विषयवस्तु छ: तिनीहरू कुटिल शैलीमा व्यवहार गर्छन्, तिनीहरू स्वेच्छाचारी र तानाशाही हुन्छन्, तिनीहरू अरूसँग कहिल्यै सङ्गति गर्दैनन्, र अरूलाई जबरजस्ती आज्ञापालन गर्न लगाउँछन् (खण्ड एक)
पूरक: डेमिङ र सियाओमिङको कथा
हाम्रो सङ्गतिको मुख्य विषयमा प्रवेश गर्नुअघि, सुरुमा एउटा कथा भन्छु। कथा भन्दा के फाइदा हुन्छ? (कथा सम्झन सजिलो हुन्छ।) अहिलेसम्म मैले कति वटा सम्झन सजिलो कथाहरू सुनाइसकेको छु? (दाबाओ र सियाओबाओको कथा।) मैले पछिल्लो पल्ट “दाबाओ र सियाओबाओको कथा” सुनाएको थिएँ। (“मुसाको सिकार” र महिला नेताहरूको कथा पनि थियो।) निकै कथाहरू सुनाइसकेको छु। म किन कथा सुनाउँछु? वास्तवमा यसको उद्देश्य मानिसहरूले बुझ्नुपर्ने सत्यताबारे अझै आरामसित, अझै सजिलो पारामा सङ्गति गर्नु हो। यदि मैले सुनाएका कथाहरूबाट तिमीहरूले सत्यता बुझेको भए, अनि यी सत्यताहरूले तिमीहरूको दैनिक जीवन प्रवेशका विभिन्न पाटाहरूमा मदत गर्छन् भने, कथाहरू व्यर्थैमा सुनाइएको ठहरिँदैन। यसले तिमीहरूले साँच्चै नै कथामा संलग्न सत्यताहरू बुझ्यौ, साथै यसलाई केवल कथाकै रूपमा मात्र सुन्नुको सट्टा सत्यताका व्यावहारिक पक्षहरू पनि बुझ्यौ भन्ने देखाउँछ। पछिल्लो पल्ट, मैले दाबाओ र सियाओबाओको कथा सुनाएँ। आज म डेमिङ र सियाओमिङको कथा सुनाउँदै छु। कथा सुन्दै जाँदा, यस कथाले तिमीहरूलाई वास्तवमा के बुझाउन खोज्दैछ अनि यसमा सत्यताको कुन पक्ष संलग्न छ, ती कुराबारे विचार गर।
डेमिङ र सियाओमिङ बाबु र छोरा हुन्। केही समयअघि डेमिङ र उसको छोरा सियाओमिङले परमेश्वरको नयाँ काम स्विकारे। के यो राम्रो कुरो हो? (हो।) यो राम्रो कुरो हो। सियाओमिङ सानै छ र अलिअलि मात्र पढ्न सक्छ, त्यसैले डेमिङले उसका निम्ति परमेश्वरको वचन दिनहुँ पढिदिन्छ र सियाओमिङले नबुझेका शब्दहरू धैर्य गर्दै बुझाउँछ। केही समयपछि, सियाओमिङले एक व्यक्तिका रूपमा आफूलाई कसरी आचरणमा ढाल्ने भन्ने बारेमा धेरै सिद्धान्तहरू, साथै उसले परमेश्वरमा विश्वास गर्नुअघि कहिल्यै नसुनेको केही शब्दावलीहरू, जस्तो कि समर्पणता, विश्वास, इमानदारी, छल इत्यादिबारे बुझ्न थाल्छ। छोराको प्रगति देखेर डेमिङ निकै खुसी हुन्छ। यद्यपि, हालै डेमिङले के याद गर्छ भने, उसले सियाओमिङलाई परमेश्वरका वचनहरू जतिसुकै पढेर सुनाए तापनि उसको व्यवहार वा बोलीमा खासै प्रगति भएको छैन। डेमिङ चिन्तित हुन्छ र उसमा एउटा बोझ विकास हुन्छ, अनि ऊ सोच्न थाल्छ: “मैले कसरी मेरो छोरालाई परमेश्वरका वचनहरू सुनाएर केही सत्यता बुझाउन सक्छु, उसमा केही परिवर्तन देखाउन सक्छु ताकि अरूले उसलाई अनुमोदन गरून्, उसलाई स्याबासी दिऊन् र ऊ एक असल बालक हो भनेर प्रशंसा गरून्? र त्यसपछि, सियाओमिङको व्यवहार देखेर तिनीहरूले परमेश्वरमा विश्वास गर्नु राम्रो हो भनेर प्रशंसा गर्न सक्थे, र मेरो छोरामा आएका परिवर्तनहरूमार्फत अरूलाई सुसमाचार प्रचार गर्न सकिने थियो—यो कत्ति राम्रो हुनेथियो!” आफूमा यस्तो बोझ विकास गरेपछि, डेमिङ सोच्न थाल्छ: “मैले सियाओमिङलाई आत्मआचरणबारे अझ बढी बुझाउन कसरी राम्रोसँग शिक्षा दिन सक्छु, ताकि उसले राम्रो व्यवहार गरोस् र ऊ परमेश्वरका अभिप्रायहरूसँग मिल्दो होओस्? अन्तमा, जब सियाओमिङ एक असल बालक बन्छ र सबैले उसको प्रशंसा गर्छन्, तब यो सबैको महिमा परमेश्वरलाई दिन सकिनेथ्यो—यो कत्ति राम्रो हुनेथ्यो! त्यति बेला, मेरो मनको गह्रौँ ढुङ्गा बिसाइने थियो।” के डेमिङले महसुस गरेको बोझ तर्कसङ्गत हो? के यसलाई उसले उचित कार्य गरेको मान्न सकिन्छ? (सकिन्छ।) यस दृष्टिकोणबाट हेर्दा, उसको सुरुवाती उद्देश्य सही छ—यसलाई तर्कसङ्गत र उचित कार्य मान्न सकिन्छ। डेमिङले सियाओमिङका लागि छनौट गरिदिएको मार्ग सही छ कि गलत? यो असल हो कि खराब? अगाडि बढ्दै जाँदा हेर्दै जाऔँ। डेमिङ यस विषयमा प्रायजसो परमेश्वरलाई प्रार्थना र बिन्ती चढाउने गर्छ र अन्तमा एक दिन उसले “प्रेरणा” पाउँछ। कस्तो “प्रेरणा”? उद्धरण चिन्ह भित्र रहेको तथाकथित “प्रेरणा।” यो “प्रेरणा” उद्धरण चिन्हभित्र भएकाले डेमिङले कस्तो प्रकारको मार्गबारे बताइरहेको हुनसक्ला? यस कथामा अब के हुन्छ, तिमीहरू कल्पना गर्न सक्छौ? यो त्यति स्पष्ट छैन, छ त? यो अलिक अज्ञात छ।
एक दिन, आफ्नो छोरालाई परमेश्वरको वचन पढेर सुनाइसकेपछि डेमिङले सियाओमिङलाई परमेश्वरमाथि विश्वास राख्नु राम्रो हो कि होइन भनी निकै गम्भीरतापूर्वक सोध्छ। सियाओमिङले पनि गम्भीर रूपमा यसरी प्रत्युत्तर दिन्छ, “परमेश्वरमा विश्वास राख्नु राम्रो हो। परमेश्वरमा विश्वास गर्ने मानिसले अरूलाई हेप्दैन, उसमाथि विपत्ति आइपर्दैन, ऊ स्वर्ग जान सक्छ, र मरेपछि उसलाई नरकमा पठाइने छैन।” के सियाओमिङ सही हो? यति कलिलो उमेरमा सियाओमिङले यस्तो भन्न सक्नु निकै राम्रो हो। परमेश्वरमाथिको विश्वासबारे उसको बुझाइ निकै सरल छ, यो प्राथमिक र अति नै सतही छ, तर उसका निम्ति यसले गहन अर्थ राख्छ। यो सुनेर डेमिङ निकै खुसी हुन्छ र ढुक्क महसुस गर्छ, अनि भन्छ, “स्याबास् सियाओमिङ, तिमीले प्रगति गरेका छौ। तिमीले परमेश्वरमाथि विश्वास गर्नुको केही आधार छ भन्ने देखिन्छ। तिम्रो बाबु निकै खुसी र ढुक्क छ। तर परमेश्वरमाथि विश्वास गर्नु के साँच्चै यति सरल छ र?” सियाओमिङ केही समय घोरिन्छ अनि भन्छ, “परमेश्वरको वचनले