अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८) खण्ड चार

इ. अल्छे र आराममा लिप्त हुने झुटा अगुवाहरू

हामीले भर्खरै दुई प्रकारका झुटा अगुवाहरूबारे सङ्गति गऱ्यौँ। अर्को प्रकारको झुटो अगुवा हुन्छ, जसबारे हामीले “अगुवा र कामदारहरूका जिम्मेवारीहरू” भन्‍ने विषयबारे सङ्गति गर्दा बारम्बार कुरा गरेका छौँ। त्यस्ताहरूसँग केही क्षमता हुन्छ, तिनीहरू बुद्धिहीन हुँदैनन्, आफ्नो काममा तिनीहरूसँग तरिका र विधिहरू, साथै समस्याहरू समाधान गर्ने योजनाहरू हुन्छन्, र जब तिनीहरूलाई कुनै काम दिइन्छ, तिनीहरूले लगभग अपेक्षित मानकहरूअनुसार नै त्यसलाई कार्यान्वयन गर्न सक्छन्। तिनीहरूले काममा उत्पन्‍न हुने कुनै पनि समस्या पत्ता लगाउन सक्छन् र तीमध्ये केहीलाई समाधान गर्न पनि सक्छन्; जब तिनीहरूले केही मानिसहरूले रिपोर्ट गरेका समस्याहरू सुन्छन्, वा केही मानिसहरूका व्यवहार, प्रकटीकरण, बोली र कार्यहरू अवलोकन गर्छन्, तब तिनीहरूले हृदयमा प्रतिक्रिया जनाउँछन्, र तिनीहरूको आफ्नै राय र मनोवृत्ति हुन्छ। अवश्य नै, यदि यी मानिसहरूले सत्यता पछ्याउँछन् र तिनीहरूमा बोझको बोध हुन्छ भने, यी सबै समस्याहरू समाधान गर्न सकिन्छ। तर, हामीले आज सङ्गति गरिरहेका प्रकारको व्यक्तिको जिम्मेवारीमा पर्ने काममा समस्याहरू अप्रत्याशित रूपमा सुल्झिँदैनन्। त्यस्तो किन हुन्छ? किनभने यी मानिसहरू वास्तविक काम गर्दैनन्। तिनीहरू सहजता मन पराउँछन् र कडा परिश्रमलाई घृणा गर्छन्, तिनीहरू केवल सतही रूपमा झाराटारूवा मेहनत लगाइरहेका हुन्छन्, तिनीहरूलाई निष्क्रिय हुन र हैसियतका लाभहरू उपभोग गर्न मन पर्छ, तिनीहरूलाई मानिसहरूमाथि हैकम चलाउन मन पर्छ, र तिनीहरू अलिअलि मुख चलाएर केही सुझाव मात्रै दिन्छन् र आफ्नो काम सकियो भन्ठान्छन्। तिनीहरू मण्डलीको कुनै पनि वास्तविक काम वा परमेश्‍वरले तिनीहरूलाई सुम्पने महत्त्वपूर्ण कामलाई हृदयमा लिँदैनन्—तिनीहरूसँग यो बोझको बोध हुँदैन, र परमेश्‍वरको घरले यी कुराहरूमा बारम्बार जोड दिए पनि, तिनीहरूले अझै पनि तिनलाई हृदयमा लिँदैनन्। उदाहरणका लागि, तिनीहरू परमेश्‍वरको घरको चलचित्र निर्माणको काम वा लेखन-पठनको काममा हस्तक्षेप गर्न वा त्यसबारे सोधपुछ गर्न चाहँदैनन्, न त यस प्रकारका कामहरू कसरी अघि बढिरहेका छन् र तिनले कस्ता नतिजाहरू हासिल गरिरहेका छन् भनेर जाँचपड्ताल गर्ने इच्छा नै गर्छन्। तिनीहरू केही अप्रत्यक्ष सोधपुछ मात्र गर्छन्, र मानिसहरू यस काममा व्यस्त छन् र उनीहरूले यो काम गरिरहेका छन् भन्‍ने थाहा पाएपछि, तिनीहरू त्यसबारे थप सरोकार नै राख्दैनन्। तिनीहरूलाई त्यस काममा समस्याहरू छन् भन्‍ने राम्ररी थाहा हुँदा पनि, तिनीहरू अझै तिनमा सङ्गति गर्न र तिनलाई समाधान गर्न चाहँदैनन्, न त मानिसहरूले कसरी आफ्ना कर्तव्यहरू निर्वाह गरिरहेका छन् भनेर सोधपुछ वा जाँचपड्ताल नै गर्छन्। तिनीहरू यी कुराहरूबारे किन सोधपुछ वा जाँचपड्ताल गर्दैनन्? तिनीहरू के सोच्छन् भने, यदि तिनीहरूले यी कुराहरूको जाँचपड्ताल गरे भने, तिनीहरूले समाधान गर्नुपर्ने धेरै समस्या हुनेछन्, र त्यो अति चिन्ताजनक हुनेछ। यदि तिनीहरूले जहिले पनि समस्याहरू समाधान गरिरहनुपर्‍यो भने, जीवन अत्यन्तै थकाइलाग्दो हुनेछ! यदि तिनीहरूले धेरै चिन्ता लिए भने, तिनीहरूलाई खाना मिठो लाग्न छोड्नेछ, र तिनीहरू राम्ररी निदाउन सक्नेछैनन्, तिनीहरूको देहलाई थकित महसुस हुनेछ, र त्यसपछि जीवन दुःखी हुनेछ। त्यसकारण, तिनीहरूले कुनै समस्या देख्दा सकेसम्म त्यसलाई पन्छाउँछन् र बेवास्ता गर्छन्। यस प्रकारको व्यक्तिको समस्या के हो? (ऊ अत्यन्तै अल्छे हुन्छ।) ल भन्, कसको समस्या गम्भीर हुन्छ: अल्छी मानिसहरूको कि कमजोर क्षमता भएका मानिसहरूको? (अल्छी मानिसहरूको।) किन अल्छी मानिसहरूको समस्या गम्भीर हुन्छ? (कमजोर क्षमता भएका मानिसहरू अगुवा वा कामदार बन्‍न सक्दैनन्, तर आफ्नो क्षमताभित्रको कर्तव्य निर्वाह गर्दा तिनीहरू अलिक प्रभावकारी हुन सक्छन्। तर, अल्छी मानिसहरूले केही पनि गर्न सक्दैनन्; तिनीहरूसँग क्षमता नै भए पनि, त्यसको कुनै प्रभाव हुँदैन।) अल्छी मानिसहरू केही पनि गर्न सक्दैनन्। दुई शब्दमा सारांश निकाल्नुपर्दा, तिनीहरू निकम्मा मानिस हुन्; तिनीहरूमा दोस्रो दर्जाको असक्षमता हुन्छ। अल्छी मानिसहरूको क्षमता जति नै राम्रो भए पनि, यो देखावटी कुरा मात्रै हुन्छ; तिनीहरूसँग राम्रो क्षमता भए पनि, त्यसको कुनै काम