विषयवस्तु छ: तिनीहरू कुटिल शैलीमा व्यवहार गर्छन्, तिनीहरू स्वेच्छाचारी र तानाशाही हुन्छन्, तिनीहरू अरूसँग कहिल्यै सङ्गति गर्दैनन्, र अरूलाई जबरजस्ती आज्ञापालन गर्न लगाउँछन् (खण्ड दुई)
ख्रीष्टविरोधीहरूको कुटिल, स्वेच्छाचारी र तानाशाही व्यवहार र तिनीहरूले कसरी मानिसहरूलाई जबरजस्ती आफ्नो आज्ञापालन गर्न लगाउँछन् भन्ने कुराको विश्लेषण
अ. ख्रीष्टविरोधीहरूको कुटिल व्यवहारको विश्लेषण
पछिल्लोपटक हामीले ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूको पाँचौँ विषयवस्तुबारे सङ्गति गर्यौँ—तिनीहरूले मानिसहरूलाई भ्रममा पार्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रण गर्छन्। आज हामी छैटौँ विषयवस्तुबारे सङ्गति गर्नेछौँ—तिनीहरू कुटिल शैलीमा व्यवहार गर्छन्, तिनीहरू स्वेच्छाचारी र तानाशाही हुन्छन्, तिनीहरू अरूसँग कहिल्यै सङ्गति गर्दैनन्, र अरूलाई जबरजस्ती आज्ञापालन गर्न लगाउँछन्। के यो विषयवस्तु र पाँचौँ विषयवस्तुबीच कुनै भिन्नता छ? स्वभावको सन्दर्भमा, ठूलो भिन्नता छैन; दुवै विषय शक्ति हत्याउने अनि स्वेच्छाचारी र तानाशाही रूपमा कार्य गर्नेबारे छन्। दुवैका स्वभावहरू दुष्ट, अहङ्कारी, हठी, र क्रूर हुन्छन्; दुवैका स्वभावहरू उस्तै हुन्छन्। तर, छैटौँ विषयवस्तुले ख्रीष्टविरोधीहरूको अर्को महत्त्वपूर्ण प्रकटीकरणलाई जोड दिन्छ, त्यो हो तिनीहरूका कार्यहरू कुटिल हुन्छन्—यो ख्रीष्टविरोधीहरूको कार्यको प्रकृतिसँग सम्बन्धित छ। अब, पहिला “कुटिल” शब्दबारे छलफल गरौँ। बाहिरी रूपमा, “कुटिल” अपमानजनक शब्द हो कि प्रशंसनीय? यदि कसैले कुनै कुटिल काम गर्छ भने, के त्यो राम्रो कुरा हो कि नराम्रो हो? (नराम्रो।) यदि कसैले कुटिल रूपमा काम गर्छ भनियो भने, यो व्यक्ति असल हो कि खराब? कुटिल रूपमा काम गर्ने व्यक्ति निकम्मा बेवकुफ हो भन्ने छाप र भावना मानिसहरूमा पर्छ भन्ने कुरा प्रस्टै छ। यदि कसैले कुनै कुटिल कुरा सामना गरेमा, त्यसले उसलाई खुसी दिन्छ कि उसमा डर पैदा गर्छ? (यो डरलाग्दो हुन्छ।) यो राम्रो कुरा हुँदै होइन। छोटकरीमा भन्नुपर्दा, हेर्दाखेरि, “कुटिल” एउटा अपमानजनक शब्द हो, कार्य आफैलाई व्याख्या गर्दा होस् वा व्यक्तिको कार्यशैलीलाई व्याख्या गर्दा, यो कुनै पनि सकारात्मक हुँदैन; यो निश्चय नै नकारात्मक हुन्छ। अब, हामी पहिला कुटिलपनका प्रकटीकरणहरू के-के हुन् भनी व्याख्या गरौँ। किन यसलाई छली नभनेर कुटिल भनिन्छ? यहाँ “कुटिल” शब्दको विशेष के अर्थ हो? कुटिलपन छलीपनभन्दा गहन हो। के कुटिल रूपमा काम गर्ने व्यक्तिलाई चिन्न मानिसहरूलाई बढी समय लाग्ने र बढी कठिन हुने हुँदैन र? (हुन्छ।) यति कुराचाहिँ प्रस्ट छ। त्यसैले, “कुटिल” शब्दलाई व्याख्या गर्न तिमीहरू सबैले बुझ्न सक्ने शब्दहरू प्रयोग गर। यहाँ, “कुटिल” को अर्थ कपटी र धूर्त हो, र यसले असामान्य व्यवहारलाई जनाउँछ। यो असामान्यताले गहिरो रूपमा लुकेको र यस्ता मानिसहरूले के सोचिरहेका वा गरिरहेका छन् भनी औसत व्यक्तिले बुझ्न नसक्ने हुनुलाई जनाउँछ। अर्को शब्दमा, यस्तो व्यक्तिका कार्यहरूका विधि, मनसाय, र सुरुवात बुझ्न निकै कठिन हुन्छन्, र कहिलेकाहीँ तिनीहरूको व्यवहार पनि गुपचुपको र गोप्य हुन्छ। छोटकरीमा भन्नुपर्दा, व्यक्तिको कुटिलपनको खास प्रकटीकरण र स्थितिलाई व्याख्या गर्न सक्ने एउटा शब्द छ, त्यो हो “पारदर्शिताको कमी,” जसले गर्दा अरूले तिनीहरूलाई बुझ्न र बोध गर्न सक्दैनन्। ख्रीष्टविरोधीहरूका कार्यहरूको प्रकृति यस्तै हुन्छ—अर्थात्, जब तँलाई तिनीहरूले कुनै काम गर्नुका अभिप्राय स्पष्ट छैन भन्ने महसुस र आभास हुन्छ, तब तँलाई ती निकै डरलाग्दा लाग्छन्, तर छोटो समयमा वा कुनै कारणवश तैँले तिनीहरूका मनसाय र अभिप्रायहरू अझै पनि बुझ्न सक्दैनस्, र थाहै नपाई तँलाई तिनीहरूका कार्यहरू कुटिल छन् भन्ने अनुभूति हुन्छ। किन तँलाई यस्तो अनुभूति हुन्छ? किनभने एकातिर तिनीहरू के भन्छन् वा गर्छन् भनेर कसैले बुझ्न सक्दैन। अर्कोतिर तिनीहरू प्रायजसो घुमाउरो तरिकाले बोल्छन्, तँलाई बहकाउँछन्, र अन्त्यमा तँलाई तिनीहरूका कुन अभिव्यक्तिहरू सही र कुन गलत हुन्, अनि तिनीहरूका शब्दहरूको वास्तविक अर्थ के हुन् भनेर अनिश्चित बनाउँछन्। तिनीहरूले झूट बोल्दा, तँलाई त्यो नै सत्यता हो भन्ने लाग्छ; तँलाई कुन अभिव्यक्ति सही वा गलत हो भनी थाहा हुँदैन, र आफूलाई प्राय: मूर्ख बनाइएको र झुक्याइएको महसुस हुन्छ। यस्तो भावना किन आउँछ? किनभने यस्ता मानिसहरू कहिल्यै पारदर्शी रूपमा काम गर्दैनन्; तैँले तिनीहरू के गरिरहेका छन् वा केमा व्यस्त छन् भनेर प्रस्टसित देख्न सक्दैनस्, जसले गर्दा तँमा तिनीहरूप्रति शङ्का जाग्छै जाग्छ। अन्त्यमा, तैँले तिनीहरूको स्वभाव छली, कपटी, र दुष्ट पनि छ भन्ने देख्छस्। “कुटिल” शब्द बुझ्न कठिन छ र मानिसहरूलाई निकै असामान्य लाग्छ, तर यसलाई किन “पारदर्शिताको कमी” भन्ने यस्तो सरल वाक्यांशले व्याख्या गर्ने? यो वाक्यांशमा एउटा अर्थ लुकेको छ। यो अर्थ के हो? त्यो के हो भने ख्रीष्टविरोधीहरूले केही गर्न चाहेमा, तँलाई प्राय: झूटो रूप देखाउँछन्, जसले गर्दा तँलाई तिनीहरूलाई बुझ्न कठिन हुन्छ। उदाहरणका लागि, यदि कुनै ख्रीष्टविरोधीले तेरो देब्रे गालामा थप्पड हान्न चाहेमा, तेरो दाहिने गालामा ताक्नेछ। तँ दाहिने गाला जोगाउन तर्किँदा उसले तेरो देब्रे गालामा मजाले झापड हान्नेछ र आफ्नो उद्देश्य पूरा गर्नेछ। यो कुटिलपन, र षड्यन्त्रले भरिपूर्ण हुनु हो—तिनीहरूसँग कुराकानी र व्यवहार गर्ने हरकोही तिनीहरूको षड्यन्त्रमा पर्छ। तिनीहरू किन सधैँ षड्यन्त्र गरिरहेका हुन्छन्? तिनीहरू मानिसहरूलाई नियन्त्रणमा राख्न र उनीहरूको हृदयमा ठाउँ ओगट्न चाहनुबाहेक, हरव्यक्तिबाट फाइदा उठाउन चाहन्छन्। यसअलावा, तैँले यस्ता मानिसहरूमा एक प्रकारको दुष्ट स्वभाव पनि भेट्टाउन सक्छस्: तिनीहरू अरूलाई शोषण गर्न वा आफ्ना शक्ति प्रयोग गरेर अरूका कमजोरीहरूको मजाक उडाउन अत्यन्तै रुचाउँछन्, र अरूसँग खेलवाड गर्नमा रमाउँछन्। यो तिनीहरूको दुष्टताको प्रकटीकरण हो। सांसारिक शब्दमा भन्नुपर्दा, यस्ता मानिसहरू चतुर मानिन्छन्। साधारण मानिसहरू सोच्छन्, “ठूला उमेरका मानिसहरू मात्र चतुर हुन सक्छन्। साना उमेरका मानिसहरूसित कुनै अनुभव वा सांसारिक बुद्धि हुँदैन, त्यसैले उनीहरू कसरी चतुर हुन सक्छन्?” के यो भनाइ सही हो? अहँ, होइन। ख्रीष्टविरोधीहरूको दुष्ट स्वभाव उमेरमा भर पर्दैन; तिनीहरू यो स्वभाव लिएरै जन्मेका हुन्छन्। यति मात्र हो कि तिनीहरू साना उमेरका र कम अनुभवी हुँदा, यस्ता षड्यन्त्रहरूमा तिनीहरूको संलग्नता बढी आधारभूत र कम परिष्कृत हुन सक्छ। उमेर बढ्दै जाँदा, तिनीहरू ती बूढा दियाबलस राजाहरूजस्तै निष्खोट बन्छन् जसका कार्यहरू कडाइका साथ सिलबन्दी गरिएका र धेरैजसो मानिसहरूले पूर्णतया बुझ्न नसक्ने हुन्छन्।