यही त भन्छ नि, हैन र? अरू के कुरा छ र?” डेमिङले तुरुन्तै जवाफ दिन्छ, “परमेश्वरका मागहरू यति मात्र होइनन्। तिमीले परमेश्वरमा यति लामो समयदेखि विश्वास गरेका छौ, अनि दाजुभाइ दिदीबहिनीहरू भेट्न आउँदा तिमी उहाँहरूलाई अभिवादन गर्न समेत जान्दैनौ। अबदेखि तिमीले बूढापाकाहरूलाई भेट्दा उहाँहरूलाई हजुरबुबा अनि हजुरआमा भनेर सम्बोधन गर्नू; अधबैँसेहरूलाई भेट्दा उहाँहरूलाई अङ्कल, आन्टी वा दाजु अनि दिदी भनेर बोलाउनू। यसरी तिमी सबैको प्रिय बालक बन्नेछौ—अनि सबैको प्रिय बालकलाई मात्र परमेश्वरले मन पराउनुहुन्छ। अबदेखि, मेरो कुरा सुन अनि मैले भनेजस्तै गर; मैले कसैलाई जसरी सम्बोधन गर्नु भन्छु, तिमी त्यसरी नै सम्बोधन गर्नु है।” सियाओमिङले आफ्नो बाबुले भनेको कुरा मनमा राख्छ, उसले आफ्नो बाबुले भनेको कुरा सही हो भनेर सोच्छ। उसको कलिलो हृदयमा उसले के विश्वास गर्छ भने, उसको बाबु ऊभन्दा पाको हुनुहुन्छ, परमेश्वरका वचनहरू पनि धेरै पढ्नुभएको छ, अनि आफूले भन्दा धेरै कुरा जान्नुभएको छ। अझै, उसका बाबुले उसको सर्वोत्तम हितलाई ध्यानमा राख्नुहुन्छ र गलत बाटोमा अवश्य डोर्याउनुहुन्न, त्यसैले उसको बाबुले भनेको जुनै कुरा पनि सही नै हुनुपर्छ। सियाओमिङले सत्यता के हो अनि धर्मसिद्धान्त के हो भन्ने कुरा बुझ्दैन तर कम्तीमा पनि उसले असल र खराब, सही र गलत के हो भन्ने कुरा जान्दछ। उसको बाबुले बोलिसकेपछि, यस विषयबारे सियाओमिङमा पनि अलिकति बोझ विकास हुन्छ। त्यस बेलादेखि, सियाओमिङ उसको बाबुसित कहीँ कतै गएको बेला कसैसँग भेट हुँदा उसको बाबुले कसैलाई “आन्टी” भन भन्छ भने ऊ “नमस्कार आन्टी” भन्छ, कसैलाई “अङ्कल” भन भन्छ भने, ऊ “नमस्कार अङ्कल” भन्छ। सबै मानिसहरूले सियाओमिङलाई शिष्ट आनीबानी भएको असल बच्चा भनेर खुब प्रशंसा गर्छन्, अनि उसको राम्रो पालनपोषण गरेकोमा डेमिङको पनि निकै तारिफ गर्छन्। सियाओमिङ निकै खुसी हुन्छ, उसले मनमनै सोच्छ, “बुबाको निर्देशन राम्रो छ, भेट्ने जति सबैले मलाई मन पराउँछन्।” आफ्नो बुबाले उसलाई साँच्चै नै असल र सही तरिकाले मार्गनिर्देशन गर्दै हुनुहुन्छ भनेर सियाओमिङ भित्रभित्रै मक्ख पर्छ अनि निकै गर्व महसुस गर्छ।
एक दिन, सियाओमिङ स्कूलबाट घर फर्कने बित्तिक्कै आफ्नो बुबाकहाँ जान्छ अनि भन्छ, “बुबा, तपाईँलाई थाह छ, के भयो? पल्लो घरका झाङ बूढाले कत्रो माछा—” उसको कुरा टुङ्गिनअघि नै डेमिङले बीचैमा भन्छ: “‘झाङ बूढा’ रे? सियाओमिङ, तिमीले कसरी यस्तो भन्न सकेको? तिमी अझै पनि विश्वासी हौ कि होइनौ? तिमी कसरी उहाँलाई ‘झाङ बूढा’ भन्न सक्छौ? मैले तिमीलाई के भनेको थिएँ, तिमीले बिर्स्यौ, वास्तवमा तिमीलाई परमेश्वरमा विश्वासै छैन रहेछ, तिमी साँचो विश्वासी होइनौ। हेर, मलाई याद छ; म तिमीलाई मदत गर्न र सम्झाउन सक्छु। तिमीले उहाँलाई हजुरबुबा झाङ भनेर बोलाउनुपर्छ, बुझ्यौ?” सियाओमिङ सोच्न थाल्छ: “उनलाई हजुरबुबा झाङ भनेर केही बिग्रँदैन।” उसले अझ भन्छ, “अनि पल्लो घरका हजुरबुबा झाङले यत्ति ठूलो माछा पक्रनुभएको छ! बुढी हजुरआमा झाङ त कत्ति खुसी हुनुभयो!” “तिमीले फेरि बिर्स्यौ?” डेमिङ भन्छ। “तिमीले अझै बुझेका छैनौ, केटा। मैले तिमीलाई भर्खरै भनेँ त, तिमीले उहाँलाई हजुरबुबा झाङ भनेर बोलाउनुपर्छ; त्यसको मतलब, त्यही उमेरकी उहाँकी श्रीमतीलाई के भनेर बोलाउनु पर्छ? उहाँलाई हजुरआमा झाङ भन्नुपर्छ। यो कुरा सम्झिराख्नू; तिमी कहिल्यै पनि झाङ बुढा वा झाङ बुढी नभन्नू, नत्र मानिसहरू हामीमाथि हाँस्नेछन्। यस्तो भयो भने, त्यो हाम्रा लागि विश्वासीका रूपमा कत्ति लाजमर्दो कुरो हुनेछ, हैन र? तिनीहरूले हामी अशिष्ट र अभद्र छौँ, विश्वासीजस्ता पनि छैनौँ भनेर भन्नेछन्। यसले परमेश्वरलाई महिमित तुल्याउँदैन।” सुरुमा त सियाओमिङ झाङ बूढाले पक्रेको ठूलो माछाबारे आफ्नो बुबालाई बताउन निकै उत्सुक थियो, तर आफ्नो बुबाले सुधार गरेपछि भने उसको चासो नै हराउँछ र यसबारे कुरा गर्न मनै गर्दैन। ऊ आफ्नो झोला बोकेर फनक्क फर्किन्छ, अनि हिँड्दै लाग्दा गुनगुन गर्दै भन्छ: “हजुरबुबा झाङ, हजुरआमा झाङ भन्दैमा सबै कुरा तपाईँलाई मात्र थाहा भएको जस्तो। हामीलाई यसको के मतलब? तपाईँ मात्रै आध्यात्मिक मानिस जस्तो!” डेमिङले जवाफ दिन्छ: “अँ, हो, म वास्तवमै आध्यात्मिक छु! अधिकांश मानिसहरूको हकमा, तिनीहरू जतिसुकै बुढो भए पनि, म तिनीहरूको उमेर हेरेरै तिनीहरू कत्ति जेठा छन् भनेर बताउन सक्छु, अनि तिनीहरूलाई कसरी सम्बोधन गर्नुपर्छ भनेर जान्दछु। म पाका मानिसहरूलाई अङ्कल र आन्टी भन्छु—तिमी किन सही रूपमा सम्बोधन गर्न पनि सक्दैनौ? विश्वासीका रूपमा, हामीले यो कुरा बिर्सनु हुँदैन; उमेरको हिसाबले लगाउनुपर्ने साइनोलाई हामीले गडबड गर्न मिल्दैन।” यस्तो झपार खाएपछि सियाओमिङलाई पटक्कै राम्रो लाग्दैन, तैपनि भित्रभित्रै उसलाई अझै पनि आफ्नो बुबा सही हो भन्ने लाग्छ; उनले गर्ने जुनै काम पनि सही छ भन्ने लाग्छ, अनि आफूलाई मन नलागे पनि आफू गलत छु भनी स्विकार्छ। त्यसयता, उसले झाङ बुढा र झाङ बुढीलाई जतासुकै भेटे पनि ऊ तिनीहरूलाई हजुरबुबा झाङ र हजुरआमा झाङ भनेर बोलाउँछ। आफ्नो बुबाले सिकाएका र मनमा हालिदिएका सबै कुरालाई सियाओमिङले मनमा राख्छ। यो राम्रो कुरो हो कि नराम्रो कुरो? अहिलेसम्म त यो राम्रै कुरा जस्तो देखिन्छ, हैन र?
