विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग तीन) खण्ड छ
तिमीहरूले बाइबलमा र परमेश्वरका सबै वर्तमान वाणीहरूमा देखेका कुराहरूबाट हेर्दा, के परमेश्वरले वरदान, सिकाइ, र ज्ञानको वकालत गर्नुहुन्छ? (गर्नुहुन्न।) यसको विपरीत, परमेश्वरले मानव ज्ञान र सिकाइलाई चिरफार गर्नुहुन्छ। परमेश्वरले वरदानहरूलाई कसरी परिभाषित गर्नुहुन्छ? उहाँले अलौकिक क्षमताहरू र विशेष प्रतिभाहरूलाई कसरी परिभाषित गर्नुहुन्छ? तिमीहरूले के बुझ्नुपर्छ भने वरदानहरू, अलौकिक क्षमताहरू, र विशेष प्रतिभाहरूले जीवनलाई बिलकुलै प्रतिनिधित्व गर्दैनन्। तिनले जीवनलाई प्रतिनिधित्व गर्दैनन् भन्नुको अर्थ के हो? यसको अर्थ यी कुराहरू मानिसहरूले सत्यता प्राप्त गरेका कारण आएका नतिजा होइनन् भन्ने हुन्छ। यी कुराहरू वास्तवमा कहाँबाट आउँछन्? के ती परमेश्वरबाट आउँछन्? अहँ, परमेश्वरले मानिसहरूलाई ज्ञान वा सिकाइ प्रदान गर्नुहुन्न, र उहाँले निश्चय नै मानिसहरूलाई सत्यता पछ्याऊन् भनेर थप वरदान दिनुहुन्न। परमेश्वरले यसरी व्यवहार गर्नुहुन्न। मैले यसलाई यसरी बताएपछि तिमीहरूले अब यो कुरा बुझ्छौ, होइन र? त्यसोभए, ख्रीष्टविरोधीहरूको दुष्टता कहाँ प्रकट हुन्छ? तिनीहरूले वरदान, सिकाइ, र ज्ञानलाई कसरी हेर्छन्? तिनीहरूले यी कुराहरूलाई, विशेष गरी वरदान र अलौकिक क्षमताहरूलाई उच्च मान्छन्, पछ्याउँछन्, र तिनको चाहना समेत गर्छन्। यदि तैँले ख्रीष्टविरोधीलाई “तपाईंमा अलौकिक क्षमताहरू छन् भने, तपाईंले दुष्ट आत्माहरूलाई आकर्षित गर्नुहुनेछ” भनेर भनिस् भने, उसले भन्नेछ, “म डराउँदिनँ!” तैँले यसो भनेर प्रतिक्रिया दिनेछस्, “त्यसोभए भविष्यमा तपाईंका लागि मुक्ति पाउने कुनै आशा हुनेछैन, तपाईँलाई नरकको अठारौँ तहमा, आगो र गन्धकको कुण्डमा झारिनेछ,” र उसले अझै पनि यसो भन्नेछ, “म डराउँदिनँ!” यदि तैँले उसलाई दश वटा फरक-फरक भाषामा बोल्न लगाइस् र अरूले उसलाई उच्च मान्ने गरी उसले धाक लगाउन पायो भने, ऊ सहमत र इच्छुक हुनेथियो। परमेश्वरले सामान्य मानवताभित्र रहेर निकै साधारण रूपमा बोल्नुहुन्छ र निकै व्यावहारिक रूपमा काम गर्नुहुन्छ, तर तिनीहरूले यो कामको विधि, स्वरूप, र विषयवस्तुलाई स्वीकार गर्दैनन्—तिनीहरूले यसलाई हेला गर्छन्। मानिसहरूले यी मामलाहरूलाई कसरी खुट्ट्याउनुपर्छ? उदाहरणका लागि, कतिपय मानिसहरूले विभिन्न भाषामा बोल्न सक्छन्। के तैँले यो तथ्यलाई स्वीकार गर्न सक्छस्? तँलाई यो सामान्य लाग्छ कि अनौठो लाग्छ? (अनौठो।) त्यसकारण, सामान्य मानवताको तर्कसङ्गत दायराभित्र, यो स्वीकार्य हुँदैन। रङ्ग, आकार, अनुहार, र नाम जस्ता सबै कुरा याद गर्ने, र पढिसकेपछि पुस्तकका सयौँ पानाहरू याद गर्न सक्ने, सुरुदेखि अन्त्यसम्मै सुनाउने व्यक्ति—यस्तो व्यक्तिसँग अन्तरक्रिया गरेपछि, के तँलाई कुनै असामान्य कुराको सामना गरेँ जस्तो लाग्दैन र? (लाग्छ।) तर ख्रीष्टविरोधीहरूलाई यस्ता कुराहरू मन पर्छ। मलाई भन्, जब तँ धार्मिक संसारका तथाकथित सुसमाचार सुसमाचारक, प्रचारक, र पाष्टरहरूको सम्पर्कमा आउँछस्, जसलाई समग्रमा फरिसीहरू भनेर चिनिन्छ, तब तँलाई तेरो हृदयलाई खाँचो भएका मानिसहरू यिनीहरू नै भन्ने लाग्छ कि व्यावहारिक परमेश्वर नै तेरो हृदयलाई आवश्यक हुनुहुन्छ भन्ने लाग्छ? (हाम्रो हृदयलाई चाहिने भनेकै परमेश्वरसँगको सम्पर्क हो।) सामान्य र व्यावहारिक परमेश्वर तेरो भित्री आवश्यकताहरूको अझ नजिक हुनुहुन्छ, होइन र? त्यसकारण, फरिसीहरूसँग अन्तरक्रिया गर्दा तिमीहरूलाई कस्तो महसुस हुन्छ, यसका फाइदा र हानिहरू, र यसले कुनै फाइदा ल्याउँछ कि ल्याउँदैन भन्ने बारेमा कुरा गर। (यदि मैले फरिसीहरूसँग अन्तरक्रिया गरेँ भने, त्यो बनावटी र टाढाको कुरा जस्तो लाग्छ। तिनीहरूले बताउने कुराहरू अत्यन्तै खोक्रा र झूटा हुन्छन्; त्यसलाई धेरै सुन्दा वाक्क लाग्छ, र म तिनीहरूसँग उप्रान्त अन्तरक्रिया गर्न चाहन्नँ।) फरिसीहरूले व्यक्त गर्ने दृष्टिकोणहरू सही हुन्छन् कि हास्यास्पद हुन्छन्? (हास्यास्पद।) तिनीहरूका दृष्टिकोणको प्रकृति हास्यास्पद हुन्छ। यसको साथै, तिनीहरूले भन्ने कुराहरू प्रायजसो व्यावहारिक हुन्छन् कि खोक्रा हुन्छन्? (खोक्रा।) धेरैजसो मानिसहरूले फरिसीहरूले भन्ने हास्यास्पद र खोक्रा कुराहरू, साथै काल्पनिक र धारणागत कुराहरू सुन्न तिरस्कार गर्छन् कि मन पराउँछन्? (धेरैजसो मानिसहरूले यी कुराहरू सुन्दा तिनलाई तिरस्कार गर्छन्।) धेरैजसो मानिसहरूलाई ती कुरा मन पर्दैन र तिनीहरू ती सुन्न इच्छुक हुँदैनन्। तिनीहरूको दृष्टिकोण र शब्दहरू सुनेपछि, र तिनीहरूको स्वभाव र तिनीहरूको झूटो र ढोँगी व्यवहारलाई अवलोकन गरेपछि, तँलाई हृदयमा के महसुस हुन्छ? के तँ थप सुन्न इच्छुक हुन्छस्? के तँ तिनीहरूसँग नजिक हुन, तिनीहरूसँग गहन अन्तरक्रिया गर्न, र तिनीहरूका बारेमा थप कुरा बुझ्न इच्छुक हुन्छस्? (हुँदिनँ।) तँ तिनीहरूसँग अन्तरक्रिया गर्न