अगुवा र कामदारहरूका जिम्मेवारीहरू (४) खण्ड दुई
मण्डली अगुवामा कम्तीमा पनि विवेक र समझ हुनुपर्छ, र तिनीहरूले केही सत्यताहरू पनि बुझ्नुपर्छ—त्यसपछि मात्रै तिनीहरूले बोझ महसुस गर्न सक्छन्। बोझ महसुस गर्नुका प्रकटीकरणहरू के-के हुन्? यदि तिनीहरूले केही मानिसहरू नकारात्मक छन्, केहीमा विकृत बुझाइ छ, केहीले परमेश्वरको घरका सम्पत्तिहरू बरबाद गरिरहेका छन्, केहीले झाराटारुवा रूपमा आफ्नो काम गरिरहेका छन्, केहीले आफ्नो कर्तव्य निर्वाह गर्दा उचित काममा ध्यान दिँदैनन्, र केहीले सधैँ उत्कृष्ट सुनिने शब्दहरू बोल्छन् तर वास्तविक काम गर्दै गर्दैनन् भन्ने देखे…, मण्डलीभित्र धेरै समस्याहरू छन् र तिनलाई समाधान गरिनुपर्छ भन्ने थाहा पाए भने, र धेरै काम सम्पन्न नभएको देखे भने, यसले तिनीहरूलाई बोझको बोध विकास गराउँछ। अगुवा बनेदेखि, तिनीहरूभित्र निरन्तर आगो बलिरहेकोझैँ महसुस हुन्छ; यदि तिनीहरूले कुनै समस्या पत्ता लगाए र यसलाई समाधान गर्न सकेनन् भने, तिनीहरू चिन्तित र तनावग्रस्त हुन्छन्, र खान वा सुत्न सक्दैनन्। भेलाहरूका दौरान, जब केही मानिसहरूले अगुवाले तुरुन्तै देख्न र समाधान गर्न नसक्ने आफ्नो कामका समस्याहरूबारे रिपोर्ट गर्छन्, तब यस्ता अगुवाले हरेस खाँदैनन्; तिनीहरूलाई त्यो समस्या समाधान गर्नैपर्छ भन्ने लाग्छ। प्रार्थना र खोजी गर्नुका साथै त्यसबारे दुई दिन विचार गरेपछि, त्यसलाई कसरी समाधान गर्ने भन्ने थाहा पाएपछि, तिनीहरूले तुरुन्तै समस्या समाधान गर्छन्। उक्त समस्या समाधान गरेपछि, तिनीहरूले तुरुन्तै अरू कामहरू जाँच गर्छन् र एउटै काममा धेरै मानिसहरू संलग्न भएको र कर्मचारी घटाउनुपर्ने अर्को समस्या पत्ता लगाउँछन्। त्यसपछि तिनीहरूले तुरुन्तै भेला बोलाउँछन्, अवस्थाबारे स्पष्ट जानकारी लिन्छन्, र कर्मचारी घटाउँछन्, र उचित बन्दोबस्तहरू गर्छन्, र यसरी समस्या समाधान हुन्छ। तिनीहरूले जुनसुकै कामको निरीक्षण गरिरहेका भए पनि, बोझ लिने अगुवाहरू सधैँ समस्याहरू पहिचान गर्न सक्षम हुन्छन्। तिनीहरूले व्यावसायिक ज्ञानसम्बन्धी वा सिद्धान्तहरू विपरीतका कुनै पनि समस्याहरूलाई पहिचान गर्न, तिनका बारेमा सोधपुछ गर्न र एउटा बुझाइ प्राप्त गर्न सक्नेछन्, र जब तिनीहरूले कुनै समस्या पत्ता लगाउँछन्, तब तिनीहरूले त्यसलाई तुरुन्तै समाधान गर्छन्। बुद्धिमान् अगुवा र कामदारहरूले मण्डलीको काम, व्यावसायिक ज्ञान, र सत्यता सिद्धान्तहरूसँग सम्बन्धित समस्याहरू मात्रै समाधान गर्छन्। तिनीहरू दैनिक जीवनका सानातिना कुराहरूलाई कुनै ध्यान दिँदैनन्। तिनीहरू परमेश्वरले आज्ञा गर्नुभएको सुसमाचार फैलाउने कामको हरेक पाटोको हेरविचार गर्छन्। तिनीहरू आफूले बुझ्न वा पत्ता लगाउन सक्ने हर समस्याका बारेमा सोध्छन् र त्यसको निरीक्षण गर्छन्। यदि तिनीहरू आफैले उत्तिखेरै समस्या समाधान गर्न सकेनन् भने, तिनीहरू अरू अगुवा र कामदारहरूसँग भेला हुन्छन्, तिनीहरूसँग सङ्गति गर्छन्, सत्यता सिद्धान्तहरू खोजी गर्छन्, र यसलाई समाधान गर्ने उपायहरू सोच्छन्। यदि तिनीहरूलाई साँच्चिकै समाधान गर्न नसकिने ठूलो समस्या आइपर्यो भने, तिनीहरूले तुरुन्तै माथिको सहयोग खोज्छन्, र माथिलाई नै उक्त समस्या सम्हाल्न र समाधान गर्न दिन्छन्। यस्ता अगुवा र कामदारहरू आफ्ना काममा सिद्धान्त पालना गर्ने मानिसहरू हुन्। चाहे जे समस्याहरू भए पनि, तिनीहरूले ती देखेसम्म तिनलाई यतिकै छाड्नेछैनन्; तिनीहरूले यी समस्याहरू पूर्ण रूपमा बुझ्ने र त्यसपछि एक-एक गरी समाधान गर्ने कुरामा जिद कस्छन्। ती पूर्ण रूपमा समाधान नभए पनि, यी समस्याहरू फेरि उत्पन्न हुनेछैनन् भन्ने चाहिँ सुनिश्चित गर्न सकिन्छ। यो आफ्नो सारा हृदय, शक्ति, र मनले आफ्नो कर्तव्य निभाउनु, र आफ्ना जिम्मेवारीहरू पूर्ण रूपमा पूरा गर्नु हो। वास्तविक काम नगर्ने वा वास्तविक समस्याहरू समाधान गर्ने कार्यमा ध्यान नदिने ती झूटा अगुवा र कामदारहरूले आफ्नो अगाडि रहेका समस्याहरू पत्ता लगाउन सक्दैनन् र के काम गर्नुपर्ने हो भनेर पनि तिनीहरूलाई थाहा हुँदैन। दाजुभाइ-दिदीबहिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्नमा व्यस्त रहेको देखुन्जेलसम्म, तिनीहरू यो तिनीहरूको वास्तविक कामकै परिणाम हो भन्ने लागेर पूर्ण रूपमा सन्तुष्ट हुन्छन्; तिनीहरू कामका सबै पक्षहरू निकै राम्रा छन् र तिनीहरूले व्यक्तिगत रूपमा गर्नुपर्ने काम वा आफूले समाधान गर्नुपर्ने कुनै समस्या छैन भन्ने सोच्छन्, त्यसकारण त्यसपछि तिनीहरू आफ्नो हैसियतका फाइदाहरू लिनमा ध्यान दिन्छन्। तिनीहरू सधैँ दाजुभाइ-दिदीबहिनीहरूमाझ आफ्नो प्रदर्शन गर्न र धाक देखाउन चाहन्छन्। दाजुभाइ-दिदीबहिनीहरूलाई देख्दैपिच्छे तिनीहरू भन्छन्, “असल विश्वासी बन। आफ्नो कर्तव्य राम्ररी निर्वाह गर। झारा नटार। यदि तिमीले फटाइँ गर्यौ वा समस्या निम्त्यायौ भने, म तिमीलाई बर्खास्त गर्नेछु!” तिनीहरू आफ्नो हैसियत जोरदार रूपमा प्रस्तुत गर्न र मानिसहरूलाई भाषण छाँट्न मात्रै जान्दछन्। भेलाहरूका दौरान तिनीहरूले सधैँ काममा के-कस्ता समस्याहरू छन् भनेर सोध्छन् र आफ्ना मातहतका मानिसहरूलाई कुनै कठिनाइहरू छन् कि छैनन् भनेर सोध्छन्, तर जब अरूले आफ्ना समस्या र कठिनाइहरू व्यक्त गर्छन्, तब तिनीहरूले तिनलाई समाधान गर्न सक्दैनन्। यसका बाबजुद, तिनीहरू अझै पनि खुसी नै हुन्छन्, र अझै पनि सफा विवेक बोकेरै जिउँछन्। यदि दाजुभाइ-दिदीबहिनीहरूले कुनै कठिनाइ वा समस्याहरूको कुरा उठाएनन् भने, तिनीहरूलाई आफूले आफ्नो काम राम्ररी गरिरहेको महसुस हुन्छ, र तिनीहरू आत्मगर्वित हुन्छन्। तिनीहरू कामबारे सोधखोज गर्नु नै तिनीहरूलाई अह्राइएको काम हो भन्ने सोच्छन्, र जब समस्याहरू देखा पर्छन् र जब माथिले तिनीहरूलाई जिम्मेवार तुल्याउँछ, तब तिनीहरू स्तब्ध हुन्छन्। अरूले कामका कठिनाइ र समस्याहरू तिनीहरूसामु प्रस्तुत गर्छन्, तर तिनलाई समाधान गर्न किन सत्यता खोजी नगरेको भनेर तिनीहरूले उल्टै गुनासो गर्छन्। तिनीहरूले वास्तविक समस्याहरू आफै समाधान गर्दैनन्, बरु निर्दिष्ट काम गर्नेहरूलाई कडाइसाथ हप्की लगाउँदै आफ्नो मातहतका सुपरिवेक्षकहरूमाथि जिम्मेवारी सार्छन्। यस्तो हप्कीले तिनीहरूलाई आफ्नो रिस कम गर्न मद्दत गर्छ, र तिनीहरू आफूले वास्तविक काम गर्दै छु भनेर सफा विवेकले विश्वाससमेत गर्छन्। तिनीहरूले समस्याहरू पत्ता लगाउन वा हल गर्न नसकेकोमा कहिल्यै पनि चिन्ता वा तनाव महसुस गरेका हुँदैनन्, न त यसले गर्दा तिनीहरूले राम्ररी खान वा सुत्न सकेका नै हुन्छन्—तिनीहरूले कहिल्यै यस्तो कठिनाइ भोगेका हुँदैनन्।
