विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग तीन) खण्ड एक
पूरक: उपहारहरू
म यो सङ्गतिको मुख्य विषयमा आउनुभन्दा पहिले, एउटा कथा सुनाउँछु। मैले कस्तो कथा सुनाउनुपर्छ? यदि यसले मानिसहरूमा कुनै प्रभाव पार्दैन, वा यदि यसले परमेश्वरमा विश्वास गर्नेहरूलाई जीवन प्रवेश र परमेश्वरलाई चिन्ने विषयमा कुनै वृद्धिविकास वा फाइदा गर्दैन भने, यसका बारेमा बताउनुको कुनै अर्थ हुँदैन। यदि मैले कथा सुनाउन लागेको छु भने, त्यो कथा आफैमा केही हदसम्म वृद्धिविकास गर्ने खालको हुनुपर्छ—यसको मूल्य र अर्थ हुनुपर्छ। त्यसकारण आज यो कथा सुन र यो तिमीहरूका लागि वृद्धिविकास गर्ने खालको र उपयोगी हुन सक्छ कि सक्दैन हेर। कतिपय कथाहरू साँचो हुन्छन्, जबकि अरू वास्तविक घटनाहरूबाट लिइएका मनगढन्ते कथाहरू हुन्छन्; ती साँचो त हुँदैनन्, तर जीवनमा प्रायजसो त्यस्ता घटनाहरू देखा पर्छन्, त्यसैले ती वास्तविकताबाट अलग हुँदैनन्। ती कुराहरू मनगढन्ते भए पनि, वा ती साँच्चै घटेका घटना भए पनि, ती सबै मानिसहरूको जीवनसँग निकट रूपमा सम्बन्धित हुन्छन्। त्यसोभए तिमीहरूलाई किन त्यस्ता कथाहरू बताउने? (ताकि हामीले सत्यता बुझ्न सकौँ।) ठीक भन्यौ: ताकि तिमीहरूले तीबाट सत्यता बुझ्न सक—मानिसहरूलाई वास्तविक जीवनमा जान्न गाह्रो हुने केही सत्यताहरू। सत्यता र परमेश्वर सम्बन्धी मानिसहरूको ज्ञानलाई वास्तविकताको नजिक ल्याउन अनि सत्यता र परमेश्वरलाई बुझ्न तिनीहरूका लागि सजिलो बनाउन हामी कथा वाचनको प्रयोग गरौँ।
जब म लामो समयसम्म मानिसहरूसँग धेरै सम्पर्कमा हुन्छु, तब अनौठा र रमाइला घटनाहरू अपरिहार्य रूपमा नै घट्ने गर्छन्। यो घटना यस वर्षको वसन्तमा भएको थियो। जाडो बित्दै र वसन्त याम नजिकिँदै जाँदा, मौसम झन्-झन् न्यानो बन्दै गएको थियो, र सबै किसिमका बोटबिरुवाहरू उम्रन थालेका थिए, जो घाम-पानीको स्पर्शले दिनप्रतिदिन बढ्दै गइरहेका थिए। तीमध्ये कतिपय बिरुवाहरू जङ्गली थिए, र कतिपय रोपिएका थिए; केही बोटबिरुवा पशुलाई खुवाउनका लागि थिए, केही मानिसका लागि, र केही पशु र मानिस दुवैका लागि थिए। यो वसन्तको दृश्य थियो: हराभरा र जीवन्त दृश्य। अनि कथा यहीँ सुरु हुन्छ। एक दिन, एउटा विशेष उपहार प्राप्त हुँदा म आश्चर्यचकित भएँ। कस्तो उपहार? एक झोला जङ्गली सागपात। मलाई यो दिने व्यक्तिले भन्यो, “यो चम्सुरे झार हो—यो खान योग्य छ र तपाईंको स्वास्थ्यका लागि राम्रो हुन्छ। यसलाई अण्डासँग घोलेर पकाउन सकिन्छ।” ठीकै हो। त्यसपछि मैले त्यसलाई पहिले किनेको चम्सुरे झारसँग तुलना गरेँ, र मैले त्यसो गर्नेबित्तिकै एउटा समस्या देखा पर्यो। के तिमीहरू यो के थियो भन्ने कुरा अनुमान गर्न सक्छौ? मैले एउटा “रहस्य” भेट्टाएको थिएँ। कस्तो रहस्य? विदेशमा पाइने चम्सुरे झार चीनमा पाइने चम्सुरे झारभन्दा फरक हुने रहेछ। के यसमा केही गलत छ? (हो, छ।) यदि यो एउटै चीज भएको भए, यो पनि उस्तै देखिनु पर्थ्यो, त्यसकारण यो फरक देखेपछि दिमागमा आउने पहिलो कुरा के हुन्छ? यो चम्सुरे झार हो कि होइन? म निश्चित हुन सकिनँ। के मैले त्यो व्यक्तिलाई के भइरहेको छ भनेर सोध्नु पर्दैनथियो? त्यसकारण पछि, म गएर तिनलाई सोधेँ, “के यो चम्सुरे झार हो भन्ने कुरामा तँ निश्चित छस्?” तिनले यसको बारेमा एकछिन सोचेर भने, “अहो, यो चम्सुरे झार हो कि होइन, म निश्चित छैन।” यदि तिनी निश्चित थिएनन् भने, तिनले कसरी मलाई यो कुरा दिन सक्थे? तिनले किन मलाई यो दिने आँट गर्थे? भाग्यवश, मैले यो त्यत्तिकै खाइनँ। दुई दिनपछि, म निश्चित भएँ कि यो साँच्चै चम्सुरे झार होइन। ती व्यक्तिले के भने? तिनले भने, “यो चम्सुरे झार होइन भन्ने कुरा तपाईंले कसरी थाहा पाउनुभयो? म निश्चित छैन, तर यसको बारेमा बिर्सिदिनुहोस्: यो नखानुहोस्।” के त्यस्तो कुरा पनि खान मिल्छ र? (मिल्दैन।) यसलाई खान मिल्दैन। यदि मैले “तँ निश्चित छैनस्, तर म यसलाई खाएर हेर्छु, किनभने तँ यति दयालु छस्” भनेर भनेँ भने, के त्यसरी हुन्छ? (हुँदैन।) त्यस्तो व्यवहार गर्नुको प्रकृति के हो? के यो मूर्खतापूर्ण कुरा हुनेछ? (हुनेछ।) हो, यो मूर्खता हो। भाग्यवश, मैले यो खाइनँ, न त मैले थप अनुसन्धान नै गरेँ, त्यसकारण यो कुरा त्यतिमै सकियो।
केही समयपछि, खेतहरूमा सबै किसिमका जङ्गली बोटबिरुवाहरू बढ्न थाले: अग्लाहोचा, फूल फुल्ने र नफुल्ने, र हरेक वर्ण र प्रजातिका वनस्पतिहरू। तिनीहरूको सङ्ख्या बढ्दै गयो, ती झन्-झन् बाक्लो हुँदै गए र तिनीहरूको आकार झन्-झन् राम्रो बन्दै गयो। एक दिन मैले अर्को उपहारको झोला प्राप्त गरेँ, तर यो झोलामा चम्सुरे झार थिएन। बरु, यसमा त्यही मानिसले पठाएको चिनियाँ तितेपाती थियो। तिनले अर्को झोला पठाएका थिए, र त्योसँगै, यस्ता निर्देशनहरू थिए, “यसलाई प्रयोग गरेर हेर्नुहोस्। यो चिनियाँ तितेपाती हो: यसले चिसो हटाउँछ, र तपाईंले यसलाई अण्डासँग भुटेर पनि खान सक्नुहुन्छ।” मैले त्यो हेरेँ: के यो मौसमी तितेपातीको मुना थिएन र? चिनियाँ तितेपाती चीनका धेरै ठाउँमा पाइन्छ, र यसका पातहरूमा विशेष सुगन्ध हुन्छ, तर त्यस मानिसले