अगुवा र कामदारहरूका जिम्मेवारीहरू (६) खण्ड दुई
अलिक अपर्याप्त बौद्धिकता भएका मानिसहरूको कुरा गर्नुपर्दा, तिनीहरूमा पनि आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने तत्परता हुन्छ र तिनीहरू पनि परमेश्वरको घरका हितहरूको रक्षा गर्न चाहन्छन्, तर तिनीहरूमा बुद्धि हुँदैन, तिनीहरू सिद्धान्तहरूअनुसार कार्य गर्न जान्दैनन्, र तिनीहरूले कुनै पनि मामला छर्लङ्ग देख्न सक्दैनन्। कुनै न कुनै बेला, तिनीहरूले परीक्षा सामना गर्छन् र तिनीहरू त्यसमा फस्छन्, र फलस्वरूप, तिनीहरूले मण्डलीका हितहरूलाई विश्वासघात गर्छन्, दाजुभाइ-दिदीबहिनीहरूलाई विश्वासघात गर्छन्, र परमेश्वरको घरको काममा हानि पुऱ्याउँछन्। हामीले यस्ता प्रकारका पटमूर्ख र अपर्याप्त बौद्धिकता भएका मानिसहरूलाई कसरी निराकरण र व्यवहार गर्नुपर्छ? जब त्यस्ता आत्मिक बुझाइ नभएका र अपर्याप्त बौद्धिकता भएका मूर्खहरूको कुरा आउँछ, ती हरेकलाई बर्खास्त गर्नुपर्छ र तिनीहरूको कर्तव्य खटनपटन समायोजित गरिनुपर्छ, र ती एउटैलाई पनि प्रयोग गर्नु हुँदैन। यदि त्यस्ता मानिसहरूलाई प्रयोग गरियो भने, तिनीहरूले कुनै पनि बेला परमेश्वरको घरका काममा समस्या ल्याउन सक्छन्—यस्ता पाठहरू अत्यन्तै धेरै छन्। अचेल, बाहिरी रूपमा केही मानव रूप भएका मानिसहरू धेरै हुन्छन्, तर तिनीहरूले कुनै पनि सत्यता वास्तविकता सङ्गति गर्न सक्दैनन्। तिनीहरूले धेरै वर्ष परमेश्वरमा विश्वास गरेका हुन्छन् तैपनि तिनीहरू यही स्थितिमै रहिरहन्छन्। यो समस्याको जडलाई स्पष्ट रूपमा हेर्नुपर्छ; यो अत्यन्तै कमजोर क्षमता र आत्मिक बुझाइको अभाव रहेको समस्या हो। यस्ता मानिसहरूले चाहे जति धेरै वर्ष परमेश्वरमा विश्वास गरेका भए पनि तिनीहरू परिवर्तन हुनेछैनन्, र तिनीहरूले त्यतिका धेरै प्रवचन सुनेका बाबजुद कुनै उल्लेखनीय प्रगति गरेका हुँदैनन्। तिनीहरूलाई त छेउमा राखेर जेजति थोरै भए पनि सेवा प्रदान गराउन मात्र सकिन्छ। के यो तिनीहरूसँग व्यवहार गर्ने राम्रो तरिका हो कि होइन र? (यो राम्रो तरिका हो।) अपर्याप्त बौद्धिकता भएका र सबलता नभएका कति मानिसहरूले परमेश्वरका वचनहरू कैयौँ वर्ष पढे पनि ती पटक्कै बुझ्न सक्दैनन्, र कैयौँ वर्ष प्रवचनहरू सुनेका भए पनि ती बुझ्न सक्दैनन्। के यस्ता मानिसहरूलाई अझै परमेश्वरका वचनका पुस्तकहरू प्रदान गर्नु उपयोगी नै हुन्छ त? (अहँ, हुँदैन।) परमेश्वरका वचनका पुस्तकहरू अपर्याप्त बौद्धिकता भएका मानिसहरूलाई प्रदान गर्नु हुँदैन, किनभने त्यसो गर्नु अत्यन्तै व्यर्थ छ र त्यो खेर फाल्नुसरह हो, र तिनीहरूलाई प्रदान गरिएको कुनै पनि पुस्तक तुरुन्तै फिर्ता लिइनुपर्छ। यो