अगुवा र कामदारहरूका जिम्मेवारीहरू (४) खण्ड चार
अहिले, विदेशमा सुसमाचारको काम विश्वव्यापी रूपमा अघि बढिरहेको छ। कतिपय देशमा सत्यता स्विकार्न सक्ने मानिसहरू धेरै छन्, जबकि अरूमा अलि कम क्षमताको जनमानस छ, जसले गर्दा सत्यता स्विकार्न सक्ने मानिसहरू थोरै मात्र छन्। कतिपय देशमा विश्वासको स्वतन्त्रता छैन, र त्यसले त्यहाँ साँचो मार्ग र परमेश्वरको कामप्रति दृढ प्रतिरोध हुन्छ, र त्यति धेरै मानिसहरूले सत्यता स्विकार्न सक्दैनन् भन्ने देखाउँछ। साथै, कति देशका मानिसहरू अत्यन्तै पिछाडिएका हुन्छन् र तिनीहरूको क्षमता यति कमजोर हुन्छ कि जसरी सङ्गति गरे पनि तिनीहरूले सत्यता बुझ्न सक्दैनन्, र त्यहाँका मानिसहरू सत्यताको स्तरभन्दा धेरै तल भएझैँ लाग्छन्। त्यस्ता ठाउँमा सुसमाचार प्रचार गर्नु हुँदैन। तर, सुसमाचार प्रचार गर्नेहरूले समस्याको सार देख्न सक्दैनन्; तिनीहरू सत्यता स्विकार्न सक्नेहरूलाई प्रचार गर्दैनन्, बरु कठिन मानिसहरू खोज्न र सजिलाहरूलाई बेवास्ता गर्न जिद् कस्छन्। तिनीहरू पहिले नै सुसमाचारको काम फैलिइरहेको र प्रचार गर्न सजिला ठाउँहरूमा प्रचार गर्दैनन्। बरु, तिनीहरू ती गरिब र पिछडिएका स्थानहरूमा सुसमाचार प्रचार गर्न जिद्दी गर्छन्, र सबैभन्दा कमजोर क्षमता भएका र सत्यता बुझ्न नसक्ने मानिसहरूका समूहमा, अनि परमेश्वरप्रति सबैभन्दा बढी धार्मिक धारणा र सबैभन्दा बढी प्रतिरोध भएका जातीय समूहमा प्रचार गर्छन्। के यो विचलन होइन र? उदाहरणका लागि, यहूदी धर्म, र गहिरो रूपमा जरा गाडेका केही जातीय धर्महरूलाई लिऊँ, जसले इसाई धर्मलाई शत्रुका रूपमा लिन्छन् र सताउनेसमेत गर्छन्। यस्ता देश र जातीय समूहहरूमा सुसमाचार प्रचार गर्नु नै हुँदैन। किन हुँदैन? किनभने त्यहाँ प्रचार गर्नु व्यर्थ हुन्छ। तैँले सारा जनशक्ति, आर्थिक स्रोतसाधन, र भौतिक संसाधन समर्पित गरिस् भने पनि, तीन, पाँच, वा दश वर्ष बित्दा पनि कुनै महत्त्वपूर्ण नतिजा नआउन सक्छ। यस अवस्थालाई ध्यान दिँदा, के गर्न सकिन्छ? सुरुमा, राम्ररी नबुझेरै व्यक्तिले प्रयास गर्न सक्छ; तर ठूलो मूल्य चुकाएर तिनीहरूलाई सुसमाचार प्रचार गर्दा गर्दा पनि अन्ततः राम्रा परिणामहरू प्राप्त नहुन सक्ने परिस्थितिहरू देखेपछि, व्यक्तिले अर्को मार्ग रोज्नुपर्छ, एउटा त्यस्तो मार्ग जसले नतिजाहरू दिन सकोस्। के यो अगुवा र कामदारहरूले छर्लङ्गै देख्नुपर्ने कुरा होइन र? (हो।) तर झूटा अगुवाहरूले यो कुरा बुझ्दैनन्। विदेशमा सुसमाचार प्रचार गर्न कहाँ सुरु गर्ने भन्ने विषयमा, कतिले भन्छन्, “इस्राएलबाट सुरु गर। इस्राएल परमेश्वरको कामका पहिलो दुई चरणहरूको आधार भएको हुनाले, यसको प्रचार त्यहाँ नै गरिनुपर्छ। जति नै गाह्रो भए पनि हामी तिनीहरूलाई प्रचार गर्न निरन्तर लागिरहनुपर्छ।” तर, लामो समय प्रचार गरेपछि पनि कुनै महत्त्वपूर्ण परिणामहरू आउँदैनन्, जसले निराशामा पुर्याउँछ। यस्तो बेला अगुवाहरूले के गर्नुपर्छ? यदि क्षमता र बोझ भएको अगुवा हुन्थ्यो भने, उसले यसो भन्नेथ्यो, “हाम्रो सुसमाचार प्रचारमा कुनै सिद्धान्त छैन; हामीले परिस्थितिअनुसार अघि बढ्न जानेकै छैनौँ, बरु हामी कामकुरालाई आफ्नै कल्पनाहरूका आधारमा मात्रै हेर्छौँ—हामी अत्यन्तै अनुभवहीन भयौँ! यी मानिसहरूको मूर्खता, जिद्दीपन, र हास्यास्पद अवस्था हामीले अपेक्षा गरेका कुरा थिएनन्। हामीले त तिनीहरूले हजारौँ वर्षदेखि परमेश्वरमा विश्वास गर्दै आएका हुनाले परमेश्वरको सुसमाचार सुन्ने पहिलो तिनीहरू नै हुनुपर्छ भन्ने सोचेका थियौँ, तर हामीले गलत सोचेका रहेछौँ; तिनीहरू अत्यन्तै हास्यास्पद छन्! वास्तवमा, जब परमेश्वरले छुटकाराको काम गरिरहनुभएको थियो, उहाँले तिनीहरूमाथि पहिले नै हार मानिसक्नुभएको रहेछ। हामी अहिले तिनीहरूकहाँ गएर प्रचार गर्नु भनेको व्यर्थ प्रयास गर्नु हो; यो व्यर्थमा परिश्रम गर्नु र मूर्ख व्यवहार गर्नु हो। हामीले परमेश्वरका अभिप्रायहरूलाई गलत बुझेका