अगुवा र कामदारहरूका जिम्मेवारीहरू (६) खण्ड एक
आज हामी अगुवा र कामदारहरूका जिम्मेवारीहरू र झुटा अगुवाहरूका विभिन्न प्रकटीकरणहरूबारे सङ्गति जारी राख्नेछौँ। यसअघिको भेलामा, हामीले अगुवा र कामदारहरूका जिम्मेवारीको विषयवस्तु छबारे सङ्गति गऱ्यौँ। यो विषयवस्तुको मुख्य कुरा के हो? (विषयवस्तु छ यस्तो छ: “सबै किसिमका योग्य प्रतिभालाई प्रवर्द्धन र संवर्धन गर्ने ताकि सत्यता पछ्याउने सबैले तालिम लिने मौका प्राप्त गर्न सकुन् र जतिसक्दो चाँडो सत्यता वास्तविकतामा प्रवेश गरून्।”) यसअघि, हामीले मुख्यतः परमेश्वरको घरले गर्ने मानिसहरूको प्रवर्द्धन र संवर्धनका सिद्धान्तहरूबारे, अनि परमेश्वरको घरले किन मानिसहरूको प्रवर्द्धन र संवर्धन गर्छ भन्नेबारे सङ्गति गऱ्यौँ। हामीले विभिन्न प्रकारका प्रतिभावान् मानिसहरूको प्रवर्द्धन र संवर्धन गर्ने विषयमा झुटा अगुवाहरूमा रहेका समस्याहरूको पनि चिरफार गऱ्यौँ। त्यसोभए, यी दुई विषयवस्तुहरूभित्र, झुटा अगुवाहरूका मुख्य प्रकटीकरणहरू के-के छन्? हामी किन तिनीहरू झुटा अगुवा हुन् भनेर भन्छौँ? यसमा मुख्यतः दुइटा पक्षहरू छन्। एउटा पक्ष के हो भने, झुटा अगुवाहरूले विभिन्न प्रकारका मानिसहरूको प्रवर्द्धन, संवर्धन र प्रयोग गर्ने सिद्धान्तहरू बुझ्दैनन्, न त तिनीहरूले यी सिद्धान्तहरूको खोजी नै गर्छन्। तिनीहरूलाई अगुवा वा कामदार बन्नका लागि मानिसहरूसँग क्षमताका कुन-कुन पक्ष हुनु महत्त्वपूर्ण हुन्छ वा तिनीहरूले कुन-कुन मापदण्डहरू पुरा गर्नु महत्त्वपूर्ण हुन्छ भन्ने थाहै हुँदैन। परिणामस्वरूप, तिनीहरूले मानिसहरूलाई आफ्नै धारणा र कल्पनाका आधारमा जथाभाबी प्रयोग गर्छन्। अर्को गम्भीर समस्या के हुन्छ भने, यी मानिसहरूलाई प्रवर्द्धन, संवर्धन र प्रयोग गरिसकेपछि, तिनीहरूले तिनीहरूको काम अनुगमन वा निरीक्षण गर्ने गर्दैनन्, न त तिनीहरूले कति राम्ररी काम गरिरहेका छन्, वा तिनीहरूले वास्तविक काम गरिरहेका छन् कि छैनन्, वा तिनीहरू आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्षम छन् कि छैनन्, वा तिनीहरूको चरित्र कस्तो छ, वा यी मानिसहरूले पूरा गरिरहेका कर्तव्यहरू तिनीहरूका लागि उपयुक्त छन् कि छैनन् भनेर नै पत्ता लगाउँछन्, र तिनीहरूले प्रवर्द्धन, संवर्धन र प्रयोग गर्ने मानिसहरू मानकअनुरूप र सिद्धान्तहरूअनुरूप छन् कि छैनन् भनेर ध्यान दिँदैनन्—तिनीहरूले यी कुराहरूको निरीक्षण कहिल्यै गर्दैनन्। झुटा अगुवाहरूले यो त मानिसहरूको प्रवर्द्धन गर्ने, तिनीहरूका लागि काम प्रबन्ध गर्ने मामला मात्र हो, र योभन्दा बढी अरू केही होइन, अनि त्यसपछि तिनीहरूको जिम्मेवारी पूरा भइहाल्यो भन्ने सोच्छन्। झुटा अगुवाहरूले यसरी नै आफ्नो काम गर्छन्, र तिनीहरूले काम गर्दा तिनीहरूको मनोवृत्ति र दृष्टिकोण पनि यही हुन्छ। त्यसोभए, मानिसहरूको प्रवर्द्धन, संवर्धन र प्रयोग गर्ने सन्दर्भमा, के झुटा अगुवाहरूका यी दुई मुख्य प्रकटीकरणहरूले तिनीहरू आफ्ना जिम्मेवारी पूरा गर्दैनन् र गर्न सक्दैनन् भन्ने प्रमाणित गर्न सक्छन्? (सक्छन्।) झुटा अगुवाहरूले काम निरीक्षण गर्ने वा विभिन्न प्रकारका मानिसहरूलाई अवलोकन गर्ने गर्दैनन्, अनि सत्यता र सिद्धान्तहरूको कुरामा झनै कम ध्यान दिन्छन्, र विभिन्न प्रकारका मानिसहरूका प्रकटीकरण र स्थितिहरूलाई आफूले बुझ्ने सत्यतासँग र परमेश्वरको घरले तोक्ने सिद्धान्तहरूसँग तुलना गर्दैनन्; तिनीहरूले विभिन्न प्रकारका मानिसहरूको मानवता र सबल पक्षहरू परमेश्वरको घरले मानिसहरूलाई प्रयोग गर्नका लागि माग गर्ने सिद्धान्तहरूअनुरूप छन् कि छैनन् भनेर खुट्ट्याउन पनि सक्दैनन्। यी कारणहरूले गर्दा, मानिसहरूको प्रवर्द्धन र प्रयोग गर्ने अनि तिनीहरूका लागि कामको प्रबन्ध गर्ने कुरामा तिनीहरू अत्यन्तै अलमल्ल हुन्छन् र ढङ्ग पुर्याउँदैनन्, र तिनीहरू केवल आफ्ना धारणा र कल्पनाहरूमा आधारित भएर झारा टार्छन् र सतही काम गर्छन्। यस्तो अवस्थामा, यदि झुटा अगुवाहरूलाई विभिन्न प्रकारका मानिसहरूको मानवता र सबल पक्षहरूका आधारमा तिनीहरूलाई समझदारीपूर्वक र उचित रूपमा प्रयोग गर्न भनियो भने, के तिनीहरूले यसो गर्न सक्छन् त? (अहँ, सक्दैनन्।) अहिलेका लागि झुटा अगुवाहरूको क्षमता कस्तो छ भन्ने कुरालाई थाती राखौँ। कामप्रतिको तिनीहरूको मनोवृत्ति र काम गर्ने तिनीहरूको तरिका र विधिहरू, अनि तिनीहरूले वास्तविक काम पटक्कै नगरी साधारण मामलाहरू मात्र सम्हाल्ने र आफूलाई चर्चामा ल्याउने अलिअलि सतही काम मात्र गर्ने, र तिनीहरूले मानिसहरूलाई सत्यता आपूर्ति पटक्कै नगर्ने, र समस्याहरू समाधान गर्नका लागि सत्यता प्रयोग गर्न नजान्ने तथ्यलाई मात्र हेर्दा पनि—झुटा अगुवाहरूले मण्डलीको वास्तविक काम गर्नै सक्दैनन् भनी प्रमाणित गर्न यी कुरा नै पर्याप्त छन्। झुटा अगुवाहरूले वास्तविक काम नगर्ने, वा वास्तविक समस्याहरू समाधान गर्न दाजुभाइ-दिदीबहिनीहरूसँग गहन रूपमा नजोडिने, बरु मै हुँ भन्ने र हुकुम गरिरहने तथ्यका आधारमा मात्र हेर्दा पनि, तिनीहरू परमेश्वरको घरका लागि मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्न मण्डलीको कामका सबै पक्षहरू राम्ररी निर्वाह गर्न असक्षम हुन्छन् भन्ने पुष्टि गर्न सकिन्छ।
विषयवस्तु सात: फरक-फरक किसिमका मानिसहरूलाई तिनीहरूको मानवता र सबल पक्षका आधारमा समझदारीपूर्वक खटनपटन र प्रयोग गर्ने, ताकि हरेकलाई सर्वोत्तम रूपमा प्रयोग गर्न सकियोस् (भाग एक)
विभिन्न प्रकारका मानिसहरूलाई तिनीहरूको मानवताका आधारमा समझदारीपूर्वक प्रयोग गर्ने