हरेक पटक कुनै किसान मण्डलीमा जाँदा, म केही समस्याहरू समाधान गर्छु। म हरेक पटक जानु भनेको मैले सम्बोधन गर्नुपर्ने कुनै न कुनै खास समस्या भेट्टाएकोले गर्दा होइन; केही खाली समय भएकाले मण्डलीका विभिन्न समूहहरूको काम कसरी अघि बढिरहेको छ, र हरेक समूहका मानिसहरूको अवस्था कस्तो छ भनेर हेर्न जाने मात्र हो। म कुराकानी गर्नका लागि सुपरिवेक्षकहरूलाई भेला गर्छु, यो अवधिमा तिनीहरूले के काम गरिरहेका छन्, र के-कस्ता समस्याहरू छन् भनेर सोध्छु, तिनीहरूलाई केही सवालहरू उठाउन लगाउँछु, र त्यसपछि तिनलाई कसरी समाधान गर्ने भन्नेबारे म तिनीहरूसँग सङ्गति गर्छु। तिनीहरूसँग सङ्गति गर्दा, मैले केही नयाँ समस्याहरू पनि पत्ता लगाउन सक्छु। एक प्रकारको समस्या चाहिँ अगुवा र कामदारहरूले आफ्नो काम कसरी गर्छन् भन्नेसँग सम्बन्धित समस्याहरू हो; अर्को प्रकारको समस्या चाहिँ तिनीहरूको जिम्मेवारीको दायराभित्र रहेका कामका समस्याहरू हो। यसअलावा, म तिनीहरूलाई कुनै निश्चित काम कसरी गर्ने, काम कसरी कार्यान्वयन गर्ने, के काम गर्ने भन्नेबारेमा मद्दत र मार्गदर्शन पनि प्रदान गर्छु, र त्यसपछि अर्को पटक अनुगमन गर्छु, र तिनीहरूलाई पछिल्लो पटक दिइएको काम कस्तो भयो भनेर सोध्छु। यस्तो सुपरिवेक्षण, प्रोत्साहन, र अनुगमन जरुरी हुन्छ। यो धेरै बाजागाजा बजाएर र चिच्याएर नगरिने, अनि लाउडस्पीकरहरू प्रयोग गरेर नगरिने भए पनि यी निश्चित काम र कार्यहरू वास्तविक काम गर्न सक्ने केही अगुवा र कामदारहरूमार्फत सञ्चारित र लागू गरिन्छन्। यसरी, हरेक समूहको काम व्यवस्थित बन्छ र त्यसमा प्रगति हुन्छ, र कामको प्रभावकारितामा सुधार आउँछ, र परिणामहरू अझै राम्रा आउँछन्। अन्त्यमा, हरेक समूहका हरेक व्यक्तिले के गर्नुपर्छ र कसरी गर्नुपर्छ भन्ने कुरा जानेर आफ्नो कर्तव्यमा अडिग रहन सक्छन्। कम्तीमा पनि, सबै जना आफूले गर्नुपर्ने कर्तव्य निर्वाह गरिरहेका हुन्छन्, र तिनीहरू सबैको हातमा काम हुन्छ, र तिनीहरूले जे गर्छन् त्यो परमेश्वरको घरका मागहरूअनुसार गरिन्छ र ती सिद्धान्तहरूअनुसार पनि गर्न सकिन्छ। के यो केही परिणामहरू हासिल गर्नु होइन र? के झूटा अगुवाहरूले यस तरिकाले काम गर्न जानेका हुन्छन्? झूटा अगुवाहरू यस्तो मनन गर्छन्: “त्यसोभए, माथिले यसरी नै काम गर्ने रहेछ: केही मानिसहरूलाई कुराकानी गर्न बोलाउने, सबैले सानो नोटबुकमा टिपोटहरू लिने, अनि टिपोटहरू लिइसकेपछि माथिको काम समाप्त हुन्छ। यदि माथिले यसरी नै काम गर्छ भने, हामी पनि त्यस्तै गर्नेछौँ।” तसर्थ, झूटा अगुवाहरूले यसरी नै नक्कल गर्छन्। तिनीहरूले रूपको नक्कल गर्छन्, तर अन्त्यमा, तिनीहरूले कुनै पनि वास्तविक काम पटक्कै गर्दैनन्, र आफूलाई अह्राइएको कुनै पनि काम कार्यान्वयन गर्दैनन्, र बित्थाको कुरा गरेर समय कटाउँछन्। कहिलेकहीँ, म बिरुवाहरू कति बढिरहेका छन् भनेर हेर्न, वा जाडो याममा हरितगृहमा कति पटक बाली उब्जाउन सकिन्छ, र तिनलाई कति अन्तरालमा मलजल गर्नुपर्छ भनेर पत्ता लगाउन करेसाबारी र हरितगृहमा पनि जाने गर्छु। चाहे ठूला हुन् या साना, यी सबै कामहरू सागसब्जी फलाउनेसम्बन्धी