अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (६) खण्ड चार

ई. बर्खास्त गरिएका मानिसहरूलाई कसरी व्यवहार गर्ने

अर्को खाले मानिसहरू पनि छन्, अर्थात् ती, जो बर्खास्त भएका छन्। हामीले तिनीहरूलाई कसरी व्यवहार गर्नुपर्छ? चाहे यी मानिसहरू वास्तविक काम गर्न असमर्थ भएका कारण र झूटा अगुवाका रूपमा वर्गीकृत भएका कारण बर्खास्त भएका होऊन्, वा चाहे तिनीहरूले ख्रीष्टविरोधीहरूको मार्ग पछ्याएका कारण र तिनीहरूलाई ख्रीष्टविरोधी मानिसका रूपमा वर्गीकृत गरिएका कारणले बर्खास्त भएका होऊन्, तिनीहरूलाई उचित तरिकाले अन्य काममा खटाउन, र तिनीहरूका लागि उचित प्रबन्धहरू गर्न जरुरी छ। यदि तिनीहरू धेरै दुष्ट कामकुरा गरेका ख्रीष्टविरोधीहरू हुन् भने, तिनीहरूलाई अवश्यै निष्कासित गर्नुपर्छ; यदि तिनीहरूले धेरै दुष्ट कामकुरा गरेका छैनन्, तर तिनीहरूमा ख्रीष्टविरोधीको सार छ र तिनीहरूलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गरिन्छ भने, तिनीहरूले अझै पनि अवरोध वा बाधा नदिई कुनै न कुनै रूपमा सेवा प्रदान गर्न सकुञ्जेल, तिनीहरूलाई निष्कासित गर्नुपर्दैन—तिनीहरूलाई सेवा प्रदान गरिरहन दे र पश्चात्ताप गर्ने एउटा मौका दे। बर्खास्त गरिएका झूटा अगुवाहरूलाई तिनीहरूका सबलता र तिनीहरूले निर्वाह गर्न सुहाउँदा कर्तव्यहरूका आधारमा फरक काम गर्ने प्रबन्ध गर्, तर अबउप्रान्त तिनीहरूलाई मण्डली अगुवाका रूपमा सेवा गर्ने अनुमति दिनु हुँदैन; अत्यन्तै कमजोर क्षमता भएका र कुनै पनि काम गर्न असमर्थ भएका कारण बर्खास्त भएका अगुवा र कामदारहरूलाई पनि तिनीहरूका सबलता र तिनीहरूले निर्वाह गर्न सुहाउँदा कर्तव्यहरूका आधारमा फरक काम गर्ने प्रबन्ध गर्, तर तिनीहरूलाई अबउप्रान्त अगुवा वा कामदारमा बढुवा गर्न मिल्दैन। किन मिल्दैन? तिनीहरूलाई पहिल्यै प्रयोग गरेर हेरिसकिएको छ। तिनीहरू प्रकाश भए, र यस्ता मानिसहरूको क्षमता र कार्यक्षमताले तिनीहरूलाई अगुवा हुन अयोग्य तुल्याउँछ भन्‍ने कुरा प्रस्टै देखिन्छ। यदि तिनीहरू अगुवा हुन अयोग्य छन् भने, के तिनीहरू अन्य कर्तव्य निर्वाह गर्न असक्षम हुन्छन् त? हुन्छन् नै भन्‍ने छैन। तिनीहरूको कमजोर क्षमताले तिनीहरूलाई अगुवा हुन अयोग्य बनाउँछ, तर तिनीहरूले अन्य कर्तव्यहरू निर्वाह गर्न सक्छन्। यस्ता मानिसहरू बर्खास्त भएपछि, तिनीहरूले आफूसुहाउँदो जे काम पनि गर्न सक्छन्। तिनीहरूको कर्तव्य निर्वाह गर्ने अधिकार खोस्नु हुँदैन; भविष्यमा तिनीहरूको कद वृद्धि भएपछि तिनीहरूलाई पुनः प्रयोग गर्न सकिन्छ। कतिपयलाई सानै भएकाले र जीवनको कुनै अनुभव नभएकाले, र कामको अनुभव पनि नभएकाले बर्खास्त गरिन्छ, त्यसकारण तिनीहरू काम वहन गर्न असमर्थ हुन्छन् र अन्त्यमा बर्खास्त हुन्छन्। यस्ता मानिसहरूलाई बर्खास्त गर्दा त्यसमा केही लचकता अपनाइन्छ। यदि तिनीहरूको मानवताले मापदण्ड पूरा गर्छ र तिनीहरूको क्षमता पर्याप्त छ भने, तिनीहरूलाई पदावनति गरेपछि प्रयोग गर्न सकिन्छ, वा तिनीहरूलाई उपयुक्त हुने अरू काममा लगाउन सकिन्छ। सत्यताबारे तिनीहरूको बुझाइ प्रस्ट हुनुका साथै तिनीहरू मण्डलीका काममा केही परिचित र अनुभवी भएपछि, यस्ता मानिसहरूलाई अझै पनि तिनीहरूको क्षमताका आधारमा पुनः प्रवर्धन र संवर्धन गर्न सकिन्छ। यदि तिनीहरूको मानवताले मानक पूरा गर्छ तर तिनीहरूको क्षमता अत्यन्तै कमजोर छ भने, तिनीहरूलाई प्रवर्धन गर्नुको कुनै मूल्य हुँदैन, र तिनीहरूलाई बिलकुलै प्रवर्धन गर्न वा राख्न मिल्दैन।