तिनीहरूलाई परमेश्वरका वचनहरू पढ्ने अधिकारबाट वञ्चित गर्नलाई होइन, बरु तिनीहरूको बौद्धिकता नपुग्ने भएकोले हो। त्यस्ता मानिसहरूले मण्डली जीवन जिए पनि सत्यता बुझ्न सक्दैनन्, कर्तव्य पूरा गर्न सक्ने त कुरै छाडौँ। त्यस्ता मानिसहरू रद्दी हुन्, होइन र? तिमीहरूले रद्दीलाई सम्हाल्ने तरिका थाहा पाउनुपर्छ। कति मानिसहरू बाहिर निकै निष्कपट देखिन्छन्, तर तिनीहरूको बौद्धिकता यति खराब हुन्छ कि तिनीहरूले कुनै पनि शारीरिक कार्यसमेत राम्ररी पूरा गर्न सक्दैनन्, र तिनीहरू जे काम गर्छन्, त्यसलाई बिगारिदिन्छन्। यदि तिनीहरूलाई कुनै काम गर्न भनियो भने, तिनीहरूले निश्चय नै केही न केही क्षति गर्नेछन्, त्यसैले यस्ता मानिसहरूलाई प्रयोग गर्न मिल्दैन। यदि तैँले तिनीहरूलाई एक बाल्टिन पानी उचाल्न भनिस् भने, तिनीहरूले एक बोतल तेल पोखाउनेछन्। यदि तैँले तिनीहरूलाई एउटा कचौरा धुन भनिस् भने, तिनीहरूले एउटा थाल फुटाउनेछन्। यदि तैँले तिनीहरूलाई खाना पकाउन भनिस् भने, तिनीहरूले कि त अति धेरै कि त अति थोरै खाना पकाउनेछन्, अथवा त्यो कि त अति नुनिलो कि त अति खल्लो हुनेछ। तिनीहरूले मन लगाएरै त्यो काम गर्छन्, तर तिनीहरूले जति प्रयास गर्दा पनि त्यो काम राम्ररी गर्न सक्दैनन्, साथै तिनीहरूले शारीरिक श्रमका कार्यसमेत राम्ररी गर्दैनन्। के त्यस्ता मानिसहरूलाई प्रयोग गर्न सकिन्छ? (सकिँदैन।) त्यसोभए, यदि तिनीहरूलाई प्रयोग गर्न सकिँदैन भने, तिनीहरूलाई के गराउनुपर्छ? के त्यसको अर्थ तिनीहरूलाई परमेश्वरमा विश्वास गर्ने अनुमति छैन र परमेश्वरको घरले तिनीहरूलाई चाहँदैन भन्ने हो? अहँ, होइन। तिनीहरूलाई कर्तव्य निभाउन मात्र नदे। यदि तिनीहरूले सामान्य मानव जीवनको दायराभित्र हुने—सामान्य सुझबुझका कामकुरा र दैनिक जीवनका दिनचर्याका मामलाहरूलगायतका कुराहरू राम्ररी गर्दैनन् भने—वा तिनीहरू यी कामकुरा गर्न असक्षम छन् भने, तिनीहरू परमेश्वरका घरमा कर्तव्य निभाउन योग्य हुँदैनन्।
कति मानिसहरूसँग असल मानवता वा कुनै विशेष प्रतिभाहरू नहुने, र तिनीहरूलाई अगुवा बन्नका लागि संवर्धन गर्न झनै नसकिने भए पनि, तिनीहरूले अझै केही शारीरिक कार्यहरू गर्न सक्छन्। उदाहरणका लागि, कुखुरा र हाँसलाई चारो खुवाउनु, सुँगुरलाई चारो खुवाउनु, र भेडाको रेखदेख गर्नु तिनीहरूले राम्ररी गर्न सक्ने कार्यहरू हुन्। यदि तैँले तिनीहरूलाई सामान्य कार्य दिइस् भने, तिनीहरूले त्यसमा आफ्नो हृदय लगाउन्जेल त्यो कार्य राम्रोसँग गर्न सक्नेछन्, तसर्थ त्यस्ता मानिसहरूले परमेश्वरका घरमा कर्तव्य निर्वाह गर्न सक्छन्। त्यो एउटै सरल कार्य भए पनि, तिनीहरूले त्यसमा आफ्नो हृदय