अगुवा र कामदारहरूका जिम्मेवारीहरू (३) खण्ड पाँच
इ. झुटा अगुवाहरूले अरूलाई सास्ती दिने र मण्डलीको काममा बाधा पुर्याउने सुपरिवेक्षकहरूलाई कस्तो व्यवहार गर्छन्
तेस्रो प्रकारको परिस्थितिमा अरूलाई सास्ती दिने र बन्धनमा पार्ने, मण्डलीको काममा बाधा दिने सुपरिवेक्षकहरू समावेश हुन्छन्। हामीले यसभन्दा पहिले कुरा गरेको पहिलो परिस्थिति के थियो भने, कति सुपरिवेक्षकहरूको क्षमता तुलनात्मक रूपमा राम्रो भए पनि र तिनीहरूले आफ्नो काम सम्हाल्न सके पनि तिनीहरू कामलाई गम्भीरतापूर्वक लिँदैनन्, र झाराटारुवा तरिकाले व्यवहार गर्छन्, तर झूटा अगुवाहरूलाई यो कुरा थाहै हुँदैन र तिनीहरूले त्यस्ता सुपरिवेक्षकहरूलाई तुरुन्तै बर्खास्त गर्दैनन्। दोस्रो परिस्थितिमा, कति सुपरिवेक्षकहरूको क्षमता कमजोर हुन्छ र तिनीहरूले कामको बोझ बोक्न सक्दैनन्, तर झूटा अगुवाहरूले यो कुरा पत्ता लगाउन वा उनीहरूलाई तुरुन्तै प्रतिस्थापन गर्न असफल हुन्छन् भन्ने कुरा समावेश हुन्छ। तेस्रो परिस्थितिचाहिँ त्यस्ता सुपरिवेक्षकहरूका बारेमा छ, जो आफ्नो क्षमता राम्रो भए पनि वा नराम्रो भए नि, आफ्नो उचित काममा ध्यान दिँदैनन्, र अरूलाई सास्ती दिने र बन्धनमा पार्ने मात्र गर्छन्, जसले गर्दा मण्डलीको काममा बाधा हुन्छ। तिनीहरूलाई सुपरिवेक्षकका रूपमा छनौट गरिएको समयदेखि नै, तिनीहरूले आफ्नो क्षेत्रबारे जान्ने वा अध्ययन गर्ने प्रयास गर्दैनन्, न त तिनीहरूले सत्यता सिद्धान्तहरू नै खोज्छन्, र तिनीहरूले अवश्य नै अरूलाई आफ्नो कर्तव्य उचित रूपमा पूरा गर्न मार्गदर्शन पनि गर्दैनन्। बरु, तिनीहरूले मौका पाउनेबित्तिकै कसैलाई हेप्छन्, र कसैलाई गिल्ला र खिसी गर्छन्; तिनीहरूले मौका पाऊञ्जेल जहिल्यै धाक लगाउँछन्, र तिनीहरूले जे गरे पनि, तिनीहरूको खुट्टा कहिल्यै जमिनमा हुँदैन। तिनीहरूले मानिसहरूलाई एकदिन एउटा तरिकाले काम गर्न लगाउँछन्, र भोलिपल्ट अर्को तरिकाले काम गर्न लगाउँछन्; तिनीहरू सधैँ नयाँ चलाकीहरू लिएर आउँछन्, र सधैँ आफूलाई अलग देखाउन चाहन्छन्। यो सबैले मानिसहरूलाई तनावको स्थितिमा पार्छ। जबजब तिनीहरू बोल्छन्, तबतब कति मानिसहरूले हृदय काँपिरहेको महसुस गर्छन्। जब तिनीहरूले सबैलाई वशमा पारेका हुन्छन्, र सबैलाई तिनीहरूको डर मान्ने र आज्ञा मान्ने तुल्याएका हुन्छन्, तब तिनीहरूलाई उल्लास हुन्छ। तिनीहरू झूटा अगुवाहरू भए पनि वा ख्रीष्टविरोधीहरू भए नि, र तिनीहरू शक्तिमा भए पनि वा नभए नि, यस्ता मानिसहरूले मण्डलीको शान्ति भङ्ग गर्छन्। तिनीहरूले वास्तविक काम गर्न वा आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्न नसक्ने मात्र होइन, तिनीहरूले मानिसहरूमाझ कलह फैलाउने र द्वन्द्व पैदा गराउने समेत गर्छन्, जसले गर्दा मण्डली जीवनमा बाधा हुन्छ। तिनीहरूले अरूलाई सत्यता बुझ्न सहयोग गर्न सक्नु त कता हो कता, बरु उल्टै बारम्बार मानिसहरूको आलोचना र निन्दासमेत