दर्शनले पूर्ण रूपमा भरिएको हुन्छ। के यो कुटिल कुरा होइन र? ख्रीष्टविरोधीहरूलाई लाग्छ, यदि तिनीहरूले धेरै बोलेमा, निरन्तर रूपमा आफ्नो दृष्टिकोण व्यक्त गरेमा र अरूसित सङ्गति गरेमा, तिनीहरूलाई सबैले छर्लङ्गै चिन्नेछन्; ख्रीष्टविरोधीलाई उनीहरूले उसमा गहनता छैन, ऊ एक साधारण व्यक्ति मात्र हो भन्ठान्नेछन्, र सम्मान गर्नेछैनन् भन्ने लाग्छ। ख्रीष्टविरोधीका लागि सम्मान गुमाउनुको अर्थ के हो? त्यसको अर्थ मानिसहरूको हृदयमा तिनीहरूको सम्मानित हैसियत गुम्नु, मामुली, अज्ञानी र साधारण देखिनु हो। ख्रीष्टविरोधीहरू यस्तो हेर्ने आशा गर्दैनन्। त्यसकारण, जब ख्रीष्टविरोधी मण्डलीका अरूले सधैँ खुलस्त भएर आफ्नो नकारात्मकता, परमेश्वरविरुद्धको विद्रोह, हिजो उनीहरूले गरेका गल्तीहरू, वा आज इमानदार हुन नसकेकाले आफूलाई भएको असहनीय पीडा स्विकारेको देख्छ, तब ऊ यी मानिसहरूलाई मूर्ख र भोलाभाला ठान्छ, किनकि ऊ यस्ता कुराहरू कहिल्यै स्विकार्दैन, र आफ्ना विचारहरू लुकाइ राख्छ। कतिपय मानिस कमजोर क्षमता वा सोझो भएका कारण, र जटिल विचारहरू नभएका कारण विरलै बोल्छन्, तर जब ख्रीष्टविरोधीहरू विरलै बोल्छन्, त्यसको त्यही कारण होइन; त्यो त स्वभावको समस्या हो। तिनीहरू अरूलाई भेट्दा विरलै बोल्छन् र मामलाहरूमा आफ्नो दृष्टिकोण सजिलै व्यक्त गर्दैनन्। किन तिनीहरू आफ्नो दृष्टिकोण व्यक्त गर्दैनन्? पहिलो कुरा, तिनीहरूमा निश्चय नै सत्यता हुँदैन र तिनीहरू कामकुरा छर्लङ्गै देख्न सक्दैनन्। यदि तिनीहरू बोलेमा, गल्तीहरू गर्छन् र छर्लङ्गै देखिन सक्छन्; तिनीहरू होच्याइमा परिएला भनी डराउँछन्, त्यसैले मौन भएको बहाना बनाउँछन् र गम्भीर र विचारशील भएको स्वाङ पार्छन्, जसले गर्दा अरूलाई तिनीहरूको अड्कल गर्न गाह्रो हुन्छ, तिनीहरू बुद्धिमान् र प्रतिष्ठित देखिन्छन्। यस्तो देखावटी रूपका कारण, मानिसहरू ख्रीष्टविरोधीलाई कम आँक्ने आँट गर्दैनन्, अनि उसलाई बाहिर शान्त र सौम्य देखेर, उनीहरू उसलाई अझ उच्च सम्मान गर्छन् र अनादर गर्ने आँट गर्दैनन्। यही नै ख्रीष्टविरोधीहरूको कुटिल र दुष्ट पक्ष हो। तिनीहरू आफ्नो दृष्टिकोण सजिलै व्यक्त गर्दैनन् किनकि तिनीहरूका धेरैजसो दृष्टिकोण सत्यतासँग मेल खाँदैनन्, बरु ती केवल मानव धारणा र कल्पना मात्र हुन्छन्, खुलासा गर्न योग्य हुँदैनन्। त्यसैले, तिनीहरू मौन रहन्छन्। भित्री रूपमा तिनीहरू केही ज्योति पाइने आशा गर्छन् जसलाई प्रशंसा प्राप्त गर्न देखाउन सकिन्छ, तर तिनीहरूमा यो नभएकाले, तिनीहरू सत्यताको सङ्गतिका क्रममा चुपचाप र लुकेर बस्छन्, भूतजस्तै छायाँमा लुकेर अवसर पर्खेर बस्छन्। अरूले ज्योतिबारे बोलेको देख्दा, तिनीहरू त्यसलाई आफ्नो बनाउने उपायहरू खोज्छन्, देखावा गर्न त्यसलाई अर्को तरिकामा व्यक्त गर्छन्। ख्रीष्टविरोधीहरू यतिका धूर्त हुन्छन्। तिनीहरू आफूले जे गरे पनि अलग देखिने र श्रेष्ठ हुने कोसिस गर्छन्, किनकि तिनीहरूलाई यति गरेमा मात्र खुसी लाग्छ। यदि तिनीहरूले अवसर पाएनन् भने, तिनीहरू पहिला चुपचाप बस्छन्, र आफ्नो दृष्टिकोण आफूसँगै राख्छन्। यो ख्रीष्टविरोधीहरूको धुर्त्याइँ हो। उदाहरणका लागि, जब परमेश्वरको घरद्वारा कुनै प्रवचन जारी हुन्छ, तब कतिपय मानिसले त्यो परमेश्वरका वचनझैँ देखिन्छ भन्छन्, र अरूले चाहिँ त्यो माथिबाटको सङ्गतिझैँ देखिने सोच्छन्। तुलनात्मक रूपमा सिधासाधा मानिसहरू आफ्नो मनको कुरा बोलिहाल्छन्, तर ख्रीष्टविरोधीहरू यसबारे आफूसँग कुनै राय भए पनि त्यसलाई लुकाएर राख्छन्। तिनीहरू अवलोकन गर्छन् र बहुमतको दृष्टिकोणलाई पछ्याउन तयार हुन्छन्, तर वास्तवमा तिनीहरू त्यसलाई राम्ररी बुझ्न सक्दैनन्। के यस्ता चतुर र धूर्त मानिसहरूले सत्यता बुझ्न सक्छन् वा तिनीहरूमा साँचो सुझबुझ हुन सक्छ? सत्यता नबुझ्ने व्यक्तिले के कुरा पो छर्लङ्गै बुझ्न सक्छ र? उसले केही पनि छर्लङ्गै बुझ्न सक्दैन। कतिपय मानिस कामकुरालाई छर्लङ्गै बुझ्न नसके पनि गम्भीर भएको बहाना गर्छन्; वास्तवमा, तिनीहरूमा समझशक्ति हुँदैन र आफूलाई अरूले छर्लङ्गै बुझ्नेछन् भन्ने डर हुन्छ। यस्ता परिस्थितिमा हुनुपर्ने सही मनोवृत्ति हो: “हामी यस मामलालाई छर्लङ्गै बुझ्न सक्दैनौँ। हामीले आफूलाई थाहा नभएकाले लापरवाही रूपमा बोल्नु हुँदैन। गलत बोल्दा नकारात्मक असर पर्न सक्छ। म माथिले के भन्छन् त्यो पर्खेर हेर्नेछु।” के त्यो इमानदारीसाथ बोल्नु होइन र? त्यस्तो सरल भाषा भएर पनि ख्रीष्टविरोधीहरू किन त्यो भन्दैनन्? तिनीहरू आफू छर्लङ्गै देखिएको चाहँदैनन्, तिनीहरूलाई आफ्ना सीमितताहरू थाहा छ; तर यसको पछाडि पनि घृणित अभिप्राय हुन्छ—त्यो हो, आदर पाउने। के यो सबैभन्दा घिनलाग्दो कुरा होइन र? सबैले बोलिसकेपछि, धेरैले त्यो परमेश्वरका वचन हो र थोरैले होइन भनेको देखेर, ख्रीष्टविरोधीलाई पनि उक्त प्रवचन परमेश्वरको वचन नहुन सक्छ भन्ने लाग्छ, तर उसले त्यो कुरा सिधै भन्दैन। ऊ भन्छ, “म यस मामलामा हतारमा निष्कर्ष निकाल्न सक्दिनँ; म बहुमतकै पक्षमा जान्छु।” ऊ आफूमा अन्तर्ज्ञानको कमी भएको स्विकार्दैन, बरु भेष बदल्न र लुक्न यो अभिव्यक्ति प्रयोग गर्छ, त्यस सँगसँगै आफू निकै बुद्धिमान् भएको, आफ्ना विधिहरू उत्कृष्ट भएको ठान्छ। त्यसको दुई दिनपछि, जब परमेश्वरको घरले उक्त प्रवचन परमेश्वरको वचन हो भनी घोषणा गर्छ, तब त्यो ख्रीष्टविरोधीले तुरुन्तै भन्छ, “देख्यौ, मैले तिमीलाई के भनेको थिएँ? त्यो परमेश्वरको वचन हो भनेर मलाई सुरुदेखि नै थाहा थियो, तर म तिमीहरूमध्ये ती नचिन्नेहरूको कमजोरीबारे चिन्तित थिएँ, त्यसैले मैले त्यो भन्न सकिनँ। यदि मैले त्यो परमेश्वरका वचन हो भनेको भए, के मैले तिमीहरूलाई दोषी ठहराइरहेको हुनेथिइनँ र? तिमीहरू कति दुःखित हुनेथ्यौ! तिमीहरू धेरै कमजोर छौ भन्ने थाहा पाएर म कसरी ढुक्क हुन सक्थेँ र? त्यसपछि त म कस्तो अगुवा हुनेथिएँ?” भेष बदल्न कति माहिर! ख्रीष्टविरोधीहरूका हरेक कुरापछाडि अभिप्राय र उद्देश्यहरू हुन्छन्; जब तिनीहरू मुख खोल्छन्, तब त्यो घमण्ड गर्ने, आफ्नो उपलब्धि, विगतका असल कार्य र विगतका गौरवको सान देखाउनेबारे हुन्छ। तिनीहरू बोल्दैपिच्छे यिनै कुराबारे बोल्छन्। तिनीहरूलाई छर्लङ्गै बुझ्न नसक्नेहरूले तिनीहरूलाई आदर्श मान्छन्, तर तिनीहरूलाई छर्लङ्गै बुझ्न सक्नेहरूलाई तिनीहरू अत्यन्तै अन्तर्घाती र छली लाग्छ—ख्रीष्टविरोधीले आफ्ना कमीकमजोरी कहिल्यै स्विकार्दैन। ख्रीष्टविरोधीहरू गोप्य रूपमा चल्छन् र दोधारे कुरा गर्छन्; तिनीहरू बढीजसो बकवास बोल्छन्, अनि तिनीहरू कुनै पनि कुरा छर्लङ्गसित