लगाउन र जिम्मेवारी पूरा गर्न सक्छन्, र तिनीहरूले परमेश्वरका वचनहरू र सत्यता सिद्धान्तहरूअनुसार आफूमाथि मागहरू राख्न पनि सक्छन्। चाहे कार्य ठुलो होस् वा सानो, अथवा काम महत्त्वपूर्ण होस् वा महत्त्वहीन, अन्ततः तिनीहरूले आफूलाई दिइएको एउटा काम त राम्ररी नै गर्न सक्छन्। तिनीहरूले कुखुरालाई सामान्य रूपमा अण्डा पार्ने गरी राम्रोसँग चारो खुवाउन सक्ने मात्र नभई ब्वाँसोले लानबाट पनि बचाउन सक्छन्। यदि ब्वाँसो कराएको सुनिएमा, तिनीहरूले तुरुन्तै आफ्नो सुपरिवेक्षकलाई भन्नेछन्, र परमेश्वरको घरले तिनीहरूलाई सुम्पेको कार्य र दायित्व निर्वाह गर्दा हुनसक्ने कुनै पनि दुर्घटनाबाट जोगिन लागिपर्नेछन्। यदि तिनीहरूले यसरी काम गर्छन् भने तिनीहरू तुलनात्मक रूपमा समर्पित नै हुन्छन्, र यसलाई आफ्नो जिम्मेवारी पूरा गर्न सकेको र काम राम्ररी गर्न सकेको मानिन्छ। बाँकी रहेको कुरामा—तिनीहरूको व्यक्तिगत जीवन, र तिनीहरूले कसरी व्यवहार गर्छन् र कामकुरा कसरी सम्हाल्छन् भन्ने कुरामा—तिनीहरू अलिक पछि पर्छन्; उदाहरणका लागि, तिनीहरूलाई अरूसँग कसरी अन्तरक्रिया वा कुराकानी गर्ने, वा अरूसँग आफ्नो स्थितिबारे कसरी सङ्गति गर्ने भन्ने थाहा हुँदैन, र तिनीहरू कहिलेकाहीँ मुरमुरिन्छन्। के यसलाई समस्या मानिन्छ? के तिनीहरूलाई यी समस्याकै कारण प्रयोग नगर्नु ठिक हो? (अहँ, होइन।) कति मानिसहरूको व्यक्तिगत सरसफाइ कमजोर हुन्छ; तिनीहरूले कम्तीमा १० दिनसम्म आफ्नो कपाल धुँदैनन् र तिनीहरू सामान्यतया गन्हाउँछन्। कति अरूचाहिँ, आफू वरपरका मानिसहरू विश्राम गरिरहँदा, खाँदैपिउँदै चर्को होहल्ला गर्छन्, र अरूबेला पनि हल्ला नै गर्छन्, जस्तै हिँड्दा, ढोका लाउँदा, र बोल्दा—तिनीहरू अशिक्षित हुन्छन् र तिनीहरूमा कुनै शिष्टता हुँदैन। त्यस्ता मानिसहरूलाई कस्तो व्यवहार गर्नुपर्छ? सबैजनाले बुझ्नुपर्छ, तिनीहरूलाई प्रेमिलो हृदयले सहयोग र साथ दिनुपर्छ, सामान्य मानवता के हो भन्नेबारे तिनीहरूसँग सङ्गति गर्नुपर्छ, र तिनीहरूलाई अलिअलि गर्दै परिवर्तन हुन दिनुपर्छ। तिमीहरू सबैजना सँगै भएकाले, तिमीहरूले मिलेर अघि बढ्न सिक्नुपर्छ। त्यस्ता मानिसहरूले आफ्नो कार्य उचित रूपमा गर्न, र कार्य वहन गर्न सकुन्जेल, र बाधा र अवरोध पुग्ने कुनै कुरा नगरुन्जेल तिनीहरूलाई प्रयोग गर्न सकिन्छ। कति मानिसहरू चलाख हुन्छन्, तिनीहरूसँग राम्रो क्षमता हुन्छ, र तिनीहरू लगनका साथ काम गर्छन्, साथै तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गर्न र अह्राइएको कार्य राम्ररी गर्न सक्छन्, त्यसैले तिनीहरूलाई संवर्धन र प्रयोग गर्न सकिन्छ। तर कति मानिसहरू अत्यन्तै