विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई) खण्ड छ

ख्रीष्टविरोधीहरूमा हैसियतप्रति स्पष्ट रुचि हुन्छ, र सबैलाई यो कुरा थाहा छ। तिनीहरूलाई कुन हदसम्म हैसियत मन पर्छ? यसका प्रकटीकरणहरू केके हुन्? सर्वप्रथम, तिनीहरू माथि उक्लने कुनै पनि अवसर छोप्छन्, चाहे त्यो चाप्लुसी गरेर होस् वा चलाकी शैलीहरू प्रयोग गरेर होस्, वा मानिसहरूको हृदय जित्न असल कुराहरू गरेर होस्। जे भए पनि, जब माथि उक्लने मौका हुन्छ, तब तिनीहरू त्यो मौका छोप्छन्। तिनीहरूले हैसियत प्राप्त गरेपछि, त्यसलाई पहिलेको भन्दा अझै बढी प्यारो ठान्छन्। जब सामान्य मानिसहरूले हैसियत प्राप्त गर्छन्, तब तिनीहरूमा लज्जाबोध हुन्छ र तिनीहरू आफूलाई अलि नियन्त्रण गर्छन्। त्यसबाहेक, परमेश्‍वरका घरमा अगुवा वा कामदारको पद त कर्तव्य हो। यो हैसियत वा आधिकारिक पद्वी होइन, तर कर्तव्य हो। कहिलेकाहीँ यी सामान्य मानिसहरूले अब आधिकारिक पदमा छु भन्‍ने सोच्दै धाक लगाएर आफ्नो भ्रष्ट स्वभाव अलिकति प्रकट गर्न सक्छन्। कहिलेकाहीँ यस्तो व्यवहार गर्नु सामान्य मानिसहरूलाई अलि स्वीकार्य लाग्छ, तर तिनीहरूले नियमित रूपमा यस्तो गरे भने, तिनीहरूलाई आफूप्रति घृणा लाग्‍नेछ र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूले देख्‍नेछन् भन्‍ने डर हुन्छ। तिनीहरूमा मर्यादा र लाजको बोध हुन्छ, त्यसकारण तिनीहरू आफूलाई अलि नियन्त्रण गर्छन्। तिनीहरूले सत्यता बुझेपछि, क्रमिक रूपमा हैसियतलाई त्यति महत्त्व दिँदैनन्। यसले कस्तो सकारात्मक प्रभाव पार्नेछ, र केकस्ता असल परिणामहरू ल्याउनेछ? यसले तिनीहरूलाई मनोशान्तिका साथ आफ्नो कर्तव्य निर्वाह गर्न सहयोग गर्नेछ। तिनीहरूले आफ्नो वर्तमान भूमिका जेसुकै भए पनि, यसलाई कर्तव्य ठान्नेछन्। तिनीहरू नेतृत्व गर्न चुनिएका हुनाले, अनि मानिसका लागि नेतृत्व बोझ र कर्तव्य पनि भएको हुनाले, तिनीहरूले सुरुमा केकस्ता कुराहरू यस कर्तव्यका दायरामा पर्छन् भनेर बुझ्नुपर्छ। तैँले आफू नेतृत्वका भूमिकामा नहुँदा, निश्‍चित मामलाहरूको चिन्ता लिनु पर्दैन, र तँमा साँच्‍चै कुनै बोझ हुँदैन। तर जब तँ नेतृत्वको भूमिका लिन्छस्, तब तैँले आफ्नो काम कसरी राम्ररी पूरा गर्ने, र परमेश्‍वरको घरका सिद्धान्तहरू र कार्य बन्दोबस्तहरूअनुसार आफ्नो कर्तव्य कसरी निर्वाह गर्ने भन्‍ने कुरा पत्ता लगाउनुपर्छ। सत्यता पछ्याउनेहरूले यसरी सकारात्मक दिशामा प्रगति गर्न सक्छन्। त्यसोभए, ख्रीष्टविरोधीहरू र सत्यता पछ्याउनेहरूले हैसियतलाई कसरी लिन्छन् भन्‍ने सन्दर्भमा तिनीहरूबीच के भिन्‍नता छ? ख्रीष्टविरोधीहरू आफ्नो हैसियतप्रति तीव्र इच्छा राख्छन्, त्यसलाई पछ्याउने, कदर गर्ने, र व्यवस्थापन गर्ने गर्छन्। तिनीहरू हरेक मोडमा आफ्नो हैसियतबारे सोच्छन्। हैसियत तिनीहरूको जीवनरसजस्तै हुन्छ। यदि अरूले तिनीहरूलाई आदर गर्दैनन्, वा यदि तिनीहरूले गल्तीले केही भने र अरूले तिनीहरूलाई तुच्छ ठाने, र तिनीहरूले अरूको हृदयमा आफ्नो स्थान गुमाए भने, तिनीहरूलाई आफ्नो हैसियतबारे निरन्तर चिन्ता लाग्छ, र तिनीहरू आफ्‍नो व्यवहार गर्ने र बोल्ने तरिकामा अत्यन्तै सतर्क बन्छन्। तैँले सत्यता पछ्याइबारे जसरी सङ्गति गरे पनि, तिनीहरू त्यो बुझ्न सक्दैनन्। तिनीहरूले बुझ्न सक्‍ने एउटै कुरा के हो? “म यो ‘पद’ को जिम्मेवारी कसरी राम्ररी पूरा गर्न सक्छु र अधिकारीको जस्तो व्यवहार गर्न सक्छु?” यसका निश्‍चित प्रकटीकरणहरू छन्। उदाहरणका लागि, जब मण्डली अगुवाले २० जनाभन्दा बढी दाजुभाइ-दिदीबहिनीहरूसँग समूह फोटो खिच्छ, तब मर्यादा र लज्जाबोध भएको व्यक्तिले कहाँ बस्‍ने निर्णय गर्छ? उसले बस्‍नका लागि छेउको ठाउँ खोज्छ। ख्रीष्टविरोधीहरू सामान्यतया कहाँ बस्छन्? (बीचमा।) तिनीहरू बीचमा बसून् भन्‍ने सबैको चाहना हो कि तिनीहरूको व्यक्तिगत इच्छा हो? (यो तिनीहरूको व्यक्तिगत इच्छा हो।) कहिलेकाहीँ, अरू सबैले तिनीहरूका लागि बीचमा ठाउँ छोडेर, तिनीहरूलाई बीचमा बस्न बाध्य पार्छन्, र तिनीहरूलाई हृदयमा अत्यन्तै खुसी लाग्छ, “हेर त मैले सबैको कति धेरै साथ पाएको छु! म यहाँ बस्नैपर्छ। यसबाट मैले सबैको हृदयमा स्थान पाएको छु भन्‍ने कुरा देख्‍न सक्छु। तिनीहरूलाई म नभई हुँदैन!” तिनीहरूलाई निकै खुसी र सन्तुष्टी महसुस हुन्छ। यदि सबैले तिनीहरूका लागि बीचमा ठाउँ छोडेको तिनीहरूलाई मन नपरेको भए, किन पो तिनीहरू त्यहाँ गएर बस्नेथिए र? तिनीहरूलाई त्यो निश्‍चित क्षणमा आफ्नो पद र त्यसले दिने अनुभूतिमा एकदमै आनन्द लाग्छ भन्‍ने कुरा स्पष्टै छ। तिनीहरू साँच्‍चै नै त्यो क्षणको अनुभूति चाहन्छन् र त्यसलाई बहुमूल्य ठान्छन्, त्यसैले तिनीहरू त्यो पद इन्कार गर्दैनन्। यो अगुवा अरू दर्जनौँ मानिसहरूको बीचमा बस्छ, र उसले आफूलाई अलग्गै देखाउन कुशनसमेत प्रयोग गर्छ। ऊ सोच्छ, “अरू जतिकै अग्लो भएर हुँदैन। यसले कसरी अगुवाका रूपमा मेरो भिन्‍नतालाई देखाउन सक्छ र? मैले आफूलाई अलिक माथि उठाउनुपर्छ, म बीचमा बस्नुपर्छ, त्यसपछि म स्पष्टसँग देखिनेछु। बस्‍नका लागि सही ठाउँ चिन्‍नु भनेको यही हो। जब मानिसहरूले फोटो हेर्छन्, तब तिनीहरूले देख्‍ने पहिलो व्यक्ति म नै हुनेछु। तिनीहरूले भन्‍नेछन्, ‘उहाँ हाम्रो फलानो अगुवा हुनुहुन्छ।’ कति गौरवमय! यो फोटो धेरै वर्षसम्म रहनेछ। यदि मानिसहरूले मलाई देख्‍न सकेनन्, र बिस्तारै मेरा बारेमा बिर्से भने, म अगुवा बन्‍नुको के अर्थ हुन्छ र?” यसरी तिनीहरू आफ्नो हैसियतलाई उच्च महत्त्व दिन्छन्।