पठाएको कुरा त्यो थिएन—त्यसलाई कसरी चिनियाँ तितेपातीका रूपमा लिन सकिन्छ? पातहरू लगभग उस्तै छन्, तर के त्यो चिनियाँ तितेपाती थियो कि थिएन? मैले त्यो दिने मानिसलाई सोधेँ, तर तिनले थाहा छैन भनेर भने—यति भनेर तिनले पूर्ण रूपमा जिम्मेवारी पन्छाए। तिनले यो समेत सोधे, “तपाईंले यो अहिलेसम्म किन खानुभएको छैन? यो के हो भनेर म निश्चित नभए पनि, तपाईंले अलिकति खानुपर्छ। मैले अलिकति खाएको थिएँ, साँच्चिकै मीठो रहेछ।” तिनी निश्चित थिएनन्, तैपनि तिनले मलाई त्यो खान लगाइरहेका थिए। तिमीहरू सबैलाई मैले के गर्नुपर्थ्यो भन्ने लाग्छ? के मैले जबरजस्ती खानुपर्थ्यो? (होइन।) त्यसलाई अवश्य नै खानु हुँदैनथियो, किनभने त्यो पठाउने व्यक्तिलाई त्यो के हो भन्ने समेत थाहा थिएन। यदि मैले जोखिम उठाएर नयाँ कुरा चाख्ने निहुँमा त्यो खाएको भए, सायद केही हुनेथिएन, किनकि त्यो खाइसकेको व्यक्तिले केही हुँदैन भनेर भनेको थियो। तर केही हुँदैन भनेर केही थाहा नपाई खाने कार्यलाई के भन्ने? के त्यो अन्धाधुन्ध रूपमा काम गर्नु होइन र? कस्तो व्यक्तिले अन्धाधुन्ध रूपमा त्यस्ता कुराहरू गर्छ? रुखो र लापरवाह व्यक्तिले मात्रै यसो गर्छ—जसले यस्तो सोच्छ, “यो तितेपाती भए पनि नभए पनि; यो पहिचान गर्नका लागि पर्याप्त हुन्छ।” के तिमीहरूलाई मैले यसो गर्नुपर्छ भन्ने लाग्छ? (लाग्दैन।) किन लाग्दैन? खाने कुराहरू धेरै छन्; नचिनेको वनस्पति खाने जोखिम किन लिनु? अनिकालको बेला, जब कुनै खानेकुरा बाँकी हुँदैन, तब तैँले खानका लागि विभिन्न जङ्गली सागपात खोजेर खान सक्छस्, र केही जोखिम लिन सक्छस्। यस्ता परिस्थितिहरूमा, तैँले नचिनेका वनस्पति खान सक्छस्। तर के अहिले परिस्थिति आएको हो र? (होइन।) खान सकिने कुराहरू धेरै छन्, र पनि किन जङ्गली सागपात खोज्ने? के अदृश्य, अस्पृश्य, र काल्पनिक सानो फाइदाका लागि मात्रै जोखिम लिन जरुरी छ? (छैन।) त्यसकारण, मैले यो नखाने निर्णय गरेँ। भाग्यवश, मैले यो खाइनँ; न त मैले थप अनुसन्धान नै गरेँ, र त्यो कुरा पनि त्यतिमा नै सकियो।
केही समयपछि, त्यस मानिसले मलाई अर्को उपहार दियो; यो तेस्रो पटक थियो। यस पटकको उपहार निकै विशेष थियो: यो माटोमा उम्रेको थिएन, न त रूखमा नै फलेको थियो। त्यो के थियो? दुई वटा चरोको अण्डालाई एउटा कागजको झोलामा राम्ररी पोको पारिएको थियो, जसमा “परमेश्वरका लागि चरोको अण्डा” भन्ने शब्दहरू लेखिएका थिए। हाँसउठ्दो कुरा, होइन र? मैले कागजको झोला खोल्दा, सुन्दर रङ्गका दुई वटा अण्डा देखेँ। मैले पहिले कहिल्यै त्यस्ता अण्डाहरू देखेको थिइनँ, त्यसकारण मैले त्यो कुन चरोको अण्डा हो भनेर भन्न सकिनँ; मैले इन्टरनेटमा जानकारी खोज्ने विचार गरेँ, तर मैले कुनै पनि सुराग भेट्टाउन सकिनँ, किनभने त्यस्तै ढाँचा र रङका अण्डाहरू धेरै थिए, त्यसकारण तिनको आकार र रङको आधारमा तिनलाई पहिचान गर्न सकिने उपाय थिएन। के तिमीहरू कसैलाई मैले त्यस मानिसलाई त्यो कस्तो चरोको अण्डा हो भनेर सोध्नुको कुनै अर्थ हुनेथियो भन्ने लाग्छ? (लाग्दैन।) किन लाग्दैन? (तिनलाई पनि थाहा हुनेथिएन।) तिमीहरूले ठीक अनुमान गर्यौ; तिनलाई पनि थाहा हुनेथिएन। त्यसकारण मैले तिनलाई सोधिनँ। यदि मैले सोधेको भए, मैले तिनको भावनामा चोट पुर्याउनेथिएँ, र तिनले यस्तो सोच्नेथिए, “मैले यति राम्रो अभिप्राय राख्छु र वास्ता गर्छु, तर पनि तपाईं मलाई शङ्का गर्नुहुन्छ। तपाईंलाई किन तिनका बारेमा इन्टरनेटमा खोजी गर्नुपर्यो? मैले ती तपाईंलाई खानका लागि दिइरहेको हुनाले, तपाईंले तिनलाई चुपचाप खानुपर्छ!” तिमीहरूलाई के लाग्छ, मैले अण्डा खानुपर्थ्यो कि पर्दैनथ्यो? (तपाईंले खानु हुँदैनथियो।) यदि तिनले तिमीहरूलाई ती दिएका भए, के तिमीहरूले ती खानेथियौ? (खानेथिएनौँ।) म पनि खानेथिइनँ। यी अण्डाहरू चराले बच्चा काढ्नका लागि र प्रजननका लागि हुन्। के तिनलाई खानु क्रूरता हुनेथिएन र? (हुनेथियो।) मैले त्यसो गर्न सकिनँ, त्यसकारण चरोको अण्डाको मामला यसरी सकियो, तर यस्ता कुराहरू निरन्तर भइरहन्थे।
एक दिन, मैले कुनै ठाउँमा मौसमी तितेपातीको मुना भेट्टाएँ—जुन चिनियाँ तितेपाती जस्तो देखिन्थ्यो—त्यसलाई कुनै रेलिङमा सुकाइएको रहेछ, त्यसकारण मैले एक जना सिस्टरलाई यो केका लागि हो भनेर सोधेँ। तिनले भनिन्, “के यो त्यो मानिसले अस्ति तपाईंलाई दिएको चिनियाँ तितेपाती नै होइन र?” “चिनियाँ तितेपातीले सर्दी र चिसोलाई हटाउन सक्छ। के तपाईं चिसोप्रति संवेदनशील हुनुहुन्न र? त्यो मानिसले यो सुकेपछि त्यसलाई तातो पानीमा मिसाएर खुट्टा डुबाएर चिसोलाई हटाउनका लागि तपाईंको निम्ति राखिदिन्छु भनेको थियो।” त्यो सुनेपछि तिमीहरूलाई मेरो प्रतिक्रिया के थियो भन्ने लाग्छ? एउटा शब्द। (अवाक्।) ठीक भन्यौ, म अवाक् भएँ। यस्ता परिस्थितिहरूमा, के मैले यो व्यक्तिको कति वास्ता गर्ने किसिमको छ, र उसले कसरी साँच्चै नै असाधारण प्रयास गरेको थियो भन्ने बारेमा मनन् गर्नु पर्दैन र? म कसरी अवाक् हुन सकें? यति मात्र हो कि, ती व्यक्तिले पहिलेका घटनाहरूबाट केही कुरा बुझेका थिएनन् र आफ्नो शैली