कमजोर क्षमताका हुन्छन् र तिनीहरूले एउटा कार्यसमेत राम्ररी गर्न सक्दैनन्; तिनीहरूले कुखुरालाई चारो खुवाउने कार्य मात्र बल्लतल्ल सम्हाल्न सक्छन्, तर यदि तिनीहरूले हाँस र बतकलाई पनि चारो खुवाउनुपऱ्यो भने, तिनीहरू आत्तिनेछन् र तिनीहरूले त्यो काम गर्न जान्नेछैनन्। तिनीहरूले त्यो राम्ररी गर्न नचाहने होइन, बरु तिनीहरूको क्षमता नै अत्यन्तै कमजोर हुन्छ। तिनीहरूको दिमागको आफ्नै सीमा हुन्छ, तिनीहरूले एउटा मात्र कार्य गर्न जानेका हुन्छन्, र यदि तिनीहरूलाई अर्को एउटा कार्य गर्न दिइयो भने, तिनीहरूले त्यसलाई सम्हाल्नै सक्दैनन्। तिनीहरूलाई कसरी योजना गर्ने भन्ने नै थाहा हुँदैन, त्यसैले तिनीहरूले काम सबै भद्रगोल पार्छन्। त्यस्ता मानिसहरू एक समयमा एउटा कार्य गर्न मात्र योग्य हुन्छन्। तिनीहरूलाई धेरै कार्यहरू नदे, किनभने तिनीहरू ती वहन गर्न असक्षम हुन्छन्। तिनीहरूले एउटा कार्य राम्ररी गर्न सक्छन् भने निश्चय नै दुई-तीनवटा कार्य पनि गर्न सक्छन् भन्ने नसोच्; त्यस्तै नै हुन्छ भन्ने छैन, र यो तिनीहरूको क्षमतामा निर्भर हुन्छ। सुरुमा तिनीहरूलाई दुइटा कार्य गर्ने प्रयास गर्न दे। यदि तिनीहरूको क्षमता राम्रो छ र तिनीहरूले त्यो वहन गर्न सक्छन् भने, त्यसपछि तैँले तिनीहरूका लागि त्यस्तै प्रबन्ध गर्न सक्छस्। यदि तिनीहरूले सँगसँगै दुइटा कार्य राम्ररी गर्न सक्दैनन्, र काम अस्तव्यस्त पारिदिन्छन् भने, त्यसको अर्थ त्यो तिनीहरूको क्षमताभन्दा बाहिर छ भन्ने हुन्छ, त्यसैले तैँले तिनीहरूको दोस्रो कार्य तुरुन्तै फिर्ता लिनुपर्छ। किनभने अवलोकन र परीक्षणमार्फत तैँले तिनीहरू एक समयमा विविध जटिल कार्यहरूभन्दा एउटा कार्य गर्न मात्र योग्य छन्, र तिनीहरूसँग यसो गर्ने क्षमता छैन भन्ने पत्ता लगाइसकेको छस्। कति मानिसहरू तुलनात्मक रूपमा चलाख र राम्रो क्षमताका हुन्छन्, र यदि तैँले तिनीहरूलाई धेरै कार्यहरू गर्न दिइस् भने, तिनीहरूले ती राम्ररी गर्न सक्छन्। उदाहरणका लागि, यदि तैँले तिनीहरूलाई खाना पकाउन, चल्लालाई खुवाउन, अनि तरकारी बारी सम्हाल्न भनिस् भने, तिनीहरूले हरेक दिन समयमै खाना तयार गर्न सक्छन्, फुर्सदको समयमा तरकारी बारी सम्हाल्न सक्छन्, समयमै मलजल गर्न र झार उखेल्न सक्छन्, र चल्लालाई समयमै खुवाउन सक्छन्। कति मानिसहरूले भन्न सक्छन्, “तिनीहरूसँग यो क्षमता भएकोले, तिनीहरूलाई नै मण्डलीको कामको जिम्मेवारी लिन र मण्डली अगुवा बन्न दिनुस्।” के त्यो ठिक हुनेछ? तिनीहरू केही शारीरिक काम र दैनिक कार्यहरू वहन गर्न सक्षम भए पनि, मण्डली अगुवा बन्नका लागि छुट्टै मूल्याङ्कन गर्नुपर्ने हुन्छ; त्यो तिनीहरूले