विभिन्न प्रकारका मानिसहरूको प्रबन्ध र प्रयोग कसरी गर्ने भन्नेबारे तिमीहरूको बुझाइ के छ? (प्रवर्द्धन र संवर्धन गरिने विभिन्न प्रकारका मानिसहरूका लागि परमेश्वरको घरले फरक-फरक आवश्यक मानकहरू तोकेको हुन्छ, र मानिसहरूलाई प्रवर्द्धन र प्रयोग गर्दा परमेश्वरको घरका सिद्धान्त र मानकहरूअनुसार नै गर्नुपर्छ। यदि केही मानिसहरू अगुवा र कामदार बन्न उपयुक्त छन् भने, तिनीहरूलाई अगुवा, कामदार र सुपरिवेक्षकका रूपमा संवर्धन गरिनुपर्छ; यदि केही मानिसहरूसँग निश्चित विधाका पेसागत सबलताहरू छन् भने, तिनीहरूले पूरा गर्ने कर्तव्य तिनीहरूका पेसागत सबलताअनुसार प्रबन्ध गरिनुपर्छ, ताकि तिनीहरूलाई समझदारीपूर्वक खटनपटन र प्रयोग गरिएको होस्।) कसैलाई केही थप्नु छ? (अर्को कुरा भनेको मानिसहरूलाई तिनीहरूको मानवताका आधारमा मापन गर्नु हो। यदि कसैको मानवता तुलनात्मक रूपमा राम्रो छ, उसले सत्यतालाई प्रेम गर्छ, र उसमा बुझ्ने क्षमता छ भने, ऊ प्रवर्द्धन र संवर्धनको लायक व्यक्ति हो। यदि उसको मानवता औसत छ, तर ऊसँग सबलताहरू छन् र उसले परमेश्वरका घरमा कर्तव्य पूरा गर्न र सेवा प्रदान गर्न सक्छ भने, यस प्रकारको व्यक्तिलाई उसका सबलताका आधारमा उचित कर्तव्यमा खटाउन पनि सकिन्छ, ताकि उसलाई सर्वोत्तम प्रयोग गरियोस्। यदि ऊ अलि खराब मानवता भएको व्यक्ति हो र उसले बाधा र अवरोधहरू पुऱ्याउन सक्छ भने, उसलाई कर्तव्य पूरा गर्न लगाउनु चाहिँदोभन्दा बढी समस्या हुनेछ, त्यसैले उसलाई कर्तव्य पूरा गर्ने प्रबन्ध गर्नु उचित हुँदैन।) यदि मानिसहरूलाई तिनीहरूको मानवताका आधारमा छुट्टाइयो भने, जबसम्म तिनीहरू दुष्ट मानिस होइनन्, बाधा र अवरोध पुऱ्याउँदैनन्, र कर्तव्य पूरा गर्न सक्छन्, तबसम्म तिनीहरू मानिसहरूलाई प्रयोग गर्ने परमेश्वरको घरका सिद्धान्तहरूअनुरूप ठहर्छन्। दुष्ट मानिसहरू र दुष्टात्माहरूबाहेक, प्रयोग गर्न नसकिने अर्को प्रकारका मानिसहरू ती हुन् जोसँग पर्याप्त बौद्धिकता हुँदैन, अर्थात्, जसले केही पनि हासिल गर्दैनन्, जो कुनै पनि कार्य पूरा गर्न, कुनै पनि पेसा सिक्न असक्षम, सरल सामान्य मामलाहरू सम्हाल्न, र शारीरिक श्रमसमेत गर्न सक्दैनन्—अपर्याप्त बौद्धिकता र मानवता भएका मानिसहरूलाई प्रयोग गर्न सकिँदैन। अपर्याप्त बौद्धिकता हुने यो वर्गमा कस्ता-कस्ता मानिसहरू पर्छन्? जसले मानव भाषा बुझ्दैनन्, जसमा विशुद्ध बुझाइ हुँदैन, जो सधैँ कामकुरालाई गलत बुझ्छन्, कामकुरामा गल्ती गर्छन्, र प्रश्नहरूको असान्दर्भिक जबाफ दिन्छन्, र जो पटमूर्ख वा मानसिक रूपमा असक्त मानिसहरूकै प्रकारका छन्—यी सबै अपर्याप्त बौद्धिकता भएका मानिसहरू हुन्। त्यसपछि, अत्यन्तै बेतुके मानिसहरू पनि छन्, जो हरप्रकारका कुरालाई सामान्य मानिसले भन्दा फरक रूपमा बुझ्छन्—तिनीहरूमा पनि बौद्धिकताको समस्या हुन्छ। के अपर्याप्त बौद्धिकतामा कुनै पनि कुरा सिक्न असक्षम हुने कुरा पनि समावेश हुन्छ? (हो, हुन्छ।) त्यसोभए लेखहरू लेख्न सिक्न असक्षम हुनुलाई अपर्याप्त बौद्धिकता भएको मानिन्छ? (अहँ, मानिँदैन।) यस्ता खालका मानिसहरू त्यसमा पर्दैनन्। उदाहरणका लागि, गाउन र नाच्न सिक्ने, कम्प्युटर सीप सिक्ने, वा विदेशी भाषा सिक्ने कुरालाई लिऊँ; यी कुराहरू सिक्न असक्षम हुनुलाई अपर्याप्त बौद्धिकता भएको मानिँदैन। त्यसोभए, कस्ता प्रकारका कुरा सिक्ने असक्षमताले अपर्याप्त बौद्धिकतालाई सङ्केत गर्छ? उदाहरणका लागि, कतिपय मानिसहरूमा अलिअलि ज्ञान हुन्छ, तर तिनीहरू अरूसँग कुराकानी गर्दा आफ्नो भाषालाई कसरी सुव्यवस्थित गर्ने भनी सिक्न असक्षम हुन्छन्। त्यसोभए के यस प्रकारका मानिसहरूले परमेश्वरमा विश्वास गर्दा सत्यताबारे सङ्गति गर्न, प्रार्थना गर्न, र अरूसँग सामान्य रूपमा अन्तरक्रिया गर्न सक्छन्? (अहँ, सक्दैनन्।) जब तिनीहरूका मनमा कुनै विचार आउँछ वा जब तिनीहरू कुनै स्थितिमा हुन्छन्, र तिनीहरू मानिसहरूसँग त्यसबारे खुलस्त भएर कुराकानी गर्न अनि समाधानको मार्ग खोज्न चाहन्छन्, तब तिनीहरू लगातार कैयौँ दिनसम्म त्यसबारे मनन गर्छन्, र तिनीहरूलाई कहाँबाट सुरु गर्ने र आफ्नो कुरा कसरी व्यक्त गर्ने भन्ने नै थाहा हुँदैन। तिनीहरू बोल्नेबित्तिकै अन्योलमा पर्छन् र अल्मलिँदै बोल्छन्, तिनीहरूको मुखले तिनीहरूको आदेश नमानेजस्तो देखिन्छ, र तिनीहरूका विचारहरू जताततै छरपस्ट हुन्छन्। उदाहरणका लागि, तैँले तिनीहरूलाई, “आज मौसम राम्रो छ, र घाम लागिरहेको छ,” भनेर भनिस् भने, तिनीहरूले यस्तो जबाफ दिनेछन्, “हिजो पानी परेको थियो, र त्यो बाटोमा कार दुर्घटना भएको थियो।” तिनीहरू आफूले कुराकानी गरिरहेको व्यक्तिसँग साझा बुझाइमा हुँदैनन्। के यस्तो प्रकारको व्यक्तिमा अपर्याप्त बौद्धिकता हुन्छ? (हो, हुन्छ।) उदाहरणका लागि, यदि उसको टाउको दुखिरहेको छ र तैँले उसलाई के भयो भनेर सोधिस् भने, उसले उसको हृदयलाई अलि असहज भइरहेको छ भनेर भन्नेछ। यो जबाफ प्रश्नसँग असान्दर्भिक भयो, होइन र? (हजुर, हो।) यो बौद्धिकताको अत्यन्तै कमी हुनु हो। यस्ता प्रकारका धेरै मानिसहरू हुन्छन्। के तिमीहरूले एउटा उदाहरण दिन सक्छौ? (कति मानिसहरू प्रश्नहरूको जबाफ दिँदा जहिले पनि विषयबाहिर जान्छन्, अरू मानिसहरूले तिनीहरूलाई के सोधिरहेका छन् भनेर तिनीहरूले बुझ्नै सक्दैनन्।) कुराकानी गर्दा बारम्बार विषयबाहिर जानु—यो अपर्याप्त बौद्धिकता हो। त्यसपछि यस्ता मानिसहरू पनि हुन्छन् जो कुराकानी गर्दा भित्रका र बाहिरका मानिसहरू छुट्टयाउन सक्दैनन्, र बोल्दा कहिलेकाहीँ थाहै नपाई आफैलाई घात गर्छन्—यो पनि अपर्याप्त बौद्धिकता नै हो। उदाहरणका लागि, कति दाजुभाइ-दिदीबहिनीहरू परिवारमा गैरविश्वासी सदस्यहरूसँग बस्छन्, र तिनीहरूले