प्राविधिक कुरासँग सम्बन्धित हुन्छन्, र व्यक्तिले लगनसाथ गरेको खण्डमा यो काम पूरा गर्न सक्छ। झूटा अगुवाहरूले आफ्नो झूट मुख्य रूपमा कहाँ देखाउँछन्? सबैभन्दा प्रधान झुट भनेकै वास्तविक काम नगर्नु हो; तिनीहरू आफूलाई राम्रो देखाउने केही काम मात्रै गर्छन् र त्यसपछि काम पूरा भएको ठान्छन्, र त्यसपछि तिनीहरू आफ्नो हैसियतका फाइदाहरूको आनन्द लिन थाल्छन्। तिनीहरूले यो किसिमको काम जति नै गरे पनि, के यसको अर्थ तिनीहरूले वास्तविक काम गरिरहेका छन् भन्ने हुन्छ र? धेरैजसो झूटा अगुवाहरूले सत्यतालाई अशुद्ध रूपमा बुझ्छन्, केही शब्द र धर्मसिद्धान्तहरू मात्रै बुझ्छन्, जसले गर्दा वास्तविक काम राम्ररी गर्न निकै गाह्रो हुन्छ। कति झूटा अगुवाहरूले त सामान्य मामलाहरूसँग सम्बन्धित समस्याहरूसमेत समाधान गर्न सक्दैनन्; प्रस्ट रूपमा तिनीहरूको क्षमता कमजोर हुन्छ र तिनीहरूमा आत्मिक बुझाइको कमी हुन्छ। तिनीहरूलाई संवर्धन गर्नुको कुनै महत्त्व हुँदैन। कतिपय झूटा अगुवासँग थोरै क्षमता हुन्छ, तर तिनीहरू वास्तविक काम गर्दैनन्, र तिनीहरू देहसुखमा लिप्त हुन्छन्। देहसुखमा लिप्त हुने मानिसहरू सुँगुरभन्दा खासै फरक हुँदैनन्। सुँगुरको दिन सुत्दै र खाँदैमा बित्छ। त्यसले केही गर्दैन। तर, मेहनत गरेर त्यसलाई एक वर्षसम्म पालेपछि, वर्षको अन्त्यमा पूरै परिवारले त्यसको मासु खाँदा, त्यो काम लाग्यो भन्न सकिन्छ। यदि कुनै झूटा अगुवालाई सुँगुरझैँ पालियो, र उसले हरेक दिन सित्तैँमा तीन छाक खाने र पिउने गर्छ, ऊ मोटाउँछ र बलियो हुन्छ, तर कुनै वास्तविक काम गर्दैन र निकम्मा भयो भने, के उसलाई व्यर्थमा पालिएको हुँदैन र? के उसलाई पालेर केही काम लागेको छ? उसले प्रतिभारका रूपमा मात्र काम गर्न सक्छ र उसलाई हटाइनुपर्छ। वास्तवमा, झूटो अगुवा पाल्नुभन्दा सुँगुर पाल्नु बेस हुन्छ। झूटा अगुवाहरूसँग “अगुवा” को उपाधि त होला, तिनीहरूले यो पद ओगट्लान् र दिनको तीनपल्ट मज्जाले खालान् र परमेश्वरका धेरै अनुग्रह पाउलान्, र खानपानका कारण वर्षको अन्तमा तिनीहरू हृष्टपुष्ट भएका हुन्छन्—तर काम चाहिँ कस्तो भएको हुन्छ? यस वर्ष आफ्नो काममा हासिल भएका सबै कुरा हेर्: के तैँले यो वर्ष कामको कुनै पनि क्षेत्रमा नतिजाहरू प्राप्त गरेको छस्? तैँले कुन चाहिँ वास्तविक काम गरिस्? परमेश्वरको घरले तैँले सबै काम सिद्ध रूपमा गर्नुपर्छ भन्दैन, तर तैँले मुख्य कामचाहिँ राम्ररी गर्नैपर्छ—उदाहरणका लागि, सुसमाचारको काम वा चलचित्र निर्माणको काम, लेखन-पठनको काम, आदि इत्यादि। यी सबै फलदायी हुनैपर्छ। सामान्य परिस्थितिमा, तीनदेखि पाँच महिनापछि कामबाट केही परिणाम र उपलब्धिहरू हासिल भएको हुनुपर्छ; यदि एक वर्षपछि पनि कुनै उपलब्धि भएन भने, यो गम्भीर समस्या हो। तेरो जिम्मेवारीको दायराभित्रको कुन काम सबैभन्दा फलदायी भएको छ? वर्षभरि तैँले कुन कामका लागि सबैभन्दा धेरै मूल्य चुकाएको र सबैभन्दा बढी कष्ट भोगेको छस्। यो उपलब्धि प्रस्तुत गर्, अनि एक वर्षसम्म परमेश्वरको अनुग्रह प्राप्त गरेपछि तैँले कुनै मूल्यवान् उपलब्धि हासिल गरेको छस् कि छैनस् भन्नेबारे चिन्तन गर्; तैँले यो कुरा आफ्नो हृदयमा स्पष्ट रूपमा बुझ्नुपर्छ। यतिका समय परमेश्वरको घरको