छौँ। परमेश्वरले त यो मामलामा काम गर्नुहुन्न भने हामी मानिसहरूले कुन उपायले गर्न सक्छौँ र? हामीले प्रयास त गरेका छौँ, तर हामीले जसरी प्रचार गरे पनि तिनीहरूले साँचो मार्ग स्विकार्दैनन्। हामीले अहिलेका लागि यसलाई छाड्नुपर्छ, र तिनीहरूलाई पन्छाउनुपर्छ, र तत्कालका लागि तिनीहरूलाई कुनै ध्यान दिनु हुँदैन। यदि खोजी गर्न इच्छा गर्नेहरू छन् भने, हामी तिनीहरूलाई स्वागत गर्नेछौँ र तिनीहरूलाई परमेश्वरको कामको गवाही दिनेछौँ। यदि खोजी गर्ने कोही छैन भने, हामीले सक्रिय रूपमा तिनीहरूलाई खोज्दै हिँड्नुपर्दैन।” के यो सुसमाचार प्रचार गर्ने सिद्धान्त होइन र? (हो।) त्यसोभए, के झूटो अगुवाले सिद्धान्तहरू पालना गर्न सक्छ? (सक्दैन।) झूटा अगुवाहरूको क्षमता कमजोर हुन्छ र तिनीहरूले समस्याको सार छर्लङ्गै देख्न सक्दैनन्; तिनीहरूले भन्नेछन्, “परमेश्वरले इस्राएलीहरू उहाँका चुनिएका मानिसहरू हुन् भनेर भन्नुभएको छ। हामीले तिनीहरूबारे कहिल्यै पनि हार मान्नु हुँदैन। तिनीहरू नै पहिला आउनुपर्छ; हामीले अरू देशका मानिसहरूलाई प्रचार गर्नुभन्दा पहिले तिनीहरूलाई नै प्रचार गर्नुपर्छ। यदि परमेश्वरको काम इस्राएलमा फैलियो भने, त्यो कति ठूलो महिमा हुन्थ्यो होला! परमेश्वरले इस्राएलबाट पूर्वमा महिमा ल्याउनुभयो, र हामीले त्यो महिमा पूर्वबाट इस्राएलमा फिर्ता ल्याउनुपर्छ, र परमेश्वर फर्केर आउनुभएको छ भन्ने कुरा तिनीहरूलाई देखाउनुपर्छ!” के यो नारा मात्रै होइन र? के यो तथ्यहरूअनुरूप छ? आत्मिक बुझाइ नभएका मानिसहरू यही भन्छन्। वास्तविक काम नगर्ने ती झूटा अगुवाहरू चाहिँ के भन्छन्? तिनीहरूले यी कुरालाई ध्यानै दिँदैनन्। सुसमाचार प्रचार गर्ने मानिसहरूलाई यो कुराले लामो समयदेखि समस्यामा पारेको छ, तिनीहरू प्रचार गर्न छोड्ने र प्रचार जारी राख्नेबीच विभाजित छन्, र कसरी अभ्यास गर्ने भनेर अनिश्चित छन्। झूटा अगुवाहरू यो समस्या हो भन्नेबारे पूर्णतया अनजान हुन्छन्। यी मानिसहरूले बाटो नभएकोमा चिन्ता गरेको देख्दा, तिनीहरूले भन्छन्, “चिन्ता गर्नुपर्ने कारण के छ र? हामीसँग सत्यता र अनुभवात्मक गवाही छ; बस तिनीहरूलाई प्रचार गर!” कसैले भन्छ, “तपाईंले बुझ्नुहुन्न, यी मानिसहरूलाई प्रचार गर्न निकै गाह्रो छ।” जब काममा महत्त्वपूर्ण समस्याहरू देखा पर्छन् र तिनलाई समाधान गर्न अगुवाहरू नै चाहिन्छ, तब अगुवाहरूले अझै पनि नाराहरू मात्रै फलाकिरहेका र खोक्रा शब्दहरू मात्रै बोलिरहेका हुन्छन्। के अगुवाहरूबाट अपेक्षा गरिने व्यवहार यही हो त? त्यस्ता सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूलाई प्रचार गर्नुपर्छ कि पर्दैन भनेर सोधियो भने, तिनीहरूले भन्छन्, “सबैलाई प्रचार गरिनुपर्छ, र विशेष गरी इस्राएलीहरूलाई त अवश्य नै प्रचार गरिनुपर्छ।” के तिमीहरूले यी शब्दहरूमा कुनै समस्या सुन्छौ? के तिनीहरूलाई यो एउटा विचलन हो, सुसमाचारको काममा तिनीहरूले सुधार गर्नुपर्ने त्रुटि हो भन्ने थाहा हुन्छ? यी केही न कामका मानिसहरूलाई थाहा हुँदैन र तिनीहरू अझै पनि उत्कृष्ट सुनिने भाषा फलाक्दै र नाराहरू घन्काउँदै बस्छन्, तिनीहरू साँच्चै नै बेकारका कसिङ्गर हुन्! तैपनि तिनीहरूले आफू बाठो छु, आफूसँग क्षमता छ र आफू चलाख छु भन्ने सोच्छन्। काममा यस्तो ठूलो त्रुटि र विचलन देखा परेको छ भन्ने कुरा तिनीहरूलाई थाहासमेत हुँदैन; के तिनीहरूले त्यसलाई सुल्झाउन सुरु गर्न नै सक्छन् र? त्यो सम्भावना त झनै कम हुन्छ। सुसमाचार प्रचार गर्नेहरू सबै अत्यन्तै चिन्तित हुन्छन्; सुसमाचारको काममा असर परेको हुन्छ, बाधा आएको हुन्छ, र त्यो सहज रूपमा अघि बढ्न सक्दैन, र अचम्मको कुरा त के हुन्छ भने, काममा भइरहेको विचलनबारे झूटा अगुवाहरूलाई थाहासमेत हुँदैन। काममा समस्या वा विचलनहरू आइपर्दा, धेरैजसो मानिसहरूले प्रायजसो वास्ता गर्दैनन्, ध्यान दिँदैनन्, र अत्यन्तै बेपर्बाह भएर गलत शैलीमा जिद्दीपूर्वक लागिरहन्छन्। यदि अगुवा