तिनीहरूलाई यस्तो सोध्छन्, “तिमीहरूको परमेश्वरले तिमीहरूलाई के गर्न भन्नुहुन्छ?” तिनीहरूले यस्तो प्रतिक्रिया दिन्छन्: “हामीले विश्वास गर्ने परमेश्वर निकै असल हुनुहुन्छ। उहाँले हामीलाई इमानदार मानिस बन्न सिकाउनुहुन्छ, हामीलाई कसैसँग झूट बोल्न दिनुहुन्न, र हामीले सबैसँग इमानदारीपूर्वक बोल्न जरुरी छ।” सतही रूपमा, तिनीहरूले परमेश्वरले गर्नुहुने कामको गवाही दिइरहेका, परमेश्वरलाई महिमित तुल्याइरहेका, र सुन्नेहरूलाई विश्वासीहरूको असल छाप पर्ने र भरोसा गर्ने तुल्याइरहेको जस्तै सुनिन्छ, तर के कुरा साँच्चै यही हो त? यो सुनेपछि गैरविश्वासीहरूले के भन्नेछन्? तिनीहरूले यस्तो भन्नेछन्, “तिमीहरूको परमेश्वरले तिमीहरूलाई इमानदार मानिस बन्न भन्नुभएकोले, हामीलाई इमानदारीपूर्वक भन: तिमीहरूको मण्डलीसँग कति पैसा छ? सबैभन्दा बढी भेटी कसले दिन्छ? तिमीहरूको मण्डलीको अगुवा को हो? तिमीहरूको भेलास्थल कति वटा छ?” त्यो सुनेको भए तँ झस्किनेथिस्, होइन र? के यस्ता मानिसहरू बुद्धु हुँदैनन् र? तँ किन दियाबलस र गैरविश्वासीहरूसँग इमानदार व्यक्ति बन्नेबारे कुरा गर्छस्? वास्तवमा, तँ परमेश्वरसामु त्यति इमानदार पनि छैनस्। त्यसैले, के तैँले गैरविश्वासीहरूसँग त्यसबारे त्यति गम्भीर भएर आफैलाई घात गरिरहेको त छैनस्? के यो आफ्नै लागि खाल्डो खनेर पासो थाप्नु होइन र? के तँ मूर्ख होइनस् र? कसैसँग आफ्नो मन खोलेर कुरा गर्दा वा इमानदारीपूर्वक बोल्दा, तैँले तँ कोसँग बोलिरहेको छस् भन्ने कुरालाई ध्यान दिनैपर्छ—यदि त्यो दियाबलस वा शैतान हो भने, के तैँले वास्तवमा के भइरहेको छ भनेर त्यसलाई भन्न मिल्छ त? त्यसैले, यस्ता मानिसहरूको कुरामा, “सर्पहरूझैँ बुद्धिमान् र ढुकुरहरूझैँ अहानिकारक” हुने अभ्यास गर्नु आवश्यक हुन्छ—यो परमेश्वरले मानवजातिलाई दिनुभएको शिक्षा हो। मूर्खहरू यसो गर्न जान्दैनन्। तिनीहरू त प्रावधानमा टाँसिन, र “हामी विश्वासीहरू निकै इमानदार छौँ, हामी कसैलाई छल गर्दैनौँ। हेर त तिमी गैरविश्वासीहरू, तिमीहरू झुटले भरिएका छौ, तर हामी सबै इमानदारीपूर्वक बोल्छौँ” भन्नेजस्ता कुराहरू बोल्न मात्र जान्दछन्। अनि तिनीहरूले इमानदारीपूर्वक बोलिसकेपछि, मानिसहरूसँग तिनीहरूविरुद्ध प्रयोग गर्ने गलचेप हुन्छ। के यो तिनीहरू भित्रका र बाहिरका मानिसहरू छुट्टाउन असफल भइरहेका होइनन् र? के यो दिमाग अलि ठीकसँग नचल्नु होइन र? तिनीहरूले केही धर्मसिद्धान्तहरू बुझ्छन् तर ती कसरी लागु गर्ने भनेर जान्दैनन्। तिनीहरूले केही नाराहरू चिच्याउँछन् र त्यसपछि आफू निकै आत्मिक भएको महसुस गर्छन्, अनि आफूले सत्यता बुझ्ने र आफूसँग सत्यता वास्तविकता भएको ठान्छन्, र तिनीहरू सबैतिर धाक देखाउँछन्, तर अन्त्यमा, शैतान र दियाबलसहरूले यसको फाइदा उठाउँछन् र यसलाई तिनीहरूविरुद्ध प्रयोग गर्छन्। यो अपर्याप्त बौद्धिकता हो।
हामीले भर्खर अपर्याप्त बौद्धिकता भएका केही प्रकारका मानिसहरूबारे कुरा गऱ्यौँ। एउटा प्रकारमा ती पर्छन् जो मानव भाषा बुझ्दैनन्, र अरूका शब्दहरूको चुरो र मुख्य बुँदा बुझ्न र बोध गर्न असफल हुन्छन्; अर्को प्रकारमा मूर्खहरू पर्छन्, जो कुनै पनि कुरा हासिल गर्न असक्षम हुन्छन्, र जे-जसरी कार्य गरे पनि सिद्धान्त वा मुख्य बुँदाहरू बोध गर्न सक्दैनन्; अर्को प्रकार भनेको सबथोकबारे अत्यन्तै पूर्वाग्रही र बेतुके विचार भएकाहरू हुन्। अझै अर्को प्रकार भनेको कुनै पनि कुरा सिक्न नसक्ने, र बोल्न वा कुराकानी गर्न, वा आफ्ना विचार र रायहरू अरूले बुझ्ने गरी स्पष्ट रूपमा व्यक्त गर्नसमेत सिक्न नसक्नेहरू हुन्; तिनीहरू अलिअलि त शिक्षित नै हुन्छन्, तर दिमागमा आफ्नो भाषा मिलाउन, वा स्पष्ट रूपमा बोल्न सक्दैनन्, न त सही दृष्टिकोणहरू व्यक्त गर्न, वा केही कुरा हासिल गर्न नै सक्छन्। यी सबै अपर्याप्त बौद्धिकता भएका मानिसहरू हुन्। चाहे जुनसुकै कला वा सीप सिके पनि, तिनीहरू सिद्धान्त र नियमहरू बोध गर्न निरन्तर असक्षम हुन्छन्। तिनीहरूले कहिलेकाहीँ कुनै कला वा सीप राम्ररी प्रदर्शन गरे पनि, त्यो संयोगले गर्दा मात्रै भएको हुन्छ; तिनीहरूलाई त्यो राम्रो कसरी भयो भन्ने थाहा हुँदैन। अर्कोपटक त्यो राम्ररी गर्न असफल हुँदा पनि, त्यस्तो किन भयो भनेर तिनीहरूलाई थाहा हुँदैन। तिनीहरू कुनै पनि कुरा सिक्न वा त्यसमा पोख्त बन्न असक्षम हुन्छन्। यदि तिनीहरूलाई कुनै कला वा प्राविधिक सीप सिक्न भनियो भने, तिनीहरूले चाहे जतिसुकै समय लगाएर त्यो सिके पनि त्यसको सिद्धान्त मात्र बुझ्नेछन्। तिनीहरूले कैयौँ वर्षदेखि प्रवचनहरू सुनेका हुन्छन् तर सत्यता बुझेका हुँदैनन्। यदि तिनीहरूलाई परमेश्वरको घरले बारम्बार सङ्गति गर्ने यी वचन र निश्चित कथनहरूलाई लिएर, तिनलाई अभ्यासका सिद्धान्त र मार्गमा परिणत गर्न भनियो भने, तिनीहरूले मरून्जेल काम गरे पनि, र तिनीहरूलाई जतिसुकै सिकाए पनि, तिनीहरू त्यसो गर्न असक्षम नै हुनेछन्। यसले यी मानिसहरूमा अपर्याप्त बौद्धिकता हुन्छ भन्ने पुष्टि गर्छ। कति मानिसहरूले त ५०-६० वर्षका उमेरमा पनि, ठ्याक्कै तिनीहरूले ३० वर्षको हुँदा हासिल गरेका नतिजा मात्र हासिल गर्छन्, तिनीहरूले बिलकुलै प्रगति गरेका हुँदैनन्। तिनीहरूले आफ्नो जीवनकालमा एउटा कुरा पनि सफलतापूर्वक सिकेका हुँदैनन्। तिनीहरूले समय खेर फालेका हुँदैनन्, तिनीहरू अत्यन्तै ध्यान दिन्छन् र मेहनत गर्छन्, तर केही पनि सिक्न सफल भएका हुँदैनन्; यसले तिनीहरूमा अपर्याप्त बौद्धिकता छ भन्ने देखाउँछ। हामीले गरेको सङ्गतिका आधारमा हेर्दा, जे कुरालाई अपर्याप्त बौद्धिकता मानिन्छ, त्यसको दायरा फराकिलो भएको