अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (४) खण्ड तीन

झूटा अगुवाहरूले कामका सम्बन्धमा अनुगमन गर्ने वा निर्देशन दिने गर्दैनन्

हामीले अगुवा र कामदारहरूको पाँचौँ जिम्मेवारीको यो पक्षबारे भर्खरै छलफल गर्‍यौँ: “प्रत्येक कामको स्थितिको अद्यावधिक बोध र बुझाइ कायम राख्‍ने।” यो पक्षबारे छलफल गरेर, हामीले झूटा अगुवाहरूका केही खास प्रकटीकरणहरू, साथै तिनीहरूको मानवता र चरित्र खुलासा गर्‍यौँ। अब हामी “प्रत्येक कामको प्रगतिको अद्यावधिक बोध र बुझाइ कायम राख्‍ने” बारेमा हेरौँ। अवश्य नै, कामको प्रगति केही हदसम्म कामको स्थितिसँग सम्बन्धित हुन्छ, यो सम्बन्ध तुलनात्मक रूपमा निकट हुन्छ। यदि व्यक्तिले कामको स्थितिको बुझाइ र बोध कायम राख्‍न सक्दैन भने, उसले कामको प्रगतिको पनि बुझाइ र बोध कायम राख्‍न सक्दैन। उदाहरणका लागि, कामको प्रगति कस्तो छ, यो कुन चरणमा पुगेको छ, संलग्‍न मानिसहरूको स्थिति कस्तो छ, व्यावसायिक पक्षहरूमा कुनै कठिनाइहरू छन् कि छैनन्, परमेश्‍वरको घरका मागहरू पूरा नगर्ने कामका कुनै क्षेत्रहरू छन् कि छैनन्, हासिल भएका परिणामहरू कस्ता छन्, काम गर्ने तर कामका व्यावसायिक पक्षहरूमा त्यति सिपालु नभएका मानिसहरूले सिकिरहेका छन् कि छैनन्, सिकाइ कसले सञ्चालन गरिरहेको छ, तिनीहरूले के सिकिरहेका छन्, तिनीहरूले कसरी सिकिरहेका छन्, आदि इत्यादि कुराहरू—यी निश्‍चित सवालहरू सबै प्रगतिसँग सम्बन्धित हुन्छन्। उदाहरणका लागि, के भजनहरू रचना गर्ने काम निकै महत्त्वपूर्ण होइन र? एउटा भजनका लागि, परमेश्‍वरका वचनहरूका अत्यावश्यक खण्डहरूको प्रारम्भिक छनौटदेखि रचना पूरा गर्ने कामसम्म, यस प्रक्रियामा के-कस्ता खास कामहरू गर्नुपर्ने हुन्छ? पहिलो कुरा त, भजन बन्‍न उपयुक्त रहेका परमेश्‍वरका वचनका अत्यावश्यक खण्डहरू छनौट गर्नु जरुरी हुन्छ, र ती उचित लम्बाइका पनि हुनुपर्छ। दोस्रो चरणमा उक्त खण्डका लागि कुन शैलीको धुन उपयुक्त हुन्छ जसले गर्दा त्यो गाउँदा सुमधुर र रमाइलो होओस् भनेर विचार गरिन्छ। त्यसपछि, भजन गाउनका लागि सही मानिसहरू खोज्नुपर्छ। के यी खास कामहरू होइनन् र? (हुन्।) भजन रचना भइसकेपछि, झूटो अगुवाले उक्त रचना योग्य छ कि छैन वा शैली उचित छ कि छैन भनेर पटक्‍कै सोधपुछ गर्दैन। सुपरिवेक्षण नभएको देखेपछि, रचनाकारलाई व्यक्तिगत रूपमा यो पर्याप्त छ भन्‍ने महसुस हुन्छ र ऊ यसलाई रेकर्ड गर्नतिर लाग्छ। सबैले भजनमा रूपान्तरित हुने आशा गरेका परमेश्‍वरका वचनहरूको खण्डलाई बल्लतल्ल सङ्गीत दिएर भजन बनाइएको हुन्छ, तर धेरैजसोले गाउने क्रममा यसमा अझै पनि कमीकमजोरी रहेको पाउँछन्। कस्तो समस्या पैदा हुन्छ? रचना गरिएको त्यो भजन मापदण्डअनुरूपको हुँदैन: धुनको मिठास र मोहकता नभए पनि यो रेकर्ड गरियो। यो सुनेपछि झूटो अगुवाले सोध्छ, “यो भजन कसले रचना गरेको हो? यो किन रेकर्ड गरियो?” उसले यो प्रश्‍न गरुन्जेल कम्तीमा पनि एक महिना बितिसकेको हुन्छ। यो महिनाको अवधिमा, के अगुवाले यो कामको अनुगमन गरेर यसको प्रगतिबारे तुरुन्तै बुझ्नुपर्दैनथ्यो र? उदाहरणका लागि, रचना गर्ने काम कस्तो भइरहेको थियो? के आधारभूत सुर तय भइसकेको थियो? के यसमा धुन थियो? के यो भजनको धुन र शैली परमेश्‍वरका वचनहरूसँग मिल्छ? के सान्दर्भिक अनुभव भएका व्यक्तिहरूले यसको मार्गदर्शनमा सहयोग गरे? रचना भइसकेपछि, के यो भजन व्यापक रूपमा गाउन सकिन्थ्यो? यसले कस्तो प्रभाव पार्नेथ्यो? के यसको सुर राम्रो मानिन्थ्यो? झूटो अगुवा यस्ता मामलाहरूमा अनुगमन गर्न सधैँ असफल भयो। अनि उसले अनुगमन नगर्नुको एउटा कारण छ: “म भजन रचना बुझ्दिनँ। आफूले नबुझेको कुराको म कसरी अनुगमन गर्न सक्छु र? यो असम्भव छ।” के यो उचित कारण हो त? (होइन।) यो उचित कारण होइन; त्यसोभए, के भजन रचना गर्ने कार्यबारे अनजान व्यक्तिले अझै पनि अनुगमन गर्न सक्छ? (सक्छ।) उसले कसरी अनुगमन गर्नुपर्छ? (उसले दाजुभाइ-दिदीबहिनीहरूसँग सहकार्य गर्न सक्छ, र यो उपयुक्त छ कि छैन भनेर हेर्न सिद्धान्तहरूका आधारमा धुनको लेखाजोखा गर्न सक्छ; उसले हात झिक्नुको सट्टा व्यावहारिक रूपमा कामको अनुगमन गर्न सक्छ।) झूटा अगुवाहरूको कामको प्रमुख विशेषता भनेको धर्मसिद्धान्तबारे बकबक गरिरहने र नाराहरू भट्याइरहने हो। आफ्‍ना आदेशहरू जारी गरिसकेपछि, तिनीहरूले त्यस मामलाबाट हात झिकिहाल्छन्। तिनीहरूले कामको त्यसपछिको विकासबारे प्रश्‍नहरू सोध्दैनन्; तिनीहरूले