र कामदारहरूले पनि अवस्थालाई तुरुन्तै बुझ्दैनन् र बोध गर्दैनन् भने, समस्या गम्भीर बनेर त्यसले कामको प्रगतिमा असर पार्दासम्म, र धेरैजसो मानिसहरूले समस्या पत्ता लगाउन सक्ने हुँदासम्म, अगुवा र कामदारहरू अकमक्क हुन्छन्। यो अगुवा र कामदारहरूको जिम्मेवारीमा लापरवाहीका कारण भएको हो। त्यसोभए, तिनीहरू यस्ता गम्भीर परिणामहरूबाट कसरी जोगिन सक्छन्? अगुवा र कामदारहरूले नियमित रूपमा कामको जाँच गर्नुपर्छ, र कामको वर्तमान स्थिति र प्रगतिबारे तुरुन्तै बुझ्नुपर्छ। यदि कामको प्रभावकारिता उच्च नभएको भेटिएमा, तिनीहरूले कुन भागमा कमीकमजोरी र समस्याहरू छन् भनेर हेर्नुपर्छ, र मनन गर्नुपर्छ: “अहिले, यी मानिसहरू व्यस्त देखिन्छन्, तर किन कुनै स्पष्ट प्रभावकारिता छैन? सुसमाचार समूहको काम हेरौँ त; धेरै मानिसहरूले हरेक दिन सुसमाचार प्रचार गर्छन् र गवाही दिन्छन्, साथै कतिपय मानिसहरूले पनि यस काममा सहकार्य गर्छन्, तर पनि किन हरेक महिना त्यति धेरै मानिसहरू प्राप्त हुँदैनन्? कुन भागमा समस्या छ? समस्या कसले पैदा गरिरहेको छ? यो विचलन कसरी पैदा भयो? यो कहिले सुरु भयो? म हरेक समूहमा जानुपर्छ, र मैले अहिले सबैले के गरिरहेका छन्, वर्तमानमा सुसमाचार स्विकार्ने सम्भावना भएकाहरू कस्ता छन्, र सुसमाचार सही दिशामा प्रचार भइरहेको छ कि छैन भनेर पत्ता लगाउनुपर्छ; मैले यो सबै कुरा पत्ता लगाउनुपर्छ।” काममा हुने विचलन र त्रुटिहरू परामर्श, सङ्गति, र छलफलमार्फत क्रमिक रूपमा स्पष्ट हुन्छन्। कुनै समस्या पत्ता लागेपछि, यसलाई त्यतिकै छोड्नु हुँदैन; यसलाई समाधान गर्नैपर्छ। त्यसोभए, कस्ता प्रकारका अगुवाहरूले काममा देखा पर्ने केही समस्या, विचलन, र त्रुटिहरू पत्ता लगाउन सक्छन्? ती अगुवाहरूले बोझ लिनुपर्छ, तिनीहरू लगनशील हुनुपर्छ र निश्चित कामको हरेक सानो-सानो कुरामा संलग्न हुनुपर्छ; तिनीहरूले हरेक पाटोको अनुगमन गर्नुपर्छ, त्यसलाई बुझ्नु र बोध गर्नुपर्छ; सबैले के गरिरहेका छन्, कुन काम गर्न कति जना मानिसहरू उपयुक्त हुन्छन्, सुपरिवेक्षकहरू को-को छन्, यी मानिसहरूको क्षमता के-कस्तो छ, र तिनीहरूले आफ्नो काम राम्ररी गरिरहेका छन् कि छैनन्, र तिनीहरूको प्रभावकारिता कस्तो छ, काम कसरी अघि बढिरहेको छ, आदि इत्यादि कुरा पत्ता लगाउनुपर्छ—यी सबै कुरा निश्चित गरिनुपर्छ। यसका साथै, सुसमाचारको कामको सबैभन्दा महत्त्वपूर्ण पाटो भनेको सुसमाचार प्रचारकहरूमा सत्यता छ कि छैन, तिनीहरूले मानिसहरूका धारणा र समस्याहरू समाधान गर्न स्पष्ट रूपमा दर्शनहरूका सत्यताहरू सङ्गति गर्न सक्छन् कि सक्दैनन्, तिनीहरूले सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूलाई पूर्णतया विश्वस्त गराउन तिनीहरूमा जे कुराको कमी छ त्यो आपूर्ति गर्न सक्छन् कि सक्दैनन्, र सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूले परमेश्वरको आवाज अझ धेरै सुन्न सकून् भन्नका लागि तिनीहरूले कुराकानीको शैलीमा सत्यता सङ्गति गर्न सक्छन् कि सक्दैनन् भन्ने हो। उदाहरणका लागि, यदि सुसमाचार स्विकार्ने सम्भावना भएको व्यक्तिले परमेश्वरको देहधारणको महत्त्वसँग सम्बन्धित सत्यताहरूबारे जान्न चाहन्छ, तर कुनै निश्चित सुसमाचार प्रचारकले सधैँ परमेश्वरको कामको महत्त्वबारे र धार्मिक धारणाहरू भनेका के हुन् भन्नेबारे मात्रै कुरा गर्छ भने, के यो समस्या होइन र? यदि कुनै व्यक्तिले कसरी मुक्ति पाउन सकिन्छ र मानवजातिलाई मुक्ति दिने परमेश्वरको व्यवस्थापन योजनाको विषयवस्तु के हो भन्नेबारे मात्रै जान्न चाहन्छ भने, के यो परमेश्वरको कामका तीन चरणहरूसँग सम्बन्धित दर्शन-सत्यताहरूबारे सङ्गति गर्ने बेला भएको होइन र? (हो।) तर त्यो सुसमाचार प्रचारकले परमेश्वरको सजाय र न्यायबारे, र मानिसहरूको भ्रष्ट स्वभावमा अहङ्कार, छल, र दुष्टता हुन्छन् भन्ने उहाँको खुलासा र अरू त्यस्तै विषयहरूबारे मात्रै कुरा गरिरहन्छ। अर्को पक्षले परमेश्वरको