बर्खास्त गरिएकाहरूमध्ये, दुई प्रकारका मानिसहरूलाई पुनः प्रवर्द्धन र संवर्धन गर्न कदापि मिल्दैन। एउटा त ख्रीष्टविरोधीहरू हुन्, र अर्कोचाहिँ अत्यन्तै न्यून क्षमता हुनेहरू हुन्। त्यसपछि केही मानिसहरू हुन्छन्, जसलाई ख्रीष्टविरोधी मानिँदैन, तर तिनीहरू कमजोर मानवताका, स्वार्थी र छली मात्र हुन्छन्, र कतिपय यस्ता मानिसहरू अल्छी हुन्छन्, देहसुखको लालसा गर्छन् र कष्ट सहन असक्षम हुन्छन्। यस्ता मानिसहरू अत्यन्तै राम्रो क्षमताका भए पनि, तिनीहरूलाई पुनः प्रवर्द्धन गर्न मिल्दैन। यदि तिनीहरूमा थोरै क्षमता छ भने, तिनीहरूलाई तिनीहरू जे गर्न सक्षम छन्, त्यही गर्न दे, तर त्यसका लागि उचित प्रबन्धहरू गरिएको हुनुपर्छ; छोटकरीमा भन्दा, तिनीहरूलाई अगुवा वा कामदारमा बढुवा नगर्। क्षमता र कार्य सामर्थ्य हुनुबाहेक, अगुवा र कामदारहरूले सत्यता बुझ्न, मण्डलीका लागि बोझ बोक्न, कडा परिश्रम गर्न र कष्ट सहन सक्षम हुन आवश्यक छ, साथै तिनीहरू लगनशील हुनैपर्छ र अल्छी हुनु हुँदैन। त्यसमाथि, तिनीहरू तुलनात्मक रूपले इमानदार र सोझा हुनैपर्छ। तैँले छली मानिसहरूलाई किमार्थ चयन गर्नु हुँदैन। जो अत्यन्तै कुटिल र छली छन् तिनीहरू सधैँ दाजुभाइ-दिदीबहिनीहरू, आफूभन्दा माथिका व्यक्तिहरू र परमेश्‍वरको घरका विरुद्ध षडयन्त्र गर्छन्। तिनीहरूले कपटपूर्ण कुरा मात्र सोचेर दिन बिताउँछन्। यस्ता व्यक्तिहरूसँग व्यवहार गर्दा, तिनीहरूले वास्तवमा के सोचिरहेका छन् भनेर तैँले अनुमान लगाउनैपर्छ, तैँले हालसालै तिनीहरूले ठ्याक्कै के गर्दै आएका छन् भनेर सोधपुछ गरिरहनुपर्छ, र तैँले सधैँ तिनीहरूमाथि आफ्नो नजर राख्‍नुपर्छ। तिनीहरूलाई प्रयोगमा ल्याउनु अत्यन्तै थकानयुक्त र अत्यन्तै चिन्ताजनक काम हो। यदि यस्तो व्यक्तिलाई कर्तव्य निभाउनका लागि प्रवर्द्धन गरियो भने, तिनीहरूलाई थोरै धर्मसिद्धान्त बुझेका भए पनि, तिनीहरूले त्यसलाई अभ्यास गर्नेछैनन्, तर आफूले गर्ने हरेक कामबाट लाभ र फाइदाहरूको अपेक्षा राख्‍नेछन्। यस्ता मानिसहरूलाई प्रयोग गर्दा अत्यन्तै चिन्ताजनक हुन्छ र धेरै समस्या आउँछ, त्यसैले यस्ता मानिसहरूलाई प्रवर्द्धन गर्न मिल्दैन। त्यसकारण, जब ख्रीष्टविरोधीहरू, अत्यन्तै कमजोर क्षमता भएकाहरू, खराब मानवता भएकाहरू, अल्छी गर्ने, देहसुखको लालसा गर्ने र कष्ट सहन नसक्नेहरू, र अत्यन्तै कुटिल र छलीहरूको कुरा आउँछ—यस्ता मानिसहरूलाई प्रयोगमा ल्याएर प्रकाश र बर्खास्त गरिएपछि, तिनीहरूलाई दोस्रो पटक प्रवर्द्धन नगर्; तिनीहरूलाई छर्लङ्गै देखिसकेपछि फेरि पनि गलत काममा प्रयोग नगर्। कतिले यसो भन्न सक्छन्, “यो व्यक्तिलाई पहिला ख्रीष्टविरोधी भनेर चित्रण गरिएको थियो। अहिले केही समययता उसले राम्रो प्रदर्शन गर्दै आएको हामीले देखेका छौँ, ऊ दाजुभाइ-दिदीबहिनीहरूसँग सामान्य रूपमा अन्तरक्रिया गर्न सक्षम भएको छ र उसले अरूलाई नियन्त्रित गर्न छोडेको छ। के उसलाई प्रवर्द्धन गर्न सकिन्छ?” त्यस्तो हतार नगर्—एक पटक उसलाई प्रवर्द्धन गरेर उसले हैसियत प्राप्त गरेपछि, उसको ख्रीष्टविरोधी प्रकृति खुलासा हुनेछ। अरूले यसो भन्न सक्छन्: “पहिले यो व्यक्तिको क्षमता अत्यन्तै कमजोर थियो; दुई जनाको काम सुपरिवेक्षण गर्न भनिँदा उसलाई कामकाज कसरी खटनपटन गर्ने थाहै हुँदैनथ्यो, र यदि एकैचोटि दुइटा कुरा हुन्थे भने, उसलाई मनासिब प्रबन्ध गर्नै आउँदैनथ्यो। अब त ऊ अलिक बुढो भएकोले, ऊ यी कुराहरूमा राम्रो भएको होला, होइन र?” के यो दाबी मनासिब छ? (अहँ, छैन।) जब एकै समयमा दुइटा घटना घट्छ, तब त्यो व्यक्ति दुबिधामा पर्छ र ती कसरी सम्हाल्ने भनेर उसलाई थाहै हुँदैन। उसले कसैलाई वा कुनै पनि कुरालाई छर्लङ्ग देख्न सक्दैन। उसको क्षमता यति कमजोर हुन्छ कि ऊसँग कार्य सामर्थ्य र बुझ्ने क्षमता नै हुँदैन। त्यस्तो व्यक्तिलाई फेरि अगुवाका रूपमा बिलकुलै प्रवर्द्धन गर्न सकिँदैन। यो उमेरको कुरा होइन। कमजोर क्षमता भएका मानिसहरू असी वर्ष पुग्दा पनि कमजोर क्षमताकै हुन्छन्। यो मानिसहरूले कल्पना गरेजस्तो, व्यक्ति बुढो हुँदै जाँदा र उसले अझ बढी अनुभवहरू प्राप्त गर्दै जाँदा, उसले सबै कुरा बुझ्न सक्छ भन्ने हुँदैन—कुरा त्यस्तो हुँदैन। ऊसँग जीवनका केही अनुभवहरू मात्र हुन्छ, तर जीवनका केही अनुभव हुनु भनेको क्षमता हुनुसमान होइन। व्यक्तिले चाहे जति नै धेरै कुराहरू अनुभव गरे पनि वा जति नै धेरै पाठहरू सिके पनि त्यसको अर्थ उसको क्षमता सुध्रिन्छ भन्ने हुँदैन।