एकपटक, मैले त्यहाँको अवस्थाबारे जान्‍नका लागि एउटा मण्डलीका कतिपय मानिसलाई भेटेँ। तिनीहरूले भिडियो खोलेपछि, तिनीहरू सबै क्यामेराको अगाडि बसे, र बीचमा ठाउँ छोडे। मैले कुरा बुझिनँ अनि क्यामेराको फ्रेम त्यति ठूलो नभएकाले र आधा अनुहार देखिने भएकाले अनौठो देखिने कारण तिनीहरू बीचतिर सरेर नजिक बस्‍नुपर्छ भनेर सुझाव दिएँ। त्यसपछि, तिनीहरू बीचतिर अलि सरे, तर अझै बीचमा खाली ठाउँ छोडे। मैले मनमनै सोचेँ, “किन बीचमा कोही पनि बस्दैन? मानौँ त्यहाँ कुनै पवित्र बुद्धमूर्ति छ—किन कसैले त्यहाँ जाने आँट गर्दैन?” त्यसपछि, एक जना मोटो मानिस बीचमा आएर ढसक्‍क बस्यो, जो ठ्याक्कै एउटा गोलाकार, पवित्र “बुद्धमूर्ति” जस्तै देखिन्थ्यो। बीचको बस्‍ने ठाउँ त उसका लागि पो राखिएको रहेछ। के तिमीहरू यो व्यक्ति को थियो भन्‍ने अनुमान गर्न सक्छौ? (अगुवा।) ठिक भन्यौ, ऊ ठ्याक्‍कै बीचमा बस्यो। त्यो हैसियतको प्रतीक हो। बुद्धजस्तो देखिने यो दियाबलस आएर त्यहाँ बसेपछि, उसले स्वाभाविक रूपमा नै त्यो स्थान ओगट्यो, मानौँ यो उसको अधिकारको स्थान हो। तिनीहरू सबै जना उसलाई अत्यन्तै “बुझेको” जस्तो गरी, विशेष स्नेहका साथ उसलाई हेर्दै दुवैतिर बस्न पाउँदा अझ खुसी थिए। मलाई तिनीहरू त यसो भन्दै चापलुसी गर्ने मानिसहरूको झुन्ड हुन् जस्तो लाग्यो “अहो, तपाईँ बल्ल आइपुग्‍नुभयो। हामीले तपाईँलाई पर्खेको धेरै भयो।” मैले बोल्दै गर्दा, कसैले पनि मेरो कुरा सुनिरहेका थिएनन्; तिनीहरूले अगुवाको प्रतीक्षा गरिरहेका थिए। यो “पवित्र बुद्ध” पहिले आउनुपर्थ्यो। यदि ऊ आएन भने, म बोलिरहन सक्दिनथिएँ। ऊ कसरी त्यहाँ बस्‍न, र त्यति स्वाभाविक रूपमा बस्‍न सक्यो? के यस कुरासँग उसको सामान्य रुचि, प्राथमिकता, र पछ्याइहरूको कुनै सम्बन्ध छ? (छ।) यी मानिसहरूले सामान्यतया कस्तो दृश्य प्रस्तुत गर्छन्? आफ्नो कल्पना प्रयोग गरेर त्यसबारे सोच। जब यस अगुवाले भेला आयोजना गर्छ वा ऊ मानिसहरू आफ्नो कर्तव्य निर्वाह गरिरहेका कोठामा प्रवेश गर्छ, तब तिनीहरूले उसलाई कस्तो व्यवहार गर्छन्? तिनीहरू उसलाई पुर्खा वा बुद्धलाई जस्तै व्यवहार गर्छन्: तिनीहरू तुरुन्तै उसलाई बस्ने आसन दिन्छन्, र मुख्य आसन उसका लागि नै राखिएको हुनुपर्छ। यदि तिनीहरूले उसका लागि त्यो आसन नराखेका भए के त्यो ठिक हुनेथियो? त्यो बेला मैले क्यामेरामा देखेको घटनाका आधारमा भन्दा, तिनीहरूले उसलाई मुख्य आसन नराखेका भए त्यो ठिक हुनेथिएन—त्यो नियम, अलिखित नियम बनेको थियो। जब “बुद्ध” आउँछ, तब उसलाई तुरुन्तै मुख्य आसन दिनैपर्छ। यदि “बुद्ध” छैन भने, मुख्य आसन खाली नै रहनुपर्छ। हैसियत भनेको त्यही हो। के तिमीहरूमध्ये कसैले यस्तो व्यवहार गर्छौ, र हैसियतलाई अरू सबै कुराभन्दा उच्च ठान्छौ? मैले भर्खरै व्याख्या गरेको दृश्यबाट तिमीहरू के देख्‍न सक्छौ? फरक-फरक मानिसहरूले हैसियतलाई फरक-फरक रूपमा लिन्छन्। सत्यतालाई प्रेम गर्नेहरूले आफ्नो हैसियतलाई कर्तव्य ठान्छन्, आफ्नो हृदयमा परमेश्‍वरको आज्ञालाई बहुमूल्य ठान्छन्। तिनीहरू आफ्नो कर्तव्य स्वीकार गर्छन् तर आफ्नो हैसियतको दाबी गर्दैनन्। कतिपय मानिस हैसियतलाई बोझका रूपमा हेर्छन्, र त्यो तिनीहरूलाई दबाब दिने, बन्धनमा पार्ने, र समस्यामा समेत पार्ने थप बोझ हो भन्‍ने लाग्छ। तैपनि, हैसियतको पूजा गर्नेहरूले हैसियतलाई अधिकारी बन्‍नु ठान्छन्, र सधैँ यसका फाइदाहरूमा आनन्द लिन्छन्। तिनीहरू हैसियतविना जिउन सक्दैनन्। तिनीहरूले यो प्राप्त गरेपछि, तिनीहरू यसका लागि आफ्नो जीवन र आत्म-सम्मानलगायत सबै कुरा त्याग्‍न इच्छुक हुन्छन्—तिनीहरू यसका लागि आफ्नो शरीरसमेत बेच्न इच्छुक हुन्छन्। के यो दुष्टता होइन र? (हो।) यसलाई दुष्टता भनिन्छ। तिनीहरूको नजरमा हैसियत के हो? यो अग्रस्थानमा पुग्ने बाटो र माध्यम, अनि मानिसहरूबीच रहेको आफ्नो पहिचान, नियति, र स्तर परिवर्तन गर्ने विधि हो। त्यसकारण, तिनीहरू हैसियतलाई अत्यन्तै महत्त्व दिन्छन्। तिनीहरूले यो प्राप्त गरेपछि, र मानिसहरूले तिनीहरूको कुरा सुनेपछि, तिनीहरूको आज्ञापालन गरेपछि, तिनीहरूमा लिप्त भएपछि, र सबै कुरामा आफूलाई कृपापात्र बनाएपछि, तिनीहरू यी सबै कुरालाई घृणा गर्नुको सट्टा, यसमा चरम आनन्द लिन्छन्। बीचको आसन लिने अगुवाले जस्तै—उसको हाउभाउ अत्यन्तै ढुक्क र सहज थियो, र यसप्रति उसलाई अत्यन्तै खुसी र आनन्दको अनुभूति थियो। के यो दुष्टता होइन र? यदि कुनै व्यक्तिले श्रेष्ठताका सबै भावना र हैसियतले ल्याउने सबै फाइदाको विशेष रूपमा आनन्द लिन्छ, र यी कुराहरूलाई विशेष रूपमा पछ्याउँछ र मूल्यवान् ठान्छ, ती त्याग्‍न चाहँदैन भने, त्यो व्यक्ति अत्यन्तै दुष्ट हो। म किन ऊ अत्यन्तै दुष्ट हो भनेर भन्छु? हैसियत भएका मानिसहरूलाई चापलुसी गर्ने, तिनीहरूसँग मिठो बोल्ने, र तिनीहरूलाई तारिफ गर्नेहरूका हकमा भन्दा, तिनीहरूले के भनिरहेका हुन्छन्? तिनीहरूले झूटा शब्दहरू, लाजमर्दा शब्दहरू, दिक्कलाग्दो र वाकवाकी लाग्ने शब्दहरू, र चलाकीका शब्दहरू, र सुन्दा अपमानजनक लाग्‍ने केही कुराहरूसमेत बोलिरहेका हुन्छन्। उदाहरणका लागि, मानौँ हैसियत भएको व्यक्तिको छोरो निकै कुरूप छ, उसको अनुहार चुच्चो छ र गाला बाँदरको जस्तो छ—के ती चापलुसी गर्नेहरूले उसलाई कुरूप भन्छन्? तिनीहरूले के भन्छन्? (ऊ एकदमै सुन्दर छ।) के तिनीहरूले “ऊ एकदमै सुन्दर छ” भनेर भन्‍नु मात्रै पर्याप्त हुन्छ? तिनीहरूले यस्तो घिनलाग्दो कुरा भन्‍नुपर्छ, जस्तै, “उसको निधार ठूलो छ र चिउँडो चौडा र गोलाकार छ। उसको अनुहारमा धनी र उच्च हैसियतको लक्षण देखिन्छ!” वास्तविकता त्यस्तो होइन भन्‍ने कुरा स्पष्ट भए पनि, तिनीहरू अझै पनि यी झूट खुल्लमखुल्ला बोल्ने आँट गर्छन्। जब त्यस अधिकारीले यो कुरा सुन्छ, तब ऊ हर्षित हुन्छ, र उसलाई यी कुराहरू सुन्न मन पर्छ—उसलाई ती कुरा सुन्दा आनन्द हुन्छ। उसलाई ती कुरा सुन्न कति मन पर्छ? यदि कसैले पनि उसको अगाडि यी ढोँगी शब्दहरू, चापलुसी शब्दहरू, र चलाकीका शब्दहरू नबोलेका भए, यदि कसैले पनि उसलाई खुसी र प्रसन्‍न पार्न झूटा र घृणित शब्दहरू नबोलेका भए, उसलाई जीवन अरोचक लाग्‍नेथियो। के यो दुष्टता होइन र? (हो।) यो अत्यन्तै दुष्ट कुरा हो। तिनीहरू आफैले झूट बोल्नु आफैमा एकदमै वाकवाकी लाग्ने कुरा हो, तर तिनीहरूलाई अरू झूटा मानिसहरूलाई पनि फोहोरी झिँगाका समूहजस्तो आफ्‍नो वरिपरि घुम्न लगाउँदा आनन्द लाग्छ, र तिनीहरू यसो गर्नदेखि कहिल्यै थकित हुँदैनन्। तिनीहरू शब्दहरू चलाउन जान्‍ने, चापलुसी गर्न र कृपापात्र बन्न सिपालु, अनि घुमाउरो शैलीमा बोल्‍ने जोकोहीलाई प्रेम गर्छन्—तिनीहरू यी मानिसहरूलाई नजिक राख्छन् र महत्त्वपूर्ण पदहरूमा राख्छन्। के त्यस्ता अगुवाहरू खतरामा हुँदैनन् र? तिनीहरू कस्तो काम गर्न सक्छन्? के मण्डली तिनीहरूको नियन्त्रणमा पऱ्यो भने खतम हुनेछैन र? के यसमा अझै पनि पवित्र आत्माको काम हुन सक्छ?