यी सरल बाहिरी कार्यहरू गरेको आधारमा मापन गर्न सकिने कुरा होइन। किनभने मण्डली अगुवा हुनु भनेको शारीरिक कार्य होइन, त्यसलाई त अगुवाइका सिद्धान्तहरूद्वारा नै मापन गर्नुपर्छ। तर, यदि यो व्यक्तिसँग मण्डली अगुवा बन्ने क्षमता र प्रतिभा छ, र उसको मानवता राम्रै छ भने, तैँले उसलाई बाहिरी कार्यहरूमा खटाउनु अनुचित हुन्छ; त्यसलाई मानिसहरूलाई अनुचित रूपमा प्रयोग गरेको भनिन्छ। बढीमा, मण्डली अगुवाहरूले दैनिक जीवनसँग सम्बन्धित थप एउटा अंशकालिक कार्य गर्न सक्छन्, र आफू व्यस्त नहुँदा यसमा अलिकति बढी चासो राख्न सक्छन्—यसले तिनीहरूलाई थकित बनाउनेछैन। जब मामुली, दैनिक मामलाहरू र यी शारीरिक कार्यहरूको कुरा आउँछ, मानिसहरूले सकेजति गरे हुन्छ। के ती सबै वहन गर्न सक्ने कोही छ? के त्यस्तो क्षमता भएको कोही छ? (छैन।) उसको क्षमता र सक्षमता पर्याप्त हुन सक्छ, तर ऊसँग एउटा कुरा पर्याप्त हुनेछैन, र त्यो हो, ऊर्जा। मानिसहरू मरणशील हुन्छन्, तिनीहरूको ऊर्जा सीमित हुन्छ, र तिनीहरूले जिम्मा लिन सक्ने कार्यहरूको सङ्ख्या पनि सीमित हुन्छ। धेरै ऊर्जा भएका मानिसहरूले दिनमा १२ घण्टा काम गर्न सक्लान्, जबकि औसत ऊर्जा भएका मानिसहरूले सामान्यतया आठ घण्टा काम गर्न सक्छन्, र कम ऊर्जा भएका मानिसहरूले त चारपाँच घण्टा मात्र काम गर्न सक्छन्। त्यसकारण, तैँले कुनै व्यक्तिलाई चाहे शारीरिक कार्य गर्न प्रयोग गर्, मण्डली अगुवाइको काममा प्रयोग गर्, वा पेसागत सीप सम्बन्धी काममा प्रयोग गर्, तैँले ऊ केका लागि सबैभन्दा उपयुक्त छ भनेर ख्याल गर्नुपर्छ, र उसलाई सबैभन्दा उपयुक्त काममा खटाएपछि, यदि उसले त्यो गर्न सकेन भने, उसलाई कुनै अर्को काममा खटाउनुपर्छ। यदि ऊ जे गर्नका लागि सबैभन्दा उपयुक्त छ, त्यसअनुसार तैँले उसलाई काम अह्राइनस् भने, मानिसहरूलाई प्रयोग गर्ने तेरो तरिका नै गलत छ। प्रवर्द्धन, संवर्धन, र प्रयोगका लागि प्राथमिकतामा पर्न नसक्ने मानिसहरूलाई शारीरिक कार्यहरू गराउँदा पनि तिनीहरूलाई क्षमता र सक्षमताका आधारमा नै यी कार्यहरूमा खटाइनुपर्छ। यदि तिनीहरूले एउटा अह्राइएको काम राम्ररी गरिरहेकै समयमा अझै अरू कार्यहरू गर्न सक्छन् भने, तिनीहरूलाई अल्पकालीन रूपमा थोरै अरू शारीरिक कार्यहरू गराउन सकिन्छ, तर त्यसले तिनीहरूको मुख्य काममा असर पार्नु हुँदैन। कति मानिसहरू शारीरिक रूपमा बलवान् हुन्छन् र लगालग तिन्टा काम गर्न सक्छन्; एउटा काम सकाएपछि तिनीहरूसँग अझै ऊर्जा बाँकी हुन्छ, र तिनीहरू धेरैजसो समय फुर्सदमै नै हुन्छन्। तर झुटा अगुवाहरू अन्धा हुन्छन् र तिनीहरूलाई कामको खटनपटन गर्न आउँदैन, र तिनीहरूले यो समस्या हो भनेर महसुस गरेका हुँदैनन्, त्यसैले तिनीहरूले ती मानिसहरूलाई एउटा मात्र कार्य गर्न खटाउँछन्, जुन गल्ती हो।