यदि कसैको मानवता अत्यन्तै स्वार्थी, अत्यन्तै छली, र अत्यन्तै दुष्ट छ, यदि ऊ धूर्त षड्यन्त्रहरूले भरिएको छ, र उसले आफ्नो बारेमा मात्र सोच्छ भने, के यस्तो प्रकारको व्यक्ति परिवर्तन हुन सक्छ? ऊ यिनै कारणले गर्दा बर्खास्त भएको थियो; अहिले दस वर्ष बितेको छ र उसले धेरै प्रवचनहरू सुनेको छ—के उसको मानवता अब स्वार्थी, बदमास र छली छैन? म तँलाई भन्छु: यस्तो प्रकारको व्यक्ति परिवर्तन हुनेछैन, ऊ आगामी २० वर्षमा पनि उस्तै नै रहनेछ। त्यसकारण, यदि तैँले उसलाई २० वर्षपछि फेरि भेटिस् र ऊ उत्तिकै स्वार्थी र छली छ कि छैन भनेर सोधिस् भने, उसले त्यो आफैले समेत स्विकार्नेछ। कमजोर मानवता भएका मानिसहरू किन परिवर्तन हुनेछैनन्? के तिनीहरू परिवर्तन हुन सक्छन्? तिनीहरू परिवर्तन हुन सक्छन् भनेर मान्‍ने हो भने, त्यसका आधार र सर्तहरू के-के हुनुपर्छ? तिनीहरूले सत्यता स्विकार्न सक्नैपर्छ। कमजोर क्षमता भएका मानिसहरूले सत्यता स्विकार्दैनन्, र तिनीहरूले भित्रभित्रै सकारात्मक कुराहरूलाई घृणा, तिरस्कार, र उपहास गर्छन् र तिनीहरू तीप्रति शत्रुवत् हुन्छन्—तिनीहरू परिवर्तन हुन सक्दै सक्दैनन्। त्यसकारण, चाहे जतिसुकै वर्ष बितेको भए पनि तिनीहरूलाई प्रवर्द्धन नगर्, किनकि तिनीहरू परिवर्तन हुन असक्षम हुन्छन्। २० वर्षको समयमा, तिनीहरूले अझै बढी कपटी हुन सिकेका, र कर्णप्रिय अनि अरूलाई छल्ने कुराहरू बोल्‍न अझै बढी जानेका हुन सक्ने सम्भावना हुन्छ। तर यदि तैँले यी मानिसहरूको सङ्गत गरिस् र तिनीहरूका गतिविधिहरू नियालिस् भने, तैँले एउटा तथ्य पत्ता लगाउनेछस्, र त्यो के हो भने तिनीहरू बिलकुलै परिवर्तन भएका हुँदैनन्। तँ सोच्छस् कि यति धेरै वर्ष बितिसकेपछि, तिनीहरूले यति धेरै प्रवचनहरू सुनेपछि, र लामो समय परमेश्‍वरका घरमा कर्तव्य निर्वाह गरेपछि, तिनीहरू परिवर्तित भएको हुनुपर्छ—तँ गलत छस्! तिनीहरू परिवर्तन हुनेछैनन्। किन? तिनीहरूले अत्यन्तै धेरै प्रवचनहरू सुनेका र परमेश्‍वरका अत्यन्तै धेरै वचनहरू पढेका हुन्छन्, तर तिनीहरूले एउटा वाक्यसमेत स्विकार्ने वा अभ्यास गर्ने गर्दैनन्, त्यसैले तिनीहरू अलिकति पनि परिवर्तित भएका हुँदैनन्, तिनीहरू परिवर्तन हुन असम्भव छ। एक पटक यस्ता मानिसहरू खुलासा र बर्खास्त भएपछि, तिनीहरूलाई फेरि प्रयोग गर्न मिल्दैन, र यदि तैँले तिनीहरूलाई प्रयोग गरिस् भने, तैँले परमेश्‍वरको घर र दाजुभाइ-दिदीबहिनीहरूलाई हानि पुऱ्याइरहेको हुन्छस्। यदि तँ निश्‍चित छैनस् भने, बस तिनीहरूले कसरी व्यवहार गर्छन् भनेर मात्र अवलोकन गर्, र तिनीहरूले आफ्ना स्वार्थहरू र परमेश्‍वरको घरका हितहरूबीच द्वन्द्व ल्याउने कुराहरू सामना गर्दा तिनीहरूले कसका हितहरूको रक्षा गर्छन् भनेर हेर्; तिनीहरू आफ्ना स्वार्थहरू त्यागेर परमेश्‍वरको घरका हितहरू रक्षा गर्न बिलकुलै लागिपर्नेछैनन्। यसलाई यो हिसाबले हेर्दा, तिनीहरू भरोसायोग्य हुँदैनन्, र तिनीहरू परमेश्‍वरको घरद्वारा प्रवर्द्धन र प्रयोग गरिन लायक हुँदैनन्। त्यसैले त्यस्ता मानिसहरू प्रयोग नगरिने नियति बोकेर आएका हुन्छन्। के सत्यता नस्विकार्ने मानिसहरू अझै पनि परिवर्तन हुन सक्छन् त? यो सम्भवै छैन, र यो मूर्खको सपना हो!