एक दिन सियाओमिङ र उसको बुबा टहल्न निस्कन्छन् र उनीहरूले एउटा छिप्पट सुँगुर्नी आफ्ना पाठाहरूको बथानलाई डोऱ्याउँदै गइरहेको देख्छन्। त्यस सुँगुर्नी र पाठाहरूबीच निकै घनिष्ठ सम्बन्ध हुन्छ। सियाओमिङले सोच्छ, परमेश्वरले सृष्टि गर्नुभएका सबै कुराहरू असल छन्; चाहे त्यो सुँगुर होस् वा कुकुर नै किन नहोस्, तिनीहरू सबैमा मातृ नैसर्गिक प्रवृत्ति छ र त्यसको सम्मान गरिनुपर्छ। यस पटक, सियाओमिङ अभद्र र अशिष्ट पाराले त्यसलाई “बुढी सुँगुर्नी” भनेर बोलाउँदैन। गल्ती होला अनि आफ्नो बुबालाई रिस उठ्ला भन्ने डरले उसले बिस्तारै सोध्छ, “बुबा, यो आमा सुँगुरको उमेर कति हो? यसले यति धेरै पाठाहरू जन्माइसकी, यसलाई म के भनेर बोलाऊँ?” डेमिङले केही बेर सोचेर भन्छ, “यसलाई के भनेर बोलाउने? यो भन्न अलि गाह्रो छ।” आफ्नो बुबा उत्तर नदिई विचारमा डुबेको देखेर सियाओमिङले गुनासो गर्छ: “तपाईँले यति धेरै परमेश्वरका वचनहरू पढ्नुभएको होइन र? तपाईँ त मभन्दा पाको हुनुहुन्छ; तपाईँलाई यति पनि कसरी थाहा नभएको?” सियाओमिङको कुरा सुनेर उत्तेजित भएपछि डेमिङ अलि बेचैन हुन्छ र भन्छ: “त्यसलाई हामीले ‘हजुरआमा’ भने कसो होला?” सियाओमिङले सुँगुरलाई बोलाउनअघि नै डेमिङले फेरि सोच्छ र भन्छ, “हामी त्यसलाई हजुरआमा भनेर बोलाउन सक्दैनौँ; त्यसो भन्यौँ भने त त्यो पनि तिम्रो आमापट्टिको हजुरआमाकै दौँतरी हुने भई त, हैन त? त्यसलाई सुँगुर्नी हजुरआमा भन्नु त झन् खतम हुनेछ, त्यसो भन्दा त त्यो मेरै आमाको दौँतरी हुनेछे। त्यसले धेरै बच्चा जन्माएकीले हामी त्यसको पहिचान र हैसियतलाई बेवास्ता गर्न मिल्दैन, अनि हामी त्यसको वरिष्ठताबारे पनि गलत हुन मिल्दैन। हामीले त्यसलाई ‘सुँगुर्नी आन्टी’ भन्नुपर्छ।” यो सुनेर सियाओमिङ त्यस सुँगुर्नीतर्फ आदरपूर्वक झुक्छ अनि “सुँगुर्नी आन्टी, नमस्कार” भन्दै बोलाउँछ। त्यो सुँगुर्नी झसङ्ग हुन्छे, अनि त्यो र त्यसका पाठाहरू तर्सेर भाग्छन्। यो देखेर सियाओमिङ कतै आफूले गलत साइनो त लगाइनँ भन्दै सोच्न थाल्छ। डेमिङले भन्छ, “त्यो सुँगुर्नी पक्कै पनि खुसी र प्रसन्न भएको हुनुपर्छ, अनि त यस्तो प्रतिक्रिया देखायो। भविष्यमा पनि यस्तै परिस्थिति आइपऱ्यो भने, अरूले जे भने पनि वा जे गरे पनि हामीले यस्तै व्यवहार गरिरहनुपर्छ। शिष्ट हुनू अनि सामाजिक संस्कारहरू मान्नू; यो देखेर सुँगुरहरू पनि खुसी हुनेछन्।” यस कुराबाट सियाओमिङले केही नयाँ कुरा सिक्छ। उसले के सिक्छ? ऊ भन्छ, “परमेश्वरले सबै कुरा सृष्टि गर्नुभयो; सबै प्राणीले एक अर्कालाई आदर गरे भने, शिष्ट भए भने, ज्येष्ठतालाई बुझे भने, अनि बूढापाकाहरूलाई सम्मान र सानाहरूलाई माया गरे भने, सबै प्राणीहरू सौहार्दपूर्वक सह-अस्तित्वमा रहन सक्छन्।” सियाओमिङले अब यो धर्मसिद्धान्त बुझ्छ। यो सुनेर उसको बुबाले सियाओमिङ अब त सिकाएको कुरो राम्ररी बुझ्ने केटो भइसक्यो भनेर प्रशंसा गर्छ। त्यसपछि सियाओमिङ पहिलाभन्दा झनै सभ्य र शिष्ट हुन्छ। ऊ जहीँ गए पनि उसको आनीबानी भद्र हुन्छ अनि ऊ अरूभन्दा अलग देखिन्छ। के ऊ “असल केटो” होइन र? ऊ उद्धरण चिन्हभित्रको “असल केटो” हो। अनि कथा यतिमै टुङ्गिन्छ।
तिमीहरूलाई यो कथा कस्तो लाग्यो? यो निकै रमाइलो छ, होइन र? यो कथा कसरी बन्यो? यो वास्तविक जीवनमा मानिसहरूको बोली, कार्य, व्यवहार, विचार, र दृष्टिकोणबाट लिइएको हो—त्यसैलाई यो लघुकथामा संक्षेपीकरण गरिएको थियो। यो कथाले कुन विषयबारे कुरा गरिरहेको छ? कथामा तिमीहरूले डेमिङमा के-कस्ता समस्याहरू पाउन सक्छौ? सियाओमिङको बारेमा नि? डेमिङको समस्याको सार के हो? सबैभन्दा पहिले, यसबारे सोच: के डेमिङले संक्षेपण र अभ्यास गरेको कुनै अंश सत्यतासँग मिल्दोजुल्दो थियो? (थिएन।) त्यसोभए उसले के अभ्यास गरिरहेको थियो त? (धारणा र कल्पनाहरू।) यी धारणा र कल्पनाहरू कहाँबाट आए? (परम्परागत संस्कृतिबाट।) जड त परम्परागत संस्कृति हो; उसका धारणा र कल्पनाहरू परम्परागत संस्कृतिको संक्रमण, प्रभाव र शिक्षाका उपज थिए। उसले आफूले विश्वास गरेको कुरा सबैभन्दा राम्रो, सबैभन्दा सकारात्मक, परम्परागत संस्कृतिका सर्वोत्कृष्ट तत्त्वहरू ग्रहण गऱ्यो, तिनलाई अर्कै स्वरूपमा प्रस्तुत गऱ्यो, र तिनलाई आफ्नो छोराले अभ्यास गर्नका लागि आफूले सत्यता भनेर विश्वास गरेको कुरामा परिणत गऱ्यो। के यो कथालाई स्पष्ट र बुझ्न सजिलो मान्न सकिन्छ? (सकिन्छ।) तिमीहरूले यो कथा सुनेर के बुझ्यौ र के बोध गर्न सक्यौ, आफ्नो विचार बाँड। (कथा सुनेपछि, मलाई डेमिङको समस्या के लाग्यो भने, उसले परमेश्वरमा विश्वास गरे तापनि परमेश्वरका वचनहरूमा कहिल्यै मेहनत लगाएन। उसले मानिसहरूका परम्परागत धारणाहरूका आधारमा परमेश्वरमा विश्वास गऱ्यो, अनि यी सतही मान्यताहरू पालन गर्यो भने परमेश्वर सन्तुष्ट हुनुहुनेछ भन्ने सोच्यो। परमेश्वर वास्तवमा मानिसहरूबाट के माग गर्नुहुन्छ र कसरी एक सामान्य मानवतामा बाँच्नुपर्छ भन्ने कुरामा उसले परमेश्वरका वचनहरूभित्रबाट खोजी वा मनन गरेन।) डेमिङ के को आधारमा बाँचिरहेको थियो? (धारणा र कल्पनाहरू।) धारणा र कल्पनाहरूअनुसार बाँच्नु खोक्रो वाक्यांश हो; वास्तवमा ऊ परम्परागत संस्कृतिअनुसार बाँचिरहेको थियो, र उसले परम्परागत संस्कृतिलाई नै सत्यताका रूपमा लिन्थ्यो। ऊ परम्परागत संस्कृतिअनुसार बाँचिरहेको थियो—यसमा के कस्ता कुराहरू संलग्न छन्? ऊ सियाओमिङले मानिसहरूलाई खास साइनोहरू लगाएर सम्बोधन गरोस् भनेर किन चाहन्थ्यो? (भन्न त उसले यी असल कामहरूमार्फत परमेश्वरलाई महिमित तुल्याउनका लागि गरेको हो भनेर भन्यो, तर वास्तवमा, ऊ आफ्नै अभिमानलाई सन्तुष्ट पार्न, आफ्नो बच्चालाई राम्रोसँग शिक्षा दिन सकेकोमा प्रशंसा बटुल्न चाहन्थ्यो।) हो, उसको अभिप्राय यही थियो। उसको शिक्षा आफ्नो बच्चालाई परमेश्वरका वचन र सत्यता बुझाउनका निम्ति थिएन; बरु आफ्नो बच्चालाई यस्तो गर्न लगाएर आफ्नै महिमा बढाउनका निम्ति थियो, आफ्नो व्यक्तिगत