चिन्न वा कुनै पनि सत्यता बुझ्न सक्दैनन्। अझ खराब त, तिनीहरूले कुनै सत्यता नबुझे पनि बुझेको बहाना गर्छन् र हरकुरामा संलग्न हुन चाहन्छन्, सबै मामलामा निर्णय गर्न र हैकम चलाउन चाहन्छन्, र आफू वरिपरिकालाई जान्ने कुनै अधिकार दिँदैनन्। यसले अन्त्यमा कस्तो परिस्थिति निम्त्याउँछ? तिनीहरूसँग सहकार्य गर्ने वा तिनीहरूसँग कर्तव्य गर्ने सबैलाई तिनीहरू बाहिरी रूपमा ती बफादार र मूल्य चुकाउन इच्छुक देखिए पनि, वास्तवमा कुरा त्यो होइन भन्ने महसुस हुन्छ। वर्षौँदेखि ख्रीष्टविरोधीको निकट रहेकाहरूले समेत तिनीहरू के सोचिरहेका छन् भनेर छर्लङ्गै बुझ्न वा तिनीहरूले साँच्चै के गर्न सक्छन् भनी थाहा पाउन सक्दैनन्—धेरैजसो मानिसले तिनीहरूलाई राम्रोसँग बुझ्न सक्दैनन्। तिनीहरूले भन्ने सबै कुरा झूट र खोक्रा शब्दहरू, जाली र छली शब्दहरू हुन्। तिनीहरू हरकुरामा संलग्न हुन र सारा निर्णयहरू गर्न चाहन्छन्, तर निर्णय गरिसकेपछि सम्भावित कुनै नतिजाको जिम्मेवारी लिँदैनन्, र यस व्यवहारको सफाइ दिन कारणहरू दिन्छन्। निर्णय गरेपछि, तिनीहरू कामचाहिँ अरूलाई गर्न दिन्छन्, जबकि आफूचाहिँ अरू मामलामा हस्तक्षेप गर्नतिर लाग्छन्। सुरुको मामलालाई अनुगमन गरिएको छ छैन, त्यसलाई कार्यान्वयन गरिएको छ छैन, यो कार्यान्वयन कतिको प्रभावकारी भएको छ, त्यस शैलीबारे अरू धेरैजसोमा कुनै राय छ छैन, त्यसले परमेश्वरको घरका हितहरूलाई क्षति पुर्याउँछ पुर्याउँदैन, वा दाजुभाइ-दिदीबहिनीहरूमा त्यसबारे समझ छ कि छैन भन्नेबारे तिनीहरू वास्तै गर्दैनन्, त्यो आफ्नो चासोको कुरा होइन र आफूसँग त्यसको कुनै सम्बन्ध छैन जस्तै गर्छन्—तिनीहरू अलिकति पनि वास्ता गर्दैनन्। तिनीहरूले वास्ता गर्ने एउटै मात्र कुरा के हो? तिनीहरू आफूले देखावा गर्न र अरूको प्रशंसा पाउन सक्ने कुराहरूको मात्र वास्ता गर्छन्; तिनीहरूले त्यसो गर्न अवसरहरू कहिल्यै छुटाउँदैनन्। आफ्नो काममा, तिनीहरू आदेश दिने र प्रावधानहरू लागु गर्नेबाहेक केही पनि गर्दैनन्। तिनीहरू शक्तिको खेल खेल्न र मानिसहरूलाई चालबाजी गर्न मात्र सक्छन्, अनि आत्म-सन्तुष्ट हुन्छन् र आफ्नो काममा सफल भएको सोच्छन्। तिनीहरूलाई आफ्नो कार्यशैलीका परिणामहरूबारे पटक्कै थाहा हुँदैन—तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई हानि गरिरहेका हुन्छन्, मण्डलीको काममा बाधा र अवरोध पुर्याइरहेका हुन्छन्। तिनीहरू परमेश्वरको इच्छालाई अघि बढाउनमा अवरोध खडा गरिरहेका र आफ्नै स्वतन्त्र राज्य स्थापना गर्न खोजिरहेका हुन्छन्।
“स्वेच्छाचारी र तानाशाही हुनु, अरूसँग कहिल्यै सङ्गति नगर्नु, र अरूलाई जबरजस्ती आज्ञापालन गर्न लगाउनु”—ख्रीष्टविरोधीहरूको यो व्यवहारको सारले मुख्यतः के जनाउँछ? तिनीहरूको स्वभाव दुष्ट र क्रूर हुन्छ, र तिनीहरूमा अरूलाई नियन्त्रण गर्ने अत्यन्तै बलियो चाहना हुन्छ, जुन मानव चेतनाको सीमाबाहिर हुन्छ। यसअलावा, आफूले निर्वाह गर्ने कर्तव्यप्रति तिनीहरूको कस्तो बुझाइ वा दृष्टिकोण र मनोवृत्ति हुन्छ? यो सच्चा रूपले आफ्नो कर्तव्य निर्वाह गर्नेहरूभन्दा कसरी फरक छ? सच्चा रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नेहरू आफूले गर्ने काममा सिद्धान्तहरू खोज्छन्, जुन आधारभूत आवश्यकता हो। तर