अल्छे, देहसुखको लालच गर्ने, र अलिकति पनि कठिनाइ सहन नसक्ने मानिसहरूको कुरा गर्नुपर्दा, तिनीहरू परिवर्तित हुन झनै कम सक्षम हुन्छन्। तिनीहरू अगुवा रहेको अवधिमा, तिनीहरूले कुनै कठिनाइ भोग्दैनन्, तिनीहरूले त साधारण दाजुभाइ-दिदीबहिनीहरूले सहन सक्ने कठिनाइसमेत सहँदैनन्। तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा झारा मात्र टार्छन्—भेलाहरू बोलाउने र केही धर्मसिद्धान्तहरू प्रचार गर्ने, अनि आफ्नो राम्रो हेरचाह गर्न सुत्न गइहाल्ने गर्छन्। यदि राती तिनीहरू अलिकति मात्रै ढिलो सुत्न गए भने, बिहान अरू दाजुभाइ-दिदीबहिनीहरू उठ्दै गर्दा तिनीहरू अझै मस्त निदाइरहेका हुनेछन्। तिनीहरू अलिकति थकित वा अलिकति व्यस्त हुन, वा अलिकति कठिनाइ सहनसमेत इच्छुक हुँदैनन्। तिनीहरूले कुनै मूल्य चुकाउँदैनन् र कुनै वास्तविक काम गर्दैनन्। तिनीहरू जहाँ गए पनि मिठो खानपान देख्नेबित्तिकै यति खुसी हुन्छन् कि तिनीहरूले अरू सबथोक बिर्सिन्छन्, र तिनीहरू कहीँ नगई त्यहीँ खानपान गर्दै रमाएर बस्छन्, र कुनै किसिमको काम गर्दैनन्। माथिले तिनीहरूलाई काटछाँट गर्दा तिनीहरूले सुन्दैनन्, न त दाजुभाइ-दिदीबहिनीहरूले गरेका ताकेता र खुलासा नै स्विकार्छन्। तिनीहरू कुनै मूल्य नचुकाई, र आफ्ना जिम्मेवारीहरू वा कर्तव्य पूरा नगरी, सम्भव भएसम्म सबैभन्दा सहज रूपमा जीवन जिउन रोज्छन्, र त्यसैले तिनीहरू निकम्मा बन्छन्। के त्यस्ता मानिसहरू परिवर्तन हुन सक्षम हुन्छन्? त्यस्ता मानिसहरू अत्यन्तै अल्छे, र देहसुखको लालच गर्ने हुन्छन्; तिनीहरू परिवर्तन हुन सक्दैनन्। तिनीहरू अहिले त्यस्ता छन् र भविष्यमा पनि त्यस्तै नै हुनेछन्। कति मानिसहरूले यस्तो भन्न सक्छन्: “त्यो व्यक्ति परिवर्तित भएको छ, उसले अहिले केही समययता आफ्नो काममा निकै मेहनत लगाइरहेको छ।” त्यस्तो हतार नगर्। यदि तैँले उसलाई अगुवाका रूपमा प्रवर्द्धन गरिस् भने, ऊ पुरानै तरिकाहरूमा फर्किहाल्छ—ऊ त्यस्तै नै छ। ऊ त एउटा जुवाडेजस्तै हो, जो पैसा सकिँदा सापट नै लिनु परे पनि, घरै बेच्नुपरे पनि, वा आफ्ना पत्नी र छोराछोरीसमेत बेच्नुपरे पनि जुवा खेली नै रहन्छ। यदि उसले हालसालै जुवा खेलिरहेको छैन भने, त्यो जुवा घर बन्द भएको र जुवा खेल्ने ठाउँ नभएको कारण, वा उसका जुवाडे साथीहरू सबै पक्राउ परेका र ऊसँग जुवा खेल्ने कोही बाँकी नरहेका कारण, वा उसले बेच्न सक्ने सबै कुरा बेचिसकेको र ऊसँग जुवा खेल्ने पैसा बाँकी नभएको कारणले गर्दा हुन सक्छ। हातमा पैसा परेपछि, उसले फेरि जुवा खेल्न थालिहाल्छ र त्यो लत छोड्न सक्दैन—ऊ त्यस्तै नै हुन्छ। त्यसैगरी, अल्छे र देहसुखको लालच गर्नेहरू पनि परिवर्तन हुन असक्षम हुन्छन्। तिनीहरूले एक पटक अलिकति हैसियत पाएपछि तुरुन्तै पहिलेकै लयमा फर्कनेछन्, र तिनीहरूको साँचो रङ्ग खुलासा हुनेछ। जब तिनीहरूसँग कुनै हैसियत हुँदैन, तिनीहरूलाई कसैले पनि उच्च मान्दैन र कसैले पनि कुरेर बस्दैन, र यदि तिनीहरूले केही काम गर्दैनन् भने, तिनीहरूलाई निकाल्नुपर्छ, किनकि मण्डलीले निष्क्रिय रहने मानिसहरूलाई सहयोग गर्दैन, त्यसैले मन नलागीनलागी भए पनि केही कामकुरा गर्नुबाहेक तिनीहरूसँग अर्को विकल्प हुँदैन। तिनीहरू अरूले भन्दा फरक तरिकाले काम गर्छन्। अरूले सक्रिय रूपमा काम गर्छन्, जबकि तिनीहरूले निष्क्रिय रूपमा गर्छन्। बाहिर कुनै पनि भिन्नता नभए पनि सारमा भिन्नता हुन्छ। हैसियत हुँदा, अरूले आफूले गर्नुपर्ने काम गर्छन् र आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छन्; तर एक पटक हैसियत पाएपछि, यी मानिसहरू आफ्नो हैसियतका लाभहरूमा लिप्त हुने मौका छोप्छन् र कुनै पनि काम गर्दैनन्, अनि तिनीहरूको अल्छीपन र सहजताको लालसा गर्ने प्रकृति सार त्यसरी खुलासा हुन्छ। त्यसकारण, यस प्रकारका मानिसहरू कुनै पनि परिस्थितिमा परिवर्तन हुनेछैनन्, र एक पटक खुलासा र बर्खास्त गरिएपछि, त्यस्ता मानिसहरूलाई फेरि कहिल्यै प्रवर्द्धन र प्रयोग गरिनु हुँदैन—सिद्धान्त यही हो।

