अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (४) खण्ड एक

विषयवस्तु पाँच: प्रत्येक कामको स्थिति र प्रगतिको अद्यावधिक बोध र बुझाइ कायम राख्‍ने, अनि तुरुन्तै समस्याहरू समाधान गर्न, विचलनहरूलाई सच्याउन र कामका त्रुटिहरूको निदान गर्न सक्षम हुने ताकि कामको प्रगति सहज होस्

आजको सङ्गति अगुवा र कामदारहरूको पाँचौँ जिम्मेवारीबारे रहेको छ: “प्रत्येक कामको स्थिति र प्रगतिको अद्यावधिक बोध र बुझाइ कायम राख्‍ने, अनि तुरुन्तै समस्याहरू समाधान गर्न, विचलनहरूलाई सच्याउन र कामका त्रुटिहरूको निदान गर्न सक्षम हुने ताकि कामको प्रगति सहज होस्।” हामी झूटा अगुवाहरूका विभिन्‍न प्रकटीकरणहरूलाई चिरफार गर्न, झूटा अगुवाहरूले यस काममा आफ्नो जिम्मेवारी पूरा गर्छन् कि गर्दैनन्, र तिनीहरू आफ्नो कर्तव्यमा दृढ़तासाथ लागिरहन्छन् कि रहँदैनन् र राम्ररी काम गर्छन् कि गर्दैनन् भनेर हेर्न यो जिम्मेवारीमा ध्यान दिनेछौँ।

झूटा अगुवाहरू सहजतामा लिप्त हुन्छन् र कामलाई बुझ्न आधारभूत तहमा गहन रूपले संलग्‍न हुँदैनन्

अगुवा र कामदारहरूको पाँचौँ जिम्मेवारीले सुरुमा “प्रत्येक कामको स्थिति र प्रगतिको अद्यावधिक विवरण र बुझाइ कायम राख्‍ने” भन्‍ने कुरा उल्लेख गर्छ। “प्रत्येक कामको स्थिति” ले के जनाउँछ? यसले कुनै निश्‍चित कामको वर्तमान स्थिति कस्तो छ भन्‍ने कुरा जनाउँछ। यहाँ अगुवा र कामदारहरूले के बुझ्नुपर्छ? उदाहरणका लागि: कर्मचारीले के-कस्ता निश्‍चित कामहरू गरिरहेका छन्, तिनीहरू के-कस्ता क्रियाकलापहरूमा व्यस्त छन्, यी क्रियाकलापहरू जरुरी छन् कि छैनन्, ती मुख्य र महत्त्वपूर्ण काम हुन् कि होइनन्, यी कर्मचारीहरू कति दक्ष छन्, काम सहज रूपमा अघि बढिरहेको छ कि छैन, कर्मचारीको सङ्ख्या कामको बोझसँग मिल्दो छ कि छैन, सबैलाई प्रशस्त काम दिइएको छ कि छैन, कुनै निश्‍चित कामका लागि धेरै कर्मचारीहरू भएको—जहाँ अति थोरै कामका लागि अति धेरै कर्मचारीहरू हुन्छन्, र धेरैजसो काम नगरी बसेका हुन्छन्—वा कामको बोझ धेरै भएको तर कर्मचारीहरू अति कम भएको, र सुपरिवेक्षकले प्रभावकारी ढङ्गले निर्देशन गर्न नसकेर कामको प्रभावकारिता कम भएको र प्रगति ढिलो भएको अवस्था छ कि छैन भन्ने कुरा। यी सब अगुवा र कामदारहरूले बुझ्नुपर्ने परिस्थितिहरू हुन्। यसअलावा, हरेक काम अघि बढाउने क्रममा, कसैले बाधा दिइरहेको वा ध्वंस गरिरहेको पो छ कि, कसैले प्रगतिलाई रोकिरहेको वा कमजोर पारिरहेको पो छ कि, कुनै पनि प्रकारको हस्तक्षेप वा झारा टार्ने काम भइरहेको पो छ कि—यी पनि अगुवा र कामदारहरूले बुझ्नुपर्ने कुरा हुन्। त्यसोभए तिनीहरूले यी समस्याहरूबारे कसरी बुझाइ प्राप्त गर्छन्? कति अगुवाहरूले कहिलेकहीँ फोन गरेर सोध्‍न सक्छन्, “के तिमीहरू अहिले व्यस्त छौ?” अर्को पक्षले आफू अत्यन्तै व्यस्त छु भनेको सुन्दा, तिनीहरूले यस्तो प्रतिक्रिया दिन सक्छन्, “ठिक छ, तिमीहरू व्यस्त छौ भने, म ढुक्क भएँ।” काम गर्ने यो तरिकाबारे तिमीहरूलाई के लाग्छ? यो प्रश्‍नबारे तिमीहरूलाई के लाग्छ? के यो सोध्नुपर्ने अत्यन्तै महत्त्वपूर्ण र जरुरी प्रश्‍न हो? झूटा अगुवाहरूको कामको विशेषता यही हो—तिनीहरूले बस झारा मात्र टार्छन्। तिनीहरू आफ्नो विवेकलाई अलिक ढुक्क बनाउन थोरथोरै सतही काम गरेर नै सन्तुष्ट हुन्छन् तर वास्तविक काम गर्नमा ध्यान दिँदैनन्, कामको वर्तमान स्थिति बुझ्न तिनीहरू तल्लो तह र हरेक समूहमा जानु त झन् धेरै परको कुरा हो। उदाहरणका लागि, कर्मचारी बन्दोबस्तहरू उपयुक्त छन् कि छैनन्, काम कसरी गरिँदै छ, कुनै समस्याहरू देखा परेका छन् कि छैनन्—यी वास्तविक समस्याहरूबारे झूटा अगुवाहरूले कुनै सोधपुछ गर्दैनन्, बरु तिनीहरू आँधी वा घामको कठोरता नभोगी खान, पिउन, र रमाइलो गर्नहेतु अरूले नदेख्ने ठाउँ खोज्छन्। तिनीहरूले बेलाबेलामा पत्र पठाउँछन् वा सोधपुछ गर्न आफ्नो तर्फबाट कसैलाई खटाउँछन्, र यसैलाई नै आफ्नो काम गरेको भन्ठान्छन्। अझ भन्नुपर्दा, दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई दश दिन वा आधा महिनासम्‍मै नदेख्न सक्छन्। जब दाजुभाइ-दिदीबहिनीहरूलाई “तिमीहरूको अगुवा केमा व्यस्त छ? के उसले ठोस काम गरिरहेको छ? के उसले तिमीहरूलाई मार्गदर्शन गरिरहेको र समस्याहरू सुल्झाइरहेको छ?” भनेर सोधिन्छ, तब तिनीहरूले जवाफ दिन्छन्, “यसबारे कुरै नगर्नुहोस्, हामीले हाम्रो अगुवालाई नदेखेको नै एक महिना भयो। उसले हाम्रा लागि आयोजना गरेको पछिल्लो भेलादेखि ऊ फेरि कहिल्यै