परिवर्तन गरेका थिए, मानौँ तिनले यसो भनिरहेका थिए, “मैले तपाईंलाई खानका लागि हरियो सागपात र अण्डा दिएँ, तर तपाईंले ती खानुभएन, त्यसकारण मैले तपाईंका लागि तातो पानीमा खुट्टा भिजाउन केही चिनियाँ तितेपाती सुकाएर राखिदिएको छु, ताकि मेरो मेहनत खेर नजाओस्।” यो दृश्य हेर्दा, म साँच्चै नै अवाक् भएँ। पछि, मैले अरू कसैलाई अहिले धेरै औषधि पसलहरूमा चिनियाँ तितेपाती पाइन्छ भनेर भनिरहेकी थिएँ। आफूलाई चाहिने जति किन्न सकिन्छ: यो विभिन्न प्याकेजिङमा आउँछ, विभिन्न देशहरूले उत्पादन गर्छन्, र यसलाई स्वच्छ रूपमा प्रशोधन गरिन्छ। यो त्यस मानिसले मलाई पठाएको चीजभन्दा निकै राम्रो हुन्छ, त्यसकारण के यसलाई सडकको छेउबाट उठाएर रेलिङमा राखी घाममा सुकाउनु व्यर्थ होइन र? यदि तिनले यसलाई सुकाएर मलाई दिन्छ भने, के तँलाई म त्यो चाहन्छु भन्ने लाग्छ? (तपाईं चाहनुहुन्न।) म त्यो चाहन्नँ। समय बित्दै जाँदा, पर्खालमा तितेपाती देखिन छोड्यो, किनभने मैले भनेको कुरा तिनलाई थाहा भयो, र तिनले त्यो पठाउन छोडे। पछि, खेतमा अझै धेरै जङ्गली सागपात उम्रेपछि तिनलाई अब दुर्लभ मान्न छोडिएको हुनुपर्छ, त्यसकारण कसैले पनि मलाई ती जङ्गली सागपात पठाएनन्। अनि मलाई लाग्छ, यस बीचमा चरोको अण्डाबाट बच्चा पनि निस्क्यो होला र त्यसलाई भेला गर्न सकिएन, त्यसकारण यसबेलासम्म, मैले थप चरोको अण्डा वा जङ्गली सागपात पाएको छैनँ। मेरो कथा त्यही नै थियो।
कथामा कुल चार वटा घटनाहरू थिए, जुन सबै मलाई पठाइएका चीजहरूका बारेमा थिए: दुई वटा अज्ञात जङ्गली सागपात पठाइएको बारेमा थिए, एउटा अज्ञात चरोको अण्डा पठाइएको बारेमा थियो, र अर्कोचाहिँ घाममा सुकाइएको “परम्परागत चिनियाँ औषधि” को बारेमा थियो। यी चीजहरूका बारेमा कुरा गर्नु अलिक हास्यास्पद लाग्न सक्छ, तर घटनाहरूकै सन्दर्भमा भन्दा, ती कुरा सुनेपछि तिमीहरूलाई केही लाग्यो भने त्यो के हो? के तिमीहरूले ती कुराहरूमा बुझ्नुपर्ने वा ती कुराबाट लिनुपर्ने कुनै कुरा छ, तिमीहरूले सिक्नुपर्ने कुनै पाठहरू छन्? तिमीहरूले सबैले सुनिरहँदा के सोचिरहेका थियौ? के मैले बताएका कुराहरू कुनै निश्चित व्यक्तिप्रति लक्षित थिए? अवश्य नै थिएनन्। तर, यदि ती कुनै निश्चित व्यक्तिप्रति लक्षित थिएनन् भने, म किन तिनका बारेमा कुरा गरिरहेको छु? के यो अर्थपूर्ण छ? कि यो गफ मात्रै हो? (होइन।) तिमीहरू यसलाई गफ ठान्दैनौ भने, के तिमीहरूलाई मैले यसको बारेमा किन कुरा गरिरहेको छु भन्ने थाहा छ? यी मानिसले किन यस्ता कामहरू गरे? तिनको व्यवहारको प्रकृति कस्तो थियो? तिनको मनसाय के थियो? यसमा भएका समस्याहरू के-के हुन्? के तिनको प्रसङ्ग बताउनु आवश्यक छ? यदि तैँले मानिसहरूलाई र घटनाहरूको प्रकृतिलाई प्रसङ्गको आधारमा हेरिस् भने तैँले सत्यता बुझ्न सक्नेछस्। तिमीहरूलाई के लाग्छ, यस्ता कामहरू गर्ने मानिसमा असल अभिप्रायहरू थिए कि खराब अभिप्रायहरू? (असल अभिप्रायहरू।) सर्वप्रथम, एउटा कुरा निश्चित छ: तिनको अभिप्राय राम्रो थियो। तिनका असल अभिप्रायहरूमा के कुरा गलत थियो? के असल अभिप्रायहरू लिएर काम गर्नु भनेको तैँले वास्ता गरिरहेको छस् भन्ने हो? (यसै भन्न सकिन्न।) यदि व्यक्तिले कुनै कुरा गर्नुको मनसाय असल अभिप्रायहरू हुन् भने, के त्यसमा भ्रष्ट स्वभावको अशुद्धता हुँदैन भन्ने हुन्छ? हुँदैन। त्यसोभए म तिमीहरू सबैलाई सोध्छु, यदि तिमीहरू आफ्ना आमाबुबाप्रति आदरपूर्ण र आज्ञाकारी छौ भने, तिमीहरूले किन उनीहरूलाई यी कुराहरू खानका लागि पठाउँदैनौ? अथवा यदि तँलाई तेरा हाकिम र अगुवाहरू मनपर्छ र तिनीहरूको वास्ता लाग्छ भने, तैँले तिनीहरूलाई किन यस्ता चीजहरू खान दिँदैनस्? तैँले किन त्यसो गर्ने आँट गर्दैनस्? किनभने तँलाई कुनै कुरा बिग्रिनेछ भनेर डर लाग्छ। तँलाई तेरा आमाबुबा, अगुवा, र हाकिमहरूलाई हानि गर्छु भन्ने डर लाग्छ, त्यसोभए के तँलाई परमेश्वरलाई हानि गर्छु भन्ने डर लाग्दैन र? तेरा अभिप्रायहरू के-के हुन्? तेरो दयामा के लुकेको छ? के तँ परमेश्वरलाई छल गर्ने प्रयास गरिरहेको छस्? के तँ उहाँसँग खेलबाड गर्ने प्रयास गरिरहेको छस्? के तैँले परमेश्वर जो आत्मा हुनुहुन्छ उहाँसँग यस्ता कुराहरू गर्ने आँट गर्नेथिइस्? यदि तैँले परमेश्वरको देह सामान्य मानवताको हो भन्ने देखेर, उहाँको डर मान्नुको सट्टा, यस्ता कुराहरू गर्ने आँट गरिस् भने के तँसँग परमेश्वरको डर मान्ने हृदय हुन्छ? यदि तँसँग परमेश्वरको डर मान्ने हृदय छैन भने, के त्यस्ता कुराहरू गर्नु साँच्चै नै तैँले वास्ता गरेको हुन्छ? त्यो वास्ता गर्नु होइन: यो त परमेश्वरलाई धोका दिनु र उहाँसँग खेलबाड गर्नु हो, र यो तेरो अत्यन्तै दुस्साहसी कार्य हो! यदि तँ साँच्चै नै जिम्मेवार व्यक्ति होस् भने, तैँले किन केही कुरा परमेश्वरको अघि ल्याउनुभन्दा पहिले केही पनि गलत छैन भन्ने कुरा निश्चित गर्नका लागि आफैले खाएर चाख्दैनस्? यदि तैँले आफै नखाई र नचाखी यसलाई सीधै परमेश्वरकहाँ ल्याइस् भने, के यो परमेश्वरसँग खेलबाड गर्नु होइन र? के यसो गरेर तँलाई आफूले परमेश्वरको स्वभावलाई चिढ्याइरहेको