खानेकुरा खाँदा र उहाँको अनुग्रह प्राप्त गर्दा, तँ ठ्याक्कै के गरिरहेको थिइस्? के तैँले केही हासिल गरेको छस्? यदि तैँले केही पनि हासिल गरेको छैनस् भने, तँ अल्याङटल्याङ मात्रै गरिरहेको छस्; तँ एक वास्तविक झूटो अगुवा होस्। के त्यस्ता अगुवाहरूलाई बर्खास्त गरिनु र हटाइनुपर्छ? (पर्छ।) के तिमीहरूले त्यस्ता झूटा अगुवाहरूलाई भेट्दा तिनीहरूलाई खुट्ट्याउन सक्छौ? के तिमीहरूले तिनीहरू झूटा अगुवा हुन्, जो आलटाल गरेर सित्तैँमा खान खोज्छन् भन्ने देख्न सक्छौ? तिनीहरू मुख पूरै चिप्लो हुन्जेल खान्छन् तर कामबारे कहिल्यै चिन्तित वा व्याकुल देखिँदैनन्, र तिनीहरू कुनै पनि निर्दिष्ट काममा सहभागी हुने वा कुनै पनि कामबारे सोधपुछ गर्ने गर्दैनन्। तिनीहरूले सोधपुछ गरीहाले पनि त्यसको एउटै कारण हुन्छ; तिनीहरू माथिबाट परिणामहरूबारे दबाब आएपछि मात्रै त्यसो गर्छन्, नत्र त्यस्तो झमेला लिँदैनन्। तिनीहरू सधैँ आनन्दमा लिप्त हुन्छन्, र प्रायजसो चलचित्र वा टिभी कार्यक्रमहरू हेरिरहन्छन्। तिनीहरूले काम अरूलाई सुम्पन्छन् र अरू सबैजना कर्तव्य पूरा गर्नमा व्यस्त हुँदा, तिनीहरू भने आराम र रमाइलो गरिरहेका हुन्छन्। यदि कुनै समस्या आयो र तैँले यसलाई सम्हाल्नका लागि तिनीहरूलाई खोज्ने प्रयास गरिस् भने, तिनीहरू कहीँकतै देखिँदैनन्, तर खाना खाने बेलामा चाहिँ तिनीहरू कहिल्यै पनि ढिला गर्दैनन्। अनि खाना खाएपछि, जब अरू सबैजना काममा फर्कन्छन्, तब तिनीहरू थप खाली समय लिन जान्छन्। यदि तैँले तिनीहरूलाई, “तिमी किन बाहिर गएर कामको जाँच गर्दैनौ? सबैले तिम्रो निर्देशन, तिम्रो बन्दोबस्त पर्खिरहेका छन्!” भनेर भनिस् भने, तिनीहरूले भन्छन्: “मलाई किन पर्खनु? तिमीहरू सबैले यो गर्न सकिहाल्छौ, तिमीहरू सबैले यो गर्न जानेकै छौ—के म नहुँदा पनि हुने त्यही नै होइन र? के मैले केही समय आराम गर्न पाउँदिनँ र?” “के त्यो आराम गरेको हो? तिमी त चलचित्र मात्रै हेरिरहेका छौ!” “म व्यावसायिक सीप सिक्दै छु, चलचित्र कसरी छायाङ्कन गरिन्छ भनेर अध्ययन गरिरहेको छु।” तिनीहरूले बहानासमेत बनाउँछन्। तिनीहरू एकपछि अर्को चलचित्र हेर्छन्, र सबैले राती आराम गर्दा, तिनीहरूले पनि आराम गर्छन्। हरेक दिन, तिनीहरू यसरी नै आलटाल गर्छन्, तर कुन हदसम्म? सबैलाई तिनीहरू अप्रिय लाग्छन्, सबैलाई तिनीहरूले अप्ठ्यारो अनुभूति गराउँछन्, र अन्त्यमा, तिनीहरूलाई कसैले पनि कुनै ध्यान दिँदैन। ल भन् त, यदि यस्तो अगुवा प्रभारी छैन भने, के काम अझै अघि बढ्न सक्छ? के ऊविना पृथ्वी घुम्न छोड्छ र? (यो निरन्तर घुमिरहन्छ।) त्यसोभए, उसलाई खुलासा गरिनुपर्छ, ताकि सबैले यो व्यक्तिले उचित कामहरूमा ध्यान दिइरहेको छैन र कोही पनि उसको बन्धनमा पर्नु पर्दैन भन्ने कुरा देख्न सकून्। उचित कामहरूमा ध्यान नदिने यस्ता झूटा अगुवालाई खुलासा र चिरफार गर्नुपर्छ ताकि सबैले खुट्ट्याऊन्, र त्यसपछि उसलाई बर्खास्त गरेर पाखा लगाउनुपर्छ! के तिमीहरूले त्यस्ता झूटा अगुवाहरू भेट्दा तिनीहरूलाई खुट्ट्याउन सक्छौ? के झूटा अगुवाहरू नहुँदा तिमीहरूलाई आफू कप्तानविनाका नाविक भएजस्तै महसुस हुन्छ? के तिमीहरूले स्वतन्त्र रूपमा काम पूरा गर्नेछौ र कार्य सम्पन्न गर्नेछौ? यदि गर्नेछैनौ भने, तिमीहरू खतरामा छौ। आफ्नो कर्तव्य उचित रूपमा निर्वाह नगर्ने, आफूलाई उदाहरण बनाएर अगुवाइ नगर्ने, र अनलाइन कुराकानी गर्दै समय खेर फाल्ने यस्ता झूटा अगुवाहरू सामना गर्दा—के यस्तो अवस्थामा तिमीहरूमा समझशक्ति हुन्छ? के तिमीहरू पनि तिनीहरूको प्रभावमा परेर व्यर्थको गफमा व्यस्त हुने र आफ्नो कर्तव्यमा ढिलाइ गर्ने गर्छौ? के तिमीहरूले अझै पनि त्यस्ता झूटा अगुवाहरूलाई पछ्याउन सक्छौ? (सक्दैनौँ।)
