अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (५) खण्ड पाँच

धेरैजसो झूटा अगुवाहरू कमजोर क्षमताका हुन्छन्। तिनीहरू वाक्पटु देखिए पनि, तिनीहरूमा सत्यता बुझ्ने क्षमता पटक्कै हुँदैन, यतिसम्म कि तिनीहरूमा आत्मिक बुझाइ नै हुँदैन। तिनीहरू आँखा र मनका अन्धा हुन्छन्, तिनीहरूले कुनै पनि मामलालाई छर्लङ्गै देख्न सक्दैनन् र सत्यता बिलकुलै बुझ्दैनन्, जुन आफैमा एउटा घातक समस्या हो। तिनीहरूसित अर्को अझै गम्भीर समस्या हुन्छ, जुन के हो भने जब तिनीहरूले केही शब्द र धर्मसिद्धान्तहरू बुझेका र तिनमा निपुण भएका हुन्छन् र केही नाराहरू फलाक्न सक्छन्, तब तिनीहरूले आफूमा सत्यता वास्तविकता छ भन्ठान्छन्। त्यसकारण तिनीहरूले जुनसुकै काम गरे पनि र जोसुकैलाई प्रयोगमा ल्याउन रोजे पनि, तिनीहरूले सत्यता सिद्धान्तहरू खोज्दैनन्, र अरूसँग सङ्गति गर्दैनन्, परमेश्‍वरको घरका कामका प्रबन्धहरू र सिद्धान्तहरू त झनै पालना गर्दैनन्। तिनीहरूमा यति आत्मविश्‍वास हुन्छ कि, तिनीहरू सधैँ आफ्ना विचारहरू सही भएको विश्वास गर्छन् र आफूलाई जे इच्छा लाग्यो त्यही गर्छन्। फलस्वरूप, तिनीहरूले कुनै कठिनाइ वा असाधारण परिस्थिति सामना गर्दा, तिनीहरू अलमल्ल पर्छन्। यसका साथै, तिनीहरूले प्रायः यो गलत विश्‍वास राख्छन् कि, तिनीहरूले धेरै वर्षदेखि परमेश्‍वरका घरमा काम गर्दै आएको र तिनीहरूसँग त्यहाँ अगुवाका रूपमा सेवा गरेको पर्याप्त अनुभव भएकाले, तिनीहरूलाई मण्डलीको काम कसरी सञ्चालन र विकास गर्ने भन्‍ने थाहा छ। तिनीहरूले यी कुराहरू बुझेजस्तो देखिन्छ, तर वास्तवमा, तिनीहरूलाई कुनै पनि काम गर्न बिलकुलै आउँदैन। तिनीहरू आफ्नै धारणा र कल्पनाहरू, तिनीहरूका अनुभव र दिनचर्याका साथै आफ्नै प्रावधानहरू पालना गरेर मनपरी तरिकाले मण्डलीको काम गर्छन्। यसले मण्डलीका विभिन्‍न कामहरूमा अस्तव्यस्तता र अराजकता सिर्जना गर्छ, र तिनीहरूलाई कुनै वास्तविक नतिजाहरू निकाल्नबाट रोक्छ। यदि समूहमा सत्यता बुझ्ने र केही वास्तविक काम गर्न सक्ने दुईचार मानिसहरू छन् भने, तिनीहरूले त्यस समूहका काममा सामान्यता कायम गर्न सक्छन्। तर, तिनीहरूको झूटो अगुवासँग यसको पटक्कै सम्बन्ध हुँदैन। काम राम्रोसँग सम्पन्‍न हुन सक्नुको कारण यो हो कि, समूहमा केही असल मानिसहरू छन् जसले केही वास्तविक काम गर्न र कामलाई निरन्तरता दिन सक्छन्; यसको मतलब तिनीहरूको अगुवाले वास्तविक काम गरेको छ भन्‍ने होइन। केही यस्ता असल मानिसहरू प्रभारी नभए कुनै पनि काम पूरा गर्न सकिँदैन। झूटा अगुवाहरूले आफ्नो काम गर्न सक्दै सक्दैनन्, र तिनीहरूको कुनै पनि उपयोग हुँदैन। झूटा अगुवाहरूले किन मण्डलीको काम अस्तव्यस्त पार्छन्? पहिलो कारण यो हो कि झूटा अगुवाहरूले सत्यता बुझ्दैनन्, समस्याहरू समाधान गर्नहेतु सत्यताबारे सङ्गति गर्न सक्दैनन्, र समस्याहरूलाई कसरी समाधान गर्ने भनी खोजी गर्दैनन्, जसले गर्दा समस्याहरू थुप्रिँदै जान्छन् र मण्डलीको काम ठप्प हुन्छ। दोस्रो कारण यो हो कि झूटा अगुवाहरू अन्धा हुन्छन्, र तिनीहरूले प्रतिभाशाली व्यक्तिहरू चिन्‍न सक्दैनन्। तिनीहरूले समूह सुपरभाइजरका लागि उचित रूपमा कर्मचारी समायोजन गर्न सक्दैनन्, जसले गर्दा कतिपय काममा उचित प्रभारी व्यक्ति नै हुँदैन, र त्यो काम ठप्प हुन्छ। तेस्रो कारण यो हो कि झूटा अगुवाहरू ज्यादै नै अधिकारीहरूझैँ व्यवहार गर्छन्। तिनीहरूले कामको सुपरिवेक्षण वा निर्देशन गर्दैनन्, र काममा जहाँ कमजोर कडी हुन्छ, त्यहाँ तिनीहरू सक्रिय रूपमा सहभागी हुने वा कामका निश्चित पक्षहरूमा मार्गदर्शन गर्ने गर्दैनन्। उदाहरणका लागि, मानौँ, कुनै निश्चित काम गर्ने धेरै मानिसहरू खासै जग नभएका नयाँ विश्‍वासीहरू छन्, तिनीहरू सत्यता बुझ्दैनन्, कामको त्यो क्षेत्रसित खासै परिचित छैनन्, र तिनीहरूले कामका सिद्धान्तहरू खासै बोध गरेका छैनन्। कुनै झूटो अगुवाले, ऊ अन्धो भएका कारण, यी समस्याहरू देख्न सक्दैन। उसले के विश्‍वास गर्छ भने, यदि कसैले काम गरिरहेको छ भने ठिकै छ; काम राम्रोसँग गरिएको छ कि खराब तरिकाले भन्‍ने कुराले फरक पार्दैन। उसलाई थाहा हुँदैन कि मण्डलीका काममा जहाँ कुनै कमजोर कडी हुन्छ त्यहाँ उसले अनुगमन, निरीक्षण गर्नुपर्छ, र निर्देशन दिनुपर्छ, समस्याहरू समाधान गर्न ऊ आफै सहभागी हुनुपर्छ र आफ्ना कर्तव्य पूरा गर्नेहरूले सत्यता बुझुञ्जेल, सिद्धान्तहरूअनुसार कार्य गर्न र सही मार्गमा प्रवेश गर्न सकुञ्जेल, तिनीहरूलाई सहयोग गर्नुपर्छ। यो अवस्थामा मात्र उसले त्यति धेरै चिन्ता लिनुपर्दैन। झूटा अगुवाहरू यो तरिकाले काम गर्दैनन्। जब तिनीहरूले काम गर्ने कोही त छ भन्ने देख्छन्, तिनीहरूले त्यसप्रति ध्यान दिन छोड्छन्। काम चाहे जसरी चलिरहेको भए पनि, तिनीहरूले कुनै सोधपुछ गर्दैनन्। काममा जहाँ कमजोर कडी हुन्छ, वा कमजोर क्षमता भएको कुनै सुपरिवेक्षक हुन्छ, त्यहाँ तिनीहरूले