छु भन्ने लाग्दैन? के यो परमेश्वरले बिर्सन सक्नुहुने कुरा हो? तैँले यसलाई बिर्सिइस् भने पनि, परमेश्वरले बिर्सनुहुनेछैन। यस्तो काम गर्दा, तेरो दिमागमा के कुरा चलिरहेको हुन्छ? तैँले यसलाई चाखिनस्, र तँसँग कुनै वैज्ञानिक प्रमाण छैन, तैपनि तँ यो कुरा परमेश्वरलाई दिने आँट गर्छस्। के यो जिम्मेवार व्यवहार हो? यदि तैँले परमेश्वरलाई हानि गरिस् भने, तैँले कस्तो जिम्मेवारी लिनेछस्? कानुनले तँलाई कारवाही नगरे पनि, परमेश्वरले तँलाई अनन्त दण्ड दिनुहुनेछ। तैँले यो रद्दीलाई गैरविश्वासी अगुवा र अधिकारीहरूलाई समेत दिनलायक ठान्दैनस्, र तैँले यसलाई अशोभनीय ठान्छस्, र पनि तैँले कस्ता अभिप्रायले यो कुरा परमेश्वरलाई दिन्छस्? के मेरो मूल्य त्यति थोरै छ? यदि तैँले आफ्नो हाकिमलाई एक झोला जङ्गली सागपात दिइस् भने, तिनले के सोच्लान्? “के मेरो मूल्य यति मात्र हो? मानिसहरूले मलाई पैसा र नामी ब्रान्डका सामानहरू दिन्छन्, तर तैँले मलाई एक मुट्ठी झार दिने?” के तैँले यो कुरा पूरा गर्न सक्नेछस्? अवश्य नै सक्नेछैनस्। तर यदि तैँले पूरा गरिस् भने, तैँले के कुराको बारेमा चिन्ता गर्नेथिइस्? तैँले सोच्नुपर्ने पहिलो कुरा यो हो, “हाकिमलाई के मनपर्छ? के तिनलाई यो कुराको आवश्यकता छ? यदि तिनलाई यो चाहिँदैन, र पनि मैले तिनलाई यो कुरा दिएँ भने, के तिनले मलाई कष्ट दिनेछन्? के तिनले मलाई काममा हेप्नेछन् र कष्ट दिनेछन्? यदि परिस्थिति गम्भीर भयो भने, के तिनले मलाई बहाना खोजेर र कुनै गल्ती पक्रेर बर्खास्त गर्नेछन्?” के तैँले यीमध्ये कुनै कुराको बारेमा विचार गर्छस्? (गर्छु।) यदि तँ आफ्नो हाकिमलाई खुसी पार्न चाहन्छस् भने, तैँले उसलाई दिनुपर्ने पहिलो कुरा के हो? (तिनलाई मन पर्ने कुनै कुरा।) तिनलाई मन पर्ने कुनै कुरा दिएर मात्रै पुग्दैन। उदाहरणका लागि, यदि तिनलाई अहिले एउटा कप चाहिएको छ भने, के तैँले तिनलाई दिनका लागि एउटा कप किन्न १०-२० युआन खर्च गर्न सक्छस्? (सक्दिनँ।) तैँले तिनलाई सुनको, चाँदीको सामान, र स्विकार्य कुरा दिनुपर्छ। तैँले आफ्नै लागि किन्न नचाहने कुरा किन तिनलाई दिने? (तिनलाई खुसी पार्न।) तिनलाई खुसी पार्नुको उद्देश्य के हो? सर्वप्रथम, कम्तीमा पनि, तिनले तँलाई आफ्नो छत्रछायामा लिन सक्छन्, र तिनले प्रयोग गर्ने शक्तिद्वारा तिनले तेरो रक्षा गर्न र तेरो जागिर र तलबलाई स्थिर र सुरक्षित बनाउन सक्छन्। कम्तीमा पनि, तिनले तँलाई कष्ट दिनेछैनन्। त्यसकारण, तैँले तिनलाई कहिल्यै पनि नचिनेको जङ्गली सागपात दिनेछैनस्। होइन र? (हो।) तैँले आफ्नो हाकिमलाई समेत त्यसो गर्न सक्दैनस् भने, मलाई झारपात दिने मानिसले किन मलाई त्यसो गरे? के तिनले परिणामहरूका बारेमा सोचेका थिए? अवश्य नै सोचेनन्। किन? कतिपयले भन्नेथिए, “किनभने तपाईंले हामीलाई कष्ट दिनुहुनेछैन।” के यो कुरा त्यति सरल छ? किनभने म तिनलाई कष्ट दिनेछैनँ, कुरा यति मात्र हो त? तिनले कसरी यस्तो कुरा दिने आँट गरे? (तिनलाई आफ्ना अभिप्रायहरू असल छन् भन्ने लाग्यो।) ठीक भन्यौ—तिनले आफ्नो सबै कुरूपता र दुष्टतालाई असल अभिप्रायले ढाकछोप गरे, अर्थात्, “तपाईंप्रति मेरा अभिप्रायहरू असल छन्, तर अरूका छैनन्! यी सबै जङ्गली सागसब्जी हेर्नुहोस् त। तपाईंका लागि कसले ती खनेको हो? मैले होइन र?” यो कस्तो मनोवृत्ति हो? यो कस्तो मानसिकता हो? के यी असल अभिप्रायहरू मानवताअनुरूप छन्? यदि ती मानवताअनुरूप समेत छैनन् भने, के ती सत्यताअनुरूप हुन सक्छन्? (सक्दैनन्।) ती सत्यताबाट धेरै टाढा छन्। यी असल अभिप्रायहरू के-के हुन्? के ती साँच्चै नै असल अभिप्रायहरू हुन्? (होइनन्।) त्यसोभए ती कस्तो मनोवृत्तिसँग सम्बन्धित छन्? तिनमा कस्तो प्रकारका अशुद्धता र सारहरू छन्? संसारको थोरै कुरा देखेका तिमी जवान मानिसहरूले पनि आफ्नो हाकिमलाई जसरी मन लाग्यो त्यसरी उपहार दिन मिल्दैन भन्ने कुरा बुझ्छौ; तिमीहरूले परिणामहरूका बारेमा सोच्नुपर्छ। त्यसकारण यदि चालीस वा पचासको दशकको विशेष अनुभव भएको मानिसले मलाई त्यस्ता कुराहरू दिन्छ भने, तिमीहरूको दृष्टिकोणमा यसको प्रकृति के हो? के हामीले यो कुराको बारेमा यहाँ छलफल गर्नु सार्थक हुन्छ? (हुन्छ।) त्यसोभए समग्रमा, यसको प्रकृति के हो? त्यस मानिसले लापरवाही ढङ्गले मलाई केही जङ्गली सागसब्जीहरू दिए, र आफैले समेत ती के हुन् भन्ने नजानीकन मलाई ती खान अनुरोध गरे। जब मैले ती खान मिल्ने जङ्गली सागपात जस्ता देखिँदैनन् भनेर भनेँ, तब तिनले कुनै समय खेर नफाली मलाई ती नखानू भनेर भने—र यो कुरा यतिमै सीमित भएन। तिनले मलाई खानका लागि अर्को किसिमको जङ्गली सागपात पनि पठाए। मैले ती खाइनँ, र तिनले भने, “अलिकति खानुहोस्, ती निकै स्वादिष्ठ छन्। मैले चाखेको छु।” त्यो कस्तो मनोवृत्ति हो? (यो अनादरणीय र गैरजिम्मेवार मनोवृत्ति हो।) ठीक भन्यौ। के तिमीहरू सबैलाई यो मनोवृत्तिको अनुभूति हुन्छ? (हुन्छ।) के यो राम्रो अभिप्रायले गरिएको हो? यसमा कुनै राम्रो अभिप्राय छैन! तिनले कुनै मूल्य नलाग्ने कुराहरू भेट्टाए, त्यसपछि तिनले त्यसलाई प्लास्टिकको झोलामा