कतिपय अगुवालाई खान खुबै मन पर्छ भन्‍ने सुनेको छु। जब तिनीहरू खाना पकाउन त्यति नजान्ने र राम्रो खाना नबनाउने दाजुभाइ-दिदीबहिनीहरूसँग बस्थे, तब तिनीहरूले तिनीहरूलाई चापलुसी गर्ने र चिप्लो घसेर बोल्‍ने, अनि हरेक दिन विशेष रूपमा तिनीहरूका लागि स्वादिष्ट खाना तयार गर्ने घरधनी खोज्थे। हरेक दिन, अगुवाहरू यसो भन्दै मन तृप्त हुने गरी खाने र पिउने गर्थे, “परमेश्‍वरलाई धन्यवाद होस्, हामी हरेक दिन परमेश्‍वरका भोजमा रमाउन पाउँछौँ। यो त साँच्‍चै परमेश्‍वरको अनुग्रह हो!” त्यस्ता मानिसहरू खतरामा हुन्छन्। तिनीहरू अझै ख्रीष्टविरोधी बनिनसकेका भए पनि, तिनीहरूको व्यवहारले तिनीहरूमा ख्रीष्टविरोधी प्रकृति सार र दुष्ट स्वभाव छ, अनि तिनीहरू अहिले ख्रीष्टविरोधीहरूको मार्गमा हिँडिरहेका छन् भन्‍ने कुरा खुलासा गरिसकेको हुन्छ। तिनीहरू ख्रीष्टविरोधी बन्‍न सक्छन् कि सक्दैनन्, वा तिनीहरू ख्रीष्टविरोधी हुन् कि होइनन् भन्‍ने कुरा तिनीहरूले छनौट गर्ने भावी मार्गमा निर्भर हुन्छ। तिनीहरू अहिले ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेका छन् र तिनीहरूको स्वभाव सार ख्रीष्टविरोधी सारसँग मिल्छ भन्‍ने कुरा निकै स्पष्ट छ, किनभने तिनीहरूलाई नकारात्मक कुराहरू मन पर्छ र सकारात्मक कुराहरू मन पर्दैन। तिनीहरू सकारात्मक कुराहरूलाई हेला गर्छन्, हृदयमा तिनलाई निन्दा र इन्कार गर्छन्। तिनीहरू के कुरा स्वीकार गर्छन्? छलकपट, झूट, र नकारात्मक कुराहरूसँग सम्बन्धित सबै कुरा। जब म कुनै ठाउँमा पुग्छु, तब कतिपय मानिस यसो भन्छन्: “तपाईँ सन्चो देखिनुहुन्न; केही समय आराम गर्नुहोस्।” मलाई सन्चो छ कि छैन र मैले कहिले आराम गर्नुपर्छ, यी कुराहरू म आफै जान्दछु। तैँले चलाख बन्ने नाटक गर्नु पर्दैन, र तैँले आफू कति चलाख छु भनेर देखाउनु पर्दैन। म यस्तो कुरा स्वीकार गर्दिनँ; म यस्तो कुरालाई घृणा गर्छु। मलाई कस्ता मानिसहरू मन पर्छ? कुनै कुरा आइपर्दा तुरुन्तै सङ्गति गर्न सक्ने र मेरो सामु आफ्नो विचार बताउन सक्‍ने मानिसहरू मन पर्छ। म तँसँग तेरा कठिनाइहरू समाधान गर्न सङ्गति गर्छु, र तँ मसँग नजिक हुन सक्छस्। आफूलाई कृपापात्र बनाउने र मलाई खुसी पार्न प्रयास गर्नेबारे चिन्ता नगर्—त्यो अत्यन्तै घृणित कुरा हो! यस्ता मानिसहरू मबाट टाढा बस्नुपर्छ, किनभने म तिनीहरूलाई घृणास्पद ठान्छु। म तँलाई झिजोलाग्दो झिँगा वा कीराको वर्गमा चित्रण गर्छु। टाढा बस्! कतिपय मानिस भन्छन्, “के तपाईँलाई आफ्नो साथमा तपाईँको सेवा गर्ने कोही चाहिँदैन?” तेरो दृष्टिकोणमा, मेरो पहिचान र हैसियतअनुसार मिल्‍ने व्यवहार र सेवा हुनुपर्छ। तर मलाई त्यसको आवश्यकता छैन। तैँले यी कुराहरू पटक्कै गर्नु हुँदैन, बुझिस्? मलाई यी कुराहरूप्रति घृणा र तिरस्कार लाग्छ। यदि तँमा साँच्‍चै मलाई ख्याल गर्ने र मेरो वास्ता गर्ने हृदय छ भने, त्यसो गर्ने धेरै उचित तरिका छन्। उदाहरणका लागि, यदि मैले तँलाई कुनै काम गर्न लगाएँ भने, तँ आज्ञाकारी भएर त्यो गर्छस्, र जब तँलाई कठिनाइहरू आइपर्छन्, तब तँ तुरुन्तै तीबारे मसँग छलफल गर्न सक्छस्। तैपनि, तैँले जे गरे पनि, गैरविश्‍वासीहरूले पदवाला मानिसहरूलाई खुबै चिप्लो घसेर चापलुसी गर्ने तरिका अनुकरण नगर्—मलाई ती कुराहरू सुन्न मन पर्दैन। स्पष्टतः म अग्लो छैनँ, तैपनि तँ यसो भन्दै जिद्दी गर्छस्, “तपाईँ अग्लो हुनुहुन्न होला, तर हामीभन्दा त अग्लो हुनुहुन्छ।” मलाई त्यस्तो कुरा सुन्‍न मन पर्दैन, त्यसकारण तैँले जे गरे पनि, मलाई त्यो नभन्; तैँले त्यो गलत व्यक्तिलाई भनिरहेको छस्। ख्रीष्टविरोधीहरूलाई यस्ता शब्दहरू सुन्न मन पर्छ। उदाहरणका लागि, तिनीहरू आफूमुनिका दाजुभाइ-दिदीबहिनीहरूलाई सोध्छन्: “के म मोटो देखिन्छु?” अनि कतिपय मानिस भन्छन्: “तपाईँ मोटो भए पनि, हामीभन्दा राम्रो देखिनुहुन्छ।” “त्यसोभए के म पातलो छु त?” “तपाईँ पातलो भए पनि, सुन्दर देखिनुहुन्छ। जुनसुकै हिसाबले पनि, तपाईँ फेसन मोडलजस्तै हुनुहुन्छ; तपाईँलाई सबै कुराले सुहाउँछ।” यो सुन्दा ख्रीष्टविरोधीहरू, खुसी हुन्छन् अनि तँलाई आफ्नो कमरेड र सहयोगी ठान्छन्। ख्रीष्टविरोधीहरूलाई मन पर्ने यी सबै कुरा घृणित र दुष्ट छन्—तिनीहरूलाई अरू कसरी दुष्ट भन्न सकिन्छ र? के ख्रीष्टविरोधीहरू विवेक, समझ, लाज, र मर्यादाजस्ता सामान्य मानवताका तत्वहरू, साथै सामान्य मानवताका अरू कुरालगायत असल र खराब, कालो र सेतो, अनि सही र गलतबीचको भिन्‍नतालाई प्रेम गर्छन्? के ख्रीष्टविरोधीहरू लाज भएका मानिसहरूलाई प्रेम गर्छन्? के तिनीहरू मर्यादा भएका मानिसहरूलाई प्रेम गर्छन्? तिनीहरू निर्लज्ज, कुनै सचेतनाविना र लाज नमानी साह्रै चिप्लो बोल्न सक्‍ने मानिसहरूलाई प्रेम गर्छन्। के तिनीहरूमा लाजको कमी हुँदैन र? तेरा शब्दहरू जति चिप्लो हुन्छन्, तिनीहरू त्यति नै खुसी हुन्छन्। ख्रीष्टविरोधीहरूको रुचि र विभिन्‍न कुराप्रति तिनीहरूको मनोवृत्ति, साथै तिनीहरूका छनौट र झुकावलाई हेर्दा, तिनीहरूको दुष्टताको कुनै सीमा छैन भन्‍ने स्पष्ट छ। सत्यता बुझ्नेहरूको कुरै नगर्—समाजमा अलिकति पनि इन्साफको बोध भएका मानिसहरूले समेत त्यस्तो व्यवहार मन पराउँदैनन्। हेर् त, आधिकारिक वृत्तका कतिपय मानिस पदवाला मानिसहरूको कृपापात्र बन्न मरिहत्ते गर्छन्। तिनीहरू पदमा रहेका मानिसहरूलाई जे चाहिन्छ त्यही दिन्छन्, यहाँसम्म कि आफ्नी श्रीमतीसमेत दिन्छन्—के तिनीहरूमा मर्यादा हुँदैन? (हुन्छ।) त्यसबाहेक, कतिपय अधिकारी समलिङ्गी सम्बन्धमा संलग्‍न हुन्छन्, र ती अधिकारीहरूकै समान लिङ्गका कतिपय मानिसहरू व्यक्तिगत रूपमा नचाहेर पनि तिनीहरूसँग घुलमिल हुन्छन्। के तिमीहरू त्यस्ता कुराहरू गर्न सक्छौ? (अहँ, सक्दैनौँ।) तर तिनीहरू गर्न सक्छन्। तिनीहरूमा न्यूनतम नैतिकता, लाज, विवेक, समझ हुँदैन—त्यसैले तिनीहरू यी कुराहरू गर्छन्। यदि तँलाई तिनीहरूले भन्ने कुराहरू नाटकमा हरफका रूपमा प्रस्तुत गर्न लगाइएको भए पनि, तैँले ती भन्‍न सक्दैनथिइस्; यी मानिसहरूले मञ्चमा प्रस्तुति दिनेहरूले भन्दा पनि बढी चिप्लो घसिरहेका हुन्छन्। मैले मञ्चमा प्रस्तुति दिनेहरू भनेर के भन्‍न खोजेको हुँ? मैले सर्वाङ्ग नाङ्गो अवस्थामा देखिँदा