व्यक्तिगत रूपमा काममा मार्गदर्शन प्रदान गर्दैनन्, र तिनीहरू काममा आफै सहभागी हुँदैनन्। अनि जब कुनै सुपरिवेक्षक कार्य वहन गर्न सक्षम हुन्छ, तब झूटा अगुवाहरूले कामकुरा जाँच्ने वा निर्देशन प्रदान गर्ने त झनै गर्दैनन्; तिनीहरूले त्यसलाई सहज रूपमा लिन्छन्, र कसैले कुनै समस्या रिपोर्ट गरे पनि तिनीहरूले त्यसबारे सोध्दैनन्—तिनीहरूले सोध्नु आवश्यक नै छैन भन्ठान्छन्। झूटा अगुवाहरूले यी मध्ये कुनै पनि विशिष्ट काम गर्दैनन्। सारांशमा, झूटा अगुवाहरू पतित मानिसहरू हुन् जो अलिकति पनि वास्तविक काम गर्दैनन्। तिनीहरूले विश्‍वास गर्छन् कि, कुनै पनि काममा, जबसम्म कोही प्रभारी व्यक्ति हुन्छ र सबै हातहरू जिम्मेवारी लिन तयार अवस्थामा हुन्छन्, तब कामकुरा सकिएको र पुरा भएको मानिन्छ। तिनीहरू के सोच्छन् भने, तिनीहरूले गर्नुपर्ने भनेको बेलाबेलामा भेला राख्ने र कुनै समस्या उत्पन्‍न भएमा सोधपुछ गर्ने मात्र हो। यसरी काम गर्ने क्रममा, झूटा अगुवाहरू अझै पनि आफूले राम्रो काम गरिरहेको विश्‍वास गर्छन् र आफैसँग निकै प्रसन्न हुन्छन्। तिनीहरूले सोच्छन्, “कुनै पनि काममा समस्याहरू छँदै छैनन्। सबै कर्मचारीहरू पूर्ण रूपमा बन्दोबस्त गरिएका छन्, र सुपरिवेक्षकहरू पनि राखिएका छन्। म यो काममा अति सिपालु छु, अति प्रतिभाशाली छु!” के यो लाजमर्दो कुरा होइन र? तिनीहरू आँखा र मनका यति अन्धा हुन्छन् कि तिनीहरूले गर्नुपर्ने कुनै काम देख्न सक्दैनन् र कुनै पनि समस्याहरू पत्ता लगाउन सक्दैनन्। कतिपय ठाउँहरूमा त काम ठप्प भएको हुन्छ, तैपनि तिनीहरू यस्तो सोचेर सन्तुष्ट हुन्छन्, “सबै दाजुभाइ-दिदीबहिनीहरू जवान नै छन्, उनीहरू सबैमा नयाँ जोस छ। उनीहरूले अत्यन्तै ऊर्जावान् रूपमा आफ्ना कर्तव्यहरू सामना गर्छन्; उनीहरूले पक्कै पनि काम राम्रोसँग गर्न सक्छन्।” खासमा भन्‍नुपर्दा, यी जवान मानिसहरू कुनै पेसागत सीप नभएका नयाँ सिकारुहरू हुन्। काम गर्दै जाँदा, तिनीहरूले सिक्दै जानुपर्छ। तिनीहरूलाई अहिलेसम्म कुनै पनि काम गर्न आउँदैन भन्‍नु जायज नै हुन्छ: कतिपयले अलिअलि बुझ्न त बुझ्लान्, तर तिनीहरू विज्ञ होइनन्, र तिनीहरूले सिद्धान्तहरू बुझ्दैनन्, र तिनीहरूले कुनै कार्य गर्दा, त्यसलाई बारम्बार सच्याउनु वा धेरै पटक फेरि सुरुबाट नै गर्नुपर्ने पनि हुन्छ। कतिपय जवान मानिसहरू यस्ता पनि हुन्छन् जो तालिमप्राप्त हुँदैनन् र जसले काटछाँटको अनुभव गरेका हुँदैनन्। तिनीहरू अत्यन्तै फोहोरी र अकर्मण्य हुन्छन् र आरामको लोभ गर्छन्; तिनीहरूले अलिकति पनि सत्यता स्विकार्दैनन्, र अलिकति कष्ट भोग्दा तिनीहरू निरन्तर झर्किरहन्छन्। तिनीहरूमध्ये धेरैजसो आरामको लालसा गर्ने झाराटारुवा पतित मानिस हुन्। तैँले यस्ता जवान मानिसहरूसित सत्यताबारे बारम्बार सङ्गति गर्नैपर्छ, र अझ बढी तिनीहरूलाई काटछाँट गर्नैपर्छ। यी जवान मानिसहरूको प्रभार लिने र निगरानी गर्ने मान्छे हुनैपर्छ। तिनीहरूको कामको व्यक्तिगत जिम्मेवारी लिने र तिनीहरूलाई सुपरिवेक्षण गर्ने र निर्देशन गर्ने कुनै अगुवा वा कामदार हुनैपर्छ। त्यसपछि मात्र तिनीहरूको काम अलि फलदायी हुन सक्छ। यदि अगुवा वा कामदारले कार्यस्थल छोड्यो र काममा हाजिर भएन वा त्यसबारे सोधपुछ गरेन भने, यी मानिसहरू अव्यवस्थित हुनेछन्, र तिनीहरूको कर्तव्य निर्वाहले पटक्कै फल दिनेछैन। तैपनि झूटा अगुवाहरूमा यसबारे कुनै अन्तर्ज्ञान हुँदैन। तिनीहरूले सबैलाई दाजुभाइ-दिदीबहिनीका रूपमा, आज्ञाकारी र समर्पित मानिसका रूपमा हेर्छन्, त्यसकारण तिनीहरूले उनीहरूलाई निकै भरोसा गर्छन्, र उनीहरूलाई कामहरूमा खटाउँछन् र त्यसपछि ध्यान दिनै छोड्छन्—झूटा अगुवाहरूको आँखा र मनको अन्धोपनको सर्वोत्कृष्ट उदाहरण यही हो। झूटा अगुवाहरूले सत्यता बिलकुलै बुझ्दैनन्, मामलाहरू प्रस्ट रूपमा देख्न सक्दैनन्, र कुनै पनि समस्याहरू पत्ता लगाउन असक्षम हुन्छन्, तैपनि आफूले ठिकै गरिरहेको ठान्छन्। तिनीहरूले केका बारेमा सोचेर दिन कटाउँछन्? तिनीहरू कसरी अधिकारीझैँ व्यवहार गर्ने र हैसियतका फाइदाहरूको आनन्द कसरी उठाउने भन्‍नेबारे सोच्छन्। झूटा अगुवाहरूले, विचारहीन मानिसहरूलेझैँ, परमेश्‍वरका अभिप्रायहरूलाई कत्ति पनि ख्याल गर्दैनन्। तिनीहरूले कुनै वास्तविक काम गर्दैनन्, तैपनि तिनीहरू परमेश्‍वरले तिनीहरूलाई प्रशंसा र प्रवर्द्धन गर्नुहोस् भन्ने पर्खाइमा हुन्छन्। साँच्चै भन्‍नुपर्दा, तिनीहरूलाई लाज भन्‍ने कुरै थाहा हुँदैन।