कुनै समस्या, विचलन, वा कठिनाइहरू उत्पन्‍न भए कि भनेर सोध्दैनन्। तिनीहरूले काम अह्राउनेबित्तिकै आफ्नो काम सकिएको मान्छन्। वास्तवमा, अगुवाको नाताले, कामको बन्दोबस्त गरेपछि, तैँले कामको प्रगतिबारे अनुगमन गर्नैपर्छ। तँ त्यस क्षेत्रको कामसित परिचित नभए पनि—तँसँग यसबारे कुनै ज्ञान नभए पनि—तैँले कुनै उपाय खोजेर आफ्नो काम गर्न सक्छस्। तैँले परीक्षण गर्न र सुझावहरू दिनका लागि त्यसलाई साँच्चिकै बोध गरेको, सम्बन्धित पेसा बुझेको व्यक्ति भेटाउन सक्छस्। तिनीहरूका सुझावहरूबाट तैँले उचित सिद्धान्तहरू पहिचान गर्न सक्छस्, र त्यसरी तैँले कामको अनुगमन गर्न सक्‍नेछस्। सम्‍बन्धित पेसासित तँ परिचित भए पनि नभए पनि वा तैँले त्यसलाई बुझे पनि नबुझे पनि, तैँले कम्तीमा पनि उक्त कामको जिम्‍मेवारी लिनुपर्छ, यसको अनुगमन गर्नुपर्छ, र निरन्तर रूपमा यसको प्रगतिबारे सोधपुछ गर्नुपर्छ र प्रश्‍नहरू सोध्नुपर्छ। तैँले यस्ता मामलाहरूको बोध कायम राख्‍नुपर्छ; यो तेरो जिम्‍मेवारी हो, यो तेरो कामकै पाटो हो। कामको अनुगमन नगर्नु, काम अह्राइसकेपछि थप केही नगर्नु, यसबाट हात झिक्नु—यो झूटा अगुवाहरूको कामकुरा गर्ने तरिका हो। कामको अनुगमन नगर्नु वा त्यस सम्बन्धमा निर्देशन प्रदान नगर्नु, उत्पन्न भएका समस्याहरूबारे सोधपुछ नगर्नु वा तिनलाई समाधान नगर्नु, र कामको प्रगति वा कौशलता बोध नगर्नु—यी पनि झूटा अगुवाहरूका प्रकटीकरण नै हुन्।

झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन्, जसले गर्दा कामको प्रगतिमा ढिलाइ हुन्छ

झूटा अगुवाहरूले कार्यप्रगतिबारे थाहा नपाउने, र त्यसमा उत्पन्‍न हुने समस्याहरू तुरुन्तै पहिचान गर्न नसक्ने, तिनलाई समाधान त झन गर्नै नसक्ने हुनाले, यसले प्राय: बारम्बार ढिलाइहरू सिर्जना गर्छ। निश्‍चित कार्यमा, मानिसहरूले सिद्धान्तहरू नबुझेका हुने र यसको जिम्‍मेवारी लिने वा निरीक्षण गर्ने कुनै पनि उपयुक्त व्यक्ति नहुने हुनाले, काम गर्नेहरू प्रायजसो नकारात्मकता, निष्क्रियता, र प्रतीक्षाका स्थितिमा हुन्छन्, जसले कामको प्रगतिलाई गम्भीर रूपमा असर पार्छ। यदि अगुवाहरूले आफ्‍ना जिम्‍मेवारीहरू पूरा गरेका थिए भने—यदि तिनीहरूले कामको निरीक्षण गरेका थिए, त्यसलाई अघि सारेका थिए, त्यसको सुपरिवेक्षण गरेका थिए, र उक्त कामलाई मार्गनिर्देशन गर्न उक्त क्षेत्र बुझेको व्यक्ति भेट्टाएका थिए भने, काममा बारम्बार ढिलाइ हुनुको सट्टा त्यो तीव्र गतिमा अघि बढेको हुनेथ्यो। त्यसकारण, अगुवाहरूले कामको वास्तविक स्थितिबारे बुझ्नु र त्यसलाई बोध गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। अवश्य नै, अगुवाहरूले कार्यप्रगतिबारे बुझ्न र त्यसलाई बोध गर्न पनि अत्यन्तै जरूरी हुन्छ, किनभने कामको प्रगति त्यस कामको प्रभावकारिता र त्यसबाट प्राप्त हुनुपर्ने नतिजाहरूसँग सम्बन्धित हुन्छ। यदि अगुवा वा कामदारहरूले मण्डलीको काम के-कसरी अघि बढिरहेको छ भन्‍नेबारे बोध गरेका छैनन्, र तिनीहरूले कामकुराको अनुगमन वा सुपरिवेक्षण गर्दैनन् भने, मण्डलीको कामको प्रगति निश्‍चय नै ढिलो हुनेछ। कर्तव्य निभाउने अधिकांश मानिसहरू अत्यन्तै फोहोरी हुने, तिनीहरूमा बोझ लिनुपर्छ भन्‍ने भावना नहुने, र तिनीहरू प्राय: नकारात्मक, निष्क्रिय र झाराटारुवा हुने भएकाले यस्तो हुने हो। यदि ठोस रूपमा कामको जिम्‍मेवारी लिने, कामको प्रगतिबारे सामयिक रूपमा जानकारी लिने, र कर्तव्य निभाउने कर्मचारीहरूलाई मार्गनिर्देशन गर्ने, सुपरिवेक्षण गर्ने, अनुशासनमा राख्‍ने वा काटछाँट गर्ने बोझ लिनुपर्छ भन्‍ने भावना र कार्य क्षमता भएको कोही पनि छैन भने, स्वाभाविक रूपमा, कार्य प्रभावकारिताको स्तर निकै खस्किन्छ र कामका नतिजाहरू निकै कमजोर हुनेछन्। यदि अगुवा र कामदारहरूले योसमेत प्रस्टसित देख्न सक्दैनन् भने, तिनीहरू मूर्ख र अन्धा हुन्। त्यसैले, अगुवा र कामदारहरूले तुरुन्तै कामको प्रगतिको छानबिन, अनुगमन र बोध गर्नुपर्छ, कर्तव्य निभाउने मानिसहरूमा समाधान गर्नुपर्ने कस्ता समस्याहरू छन् भनी छानबिन गर्नुपर्छ, र अझ राम्रा नतिजाहरू प्राप्त गर्न कुन समस्याहरू समाधान गर्नुपर्छ भनी बुझ्नुपर्छ। यी सबै कुरा अत्यन्तै महत्त्वपूर्ण छन्, अगुवाका रूपमा काम गर्ने व्यक्ति यी कुराबारे प्रस्ट हुनैपर्छ। तैँले आफ्नो कर्तव्य राम्रोसित निर्वाह गर्न, तँ केही सतही काम गर्ने र त्यसपछि आफ्नो कर्तव्य राम्रोसित पूरा गरेको छु