ख्रीष्टविरोधीहरू आफूले निर्वाह गर्ने कर्तव्यलाई कसरी बोध गर्छन्? तिनीहरूको कर्तव्य निर्वाहमा कस्तो स्वभाव र सार प्रकट हुन्छन्? तिनीहरू उच्च पदमा रहन्छन् र आफूमुनिकाहरूलाई बडप्पन देखाउँछन्। तिनीहरू नेतृत्व गर्न चुनिएपछि, आफूलाई हैसियत र पहिचान भएका व्यक्तिका रूपमा हेर्न थाल्छन्। तिनीहरू आफ्नो कर्तव्य परमेश्वरबाट पाएको हो भनी स्विकार्दैनन्। कुनै निश्चित पद हासिल गरेपछि, तिनीहरूलाई आफ्नो हैसियत महत्त्वपूर्ण छ, आफ्नो शक्ति ठूलो हो, र आफ्नो पहिचान अद्वितीय छ भन्ने लाग्छ, जसले गर्दा तिनीहरू उच्च पदमा रहेर अरूलाई हेयको दृष्टिले हेर्छन्। त्यससँगै, तिनीहरू आफूले आदेशहरू जारी गर्न र आफ्नै सोचअनुसार कार्य गर्न सक्छु र यसो गरेकोमा कुनै सन्देह राख्नु पर्दैन भनेर सोच्छन्। तिनीहरू कर्तव्य निर्वाह गर्ने अवसर प्रयोग गरेर अख्तियारप्रतिको लालसा पूरा गर्न, अरूलाई शक्तिले शासन र नेतृत्व गर्ने आफ्नो चाहना र महत्त्वाकाङ्क्षा पूरा गर्न सकिन्छ भनेर सोच्छन्। तिनीहरू अन्तत: आफ्नो अख्तियारमा चुनौती नहुने मौका पाइएको महसुस गर्छन् भन्न सकिन्छ। कतिपयले भन्छन्: “स्वेच्छाचारी र तानाशाही हुनु, अनि कहिल्यै अरूसँग सङ्गति नगर्नु नै ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरू हुन्। हाम्रो अगुवामा पनि ख्रीष्टविरोधीका स्वभाव र प्रकटीकरणहरू भए पनि, उनी हामीसँग प्रायः सङ्गति गर्छन्!” के त्यसको अर्थ उनी ख्रीष्टविरोधी होइनन् भन्ने हो? ख्रीष्टविरोधीहरू कहिलेकाहीँ बहाना बनाउन सक्छन्: एक चरण सबैसँग सङ्गति गरेर सबैका सोचहरू बुझेपछि र बोध गरेपछि—आफ्नो पक्षमा को छ र को छैन भनी पहिचान गरेपछि—तिनीहरू उनीहरूलाई वर्गीकरण गर्छन्। भावी मामलाहरूमा, तिनीहरू आफूसँग राम्रो सम्बन्ध भएका र आफूसँग मिल्नेहरूसँग मात्र कुराकानी गर्छन्। तिनीहरूसँग ताल नमिल्नेहरूलाई धेरैजसो मामलाहरूबारे प्रायः जानकारी गराइँदैन र तिनीहरू उनीहरूलाई परमेश्वरका वचनका पुस्तकहरूबाट वञ्चित पनि गराउलान्। के तिमीहरूले कहिल्यै स्वेच्छाचारी र तानाशाही भएर अरूसँग सङ्गति नगरेर यस्तो व्यवहार गरेका छौ? स्वेच्छाचारी र तानाशाही त निश्चय नै हुने गर्छ, तर अरूसँग कहिल्यै सङ्गति नगर्ने त हुँदै भएन नि; तैँले कहिलेकाहीँ सङ्गति गर्न सक्छस्। तर, सङ्गति गरेपछि, कामकुरा तैँले भनेजस्तै गरी अघि बढ्छन्। कतिपय मानिस सोच्छन्: “हामीले सङ्गति गरे पनि, वास्तवमा मैले धेरै पहिले निश्चित योजना बनाइसकेको छु। म आफूले गर्ने कुरामा मेरा सिद्धान्तहरू छन् भनी तिमीलाई थाहा दिन औपचारिकताका लागि मात्र तिमीसँग सङ्गति गर्छु। के तिमी मलाई तिम्रो योग्यता थाहा छैन भन्ने सोच्छौ? आखिर, तिमीले मेरै कुरा सुन्नुपर्नेछ र मेरै तरिका पछ्याउनुपर्नेछ।” खासमा, तिनीहरूले हृदयमा धेरै पहिला निर्णय गरिसकेका हुन्छन्। तिनीहरूलाई लाग्छ, “म बोल्नमा सिपालु छु र कुनै पनि तर्कलाई आफ्नो पक्षमा मोड्न सक्छु; बोल्नमा मलाई कसैले जित्न सक्दैन, त्यसैले स्वाभाविक रूपमा हावा मेरै इशारामा चल्नेछ।” तिनीहरूले निकै अघिबाटै आकलन गरिसकेका हुन्छन्। के यस्तो परिस्थिति हुन्छ? स्वेच्छाचारी र तानाशाही हुनु संयोगवश कहिलेकाहीँ प्रकट हुने व्यवहार होइन; यो निश्चित स्वभावद्वारा नियन्त्रित हुन्छ। यो तिनीहरूको