झूटा अगुवाहरू आफ्ना काम गर्नमा पूर्ण रूपमा बेकार हुन्छन्, र तिनीहरूबारे सराहनीय कुरा केही पनि हुँदैन। तिनीहरूले समग्र परिस्थितिका सन्दर्भमा सिद्धान्तहरू बोध गर्न सक्दैनन्, विशिष्ट विस्तृत कामसँग सम्बन्धित सिद्धान्तहरू बोध गर्न त झनै सक्दैनन्। उदाहरणका लागि, कतिपय मानिसहरूमा प्रबल पेसागत दक्षता हुन्छ तर अत्यन्तै कमजोर मानवता हुन्छ, जबकि अरूमा मानवताको हिसाबले कुनै समस्या हुँदैन, तर तिनीहरूको क्षमता र पेसागत दक्षता कमजोर हुन्छ। जब यी मानिसहरूलाई व्यावहारिक तरिकाले कसरी प्रयोग गर्नुपर्छ र खटाउनुपर्छ भन्ने कुरा आउँछ, झूटा अगुवाहरूलाई यी अझै विशिष्ट र विस्तृत मामलाहरूबारे झनै कम थाहा हुन्छ। त्यसैले जब झूटा अगुवाहरूलाई तिनीहरूले केही हदसम्म असल क्षमता भएको संवर्धन गर्न मिल्ने कोही भेटेका छन् कि भनी सोधिन्छ, तिनीहरूले अहिलेसम्म कोही नभेटेको भनेर भन्छन्। झूटा अगुवाहरू अत्यन्तै अन्धा हुन्छन्—तिनीहरूले कसरी कोही भेट्न सक्थे र? यदि तैँले तिनीहरूलाई फलानो बहिनी कस्ती छे भनेर सोधिस् भने, तिनीहरूले ऊ देहगत सुख-सयलको लालच गर्छे भनेर भन्नेछन्; तिनीहरूलाई फलानो भाइ कस्तो छ भनेर सोधिस् भने, तिनीहरूले ऊ प्रायः नकारात्मक हुन्छ भनेर भन्नेछन्; तिनीहरूलाई अरू कोही कस्तो छ भनेर सोधिस् भने, तिनीहरूले तँलाई त्यो व्यक्तिले लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गरेको छैन र ऊसँग जग छैन भनेर भन्नेछन्। तिनीहरूका नजरमा, कोही पनि योग्य हुँदैन। तिनीहरूले अरू मानिसहरूका त्रुटि, कमीकमजोरी र अपराधहरू मात्र हेर्छन्; तिनीहरूले कुनै व्यक्ति परमेश्‍वरको घरले गर्ने प्रवर्द्धन र संवर्धनका सिद्धान्तहरू अनुरूपको छ कि छैन, वा ऊ प्रवर्द्धन र संवर्धनका लागि राम्रो उम्मेदवार हो कि होइन भनी हेर्न सक्दैनन्। तिनीहरूले को प्रवर्द्धन र संवर्धनका लागि साँच्चै उपयुक्त छ भनी छुट्याउन सक्दैनन्, तर परमेश्‍वरको घरका माग र सिद्धान्तहरू पूरा नगर्नेलाई ठूलो जोसका साथ र द्रुत गतिमा प्रवर्द्धन गर्छन्। तिनीहरूले मण्डलीमा सबै समृद्ध महिलाहरू, धनाढ्य पुरुषहरू, र धनी परिवारका छोराछोरीहरू, साथै बाहिरी संसारमा अधिकारीका रूपमा सेवा गरेकाहरू, कुशल वक्ताहरू, र छलछाम गर्न र ठग्न जान्नेहरूलाई प्रवर्द्धन गर्छन्—जे भए पनि, तिनीहरूले बाहिरी संसारका चिरपरिचित र विशिष्ट र ध्यानको केन्द्र बन्न मन पराउने जोकोहीलाई प्रवर्द्धन गर्छन्। तिनीहरू यी मानिसहरू मात्र प्रतिभावान् हुन्छन् भन्ने विश्‍वास गर्छन्, र साँच्चै बुझ्ने क्षमता भएको र सत्यता स्विकार्न सक्ने एउटा व्यक्ति पनि फेला पार्दैनन् वा उसलाई प्रवर्द्धन गर्दैनन्। कुनै झूटो अगुवालाई परमेश्‍वरको घरका लागि एउटा, साँच्चै योग्य प्रतिभा प्रदान गर्नु आफूलाई चन्द्रमामा पुऱ्याउनु भन्दा पनि गाह्रो हुन्छ। उदाहरणका लागि, मानौँ परमेश्‍वरको घरलाई हाल लेखन-पठनको कामका लागि प्रतिभावान् व्यक्तिहरू चाहिएको छ—एउटा झूटो अगुवाको जिम्मामा रहेको मण्डलीमा यस्तै प्रकारको एउटा व्यक्ति छ, तर त्यो झूटो अगुवाले यस व्यक्तिको नाम अगाडि सार्दैन। जब त्यो झूटो अगुवालाई उसले त्यस व्यक्तिलाई किन प्रवर्द्धन र संवर्धन नगरेको भनेर सोधिन्छ, उसले यसो भन्छ: “त्यो व्यक्ति विश्‍वविद्यालयमा हुँदा दुई पटक व्यभिचारमा संलग्न भएको थियो, तर उसले विवाह गरिसकेपछि फेरि त्यसो गरेको छैन। उसलाई प्रवर्द्धन गर्नुपर्छ कि पर्दैन भनेर मलाई थाहै भएन।” यो कस्तो अभिव्यक्ति हो? के तँ आफूले प्रवर्द्धन गरेका समृद्ध र शक्तिशाली मानिसहरू कहिल्यै व्यभिचारमा संलग्न भएका छैनन् भन्ने कुराको प्रत्याभूति दिन सक्छस्? के ती मानिसहरूले झन् बढी त्यसो गर्दैनन् र? तैँले त्योचाहिँ किन देख्दै देख्दैनस्? झूटा अगुवाहरू अति झूटा रूपमा आत्मिक हुन्छन्, आफूले केही सिद्धान्तहरू जानेजस्तो देखाउँछन्, र प्रवर्द्धन र संवर्धन गरिनुपर्नेहरूलाई प्रवर्द्धन नगर्नुको औचित्य पुष्टि गर्न बहानाहरू खोज्छन्। तिनीहरूका नजरमा, सबैजना तिनीहरूभन्दा निकृष्ट हुन्छन्। अन्तिममा के हुन्छ? के झूटा अगुवाहरूले प्रवर्द्धन गरेका “कुलीन” र “प्रतिभावान् मानिसहरू” खरो उत्रेका छन्? हामी यी मानिसहरू निश्चित रूपमा नै असल मानिस होइनन् भनेर भनिरहेका छैनौँ। हामी मुख्य रूपमा के खुलासा गरिरहेका छौँ भने, मानिसहरूसँग व्यवहार गर्ने झूटा अगुवाहरूको सिद्धान्त भनेको सत्यतालाई भन्दा पनि मानव धारणाहरूलाई मापदण्डका रूपमा प्रयोग गर्नु हो, र मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्ने तिनीहरूको सिद्धान्त भनेको परमेश्‍वरको घरले माग गर्ने मानकहरूलाई मापदण्डका रूपमा प्रयोग गर्नुको सट्टा आफ्नै धारणा, कल्पना, र प्राथमिकताअनुसार, अनि पूर्ण रूपमा गैरविश्‍वासीहरूको दृष्टिकोणअनुसार चल्नु हो। झूटा अगुवाहरू किन यसो गर्न सक्षम हुन्छन्? किनकि तिनीहरूले सत्यता वा परमेश्‍वरका अभिप्रायहरू बुझ्दैनन्, तिनीहरू परमेश्‍वरको घरका मागहरू पूरा गर्दै नगर्नेहरूलाई प्रवर्द्धन गर्न, तिनीहरूलाई संवर्धन गर्नुमा केन्द्रित हुन, र परमेश्‍वरको घरमा तिनीहरूलाई महत्त्वपूर्ण कार्यहरू सम्हाल्न दिन सक्षम हुन्छन्। झूटा अगुवाहरूले गर्ने काम यस्तो हुन्छ। तिमीहरू वरपरका झूटा अगुवाहरूलाई हेर; के तिनीहरूले काम गर्ने र मानिसहरूसँग व्यवहार गर्ने यसरी नै होइन र?