काम स्विकार्नुभन्दा पहिले नै, सुसमाचार प्रचारकले ऊसँग सजाय र न्यायबारे कुरा गर्न थाल्छ, र उसका भ्रष्ट स्वभावहरू खुलासा गर्छ। परिणामस्वरूप, त्यो व्यक्तिले वाक्क मान्छ, र चाहेको कुरा प्राप्त गर्दैन, र उसका समाधान गरिनुपर्ने समस्याहरू समाधान हुँदैनन्; उसको रुचि हराउँछ र उसले अनुसन्धान जारी राख्न चाहँदैन। के यो सुसमाचार प्रचारकको समस्या होइन र? त्यो सुसमाचार प्रचारकले सत्यता बुझेको हुँदैन, वा उसमा आत्मिक बुझाइको कमी हुन्छ, त्यसकारण अर्को व्यक्तिलाई के चाहिन्छ भन्ने कुरा उसलाई पटक्कै थाहा हुँदैन, उसले बोल्दा ठ्याक्कै कुरा भन्न सक्दैन, लम्बे-चौडे कुरा गरिरहन्छ, र सुसमाचार स्विकार्ने सम्भावना भएको व्यक्तिका समस्याहरू पटक्कै समाधान गर्दैन—उसले यसरी सुसमाचार प्रचार गरेर कसरी मानिसहरू प्राप्त गर्न सक्छ र?
झूटा अगुवाहरूले आफ्नो काममा आउन सक्ने जुनसुकै समस्यालाई बेवास्ता गर्छन्। सुसमाचारको काममा जस्तोसुकै समस्याहरू पैदा भए पनि, र दुष्ट मानिसहरूले यो काममा जति बाधा र असर पारे पनि, तिनीहरूले यो कुनै पनि कुराप्रति ध्यान दिँदैनन्, मानौँ तिनीहरूसँग यसको कुनै सम्बन्ध छैन। झूटा अगुवाहरू आफ्नो काममा अन्योलमा हुन्छन्; कुनै निश्चित व्यक्तिले आफ्नो कर्तव्यमा कुनै परिणामहरू प्राप्त गरे पनि नगरे पनि वा ऊ सिद्धान्तहरूअनुरूप भए पनि नभए पनि, उसले सुपरिवेक्षण वा जाँच गर्दैन, र जसले गर्दा परिणामहरू जेसुकै भए पनि मानिसहरूले स्वतन्त्र रूपमा काम गर्न पाउँछन्। यसले गर्दा सुसमाचारको काममा देखा पर्ने विचलन र त्रुटिहरू कहिल्यै समाधान हुँदैनन्, र साँचो मार्ग खोज्ने असङ्ख्य मानिसहरू पछि हट्छन्, र तिनीहरूलाई सक्दो चाँडो परमेश्वरसामु ल्याउन सकिँदैन। कति मानिसहरू त परमेश्वरको आखिरी दिनहरूको काम स्विकारेपछि यसो भन्छन्, “खासमा मलाई कसैले तीन वर्ष पहिले सुसमाचार प्रचार गरेको थियो। मैले यसलाई स्विकार्न नचाहेको वा नकारात्मक प्रचारबाजीमा विश्वास गरेको होइन; बरु कुरा के हो भने, मलाई प्रचार गर्ने व्यक्ति अत्यन्तै गैरजिम्मेवार थियो। उसले मैले सोधेका प्रश्नहरूका उत्तर दिन सकेन, र मैले सत्यता खोजी गर्ने क्रममा, उसले सङ्गति दिँदा ऊ स्पष्ट थिएन, उसले केही व्यर्थका शब्दहरू मात्रै बोल्थ्यो। परिणामस्वरूप, निराश भएर जानेबाहेक मैले केही गर्न सकिनँ।” तीन वर्षपछि, अनलाइनमा अनुसन्धान गरेर दाजुभाइ-दिदीबहिनीहरूसँग खोजी र सङ्गति गरेपछि, यी मानिसहरूले आफ्ना हृदयका सबै धारणा र अन्योलहरू एकएक गरी समाधान गर्छन्, र परमेश्वर देखा परेर उहाँले काम गरिरहनुभएको छ भन्ने कुरा पूर्ण रूपमा पुष्टि गर्छन्, र यसलाई स्विकार्छन्। यो तिनीहरूले आफ्नै खोजी र अनुसन्धानमार्फत परमेश्वरको काम स्विकारेको कुरा हो। यदि सुसमाचार प्रचार गर्ने व्यक्तिले स्पष्ट रूपमा सत्यता सङ्गति गरेर तिनीहरूका धारणा र प्रश्नहरू तीन वर्ष पहिले नै समाधान गर्न सकेको भए, तिनीहरूले यसलाई तीन वर्ष पहिले नै स्विकार्नेथिए। यो तीन वर्षमा जीवन वृद्धिमा कति ढिलाइ भयो! यसलाई सुसमाचार प्रचार गर्नेहरूले कर्तव्यमा लापर्बाही गरेको रूपमा लिइनुपर्छ र यो कुरा तिनीहरूले सत्यता नबुझ्नुसँग सिधै सम्बन्धित छ। कतिपय सुसमाचार प्रचारकहरू आफूलाई सत्यताले सुसज्जित गर्ने कार्यमा ध्यान दिँदै दिँदैनन्, केही धर्मसिद्धान्तहरू मात्रै फलाक्न सक्छन् तर मानिसहरूका धारणा वा वास्तविक समस्याहरू समाधान गर्न सक्दैनन्। परिणामस्वरूप, धेरै मानिसहरूले सुसमाचार सुनेपछि त्यसलाई समयमै स्विकार्दैनन्, जसले गर्दा तिनीहरूको जीवन वृद्धिमा धेरै वर्ष ढिलाइ हुन्छ। सुसमाचारको कामका प्रभारी अगुवाहरूको अपर्याप्त मार्गदर्शन र निरीक्षणका कारण तिनीहरू नै यसको जिम्मेवार छन् भनेर भन्नैपर्छ। यदि अगुवा र कामदारहरूले साँच्चै नै बोझ बोकेका हुन्थे र तिनीहरूले अलिक बढी कष्ट सहन, सत्यताबारे अझ बढी सङ्गति अभ्यास गर्न, र सत्यताका सबै पक्षहरूमा स्पष्ट सङ्गति गर्दै