अभिमानलाई सन्तुष्ट पार्नका निम्ति थियो। यो पनि एउटा समस्या हो। कसैले आनीबानीमार्फत आफूलाई सजिसजाउ गरेर खोल ओडाउनुमा मात्रै ध्यान दिनुमा केही समस्या छ? (छ।) यसले ऊ हिँडिरहेको बाटोमा समस्या छ भन्ने सङ्केत गर्छ, र यो सबैभन्दा गम्भीर समस्या हो। सधैँ आफ्नो व्यवहारको सजावटमा ध्यान केन्द्रित गर्नुको उद्देश्य के हो? यो मानिसहरूको प्रशंसा बटुल्न, मानिसहरूलाई आफ्नो चापलुसी गर्ने तुल्याउन र वाहवाही पाउन हो। यसको प्रकृति कस्तो छ? यो पाखण्ड हो, यो फरिसीहरूको दृष्टिकोण हो। जो बाहिरी आनीबानी राम्रो बनाउनमा ध्यान केन्द्रित गर्छन्, जो आफ्नो व्यवहारलाई सजावट गर्नमा ध्यान केन्द्रित गर्छन्, जसले आफ्नो व्यवहारमा धेरै मेहनत लगाउँछन्—के तिनीहरूले सत्यता बुझ्छन्? (बुझ्दैनन्।) तिनीहरूले परमेश्वरका धेरै वचनहरू पढ्छन् र धेरै मेहनत पनि लगाउँछन्, तैपनि तिनीहरू किन सत्यता बुझ्दैनन्? तिनीहरूले परमेश्वरको व्यवस्थापन र मानवजातिको मुक्तिले मानिसहरूलाई सत्यता बुझ्न लगाउने, मानिसहरूलाई सिद्ध पार्ने र तिनीहरूको स्वभावमा परिवर्तन ल्याउने उद्देश्य राख्छन् भनेर बुझ्दैनन्—तिनीहरूले यो बुझ्दैनन्। तिनीहरू सोच्छन्, “मैले परमेश्वरको वचन जसरी पढे पनि मानिसहरू सजिलै सहमत हुने, तिनीहरूले कदर गर्ने, स्याबासी दिने कुनै भाषण, कार्य र व्यवहारको सारांश निकाल्नेछु, अनि फेरि म यी नै कुराहरूअनुसार जिउनेछु र वास्तविक जीवनमा यसलाई दह्रोसँग पालन गर्नेछु। एक साँचो विश्वासीले गर्नुपर्ने पनि यही हो।”
के तिमीहरूको पनि डेमिङका जस्तै समस्याहरू छन्? अहिले भर्खरै छलफल गरेका प्रस्ट कुराहरू, जस्तै सामाजिक मान्यताहरू पालना गर्ने, ज्येष्ठतालाई ध्यान दिने, ठूलालाई आदर र सानालाई माया गर्ने, अनि वृद्ध र युवाहरूमाझ उचित व्यवस्था कायम गर्ने कुराहरूबाहेक, यस्ता अन्य व्यवहार, विचार, दृष्टिकोण वा बुझाइहरू पनि छन् कि? के तिमीहरू आफै यी मुद्दाहरू खोतल्न र चिरफार गर्न जान्दछौ? उदाहरणका लागि, मण्डलीमा, यदि कोही आफूभन्दा जेठो छ वा उसले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेको छ भने, तिमीहरू सधैँ उसलाई इज्जत दिन चाहन्छौ। उनीहरूले बकवास कुरा गर्दा पनि तिमीहरू उनीहरूलाई आफ्नो कुरा सक्काउन दिन्छौ, बीचैमा रोक्दैनौ, अनि कुनै गलत काम गरेकोमा उनीहरूलाई काटछाँट गर्नुपर्ने आवश्यकता पर्दा पनि, उनीहरूको कार्य जति नै अनुचित वा भयानक भए पनि, सबैले उनीहरूलाई क्षमा दिनुपर्छ र उनीहरूलाई सहन गर्नुपर्छ भन्ने सोचेर तिमीहरू अझै उनीहरूको इज्जत बचाउने प्रयास गर्छौ र अरूको अगाडि उनीहरूको आलोचना गर्दैनौ। तिमीहरू अक्सर अरूलाई पनि सिकाउँछौ: “हामीले वृद्धहरूलाई इज्जत दिनुपर्छ र उनीहरूको प्रतिष्ठामा आँच पुऱ्याउनु हुँदैन। हामीहरू उनीहरूभन्दा कान्छा हौँ।” यो “कान्छो” शब्द कहाँबाट आयो? (परम्परागत संस्कृतिबाट।) यो परम्परागत सांस्कृतिक विचारबाट लिइएको हो। यसका साथै, मण्डलीमा एक निश्चित वातावरण बनाइएको छ, जसअनुसार मानिसहरूले आफूभन्दा ज्येष्ठ दाजुभाइ दिदीबहिनीहरूलाई भेट्दा उनीहरूलाई “ठूल्दाइ,” “ठूल्दिदी,” “आन्टी,” वा “जेठा दाइ” भनेर न्यानो रूपमा सम्बोधन गर्छन्, यस्तो लाग्छ सबैजना एउटा ठूलो परिवारको हिस्सा हो; यी वृद्ध व्यक्तिहरूलाई अतिरिक्त सम्मान देखाइन्छ, जसले अनजानमै अरूको मनमा युवाहरूप्रति राम्रो छाप छोड्छ। परम्परागत संस्कृतिका यी तत्त्वहरूले मण्डलीको वातावरणलाई नै निरन्तर फैलाउने र आकार दिने हदसम्म चिनियाँ जनताको मन-मस्तिष्कमा गहिरो जरा गाडेका छन्। मानिसहरू प्रायः यी अवधारणाहरूद्वारा बाँधिएका र नियन्त्रित भएकाले, तिनीहरू व्यक्तिगत रूपमा त्यसको समर्थन, यस दिशामा कार्य गर्न र अभ्यास गर्न कडा परिश्रम गर्ने मात्र नभई अरूलाई पनि सँगसँगै पछ्याउन निर्देशन दिँदै यस्तै गर्न स्वीकृति दिन्छन्। परम्परागत संस्कृति सत्यता होइन; यो निश्चित छ। तर यो सत्यता होइन भनेर मानिसहरूले केवल थाहा पाउनु पर्याप्त छ? यो सत्यता होइन भन्नु एउटा पक्ष हो; हामीले यसलाई किन चिरफार गर्नुपर्छ? यसको जड के हो? समस्याको सार कहाँ छ? यी कुराहरूलाई कसरी त्याग्न सकिन्छ? परम्परागत संस्कृतिको चिरफार गर्नुको उद्देश्य यस पक्षको सिद्धान्त, विचार र दृष्टिकोणका बारेमा तेरो हृदयको गहिराइमा नयाँ बुझाइ प्रदान गर्नु हो। यी पूर्णतया नयाँ बुझाइ कसरी प्राप्त गर्न सकिन्छ? पहिलो कुरा त, परम्परागत संस्कृति शैतानबाट उत्पन्न हुन्छ भनेर तैँले जान्नुपर्छ। अनि शैतानले मानिसहरूमा परम्परागत संस्कृतिका यी तत्त्वहरू कसरी रोपिदिन्छ? हरेक युगमा शैतानले केही प्रसिद्ध व्यक्तित्वहरू र महान् व्यक्तिहरूलाई प्रयोग गरेर यी विचारहरू, यी तथाकथित भनाइहरू र सिद्धान्तहरू फैलाउने गर्दछ। त्यसपछि, बिस्तारै, यी विचारहरू व्यवस्थित र मूर्त बन्छन्, मानिसहरूको जीवनको झन्-झन् नजिक आउँछन्, र अन्ततः ती मानिसहरूमाझ व्यापक हुन्छन्; बिस्तारै बिस्तारै यी शैतानी विचारहरू, भनाइहरू र सिद्धान्तहरूलाई मानिसहरूको दिमागमा बसाइन्छ। यी विचारहरू मनमा घुसाइएपछि मानिसहरू शैतानबाट आएका यी विचारहरू र सिद्धान्तहरूलाई आफूले अभ्यास र पालना गर्नुपर्ने सबैभन्दा सकारात्मक चीजहरू ठान्ने गर्छन्। त्यसपछि शैतानले मानिसहरूको दिमागलाई कैद गर्न र नियन्त्रण गर्न यी चीजहरू प्रयोग गर्दछ। अहिलेसम्म पुस्तौँ पुस्तालाई यस्ता परिस्थितिमा शिक्षित पारिएको, अनुकूलन गरिएको र नियन्त्रित गरिएको छ। यी सबै पुस्ताले परम्परागत संस्कृति सही र राम्रो हो भन्ने विश्वास गरेका छन्। कसैले पनि यी तथाकथित असल र सही चीजहरूको उत्पत्ति वा स्रोतलाई चिरफार गर्दैन—यसले गर्दा नै समस्या गम्भीर बन्ने हो। धेरै वर्षदेखि परमेश्वरका वचनहरू पढेका केही विश्वासीहरूले समेत अझै पनि यी सही र सकारात्मक कुराहरू हुन् भनी सोच्छन्, उनीहरू यसले सत्यतालाई प्रतिस्थापन गर्न सक्छ, परमेश्वरका वचनलाई प्रतिस्थापन गर्न सक्छ भन्ने हदसम्म विश्वास