हुँदैन। तिनीहरू अत्यन्तै अल्छी हुन्छन्—तिनीहरूलाई आफूले के गर्नुपर्छ भनेर थाहा भए पनि, तिनीहरू त्यो गर्दैनन्; र तिनीहरूलाई कुनै कुरा समस्या हो भनेर थाहा भए पनि, तिनीहरू यसलाई समाधान गर्न सत्यताको खोजी गर्दैनन्; र काम प्रभावकारी हुनका लागि तिनीहरूले के-कस्ता कठिनाइहरू भोग्नुपर्छ भनेर तिनीहरूलाई थाहा भए पनि, तिनीहरू यी सार्थक कठिनाइहरू सहन इच्छुक हुँदैनन्—त्यसैले तिनीहरू कुनै सत्यता प्राप्त गर्न सक्दैनन्, र कुनै वास्तविक काम गर्न सक्दैनन्। तिनीहरू मानिसहरूले सहनुपर्ने कठिनाइ सहन चाहँदैनन्; तिनीहरूलाई सुखसयलमा लिप्त हुन, हर्ष र फुर्सतको समयको आनन्द उठाउन, अनि स्वतन्त्र र तनावरहित जीवनको आनन्द उठाउन मात्रै आउँछ। के तिनीहरू बेकामका हुँदैनन् र? कठिनाइ सहन नसक्ने मानिसहरू जिउन लायक हुँदैनन्। सधैँ परजीवीको जीवन जिउन चाहनेहरू विवेक वा समझ नभएका मानिस हुन्; तिनीहरू पशु हुन् र त्यस्ता मानिसहरू श्रम गर्नसमेत योग्य हुँदैनन्। तिनीहरूले कठिनाइ सहन नसक्ने हुँदा, तिनीहरूले श्रम गरे पनि, त्यो राम्ररी गर्न सक्दैनन्, र यदि तिनीहरू सत्यता प्राप्त गर्न चाहन्छन् भने, त्यसको आशा झनै कम हुन्छ। कष्ट भोग्न नसक्ने र सत्यतालाई प्रेम नगर्ने व्यक्ति रद्दी व्यक्ति हो; ऊ श्रम गर्नसमेत योग्य हुँदैन। ऊ अलिकति पनि मानवता नभएको पशु हो। त्यस्ता मानिसहरूलाई हटाउनैपर्छ; यो मात्र परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन्छ।

कतिपय मानिस खेतीपातीका लागि जिम्मेवार हुन्छन् र तिनीहरू निकै लगनशील हुन्छन्; तिनीहरूले मनमा योजना बनाएका हुन्छन्, र तिनीहरूलाई हरेक मौसममा के काम गर्ने भन्‍ने थाहा हुन्छ। खेत जोत्ने समय आउँदा, तिनीहरू हरेक खेतमा गएर हेर्छन्। तिनीहरू आफूले हरेक खेतमा जे रोप्ने योजना बनाएका छन्, त्यसलाई खेतको वास्तविक स्थितिसँग तुलना गर्छन्, र आफ्नो योजना उपयुक्त छ कि छैन र त्यो वास्तविक परिस्थितिअनुरूप हुन्छ कि हुँदैन भनेर हेर्छन्। त्यसबाहेक, तिनीहरू यो वर्ष माटो कति ओसिलो वा सुख्खा छ, कस्तो मल चाहिन्छ, र के रोप्दा उचित हुन्छ भनेर हेर्छन्। तिनीहरूले यी कुराहरू हेरेर बुझिसकेपछि बिउ उमारिएका छन् कि छैनन्, र कति उमारिएका छन् भनेर तुरुन्तै सोध्छन्, त्यसपछि तिनीहरू हरितगृहमा गएर निरीक्षण गर्छन् र बिउ उमार्ने व्यक्ति भरपर्दो छ कि छैन वा उसले बिउ बिगार्नेछ कि बिगार्नेछैन भनेर हेर्छन्। यदि यो काम गर्न एउटा व्यक्ति पर्याप्त हुँदैन भने, तिनीहरूले अर्को व्यक्तिलाई ऊसँगै सहकार्य गर्न खटाउँछन्, र दुवैले एकअर्काको सुपरिवेक्षण गर्छन्। के अल्छे मानिसहरूले यसो गर्छन्? अहँ, गर्दैनन्। यदि तिनीहरूलाई कसैले सुपरिवेक्षण गर्दैन र प्रोत्साहन दिँदैन भने, तिनीहरू आफैले कदापि स्थलगत भ्रमण गर्दैनन्; यदि परमेश्‍वरको घरले कुनै कामको प्रगतिबारे सोध्दैन भने, तिनीहरूले त्यस कामको वास्तविक अवस्था निरीक्षण गर्ने पहल बिलकुलै गर्दैनन्। कमजोर क्षमता भएका मानिसहरूले चाहे जे गरिरहेका भए पनि, त्यो सधैँ आफै गर्छन्, तर तिनीहरू के जरुरी र महत्त्वपूर्ण छ र के छैन भनेर छुट्टयाउन असक्षम हुन्छन्, र तिनीहरू केवल अन्धाधुन्ध रूपमा कार्य गर्छन्। यी अल्छे मानिसहरू पर्याप्त रूपमा चलाख हुन्छन्, तर तिनीहरूले जे गरिरहेका भए पनि, तिनीहरू केवल मुख चलाउन र अरूलाई काम गर्ने हुकुम दिन मन पराउँछन्; तिनीहरू आफै कहिल्यै केही गर्दैनन्, न त वास्तविक काम नै गर्न सक्छन्। तिनीहरू यसो सोच्छन्, “मैले केही प्रश्नहरू सोध्न केवल एक कल गरे वा एउटा मेसेज पठाए पुग्छ, अनि मेरो काम सकिन्छ, समस्या समाधान हुन्छ। यसले मलाई ठूलो कष्टबाट जोगाउँछ! अगुवाका रूपमा मेरो क्षमता कस्तो छ हेर्। म केही शब्दले नै काम सकाउन सक्छु—के यो पनि मैले आफ्ना जिम्मेवारीहरू पूरा गरिरहेको होइन र? म आफ्ना जिम्मेवारीबाट च्युत भइरहेको छैनँ। यदि माथिले मलाई यी कामकुराबारे सोधेमा, म तिनलाई फटाफट जबाफ दिन र स्पष्ट रूपमा व्याख्या गर्न सक्छु। कार्यस्थलमा गएर हेर्नुको के अर्थ? मैले कठिनाइ र कष्टहरू सहनुपर्ने हुन्थ्यो, र घाममा बसेर मेरो छाला कालो हुनेथियो। त्यो औपचारिकता पूरा गर्न आवश्यक छैन। यदि म आफूलाई केही झन्झटबाट मुक्त गर्न सक्छु भने म त्यही गर्नेछु। आफूलाई यस्तो कठिनाइमा पार्नुपर्ने कुनै आवश्यकता छैन।” के तिनीहरू पर्याप्त रूपमा “अक्कली” छैनन् र? यस्तो प्रकारको व्यक्तिले काम गर्दा, ऊ आफ्ना उद्देश्यहरू हासिल गर्न किफायती