मैले भर्खरै “कुटिल” शब्दलाई सरसर्ती व्याख्या गरेको छु, त्यसैले अब कुटिलपनका विशेष स्थिति र प्रकटीकरणहरूबारे सङ्गति गरौँ। के यो सङ्गति गर्नलायक छैन र? यदि हामीले यसमा सङ्गति गरेनौँ भने, के तिमीहरूले तिनीहरूलाई खुट्ट्याउन सक्नेछौ? के तिमीहरूले तिनीहरूलाई छर्लङ्गै बुझ्न सक्छौ? (सक्दैनौँ।) तैँले तिनीहरूलाई पूर्ण रूपले खुट्ट्याउन वा छर्लङ्गै देख्न नसक्ने होइन; कहिलेकाहीँ तँलाई कुनै विशेष व्यक्ति निकै चतुर छ भन्ने पनि लाग्नेछ—यति चतुर कि उसले तँलाई विश्वासघात गरेपछि पनि तँ उसले अह्राएकै काम गर्छस्—र तँ ऊदेखि सावधान रहनुपर्छ। त्यसोभए, ख्रीष्टविरोधीहरू कस्ता कामहरू गर्छन्, र दाजुभाइ-दिदीबहिनीहरू अनि वरिपरिका मानिसहरूसितको व्यवहारमा कस्ता बोली र व्यवहार प्रकट गर्छन् जसले गर्दा तिनीहरू कुटिल शैलीमा र दुष्ट स्वभावले कामकुरा गर्छन् भन्ने देखिन्छ? यो सङ्गति गर्न लायकको छ। “कुटिल” शब्दको मात्र व्याख्या गर्दा, मानिसहरूलाई सामान्यतया त्यो निकै सरल लाग्छ; त्यसको अर्थ बुझ्न सायद शब्दकोषमा हेरे पुग्छ। तर मानिसहरूका कुन कार्य, व्यवहार र स्वभावहरू यो शब्दसँग सम्बन्धित छन् र यो शब्दका ठोस प्रकटीकरण र स्थितिहरू हुन् भन्ने सन्दर्भमा, त्यो बुझ्न झन् मुस्किल र कठिन बन्छ, बन्दैन र? पहिला, आफूले भेटेका र सामना गरेका मानिसहरू, वा विशेष ख्रीष्टविरोधीहरूबारे सोच। तिनीहरूका कुन कार्यहरूले गर्दा तँलाई यो कार्यको प्रकृति कुटिलपनसँग सम्बन्धित छ भन्ने अनुभूति भयो, वा तिनीहरूका कस्ता दैनिक शब्द, कार्य, र व्यवहारहरू योसँग सम्बन्धित थिए? (एकपटक मैले एक जना ख्रीष्टविरोधीलाई भेटेँ जो प्रस्ट रूपमा हैसियतका लागि होड गर्न र अगुवा हुन चाहन्थ्यो, तर दाजुभाइ-दिदीबहिनीहरूलाई यसो भन्थ्यो, “हामीले झूटा अगुवा र झूटा कामदारहरूबारे रिपोर्ट गर्नुपर्छ। यसो गर्यौँ भने मात्र हामीले पवित्र आत्माको काम पाउन सक्छौँ। यदि हामीले झूटा अगुवाहरूको रिपोर्ट र खुलासा गरेनौँ भने, पवित्र आत्माको काम प्राप्त गर्न सक्दैनौँ। हामी एकजुट भएर मण्डलीको कामको रक्षा गर्न खडा हुनैपर्छ।” ऊ मण्डलीको कामको रक्षा गर्ने निहुँमा अगुवा र कामदारहरूको कमजोरी समात्ने दाउ खोज्थ्यो, तिललाई पहाड बनाएर दाजुभाइ-दिदीबहिनीहरूलाई अगुवा र कामदारहरूबारे रिपोर्ट गर्न उक्साउँथ्यो। उसको लक्ष्य अगुवा र कामदारहरूलाई पदच्युत गराउनु थियो ताकि आफूलाई अगुवा बन्ने मौका प्राप्त होस्। धेरै दाजुभाइ-दिदीबहिनीले यो कुरा बुझेनन् र उनीहरू उसको भ्रममा परे। उनीहरूले समस्यालाई सिद्धान्तका आधारमा खुट्ट्याउनुको साटो केही साना मामलाहरू र अगुवा र कामदारहरूका प्रकाश भएका भ्रष्टताहरूको फाइदा उठाएर उनीहरूलाई निन्दा गर्ने, संज्ञा दिने, र कामकुरालाई बढाइचढाइ गर्थे, र मण्डलीलाई लथालिङ्ग पार्थे।) भन् त, के यो कुटिलपन हो? (हो।) यो ठ्याक्कै त्यही हो। यो किन कुटिल हो? उसले इन्साफको बहानामा आफ्ना गोप्य लक्ष्यहरू हासिल गर्थ्यो, र त्यो सँगसँगै अरूलाई कार्य गर्न हौस्याउँथ्यो तर आफूचाहिँ देखा पर्दैनथ्यो र लुकेर परिणामहरू हेर्थ्यो। त्यसले काम बन्यो भने झनै राम्रो, तर यदि बनेन भने, उसलाई कसैले पनि छर्लङ्गै बुझेको हुन्थेन, किनकि ऊ गहन रूपमा लुकेको हुन्थ्यो। यो कुटिलपन हो—यो त्यसका प्रकटीकरणहरूको एउटा रूप हो। उसले तँलाई उसका भित्री साँचो विचारहरू थाहा दिँदैनथ्यो, र यदि तैँले अलिकति पनि अनुमान लगाउन सकेको भए, मानिसहरूले सत्यता छर्लङ्गै देख्नेछन् भन्ने डरले उसले हतारहतार विभिन्न बहाना र तर्कहरू गरेर ती ढाकछोप गर्थ्यो र जसरी पनि आफूलाई जोगाउँथ्यो। उसले जानाजानी मामलाहरू जटिल बनाउँथ्यो; यो कुटिलपन हो। अरू कोही छ? (केही वर्षअघि, एक समूह ख्रीष्टविरोधीहरू हाम्रो मण्डलीमा देखा परे र तिनीहरूले पकड जमाए, अनि मण्डलीको कामलाई लथालिङ्ग पारे। माथिले कुनै व्यक्तिलाई कामको जिम्मा लिन पठाउनुभयो, तर यो ख्रीष्टविरोधी समूहले एउटा बहाना बनाएर काम गऱ्यो र यसो भन्यो, “हाम्रा आफ्नै अगुवाहरू छन्, हामी अरू ठाउँबाट पठाइएका अगुवाहरूलाई स्विकार्दैनौँ; हामी आफै काम सम्हाल्न सक्छौँ।” फलस्वरूप, धेरै जना भ्रममा परे र उनीहरूले ख्रीष्टविरोधीहरूको कुरा सुने, माथिले प्रबन्ध गरेका अगुवालाई स्विकार्न मानेनन्। यी ख्रीष्टविरोधीहरूले माथिले पठाएका अगुवालाई एउटै ठाउँमा सीमितसमेत पारे, तिनलाई दाजुभाइ-दिदीबहिनीहरूसित कुराकानी गर्न रोके र मण्डलीको काममा हात बाँट्न वा कुनै काम कार्यान्वयन गर्न असम्भव तुल्याइदिए।) ख्रीष्टविरोधीहरूको यो व्यवहार हदै कुटिल थियो—तिनीहरूको गोप्य मनसाय के थियो? तिनीहरू मण्डलीलाई नियन्त्रणमा राखेर आफ्नै स्वतन्त्र राज्य स्थापना गर्न चाहन्थे। यो कुटिलपन हो; ख्रीष्टविरोधीहरूले यस्तै किसिमको काम गर्छन्।
ख्रीष्टविरोधीहरूले कुटिल रूपमा कार्य गर्नुका प्रमुख प्रकटीकरणहरू के-के हुन्? एउटा त पारदर्शिताको कमी हो, र अर्कोचाहिँ तिनीहरू गोप्य रूपमा व्यक्त गर्न नसकिने षड्यन्त्रहरू रच्छन्। यदि तिनीहरूले आफ्ना योजना र अभिप्रायहरू सबैलाई खुलाउने हो भने, के तिनीहरूले ती साकार पार्न सक्थे त? कदापि सक्थेनन्। कुटिल विधिहरू प्रयोग गर्ने मानिसहरूले किन यसरी कामकुरा गर्छन्? यी कार्यहरू पछाडिको उद्देश्य के हो? हालसम्म, तिमीहरूले मण्डलीमा नियन्त्रणबारे मात्र सोचेका छौ, तर कतिपय मामलामा मण्डलीलाई नियन्त्रण गर्ने वा सबैलाई नियन्त्रण गर्ने कुरा पर्दैन। कुनै मण्डली वा क्षेत्रका मानिसहरूलाई भ्रममा पार्नु भनेको तुलनात्मक रूपले ठूलो मामला हो, त्यसोभए सामान्य अवस्थामा ख्रीष्टविरोधीहरूले गर्ने सानातिना व्यवहार र कार्यहरूको उद्देश्य के हो? मानिसहरूलाई शोषण गर्नु अनि आफ्नो स्वार्थ पूरा गर्न र आफ्नो निम्ति उपयोग गर्न उनीहरूलाई परिश्रम गर्न लगाउनु हो। परमेश्वरले मानिसहरूलाई योजनाबद्ध गर्नुहुने र उनीहरूको भाग्यमाथि शासन गर्नुहुने भए पनि, ख्रीष्टविरोधीहरू पनि मानिसहरूको भाग्यमाथि हुकुम चलाउन र उनीहरूलाई चालवाजी गर्न चाहन्छन्। तर यदि तिनीहरूले सिधै तँलाई चालवाजी गर्न चाहन्छु भनेका भए, के तँ त्यसमा सहमत हुनेथिस्? यदि तिनीहरूले तँलाई दासझैँ आदेश दिन चाहन्छु भनेमा, के तँ सहमत हुनेथिस्? यदि तिनीहरूले आफू अगुवा हो र तैँले तिनीहरूको कुरा सुन्नैपर्नेछ भनेका भए, के तँ सहमत हुन्थिस्? तँ पक्कै पनि सहमत हुनेथिइनस्। त्यसकारण, तिनीहरूले तँलाई थाहै नपाई तिनीहरूको शोषणमा पार्न केही असामान्य विधिहरू प्रयोग गर्नुपर्छ; यसलाई कुटिल हुनु भनिन्छ। उदाहरणका लागि, ठूलो रातो अजिङ्गर कुटिल शैलीमा चल्छ, त्यसले उचित लाग्ने बहानाहरू चलाएर मानिसहरूलाई भ्रममा पार्छ। त्यसले कसरी जमिनदार र पुँजीपतिहरूका