आएको छैन, र अहिले हामीसँग धेरै समस्याहरू छन् जसलाई समाधान गर्न मद्दत गर्ने कोही छैन। अरू कुनै उपाय छैन; हाम्रो समूहका सुपरिवेक्षक र हाम्रा दाजुभाइ-दिदीबहिनीहरू आफै प्रार्थना गर्न र सिद्धान्तहरू खोजी गर्न, र कामबारे सँगै छलफल र सहकार्य गर्न एकजुट हुनुपर्छ। यहाँको अगुवा प्रभावकारी छैन; अहिले हामी अगुवाविहीन छौँ।” यो अगुवाले आफ्नो काम कति राम्ररी गरिरहेको छ? माथिले यो अगुवालाई सोध्छ, “पछिल्लो चलचित्र सकिएपछि, के तिमीले कुनै नयाँ पटकथा प्राप्त गर्‍यौ? अहिले तिमी केको छायाङ्कन गरिरहेका छौ? काम कसरी अघि बढिरहेको छ?” अगुवाले जवाफ दिन्छ, “मलाई थाहा छैन। पछिल्लो चलचित्रपछि, मैले तिनीहरूसँग एउटा भेला आयोजना गरेँ, त्यसपछि तिनीहरू सबै उत्साहित भए, नकारात्मक भएनन्, र तिनीहरूसँग कुनै कठिनाइ थिएन। त्यसपछि हामी भेटेका छैनौँ। यदि तपाईं तिनीहरूको वर्तमान अवस्था जान्‍न चाहनुहुन्छ भने, म तपाईंका लागि कल गरेर सोध्‍न सक्छु।” “तिमीले किन यसभन्दा पहिले अवस्था बुझ्न कल गरेनौ?” “किनभने म जताततै भेलाहरूमा सहभागी हुनुपरेकोले अत्यन्तै व्यस्त थिएँ। तिनीहरूको पालो अझै आएको छैन। अर्कोपटक तिनीहरूसँग भेला हुँदा मात्रै मैले अवस्था बुझ्न सक्‍नेछु।” मण्डलीको कामप्रति तिनीहरूको मनोवृत्ति यही हो। त्यसपछि माथिले भन्छ, “तिमीलाई चलचित्र निर्माणको कामको वर्तमान अवस्था वा त्यसमा रहेका समस्याहरूबारे थाहा छैन, त्यसोभए सुसमाचारको कामको प्रगतिचाहिँ कस्तो छ त? कुन देशको सुसमाचारको काम सबैभन्दा राम्रो र आदर्श रूपमा फैलिएको छ? कुन देशका मानिसहरूले तुलनात्मक रूपमा राम्रो क्षमता राख्छन् र छिटो बुझ्छन्? कुन देशमा मण्डली जीवन अरूमा भन्दा राम्रो छ?” “अहो, म त भेलाहरूमा मात्रै ध्यान दिन्थेँ, मैले यी कुराहरूबारे त सोध्नै बिर्सेछु।” “त्यसोभए, सुसमाचार समूहमा, कति जना मानिसहरू गवाही दिन सक्षम छन्? गवाही दिनका लागि कति जना मानिसलाई संवर्धन गरिँदै छ? कसले कुन देशको मण्डलीको काम र मण्डली जीवनको जिम्मेवारी लिन्छ र त्यसको अनुगमन गर्छ? कसले मलजल र रखवारी गर्छ? के विभिन्‍न देशका नयाँ मण्डली सदस्यहरूले मण्डली जीवन जिउन थालेका छन्? के तिनीहरूका धारणा र कल्पनाहरू पूर्ण रूपमा समाधान भएका छन्? कति जना मानिसहरूले धार्मिक मानिसहरूको बहकाउमा पर्न छाडेर साँचो मार्गमा जरा गाडेका छन्? एकदुई वर्ष परमेश्‍वरमा विश्‍वास गरेपछि, कति जनाले आफ्नो कर्तव्य पूरा गर्न सक्छन्? के तिमीले यी मामलाहरू बुझ्छौ र बोध गर्छौ? काममा समस्याहरू देखा पर्दा, तिनलाई कसले समाधान गर्न सक्छ? सुसमाचार समूहमा, कुन समूह वा कुन व्यक्तिहरूले आफ्नो कामप्रति जिम्मेवार भएर वास्तविक परिणामहरू प्राप्त गर्छन्, तिमीलाई थाहा छ?” “मलाई थाहा छैन। यदि तपाईं थाहा पाउन चाहनुहुन्छ भने, म तपाईंका लागि सोधिदिन सक्छु। यदि तपाईंलाई हतार छैन भने, मसँग समय हुँदा सोधूँला; म अझै पनि व्यस्त नै छु!” के यो अगुवाले कुनै ठोस काम गरेको छ त? (छैन।) उसले हरेक कुरामा “मलाई थाहा छैन” भन्छ; उसलाई सोधिएको बेलामा मात्रै उसले कामकुराबारे सोध्छ, त्यसोभए ऊ के कुरामा व्यस्त हुन्छ? ऊ भेलाहरूमा वा कामको जाँच गर्न जुनसुकै समूहमा गए पनि उसले कामका समस्याहरू पहिचान गर्न सक्दैन र तिनलाई समाधान गर्न जानेको हुँदैन। यदि तैँले तुरुन्तै विभिन्‍न मानिसहरूको स्थिति र चरित्र छर्लङ्ग देख्‍न सक्दैनस् भने, के तैँले कम्तीमा पनि काममा रहेका समस्याहरूबारे, अहिले के काम भइरहेको छ, र यो कुन चरणमा पुगेको छ भन्‍नेबारे अनुगमन गर्नुपर्दैन र? तर झूटा अगुवाहरूले यतिसमेत गर्न सक्दैनन्; के तिनीहरू अन्धा होइनन् र? तिनीहरू अनुगमन गर्न र कामबारे जाँच गर्न मण्डलीभित्रकै विभिन्‍न समूहहरूमा गए पनि तिनीहरूले वास्तविक अवस्था बुझ्दै बुझ्दैनन्, मुख्य समस्याहरू पहिचान गर्न सक्दैनन्, र केही समस्याहरू पत्ता लगाए पनि तिनलाई समाधान गर्न सक्दैनन्।