कतिपय झूटा अगुवाहरू घिचुवा र अल्छी हुन्छन्, मेहनतभन्दा आराम रोज्छन्। तिनीहरू न त काम गर्न चाहन्छन् न त चिन्ता नै लिन्छन्, मेहनत र जिम्मेवारीबाट भाग्छन्, र आराममा लिप्त हुन मात्र चाहन्छन्। तिनीहरू खान र खेल्न मन पराउँछन्, अनि निकै अल्छी हुन्छन्। एक जना झूटो अगुवा थियो जो बिहान सबैले खाना खाइसकेपछि मात्र उठ्थ्यो, अनि राति, अरू सबै आराम गरिरहेका बेलामा पनि टेलिनाटक हेरिरहेकै हुन्थ्यो। एक जना भान्साको जिम्मेवारी लिएका ब्रदरले त्यो कुरा सहन नसकेर उसको आलोचना गरे। के तिमीहरूलाई उसले एउटा भान्सेको कुरा सुन्छ जस्तो लाग्छ? (लाग्दैन।) मानौँ कुनै अगुवा वा कामदारले उसलाई यसो भन्दै झपारे, “तिमी अलि बढी लगनशील हुनुपर्छ; जुन काम गरिनुपर्छ त्यो जसरी पनि गरिनैपर्छ। एक अगुवाका रूपमा, काम जेसुकै भए पनि तिमीले आफ्ना जिम्मेवारीहरू पूरा गर्नैपर्छ; तिमीले त्यसमा कुनै समस्याहरू नभएको सुनिश्चित गर्नैपर्छ। अहिले एउटा समस्या भेटिएको छ र त्यसलाई समाधान गर्न तिमी यहाँ छैनौ, त्यसकारण यसले कामलाई असर गर्छ। यदि तिमीले निरन्तर रूपमा यस्तै तरिकाले नै काम गर्छौ भने, के यो मण्डलीको काममा ढिलाइ गर्नु होइन र? के तिमीले यो जिम्मेवारी बहन गर्न सक्छौ?” के उसले यो कुरा सुन्छ होला त? सुन्छ नै भन्ने छैन। यस्ता झूटा अगुवाहरूका हकमा, निर्णयकर्ताहरूको समूहले तिनीहरूलाई तत्काल बर्खास्त गरेर तिनीहरूका लागि अरू कार्य बन्दोबस्त गर्नुपर्छ, तिनीहरू जे गर्न सक्षम छन्, तिनीहरूलाई त्यही गर्न दिनुपर्छ। यदि तिनीहरू केही न कामका छन्, जहाँ गए पनि सित्तैँमा खान चाहन्छन्, केही गर्नै सक्दैनन् भने, तिनीहरूलाई कुनै कर्तव्य निर्वाह गर्न नदिई खेदिहाल्। तिनीहरू कर्तव्य पूरा गर्न लायकका छैनन्; तिनीहरू मानव होइनन्, तिनीहरूमा सामान्य मानवताको विवेक र समझ छैन, तिनीहरू निर्लज्ज छन्। यस्ता काम नलाग्ने झूटा अगुवाहरूलाई छर्लङ्गै चिनिसकेपछि, तिनीहरूलाई सोझै बर्खास्त गर्नुपर्छ; तिनीहरूलाई अर्ती दिने कोसिस गर्नु आवश्यक नै छैन, र तिनीहरूलाई अवलोकन गरिने कुनै अवसर दिनु हुँदैन, न त तिनीहरूसित सत्यता सङ्गति गर्न नै जरुरी छ। के तिनीहरूले पर्याप्त सत्यताहरू सुनेका छैनन् र? यदि तिनीहरूलाई काटछाँट गरिएको भए, के तिनीहरू बदलिन सक्नेथिए? सक्नेथिएनन्। यदि कसैको क्षमता कमजोर छ, उसले कहिलेकाहीँ बेतुके विचारहरू बोक्छ, वा अज्ञानताका कारण सबै कुरा बुझ्न सक्दैन, तर ऊ लगनशील छ, बोझ बोक्छ, र अल्छी छैन भने, आफ्नो कर्तव्य पूरा गर्दा विचलनहरू आए पनि, त्यस्तो व्यक्तिले काटछाँट सामना गर्दा पश्चात्ताप गर्न सक्छ। कम्तीमा पनि, उसलाई एउटा अगुवाका जिम्मेवारीहरू के हुन् र आफूले के गर्नुपर्छ भन्ने कुरा थाहा हुन्छ, उसमा विवेक