वा भेटिँदा केही फरक नपर्ने र अलिकति पनि धक नमान्ने मानिसहरू भन्न खोजेको हुँ। त्यस्ता मानिसहरूलाई मञ्चमा प्रस्तुति दिनेहरू भनिन्छ। त्यसकारण, यी चापलुसहरू तिनीहरूको दिक्कलाग्दो र घृणित शब्दहरू अनि दुष्ट कुराहरूप्रतिको रुचिले गर्दा मञ्चमा प्रस्तुति दिनेहरूभन्दा पनि खराब हुन्छन्। मञ्चमा प्रस्तुति दिनेहरूले आफ्नो शरीर मात्रै बेच्छन्, तर ख्रीष्टविरोधीहरू भनेर चिनिने दुष्ट मानिसहरूको यो गुटले के बेच्छ? तिनीहरू आफ्नो प्राण बेच्छन्। तिनीहरू छुटकारा पाउन नसक्‍ने दुष्ट पिशाचहरू हुन्। त्यसकारण यी मानिसहरूलाई सत्यता बताउनु सुँगुरको अघि मोती फाल्‍नुजस्तै हो—तिनीहरूले सत्यतालाई प्रेम गर्नु असम्भव छ। तिनीहरू हैसियतलाई यसरी लिन्छन्, र यसबाट प्राप्त हुने श्रेष्ठताका विभिन्‍न अनुभूति र अरू राम्रा अनुभूतिहरूको आनन्द लिन्छन्। यस आनन्दबाट प्राप्त हुने विभिन्‍न अनुभूति केके हुन्? ती सकारात्मक कुरा हुन् कि नकारात्मक? यी सबै नकारात्मक कुरा हुन्। जब तिनीहरूले हैसियत प्राप्त गर्छन्, तब तिनीहरू मानिसहरूले तिनीहरूलाई चापलुसी गर्ने, तिनीहरूको सेवा गर्ने, र तिनीहरूको अनुचित स्वार्थ पूरा गर्ने अपेक्षा गर्छन्। तिनीहरू विशेष व्यवहार गरिएको पनि चाहन्छन्—तिनीहरूको खानेकुरा, बस्‍ने ठाउँ, र तिनीहरूले प्रयोग गर्ने कुराहरू सबै विशेष हुनैपर्छ, र तिनीहरू सबै कुरामा अरूभन्दा फरक हुनैपर्छ। के तेरो त्यो भौतिक शरीर अरूको भन्दा साँच्‍चै फरक छ? ख्रीष्टविरोधीहरूले हैसियत प्राप्त गरेपछि, आफूलाई कुलिन र असाधारण ठान्छन्, मानौँ पृथ्वीमा अबदेखि तिनीहरू अटाउने कुनै ठाउँ छैन—तिनीहरू सिंहासनमा बस्नुपर्छ र मानिसहरूले तिनीहरूलाई भेटी चढाउनैपर्छ। के कुरा त्यही होइन र? मलाई भन् त, के यी कुराहरू सामान्य मानिसहरूले सामान्यतया राख्ने विचार हुन्? सामान्य मानिसहरूसँग हैसियत भए पनि नभए पनि, यसका लागि निश्‍चित आकाङ्क्षा र चाहना होला, तर तिनीहरूमा अहिले तिनीहरूले केही सत्यता बुझ्‍नुको अतिरिक्त लाज, विवेक, र समझ भएको हुनाले, हैसियतप्रति तिनीहरूको मोह घट्छ र हराउँछ। त्यसबाहेक, तिनीहरू हैसियतका फाइदाहरूलाई त्यति महत्त्व दिँदैनन्, र तिनीहरूले यसले ल्याउने फाइदाहरू महत्त्वपूर्ण छैन भन्‍ने देख्न सक्‍ने हुनाले, तिनीहरूले अरूको चापलुसी र मिठो बोली, खुसामद र अरू यस्ता व्यवहारहरूलाई घृणा गर्छन्, र तिनीहरू यस्ता कुराहरूबाट टाढा बस्‍न वा तिनलाई पिठ्यूँ फर्काउन र त्याग्‍नसमेत सक्छन्। तर के ख्रीष्टविरोधीहरू यी कुराहरू त्याग्‍न वा छोड्न सक्छन्? बिलकुलै सक्दैनन्। यदि तैँले तिनीहरूलाई यी कुराहरू त्याग्‍न लगाइस् भने, त्यो त तिनीहरूको जीवन मागिरहेको जस्तै हुन्छ। नत्र, कतिपय मानिसले आफ्नो हैसियत गुमाउनेबित्तिकै किन यसो भन्छन्, “म अबदेखि विश्‍वास गर्दिनँ, म जिउन सक्दिनँ, जीवन जिउन लायक छैन?” के यहाँ केही भइरहेको छैन र? तिनीहरूका लागि हैसियत किन यति महत्त्वपूर्ण हुन्छ? तिनीहरू महत्त्वहीन र साधारण जीवन जिउन सक्दैनन्; तिनीहरूसँग हैसियत हुनु नै पर्छ, तिनीहरू भीडभन्दा माथि उठ्नु नै पर्छ अनि अरूको आदर, आराधना, र प्रशंसा, साथै तिनीहरूलाई खुसी पार्न, छल गर्ने, र चापलुसी गर्ने आशयका झूटहरूमा रमाउनु नै पर्छ। तिनीहरू यी कुराहरूमा डुब्न चाहन्छन्। के सामान्य मानवता भएका मानिसहरू स्वेच्छाले त्यस्ता कुराहरूमा डुब्छन्? अवश्य नै डुब्दैनन्; यसले तिनीहरूलाई अशान्तिमा पार्छ। किन ख्रीष्टविरोधीहरू यी कुराहरूको आनन्द लिन मन पराउँछन्? किनभने तिनीहरूमा शैतानी स्वभावहरू हुन्छन्। शैतान वर्गका मानिसहरूले मात्रै यी कुराहरू पछ्याउँछन् र यस्ता मागहरू राख्छन्। सामान्य मानिसहरूले केही समयसम्म यी कुराहरूको आनन्द लिन सक्लान्, तर ती अर्थहीन र झर्कोलाग्दो समेत रहेछन् भन्‍ने थाहा पाउँछन्, त्यसपछि तिनीहरू ती सबैबाट टाढा बस्छन्। तर कतिपय मानिस जिद्दी भई ती कुरा त्याग्‍न मान्दैनन्। उदाहरणका लागि, कतिपय चलचित्र स्टारहरू उमेर ढल्केपछि पनि किन चलचित्र क्षेत्रबाट कहिल्यै अवकाश लिँदैनन्? किनभने त्यो महिमाविना, मानिसहरूले नघेरीकन, तिनीहरूलाई जीवन खल्‍लो लाग्छ। तिनीहरूलाई आकास यति निलो छैन, आफ्नो जीवनको कुनै दिशा छैन, र यो अर्थहीन र मूल्यहीन भएको छ भन्‍ने लाग्छ। तिनीहरूलाई आफ्नो सम्पूर्ण जीवन उदास हुन्छ भन्‍ने लाग्छ, त्यसकारण तिनीहरू स्टार बन्‍ने भावनालाई पुनर्जीवित गर्न चलचित्र क्षेत्रमा फर्केर जानुपर्छ। ख्रीष्टविरोधीहरूको पनि तिनीहरूको जस्तै गुण हुन्छ: तिनीहरूमा पनि त्यस्तै दुष्ट स्वभाव र सार हुन्छ। जब ख्रीष्टविरोधीहरूले हैसियत प्राप्त गर्छन्, तब त्यसको चारैतिर सान देखाउँछन्, र आफ्नो घरमा अख्तियारसमेत जमाउँछन् र परिवारका सदस्यहरूलाई आफ्‍नो आज्ञापालन गर्न लगाउँछन्। ख्रीष्टविरोधीहरूमा दुष्ट स्वभाव र सार हुन्छ, र तिनीहरू हैसियतलाई विशेष स्नेहको साथ लिन्छन्, यसलाई प्रदर्शन गर्न र यसको सान देखाउन लागिपर्छन्। यसले हामीलाई के देखाउँछ? के यी मानिसहरूमा लाज हुन्छ? हुँदैन। तिनीहरू हैसियत प्राप्त गर्छन् र आफ्नो पहिचान परिवर्तन भएको छ, र आमाबुबासँगको आफ्नो सम्बन्धसमेत परिवर्तन भएको छ भन्‍ने सोच्छन्। के यसमा समस्या छैन र? यो विकृत कुरा हो! तिनीहरूले हैसियतप्रति यस्तो मनोवृत्ति राख्‍न सक्नु तिनीहरूको दुष्ट सारलाई खुलासा गर्ने एक प्रकारको प्रमाण हो।

परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, अनि उहाँको पहिचान र हैसियत सर्वोच्च छ। परमेश्‍वरसँग अख्तियार, बुद्धि, र शक्ति छ, अनि उहाँसँग आफ्नै स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो छ। के कसैलाई परमेश्‍वरले मानवजाति र सारा सृष्टिबीच कति वर्षदेखि काम गरिरहनुभएको छ भन्ने थाहा छ? परमेश्‍वरले काम गर्नुभएको र सारा मानवजातिलाई व्यवस्थापन गर्नुभएको ठ्याक्कै कति वर्ष भयो भन्‍ने कुरा अज्ञात छ; कसैले पनि ठ्याक्कै सङ्ख्या दिन सक्दैन, र परमेश्‍वर यी कुराहरूबारे मानवजातिलाई बताउनुहुन्‍न। तैपनि, यदि शैतानले यस्तो काम गऱ्यो भने, के यसले यसबारे बताउनेथिएन र? अवश्य नै बताउनेथियो। यसले अझ धेरै मानिसलाई बहकाउन र अझ धेरै मानिसलाई यसको योगदानबारे सचेत गराउनका लागि आफ्‍नो प्रदर्शन गर्न चाहन्छ। परमेश्‍वरले किन यी कुराहरूका बारेमा बताउनुहुन्‍न? परमेश्‍वरको सारको एउटा नम्र र गुप्त पक्ष छ। नम्र र गुप्त हुनुको विपरीत के हो? यो अहङ्कारी हुनु र आफूलाई देखाउनु हो। परमेश्‍वरले जति नै ठूलो काम गर्नुभए पनि, उहाँ मानिसहरूलाई तिनीहरूले जान्‍न र बुझ्न सक्‍ने कुरा मात्रै बताउनुहुन्छ, उहाँ आफूले गर्ने कामद्वारा मानिसहरूलाई ज्ञान प्राप्त गर्न, उहाँको सार चिन्‍न सहयोग गर्नमा सन्तुष्ट हुनुहुन्छ। यसले मानिसहरूलाई केकस्ता फाइदाहरू दिन्छ? यसले कस्तो परिणाम हासिल गर्छ? के मानिसहरूले परमेश्‍वरको आराधना गर्न यी कुराहरू जान्नु नै पर्छ? वास्तवमा त्यस्तो होइन। मानिसहरूले परमेश्‍वरको आराधना गर्न सक्नु नै अन्तिम वस्तुगत परिणाम हो, तर परमेश्‍वरले मानिसहरूलाई यी कुराहरू थाहा दिनुको मूल अभिप्राय के हो? त्यसको अभिप्राय तिनीहरूलाई तिनीहरूले यी कुराहरूको ज्ञान प्राप्त गरेपछि, परमेश्‍वर मानवजातिलाई कसरी व्यवस्थापन गर्नुहुन्छ र मानवजातिमाथि कसरी सार्वभौमिकता राख्‍नुहुन्छ र तिनीहरूलाई कसरी मिलाउनुहुन्छ भन्‍ने बुझेपछि, उहाँका सार्वभौमिकतामा समर्पित हुन, व्यर्थको प्रतिरोध गर्न छोड्न, र अबदेखि पथभ्रष्ट नहुन सहयोग गर्नु हो—यसरी, मानिसहरूले त्यति धेरै कष्ट भोग्‍नेछैनन्। परमेश्‍वरले प्रदान गरेका मार्ग र नियमहरूअनुसार, अनि उहाँका मापदण्ड र सिद्धान्तहरूअनुसार प्राकृतिक रूपमा जिएर र अस्तित्वमा रहेर, तँ अबदेखि शैतानको पकडमा पर्नेछैनस्, न त तँ दोस्रोपटक भ्रष्ट तुल्याइनेछस् र कुल्चाइमा नै पर्नेछस्। बरु, तँ परमेश्‍वरले तय गरेका नियमहरूअनुसार सदासर्वदा जिउनेछस्, मानव स्वरूपमा र सृजित प्राणीका रूपमा जिउनेछस्, अनि तैँले परमेश्‍वरको हेरचाह र सुरक्षा प्राप्त गर्नेछस्। परमेश्‍वरको कामको मूल अभिप्राय र उद्देश्य यही हो। त्यसोभए, परमेश्‍वरले यति धेरै काम गर्नुभएको छ, तर के उहाँले कहिल्यै यसको प्रदर्शन गर्नुभएको छ? के उहाँले कहिल्यै मानिसहरूलाई आफूले के गरेको छु भनेर बताउनुभएको छ? कहिल्यै बताउनुभएको छैन। परमेश्‍वरले के गर्नुभएको छ, वा उहाँले केकस्ता कुराहरू गर्नुभएको छ र केकस्ता कुराहरू गर्नुभएको छैन भन्‍ने धेरै मानिसलाई थाहा हुँदैन। वास्तवमा, परमेश्‍वरले धेरै कुरा गर्नुभएको छ, तर यी कुराहरू कहिल्यै पनि मानवजातिलाई घोषणा गर्नुभएको छैन। परमेश्‍वर तीबारे मानवजातिलाई बताउनुहुन्न; तैँले गर्नुपर्ने कुरा भनेको आफूले जान्‍नुपर्ने कुराबारे स्पष्ट हुनु मात्रै हो। भविष्यमा, मानवजातिले पृथ्वीमा सामान्य रूपमा अस्तित्वमा रहन र परमेश्‍वरको नेतृत्वलाई स्विकार्न सक्‍नेछ, र जब परमेश्‍वर मानवजातिबीच आउनुहुन्छ, तब मानिसहरूले परमेश्‍वरसँग सामान्य अन्तरक्रिया गर्न, उहाँलाई स्वागत गर्न, आराधना गर्न, उहाँका वचनहरू सुन्न सक्‍नेछन्, र तिनीहरू शैतानसँग हिँड्न छोड्छन्। यसरी, परमेश्‍वरको राज्य पृथ्वीमा देखा पर्नेछ, र पृथ्वीमा उहाँलाई आराधना गर्न सक्‍ने, उहाँका वचनहरू सुन्न र ती अभ्यास गर्न सक्‍ने मानिसहरूको समूह हुनेछ। यसरी परमेश्‍वरको काम पूरा हुनेछ; यो परिणाम हासिल गर्नु नै पर्याप्त हुन्छ। त्यसकारण, परमेश्‍वरले कुनै काम गर्नुहुँदा, यदि तैँले त्यो बुझिनस् वा तँलाई त्यसबारे थाहा भएन भने, परमेश्‍वरले तँलाई त्यो व्याख्या गर्नुहुनेछैन। किन उहाँ त्यो व्याख्या गर्नुहुन्न? त्यसो गर्नु पर्दैन। तैँले नबुझ्ने धेरै कुरा छन्, र परमेश्‍वरले तँलाई यी कुराहरू थाहा दिन वा उहाँको पहिचान र सार बुझाउन, वा उहाँको शक्ति बुझाउन निश्‍चित रहस्यहरू प्रकट गर्नुहुन्न। परमेश्‍वर यो काम गर्नुहुन्न। परमेश्‍वर अहिले के गर्नमा ध्यान दिइरहनुभएको छ? उहाँ मानिसहरूलाई सत्यता बुझ्न लगाउनमा ध्यान दिनुहुन्छ। तैँले सत्यता बुझेपछि, परमेश्‍वरलाई चिन्‍नेछस्, आफ्नो जीवनको जग बसाल्नेछस्, अनि भविष्यमा परमेश्‍वरमा समर्पित हुन र उहाँको आराधना गर्न सक्‍नेछस्, र तैँले शैतानलाई चिन्‍न र त्याग्‍न पनि सक्‍नेछस्, त्यसको बहकाउमा पर्न वा त्यससँगै चल्न छोड्नेछस्—त्यसपछि उहाँको काम पूरा हुनेछ। ती रहस्यहरूको हकमा भन्दा, मानवजातिले भविष्यमा ती बुझ्ने अवसर पाउनेछ, तर परमेश्‍वरको कार्यका रहस्यहरू अत्यन्तै विशाल छन्, र परमेश्‍वरले तँलाई ती प्रकट गर्नुभए पनि यसको अर्थ तैँले बुझ्नेछस् भन्‍ने होइन। तँ तिनको सम्पर्कमा आए पनि, सायद तैँले ती बुझ्न वा बोध गर्न सक्दैनस्। किन यस्तो हुन्छ? किनभने सृजित प्राणी र परमेश्‍वरबीच मानव विचार र परमेश्‍वरका विचारहरूबीच दूरी छ। उदाहरणका लागि, तँलाई इन्द्रेणी परमेश्‍वर र मानवजातिबीच भएको करारको चिन्ह हो भन्‍ने थाहा होला, तर इन्द्रेणी कसरी बनिन्छ तँलाई थाहा छ? यदि परमेश्‍वरले तँलाई यो रहस्य व्याख्या गर्नुभएको भए, के तैँले बुझ्नेथिइस्? तैँले बुझ्नेथिइनस्, त्यसकारण परमेश्‍वर तँलाई बताउनुहुन्न। यदि उहाँले बताउनुभएको भए त्यो तेरा लागि बोझ हुनेथियो, किनभने तैँले त्यसलाई अध्ययन र विश्लेषण गर्नुपर्नेथियो, जुन पीडादायी हुनेथियो। त्यसकारण, परमेश्‍वर रहस्यहरूबारे त्यति धेरै बताउनुहुन्न। तर शैतानको मानिसलाई यी रहस्यहरूबारे थाहा छ भने के ऊ चुप लागेर बस्न सक्छ? कदापि सक्दैन। तिनीहरूको सार यहीँ फरक हुन्छ। के परमेश्‍वर उहाँले मानवजातिलाई वर्षौंदेखि प्रकट गरेका तर मानिसहरूले कहिल्यै बुझ्न नसक्‍ने धेरै कुरा व्याख्या गर्नुहुन्छ? के उहाँ अलौकिक कुराहरू गर्नुहुन्छ? अहँ, उहाँ गर्नुहुन्न। मानवजातिलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो, र मानिसहरूले कति बुझ्न सक्छन् र कति हदसम्म त्यो बुझ्न सक्छन् भन्‍ने कुरा परमेश्‍वरलाई थाहा छ। यी कुराहरू मानिसहरूको आँखाको अगाडि राखिएको हुन्छ, तर यदि तिनीहरूले बुझ्नु आवश्यक छैन भने, तिनीहरूलाई अन्तर्दृष्टि दिनु वा मानिसहरूमा यी कुराहरू लादेर तिनीहरूका लागि बोझ बनाउनु आवश्यक छैन, त्यसैले परमेश्‍वर त्यसरी काम गर्नुहुन्न। त्यसकारण, परमेश्‍वरका कार्यहरूमा सिद्धान्तहरू हुन्छन्। मानवजातिप्रतिको उहाँको शैली कदर गर्ने, वास्ता गर्ने, र प्रेम गर्ने किसिमको छ। परमेश्‍वर मानिसहरूका लागि जे हितमा हुन्छ त्यही चाहनुहुन्छ—परमेश्‍वरका