अलिक बढी बफादारी देखाउन सक्थे, सत्यताका सबै पक्षहरूमा प्रस्ट सङ्गति गर्थे, र यसले गर्दा सुसमाचार प्रचारकहरूले सत्यता सङ्गति गरेर मानिसहरूका धारणा र शङ्काहरू समाधान गर्न सक्थे भने, सुसमाचार प्रचार गर्नुका परिणामहरू झन्झन् राम्रा हुँदै जानेथियो। यसले साँचो मार्ग अनुसन्धान गरिरहेका अझै धेरै मानिसहरूलाई परमेश्वरको काम चाँडै स्विकार्न र चाँडो परमेश्वरसामु फर्केर उहाँको मुक्ति ग्रहण गर्न मद्दत गर्नेथियो। झूटा अगुवाहरूले आफ्ना कर्तव्यमा गम्भीर लापर्बाही गर्ने, वास्तविक काम नगर्ने वा कामको अनुगमन र निरीक्षण नगर्ने, र तिनीहरूले समस्याहरू समाधान गर्नका लागि सत्यता सङ्गति गर्न नसक्ने भएर नै मण्डलीको काममा ढिलाइ हुन्छ। अवश्य नै, यसको कारण के पनि हो भने, यी झूटा अगुवाहरू हैसियतका लाभहरूमा लिप्त हुन्छन्, सत्यताबिलकुलै पछ्याउँदैनन्, र सुसमाचार फैलाउने कामको अनुगमन, सुपरिवेक्षण, वा निर्देशन गर्न अनिच्छुक हुन्छन्—जसले गर्दा त्यो कामको प्रगति ढिलो हुन्छ, र विभिन्न मानव-सिर्जित विचलन, मूर्खता, र असावधान गलत कार्यहरू तुरुन्तै सच्याउन वा समाधान गर्न सकिँदैन, जसले गर्दा सुसमाचार फैलाउने कामको प्रभावकारितामा गम्भीर असर पुग्छ। माथिले यी समस्याहरू पत्ता लगाएर अगुवा र कामदारहरूलाई ती समाधान गर्न लगाइएपछि मात्रै यी समस्याहरू समाधान हुन्छन्। अन्धा मानिसहरूजस्तै, यी झूटा अगुवाहरूले कुनै पनि समस्या पत्ता लगाउन सक्दैनन्, र तिनीहरूको कामकुरा गराइमा सिद्धान्तहरू पटक्कै हुँदैनन्, तर पनि तिनीहरूले आफ्ना गल्तीहरू महसुस गर्न सक्दैनन्, अनि माथिले तिनीहरूको काटछाँट गरेपछि मात्र तिनीहरूले आफ्ना गल्तीहरू स्विकार्छन्। यी झूटा अगुवाहरूले पुर्याएको नोक्सानीको जिम्मेवारी कसले लिन सक्छ? तिनीहरूलाई पदबाट निकालियो नै भने पनि, तिनीहरूले पुर्याएको घाटालाई कसरी परिपूर्ति गर्न सकिन्छ? तसर्थ, कुनै पनि वास्तविक काम गर्न नसक्ने झूटा अगुवाहरू पत्ता लागेमा, तिनीहरूलाई तुरुन्तै बर्खास्त गरिनुपर्छ। कतिपय मण्डलीहरूमा सुसमाचारको काम निकै ढिलो रूपमा अघि बढ्छ, र यसो हुनुको कारण भनेकै झूटा अगुवाहरूले वास्तविक काम नगर्नु, साथै तिनीहरूको लापरवाही र गल्तीका धेरै घटनाहरू हुनु हो।
झूटा अगुवाहरूले गर्ने विभिन्न किसिमका सबै काममा, वास्तवमा तिनीहरूले समाधान गर्नुपर्ने, र सच्याउनुपर्ने र सुधार्नुपर्ने अनेकौँ समस्या, विचलन, र त्रुटिहरू हुन्छन्। तर, यी झूटा अगुवाहरूमा बोझको भावना नहुने, र तिनीहरू कुनै वास्तविक काम नगरी आफ्नो हैसियतका फाइदाहरूमा मात्रै लिप्त हुने हुनाले, तिनीहरूले कामलाई पूरै भद्रगोल पार्छन्। कति मण्डलीहरूमा त मानिसहरूको मन मिलेको हुँदैन, र सबैले एकअर्कामा शङ्का गर्ने, एकअर्काबाट सतर्क रहने, र एकअर्कालाई कमजोर पार्ने गर्छन्, र सँगसँगै तिनीहरू परमेश्वरको घरले हटाइदेला भनेर डराउँछन्। यी अवस्थाहरू सामना गर्दा, झूटा अगुवाहरू तिनलाई समाधान गर्न अघि बढ्दैनन्, र कुनै पनि वास्तविक र खास काम गर्न असफल हुन्छन्। मण्डलीको काम ठप्प हुन्छ, तैपनि झूटा अगुवाहरू यो कुराले बिलकुलै निराश हुँदैनन्, र तिनीहरू अझै पनि आफूले धेरै काम गरेको छु र मण्डलीको काममा ढिलाइ गराएको छैन भन्ने विश्वास गर्छन्। त्यस्ता झूटा अगुवाहरू आधारभूत रूपमा जीवन आपूर्ति गर्ने काम गर्न असमर्थ हुन्छन्, न त तिनीहरूले सत्यताअनुसार वास्तविक समस्याहरू नै समाधान गर्न सक्छन्। तिनीहरूले माथिबाट विशेष रूपमा अह्राइएको र तोकिएको थोरै सामान्य मामलाका काम मात्रै गर्छन्, र तिनीहरूको काम भनेकै माथिका लागि मात्रै हो जस्तो गर्छन्। माथिले सधैँ जरुरी बनाएको मण्डलीको आधारभूत कामका हकमा—जस्तै जीवन आपूर्ति गर्ने काम र मानिसहरूको संवर्धन गर्ने काम—वा माथिले निर्देशित गर्ने निश्चित विशेष कामहरूका हकमा, तिनीहरूले यी काम गर्न जान्दैनन् र सक्दैनन्। तिनीहरूले बस यी काम अरूलाई सुम्पन्छन्, र त्यसपछि आफ्नो काम