तरिका अपनाउनमा र छोटो बाटो खोज्नमा निकै सिपालु हुन्छ, र उसका आफ्ना तरिका र विधिहरू हुन्छन्। ऊ आफै केही पनि गर्दैन, न त कुनै कुरामा सहभागी नै हुन्छ। ऊ केवल प्रश्नहरू सोध्न फोन मात्र गर्छ, आलटाल गर्छ, र फोन राख्नेबित्तिकै सुत्न जान्छ वा मसाज लिन्छ र देहमा लिप्त हुन थाल्छ। यस्तो प्रकारको व्यक्तिलाई “काम कसरी गर्ने” भनेर साँच्चै थाहा हुन्छ, निष्क्रिय हुने मौकाहरू कसरी भेट्टाउने भनेर साँच्चै थाहा हुन्छ, र कसरी आलटाल गर्ने र मानिसहरूलाई उल्ल्याउने भनेर साँच्चै थाहा हुन्छ! तिनीहरूसँग त्यति क्षमता भएको के काम? तिनीहरू कम्युनिस्ट पार्टीको राष्ट्रका ती अधिकारीहरूसरह हुन्, जो काममा पुगेपछि चिया पिउने र पत्रिका पढ्ने मात्र गर्छन्, अनि त्यस दिनको काम सकिनुअघि नै के खाने र रमाइलो गर्न कहाँ जाने भनेर सोच्न थाल्छन्—तिनीहरूको जीवन साँच्चिकै राम्रो हुन्छ। यस प्रकारको झुटो अगुवाले आफ्नो काममा पालना गर्ने सिद्धान्त पनि यही हो; उसले कुनै कठिनाइ भोग्दैन, कुनै थकावट सहँदैन, तैपनि अधिकारीझैँ व्यवहार गर्छ र हैसियतका लाभहरू लिन्छ, र धेरैजसो दाजुभाइ-दिदीबहिनीले यो समस्या हो भनेर देख्न सक्दैनन्। यस प्रकारको झुटो अगुवाले यसरी नै काम गर्छ, उसले कुनै वास्तविक काम गर्दैन, र कामको अनुगमन र निरीक्षण गर्न कार्यस्थलमा जाँदैन, त्यसोभए के उसले कामका समस्याहरू पत्ता लगाउन सक्छ त? (सक्दैन।) छद्म-आत्मिक झुटा अगुवाहरू र कमजोर क्षमता भएका झुटा अगुवाहरूको आँखा खुल्लै भए पनि तिनीहरू अन्धा हुन्छन्, र तिनीहरूले समस्याहरू देख्न सक्दैनन्, त्यसोभए यस्तो प्रकारको निकम्मा व्यक्तिको अवस्था झन् के होला? ऊ यसो भन्छ, “म वास्तविक काममा सहभागी हुँदिन, र कार्यस्थलमा काम गरिरहेका मानिसहरूसँग जोडिन त्यहाँ जाँदिन, त्यसैले यदि समस्याहरू उत्पन्‍न भएमा मेरो आँखा खुल्लै भए पनि म अन्धो छु भनेर भन्‍न मिल्दैन। म कार्यस्थल गएकै छैन र मैले समस्याहरू देखेकै छैन, त्यसैले समस्याहरू उत्पन्‍न भएमा त्यसको मसँग के सरोकार हुन्छ र? तिमीले गएर त्यसमा संलग्न मानिसहरू खोज्नुपर्छ।” के यी मानिसहरू साँच्चै चतुर छैनन् त? तिनीहरू आफूले आदेश दिने र उचित रूपमा मानिसहरूको बन्दोबस्त गर्ने काम मात्र गरे पुग्छ, त्यसपछि आफ्नो जिम्मेवारी पूरा भएको हुन्छ र आफूले निर्लज्ज रूपमा फुर्सद र मनोरञ्जनको समयको आनन्द लिन सक्छन् भन्‍ने सोच्छन्। तल जे समस्याहरू भए पनि, तिनीहरू कुनै सोधपुछ गर्दैनन्, र कसैले माथिलाई समस्याबारे रिपोर्ट गर्‍यो भने त्यसलाई सम्हाल्न मात्र हतार गर्छन्। तिनीहरू हरदिन हैसियतका लाभहरूको आनन्द उठाउन, चारैतिर मस्तसँग चहार्न, कामको निरीक्षण गरेको ढोँग गर्नमा मात्र केन्द्रित हुन्छन्, तर साँच्चै समस्या भएको कुनै ठाउँमा वास्तवमा कहिल्यै जाँदैनन्, र महत्त्वपूर्ण कामको कहिल्यै निरीक्षण गर्दैनन्—के यो ठ्याक्कै कम्युनिस्ट पार्टीका अधिकारीहरूले सतही प्रयास लगाको र आफूलाई असल देखाउने काम मात्र निर्वाह गरेको जस्तै होइन र? तिनीहरू आफूलाई दिइएको काम पूरा गर्ने मिठा कसम खान्छन्, तर त्यसको अनुगमन वा सुपरिवेक्षण गर्दैनन्, र कार्यस्थलमा गए पनि औपचारिकताहरू मात्र पूरा गर्छन्। तिनीहरू कदापि आफै काम गर्दैनन् वा आफै समस्याहरू समाधान गर्दैनन्। तिनीहरू सोच्छन्, “मैले यी कामकुरा गर्न कष्ट भोग्नु वा मूल्य चुकाउनु आवश्यक नै छैन। कसैले ती काम गर्नु नै पर्याप्त हुन्छ। मैले यसै पनि पैसा कमाउने होइन, त्यसैले जसोतसो गर्जो टारे भइहाल्छ नि।” के यस्तो मानसिकता हुँदा तिनीहरूले आफ्नो काम राम्ररी गर्न सक्छन् त? तिनीहरू यस्तो सोच्दै मनमा सानो चाल बुन्छन्, “म जति खान पाउँछु, त्यति मात्रै काम गर्नेछु, र हरदिन झाराटारुवा तरिकाले कटाउनेछु।” तैपनि तिनीहरू कहिल्यै विशेष काम गर्दैनन्, र कहिल्यै कार्यस्थलमा देखिँदैनन्। त्यसोभए, तिनीहरू कहाँ हुन्छन् त? तिनीहरू खान, पिउन, र राम्ररी निदाउन पाउने सुन्दर र सुरक्षित स्थानमा रमाइरहेका हुन्छन्, तिनीहरू राजकुमारझैँ जिइरहेका हुन्छन्—नियमित रूपमा नुहाइरहेका, नियमित रूपमा मसाज लिइरहेका, र नियमित रूपमा पहिरन फेरिरहेका हुन्छन्—र तिनीहरू कुनै कष्ट बिलकुलै सहिरहेका हुँदैनन्। तिनीहरू आफूले के-कस्ता वास्तविक काम गर्न सक्छु, के-कस्ता वास्तविक समस्याहरू समाधान गर्न सक्छु, परमेश्‍वरको घरको काममा के योगदान दिएको छु, र आफू यी सबै राम्रा कुराहरूको आनन्द उठाउन कति योग्य छु भनेर कहिल्यै चिन्तन गर्दैनन्—तिनीहरू यीमध्ये कुनै कुराबारे कहिल्यै ख्याल गर्दैनन्। तिनीहरू कस्ता मानिस हुन्? यी बदमासहरूमा कुनै आत्म-सचेतना हुँदैन, तिनीहरू निर्लज्ज मानिस हुन्, र तिनीहरू मण्डली अगुवा र कामदार हुन लायक हुँदैनन्।