झूटा अगुवाहरूमा प्रायः प्रकाश हुने एउटा निश्चित विचार हुन्छ: तिनीहरू जोसँग ज्ञान छ, जोसँग हैसियत छ, र जसले बाहिरी संसारमा अधिकारीका रूपमा सेवा गरेका छन् ती सबै प्रतिभावान् मानिस हुन्, र त्यस्ता मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि परमेश्‍वरको घरले तिनीहरूलाई संवर्धन र प्रयोग गर्नुपर्छ भन्ने सोच्छन्। तिनीहरू ती मानिसहरूलाई साँच्चै सम्मान र आराधना गर्छन्—यहाँसम्म कि तिनीहरूले तिनीहरूलाई आफ्नै आफन्त र परिवारका सदस्यजस्तै व्यवहार गर्छन्। जब तिनीहरूले यी मानिसहरूलाई अरूसँग परिचय गराउँछन्, तिनीहरूले प्रायः बाहिरी संसारमा तिनीहरू कुनै कम्पनीका मालिक, वा कुनै सरकारी विभागका प्रमुख, वा कुनै पत्रिकाका सम्पादक, वा सार्वजनिक सुरक्षा विभागका निर्देशक थिए, वा तिनीहरू कति धनी छन् भन्नेबारे कुरा गर्छन्। झूटा अगुवाहरूले यस्ता मानिसहरूलाई अति उच्च ठान्छन्। तिमीहरू के भन्छौ, के झूटा अगुवाहरूमा क्षमता हुन्छ? तिनीहरू झूटा रूपमा आत्मिक हुन्छन्, र कामकुरालाई छर्लङ्ग देख्न सक्दैनन्, होइन र? झूटा अगुवाहरूले यी मानिसहरू समाजका प्रतिभावान् व्यक्तिहरू भएकाले, तिनीहरू परमेश्‍वरका घरमा आएपछि, त्यसले तिनीहरूलाई संवर्धन गर्नुपर्छ र महत्त्वपूर्ण भूमिका निभाउन दिनुपर्छ भन्ने सोच्छन्। के यो विचार सही हो? के यो सत्यता सिद्धान्तहरूअनुरूप छ? यदि यी मानिसहरूमा सत्यताप्रति पटक्कै प्रेम छैन, र तिनीहरूसँग विवेक र समझ छैन भने, के परमेश्‍वरको घरले तिनीहरूलाई संवर्धन गर्न र महत्त्वपूर्ण भूमिका दिन मिल्छ? तिनीहरू संवर्धन गरिन योग्य हुँदैनन्। तिनीहरू गैरविश्‍वासीहरूमाझ प्रतिभावान् व्यक्तिहरू थिए भन्ने तथ्यको अर्थ तिनीहरू परमेश्‍वरको घरका प्रतिभा भएका मानिसहरू हुन् भन्ने हुँदैन, तर यी झूटा अगुवाहरू अधिकारी बन्न मन पराउँछन्, र तिनीहरू विशेष गरी अधिकारी भइसकेका मानिसहरूलाई आराधना गर्छन्। जब पनि तिनीहरूले बाहिरी संसारमा अधिकारी भइसकेका वा हैसियत भएका मानिसहरू देख्छन्, तिनीहरू झुकेर तिनीहरूको चाकरी गर्छन् र तिनीहरूप्रति दासले आफ्नो मालिकसँग गर्ने जस्तै चापलुस व्यवहार गर्छन्; तिनीहरू दिलोज्यानले उनीहरूलाई आमा वा बुबा, अथवा दिदी वा दाजु भन्न चाहन्छन्, र यी मानिसहरूलाई मण्डलीमा अगुवा वा कामदार हुन प्रवर्द्धन गरियोस् भन्ने कामना पनि गर्छन्। ल भन् त, के यिनीहरू सत्यता पछ्याउने मानिस हुन्? के बाहिरी संसारमा तिनीहरूसँग अलिकति हैसियत हुनु र तिनीहरूले अलिकति ख्यातिको आनन्द लिनुको अर्थ तिनीहरू परमेश्‍वरका घरमा अगुवा वा कामदारका रूपमा सेवा प्रदान गर्न उपयुक्त छन् भन्ने हुन्छ? यदि तिनीहरूले सत्यता बुझ्दैनन् र तिनीहरू अहङ्कारी र अभिमानी स्वभावहरूले भरिएका छन् भने, के तिनीहरू परमेश्‍वरका घरमा अगुवा वा कामदार हुन योग्य हुन्छन् त? के मानिसहरूको हैसियत र ख्यातिमा मात्र केन्द्रित भएर, तिनीहरूको चरित्रलाई बेवास्ता गरेर तिनीहरूलाई प्रवर्द्धन गर्नु सिद्धान्तहरूअनुरूप हुन्छ त? के झूटा अगुवाहरूलाई परमेश्‍वरले कस्ता प्रकारका मानिसहरूलाई मन पराउनुहुन्छ, उहाँले कस्ता प्रकारका मानिसहरूलाई प्रवर्द्धन र प्रयोग गर्नुहुन्छ भन्ने थाहा हुन्छ? बारम्बार, परमेश्‍वरको घरको कामका प्रबन्धहरूले मानिसहरूलाई तीन वटा मानकअनुसार प्रवर्द्धन र संवर्धन गर्नुपर्छ भनेर जोड दिएका छन्: पहिलो, तिनीहरूसँग मानवता, विवेक, र समझ हुनैपर्छ; दोस्रो, तिनीहरू सत्यतालाई प्रेम गर्ने र सत्यता स्विकार्न सक्ने व्यक्ति हुनैपर्छ; र तेस्रो, तिनीहरूसँग केही मात्रामा क्षमता र काम गर्ने सक्षमता हुनैपर्छ। जसले यी तीन वटा मानकहरू पूरा गर्छन् तिनीहरू मात्र प्रवर्द्धन र संवर्धन गरिन सक्षम हुन्छन्, र उम्मेदवार र अगुवा वा कामदार बन्न योग्य हुन्छन्। क्षमता र प्रतिभा मात्र भएर हुँदै हुँदैन। सुरुमा चरित्र आउँछ, र दोस्रो, सत्यतालाई स्विकार्न सक्नु अत्यावश्यक हुन्छ—यी दुई सबैभन्दा महत्त्वपूर्ण मानकहरू हुन्। यदि सत्यताप्रति प्रेम नभएका दुष्ट मानिसहरूलाई प्रवर्द्धन गरियो भने, परिणामहरू विनाशकारी हुनेछन्, त्यसैले मानवता नभएकाहरूलाई प्रवर्द्धन गर्ने अनुमति बिलकुलै छैन। तर झूटा अगुवाहरूले परमेश्‍वरको घरका मागहरूलाई बेवास्ता गर्छन्। मानिसहरूलाई छनोट र प्रयोग गर्दा, तिनीहरू सधैँ समाजमा त्यस व्यक्तिको हैसियत छ कि छैन, उसको पृष्ठभूमि र पद के हो, उसले उच्च तहको शिक्षा प्राप्त गरेको छ कि छैन, र समाजमा उसको प्रतिष्ठा कति उच्च छ भन्ने कुराहरूमा ध्यान दिन्छन्—मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्दा तिनीहरूले ध्यान दिने पक्षहरू यिनै हुन्। के यो परमेश्‍वरको घरले तोकेका सिद्धान्तहरूअनुरूप छ? के यो परमेश्‍वरका वचनहरूको सत्यताअनुरूप छ? समाजमा हैसियत भएका ती मानिसहरू को हुन्? ती सबै जुनसुकै उपाय लगाएर शक्ति र हैसियतका लागि लड्ने मानिसहरू हुन्, र तिनीहरू शैतानका मानिस हुन् भनेर भन्न सकिन्छ। यदि परमेश्‍वरका घरमा तिनीहरूको शक्ति चल्छ भने, के परमेश्‍वरको घर अझै पनि परमेश्‍वरको मण्डली रहन्छ? झूटा अगुवाहरूले शैतानका मानिसहरूलाई अगुवा बन्नका लागि प्रवर्द्धन गर्नुको उद्देश्य के हो? के त्यसरी कार्य गर्नु परमेश्‍वरको घरले मानिसहरूलाई प्रवर्द्धन र प्रयोग गर्नुका सिद्धान्तहरूअनुरूप हुन्छ? के यो खुलेआम मण्डलीका काममा बाधा दिनु र क्षति पुऱ्याउनु होइन? झूटा अगुवाहरूले मानिसहरूलाई गर्ने सिद्धान्तविहीन प्रवर्द्धन र संवर्धनले नै मण्डलीको काममा सबैभन्दा ठूलो बाधा दिन्छ र अवरोध पुऱ्याउँछ, र त्यो परमेश्‍वरको प्रतिरोध गर्ने एउटा तरिका हो।