गर्छन्, र मानिसहरूलाई सबै कुरामा तिनीहरूको आज्ञा मान्न लगाउँछन्, र यसरी उनीहरूलाई यति हदसम्म बन्धनमा पार्छन् कि उनीहरूलाई उचित रूपमा कसरी काम गर्ने भन्नेसमेत थाहा हुँदैन। विशेषगरी मानिसहरूले कसरी जिउँछन् भन्ने कुराको हिसाबमा भन्नुपर्दा, तिनीहरूले अलिक ढिलो वा अलिक चाँडो सुत्न पाउँदैनन्। तिनीहरूले जे गरे पनि यी मानिसहरूको अनुहारको भाव हेर्नुपर्छ, जसले गर्दा जीवन अत्यन्तै थकाइलाग्दो हुन्छ। यदि यस्ता मानिसहरू सुपरिवेक्षक बने भने, अरू सबैलाई गाह्रो हुनेछ। यदि तैँले तिनीहरूसँग इमानदारीसाथ कुरा गरिस् र तिनीहरूका समस्याहरू खुलासा गरिस् भने, तिनीहरूले तैँले जानीजानी तिनीहरूलाई निसाना बनाइरहेको र खुलासा गरिरहेको छस् भनेर भन्नेछन्। यदि तैँले तिनीहरूका समस्याहरूबारे तिनीहरूसँग कुरा गरिनस् भने, तिनीहरूले तैँले तिनीहरूलाई तुच्छ ठानिरहेको छस् भनेर भन्नेछन्। यदि तँ कामबारे गम्भीर र जिम्मेवार छस् र तैँले तिनीहरूलाई केही सल्लाह दिइस् भने, तिनीहरू अटेरी हुनेछन्, र तैँले तिनीहरूलाई आक्रमण गरिरहेको छस् भनेर तिनीहरूले भन्नेछन् र तँलाई अहङ्कारी भन्नेछन्। जे भए पनि, तैँले जे गरे पनि, तिनीहरूलाई त्यो अप्रिय लाग्नेछ। तिनीहरूले सधैँ मानिसहरूलाई सास्ती दिनेबारे सोचिरहेका हुन्छन्, र तिनीहरूले मानिसहरूलाई यसरी बन्धनमा पार्छन् ताकि तिनीहरूको हातखुट्टा बाँधिएजस्तै होस् र तिनीहरूले आफूले गर्ने कुनै पनि कुरा सही छैन भन्ने महसुस गरून्। त्यस्ता सुपरिवेक्षकहरूले मण्डलीको काममा बाधा पुर्याउँछन्।
झूटा अगुवाहरू देखावटी काममा माहिर हुन्छन्, तर तिनीहरू कहिल्यै वास्तविक काम गर्दैनन्। तिनीहरू विभिन्न व्यावसायिक कामको निरीक्षण, सुपरिवेक्षण गर्न, वा तिनलाई निर्देशन गर्न जाँदैनन्, वा विभिन्न टोलीहरूको काम कसरी अगाडि बढिरहेको छ, के-कस्ता समस्याहरू छन्, टोलीका सुपरिवेक्षकहरू आफ्ना काममा योग्य छन् कि छैनन्, र दाजुभाइ-दिदीबहिनीहरूले कसरी सुपरिवेक्षकहरूका बारेमा रिपोर्ट वा मूल्याङ्कन गर्छन् भन्ने कुराको निरीक्षण गर्दै ती टोलीमा के भइरहेको छ भन्ने कुरा समयमै पत्ता लगाउँदैनन्। तिनीहरूले टोली अगुवा वा सुपरिवेक्षकहरूद्वारा कोही बाँधिएको पो छ कि, मानिसहरूले दिएका सही सुझावहरू अवलम्बन गरिँदै छन् कि छैनन्, कुनै प्रतिभाशाली वा सत्यता पछ्याउने व्यक्ति दमन वा बहिष्करणमा पो परिरहेको छ कि, कुनै निष्कपट मानिसहरू हेपाइमा पो परिरहेका छन् कि, झूटा अगुवाहरूको खुलासा र रिपोर्ट गर्ने मानिसहरूमाथि आक्रमण पो भइरहेको छ कि, उनीहरूसँग प्रतिशोध लिइँदै छ कि, उनीहरू निकालिँदै र निष्कासित हुँदै पो छन् कि, टोली अगुवा र सुपरिवेक्षकहरू दुष्ट मानिस पो हुन् कि, र कोही सास्तीमा पो परिरहेको छ कि भनी हेर्न जाँचबुझ गर्दैनन्। यदि झूटा अगुवाहरूले यीमध्ये कुनै पनि ठोस काम गर्दैनन् भने, तिनीहरूलाई बरखास्त गर्नुपर्छ। उदाहरणका लागि, मानौँ, कुनै व्यक्तिले एक