सबै झूटा अगुवाहरूले वास्तविक काम कहिल्यै गर्दैनन्। तिनीहरू आफ्नो अगुवाइको भूमिका कुनै आधिकारिक पद भएझैँ गर्छन्, आफ्नो हैसियतका फाइदाहरूमा पूर्ण रूपमा रमाउँछन्, र तिनीहरू आफूले अगुवाका रूपमा पूरा गर्नुपर्ने कर्तव्य र आफूले गर्नुपर्ने कामलाई घाँडोझैँ, झमेलाझैँ ठान्छन्। तिनीहरू आफ्ना हृदयमा मण्डलीको कामप्रति प्रतिरोधले भरिएका हुन्छन्: तिनीहरूलाई कामको निरीक्षण गर्न र अनुगमन गरेर समाधान गर्न त्यसभित्रका के-कस्ता समस्याहरू छन् भनी जान्‍न लगाइयो भने, तिनीहरू पटक्कै मान्दैनन्। यो अगुवाहरू र कामदारहरूले गर्नुपर्ने काम हो, यो तिनीहरूको जिम्मेवारी हो। यदि तैँले यो काम गर्दैनस् भने र यदि तँ यो काम गर्न अनिच्छुक छस् भने, तँ किन अझै पनि अगुवा वा कामदार बन्‍ने इच्छा गर्छस्? के तँ परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्नका लागि आफ्नो कर्तव्य पूरा गर्छस् कि एउटा अधिकारी बनेर हैसियतका फाइदाहरूमा रमाउनका लागि? यदि तँ कुनै आधिकारिक पद पाउन मात्र अगुवा बनिस् भने, के यो अलि लाजमर्दो कुरा होइन र? यस्ता मानिसहरूको चरित्र सबैभन्दा नीच हुन्छ, तिनीहरूमा कुनै मर्यादा, र लाज हुँदैन। यदि तँ देहसुखमा रमाउन चाहन्छस् भने, तँ तुरुन्तै संसारमा फर्कनुपर्छ, र होड गरेर बलजफती आफूले जति सक्छस् त्यति खोसेर लिनुपर्छ र त्यसमा कसैले दखल दिने छैन। परमेश्‍वरको घर परमेश्‍वरका चुनिएका मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने र उहाँको आराधना गर्ने ठाउँ हो; यो मानिसहरूले सत्यता पछ्याउने र मुक्ति प्राप्त गर्ने ठाउँ हो। यो कोही व्यक्ति देहसुखमा लिप्त हुने ठाउँ होइन, झन् मानिसहरूलाई राजकुमारझैँ जिउन दिने ठाउँ हुनु त परको कुरा हो। झूटा अगुवाहरूलाई कुनै लाज हुँदैन, तिनीहरू बेसरम हुन्छन्, र तिनीहरूमा समझ हुँदैन। तिनीहरूलाई जुनै निश्चित काम दिइए पनि, तिनीहरू त्यसलाई गम्भीर रूपमा लिँदैनन्, र त्यसलाई बेवास्ता गर्छन्; तिनीहरूले एकदमै मिठो बोलीले जवाफ दिए पनि, कुनै वास्तविक काम गर्दैनन्। के यो अनैतिक कुरा होइन र? तिनीहरूले वास्तविक काम नगर्ने मात्र होइन, तिनीहरू एकल शक्ति हातमा लिन पनि चाहन्छन्—वित्त, कर्मचारी, र अन्य सम्पूर्ण मामलाहरूमाथिको शक्ति आफ्नै हातमा लिन, र हरदिन मानिसहरूलाई रिपोर्ट दिन लगाउन चाहन्छन्। यी कुरामा तिनीहरू वास्तवमा अत्यन्तै लगनशील हुन्छन्। जब तिनीहरूले कामबारे माथिलाई रिपोर्ट गर्ने समय आउँछ, तब तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूले गरेका कामका सारा नतिजाहरूको श्रेय आफैलाई दिन्छन्, ताकि तिनीहरूले निकै राम्रो काम गरेका छन् भनी माथिले गलत रूपमा विश्‍वास गरून्, जबकि खासमा यो सबै अरूले गरेका हुन्छन्। सुसमाचार प्रचारमार्फत कति जना मानिसहरू प्राप्त भएका छन्, कुन मानिसहरूलाई बढुवा गरिएको छ र संवर्धन गरिँदै छन्, कुन मानिसहरू आफ्ना पदबाट बरखास्त गरिएका छन्, कुन मानिसहरू निकालिएका छन्, आदि—यीमध्ये कुनै पनि विशिष्ट कार्यहरू तिनीहरूद्वारा गरिएको हुँदैन, तैपनि तिनीहरूले तिनको रिपोर्ट गर्ने साहस गर्छन्। के यी मानिसहरू बेसरम होइनन् र? के तिनीहरूले छल गरिरहेका छैनन् र? यस्ता मानिसहरू अत्यन्तै छली र धूर्त हुन्छन्! तिनीहरू आफूलाई अक्कली ठान्छन्—यो त वास्तवमै आफूले खनेको खाल्डोमा आफै पर्नु हो, र अन्त्यमा तिनीहरू आफ्नै कारणले प्रकाश हुन्छन् र हटाइन्छन्। कतिपय मानिसहरूले जुन काम गरे पनि वा जुन कर्तव्य निर्वाह गरे पनि, तिनीहरू त्यसमा अक्षम हुन्छन्, तिनीहरूले यसको जिम्मेवारी थेग्नै सक्दैनन्, र तिनीहरू कुनै व्यक्तिले पूरा गर्नुपर्ने कुनै पनि दायित्व वा जिम्‍मेवारीहरू पूरा गर्न सक्दैनन्। के तिनीहरू रद्दी होइनन् र? के तिनीहरू अझै पनि मानव भनिन लायक हुन्छन् र? बुद्धु, मानसिक रूपले अक्षम, र शारीरिक कमजोरी भएकाहरूबाहेक, आफ्ना कर्तव्य र जिम्‍मेवारीहरू पूरा गर्नु नपर्ने जीवित मानिस कोही छ र? तर यस्तो व्यक्ति सधैँ छट्टु र सुस्ताइरहेको हुन्छ, र आफ्‍नो जिम्‍मेवारी पूरा गर्न चाहँदैन; यसको आशय के हो भने, तिनीहरू उचित मानव हुने इच्छा गर्दैनन्। परमेश्‍वरले तिनीहरूलाई मानव बन्‍ने मौका