छ, होइन र? के तिमीहरू आफूलाई अपर्याप्त बौद्धिकता भएको ठान्छौ? (हजुर।) अलिअलि ठान्छौ, धेरथोर मात्रामा। म किन त्यसो भन्दै छु? धेरैजसो मानिसहरूले पाँच वर्ष प्रवचन सुनेका हुन्छन्, तर तिनीहरूले अझै पनि सत्यता के हो, वा परमेश्वरका अभिप्रायहरू के-के हुन् भनेर बुझ्दैनन्; र कति मानिसहरूले त १० वर्ष, वा २०-३० वर्ष प्रवचन सुनेका हुन्छन् तर अझै पनि सत्यता वास्तविकता के हो र शब्द र धर्मसिद्धान्तहरू के हुन् भनेर बुझ्दैनन्, तिनीहरूका मुख धर्मसिद्धान्तहरूले भरिएका हुन्छन्, र तिनीहरूले ती धर्मसिद्धान्तहरू उत्कृष्ट रूपमा फलाक्छन्—यो तिनीहरूको बौद्धिकताको समस्या हो। अहिलेका लागि सत्यताको बुझाइलाई थाती राखेर, मानिसहरूले मानव जीवनमा केही बाहिरी कामकुराहरूप्रति र सामान्य समझका मामलाहरूप्रति निम्न प्रकटीकरणहरू प्रदर्शन गर्छन् भनेर मात्र भनौँ; तिनीहरूले कुनै कार्य चाहे जति नै लामो समयदेखि गर्दै आएका भए पनि, तिनीहरूको परिस्थिति, स्थिति र बुझाइ तिनीहरूले त्यो सिक्न सुरु गर्ने बेलाको जस्तै रहन्छ, र तिनीहरूलाई चाहे जति नै मार्गदर्शन गरे पनि, चाहे जति नै सिकाए पनि, वा तिनीहरूले जे-जसरी अभ्यास गरे पनि, तिनीहरूले अझै कुनै प्रगति गर्दैनन्। यो अपर्याप्त बौद्धिकता हो।
मानिसहरूलाई तिनीहरूसँग मानवता छ कि छैन भन्ने आधारमा छनोट र प्रयोग गर्नु सिद्धान्तहरूअनुरूप हो; त्यसोभए मलाई भन् त, के हामीले कमजोर मानवता, अपर्याप्त बौद्धिकता, वा दुष्टात्माको काम भएका मानिसहरूलाई संवर्धन र प्रयोग गर्नुपर्छ? त्यो त पटक्कै हुँदैन। मानिसहरूलाई प्रयोग गर्ने परमेश्वरको घरका सिद्धान्तहरूसँग नमिल्ने यी केही प्रकारका मानिसहरूबाहेक, अरू धेरैजसो मानिसहरूलाई तिनीहरूको मानवताका आधारमा समझदारीपूर्वक प्रयोग गर्न सकिन्छ। औसत मानवता भएकाहरू, जसलाई असल वा खराब दुवै भन्न सकिँदैन, तिनीहरू केवल समूहका साधारण सदस्य हुन सक्छन्। जोसँग राम्रै मानवता छ, जो अलिक चेतनशील छन् र जोसँग अलिक विवेक छ, जो सकारात्मक कुराहरूलाई प्रेम गर्छन्, जो निकै सोझा छन्, जसमा इन्साफको बोध छ, र जसले परमेश्वरको घरका हितहरू प्रतिरक्षा गर्न सक्छन्, यी मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्नमा जोड दिन सकिन्छ। तिनीहरूलाई अगुवा वा समूह अगुवाका रूपमा, वा कुनै महत्त्वपूर्ण काम गर्न संवर्धन र प्रयोग गर्ने कि नगर्ने भन्ने कुरा तिनीहरूको क्षमता र सबलतामा निर्भर हुन्छ। यो भनेको विभिन्न प्रकारका मानिसहरूलाई तिनीहरूको मानवताका आधारमा कसरी प्रयोग गर्ने भनेर गरिने मापन हो।
विभिन्न प्रकारका मानिसहरूलाई तिनीहरूका सबलताका आधारमा प्रयोग गर्ने
विभिन्न प्रकारका मानिसहरूलाई तिनीहरूका सबलताका आधारमा कसरी प्रयोग गर्ने भन्नेबारे थप कुराकानी गरौँ। क्षमताको अतिरिक्त, कतिपय मानिसहरूसँग केही पेसागत सीपहरू पनि हुन्छन् जसमा तिनीहरू उत्कृष्ट हुन्छन्। “सबलताहरू” भन्ने शब्दको अर्थ के हो? (कुनै विशिष्ट क्षेत्रमा कुनै सीप हुनु, जस्तै सङ्गीत रचना गर्न, कुनै वाद्यवादन गर्न, वा चित्र कोर्न सक्नु।) सङ्गीत शास्त्र, कला, र नृत्य अनि लेखन पनि—यी सबै सबलताहरू हुन्। अभिनय र निर्देशन गर्नु चलचित्र निर्माणसँग सम्बन्धित सबलता हुन्, अनुवाद भनेको भाषागत सबलता हो, र भिडियो निर्माण र स्पेशल इफ्फेक्टस् पनि विशिष्ट विधा अन्तर्गतका सबलता हुन्। जब हामी सबलताबारे कुरा गर्छौँ, तब हामी मण्डलीको केन्द्रीय कामसँग सम्बन्धित पेसागत सीपहरू जनाइरहेका हुन्छौँ। कति मानिसहरूमा पहिल्यै आधारभूत तहको प्रवीणता हुन्छ, र कति मानिसहरूले परमेश्वरका घरमा आएपछि नै यी कुराहरू अध्ययन गर्छन्। यदि कुनै व्यक्तिमा आधारभूत प्रवीणता छ तर उसको मानवताले मानक पूरा गर्दैन, र ऊ अपर्याप्त बौद्धिकता भएको, दुष्ट व्यक्ति, वा दुष्टात्मा हो भने, उसलाई प्रयोग गर्न सकिन्न। यदि त्यो व्यक्तिको मानवताले मानक पूरा गर्छ र ऊसँग परमेश्वरको घरलाई आवश्यक परेको सबलता छ भने, उसलाई प्रवर्द्धन, संवर्धन र प्रयोग गर्न सकिन्छ, उसलाई उसका सबलताहरू उपयुक्त हुने, वा उसमा भएका पेसागत सीपहरूसँग सम्बन्धित समूहमा खटाउन, र तुरुन्तै काममा लगाउन सकिन्छ। कति मानिसहरूमा अझै पनि पेसागत सबलता हुँदैन, तर तिनीहरू सिक्न इच्छुक हुन्छन्, अनि एकदम चाँडो पनि सिक्छन्। यदि तिनीहरूको मानवताले मानक पूरा गर्छ भने, परमेश्वरको घरले तिनीहरूलाई संवर्धन गर्न र तिनीहरूका लागि सिक्ने परिस्थितिहरू सृजना गर्न सक्छ, र त्यस्ता मानिसहरूलाई प्रयोग पनि गर्न सकिन्छ। सारांशमा भन्नुपर्दा, कर्तव्यको खटनपटन मानिसहरूको क्षमता र सबलताका आधारमा हुन्छ, र सम्भव भएसम्म, विभिन्न सबलता भएका मानिसहरूलाई तिनीहरूको आफ्नै दक्षताका विधामा काम गर्ने प्रबन्ध मिलाउनुपर्छ, ताकि तिनीहरूले यी सबलताहरूलाई राम्ररी प्रयोग गर्न सकुन्। यदि परमेश्वरको घरलाई अबउप्रान्त तिनीहरूका सबलताहरू चाहिएको छैन भने, तिनीहरूलाई, आफ्नो क्षमता र मानवताका आधारमा, तिनीहरूले जे गर्न सक्छन्, त्यही गराउने प्रबन्ध गर्नुपर्छ; यसलाई मानिसहरूलाई समझदारीपूर्वक प्रयोग गरेको भनिन्छ। यदि परमेश्वरको घरलाई तिनीहरूका सबलताहरूको अझै पनि आवश्यकता छ भने, तिनीहरूलाई यही क्षेत्रमा कर्तव्य पूरा गरिरहन दिनुपर्छ, र जथाभाबी स्थानान्तरण गर्नु हुँदैन, तर यो पेसामा अति धेरै मानिसहरूले भएको काम गरिरहेको अवस्थामा, आफ्नो पेसामा सबैभन्दा कम दक्ष रहेका मानिसहरूलाई अरू कर्तव्यहरूमा खटाएर अवस्थाअनुसार मानिसहरूको सङ्ख्या घटाउनुपर्छ; यो मानिसहरूलाई समझदारीपूर्वक प्रयोग गर्नु हो।