बोल्ने र कार्य गर्ने तरिकाबाट त स्वेच्छाचारी र तानाशाहीजस्तो नदेखिएला, तर तिनीहरूको स्वभाव र तिनीहरूका कार्यहरूको प्रकृतिबाट भने तिनीहरू वास्तवमै स्वेच्छाचारी र तानाशाही हुन्। तिनीहरू औपचारिकता पूरा गर्छन् र अरूका राय “सुन्छन्”, अरूलाई बोल्न दिन्छन्, उनीहरूलाई कुनै परिस्थितिका एक-एक कुराबारे थाहा दिन्छन्, परमेश्वरको वचनले के माग गर्छ भनी छलफल गर्छन्—तर तिनीहरू निश्चित अलङ्कार वा वाक्यांश प्रयोग गरेर अरूलाई आफूसँग सहमत गराउँछन्। अनि अन्तिम नतिजा के हुन्छ? सबथोक तिनीहरूको योजनाअनुसार नै अघि बढ्छ। यो तिनीहरूको कपटी पक्ष हो; यसलाई अरूलाई जबरजस्ती आज्ञापालन गर्न लगाउनु पनि भनिन्छ, यो एक प्रकारको “नरम” बाध्यता हो। तिनीहरू सोच्छन्, “तिमीले सुनिरहेका छैनौ, होइन? तिमी बुझ्दैनौ, होइन? म बुझाउँछु।” बुझाउँदाखेरी, तिनीहरू आफ्ना शब्दहरू बुन्छन् र बङ्ग्याउँछन्, अरूलाई आफ्नो तर्क स्विकार्न लगाउँछन्। उनीहरूलाई तर्क सुन्न लगाएपछि, मानिसहरूले सुन्छन् र सोच्छन्, “तपाईँले भन्नुभएको कुरा ठिक हो; हामी तपाईंले भनेअनुसार अभ्यास गर्नेछौँ, अब यति सच्चा हुनु पर्दैन,” अनि ख्रीष्टविरोधी खुसी हुन्छ। धेरैजसो मानिस तिनीहरूका शब्दहरू खुट्ट्याउन सक्दैनन्। के तिमीहरूमा समझशक्ति छ? यस्ता परिस्थितिहरू सामना गर्दा, तिमीहरूले के गर्नुपर्छ? उदाहरणका लागि, कुनै मामला सामना गर्नुपर्दा, तँलाई त्यसमा समस्या छ भन्ने महसुस हुन्छ; तँ त्यतिबेला ठ्याक्कै समस्या औँल्याउन सक्दैनस्, तैपनि तँलाई जबरजस्ती आज्ञापालन गर्न लगाइएको महसुस हुन्छ। त्यसपछि तैँले के गर्नुपर्छ? तैँले सान्दर्भिक सिद्धान्तहरू खोज्नुपर्छ, माथिबाट मार्गदर्शन खोज्नुपर्छ, वा सम्बन्धित व्यक्तिसँग सङ्गति गर्नुपर्छ। त्यसबाहेक, सत्यता बुझ्नेहरूले यस मामलाबारे सँगै छलफल र सङ्गति गर्न सक्छन्। कहिलेकाहीँ, पवित्र आत्माको काम र मार्गदर्शनले तँलाई ख्रीष्टविरोधीहरू वा ख्रीष्टविरोधी मार्गमा हिँड्नेहरूले अघि सारेका प्रस्ताव वा सिद्धान्तहरूमा भएका समस्याहरू, र तिनीहरूका गुप्त मनसायहरू बुझ्न मद्दत गर्नेछन्। एकअर्कासँगको सङ्गतिमार्फत, तैँले कुरा बुझ्न सक्लास्। तर सायद तैँले सङ्गति गर्नुको सट्टामा यस्तो सोच्छस्, “यो ठूलो समस्या होइन, उसलाई जे मन लाग्छ त्यही गर्न देऊ। आखिर, म मुख्य जिम्मेवार होइन, मैले यी मामलाहरूमा टाउको दुःखाउनुपर्दैन। केही बिग्रेमा म जिम्मेवार हुनेछैनँ; उसैले जिम्मेवारी लिनेछ।” यो कस्तो व्यवहार हो? यो आफ्नो कर्तव्यप्रति बफादार नहुनु हो। के आफ्नो कर्तव्यप्रति बफादार नहुनु परमेश्वरको घरका हितहरूप्रति विश्वासघात होइन र? यो त यहूदाजस्तै हुनु हो! धेरै मानिस दमनकारी शक्तिको सामना गर्नुपर्दा, यो शक्ति प्रयोग गर्नेहरूसँग सम्झौता गर्छन् र तिनीहरूसँगै लाग्छन्, जुन आफ्नो कर्तव्यप्रति अबफादार हुनुको एउटा प्रकटीकरण हो। चाहे तैँले कुनै ख्रीष्टविरोधीलाई सामना गर्दा होस् वा जथाभाबी कार्य गर्ने र तँलाई जबरजस्ती पालन गर्न लगाउने व्यक्तिलाई सामना गर्दा, कस्ता सिद्धान्तहरू पालना गर्ने निर्णय गर्नुपर्छ? तैँले कुन मार्ग पछ्याउनुपर्छ? यदि तँलाई आफूले गरिरहेको कुरा परमेश्वरका वचन र कार्य प्रबन्धहरूसँग बाझिँदैन वा तीबाट बाहिर जाँदैन भन्ने