दिनुभयो, र उहाँले तिनीहरूलाई क्षमता र वरदान दिनुभयो, तैपनि तिनीहरूले यी कुरालाई आफ्‍नो कर्तव्य पूरा गर्नमा प्रयोग गर्न सक्दैनन्। तिनीहरूले केही गर्दैनन्, हरेक मोडमा आनन्द लिन मात्र चाहन्छन्। के त्यस्तो व्यक्ति मानव भनिन लायक हुन्छ? तिनीहरूलाई जुनसुकै काम दिइएको भए पनि, चाहे त्यो काम महत्त्वपूर्ण वा साधारण होस्, अथवा कठिन वा सरल होस्, तिनीहरू सधैँ झाराटारुवा र छट्टु अनि सुस्त हुन्छन्। समस्याहरू पैदा हुँदा, तिनीहरू आफ्‍नो जिम्‍मेवारी अरू मानिसहरूको काँधमा थोपर्न चाहन्छन्, कुनै जिम्‍मेवारी वहन गर्दैनन्, अनि आफ्ना परजीवी जीवन जिइरहन चाहन्छन्। के तिनीहरू बेकारका रद्दी होइनन् र? समाजमा, जीविकोपार्जनका लागि कसले पो आफ्‍नै भर पर्नु पर्दैन र? व्यक्ति वयस्क भएपछि, उसले आफ्‍नो ज्यान आफै पाल्‍नुपर्छ। तिनीहरूका आमाबुबाले आफ्‍नो जिम्‍मेवारी पूरा गरिसकेका हुन्छन्। तिनीहरूका आमाबुबाले तिनीहरूलाई सहयोग गर्ने इच्छा गरे पनि, तिनीहरूलाई त्यो कुरामा अप्ठ्यारो लाग्‍नुपर्छ। तिनीहरूले आफ्ना आमाबुबाले आफूलाई हुर्काउने आफ्‍नो मिसन पूरा गरेका छन् आफू सक्षम वयस्क हुँ, र आफू आत्मनिर्भर भई बाँच्‍न सक्‍नुपर्छ भन्‍ने कुरा बुझ्न सक्‍नुपर्छ। के वयस्कमा कम्तीमा पनि यतिको समझ हुनुपर्दैन र? यदि कसैमा साँच्चै समझ छ भने, उसले आफ्‍ना आमाबुबासँग हात पसारिरहनु नपर्ने हो; उसलाई अरू हाँस्लान्, र आफ्नो इज्जत जाला भन्‍ने डर हुनेछ। त्यसोभए, सहजतालाई मन पराउने र कामलाई घृणा गर्ने मानिसहरूमा समझ हुन्छ? (हुँदैन।) तिनीहरू सधैँ सित्तैमा केही पाउन चाहन्छन्; तिनीहरू कहिल्यै कुनै जिम्‍मेवारी पूरा गर्न चाहँदैनन्, आकासबाट मिठाइ झरेर तिनीहरूको मुखमा परोस् भन्‍ने कामना गर्छन्; तिनीहरू कामै नगरी दिनमा तीन पटक खान चाहन्छन्, बस कसैले भात पस्केर देओस् भन्‍ने चाहना गर्छन्, र मिठो-मिठो खान र पिउन चाहन्छन्। के यो परजीवीको मानसिकता होइन र? अनि परजीवी मानिसहरूमा विवेक र समझ हुन्छ त? के तिनीहरूमा सत्यनिष्ठा र मर्यादा हुन्छ त? कदापि हुँदैन। तिनीहरू केही न कामका भातमाराहरू, विवेक वा समझविनाका पशुहरू हुन्। तिनीहरूमध्ये कोही पनि परमेश्‍वरको घरमा रहन लायक हुँदैनन्।

मानिलिऊँ, मण्डलीले तेरो लागि एउटा कार्यको प्रबन्ध गर्छ, र तँ यसो भन्छस्, “यो कार्यले मलाई अरूको ध्यान आकर्षित गर्न दिए पनि वा नदिए पनि, यो कार्य मलाई दिइएको हुनाले, म यसलाई राम्ररी गर्नेछु र यो जिम्मेवारी वहन गर्नेछु। यदि मलाई अतिथिसत्कारको कार्य प्रबन्ध गरियो भने, म त्यो राम्ररी गर्न सकेजति सबै गर्नेछु; म दाजुभाइ-दिदीबहिनीहरूको राम्रो हेरचाह गर्नेछु र सबैको सुरक्षा सुनिश्चित गर्नका लागि सक्दो गर्नेछु। यदि मलाई सुसमाचार प्रचार गर्ने कामको प्रबन्ध गरियो भने, म सत्यताले आफूलाई सुसज्जित पारेर प्रेमका साथ सुसमाचार राम्ररी प्रचार गर्दै आफ्नो कर्तव्य पूरा गर्नेछु। यदि मलाई विदेशी भाषा सिक्ने कामको प्रबन्ध गरियो भने, म पूरै हृदय लगाएर त्यो अध्ययन गर्नेछु र मेहनत गर्नेछु, र जतिसक्दो चाँडो, एकदुई वर्षभित्रै यसमा निपुण हुन खोज्नेछु, ताकि मैले विदेशीहरूलाई परमेश्‍वरको गवाही दिन सकूँ। यदि मलाई गवाही लेखहरू लेख्न लगाइयो भने, म यसो गर्न निष्ठापूर्वक आफूलाई प्रशिक्षित गर्नेछु, कामकुराहरूलाई सत्यता सिद्धान्तअनुसार हेर्नेछु, र म भाषाबारे सिक्नेछु। मैले सुन्दर गद्य शैलीमा लेख लेख्न नसके पनि कम्तीमा प्रस्ट रूपमा आफ्नो अनुभवात्मक गवाही सुनाउन, सत्यताबारे विस्तृत रूपमा सङ्गति गर्न, र परमेश्‍वरका लागि साँचो गवाही दिन सक्षम हुनेछु, ताकि मानिसहरू मेरा लेखहरू पढेर सच्चिन र लाभ उठाउन सकून्। मण्डलीले मलाई जुन काम दिए पनि म आफ्‍नो सारा हृदय र शक्तिले त्यो गर्नेछु। यदि मैले कुनै कुरा बुझिनँ वा कुनै समस्या आइपर्‍यो भने, म परमेश्‍वरलाई प्रार्थना गर्नेछु, सत्यताको खोजी गर्नेछु, सत्यता सिद्धान्तहरूअनुसार समस्याहरूलाई हल गर्नेछु, र कार्य राम्ररी गर्नेछु। मेरो कर्तव्य जे भए पनि, म यसलाई राम्ररी पूरा गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न आफूसँग भएको सबै कुरा प्रयोग गर्नेछु। मैले जेसुकै हासिल गर्न सके पनि, म आफूले वहन गर्नुपर्ने जिम्‍मेवारी वहन गर्न सक्दो गर्नेछु, र कम्तीमा पनि, म आफ्‍नो विवेक र समझविरुद्ध जानेछैनँ, वा झारा टार्नेछैनँ, वा कपटी र अल्छे बन्‍नेछैनँ, वा अरूको मेहनतको फलमा लिप्त हुनेछैनँ। मैले गर्ने