भन्ठान्ने झूटो अगुवाजस्तो बन्नै हुँदैन। झूटा अगुवाहरू आफ्नो काममा लापर्बाह र असावधान हुन्छन्, तिनीहरूमा जिम्मेवारी बोध हुँदैन, समस्याहरू उत्पन्‍न हुँदा तिनीहरूले ती समाधान गर्दैनन्, र तिनीहरूले जे काम गरिरहेका भए पनि, तिनीहरू त्यो गरेजस्तो मात्र गर्छन् र त्यो कामलाई झाराटारुवा तरिकाले लिन्छन्; तिनीहरू केवल ठूला कुरा गर्छन्, धर्मसिद्धान्त र खोक्रो कुरा ओकल्छन्, र आफ्नो काममा झारा टार्छन्। सामान्यतया, झूटा अगुवाहरूले यस्तै स्थितिमा काम गर्छन्। ख्रीष्टविरोधीहरूका तुलनामा झूटा अगुवाहरूले अत्यधिक दुष्ट केही नगर्ने र जानाजान दुष्टता नगर्ने भए पनि, तिनीहरूको कार्य प्रभावकारितालाई हेर्दा, तिनीहरूलाई झाराटारुवा, बोझ नउठाउने, गैरजिम्मेवार हुने र आफ्नो कामप्रति बफादारी नभएको भनी चित्रण गर्नु उचित हुन्छ।

हामीले भर्खरै झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन्, र हरेक कामको प्रगतिबारे बुझ्‍ने र बोध राख्ने गर्दैनन् भन्‍नेबारे सङ्गति गर्‍यौँ। मण्डलीका काममा पैदा हुने समस्या र कठिनाइहरूका सम्बन्धमा भन्‍नुपर्दा, झूटा अगुवाहरूले तिनलाई ध्यान दिँदै दिँदैनन् वा तिनलाई पन्छाउन थोरथोरै धर्मसिद्धान्त बोल्‍ने र केही नाराहरू फलाक्‍ने मात्र गर्छन्। सबै खालका काममा, तिनीहरू कामबारे बुझ्‍ने र त्यसको अनुगमन गर्ने प्रयास गर्न आफै कार्यस्थल आएको कहिल्यै देखिँदैन। तिनीहरूले त्यहाँका समस्याहरू समाधान गर्न सत्यतामा सङ्गति गरेको देखिँदैन, र तिनीहरूले त्यहाँ व्यक्तिगत रूपमा कामको निर्देशन दिइरहेको र सुपरिवेक्षण गरिरहेको, र यसमा त्रुटि र विचलनहरू देखा पर्नबाट रोकेको देखिनु त झन् परको कुरा हो। झूटा अगुवाहरूले झाराटारुवा तरिकामा काम गर्नुको सबैभन्दा स्पष्ट प्रकटीकरण यही हो। झूटा अगुवाहरूले ख्रीष्टविरोधीहरूले जस्तो मण्डलीको काममा अवरोध गर्ने बाधा दिने प्रयास नगर्ने, विभिन्‍न दुष्कर्महरू नगर्ने र आफ्नै स्वतन्त्र राज्य स्थापना नगर्ने भए पनि, तिनीहरूका विभिन्‍न झाराटारुवा व्यवहारले मण्डलीका काममा ठूला रोकावटहरू ल्याउँछन्, जसले गर्दा विभिन्‍न समस्याहरू अटुट रूपमा देखा परिरहन्छन् र ती समाधान हुँदैनन्। यसले मण्डलीको हरेक कामको प्रगतिमा गम्भीर प्रभाव पार्छ, र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशलाई असर पार्छ। के त्यस्ता झूटा अगुवाहरूलाई हटाइनुपर्दैन र? झूटा अगुवाहरू वास्तविक काम गर्न सक्दैनन्—तिनीहरूले जे गरे पनि त्यसको सुरुवात त दह्रिलै हुन्छ तर अन्त्यमा त्यो विस्तारै कमजोर हुँदै जान्छ। तिनीहरूले खेल्‍ने भूमिका भनेको समारोहहरूको उद्घाटन गर्ने मात्रै हो: तिनीहरूले नाराहरू गाउँछन् र धर्मसिद्धान्तहरू प्रचार गर्छन्, र जब तिनीहरूले अरूलाई काम सुम्पेका र यसको जिम्मेवारी कसले लिने भन्‍नेबारे बन्दोबस्त गरेका हुन्छन्, तब तिनीहरूका लागि यो काम सकिन्छ। तिनीहरू चीनका ग्रामीण क्षेत्रमा पाइने चर्को आवाजमा घन्किने लाउडस्पीकरजस्तै हुन्छन्—तिनीहरूले खेल्ने भूमिका यति मात्र हो। तिनीहरूले थोरै प्रारम्भिक काम मात्रै गर्छन्; बाँकी काममा, तिनीहरू कहीँकतै देखिँदैनन्। जहाँसम्म हरेक काम कसरी अघि बढिरहेको छ, यो सिद्धान्तहरूअनुरूप छ कि छैन, र यो प्रभावकारी छ कि छैन भन्‍नेजस्ता निश्‍चित प्रश्‍नहरूको कुरा छ—तिनीहरूलाई तिनको उत्तर थाहा हुँदैन। तिनीहरू कहिल्यै पनि तल्‍लो तहसँग गहन रूपमा संलग्‍न हुने र कार्यस्थलमै गएर हरेक कामको प्रगति र विवरणहरूबारे बुझ्ने र बोध गर्ने गर्दैनन्। त्यसकारण, झूटा अगुवाहरूले अगुवाका रूपमा आफ्नो कार्यकालमा अवरोध र बाधाहरू निम्त्याउने, वा विभिन्‍न दुष्कर्महरू गर्ने उद्देश्य नराख्न सक्छन्, तर वास्तवमा तिनीहरूले काम ठप्प पार्छन्, मण्डलीको हरेक कामको प्रगतिमा ढिलाइ गराउँछन्, र परमेश्‍वरका चुनिएका मानिसहरूका लागि आफ्नो कर्तव्य राम्ररी पूरा गर्न र जीवन प्रवेश प्राप्त गर्न असम्भव तुल्याउँछन्। यसरी काम गरेर, तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा कसरी डोर्‍याउन सक्छन् होला र? यसले देखाउँछ कि झूटा अगुवाहरूले कुनै पनि वास्तविक काम गर्दैनन्। तिनीहरू मण्डलीको काम सामान्य रूपमा अघि बढ्ने सुनिश्चित गर्नका निम्ति आफूले जिम्मेवारी लिनुपर्ने कामको अनुगमन गर्न वा मार्गदर्शन र सुपरिवेक्षण प्रदान गर्न असफल हुन्छन्; तिनीहरू अगुवा र कामदारहरूका अपेक्षित कार्यहरू निर्वाह गर्न असफल हुन्छन्, र