हालेर मलाई दिए, र मलाई खान लगाए। तैँले भेडा र खरायोलाई खुवाउन केही जङ्गली सागपात टिप्नु परे पनि, तैँले अझै यस्तो सोच्नुपर्छ, “के पशुहरूले यो खाए भने विष लाग्छ?” के त्यो तैँले विचार गर्नुपर्ने कुरा होइन र? यदि चौपायालाई खुवाउँदा तँ जोखिम लिन तयार हुँदैनस् भने, तैँले कसरी यत्तिकै कुनै जङ्गली सागपात टिपेर मलाई खान दिन सक्छस्? त्यो कस्तो स्वभाव हो? उक्त समस्या कस्तो प्रकृतिको हो? के तिमीहरूले कुरा बुझ्यौ? यदि त्यस्तो व्यक्तिले मसँग यसरी व्यवहार गर्यो भने, तिमीहरूलाई के लाग्छ, तिनले आफ्ना अधीनस्थहरू वा आफूले साधारण ठान्ने व्यक्तिसँग कसरी व्यवहार गर्ला? यो त यत्तिकै खेलबाड गर्ने काम हो। त्यो कस्तो स्वभाव हो? यो दुष्ट र क्रूर कुरा हो। के तिनलाई असल व्यक्ति मान्न सकिन्छ? (अहँ, सकिँदैन।) तिनलाई असल व्यक्ति मान्न सकिँदैन। मानिसहरूको शरीर र जीवनलाई गम्भीरतापूर्वक नलिनु, तिनीहरूसँग खेलबाड गर्नु र पछि केही पनि महसुस नगर्नु, र वास्तवमा कुनै विवेकको घोचाइ अनुभव नगर्नु, तर बारम्बार एउटै कुरा गर्न सक्नु: यो साँच्चै अनौठो कुरा हो।
कथाको सुरुवातमा, मैले केही वचनहरू बोले जसलाई तिमीहरूले त्यति ध्यान दिएनौ होला। मैले तीमध्ये केही जङ्गली सागपात मानव उपभोगका लागि थिए, कतिपय पशुको उपभोगका लागि थिए, र कतिपय मानव र पशु दुवैका लागि थिए भनेर भनेको थिएँ। यो “चिरपरिचित भनाइ” हो, र यसको एउटा स्रोत छ। के तँलाई यो कहाँबाट आएको हो भन्ने थाहा छ? यो एउटा कथाको उपमा हो। यो त्यस कथामा यी केही उपहार दिने व्यक्तिबाट आएको हो। यो मानिस रोप्ने कामको इन्चार्ज थिए, र तिनले तीन प्रकारका मकै रोपेका थिए। कुन तीन प्रकारका? मानिसहरूले खाने किसिमका, पशुले खाने किसिमका, र मानिसहरू र पशु दुवैले खाने किसिमका: ती तीन वटा। यी तीन प्रकारका मकै निकै रोचक छन्। के तिमीहरूले यसअघि तिनका बारेमा सुनेका छौ? तिमीहरूले सुनेका छैनौ, र मैले पनि तिनका बारेमा पहिलो पटक सुनेको हो—किनभने ती दुर्लभ छन्। अन्तमा, रोप्ने मानिसहरू निकै गैरजिम्मेवार भएका हुनाले, ती तीनै प्रकारका मकैहरू मिसमास भए: पशुले खानुपर्ने मकै मानिसहरूलाई खुवाइयो भने मानिसले खानुपर्ने मकै पशुलाई खुवाइयो। ती खाएपछि, सबैले मकै खस्रो भयो, यसको स्वाद अन्न जस्तो छैन, र यसको स्वाद अलिक घाँस जस्तो छ भनेर गुनासो गरे। मकै रोप्ने मानिसहरूले के गरे? आफ्नो कर्तव्य पूरा गर्ने क्रममा तिनीहरूको गैरजिम्मेदारीका कारण, तिनीहरूले मान्छेले खानुपर्ने मकैलाई पशुले खानुपर्ने मकैसँग मिसाए, यहाँसम्म कि कसैले पनि यी दुईलाई छुट्याउन सकेन, र तिनीहरूले थप बीउ खरिद गरेर फेरि रोपाइँ गर्नुपर्यो। तिमीहरू सबैलाई यो काम कसरी अघि बढ्यो भन्ने लाग्छ? के यस्ता मानिसहरूका क्रियाकलापहरूमा कुनै सिद्धान्त हुँदैन? (हुँदैन।) के तिनीहरूले आफ्ना क्रियाकलापहरूमा सत्यताको खोजी गर्छन्? (गर्दैनन्।) आफ्नो व्यवहारमा यस्तो मनोवृत्ति राख्दा, सबैप्रति यति अनादरपूर्ण र गैरजिम्मेवार व्यवहार गर्दा, यस्ता मानिसहरूले परमेश्वरमा विश्वास गर्ने बारेमा के सोच्छन्? सत्यताप्रतिको तिनीहरूको दृष्टिकोण के हो? तिनीहरूको हृदयमा, सत्यताको तौल कति हुन्छ? परमेश्वरको पहिचान कति महत्त्वपूर्ण हुन्छ? के तिनीहरूलाई थाहा छ? (छैन।) के तिनीहरूलाई त्यस्ता प्रमुख कुराहरूका बारेमा थाहा हुनुपर्दैन र? त्यसोभए किन तिनीहरूलाई थाहा भएन? यो तिनीहरूको स्वभावसँग सम्बन्धित हुन्छ। त्यो कस्तो स्वभाव हो? (यो दुष्टता हो।) यो दुष्टता हो, र यो सत्यताप्रति वितृष्ण हुनु हो। तिनीहरू आफूले गर्ने कामको प्रकृतिबारे सचेत हुँदैनन्, र तिनीहरूले कहिल्यै मनन गर्ने वा खोजी गर्ने प्रयास गर्दैनन्, न त तिनीहरूले कामहरू गरेपछि आफूलाई जाँच्ने नै गर्छन्। बरु, तिनीहरू आफूले चाहेको कुरा गर्छन्, र तिनीहरूसँग असल र सही अभिप्रायहरू छन् भने, तिनीहरूलाई कसैले पनि सुपरिवेक्षण वा आलोचना गर्नु पर्दैन भन्ने सोच्छन्; तिनीहरू आफ्ना जिम्मेवारी र दायित्वहरू पूरा भएका छन् भन्ने सोच्छन्। हो त? कतिपय मानिसहरूले भन्छन्, “तपाईंले भन्नुभएको कथा हामीले बुझेका छौँ, तर हामीलाई सबैभन्दा बढी चिन्ता लागेको कुरा अझै पनि हामीले बुझेका छैनौँ, र त्यो के हो भने: यस्तो घटनाप्रति तपाईंको मनोवृत्ति के हो? त्यस्ता कुराहरू गर्ने व्यक्तिप्रति तपाईंको मनोवृत्ति के हो? के त्यो रिस, तिरस्कार, र घिन हो? कि तपाईंलाई यस्तो व्यक्ति मनपर्छ?” (त्यो घृणा हो।) के यस्तो कुरालाई घृणा गर्नु पर्दैन र? (पर्छ।) तिमीहरूलाई यस्तो कुरा आइपरेको भए तिमीहरूले के सोच्नेथियौ? मानौँ एक जना दयालु व्यक्तिले तँलाई बारम्बार नचिनेका वस्तुहरू दिन्छ, र तँलाई मनाउन धेरै मेहनत गर्छ, “यी कुराहरू खानुहोस्, तपाईँको शरीरका लागि राम्रो हुन्छ; ती खानुहोस्, तिनले तपाईँलाई आफ्नो सुस्वास्थ्य कायम राख्न मदत गर्नेछ; ती खानुहोस्, तिनले तपाईँको सुन्दरता र जीवनशक्तिमा सुधार ल्याउनेछ। मेरो कुरा सुन्नु तपाईंका लागि राम्रो हुनेछ!” यदि पुष्टि गरेपछि, ती वस्तुहरूको कुनै मूल्य छैन भन्ने थाहा भयो भने