एउटा चलचित्र निर्माण टोलीले एउटा निकै चुनौतीपूर्ण चलचित्र छायाङ्कन गर्ने तयारी गरिरहेको थियो, जुन प्रकारको चलचित्र तिनीहरूले पहिले कहिल्यै बनाउने प्रयास गरेका थिएनन्। यो चलचित्रको पटकथामा काम गर्न तिनीहरू उपयुक्त छन् कि छैनन्, अनि त्यसको निर्देशक र सम्पूर्ण टोलीसँग यो काम पूरा गर्ने क्षमता छ कि छैन—तिनीहरूको अगुवालाई यी अवस्थाहरूबारे थाहै थिएन। उसले त बस यति मात्रै भन्यो, “तिमीहरूले नयाँ पटकथा लिएका छौ। ठीक छ, छायाङ्कन गर्न थाल। म तिमीहरूलाई साथ दिनेछु र अनुगमन गर्नेछु। तिमीहरूले सक्दो राम्रो गर, र जब कठिनाइहरू उत्पन्न हुन्छन्, तब परमेश्‍वरलाई प्रार्थना गर र परमेश्‍वरका वचनहरूअनुसार तिनलाई समाधान गर।” त्यसपछि ऊ गयो। यो अगुवाले त्यसमा रहेका कुनै पनि कठिनाइहरू देख्‍न वा पहिचान गर्न सकेन; के यो तरिकाले काम राम्ररी गर्न सकिन्छ त? चलचित्र निर्माण समूहले यो पटकथा प्राप्त गरेपछि, त्यसका निर्देशक र समूह सदस्यहरूले बारम्बार कथाको विश्‍लेषण गरे, अनि पोशाक र ढाँचाबारे छलफल गरे, तर चलचित्र कसरी छायाङ्कन गर्ने भनेर तिनीहरूलाई कुनै ज्ञान थिएन; तिनीहरूले आधिकारिक रूपमा निर्माण सुरु गर्न सकेनन्। वर्तमान स्थिति यही होइन र? के यी विद्यमान समस्याहरू होइनन् र? के यी अगुवाले समाधान गर्नुपर्ने समस्याहरू होइनन् र? त्यो अगुवाले हरेक दिन भेलाहरूमा समय बिताउँथ्यो, तर धेरै दिन भेला भएपछि पनि कुनै वास्तविक समस्याहरू समाधान भएनन्, र छायाङ्कन अझै पनि सामान्य रूपमा अघि बढ्न सकेन। के त्यो अगुवाले कुनै प्रभाव पारेको थियो? (थिएन।) उसले मनोबल बढाउन नाराहरू मात्रै घन्काउँथ्यो: “हामी काम नगरी बस्‍नु हुँदैन, हामीले परमेश्‍वरको सित्तैँमा खानु हुँदैन!” उसले त मानिसहरूलाई भाषण समेत छाँट्थ्यो: “तिमीहरूसँग कुनै विवेक छैन, र केहीजस्तो नमानी परमेश्‍वरका सित्तैँमा खान्छौ—के तिमीहरूलाई लाज लाग्दैन?” उसले यसो भनेपछि, सबैको विवेकले अलिक धिक्‍कार महसुस गर्‍यो: “हो, काम यति ढिलो अघि बढ्छ, र पनि हामी यसैगरी दिनमा तीन छाक खाना खान्छौँ—के यो सित्तैँमा खानु होइन र? हामीले साँच्चिकै कुनै काम गरेकै छैनौँ। अनि, काममा उत्पन्न हुने यी समस्याहरू कसले समाधान गर्छ? हामी तिनलाई समाधान गर्न सक्दैनौँ, त्यसकारण हामी अगुवालाई सोध्छौँ, तर अगुवाले हामीलाई केवल लगनसाथ प्रार्थना गर्नू, परमेश्‍वरका वचनहरू पढ्नू र सद्भावपूर्ण सहकार्य गर्नू भनेर मात्रै भन्छ, यी समस्याहरू कसरी समाधान गर्ने भनेर सङ्गति गर्दैन।” त्यो अगुवाले हरेक दिन स्थलगत भेलाहरू आयोजना गर्थ्यो, तर यी समस्याहरूको समाधान हुनै सकेन। समय बित्दै जाँदा, कति मानिसहरूको विश्‍वास सेलायो, र तिनीहरूले अगाडि बढ्ने बाटो नदेखेर अनि छायाङ्कनलाई कसरी अघि बढाउने भन्‍ने थाहा नभएर तिनीहरूको स्थिति निराशापूर्ण बन्यो। तिनीहरूले आफ्नो अन्तिम आशा उक्त अगुवामाथि राखे, किनभने तिनीहरूलाई अगुवाले केही वास्तविक समस्याहरू समाधान गर्न सक्छ भन्‍ने आशा थियो, तर दुःखको कुरा, त्यो अगुवा अन्धोजस्तै थियो, जसले न त यो पेसा नै सिक्यो न त यसलाई बुझेका मानिसहरूसँग सङ्गति, छलफल, वा खोजी नै गर्‍यो। उसले प्रायः परमेश्‍वरका वचनहरूको पुस्तक हातमा लिन्थ्यो र यसो भन्थ्यो, “म आत्मिक भक्तिका लागि परमेश्‍वरका वचनहरू पढिरहेको छु। म आफूलाई सत्यताले सुसज्जित गरिरहेको छु। कसैले पनि मलाई बाधा नदेओ, म व्यस्त छु!” अन्त्यमा, झन्झन् धेरै समस्याहरू थुप्रिए, जसले गर्दा काम लगभग ठप्‍प भयो, तैपनि झूटो अगुवाले अझै पनि आफूले ठूलो काम गरिरहेको छु भन्‍ने सोच्यो। किन? उसलाई विश्‍वास लाग्यो कि उसले भेलाहरू आयोजना गरेको, कामको अवस्थाबारे सोधपुछ गरेको, समस्याहरू पहिचान गरेको, परमेश्‍वरका वचनहरू बाँडेको, मानिसहरूको स्थिति औँल्याएको, अनि सबैले आफूलाई यी स्थितिहरूसँग तुलना गरेका र आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने सङ्कल्प गरेका हुनाले, अगुवाका रूपमा उसको जिम्मेवारी पूरा भएको छ, र ऊबाट अपेक्षा गर्न सकिने सबै कुरा उसले पूरा गरेको छ—यदि व्यावसायिक पक्षहरूसँग सम्बन्धित निश्‍चित कामहरू राम्ररी व्यवस्थापन गर्न सकिएन भने, त्यो अगुवाको चिन्ताको विषय होइन। यो कस्तो खालको अगुवा हो? मण्डलीको काम लगभग ठप्‍प स्थितिमा पुगेको थियो, तैपनि ऊ बिलकुलै चिन्तित वा व्याकुल भएन। यदि माथिले सोधपुछ वा आग्रह नगरेको भए, उसले निरन्तर ढिलाइ गरिरहनेथ्यो, र उसको मातहतमा के भइरहेको छ भनेर कहिल्यै उल्लेख गर्नेथिएन, र कुनै पनि समस्याहरू समाधान गर्नेथिएन। के त्यस्तो अगुवाले आफ्नो नेतृत्वका जिम्मेवारीहरू पूरा गरेको थियो? (थिएन।) त्यसोभए, उसले दिनभरि भेलाहरूमा केका बारेमा कुरा गर्थ्यो? ऊ यतिकै बकबकाउँथ्यो, केवल सिद्धान्तहरू प्रचार गर्थ्यो र नाराहरू फलाक्थ्यो। त्यो अगुवाले कामका वास्तविक समस्याहरू समाधान गरेन, मानिसहरूका झाराटारुवा र नकारात्मक स्थितिहरूलाई समाधान गरेन, र सत्यता सिद्धान्तहरूअनुसार मानिसहरूको कामका समस्याहरू कसरी समाधान गर्ने भन्‍ने उसलाई थाहै थिएन। परिणामस्वरूप, सम्पूर्ण