सबै कार्यको स्रोत र मूल अभिप्राय यही हो। अर्कोतर्फ, शैतान आफूलाई प्रदर्शन गर्छ, मानिसहरूमा कुराहरू लाद्छ, तिनीहरूलाई यसको आराधना गर्न लगाउँछ र बहकाउँछ, र तिनीहरूलाई भ्रष्ट तुल्याउँछ, जसले गर्दा तिनीहरू क्रमिक रूपमा जीवित दियाबलस बन्छन् र विनाशको बाटोमा हिँड्छन्। तर जब तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, तब यदि तैँले सत्यता बुझेको छस् र प्राप्त गरेको छस् भने, तँ शैतानको प्रभावबाट उम्कन सक्छस् र तैँले मुक्ति प्राप्त गर्न सक्छस्—तैँले नष्ट हुने परिणाम सामना गर्नेछैनस्। शैतानले मानिसहरू राम्ररी अघि बढिरहेको हेर्न सक्दैन, र मानिसहरू बाँच्छन् कि मर्छन् भन्‍ने कुरालाई यसले वास्ता गर्दैन; यसले आफूलाई, आफ्नो फाइदा, र आफ्नो खुसी बारे मात्रै वास्ता गर्छ, र यसमा प्रेम, कृपा, सहनशीलता, र क्षमादानको कमी हुन्छ। शैतानमा यी गुणहरू हुँदैनन्; परमेश्‍वरमा मात्रै यी सकारात्मक कुराहरू हुन्छन्। परमेश्‍वरले मानिसहरूमा धेरै काम गर्नुभएको छ, तर के उहाँले यसबारे कहिल्यै बोल्नुभएको छ? के उहाँले कहिल्यै यसको व्याख्या गर्नुभएको छ? के उहाँले कहिल्यै यो कुराको घोषणा गर्नुभएको छ? अहँ, उहाँले त्यसो गर्नुभएको छैन। मानिसहरूले परमेश्‍वरलाई जसरी गलत बुझे पनि, उहाँ व्याख्या गर्नुहुन्न। परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, तँ साठी वर्षको भए पनि वा असी वर्षको भए पनि, परमेश्‍वरबारे तेरो बुझाइ अत्यन्तै सीमित हुन्छ, र तँलाई कति थोरै थाहा छ भन्ने आधारमा, तँ अझै पनि बच्‍चा होस्। परमेश्‍वर यसलाई तेरो विरुद्धमा प्रयोग गर्नुहुन्‍न; तँ अझै पनि अपरिपक्‍व बच्‍चा होस्। कतिपय मानिस धेरै वर्ष जिएका भए पनि र तिनीहरूको शरीरले वृद्ध अवस्थाका लक्षणहरू देखाए पनि, त्यसले केही फरक पार्दैन; परमेश्‍वरबारे तिनीहरूको बुझाइ अझै पनि अत्यन्तै अपरिपक्व र सतही छ। परमेश्‍वर यसमा तँलाई दोषी मान्नुहुन्‍न—यदि तैँले बुझिनस् भने, बुझिनस्। त्यो तेरो क्षमता र सामर्थ्य हो, र यसलाई परिवर्तन गर्न सकिँदैन। परमेश्‍वर तँलाई कुनै कुरामा जबरजस्ती गर्नुहुन्‍न। परमेश्‍वर मानिसहरूले उहाँको गवाही दिऊन् भन्ने माग गर्नुहुन्छ, तर के उहाँले आफ्नो गवाही दिनुभएको छ? (छैन।) अर्कोतर्फ, शैतानलाई यसले गरेको सानो कुराबारे समेत मानिसहरूले थाहा पाउनेछैनन् भन्‍ने डर लाग्छ। ख्रीष्टविरोधीहरू पनि त्यस्तै हुन्छन्: तिनीहरूले गर्ने हरेक सानो कामबारे सबैको अगाडि घमण्ड गर्छन्। तिनीहरूको कुरा सुन्दा, तिनीहरूले परमेश्‍वरको गवाही दिइरहेका छन् जस्तो लाग्छ—तर यदि तैँले ध्यान दिएर सुनिस् भने तिनीहरूले परमेश्‍वरको गवाही दिइरहेका छैनन्, तर तिनीहरूले देखावा गरिरहेका छन्, आफूलाई बढावा दिइरहेका छन् भन्‍ने कुरा पत्ता लगाउनेछस्। तिनीहरूले भनेको कुरापछाडिको अभिप्राय र सार भनेको परमेश्‍वरसँग उहाँका चुनिएका मानिसहरू, र हैसियतका लागि होड गर्नु हो। परमेश्‍वर नम्र र गुप्त हुनुहुन्छ, र शैतानले आफ्‍नो धाक लगाउँछ। के भिन्‍नता छ? देखावा गर्नु र नम्रता अनि गुप्तपन: सकारात्मक कुराहरू केके हुन्? (नम्रता र गुप्तपन।) के शैतानलाई नम्र भनेर व्याख्या गर्न सकिन्छ? (सकिँदैन।) किन? यसको दुष्ट प्रकृति सारका आधारमा हेर्दा, यो बेकामको कसिङ्गर टुक्रा हो भन्‍ने देखिन्छ; शैतानले आफ्‍नो धाक नलगाउनु त असामान्य हुन्छ। शैतानलाई कसरी “नम्र” भनेर भन्‍न सकिन्छ? “नम्रता” त परमेश्‍वरका सन्दर्भमा मात्रै भन्‍न सकिन्छ। परमेश्‍वरको पहिचान, सार, र स्वभाव उच्च र आदरणीय छन्, तर उहाँ कहिल्यै पनि देखावा गर्नुहुन्न। परमेश्‍वर नम्र र गुप्त हुनुहुन्छ, त्यसकारण मानिसहरूले उहाँले के गर्नुभएको छ भन्‍ने देख्दैनन्, तर उहाँले यस्तो अज्ञात रूपमा काम गर्नुहुने हुनाले, मानवजातिलाई निरन्तर भरणपोषण, पालनपोषण गरिन्छ र मार्गदर्शन दिइन्छ—र यो सबै परमेश्‍वरले नै मिलाउनुभएको हो। के परमेश्‍वर यी कुराहरू कहिल्यै घोषणा गर्नुहुन्न, कहिल्यै उल्लेख गर्नुहुन्न भन्‍ने कुरा गुप्तपन र नम्रता होइन र? परमेश्‍वरले यी कुराहरू गर्न सक्नुहुन्छ तर उहाँ कहिल्यै तीबारे उल्लेख गर्नुहुन्न वा घोषणा गर्नुहुन्न, र तीबारे मानिसहरूसँग तर्क गर्नुहुन्न, त्यसैले त उहाँ नम्र हुनुहुन्छ। तँ त्यस्ता कुराहरू गर्न सक्दैनस् भने तँसँग नम्रताबारे कुरा गर्ने के अधिकार हुन्छ र? तैँले तीमध्ये कुनै पनि काम गरिनस्, तैपनि त्यसका लागि श्रेय लिने जिद्दी गर्छस्—लाजमर्दो व्यवहार गर्नु भनेको यही हो। परमेश्‍वर मानवजातिलाई अगुवाइ गर्दै, यस्तो ठूलो काम गर्नुहुन्छ, र उहाँ सम्पूर्ण ब्रह्माण्डको नेतृत्व गर्नुहुन्छ। उहाँको अख्तियार र शक्ति अत्यन्तै विशाल छ, तैपनि उहाँले कहिल्यै “मेरो शक्ति असाधारण छ” भनेर भन्‍नुभएको छैन। उहाँ सबै थोकमाझ लुकेर बस्‍नुहुन्छ, सबै कुरामाथि शासन गर्नुहुन्छ, मानवजातिलाई खुवाउनुहुन्छ र भरणपोषण गर्नुहुन्छ, र सबै मानवजातिलाई पुस्तौँ पुस्तासम्म निरन्तर अघि बढ्न दिनुहुन्छ। उदाहरणका लागि, हावा र घामलाई वा पृथ्वीमा मानव अस्तित्वका लागि आवश्यक रहेका सबै भौतिक कुरालाई लिऊँ—ती सबै निरन्तर रूपमा चलिरहन्छन्। परमेश्‍वरले मानिसका लागि प्रदान गर्ने कुरामा कुनै प्रश्‍न छैन। यदि शैतानले कुनै असल काम गरेको भए, के यसले चुपचाप काम गर्नेथ्यो, र अज्ञात नायक बन्‍नेथ्यो? कहिल्यै त्यसो गर्नेथिएन। त्यो त मण्डलीमा रहेका कतिपय ख्रीष्टविरोधी जस्तै हो, जसले पहिले खतरनाक काम गरेका थिए, विभिन्‍न कुरा त्यागेका थिए र कष्ट भोगेका थिए, सायद जेलसमेत गएका थिए; कति जनाले परमेश्‍वरको घरको कामको एउटा पक्षमा योगदान दिएका पनि हुन सक्छन्। तिनीहरू यी कुरा कहिल्यै बिर्सँदैनन्, तिनीहरू ती कुराका लागि जीवनभरको श्रेय पाउनुपर्छ भन्‍ने सोच्छन्, तिनीहरू यी कुरालाई आफ्नो जीवनकालको पूँजी ठान्छन्—यसले मानिसहरू कति सानो छन् भन्‍ने कुरा देखाउँछ! मानिसहरू साँच्‍चै नै साना हुन्छन्, र शैतान निर्लज्ज हुन्छ।