जब विभिन्न अवस्थाका मानिसहरूको कुरा आउँछ, तिनीहरूलाई प्रवर्द्धन र प्रयोग गर्ने सिद्धान्तहरू यिनै हुन्। न्यूनतम मानक भनेको तिनीहरू परमेश्‍वरका घरमा बाधा नदिई मेहनत लगाउन र सेवा प्रदान गर्न सक्‍ने हुनुपर्छ भन्ने हो; यो अवस्थामा, तिनीहरूले परमेश्‍वरका घरमा कर्तव्य पूरा गर्न सक्छन्। यदि तिनीहरूले यो न्यूनतम मानक पनि पूरा गर्न सक्दैनन् भने, तिनीहरूको मानवता र सबलता चाहे जे-जस्तो भए पनि तिनीहरू कर्तव्य पूरा गर्न उपयुक्त हुँदैनन्, र यस प्रकारका मानिसहरूलाई कर्तव्य पूरा गर्ने मानिसहरूको श्रेणीबाट हटाइनुपर्छ। यदि कुनै व्यक्तिको मानवता दुर्भावपूर्ण र ख्रीष्टविरोधीको मानवतासरह छ भने, ऊ ख्रीष्टविरोधी हो भनेर एक पटक पुष्टि भइसकेपछि, परमेश्‍वरको घरले उसलाई कहिल्यै प्रयोग, प्रवर्द्धन वा संवर्धन गर्नेछैन। कति मानिसहरूले यस्तो भन्न सक्छन्: “के उसलाई सेवा प्रदान गर्न दिँदा हुन्छ?” त्यो त अवस्था कस्तो छ भन्‍नेमा भर पर्छ। यदि उसले सेवा प्रदान गर्दा त्यसले परमेश्‍वरका घरमा नकारात्मक प्रभाव पार्न सक्छ र प्रतिकूल परिणामहरू ल्याउन सक्छ भने, परमेश्‍वरको घरले उसलाई सेवा प्रदान गर्ने अवसरसमेत दिनेछैन। यदि उसलाई ऊ आफै निष्कासित गरिएको दुष्ट व्यक्ति वा ख्रीष्टविरोधी हो भन्ने थाहा छ, तर ऊ सेवा प्रदान गर्न इच्छुक छ, र मण्डलीले उसका निम्ति जे-जस्तो कामको प्रबन्ध गरे पनि उसले त्यो काम गर्छ, र उसले परमेश्‍वरको घरका कुनै पनि हितहरूमा हानि नपुऱ्याई शिष्ट रूपमा सेवा प्रदान गर्न सक्छ भने, त्यो अवस्थामा उसलाई राख्न सकिन्छ। यदि उसले राम्ररी सेवा प्रदान गर्नसमेत सक्दैन, र उसको सेवाले राम्रो गर्नुभन्दा बढी हानि पुऱ्याउँछ भने, उसले सेवा प्रदान गर्ने अवसरसमेत पाउनेछैन, र उसले सेवा प्रदान गर्छ नै भने पनि परमेश्‍वरको घरले उसलाई प्रयोग गर्नेछैन, किनकि ऊ त्यसका लागि योग्यसमेत हुँदैन वा उसले सेवा प्रदान गर्ने मापदण्डहरू नै पूरा गर्दैन। त्यसैले यस प्रकारका मानिसहरू फिर्ता आउनु हुँदैन—तिनीहरूलाई जहाँ जान मन लाग्छ त्यहीँ जान दे। कति मानिसहरूले यस्तो भन्न सक्छन्, “यदि परमेश्‍वरको घरले मलाई प्रयोग गर्दैन भने, म आफै सुसमाचार प्रचार गर्नेछु, र मैले सुसमाचार प्रचार गरेर प्राप्त गरेका मानिसहरू परमेश्‍वरको घरलाई सुम्पनेछु।” के त्यो ठिक हुनेछ? (हुनेछ।) कतिले यस्तो भन्न सक्छन्, “तपाईँले त्यो व्यक्तिलाई सेवा प्रदान गर्नका लागि समेत प्रयोग गर्नुहुन्न भने, उसले सुसमाचार प्रचार गरी प्राप्त गरेका मानिसहरू केका आधारमा तपाईँलाई दिनुपर्छ? उसले केका आधारमा तपाईँका लागि सुसमाचार प्रचार गर्नुपर्छ?” परमेश्‍वरको घरले विभिन्न पक्षहरूका कारण तिनीहरूलाई प्रयोग गर्दैन। एउटा पक्ष हो, तिनीहरूले मानिसहरूलाई प्रयोग गर्ने परमेश्‍वरको घरका सिद्धान्तहरू पालना गर्दैनन्। अर्को पक्ष हो, परमेश्‍वरको घरले यस प्रकारका मानिसहरूलाई प्रयोग गर्ने आँट नै गर्दैन, किनकि एक पटक तिनीहरूलाई प्रयोगमा ल्याएपछि समस्याको अन्त्य कहिल्यै हुनेछैनन्। त्यसैले, तिनीहरू सुसमाचार प्रचार गर्न इच्छुक हुने यो मामलालाई हामीले कसरी व्याख्या गर्नुपर्छ? तिनीहरूले सुसमाचार प्रचार गर्दा गवाही दिने भनेको परमेश्‍वरलाई नै हो, र परमेश्‍वरका वचनहरू र परमेश्‍वरको कामकै कारण तिनीहरू मानिसहरू प्राप्त गर्न सक्षम हुन्छन्। यी मानिसहरू त्यो व्यक्तिको सुसमाचार प्रचारमार्फत प्राप्त भएका भए पनि यसको श्रेय कसैगरी त्यो व्यक्तिलाई जाँदैन। धेरै भए, यो उसले व्यक्तिका रूपमा आफ्नो जिम्मेवारी पूरा गरेको मात्र हो। चाहे तँ ख्रीष्टविरोधी या दुष्ट