झूटा अगुवाहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ र तिनीहरूसँग सत्यता बुझ्ने क्षमता हुँदैन। तिनीहरूले चाहे जति नै धेरै प्रवचन सुने पनि वा परमेश्‍वरका जति धेरै वचनहरू पढे पनि, तिनीहरूले विशुद्ध रूपमा बुझ्दैनन्, वा सत्यता बुझ्दैनन्, र तिनीहरूले चाहे जति धेरै वर्ष धर्मसिद्धान्तहरू प्रचार गरेका भए पनि, तिनीहरू आफैले भनिरहेका कुराहरू बुझ्दैनन्, त्यो सब केवल बकवास हुन्छ, र त्यसको छेउ-टुप्पो बुझ्न असम्भव हुन्छ! तिनीहरूले थोरै धर्मसिद्धान्तहरू याद गर्न र प्रचार गर्न सक्छन्, त्यसैले तिनीहरू आफूसँग सत्यता वास्तविकता भएको ठान्छन्, तर तिनीहरूले गर्ने कुनै पनि कार्य सत्यतासँग सम्बन्धित हुँदैन—यी सबै ठेट फरिसीहरू हुन्। बाहिरी रूपमा, तिनीहरूले प्रायजसो मानिसहरूलाई प्रचार गर्ने, र कर्णप्रिय कुराहरू भन्ने जस्तो देखिन्छ, मानौँ तिनीहरूले सत्यता बुझेका छन्, तर तिनीहरूले जे गर्छन्, त्यो सत्यता विरुद्ध हुन्छ र त्यसको विपरीत हुन जान्छ। तिनीहरूले परमेश्‍वरको सेवा गरिरहेको र मण्डलीको काम गरिरहेको दाबी पनि गर्छन्, जबकि वास्तवमा तिनीहरूले गर्ने सबै कुरा परमेश्‍वरप्रति अति नै शत्रुतापूर्ण हुन्छ। झूटा अगुवाहरूले परमेश्‍वरको घरका लागि उपयोगी प्रतिभावान् मानिसहरूलाई कहिल्यै प्रवर्द्धन गर्दैनन्, र साँच्चै सत्यता पछ्याउने तुलनात्मक रूपमा इमानदार मानिसहरूलाई बेवास्ता र नदेखेझैँ गर्छन्। बरु, तिनीहरूले चापलुसी गर्ने, कपटी र छली मानिसहरू, अनि मण्डलीमा काम हात पार्ने महत्त्वाकाङ्क्षा र चाहना भएका मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्छन्। यो सबको नतिजा के हुन्छ भने, ती मानिसहरूले निश्चित अवधिसम्म काम गरेपछि, मण्डलीका कामका विभिन्न विषयवस्तुहरू ठप्प हुन्छन् र झन्डै-झन्डै निष्क्रिय स्थितिमा नै प्रवेश गर्छन्, र यसरी यी झूटा अगुवाहरूका हातबाट मण्डलीको काम बरबाद हुन्छ। यी झूटा अगुवाहरू जस्तो हुन्छन्, के त्यस्ता प्रकारका मानिसहरू तिरस्कारको लायक हुँदैनन् र? के तिनीहरूलाई बर्खास्त गर्नुपर्छ? तिनीहरूलाई बर्खास्त गर्नैपर्छ! हरेक दिनको ढिलाइले मण्डलीको पूरै दिनको काममा प्रभाव पार्छ। कतिपय झूटा अगुवाहरूलाई आफू वास्तविक काम गर्न असक्षम भएको थाहा भए पनि, तिनीहरू स्वैच्छिक रूपमा राजीनामा दिन अनिच्छुक हुन्छन्, र निरन्तर हैसियतका लाभहरूप्रति आसक्त हुन्छन्, साथै मण्डलीको काममा हानि पुऱ्याउने हदसम्म समेत जान्छन्। के यी मानिसहरूमा अलिकति पनि समझ हुन्छ? झूटा अगुवाहरूमा बुझ्ने क्षमता, वा कुनै साँचो प्रतिभा र वास्तविक ज्ञान हुँदैन, तिनीहरू सत्यता पछ्याउने मानिस होइनन्, र तिनीहरूले हैसियतका लाभहरूको लालच पनि गर्छन्—तिनीहरू लाज नभएका मानिस हुन्; त्यसैले तिनीहरूलाई कदापि प्रवर्द्धन र संवर्धन गरिनु हुँदैन। यदि तँलाई तेरो क्षमता निकै कमजोर छ, र तँसँग सही र गलत छुट्टयाउने, अनि सत्यता बुझ्ने क्षमता छैन जस्तो लाग्छ भने, तैँले चाहे जे गरे पनि, आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरूमा लिप्त नहो, र मण्डलीमा कुनै अधिकारी बन्नतर्फ—मण्डली अगुवा बन्नतर्फ—कसरी लागिपर्नुपर्छ भनेर मनन नगर्—अगुवा हुन त्यति सजिलो छैन। यदि तँ इमानदार व्यक्ति होइनस् र तैँले सत्यतालाई प्रेम गर्दैनस् भने, अगुवा बन्नेबित्तिकै, तँ कि त ख्रीष्टविरोधी, कि त झूटो अगुवा हुनेछस्। ख्रीष्टविरोधीहरू र झूटा अगुवाहरू दुवै नै विवेक र समझ नभएका, अनि दुष्टता गर्न र मण्डलीका काममा बाधा पुऱ्याउन सक्ने मानिसहरू हुन्। ख्रीष्टविरोधीहरू दियाबलस र शैतान हुन् भन्नु त सत्य हो नै, तर झूटा अगुवाहरू पनि असल मानिसचाहिँ होइनन्; कम्तीमा पनि, तिनीहरू विवेक र समझ नभएका निःसङ्कोच निर्लज्ज मानिसहरू हुन्। के झूटो अगुवा भएर बर्खास्त हुनुमा कुनै गौरवपूर्ण कुरा छ? यो लज्जास्पद कुरा हो, एउटा कलङ्क हो, र त्यसमा बिलकुलै गौरवपूर्ण कुरा छैन। यदि तँसित मण्डलीको कामप्रति बोझको भावना छ, र तँ यसमा संलग्‍न हुन चाहन्छस् भने, यो राम्रो कुरा हो; तर तैँले आफूले सत्यता बुझ्छु कि बुझ्दिनँ, समस्याहरू समाधान गर्न सत्यता सङ्गति गर्न सक्छु कि सक्‍दिनँ, परमेश्‍वरका काममा साँचो रूपमा समर्पित हुन सक्छु कि सक्‍दिनँ, र कार्य बन्दोबस्तअनुसार मण्डलीको काम उचित रूपमा अघि बढाउन सक्छु कि सक्‍दिनँ भनी चिन्तन गर्नैपर्छ। यदि तँमा यी मापदण्डहरू पुग्छ भने, तैँले अगुवा वा कामदार बन्‍नका लागि दाबेदारी दिन सक्छस्। मैले यसो भन्‍नुको अर्थ के हो भने, कम्तीमा पनि, मानिसहरूमा आत्मसचेतना हुनुपर्छ। पहिले तैँले मानिसहरूलाई खुट्टयाउन सक्छस् कि सक्दैनस्, सत्यता बुझ्‍न र सिद्धान्तअनुसार कामकुरा गर्न सक्छस् कि सक्दैनस्, त्यो हेर्। यदि तैँले यी मापदण्डहरू