मलाई भन् त, यदि ख्रीष्टविरोधीहरूको पनि परमेश्‍वर समान हैसियत भएको भए, तिनीहरूले के खानेथिए र लगाउनेथिए? तिनीहरूले सबै भन्दा मिठो खाना खानु र सबैभन्दा राम्रो ब्रान्डको लुगा लगाउनु पर्नेथियो, होइन र? त्यसोभए, भौतिक कुराहरूप्रति तिनीहरूको मागबारे कुरा गर्दा, मलाई भन् त, के तिनीहरूमा निश्‍चित मागहरू हुँदैनन् र? तिनीहरू कतै जाँदा, विमान चढ्नुपर्छ। तिनीहरू त्यहाँ पुगेपछि, के साधारण दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई आफ्नो घरमा राख्न सक्छन्? तिनीहरूले राख्न सके पनि, ती ख्रीष्टविरोधीहरू तिनीहरूसँग बस्‍नेछैनन्—तिनीहरू उच्च कोटिका होटेलमा बस्नुपर्छ। के ख्रीष्टविरोधीहरू आफ्ना मागहरूबारे अत्यन्तै निश्‍चित हुँदैनन् र? हैसियतले ल्याउने इज्जत, आनन्द, र अभिमानको कुरा गर्नुपर्दा, के तिनीहरू यी कुराहरू त्याग्‍न सक्छन्? तिनीहरूसँग सही परिस्थिति र अवसरहरू छन् भने, तिनीहरू यी कुरा जतिसक्दो धेरै लिएर आनन्द लिन्छन्। तिनीहरूका सिद्धान्तहरू केके हुन्? तिनीहरूसँग हैसियत छ भने, तिनीहरू पैसा हात पारेर नामी ब्रान्डको लुगा र सरसामान प्रयोग गर्न सक्छन्। तिनीहरू साधारण चीजबीज लगाउन चाहँदैनन्; तिनीहरूले नामी ब्रान्डहरू लगाउनुपर्छ। तिनीहरूको टाई, सूट, शर्ट, कफ्लिङ्क, सुनको हार, र पेटी—सबै नामी ब्रान्डका हुन्छन्। यो राम्रो लक्षण होइन, र के यसको कारण दाजुभाइ-दिदीबहिनीहरूलाई कष्ट हुँदैन र? दाजुभाइ-दिदीबहिनीहरूले चढाउने पैसा यी ख्रीष्टविरोधीहरूले नामी ब्रान्डका सामानहरू किन्न प्रयोग गर्छन्। के तिनीहरूले गरेको यो ठूलो दुष्टता होइन र? के यो तिनीहरूको दुष्टताले गर्दा भएको होइन र? तिनीहरूले गर्न सक्‍ने कुराहरू यिनै हुन्। एक जना व्यक्तिले पहिलोपटक नेतृत्वको भूमिका लिएपछि शिष्ट किसिमको वस्त्र लगाउँथ्यो, उसका जम्मा तीनदेखि पाँचवटा मात्र कपडा थिए, र ती नामी ब्रान्डका वा उच्च कोटिका थिएनन्। धेरै वर्ष नेतृत्व गरेपछि, उसले कुनै वास्तविक काम नगरेको कारण, उसलाई बर्खास्त गरियो। ऊ जाँदा, उसले गाडीभरि सरसामान लिएर गयो: नामी ब्रान्डका लुगा, झोला, र सबै किसिमका राम्रा कुराहरू। उसले अगुवाका रूपमा कुनै पैसा कमाउँथेन, त्यसोभए यी कुराहरू कहाँबाट आए त? ती उसको हैसियतबाट आएका थिए। अरूले उसका लागि यी कुराहरू किनिदिँदा उसले इन्कार गरेको भए, के दाजुभाइ-दिदीबहिनीहरूले उसका लागि ती कुराहरू किन्न जिद्दी गर्नेथिए र? के त्यस्तो कुरा हुनेथियो? यदि उसले यी कुराहरू नचाहेको भए, दाजुभाइ-दिदीबहिनीहरूले उसका लागि ती कुराहरू किन्‍नेथिएनन्। यहाँ समस्या के हो? उसले जबरजस्ती र लोभ गर्दै यी सामानहरू लिइरहेको थियो। एक हिसाबमा, उसले यी कुरा दाजुभाइ-दिदीबहिनीहरूबाट जबरजस्ती लियो, र अर्को हिसाबमा, उसले सक्रिय रूपमा ती कुरा आफै किन्यो। त्यसबाहेक, उसले आफ्ना लागि दाजुभाइ-दिदीबहिनीहरूलाई यी कुराहरू किन्न दियो, र यदि कसैले इन्कार गरे भने, उसले तिनीहरूलाई यातना दिएर गाह्रो बनाउँथ्यो। यी अनेक कारणहरू सबै लागू हुन्छन्। अन्त्यमा, उसले “प्रचुर फसल” पायो र ऊ धनी भयो। के तिमीहरू यस्तो अगुवालाई डाह गर्छौ? यदि अवसर पाएको भए, के तिमीहरूले पनि यस्तो सम्पत्ति प्राप्त गर्न सक्थ्यौ? म तँलाई भन्छु, यसरी धनी हुनु राम्रो होइन—परिणामहरू छन्! जब कतिपय मानिस अगुवा बन्छन्, तब यी कुराहरू तिनीहरूमाथि आइपर्छन् भन्‍ने तिनीहरूलाई डर लाग्छ। तिनीहरू के सोच्छन् भने परीक्षाहरू अत्यन्तै ठूला हुनेछन्, यी परीक्षाहरूबाट जोगिन वा त्यसलाई सामना गर्न गाह्रो हुनेछ, र तिनमा पर्न सजिलो हुनेछ। तर कतिपय मानिसलाई वास्ता हुँदैन, र तिनीहरू सोच्छन्, “यो सामान्य कुरा हो। त्यस्ता कुराहरू आनन्द नलिई कसले पद लिन्छ? सुरुमा किन पदमा जानु त? त्यसको निचोड नै त्यही त हो!” यो कस्तो आवाज हो? यो ख्रीष्टविरोधीहरूको आवाज हो, र यी मानिसहरू खतरामा हुन्छन्।

मैले अहिले काम गरेको लगभग तीस वर्ष भयो। के मैले कहिल्यै कसैबाट कुनै कुरा जबरजस्ती लिएको छु? उदाहरणका लागि, यदि मैले कसैले राम्रो गहना लगाएको देखेँ भने, के मैले यस्तो मेसेज पठाएर ऊबाट जबरजस्ती त्यो लिएको छु, “आफ्नो गहना मलाई दे; यो तँलाई सुहाएन। सुन र चाँदीको गहना हैसियत भएका मानिसहरूका लागि हो, अनि हैसियत नभएका मानिसहरूले त्यो लगाउनु हुँदैन”? के यस्तो कहिल्यै भएको छ? छैन। कतिपय विश्‍वासी दाजुभाइ-दिदीबहिनीसँग थोरै पैसा हुँदा र मलाई छालाको ज्याकेट वा कुनै कुरा किनिदिँदा पनि, म त्यो सधैँ फर्काउथेँ। मलाई त्यो मन नपरेर होइन; त्यस्ता कुराहरू मलाई कुनै कामको नभएर नै हो। पछि, मैले यसबारे सोचेँ: “मैले यी कुराहरूलाई उचित रूपमा कसरी सम्हाल्नुपर्छ? मैले ती सामान किन्‍ने मानिसहरूलाई चोट नपुऱ्याउन के गर्नुपर्छ?” मैले यी सामानहरू मण्डलीमा लगेँ ताकि दाजुभाइ-दिदीबहिनीहरूले सिद्धान्तअनुसार ती बाँडफाँट गर्न सकून्। यदि कसैले ती बहुमूल्य वस्तुहरू किन्ने इच्छा गर्‍यो भने, मण्डलीले तिनीहरूलाई छुट मूल्यमा बेच्नेथियो। त्यो पैसा कमाउनका लागि थिएन; त्यो त दुवै पक्षलाई उपयुक्त हुने तरिकाले परिस्थिति सम्हाल्नका लागि थियो। सुरुमा यी कुराहरू तेरा लागि दिइएका होइनन्, त्यसकारण कसैले पनि यी कुराहरू सित्तैँमा लिनु हुँदैन। यी वस्तुहरू सीमित थिए र सबैलाई समान रूपमा बाँडफाँट गर्न सकिँदैनथियो, र ती कुरा कसैलाई दिनु उचित थिएन। त्यसकारण, एउटै मात्र विकल्प भनेको पैसा भएका र किन्‍न इच्छुकहरूले मात्रै ती किन्न सक्थे। ती अवश्य नै बजार मूल्यभन्दा सस्ता थिए, त्यसकारण यो परमेश्‍वरको घरबाट आएको अनुग्रह थियो। मसँग यसो गर्ने अधिकार थियो। किनभने मलाई कुनै कुरा दिइएपछि, त्यो मेरो भएको थियो, र त्यसलाई आफूलाई उचित लागेअनुसार सम्हाल्ने अधिकार मसँग थियो। सुरुमा त्यो किन्ने व्यक्तिसँग अब त्यसको कुनै सम्बन्ध रहेन। मैले यसरी मामला सम्हालेर, त्यो व्यक्तिको आत्मसम्मानलाई ख्याल गरिसकेको थिएँ। यो शैली पूर्ण रूपमा उचित भएकाले कुनै आपत्ति हुनु हुँदैनथ्यो। धेरै दाजुभाइ-दिदीबहिनीले मलाई सामानहरू किनिदिएका छन्। मैले तिनीहरूलाई मेरा लागि सामानहरू किन्न जिम्मा दिएको थिइनँ, झन् तिनीहरूले त्यसो गर्नुपर्छ भनेर माग गर्नु त परको कुरा हो। तिनीहरूसँग त्यसो गर्ने हृदय थियो, जुन कुराको मैले कदर गरेँ, तर मैले स्वीकार गर्न नसक्‍ने धेरै कुरा थिए किनभने मलाई ती चाहिँदैनथियो। त्यो व्यावहारिक समस्या हो। के मैले