लाग्छ भने, तँ त्यसमा दृढ रहनैपर्छ। सत्यता पालना गर्नु सही हो र यो परमेश्वरद्वारा अनुमोदित हुन्छ, तर शैतान, दुष्ट शक्ति, र दुष्ट मानिसहरूसामु झुक्नु र सम्झौता गर्नु विश्वासघाती व्यवहार हो, परमेश्वरलाई घृणा लाग्ने र उहाँद्वारा श्रापित दुष्ट कार्य हो। ख्रीष्टविरोधीहरू आफूसँग तर्कवितर्क गर्ने व्यक्तिको सामना गर्दा प्रायः यसो भन्छन्, “यस मामलामा मेरो अन्तिम निर्णय चल्छ, र यो मेरै तरिकाले गर्नुपर्छ। यदि केही बिग्रियो भने, म जिम्मेवारी लिनेछु!” यो भनाइले कस्तो स्वभावलाई जनाउँछ? के यसरी बोल्ने र अभ्यास गर्ने व्यक्तिमा सामान्य मानवता हुन सक्छ? किन तिनीहरू अरूलाई जबरजस्ती आज्ञापालन गर्न लगाउँछन्? किन तिनीहरू समस्याहरू उत्पन्न हुँदा सत्यता खोजेर ती समाधान गर्दैनन्? किन तिनीहरू सत्यता अभ्यासका सिद्धान्तहरू तय गर्न सक्दैनन्? यसले तिनीहरूमा सत्यता छैन भनेर प्रमाणित गर्छ। के तिमीहरू यस भनाइको समस्या खुट्ट्याउन सक्छौ? यस्ता कुराहरू भन्नुले तिनीहरूमा ख्रीष्टविरोधी स्वभाव छ भनेर प्रमाणित गर्छ; यही नै ख्रीष्टविरोधीको व्यवहार हो। तर, अझ धूर्त ख्रीष्टविरोधीले, अरूद्वारा खुट्ट्याइने डरले, सबै जना सहमत हुने र मानिसहरूलाई भ्रमाउने र आफ्नो पकड जमाउने लक्ष्य हासिल गर्नका लागि सही देखिने केही कुरा भन्नैपर्छ। त्यसपछि, तिनीहरू परमेश्वरका चुनिएका मानिसहरूलाई कसरी नियन्त्रणमा राख्ने भनी मनन गर्नेछन्।
ख्रीष्टविरोधीहरू स्वेच्छाचारी र तानाशाही हुनुका प्रकटीकरणहरू धेरै नै हुनुपर्छ, किनकि यस्तो व्यवहार, स्वभाव, र अवगुण हरेक भ्रष्ट व्यक्तिमा देख्न सकिन्छ, झन् ख्रीष्टविरोधीहरूमा नदेखिने त कुरै भएन। के तिमीहरू आफू स्वेच्छाचारी र तानाशाही भएको केही उदाहरण सम्झन सक्छौ? उदाहरणका लागि, यदि कसैले तिमीलाई छोटो कपालमा राम्रो देखिन्छ भन्यो, र तैँले “छोटो कपालमा त्यस्तो राम्रो के हुन्छ र? मलाई त लामो कपाल मन पर्छ, र म आफूलाई जस्तो मन पर्छ त्यस्तै गर्छु” भनी जवाफ दिइस् भने, के यो स्वेच्छाचारी र तानाशाही हुनु हो? (होइन।) त्यो व्यक्तिगत रुचिको कुरा मात्र, सामान्य मानवताको एउटा पाटो हो। कतिपय मानिस टाढाको हेर्न समस्या नभए पनि चस्मा लगाउन मन पराउँछन्। यदि कतिपय मानिसले तिनीहरूको आलोचना गर्दै, “तिमी राम्रो देखिन मात्र खोजिरहेका छौ, वास्तवमा तिमीलाई चस्मा चाहिँदैन!” भन्छन् अनि तिनीहरूले “मलाई नचाहिए त के भो? तर म त लाउँछु लाउँछु!” भन्छन् भने—के यो स्वेच्छाचारी र तानाशाही हुनु हो? होइन, यो व्यक्तिगत रुचिको कुरा हो, बढीमा जिद्दी हुनु हो, र यसमा तिनीहरूको स्वभावसम्बन्धी कुनै समस्या पर्दैन; मन लागेमा तिनीहरूले केही दिनपछि चस्मा लगाउन छोड्न सक्छन्। त्यसोभए स्वेच्छाचारी र तानाशाही हुनुमा मुख्य गरी के-के पर्छन्? यसमा मुख्य गरी व्यक्तिले लिने मार्ग, उसको स्वभाव, र उसका कार्यपछाडिका सिद्धान्त र अभिप्रेरणाहरू पर्छन्। उदाहरणका लागि, कुनै वैवाहिक जीवनमा श्रीमानलाई गाडी मन पर्छ तर परिवारसँग लगभग २०,००० युआन मात्र छ, अनि श्रीमानले जहाँबाट सकिन्छ त्यहाँबाट पैसा सापटी लिएर अनावश्यक रूपमा लगभग २,००,००० युआन पर्ने गाडी किन्छ, जसका कारण परिवारले खानेकुरा किन्न सक्दैन, अनि श्रीमतीलाई गाडी किनेको थाहासमेत