तिनीहरू आफ्नो बफादारी वा जिम्मेवारीहरू पूरा गर्न असफल हुन्छन्। यसले पुष्टि गर्छ कि झूटा अगुवाहरू आफ्नो कर्तव्य निर्वाहमा बफादार हुँदैनन्, तिनीहरू झारा मात्र टार्छन्; तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरू र परमेश्‍वर स्वयम्‌ गरी दुवैलाई छल गर्छन्, र तिनीहरूले उहाँको इच्छा पूरा गर्ने कार्यमा असर र बाधा पुर्‍याउँछन्। यो तथ्य सबैले देख्न सक्छन्। झूटो अगुवा कामका लागि साँच्‍चै नै योग्य नभएको हुन सक्छ; ऊ आफ्नो कामबाट पन्छिरहेको र जानीजानी झाराटारुवा बनिरहेको पनि हुन सक्छ। जे भए पनि, तथ्य यही हो कि उसले मण्डलीको काममा बरबादी ल्याउँछ। मण्डलीको हरेक काममा अलिकति पनि प्रगति हुँदैन, र थुप्रिएका समस्याहरू लामो समयसम्म समाधान हुँदैनन्। यसले सुसमाचार फैलाउने काममा असर गर्ने मात्र होइन, परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा पनि गम्भीर रोकावट ल्याउँछ। झूटा अगुवाहरूले वास्तविक काम गर्न नसक्‍ने मात्र होइन, तिनीहरू त सुसमाचार प्रचारको काममा र मण्डलीमा परमेश्‍वरको इच्छा पूरा गर्नमा बाधक समेत बन्छन् भनेर देखाउन यी तथ्यहरू नै पर्याप्त छन्।

झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन् र वास्तविक समस्याहरू समाधान गर्न सक्दैनन्। यसले कामको प्रगतिमा ढिलाइ गराउने र यसका परिणामहरूमा असर गर्ने मात्र होइन, यसले धेरै जनशक्ति, भौतिक स्रोतसाधन, र आर्थिक स्रोतसाधन खेर फालेर मण्डलीको काममा पनि गम्भीर घाटा पुर्‍याउँछ। त्यसकारण, झूटा अगुवाहरूले आर्थिक घाटाहरू पूर्ति गर्नुपर्छ। कति मानिसहरू भन्छन्, “यदि अगुवा र कामदारहरूले आफ्नो काम राम्ररी नगरेर आइपरेको घाटा पूर्ति गर्नुपर्छ भने, कोही पनि अगुवा वा कामदार बन्‍न चाहनेथिएन।” त्यस्ता गैरजिम्मेवार मानिसहरू अगुवा वा कामदार बन्‍न योग्य हुँदैनन्। विवेक वा समझ नभएका मानिसहरू दुष्ट मानिस हुन्—यदि दुष्ट मानिसहरू अगुवा र कामदार बन्‍न चाहन्छन् भने, के यो समस्याजनक कुरा होइन र? परमेश्‍वरको घरको धेरैजसो काममा आर्थिक खर्चहरू संलग्‍न हुन्छन्, त्यसैले के तिनको लेखा राख्न जरुरी हुँदैन र? के परमेश्‍वरका भेटीहरू मानिसहरूले मनोमानी रूपमा बरबाद गर्न र फजुलमा उडाउन मिल्ने कुरा हुन्? परमेश्‍वरका भेटीहरू फजुलमा उडाउन अगुवा र कामदारहरूसँग के अधिकार हुन्छ? आर्थिक घाटा पुर्‍याएपछि त्यसको पूर्ति गर्नैपर्छ; यो पूर्ण रूपमा प्राकृतिक र न्यायोचित कुरा हो, र यसलाई कसैले नकार्न सक्दैन। उदाहरणका लागि, मानौँ एउटा काम एक व्यक्तिले एक महिनामा पूरा गर्न सक्छ रे। यदि यो काम गर्न छ महिना लाग्यो भने, के बाँकी पाँच महिनाको खर्च घाटा होइन र? म सुसमाचार प्रचार गर्नेबारे एउटा उदाहरण दिन्छु। मानौँ कुनै व्यक्ति साँचो मार्गको अनुसन्धान गर्न इच्छुक छ र उसलाई सायद एक महिनाभित्रै विश्‍वासमा ल्याउन सकिन्छ, र त्यसपछि ऊ मण्डलीमा प्रवेश गर्छ र उसले निरन्तर मलजल र भरणपोषण प्राप्त गर्छ, र छ महिनाभित्र उसले एउटा जग बसाल्न सक्छ। तर यदि यो मामलाप्रति सुसमाचार प्रचार गर्ने व्यक्तिको मनोवृत्ति बेवास्ता गर्ने र झारा टार्ने प्रकारको छ, र अगुवा र कामदारहरूले पनि आफ्नो जिम्मेवारीलाई बेवास्ता गर्छन्, अनि त्यो व्यक्तिलाई विश्‍वासमा ल्याउन आधा वर्ष लाग्छ भने, के यो आधा वर्ष त्यो व्यक्तिको जीवनको घाटा हुनेछैन र? यदि उसलाई ठूला प्रकोपहरू आइपर्यो र उसले अझै पनि साँचो मार्गमा जग बसालेको छैन भने, ऊ खतरामा हुनेछ, अनि के ती मानिसहरूले उसलाई निराश तुल्याएका हुँदैनन् र? यस्तो घाटा पैसा वा भौतिक कुराले मापन गर्न सकिँदैन। यदि त्यो व्यक्तिको सत्यताको बुझाइ छ महिना रोकियो, र उसलाई जग बसाल्‍न र कर्तव्य निभाउन थाल्‍नमा छ महिना ढिलाइ भयो भने, यसको जिम्मेवारी कसले लिनेछ? के अगुवा र कामदारहरूले यसको जिम्मेवारी लिन सक्छन्? कसैको जीवन रोक्‍ने कार्यको जिम्मेवारी कसैले लिन सक्दैन। कसैले पनि यो जिम्मेवारी लिन नसक्‍ने हुनाले, अगुवा र कामदारहरूले के गर्दा उचित हुन्छ? बस चार शब्द: यसमा सारा मेहनत लगा। के गर्नका लागि सारा मेहनत लगाउने? आफ्ना जिम्मेवारीहरू पूरा गर्न, जसका लागि आफ्‍नो आँखाले देख्‍न सक्‍ने, आफ्नो मनले सोच्न सक्‍ने, र आफ्‍नो क्षमताले हासिल गर्न सक्‍ने सबै कुरा गर्नुपर्छ। यो आफ्नो सारा मेहनत लगाउनु हो, यो बफादार र जिम्मेवार हुनु हो, र यो नै अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारी हो। कतिपय अगुवा र कामदारहरूले सुसमाचार प्रचार गर्नुलाई गम्भीर मामलाका रूपमा लिँदैनन्। तिनीहरूले सोच्छन्, “परमेश्‍वरका भेडाहरूले परमेश्‍वरको आवाज सुन्‍नेछन्। जसले अनुसन्धान गर्छ र स्विकार्छ उसले आशिष् पाउनेछ; जसले अनुसन्धान गर्दैन र स्विकार्दैन उसले आशिष् पाउनेछैन, र ऊ प्रकोपमा मर्नयोग्य हुन्छ!” झूटा अगुवाहरूले परमेश्‍वरका अभिप्रायहरूको कुनै ख्याल गर्दैनन्, र सुसमाचारको कामको कुनै बोझ लिँदैनन्; तिनीहरूले भर्खरै मण्डली प्रवेश गरेका नयाँ विश्‍वासीहरूको पनि कुनै जिम्मेवारी लिँदैनन्, र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशलाई गम्भीरतापूर्वक लिँदैनन्—तिनीहरू सधैँ आफ्नो हैसियतका फाइदाहरूमा लिप्त हुनमा मात्रै ध्यान दिन्छन्। जति धेरै मानिसहरूले साँचो मार्ग अनुसन्धान गरे पनि, तिनीहरूलाई पटक्‍कै चिन्ता हुँदैन, तिनीहरूमा सधैँ आलटाल गर्ने मानसिकता हुन्छ, र तिनीहरू सेवानिवृत्त सम्राट्‌ वा अधिकारीले जस्तो व्यवहार गर्छन्। काम चाहे जतिसुकै महत्त्वपूर्ण वा जरुरी होस्, तिनीहरू कहिल्यै कार्यस्थलमा देखा पर्दैनन्, र तिनीहरूले कामको अवस्थाबारे सोधपुछ गर्ने र बुझ्‍ने, वा कामको अनुगमन गर्ने र समस्याहरू सुल्झाउने गर्दैनन्। तिनीहरूले बस कामहरू बन्दोबस्त गर्छन्, अनि आफ्नो काम पूरै सकियो भन्‍ने सोच्छन्, र तिनीहरूले काम गर्नु भनेकै यही हो भन्‍ने विश्‍वास गर्छन्। के यो झाराटारुवा हुनु होइन र? के यो आफूभन्दा माथि र तलका दुवैलाई छल गर्नु होइन र? के त्यस्ता अगुवा र कामदारहरू परमेश्‍वरले प्रयोग गर्न योग्य हुन्छन्? के तिनीहरू ठूलो रातो अजिङ्गरका अधिकारीजस्तै होइनन् र? तिनीहरूले सोच्छन्, “अगुवा वा कामदार बन्‍नु भनेको पद सम्हाल्नुजस्तै हो, र व्यक्तिले यस्तो हैसियतका फाइदाहरू लिनुपर्छ। पदमा रहनुले मलाई यो सुविधा दिन्छ, र सबै मामलाहरूमा उपस्थित भइरहनुपर्ने झमेलाबाट छूट दिन्छ। यदि म सधैँ कार्यस्थलमा कामको अनुगमन गर्दै र वस्तुस्थिति बुझ्दै बसिरहने हो भने, त्यो कति थकाइलाग्दो, कति अपमानजनक कुरा हुन्थ्यो होला! म यस्तो थकान स्विकार्न सक्दिनँ!” झूटा अगुवा र झूटा कामदारहरूले ठ्याक्कै यसरी नै काम गर्छन्, तिनीहरू कुनै वास्तविक काम नगरी सहजताको लोभ गर्ने र हैसियतका फाइदाहरू लिने कार्यमा मात्रै ध्यान दिन्छन्, र तिनीहरूसँग कुनै विवेक वा समझ हुँदैन। त्यस्ता परजीवीहरूलाई साँच्‍चै नै हटाइनुपर्छ, र तिनीहरू दण्डित भए पनि, तिनीहरू त्यसको लायक नै हुन्छन्! कति अगुवा र कामदारहरूले त धेरै वर्ष मण्डलीको काम गरे पनि सुसमाचार कसरी प्रचार गर्ने भन्‍ने जानेका हुँदैनन्, गवाही दिन त झनै जानेका हुँदैनन्। यदि तैँले तिनीहरूलाई सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूसँग परमेश्‍वरको कामका दर्शनहरूसँग सम्बन्धित सबै सत्यताहरू सङ्गति गर्न लगाइस् भने, तिनीहरू त्यसो गर्न असमर्थ हुन्छन्। ती झूटा अगुवाहरूलाई “के तिमीले कहिल्यै आफूलाई दर्शनहरूको सत्यताले सुसज्जित गर्ने प्रयत्‍न गरेका छौ?” भनेर सोधियो भने, तिनीहरूले मनन गर्छन्, “मैले किन यस्तो मेहनत लगाउनु? मेरो उच्च हैसियत भएकोले, त्यो काम मेरो होइन; त्यो काम गर्नका लागि अरू प्रशस्तै छन्।” मलाई भन् त, तिनीहरू कस्ता प्राणी हुन्? तिनीहरूले धेरै वर्षदेखि मण्डलीको काम गर्दै आएका छन्, तैपनि सुसमाचार प्रचार गर्न जान्दैनन्। अनि जब गवाही दिने कुरा आउँछ, तिनीहरूले आफ्नो तर्फबाट गवाही दिने सुसमाचार प्रचारक खोज्नुपर्ने हुन्छ। यदि अगुवा वा कामदारका रूपमा तैँले सुसमाचार प्रचार गर्न, गवाही दिन, वा दर्शनहरूका सम्बन्धमा मानिसहरूसित सङ्गति गर्न सक्दैनस् भने, तैँले केचाहिँ गर्न सक्छस्? तेरा जिम्मेवारीहरू के-के हुन्? के तैँले ती पूरा गरेको छस्? के तैँले पहिले नै आफूसँग भएका कुराले नै काम चलाइरहेको छस्? तँसँग के चाहिँ छ? तँलाई पहिले नै आफूसँग भएका कुराले काम चलाउन कसले अनुमति दियो? कतिपय सुसमाचार समूहका सुपरिवेक्षकहरूले त अरूले सुसमाचार प्रचार गरेको कहिल्यै देखेका र सुनेका समेत हुँदैनन्। तिनीहरू सुन्‍न मन पराउँदैनन्; तिनीहरूलाई झमेला लिन मन पर्दैन, यो अत्यन्तै समस्याजनक लाग्छ, र तिनीहरूमा धैर्य हुँदैन। तिनीहरू अगुवा हुन्, के तँलाई थाहा छैन र—तिनीहरू पदाधिकारीभन्दा कम होइनन्—त्यसकारण तिनीहरूले यी निश्‍चित कामहरू गर्दैनन्; यी काम त तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई गर्न लगाउँछन्। मानौँ केही सुसमाचार प्रचारकहरूले उच्च क्षमता भएको एक व्यक्तिलाई अचानक भेटेछन्, जो सबै कुरालाई इमानदारीसाथ हेर्छ, र दर्शनहरूबारे केही निश्‍चित सत्यताहरू बुझ्न चाहन्छ। ती सुसमाचार प्रचारकहरूले पूर्णतया स्पष्ट सङ्गति गर्न सक्दैनन्, त्यसैले तिनीहरूले आफ्ना अगुवाहरूलाई सङ्गति गर्न लगाउँछन्। अगुवाहरूले केही बोल्न सक्दैनन्, र यसो भन्दै बहानासमेत बनाउन खोज्छन्, “म आफैले यो काम कहिल्यै गरेको छैनँ। तिमीहरू नै गएर गर; म तिमीहरूलाई साथ दिनेछु। यदि कुनै समस्याहरू आएमा, म तिमीहरूलाई ती समाधान गर्न मद्दत गर्नेछु; म तिमीहरूलाई आड दिन्छु। चिन्ता नगर। हामीसँग परमेश्‍वर हुँदाहुँदै डराउनुपर्ने के छ र? कसैले साँचो मार्ग खोज्दा, तिमीहरूले दर्शनहरूका सत्यताहरूबारे गवाही दिन वा सङ्गति गर्न सक्छौ। म त जीवन प्रवेशसम्बन्धी सत्यताहरू सङ्गति गर्न मात्रै जिम्मेवार छु। गवाही दिने काम तिमीहरूले लिनुपर्ने भारी बोझ हो, ममाथि भर नपर।” सुसमाचार प्रचार गर्ने क्रममा हरेक पटक गवाही दिने महत्त्वपूर्ण क्षणमा तिनीहरू लुक्छन्। तिनीहरूलाई आफूसँग सत्यताको कमी छ भन्‍ने कुरा पूर्ण रूपमा थाहा छ भने तिनीहरूले किन आफूलाई सत्यताद्वारा सुसज्जित गर्ने प्रयास गर्दैनन्? आफूमा सत्यताको कमी छ भन्‍ने राम्ररी थाहा भएर पनि तिनीहरू किन सधैँ अगुवा बन्‍न मरिहत्ते गर्छन्? तिनीहरूसँग कुनै किसिमको प्रतिभा हुँदैन, तैपनि तिनीहरू जुनसुकै आधिकारिक पद लिन लजाउँदैनन्—तैँले अनुमति दिइस् भने तिनीहरूले सम्राट्‌को भूमिकासमेत लिनेछन्—तिनीहरू अति नै निर्लज्ज हुन्छन्! तिनीहरू जुनसुकै तहको नेतृत्वमा भए पनि तिनीहरूले वास्तविक काम गर्न सक्दैनन्, तैपनि तिनीहरूले कुनै विवेकको घोचाइ महसुस नगरी हैसियतका फाइदाहरू लिने आँट गर्छन्। के तिनीहरू पूर्ण रूपमा लाजविहीन मानिस होइनन् र? यदि तँलाई विदेशी भाषामा बोल्न लगाइएको भएर तैँले बोल्न नसकेको भए, त्यो बुझ्न सकिनेथ्यो; तर दर्शनहरू र परमेश्‍वरका अभिप्रायहरूसम्बन्धी सत्यताहरू आफ्नो मातृभाषामा सङ्गति गर्न त सम्भव हुनुपर्ने हो, होइन र? तीनदेखि पाँच वर्ष मात्र विश्‍वास गरेका मानिसहरूले सत्यता सङ्गति गर्न नसके, तिनीहरूलाई माफ गर्न सकिनेथ्यो। तर कतिले त लगभग २० वर्ष परमेश्‍वरमा विश्‍वास गरेका हुन्छन् तर अझै पनि दर्शनसम्बन्धी सत्यताहरू सङ्गति गर्न सक्दैनन्—के त्यस्ता मानिसहरू काम नलाग्‍ने व्यक्ति होइनन् र? के तिनीहरू केही न कामका होइनन् र? कसैले परमेश्‍वरमा विश्‍वास गरेको यति धेरै वर्ष भएको छ, र पनि उसलाई दर्शनहरूबारे सत्यताहरू कसरी सङ्गति गर्ने भन्‍ने थाहा छैन भन्‍ने सुन्दा म छक्क पर्छु। यो सुनेपछि तिमीहरू सबैलाई के लाग्छ? के यो अकल्पनीय कुरा होइन र? तिनीहरूले यतिका वर्ष आफ्नो काम कसरी गर्दै आएका छन्? सङ्गीत बनाउनका लागि मार्गदर्शन दिन लगाउँदा, तिनीहरूले त्यो जान्दैनन्, र यो विशेषज्ञ क्षेत्र अत्यन्तै गाह्रो हुन्छ, यो औसत व्यक्तिले बुझ्न सक्‍ने कुरा होइन भनेर भन्छन्। कला सिर्जना गर्ने काममा, वा चलचित्र निर्माणको काममा मार्गदर्शन गर्न लगाउँदा, तिनीहरूले यी कामहरू सम्हाल्न अत्यन्तै उच्च स्तरको प्राविधिक सीप आवश्यक पर्ने दाबी गर्छन्। अनुभवात्मक गवाही लेखहरू लेख्‍न लगाउँदा, तिनीहरू आफ्नो शैक्षिक स्तर अत्यन्तै न्यून भएको, आफूलाई ती कसरी लेख्‍ने थाहा नभएको, र आफूले यसमा कहिल्यै तालिम नलिएको भनेर भन्छन्। यदि तिनीहरूले यस्ता कामहरू गर्न सक्दैनन् भने, त्यो क्षम्य कुरा हो, तर सुसमाचारको काम अन्तर्निहित रूपमा तिनीहरूको कर्तव्यको पाटो नै हो। तिनीहरू यो कामप्रति योभन्दा बढी परिचित हुन सक्दैनन्—के तिनीहरूलाई यो सजिलो हुनुपर्ने होइन र? दर्शनहरूबारे सत्यताहरू सङ्गति गर्नुको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको कामका तीन चरणहरूको सत्यताबारे प्रस्ट रूपमा सङ्गति गर्नु हो। सुरुमा, मानिसहरूमा यो काम गरेको धेरै अनुभव हुँदैन र तिनीहरूले त्यति राम्ररी सङ्गति नगर्लान्, तर समय बित्दै जाँदा यो विषयमा तालिम लिएपछि, तिनीहरूले जति धेरै सङ्गति गर्छन्, तिनीहरू सङ्गति गर्नमा त्यति नै सिपालु हुन सक्छन्, जस्तो कि तिनीहरू व्यवस्थित तरिकाले, सटीक र स्पष्ट भाषामा, राम्रोसँग पदक्रम मिलाएर बोल्न सक्षम हुन्छन्। के यो अगुवाहरूले जान्‍नैपर्ने विशिष्टीकृत कामको एउटा निश्‍चित क्षेत्र होइन र? यो माछालाई जबरजस्ती जमिनमा जिउन लगाएजस्तो त