भनेको कुरा उचित हो? (हो।) के त्यसलाई सम्हालेको पनि उचित थियो? (थियो।) म चिसोप्रति संवेदनशील छु र चिसो खानेकुरा खाँदिनँ भन्‍ने थाहा पाएका केही दाजुभाइ-दिदीबहिनी पनि थिए, त्यसकारण तिनीहरूले मलाई “पेट चिसिएमा” खाने औषधि किनेर दिए। तैपनि, ती औषधिहरू खाएपछि मलाई असहज भयो—मेरो शरीरले त्यस्ता प्रयोगहरू सहन सक्दैन, त्यसकारण धेरै औषधिप्रति म सावधान हुनुपर्छ। तिमीहरूले यो कुरा बुझ्नुपर्छ। कतिपय दाजुभाइ-दिदीबहिनीले केही स्वास्थ्यवर्द्धक पदार्थहरू पनि किनिदिएका थिए, जस्तै पहाडी जिनसेङ, रातो जिनसेङ र अरू किसिमका टनिकहरू। मैले तीमध्ये कुनै पनि सेवन गर्न सकिनँ। किन? किनभने ती मलाई उपयुक्त भएनन्। मैले दाजुभाइ-दिदीबहिनीहरूले मलाई किनिदिएको कुरा वा कहाँबाट किनेका हुन् भन्‍ने कुरालाई तुच्छ ठानेको होइन; त्यति हो मैले ती प्रयोग गर्न मिल्दैनथ्यो; मैले ती प्रयोग गर्न सकिनँ। सबै असल कुरा सबैका लागि उपयुक्त हुन्छ भन्‍ने छैन। असल कुराहरू धेरै छन्, यदि तैँले कुनै असल कुरा प्रयोग गरिस् र यसले प्रतिकूल असर गर्छ वा एलर्जी हुन्छ भने, त्यो तेरो लागि राम्रो कुरा होइन। त्यसोभए, यसलाई कसरी सम्हाल्नुपर्छ? जसलाई त्यो उपयुक्त हुन्छ उसैलाई प्रयोग गर्न दिनु राम्रो हुन्छ। त्यसकारण, म तिमीहरूलाई भन्छु, मेरो लागि सामानहरू किन्न जसले पैसा खर्च गरे पनि, यी वचनहरू याद गर—ती नकिन। यदि मलाई कुनै कुरा चाहिएमा, म तँलाई सिधै बताउनेछु, म यसबारे यति शिष्ट हुनेछैनँ। बुझ्यौ त? तर जब तिमीहरू यी कुराहरू मलाई दिन्छौ, र म मलाई ती चाहिँदैन वा ती उपयुक्त छैनन् भनेर भन्छु, तब त्यो पनि म तिमीहरूसँग शिष्ट हुनु होइन। यो झूट वा ढोँग होइन। मैले भन्ने सबै कुरा वास्तविक हुन्छ; त्यो सबै साँचो हुन्छ। हेर, मैले बोल्दा भित्री अर्थ नलगाऊ। मैले मलाई त्यो चाहिँदैन भन्नुको अर्थ हो, मलाई त्यो चाहिँदैन। मैले त्यो प्रयोग गर्न मिल्दैन भन्नुको अर्थ हो, मैले त्यो प्रयोग गर्न मिल्दैन। तिमीहरूले जे गरे पनि, सामान किन्नेबारे सोचेर समय खेर नफाल वा व्यर्थमा पैसा खर्च नगर। सबै असल कुरा परमेश्‍वरलाई दिनुपर्छ भन्‍ने नसोच्—मलाई ती चाहिन्छ कि चाहिँदैन भन्‍ने तँलाई थाहासमेत छ त? यदि मलाई ती आवश्यकता छैन भने, के तैँले ती व्यर्थमा किनेको हुँदैनस् र? यदि तँ साँच्‍चै मेरो लागि केही किन्न चाहन्छस् भने, म तँलाई भन्छु—मेरो लागि केही नकिन्। यदि तँ यो सबैसँग बाँड्नका लागि मलाई किनेर दिएको हो भनेर भन्छस् भने, ठिक छ, म यो बाँडिदिनेछु। म त्यस्ता कुराहरूलाई कसरी लिन्छु, अनि हैसियत र पदले ल्याउने भौतिक सम्पत्तिहरूलाई कसरी लिन्छु भन्‍ने हकमा भन्दा, मेरो मनोवृत्ति यही हो। के ख्रीष्टविरोधीहरूले पनि यी कुराहरूलाई यसरी नै लिन्छन्? (अहँ, लिँदैनन्।) पहिलो, तिनीहरू अवश्य नै कुनै कुरा इन्कार गर्दैनन्—जति बढी, त्यति नै राम्रो। तिनीहरूलाई जसले उपहार पठाए पनि वा ती जे भए पनि, तिनीहरू ती उपहारहरू स्वीकार गर्छन्। दोस्रो, निस्सन्देह तिनीहरू मानिसहरूबाट निश्‍चित कुराहरू जबरजस्ती धुत्छन्, र अन्त्यमा, तिनीहरू केही कुरा आफ्ना लागि लिन्छन्। तिनीहरू यही कुरा खोजी गर्छन् र चाहन्छन्; तिनीहरूले पछ्याउने हैसियतले तिनीहरूलाई यही कुरा दिन्छ।

ख्रीष्टविरोधीहरूको दुष्ट सारका हकमा भन्दा, पछिल्लोपटक र आज हामीले गरेको सङ्गतिका आधारमा, के तिमीहरू यो दुष्ट सारलाई उदाङ्गो पार्ने सारांश एक-वाक्यमा निकाल्न सक्छौ? ख्रीष्टविरोधीहरूमा हुने दुष्टताको सबैभन्दा ठूलो विशेषता यो हो: तिनीहरू सबै सकारात्मक कुरा, सबै न्यायसङ्गत कुरा र सत्यताअनुरूपका सबै कुरा, अनि मानवजातिमाझ सुन्दर मानिने सबै कुरालाई निन्दा गर्छन्। तिनीहरू यी कुरालाई घृणा गर्छन् र तीप्रति वितृष्णा राख्छन्। यसको विपरीत, विवेक र समझ अनि इन्साफको बोध भएका मानिसहरूले निन्दा गर्ने र तुच्छ ठान्ने सबै नकारात्मक कुरामा नै ख्रीष्टविरोधीहरू आनन्द लिन्छन्। तिनीहरूले पछ्याउने र कदर गर्ने कुराहरू यिनै हुन्। यसलाई सारांशमा बताउन सक्‍ने अर्को वाक्य पनि छ: ख्रीष्टविरोधीहरू परमेश्‍वरबाट आउने सबै सकारात्मक कुरालाई घृणा गर्छन् र परमेश्‍वरले प्रेम गर्ने कुरालाई घृणा गर्छन्, बरु परमेश्‍वरले घृणा र निन्दा गर्ने कुराहरूलाई चाहिँ प्रेम गर्छन्। ख्रीष्टविरोधीहरूको दुष्टता यही हो। यो दुष्टताको मुख्य विशेषता के हो? तिनीहरूलाई कुरूप र नकारात्मक सबै कुराप्रति विशेष लगाव हुन्छ, जबकि तिनीहरू सुन्दर, सकारात्मक, र सत्यताअनुरूपका सबै कुरालाई घृणा गर्छन् र तीप्रति शत्रुता देखाउँछन्। दुष्टता भनेको त्यही हो। बुझिस्, बुझिनस् त? आजको सङ्गतिमा “ख्रीष्टविरोधीहरू केलाई प्रेम गर्छन्” भन्‍ने विषय समावेश थियो। हामीले केही उदाहरण पनि दिएका थियौँ, जसमध्ये केही अरूभन्दा बढी आम किसिमका थिए, तर ती सबैलाई ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृतिको सारलाई व्याख्या गर्न प्रमाणका रूपमा प्रयोग गर्न सकिन्छ। त्यसपछि, तिमीहरूले के गर्नुपर्छ भने आफूले देख्ने र बुझ्ने दुष्ट वा सकारात्मक कुराहरू, ख्रीष्टविरोधीहरूले प्रेम गर्ने नकारात्मक कुराहरू, ख्रीष्टविरोधीहरूले घृणा गर्ने सकारात्मक कुराहरू, र आफूले बुझ्न सक्ने कुरा, साथै आफूले देख्ने र अनुभव गर्ने कुराहरू कुन-कुन हुन् भनी मनन र सङ्गति गर्नुपर्छ। ख्रीष्टविरोधीहरू र साधारण भ्रष्ट मानिसहरूको स्वभाव र सारमा निश्‍चित समस्याहरू उस्तै हुन्छन्, र यी समानताहरूको गम्भीरता फरक हुन सक्‍ने भए पनि, तिनीहरूको स्वभावको सार उस्तै हुन्छ। तिनीहरूले हिँड्ने मार्ग र तिनीहरूले पछ्याउने उद्देश्यहरू पनि फरक-फरक हुन सक्छन्, तर तिनीहरू एउटै भ्रष्ट स्वभावका धेरै सारहरू प्रकट गर्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूको सारका विभिन्‍न पक्षलाई खुलासा गर्नु हरेक भ्रष्ट व्यक्तिका लागि उपयोगी हुन्छ। यदि परमेश्‍वरका चुनिएका मानिसहरूले ख्रीष्टविरोधीहरूको सार चिन्‍न सके भने, उनीहरू तिनीहरूका बहकाउमा पर्नेछैनन् र उनीहरूले तिनीहरूलाई आराधना गर्नेछैनन् वा पछ्याउनेछैनन् भनेर ग्यारेन्टी दिन सक्छन्।

अगष्ट ७, २०१९

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्