जना सुपरिवेक्षकले मानिसहरूलाई बारम्बार बाँध्छ र दमन गर्छ भनेर एक जना झूटो अगुवालाई रिपोर्ट गर्छ। उक्त सुपरिवेक्षकले केही गलत कामहरू गरेको छ, तर उसले दाजुभाइ-दिदीबहिनीहरूलाई कुनै पनि सुझावहरू प्रदान गर्न दिँदैन, र आफूलाई सही ठहराउन र आफ्नो बचाव गर्न बहानाहरूसमेत खोज्छ, र आफ्ना गल्तीहरू कहिल्यै स्विकार्दैन। के यस्तो सुपरिवेक्षकलाई तत्कालै बरखास्त गर्नुपर्दैन र? अगुवाहरूले समयमै समाधान गर्नुपर्ने समस्याहरू यिनै हुन्। कतिपय झूटा अगुवाहरू आफूले नियुक्त गरेका सुपरिवेक्षकहरूको काममा जस्तोसुकै समस्याहरू आएका भए पनि तिनीहरूको खुलासा हुन दिँदैनन्, र निश्चय नै माथिल्लो तहका मानिसहरूकहाँ तिनीहरूको रिपोर्ट गर्ने अनुमति दिँदैनन्—तिनीहरूले मानिसहरूलाई समर्पित हुन सिक्न समेत भन्छन्। यदि कसैले कुनै सुपरिवेक्षकका समस्याहरू खुलासा गरिहाल्यो भने, यी झूटा अगुवाहरूले तिनीहरूलाई बचाउने वा साँचो तथ्यहरू छोप्ने कोसिस गर्छन्, र यसो भन्छन्, “यो सुपरिवेक्षकको जीवन प्रवेशसम्बन्धी समस्या हो। तिनीहरूमा अहङ्कारी स्वभाव हुनु सामान्य हो—अलिकति क्षमता भएको जोकोही अहङ्कारी हुन्छ। यो ठूलो कुरा होइन, मैले तिनीहरूसित थोरै सङ्गति मात्र गर्नुपर्छ।” सुपरिवेक्षकले सङ्गतिमार्फत यसो भन्दै आफ्नो अडान राख्छ, “म अहङ्कारी छु भन्ने कुरा स्विकार्छु। म स्विकार्छु कि कहिलेकाहीँ म मेरो आफ्नै अभिमान, शान, र हैसियतप्रति चासो राख्छु, र अरू मानिसहरूका सुझावहरू स्विकार्दिनँ। तर अरू मानिसहरू यो पेशामा निपुण हुँदैनन्, तिनीहरूले प्रायः बेकारका सुझावहरू दिन्छन्, त्यसकारण मैले तिनीहरूको कुरा नसुन्नुको कारण छ।” झूटा अगुवाहरूले परिस्थितिलाई राम्रोसँग बुझ्ने कोसिस गर्दैनन्, सुपरिवेक्षकको कामका नतिजाहरू हेर्दैनन्, तिनीहरूको मानवता, स्वभाव, र पछ्याइ कस्ता छन् भनेर त झनै हेर्दैनन्। तिनीहरूले यसो भन्दै कामकुरालाई सानो मात्र बनाउँछन्, “यो कुरा मलाई रिपोर्ट गरियो, त्यसैले मैले तिमीलाई निगरानीमा राखिरहेको छु। म तिमीलाई अर्को मौका दिँदै छु।” तिनीहरूको कुराकानीपछि, सुपरिवेक्षकले आफू पश्चात्ताप गर्न इच्छुक रहेको भन्छ, तर उसले त्यसपछि साँच्चै पश्चात्ताप गरोस् कि ढाँटोस् र धोका देओस्, झूटा अगुवाहरूले यसप्रति कुनै चासो राख्दैनन्। यदि कसैले यो विषयमा प्रश्नहरू उठायो भने, झूटा अगुवाहरूले भन्छन्, “मैले तिनीहरूसँग कुरा गरिसकेको छु र तिनीहरूलाई परमेश्वरका वचनहरूका धेरै खण्डहरूमा सङ्गतिसमेत गरिसकेको छु। तिनीहरू पश्चात्ताप गर्न इच्छुक छन्, र समस्या समाधान भइसकेको छ।” जब त्यो व्यक्तिले सोध्छ, “त्यो सुपरिवेक्षकको मानवता कस्तो छ? के ऊ सत्यता स्विकार्ने व्यक्ति हो? तपाईँले उसलाई मौका दिनुभएको छ, तर के उसले साँचो रूपमा पश्चात्ताप गर्न सक्छ र के ऊ परिवर्तन हुन सक्छ?” झूटा अगुवाहरूले यो कुरा छर्लङ्गै देख्न सक्दैनन्, र यस्तो जबाफ दिन्छन्, “म अझै पनि