सम्पत्ति जफत गर्थ्यो? के यसले निश्चित रकमभन्दा माथिका सबै सम्पत्ति राज्यलाई हस्तान्तरण गर्नुपर्छ भनी नीति बनायो? यदि त्यसले यो कुरा खुला रूपमा घोषणा गरेको भए के त्यसले काम बन्नेथ्यो? (बन्नेथिएन।) त्यसरी काम नबन्ने भएपछि, त्यसले के गर्यो? त्यसले न्यायोचित रूपमा जमिनदार र पुँजीपतिहरूका सम्पत्तिहरू जफत गर्नु र खोस्नु सही हो भनेर सबैलाई सही लाग्ने उपाय खोज्नुपर्यो। यसले जमिनदार र पुँजीपतिहरूलाई शक्तिहीन बनायो, राज्यलाई धनी बनायो, र त्यसको शासन बलियो बनायो। ठूलो रातो अजिङ्गरले त्यो कसरी गर्यो? (जमिनदारहरूलाई आक्रमण गरेर अनि भूमि पुनर्वितरण गरेर।) त्यसले “जमिनदारहरूलाई आक्रमण गरेर भूमि पुनर्वितरण गर्ने” र “सबैका लागि समानता” जस्ता नाराहरू चलायो, अनि सारा जमिनदार र पुँजीपतिहरूलाई झूटो आरोप लगाउन र निन्दा गर्न “सेतो कपाल भएकी केटी” जस्ता कथाहरू रच्यो। त्यसले जनताको रायको शक्ति र प्रचारबाजी प्रयोग गरेर मानिसहरूलाई यी भ्रामक विचारहरू घुसाउँथ्यो, त्यसले सारा अनभिज्ञहरूलाई जमिनदार र पुँजीपतिहरू खराब हुन् र श्रमिकहरूको समान होइनन्, अब जनता नै आफ्नो देशका मालिक हुन्, राज्य जनताको हो, यी थोरै व्यक्तिहरूले त्यति धेरै सम्पत्ति राख्नु हुँदैन, र त्यसलाई जफत गरेर सबैलाई पुनर्वितरण गर्नुपर्छ भनेर सोच्ने तुल्यायो। यस्ता तथाकथित राम्रा, सही, र गरिब पक्षीय विचारधारा र सिद्धान्तहरूको उक्साहटमा, मानिसहरू भ्रममा परे र अन्धा बने, अनि उनीहरूले स्थानीय धनाढ्य उद्योगपतिहरूसँग लड्न अनि जमिनदार र पुँजीपतिहरूलाई आक्रमण गर्न थाले। त्यसको अन्तिम परिणाम के थियो? यी जमिनदार र पुँजीपतिहरूमध्ये कतिपयलाई कुटेर मारिए, कतिपयलाई अङ्गभङ्ग पारिए, र कतिपय धेरै टाढा भागे। छोटकरीमा भन्नुपर्दा, ठूलो रातो अजिङ्गरले आफ्नो उद्देश्य हासिल गर्नु नै अन्तिम परिणाम थियो। यी दियाबलसहरूले चाहेका लक्ष्यहरू हासिल गर्नेहेतु यी मूर्ख र अज्ञानी मानिसहरू बिस्तारै यस्ता ठगीमा पारिए। त्यसै गरी, ख्रीष्टविरोधीहरू पनि कामकुरा गर्दा यस्ता कुटिल विधिहरू अपनाउँछन्। उदाहरणका लागि, जब कुनै ख्रीष्टविरोधीले नेतृत्वको भूमिकामा रहेको कसैसँग सहकार्य गर्छ, र यस व्यक्तिमा इन्साफको बोध छ, उसले सत्यता बुझ्छ, र उसलाई खुट्ट्याउन सक्छ भनी देख्छ, तब उसले अनिश्चित महसुस गर्न थाल्छ: “के यो व्यक्तिले मलाई पिठ्यूँपछाडिबाट कमजोर पार्न सक्छ? के उसले पर्दापछाडि केही गरिरहेको छ? म किन उसलाई बुझ्न सक्दिनँ? ऊ मेरो पक्षमा छ कि छैन? के उसले मबारे माथिलाई रिपोर्ट गर्न सक्छ?” उसले मनमा यी कुरा सोचेर, आफ्नो हैसियत सुरक्षित छैन भन्ने चिन्ता गर्न थाल्छ, गर्दैन र? उसले त्यसपछि के गर्छ? के उसले सिधै त्यस व्यक्तिलाई सास्ती दिन्छ? कतिपय ख्रीष्टविरोधीले त्यस्तो व्यक्तिलाई खुलेआम सास्ती दिनेथिए, तर जो कुटिल छन् तिनीहरूले सिधै त्यसो गर्नेथिएनन्। बरु, तिनीहरूले सुरुमा केही तुलनात्मक रूपले कमजोर, अन्योल, र नासमझ दाजुभाइ-दिदीबहिनीहरूसित कुरा गर्नेथे, उनीहरूलाई प्रश्न सोध्नेथे र सतर्क भई छानबिन गर्नेथे: “फलानो व्यक्ति दस वर्षदेखिको विश्वासी हो, त्यसैले उसको आस्थाको केही जग हुनुपर्छ, होइन र?” कसैले जवाफ देला: “उसको ठूलै जग छ। उसले त्यतिका वर्ष परमेश्वरमा विश्वास गर्दा, आफ्नो परिवार र करियर त्यागेको छ; उसको आस्था हाम्रोभन्दा ठूलो छ। ऊसित सहकार्य गर्नु तेरा लागि निकै राम्रो हुनेछ।” ख्रीष्टविरोधीले भन्नेथ्यो: “हो, यो धेरै राम्रो हो, तर ऊ अरू दाजुभाइ-दिदीबहिनीहरूसँग कहिल्यै घुलमिल हुँदैन। ऊ खासै मिलनसार देखिँदैन।” अर्को व्यक्तिले थप्ला: “कुरा त्यस्तो होइन—ऊ सत्यतालाई हामीले भन्दा धेरै पछ्याउँछ। हामी प्रायजसो सँगै कुराकानी गर्छौँ, तर उसले बढीजसो समय परमेश्वरका वचनहरू पढेर, प्रवचनहरू सुनेर, अनि भजनहरू सिकेर बिताउँछ, र हामीसँग हुँदा परमेश्वरका वचनहरूमा सङ्गति गर्छ।” यस व्यक्तिबारे सकारात्मक र अनुमोदित टिप्पणीहरू सुनेपछि, ख्रीष्टविरोधीलाई आफूले थप केही भन्न नसक्ने महसुस हुन्छ, त्यसैले उसले विषय परिवर्तन गर्छ र यसो भन्छ: “उसले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गर्दै आएको छ र ऊसँग हामीमा भन्दा धेरै अनुभव छ। हामीले भविष्यमा ऊसित अझ धेरै कुराकानी गर्नुपर्छ र उसलाई एक्ल्याउनु हुँदैन।” यो सुनेर पनि अरूले केही पनि खुट्ट्याउँदैनन्। अधिकांश मानिसहरूले त्यस व्यक्तिको वाहवाही गरेको देखेर, ख्रीष्टविरोधीले आफ्ना मनसाय पूरा गर्न नसकेपछि त्यस विषयबारे थप केही पनि भन्दैन। पछि, ख्रीष्टविरोधीले अर्को समूहका मानिसहरू भेट्टाउँछ र सोध्छ: “के तिमीहरू कहिल्यै फलानाले परमेश्वरका वचनहरू पढेको देख्छौ? मलाई त ऊ सधैँ अरूसँग सङ्गति गरिरहेको र बाहिरी रूपमा व्यस्त देखिरहेको छाप परेको छ; किन ऊ परमेश्वरका वचनहरू कहिल्यै पढ्दैन?” यो समूह बढी समझदार हुन्छ, उनीहरू अन्तर्निहित कुरा बुझ्छन् र सोच्छन्, “यी दुईबीच फूट छ जस्तो देखिन्छ; ऊ हामीलाई त्यस व्यक्तिलाई कमजोर पार्न लगाउने र बहिष्कार गराउने प्रयास गरिरहेको छ।” त्यसैले, तिनीहरू जवाफ दिन्छन्: “हो, ऊ सधैँ महत्त्वहीन कामहरूमा व्यस्त हुन्छ, सधैँ मानिस र कामकुराबारे ज्यादै घोत्लिरहेको हुन्छ। ऊ परमेश्वरका वचनहरू विरलै पढ्छ, र पढिहाले पनि, ऊ निदाइहाल्छ; मैले यो धेरैपटक देखेको छु।” पहिलो समूहका र दोस्रो समूहका मानिसहरूसँगको कुराकानीबाट, ख्रीष्टविरोधीका शब्दहरूमा कस्तो स्वभाव देखिन्छ? के त्यो दुष्ट स्वभाव होइन र? (हो।) उसका कार्यका प्रकृति र माध्यमहरू कस्ता छन्? ती कुटिल छन्। पहिलो समूहका मानिसहरूले ख्रीष्टविरोधीले के गर्न खोजिरहेको थियो भनेर थाहै पाएनन्, तर दोस्रो समूहले के भइरहेको छ भनेर छनक पाइहाले, र त्यसपछि उसका तालमा ताल मिलाए। ख्रीष्टविरोधी आफूले भनेको कुरा दोस्रो समूहले मानेको र उनीहरूलाई लोभ्याउन सकिने देखेर, यो समूहलाई प्रयोग गरी आफ्नो सहकर्मीलाई हटाउन चाहन्छ। यस्तो सोच्ने शैली कुटिल हो। अनेक तरिकाले मनाइएपछि, दोस्रो समूह भ्रममा पर्छ र लोभिन्छ, अनि यसो भन्छ: “त्यो व्यक्तिले मण्डली अगुवा हुने सिद्धान्त र सर्तहरू पूरा नगर्ने भएकाले, मलाई लाग्छ अर्कोपटक हामीले उसलाई अगुवाका रूपमा भोट गर्नु हुँदैन, होइन त?” यो समूह निकै छली छ, उनीहरूले बोलेपछि ख्रीष्टविरोधीको मनोवृत्ति नियाल्छन्। ख्रीष्टविरोधी भन्छ: “त्यसरी हुँदैन; यो अनुचित हुन्छ। यो परमेश्वरको घर हो, समाज होइन!” यो सुनेपछि, उनीहरूले सोध्छन्: “के साँच्चै त्यसो गरेर हुँदैन? त्यसोभए हामीले के गर्नुपर्छ त? त्यसोभए हामी अर्कोपटक उसलाई भोट गर्नेछौँ।” ख्रीष्टविरोधीले तुरुन्तै भन्छ, “उसलाई भोट गरेर पनि हुँदैन।” देखिस् त? उनीहरूले जे भने पनि, त्यो सही हुँदैन; यो समस्या हो। खासमा, ख्रीष्टविरोधी