एउटा निश्चित प्रकारको व्यक्ति हुन्छ जोसँग कुनै विशेष सीप हुँदैन—उसले थोरै लेखहरू लेख्न सक्छ, उसले गीत गाउँदा सुर समात्न, र कुनै पनि कुरा कसरी गर्ने भनी सिक्न सक्छ, तर ऊ यी कुरामा सर्वश्रेष्ठ हुँदैन। ऊ के कुरामा सर्वश्रेष्ठ हुन्छ त? उसमा अलिकति क्षमता हुन्छ, ऊसँग तुलनात्मक रूपमा इन्साफको बोध हुन्छ, र मानिसहरूलाई कसरी मूल्याङ्कन र प्रयोग गर्ने भन्ने कुरा उसले थोरै जान्न सक्छ। त्यसबाहेक, ऊसँग उल्लेखनीय रूपमा सङ्गठनात्मक सीपहरू हुन्छन्। यदि तैँले त्यस्तो व्यक्तिलाई कुनै कार्य वा काम दिइस् भने, उसले त्यो गर्नलाई मानिसहरू सङ्गठित गर्न सक्छ। साथसाथै ऊसँग काम गर्ने सक्षमता पनि हुन्छ; अर्थात्, यदि तैँले उसलाई कुनै कार्य दिइस् भने, ऊसँग त्यसलाई राम्ररी गर्ने र सक्काउने क्षमता हुन्छ। उसको मनमा योजना हुन्छ, जुन चरणबद्ध र सुसंरचित हुन्छ। मानिसहरूको प्रयोग कसरी गर्ने, समयको बाँडफाँड कसरी गर्ने र यस कार्यका निम्ति कसलाई प्रयोग गर्ने भन्ने कुरा उसलाई थाहा हुन्छ। यदि कुनै समस्या देखा परेमा, कसरी सबैसँग समाधानबारे छलफल गर्ने भन्ने कुरा उसलाई थाहा हुन्छ। उसलाई यी सबै कुराहरूलाई कसरी सन्तुलन र समाधान गर्ने भन्ने कुरा थाहा हुन्छ। यस्तो व्यक्तिसँग काम गर्ने सक्षमता हुने मात्र होइन, उसले तुलनात्मक रूपमा राम्ररी बोल्छ पनि। उसका शब्दहरू स्पष्ट र व्यवस्थित हुन्छन्, र उसले मानिसहरूलाई अलमलमा पार्दैन। जब उसले काम अह्राएको हुन्छ, तब कसले के गर्नुपर्ने हो भन्ने कुरा सबैले स्पष्टसँग बुझ्छन् र थाहा पाउँछन्; कोही पनि निष्क्रिय भई बस्दैन र काममा कुनै भुलचुक हुँदैन। उसले कामका विवरणबारे गरेको व्याख्या पनि तुलनात्मक रूपमा स्पष्ट र व्यवस्थित हुन्छ, अनि विशेष रूपमा जटिल रहेका विषयहरूमा उसले विश्लेषण, सङ्गति प्रदान गर्छ, र विवरणहरू सुचीबद्ध गर्छ ताकि सबैले मामलाहरू बुझून्, काम कसरी गर्ने, र कसरी अघि बढ्ने भनेर थाहा पाउन्। त्यसबाहेक, कार्य गर्ने कुन तरिका त्रुटिपूर्ण हुन सक्छ, काम गर्ने कस्ता विधिहरूले प्रभावकारितामा प्रभाव पार्छन्, मानिसहरूले आफ्नो कामको क्रममा के-के कुराहरूमा ध्यान दिनुपर्छ, आदि इत्यादि कुराहरूमा उसले सङ्गति पनि गर्न सक्छ। भन्नुको मतलब, उसले काम सुरु गर्नुअगाडि अरूले भन्दा बढी सोच्छ—उसले अरूले भन्दा विस्तृत रूपमा, बढी यथार्थपरक ढङ्गले, र बढी वृहत् रूपमा सोच्छ। एक हिसाबमा, ऊसँग दिमाग हुन्छ र अर्को हिसाबमा ऊ कुशल वक्ता हुन्छ। ऊसँग दिमाग छ भन्नुको अर्थ उसले कुनै काम गर्दा व्यवस्थित ढङ्गले, चरणबद्ध रूपमा, योजनाअनुसार र धेरै प्रस्टताका साथ गर्छ। कुशल वक्ता हुनुको अर्थ उसले स्पष्टसँग र बुझिने गरी आफ्नो मनका विचार, योजना र हिसाबकिताब अभिव्यक्त गर्नका लागि भाषा प्रयोग गर्न सक्छ, र उसलाई सरल र संक्षेपमा कसरी बोल्ने ताकि सुन्नेहरू अलमलमा नपरून् भन्ने कुरा थाहा हुन्छ। उसले आफ्नो कुरा स्पष्ट, सही, सत्य र उचित शब्दहरूमा अभिव्यक्त गर्छ। कुशल वक्ता हुनुको अर्थ यही हो। यस्ता मानिसहरू कुशल वक्ता हुन्छन्, तिनीहरूसँग काम गर्ने सक्षमता, सङ्गठनात्मक सीपहरू, र त्यसमाथि, जिम्मेवारीबोध पनि हुन्छ, र तिनीहरू तुलनात्मक रूपमा अलिक इन्साफको बोध भएका पनि हुन्छन्। तिनीहरू मान्छे खुसी पारिहिँड्ने वा शान्ति कायम राख्ने मानिस होइनन्। दुष्ट मानिसहरूले मण्डलीको काममा बाधा वा अवरोधहरू पुऱ्याएको देख्दा, वा आफ्ना उचित मामलाहरूमा ध्यान नदिने र लापरवाह रूपमा कार्य गर्ने मूर्ख र फोहोरी मानिसहरू देख्दा, तिनीहरूलाई रिस उठ्छ, तिनीहरू अप्रसन्न हुन्छन्, र तिनीहरूले तुरुन्तै यी समस्याहरू समाधान गर्न र सम्हाल्न, अनि परमेश्वरको घरको काम र हितहरूको सुरक्षा गर्न सक्छन्। जिम्मेवारीबोध हुनु र इन्साफको बोध हुनु—के यी प्रकटीकरणहरू यस प्रकारको व्यक्तिको मानवताका प्रमुख विशेषताहरू होइनन् र? (हुन्।) यस्ता मानिसहरूले सामाजिक रूपमा घुलमिल हुन नजान्लान्, वा तिनीहरू कुनै निश्चित पेसागत सीपमा त्यति अब्बल नहोलान्, तर यदि तिनीहरूसँग मैले भर्खरै वर्णन गरेका विशेषताहरू छन् भने, तिनीहरूलाई अगुवा र कामदारका रूपमा संवर्धन गर्न सकिन्छ। यी विशेषताहरू तिनीहरूका सबलता पनि हुन्, अर्थात् तिनीहरू कुशल वक्ता हुन्, तिनीहरूसँग काम गर्ने सक्षमता र सङ्गठनात्मक सीपहरू छन्, र तिनीहरूमा तुलनात्मक रूपमा इन्साफको बोध हुन्छ। इन्साफको बोध हुनु अत्यन्तै महत्त्वपूर्ण छ। के दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूमा इन्साफको बोध हुन्छ? (अहँ, हुँदैन।) ख्रीष्टविरोधीहरूमा दुष्ट प्रकृति हुन्छ; तिनीहरूसँग इन्साफको बोध हुनु असम्भव छ। अर्को महत्त्वपूर्ण कुरा भनेको यस प्रकारको व्यक्तिमा आत्मिक बुझाइ र सत्यता बोध गर्ने क्षमता हुन्छ; यो उसको क्षमतासँग सम्बन्धित कुरा हो। यस प्रकारको व्यक्तिका सबलताहरूले मैले भर्खर उल्लेख गरेका मानवताका विशेषताहरू र प्रतिभाहरू जनाउँछन्, र साथै सत्यता बोध गर्ने, मण्डलीका लागि बोझ वहन गर्ने, र काम गर्ने क्षमता हुने तीन मानकहरू पनि जनाउँछन्। यस्ता मानिसहरूलाई अगुवाका रूपमा संवर्धन गर्न सकिन्छ; त्यसमा कुनै समस्या छैन। दिमाग र क्षमता हुनुका साथै, एउटा अगुवामा सत्यता बोध गर्ने क्षमता, सङ्गठनात्मक सीपहरू अनि आफ्नो कार्यमा काम गर्ने सक्षमता, साथसाथै वाक्-कौशल हुनैपर्छ। कति मानिसहरूमा निकै राम्रो क्षमता हुन्छ, तिनीहरूसँग आत्मिक बुझाइ हुन्छ, तर जब भेलाहरूमा सङ्गति गर्ने समय आउँछ, तिनीहरूले भन्न खोजेको कुरा पूरै बिगार्छन्, तिनीहरूसँग आफ्नो भाषा सुव्यवस्थित गर्ने क्षमता नै हुँदैन, र तिनीहरूले भन्ने कुरा पूरै तर्कहीन हुन्छ। के त्यस्ता