परियोजना ठप्प भयो र लामो अवधिसम्म कुनै प्रगति देख्‍न सकिएन। तैपनि त्यो अगुवा पटक्‍कै चिन्तित थिएन। के यो झूटा अगुवाहरूले वास्तविक काम नगर्नुको प्रकटीकरण होइन र? झूटा अगुवाहरूको यो प्रकटीकरणको सार के हो? के यो जिम्मेवारीमा गम्भीर हेलचेक्र्याइँ गर्नु होइन र? आफ्नो काममा गम्भीर हेलचेक्र्याइँ गर्नु, आफ्नो जिम्मेवारी पूरा गर्न नसक्‍नु—झूटा अगुवाहरूले गर्ने भनेकै यही हो। तँ झारा टार्नलाई मात्रै कार्यस्थलमा बस्छस्, वास्तविक समस्याहरू समाधान गर्दैनस्। तँ मानिसहरूलाई ठग्‍नलाई मात्रै कार्यस्थलमा बस्छस्; कुनै वास्तविक काम नगरेपछि तँ सधैँ त्यहाँ बसे पनि त्यसबाट केही पनि हासिल हुँदैन। काममा र व्यावसायिक पक्षहरूमा विभिन्‍न समस्याहरू देखा पर्छन्, जसमध्ये कति त तैँले समाधान गर्न सक्छस् तर समाधान गर्दैनस्—यो नै जिम्मेवारीमा गम्भीर हेलचेक्र्याइँ गर्नु हो। अझ भन्‍ने हो भने, तेरा आँखा र दिमाग दुवै बन्द छन्: कहिलेकहीँ जब तैँले समस्याहरू पत्ता लगाउँछस्, तब तैँले तिनको सार छर्लङ्गै देख्‍न सक्दैनस्। तैँले तिनलाई समाधान गर्न सक्दैनस्, तर तिनलाई सम्हाल्न सक्छु भन्‍ने नाटक गर्छस्, सत्यता बुझेका मानिसहरूसँग सङ्गति गर्न वा परामर्श लिन सिधै इन्कार्दै जसोतसो थामेर बस्छस्, र माथि रिपोर्ट गर्ने वा माथिसित खोजी गर्ने काम पनि गर्दैनस्। यसको कारण के हो? के तँलाई काटछाँटमा पर्छु कि भन्‍ने डर लाग्छ? माथिले तँबारे सत्यता जानेर तँलाई बर्खास्त गर्लान् भन्‍ने डर लाग्छ? के यो परमेश्‍वरको घरको कामलाई अलिकति पनि परिपालन नगरी हैसियतमा ध्यान दिनु होइन र? यस्तो मानसिकता बोकेर तैँले कसरी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्थिस् र?

एउटा अगुवा वा कामदारले जुनसुकै महत्त्वपूर्ण काम गर्ने भए पनि, र यो कामको प्रकृति जस्तोसुकै भए पनि, तिनीहरूको पहिलो प्राथमिकता भनेको त्यो काम कस्तो भइरहेको छ भनेर बुझ्नु र बोध गर्नु हो। कामकुरालाई अनुगमन गर्न र प्रश्‍नहरू सोध्‍न अनि प्रत्यक्ष सूचना प्राप्त गर्न तिनीहरू व्यक्तिगत रूपमा त्यहाँ उपस्थित हुनैपर्छ। तिनीहरूले केवल हल्लाको भरमा चल्ने वा अरूका रिपोर्टहरू सुन्‍ने गर्नु हुँदै हुँदैन। बरु, तिनीहरूले कर्मचारीहरूको अवस्था कस्तो छ, काम कसरी अघि बढिरहेको छ भनेर नियाल्नुपर्छ, र के-कस्ता कठिनाइहरू छन्, कुनै क्षेत्रहरू माथिका मागहरूसित बेमेलमा छन् कि, सिद्धान्तहरू उल्लङ्घन भएका छन् कि, कुनै बाधा वा अवरोधहरू छन् कि, व्यावसायिक कामका सम्बन्धमा कुनै आवश्यक सामान वा त्यससम्बन्धी प्रशिक्षण सामग्रीहरूको कमी छ कि भनेर बुझ्नुपर्छ—तिनीहरूले यी सबै कुरामाथि निरन्तर निगरानी राखिरहनुपर्छ। तिनीहरूले जति वटा विवरणहरू सुने पनि वा हल्लाबाट जति नै जानकारी पाए पनि, यी कुनै पनि कुरा व्यक्तिगत रूपमा गएर हेरे जतिको राम्रो हुँदैन; तिनीहरूले आफ्नै आँखाले कामकुरा हेर्दा बढी सही र भरपर्दो हुन्छ; तिनीहरू अवस्थाका सम्पूर्ण पक्षहरूसित परिचित भइसकेपछि, के भइरहेको छ भन्‍नेबारे तिनीहरूलाई राम्रो ज्ञान हुन्छ। तिनीहरूले विशेष गरी को राम्रो क्षमतायुक्त र संवर्धनको लायक छ भन्‍ने कुरा स्पष्ट र सही रूपले बुझेको हुनुपर्छ, किनभने यसले मात्रै तिनीहरूले सही तरिकाले मानिसहरूलाई संवर्धन र प्रयोग गर्न सहयोग गर्छ, जुन अगुवा र कामदारहरूले आफ्‍नो काम राम्ररी गर्नु छ भने महत्त्वपूर्ण हुन्छ। अगुवा र कामदारहरूसित राम्रो क्षमता भएका मानिसहरूलाई संवर्धन गर्ने र प्रशिक्षण दिने मार्ग र सिद्धान्तहरू हुनुपर्छ। यसको साथै, तिनीहरूले मण्डलीका काममा देखा पर्ने विभिन्न प्रकारका समस्या र कठिनाइहरूबारे बोध र बुझाइ प्राप्त गरेको हुनुपर्छ, र तिनलाई कसरी सुल्झाउने भनेर जानेको हुनुपर्छ, र तिनीहरूसित कामको प्रगति कस्तो हुनुपर्छ वा भावी सम्भाव्यता कस्तो हुनुपर्छ भन्नेबारे आफ्नै विचार र सुझावहरू पनि हुनुपर्छ। यदि तिनीहरूले आँखा चिम्लेर, शङ्का नगरी वा संशय नमानी त्यस्ता विषयहरूमा बोल्न सक्छन् भने, उक्त काम गर्न अझ धेरै सजिलो हुनेछ। अनि यस तरिकाले काम गर्दा, अगुवाले आफ्ना जिम्‍मेवारीहरू पूरा गरिरहेको हुनेछ, होइन र? तिनीहरूलाई माथि उल्लेख गरिएका कामका समस्याहरू कसरी समाधान गर्ने भन्‍नेबारे राम्ररी थाहा हुनुपर्छ, र तिनीहरूले यी कुराहरूबारे प्रायः मनन गरिरहनुपर्छ। जब तिनीहरूलाई कठिनाइहरू आइपर्छन्, तब तिनीहरूले यी कुराहरूबारे सबैसँग सङ्गति र छलफल गर्नुपर्छ, र समस्याहरू समाधान गर्न