तैँले के सोच्नेथिइस्? (यदि म भएको भए, म यस्तो व्यक्तिसँग अबदेखि झमेलामा पर्न चाहनेथिइनँ; म तिनीसँग झिजो मान्नेथिएँ र अवाक् हुनेथिएँ—त्यस्ता भावनाहरू।) त्यस्ता मानिसहरूलाई घृणा गर्नुपर्छ र तिनीहरूप्रति दिक्क हुनुपर्छ। अरू के छ? के व्यक्तिले रिस, दुःख, वा पीडा महसुस गर्नुपर्छ? (कुनै अर्थ छैन।) यसको कुनै अर्थ छैन, छ त? के “यो व्यक्तिले सायद सत्यता नबुझेकोले नै यस्तो गरेको होला” भन्ने मानिसहरू छैनन् र? धेरैजसो मानिसहरूले सत्यता बुझ्दैनन्, तैपनि तिनीहरूमध्ये कति जनाले यस्ता कुराहरू गर्न सक्छन्? के मानिसहरू व्यक्तिपिच्छे फरक हुँदैनन् र? (हुन्छन्।) मानिसहरू फरक-फरक हुन्छन्। यो त मानिसहरूले एक-अर्कासँग व्यवहार गर्दाको अवस्था जस्तै हो: भौतिक सामग्रीहरूको विनिमय हुँदा, कतिपय मानिसहरूले निष्पक्षता र उचितताको खोजी गर्छन्। यदि यी मानिसहरूले अर्को पक्षलाई तिनीहरूबाट केही फाइदा लिन दिए पनि, तिनीहरूलाई यसको मतलब हुँदैन—यसरी, तिनीहरूको सम्बन्ध टिकेको हुन्छ; तिनीहरूसँग मानवता हुन्छ र तिनीहरूलाई सानो बेफाइदामा पर्नु ठूलो कठिनाइ होइन भन्ने लाग्छ। अरू मानिसहरूमा मानवताको कमी हुन्छ र तिनीहरू सधैँ अरूको फाइदा उठाउन मन पराउँछन्: अरूसँग गरिने तिनीहरूको व्यवहार अरूको हानि गरेर फाइदा लिन र नाफा कमाउनका लागि मात्रै हुन्छ। यदि तिनीहरूले तँबाट केही फाइदाहरू लिन सक्छन् भने, तिनीहरूले तँलाई खुसी पार्नेछन् र तँसँग सम्बन्ध कायम राख्नेछन्, तर तिनीहरूले यसो गर्न सक्दैनन् भने, तिनीहरूले तँलाई लत्त्याउनेछन्। तिनीहरूले तँप्रति कुनै इमानदारी देखाउँदैनन्; त्यस्ता मानिसहरूमा कुनै मानवता हुँदैन।
आज भनिएको कथामा जस्तै उपहार दिने किसिमका मानिसहरूका बारेमा तिमीहरूलाई के लाग्छ? यस्ता मानिसहरूले किन वस्तुहरू उपहार दिन्छन्? के यो संयोग हो? यदि धेरै वर्षको अवधिमा यो घटना एक पटक मात्रै घटेको हो भने, यो संयोग मात्रै हुन सक्थ्यो, तर के एउटा ऋतुमा चार पटक यस्तै घटना घट्यो भने पनि यसलाई संयोग मान्न सकिन्छ? (सकिँदैन।) तिनको यो व्यवहार संयोगजन्य थिएन, न त त्यस किसिमको स्वभावलाई भ्रष्टताको क्षणिक प्रकटीकरण र अभिव्यक्ति नै भन्न सकिन्छ। त्यसोभए तिनको व्यवहारको प्रकृति कस्तो थियो? हामीले यसभन्दा पहिले भने जस्तै, तिनको व्यवहार अनादरणीय, गैरजिम्मेवार, लापरवाह, हतारे र आवेगपूर्ण थियो, र त्यो असभ्य स्वभावको थियो। त्यसोभए तिनले किन त्यसो गरे? तिनले किन ती कुराहरू अरू कसैलाई दिएनन्, तर मलाई मात्रै दिए? मेरो फरक पहिचान र हैसियतले मलाई यी उपहारहरू प्राप्त गर्न योग्य तुल्यायो। के त्यसले उपहार दिने व्यक्तिको अभिप्राय र तिनले गरेको कामको प्रकृतिलाई स्पष्ट पार्छ? तिनको उद्देश्य के थियो? (चापलुसी गरेर नजिकिनु।) ठीक भनिस्। तिनको यो चापलुसीलाई व्याख्या गर्नका लागि सबैभन्दा सटीक शब्द के हो? यो सस्तो चाल: चापलुसी र अवसरवाद हो। यो तेरो चापलुसी गरेर तँसँग नजिकिने, तैँले थाहै नपाई तँलाई त्यसले खनेको खाडलमा फसाउने, र तिनको बारेमा तँलाई राम्रो अनुभूति गराउने चलाख तरिका हो, जबकि वास्तवमा ऊ अलिकति पनि सच्चा हुँदैन—तिनले कुनै मूल्य नचुकाई तिनका आफ्नै उद्देश्यहरू हासिल गर्न चाहन्छ। तिनले परिणामहरूका बारेमा कुनै विस्तृत विचार नगरी यसो गरे र तिनले आफूले टिपेको कुरा तँलाई निःशुल्क दिए, जसले गर्दा तँलाई तिनले वास्ता गरिरहेका छन् भन्ने महसुस भयो, र तँलाई खुसीको स्थितिमा ल्यायो। यसको साँचो अर्थ के हो? यसको अर्थ, एक पैसा पनि खर्च नगरी, तिनले तँलाई तिनको नोक्सानीमा तँलाई धेरै फाइदा भएको छ भन्ने महसुस गराएका छन्, जुन स्पष्ट रूपमा नै तँलाई मूर्ख ठानेको हो। के यसको अर्थ त्यही होइन र? तिनले मनमनै सोचिरहेका हुन्छन्, “मैले एक पैसा पनि खर्च गरिरहेको छैनँ, र मैले धेरै मेहनत गरिरहेको छैनँ; मसँग तपाईंका लागि कुनै इमानदारी छैन। म बस तपाईंलाई मेरो सम्झना गर्नका लागि केही कुरा दिनेछु, ताकि तपाईंले मलाई दयालु, वास्ता गर्ने, र बफादार ठान्नुभएको होस्, र मेरो हृदयमा तपाईंप्रति प्रेम छ भन्ने सोच्नुभएको होस्।” तँलाई तिनी यस्तै छन् भनेर गलत रूपमा विश्वास गराउनु भनेको एउटा सस्तो चाल हो, र यो अवसरवाद पनि हो। कुनै मूल्य नचुकाई वा कुनै इमानदारी नदेखाई सबैभन्दा ठूलो लाभ र सबैभन्दा ठूलो फाइदाका लागि सबैभन्दा सस्तो तथाकथित दयाको प्रयोग गर्नु सस्तो चाल हो। के तिमीहरू कसैले यसो गर्नेथियौ? सबैले गर्छन्—यति मात्र हो कि तिमीहरूले तिनले जस्तो गरेका छैनौ, तर मौका पाए तिमीहरूले यसो गर्नेथियौ। यस्ता मानिसहरूसँग व्यवहार गर्दा मैले निष्कर्ष निकालेको पहिलो कुरा त्यही हो, अर्थात् तिनीहरू सस्तो चालमा निकै सिपालु हुन्छन्। तिनीहरूले विश्वास गर्ने भनेको परमेश्वरमा होइन; तिनीहरूले जसबाट फाइदा लिनेछु, आशिष् पाउनेछु, र जो पछ्याउन लायक छ भन्ने ठान्छन् त्यसैलाई पछ्याउँछन्। यो एउटा घटनाले यस्तो व्यक्तिको विश्वास र तिनी वास्तवमा कस्ता छन् भन्ने सत्यतालाई पूर्ण रूपमा खुलासा गर्यो। परमेश्वरप्रतिको प्रेम, वफादारी, र समर्पणसम्बन्धी त्यस्ता मानिसहरूको बुझाइ अत्यन्तै सरल हुन्छ, र तिनीहरूले परमेश्वरको अनुमोदन र आशिष्हरू प्राप्त गर्न सस्तो चालको विधि प्रयोग गर्न चाहन्छन्। के तिनीहरू परमेश्वरप्रति इमानदार हुन्छन्? के तिनीहरू कुनै पनि हिसाबले परमेश्वरको डर मान्ने किसिमका हुन्छन्? (हुँदैनन्।) त्यसपछि अरू कुराहरूको बारेमा त कुरै नगरौँ। मैले निष्कर्ष निकालेको पहिलो कुरा त्यही हो। तिमीहरूको दृष्टिकोणमा, के म सही छु? (सही हुनुहुन्छ।) के मैले तिनलाई अनुचित रूपमा नाम दिइरहेको छु? के मैले तिललाई पहाड बनाइरहेको छु? अवश्य नै छैनँ। तिनको सारअनुसार भन्दा, यो कुरा त्योभन्दा ज्यादा गम्भीर छ। कम्तीमा पनि, तिनले परमेश्वरलाई धोका दिइरहेका र उहाँसँग खेलबाड गरिरहेका छन्।