मानिसहरूलाई अगुवाका रूपमा संवर्धन गर्न सकिन्छ त? (अहँ, सकिँदैन।) कति मानिसहरू थोरै मानिसहरूसँग मात्र बल्लतल्ल कुरा गर्न सक्ने हुन्छन्; तिनीहरूले केही स्थितिहरू, रायहरू र सत्यताको बुझाइबारे सङ्गति गर्न सक्छन्, अनि तिनीहरूले अरूलाई साथ, आपूर्ति, र मदत दिन सक्छन्, तर अलि धेरै मानिसहरूमाझ तिनीहरू बोल्ने आँटै गर्दैनन्, र भयभीत हुन्छन्, अनि हडबडाएर आँसु समेत झार्न सक्छन्। के त्यस्ता मानिसहरूलाई संवर्धन गर्न सकिन्छ? अलि कमजोर र डरपोक मानवता भएको, र मञ्चमा जान डराउने यस प्रकारको व्यक्तिका सन्दर्भमा, यदि ऊसँग अगुवा बन्ने मानवता, सबलता, र बुझ्ने क्षमता छ भने, उसलाई समूह अगुवा वा मण्डली अगुवा बन्नका लागि संवर्धन गर्न सकिन्छ। सुरुमा उसलाई संवर्धन गर्ने र तालिम दिने काम मात्र गर्; केही समयका लागि अनुभव लिएपछि, उसले अन्तर्ज्ञान पाउनेछ र त्यसरी ऊ अलि बढी साहसी बन्नेछ, र त्यसउप्रान्त उसले बोल्न वा मञ्चमा जान डर मान्नेछैन। सारांशमा भन्नुपर्दा, हामीले भर्खर सङ्गति गरेका मानवताका विशेषता र सबलता भएका मानिसहरूको कुरा आउँदा, तिनीहरूको मानवताले मानक पूरा गरेसम्म, तिनीहरूलाई अगुवा बन्न संवर्धन गर्न सकिन्छ। हामीले यसभन्दा अघिल्लोपटक भनेजस्तै, कोही अगुवाका रूपमा संवर्धन हुनका लागि, उसले सबै सत्यताहरू बुझ्नैपर्छ, परमेश्वरमा समर्पित हुन सक्नैपर्छ, ऊसँग परमेश्वरको डर मान्ने हृदय, आदि इत्यादि हुनैपर्छ भन्ने हुँदैन। यी मापदण्डहरू पूरा गर्नु एकदमै अनिवार्य हुन्छ भन्ने हुँदैन। यदि कसैमा निश्चित क्षमता र आत्मिक बुझाइ छ, र ऊ सत्यता स्विकार्न सक्षम छ भने, उसलाई प्रवर्द्धन र संवर्धन गर्न सकिन्छ। के यो मानिसहरूलाई समझदारीपूर्वक प्रयोग गर्नु होइन र? (हो।) सबैभन्दा महत्त्वपूर्ण मापदण्ड भनेको व्यक्तिको मानवताले मानक पूरा गर्छ कि गर्दैन भन्ने नै हो।
मैले भनेका कुरा सुनेपछि, कति मानिसहरू त आफूले अगुवा बन्ने मापदण्ड पूरा गरिसकेको र त्यसैले आफूलाई प्रवर्द्धन गरिनुपर्ने महसुस गर्छन्। यो तिनीहरूमा हुने गलतफहमी हो, होइन र? के अगुवा हुनु त्यति सरल मामला हो? तिनीहरू यस्तो सोच्छन्, “म निकै विधिबद्ध छु, मसँग सङ्गठनात्मक सीपहरू छन्, र म कुशल वक्ता हुँ, जसले गर्दा म सबैभन्दा जटिल मामलाहरू पनि प्रस्ट रूपमा व्याख्या गर्न सक्छु भने, परमेश्वरको घरले मलाई किन प्रवर्द्धन गर्दैन? किन दाजुभाइ-दिदीबहिनीहरूले मलाई अगुवा छनोट गर्दैनन्? किन वरिष्ठ अगुवाहरूले म प्रतिभावान् छु भनेर देख्न सक्दैनन्?” चिन्ता नगर्। यदि तैँले अगुवा वा कामदार बन्ने मापदण्ड साँच्चै पूरा गर्छस् भने, ढिलोचाँडो, तँलाई प्रवर्द्धन गरिनेछ र तालिमको मौका दिइनेछ। अहिले महत्त्वको कुरो चाहिँ तैँले सत्यता अभ्यास गर्न र सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्न, र सक्रिय रूपमा अरूलाई मदत गर्न, अनि परमेश्वरका चुनिएका मानिसहरूका लागि वास्तविक समस्याहरू समाधान गर्न आफूले आफैलाई धेरै मात्रामा प्रशिक्षित गर्नु हो। जब परमेश्वरका चुनिएका मानिसहरूले तँसँग राम्रो क्षमता छ र तैँले वास्तविक समस्याहरू समाधान गर्न सक्छस् भन्ने देख्छन्, तब तिनीहरूले तँलाई सिफारिस र चयन गर्नेछन्। यदि तैँले अलिकति पनि वास्तविक काम गर्ने पहल नगरेर माथिले तँलाई अपवादका रूपमा अगुवा छनोट गर्ने वा प्रवर्द्धन गर्ने दिन कुरेर बसिस् भने, त्यो कहिल्यै हुनेवाला छैन। तैँले केही वास्तविक काम गर्नैपर्छ ताकि सबैले त्यो देख्न सकून्; एकपटक सबैले तेरा सबलताहरू आफै देखेपछि र तँ प्रवर्द्धन, संवर्धन र प्रयोग गरिनुपर्ने व्यक्ति होस् भन्ने महसुस गरेपछि, तिनीहरूले तँलाई स्वतः सिफारिस र चयन गर्नेछन्। यदि तँलाई अहिले नै आफू अगुवा हुन उपयुक्त भएको महसुस हुन्छ, तर कसैले पनि तँलाई चयन गरेको छैन, र परमेश्वरको घरले पनि तँलाई प्रवर्द्धन गरेको छैन भने, त्यो किन हो त? एउटा कुरा पक्का छ: तँ दाजुभाइ-दिदीबहिनीहरूका नजरमा अझै पनि स्विकारिएको छैनस्। सायद त्यो तेरो मानवताले हुन सक्छ, सायद त्यो तेरो पछ्याइले हुन सक्छ, अथवा त्यो तेरो सबलता वा क्षमताले हुन सक्छ। यदि दाजुभाइ-दिदीबहिनीहरूले तेरा यीमध्ये कुनै एउटा पक्षलाई स्वीकार र अनुमोदन गर्दैनन् भने, तिनीहरूले तँलाई चयन वा सिफारिस गर्नेछैनन्। त्यसैले तैँले कडा मेहनत र पछ्याइ जारी राख्नुपर्छ अनि आफूले आफैलाई प्रशिक्षित गरिरहनुपर्छ, अनि जब तैँले वास्तवमै सत्यता बुझ्छस् र सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्न सक्छस्, तब मानिसहरूले स्वतः तँलाई सिफारिस र चयन गर्नेछन्; यो त अनुकूल अवस्थामा कामकुरा स्वाभाविक रूपमा अघि बढ्ने कुरा हो। हरसमय अगुवा हुने आशा गरिरहने वा त्यसबारे सोचिरहने कुनै आवश्यकतै छैन; यो त एउटा अनर्गल चाहना हो। तँसँग साधारण हृदय हुनुपर्छ, तँ सत्यता पछ्याउने व्यक्ति हुनुपर्छ, तैँले परमेश्वरका अभिप्रायहरू ख्याल गर्नुपर्छ, साथै समर्पित र धैर्य हुन सिक्नुपर्छ। तँ अन्धाधुन्ध अगुवा बन्ने पछ्याइमा लाग्नु हुँदैन; त्यो त एउटा महत्त्वाकाङ्क्षा हो, र त्यो सही मार्ग होइन। तैँले जहिले पनि यही महत्त्वाकाङ्क्षा र चाहना राखिराख्नु हुँदैन। यदि तँसँग साँच्चै क्षमता भए पनि, तँ अगुवा वा कामदारका रूपमा सेवा प्रदान गर्ने कार्य गर्न योग्य हुनुअघि, सत्यता वास्तविकतामा प्रवेश गरुन्जेल तैँले कुर्नैपर्छ। यदि तँ सत्यता बुझ्दैनस् र तँलाई सत्यता कसरी अभ्यास गर्ने भन्ने थाहा छैन भने, तँलाई अगुवा वा कामदार बन्न छनोट गरिए पनि, तैँले कुनै वास्तविक काम गर्न सक्नेछैनस् र तँलाई बर्खास्त गर्नुपर्ने वा हटाउनुपर्ने हुनेछ, जुन