पूरा गर्छस् भने, तँ अगुवा वा कामदार बन्‍न योग्य हुन्छस्। यदि तैँले आत्म-मूल्याङ्कन गर्न सक्दैनस् भने, तैँले आफ्ना चिनजानका वा आफ्ना नजिकका मानिसहरूलाई सोध्‍न सक्छस्। यदि तिनीहरू सबैले तँसँग अगुवा बन्‍ने पर्याप्त क्षमता छैन, र तैँले अहिलेको काम राम्रोसँग गर्नु नै पर्याप्त हो भनेर भन्छन् भने, तैँले तुरुन्तै आफूलाई चिन्‍नुपर्छ। तँ कमजोर क्षमताको भएकाले, अगुवा बन्‍ने चाहना गरेर आफ्‍नो सारा समय खर्च नगर्—आफूले सक्‍ने काम गर्, धरातलमा उभिएर अडिग भई आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्, ताकि तँलाई मनको शान्ति मिल्न सकोस्। यो पनि राम्रो कुरा हो। अनि, यदि तँ अगुवा बन्‍न योग्य छस्, यदि तँमा साँच्‍चै क्षमता र प्रतिभा छ, यदि तँसित कार्यक्षमता, र बोझको बोध छ भने, तँ ठ्याक्कै त्यही प्रकारको प्रतिभा भएको व्यक्ति होस् जसको परमेश्‍वरका घरमा अभाव छ, र तँलाई प्रवर्द्धन र संवर्धन गरिने कुरा निश्चित छ; तर सबै कुरामा परमेश्‍वरको समय हुन्छ। यो कामना, अर्थात् प्रवर्द्धन हुने कामना भनेको महत्त्वाकाङ्क्षा होइन, तर अगुवा बन्नका लागि तँमा क्षमता हुन, र तैँले मापदण्ड पूरा गर्न जरुरी छ। यदि तेरो क्षमता कमजोर छ र पनि तँ सधैँ अगुवा बन्‍ने, वा कुनै महत्त्वपूर्ण काम गर्ने, वा समग्र कामको जिम्‍मेवारी लिने, वा आफूलाई पृथक् तुल्याउने काम गर्ने चाहना गर्दै समय बिताउँछस् भने, म तँलाई भन्छु: यो महत्त्वाकाङ्क्षा हो। महत्त्वाकाङ्क्षाले विपत्ति ल्याउन सक्छ, त्यसैले तँ त्यसबारे सतर्क हुनुपर्छ। सबै मानिसहरू प्रगति गर्ने चाहना राख्छन् र सत्यताप्रति लागिपर्न इच्‍छुक हुन्छन्, यो कुनै समस्या होइन। कतिपय मानिसहरूमा क्षमता हुन्छ, तिनीहरूले अगुवा बन्‍ने मापदण्डहरू पूरा गर्छन्, र तिनीहरू सत्यताप्रति लागिपर्न सक्षम हुन्छन्, र यो राम्रो कुरा हो। अरू मानिसहरूमा क्षमता हुँदैन, त्यसकारण तिनीहरू आफ्नै कर्तव्यमा अडिनुपर्छ, तिनीहरूले आफूसामु रहेको कर्तव्यलाई उचित रूपमा, सिद्धान्तहरूअनुसार र परमेश्‍वरको घरका मागहरूअनुसार पूरा गर्नुपर्छ; तिनीहरूका लागि, त्यो नै राम्रो, सुरक्षित, र यथार्थपरक हुन्छ।

अगुवा र कामदार बन्न चुनिएका वा प्रवर्द्धन र संवर्धन गरिएका मानिसहरूले यस्तो महसुस गर्दै कामना गर्नु हुँदैन कि, “दाजुभाइ-दिदीबहिनीहरूले अति धेरै मानिसहरूमध्येबाट मलाई छनोट गरे, परमेश्‍वरको घरले मलाई प्रवर्धन गर्‍यो, त्यसैले ममा वास्तवमै केही प्रतिभा छ, र म साधारण मानिसहरूभन्दा राम्रो छु; साँचो सुन अन्तमा चम्किन्छ।” के यसरी सोच्नु राम्रो हो? के यो भ्रष्ट स्वभावको प्रकटीकरण होइन र? (हो।) प्रवर्द्धन र संवर्धन गरिनु राम्रो कुरा र एउटा राम्रो अवसर हो, तर तँ यो मार्गमा हिँड्न सक्छस् कि सक्दैनस् भन्ने कुरा तैँले यस अवसरलाई कसरी लिन्छस् र यसलाई कदर गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरामा निर्भर हुन्छ। परमेश्‍वरले तँलाई यो मौका दिनुभएको छ, तर त्यसको अर्थ तँ अरूभन्दा साँच्चै राम्रो छस् भन्ने होइन; तेरो क्षमता अरूको भन्दा अलि राम्रो हुन सक्छ वा तँसँग केही वरदानहरू हुन सक्छन्, तर तेरो जीवन प्रवेश कस्तो छ र तँसँग सत्यता वास्तविकता छ कि छैन भन्ने कुरा ठम्याउन गाह्रो छ—किनकि सबैका भ्रष्ट स्वभावहरू उस्तै हुन्छन्, र तँ पनि भ्रष्ट तुल्याइएको मानवजातिकै एउटा सदस्य होस्। यदि तैँले यो बुझ्न सक्छस् भने, तैँले परमेश्‍वरको घरले तँलाई गर्ने प्रवर्द्धन र संवर्धनलाई सही रूपमा लिन सक्नेछस्। तैँले आफूलाई प्रतिभावान् व्यक्ति मान्नु हुँदैन, न त तैँले आफूसँग सत्यता वास्तविकता छ भन्ने सोच्नु नै हुन्छ। यति मात्र हो कि तँसँग अलिकति क्षमता छ र तँ सत्यतातर्फ अलिकति लागिपर्न पनि सक्छस्, त्यसैले तँलाई आफै तालिम लिने अधिकार दिइएको हो। यो परीक्षण अवधि हो, र तँ साँच्चै सत्यता पछ्याउने व्यक्ति होस् कि होइनस्, वा तँ संवर्धन गरिन योग्य छस् कि छैनस् भनेर अहिलेसम्म निश्चित भइसकेको छैन। यस अवधिमा परीक्षण गरिएपछि तँ दृढ रहन सक्नेछस् कि सक्नेछैनस् भनी भन्न गाह्रो छ। तँलाई राखेर तेरो संवर्धन जारी राख्न सकिन्छ, वा तँलाई हटाउन पनि सकिन्छ—यो सबै तैँले कति मेहनत गर्छस् भन्नेमा निर्भर हुन्छ। अगुवा र कामदार बन्न मानिसहरूलाई प्रवर्द्धन गर्नु भनेको यही हो, र तैँले त्यो बुझ्नुपर्छ। तैँले आफैलाई प्रतिभावान् व्यक्ति सोच्नु निरर्थक हो। यदि परमेश्‍वरको घरले तँलाई प्रवर्द्धन र संवर्धन गर्दैन भने, तँ केही पनि होइनस्। यदि तँ सत्यता पछ्याउँदैनस् र परमेश्‍वरको घरद्वारा प्रयोग गरिन अनिच्छुक छस् भने, तैँले केही पनि हासिल गर्न सक्दैनस्। यदि त्यसपछि तैँले “परमेश्‍वरको घरले मलाई प्रयोग गर्दैन, म बाहिर समाजमा जानेछु” भनेर भन्छस् भने, बाहिर समाजमै गएर प्रयास गर्, तँलाई कसले प्रवर्द्धन गर्दोरहेछ, र तैँले के हासिल गर्न सक्छस् भनी हेर्। यसो भनेर, मैले तिमीहरूलाई के बताउन खोजेको हो भने, परमेश्‍वरको घरले तिमीहरूलाई गर्ने प्रवर्द्धन र संवर्धनप्रति तिमीहरूले सही बुझाइ र दृष्टिकोण राख्नुपर्छ। जसको क्षमता कमजोर वा औसत छ र जसले परमेश्‍वरको घरमा प्रवर्द्धन र संवर्धन गरिन माग