कुनै पनि काम विवेकको मानकभन्दा मुनि हुनेछैन।” यो त आत्म-आचरणको न्यूनतम मानक हो, र यसरी आफ्‍नो कर्तव्य पूरा गर्ने व्यक्ति विवेक र समझ भएको व्यक्ति कहलिन सक्छ। आफ्‍नो कर्तव्य पूरा गर्नमा तँमा कम्तीमा पनि स्पष्ट विवेक हुनैपर्छ, र कम्तीमा पनि आफ्नो तीन छाक खानाको लायक हुनुपर्छ र ती सित्तैँमा खानु हुँदैन। यसलाई जिम्‍मेवारीको बोध हुनु भनिन्छ। तेरो क्षमता बलियो भए पनि वा कमजोर भए पनि, र तैँले सत्यता बुझे पनि वा नबुझे पनि, जे भए पनि, तँमा यस्तो मनोवृत्ति हुनैपर्छ: “यो काम मलाई दिइएको हुनाले, मैले यसलाई गम्‍भीरतासाथ लिनैपर्छ; मैले यसलाई मेरो चासोको विषय बनाउनुपर्छ, र यसलाई राम्ररी पूरा गर्न आफ्‍नो सारा हृदय र शक्ति प्रयोग गर्नैपर्छ। मैले यसलाई पूर्ण रूपमा राम्ररी गर्न सक्छु कि सक्दिनँ भन्‍नेबारे ग्यारेन्टी दिन नसके पनि, मेरो मनोवृत्ति भनेको यसलाई आफूले सकेजति राम्ररी निर्वाह गर्ने हो, र म यसबारे अवश्य नै झाराटारुवा हुनेछैनँ। यदि काममा कुनै समस्या उत्पन्‍न भयो भने, मैले जिम्‍मेवारी लिनुपर्छ, र यसबाट पाठ सिकेको सुनिश्‍चित गरेर आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ।” यो सही मनोवृत्ति हो। के तिमीहरूमा यस्तो मनोवृत्ति छ? कतिपय मानिसहरू भन्छन्, “मलाई सुम्पिइएको काम मैले राम्ररी गर्नैपर्छ भन्‍ने छैन। म आफूले सकेको गर्नेछु र परिणाम जे-जस्तो हुनेछ, त्यही हुनेछ। मैले आफैलाई अति थकाउनु पर्दैन वा कुनै गल्ती गरेँ भनेर चिन्तामा डुबिरहनु पर्दैन, र धेरै तनाव पनि लिइरहनु पर्दैन। आफूलाई यति थकित पार्नुको के अर्थ छ र? आखिर, म सधैँ काम गरिरहेको हुन्छु र मैले सित्तैमा खाँदै हिँडेको छैन।” आफ्‍नो कर्तव्यप्रति यस्तो मनोवृत्ति राख्‍नु गैरजिम्‍मेवारी हो। “काम गर्न मन लाग्यो भने, केही काम गर्नेछु। म आफूले सकेको मात्र गर्नेछु र परिणाम जे-जस्तो हुनेछ, त्यही हुनेछ। त्यसलाई यति गम्‍भीर रूपमा लिनुपर्ने कुनै आवश्यकता छैन।” त्यस्ता मानिसहरूमा आफ्‍नो कर्तव्यप्रति जिम्‍मेवार मनोवृत्ति हुँदैन र तिनीहरूमा जिम्‍मेवारीबोधको कमी हुन्छ। तिमीहरू कस्ता व्यक्तिहरू हौ? यदि तिमीहरू पहिलो प्रकारका व्यक्तिहरू हौ भने, तिमीहरू समझ र मानवता भएका व्यक्तिहरू हौ। यदि तिमीहरू दोस्रो प्रकारका व्यक्तिहरू हौ भने, तिमीहरू मैले भर्खरै चिरफार गरेका झूटा अगुवाहरूभन्दा फरक छैनौ। तिमीहरू केही नगरी आफ्ना दिनहरू मात्रै कटाइरहेका छौ। “म थकान र कठिनाइबाट जोगिनेछु र बढी आनन्द लिनेछु। यदि कुनै दिन मलाई बर्खास्त नै गरियो भने पनि मैले सबै कुरा गुमाएको हुनेछैन। कम्तीमा पनि मैले केही दिनसम्‍म हैसियतका लाभहरू उपभोग गरेको हुनेछु, र मेरो लागि यो घाटा हुनेछैन। यदि मलाई अगुवा छनौट गरियो भने म त्यस्तै व्यवहार गर्नेछु।” यस्तो व्यक्तिको मानसिकताबारे तिमीहरू के सोच्छौ? त्यस्ता मानिसहरू अलिकति पनि सत्यता खोजी नगर्ने अविश्‍वासीहरू हुन्। यदि तँमा साँच्‍चै जिम्मेवारीको बोध छ भने, त्यसले तँमा विवेक र समझ छ भन्‍ने देखाउँछ। कुनै काम जति ठूलो वा सानो भए पनि, त्यो काममा तँलाई जसले खटाएको भए पनि, चाहे त्यो काम तँलाई परमेश्‍वरको घरले सुम्पेको भए पनि वा मण्डली अगुवा वा कामदारले सुम्पेको भए पनि, तेरो मनोवृत्ति यस्तो हुनुपर्छ: “यो कर्तव्यमा मलाई खटाइएकाले, यो परमेश्‍वरको उत्थान र अनुग्रह हो। मैले यसलाई सत्यताका सिद्धान्तअनुसार राम्रोसित पूरा गर्नुपर्छ। मेरो क्षमता औसत भए पनि, म यो जिम्‍मेवारी लिन र त्यसलाई राम्ररी पूरा गर्न आफ्नो सब थोक लगाउन इच्छुक छु। यदि मैले राम्ररी काम गरिनँ भने, मैले यसको जिम्‍मेवारी लिनुपर्छ, र राम्रो काम गरेँ भने, यसको श्रेय मेरो हुँदैन। मैले गर्नुपर्ने नै यही हो।” व्यक्तिले आफ्‍नो कर्तव्यलाई कसरी लिन्छ भन्‍ने कुरा सिद्धान्तसँग सम्‍बन्धित मामिला हो भनेर म किन भन्छु? यदि तँमा साँच्‍चै नै जिम्‍मेवारीको बोध छ र तँ जिम्‍मेवार व्यक्ति होस् भने, तैँले मण्डलीको काम वहन गर्न अनि आफूले पूरा गर्नुपर्ने कर्तव्य पूरा गर्न सक्‍नेछस्। यदि तँ आफ्‍नो कर्तव्यलाई हल्का रूपमा लिन्छस् भने, परमेश्‍वरमाथिको विश्‍वाससम्बन्धी तेरो दृष्टिकोण गलत छ, अनि परमेश्‍वर र कर्तव्यप्रतिको तेरो मनोवृत्ति समस्याग्रस्त छ। आफ्नो कर्तव्य पूरा गर्नेप्रति तेरो दृष्टिकोण त्यसलाई झाराटारुवा तरिकाले गर्नु र केवल आलटाल गर्नु हो, र चाहे तँ त्यो गर्न इच्छुक भए पनि वा नभए पनि, तँ त्यसमा