अनिच्छुक हुन्छस्। मुख्य समस्या के हो भने तिनीहरूका शब्दहरू अत्यन्तै खोक्रा हुन्छन्, सिद्धान्त र नाराहरूले भरिएका हुन्छन्; लामो समय सुन्दा पनि तिनीहरूले के भनिरहेका छन् भन्ने कुराका बारेमा तँ अझै पनि अनभिज्ञ नै हुन्छस्। यसबाहेक, तिनीहरूको स्वभाव झूटो र दोगला हुन्छ; तिनीहरूले आफूमा विनम्र, धैर्य, र प्रेमिलो, अनुभवी विश्वासीको आचरण भएको, निकै “भक्त” व्यक्तिको झैँ आचरण भएको ढोँग गर्छन्। जब तैँले अन्तमा तिनीहरूको साँचो अनुहार देख्छस्, तब तँलाई घिन लाग्छ। तिमीहरूले मसँग त्यत्ति गहन अन्तरक्रिया गरेका छैनौ; मैले दिएका प्रवचनहरू तिमीहरूलाई कस्तो लाग्छ? के त्यसमा र फरिसीहरूले बताउने कुराको बीचमा कुनै भिन्नता छ? (छ।) के भिन्नता छ? (परमेश्वरका प्रवचनहरू व्यावहारिक हुन्छन्।) मूलभूत कुरा त्यही हो। यसको साथै, मैले बताएको कुरा तिमीहरूका अभ्यास, अनुभवहरू, र तिमीहरूले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा अनि वास्तविक जीवनमा सामना गर्ने मामलाहरूका विभिन्न पक्षहरूसँग सम्बन्धित छ। यो अव्यावहारिक र अस्पष्ट छैन। यसको साथै, मैले छलफल गर्ने हरेक सत्यता वा मैले मामलाहरूमा लिने दृष्टिकोण व्यावहारिक हुन्छ कि खोक्रो हुन्छ? (व्यावहारिक।) यो व्यावहारिक हुन्छ भनेर तिमीहरू किन भन्छौ? किनभने यो वास्तविक जीवनबाट टाढा जाँदैन, यो वास्तविक जीवनभन्दा माथिका खोक्रा सिद्धान्तहरू भट्टयाउने कार्य होइन। यो सबै वास्तविक जीवनमा मानिसहरूको सुझबुझ, बुझाइ, र अभ्याससँग, र तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा विभिन्न समस्याहरूको सामना गर्दा तिनीहरूभित्र पैदा हुने स्थितिहरूसँग सम्बन्धित हुन्छ। छोटकरीमा भन्दा, यसले मानिसहरूले परमेश्वरमाथिको आफ्नो आस्थाको अभ्यास कसरी गर्छन्, परमेश्वरमाथि तिनीहरूको विश्वासको जीवन, र आफ्नो कर्तव्य पूरा गर्ने क्रममा तिनीहरूले सामना गर्ने विभिन्न स्थितिसँग सम्बन्धित विषयहरूलाई समावेश गर्छ। हामी उत्पत्ति वा यशैयाको खोक्रो व्याख्या गर्न बाइबल निकाल्दैनौँ, न त हामी प्रकाशको पुस्तकका बारेमा नै खोक्रो रूपमा कुरा गर्छौं। मलाई सबैभन्दा बढी प्रकाशको पुस्तक पढ्न मन पर्दैन र यसका बारेमा कुरा गर्न मन लाग्दैन। यसका बारेमा कुरा गर्नुको के फाइदा? यदि मैले तँलाई कुन महामारी पूरा भएको हो भनेर बताएँ भने, त्यससँग तेरो के सम्बन्ध हुन्छ? त्यो त परमेश्वरको काम हो। परमेश्वरको काम पूरा नै भयो भने पनि, त्यसले तँलाई कसरी असर गर्नेछ? के तँ अझै पनि तँ आफै नै हुनेछैनस् र? यदि मैले तँलाई कुन महामारी पूरा भएको हो भनेर बताएँ भने, के तैँले आफ्नो भ्रष्ट स्वभावलाई फाल्न सक्नेथिइस्? के त्यो त्यति आश्चर्यजनक हुनेछ? अहँ। त्यसकारण, जब मानिसहरूले अन्त्यसम्म पछ्याउँछन्, तब हरेकलाई तिनीहरूको प्रकार अनुसार छुट्याइनेछ। सत्यतालाई स्वीकार गर्न सक्ने, परमेश्वरका वचनहरू पढ्नमा आनन्द लिने, र सत्यताको अभ्यास गर्न सक्ने मानिसहरू दह्रिलो गरी खडा हुनेछन्। परमेश्वरका वचनहरू पढ्न वा प्रवचनहरू सुन्न अनिच्छुक हुने, निरन्तर जिद्दी भई सत्यतालाई स्वीकार गर्न नमान्ने र आफ्नो कर्तव्य पूरा गर्न इच्छुक नहुनेहरूलाई अन्तमा प्रकाश गरिनेछ र हटाइनेछ। तिनीहरूले भेलाहरूमा सहभागिता जनाए पनि र प्रवचन सुने पनि, सत्यताको अभ्यास कहिल्यै गर्दैनन्, तिनीहरू अपरिवर्तित नै रहन्छन्, र प्रवचन सुन्नप्रति वितृष्ण हुन्छन्—तिनीहरू ती सुन्न अनिच्छुक हुन्छन्। त्यसकारण, तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा पनि, त्यो झाराटारुवा तरिकाले गर्छन्, र कहिल्यै परिवर्तन हुँदैनन्। यी मानिसहरू केवल अविश्वासीहरू हुन्। यदि परमेश्वरमा निष्कपटताका साथ विश्वास गर्ने मानिसहरूले प्रायजसो अविश्वासीहरूसँग सङ्गत गर्छन् र तिनीहरूसँग जिउँछन् भने, तिनीहरूलाई कस्तो महसुस हुनेथियो? तिनीहरूले फाइदा नपाउने वा तिनीहरूका लागि ज्ञानवर्धक नहुने मात्र होइन, तर तिनीहरूलाई हृदयबाट तिनीहरूप्रति झन्-झन् विकर्षण पनि महसुस हुनेथियो। मानौँ तँ फरिसीहरूको सम्पर्कमा आइस् र तैँले तिनीहरूले बोलेको सुनिस्, र तिनीहरूले स्पष्ट र तार्किक रूपमा बोल्ने गरेको, तिनीहरूले सबै नियम र प्रावधानहरूलाई बुझ्ने तरिकाले व्याख्या गर्ने गरेको, र तिनीहरूका वचनमा गहन सिद्धान्तहरू समावेश भएजस्तो पाउँछस्, तर सावधानीपूर्वक विश्लेषण गरेपछि, ती कुनै पनि सत्यता वास्तविकता नभएको, र ती सबै खोक्रा सिद्धान्त भएको पाउँछस्। उदाहरणका लागि, तिनीहरूले त्रिएकत्वको सिद्धान्त, ईश्वरशास्त्र, परमेश्वरबारे सिद्धान्तहरू, स्वर्गमा स्वर्गदूतहरूका साथ परमेश्वर कस्तो हुनुहुन्छ भन्ने बारेमा, परमेश्वरको देहधारण र प्रभु येशूका अवस्थाबारे छलफल गर्छन्। यो सबै कुरा सुनेपछि तँलाई कस्तो महसुस हुन्थ्यो होला? यसको परिणाम पौराणिक कथाहरू सुनेको जस्तै हुनेथियो। त्यसोभए ख्रीष्टविरोधीहरूले किन यी कुराहरू सुन्न र छलफल गर्न