सत्यता खोजी गर्नुपर्छ। यसरी दृढ रूपले व्यावहारिक भएर वास्तविक काम गरियो भने, त्यस्ता कुनै कठिनाइहरू हुनेछैनन् जुन समाधान गर्नै नसकियोस्। के झूटा अगुवाहरूलाई यो कसरी गर्ने भन्‍ने थाहा हुन्छ? (हुँदैन।) झूटा अगुवाहरूलाई नाटक गर्न र मानिसहरूलाई धोका दिन मात्रै आउँछ, तिनीहरू आफूले नबुझेका कुराहरू बुझेजस्तो गर्छन्, कुनै पनि वास्तविक समस्याहरू समाधान गर्न सक्दैनन् र आफूलाई बेकारका मामलाहरूमा मात्रै व्यस्त राख्‍ने गर्छन्। के कुरामा व्यस्त छौ भनेर सोध्दा, तिनीहरू यसो भन्छन्, “हाम्रो बस्‍ने ठाउँमा केही कुसन कम थियो, र चलचित्र निर्माण समूहलाई पोशाकका लागि एउटा कपडा पुगेको थिएन, त्यसैले म ती कुरा किन्‍न गएँ। अर्कोपटक भान्सामा सामग्रीहरू सकिएछन्, र भान्से बाहिर जान मिल्दैनथ्यो, त्यसकारण मैले नै बाहिर गएर केही सामान किन्‍नुपर्‍यो र मैले आउँदा बाटोमा एकदुई पोका पिठो किनेँ। यी सबै कुरा मैले आफै गर्नुपर्‍यो।” तिनीहरू साँच्‍चै नै निकै व्यस्त भएछन्। के तिनीहरूले आफ्नो उचित कामलाई बेवास्ता गरिरहेका छैनन् र? तिनीहरू अगुवाका रूपमा आफ्नो जिम्मेवारीको दायराभित्र पर्ने कामलाई बिलकुलै वास्ता गर्दैनन् वा त्यसको बोझ लिने पटक्‍कै गर्दैनन्, र केवल अल्याङटल्याङ गर्न खोज्छन्। तिनीहरूको आफ्नै क्षमता निकै कमजोर हुनु र तिनीहरूको आँखा र दिमाग दुवै अन्धो हुनुको समस्या नै पर्याप्त रूपमा गम्भीर हुन्छ, त्यसमाथि तिनीहरूले कुनै बोझ पनि लिँदैनन् र तिनीहरू सहजतामा पनि लिप्त हुन्छन्, र प्रायजसो केही आरामदायी ठाउँमा केही दिन बिताउने गर्छन्। जब कसैलाई समस्या हुन्छ र उसले समाधानका लागि तिनीहरूलाई खोज्छ, तब तिनीहरू कतै भेटिँदैनन्, र तिनीहरू वास्तवमा के गर्दै छन् भनेर कसैलाई थाहा हुँदैन। तिनीहरू आफ्नै समय व्यवस्थापन गर्छन्। यो हप्ता, तिनीहरूले एउटा समूहका लागि बिहान भेला आयोजना गर्छन्, दिउँसो विश्राम लिन्छन्, र त्यसपछि साँझमा, तिनीहरूले सामान्य मामलाहरूका जिम्मेवारीमा रहेका मानिसहरूलाई मामलाहरूबारे छलफल गर्न भेला गर्छन्। अर्को हप्ता, तिनीहरूले बाहिरी मामलाहरूका जिम्मेवारी सम्हाल्नेहरूका लागि भेला आयोजना गर्छन्, र सामान्य सोधपुछ गर्छन्, “कुनै कठिनाइहरू छन्? के तिमीले यो अवधिमा परमेश्‍वरको वचन पढेका छौ? के गैरविश्‍वासीहरूसँगको सम्पर्कमा तिमीलाई बन्धनमा पारिएको वा बाधा दिइएको छ?” अनि यी केही प्रश्‍नहरू गरेपछि, तिनीहरूले काम सकिएको घोषणा गर्छन्। आँखा झिमिक्‍क गर्दा, एक महिना बित्छ। तिनीहरूले के काम गरेका छन्? तिनीहरूले हरेक समूहका लागि पालैपालो भेलाहरू राखे पनि, तिनीहरूलाई कुनै पनि समूहको कामको अवस्थाबारे केही थाहा थिएन, न त तिनीहरूले यसबारे बुझे वा सोधपुछ गरे, हरेक समूहका काममा सहभागी हुने वा कामलाई निर्देशित गर्ने काम त झनै गरेनन्। तिनीहरूले काममा सहभागी हुने, कामको अनुगमन गर्ने, वा निर्देशन दिने गरेनन्, तर तिनीहरूले केही कुराचाहिँ समयमै गर्थे: समयमै खाने, समयमै सुत्‍ने, र समयमै भेलाहरू आयोजना गर्ने। तिनीहरूको जीवन निकै नियमित हुन्छ, तिनीहरूले आफ्नो राम्रो हेरचाह गरिरहेका हुन्छन्, तर तिनीहरूको कामको प्रस्तुति सोचेजस्तो राम्रो हुँदैन।

कतिपय अगुवाहरूले अगुवा र कामदारहरूका कुनै पनि जिम्मेवारीहरू पूरा गर्दैनन्, मण्डलीको अत्यावश्यक काम गर्दैनन् बरु त्यसको साटो केही महत्त्वहीन सामान्य मामलाहरूमा मात्रै ध्यान दिन्छन्। तिनीहरू भान्सा व्यवस्थापनमा दखल राख्छन्, र सधैँ सोधिरहन्छन्, “आज हामी के खान्छौँ? के हामीसँग अण्डा छ? मासु कति बाँकी छ? यदि सकिएको हो भने, म अलिकति किनेर ल्याउँछु।” तिनीहरू भान्साको कामलाई अत्यन्तै महत्त्वपूर्ण ठान्छन्, विनाकारण भान्सामा जान्छन्, सधैँ बढी माछा खाने, बढी मासु खाने, बढी आनन्द लिने, र निस्फिक्री रूपमा खाना खानेबारे सोच्छन्। हरेक समूहका मानिसहरू आफ्नो कर्तव्य राम्ररी निभाउन ध्यान दिँदै काममा व्यस्त हुँदै गर्दा, यी अगुवाहरू चाहिँ राम्रो खानमा र एकदमै सहज जीवन जिउनमा मात्रै ध्यान दिन्छन्। अगुवा बनेपछि, तिनीहरूले मण्डलीको कामबारे चिन्ता नलिने र कुनै पनि मेहनत गर्नबाट तर्किने मात्र नभई, आफूलाई मोटोघाटो राख्न र स्याउजस्ता गाला बनाउन पनि ध्यान दिएका हुन्छन्। तिनीहरू हरेक दिन के गर्छन्? तिनीहरू केही सामान्य मामला सम्बन्धी काममा, केही सानातिना मामलाहरूमा व्यस्त हुन्छन्, तिनीहरूले कुनै पनि वास्तविक काम राम्ररी गरेका हुँदैनन् वा कुनै पनि वास्तविक समस्याहरू