गर्छन्। अझै भन्नुपर्दा, कसै-कसैले सोच्ने गर्छन्, “मानिसहरूका बीचमा बसेर हामीले जतिसुकै परमेश्वरका वचनहरू पढे तापनि, तथाकथित परम्परागत विचारहरू र संस्कृतिका परम्परागत तत्त्वहरू—तीन आज्ञाकारिता र चार सद्गुणहरू, साथै परोपकार, धार्मिकता, सद्व्यवहार, बुद्धि र विश्वसनीयता जस्ता अवधारणाहरू—खारेज गर्न सकिँदैन। किनभने ती हाम्रा पुर्खाहरूबाट हस्तान्तरण हुँदै आएका हुन्, जो ऋषिहरू थिए। हामी परमेश्वरमा विश्वास गर्छौँ भन्दैमा हाम्रा पुर्खाहरूको शिक्षाको विरुद्धमा जान सक्दैनौँ, र हामी हाम्रा पुर्खाहरू र ती प्राचीन ऋषिहरूको शिक्षालाई हेरफेर गर्न वा त्याग्न सक्दैनौँ।” यस्ता विचार र सचेतना सबै मानिसको हृदयमा हुन्छ। अनजानमा, तिनीहरू सबै अझै पनि परम्परागत संस्कृतिका यी तत्त्वहरूको नियन्त्रण र बन्धनमा छन्। उदाहरणका लागि, जब कुनै बच्चाले तँलाई बीस वर्ष नाघेको सम्झेर “अङ्कल” भनी बोलाउँछ, तब तँ खुसी र सन्तुष्ट हुन्छस्। यदि उसले तँलाई सीधै नामले सम्बोधन गर्छ भने, तँ असहज महसुस गर्छस्, यो बच्चा त अशिष्ट छ र यसलाई झपार्नुपर्छ भन्ने सोच्छस्, र तेरो मनोवृत्ति परिवर्तन हुन्छ। वास्तवमा, उसले तँलाई अङ्कल भनोस् वा तेरो नामै काढेर बोलाओस्, यसले तेरो निष्ठामा कुनै आँच आउँदैन। त्यसोभए उसले तँलाई अङ्कल भनी सम्बोधन नगर्दा तँ किन दुखी हुन्छस्? किनभने तँ परम्परागत संस्कृतिको प्रभुत्व र प्रभावमा परेको छस्; यसले तेरो दिमागमा पहिले नै जरा गाडिसकेको छ अनि मानिसहरू, घटनाहरू र चीजहरू, साथै सबै चीजहरूको मूल्याङ्कन र न्याय गर्नका लागि यही नै सबैभन्दा आधारभूत मानक बनिसकेको छ। तेरो मापदण्ड नै गलत छ भने, तेरा कार्यहरूको प्रकृति सही हुन सक्छ र? अवश्यै सक्दैन। यदि सत्यताका आधारमा मापन गरिने हो भने, तैँले यो मामिलालाई कसरी सम्हाल्नेछस्? अरूले तँलाई के भनेर बोलाउँछन्, तँ मतलब राख्छस्? (राख्दिनँ।) उनीहरूले तेरो अपमान वा बेइज्जत नगरेसम्म तँ मतलब राख्दैनस्—यस्तो अवस्थामा त तँ पक्कै पनि असहज महसुस गर्नेछस्; यो मानवताको सामान्य अभिव्यक्ति हो। यद्यपि, यदि तेरो मापनको मापदण्ड परमेश्वरका वचन, सत्यता, वा परमेश्वरबाट आएको संस्कृति हो भने, मानिसहरूले तँलाई तेरो नामै काढेर बोलाउन् वा “अङ्कल” वा “दाइ,” जे भनेर बोलाऊन्, तैँले अवश्य नै कुनै प्रतिक्रिया देखाउने छैनस्। यस मामिलामा, तँ स्थानीय प्रचलन पालन गर्न सक्छस्। उदाहरणका लागि, चीनमा जब कसैले तँलाई “अङ्कल” भनेर बोलाउँछ, त्यतिबेला तँ आफूलाई आदरभाव देखाइएको महसुस गर्छस्। तर यदि तँ पश्चिमी देशमा गइस् र कसैले तँलाई “अङ्कल” भनी बोलायो भने, तैँले अप्ठ्यारो महसुस गर्नेछस्; तँ आफूलाई नामै काढेर बोलाएको रुचाउँछस्, यसलाई सम्मानको रूपमा हेर्नेछस्। चीनमा, यदि तँभन्दा धेरै कान्छोले तँलाई तेरो नाम काढेर बोलायो भने, उसले तेरो ज्येष्ठताको ख्यालै नगरेको महसुस गर्दै तँ धेरै दुःखी हुनेछस्; तँ धेरै अपमानित महसुस गर्नेछस्, र तँ रिसाउनेछस् र त्यस व्यक्तिको निन्दा समेत गर्नेछस्। के यसले यसप्रकारको सोचाइमा समस्या छ भनेर देखाउँदैन र? मैले बताउन खोजेको समस्या यही हो।
प्रत्येक देश र प्रत्येक जातिको आ-आफ्नै परम्परागत संस्कृति हुन्छ। के हामी सबै परम्परागत संस्कृतिको आलोचना गर्छौँ? एउटा यस्तो संस्कृति छ, जसको हामीले आलोचना गर्नु हुँदैन। त्यो कुन संस्कृति हो, भन्न सक्छौ? म एउटा उदाहरण दिनेछु। परमेश्वरले आदमलाई सृष्टि गर्नुभयो; आदमको नाम राख्ने को थियो? (परमेश्वर।) त्यसोभए, परमेश्वरले मानवजातिलाई सृष्टि गर्नुभयो, र तिनीहरूसँग अन्तरक्रिया गर्दा उहाँले मानिसहरूलाई कसरी सम्बोधन गर्नुहुन्छ? (तिनीहरूको नाम काढेर।) ठीक भन्यौ, उहाँले तिनीहरूलाई तिनीहरूको नाम काढेर बोलाउनुहुन्छ। परमेश्वरले तँलाई एउटा नाम दिनुहुन्छ, र परमेश्वरको नजरमा यो नामको अर्थ छ; यसले एक पदनाम, एक उपाधिको काम गर्दछ। जब परमेश्वरले तँलाई एक पदनाम दिनुहुन्छ, उहाँले तँलाई त्यही पदनामद्वारा बोलाउनुहुन्छ। के यो सम्मानको एउटा रूप हैन र? (हो।) यो सम्मानको सबैभन्दा राम्रो रूप हो, यस्तो सम्मान जुन सत्यतासँग सबैभन्दा मिल्दो छ र सबैभन्दा सकारात्मक छ। यो नै मानिसहरूलाई आदर गर्ने मानक हो, र यो परमेश्वरबाट आउँछ। के यो एक प्रकारको संस्कृति हैन र? (हो।) के हामीले यो संस्कृतिको वकालत गर्नुपर्छ? (गर्नुपर्छ।) यो परमेश्वरबाट आएको हो; परमेश्वरले मानिसलाई सीधै उसको नाम काढेर बोलाउनुहुन्छ। परमेश्वरले तँलाई एउटा नाम दिनुहुन्छ, एउटा पदनाम दिनुहुन्छ, र त्यसपछि यो पदनामलाई तेरो प्रतिनिधित्व गर्न र तँलाई बोलाउन प्रयोग गर्नुहुन्छ। परमेश्वरले मानिसहरूसँग यसरी व्यवहार गर्नुहुन्छ। जब परमेश्वरले दोस्रो व्यक्ति सृष्टि गर्नुभयो, उहाँले ऊसित कस्तो व्यवहार गर्नुभयो? परमेश्वरले आदमलाई उसको नाम राख्न दिनुभयो। आदमले उसको नाम हव्वा राखे। के परमेश्वरले उसलाई यही नामले बोलाउनुभयो? उहाँले बोलाउनुभयो। त्यसैले, यो परमेश्वरबाट आएको संस्कृति हो। परमेश्वरले प्रत्येक सृजित प्राणीलाई एउटा पदनाम दिनुहुन्छ, र जब उहाँले त्यो पदनाम बोलाउनुहुन्छ, तब मानव र परमेश्वर दुवैलाई यो कसलाई उल्लेख गरिएको हो भनेर थाहा हुन्छ। यसलाई सम्मान भनिन्छ, यसलाई समानता भनिन्छ, मानिस विनम्र छ कि छैन, उसको मानवतामा मर्यादाको भाव छ कि छैन, त्यो मापन गर्ने मानक यही हो। के यो सटिक छ? (छ।) यो साँच्चै सटिक छ। बाइबलमा, चाहे यसले कुनै निश्चित घटनाको अभिलेख राखेको होस् वा परिवारको वंशावलीको, सबै पात्रहरूको नाम छ, तिनीहरूका पदनामहरू छन्। यद्यपि, तिमीहरूले एउटा कुरा याद गऱ्यौ कि गरेनौ, म निश्चित छैनँ: बाइबलले हजुरबुबा, हजुरआमा, अङ्कल, आन्टी, ठूलो बुबा, ठूली आमा, र यस्तै अन्य उपाधिहरू प्रयोग गर्दैन; यसले मानिसहरूको नाम मात्र प्रयोग गर्छ। यसबाट तिमीहरूले के पत्ता लगाउन सक्छौ? परमेश्वरले मानिसहरूका लागि जे तोक्नुभएको छ, चाहे ती नियमहरू