मन पराउँछन्, र तिनीहरू किन त्यस्ता मानिसहरूसँग संलग्न हुन तयार हुन्छन्? के यो तिनीहरूको दुष्टता होइन र? (हो।) तिनीहरूको दुष्टताबाट के कुरा अवलोकन गर्न सकिन्छ? भित्री रूपमा, तिनीहरूमा एउटा निश्चित खाँचो हुन्छ, जसले तिनीहरूलाई यो ज्ञान र सिकाइको आराधना गर्न, र फरिसीहरूसँग हुने यी कुराहरूको आराधना गर्न डोऱ्याउँछ। त्यसोभए, तिनीहरूको आवश्यकता के हो? (अरूको उच्च सम्मान पाउनु।) तिनीहरूलाई अरूले उच्च सम्मान गर्नुपर्ने मात्रै होइन, तर तिनीहरू हृदयको गहिराइमा, सधैँ महामानव, श्रेष्ठ व्यक्ति वा ज्ञानले भरिपूर्ण प्रसिद्ध व्यक्तित्व बन्न चाहन्छन्—तिनीहरू साधारण मानिस बन्न चाहँदैनन्। महामानव बन्ने तिनीहरूको चाहनाले के जनाउँछ? बोलचालको भाषामा भन्दा, यसको अर्थ तिनीहरू वास्तविकताबाट टाढा छन् भन्ने हुन्छ। उदाहरणका लागि, धेरैजसो मानिसहरूले बढीमा, यस्तो कामना मात्रै गर्छन्, “यदि म आकाशमा हवाईजहाजमा उड्न सक्ने भए त कस्तो हुनेथियो होला।” तिनीहरूसँग त्यस्तो चाहना हुन सक्छ, होइन र? तर ख्रीष्टविरोधीहरूको चाहना के हुन्छ? “एक दिन, म पखेटाहरू उमारेर, उडेर टाढा जान चाहन्छु!” तिनीहरूमा यस्ता आकाङ्क्षाहरू हुन्छन्—के तँमा छ? (छैन।) किन छैन? किनभने यो यथार्थपरक हुँदैन। तँलाई दुई वटा ठूला पखेटा लाइदिए पनि, के तँ उड्न सक्नेथिइस्? तँ त्यस्तो प्राणी नै होइनस्, हो त? (होइन।) ख्रीष्टविरोधीहरू जस्ता मानिसहरू सधैँ आफ्ना कल्पनामा भर पर्छन्, निरन्तर आफ्ना चाहनाहरूलाई पछ्याउँछन्। के तिनीहरूले मुक्ति पाउन सक्छन्? (सक्दैनन्।) परमेश्वरले मुक्ति दिनुहुने यस्ता प्रकारका मानिसहरू होइनन्। सत्यतालाई प्रेम गर्ने, वास्तविकतामा ध्यान केन्द्रित गर्ने, र व्यावहारिक रूपमा सत्यताको खोजी गर्नेहरूलाई परमेश्वरले मुक्ति दिनुहुन्छ। निरन्तर महामानव वा श्रेष्ठ व्यक्ति बन्ने चाहना गर्नेहरू मस्तिष्कका बिरामी हुन्छन्, तिनीहरू सामान्य मानिसहरू होइनन्, र परमेश्वरले तिनीहरूलाई मुक्ति दिनुहुनेछैन।
जब ख्रीष्टविरोधीहरू देहधारी परमेश्वरको सम्पर्कमा आउँछन्, तब तिनीहरूको अनौठा प्रश्नहरू सोध्ने प्रवृत्ति हुन्छ। तिनीहरूले त्यस्ता प्रश्नहरू सोध्न सक्छन् भन्ने कुराले तिनीहरूभित्र गहन रूपमा रहेका आवश्यकता र तिनीहरूले आफ्नो हृदयमा आराधना गर्ने कुरालाई प्रतिनिधित्व गर्छ। सुरुमा, देहधारी परमेश्वरको गवाही दिएपछि, कतिपय मानिसहरूले सधैँ सोध्थे, “के परमेश्वरले घरमा बाइबल पढ्नुहुन्छ? मैले आफ्ना लागि सोधेको होइन, वास्तवमा मलाई यस मामलाबारे कुनै जिज्ञासा छैन; मैले विश्वासी दाजुभाइ-दिदीबहिनीहरूका लागि मात्रै सोधेको हुँ। तिनीहरूमध्ये धेरैमा पनि यो सोच हुन्छ। तिनीहरूले आफ्नो हृदयमा के मनन गरिरहेका हुन्छन् भने यदि परमेश्वरले वास्तवमा नै बारम्बार बाइबल पढ्नुहुन्छ भने, उहाँले बाइबलबारे कुरा गर्न र सत्यता व्यक्त गर्न सक्नु सामान्य कुरा नै हो। तर, यदि परमेश्वरले बाइबल पढ्नुहुन्न र पनि त्यसको व्याख्या गर्न सक्नुहुन्छ भने, त्यो त चमत्कार हुनेछ, त्यसपछि उहाँ साँच्चै परमेश्वर हुनुहुनेछ!” अवश्य नै, तिनीहरूले यस कुरालाई ठ्याक्कै यही वाक्यांशमा बताएका होइनन्; तिनीहरूले सीधै सोधेका थिए, “के परमेश्वरले घरमा बाइबल पढ्नुहुन्छ?” तिमीहरूलाई के लाग्छ? मैले पढ्नुपर्छ कि पर्दैन? के तिमीहरूले पढ्छौ? यदि तिमीहरूले येशूमा कहिल्यै विश्वास गरेका छैनौ भने, त्यो नपढ्नु सामान्य कुरा हुनेथियो। के विश्वास गरेका मानिसहरूले त्यो पढ्छन्? (हजुर, पढ्छन्।) विश्वास गरेका मानिसहरूले अवश्य नै पढ्छन्। मैले येशूमाथिको विश्वासबाट यात्रा सुरु गरेको हुँ, त्यसकारण म कसरी बाइबल नपढी बस्न सक्थेँ र? मैले त्यो पढिनँ भने के हुन्छ नि? (त्यो पनि सामान्य कुरा नै हो।) बाइबल पढ्नु सामान्य कुरा हो, र नपढ्नु पनि अवश्य नै सामान्य कुरा हो। त्यो पढ्नु वा नपढ्नुले के कुरा निर्धारित गर्छ? यदि म यो स्थानमा नभएको भए, के मैले बाइबल पढेको छु कि पढेको छैनँ भन्ने कुरामा कसैलाई वास्ता हुनेथियो? (हुनेथिएन।) कसैले पनि मैले के पढेको छु भन्नेबारे सोधपुछ गर्नेथिएन। म यो विशेष स्थानमा भएको हुनाले, कतिपय मानिसहरूले यस मामलालाई अध्ययन गर्छन्। तिनीहरूले सधैँ यसबारे खोजीनिती गरिरहेका हुन्छन्, “के उहाँले सानो छँदा बाइबल पढ्नुभएको थियो?” तिनीहरू ठ्याक्कै के जान्न चाहन्छन्? मैले यो पढेको छु कि छैन भन्ने कुराका आधारमा यसका दुई वटा स्पष्टीकरणहरू छन्। यदि मैले यो पढेको छु भने, तिनीहरूलाई मैले बाइबलको व्याख्या गर्न सक्नु कुनै ठूलो कुरा होइन भन्ने लाग्छ। तर, यदि मैले बाइबल पढेको छैनँ र पनि यसलाई व्याख्या गर्न सक्छु भने, त्यो अलिक ईश्वर जस्तो हुन्छ। तिनीहरूले चाहेको परिणाम यही हो। तिनीहरूले यसको चुरोसम्म पुग्न चाहन्छन्; तिनीहरूले यसो सोच्छन्, “यदि तपाईंले बाइबल पढ्नुभएको छैन र पनि यति सानो उमेरमा यसबारे छलफल गर्न सक्नुहुन्छ भने, त्यो अनुसन्धान