हुँदैन भने, के यो श्रीमान् स्वेच्छाचारी र तानाशाही भएको हो? यो वास्तवमै स्वेच्छाचारी र तानाशाही हुनु हो। स्वेच्छाचारी र तानाशाही हुनुको अर्थ अरूको भावना, सोच, राय, मनोवृत्ति वा दृष्टिकोणलाई विचार नगर्नु, आफूलाई मात्र ध्यान दिनु हो। सरल भाषामा भन्नुपर्दा, दैनिक जीवनमा त्यसको अर्थ आफ्ना देहसुख र चाहनाहरू पूरा गर्नु, आफ्नो स्वार्थ पूर्ति गर्नु हो, र कर्तव्यको सन्दर्भमा भन्नुपर्दा, यसले हैसियत र शक्ति पछ्याउने आफ्ना महत्त्वाकाङ्क्षा र चाहना पूरा गर्नुलाई जनाउँछ। एउटा उदाहरण यस्तो छ: मण्डलीको एउटा घर थियो, र त्यसको छेउमा बाटो बनाउनुपर्ने थियो। बाटोको उचित चौडाइ सौन्दर्य र व्यावहारिकता दुवै हिसाबले, घरको आकार र आँगनअनुसार निर्धारण गर्नुपर्छ। यस घर र आँगनको ठूलो क्षेत्रफलका कारण, बाटो कम्तीमा दुई मिटर फराकिलो हुनुपर्थ्यो। प्रभारीले भन्यो: “मैले निर्णय गरेको छु, हामी बाटो एक मिटर फराकिलो बनाउनेछौँ।” अरूले भने, “हरदिन धेरै मानिस भित्रबाहिर गर्छन्, र कहिलेकाहीँ हामीले सामानहरू बोक्नुपर्छ; एक मिटरले त हुँदै हुँदैन, यो त अति साँघुरो हुन्छ।” तर प्रभारीले आफ्नो दृष्टिकोणमा जिद् कस्यो, र कुनै छलफल गर्नै मानेन। बाटो बनेपछि, सबैले बाटो अति साँघुरो भएको देखे; त्यो घर र आँगनसँग मिलेको थिएन र अव्यावहारिक थियो—त्यो फेरि बनाउनुपर्ने भयो, जसले गर्दा फेरि काम गर्नुपर्थ्यो। त्यसपछि सबैले यस व्यक्तिबारे गुनासो गरे। खासमा, बाटो निर्माण सुरु हुनुपहिले नै कतिपय मानिसले विरोध जनाएका थिए, तर यो व्यक्ति असहमत भयो र आफ्नै दृष्टिकोणमा जिद कस्यो, अरूलाई जबरजस्ती उसकै चाहनाअनुसार काम गर्न बाध्य पाऱ्यो, जसले गर्दा यस्ता परिणामहरू निम्तिए। किन यो व्यक्तिले अरूका सुझाव स्विकार्न सकेन? फरक-फरक रायहरू आउँदा, किन उसले सबै पक्षलाई विचार गरेर सही विधि भेट्टाउन सकेन? परामर्श दिने कोही नभएको भए, आफै निर्णय गर्नु ठिकै हुन्थ्यो, तर परामर्श दिने मानिसहरू थिए र अझ राम्रा सुझावहरूसमेत पाएका थिए, तैपनि किन उसले ती स्विकार्न सकेन? यो कस्तो स्वभाव हो? त्यहाँ कम्तीमा दुइटा सम्भावनाहरू छन्: एउटा हो, यो व्यक्ति विचारशून्य, अन्योलमा परेको व्यक्ति हो; अर्को हो, उसको स्वभाव अत्यन्तै अहङ्कारी र आत्मधर्मी छ, ऊ सधैँ आफूलाई सही ठान्छ, र अरूले भनेको कुरा जति नै सही भए पनि स्विकार्न सक्दैन—यो अति अहङ्कार हो, यसले गर्दा समझ गुम्छ। यस्तो सामान्य मामलाले नै उसको स्वभाव प्रकट गऱ्यो। अत्यधिक अहङ्कारले चेतना गुम्छ। चेतना नहुनु भन्नुको अर्थ के हो? कस्तो कुरामा चेतना हुँदैन? पशुहरूमा चेतना हुँदैन। यदि कुनै व्यक्तिमा चेतना छैन भने, ऊ पशुभन्दा फरक हुँदैन; उसको दिमागमा मूल्याङ्कन गर्ने क्षमता हुँदैन, र त्यसमा चेतना हुँदैन। यदि कुनै व्यक्ति समझ गुम्ने गरी अहङ्कारी बन्यो, र उसमा चेतना छैन भने, के ऊ पशुसरह हुँदैन र? (हुन्छ।) ऊ ठ्याक्कै त्यस्तै हुन्छ; मानव चेतना नहुनुको अर्थ ऊ मानव होइन। के ख्रीष्टविरोधीहरूमा यस्तो चेतना हुन्छ? (हुँदैन।) ख्रीष्टविरोधीहरूमा त त्यो झनै हुँदैन; तिनीहरू पशुभन्दा खराब हुन्, तिनीहरू दियाबलसहरू हुन्। जस्तो कि जब परमेश्वरले शैतानलाई “तँ कहाँबाट आइस्?” भनेर सोध्नुभयो, वास्तवमा परमेश्वरको