र जिम्मेवारी बोध हुन्छ, र ऊसँग हृदय हुन्छ। तर, जो अल्छी छन्, मेहनतभन्दा आराम रोज्छन्, र बोझ बोक्दैनन्, तिनीहरू बदलिन सक्दैनन्। तिनीहरूको हृदयमा कुनै बोझ हुँदैन; तिनीहरूलाई चाहे जसले काटछाँट गरे पनि, त्यो व्यर्थ हुन्छ। कतिपय मानिसहरू भन्छन्, “त्यसोभए, यदि तिनीहरूलाई परमेश्वरको न्याय, सजाय, परीक्षा, र शोधन आइलाग्यो भने, के यसले बोझ नलिने तिनीहरूको समस्या परिवर्तन गर्नेछ?” यसलाई परिवर्तन गर्न सकिँदैन; कुकुरले फोहोर खाने आफ्नो बानी परिवर्तन गर्न नसकेजस्तै यो कुरा पनि व्यक्तिको प्रकृतिद्वारा निर्धारित हुन्छ। जब तैँले अल्छी मान्ने र बोझ नलिने तर अगुवाको काम पनि गर्ने व्यक्ति देख्छस्, तब तँ ऊ झूटो अगुवा हो भनेर पक्का हुन सक्छस्। कतिले यसो भन्न सक्छन्, “तिमीले उसलाई कसरी झूटो अगुवा भन्न मिल्छ? उसको क्षमता राम्रो छ, ऊ चलाख छ, उसले कामकुरा छर्लङ्गै देख्न सक्छ, र योजनाहरू रच्न सक्छ। संसारमा, उसले व्यापार व्यवस्थापन गरेको छ, प्रमुख कार्यकारी अधिकृतका रूपमा सेवा गरेको छ; ऊ ज्ञानवान्, अनुभवी छ, र उसमा सांसारिक बुद्धि छ!” के यी गुणहरूले अल्छीपन र बोझ नलिने उसको समस्या समाधान गर्न सक्छन् त? (सक्दैनन्।)
अत्यन्तै अल्छी मानिसहरूले के-कस्ता प्रकटीकरण र विशेषताहरू प्रस्तुत गर्छन्? पहिलो, तिनीहरूले जे काम गरिरहेका भए पनि, लापरवाही रूपमा काम गर्छन्, यतिकै समय खेर फाल्छन्, अल्याङटल्याङ गर्छन्, अनि जहाँ सकिन्छ त्यहाँ बिसाउँछन् र विलम्ब गर्छन्। दोस्रो, तिनीहरूले मण्डलीको काममा कुनै ध्यान दिँदैनन्। तिनीहरू जसलाई त्यस्ता कुराबारे चिन्ता गर्न मन पर्छ उसले गरे हुन्छ भन्ने सोच्छन्। तिनीहरूले चाहिँ चिन्ता गर्नेछैनन्। जब तिनीहरूले केही कुराबारे चिन्ता गर्छन्, तब त्यो तिनीहरूको आफ्नै ख्याति, प्राप्ति र हैसियतका लागि हुन्छ—हैसियतका फाइदाहरू लिन पाउनु नै तिनीहरूका लागि महत्त्वपूर्ण हुन्छ। तेस्रो, तिनीहरू आफ्नो कामको कठिनाइबाट पछि हट्छन्; तिनीहरूले काम अलिकति मात्र थकाइलाग्दो भएको पनि स्वीकार गर्न सक्दैनन्, यदि त्यस्तो भयो भने तिनीहरू अत्यन्तै अप्रसन्न बन्छन् र तिनीहरूले कठिनाइ भोग्न वा मूल्य चुकाउन सक्दैनन्। चौथो, तिनीहरू आफूले गर्ने जुनसुकै काममा लागिपर्न सक्दैनन्, सधैँ बीचैमा हार मान्छन् र कामकुरा छर्लङ्गै बुझ्न सक्दैनन्। यदि तिनीहरू अस्थायी रूपमा राम्रो मुडमा छन् भने, तिनीहरूले रमाइलोका लागि केही काम गर्लान्, तर यदि कुनै काममा दीर्घकालीन प्रतिबद्धता चाहिन्छ, र यसले तिनीहरूलाई व्यस्त राख्छ, धेरै सोचविचार गर्नुपर्छ र यसले तिनीहरूको देहलाई थकित तुल्याउँछ भने, समय बित्दै जाँदा तिनीहरू झर्कन थाल्छन्। उदाहरणका लागि, कति अगुवाहरू मण्डलीको काममा जिम्मेवार हुन्छन्, र तिनीहरूलाई सुरुमा यो काम नयाँ र ताजा लाग्छ। सत्यता सङ्गति गर्दा तिनीहरू अत्यन्तै उत्प्रेरित हुन्छन् र दाजुभाइ-दिदीबहिनीहरूलाई समस्या छ भन्ने देख्दा, तिनीहरूले सहयोग गर्न र ती समस्या सुल्झाउन सक्छन्। तर केही समयसम्म लागिपरेपछि, तिनीहरूलाई अगुवाइको काम अति थकाइलाग्दो लाग्न थाल्छ, र तिनीहरू नकारात्मक बन्छन्—तिनीहरू सजिलो काममा सर्ने इच्छा गर्छन् र कठिनाइ भोग्न इच्छुक हुँदैनन्। त्यस्ता