राम्रो भए पनि वा नभए पनि, तँ त्यसलाई सधैँ आलटाल गर्ने मनोवृत्तिका साथ लिन्छस्, त्यसैले तँ अगुवा वा कामदार बन्‍न उपयुक्त छैनस् र मण्डलीको काम गर्न लायक छैनस्। अझ के भने, सिधै भन्‍नुपर्दा, तँजस्ता मानिसहरू नालायक हुन्, केही हासिल गर्न नसक्ने, र निकम्मा मानिस मात्र हुन्। कस्ता मानिसहरू निकम्मा हुन्छन्? अलमल्ल परेका मानिसहरू, जो केही नगरी दिन कटाउँछन्, तिनीहरू निकम्मा हुन्छन्। यस प्रकारका मानिसहरू आफूले गर्ने कुनै कुरामा पनि जिम्मेवार हुँदैनन्, न त त्यसलाई गम्भीरतापूर्वक नै लिन्छन्; तिनीहरूले सबै कुरा लथालिङ्ग पार्छन्। तैँले जसरी सत्यतामा सङ्गति गरे पनि, तिनीहरूले तेरो कुरा सुन्दैनन्। तिनीहरू सोच्छन्, “मैले चाहेँ भने म यसरी नै आलटाल गर्नेछु। जे मन लाग्छ त्यही भन! जे भए पनि, अहिले म आफ्नो कर्तव्य पूरा गर्दैछु र मैले पेट भर्न पाएकै छु, त्यति भए पुगिहाल्यो नि। कम्तीमा म भिखारी त हुनुपरेको छैन। यदि कुनै दिन खान पाइनँ भने, त्यसबारे त्यतिबेलै सोचौँला। स्वर्गले सधैँ मानिसका लागि एउटा बाटो खुला नै राखिदिनेछ। तपाईँ ममा विवेक वा समझ छैन, र म अलमल्ल परेको छु भनेर भन्‍नुहुन्छ—ल, त्यसोभए के भयो त? मैले कानुन तोडेको छैनँ। बढी भए, ममा चरित्रको अभाव होला, तर त्यो मेरो लागि कुनै खती होइन। पेट भर्न पाएँ भने भइहाल्यो।” तँ यो दृष्टिकोणबारे के सोच्छस्? म तँलाई भन्छु, केही नगरी दिन कटाउने यस्ता अन्योलमा परेका मानिसहरू सबैलाई हटाइने कुरा निर्धारित छ, र तिनीहरूले कसै गरी पनि मुक्ति पाउन सक्दैनन्। वर्षौँदेखि परमेश्‍वरमा विश्‍वास गरेका तर कुनै पनि सत्यता नस्विकारेका र अनुभवात्मक गवाही नभएका सबै मानिसहरूलाई हटाइनेछ। कोही पनि बच्नेछैनन्। रद्दी र नालायकहरू सबै सित्तैमा खानेहरू हुन् र तिनीहरूलाई हटाइने कुरा निर्धारित छ। यदि अगुवा र सेवकहरू सित्तैमा खानेहरू मात्र हुन् भने तिनीहरूलाई त झनै बर्खास्त गरेर हटाइनुपर्छ। यस्ता अन्योलमा परेका मानिसहरू अझै पनि अगुवा र सेवक बन्‍न चाहन्छन्; तिनीहरू अयोग्य छन्! तिनीहरू कुनै वास्तविक काम गर्दैनन्, तैपनि अगुवा हुन चाहन्छन्। तिनीहरूमा साँच्‍चै कुनै लाज छैन।

आफ्नो पदबाट बर्खास्त भएपछि कतिपय अगुवा र कामदारहरूले यसो भन्छन्, “अगुवा वा कामदार नहुनु त धेरै राम्रो कुरो हो। म त्यति चिन्तित हुनु वा मैले आफूलाई यति धेरै कष्ट दिनु पर्दैन। साधारण दाजुभाइ वा दिदीबहिनी हुनु त अद्भुत कुरा हो। मैले किन त्यो कष्ट उठाउनुपर्‍यो र? मसँग क्षमता भए पनि त्यो आफूलाई थकाउनका लागि होइन।” अरू कसैले तिनीहरूलाई यसो भन्छ, “अब अगुवा वा कामदार नरहेपछि तिमी के गर्छौ त?” उसले जबाफ दिन्छ, “मैले जे गरे पनि, यदि त्यो त्यति थकाइलाग्दो छैन र त्यसमा धेरै मेहनत लाग्दैन भने ठिकै हुन्छ—हिँडडुल गर्ने र वरपर हेर्ने, वा बसेर गफ गर्ने वा कम्प्युटर हेर्ने र धेरै घण्टा वा शारीरिक कष्ट गर्नु नपर्ने कुनै कुरा भए ठिकै हुनेथियो।” यो कस्तो प्रकारको कुरा हो? यदि तिमीहरूले आफूले छनोट गरेको अगुवा वा कामदार यस्तो खालको चिज हो भनेर पत्ता लगायौ भने, तिमीहरूलाई हृदयमा कस्तो महसुस हुनेछ? के तँलाई अत्यन्तै पछुतो हुनेछैन? (हुनेछ।) त्यसोभए, के तँसँग यसबारे कुनै विचार हुनेछ? तैँले यसो भन्‍नेछस्, “सुरुमा, मैले तिमीसँग अलिक क्षमता छ भन्‍ने देखेँ र म तिम्रो प्रवर्द्धन र संवर्धन गर्न, तिमीलाई एउटा मौका दिन चाहन्थेँ, ताकि तिमीले थप केही सत्यताहरू बुझ्न सक। मैले त तिमी निकम्माभन्दा पनि कम छौ भनेर कहिल्यै कल्पना गरेको थिइनँ। मैले तिमीलाई त्यति बेला मानव ठानेकोमा मलाई पछुतो छ। तिमी आखिर मानव होइनौ भनेर मैले कहिल्यै कल्पना नै गरेको थिइनँ। तिमी त एउटा सुँगुर वा कुकुरभन्दा पनि नीच छौ, तिमी रद्दी हौ। तिमी यो मानव छाला ओढ्न लायक छैनौ, र तिमी मानव हुन योग्य छैनौ!” के यी शब्दहरू अप्रिय लाग्छन्? (लाग्दैनन्।) तिमीहरूलाई ती अप्रिय लाग्दैनन्, तर यस प्रकारको रद्दीलाई के ती अत्यन्तै अप्रिय लाग्दैनन् र? (लाग्छन्।) के यस्तो रद्दीको हृदय हुन्छ? (हुँदैन।) के त्यसोभए कसैले ऊबारे राम्रो कुरा भनिरहेको छ कि नराम्रो कुरा भनिरहेको छ भनेर उसले थाहा पाउन सक्छ त? हृदयविहीन मानिसहरूले कुनै पनि मामला सामना गर्दा, तिनीहरूले केही नगरी दिन कटाउने आफ्नो मनोवृत्ति परिवर्तन गर्नेछैनन्। तिनीहरू आफूलाई फाइदा र लाभ हुने र आफूलाई सहज महसुस हुने भएसम्म ठिकै हो भन्‍ने सोच्छन्। त्यसैले अरू