व्यक्ति भए पनि, वा तँलाई निकालिएको वा निष्कासित गरिएको भए पनि, व्यक्तिका रूपमा आफ्नो जिम्मेवारी पूरा गर्नु भनेको तैँले गर्नुपर्ने कार्य नै हो। मैले यो तैँले गर्नुपर्ने कार्य हो भनेर भन्नुको कारण के हो? तैँले परमेश्‍वरबाट सत्यताहरूको यति ठूलो आपूर्ति पाएको छस्, र यो परमेश्‍वरको रगत-पसिना पनि हो। परमेश्‍वरको घरले कैयौँ वर्षदेखि तँलाई मलजल गरेको र तेरो आपूर्ति गरेको छ, तर के परमेश्‍वरले तँबाट केही माग्नुहुन्छ र? अहँ। परमेश्‍वरको घरले वितरण गरेका विभिन्न किसिमका सबै पुस्तकहरू निःशुल्क हुन्छन्, यसका लागि कसैले पनि एक पैसा खर्च गर्नु पर्दैन। त्यसैगरी, परमेश्‍वरले मानिसहरूलाई प्रदान गर्ने शाश्वत जीवनको साँचो मार्ग र जीवनका वचनहरू निःशुल्क हुन्छन्, अनि परमेश्‍वरका घरका प्रवचन र सङ्गतिहरू सबै नै मानिसहरूले निःशुल्क सुन्न पाउँछन्। त्यसकारण, चाहे तँ साधारण व्यक्ति होस् वा विशेष समूहको सदस्य होस्, तैँले परमेश्‍वरबाट अति धेरै सत्यताहरू निःशुल्क पाएको हुनाले तैँले मानिसहरूलाई परमेश्‍वरका वचन र परमेश्‍वरको सुसमाचार प्रसार गर्नुपर्छ अनि मानिसहरूलाई परमेश्‍वरको उपस्थितिमा ल्याउनुपर्छ भन्ने कुरा निश्‍चित रूपमै सही हुन्छ, होइन र? परमेश्‍वरले मानवजातिलाई सबै सत्यता प्रदान गर्नुभएको छ; यति ठूलो प्रेमको ऋण कसले तिर्न सक्छ? परमेश्‍वरको अनुग्रह, परमेश्‍वरका वचनहरू र परमेश्‍वरको जीवन अमूल्य छन्, र कुनै पनि मानवले तिनको ऋण तिर्न सक्दैन। के मानिसको जीवन त्यति मूल्यवान् छ र? के त्यो सत्यता जत्तिकै मूल्यवान् हुन सक्छ र? त्यसकारण, कसैले पनि परमेश्‍वरको प्रेम र अनुग्रहको ऋण तिर्न सक्दैन, र त्यसमा मण्डलीद्वारा निकालिएका, निष्कासित गरिएका र हटाइएकाहरू पनि पर्छन्—तिनीहरू अपवाद होइनन्। तँसँग अलिकति विवेक, समझ, र मानवता छ भने, परमेश्‍वरको घरले तँलाई जसरी व्यवहार गरे पनि तैँले परमेश्‍वरका वचनहरू प्रसार गर्ने र उहाँको कामको गवाही दिने आफ्नो दायित्व पूरा गर्नुपर्छ। यो मानिसहरूले टार्नै नमिल्ने जिम्मेवारी हो। त्यसकारण, तैँले जति मानिसहरूलाई परमेश्‍वरका वचनहरू र उहाँको सुसमाचार प्रचार गरे पनि, वा जति मानिसहरू प्राप्त गरे पनि, यो तँलाई तारिफ गर्नुपर्ने कुरै होइन। परमेश्‍वरले अत्यन्तै धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, तैपनि तँ ती सुन्‍ने वा स्विकार्ने गर्दैनस्। थोरै सेवा प्रदान गर्नु र अरूलाई सुसमाचार प्रचार गर्नु त तैँले गर्नैपर्ने कुरा हो, होइन र? तँ आज यति टाढा आइपुगेको हुनाले, के तैँले पश्‍चात्ताप गर्नुपर्दैन र? के तैँले परमेश्‍वरको प्रेमको ऋण तिर्ने अवसरहरू खोज्नुपर्दैन र? वास्तवमै पर्छ! परमेश्‍वरको घरसँग प्रशासनिक आदेशहरू हुन्छन्, र मानिसहरूलाई निकाल्ने, निष्कासित गर्ने, र हटाउने भनेको प्रशासनिक आदेशहरू र परमेश्‍वरका मागहरूअनुसार गरिने कामकुरा हुन्—यी कामकुरा गर्नु सही हो। कति मानिसहरूले भन्लान्, “निकालिएका र निष्कासित गरिएका मानिसहरूको सुसमाचार प्रचारद्वारा प्राप्त मानिसहरूलाई मण्डलीभित्र स्विकार्नु अलिक लज्जास्पद हुन्छ।” वास्तवमा भन्‍ने हो भने, यो नै मानिसहरूले पूरा गर्नुपर्ने कर्तव्य हो, र यसमा लाज मान्नुपर्ने कुनै कुरा छैन। सबै मानिसहरू सृजित प्राणी हुन्। तँलाई निकालिएको वा निष्कासित गरिएको छ, दुष्ट व्यक्ति वा ख्रीष्टविरोधी भनेर निन्दा गरिएको छ, वा तँ हटाइने निशानामा छस् भने पनि, के तँ अझै सृजित प्राणी नै होइनस् र? तँलाई निकालिएपछि, के परमेश्‍वर अझै पनि तेरो परमेश्‍वर हुनुहुन्न र? के परमेश्‍वरले तँलाई भनेका वचनहरू र तँलाई आपूर्ति गरेका कुराहरू स्वात्त मेटिन्छन् र? के ती अस्तित्वमा हुनै छोड्छन् र? ती अझै अस्तित्वमै हुन्छन्, यति हो तैँले तिनको कदर मात्रै गरेको हुँदैनस्। विश्‍वासमा