म भर्खरै कुनै विशेष सीप नभएका र शारीरिक श्रम मात्र गर्न सक्ने अपर्याप्त बौद्धिकता भएका मानिसहरूबारे कुरा गरिरहेको थिएँ। कतिपय त्यस्ता मानिसहरू पनि हुन्छन् जसले कुनै रोगका कारण शारीरिक श्रमसमेत गर्न सक्दैनन्, अनि अलिकति कुनै शारीरिक काम गर्नेबित्तिकै तिनीहरूलाई टाउको दुख्ने, पेट दुख्ने, र ढाड दुख्ने हुन्छ। यदि यस प्रकारका मानिसहरू कर्तव्य निर्वाह गर्न उपयुक्त छन् भने तिनीहरूलाई कर्तव्यमा खटाउँदा के गर्नुपर्छ? तिनीहरू परमेश्वरका घरमा कुन-कुन कर्तव्य निर्वाह गर्न उपयुक्त छन् भनी निश्चित गर्न तिनीहरूको स्वास्थ्य स्थिति साथसाथै मानवता र क्षमताजस्ता विभिन्न पक्षहरूलाई हेर्नैपर्छ। यदि तिनीहरूको स्वास्थ्य अति खराब छ र तिनीहरूले कुनै कार्य गर्न सक्दैनन्, र केही समय काम गरेपछि नै तिनीहरूले विश्राम गर्नुपर्ने हुन्छ, र कसैले तिनीहरूको ख्याल राख्नुपर्छ भने, यदि तिनीहरूले आफै राम्ररी कर्तव्य पूरा गर्न सक्दैनन् र तिनीहरूको हेरचाह गर्न कोही खटाउनैपर्छ भने, त्यो बिलकुलै सार्थक हुँदैन। त्यस्ता मानिसहरूले कर्तव्य निर्वाह गर्न उचित हुँदैन, त्यसैले तिनीहरूलाई घर गएर निको हुन दे। तैँले चाहे जे गरे पनि, हावाको झोँकाले नै लडाउला झैँ गर्ने गम्भीर बिरामी कसैलाई प्रयोग नगर्। यदि तिनीहरूको स्वास्थ्य अत्यन्तै कमजोर छैन र बस तिनीहरूले गलत खाना खाएमा तिनीहरूको पेट दुख्ने, र दिमाग धेरै चलाएमा तिनीहरूको टाउको दुख्ने मात्र हो, त्यसैले तिनीहरूले साधारण मानिसहरूभन्दा तीनचार घण्टा कम काम गर्न सक्छन्, वा साधारण व्यक्तिले गर्नेभन्दा आधा काम गर्न सक्छन् भने, त्यस्ता मानिसहरूले अरू मापदण्डहरू पूरा गरेसम्म तिनीहरूलाई अझै प्रयोग गर्न सकिन्छ। तर यदि तिनीहरूले आफै कुरा उठाएर “मेरो स्वास्थ्य यो कठिनाइ सहनका लागि अत्यन्तै कमजोर छ। म निको हुन घर जान चाहन्छु। म निको भएपछि फर्केर आउनेछु र आफ्नो कर्तव्य पूरा गर्नेछु” भनेर भनेमा, ढिलाइ नगरी सहमति जना र तिनीहरूको सोच्ने तरिकाबारे तिनीहरूलाई परामर्श दिने प्रयास नगर्; तैँले त्यसो गरे पनि त्यसले कुनै नतिजा दिनेछैन। एउटा भनाइ नै छ, “मन नलगाई गोरु जोते, खेत बाँझो रहन्छ”; सबैका आस्था, सङ्कल्प, र पछ्याइहरू फरकफरक हुन्छन्। कति मानिसहरूले भन्न सक्छन्: “तिनीहरूले कहिलेकाहीँ असहज र कम ऊर्जावान् महसुस गर्ने मात्र होइन र? मानिसहरूले गलत खानेकुरा खाए भने तिनीहरूलाई असहज हुन सक्छ, तर केही दिनपछि तिनीहरू ठिक हुनेछन्; के तिनीहरू घर गएर निको हुनु आवश्यक छ र? के एक