प्रश्न एकदमै प्रस्ट थियो; परमेश्वरले के सन्देश दिनुभयो? (उहाँले शैतानलाई ऊ कहाँबाट आएको भनेर सोधिरहनुभएको थियो।) यो वाक्य प्रस्ट रूपले प्रश्नचिन्हमा टुङ्गिन्छ; यो एउटा प्रश्न हो, जसमा “तँ” कर्ताले “शैतान” लाई जनाउँछ: “तँ कहाँबाट आएको होस्?” व्याकरण मिलेको छ, र परमेश्वरको प्रश्न सजिलै बुझिन्छ। शैतानले कस्तो जवाफ दियो? (“पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ” (अय्यूब १:७)।) यो शैतानको चर्चित भनाइ हो। के शैतानको जवाफले कुनै चेतना देखाउँछ? (देखाउँदैन।) त्यसमा चेतना छैन। परमेश्वरले त्यसलाई त्यो कहाँबाट आएको भनेर फेरि सोध्नुहुँदा, त्यसले उही जवाफ दोहोर्यायो, मानौँ त्यसले परमेश्वरका वचनहरू बुझ्न सकेन। के मानिसहरूले शैतानले भनेको कुरा बुझ्न सक्छन्? के त्यसको बोलीमा कुनै चेतना छ? (छैन।) त्योसँग चेतना छैन—त्यसोभए के त्यसले सत्यता बुझ्न सक्छ? परमेश्वरको त्यस्तो सामान्य प्रश्नको समेत उसले त्यसरी जवाफ दियो; त्यसले परमेश्वरले बोल्ने सत्यताहरू झनै बुझ्न सक्दैन। ख्रीष्टविरोधीहरूमा चेतना पनि हुँदैन भन्न सकिन्छ; कुटिल रूपमा काम गर्नेहरू, परमेश्वरको वचन वा सत्यता बुझ्न नसक्नेहरू सबै अविवेकी हुन्। तैँले सत्यता अभ्यास गर्ने, सिद्धान्तहरूअनुसार कार्य गर्ने, र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सिद्धान्तहरू खोज्ने र अरूसँग सङ्गति गर्नेबारे जति नै बताए पनि—जुन तिनीहरूले बुझेको र जानेको भन्छन्—जब कार्य गर्ने कुरा आउँछ, तब तिनीहरू तेरा शब्दहरू हृदयमा लिँदैनन् र आफूलाई जे मन लाग्छ त्यही गर्छन्। यो पैशाचिक प्रकृति हो! यस्तो पैशाचिक प्रकृति भएकाहरूले सत्यता बुझ्दैनन् र तिनीहरूमा चेतना हुँदैन। तिनीहरूको सबैभन्दा समझहीन र निर्लज्ज पक्ष के हो? मानवहरूलाई परमेश्वरले सृष्टि गर्नुभएको हो र उहाँले मानिसहरूलाई चयन गरेर आफूसामु ल्याउनुको उद्देश्य के हो? त्यसको उद्देश्य मानिसहरूलाई परमेश्वरका वचनहरू पालन गर्न र बुझ्न, परमेश्वरको निर्देशन अनुसार जीवनमा सही मार्गमा हिँड्न, र अन्त्यमा सही र गलत, सकारात्मक र नकारात्मक कुराहरू छुट्ट्याउन सक्षम हुन लगाउनु हो। परमेश्वरको अभिप्राय यही हो; यसरी, परमेश्वरलाई पछ्याउनेहरू झन्-झन् राम्रा बन्दै जान्छन्। अनि ख्रीष्टविरोधीहरू कुन हदसम्म समझहीन हुन्छन्? तिनीहरू सोच्छन्, “परमेश्वर, तपाईं मानिसहरूलाई आफूसामु ल्याउनुहुन्छ, त्यसैले म पनि त्यसै गर्नेछु; तपाईँ मानिसहरू चयन गर्न अनि उनीहरूलाई योजनाबद्ध र शासन गर्न सक्नुहुन्छ, त्यसैले म पनि त्यसै गर्नेछु; तपाईँ मानिसहरूलाई तपाईँप्रति समर्पित हुन र तपाईँका कुरा सुन्न लगाउन सक्नुहुन्छ, तपाईँ सिधा आदेशहरू दिनुहुन्छ र उनीहरूलाई आफूले भनेअनुसार गराउनुहुन्छ, त्यसैले म पनि त्यसै गर्नेछु।” के यो चेतनाहीन हुनु होइन र? (हो।) के चेतनाहीन हुनुको अर्थ तिनीहरूमा लज्जाबोध छैन भन्ने होइन र? (हो।) के मानिसहरू तेरा हुन्? के उनीहरूले तँलाई पछ्याउनुपर्छ? किन उनीहरूले तेरो कुरा सुन्नुपर्ने र? तँ त साना सृजित प्राणीहरूमध्ये एक मात्र होस्, तैँले कसरी सबथोकभन्दा माथि हुने आकाङ्क्षा राख्न सकिस्? के यो चेतनाहीन हुनु होइन? (हो।)
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।