पूरा भएको ठान्छन्। तिनीहरूले माथिबाट आफूलाई जति निर्देशन दिइएको छ त्यति मात्रै गर्छन्, र झकझक्याउँदा मात्र थोरथोरै काम गर्छन्; नत्रभने, तिनीहरू निष्क्रिय र झाराटारुवा बन्छन्—यिनीहरू झूटा अगुवा हुन्। झूटो अगुवा भनेको के हो? छोटकरीमा भन्दा, यो वास्तविक काम नगर्ने, अगुवाका रूपमा आफ्नो काम नगर्ने, महत्त्वपूर्ण र आधारभूत काममा जिम्मेवारीलाई अस्वीकार्य रूपमा बेवास्ता गर्ने र कुनै कदम नचाल्ने व्यक्ति हो—यो नै झूटो अगुवा हो। झूटा अगुवाहरू सतही सामान्य मामलाका काममा मात्रै व्यस्त हुन्छन्, र यसलाई वास्तविक काम गरेको रूपमा लिन्छन्, तर वास्तवमा, अगुवाका रूपमा रहेको आफ्नो काम र परमेश्वरको घरले आफूलाई सुम्पेको महत्त्वपूर्ण कामको कुरा गर्नुपर्दा, तिनीहरूले यो कुनै पनि काम राम्ररी गर्दैनन्। यसअलावा, मण्डलीका विभिन्न कामहरूमा बारम्बार समस्याहरू उत्पन्न भइरहन्छन् जसलाई अगुवाले समाधान गर्नुपर्ने हुन्छ, तर तिनीहरूले तिनलाई समाधान गर्न सक्दैनन्, र प्रायजसो पन्छिने मनोवृत्ति अपनाउँछन्, र दाजुभाइ-दिदीबहिनीहरूले समस्या समाधान गर्न चाहँदा तिनीहरूलाई भेट्टाउनै सक्दैनन्। यदि तिनीहरूले ती अगुवालाई भेट्टाइहाले पनि, उक्त अगुवाले काममा अत्यन्तै व्यस्त भएको बहाना बनाएर तिनीहरूलाई पन्छाउँछ र दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्ना समस्याहरू आत्मनिर्भर रूपमा समाधान गर्नका लागि आफै परमेश्वरका वचनहरू पढ्न सत्यता खोजी गर्न लगाउँछ, र हात झिक्ने शैली अपनाउँछ। यसले गर्दा अन्ततः समाधान नभएका धेरै समस्याहरूको चाङ लाग्छ, र सबै कामको प्रगति रोकिन्छ र मण्डलीको काम ठप्प हुन्छ। झूटा अगुवाहरूले वास्तविक काम नगर्नुको परिणाम यही हो। झूटा अगुवाहरू आफ्नो मुख्य जिम्मेवारीका सम्बन्धमा कहिल्यै इमानदार वा लगनशील हुँदैनन्, न त तिनीहरूले विभिन्न समस्याहरू समाधान गर्न सत्यता नै खोज्छन्। यसको अर्थ झूटा अगुवाहरू वास्तविक काम गर्न र कुनै पनि समस्याहरू समाधान गर्न असमर्थ हुन्छन्। झूटा अगुवाहरू शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्न, नाराहरू फलाक्न, र अरूलाई अर्ती दिन खप्पिस हुन्छन्, र आफूलाई सामान्य मामलाका काममा व्यस्त राख्न केन्द्रित हुन्छन्। समस्याहरू समाधान गर्नका लागि जीवन आपूर्ति गर्ने र सत्यता सङ्गति गर्ने जस्ता परमेश्वरको घरले तिनीहरूलाई सुम्पेको मण्डलीको आधारभूत कामको कुरा गर्नुपर्दा, तिनीहरूले ती कसरी गर्ने भनेर जान्दैनन्, ती कसरी गर्ने भनेर तालिम लिँदैनन्, र कुनै पनि वास्तविक समस्याहरू समाधान गर्न सक्दैनन्—यिनीहरू झूटा अगुवा हुन्।
कतिपय झूटा अगुवाहरूलाई पटकथा लेख्ने, अनुभवात्मक गवाही लेख लेख्ने, र अरू केही निश्चित कामहरू गर्नेजस्ता लेखन-पठनका काममा मार्गदर्शन दिन अनुरोध गर्दा, तिनीहरूले मार्गदर्शन मात्रै मागिएको त हो नि भनेर कुनै ठोस काम गर्नु पर्दैन भन्ने सोच्छन्, र त्यसैले बरु तिनीहरू यताउति डुलेर हिँड्छन्। तिनीहरू भन्छन्, “झाङ, तिम्रो लेख कस्तो भइरहेको छ?” “सक्न लाग्यो।” “ली, के तिमीलाई त्यो पटकथा लेख्न कुनै कठिनाइ भइरहेको छ?” “हो, के तपाईं मलाई ती हल गर्न मद्दत गर्न सक्नुहुन्छ?” “तिमीहरू सबैले यसबारे एकअर्कासँग छलफल गर। अझ बढी प्रार्थना गर।” यी झूटा अगुवाहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई अगुवाइ र सहयोग गर्न नसक्ने मात्र होइन, तिनीहरू आफ्नो काम राम्ररी पूरा गर्नमा समेत ध्यान दिँदैनन्, र सधैँ घुमफिर गर्ने, र ढुक्क र आरामदायी जीवन जिउने मात्र गर्छन्। झट्ट हेर्दा, तिनीहरूले काम निरीक्षण गरिरहेको जस्तो देखिन्छ, तर वास्तवमा तिनीहरूले कुनै पनि समस्या हल गर्दैनन्—वास्तवमा तिनीहरू महत्त्वहीन काम गर्छन्! गैरविश्वासी संसारका कतिपय देशका ती सक्षम अधिकारीहरू पनि उतिकै भ्रष्ट मानिसहरू हुन्, तर तिनीहरू पनि यी झूटा अगुवाहरूभन्दा धेरै उत्तम हुन्छन्, किनभने तिनीहरूमा यी अधिकारीहरूमा