यी मानिसहरूलाई आफ्नो मार्गमा हिँडाउन, खाल्डो खनेर त्यसमा हाल्न मात्र चाहन्छ। अन्त्यमा, यी मानिसहरूले अनेकथरीका कुराहरू सुनेपछि, ख्रीष्टविरोधीका अभिप्राय थाहा पाउँछन्: “निष्पक्ष चुनावचाहिँ गरौँ। उसमा त्यति धेरै राम्रा गुणहरू नभएकाले जेहोस् ऊ चयन नहुन सक्छ।” ख्रीष्टविरोधी खुसी हुन्छ। हेर: यहाँ एउटा ब्वाँसो र केही स्याल छन्, र तिनीहरू काँधमा काँध मिलाएर काम गरिरहेका छन्। यो ख्रीष्टविरोधी र मण्डलीमा उसलाई पछ्याउने शक्तिहरूले गर्ने कार्यहरूको सिद्धान्त र प्रकृति हो; यो तिनीहरूको प्रकटीकरण हो। ख्रीष्टविरोधीहरूलाई पछ्याउने मानिसहरू भन्छन्, “त्यसोभए भोट गरौँ। त्यसबाहेक, ऊ खासै महान् होइन; यदि हामीले भोट गर्यौँ भने ऊ नचुनिन पनि सक्छ।” के यसमा केही शङ्कास्पद कुरा छ? के तिनीहरू केही योजना गरिरहेका छन्? तिनीहरूले एकअर्काका शब्दबाट सुइँको पाइसकेका छन्, तर के गर्ने भनेर सिधै कसैले पनि भन्दैन; तिनीहरूबीच मौन समझदारी हुन्छ, र त्यो कुरा सबैले बुझ्छन्। बाहिरी रूपमा, ख्रीष्टविरोधीले सिधै कसैलाई पनि आफ्नो सहकर्मी नरोज्न निर्देशन दिँदैन, अनि ऊमुनिका मानिसहरू पनि “हामी उसलाई रोज्दैनौँ; हामी तपाईँलाई रोज्छौँ” भन्दैनन्। किन तिनीहरू त्यो सिधै भन्दैनन्? किनकि कसैले पनि अर्कोलाई आफ्नो कमजोरी समात्ने मौका दिन चाहँदैन। के यो कुटिल कुरा होइन र? यो सरासर दुष्टता हो। तिनीहरू एकअर्काको बोलीको भाव सुन्छन्, तर कसैले पनि सिधै बोल्दैन, र अन्त्यमा, एउटा सहमतिमा पुग्छन्। यसलाई शैतानी संवाद भनिन्छ। तिनीहरूमध्ये एक जना “मूर्ख” हुन्छ जसले कुरा सुनेपछि पनि बुझ्दैन र त्यस व्यक्तिलाई भोट गर्ने कि नगर्ने भनेर अरूलाई सोध्छ। ख्रीष्टविरोधीले कस्तो जवाफ दिन्छ? यदि उसले “तिमीलाई जे ठिक लाग्छ त्यही गर” भन्यो भने, त्यो अति प्रस्टै हुनेछ। यस्तो जवाफमा धम्की र उक्साहटको प्रकृति हुन्छ; दुष्ट मानिसहरू यस्तो बोल्दैनन्। बरु, तिनीहरू भन्छन्: “के परमेश्वरको घरमा कार्य प्रबन्धहरू छैनन् र? तिमीले जसलाई भोट गर्नुपर्ने हो उसैलाई गर; यदि कसैलाई चुन्नु हुँदैन भने, उसलाई भोट नगर।” के यो अस्पष्ट कुरा बोल्नु होइन र? तिनीहरू वैध देखिने बहाना प्रयोग गर्छन्, र भन्छन्: “तिमीले सिद्धान्तअनुसार नै कार्य गर्नुपर्छ; तिमीले मेरो कुरा सुनेर हुँदैन। मेरो कुराले अर्थ राख्दैन। म सिद्धान्त होइन; परमेश्वरका वचनहरू सिद्धान्त हुन्।” “मूर्ख” व्यक्तिले यो कुरा सुनेर सोच्छ, “यदि हामीले सिद्धान्तअनुसार कार्य गर्ने हो भने, म उसलाई भोट गर्नेछु।” समूहले यो व्यक्ति मूर्ख रहेछ र यसले तिनीहरूका योजना भताभुङ्ग पार्न सक्छ भन्ने बुझेर, सामूहिक रूपमै उसलाई निकाल्छ, र उक्त “मूर्ख” लाई तिनीहरूमाझ रहन दिँदैन। अन्त्यमा, जब “मूर्ख” ले त्यस व्यक्तिलाई भोट गर्नुपर्छ कि पर्दैन भनेर सोधिरहन्छ, तब कसैले भन्छ: “यसबारे पछि कुरा गरौँला। हामी यो कुरा उसको कार्य प्रस्तुतिका आधारमा तय गर्नेछौँ।” के यी शब्दहरूमा कुनै निर्णायकत्व छ? इमानदारीको कुनै तत्त्व छ? (छैन।) त्यसोभए यी शब्दहरूमा वास्तवमा के छ? यी शब्दहरूले तिनीहरूको दुष्ट स्वभाव, साथै गोप्य मनसाय, अभिप्राय, र उद्देश्यहरूलाई देखाउँछन्। तिनमा ख्रीष्टविरोधीको आँखाको छारो बन्ने व्यक्तिलाई हटाउने ब्वाँसो र स्यालहरूको गोप्य षड्यन्त्र समावेश छ। यो समूहका मानिसहरूले त्यस्तो कार्य गर्न सक्नुको कारण के हो? तिनीहरू आफ्नो दुष्ट स्वभावद्वारा नियन्त्रित हुनुबाहेक, तिनीहरूले त्यसो गर्न सक्नुको कारण भनेको तिनीहरूमाथिको ख्रीष्टविरोधीले त्यस व्यक्तिलाई मन नपराउनु हो। यदि तिनीहरूले उसलाई भोट गरेछन् र ख्रीष्टविरोधीले थाहा पायो भने, नतिजा राम्रो हुनेछैन। त्यसैले, तिनीहरूले गर्नुपर्ने सबैभन्दा जरुरी र महत्त्वपूर्ण, सबैभन्दा फाइदाजनक कुरा भनेको त्यस व्यक्तिलाई भोट नगर्नु हो। तिनीहरू सबैले ख्रीष्टविरोधीको कुरा सुन्छन्; ख्रीष्टविरोधीले जे भने पनि, उसका शब्दहरू जुनसुकै दिशातिर मोडिए पनि, यी मानिसहरू उसैलाई पछ्याउँछन्, सत्यता सिद्धान्त र परमेश्वरका वचनहरूलाई बेवास्ता गर्छन्। हेर्, यदि कुनै ख्रीष्टविरोधी देखा परेमा, उसको आज्ञापालन गर्नेहरू हुन्छै हुन्छन्। यदि कुनै ख्रीष्टविरोधीले काम गऱ्यो भने, कतिपय मानिसले उसलाई साथ दिनेछन् र पछ्याउनेछन्—एक्लै र कसैको साथविना काम गर्ने कुनै ख्रीष्टविरोधी हुँदैन।
भर्खरै छलफल गरिएको विषय ख्रीष्टविरोधीहरूले कसरी कुटिल रूपमा कार्य गर्छन् भन्ने कुराको एउटा प्रकटीकरण थियो। यहाँ उल्लेखित कुटिलपनले ख्रीष्टविरोधीहरूले गर्ने काममा रहेका तिनीहरूका उद्देश्य र प्रेरणाहरूलाई जनाउँछ, तर तिनीहरूले तँलाई त्यो कुरा न त भन्नेछन्, न त तँलाई देख्न दिनेछन्। जब तैँले त्यो कुरा पत्ता लगाउँछस्, तब तिनीहरूले त्यसलाई ढाकछोप गर्न हदैसम्म प्रयास गर्नेछन्, तँलाई भ्रममा पार्न र तिनीहरूप्रतिको तेरो बुझाइ बदल्न विभिन्न उपाय लगाउनेछन्। यही नै ख्रीष्टविरोधीहरूको कुटिल पक्ष हो। यदि तिनीहरूका मनसायहरू सजिलै खुलासा गरिए, वृहत रूपमा सार्वजनिक गरिए, सबैलाई बताइए, र मानिसहरूलाई थाहा दिइए भने, के त्यो कुटिल कुरा हुनेथ्यो? त्यो कुटिल कुरा हुनेथिएन; त्यो के हुनेथ्यो? (मूर्ख कुरा।) मूर्ख कुरा होइन—त्यो त समझलाई त्याग्ने हदसम्मको अहङ्कार हुनेथ्यो। ख्रीष्टविरोधीहरू व्यवहारले कुटिल हुन्छन्। तिनीहरू कसरी कुटिल हुन्छन्? तिनीहरू सधैँ छलकपटको भरमा व्यवहार गर्छन्, र तिनीहरूका शब्दहरूले केही प्रकट गर्दैनन्, त्यसैले मानिसहरूलाई तिनीहरूका अभिप्राय र लक्ष्यहरू बुझ्न कठिन हुन्छ। त्यो कुटिल कुरा हो। तिनीहरू आफूले भन्ने वा गर्ने कुनै पनि कुरामा सजिलै निष्कर्षमा पुग्दैनन्; तिनीहरू आफ्ना मातहतका मानिसहरू र श्रोताहरूलाई तिनीहरूको अभिप्रायबारे आभास गराउँछन्, र ती मानिसहरूले ख्रीष्टविरोधीलाई बुझेपछि उसका एजेन्डा र प्रेरणाअनुसार कार्य गर्छन् र उसको आदेश पालन गर्छन्। यदि कुनै काम पूरा भयो भने, ख्रीष्टविरोधी खुसी हुन्छ। यदि पूरा भएन भने, कसैले पनि ऊविरुद्ध कुनै निहुँ भेट्टाउन, वा उसले गर्ने कामपछाडिका प्रेरणा, अभिप्राय, वा लक्ष्यहरू बुझ्न सक्दैन। ख्रीष्टविरोधीहरूको कुटिलपन गोप्य षड्यन्त्र र लक्ष्यहरूमा हुन्छ, ती सबैको उद्देश्य नै अरू सबैलाई धोका दिने, अरूसित खेलवाड गर्ने, र अरूलाई नियन्त्रणमा राख्ने हुन्छ। कुटिल व्यवहारको सार यही हो। कुटिलपन भनेको केवल झूट बोल्नु वा कुनै खराब कुरा गर्नु होइन; बरु, यसमा त्योभन्दा ठूला आशय र लक्ष्यहरू हुन्छन्, जुन साधारण मानिसहरूले बुझ्नै सक्दैनन्। यदि तैँले कुनै कुरा गरेको छस् र त्यसबारे कसैले थाहा नपाओस् भन्ने चाहन्छस्, अनि झूट बोल्छस् भने, के त्यो कुटिलपन हो? (होइन।) त्यो केवल छलीपन हो, र यो कुटिलपनको