गरिने मानक पूरा गर्न सक्दैनन् तिनीहरूले विनीत र अडिग रूपमा केवल आफ्ना कर्तव्य पूरा गर्नुपर्छ। तैँले सारा हृदय र मनका साथ आफ्नो कर्तव्य पूरा गरेसम्म, परमेश्‍वरले तँलाई अन्यायपूर्ण व्यवहार गर्नुहुन्न। त्यसकारण, प्रवर्द्धन र संवर्धनका मामलाहरूमा झगडा नगर्, तर तिनलाई इन्कार पनि नगर्, बस सबथोकलाई आफ्नै प्राकृतिक लयमा चल्न दे; एक हिसाबमा, तैँले परमेश्‍वरको घरका प्रबन्धहरूको पालन गर्नैपर्छ, र अर्को हिसाबमा, तँसँग परमेश्‍वरमा समर्पित हुने हृदय हुनैपर्छ—यो नै सही मार्ग हो। के यो गर्न सरल छ? (हजुर, छ।) के कमजोर क्षमता भएको व्यक्ति अगुवा हुनुमा कुनै फाइदा छ? अन्त्यमा, जब उसलाई झूटो अगुवाका रूपमा चित्रण गरिन्छ र हटाइन्छ, तब उसलाई यसबारे कस्तो महसुस हुनेछ? के त्यो तिमीहरूले चाहेको जस्तै हुनेछ? (हुनेछैन।) तैँले आफ्नो टाउकोमाथि “झूटो अगुवा” को पदवी बोक्नेछस्, र तँ जहाँ गए पनि, मानिसहरूले “यो व्यक्ति कुनै समय झूटो अगुवा थियो” भनेर भन्नेछन्। के त्यो राम्रो कुरा हो कि नराम्रो कुरा? त्यो राम्रो कुरा होइन, र त्यो कुनै गौरवपूर्ण कुरा होइन। प्रवर्द्धन र संवर्धनप्रति मानिसहरूमा सही बुझाइ र मनोवृत्ति हुनुपर्छ; यी मामलाहरूमा, तिनीहरूले सत्यताको खोजी गर्नैपर्छ, र आफ्‍नो इच्‍छा पछ्याउने, वा महत्त्वाकाङ्क्षा र चाहनाहरू राख्‍ने गर्नु हुँदैन। यदि तँलाई तँसँग राम्रो क्षमता छ भन्‍ने लाग्छ तर परमेश्‍वरको घरले तँलाई कहिल्यै प्रवर्द्धन गरेको छैन, वा तँलाई संवर्धन गर्ने कुनै योजना बनाएको छैन भने, निराश नहो वा गुनासो गर्न नथाल्, सत्यता पछ्याउनमा र अघि बढ्न लागिपर्नमा मात्र ध्यान दे। जब तँसँग केही कद हुन्छ र तँ वास्तविक काम गर्न सक्षम हुन्छस्, तब परमेश्‍वरका चुनिएका मानिसहरूले स्वाभाविक रूपमै तँलाई अगुवाका रूपमा छनौट गर्नेछन्। अनि यदि तँलाई आफू कमजोर क्षमताको छु, र आफ्नो प्रवर्द्धन वा संवर्धन हुने कुनै सम्भावना छैन, र आफ्ना महत्त्वाकाङ्क्षाहरू पूरा हुन असम्‍भव छ जस्तो लाग्छ भने, के यो राम्रो कुरा होइन र? यसले तँलाई सुरक्षा दिनेछ! तँ कमजोर क्षमताको भएकाले, यदि तैँले एक हुल अन्धा खलबलेहरू भेटिस् जसले तँलाई अगुवाका रूपमा छनौट गरे भने, के तँलाई आगोको भुङ्ग्रोमा हिँडिरहेको जस्तो महसुस हुँदैन र? तँ कुनै काम गर्न सक्षम छैनस् र तेरा आँखा र मन अन्धा छन्। तैँले गर्ने हरेक कुरा अवरोध बन्छ; तेरो हरेक चाल दुष्कर्म बन्छ। तैँले हालको आफ्नो कर्तव्यको काम राम्रोसित गर्नु नै बेस हुन्छ; कम्तीमा पनि तैँले आफूलाई लज्‍जित पार्नेछैनस्, र झूटो अगुवा बन्‍नु र पर्दापछाडि आलोचना खेप्‍नुभन्दा त यो नै बेस हुन्छ। व्यक्तिका रूपमा, तँलाई आफ्नो औकात थाहा हुनैपर्छ, तँमा थोरै भए पनि आत्मसचेतना हुनैपर्छ; यस्तो भयो भने, तँ गलत मार्ग लिनबाट र गम्‍भीर गल्तीहरू गर्नबाट जोगिन सक्नेछस्।

तिमीहरू झूटा अगुवा हुन चाहन्छौ कि साधारण अनुयायी? (साधारण अनुयायी।) यदि दाजुभाइ-दिदीबहिनीहरूले तँलाई चुन्छन् भने एकचोटि प्रयास गर्; तँप्रति उनीहरूको दृष्टिकोण तँबारे तेरा आफ्नै भावनाहरूभन्दा सही हुन सक्छ। यदि दाजुभाइहरू-दिदीबहिनीहरूले तँ यो काम गर्न सक्‍छस् भनी सोच्छन् भने तैँले त्यसमा आफ्नो सम्पूर्ण कोसिस लगाउनुपर्छ। यदि तैँले सक्दो कोसिस गर्छस् तर पनि तँ आफ्नो काममा असफल बन्‍छस्, र तेरो हृदय चिन्ताले जल्छ, यसरी जल्छ कि तैँले खाना खानै सक्दैनस् र त्यसले गर्दा तँ निदाउन नै सक्दैनस्, र तँलाई त्यो काम ठिकसँग कसरी गर्ने थाहै छैन भने, तँ अगुवा वा कामदार हुन छोड्नुपर्छ—तँलाई त्यो अति गाह्रो हुन्छ। यदि तैँले त्यसैलाई जारी राख्छस् भने तँ सम्भवतः झूटो अगुवा बन्‍नेछस्, त्यसैले तैँले ढिलाइ नगरी “मेरो क्षमता कमजोर भएकाले र म वास्तविक काम गर्न असक्षम भएकाले, यदि म अगुवा भइरहेँ भने, म पक्कै चाँडै नै झूटो अगुवा बन्न पुग्नेछु, त्यसैले म राजीनामा दिने, र स्वेच्छाले पद त्याग्ने अनुरोध गर्छु” भन्ने घोषणा गर्दै राजीनामा लेख्‍नुपर्छ। यो सबैभन्दा बुद्धिमान् र सबैभन्दा उपयुक्त कार्य हो! यो तर्कसङ्गत हुन्छ, र पद ओगटेर झूटो अगुवा हुनुभन्दा यसो गर्नु राम्रो हो। यदि तँलाई आफूमा योग्यताको कमी भएको र आफू अगुवा बन्‍न अयोग्य भएको कुरा पूर्ण रूपमा थाहा छ तर तैँले हैसियत छोड्ने कुरा सहन सक्‍दैनस् र आफैलाई, “म यो किन गर्न सक्दिनँ? कसले मलाई अलि सहयोग गर्न सक्छ? अरू कसैले मेरा लागि सारा योजना र रणनीतिहरू बनाइदिने अनि मैले अगुवाका रूपमा आफ्नो हैसियत कायम राख्ने भए कति राम्रो हुन्थ्यो होला! अहिले मेरो स्थान लिन उपयुक्त कोही पनि छैन, त्यसैले म केवल अगुवा बनिरहन सक्छु अनि जबसम्म म यस काममा रहन्छु तबसम्म म त्यसको आनन्द लिइरहन सक्छु; मैले त्यो काम गर्न नसके पनि, म अगुवा नै हुँ, र अगुवा हुनु साधारण दाजुभाइ वा दिदीबहिनी हुनुभन्दा राम्रो हो। यदि परमेश्‍वरको घरले मलाई बर्खास्त गरेन र दाजुभाइ-दिदीबहिनीहरूले मलाई हटाएनन् भने, म राजीनामा दिन्नँ” भनेर भन्छस् भने, के यो उचित हुन्छ? (हुँदैन।) किन उचित हुँदैन? (यो अव्यावहारिक हुन्छ; यदि म वास्तविक काम गर्न असक्षम छु, तैपनि मैले राजीनामा दिइनँ भने, त्यसले