समाधान गरेका हुँदैनन्। तैपनि तिनीहरूलाई हृदयमा कुनै पछुतो हुँदैन। सारा झूटा अगुवाहरू मण्डलीको मुख्य काम गर्दैनन्, न त तिनीहरूले कुनै पनि वास्तविक समस्याहरू समाधान नै गर्छन्। अगुवा बनेपछि, तिनीहरूले सोच्छन्, “मैले खासखास काम गर्नका लागि केही मानिसहरू मात्रै खोजेँ भने, त्यसपछि मैले आफै त्यो काम गर्नु पर्दैन।” तिनीहरू आफूले हरेक कामका लागि सुपरिवेक्षकको बन्दोबस्त गरेपछि अब आफैले गर्नुपर्ने केही बाँकी रहँदैन भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू अगुवाइको काम गर्नु भनेको यही हो, र यति गरेपछि आफ्नो हैसियतका फाइदाहरू प्राप्त गर्ने अधिकार हुन्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू कुनै पनि वास्तविक काममा सहभागी हुँदैनन्, तिनीहरूले अनुगमन गर्ने वा निर्देशन दिने गर्दैनन्, र समस्याहरू समाधान गर्न छानबिन वा अनुसन्धान गर्दैनन्। के तिनीहरूले अगुवाका जिम्मेवारीहरू पूरा गर्छन् त? के यसरी मण्डलीको काम राम्ररी गर्न सकिन्छ त? माथिले तिनीहरूलाई काम कसरी अघि बढिरहेको छ भनेर सोध्दा, तिनीहरूले भन्छन्, “मण्डलीको काम सबै सामान्य रूपले चल्दै छ। हरेक काम सम्हाल्ने एउटा सुपरभाइजर राखिएको छ।” यदि काममा कुनै समस्याहरू छन् कि छैनन् भनेर थप प्रश्‍न सोधियो भने, तिनीहरूले यस्तो जवाफ दिन्छन्, “मलाई थाहा छैन। सायद कुनै समस्याहरू छैनन् होला!” आफ्नो कामप्रति झूटा अगुवाहरूको मनोवृत्ति यस्तै हुन्छ। अगुवा भएको नाताले, तँ आफूले पाएको कामप्रति पूर्ण गैरजिम्मेदारी देखाउँछस्; यो सबै अरूलाई सुम्पिइन्छ, र तेरो तर्फबाट कुनै अनुगमन, सोधपुछ, वा समस्याहरू सुल्झाउन मद्दत हुँदैन—तँ अरूमाथि काम थोपर्ने तर आफूचाहिँ संलग्न नहुने सरदारजस्तै भएर बस्छस्। के तैँले आफ्नो जिम्मेवारीमा हेलचेक्र्याइँ गरिरहेको छैनस् र? के तैँले पदाधिकारीले जस्तै व्यवहार गरिरहेको छैनस् र? कुनै निश्‍चित काम नगर्नु, कामको अनुगमन नगर्नु, वास्तविक समस्याहरू समाधान नगर्नु—के यस्ता अगुवाहरू सजावटका वस्तु मात्रै होइनन् र? के तिनीहरू झूटा अगुवा होइनन् र? झूटो अगुवाको ठेट चित्रण यही हो। झूटो अगुवाको काम भनेकै साँच्चिकै काममा सहभागी नभई वा अनुगमन नगरी जिब्रो मात्र पड्काउने र आदेशहरू दिने, र कामभित्रका समस्याहरू नखोज्ने वा पहिचान नगर्ने हो। समस्याहरू पहिचान हुँदा पनि, तिनीहरूले तिनलाई समाधान गर्दैनन्। तिनीहरू केवल अरूमाथि काम थोपर्छन् र आफू संलग्न हुँदैनन्, र यो नै काम गर्नु हो भन्‍ने सोच्छन्। तैपनि यसरी अगुवाइ गर्दा यसले तिनीहरूको मनको शान्तिलाई बाधा दिँदैन; तिनीहरू हरेक दिन सहज रूपमा जिउँछन्, र जतिबेला पनि प्रसन्न हुन्छन्। तिनीहरू कसरी अझै पनि मुस्कुराउन सक्छन्? मैले एउटा तथ्य पत्ता लगाएको छु: त्यस्ता मानिसहरूले पूरै लाज पचाएका हुन्छन्। तिनीहरू अगुवाका रूपमा कुनै वास्तविक काम गर्दैनन्, तिनीहरूले कामहरू गर्न केही मानिसहरू बन्दोबस्त मात्र गर्छन् र यसलाई काम पूरा भएको ठान्छन्। तैँले तिनीहरूलाई कार्यस्थलमा कहिल्यै देख्दैनस्; तिनीहरूलाई मण्डलीको कामको प्रगतिबारे वा परिणामहरूबारे केही थाहा हुँदैन, तैपनि तिनीहरू अझै आफू योग्य र मानकअनुरूपको अगुवा हुँ भन्‍ने सोच्छन्। कुनै प्रकारको वास्तविक काम नगर्ने झूटा अगुवाहरूको उत्कृष्ट उदाहरण यही हो। झूटा अगुवाहरूसँग मण्डलीको कामप्रति कुनै बोझ हुँदैन, तिनीहरू जति नै समस्याहरू देखा परे पनि चिन्तित वा तनावग्रस्त हुँदैनन्; तिनीहरू केही सामान्य मामलाहरू पूरा गरेर मात्रै पनि सन्तुष्ट हुन्छन्, र त्यसपछि आफूले वास्तविक काम गरेको छु भन्‍ने सोच्छन्। माथिले झूटा अगुवाहरूलाई जति खुलासा गरे पनि तिनीहरूलाई भित्री रूपमा नराम्रो महसुस हुँदैन, न त तिनीहरूले त्यो खुलासामा आफूलाई नै देख्छन्; तिनीहरू कुनै आत्मचिन्तन वा पश्‍चात्ताप गर्दैनन्। के त्यस्ता मानिसहरू विवेक र समझरहित हुँदैनन् र? के साँच्चिकै विवेक र समझ भएको व्यक्तिले मण्डलीको कामप्रति यस्तो व्यवहार गर्न सक्छ र? अवश्य नै सक्दैन।