मेरो दोस्रो निष्कर्ष भनेको त्यस्ता मानिसहरूबाट के कुरा देख्न सकिन्छ भन्ने हो। मानव हृदय भयानक छ! मलाई भन, यो डरलाग्दो कुरा के हो? मैले किन मानव हृदय भयानक छ भनेर भनेँ? (यी व्यक्तिले आशिष्हरू प्राप्त गर्ने आफ्नो अभिप्राय र चाहना पूरा गर्नका लागि चापलुसी गरेर परमेश्वरसँग नजिकिन्छन्, त्यसपछि तिनी गैरजिम्मेवार हुन्छन् र परमेश्वरले यी कुराहरू खानुभएपछि उहाँको शरीरलाई के हुनेछ वा परिणामहरू के हुनेछन् भनेर विचार गर्दैनन्। तिनले सधैँ आफ्नो परिवारलाई जे खान दिए पनि त्यसका परिणामहरूबारे विचार गर्छन्, तर तिनले परमेश्वरलाई केही दिँदा परिणामहरूबारे पटक्कै विचार गर्दैनन्। तिनले उचित तरिकाले भए पनि वा खराब तरिकाले भए पनि चापलुसी गरेर परमेश्वरसँग नजिकिँदै आफ्ना उद्देश्यहरू हासिल गर्नका लागि मात्रै त्यसो गर्छन्; तिनी निकै स्वार्थी र घृणास्पद छन्, तिनको हृदयमा परमेश्वरका लागि कुनै ठाउँ छैन, र तिनले परमेश्वरलाई परमेश्वरको रूपमा व्यवहार गर्दैनन् भन्ने कुरालाई देख्न सकिन्छ।) तात्पर्यमा, के यसको अर्थ मलाई मानवझैँ व्यवहार नगर्नु होइन र? के यसलाई यसरी भन्न मिल्छ? (मिल्छ।) कस्ता भयानक अभिप्रायहरू! (हो, तिनले परमेश्वरलाई आफ्नै आफन्तका रूपमा व्यवहार गर्नु परे पनि तिनले परमेश्वरलाई छल गर्नेथिएनन्।) त्यो साँच्चै भयानक कुरा हो। यदि कुनै व्यक्ति तेरो साथी भएको भए, के तिनले तँसँग त्यसरी व्यवहार गर्नेथिए? गर्नेथिएनन्। तिनले तँलाई के खाँदा राम्रो हुन्छ भनेर भन्नेथिए, र कुनै कुरा खाँदा प्रतिकूल असर पर्छ भने, तिनले तँलाई त्यो कुरा खानबाट कडाइका साथ निरुत्साहित गर्नेथिए; यो त साथीहरूले समेत गर्न सक्ने कुरा हो। तर के यो व्यक्तिले त्यसो गर्न सक्छ? अहँ। तिनले मलाई यस्तो गरेको हुनाले, तिनले अवश्य नै तिमीहरूलाई पनि त्यसो गर्नेथिए। तिनमा अरू के-कस्ता भयानक कुराहरू छन्? (तिनी गहन रूपमा षड्यन्त्रकारी हुन्। तिनले यसलाई सतहमा दयालु हृदयले ढाकछोप गर्छन्, तर भित्री रूपमा, तिनले षड्यन्त्र गरिरहेका हुन्छन्, आफूले गर्न सक्ने सबैभन्दा सस्तो कुराबाट सबैभन्दा बढी फाइदा लिने प्रयास गरिरहेका हुन्छन्, र यो भयानक लाग्छ।) यसलाई त्यसरी हेर्नु राम्रो कुरा हो। तिमीहरूले यसभन्दा पहिले उल्लेख गरेको कुरा तिनको स्वार्थी पक्ष हो भने यसले चाहिँ तिनको षडयन्त्रलाई जनाउँछ। तिमीहरू सबैले भनेको कुराको आधारमा भन्दा, कुनै व्यक्तिको गहिराइमा भएका यी कुराहरू, तिनको मानवताबाट प्रकट हुने यी कुराहरू, तिनले छुन सक्ने वा नसक्ने, र अरूले देख्न सक्ने वा देख्न अथवा अर्थ लगाउन नसक्ने कुराहरू कहाँबाट आएका हुन्छन्? के ती कुरा आमाबुबाद्वारा सिकाइन्छन्? के ती कुरा स्कूलमा सिकाइन्छन्? कि ती कुरा समाजले वृद्धिविकास गरेको हुन्छ? ती कसरी पैदा हुन्छन्? एउटा कुरा निश्चित छ: ती अन्तर्निहित कुरा हुन्। मैले किन त्यसो भनेँ? अन्तर्निहित कुराहरू केसँग सम्बन्धित हुन्छन्? ती व्यक्तिको प्रकृति सारसँग सम्बन्धित हुन्छन्। त्यसोभए, तिनले यसरी सोच्नु भनेको लामो समयदेखि सोचिएको कुरा थियो कि अचानक आएको कुरा? के तिनी अरू कसैले गरेको देखेर प्रेरित भए कि तिनले निश्चित परिस्थितिहरूमा यो काम गर्नुपर्यो? कि मैले तिनलाई त्यसो गर्न निर्देशन दिएँ? यीमध्ये कुनै पनि होइन। यी साना कुराहरू बाहिरी रूपमा साधारण देखिन सक्ने भए पनि, यी प्रत्येक कुराको अन्तर्निहित प्रकृति असाधारण छ। के यी कुराहरू गर्ने व्यक्तिले ती कुराहरू गर्नुका परिणामहरू महसुस गर्न सक्थ्यो? सक्दैनथियो। किन? मानौँ तैँले सडकको स्टलमा राखिएको सस्तो सामान आफ्नो हाकिमलाई दिनका लागि किन्छस्। त्यो दिनुभन्दा पहिले, के तैँले मामलाहरूको मूल्याङ्कन गरेर आफैलाई यो कुरा सोध्नु पर्दैन र, “के हाकिमले सडकको स्टलमा यो वस्तु भेट्टाउन सक्छन्? के तिनी अनलाइन गएर यसको मूल्य कति छ भनेर पत्ता लगाउन सक्छन्? के कसैले तिनलाई यसको मूल्य कति पर्यो भनेर खुलासा गर्न सक्छ? यो देखेपछि तिनले मेरो बारेमा के सोच्नेछन्?” के यी तैँले मूल्याङ्कन गर्नुपर्ने कुराहरू होइनन् र? तैँले सुरुमा मूल्याङ्कन गरेपछि मात्र किन्नेथिइस्। यदि मूल्याङ्कन गरिसकेपछि, तँलाई यो वस्तु उपहारमा दिनुका परिणामहरू प्रतिकूल हुनेछन् भन्ने लाग्यो भने, के तैँले अझै पनि यो उपहार दिनेथिइस्? तैँले निश्चय नै