तहमा पुग्दैन। के कारणले कुटिलपन छलीपनभन्दा गहन हुन्छ? (मानिसहरू त्यसलाई बुझ्न सक्दैनन्।) मानिसहरूलाई त्यो बुझ्न गाह्रो हुन्छ। त्यो यसको एउटा पक्ष हो। अरू के हो? (मानिसहरूले कुटिल व्यक्तिविरुद्ध कुनै निहुँ भेट्टाउँदैनन्।) ठिक भनिस्। कुरा के हो भने मानिसहरूलाई ऊविरुद्ध कुनै कुरा भेट्टाउन कठिन हुन्छ। त्यस व्यक्तिले खराब कामकुरा गरेको छ भनेर कतिपय मानिसलाई थाहा भए पनि, उनीहरू ऊ असल व्यक्ति हो कि खराब हो, दुष्ट व्यक्ति हो कि ख्रीष्टविरोधी हो भनेर निर्क्योल गर्न सक्दैनन्। मानिसहरू उसलाई छर्लङ्गै बुझ्न सक्दैनन्, तर ऊ असल हो भन्ठान्छन्, र उसको भ्रममा पर्न सक्छन्। त्यो कुटिलपन हो। सामान्यतया, मानिसहरू झूटहरू बोल्ने र सानातिना षड्यन्त्रहरू रच्ने झुकाव राख्छन्। त्यो छलीपन मात्र हो। तर ख्रीष्टविरोधीहरू सामान्य छली मानिसभन्दा कपटी हुन्छन्। तिनीहरू दियाबलस राजाजस्तै हुन्छन्; तिनीहरूले गर्ने कुरा कसैले बुझ्न सक्दैन। तिनीहरूले इन्साफको नाममा धेरै दुष्ट कामकुरा गर्न सक्छन्, र मानिसहरूलाई चोट पुर्याउँछन्, तर मानिसहरू अझै पनि तिनीहरूको गुनगान गाउँछन्। यसलाई कुटिलपन भनिन्छ।
विगतमा एउटा घटना घटेको थियो जहाँ माथिसँगको सम्पर्क र सङ्गतिको बेलामा, एक जना अगुवालाई परमेश्वरको घरका केही कार्य योजनाबारे जानकारी गराइएको थियो। त्यतिबेला, कार्य प्रबन्ध औपचारिक रूपमा जारी भइसकेको थिएन। फर्केपछि, उसले देखावटी गर्न थाल्यो, तर तैँले त्यो देखावटी गरेको हो भन्न सक्दैनथिस्। ऊ एउटा भेलामा निकै गम्भीर रूपले बोलिरहेको थियो, र अचानक, उसले सङ्गति गर्दागर्दै पहिले कहिल्यै नसुनिएको कुरा भन्यो: “हालसम्म, परमेश्वरको कामको हरचरण पूरा भएको छ, र मानिसहरू मूलत: स्थिर भइसकेका छन्। अर्को महिनादेखि, हामी सुसमाचार फैलाउनेछौँ, त्यसैले हामीले सुसमाचार समूहहरू स्थापना गर्नुपर्छ। सुसमाचार समूहहरू कसरी स्थापित गर्ने? यसमा केही विस्तृत कुरा छन्…।” यो कुरा सुनेपछि अरूले सोचे, “यी शब्दहरू कहाँबाट आए? माथिले त अहिलेसम्म कुनै कार्य प्रबन्धहरू जारी गर्नुभएको छैन। उसलाई कसरी थाहा भयो? उसमा पक्कै पनि दूरदृष्टि छ!” तिनीहरू उसलाई आराधना गरिरहेका थिए, होइन र? ऊप्रति मानिसहरूको मनोवृत्ति तत्कालै परिवर्तन भयो। उसले बस सुसमाचार समूहहरू स्थापित गर्ने कुरा मात्र गर्यो तर उसले पछि कुनै पनि विशेष काम गरेन—उसले खोक्रा नाराहरू मात्र फलाक्यो। खोक्रा नाराहरू फलाक्नुमा अवश्यै उसको आफ्नै उद्देश्य थियो; ऊ आफ्नो देखावटी गरिरहेको थियो, मानिसहरूले उसलाई ठूलो मानून् र आराधना गरून् भन्ने चाहिरहेको थियो। त्यसलगत्तै, माथिबाट कार्य प्रबन्ध जारी भयो। जब दाजुभाइ-दिदीबहिनीहरूले त्यो कुरा देखे, उनीहरू चकित भए र उनीहरूले भने, “गजबै भो! यो त अगमवाणी होइन र? तपाईँले यो कुरा कसरी थाहा पाउनुभयो? तपाईँ हामीले भन्दा राम्रो सत्यता बुझ्नुहुन्छ; तपाईँको कद हाम्रोभन्दा ठूलो छ। हाम्रो कद अत्यन्तै सानो छ। सुसमाचार प्रचार गर्ने बेला भयो भनेर तपाईँले हामीलाई भनिसक्नुभएको थियो, जबकि हामी भावशून्य थियौँ र हामीलाई केही थाहै थिएन। हेर्नू त, तपाईँले सङ्गति गरेको कुरा माथिबाटको कार्य प्रबन्धसँग मिल्दैन र? यो संयोगवश मिलेको हो, र अब यो पुष्टि भएको छ।” यस घटनामार्फत, सबैले साधारण रूपमा नभएर पूर्ण समर्पणका साथ, झण्डै ऊसामु घुँडा टेक्ने र ढोग्ने अवस्थासम्म पुगेर उसलाई अझ बढी आराधना गरे। धेरैजसो मानिसहरूलाई यो मामलाबारे थाहै थिएन; यदि त्यसबारे ऊ आफैले नभनेको भए, कसैलाई थाहा हुन्थेन, त्यो परमेश्वरलाई मात्र थाहा हुन्छ। यो अत्यन्तै प्रस्ट मामला थियो, र उसले यो कुरा कसैसामु प्रकट गरेन, बरु उनीहरूलाई निर्लज्ज रूपमा छल गर्ने निर्णय गर्यो। के यो व्यवहारलाई कुटिल मानिन्छ? (मानिन्छ।) किन उसले अरूलाई यसरी छल गर्यो? उसले यस तरिकाले व्यवहार र कार्य गर्न सक्नुको कारण के थियो? उसले हृदयमा साँच्चै के सोचिरहेको थियो? ऊ आफूलाई मानिसहरूले फरक रूपमा हेरून्, ऊ साधारण व्यक्ति होइन भन्ठानून् भन्ने चाहन्थ्यो। के यो सामान्य मानवतामा हुनुपर्ने कुरा हो? (होइन।) यस्तो व्यक्तिका कार्यहरू घिनलाग्दा र निर्लज्ज हुन्छन्। के तैँले यसलाई कुटिल कुरा मान्नेथिस्? (मान्नेथिएँ।) यो कुरा कुटिल हुनुबाहेक अलि घिनलाग्दो पनि छ।
ख्रीष्टविरोधीहरूमध्ये, एकखाले व्यक्ति हुन्छ जसले कहिल्यै कुनै गलत कुरा भनेको सुनिएको छैन वा गलत काम गरेको देखिएको छैन; उसले जे गर्छ र जसरी काम गर्छ ती सामान्यतया असल मानिन्छन् र सबैबाट अनुमोदित हुन्छन्। ऊ प्रायजसो कृपालु सन्तझैँ मुहार बनाएर मुस्कुराउँछ, र कहिल्यै कसैलाई काटछाँट गर्दैन। मानिसहरूले जे-जस्तो गल्ती गरे पनि, ऊ सधैँ ममतामय आमाको जत्तिकै क्षमाशील हृदयले उनीहरूलाई सहन्छ। ऊ मण्डलीमा प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने, बाधा र अवरोधहरू सिर्जना गर्ने, वा दुष्ट कार्यहरू गर्ने मानिसहरूलाई कहिल्यै कारबाही गर्दैन। के यो उसले यी कुराहरू देख्न वा खुट्ट्याउन नसकेकाले हो? अहँ, यो दुवैमध्ये कुनै पनि होइन; उसले ती कुरा देख्न र खुट्ट्याउन सक्छ, तर उसले हृदयमा के विश्वास गर्छ भने, यदि यी मानिसहरूलाई पखालियो अनि मण्डली इमानदारहरू, सत्यता पछ्याउनेहरू, परमेश्वरप्रति निष्कपट रूपले समर्पित हुनेहरूले मात्र भरिएर शान्त बन्यो भने, ऊ आफै सजिलै खुट्ट्याइन सक्छ र उसले मण्डलीमा आफूले जमाको स्थान गुमाउन सक्छ। यसर्थ, उसले यी मानिसहरूलाई साथमा राख्छ, दुष्कर्मीहरूलाई दुष्टता गरिरहन, झूट बोल्नेहरूलाई झूट बोलिरहन, र बाधा दिनेहरूलाई बाधा दिइरहन दिन्छ, यी बाधाहरूमार्फत मण्डली कहिल्यै शान्त नहोस् भन्ने सुनिश्चित गर्छ, र त्यसरी आफ्नो हैसियत सुरक्षित राख्छ। त्यसोभए, कसैलाई निष्कासन गर्नुपर्यो, निराकरण गर्नुपर्यो, एक्ल्याउनुपर्यो, वा पदबाट हटाउनु पर्यो भने, उसले के भन्छ? “हामीले मानिसहरूलाई पश्चात्ताप गर्ने मौका दिनैपर्छ। कोसँग पो कमीकमजोरी वा भ्रष्टता हुँदैन र? कसले गल्ती गरेको हुँदैन? हामीले सहनशील हुन सिक्नैपर्छ।” दाजुभाइ-दिदीबहिनीहरूले यसबारे मनन गर्छन् र भन्छन्, “हामी परमेश्वरलाई साँच्चै विश्वास गर्ने र अपराध गर्ने वा मूर्ख र अज्ञानीहरूलाई सहन्छौँ, तर दुष्ट मानिसहरूलाई सहँदैनौँ। ऊ दुष्ट व्यक्ति हो।” ख्रीष्टविरोधीले जवाफ दिन्छ, “ऊ कसरी दुष्ट व्यक्ति हो? ऊ कहिलेकाहीँ मात्र रुखो बोली बोल्छ; त्यो दुष्टता होइन। हत्या गर्ने र संसारमा आगजानी गर्ने मानिसहरू वास्तविक दुष्ट मानिस हुन्।” तर ख्रीष्टविरोधीले वास्तवमा के सोच्छ? “ऊ दुष्ट व्यक्ति हो? के ऊ म जत्तिकै दुष्ट छ? तिमीले मैले गरेको कुरा देखेकै छैनौ, म भित्री रूपमा के सोचिरहेको छु भनेर तिमीलाई थाहै छैन। थाहा भएको भए, के तिमीहरूले मलाई