होऊन् वा व्यवस्था, मानवीय हिसाबले मानिसहरूमाझ हस्तान्तरण हुँदै आएको एक प्रकारको परम्परा हो। अनि परमेश्वरबाट हस्तान्तरण भएको यो परम्परा के हो? यो त्यस्तो चीज हो, जुन मानिसहरूले पालन गर्नुपर्छ: ज्येष्ठताअनुसारको उपाधिहरूको आवश्यकता छैन। परमेश्वरको नजरमा, हजुरबुबा, हजुरआमा, ठूलो बुबा, काका, ठूली आमा, काकी जस्ता जटिल पारिवारिक उपाधिहरू छैनन्। मानिसहरू किन यी श्रेणीअनुसारका उपाधिहरू र पदवीहरूमा धेरै ध्यान दिन्छन्? यसको मतलब के हो? परमेश्वरले यी कुराहरूलाई सबैभन्दा धेरै घृणा गर्नुहुन्छ। यी कुराबारे किचकिच गरिरहने त सधैँ शैतानकै जातिका मानिस हुन्। यस परम्परागत संस्कृतिको सन्दर्भमा, परमेश्वरसँग जोडिएको एउटा अति नै वास्तविक तथ्य छ: परमेश्वरले सम्पूर्ण मानवजातिलाई सृष्टि गर्नुभयो, र एक व्यक्तिको कति परिवार र सन्तानहरू हुन सक्छन्, उहाँलाई स्पष्ट रूपमा थाहा छ; कुनै पदानुक्रमको आवश्यकता छैन। परमेश्वरले केवल फल्दैफुल्दै जान र आफ्नो परिवारलाई समृद्ध पार्न भन्नुहुन्छ—तैँले याद गर्नुपर्ने कुरा यत्ति हो। प्रत्येक पुस्ताका कति सन्तानहरू छन्, र ती सन्तानहरूका कति सन्तानहरू छन्—बस्, त्यति नै हो, पदानुक्रमको कुनै आवश्यकता छैन। पछिका पुस्ताहरूले आफ्ना पुर्खाहरू को थिए भनेर जान्न आवश्यक छैन, न त उनीहरूले कुनै पुर्ख्यौली भवन वा मन्दिर बनाउन नै आवश्यक छ, न त बलि चढाउन वा उनीहरूको आराधना गर्नै आवश्यक छ। बाइबलमा अभिलेख गरिएअनुसार परमेश्वरमा विश्वास गर्ने र उहाँलाई पछ्याउनेहरू, यहोवामा विश्वास गर्नेहरू सबैले वेदीको अगाडि भेटीहरू चढाउँछन्। परिवारका सबैजना परमेश्वरसामु आउँछन् र भेटीहरू चढाउँछन्। यो चिनियाँहरूभन्दा फरक छ, जहाँ प्रत्येक परिवारमा जिज्यू, बराज्यूहरूका स्मृतिमा खोपिएका पाटीहरूले भरिएको पुर्ख्यौली हल हुन्छ। परमेश्वरले पहिलो पटक आफ्नो काम सुरु गर्नुभएको ठाउँमा यी कुराहरू अस्तित्वमा छैनन्। तर, परमेश्वरको कामको स्थलबाट टाढा रहेका अन्य ठाउँहरू भने शैतान र दुष्ट आत्माहरूद्वारा नियन्त्रित हुन्छन्। यी बौद्धमार्गी देशहरूमा, यस्ता शैतानी अभ्यासहरू फस्टाउँछन्। त्यहाँ, मानिसहरूले आफ्ना पुर्खाहरूको आराधना गर्नैपर्छ, र सबै कुरा परिवारलाई रिपोर्ट गर्नैपर्छ, सबै कुरा परिवारका पुर्खाहरूकहाँ पुर्याउनैपर्छ; पुर्खाको खरानी अस्तित्वमा नरहे पनि, पछिका पुस्ताले धूप अर्पण गरेरै भए पनि शिर झुकाउनैपर्छ। आधुनिक समयमा, पश्चिमी र नयाँ विचारहरूको अझ धेरै सम्पर्कमा आएका र परम्परागत पारिवारिक बन्धन तोडेका केही व्यक्तिहरू यस्ता परिवारहरूमा रहिरहन चाहँदैनन्। तिनीहरू यस्ता परिवारहरूद्वारा निकै कडा र कठोर रुपमा नियन्त्रण गरिएको महसुस गर्छन्, जुनै पनि मामिलामा, विशेषगरी परिवारमा विवाहको कुरा उठ्दा बुढापाकाहरूले हस्तक्षेप गर्छन्। चीनमा, त्यस्ता चीजहरू प्रचलित छन्। शैतानले मानिसहरूलाई ज्येष्ठतामा ध्यान केन्द्रित गर्न लगाउँछ, र यो अवधारणालाई मानिसहरूले सजिलै स्वीकार गरेको देखिन्छ, तिनीहरू विश्वास गर्छन्: “हरेक पुस्ताको आ-आफ्नै श्रेणी हुन्छ; शीर्षमा भएकाहरू हाम्रा पुर्खाहरू हुन्। एकपटक ‘पुर्खा’ शब्द उल्लेख भएपछि मानिसहरूले घुँडा टेकेर देवतालाई जस्तै तिनीहरूको आराधना गर्नुपर्छ।” बाल्यकालदेखि नै, व्यक्तिलाई यसरी प्रभाव पारिएको र अनुकूलन गरिएको हुन्छ, अनि उसलाई परिवारमा यसरी हुर्काइएको हुन्छ; उसको कलिलो दिमागमा एउटै कुरा भरिएको हुन्छ: यो संसारमा परिवारबिना बाँच्न सकिँदैन, र परिवार त्याग्नु वा परिवारको बन्धनबाट मुक्त हुनु नैतिक रूपमा निन्दनीय अपराध हो। नैतिक रूपमा निन्दनीय अपराध भन्नाले केलाई इङ्गित गर्दछ? यसले के इङ्गित गर्छ भने, यदि तँ आफ्नो परिवारको कुरा सुन्दैनस् र तँ आमाबुबाप्रतिको कर्तव्य निर्वाह नगर्ने बच्चा होस्, र त्यस्तो बच्चा भन्नुको अर्थ तँ मानव होइनस्। त्यसकारण, अधिकांश मानिसहरूले यी पारिवारिक जन्जिरहरू तोड्ने साहस गर्दैनन्। चिनियाँहरू पदानुक्रमका साथै तीन आज्ञाकारिता र चार सद्गुणहरू, र तीन आधारभूत बन्धनहरू र पाँच स्थिर सद्गुणहरू जस्ता अवधारणाहरूद्वारा गम्भीर रूपले अनुकूलित, प्रभावित र नियन्त्रित भएका हुन्छन्। आफूभन्दा ठूलाहरूलाई अङ्कल, आन्टी, हजुरबा वा हजुरआमा भनेर सम्बोधन नगर्ने युवाहरूलाई प्रायः असभ्य र असंस्कारी भएको आरोप लगाइन्छ। यसको मतलब के हो? यसको मतलब तँलाई यस जातीय समूहमा, यो समाजमा निम्नस्तरको मानिन्छ, किनभने तँ सामाजिक मान्यताहरू पछ्याउँदैनस्, तँ संस्कारी छैनस्, अनि मूल्यहीन छस्। अरूहरूको पहिरन चिटिक्क हुन्छ, तिनीहरू स्वाङ पार्नमा निपुण हुन्छन्, र शिष्टता र शालीनका साथ बोल्छन्; तिनीहरू मधुर वाणी बोल्छन्, तर तँ भने कसैलाई अङ्कल वा आन्टी भनेर सम्बोधन पनि गर्न जान्दैनस्। मानिसहरूले तँलाई असंस्कारी भन्नेछन्, र तँलाई जहीँ पनि तुच्छ नजरले हेर्नेछन्। यो चिनियाँहरूको मनमा गाडिएको विचारधारा हो। मानिसहरूलाई कसरी सम्बोधन गर्ने भनेर थाहा नभएका केही बच्चाहरूलाई तिनीहरूका आमाबाबुले नराम्ररी गाली वा कुटपिट पनि गर्नेछन्। उनीहरूलाई पिट्दै गर्दा केही आमाबाबुहरूले भन्नेछन्, “तँ रूखो, मूल्यहीन र असंस्कारी छस्; म तँलाई नमरूञ्जेल पिट्छु! तँ मलाई लाजमा पार्नु बाहेक अरू केही जान्दैनस्, मलाई मानिसहरूको अगाडि लज्जित बनाउँछस्!” कुनै बच्चाले अरूलाई कसरी सम्बोधन गर्ने भनेर नजानेको कारणले गर्दा आमाबाबुले आफ्नो लाज बचाउन तिललाई पहाड बनाएर बच्चालाई नराम्रोसित कुट्छन्। यो कस्तो प्रकारको व्यवहार हो? यो सरासर वाहियात कुरा हो! मैले यसरी सङ्गति नगरेको भए, के तिमीहरूले यी कुराहरू महसुस गर्नेथियौ? के तिमीहरू वास्तविक जीवनमा देखिने घटनाहरूमार्फत, वा परमेश्वरका वचनहरू पढेर, वा आफ्नै अनुभवहरूद्वारा यी विषयहरूलाई बिस्तारै अनि अलि अलि गर्दै बुझ्न सक्छौ, र त्यसपछि जीवनको दिशा परिवर्तन गर्दै, आफू हिँडिरहेको दिशा मोड्न सक्छौ? यदि सक्दैनौ भने तिमीहरूमा अन्तर्दृष्टिको कमी छ। सबै मामिलाहरूमा, परमेश्वरका वचनहरू, परमेश्वरका कार्यहरू, र परमेश्वरका मागहरूलाई मापदण्डका रूपमा प्रयोग गर्नु नै सबैभन्दा सही दृष्टिकोण हो, यसमा एउटा पनि त्रुटि छैन—यो निस्सन्देह कुरो हो। शैतानबाट आउने कुनै पनि कुरा जतिसुकै मानवीय धारणा वा स्वादसँग मिल्दोजुल्दो भए पनि, जतिसुकै सभ्य देखिने भए पनि, त्यो सत्यता होइन तर बनावटी रूप हो।