सामान्यतया, अलिकति विवेक र समझ भएका मानिसहरूले, झूटा अगुवाहरूका विभिन्‍न प्रकटीकरणहरू खुलासा गरिएको सुनेपछि र आफूलाई ती व्याख्याहरूसँग तुलना गरेपछि, ती व्याख्याहरूमा भएका कुराहरू धेरथोर मात्रामा आफूभित्र रहेकै कुरा हुन् भनेर देख्‍न सक्‍नेछन्। तिनीहरूको अनुहार रातो हुनेछ, तिनीहरू बेचैन हुनेछन्, अनि परमेश्‍वरप्रति ऋणी भएको महसुस गर्दै तिनीहरूको हृदयलाई असहज हुनेछ, र तिनीहरूले गोप्य रूपमा यस्तो सङ्कल्प गर्नेछन्: “पहिले, म देहसुखमा लिप्त हुन्थेँ, आफ्नो काम राम्ररी गर्दिनथेँ, आफ्‍ना जिम्मेवारीहरू पूरा गर्दिनथेँ, वास्तविक काम गर्दिनथेँ, प्रश्‍न सोधिँदा बेवास्ता गर्थेँ, सधैँ पछि हट्न चाहन्थेँ, र सधैँ नाटक गर्थेँ, किनभने अरूले वास्तवमा मलाई के भइरहेको छ भन्‍ने देखेमा मलाई मेरो प्रतिष्ठा र हैसियत गुम्ला, र मैले लिएको अगुवाको पद टिकाउन नसकिएला भन्‍ने डर लाग्थ्यो। अहिले मात्रै मैले यस्तो व्यवहार लाजमर्दो कुरा हो र मैले यसलाई निरन्तरता दिनु हुँदैन भन्‍ने थाहा पाएँ। मैले अब कदम चाल्दा अलि बढी इमानदार हुनुपर्छ, र मैले मेहनत गर्नुपर्छ। यदि मैले अझै पनि निरन्तर राम्रो गर्न सकिनँ भने, त्यो अक्षम्य हुनेछ—मेरो विवेकले मलाई दोष दिनेछ!” यस्ता झूटा अगुवाहरूमा अझै पनि केही मानवता र विवेक हुन्छ; कम्तीमा पनि तिनीहरूको विवेक सचेत हुन्छ। मैले गरेको खुलासा सुनेपछि, तिनीहरूले यी वचनहरूमा आफैलाई देख्‍छन् र तिनीहरू व्याकुल हुन्छन्; तिनीहरू यस्तो चिन्तन गर्छन्: “मैले साँच्‍चै नै कुनै वास्तविक काम गरेको, वा कुनै वास्तविक समस्याहरू समाधान गरेको छैनँ। म परमेश्‍वरको आज्ञा वा अगुवाको पद पाउन लायक छैनँ। त्यसोभए अब मैले के गर्ने? मैले केही कुरा सुधार गर्नैपर्छ; अबदेखि, मैले गम्भीर रूपमा लागिपरेर वास्तविक समस्याहरू समाधान गर्नुपर्छ, हरेक निश्‍चित काममा सहभागी हुनुपर्छ, जिम्‍मेवारीबाट भाग्‍न छोड्नुपर्छ, नाटक गर्न छोड्‍नुपर्छ, र आफ्नो पूर्ण क्षमतामा काम गर्नुपर्छ। परमेश्‍वरले मानिसहरूको हृदय र अन्तर्निहित विचारहरू छानबिन गर्नुहुन्छ, परमेश्‍वरलाई सबैको साँचो औकात थाहा हुन्छ; मैले काम राम्ररी गरे पनि नराम्ररी गरे पनि, यसलाई सम्पूर्ण हृदयले गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि मैले योसमेत गर्न सकिनँ भने, के मलाई अझै पनि मानव भन्‍न मिल्छ र?” यसरी आत्मचिन्तन गर्न सक्नुलाई विवेक भएको भनिन्छ। विवेकरहित मानिसहरूलाई तैँले जति खुलासा गरे पनि तिनीहरूको अनुहार रातो हुँदैन वा मुटु धड्केको महसुस हुँदैन; तिनीहरूले त बस आफूले चाहेको कुरा गरी नै रहन्छन्। परमेश्‍वरले गर्नुभएको खुलासामा तिनीहरूले आफूलाई देखे पनि यसबारे तिनीहरू उदासीन नै रहन्छन्। तिनीहरूले सोच्छन्, “मलाई नामै तोकेर उल्लेख गरिएको छैन। म किन डराउने? मेरो क्षमता राम्रो छ, म प्रतिभाशाली छु; मविना परमेश्‍वरको घर रहन सक्दैन! त्यसकारण मैले कुनै वास्तविक काम गरिनँ भने पनि के हुन्छ र? म आफै यो काम गर्दिनँ, तर अरू कसैलाई गर्न लगाउँछु, त्यसकारण यो काम फत्ते हुन्छ नै, होइन र? जे भए पनि, तपाईंले मलाई गर्न लगाउनुहुने हरेक काम, मैले जसलाई गर्न लगाए पनि म तपाईंका लागि त्यो काम पूरा गराइहाल्छु। मेरो क्षमता राम्रो छ, त्यसकारण म चलाख रूपमा काम गर्छु। भविष्यमा, म अल्याङटल्याङ गरी नै रहनेछु र आफूले चाहेअनुसार जीवनको आनन्द लिई नै रहनेछु।” वास्तविक काम नगरेकाले झूटा अगुवाहरूलाई मैले जति चिरफार वा खुलासा गरे पनि त्यस्ता मानिसहरू उस्तै नै रहन्छन्, पूर्ण रूपमा बेपर्बाह नै रहन्छन्: “अरूले जे मन लाग्छ त्यही सोचून्, र मलाई जसरी हेर्न मन लाग्छ त्यसरी नै हेरून्—म त बस यो काम गर्नेछैन!” के त्यस्ता झूटा अगुवाहरूमा विवेक हुन्छ? (हुँदैन।) हामीले झूटा अगुवाहरूका विभिन्‍न प्रकटीकरणहरू खुलासा गर्नेबारे सङ्गति गरेको यो चौथो पटक हो, र जब म त्यस्ता व्यक्तिहरूको खुलासा गर्छु, तब अलिअलि विवेक भएका मानिसहरू काँडा र सियोमाथि उभिएको छु भन्‍ने महसुस गर्छन्, आफ्नो काम राम्ररी नगरेकोमा असुरक्षित महसुस गर्छन्, र तिनीहरूले चुपचाप तुरुन्तै पश्‍चात्ताप गरेर परिवर्तन हुने सङ्कल्प गर्छन्। तर यसबीच, विवेकरहित मानिसहरू असाधारण रूपमा निर्लज्‍ज बन्छन्; तिनीहरूले केही पनि महसुस गर्दै गर्दैनन्। मैले जेजसरी सङ्गति गरे पनि तिनीहरू निरन्तर सामान्य रूपमै आफ्नो दिन बिताइरहन्छन्, र आफूले चाहेअनुसार नै जीवनको आनन्द लिइरहन्छन्। जब तैँले तिनीहरूलाई “कति मानिसहरू सुसमाचारको कामका लागि, कतिपय अनुवादको कामका लागि, र अरू चाहिँ चलचित्र निर्माणको कामका लागि जिम्मेवार छन्—तिमी ठ्याक्कै कुन कामका लागि जिम्मेवार छौ?” भनेर सोध्छस्, तब तिनीहरू भन्छन्: “मैले कुनै निश्‍चित काम नगरेको भए पनि म सबै कुराको निगरानी गर्छु। म तिनीहरूका लागि भेलाहरू आयोजना गर्छु।” त्यसपछि यदि तैँले तिनीहरूलाई “तिमीले एक महिनामा कति वटा भेलाहरू आयोजना गर्छौ?” भनेर