प्रायः भई नै रहने कुरा हो। यदि तँ आफू अगुवा हुन योग्य भएको, आफूमा अगुवाइका लागि प्रतिभा, क्षमता र मानवता भएको ठान्छस्, तैपनि परमेश्वरको घरले तँलाई प्रवर्द्धन गरेको छैन र दाजुभाइ-दिदीबहिनीहरूले तँलाई चुनेका छैनन् भने, तैँले यस मामलालाई कुन रूपमा लिनुपर्छ? यहाँ तैँले पछ्याउन सक्ने एउटा अभ्यासको मार्ग छ। तैँले आफूलाई राम्ररी चिन्नैपर्छ। मुख्य कुरा तेरो मानवतामै समस्या हो कि, वा तेरो भ्रष्ट स्वभावको केही पक्षको प्रकाशले मानिसहरूलाई विकर्षित गरेको हो कि; वा तँसित सत्यता वास्तविकता नभएको र तँ अरूका लागि विश्वसनीय नभएको, वा तेरो कर्तव्य निर्वाहले मानक पूरा नगरेको हो कि भनेर हेर्। तैँले यी सारा कुराहरूबारे चिन्तन गरेर तेरो कमीकमजोरी ठ्याक्कै कहाँनेर छ भनेर हेर्नैपर्छ। तैँले केहीबेर चिन्तन गरेर आफ्नो समस्या कहाँ छ भनी पत्ता लगाइसकेपछि, तैँले त्यसलाई समाधान गर्न तत्कालै सत्यता खोज्नुपर्छ, र सत्यता वास्तविकतामा प्रवेश गर्नुपर्छ, अनि परिवर्तन हासिल गर्न र वृद्धि हुन लागिपर्नु पर्छ, ताकि तेरा वरिपरिकाले त्यो देखेपछि यसो भनून्, “आजकाल ऊ पहिलेभन्दा धेरै राम्रो भएको छ। उसले दह्रो काम गर्छ र आफ्नो पेसालाई गम्भीर रूपमा लिन्छ, साथै ऊ विशेष गरी सत्यता सिद्धान्तहरूमा केन्द्रित छ। उसले हडबडीमा र झाराटारुवा शैलीमा कामकुरा गर्दैन, र ऊ आफ्नो कामबारे झनै कर्तव्यनिष्ठ र जिम्मेवार छ। उसले बारम्बार ठूला कुरा गर्न मन पराउने, र लगातार सान देखाउने गर्थ्यो, तर अहिले ऊ धेरै नै विनम्र छ र हाबी हुँदैन। ऊ केही कामकुरा गर्न सक्षम भए पनि, उसले त्यसबारे धाक लगाउँदैन, र उसले केही गरिसकेपछि केही गलत पो गरियो कि भन्ने डरले त्यसबारे बारम्बार चिन्तन गर्छ। ऊ पहिलेभन्दा धेरै सावधानीपूर्वक र परमेश्वरको डर मान्ने हृदयले कार्य गर्छ—र सबैभन्दा बढी त उसले केही समस्याहरू समाधान गर्नका लागि सत्यताबारे सङ्गति गर्न सक्छ। ऊ वास्तवमै ठूलो भइसक्यो।” तँसित केही समय अन्तरक्रिया गरेका तेरा वरपरका मानिसहरूले तँमा स्पष्ट परिवर्तन र वृद्धि भएको पाउँछन्; तेरो मानव जीवन, आचरण र मामलाहरूको व्यवस्थापनमा, अनि आफ्नो कामप्रतिको तेरो मनोवृत्तिमा, र सत्यता सिद्धान्तहरूप्रतिको तेरो व्यवहारमा पनि, तँ पहिलेभन्दा धेरै मेहनत लगाउँछस्, र तैँले आफ्नो बोली र व्यवहारमा अत्यन्तै ध्यान पुर्याउँछस्। दाजुभाइ-दिदीबहिनीहरूले यो सबै कुरा देख्छन् र त्यसलाई हृदयमा लिन्छन्। सायद, त्यसपछि तैँले अर्को चुनावमा उम्मेदवारी दिन सक्नेछस्, र तँ अगुवाका रूपमा चुनिने आशा हुनेछ। यदि तैँले साँच्चिकै केही महत्त्वपूर्ण कर्तव्य पूरा गर्न सक्छस् भने, तैँले परमेश्वरको आशिष् प्राप्त गर्नेछस्। यदि तँमा साँच्चिकै बोझ र यस्तो जिम्मेवारी बोध छ, र तैँले भार बोक्ने इच्छा गर्छस् भने, चाँडो गरेर तालिम लिई। सत्यता अभ्यास गर्नमा ध्यान दे र सिद्धान्तहरूअनुसार कार्य गर्। तैँले जीवन अनुभव पाएर गवाहीका लेखहरू लेख्न सक्ने भएपछि, तँ साँच्चै परिपक्व भएको हुनेछस्। अनि यदि तैँले परमेश्वरका निम्ति गवाही दिन सक्छस् भने, तैँले निश्चय नै पवित्र आत्माको काम पाउन सक्छस्। यदि पवित्र आत्माले तँमा काम गरिरहनुभएको छ भने, यसको मतलब परमेश्वरले तँलाई निगाहका साथ हेर्नुहुन्छ, अनि तैँले पवित्र आत्माको मार्गदर्शन पाएपछि, तेरो अवसर चाँडै आउनेछ। अहिले तँसित बोझ होला, तर तेरो कद पर्याप्त छैन र तेरो जीवन अनुभव अति सतही छ, त्यसकारण यदि तँ अगुवा बनिहालिस् भने पनि, तैँले ठेस खाने सम्भावना हुन्छ। तैँले जीवन प्रवेश पछ्याउन, पहिला आफ्ना रवाफी चाहनाहरू सुल्झाउन, इच्छापूर्वक अनुयायी बन्न, र परमेश्वरले जे योजनाबद्ध वा प्रबन्ध गर्नुभए पनि त्यसप्रति कुनै गुनासो नगरी उहाँप्रति साँचो रूपमा समर्पित हुन जरुरी छ। जब तँसँग यो कद हुन्छ, तब तेरो अवसर आउनेछ। तैँले गह्रौँ भार बोक्ने इच्छा गर्नु र तँमा यो बोझ हुनु राम्रो कुरा हो। यसले तँमा प्रगति गर्न खोज्ने सक्रिय हृदय छ र तैँले परमेश्वरका अभिप्रायहरूको ख्याल राख्न र परमेश्वरको इच्छा पछ्याउन चाहन्छस् भन्ने देखाउँछ। यो कुनै महत्त्वाकाङ्क्षा नभई साँचो बोझ हो; यो सत्यता पछ्याउनेहरूको जिम्मेवारी र तिनीहरूको पछ्याइको लक्ष्य हो। तँसित कुनै स्वार्थी मनसायहरू छैनन् र तँ आफ्नै निम्ति काम गरिरहेको छैनस्, बरु परमेश्वरका निम्ति गवाही दिन र उहाँलाई सन्तुष्ट पार्न खोजिरहेको छस्—परमेश्वरद्वारा सबैभन्दा आशिषित् कुरा यही हो, र उहाँले तेरा लागि उचित प्रबन्धहरू गर्नुहुनेछ। अहिलेका लागि, तैँले केवल जीवन प्रवेश पछ्याउनमा ध्यान दे, सुरुमा आफ्नो कर्तव्य राम्ररी पूरा गर्, अनि त्यसपछि परमेश्वरको गवाही दिन केही अनुभवात्मक गवाही लेखहरू लेख्। यदि तेरा गवाहीहरू साँचो र व्यावहारिक छन् भने, ती पढ्ने मानिसहरूले तँलाई कदर गर्नेछन् र मन पराउनेछन्, र तिनीहरू तँसँग अन्तरक्रिया गर्न र तँलाई सिफारिस गर्न इच्छुक हुनेछन्, अनि त्यसरी तेरो अवसर आउनेछ। त्यसकारण, तैँले अवश्य नै अवसर आउनुअगावै आफूलाई सत्यताले सुसज्जित गर्नुपर्छ। सुरुमा व्यावहारिक अनुभव लिई, अनि त्यसपछि तँसँग स्वतः साँचो गवाही हुनेछ; तेरा कर्तव्यका नतिजाहरू झन्झन् राम्रा हुँदै जानेछन्, र त्यो बेलासम्म तैँले चाहे पनि तँ लुक्न सक्नेछैनस्, र तेरा वरपरका दाजुभाइ-दिदीबहिनीहरूले तँलाई सिफारिस गर्नेछन्। यस्तो किन हुन्छ भने, सत्यता वास्तविकता भएका मानिसहरू परमेश्वरको घरलाई मात्र होइन, परमेश्वरका चुनिएका मानिसहरूलाई पनि आवश्यक हुन्छन्; सत्यता वास्तविकता भएका मानिसहरूसँग सबैजना उठबस गर्न मन पराउँछन्, र