पखाल्नेथिएनौ र? उसलाई पखाल्ने सोचिरहेका छौ? सम्भव छैन! म तिमीलाई उसलाई तह लगाउन दिनेछैनँ। जसले प्रयास गर्छ, म ऊसित रिसाउनेछु, म उसका लागि परिस्थितिहरू एकदमै कठिन बनाइदिनेछु! जसले उसलाई तह लगाउन खोज्छ, म त्यसलाई निष्कासित गर्नेछु!” तर के उसले यो कुरा सुन्नेगरी भन्छ? अहँ, भन्दैन। त्यसोभए उसले के गर्छ त? पहिला उसले परिस्थिति साम्य बनाउँछ, मामिलाको स्थितिलाई स्थिर पार्छ, मण्डलीलाई अगुवाइ गर्न सक्षम र विभिन्न शक्तिहरूलाई सन्तुलन गर्न सक्ने देखिन्छ, ताकि मण्डली ऊविना चल्न नसकोस्। के यसरी उसको पद सुरक्षित हुँदैन त? उसको पद सुरक्षित भइसकेपछि, के उसको जीविका सुरक्षित हुँदैन र? कुटिल हुनु भनेको यही हो। त्यसैले धेरैजसो मानिस यस्ता व्यक्तिलाई छर्लङ्गै बुझ्न सक्दैनन्। किन सक्दैनन्? तिनीहरू कहिल्यै सत्य बोल्दैनन्, न त हल्का रूपमा नै काम गर्छन्। माथिले तिनीहरूलाई जे अह्राए पनि, तिनीहरू झारा टार्छन्; वितरण गर्नुपर्ने पुस्तकहरू तिनीहरू पठाइदिन्छन्; तिनीहरू हप्तामा केही भेला गरिराख्छन्, र भेलाहरूको समयमा सङ्गतिमा एकाधिकार जमाउँदैनन्। बाहिरबाट हेर्दा, सबथोक सिद्ध र खोटरहित देखिन्छ, आलोचना गर्ने ठाउँ नै हुँदैन। तर तिमीहरू एउटा कुरा चाहिँ खुट्ट्याउन सक्छौ: तिनीहरू दुष्ट मानिसहरूलाई कहिल्यै तह लगाउँदैनन्। बरु उल्टै, तिनीहरूको रक्षा गर्छन्, निरन्तर रूपमा तिनीहरूको ढाकछोप र बचाउ गर्छन्। के यो कुटिल कुरा होइन र? यसमा तिनीहरूको व्यवहारको कुटिल पक्ष के हो, केन्द्रविन्दु के हो? यी कुराहरूलाई प्रस्ट्याउनैपर्छ। तिनीहरू कहिल्यै सत्य बोल्दैनन्, सधैँ झूट बोलेर परमेश्वरको घरलाई धोका दिन्छन्। तिनीहरू दुष्ट मानिसहरूले दुष्टता गरेको देख्छन् तर तिनीहरूलाई कहिल्यै तह लगाउँदैनन्, सधैँ मामिलालाई सामसुम पार्ने गर्छन्, अनि धैर्य र सहनशीलता अभ्यास गर्छन्। तिनीहरूले यी कुरा गर्नुको मनसाय के हो? के यो साँच्चै मानिसहरूलाई एक-अर्काको सबल पक्षबाट सिकेर आफ्ना कमीकमजोरी सुधार्न र एक-अर्काप्रति सहनशील हुन मद्दत गर्नु हो? (होइन।) त्यसोभए तिनीहरूको उद्देश्य के हो? तिनीहरू आफ्नो प्रभाव बलियो पार्न, र आफ्नो हैसियत स्थिर पार्न चाहन्छन्। तिनीहरूलाई के थाहा छ भने दुष्ट मानिसहरूलाई पखालिएपछि तिनीहरूको पालो आउनेछ; तिनीहरू यही कुरादेखि डराउँछन्। त्यसकारण, तिनीहरू दुष्ट मानिसहरूलाई साथमै राखिरहन्छन्; तिनीहरू त्यहाँ भइञ्जेल, ख्रीष्टविरोधीको हैसियत सुरक्षित हुन्छ। यदि दुष्ट मानिसहरूलाई पखालियो भने, ख्रीष्टविरोधी सकिनेछ। दुष्ट मानिसहरू भनेको उसको सुरक्षाको पर्खाल, उसको कवच हो। त्यसैले, चाहे जोसुकैले दुष्ट मानिसहरूको खुलासा गरोस् वा तिनीहरूलाई पखाल्नुपर्छ भनेर सुझाव देओस्, ऊ यसो भन्दै असहमति जनाउँछ, “तिनीहरूले अझै आफ्ना कर्तव्य निभाउन सक्छन्, अझै पैसा चढाउन सक्छन्; कम्तीमा पनि, तिनीहरूले अझै पनि श्रम गर्न सक्छन्!” ऊ दुष्ट मानिसहरूको बचाउ गर्ने कारण र बहानाहरू खोज्छ, अनि सामान्यतया, समझशक्ति नभएका मानिसहरूले ऊभित्र लुकेको दुर्भावनापूर्ण नियत देख्न सक्दैनन्, त्यसलाई खुट्ट्याउन सक्दैनन्।
के कुनै ख्रीष्टविरोधीका कुटिल कार्यहरूले तिमीहरूमा गहिरो छाप पारेका कुनै अन्य उदाहरणहरू छन्? कसैले भन त। (एक जना दिदी सुसमाचार समूहकी सुपरिवेक्षक थिइन्, र हरमहिना उनले केही मानिस प्राप्त गर्थिन्, तीमध्ये कतिपय गैरविश्वासी थिए। ख्रीष्टविरोधीले कार्य प्रबन्धलाई प्रसङ्गबाहिर गएर व्याख्या गर्यो, उसले भन्यो, सुसमाचार प्रचार मुख्य गरी सम्प्रदायका मानिसहरूप्रति लक्षित हुनुपर्छ, गैरविश्वासीहरू गौण हुनुपर्छ, अनि यदि गैरविश्वासीहरूप्रति ध्यान केन्द्रित गरियो भने, त्यो कार्य प्रबन्धको गम्भीर उल्लङ्घन हो। उसले “सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी” बाट परमेश्वरका वचनहरूसमेत प्रयोग गरेर यस व्यवहारको विश्लेषण गर्यो। त्यसपछि उसले सबैलाई यसो भन्दै भोट गर्न लगायो, “के यस्तो व्यक्ति अझै पनि सुपरिवेक्षक हुन सक्छ?” त्यो बेला, मण्डलीका धेरै जना एकदुई वर्ष मात्र भएका नयाँ विश्वासी थिए र उनीहरूले खुट्ट्याउन सक्दैनथे, त्यसैले उनीहरू कार्य प्रबन्ध उल्लङ्घन गर्नु गम्भीर हो भन्ने महसुस गरेर उक्त दिदीलाई बर्खास्त गर्न सहमत भए। ती दिदी त्यो बेला एकदमै नकारात्मक बनिन्; यस ख्रीष्टविरोधीद्वारा चिरफार गरिएपछि र दोषी ठहराइएपछि, उनलाई आफू नै ख्रीष्टविरोधी भएको र पक्कै पनि परमेश्वरद्वारा हटाइने महसुस भयो, अनि उनी अत्यन्तै नकारात्मक बनिन्, र उनलाई जिउन मन लागेन। त्यसअलावा, यस ख्रीष्टविरोधीले माथिका केही प्रवचन र सङ्गतिहरू पनि रोकिराख्यो, हामीलाई सुन्न दिएन। उसले माथिको सङ्गति अत्यन्तै कठोर छ र यो सुनेपछि सानो कदका हामी नयाँ विश्वासीहरूले धारणा विकास गर्नेछौँ भनेर दाबी गर्यो। बाहिरी रूपमा, उसले हामीलाई ख्याल गरिरहेको जस्तो देखिन्थ्यो, तर वास्तवमा, उसलाई यदि हामीले माथिका प्रवचनहरू सुन्यौँ भने हामीले उसलाई खुट्ट्याउन सक्नेछौँ, र त्यसपछि उसले हामीलाई नियन्त्रणमा राख्न सक्नेछैन भन्ने डर थियो। उसले यी उचित देखिने विधिहरू प्रयोग गरेर मानिसहरूलाई सास्ती दिने र ठग्ने गर्थ्यो, उसले गरेको कुरा तर्कसङ्गत र परमेश्वरको घरको कार्य प्रबन्धअनुसार छ जस्तो देखाउँथ्यो।) यो घटनालाई निश्चय नै कुटिल भनेर व्याख्या गर्न सकिन्छ। जोकोही ख्रीष्टविरोधीले निरन्तर रूपमा उस्तै अभ्यासहरू गर्छ, त्यसमा अलिकति पनि फरक हुँदैन, तिनीहरूले गर्ने जुनसुकै कुराका अभिप्राय र लक्ष्यहरू उही हुन्छन्। के यसले ख्रीष्टविरोधीहरू वास्तवमा पिशाच र दुष्टात्मा हुन् भनेर प्रमाणित गर्दैन र? (गर्छ।) अवश्यै गर्छ। ख्रीष्टविरोधीहरू अर्थात् यी पिशाच र दुष्टात्माहरूका कार्यहरूलाई कुटिल भनेर व्याख्या गर्नु पूर्णतया उपयुक्त हुन्छ र त्यो बिलकुलै बढाइचढाइ गरिएको हुँदैन।