मानिसहरूमा लगनशीलता हुँदैन। पाँचौँ, अल्छी मानिसहरूलाई छुट्याउने अर्को विशेषता भनेको तिनीहरूमा वास्तविक काम गर्ने इच्छा नहुनु हो। तिनीहरूको देहलाई कष्ट हुनेबित्तिकै, तिनीहरू कामबाट भाग्ने र पछि हट्ने बहाना निकाल्छन् र त्यो काम अरू कसैलाई सुम्पन्छन्। अनि जब त्यस व्यक्तिले काम पूरा गर्छ, तब तिनीहरूले लाज नमानी त्यसको इनाम आफै लिन्छन्। अल्छी मानिसहरूका पाँच विशेषता यिनै हुन्। तिमीहरूले मण्डलीहरूमा अगुवा र कामदारहरूमध्ये त्यस्ता अल्छी मानिसहरू छन् कि भनी जाँचेर हेर्नुपर्छ। यदि यस्तो कोही भेटिएमा, उसलाई तुरुन्तै बर्खास्त गर्नुपर्छ। के अल्छी मानिसहरूले अगुवाका रूपमा राम्रो काम गर्न सक्छन्? तिनीहरूमा जस्तोसुकै क्षमता भए पनि वा तिनीहरूको मानवतामा जस्तोसुकै गुण भए पनि, यदि तिनीहरू अल्छी छन् भने, तिनीहरूले आफ्नो काम राम्ररी गर्न सक्नेछैनन्, र तिनीहरूले काममा र महत्त्वपूर्ण मामलाहरूमा ढिलाइ गर्नेछन्। मण्डलीको काम बहुआयामिक हुन्छ; यसको हरेक पक्षमा धेरै ससाना कामहरू हुन्छन् र तिनलाई राम्ररी पूरा गर्नका लागि समस्याहरू सुल्झाउन सत्यताबारे सङ्गति गर्नु आवश्यक हुन्छ। त्यसकारण, अगुवा र कामदारहरू लगनशील हुनैपर्छ—तिनीहरूले कामको प्रभावकारिता सुनिश्चित गर्न हरदिन धेरै बोल्नुपर्छ र धेरै काम गर्नुपर्छ। यदि तिनीहरूले अति थोरै बोलेमा वा काम गरेमा, कुनै परिणाम आउनेछैन। त्यसकारण, यदि कुनै अगुवा वा कामदार अल्छी व्यक्ति हो भने, ऊ पक्कै पनि झूटो अगुवा हो र उसले वास्तविक काम गर्न सक्दैन। अल्छी मानिसहरूले वास्तविक काम गर्दैनन्, आफै कार्यस्थलमा जानु त झन् परको कुरा हो, र तिनीहरूलाई समस्याहरू हल गर्ने वा कुनै पनि निश्चित काममा संलग्न हुने इच्छा हुँदैन। तिनीहरूले कुनै पनि कामका समस्याहरूबारे अलिकति पनि बुझाइ वा बोध प्राप्त गरेका हुँदैनन्। तिनीहरूले अरूले भनेको कुरा सुनेर, दिमागमा सतही र अस्पष्ट विचार मात्र राखेका हुन्छन्, र तिनीहरू अलिअलि धर्मसिद्धान्त प्रचार गरेर नै आलटाल गर्छन्। के तिमीहरू यस्तो अगुवालाई खुट्ट्याउन सक्छौ? के तिमीहरूले ती झूटा अगुवा हुन् भनेर भन्न सक्छौ? (केही हदसम्म।) अल्छी मानिसहरू आफूले निर्वाह गर्ने कुनै पनि कर्तव्यमा लापरवाह हुन्छन्। कर्तव्य जे-जस्तो भए पनि, तिनीहरूमा लगनशीलता हुँदैन, तिनीहरू घरी काम गर्ने घरी नगर्ने गर्छन्, र केही कठिनाइ भोग्दैपिच्छे गुनासो गर्छन्, र अनवरत गनगन पोखाउँछन्। जसले तिनीहरूलाई आलोचना वा काटछाँट गर्छ, तिनीहरूले उसलाई गालीगलौज गर्छन्, बाटोमा अरूको बेइज्जत गर्ने झगडालु महिलाझैँ व्यवहार गर्छन्, सधैँ अरूमाथि आफ्नो रिस पोखाउन चाहन्छन् र आफ्नो कर्तव्य पूरा गर्न चाहँदैनन्। तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न नचाहनुले के देखाउँछ? यसले तिनीहरू बोझ लिँदैनन्, जिम्मेवारी लिन चाहँदैनन्, र तिनीहरू अल्छी मानिस हुन् भन्ने देखाउँछ। तिनीहरू कष्ट भोग्न वा मूल्य चुकाउन चाहँदैनन्। यो विशेषगरी अगुवा र कामदारहरूमा लागू हुन्छ: यदि तिनीहरूले बोझ नै लिँदैनन् भने, के तिनीहरूले अगुवा र कामदारका जिम्मेवारीहरू पूरा गर्न सक्छन् त? कदापि सक्दैनन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।