सत्यता वास्तविकता भएका मित्रहरूसँग सबैजना जोडिन चाहन्छन्। यदि तैँले यो हदसम्म अनुभव गर्छस्, र सबैले तँसँग साँचो गवाही छ भन्ने देख्छन् र तँसँग सत्यता वास्तविकता छ भन्ने मान्छन् भने, तैँले चाहेर पनि तँ अगुवा बन्नबाट उम्किन सक्नेछैनस्, र दाजुभाइ-दिदीबहिनीहरूले तँलाई चयन गर्न जिद कस्नेछन्। कुरा त्यही होइन र? जब खर्चालु पुत्र पछाडि फर्किन्छ अनि परमेश्वरकहाँ फिर्ता आउँछ, तब परमेश्वर प्रसन्न र खुसी हुनुहुन्छ र उहाँलाई हृदयमा सान्त्वना मिल्छ। सत्यता वास्तविकता भएको व्यक्ति भएपछि, तँ कसरी परमेश्वरद्वारा प्रयोग नगरिन सक्छस् र? त्यो त असम्भव हुनेछ। परमेश्वरको अभिप्राय उहाँका निम्ति गवाही दिन सक्ने अझ धेरै मानिसहरू प्राप्त गर्नु हो; उहाँलाई प्रेम गर्ने सबैलाई सिद्ध पार्नु, र उहाँसँग एउटै हृदय र मन भएका मानिसहरूको एउटा समूहलाई सकेसम्म चाँडो पूर्ण बनाउनु हो। त्यसकारण, परमेश्वरका घरमा, सत्यता पछ्याउनेहरू सबैका ठूला सम्भाव्यताहरू छन्, र सच्चा रूपमा परमेश्वरलाई प्रेम गर्नेहरूको सम्भाव्यता असीमित छ। सबैले परमेश्वरको अभिप्राय बुझ्नुपर्छ। यो बोझ हुनु वास्तवमै सकारात्मक कुरा हो, र यो विवेक र समझ भएकाहरूमा हुनुपर्ने कुरा हो, तर गह्रौँ भार बोक्न सबै जना सक्षम हुनेछन् भन्ने छैन। यो अन्तर कहाँबाट आउँछ? तेरा तागत र सामर्थ्यहरू जति नै भए पनि, र तेरो बौद्धिक क्षमता जति उच्च भए पनि, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तेरो पछ्याइ र तैँले हिँड्ने मार्ग हो। यदि तेरो मानवताले मानक पूरा गर्छ र तँसँग निश्चित क्षमता पनि छ, तर तँ सत्यता पछ्याउने व्यक्ति होइनस्, र तँसँग असल मानवता र बोझको बोध अलिअलि मात्र छ भने, के तैँले मण्डलीको अगुवाइको काम राम्ररी गर्न सक्छस्? के तैँले सत्यता प्रयोग गरेर समस्याहरू सुल्झाउने प्रत्याभूति दिन सक्छस्? यदि तैँले त्यो प्रत्याभूति दिन सक्दैनस् भने, तँ आफ्नो काममा अझै पनि अयोग्य छस्। यदि तँलाई अगुवा बन्न चुनियो वा खटाइयो भने पनि, तँ काम गर्न अझै असक्षम नै हुनेथिइस्, त्यसैले त्यसको के फाइदा होला र? त्यसले तेरो आडम्बर पूरा गरे पनि, दाजुभाइ-दिदीबहिनीहरूलाई हानि पुऱ्याउनेछ र मण्डलीको काममा ढिलाइ गराउनेछ। यदि तैँले अगुवा वा कामदार बन्ने मापदण्ड पूरा गर्छस्, तँ सत्यता पछ्याउने व्यक्ति होस्, र तँसँग केही अनुभवात्मक गवाहीहरू पनि छन् भने, तैँले अगुवाइको काममा पक्कै पनि राम्रो गर्न सक्नेछस्, किनकि तँसँग अनुभवात्मक गवाहीहरू छन्, तँ सत्यता बुझ्ने व्यक्ति होस्, र तैँले मण्डली अगुवा हुनुको गह्रौँ बोझ वहन गर्न सक्छस्। तेरो मानवताले मानक पूरा गर्नु र तँसँग निश्चित सबलताहरू पनि हुनु त परमेश्वरको घरद्वारा प्रवर्द्धन, संवर्धन, र प्रयोग गरिनका लागि चाहिने आधारभूत मापदण्डहरू मात्र हुन्, तर तैँले अगुवाको काममा राम्रो कार्य गर्न सक्छस् कि सक्दैनस् भन्ने कुराचाहिँ तँसँग वास्तविक अनुभव र सत्यता वास्तविकता छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। कति मानिसहरू सही मानिस हुन्छन् र सत्यता पछ्याउँछन्, तर तिनीहरूले केवल ३ देखि ५ वर्ष मात्र विश्वास गरेका हुन्छन् र तिनीहरूसँग कुनै व्यावहारिक अनुभव हुँदैन। के त्यस्ता मानिसहरूले मण्डलीको अगुवाइको काम राम्ररी गर्न सक्छन्? अफसोस तिनीहरू काममा योग्य नै हुँदैनन्। तिनीहरू कहाँ चुक्छन्? तिनीहरूसँग व्यावहारिक अनुभव हुँदैन र तिनीहरूले अझै सत्यता बुझेका हुँदैनन्। तिनीहरूले धेरै शब्द र धर्मसिद्धान्तहरू बोल्न सक्ने भए पनि सत्यता प्रयोग गरेर समस्याहरू सुल्झाउन अझै सक्दैनन्। त्यसकारण, तिनीहरू अगुवाइको काममा अझै योग्य हुँदैनन् र तिनीहरूले सत्यताको बुझाइ र सत्यता वास्तविकतामा प्रवेश हासिल गर्नका लागि आफूले आफैलाई निरन्तर प्रशिक्षण दिइरहनुपर्छ। उदाहरणका लागि, एउटा व्यक्तिलाई लिऊँ जसको मानवता मानकअनुरूप छ र जो निकै इमानदार छ, र बिरलै झुटो बोल्ने वा छलछाम गर्ने गर्छ, र जसले बाधा वा अवरोध सिर्जना नगरी आफ्नो कर्तव्य पूरा गर्छ, तर ऊ सत्यता पछ्याउनमा कमजोर छ; के त्यस्तो व्यक्तिलाई अगुवा वा कामदार बन्नका लागि संवर्धन गर्न सकिन्छ? यो अति कठिन हुनेछ। यदि प्रवर्द्धन, संवर्धन र प्रयोग गरिनका लागि मापदण्ड पूरा गर्ने, तर सत्यता नपछ्याउने व्यक्तिलाई अगुवा वा कामदार बन्न प्रवर्द्धन गरियो भने, के ऊ सत्यता पछ्याउने व्यक्ति बन्न सक्षम हुन्छ? के उसले सत्यता पछ्याउन सुरु गर्न सक्छ? केही समयसम्म अगुवा वा कामदारका रूपमा काम गरेपछि, के ऊ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम हुन्छ? त्यो असम्भव हुनेछ। व्यक्तिले चाहे जुनसुकै मापदण्डहरू पूरा गरे पनि, ऊ सत्यता पछ्याउने व्यक्ति नहोउन्जेल, उसलाई अगुवा वा कामदारका रूपमा बिलकुलै चुन्नु वा प्रवर्द्धन गर्नु हुँदैन। यदि कुनै व्यक्तिसँग मानक पूरा गर्ने मानवता र क्षमता छ, र ऊ सत्यता स्विकार्न र केही परिवर्तनहरू भोग्न पनि सक्षम छ भने, उसलाई प्रवर्धन, संवर्धन र प्रयोग गर्न सकिन्छ, र फलस्वरूप, उसले त्यसपछि तालिम लिने, सत्यता वास्तविकतामा प्रवेश गर्ने, साथै मुक्ति र सिद्धताको मार्गमा हिँड्ने अवसर पाउनेछ। त्यसकारण, परमेश्वरको घरले चाहे जसलाई अगुवा, कामदार, वा सुपरिवेक्षकका रूपमा प्रवर्द्धन गरे पनि, त्यसको उद्देश्य तेरा व्यक्तिगत चाहना र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नु होइन, न त तेरा आकाङ्क्षाहरू नै पूरा गर्नु हो, बरु तँलाई मुक्तिको मार्गमा लाग्ने र सिद्ध व्यक्ति बन्ने अधिकार दिनु हो।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।