रात मस्त निदाएपछि तिनीहरूलाई टाउको दुख्न र चक्कर लाग्न छोड्नेछैन र? के तिनीहरूले त्यसपछि सामान्य रूपमा काम गर्न सक्नेछैनन् र? के यो त्यस्तो ठूलो कुरा हो र?” यो तेरा लागि ठुलो कुरा नहुन सक्छ, तर कति मानिसहरू आफ्नो देहलाई कति हदसम्म प्रिय ठान्छन् भन्ने सन्दर्भमा अरूभन्दा फरक हुन्छन्, र कति मानिसहरूमा वास्तवमै स्वास्थ्य समस्याहरू हुन्छन्। त्यस्ता अवस्थामा, यदि तिनीहरूले विश्राम गरेर निको हुनका लागि घर फर्कने अनुरोध प्रस्ताव गरेमा, मण्डलीले तुरुन्तै सहमति जनाउनुपर्छ, तिनीहरूमाथि माग थोपर्नु हुँदैन, तिनीहरूका लागि कामकुरा कठिन बनाउनु हुँदैन, र विशेष गरी तिनीहरूलाई तिनीहरूको सोच्ने तरिकाबारे परामर्श दिने प्रयास गर्नु हुँदैन। कति झुटा अगुवाहरूले त यसो भन्दै यस्ता मानिसहरूमाथि निरन्तर काम गर्छन्: “परमेश्वरको काम अहिले कुन हदमा पुगेको छ, हेर। विपत्तिहरू झन्झन् ठूला भइरहेका छन्, चार रक्त चन्द्रहरू देखा परेका छन्, र अहिले महामारी यति व्यापक भएको छ कि गैरविश्वासीहरू बाँच्ने कुनै उपाय नै छैन! तिमी परमेश्वरका घरमा आफ्नो कर्तव्य निर्वाह गरिरहेका छौ र परमेश्वरको अनुग्रहमा रमाइरहेका छौ—तिमी खतराको जोखिममा हुनेछैनौ र तिमीले सत्यता र जीवन पनि प्राप्त गर्न सक्नेछौ—त्यो कति ठुलो आशिष् हो! तिम्रो यो सानो समस्या केही पनि होइन। तिमीले त्यसमाथि विजय प्राप्त गरेर परमेश्वरलाई प्रार्थना गर्नुपर्छ। परमेश्वरले तिमीलाई पक्कै निको पार्नुहुनेछ। बस परमेश्वरका वचनहरू पढ्यौ, र अझै केही भजनहरू सिक्यौ भने, तिमीले आफ्नो रोगलाई दिमागमा नराखेको खण्डमा, त्यो स्वतः निको हुनेछ। के परमेश्वरका वचनहरूले, ‘बिमारबारे मात्र सोचेर बस्नु भनेको बिरामी हुनु हो’ भन्दैनन् र? तिमी अहिले बिमारबारे मात्र सोचिरहेका छौ। यदि तिमीले बिरामी हुनेबारे सोचिरह्यौ भने त्यो बिमारले गम्भीर रूप लिनेछ। यदि तिमीले त्यसबारे सोचेनौ भने तिम्रो रोग हराउनेछ, होइन र? त्यसरी, तिम्रो आस्था बढ्नेछ र तिमी आराम गर्न घर जान चाहनेछैनौ। तिमी आराम गर्न घर जानु भनेको देहसुखको लालच गर्नु हो।” तिनीहरूको सोच्ने तरिकाबारे तिनीहरूलाई परामर्श गर्न नखोज्, त्यसो गर्नु मूर्खता हो। तिनीहरू थोरै क्षणिक असहजतामा पनि टिक्न सक्दैनन् र आराम गर्न घर जान मात्र चाहन्छन्, र सानो कठिनाइ पनि पार गर्न सक्दैनन्, तिनीहरू सच्चा रूपमा आफ्नो कर्तव्य निर्वाह गरिरहेका छैनन् भन्ने प्रमाणित गर्छ। वास्तवमा, यस प्रकारका मानिसहरूसँग लामो समय कर्तव्य निर्वाह गर्ने कुनै अभिप्राय हुँदैन, तिनीहरूले कुनै सच्चाइका साथ कर्तव्य निर्वाह गर्दैनन्, तिनीहरू मूल्य चुकाउन अनिच्छुक