जोकोहीले चाहे जे भने पनि तिनीहरू वास्ता गर्दैनन्। तिनीहरूको प्रसिद्ध भनाइ यस्तो छ: “तिमीले जे भने पनि, तिमीले मलाई जसरी हेरे पनि वा मूल्याङ्कन गरे पनि, अथवा मलाई जसरी वर्गीकरण गरे पनि वा सम्हाले पनि, मलाई मतलब छैन!” के यी मानिसहरू रद्दी मात्र होइनन् त? तैँले चाहे जे भने पनि तिनीहरूलाई कुनै अनुभूति बोध हुँदैन र तिनीहरू त्यसलाई मनमा लिँदैनन्। तिनीहरू किन त्यसलाई मनमा लिँदैनन्? तिनीहरू केवल कामचोर हुन्, र तिनीहरूसँग हृदय नै हुँदैन। हृदय नभएका मानिसहरूको कुनै इज्जत वा निष्ठा हुँदैन, तिनीहरू तैँले भन्‍ने कुनै पनि कुराबारे वास्ता गर्दैनन्, र तैँले तिनीहरूसँग चाहे जति कडा रूपमा बोले पनि, तिनीहरूलाई हृदयमा अलिकति पनि घोचिएको महसुस हुँदैन। इज्जत, निष्ठा र समझ भएकाहरूलाई मात्र त्यस्ता शब्दहरू सुन्दा पीडा र हृदय छेडिइरहेको महसुस हुनेछ। तिनीहरूले यसो भन्‍नेछन्, “त्यो मैले आफूलाई आचरणमा ढाल्ने नीच तरिका थियो, त्यसले गर्दा मानिसहरूले मलाई तुच्छ ठाने, र मैले आफ्नो इज्जत गुमाएँ, त्यसैले म उपरान्त त्यसरी व्यवहार गर्दिनँ। म आफ्नो इज्जत फिर्ता ल्याउन चाहन्छु र मानिसहरूलाई मलाई तुच्छ ठान्‍ने तुल्याउन चाहन्नँ। म आफ्नो सम्मान फिर्ता ल्याउन लागिपर्नेछु, र इज्जतका साथ जिउन र परमेश्‍वरलाई सन्तुष्ट पार्न जे गर्नुपरे पनि गर्नेछु।” तिनीहरूको इज्जतमा चोट पुर्‍याउने र संवेदनशील तथा कमजोर ठाउँमा घोच्ने शब्दहरूको कुरा आउँदा, तिनीहरूलाई अनुभूति बोध हुन्छ—यिनीहरू हृदय भएका मानिस हुन्। अनुभूति बोध र इज्जत भएका मानिसहरूले सही अभिव्यक्तिहरू सुन्दा र सकारात्मक कुराहरू देख्दा अनि सही र गलत छुट्टयाउँदा, तिनीहरूमा परिवर्तन हुने सङ्कल्प हुन्छ किनभने तिनीहरूसँग इज्जत हुन्छ, र तिनीहरू अरूले तिनीहरूलाई हेयको दृष्टिले हेरुन् भन्‍ने चाहँदैनन्। ती कामचोर र निकम्माहरूको कुनै इज्जत हुँदैन, र त्यसैले तैँले तिनीहरूलाई चाहे जे भने पनि, तेरा अभिव्यक्तिहरू चाहे जति सही वा सटीक वा सत्यताअनुरूप भए पनि, वा तेरा अभिव्यक्तिहरू जति सकारात्मक कुरा भए पनि, तिनले यी मानिसहरूमाथि कुनै प्रभाव पार्दैनन् र तिनीहरूलाई अलिकति पनि उत्प्रेरित गर्दैनन्। इज्जत नभएको व्यक्तिसँग कुनै पनि सकारात्मक कुरा, कुनै पनि फैसला, वा कुनै पनि खुलासाका सन्दर्भमा बिलकुलै अनुभूति बोध हुँदैन, न त ऊसँग कस्तो प्रकारको जीवन मार्ग छनोट गर्ने भन्‍नेप्रति सही मनोवृत्ति नै हुन्छ। त्यसैले, तैँले उसलाई चाहे जे भने पनि, चाहे जसरी खुलासा वा चित्रण गरे पनि, उसले त्यसलाई स्विकार्न पूर्णतः इन्कार गर्छ, र वास्तै गर्दैन। त्यसैले, के यस्ता मानिसहरूलाई सत्यता प्रचार गर्नु अनि प्रवचन दिनुको कुनै फाइदा छ त? के तिनीहरूलाई काटछाँट गर्नुको कुनै काम छ त? के तिनीहरूलाई न्याय गरेर अनि सजाय दिएर केही फाइदा हुन्छ त? हुँदैन! यस्ता मानिसहरू बस बेकारका हुन्छन्। तिनीहरू अल्याङटल्याङ गर्दै दिन बिताउँछन्, र तिनीहरू पशुको वर्गमा पर्छन्—ठ्याक्कै भन्‍नुपर्दा, तिनीहरू मानव होइनन्। तिनीहरू परमेश्‍वरका वचनहरू सुन्‍न लायक छैनन्। यदि यी नालायक, परजीवीहरू मण्डली अगुवा बनेमा, के तिनीहरूले मण्डलीमा रहेका समस्याहरू पत्ता लगाउन सक्छन् त? के तिनीहरूले समस्याहरू समाधान गर्न सक्छन् त? निश्चय नै सक्दैनन्। यदि परमेश्‍वरका चुनिएका मानिसहरूले कुनै समस्या उठान गरेमा, के तिनीहरूले त्यसलाई समाधान गर्न सक्छन् त? तिनीहरूले त्यसलाई पनि निश्चय नै समाधान गर्न सक्दैनन्। तिनीहरूले कुनै पनि समस्या समाधान गर्न सक्दैनन् भने कसरी अगुवाइको काम गर्न सक्छन् त? त्यो त सोच्नै सकिँदैन! अगुवा र कामदारका रूपमा, मानिसहरूले कम्तीमा पनि मण्डलीको काममा रहेका समस्याहरू र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशभित्रका समस्याहरू समाधान गर्न सक्नुपर्छ। यदि तिनीहरूले केही समय प्रशिक्षण लिन्छन् र केही अनुभव प्राप्त गर्न पुग्छन् भने, साथै तिनीहरूले केही सत्यताबारे सङ्गति गर्न र केही अनुभवात्मक गवाहीबारे कुरा गर्न सक्छन् भने, तिनीहरू अगुवाइको काममा बिस्तारै पारङ्गत बन्‍न सक्छन्। यदि तिनीहरू कुनै पनि समस्या पत्ता लगाउन वा समाधान गर्न सक्दैनन् भने, तिनीहरूले कुनै पनि हालतमा अगुवाइको काम गर्न सक्दैनन्; अनि तिनीहरू झुटा अगुवा हुन्छन्, र तिनीहरूलाई बर्खास्त गर्नुपर्छ, र नयाँ अगुवाहरू चयन गर्नुपर्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्