गर्न लायक कुरा हो। यो त परमेश्वर हो!” तिनीहरूको दृष्टिकोण त्यही हो, र तिनीहरूले यसरी नै परमेश्वरको अध्ययन गर्छन्। अब, धर्मशास्त्रबारे निकै जानकार रहेका ती फरिसीहरूका बारेमा विचार गर। के तिनीहरूले साँच्चै नै धर्मशास्त्रका वचनहरू बुझेका थिए? के तिनीहरूले धर्मशास्त्रबाट सत्यता पत्ता लगाए? (लगाएनन्।) अब, के मैले बाइबल पढेको छु कि छैन भनेर सोध्ने कसैले यसका बारेमा सोच्यो? यदि तिनीहरूले यसका बारेमा विचार गरेका भए, तिनीहरूले यस मामलाबारे निरन्तर अनुसन्धान गर्नेथिएनन्, र यति मूर्खतापूर्ण कार्य गर्नेथिएनन्। सत्यता बोध नगर्ने वा आत्मिक बुझाइ नभएका, र परमेश्वरको सार र पहिचानलाई बुझ्न नसक्ने मानिसहरूले अन्तमा यसलाई समाधान गर्न यस्तो विधिको सहारा लिन्छन्। के यो विधिले समस्या समाधान गर्न सक्छ? अहँ, सक्दैन। यसले सानो जिज्ञासाको समस्यालाई मात्रै समाधान गर्न सक्छ। वास्तवमा, म पनि बाइबल पढ्छु। विश्वासीहरूमध्ये कसले बाइबल पढ्दैन र? म यसलाई कम्तीमा पनि पढ्ने चाहिँ गर्छु। कम्तीमा पनि, मैले नयाँ करारका चार वटा सुसमाचारहरू पढ्छु, प्रकाश र उत्पत्तिको पुस्तकलाई सरसरती पढ्छु, र यशैया यसो हेर्छु। तिमीहरूको विचारमा मलाई पढ्न मन पर्ने पुस्तक कुन हो? (अय्यूबको पुस्तक।) एकदम सही। अय्यूबको कथा पूर्ण र विस्तृत छ, शब्दहरू बुझ्न सजिला छन्, र, यसबाहेक, यो कथा बहुमूल्य छ र आजका मानिसहरूका लागि सहयोगी र सुधारात्मक हुन सक्छ। अब तथ्यहरूले के देखाएका छन् भने अय्यूबको कथाले पछिल्ला पुस्ताहरूमा वास्तवमै ठूलो प्रभाव पारेको छ। तिनीहरूले अय्यूवबाट धेरै सत्यताहरू बोध गरेका छन्—परमेश्वरप्रतिको उसको मनोवृत्ति, साथै ऊप्रतिको परमेश्वरको मनोवृत्ति र परिभाषाबाट, तिनीहरूले परमेश्वरको अभिप्राय र तिनीहरूले विश्वास गरेपछि कस्तो मार्गमा हिँड्नुपर्छ भन्ने कुरालाई बोध गरेका छन्। परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने तरिका बारेमा, साथै परमेश्वरप्रति समर्पित हुने तरिका बारेमा केही सङ्गति गर्नका लागि म अय्यूबको पुस्तकलाई सन्दर्भसामग्रीका रूपमा प्रयोग गर्छु—यो कथा साँच्चै नै बहुमूल्य छ। यो कथा व्यक्तिले खाली समयमा पढ्नुपर्ने कुरा हो। कतिपय मानिसहरूले परमेश्वर देहधारी हुनुभएको देख्दा र परमेश्वरको व्यावहारिकता र सामान्यतालाई देख्दा, उहाँ साँच्चै नै परमेश्वर हुनुहुन्छ कि हुनुहुन्न वा भविष्यमा के हुनेछ भन्ने कुरालाई पूर्ण रूपमा पत्ता लगाउन नसक्लान्। तर, केही सत्यताहरू बुझेपछि, तिनीहरूले यी प्रश्नहरूलाई त्याग्छन्। तिनीहरूले यी मामलाहरूबारे अनुसन्धान गर्न वा वास्ता गर्न छोड्छन् र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न, आफूले हिँड्नुपर्ने मार्गमा उचित रूपमा हिँड्न, र आफूले गर्नुपर्ने काम राम्ररी गर्नमा ध्यान केन्द्रित गर्छन्। तर कतिपय मानिसहरूले यो कुरालाई कहिल्यै त्याग्नेछैनन्; तिनीहरूले यसलाई अध्ययन गर्न जिद्दी गर्छन्। के तिमीहरूलाई मैले यो मामलालाई सम्हाल्नुपर्छ भन्ने लाग्छ? के मैले यसलाई कुनै ध्यान दिनुपर्छ? यसलाई ध्यान दिनु पर्दैन। सत्यतालाई स्वीकार गर्नेहरूले स्वाभाविक रूपमा नै यसबारे अनुसन्धान गर्न छोड्छन्, जबकि सत्यता स्वीकार नगर्नेहरूले यसलाई निरन्तरता दिन्छन्। यो अनुसन्धानले के कुराको सङ्केत गर्छ? अनुसन्धान भनेको प्रतिरोधको एउटा रूप हो। परमेश्वरका वचनहरूमा एउटा भनाइ छ। प्रतिरोधको नतिजा के हुन्छ? (मृत्यु।) प्रतिरोधले मृत्युमा पुर्याउँछ।
कतिपय ख्रीष्टविरोधीहरूले कामको यो चरणलाई स्वीकार गरेका भए पनि, तिनीहरू देहधारी परमेश्वरले बोल्नुभएका वचनहरूमा र गर्नुभएको काममा कुनै पनि अलौकिक तत्त्व छ कि छैन, सामान्य मानवताको दायराभन्दा बाहिरका तत्त्वहरू छन् कि छैनन्, र परमेश्वरका रूपमा उहाँको पहिचान प्रमाणित गर्नका लागि निकाल्न सकिने तत्त्वहरू छन् कि छैनन् भन्ने बारेमा प्रायजसो चिन्ता गर्छन्। तिनीहरूले प्रायजसो यी मामलाहरूबारे अनुसन्धान गर्छन्, र मैले कसरी बोल्छु, बोल्दा मेरो हाउभाउ र रूप कस्तो हुन्छ, साथै मेरा कार्यहरूका सिद्धान्तहरू के हुन् भनेर अथक रूपमा अध्ययन गरिरहन्छन्। तिनीहरूले यो अनुसन्धानका लागि के प्रयोग गर्छन्? तिनीहरूले यसलाई आफूले बोध गरेका प्रतिष्ठित र महान् मानिसहरूको छवि वा मानकका आधारमा मापन र अध्ययन गर्छन्। कतिपयले यस्तो समेत सोध्छन्, “तपाईं देहधारी परमेश्वर हुनुभएकाले तपाईंको पहिचान र सार निश्चय नै साधारण मानिसहरूको भन्दा फरक हुनुपर्छ। त्यसोभए, तपाईं कुन कुरामा सिपालु हुनुहुन्छ त? हामीलाई, तपाईंलाई पछ्याउने र पालन गर्ने, र हाम्रा परमेश्वरका रूपमा स्वीकार गर्ने तुल्याउन तपाईंसँग के-कस्ता विशेष गुणहरू छन्?” यो प्रश्नले मलाई साँच्चै निःशब्द बनाएको थियो। साँच्चै भन्दा, म कुनै पनि कुरामा सिपालु छैनँ। मसँग सबै दिशामा हेर्न सक्ने आँखा वा सबैतिरबाट सुन्न सक्ने कान छैन। पाठहरू पढ्ने