यी उदाहरणहरूबाट तिमीहरूले केही अन्तर्ज्ञान प्राप्त गरेको हुनुपर्छ; के तिमीहरूले ख्रीष्टविरोधीहरूका कुटिल कार्यहरूबारे केही समझशक्ति विकास गर्न थालेका छौ? गोप्य अभिप्राय र मनसायसहितको कुटिल व्यवहार संलग्न कुनै पनि कुरा साधारण व्यक्तिको कार्य होइन, इमानदार व्यक्तिको कार्य होइन, र निश्चय नै सत्यता पछ्याउने व्यक्तिको कार्य होइन। के तिनीहरूले गर्ने कामकुरा सत्यता अभ्यास गर्नु हो? के तिनीहरूले परमेश्वरको घरका हितहरूको रक्षा गरिरहेका हुन्छन्? (हुँदैनन्।) त्यसोभए, तिनीहरू के गरिरहेका हुन्छन्? तिनीहरू मण्डलीका काममा अवरोध पुऱ्याइरहेका र विघटन ल्याइरहेका, दुष्टता गरिरहेका हुन्छन्; तिनीहरू परमेश्वरको मार्ग पछ्याइरहेका हुँदैनन्, न त परमेश्वरको घरको कामलाई समर्थन नै गरिरहेका हुन्छन्। तिनीहरू जे गर्छन् त्यो मण्डलीको काम होइन; तिनीहरू आफ्नै एजेन्डा पछ्याउन मण्डलीको काम गरेको खोल मात्र ओडिरहेका हुन्छन्, विशेष गरी आफ्नो व्यक्तिगत स्वार्थ र शैतानका स्वार्थहरू जोगाइरहेका हुन्छन्। अरू कुनै उदाहरणहरू छन्? (२०१५ मा, माथिबाट एउटा कार्य प्रबन्ध जारी भयो, जसमा हामीलाई झूटा अगुवाहरू खुट्ट्याउने अनि साँचो र झूटो मण्डलीहरूबीचको भिन्नता छुट्ट्याउनेबारे सङ्गति गर्न “जागृत” को लेख प्रयोग गर्न निर्देशन दिइएको थियो। मण्डलीमा एक जना अगुवा थियो जो भर्खरै बर्खास्त भएको थियो, जसले के भन्थ्यो भने हामी परमेश्वरका नयाँ विश्वासी हौँ र सानो कदका छौँ, अनि हामी माथिको कार्य प्रबन्धलाई अत्यन्तै सतही रूपमा बुझ्छौँ—परमेश्वरका कार्यहरू बुझ्न सकिँदैनन्, र माथिले यो प्रबन्धलाई गहिरो अर्थमा जारी गऱ्यो। उसले यसो पनि भन्यो, “झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउने सत्यताहरूका सम्बन्धमा, माथिले यसअघि धेरै सङ्गति प्रदान गरेको छ र त्यसलाई एकदमै प्रस्टसित व्याख्या गरेको छ। यदि त्यो झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउने कुरा मात्र भएको भए, अर्को कार्य प्रबन्ध जारी गर्नुपर्ने थियो र?” पछि, उसले सन्दर्भविनै विगतका माथिको कार्य प्रबन्ध, प्रवचन, र सङ्गतिहरूका खण्डहरू लिएर दसौँ हजार शब्द सामग्रीहरू सङ्कलन गरी दाजुभाइ-दिदीबहिनीहरूलाई भ्रममा पाऱ्यो, हामीलाई त बरु “जागृत” लाई खुट्ट्याउन लगायो। त्यो बेला, हामी भ्रममा पऱ्यौँ अनि हामीले झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन ध्यान दिएनौँ। पछि, यो व्यक्ति ख्रीष्टविरोधी भएको खुलासा भयो। उसलाई यदि सबैले झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन थाले भने, उसका दुष्ट कार्यहरू पर्दाफास गर्नेछन् र उसलाई खुट्ट्याउनेछन् भन्ने डर थियो, त्यसैले बरु उसले जानाजानी हामीलाई गलत दिशामा डोऱ्याएर “जागृत” लाई खुट्ट्याउन लगायो।) यो चतुऱ्याइँ, गलत दिशामा लैजाने तरकिब थियो, जसले ध्यान भङ्ग गरेर ध्यान अन्तै मोड्थ्यो ताकि ऊप्रति कसैले पनि ध्यान नदेओस्। के यो परिचित विधिजस्तो लाग्दैन? जब ठूलो रातो अजिङ्गरले आफ्नो राजनैतिक प्रणालीभित्र आन्तरिक अशान्ति वा सर्वसाधारणले हड्ताल वा विद्रोहको योजना गर्नेजस्ता सङ्कट सामना गर्छ, तब त्यसले यही तरकिब प्रयोग गर्छ—ध्यान अन्तै मोड्ने तरकिब। त्यसले यो विधि बारम्बार अपनाउँछ। जब कुनै सङ्कट उत्पन्न हुन्छ, तब त्यसले युद्धको त्रास पैदा गर्छ, देशभक्ति फैलाउँछ, अनि त्यसपछि प्रतिरोध युद्ध र देशभक्तिसम्बन्धी चलचित्रहरू निरन्तर रूपमा देखाउँछ वा झूटा समाचार फैलाई राष्ट्रवादी भावना जगाएर ध्यान अन्तै मोड्छ। ठूलो रातो अजिङ्गरले यी कुरा गोप्य मनसायले, अव्यक्त उद्देश्यहरू राखेर गर्छ—यसलाई कुटिल व्यवहार भनिन्छ। ख्रीष्टविरोधीहरूको पूर्वज को हो? त्यो ठूलो रातो अजिङ्गर, दियाबलस हो। तिनीहरूका कार्यहरूको प्रकृति ठ्याक्कै उस्तै हुन्छ, मानौँ तिनीहरू एकअर्काका साझेदार हुन्। ख्रीष्टविरोधीहरूका षड़्यन्त्र र विधिहरू कहाँबाट आउँछन्? ती तिनीहरूका पूर्वज, दियाबलस शैतानले सिकाएका हुन्। शैतान तिनीहरूभित्र हुने भएकाले तिनीहरू कुटिल रूपमा चल्नु एकदमै सामान्य कुरा हो; यसले तिनीहरूमा ख्रीष्टविरोधी प्रकृति छ भनी पूर्ण रूपमा प्रकट गर्छ।
(परमेश्वर, म एउटा उदाहरण सुनाउन चाहन्छु। एक जना ख्रीष्टविरोधीको यो घटना जिजिन पाष्टरीय इकाइमा घटेको हो। २०१२ को वसन्त ऋतुतिरको कुरा हो। एन नाम गरेको एक जना ख्रीष्टविरोधीले विभिन्न मण्डलीमा धेरै भ्रम फैलाएको थियो र “परमेश्वर धर्ती छाड्नुअघि सबैभन्दा बढी के कुरालाई ख्याल गर्नुहुन्छ” शीर्षकको पर्चासमेत लेखेर गोप्य रूपमा सारा मण्डलीहरूलाई बाँडेको थियो। उसले परमेश्वर जानुभएपछि उहाँका चुनिएका मानिसहरूले पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिसको कुरा सुन्नेछन् कि छैनन् भन्ने कुरालाई परमेश्वर आफू जानुअघि सबैभन्दा बढी ख्याल गर्नुहुन्छ, त्यसैले हामीले परमेश्वरका अभिप्रायहरू बुझ्नुपर्छ; र अब, परमेश्वरको वचन खानु र पिउनुको साटो पवित्र आत्माले प्रयोग गरेको मानिसको प्रवचन, सङ्गति र कार्य प्रबन्ध मात्र पढे पुग्छ भनेर दाबी गऱ्यो। फलस्वरूप, धेरै दाजुभाइ-दिदीबहिनी भ्रममा परे; उनीहरूले परमेश्वरको वचन खान र पिउन छाडे, जुन त्यो ख्रीष्टविरोधीले हासिल गर्न खोजेको लक्ष्य थियो। ख्रीष्टविरोधीको कपटीपन त्यसैमा हुन्छ, उसले पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिसलाई गवाही दिने भेषमा मानिसहरूलाई परमेश्वरको वचनबाट टाढा पुर्यायो, परमेश्वरको वचन खाने र पिउने काम त्याग्न लगायो, साथै मानिसहरूलाई आफूले परमेश्वरको हृदय गहन रूपमा बुझेको छ भन्ने महसुस गरायो। उसले परमेश्वर जानुअघि उहाँ के कुरालाई ख्याल गर्नुहुन्छ भनेर सोचेकाले मानिसहरूले उसलाई उच्च सम्मान र आराधना गरे।) उसले पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिसलाई किन उच्च पार्यो? पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिस त मानव हो, र ऊ पनि मानव नै हो। उसले पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिसलाई उच्च पारेर मानिसहरूलाई वास्तवमा उसैलाई आराधना गर्न र उच्च पार्न लगाइरहेको थियो; उसको लक्ष्य त्यही थियो। हामीले उसको कुरा सही थियो वा गलत भनी मूल्याङ्कन गरेर मात्र हुँदैन; हामीले उसका शब्दहरूले हासिल गरेका परिणाम र उद्देश्यहरूलाई हेर्नुपर्छ; त्यो नै मुख्य कुरा हो। त्यसैले, उसले पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिसलाई उच्च पार्नुको उद्देश्य वास्तवमा आफैलाई उच्च पार्नु थियो; उसको उद्देश्य त्यही थियो। उसलाई थाहा थियो, पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिसलाई उच्च पार्दा निश्चय नै कसैले विरोध गर्नेछैन, र मानिसहरूले ऊसँग सहमत भएर उसलाई उच्च पार्नेछन्। तर यदि उसले सिधै आफूलाई उच्च पारेर आफ्नो गवाही दिएको भए, मानिसहरूले उसलाई खुलासा गर्न, खुट्ट्याउन, र नकार्न सक्थे। त्यसकारण, त्यो ख्रीष्टविरोधीले आफूलाई उच्च पार्न र आफ्नो गवाही दिन पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिसलाई उच्च पार्ने तरकिब अपनायो; यो नै त्यस ख्रीष्टविरोधीको धूर्तता थियो। ख्रीष्टविरोधी एनका कार्यहरू एकदमै कुटिल थिए, मानिसहरू सजिलै उसको भ्रममा पर्थे—यो एक विशिष्ट ख्रीष्टविरोधी घटना हो। परमेश्वरका चुनिएका मानिसहरूले यो ख्रीष्टविरोधीको घटनाबाट खुट्ट्याउन सिक्नुपर्छ, ख्रीष्टविरोधीहरूका कुटिल पक्षहरू, साथै तिनीहरूले मानिसहरूलाई भ्रममा पारेर परिणाम हासिल गर्न प्रयोग गर्ने प्रचलित विधि र उपायहरू बुझ्नुपर्छ। यी कुरा बुझ्नाले मानिसहरूलाई ख्रीष्टविरोधीहरू खुट्ट्याउनमा ठूलो फाइदा पुग्छ। अरू कसले उदाहरण सुनाउनु छ?