सोधिस् भने, तिनीहरूले “कम्तीमा पनि, महिनामा एउटा ठूलो भेला, र हरेक पन्ध्र दिनमा एउटा सानो भेला” भनेर जबाफ दिनेछन्। अनि जब तैँले तिनीहरूलाई “भेलाहरू आयोजना गर्नेबाहेक, तिमीले कुन खास काम गरेका छौ?” भनेर सोध्छस्, तब तिनीहरूले जवाफ दिन्छन्: “भेलाहरूले मलाई यति व्यस्त तुल्याउँदा, मैले कस्तो खास काम गर्न सक्छु र? साथै, मैले व्यवस्थापन गर्ने क्षेत्र पनि यति व्यापक छ कि मसँग कुनै खास कामका लागि समय नै हुँदैन।” यी झूटा अगुवाहरूलाई आफू पूर्ण रूपमा सही छु—आफू अत्यन्तै स्थिर र दह्रिलो अगुवा हुँ भन्‍ने लाग्छ! तिनीहरूलाई जति खुलासा र काटछाँट गरिए पनि यसबारे तिनीहरू अलिकति पनि व्याकुल हुँदैनन्। यदि मलाई पाँच जना मानिसका लागि खाना पकाउनेजस्तो निश्‍चित काम गर्न लगाइयो, तर मैले चार जनाका लागि मात्रै खाना बनाएको हुन्थेँ भने, पर्याप्त खाना नबनाएकोमा मलाई असहज लाग्‍नेथ्यो, र सबैलाई राम्ररी नखुवाएकोमा मलाई दोषी महसुस हुनेथ्यो। त्यसपछि मैले यसलाई कसरी पूर्ति गर्ने भनेर सोच्‍नेथिएँ, र अर्कोपटक सही हिसाब गर्ने सुनिश्‍चित गर्नेथिएँ ताकि सबैले पर्याप्त खान पाऊन्। अनि यदि कसैले नून चर्को भयो भनेर भनेको भए पनि मलाई नराम्रो लाग्‍नेथ्यो। मैले कुन खानेकुरामा नून चर्को भयो भनेर सोध्‍नेथिएँ, र त्यसपछि अरूलाई मसला ठीक छ कि छैन भनेर सोध्‍नेथिएँ। सबैलाई खुसी पार्न गाह्रो हुने भए पनि मैले आफ्नो भूमिका राम्ररी पूरा गर्नका लागि सम्भव भएजति सबै उपायहरू लगाउने कोसिस चाहिँ गर्नैपर्छ। यसलाई आफ्ना जिम्मेवारीहरू पूरा गरेको भनिन्छ; मानिसहरूमा हुनुपर्ने समझ नै यही हो। तैँले सधैँ आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्छ; काम जेसुकै भए पनि यसमा तँ आफै सहभागी हुनुपर्छ। यदि कसैले फरक विचार प्रस्तुत गर्छ—चाहे ऊ जोसुकै होस्—र यो सुनेपछि तँलाई आफू गलत भएको महसुस हुन्छ र तँलाई नराम्रो लाग्छ भने, तैँले आफूलाई सुधार गर्नुपर्छ र भविष्यमा जे गर्छस् त्यसमा आफ्नो हृदय लगाउनुपर्छ, र केही कठिनाइ सहनुपरे पनि तैँले राम्ररी काम गर्नुपर्छ। झूटा अगुवाहरूमा यस्तो भावना हुँदैन, त्यसकारण तिनीहरूले कुनै कठिनाइ भोग्दै भोग्दैनन्। झूटा अगुवाहरूको खुलासाबारे यी तथ्यहरू सुनेपछि पनि तिनीहरूलाई केही महसुस हुँदैन, तिनीहरू अझै पनि आफ्नो खानाको आनन्द लिन्छन्, राम्ररी सुत्छन्, र हरेक दिन उस्तै खुसीको मुडमा जिउँछन्, तर आफ्नो काँधमा भारी बोझ वा हृदयमा ग्लानिको पीडा महसुस गर्दैनन्। यिनीहरू कस्ता प्रकारका मानिस हुन्? त्यस्ता मानिसहरूको चरित्रमा समस्या हुन्छ: तिनीहरूमा विवेकको कमी हुन्छ, तिनीहरू समझहीन हुन्छन्, र तिनीहरू निकृष्ट चरित्रका हुन्छन्। झूटा अगुवाहरूका विभिन्‍न प्रकटीकरणहरू—सकारात्मक दृष्टिकोणबाट, भरणपोषण र सङ्गति गरेर, र नकारात्मक दृष्टिकोणबाट तिनीहरूलाई खुलासा र चिरफार गरेर—यति लामो समयदेखि खुलासा गरिँदै आएको भए पनि झूटा अगुवाहरूको एउटा अंशले अझै पनि आफ्ना समस्याहरू पहिचान गर्न सक्दैनन्, न त तिनीहरूले कहिल्यै चिन्तन र पश्‍चात्ताप गर्ने अभिप्राय नै राख्छन्। यदि माथिबाट कुनै सुपरिवेक्षण र प्रोत्साहन नहुने हो भने, तिनीहरूले अझै पनि आफ्नो काममा सकेसम्म आलटाल गर्नेथिए, तर आफ्नो मार्ग पटक्‍कै परिवर्तन गर्नेथिएनन्। मैले तिनीहरूलाई जति खुलासा गरे पनि तिनीहरू अझै पनि जस्ताको तस्तै र पूर्ण रूपमा बेखबर बसेका हुनेथिए। के तिनीहरू अति नै लाजविहीन हुँदैनन् र? यस्ता मानिसहरू अगुवा वा कामदार हुन लायक हुँदैनन्; तिनीहरू यति नीच चरित्रका हुन्छन् कि तिनीहरूलाई लाज भन्ने कुरा थाहै हुँदैन! सामान्य मानिसहरूका हकमा, आफ्ना कमीकमजोरी, त्रुटिहरू, वा आफूले गरेका कामसम्बन्धी अनुचित वा सिद्धान्तहरूविपरीतको कुनै कुरा कसैले उल्लेख गरेको सुन्दा मात्रै पनि—र किटेरै खुलासा गरिएको सुन्दा त झन् धेरै—तिनीहरूलाई सहन गाह्रो हुन्छ, र व्याकुल र लज्जित महसुस हुन्छ, र तिनीहरूले आफूलाई कसरी परिवर्तन र सुधार गर्ने भनेर सोच्छन्। तर यसबीच, यी झूटा अगुवाहरूले भने आफ्नो काम पूर्ण रूपमा बरबाद गर्छन् र तिनीहरू अझै पनि सफा विवेकसाथ जिउँछन्, चिन्ता वा तनाव महसुस गर्दैनन्, र तिनीहरूलाई जति खुलासा गरिए पनि तिनीहरू पूर्ण रूपमा बेपर्बाह रहन्छन्—तिनीहरूले लुकेर फुर्सतको समय बिताउने ठाउँहरूसमेत भेटाउँछन्, र तिनीहरू सधैँ कहीँकतै देखिँदैनन्। तिनीहरूलाई साँच्‍चै नै लाज भन्‍ने कुरा थाहै हुँदैन!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्