ल्याइएका सबै मानिस, चाहे तिनीहरूलाई जसले विश्‍वासमा ल्याएका भए पनि, तिनीहरू सबै सृजित प्राणी हुन् र तिनीहरूले सृष्टिकर्तासामु आफूलाई समर्पित गर्नुपर्छ। त्यसकारण, यदि निकालिएका र निष्कासित भएका यी मानिसहरू सुसमाचार प्रचार गर्न इच्छुक छन् भने, हामी तिनीहरूलाई रोक्नेछैनौँ; तर तिनीहरूले जसरी प्रचार गरे पनि मानिसहरूलाई प्रयोग गर्ने परमेश्‍वरको घरका सिद्धान्तहरू अनि परमेश्‍वरको घरका प्रशासनिक आदेशहरू अपरिवर्तनीय हुन्छन्, र यो कहिल्यै, कुनै हालतमा परिवर्तन हुनेछैन।

बर्खास्त गरिएका यी विभिन्न प्रकारका मानिसहरूमध्ये अधिकांशले साँचो पश्‍चात्ताप गर्ने सम्भावना हुँदैन र तिनीहरूलाई फेरि प्रयोग गरिनै हुँदैन। कामको अनुभव नभएर अस्थायी रूपमा आफ्नो काम गर्न असक्षम भएर बर्खास्त गरिएका वा कर्तव्य खटनपटन समायोजन गरिएका मानिसहरूलाई मात्र प्रवर्द्धन र प्रयोग गर्न सकिन्छ। यस प्रकारका मानिसहरू पर्याप्त क्षमताका हुन्छन् र तिनीहरूको मानवतामा कुनै ठूलो समस्या हुँदैन, र तिनीहरूमा स-साना कमजोरी, दुर्गुण वा परिवारबाट जन्मजात आएका खराब बानीहरू मात्र हुन्छन्—यीमध्ये कुनै पनि कुरा ठूला समस्या होइनन्। यदि परमेश्‍वरको घरलाई तिनीहरूको आवश्यकता पऱ्यो भने, सही समयमा तिनीहरूलाई फेरि प्रवर्द्धन र प्रयोग गर्न सकिन्छ; यो मनासिब छ, किनकि तिनीहरू दुष्ट मानिस होइनन् र ख्रीष्टविरोधीहरू बन्नेछैनन्। तिनीहरूको क्षमता पर्याप्त छ, यति मात्र हो कि तिनीहरूले लामो समय काम गरिरहेका थिएनन् र तिनीहरूसँग कुनै अनुभव थिएन, त्यसैले तिनीहरू काम गर्न योग्य थिएनन्, जुन गम्भीर समस्या होइन। यदि तिनीहरूलाई यी कारणले बर्खास्त गरिएको भए, भविष्यमा तिनीहरूको विकास हुने सम्भावना हुन्छ र तिनीहरू परिवर्तन हुन सक्छन्। कसैसँग कार्य सामर्थ्य छ, ऊसँग क्षमता छ, र उसको मानवता मानकअनुरूप छ भने, यस प्रकारका मानिसहरू परमेश्‍वरको काम अनुभव गर्ने र कर्तव्य पूरा गर्ने अवधिमा बिस्तारै परिवर्तन हुनेछन्, तिनीहरूको मानवता परिवर्तन हुनेछ, तिनीहरू आफ्नो जीवन प्रवेशमा वृद्धि हुनेछन्, तिनीहरूको स्वभावमा सोहीअनुरूपका केही परिवर्तनहरू हुनेछन्, र तिनीहरूको सत्यता बुझाइमा केही प्रगति हुनेछ। तिनीहरू आफ्नो वातावरण, आफूले पूरा गर्ने कर्तव्यहरू, र आफ्ना व्यक्तिगत सङ्कल्पका आधारमा विभिन्न हदसम्म परिवर्तन र वृद्धि हुनेछन्, त्यसैले यस प्रकारका मानिसहरूलाई प्रवर्द्धन र प्रयोग गरिनुपर्छ भनेर भन्न सकिन्छ। पहिला बर्खास्त भएका विभिन्न प्रकारका मानिसहरूलाई फेरि प्रवर्द्धन र प्रयोग गर्ने सिद्धान्तहरू सामान्यतया यिनै हुन्।

अगुवा र कामदारहरूका जिम्मेवारीहरूको विषयवस्तु सात हो, “फरक-फरक किसिमका मानिसहरूलाई तिनीहरूको मानवता र सबल पक्षका आधारमा समझदारीपूर्वक खटनपटन र प्रयोग गर्ने, ताकि हरेकलाई सर्वोत्तम रूपमा प्रयोग गर्न सकियोस्।” हाम्रो भर्खरको सङ्गतिमा, मानिसहरूलाई सर्वोत्तम रूपमा प्रयोग गर्नुको अर्थ पहिल्यै स्पष्ट रूपमा व्याख्या गरिएको थियो। कसैको संवर्धनमा अलिकति पनि मूल्य भएसम्म, र उसको मानवता मानकअनुरूप भएसम्म, परमेश्‍वरको घरले उसलाई अवसरहरू दिनेछ। कसैले सत्यता पछ्याएसम्म र सकारात्मक कुराहरूलाई प्रेम गरेसम्म, परमेश्‍वरको घरले त्यति सजिलै उसलाई त्याग्‍ने वा हटाउनेछैन। तेरो मानवता र क्षमताले मैले भर्खर सङ्गति गरेका मानकहरू पूरा गर्छन् भने, परमेश्‍वरका घरमा तेरा लागि कर्तव्य पूरा गर्ने स्थान पक्कै हुनेछ, र यसले तँलाई पक्कै समझदारीपूर्वक प्रयोग गर्नेछ, र तँलाई आफ्नो क्षमता प्रयोग गर्ने पर्याप्त ठाउँ दिनेछ। छोटकरीमा भन्दा, यदि तँसँग मण्डलीका काममा आवश्यक पर्ने निश्‍चित पेसाका सबलता र विज्ञता छ भने, परमेश्‍वरको घरले पक्कै तँलाई उपयुक्त कर्तव्य पूरा गर्न दिनेछ। तर, यदि