होइन नि, हो त? (अहँ, होइन।) तर त्यस्ता झूटा अगुवाहरू यति सानो कामसमेत गर्न सक्षम हुँदैनन्। तैपनि तिनीहरूले अझै अगुवाका रूपमा सेवा गर्छन् त? तिनीहरूले अझै त्यो पद ओगटेर के गरिरहेका छन्? कति मानिसहरू भन्छन्, “म त्यस्तो व्यक्ति हुँ जसको सोचाइ भ्रमित र अस्पष्ट छ, जसमा तर्कको कमी छ, र म दर्शनहरूसँग सम्बन्धित सत्यताहरूबारे कुरा गर्न त्यति दक्ष छैनँ।” त्यसो हो भने, के तैँले सुसमाचारको काममा देखा पर्ने विभिन्‍न त्रुटि र विचलनहरू पहिचान गर्न र सुल्झाउन सक्छस्? यदि तैँले तिनलाई पहिचान गर्न सक्दैनस् भने, तिनलाई अवश्य नै सुल्झाउन पनि सक्दैनस्। जब झूटा अगुवाहरू सुसमाचारको कामको प्रभारी हुन्छन्, तब तिनीहरूले चेकजाँच वा सुपरिवेक्षणमा कुनै भूमिका खेल्दैनन्; तिनीहरूले आफ्ना मातहतका मानिसहरूलाई आफूले चाहेअनुसार काम गर्न दिन्छन्, जसले गर्दा जोकसैले आफूले चाहेअनुसार काम गर्न सक्छ, र जसलाई मन लाग्यो उसलाई प्रचार गर्न सक्छ—कुनै पनि सिद्धान्त वा मानकहरू बिलकुलै लागू हुँदैनन्। कति मानिसहरूले आवेगमा काम गर्छन्, कामकुरा गर्दा तिनीहरूमा समझ र खासगरी सिद्धान्तहरूको कमी हुन्छ, र तिनीहरूले लापरवाही रूपमा दुष्कर्म गर्छन्। झूटा अगुवाहरू यी समस्याहरू पत्ता लगाउन वा पहिचान गर्न पूर्ण रूपमा असफल हुन्छन्।

भनिन्छ, दक्षिण अमेरिका र अफ्रिकामा, सुसमाचार कार्यमार्फत केही गरिब मानिसहरूलाई झुन्डमा ल्याइएको छ। ती मानिसहरूको कुनै स्थिर आम्दानी छैन, र पर्याप्त रूपमा खान पाउने र बाँच्ने कुरामा समेत तिनीहरूलाई समस्याहरू हुन्छन्। यस्तोमा, के गर्नुपर्छ? अगुवाहरूले यसो भनेका थिए, “मानवजातिलाई मुक्ति दिनु परमेश्‍वरको अभिप्राय हो, र मुक्ति पाउनका लागि, सुरुमा खानेकुरा पर्याप्त हुनुपर्छ, होइन र? के परमेश्‍वरको घरले राहत प्रदान गर्नुपर्दैन र? यदि तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् भने, हामी तिनीहरूलाई परमेश्‍वरका वचनका केही पुस्तकहरू बाँड्न सक्छौँ। तिनीहरूसँग कम्प्युटर वा फोन छैन, त्यसैले यदि तिनीहरूले कर्तव्य निर्वाह गर्छु भनेर अनुरोध गरे भने, हामीले के गर्नुपर्छ? केही सोधपुछ गर्नुपर्छ, र तिनीहरू सच्चा रूपमा कर्तव्य निभाउन इच्छुक छन् कि छैनन् भनी हेर्नुपर्छ।” सोधपुछ गर्दा थाहा पाइयो कि यी मानिसहरूसँग त्यतिबेला पैसा थिएन, तर यदि तिनीहरूसँग पैसा भएको र तिनीहरूले पेटभर खान पाएको भए तिनीहरू बाहिर गएर सुसमाचार प्रचार गर्न र आफ्नो कर्तव्य निभाउन इच्छुक हुनेथिए। यी परिस्थितिहरू बुझेपछि, अगुवाहरूले राहत रकम वितरण गर्न थाले, र त्यो हरेक महिना जारी गरे। यी मानिसहरूका लागि खानेबस्‍ने, र यहाँसम्म कि इन्टरनेट शुल्क, र फोन, कम्प्युटर, र अन्य उपकरणहरू किन्न सबै भुक्तानी परमेश्‍वरको घरको पैसाबाट गरिएको थियो। यी मानिसहरूलाई पैसा बाँड्नुको उद्देश्य सुसमाचार कार्य फैलाउनु नभई तिनीहरूको जीविकाका लागि राहत प्रदान गर्नु थियो। के यो सिद्धान्तहरूअनुरूप थियो त? (अहँ, थिएन।) के सुसमाचार प्रचार गर्दा र जीविकोपार्जनका माध्यमहरू नभएका गरिब मानिसहरू भेट्दा, तिनीहरूले कामको यो चरण स्विकार्न सक्छन् भने, तिनीहरूलाई सहयोग प्रदान गर्नुपर्छ भनेर परमेश्‍वरको घरले नियम बनाएको छ? के त्यस्तो कुनै सिद्धान्त छ? (छैन।) त्यसोभए, यी अगुवाहरूले कुन सिद्धान्तमा टेकेर तिनीहरूलाई राहत रकम बाँडेका थिए? के तिनीहरूले परमेश्‍वरका घरमा पैसा छ तर खर्च गर्ने ठाउँ छैन भन्‍ने सोचेर हो, कि तिनीहरूले यी मानिसहरूलाई अत्यन्तै दयनीय ठानेर हो, कि यी मानिसहरूले सुसमाचार प्रचार गर्न मद्दत गर्नेछन् भन्‍ने आशाले हो? तिनीहरूको अभिप्राय वास्तवमा के थियो? तिनीहरूले के हासिल गर्ने प्रयास गरिरहेका थिए? फोन, कम्प्युटर, र जीवनयापनको खर्च बाँड्ने विषयमा, तिनीहरूले ठूलो जोस देखाए; तिनीहरूलाई अरूलाई फाइदा दिने यस्तो काममा संलग्‍न हुँदा रमाइलो लाग्थ्यो, किनभने यसले गर्दा तिनीहरूले यी मानिसहरूलाई चापलुसी गर्न र तिनीहरूको मन जित्न सक्थे, र तिनीहरू यस्ता कामहरूमा विशेष रूपमा लागिपर्थे, झन्झन् अगाडि सर्थे र तिनीहरूमा अलिकति पनि लाज हुन्थेन। यो त परमेश्‍वरको पैसा प्रयोग गरेर मानिसहरूलाई चापलुसी गर्नु र तिनीहरूको स्नेह किन्नु हो। वास्तवमा, यी गरिब व्यक्तिहरूले परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्दैनथे; तिनीहरू त आफ्नो पेट भर्ने र जिउने उपाय खोज्ने प्रयास मात्रै