यो कथा सुनाउनुको उद्देश्य तिमीहरूलाई ज्योति देख्न लगाउनु, सत्यता के हो, मानिसहरूले परमेश्वरमा विश्वास गरेर के प्राप्त गर्छन्, परमेश्वरले मानिसहरूलाई आफ्नो स्वभाव परिवर्तन गर्न अनि सत्यता प्राप्त गर्न लगाउनुको अर्थ के हो, अनि परमेश्वरद्वारा व्यक्त सत्यता र उहाँका मागहरू कुनै व्यक्तिले कल्पना गर्न सक्ने कुरा, व्यक्तिले राष्ट्रिय तथा सामाजिक वातावरणबाट पाउने शिक्षा र प्रभावद्वारा आउने विचार, दृष्टिकोण, र विभिन्न बुझाइहरूसित सम्बन्धित छन् कि छैनन् भनेर बुझाउनु हो। तिमीहरू सबैले यी मामिलाहरू आफैले पनि चिरफार गर्नुपर्छ। आज, हाम्रो उदाहरणले एउटा पक्षलाई मात्र समेटेको छ। वास्तवमा, प्रत्येक व्यक्तिको हृदयमा परम्परागत संस्कृतिका चीजहरूको कुनै कमी हुँदैन। केही मानिसहरू भन्छन्: “हामीले पदानुक्रमलाई खारेज गर्न खोज्दैछौँ, त्यसैले के मैले मेरा आमाबाबुलाई उनीहरूको नाम काढेर बोलाउन सक्छु?” के यो सही हो? यदि तिमीहरू आफ्नो आमाबाबुलाई आमा र बुबा भनेर सम्बोधन गर्छौ भने, के यसको मतलब तिमीहरू अझै पनि पदानुक्रमलाई पालन गरिरहेका र परम्परागत संस्कृतिमा फर्केका भन्न मिल्छ? मिल्दैन। आमाबाबुलाई जसरी बोलाइनुपर्ने हो, अझै पनि त्यसरी नै बोलाउनुपर्छ; उनीहरूलाई आमा र बुबा भनेर सम्बोधन गर्न लगाउनुभएको परमेश्वरले नै हो। उनीहरूलाई यसरी नै बोलाइनपर्ने हो; यो त तेरो आमाबाबुले तँलाई “बच्चा,” “छोरा” वा “छोरी” भनेर सम्बोधन गरेजस्तै हो। त्यसोभए मेरो यो कथाबाट मुख्यतः तिमीहरूले के बुझ्नुपर्ने हो? यसले मूलतः कुन मुद्दालाई सम्बोधन गरिरहेको छ? (कुनै कुराको मूल्याङ्कन गर्ने हाम्रो मानक परिवर्तन हुनैपर्छ; सबै कुरा परमेश्वरको वचन र आवश्यकताअनुसार मूल्याङ्कन गरिनुपर्छ।) त्यो सही हो। अन्धाधुन्ध आफैले कुराहरू नबनाओ। मानिसहरू सधैँ आफ्नो “सत्यता” आफै सिर्जना गर्न चाहन्छन्। जब तिनीहरूले केही गर्न चाहन्छन्, तिनीहरू तर्क र सिद्धान्तहरूको ठेली लिएर आउँछन्, र त्यसपछि विधिहरूको ठेली लिएर आउँछन्, अनि त्यो ठीक हो कि बेठीक भन्ने कुराको केही वास्ता नगरी यसलाई लागु गर्छन्। तिनीहरूले यो वर्षौँसम्म अभ्यास गर्छन्, यसले कुनै नतिजा ल्याए पनि नल्याए पनि त्यसैमा दृढतापूर्वक अडिग रहन्छन्, तर अझै पनि आफूहरूलाई परोपकारी, धर्मी र दयालु ठान्छन्। तिनीहरू सोच्छन्, तिनीहरू जुन जीवन जिइरहेका छन्, ती राम्रा छन्, र यसबाट तिनीहरूले प्रशंसा र वाहवाही बटुल्छन्, र अन्ततः तिनीहरू आफैलाई महान् सोच्न पुग्छन्। मानिसहरू कहिल्यै विचार गर्दैनन्, बुझ्ने प्रयास गर्दैनन्, वा प्रत्येक मामिलामा परमेश्वरका आवश्यकताहरू के हुन्, प्रत्येक कुरा गर्नका लागि कार्यका सिद्धान्तहरू के हुन्, र तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्ने प्रक्रियामा परमेश्वरको आज्ञाप्रति निष्ठा प्रदर्शन गरेका छन् कि छैनन् भन्ने कुराको खोजी गर्दैनन्। तिनीहरूले यी कुराहरू विचार गर्दैनन्; तिनीहरू ती बाङ्गाटिङ्गा र दुष्ट मामिलाहरूबारे मात्र सोच्छन्—के यो दुष्टतामा संलग्न हुनु होइन र? (हो।) जो बाहिरी रूपमा भद्र देखिन्छ, शिष्ट व्यवहार गर्छ, शिक्षित छ र सामाजिक मान्यताहरूको पालना गर्दछ, जो परोपकार, धार्मिकता, सद्व्यवहार, बुद्धि र विश्वसनीयताको कुरा गर्छ, र जो साहित्यिक भाषामा बोल्छ र मीठा-मीठा कुरा गर्छ—यस्तो व्यक्तिले सत्यताको अभ्यास गर्छ कि गर्दैन, हेर। यदि उसले कहिल्यै सत्यताको अभ्यास गर्दैन भने, ऊ भलाइको स्वाङ पार्ने पाखण्डीबाहेक अरू केही होइन। ऊ बिल्कुल डेमिङ जस्तै हो, र अलिकति पनि फरक होइन। असल आचरणमा मात्र ध्यान केन्द्रित गर्ने अनि अरूलाई धोका दिएर आफ्नो प्रशंसा र वाहवाही बटुल्न मात्र त्यसको प्रयोग गर्ने मानिसहरू कस्ता हुन्छन्? (पाखण्डीहरू।) के यी मानिसहरूमा आत्मिक बुझाइ हुन्छ? (हुँदैन।) के आत्मिक बुझाइ नभएका मानिसहरूले सत्यता अभ्यास गर्न सक्छन्? (सक्दैनन्।) तिनीहरू किन सक्दैनन्? (तिनीहरू सत्यता के हो बुझ्दैनन्, त्यसैले तिनीहरूले बाहिरी रूपमा राम्रो देखिने र मानिसहरूले सत्यता जत्तिकै असल ठान्ने राम्रो व्यवहार र चीजहरू लिन्छन्, र तिनलाई अभ्यास गर्छन्।) त्यो मुख्य कुरा होइन। तिनीहरूले सत्यता जतिसुकै नबुझे तापनि, के तिनीहरूले अझै पनि काम गर्ने केही स्पष्ट सिद्धान्तहरू जान्दैनन् र? जब तैँले तिनीहरूलाई आफ्नो कर्तव्य कसरी पूरा गर्ने भनेर भन्छस्, तिनीहरूले बुझ्न सक्दैनन् र? त्यस्ता मानिसहरूको एउटा विशेषता हुन्छ: तिनीहरूको सत्यता अभ्यास गर्ने मनसाय हुँदैन। तँ जेसुकै भन् न, तिनीहरूले तेरो कुरा सुन्ने छैनन्; तिनीहरू आफूलाई जे मन लाग्यो त्यही गर्नेछन् अनि भन्नेछन्। हामीले हालै ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूबारे बारम्बार कुरा गर्दै आएका छौँ। आफू वरपरका मानिसहरूलाई नियाल्: कसले केही परिवर्तन देखाएको छ, अनि कसको व्यवहार र काम गर्ने सिद्धान्तहरू पटक्कै परिवर्तन भएका छैनन्, तैँले जसरी सङ्गति गरे पनि कसको हृदय प्रभावित हुँदैन, अनि तेरो सङ्गतिको विषयवस्तुसित आफैलाई जोड्न सक्षम भए तापनि को अझै परिवर्तन भएको छैन, वा परिवर्तन हुन चाहँदैन, र आफूखुसी काम गरिरहन्छ, त्यस्तालाई हेर्। के तिमीहरूले त्यस्ता मानिसहरूलाई भेटेका छौ? भेटेका छौ नि, होइन र? केही अगुवा र कामदारहरूलाई किन बर्खास्त गरिन्छ? किनभने तिनीहरू सत्यता अभ्यास गर्दैनन्, तिनीहरू वास्तविक काम गर्दैनन्। तिनीहरू सबै प्रकारका धर्मसिद्धान्त बुझ्छन्, र तिनीहरू आफ्नै तरिकामा