(परमेश्वर, मैले पनि एउटा ख्रीष्टविरोधी घटना सुनाउनु छ। यो हेनान पाष्टरीय इकाइको घटना हो। २०११ तिर, ख्रीष्टविरोधी यु, जो एक बर्खास्त भएकी झूटो अगुवा थिई, उसलाई मण्डलीले पखाल्ने कामको जिम्मा लिन खटाएको थियो किनकी उसमा केही प्रतिभा र कार्य अनुभव थियो। त्यसबखत, झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई पूर्ण रूपले खुलासा र उन्मूलन गर्न माथिबाट एउटा कार्य प्रबन्ध जारी भएको थियो। हैसियत मन पराउने युले यसलाई पुनरागमनको अवसरका रूपमा देखी। उसले कार्य प्रबन्ध कार्यान्वयन गर्ने बहानामा पवित्र आत्माको कामको प्रवाह पछ्याउन अनि झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउनमा ध्यान दिन निरन्तर रूपमा दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गरी। तर, उसले तिनलाई खुट्ट्याउने सिद्धान्तहरू सङ्गति गरिन बरु हामीलाई अगुवा र कामदारहरूप्रति ध्यान दिन लगाई। प्रत्येक भेलामा, उसले दाजुभाइ-दिदीबहिनीहरूलाई अगुवा र कामदारहरूको कार्य प्रस्तुतिबारे बोल्न लगाउँथी। हामीले बोलेपछि, ऊ तिनीहरूका काममा भएका केही विचलनहरू र तिनीहरूले प्रकाश गरेका भ्रष्ट स्वभावहरूलाई समातेर यी समस्याहरूको प्रकृतिलाई बढाइचढाइ गर्थी, र तिनीहरूलाई सिधै झूटा अगुवा भनेर बर्खास्त गर्थी। पछि, उसले यी झूटा अगुवा र कामदारहरूलाई कसरी निमिट्यान्न पारेकी थिई भनेर दाजुभाइ-दिदीबहिनीहरूलाई निरन्तर रूपमा गवाही दिन्थी, यसरी उनीहरूलाई आफूमा खुट्ट्याउने क्षमता र कार्य सामर्थ्य भएको महसुस गराउँथी। वास्तवमा, उसले यी अगुवा र कामदारहरूको बर्खासीको मौका छोपेर पुनरागमन गर्ने र अगुवा हुने लक्ष्य राखेकी थिई। युको भ्रममा परेका दाजुभाइ-दिदीबहिनीहरूले अगुवा र कामदारहरूले प्रकाश गरेको भ्रष्टता र तिनीहरूको काममा रहेका विचलनहरू देखेर, तिनीहरू झूटा अगुवा पो हुन् कि भन्ने शङ्का गर्न थाले, र उनीहरूले मण्डलीका सबै तहका अगुवाहरूलाई प्रश्नसमेत गरे, जसका कारण उनीहरूले अगुवा र कामदारहरूका काममा सामान्य रूपमा सहकार्य गर्न सकेनन्। सानो कदका थुप्रै अगुवा र कामदारहरू पनि एकदमै बाधित भए, नकारात्मकता र सजगताको स्थितिमा जिए, उनीहरूले आफ्ना कर्तव्यहरू सामान्य रूपमा गर्न सकेनन्, जसका कारण मण्डली अस्तव्यस्त भयो। त्यसबखत, धेरै मानिसले यस ख्रीष्टविरोधीलाई आराधना गरे, र झण्डै एक दर्जन मण्डलीहरू यस ख्रीष्टविरोधीको भ्रम र नियन्त्रणमा परे। यो ख्रीष्टविरोधी प्रकट भएपछि पनि, कतिपय मानिसले उसलाई खुट्ट्याउन सकेनन्, उसले मण्डलीको काम सम्हालिरहेकी छे भन्ने विश्वास गरे, र कतिपय त उसका पक्षमा समेत उभिए।) भ्रममा परेका दाजुभाइ-दिदीबहिनीहरूलाई पछि के भयो? (सङ्गति र सहयोगमार्फत, कतिपयले ख्रीष्टविरोधीलाई खुट्ट्याए र उद्धार पाए, तर कतिपय चाहिँ, अरूले उनीहरूसित जति नै सङ्गति गरे पनि, उनीहरूले हठ कसेर ख्रीष्टविरोधीलाई नै पछ्याउने निधो गरे, र अन्त्यमा यी मानिसहरूलाई हटाइयो।) के अहिले धेरैजसो मानिसले यस ख्रीष्टविरोधीलाई खुट्ट्याउँछन् त? (अब उनीहरूले केही मात्रामा खुट्ट्याउँछन्।) जिद्दी भइरहने र नबद्लिनेहरू नष्ट हुन योग्य हुन्छन्; ख्रीष्टविरोधीलाई पछ्याउनुको परिणाम यही हो।
हामीले भर्खरै ख्रीष्टविरोधीहरूका कुटिल कार्यहरूका विभिन्न प्रकटीकरणबारे सङ्गति गर्यौँ। अब, त्यसबारे सारांशमा कुरा गरौँ: ख्रीष्टविरोधीहरूको यस्तो व्यवहारले व्यक्त गर्ने सार र स्वभाव के हो? (दुष्टता।) यो मुख्यतः दुष्टता नै विशेषता भएको स्वभाव हो। त्यसोभए के हामी दुष्ट स्वभावका मानिसहरू प्रायः कुटिल तरिकामा कार्य गर्छन्, र कुटिल रूपमा कार्य गर्नेहरूमा एकदमै दुष्ट स्वभाव हुन्छ भन्न सक्छौँ? (सक्छौँ।) के यो तार्किक तर्क हो? बाहिरबाट हेर्दा यो कताकता तर्कजस्तो देखिए पनि, वास्तवमा, परिस्थितिहरू ठ्याक्कै यस्तै हुन्छन्—दुष्ट स्वभावका मानिसहरू प्राय: कुटिल तरिकामा चल्छन्। ख्रीष्टविरोधीहरूका कुटिल तरिकामा कार्य गर्ने प्रकृति सार शैतानबाट उत्पन्न हुन्छ; तिनीहरू दियाबलस र शैतानजस्तै हुन् भन्ने कुरा निकै प्रस्ट छ। ख्रीष्टविरोधीहरू कसरी काम गर्छन् भनी हेरेर, तैँले दियाबलसहरू र शैतान कसरी चल्छन् भनी बुझ्न सक्छस्। वास्तविक दियाबलसहरू र शैतान र ठूलो रातो अजिङ्गरले योभन्दा अझ गम्भीर रूपमा काम गर्छन्। केवल एउटा ख्रीष्टविरोधीले समेत अत्यन्तै कुटिल रूपमा, यस्तो चलाक तरकिबका साथ काम गर्छ, गल्ती कोट्याउने कुनै ठाउँ नराखी यसरी बोल्छ कि कसैले पनि कुनै त्रुटि भेट्टाउन वा उसको गल्ती पक्रन असम्भव हुन्छ। बूढा दियाबलसहरू र शैतान त झनै कति कुटिल होलान्! ख्रीष्टविरोधीहरूको कुटिल व्यवहारको दृष्टिकोणबाट विचार गर्दा, हैसियतविहीन साधारण मानिसहरू, जो विरलै अरूसित कुराकानी गर्छन् वा खुल्छन्, जो पारदर्शिताविना काम गर्छन् र आफूले भित्री रूपमा के सोचिरहेको छु वा के गर्ने विचार गरिरहेको छु र आफूले काम गर्नुका अभिप्रायहरू के-के हुन् भनी अरूलाई थाहा दिन चाहँदैनन्, जो अत्यन्तै गोप्य रहन्छन् र आफूलाई राम्रोसँग लुकाउँछन्—के तिनीहरूका बोली र व्यवहारले पनि कुटिलपनको सङ्केत दिँदैनन् र? यदि यस्ता मानिसहरूलाई ख्रीष्टविरोधी भनेर चित्रण गरिएन भने, तिनीहरू निश्चय नै ख्रीष्टविरोधी मार्गमा हिँडिरहेका हुन्छन्। यो निश्चित छ। यदि ख्रीष्टविरोधीका मार्गमा हिँड्नेहरू काटछाँट स्विकार्दैनन्, अरूका सुझावहरू मान्दैनन्, र त्योभन्दा पनि सत्यता स्विकार्दैनन् भने, हैसियत प्राप्त गरेपछि, तिनीहरू ख्रीष्टविरोधी बन्छै बन्छन्; यो समयको कुरा मात्र हो। यदि त्यस्तो दुष्ट स्वभाव भएका र एकपटक ख्रीष्टविरोधी मार्गमा हिँडिसकेका कतिपय मानिसले ख्रीष्टविरोधीसँग केही समानता देखाएका छन्, तर काटछाँट स्विकारेपछि, पश्चात्ताप गर्छन्, सत्यता स्विकार्न सक्छन्, पहिलेको मार्ग त्याग्छन्, र बदलिएर सत्यता अभ्यास गर्न सक्छन् भने, नतिजा के हुनेछ? यस्तो बदलाबले उनीहरूलाई ख्रीष्टविरोधी मार्गबाट अझ टाढा पुर्याउनेछ, जसले गर्दा उनीहरूलाई परमेश्वरमा विश्वास गर्ने सही मार्गमा प्रवेश गर्न सजिलो हुनेछ, र त्यसपछि उनीहरूले मुक्ति पाउने आशा पाउनेछन्। ख्रीष्टविरोधीहरू कसरी कुटिल तरिकामा कार्य गर्छन् भन्ने प्रकटीकरणहरूबारे सङ्गति यति नै हो; अर्को सङ्गति गर्नुपर्ने प्रकटीकरण भनेको तिनीहरू कसरी स्वेच्छाचारी र तानाशाही छन् भन्ने हो।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।