कुरामा, म एकै नजरमा दश वटा पङ्क्तिहरू पढ्न सक्दिनँ, र पढेको केही समयपछि, म आफूले पढेको कुरा बिर्सन्छु। मलाई सङ्गीतका बारेमा अलिअलि थाहा छ, तर म लिखित सङ्गीत पढ्न सक्दिनँ। यदि कसैले कुनै गीत एक-दुई पटक गायो भने, म पनि सँगसँगै गाउन सक्छु, तर के त्यसलाई काममा सिपालु हुनुका रूपमा लिइन्छ र? के मसँग अङ्ग्रेजीमा फरर बोल्न सक्ने वा कुनै निश्चित भाषा बोल्न सक्ने जस्तो विशेष प्रतिभा छ? म यीमध्ये कुनै पनि कुराहरू गर्न सक्दिनँ। त्यसोभए, म के कुरामा सिपालु छु? मलाई सङ्गीत, ललितकला, नृत्य, साहित्य, चलचित्र, र डिजाइनका बारेमा अलिअलि थाहा छ। यी क्षेत्रहरूका बारेमा मसँग सतही बुझाइ छ। विशेषज्ञहरूसँग सिद्धान्तहरू छलफल गर्दा, त्यो सबै मेरा लागि नबुझिने भाषा बन्छ, तर देख्दा भने यो कुरा बुझ्न सक्छु। उदाहरणका लागि, वास्तुकला डिजाइनमा, यदि व्यावसायिक र प्राविधिक डाटा समावेश छ भने, म बुझ्दिनँ। तर, यदि यो रङको गहिराइ र शैलीको सामञ्जस्यताका बारेमा हो भने, मलाई अलिअलि थाहा हुन्छ र मसँग केही अन्तर्ज्ञानहरू हुन्छन्। तर म यस क्षेत्रमा विशेषज्ञ वा प्रतिभावान् बन्न सक्छु कि सक्दिनँ भनेर भन्न गाह्रो हुन्छ किनभने मैले त्यो विषय अध्ययन गरेको नै छैनँ। मानिसहरूले हाल जे कुराहरूमा पहुँच प्राप्त गर्न सक्छन्, सङ्गीत, साहित्य, नृत्य, र चलचित्र, अनि हाम्रो मण्डलीको पेसागत कामको दायराभित्रका कुराहरूलाई ख्याल गर्दा के देखिन्छ भने, थोरै सिकाइले मलाई आधारभूत बुझाइ दिन सक्छ। कतिपयले यसो भन्न सक्छन्, “अब मलाई तपाईंको पृष्ठभूमि थाहा भयो; तपाईंसँग आधारभूत बुझाइ मात्रै रहेछ।” म झूट बोल्दिनँ; वास्तवमै, मसँग आधारभूत बुझाइ मात्रै छ। तैपनि, तिमीहरूले सायद ठान नगरेको एउटा कुरा छ, र त्यो मेरो विशेषज्ञता हुन सक्छ। त्यो कस्तो विशेषज्ञता हो? म कुनै निश्चित क्षेत्रसँग सम्बन्धित पेसा के हो, निश्चित कलालाई कसरी व्यक्त गरिन्छ, र त्यसमा समावेश कार्यक्षेत्र र सिद्धान्तहरू के-के हुन् भन्ने कुरा बुझ्छु। यी कुराहरूमा निपुण भएपछि, मलाई यी उपयोगी कुराहरूलाई मण्डलीको काममा लागु गर्न, तिनलाई सुसमाचारको काममा सेवादायी बनाएर परमेश्वरको आखिरी दिनहरूको सुसमाचार प्रसार गर्ने कार्यमा प्रभावकारिता हासिल गराउन आउँछ। के यो विशेषज्ञता हो? (हो।) आजभोलि मानवजातिमा सबैभन्दा बढी के कुराको कमी छ भन्ने कुराको हकमा भन्दा, यदि कसैले सही विधिहरू प्रयोग गरेर सान्दर्भिक सत्यता बताउन सक्छ, र मानिसहरूलाई यो देख्ने र स्वीकार गर्ने तुल्याउन सक्छ भने, यो नै सबैभन्दा प्रभावकारी हुन्छ। यदि तैँले मानिसहरूले स्वीकार गर्न सक्ने विधि अपनाउँछस् र प्रस्ट रूपमा सत्यता प्रस्तुत गर्न र परमेश्वरको कामलाई व्याख्या गर्न सक्छस् भने, र यो सब सामान्य मानव सोचाइले स्वीकार गर्न र पहुँच पाउन सक्ने तरिकाले गर्न सक्छस् भने—मानिसहरूका लागि यो अत्यन्तै फाइदाजनक हुन्छ। यदि हामीले आफूसँग रहेको सतही ज्ञानलाई प्रयोग गरेर यी सबै उपयोगी कुराहरूलाई लागु गर्यौँ भने, यस्तो खालको विशेषज्ञता हुनु नै पर्याप्त हुन्छ। म एउटा कुरामा उत्कृष्ट छु, के तिमीहरूले त्यो पत्ता लगायौ? (परमेश्वर सत्यता सङ्गति गर्नमा उत्कृष्ट हुनुहुन्छ।) के सत्यता सङ्गति गर्नुलाई सीपका रूपमा गन्ती गर्न सकिन्छ? के त्यो विशेषज्ञता होइन र? त्यसोभए, म के कुरामा उत्कृष्ट छु त? म तिमीहरू सबै भित्रको भ्रष्ट सारलाई पत्ता लगाउनमा सिपालु छु। यदि म यसमा सिपालु नभएको भए, मलाई भन, तिमीहरूमा समस्याहरू देखा पर्दा र तिनीहरूले कुन भ्रष्ट स्वभाव वा प्रकृति सार प्रकट गर्छन् भन्ने मलाई थाहा नहुने हो भने मैले कसरी काम गर्न सक्थेँ? त्यो असम्भव हुनेथियो। के तिमीहरूको भ्रष्ट सार पत्ता लगाउनमा नै म सबैभन्दा उत्कृष्ट छु भनेर भन्दा उपयुक्त हुन्छ? (हुन्छ।) म सबैभन्दा उत्कृष्ट यही कुरामा हुनुपर्छ। म व्यक्तिहरूको भ्रष्ट स्वभाव र तिनीहरूको प्रकृति सारलाई पहिचान गर्नमा सबैभन्दा सिपालु छु। म कुनै व्यक्तिले हिँड्ने मार्ग र परमेश्वरप्रतिको उसको मनोवृत्तिलाई उसको प्रकृति सारका आधारमा चिन्ने कार्यमा उत्कृष्ट छु। त्यसपछि तिनीहरूको प्रकटीकरण, व्यवहार, र सारका आधारमा म तिनीहरूसँग सत्यता सङ्गति गर्छु, निश्चित समस्याहरू समाधान गर्छु र तिनीहरूलाई आफ्ना समस्याहरू समाधान गर्न र त्यसबाट बाहिर निस्कन सहयोग गर्छु। वास्तवमा, यो सीप होइन; यो मेरो सेवकाइ हो, यो मेरो जिम्मेवारीको दायराभित्र पर्ने काम हो। के तिमीहरू यसमा सिपालु छौ? (अहँ, छैनौँ।) त्यसोभए, तिमीहरू के कुरामा सिपालु छौ? (भ्रष्टता देखाउनमा।) तिमीहरू भ्रष्टता देखाउन सिपालु छौ भन्ने कुरा सही छैन। तिमीहरू सत्यता सुनेपछि त्यसद्वारा प्रभावित नहुन, यसलाई हल्का रूपमा लिन, र आफ्नो कर्तव्य पूरा गर्दा त्यसलाई गम्भीरतापूर्वक नलिई झाराटारुवा रूपमा व्यवहार गर्न सिपालु छौ। होइन र? (हो।) म तिमीहरूलाई यी कुराहरू खुलस्त रूपमा