हुन्छन्, र अहिले तिनीहरूले बल्ल पूर्ण रूपमा उम्कने एउटा अवसर र बहाना भेट्टाएका हुन्छन्। हृदयमा, तिनीहरू आफू अति बाठो भएको र यो बिमार एकदम ठिक समयमा आएको भनेर रमाइरहेका हुन्छन्। त्यसैले तैँले चाहे जेसुकै गर्, तर तिनीहरूलाई बस्न अनुरोध नगर्। तिनीहरूलाई बस्न अनुरोध गर्ने जोकसैलाई तिनीहरूले घृणा गर्नेछन् र तिनीहरूको सोच्ने तरिकाबारे परामर्श दिन खोज्नेलाई तिनीहरूले सराप्नेछन्। के तैँले यो बुझ्दैनस्? अवश्य नै, कति मानिसहरू त साँच्चै बिरामी हुन्छन्, र लामो समयदेखि बिरामी रहेका हुन्छन्, र अझै धेरै लागिरहे तिनीहरूको जीवन खतरामा हुनेछ भन्ने डर मान्छन्। तिनीहरू परमेश्वरका घरमा कुनै समस्या ल्याउन, वा अरू मानिसहरूको कर्तव्य निर्वाहमा असर पार्न चाहँदैनन्। तिनीहरू एकपटक आफ्नो स्वास्थ्य बिग्रेपछि आफ्नो हेरचाहका लागि दाजुभाइ-दिदीबहिनीहरूको भर पर्नुपर्नेछ भन्ने महसुस गर्छन्, र परमेश्वरको घरलाई आफ्नो हेरचाह गराउन तिनीहरूलाई नराम्रो लाग्छ, त्यसैले तिनीहरूले बुद्धिमानीपूर्वक बिदा माग्ने पहल गर्छन्। यो परिस्थितिलाई कसरी सम्हाल्नुपर्छ? त्यसैगरी, ढिलाइ नगरी तिनीहरूलाई घर गएर आराम गर्न दिएर सम्हाल्नुपर्छ। परमेश्वरको घरलाई समस्यासँग डर हुँदैन, तर यसले मानिसहरूको इच्छाविपरीत तिनीहरूमाथि कामकुरा लाद्न चाहँदैन। त्यसबाहेक, सबै मानिसहरूसँग केही न केही व्यक्तिगत र वास्तविक कठिनाइहरू हुन्छन्। देहमा जिउने मानिसहरू सबै बिरामी हुन्छन्, र देहगत रोग वास्तवमै अस्तित्वमा हुने समस्या हो—हामी तथ्यहरूलाई सम्मान गर्छौँ। कति मानिसहरू गम्भीर अस्वस्थताका कारण साँच्चै आफ्नो कर्तव्य पूरा गर्न असक्षम हुन्छन्, र यदि तिनीहरूलाई परमेश्वरको घरले सुविधा दिनुपर्ने, वा दाजुभाइ-दिदीबहिनीहरूले औषधि वा केही उपचार परामर्श दिनुपर्ने अवस्था छ भने, परमेश्वरको घर यी कुरा प्रदान गर्न खुसी नै हुनेछ। यदि तिनीहरू परमेश्वरको घरलाई असहजतामा पार्न चाहँदैनन् र तिनीहरूसँग आफ्नो रोगको उपचार गर्ने पैसा, उपाय र क्षमता छ भने, त्यो पनि ठिकै हो। सारांशमा, यदि तिनीहरूको स्वास्थ्यले तिनीहरूलाई परमेश्वरका घरमा निरन्तर कर्तव्य निर्वाह गर्न वा परमेश्वरको घरद्वारा निरन्तर संवर्धित हुन दिँदैन भने, तिनीहरूले जायज रूपमा अनुरोध राख्न सक्छन्, र परमेश्वरको घरले त्यसमा तुरुन्तै सहमति जनाउनेछ। कसैले पनि तिनीहरूलाई तिनीहरूको सोच्ने तरिकाबारे परामर्श दिनु हुँदैन, वा मागहरू लाद्नु हुँदैन, किनकि त्यसो गर्नु अनुचित र तर्कविहीन हुनेछ। यस्ता प्रकारका मानिसहरूका लागि गरिएका प्रबन्धहरू यिनै हुन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।