गरिरहेका थिए। त्यस्ता मानिसहरू सत्यता वा मुक्ति प्राप्त गर्न खोजिरहेका थिएनन्। के परमेश्‍वरले यी मानिसहरूलाई मुक्ति दिनुहुन्थ्यो होला त? कतिपय त कर्तव्य पूरा गर्न इच्छुक भए पनि सच्चा थिएनन्, बरु तिनीहरू फोन र कम्प्युटरप्रतिको, जीवनका सुविधाप्रतिको चाहनाद्वारा प्रेरित थिए। तर झूटा अगुवाहरूले त्यसबारे कुनै वास्ता गरेनन्; कुनै व्यक्ति कर्तव्य पूरा गर्न इच्छुक थियो भने, तिनीहरूले त्यो व्यक्तिको हेरचाह गर्थे, आवास र खानाका लागि पैसा दिने मात्र होइन, कम्प्युटर, फोन, र विभिन्‍न उपकरणहरूसमेत किनेर दिन्थे। तर यी मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गरे पनि कुनै किसिमको नतिजा हासिल गरेनन्। के ती झूटा अगुवाहरूले पैसा फ्याँक्‍ने काम मात्रै गरिरहेका थिएनन् र? के तिनीहरूले आफ्नो उदारता देखाउन परमेश्‍वरको घरको पैसा प्रयोग गरिरहेका थिएनन् र? (हो।) के अगुवा र कामदारहरूले गर्नुपर्ने काम यही हो त? (होइन।) के यिनीहरू झूटा अगुवा थिएनन् र? झूटा अगुवाहरू असलपन, उपकार, र दयाको नाटक गर्न मन पराउँछन्। यदि तँ दयालु हृदय देखाउन चाहन्छस् भने, ठीकै छ, आफ्नो पैसा प्रयोग गर्! यदि तिनीहरूसँग कुनै लुगा छैन भने, आफ्नो लुगा खोलेर तिनीहरूलाई दे; परमेश्‍वरको भेटी खर्च नगर्! परमेश्‍वरका भेटीहरू सुसमाचार प्रचार गर्ने कामका लागि हुन्, कल्याणकारी लाभहरू वितरण गर्नका लागि होइनन्, र अवश्य नै गरिबहरूलाई सहयोग प्रदान गर्नका लागि पनि होइनन्। परमेश्‍वरको घर कुनै कल्याणकारी संस्था होइन। झूटा अगुवाहरू वास्तविक काम गर्न असमर्थ हुन्छन्, र तिनीहरू सत्यता वा जीवन आपूर्ति गर्न अझै कम सक्षम हुन्छन्। तिनीहरू मानिसहरूलाई चापलुसी गर्न र आफ्नो प्रतिष्ठा र हैसियत कायम राख्‍नका लागि परमेश्‍वरका भेटीहरू प्रयोग गरेर कल्याणकारी लाभहरू वितरण गर्नमा मात्रै ध्यान दिन्छन्। तिनीहरू लाज नभएका फजुलखर्ची हुन्, होइनन् र? यदि त्यस्ता झूटा अगुवाहरू पत्ता लागेमा, के कसैले तिनीहरूलाई समयमै खुलासा गर्न र रोक्न सक्छ? तिनीहरूलाई रोक्न कोही खडा भएन। यदि माथिले पत्ता नलगाएको र यसलाई नरोकेको भए, परमेश्‍वरको पैसा प्रयोग मानिसहरूलाई लाभहरू प्रदान गर्ने अभ्यास कहिल्यै रोकिने थिएन। ती गरिब मानिसहरू सधैँ अझ बढी चाहन्छन् र झन्झन् परसम्‍म हात फैलाउँछन्। तिनीहरू अतृप्त हुन्छन्; तैँले जति नै दिए पनि त्यो कहिल्यै पर्याप्त हुँदैन। परमेश्‍वरमा सच्चा रूपमा विश्‍वास गर्नेहरूले मुक्ति पाउनका लागि आफ्नो कर्तव्य निर्वाह गर्न आफ्नो परिवार र करियर छाड्न सक्छन्, र तिनीहरूलाई जीवनमा कठिनाइहरू आइपरे पनि तिनीहरूले परमेश्‍वरको घरबाट निरन्तर रूपमा कामकुरा नमागी तिनलाई आफै समाधान गर्ने उपायहरू खोज्न सक्छन्। तिनीहरू आफूले गर्न सक्‍ने कुरा आफै समाधान गर्छन्, र आफूले समाधान गर्न नसक्‍ने कुराका लागि परमेश्‍वरलाई प्रार्थना गर्छन् र अनुभव गर्नका लागि आफ्नो विश्‍वासमा भरोसा गर्छन्। जो सधैँ परमेश्‍वरबाट माग्छन्, र परमेश्‍वरको घरले आफ्नो जीविकोपार्जन र भरणपोषण प्रदान गरोस् भन्‍ने अपेक्षा गर्छन्, तिनीहरूमा समझ हुँदै हुँदैन! तिनीहरू कुनै कर्तव्य निर्वाह गर्न चाहँदैनन् तर पनि जीवनको आनन्द लिने इच्छा राख्छन्, तिनीहरूले हात तेर्स्याएर परमेश्‍वरको घरबाट विभिन्‍न कुराहरू माग्‍न मात्रै जानेका हुन्छन्, र त्यसपछि पनि तिनीहरूलाई कहिल्यै पुग्दैन। के तिनीहरू भिखारी होइनन् र? अनि झूटा अगुवाहरू—यी पटमूर्खहरूले—लाभहरू दिइरहे, र रोकेनन्, निरन्तर मानिसहरूलाई खुसी पार्दै आफ्नो कृतज्ञता कमाइरहे, र त्यस्ता कार्यहरूले परमेश्‍वरलाई महिमा दिन्छन् भन्‍नेसमेत सोचे। झूटा अगुवाहरूले सबैभन्दा बढी आनन्द लिएर गर्ने कामकुरा यिनै हुन्। त्यसोभए, के यी समस्याहरू पहिचान गर्न सक्‍ने, यी समस्याहरूको सार छर्लङ्गै देख्‍न सक्‍ने कोही छ? धेरैजसो अगुवाहरू यस्तो सोच्दै आँखा चिम्लिदिन्छन्, “चाहे जे भए पनि, म सुसमाचारको कामको प्रभारी होइनँ, त्यसैले मैले किन यी कुराहरूबारे वास्ता गर्ने? मेरो पैसा खर्च भएको होइन। मेरो आफ्नै खल्तीको पैसा यथावत् रहुन्जेल, ठीकै छ। तिमीहरूले जसलाई मन लाग्छ उसलाई दिन सक्छौ, र मसँग यसको के सम्बन्ध छ र? आखिर त्यो पैसा मेरो थैलीमा आइपुग्ने पनि त होइन।” यस्ता गैरजिम्मेवार मानिसहरू धेरै छन्, तर कतिले चाहिँ परमेश्‍वरको घरको काममा साथ दिन सक्छन् त?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्