दिनेथिइनस्। यदि तँलाई यो वस्तु तेरो हाकिमलाई दिँदा यो त्यति धेरै महँगो हुँदैन, र यसले तेरो हाकिमलाई खुसी पार्नेछ भन्ने लाग्यो भने, तैँले निश्चय नै यो कुरा दिनेथिइस्। तर कथाका यी मानिसले यीमध्ये कुनै कुराको मूल्याङ्कन गरेनन्, त्यसकारण तिनले के सोचिरहेका थिए? तिनले आफ्ना अभिप्रायहरू हासिल गर्ने एउटै मात्र तरिका यही हो भन्ने मात्रै सोचिरहेका थिए। अहिले यसलाई विश्लेषण गर्दा, यस मामलाको प्रकृति बाहिर आउँछ। यस मामलाको प्रकृतिबाट के कुरा देख्न सकिन्छ? मानिसहरूसँगको सम्पर्कमार्फत तिनीहरूमा देखिने दोस्रो परिणाम के हो भने, तिनीहरूको हृदय भयानक हुन्छ। के त्यस्ता मानिसहरूले जानाजान वा नचाहेर पनि प्रकट गर्ने भ्रष्ट स्वभावका बारेमा निष्कर्ष निकाल्न सकिन्छ? मानव हृदय यति भयानक हुनुको कारण के हो? के यो अत्यन्तै असंवेदनशील भएकोले हो? असंवेदनशील व्यक्ति बोधको कमी भएको व्यक्ति हो। के तिनीहरूलाई असंवेदनशील भनेर व्याख्या गर्नु सही हुन्छ? (हुँदैन।) त्यसोभए, के यो अज्ञानताको कारणले गर्दा हो? (होइन।) त्यसोभए अन्तिममा यसको कारण केलाई मान्न सकिन्छ? यसको कारणका रूपमा मानिसहरूको दुष्ट स्वभावलाई मान्नुपर्छ। मैले तिमीहरूलाई मानिसहरूको डरलाग्दो पक्ष कहाँ लुकेको हुन्छ भनेर भन्नुपर्छ: यो तिनीहरूको हृदयमा पिशाचहरू बास गर्छन् भन्ने तथ्यमा हुन्छ। तिमीहरू सबैलाई यो कुरा कस्तो लाग्यो? पिशाचहरू मानिसहरूको हृदयमा बास गर्छन् भनेर म किन भन्छु? तिमीहरूको बुझाइ के हो? के तिमीहरूलाई यो भयानक अभिव्यक्ति हो भन्ने लाग्दैन र? यो सुन्दा तिमीहरूलाई डर लाग्दैन र? तिमीहरूले यसअघि तिमीहरूको हृदयमा भूतहरू बास गर्छन् भन्ने सोचेका थिएनौ; तिमीहरूलाई तिमीहरूमा भ्रष्ट स्वभाव छ भन्ने मात्रै लाग्थ्यो तर तिमीहरूमा भूतहरू बास गर्छन् भन्ने थाहा थिएन। अहिले थाहा भयो। के यो गम्भीर समस्या होइन र? के तिमीहरूलाई मैले सही कुरा भनेको छु जस्तो लाग्छ? (लाग्छ।) के यसले समस्याको जडलाई छुँदैन र? (छुन्छ।) मैले किन मानिसहरूको हृदयमा पिशाचहरू बास गर्छन् भनेर भनेँ, सोच। यसबारे विचार गर: के विवेक र समझ भएको व्यक्तिले यसरी परमेश्वरलाई छल गर्छ? के यो परमेश्वरप्रतिको समर्पण हो? यो त खुलेआम परमेश्वरको प्रतिरोध गर्नु हो र उहाँलाई परमेश्वरका रूपमा पटक्कै व्यवहार नगर्नु हो। अहिले परमेश्वर मानवजातिलाई मुक्ति दिन पृथ्वीमा आउनुभएको हुनाले, मानिस र परमेश्वरको बीचमा के-कस्तो सम्बन्ध छ? के यो श्रेष्ठ र अधीनस्थको सम्बन्ध हो? मित्रता? आफन्त? यो वास्तवमा कस्तो सम्बन्ध हो? तैँले यो सम्बन्धलाई कसरी सम्हाल्छस् र लिन्छस्? परमेश्वरसँग व्यवहार गर्दा र उहाँसँग मिलेर बस्दा तँमा कस्तो मानसिकता हुनुपर्छ? परमेश्वरसँग मिलेर बस्नका लागि तैँले आफ्नो हृदयमा के राख्नुपर्छ? (डर।) डर सबैका लागि अव्यावहारिक हुने देखिन्छ। (भय।) भय हासिल गर्न सकिँदैन। यदि तैँले मलाई साधारण व्यक्तिझैँ व्यवहार गर्छस्—केवल चिनजान भएको, एक-अर्कालाई राम्ररी नबुझेको र साथी बन्ने बेला भइनसकेको व्यक्तिका रूपमा लिन्छस् भने—हामीबीचको सम्बन्ध कसरी सामञ्जस्यपूर्ण र मित्रवत् हुन सक्छ? विवेकको बोध भएको व्यक्तिले त्यस्ता कुराहरू कसरी उचित रूपमा गर्ने भनेर जानेको हुनुपर्छ। (सम्मान हुनुपर्छ।) तँमा हुनुपर्ने न्यूनतम कुरा यही हो। मानौँ दुई जना मानिसहरूको भेट भयो: तिनीहरू एक-अर्कासँग अझै परिचित छैनन् र तिनीहरूलाई एक-अर्काको नाम थाहा छैन। यदि तिनीहरूमध्ये एक जनाले अर्को व्यक्ति निष्कपट छ भन्ने देख्यो र तिनीसँग खेलबाड गर्न चाह्यो भने, के यो दादागिरी गर्नु होइन र? यदि न्यूनतम आदर समेत छैन भने, के कुनै मानवता बाँकी रहेको हुन्छ? मानिसहरू एक-अर्कासँग मिलेर बस्नका लागि, जस्तोसुकै विवाद वा द्वन्द्वहरू पैदा भए पनि, तिनीहरूले कम्तीमा पनि एक-अर्कालाई आदर गर्नुपर्छ। आदर भनेको आफूलाई आचरणमा ढाल्ने आधारभूत आम सुझबुझ हो, र सबै मानवका बीचमा न्यूनतम आदर हुन्छ। त्यसोभए, के मानिसहरूले परमेश्वरसँग अन्तरक्रिया गर्दा यस्तो आदर हुन्छ? यदि तँ यो बिन्दुमा समेत पुग्न सक्दैनस् भने, तेरो मनमा, वास्तवमा परमेश्वर र तँबीचको सम्बन्ध के हो? त्यस्तो अवस्थामा त, कुनै पनि सम्बन्ध हुँदैन—बाहिरी व्यक्तिको सम्बन्ध पनि हुँदैन। त्यसकारण, उपहार दिने व्यक्तिले परमेश्वरलाई यसरी व्यवहार गर्न सके: तिनले परमेश्वरलाई आदर नगरेका मात्र होइन, तर तिनले उहाँलाई छल गर्न पनि चाहन्थे। हृदयमा, तिनले परमेश्वरलाई आदर गर्नुपर्छ, वा उहाँको स्वास्थ्य अवस्था र उपहारहरू खाँदा आउने परिणामहरूबारे सावधानीपूर्वक र सूक्ष्म रूपमा ख्याल गर्नुपर्छ भन्ने महसुस गरेनन्—यी कुराहरू तिनको विचारको दायराभित्र परेका थिएनन्। तिनले परमेश्वरलाई छल्न चलाकीहरू प्रयोग गरेर तिनलाई निगाह गर्न लगाउनु नै पर्याप्त थियो; तिनका लागि सबैभन्दा राम्रो कुरा भनेको परमेश्वरलाई छल गर्न सक्नु नै थियो। तिनको हृदय त्यस्तो थियो। के मानिससँग त्यस्तो हृदय हुनु भयानक कुरा होइन र? यो भयानक कुरा हो!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।