बताउँछु; के फरिसी र ख्रीष्टविरोधीहरूले तिमीहरूलाई यसरी कुरा गर्न सक्छन्? (अहँ, सक्दैनन्।) तिनीहरूले यसरी बिलकुलै बोल्दैनन्। किन? तिनीहरूले यसलाई लाजमर्दो, मानवतामा भएको कमीकमजोरी, व्यक्तिगत गोपनीयता र व्यक्तिगत पृष्ठभूमिको मामलाका रूपमा लिन्छन्। तिनीहरू भन्छन्, “मैले अरूलाई मेरो पृष्ठभूमिका बारेमा कसरी थाहा दिन सक्छु? यदि त्यसो भयो भने, के मैले सबै इज्जत, गरिमा, र हैसियत गुमाउनेछैनँ र? त्यसपछि म कसरी आफूलाई आचरणमा ढाल्न सक्छु?” तिनीहरूका अनुसार त, तिनीहरू जिउन छोड्नु नै राम्रो हुन्छ! त्यसकारण, तिमीहरूलाई मेरो परिस्थिति यति खुलस्त रूपमा बताइसकेपछि, के यसले परमेश्वरमाथिको तिमीहरूको आस्थामा असर गर्छ? (अहँ, गर्दैन।) तिमीहरूमा यसबारे केही विचारहरू आए पनि, मलाई डर लाग्दैन। मलाई किन डर लाग्दैन? केही विचारहरू आउनु सामान्य कुरा हो; यो अस्थायी कुरा हो। मानिसहरूले बेला-बेलामा दृष्टिगत र श्रवणगत भ्रमहरू अनुभव गर्न सक्छन्। अस्थायी, विकृत बुझाइ वा क्षणिक गलतफहमीको सम्भावना सधैँ हुन्छ। के यसको अर्थ मानिसहरू यसका कारण छोडिजानेछन् वा नकारात्मक र कमजोर बन्नेछन् भन्ने हुन्छ? तर यदि तँ साँचो रूपमा सत्यता पछ्याउने व्यक्ति होस् भने, के क्षणिक धारणाहरूका कारण तैँले परमेश्वरलाई इन्कार गर्न सक्छस् वा परमेश्वरलाई छोडेर जान सक्छस्? अहँ, तँ जान सक्दैनस्। साँचो रूपमा सत्यता पछ्याउने मानिसहरूले यी कामकुराहरूलाई सही रूपमा लिन र बोध गर्न सक्छन्, तिनीहरूले अवचेतन रूपमै यी तथ्यहरूलाई सामान्य रूपमा स्वीकार गर्न सक्छन्, र बिस्तारै तिनलाई परमेश्वरबारे साँचो ज्ञान, वस्तुगत र सही ज्ञानमा रूपान्तरण गर्न सक्छन्—सत्यताको साँचो बुझाइ यही हो। कुनै दिन, कसैले यसो भन्न सक्छ, “देहधारी परमेश्वर अत्यन्तै दयनीय हुनुहुन्छ; उहाँले सत्यता बोल्ने बाहेक केही गर्न सक्नुहुन्न।” यो कस्तो बोल्ने शैली हो? ख्रीष्टविरोधीको बोल्ने शैली यही हो। के तिमीहरू तिनीहरूसँग सहमत हुन्छौ? (म सहमत हुँदिनँ।) तिमीहरू किन सहमत हुँदैनौ? (तिनीहरूले भनेका कुरा तथ्यपरक हुँदैन।) तिनीहरूले भनेका कुरा तथ्यपरक नै हो। देहधारी परमेश्वरलाई आफ्नो बोलीवचनमा सत्यता व्यक्त गर्न सक्ने कार्य बाहेक, अरू कुनै कुरा कसरी गर्ने भन्ने थाहा छैन; उहाँसँग कुनै एउटा निश्चित सीप छैन। के यो दयनीय कुरा हो? के तिमीहरूलाई त्यस्तो लाग्छ? (लाग्दैन।) त्यसोभए तिमीहरूलाई के लाग्छ? कतिपय मानिसहरूले भन्छन्, “परमेश्वर साधारण र सामान्य हुनुभएकोले, अनि उहाँले व्यावहारिक काम गरिरहनुभएकोले नै, भ्रष्ट मानवजातिको रूपमा हामीले मुक्ति पाउने अवसर पाएका छौँ। नत्र भने, हामी सबै नरकमा पुग्नेथियौँ। अहिले हामीले ठूलो फाइदा पाइरहेका छौँ, त्यसकारण सुटुक्क यसको आनन्द लिऔं!” के तिमीहरूमा यस्तो भावना छ? (छ।) तर कतिपय मानिसहरू फरक हुन्छन्। तिनीहरूलाई के लाग्छ भने “परमेश्वरले केवल बोलिरहनुभएको छ; उहाँमा कुनै अलौकिक कुरा छैन। मैले के प्राप्त गरिरहेको छु? परमेश्वरका बारेमा मेरा आफ्नै धारणा र विचारहरू छन्, र म परमेश्वरलाई उहाँको पिठ्यूँ पछाडि आलोचना गर्छु, तर परमेश्वरले मलाई ताडना दिनुभएको छैन। मैले कष्ट भोगेको वा दण्ड पाएको छैनँ।” निरन्तर रूपमा, तिनीहरूको साहस बढ्छ, र तिनीहरूले जे पनि बोल्ने आँट गर्छन्। कतिपय मानिसहरूले भन्छन्, “देहधारी परमेश्वरलाई यसरी चिन्नुपर्छ: जब उहाँ बोल्नुहुन्छ, काम गर्नुहुन्छ, र सत्यता व्यक्त गर्नुहुन्छ, तब, भित्र, परमेश्वरका आत्माले काम गरिरहनुभएको हुन्छ, र देह त एउटा खोल, औजार मात्रै हो। साँचो सार परमेश्वरका आत्मा हुनुहुन्छ; यो त परमेश्वरका आत्मा बोलिरहनुभएको हो। यदि परमेश्वरका आत्मा नहुनुभएका भए, के देहले ती वचनहरू बोल्न सक्थ्यो?” यी वचनहरू सुन्दा सही लाग्न सक्छन्, तर तिनको अर्थ के हो? (ईश्वरनिन्दा।) ठीक भन्यौ, ती ईश्वरनिन्दा हुन्—कस्तो क्रूर स्वभाव! तिनीहरूले के भन्न खोजिरहेका हुन्छन्? “तपाईं कस्तो साधारण व्यक्ति हुनुहुन्छ। तपाईंमा आदर्शमय स्वरूप छैन, तपाईं त्यति प्रभावशाली देखिनुहुन्न। तपाईंको भाषण धाराप्रवाह वा सैद्धान्तिक रूपमा परिष्कृत हुँदैन—तपाईंले कुनै कुरा भन्नुभन्दा पहिले त्यसबारे सोच्नुपर्छ। तपाईं कसरी देहधारी परमेश्वर हुन सक्नुहुन्छ? तपाईं किन यति आशिषित् र सौभाग्यशाली हुनुहुन्छ? म किन देहधारी परमेश्वर होइनँ?” अन्त्यमा, तिनीहरूले भन्छन्, “यो त सबै परमेश्वरका आत्माले काम गरिरहनुभएको र बोलिरहनुभएको हो; देह त आत्माको निकास मात्र हो, यो एउटा औजार हो।” यसो भन्दा तिनीहरूलाई साटो फेरेको महसुस हुन्छ। यो ईर्ष्या हो, जसले घृणातर्फ डोऱ्याउँछ। यसको अर्थ के हो भने, “तपाईं कसरी देहधारी परमेश्वर हुनुभयो? तपाईं किन यति सौभाग्यशाली हुनुहुन्छ? तपाईंले यो फाइदा कसरी प्राप्त गर्नुभयो? मैले किन यो कुरा पाइनँ? मलाई तपाईं मभन्दा असल हुनुहुन्छ जस्तो लाग्दैन। तपाईं धाराप्रवाह बोल्न