अडिरहन्छन्। तैँले सत्यता सिद्धान्तमा जसरी सङ्गति गरे पनि, तिनीहरूसित अझै पनि आफ्नै नियमहरू हुन्छन्, तिनीहरू आफ्नै दृष्टिकोणमा टाँसिरहन्छन् र कसैको कुरा सुन्दैनन्। तिनीहरू केवल आफूखुसी गर्छन्—तँ एउटा कुरा भन्छस्, तिनीहरू अर्को कुरा गर्छन्। यस्ता खालका अगुवा र कामदारहरूलाई बर्खास्त गर्नुपर्छ, होइन र? (हो।) तिनीहरूलाई पक्कै पनि बर्खास्त गर्नुपर्छ। यी मानिसहरू कुन मार्गमा छन्? (ख्रीष्टविरोधीको मार्गमा।) ख्रीष्टविरोधीको मार्गमा हिँड्दा, पर्याप्त समय दिइयो भने, तिनीहरू स्वयम् ख्रीष्टविरोधी बन्नेछन्। त्यो त यसमा कति समय लाग्छ भन्ने कुरा मात्र हो। यदि तिमीहरूले तिनीहरूसित सत्यतामा जसरी सङ्गति गरे पनि तिनीहरू त्यसलाई स्विकार्दैनन् अनि बिलकुलै परिवर्तन हुँदैनन् भने, यो वास्तवमै समस्याजनक कुरो हो, अनि तिनीहरू पहिले नै ख्रीष्टविरोधी बनिसकेका हुन्छन्।
आज बताइएको कथाबाट तिमीहरूले प्राप्त गरेको सबैभन्दा ठूलो प्रेरणा के हो? त्यो के हो भने, मानिसहरूलाई पथभ्रष्ट हुन सजिलो हुन्छ। मानिसहरूलाई बहकिन किन सजिलो हुन्छ? पहिलो, मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ; दोस्रो, मानिसहरू जुनसुकै उमेरका भए पनि, तिनीहरूको विचार र हृदयको गहिराइ खाली पन्ना होइन। त्यसोभए यो कथाले तिमीहरूलाई के सुझाव दिन्छ? मानिसहरूलाई बहकिन सजिलो हुन्छ—त्यो पहिलो कुरा हो। दोस्रो, मानिसहरू आफूले असल र सही ठानेको कुरालाई सत्यताझैँ मान्ने, बाइबलीय ज्ञान र आत्मिक धर्मसिद्धान्तहरूलाई अभ्यास गर्नुपर्ने परमेश्वरका वचनका रूपमा लिने झुकाव राख्छन्। यी दुई विषय बुझिसकेपछि भविष्यमा हिँड्नुपर्ने बाटो र भविष्यमा गर्नुपर्ने हरेक कार्यका लागि तिमीहरूसित कस्तो नयाँ बुझाइ, विचार वा योजना छ? (भविष्यमा कामहरू गर्दा, हामीले जे सही छ भनी विश्वास गर्छौँ, त्यही गर्नु हुँदैन। पहिलो, हामीले हाम्रा विचारहरू परमेश्वरको चाहनासँग मिल्दोजुल्दो छन् कि छैनन् अनि ती परमेश्वरका मागहरूसँग मेल खान्छन् कि खाँदैनन् भनेर विचार गर्नुपर्छ। हामीले परमेश्वरका वचनमा अभ्यासका सिद्धान्तहरू खोज्नुपर्छ अनि त्यसपछि अगाडि बढ्नुपर्छ। यसो गरेर मात्र हामी सत्यता अभ्यास गर्दैछौँ र हामीले परमेश्वरमाथिको विश्वासमा हिँडिरहेको बाटो सही हो भन्ने कुरा सुनिश्चित गर्न सक्छौँ।) तिमीहरूले परमेश्वरको वचनका सन्दर्भमा प्रयास लगाउनैपर्छ। आफ्नै अनुमानहरू लगाउन बन्द गर। तँमा आत्मिक बुझाइ छैन; तेरो क्षमता कमजोर छ; र तँमा जति भव्य विचारहरू फुरे पनि, ती सत्यता होइनन्। तँ आफूले गरेको कुरा त्रुटिरहित र सही छ भनी विश्वस्त भए पनि, त्यसलाई सङ्गति र पुष्टि गर्न दाजुभाइ र दिदीबहिनीहरूकहाँ ल्याउनुपर्छ, वा परमेश्वरका सान्दर्भिक वचनहरूसँग तुलना गर्नुपर्छ। के यसरी तैँले शतप्रतिशत त्रुटिरहित परिणाम निकाल्न सक्छस्? सक्छस् नै भन्ने छैन; तैँले सत्यता सिद्धान्त र परमेश्वरले भन्नुभएको कुराको स्रोतलाई पूर्ण रूपमा नबुझेसम्म, तेरो अभ्यासमा अझै पनि केही विचलनहरू हुन सक्छन्। त्यो एउटा पक्ष हो। दोस्रो के हो? यदि मानिसहरू परमेश्वरका वचनबाट टाढिए भने, तिनीहरूका कार्यहरू जति नै तर्कसङ्गत वा स्वीकार्य देखिए पनि, तिनले सत्यतालाई प्रतिस्थापित गर्न सक्दैनन्। सत्यतालाई प्रतिस्थापित गर्न नसक्ने कुनै पनि कुरा सत्यता होइन, न त त्यो सकारात्मक कुरा नै हो। यदि त्यो सकारात्मक कुरा होइन भने, के हो त? त्यो पक्कै पनि परमेश्वरलाई खुसी पार्ने कुरा होइन, न त त्यो सत्यताअनुरूप नै हुन्छ; त्यो परमेश्वरले निन्दा गर्ने कुरा हो। यदि तैँले परमेश्वरले निन्दा गर्ने कुरा गरिस् भने त्यसको परिणाम के हुनेछ? तैँले गर्दा परमेश्वरले तँलाई घृणा गर्नुहुनेछ। परमेश्वरबाट नआउने सबै कुरा नकारात्मक चीज हुन्, ती शैतानबाट आउँछन्। कतिपय मानिसले यो कुरा नबुझ्लान्; तैँले अनुभव प्राप्त गर्दै जाँदा, त्यो बिस्तारै बुझिन्छ।
आज हामीले एउटा कुराको घोर आलोचना गरिरहेका छौँ; हामी केको आलोचना गर्दैछौँ? बुढी सुँगुर्नीलाई सुँगुर्नी आन्टी भन्ने कुरा, हैन र? के सुँगुर्नीलाई “सुँगुर्नी आन्टी” भन्नु लाजमर्दो कुरो हो? (हो।) यो लाजमर्दो कुरा हो। मानिसहरू सधैँ सम्मानजनक उपाधि पाउन चाहन्छन्। यो “सम्मान” कहाँबाट आउँछ? “सम्मान” ले केलाई जनाउँछ? के यसले ज्येष्ठतालाई जनाउँछ? (हजुर।) आफू सधैँ ज्येष्ठ ठानिन चाहनु, सधैँ ज्येष्ठतामा मात्र ध्यान केन्द्रित गर्नु—के यो राम्रो हो? (होइन।) ज्येष्ठतामा ध्यान केन्द्रित गर्नु किन राम्रो होइन? तैँले ज्येष्ठतामा ध्यान केन्द्रित गर्नुको महत्त्व के हो भनेर विश्लेषण गर्नुपर्छ। यसलाई यसरी भन्नु एकदमै सरल हुन्छ: “परमेश्वर मानिसहरूलाई ज्येष्ठतामा ध्यान केन्द्रित गर्न अनुमति दिनुहुन्न, त्यसोभए तिमीहरू किन यसबारे निरर्थक छलफल गर्दैछौ? तिमीहरू सभ्य भएको ढोँग गर्दै वाहियात कुरा गर्दैछौ। तैँले आफ्नो कर्तव्य पूरा गर्दा परमेश्वरको घरको हितलाई कहिल्यै ख्याल गर्दैनस्, तर तीमाथि सधैँ विश्वासघात गर्छस्। जब कुनै कुरामा तेरा आफ्नै स्वार्थहरू समावेश हुन्छन्, तब तँ परमेश्वरको घरका हितलाई धोका दिन हिचकिचाउँदैनस्। तँ असल व्यक्तिको नाटक गरेर कसलाई मूर्ख बनाउन खोज्दै छस्? के तँ असल व्यक्ति ठहरिन योग्य छस्?” के यसो भन्नु स्वीकार्य हुन्छ? (हुन्छ।) त्यसलाई अझ कठोर बनाउन के भन्नुपर्छ? “तँ के बकबक गर्दै छस्? तँ त पटक्कै सत्यता नबुझ्ने मूर्ख सुँगुर, पटमूर्ख नै होस्। तँ केको ढोँग गर्दैछस्? तँ शिक्षित, सुसंस्कारी भएको छस्, र परमेश्वरमा विश्वास गर्छस्। तैँले परमेश्वरका यतिका धेरै वचन पढेको छस् र तँलाई आफू परमेश्वरमा निकै राम्रो विश्वास गर्छु भन्ने लाग्छ। तर अन्त्यमा, तँलाई सत्यता अभ्यास गर्नुको अर्थसमेत थाहा छैन। के तँ मूर्ख सुँगुर, पटमूर्ख नै होइनस् र?” यो कथा यतिमै टुङ्गिन्छ। अब सङ्गतिको मुख्य विषयमा फर्कौँ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।