हुने जिम्मेवारीबोध हुँदैन। उदाहरणका लागि, महामारीको प्रकोपपछि, संसारभरका देशहरूले रोकथामका उपायहरू लागू गर्न थाले। अन्ततः यीमध्ये धेरैजसो देशहरू ताइवानका रोकथामका प्रयासहरू प्रभावकारी रहेको कुरामा सहमत भए, जसले ताइवानका सरकारी अधिकारीहरूले सबैभन्दा उच्च स्तरमा र अत्यन्तै मिहिन रूपमा महामारी प्रतिकार्यका कामहरू गरेको जनाउँछ। अधर्मी संसारको देशका लागि, भ्रष्ट मानवजातिमध्येका अधिकारी र राजनीतिज्ञहरूका लागि, सबैभन्दा उच्च स्तरमा र यति मिहिन रूपमा काम गर्नु साँच्चै नै प्रशंसनीय कुरा हो। धेरै युरोपेली अधिकारीहरू ताइवान गएर त्यहाँबाट सिक्न इच्छुक थिए; यो दृष्टिकोणबाट हेर्दा ताइवानका सरकारी अधिकारीहरू अरू राष्ट्रका भन्दा निकै माथि थिए। तिनीहरूमध्ये धेरैजसो अधिकारीहरूले ठोस काम गर्न सकेका र हृदय लगाएर आफ्नो जिम्मेवारी पूरा गर्न सकेका भएर नै ती अधिकारीहरू मानकअनुरूप थिए भन्ने प्रमाणित हुन्छ। मण्डलीका कतिपय अगुवा र कामदारहरू आफ्नो कर्तव्य पूरा गर्दा सधैँ झाराटारुवा हुन्छन्, र तिनीहरूलाई जति काटछाँट गर्दा पनि त्यो प्रभावकारी हुँदैन। म त के देख्छु भने, यी अगुवा र कामदारहरूको चरित्र गैरविश्वासी संसारका वास्तविक काम गर्न सक्ने अधिकारीहरूको चरित्रसँग समेत बराबरी छैन। तिनीहरूमध्ये धेरैजसोले परमेश्वरमा विश्वास गर्ने र सत्यता पछ्याउने दाबी गर्छन्, तर वास्तवमा तिनीहरू मूल्य चुकाउन इच्छुक नै हुँदैनन्। तिनीहरूलाई यति धेरै सत्यता आपूर्ति भइरहेको हुन्छ, तैपनि आफ्नो कर्तव्य पूरा गर्नेप्रति तिनीहरूको मनोवृत्ति यस्तै हुन्छ। फलस्वरूप तिनीहरू सबै झूटा बन्छन्, जो उच्च सरकारी अधिकारीहरूका तुलनामा निकै कमजोर हुन्छन्! मानिसहरूप्रति मेरा मागहरू वास्तवमा उच्च छैनन्; म मानिसहरूले धेरै सत्यता बुझून् वा तिनीहरूमा अत्यन्तै उच्च क्षमता होस् भन्ने माग राख्दिनँ। न्यूनतम मानक भनेको विवेकले काम गर्नु र आफ्नो जिम्मेवारी पूरा गर्नु हो। अरू केही नभए पनि, कम्तीमा पनि तैँले आफ्नो दैनिक जीविका चलाउन र परमेश्वरले दिनुभएको आज्ञा पूरा गर्न सक्नुपर्छ; त्यो नै पर्याप्त हुन्छ। तर अहिलेसम्म परमेश्वरको काम पूरा भएको छ, र के धेरै मानिसहरूले विवेकले काम गर्न सक्छन् त? म लोकतान्त्रिक देशहरूका कतिपय अधिकारीहरूले इमानदारीसाथ बोलेको र व्यवहार गरेको देख्छु। तिनीहरूले बढाइचढाइ गर्दैनन् वा उच्च सिद्धान्तहरू बोल्दैनन्, तिनीहरूको बोलीवचन विशेष रूपमा सावधानपूर्ण र साँचो हुन्छ, र तिनीहरूले धेरै वास्तविक मामलाहरू सम्हाल्न सक्छन्। तिनीहरूको काम साँच्चै नै निकै राम्रो हुन्छ, र यसले साँच्चै नै तिनीहरूको निष्ठा र मानवतालाई प्रतिविम्बित गर्छ। अहिले मण्डलीका धेरैजसो अगुवा र कामदारहरूलाई हेर्दा, तिनीहरूले आफ्नो काममा औपचारिकता पूरा गर्ने र झारा टार्ने मात्र गर्छन्, त्यति राम्रा नतिजाहरू हासिल गरेका हुँदैनन्, र आफ्ना जिम्मेवारीहरू पूर्ण रूपमा पूरा गरेका हुँदैनन्। अगुवा बनेपछि, तिनीहरू धार्मिक अधिकारीमा परिणत हुन्छन्, तिनीहरू ठालु पल्टेर आदेश दिन्छन् र महत्त्वहीन काम गर्छन्। तिनीहरू आफ्नो हैसियतका लाभहरूमा लिप्त हुनमा मात्रै ध्यान दिन्छन्, र सबैलाई आफ्नो पछि लगाउन र आफ्नो वरिपरि घुमाउन मन पराउँछन्। तिनीहरू वास्तविक समस्याहरू समाधान गर्न मण्डलीको आधारभूत तहसँग विरलै गहन रूपमा संलग्न हुन्छन्। तिनीहरू हृदयमा परमेश्वरबाट झन्झन् टाढिदै गरेका हुन्छन्। यस्ता झूटा अगुवा र झूटा कामदारहरू पूर्णतया अपूरणीय हुन्छन्! मैले यति श्रमसाध्य रूपमा सत्यता सङ्गति गरेको छु, तैपनि यी अगुवा र कामदारहरूले त्यसलाई स्विकार्दैनन्, तिनीहरू जिद्दी भएर आफ्ना गलत विचारहरूमा टाँसिरहन्छन्, र तिनीहरू अप्रभावित रहन्छन्। आफ्नो कर्तव्यप्रतिको तिनीहरूको मनोवृत्ति सधैँ झाराटारुवा हुन्छ, र तिनीहरूमा पश्चात्ताप गर्ने अलिकति पनि अभिप्राय हुँदैन। म यी मानिसहरू विवेकहीन र समझरहित देख्छु, तिनीहरू