तँमा कुनै सङ्कल्प वा इच्छा छैन र तँ उँभो लाग्न चाहँदैनस् भने, जे सक्छस् त्यही गर्, तैँले आफ्नो क्षमताअनुसार गर्न सक्ने कुनै कर्तव्य पूरा गर्, र त्योभन्दा बढी केही नगर्। यदि तँसँग सङ्कल्प छ, र तँ “म अझै बढी सत्यताहरू बुझ्न र प्राप्त गर्न चाहन्छु, र जतिसक्दो चाँडो मुक्तिको मार्गमा लाग्न र सत्यता वास्तविकतामा प्रवेश गर्न चाहन्छु। म परमेश्‍वरको बोझको ख्याल राख्न इच्छुक छु, परमेश्‍वरका घरमा गह्रौँ जिम्मेवारी वहन गर्न, अरूले भन्दा बढी कष्टहरू भोग्न, अझ बढी शारीरिक रूपमा लागिपर्न र अरूले भन्दा बढी त्याग्न इच्छुक छु” भनेर भन्छस् भने, र यदि तँ सबै हिसाबमा उपयुक्त छस्, तैपनि कसैले तँलाई सिफारिस गर्दैन भने, तैँले आफूलाई अघि सार्न पनि सक्छस्। के त्यो उचित हुँदैन र? सारांशमा भन्दा, यी सबै कुरा हरप्रकारका मानिसहरूलाई प्रयोग गर्ने परमेश्‍वरको घरका सिद्धान्तहरू हुन्, जसको उद्देश्य मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्ने अधिकार दिनुभन्दा बढी केही होइन। सत्यता वास्तविकतामा प्रवेश गर्नुका प्रकटीकरणहरू के-के हुन्? ती हुन्: सत्यता बुझ्नु, विभिन्न किसिमका सबै कामहरू गर्दा सत्यता सिद्धान्तहरू बुझ्नु, अनि कुनै कुरा आइपर्दा अन्योलमा र अरकच्च पर्नुभन्दा, दैनिक जीवनमा हरप्रकारका मानिस, घटना र कामकुराहरूसँग अन्तरक्रिया गर्दा सान्दर्भिक सत्यताहरू अभ्यास गर्न सक्नु—उद्देश्य यही हो। यो उद्देश्य तय गरिएको हुँदा, तैँले त्यसतर्फ नै पछ्याउनुपर्छ!

अगुवा र कामदारहरूका जिम्मेवारीहरूको विषयवस्तु सातबारे हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ। कति मानिसहरूले भन्लान्, “तपाईँले अझै सङ्गति सकाउनुभएको छैन, तपाईँले यस विषयवस्तुका सन्दर्भमा झुटा अगुवाहरूको खुलासा गर्नुभएकै छैन।” मेरो जबाफ के हो भने, तिनीहरूको खुलासा गर्नुपर्ने आवश्यकता नै छैन। एक हिसाबमा, झुटा अगुवाहरू कमजोर क्षमताका र वास्तविक काम गर्न नसक्‍ने हुन्छन्; अर्को हिसाबमा, तिनीहरूमा विवेक र समझ हुँदैन, तिनीहरू बोझ वहन गर्दैनन्, आफ्नो काममा हृदय बिलकुलै लगाउँदैनन्, र केही सरल कामकुरासमेत राम्ररी गर्न सक्दैनन्। तिनीहरूले कुनै जटिल समस्या, वा सत्यता सिद्धान्तहरूसँग सम्बन्धित समस्या सामना गर्दैपिच्छे, त्यसलाई बिलकुलै छुट्ट्याउन सक्दैनन्, र उक्त समस्याको सार छर्लङ्ग देख्न त झनै सक्दैनन्। त्यसैले, तिनीहरूको खुलासा गर्नु आवश्यक छैन। यदि तिनीहरूको खुलासा गरियो भने पनि, तिनीहरूले त्यो स्विकार्दैनन्, र वचनहरू मात्र खेर जानेछन्। अझ भन्‍ने हो भने, तिनीहरूले गरेका कुराहरूबारे बोल्नु वाकवाकलाग्दो हुनेछ र त्यसले गर्दा मानिसहरू भित्रभित्रै रिसाउनेछन्। यी झुटा अगुवाहरूलाई यस्तो महत्त्वपूर्ण काममा खटाउनु मानिसहरूको प्रयोगमा भएको गल्ती थियो। आफ्नो काम गर्न असक्षम हुँदा त्यसले नै तिनीहरूलाई निकम्मा महसुस गराउँछ, र यदि तिनीहरूलाई खुलासा र चिरफार गरियो भने, तिनीहरूलाई झन् बढी सन्ताप हुनेछ। त्यसैले यी झुटा अगुवाहरूलाई सक्दो रूपमा आफूलाई दाँज्न र आफ्ना समस्याहरूलाई जाँच्न दे। यदि तैँले आफ्ना समस्याहरू पत्ता लगाउन सक्छस् भने, भविष्यमा सुधार गर्न सकिन्छ कि सकिँदैन, त्यो हेर्; यदि तैँले ती समस्या पत्ता लगाउन सक्दैनस् भने, तैँले जाँच जारी राख्नुपर्छ, र तैँले तिनलाई विश्‍लेषण गर्न र ठिक पार्न आफू वरपरका मानिसहरूलाई पनि मद्दत माग्न सक्छस्। यदि अरूले तँसँग सङ्गति गरेका छन् र तैँले त्यसमा आफ्नो हृदय लगाएको छस्, तर तैँले अझै आफ्ना समस्याहरू पत्ता लगाउन सकेको छैनस्, र तिनलाई कसरी पहिचान र समाधान गर्ने भनी जानेको छैनस् भने, तँ साँच्चै झुटो अगुवा होस् र तँलाई हटाइनुपर्छ।

मार्च ६, २०२१

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्