सिपालु हुनुहुन्न, तपाईँ उच्च रूपमा शिक्षित हुनुहुन्न, तपाईं म जस्तो सुन्दर हुनुहुन्न, र तपाईं म जस्तो अग्लो हुनुहुन्न। तपाईं मभन्दा कसरी असल हुनुहुन्छ? तपाईँ कसरी देहधारी परमेश्वर हुनुभयो? म किन भइनँ? यदि तपाईँ नै देहधारी परमेश्वर हुनुहुन्छ भने, धेरै मानिसहरू पनि परमेश्वर नै हुन्। मैले पनि यसका लागि लडाइ गर्नुपर्छ। सबैले तपाईँ परमेश्वर हुनुहुन्छ भनेर भन्छन्; त्यसमा मैले गर्न सक्ने केही पनि छैन, तर म अझै पनि यसरी नै तपाईँको आलोचना गर्नेछु। यसरी बोल्दा मेरो घृणा शान्त हुन्छ!” के यो क्रूर छैन र? (छ।) तिनीहरूले पदका लागि प्रतिस्पर्धा गर्न जे पनि बोल्ने आँट गर्छन्—के यो मृत्यु खोज्नु होइन र? यदि तँ उहाँ परमेश्वर हुनुहुन्छ भनेर स्वीकार गर्न चाहँदैनस् भने, तँलाई कसले जबरजस्ती गरिरहेको छ र? के मैले तँलाई जबरजस्ती गरेँ? मैले तँलाई जबरजस्ती गरेको छैन, छु र? पहिलो कुरा, मैले तँलाई स्वीकार गर्न बिन्ती गरिनँ। दोस्रो कुरा, मैले तँलाई जबरजस्ती स्वीकार गर्न लगाउन अतिशय माध्यमहरूको प्रयोग गरिनँ। तेस्रो कुरा, परमेश्वरका आत्माले हस्तक्षेप गरेर तँलाई तैँले स्वीकार गर्नु नै पर्छ, नत्र तँलाई दण्ड दिइनेछ भनेर भन्नुभएको छैन। के परमेश्वरले यसो गर्नुभएको छ? अहँ। तँसँग स्वतन्त्र रूपमा निर्णय गर्ने अधिकार छ; तैँले स्वीकार नगर्ने निर्णय गर्न सक्छस्। त्यसोभए, यदि तँ स्वीकार गर्न चाहँदैनस् भने, किन स्वीकार गर्छस् त? के तैँले आशिष्हरू मात्रै खोजिरहेको छैनस् र? तिनीहरूले आशिष्हरू चाहन्छन् तर स्वीकार गर्न वा पालन गर्न सक्दैनन्, वा तिनीहरू अझै पनि अनिच्छुक महसुस गर्छन्, त्यसैले तिनीहरूले के गर्छन्? तिनीहरूले यस्ता दुर्भावनापूर्ण शब्दहरू बोल्छन्। के तिमीहरूले पहिले यस्ता शब्दहरू सुनेका छौ? मैले केही मानिसहरूका बीचमा ती एक-दुई पटक भन्दा बढी नै सुनेको थिएँ। कतिपय मानिसहरूले सोच्छन्, “हामीले तपाईँसँगै परमेश्वरमा विश्वास गर्न थालेका हौँ। त्यो बेला, तपाईं जवान हुनुहुन्थ्यो, र प्रायजसो परमेश्वरका वचनहरू लेख्नुहुन्थ्यो। पछि, तपाईंले प्रचार गर्न थाल्नुभयो। तपाईं साधारण व्यक्ति मात्रै हुनुहुन्छ; हामीलाई तपाईंको पृष्ठभूमिबारे थाहा छ।” मेरो पृष्ठभूमि कस्तो छ? म त साधारण व्यक्ति मात्रै हुँ; मेरोबारे सत्यता त्यही हो। म साधारण र सामान्य व्यक्ति भएकोले, र आज धेरै मानिसहरूले मलाई पछ्याएकाले नै तँ अनिच्छुक छैनस् र? यदि तँ अनिच्छुक छस् भने, विश्वास नगर्। यो परमेश्वरको काम हो; म मेरो जिम्मेवारीबाट पछि हट्न सक्दिनँ, मसँग कुनै बहाना छैन, र मैले कुनै चोट पुर्याउने वा हानि गर्ने काम गरेको छैनँ। त्यसोभए, तैँले किन मलाई यो दृष्टिकोणले व्यवहार गर्छस्? यदि तँ अनिच्छुक छस् भने, विश्वास नगर्। जसलाई विश्वास गर्न इच्छुक छस् उसैलाई विश्वास गर्; मलाई नपछ्या। मैले तँलाई जबरजस्ती गरेको छैनँ। तैँले किन मलाई पछ्याइरहेको छस्? कतिपय त अनुसन्धान गर्न मेरो घरमा समेत आए। तिनीहरूले के अनुसन्धान गरिरहेका थिए? तिनीहरूले मलाई सोधे, “के तपाईं घर फर्केर जानुहुन्छ? अहिले तपाईंको घरको आर्थिक अवस्था कस्तो छ? तपाईंको परिवारका सदस्यहरूले के गर्छन्? तिनीहरू कहाँ छन्? तिनीहरूको जीवन कस्तो छ?” कतिपय मानिसहरूले मेरो घरमा भएको अतिरिक्त सिरक वा कम्बल समेत छानबिन गरे। यी मानिसहरू परमेश्वरमा विश्वास गर्न बिलकुलै इच्छुक छैनन्! तिनीहरू किन इच्छुक छैनन्? किनभने तिनीहरूले सोच्छन्, “परमेश्वर यस्तो हुनु हुँदैन। परमेश्वर यति सानो, यति सामान्य र व्यावहारिक, र यति साधारण र आम हुनु हुँदैन। उहाँ अत्यन्तै साधारण हुनुहुन्छ, यति साधारण हुनुहुन्छ कि हामी उहाँलाई परमेश्वरका रूपमा चिन्नै सक्दैनौँ।” के आत्मिक बुझाइ नभएका तेरा आँखाले परमेश्वरलाई चिन्न सक्छन्? यदि परमेश्वर तँलाई यो कुरा बताउन स्वर्गबाट ओर्लनुभयो भने पनि तैँले उहाँलाई चिन्न सक्नेथिइनस्। के तँ परमेश्वरको वास्तविक व्यक्तित्वलाई देख्न योग्य छस्? यदि परमेश्वरले तँलाई उहाँ परमेश्वर हुनुहुन्छ भनेर स्पष्ट रूपमा भन्नुभए समेत, तैँले त्यसलाई स्वीकार गर्नेथिइनस्। के तैँले उहाँलाई चिन्न सक्थिस्? यी कस्तो प्रकारका मानिसहरू हुन्? तिनीहरूको प्रकृति के हो? (दुष्टता।) यी मानिसहरूले साँच्चै नै “मेरा दृष्टिकोणहरू फराकिला बनाउँछन्।”