केवल मण्डलीका काममा ढिलाइ गर्नेछ।) यसरी काम गर्दा मण्डलीका काममा ढिलाइ हुन्छ—यसले अरूलाई र तँ आफैलाई चोट पुर्‍याउँछ। अगुवा हुनुको अर्थ के हो, तँलाई थाहा छ? यसको अर्थ यो हो कि धेरै जना मानिसहरूको जीवन प्रवेशसँग तेरो सिधा सम्बन्ध हुन्छ र तिनीहरू आफ्नो अगाडिको मार्गमा कसरी हिँड्छन् भन्‍ने कुरासँग तेरो अगुवाइको सिधा सम्बन्ध हुन्छ। यदि तैँले राम्रोसँग अगुवाइ गर्छस् र तिनीहरूलाई सही मार्गमा डोऱ्याउँछस् भने, तिनीहरूले सही मार्गमा पाइला चाल्न सक्नेछन्। यदि तैँले कमजोर अगुवाइ गर्छस् र तिनीहरूलाई खाल्डोमा डोऱ्याउँछस्, र तिनीहरू तँजस्तै फरिसी बन्छन् भने, तैँले ठूलो पाप गरेको हुन्छस्! अनि तैँले यो ठूलो पाप गरेपछि, कुरा त्यतिमै सकिन्छ? परमेश्‍वरले यसको अभिलेख राख्नुहुनेछ! तँलाई तेरो क्षमता कमजोर छ, तँ झूटो अगुवा होस्, र वास्तविक काम गर्न असक्षम छस् भन्‍ने थाहा छ, तैपनि तैँले आफ्ना गल्तीहरू स्विकारेर राजीनामा दिँदैनस्, बरु निर्लज्ज रूपमा आफ्नो पदमा टाँस्सिएर बस्‍छस्, र अरू कसैका लागि त्यो छोड्दैनस्। यो पाप हो, र परमेश्‍वरले यसको लेखा राख्‍नुहुनेछ। अनि उहाँले राख्‍नुहुने लेखा भविष्यमा तेरा लागि राम्रो हुनेछ कि नराम्रो हुनेछ? तँ समस्यामा पर्नेछस्! म तँलाई साँचो कुरा बताउँछु: परमेश्‍वरले प्रत्येक व्यक्तिका लागि त्यस्ता कुराहरूको लेखा राख्‍नुहुन्छ, र प्रत्येक विवरण स्पष्ट रूपमा लेखिएको हुन्छ। यदि तेरो मुक्तिको मार्गमा कुनै गम्भीर घटना घट्यो भने, तँमा पर्ने प्रभाव ठूलो हुनेछ! तँ जेसुकै गर्, तर यो बाटो नहिँड्, र यस प्रकारको व्यक्ति नबन्।

विभिन्न प्रकारका प्रतिभावान् मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्ने सम्बन्धमा झूटा अगुवाहरूका केही अभ्यास र प्रकटीकरणहरूबारे हामीले संक्षिप्त सङ्गति गरेका छौँ। सारांशमा, त्यस्तो प्रकारको व्यक्ति, जो झूटो अगुवा हुन्छ, उसले वास्तविक काम गर्दैन, र ऊ वास्तविक काम गर्न असक्षम हुन्छ। उसको क्षमता कमजोर हुन्छ, उसका आँखा र मन अन्धा हुन्छन्, ऊ समस्याहरू पत्ता लगाउन असक्षम हुन्छ, र उसले विभिन्न प्रकारका मानिसहरूलाई छर्लङ्ग देख्न सक्दैन, त्यसैले ऊ विभिन्न प्रकारका प्रतिभावान् मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्ने महत्त्वपूर्ण काम वहन गर्न असक्षम हुन्छ। तसर्थ, उसले मण्डलीको काम राम्ररी गर्न सम्भव हुँदैन, र उसले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा धेरै कठिनाइहरू उत्पन्न गराउनेछ। यी तत्त्वहरूलाई ख्याल गर्दा, झूटा अगुवाहरू मण्डली अगुवा बन्न अयोग्य हुन्छन् भन्ने कुरा प्रस्ट छ। अरू झूटा अगुवाहरू हुन्छन्, जसले मण्डलीको कुनै निश्चित काम गर्दैनन् र निश्चित कामका सुपरिवेक्षकहरूसँग कुनै सम्पर्क राख्दैनन्, त्यसैले तिनीहरूलाई कुन प्रतिभावान् व्यक्तिहरू कुन काम गर्न सक्षम छन्, र कुन व्यक्ति कुन कामका लागि उपयुक्त छ, र तिनीहरूको काम सिद्धान्तअनुरूप छ कि छैन भन्ने थाहा हुँदैन। तसर्थ, तिनीहरू प्रतिभा भएका मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्न असक्षम हुन्छन्। त्यसोभए, त्यस्ता मानिसहरूले कसरी मण्डलीको काम राम्ररी गर्न सक्छन् त? झूटा अगुवाहरूले वास्तविक काम गर्न नसक्नुको मुख्य कारण भनेको तिनीहरूको क्षमता कमजोर हुनु हो; तिनीहरूसँग कुनै पनि कुराबारे अन्तर्ज्ञान हुँदैन र तिनीहरूलाई वास्तविक काम के हो भन्ने नै थाहा हुँदैन। यसले मण्डलीको कामलाई बारम्बार ठप्प र निष्क्रिय हुने स्थितिमा पुऱ्याउँछ। यी कुरा झूटा अगुवाहरूको वास्तविक काम गर्न नसक्नुसँग सिधै सम्बन्धित हुन्छन्। विगत कैयौँ वर्षदेखि, परमेश्‍वरको घरले दुष्ट मानिसहरू र अविश्‍वासीहरू पखालिनुपर्छ र झूटा अगुवाहरू र झूटा कामदारहरू बर्खास्त गरिनुपर्छ भनेर बारम्बार जोड दिँदै आइरहेको छ। किन विभिन्न दुष्ट मानिसहरू र अविश्‍वासीहरू पखालिनुपर्छ? किनकि वर्षौँ परमेश्‍वरमा विश्‍वास गरेपछि पनि, यी मानिसहरू सत्यतालाई बिलकुलै स्विकार्दैनन्, र मुक्तिको आशाभन्दा बाहिर हुने बिन्दुमा पुगेका हुन्छन्। अनि किन सबै झूटा अगुवाहरू र झूटा कामदारहरू बर्खास्त गरिनुपर्छ? किनभने तिनीहरू वास्तविक काम गर्दैनन्, र सत्यता पछ्याउनेहरूलाई कहिल्यै प्रवर्द्धन र संवर्धन गर्दैनन्; बरु, तिनीहरू निरर्थक प्रयासहरूमा लागिरहन्छन्। यसले मण्डलीको कामलाई अस्तव्यस्तता र निष्क्रियतामा पुऱ्याउँछ, विद्यमान समस्याहरू समाधान नभई यथावत् रहन्छन्, र यसले परमेश्‍वरका चुनिएका जनहरूको जीवन प्रवेशलाई पनि सुस्त बनाउँछ। यदि यी सबै झूटा अगुवाहरू र झूटा कामदारहरू बर्खास्त भए, र यदि मण्डलीको कामलाई बाधा दिने यी सबै दुष्ट मानिसहरू र अविश्‍वासीहरू निकालिए भने, मण्डलीको काम स्वतः सहज रूपमा अघि बढ्नेथियो, मण्डलीको जीवन स्वतः झनै राम्रो हुँदै जानेथियो, साथै परमेश्‍वरका चुनिएका जनहरूले सामान्य रूपमा परमेश्‍वरका वचनहरू खान र पिउन र आफ्ना कर्तव्य पूरा गर्न, अनि परमेश्‍वरमाथिको आस्थामा सही मार्गमा प्रवेश गर्न सक्नेथिए। परमेश्‍वरले यही हेर्न चाहनुहुनेथ्यो।

२७ फेब्रुअरी, २०२१

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्