पटक्कै मानव होइनन्! त्यसपछि म मनन गर्छु: के अझै पनि यस्ता मानिसहरूलाई यी सत्यताहरूबारे बारम्बार सङ्गति गर्नु जरुरी छ? के मैले सङ्गतिलाई यति निर्दिष्ट बनाउनुपर्छ? के मैले यो कष्ट सहनुपर्छ? के यी वचनहरू वाहियात हुन्? केही विचार गरेपछि, मैले अझै पनि बोल्नुपर्छ भन्ने निर्णय गर्छु, किनभने कति पनि विवेक वा समझ नभएका मानिसहरूमा यी वचनहरूले कुनै असर नगरे पनि, अलि न्यून क्षमताका बाबजुद, सत्यता स्विकार्न सक्ने र सच्चा रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्नेहरूका लागि भने यी उपयोगी नै हुन्छन्। झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन् र आफ्ना जिम्मेवारीहरू पूरा गर्दैनन्, तर सत्यता पछ्याउनेहरूले यी वचन र मामलाहरूबाट पाठहरू सिक्नेछन्, प्रेरणा लिनेछन्, र अभ्यास गर्ने मार्ग भेट्टाउनेछन्। जीवन प्रवेश त्यति सजिलो छैन; सहयोग र आपूर्ति गर्ने कोही छैन भने, सत्यताको हरेक पक्ष एक-एक गरी प्रस्ट पारिएन भने, मानिसहरू अत्यन्तै कमजोर बन्छन्, तिनीहरूले प्रायजसो आफूलाई असमर्थता र अन्योलको स्थितिमा, र नकारात्मकता र निष्क्रियताको स्थितिमा पाउँछन्। त्यसकारण, धेरै पटक जब म यी झूटा अगुवाहरूलाई भेट्छु, तब तिनीहरूसँग सङ्गति गर्ने मेरो जोस हराउँछ। तर, जब म परमेश्वरमा सच्चा रूपमा विश्वास गर्ने र आफ्नो कर्तव्य बफादारीका साथ निर्वाह गर्ने मानिसहरूले भोगेका कष्ट र चुकाएका मूल्यहरूबारे सोच्छु, तब म मेरो मन परिवर्तन गर्छु। योबाहेक अरू कुनै कारण छैन: यदि ३० देखि ५० जना मानिसहरूले—वा कम्तीमा पनि ८-१० जना मानिसहरूले—आफ्नो कर्तव्य निर्वाह गर्दा सच्चा रूपमा आफूलाई समर्पित गर्न र बफादार हुन सक्छन्, र तिनीहरू सुन्न र समर्पित हुन तयार छन् भने पनि, यी वचनहरू बोल्नु सार्थक नै हुन्छ। विवेक र समझ नभएका मानिसहरूसँग बोल्न र सङ्गति गर्न म उत्प्रेरित हुँदिनँ; यी मानिसहरूसँग कुरा गर्नु थकाइलाग्दो महसुस हुन्छ र त्यो फलहीन हुन्छ। तिमीहरूमध्ये धेरैजसोले सत्यता पछ्याउँदैनौ र आफ्नो कर्तव्यमा मूल्य चुकाउँदैनौ—तिमीहरूसँग कुनै बोझ वा बफादारी छैन, तिमीहरू आफ्नो कार्यव्यवहारमा झारा मात्र टार्छौ, र आशिष्हरू प्राप्त गर्ने आशामा मन नलागीनलागी काम गर्छौ। यी वचनहरू सुन्न पाउनु वास्तवमा तिमीहरूले नपाउनुपर्ने निगाह हो। तिमीहरू त बस सच्चा रूपमा कर्तव्य निर्वाह गर्ने, साँच्चिकै मूल्य चुकाउने, बफादारी र बोझ भएका, र सत्यता अभ्यास गर्न इच्छुकहरूको बुई चढिरहेका छौ। यी वचनहरू ती मानिसहरूका लागि हुन्, र ती सुनेर तिमीहरूले नपाउनुपर्ने निगाह पाइरहेका छौ। यो दृष्टिकोणबाट हेर्दा—अर्थात्, तिमीहरूमध्ये धेरैजसोले आफ्नो कर्तव्यमा कुनै इमानदारी नदेखाई झारा टार्ने मनोवृत्ति अपनाउँछौ भने—तिमीहरू यी वचनहरू सुन्न लायक छैनौ। तिमीहरू किन लायक छैनौ? किनभने तिमीहरूले सुने पनि यो सबै व्यर्थ हुन्छ; जति नै धेरै कुरा भनिए पनि वा जति नै विस्तृत रूपमा भनिए पनि, तिमीहरूले यी वचनहरू सुनेपछि जति नै धेरै बुझे पनि, तिमीहरूले सुनेजस्तो मात्र गर्छौ, तर यी वचनहरू अभ्यास गर्दैनौ। यी वचनहरू कसलाई सुनाउनुपर्छ? यी वचनहरू सुन्न लायक को छ? मूल्य चुकाउन तयार हुने, सच्चा रूपमा आफूलाई समर्पित गर्न सक्ने, र आफ्नो कर्तव्य र आज्ञाप्रति बफादार हुने मानिसहरू मात्रै सुन्न लायक हुन्छन्। तिनीहरू सुन्न लायक हुन्छन् भनेर म किन भन्छु? किनभने सत्यता सुनेर थोरथोरै बुझेपछि, तिनीहरूले यसलाई अभ्यास गर्न सक्छन्, र आफूले बुझेको कुरा नै अभ्यास गर्छन्; तिनीहरू धूर्त हुँदैनन् र सुस्ताउँदैनन्; अनि तिनीहरूले सत्यता र परमेश्वरका मागहरूलाई सच्चाइ र तृष्णाको मनोवृत्तिले लिन्छन्, र तिनीहरू सत्यतालाई प्रेम गर्न र स्विकार्न सक्छन्। त्यसकारण, तिनीहरूले यी वचनहरू सुनेपछि, तिनले तिनीहरूमाथि प्रभाव पार्छन् र परिणाम हासिल गर्छन्।
फेब्रुवरी १३, २०२१
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।