मैले परमेश्वरको काम लिएदेखि, यो पहिचान र पद लिएर मेरो काम अघि बढाउँदै गर्दा, म निश्चित व्यक्तिहरूसँग सम्पर्कमा आएको छु। यी विविध “प्रतिभाशाली मानिसहरू” को सामना गर्दा, मैले के अवलोकन गरेँ भने मानवको भ्रष्ट स्वभावबाट दुई वटा शब्द अविभाज्य छन्: “दुराचारी” र “दुष्ट”—यी दुवै शब्दहरूले त्यसलाई सारांशित गर्छन्। तिनीहरूले किन हरेक दिन मलाई अध्ययन गर्छन्? तिनीहरू किन मेरो पहिचानलाई स्वीकार गर्न अनिच्छुक हुन्छन्? के म अत्यन्तै साधारण र सामान्य व्यक्ति भएकोले होइन र? यदि म आत्मिक शरीरका रूपमा भएको भए, के तिनीहरूले आँट गर्नेथिए? तिनीहरूले मलाई यसरी अध्ययन गर्ने आँट गर्नेथिएनन्। यदि मसँग निश्चित सामाजिक हैसियत, साथै विशेष क्षमताहरू, महान् मानिसको छवि र स्वरूप, र अलिक दुष्ट, हुकुमी, र निर्दयी स्वभाव भएको भए, के यी मानिसहरूले मलाई अनुसन्धान गर्न र अध्ययन गर्न मेरो घरमा आउने आँट गर्नेथिए? तिनीहरूले पटक्कै आँट गर्नेथिएनन्; तिनीहरू मबाट जोगिनेथिए, मलाई आइरहेको देख्दा लुक्नेथिए, र तिनीहरूले निश्चय नै मलाई अध्ययन गर्ने आँट गर्नेथिएनन्, होइन र? त्यसोभए तिनीहरूले किन मलाई यसरी अध्ययन गर्न सक्छन्? तिनीहरूले मलाई सजिलो निसानाका रूपमा हेर्छन्। सजिलो निसाना बन्नु भनेको के हो? यसको अर्थ म अत्यन्तै साधारण छु भन्ने हो। “साधारण” को अर्थ के हो? “तपाईं त एउटा व्यक्ति मात्रै हुनुहुन्छ; तपाईं कसरी परमेश्वर हुन सक्नुहुन्छ? तपाईंमा परमेश्वरसँग हुनुपर्ने ज्ञान, सिकाइ, वरदान, प्रतिभा, र क्षमताहरूको पूर्ण रूपमा कमी छ। तपाईं कसरी परमेश्वर जस्तै हुनुहुन्छ र? तपाईं उहाँ जस्तो हुनुहुन्न! त्यसकारण, मलाई तपाईं परमेश्वर हुनुहुन्छ भनेर स्वीकार गर्न, तपाईंलाई पछ्याउन, तपाईंका वचनहरू सुन्न, र तपाईंमा समर्पित हुन गाह्रो हुन्छ। मैले विस्तृत रूपमा अनुसन्धान गर्नुपर्छ: मैले तपाईंलाई नियाल्नुपर्छ, तपाईंमा नजर राख्नुपर्छ, र तपाईंलाई कुनै अनुचित काम गर्न दिनु हुँदैन।” तिनीहरूले के गर्ने प्रयास गरिरहेका हुन्छन्? उदाहरणका लागि, यदि मसँग सामाजिक हैसियत र निश्चित स्तरको ख्याति भएको भए, यदि म प्रथम श्रेणीको गायक भएको भए, र एक दिन मैले म परमेश्वर, ख्रीष्ट हुँ भनेर गवाही दिएँ भने, कम्तीमा पनि केही मानिसहरू विश्वस्त हुनेथिएनन् र? मलाई अध्ययन गर्ने मानिसहरूको सङ्ख्या तुलनात्मक रूपमा कम हुनेथियो। म साधारण, सामान्य, व्यावहारिक, र अत्यन्तै आम व्यक्ति हुँ भन्ने तथ्यले नै धेरै मानिसहरूलाई प्रकट गर्छ। यसले तिनीहरूमा भएको के कुरालाई प्रकट गर्छ? यसले तिनीहरूको दुष्टतालाई प्रकट गर्छ। यो दुष्टता कुन हदसम्म पुग्छ? यो हदसम्म पुग्छ कि जब म तिनीहरूको नजिकबाट जान्छु, तब तिनीहरूले मेरो ढाडमा परमेश्वरको स्वरूप खोज्दै, मेरो बोलीवचनमा कुनै आश्चर्यकर्महरू देखा परेका छन् कि छैनन् भनेर जाँच्दै, मलाई लामो समयसम्म अध्ययन गर्छन्। तिनीहरूले प्रायजसो आफ्नो हृदयमा यस्तो अनुमान लगाउँछन्, “यी वचनहरू कहाँबाट आउँछन्? के ती उहाँले सिक्नुभएको हो? त्यसको सम्भावना त छैन जस्तो लाग्छ: उहाँसँग अध्ययन गर्ने त्यत्ति समय हुन्छ जस्तो त देखिँदैन। हालैका वर्षहरूमा उहाँ निकै परिवर्तित हुनुभएको छ; यो सिकेको कुरा हो जस्तो देखिँदैन। त्यसोभए, यी वचनहरू कहाँबाट आउँछन्? यो कुरा बुझ्न गाह्रो छ; म सावधान हुनुपर्छ,” र तिनीहरूले अध्ययन गरिरहन्छन्। निरन्तर अध्ययन गर्नेहरूले मसँग आमने-सामने संलग्न हुने, अन्तरक्रिया, वा कुराकानी गर्ने गर्दैनन्; तिनीहरूले सधैँ मेरो पिठ्यूँ पछाडि मनन गरिरहेका हुन्छन्, सधैँ मेरा वचनहरूमा गल्तीहरू खोज्न, र केही गलचेप पक्रन खोजिरहेका हुन्छन्। तिनीहरूले आफ्नो धारणासँग नमिल्ने एउटै वाक्यको अध्ययन धेरै दिनसम्म गर्न सक्छन्, र अलिक कठोर टिप्पणीले तिनीहरूमा धारणा विकास गर्न सक्छ। यी कुराहरू कहाँबाट आउँछन्? ती मानिसहरूको मन र ज्ञानबाट आउँछन्। परमेश्वरको अध्ययन गर्न सक्ने, परमेश्वरबारे अनुमान लगाउन निरन्तर आफ्ना विचारहरू प्रयोग गर्न सक्ने मानिसहरू कस्ता मानिसहरू हुन्? के तिनीहरूलाई दुष्ट स्वभाव भएका मानिसहरूका रूपमा चित्रण गर्न सकिन्छ? अवश्य नै! तँसँग समय र ऊर्जा भएको देख्दा, तैँले सत्यताबारे मनन गर्न सके निकै राम्रो हुनेथियो! कुनचाहिँ सत्यता सङ्गति गर्न र मनन गर्न तँलाई अलिकति पनि समय लाग्नेछैन र? यति धेरै सत्यताहरू छन् कि तैँले यस जीवनकालमा ती सबै मनन गर्न सक्दैनस् होला। व्यक्तिले बुझ्नुपर्ने सत्यताहरू अत्यन्तै धेरै छन्। तिनीहरूले यस मामलामा कुनै बोझ महसुस गर्दैनन्, तैपनि तिनीहरूले ती बाहिरी र सतही मामलाहरूलाई कहिल्यै बिर्सँदैनन् र सधैँ तिनलाई अध्ययन गरिरहेका हुन्छन्। मैले बोल्ने बित्तिकै, तिनीहरूले आँखा झिमिक्क गर्छन्, मेरो आँखाको भावलाई हेरिरहन्छन्, मेरा व्यवहार र अभिव्यक्तिहरूलाई छानबिन गर्छन्, र आफ्नो हृदयमा यस्तो अनुमान गर्छन्, “के यस पक्षमा उहाँ परमेश्वरसँग मिल्दोजुल्दो हुनुहुन्छ त? उहाँको बोलीवचन उहाँसँग मिल्दोजुल्दो छैन, र उहाँको आँखाको भाव पनि त्यति मिल्दोजुल्दो छैन। मैले कसरी उहाँलाई बुझ्न सक्छु? उहाँले मेरो बारेमा आफ्नो हृदयको गहिराइमा के सोच्नुहुन्छ भनेर मैले कसरी देख्न सक्छु? विविध मामलाहरूबारे उहाँले के सोच्नुहुन्छ? उहाँले मलाई कसरी परिभाषित गर्नुहुन्छ?” तिनीहरू सधैँ यी विचारहरू बोकेर बस्छन्। के यो दुष्ट कुरा होइन र? (हो।) यो मुक्तिभन्दा बाहिरको कुरा हो—यो अत्यन्तै दुष्ट कुरा हो!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।