तिनीहरूलाई नियालिरहेको छु।” त्यो व्यक्तिले सोध्छ: “तपाईँले तिनीहरूलाई नियाल्नुभएको कति भयो? के तपाईँले कुनै निष्कर्ष निकाल्नुभएको छ?” झूटा अगुवाहरूले भन्छन्: “छ महिनाभन्दा बढी समय बितिसकेको छ, तैपनि मैले कुनै निष्कर्ष निकालेको छैनँ।” यदि तिनीहरूले छ महिनाभन्दा बढी नियालेपछि पनि कुनै परिणाम प्राप्त गरेका छैनन् भने, त्यो कस्तो कार्य प्रभावकारिता हो? झूटा अगुवाहरूले सुपरिवेक्षकसँग एक पटक कुराकानी गर्नु नै प्रभावकारी हुन्छ र समस्या समाधान हुन्छ भन्ने विश्वास गर्छन्। के यो विचार मान्य छ? तिनीहरूले के सोच्छन् भने, तिनीहरूले कसैसँग कुरा गरिसकेपछि, त्यो व्यक्ति परिवर्तन हुन सक्छ, र यदि कसैले फेरि त्यसो नगर्ने आफ्नो सङ्कल्प व्यक्त गर्यो भने, तिनीहरूले थप सोधपुछ वा परिस्थितिबारे फेरि जाँच नगरीकनै उसलाई पूर्ण रूपमा विश्वास गर्छन्। यदि कसैले पनि यो कुराबारे सोधपुछ गरेन भने, तिनीहरूले छ महिनासम्म कामको अनुसन्धान वा अनुगमन गर्ने झन्झट नगर्न पनि सक्छन्। त्यो सुपरिवेक्षकले काम लथालिङ्ग पारे पनि यी झूटा अगुवाहरूलाई केही थाहा हुँदैन। त्यो सुपरिवेक्षकले तिनीहरूसँग कसरी चलाकी गरिरहेको र खेलिरहेको छ भनेर तिनीहरूले खुट्ट्याउनै सक्दैनन्। अझै घृणित कुरा त के हो भने, जब कसैले सुपरिवेक्षकका समस्याहरूबारे रिपोर्ट गर्छ, तब झूटा अगुवाहरूले तिनलाई बेवास्ता गर्छन् र समस्याहरू छन् कि छैनन् वा रिपोर्ट गरिएका समस्याहरू वास्तविक हुन् कि होइनन् भनेर वास्तवमा जाँच्दैनन्। तिनीहरूले यी समस्याहरूबारे विचार गर्दैनन्—तिनीहरूमा साँच्चै नै आफूमाथि धेरै विश्वास हुन्छ! मण्डलीको काममा जस्तोसुकै परिस्थितिहरू देखा परे पनि, झूटा अगुवाहरू तिनलाई सम्बोधन गर्न हतार गर्दैनन्; तिनीहरूले यो तिनीहरूको चिन्ताको विषय होइन भन्ने सोच्छन्। यी समस्याहरूप्रति झूटा अगुवाको प्रतिक्रिया अत्यन्तै सुस्त हुन्छ, तिनीहरूले उपाय अपनाउँछन्, अनि अति सुस्त गतिमा चल्छन्, तिनीहरू कामकुरा टार्न खोजिरहन्छन्, अनि मानिसहरूलाई पश्चात्ताप गर्ने अर्को मौका दिइरहन्छन्, मानौँ तिनीहरूले मानिसहरूलाई दिने यी मौकाहरू अति बहुमूल्य र महत्त्वपूर्ण छन्, मानौँ ती मौकाले तिनीहरूको भाग्य परिवर्तन गर्न सक्छन्। झूटा अगुवाहरू कुनै व्यक्तिमा प्रकट भएको कुराबाट उसको प्रकृति सार देख्न, अनि त्यो व्यक्तिको प्रकृति सारका आधारमा ऊ कस्तो बाटोमा हिँड्छ भनेर मूल्याङ्कन गर्न, वा उसले हिँड्ने बाटोका आधारमा ऊ सुपेरिविक्षक बन्न वा अगुवाइको काम गर्न योग्य छ कि छैन भनी बुझ्न सक्दैनन्। तिनीहरूले यी कुराहरूलाई त्यसरी हेर्न सक्दैनन्। झूटा अगुवाहरूले आफ्नो काममा दुई वटा कुरा मात्रै गर्न सक्छन्: एउटा, मानिसहरूलाई गफमा भुलाउनु र झारा टार्नु; अर्को, मानिसहरूलाई मौका दिनु, अरूलाई खुसी पार्नु, र कसैलाई पनि नचिढ्याउनु। के तिनीहरूले वास्तविक काम गरिरहेका हुन्छन्? स्पष्ट रूपमै हुँदैनन्। तर झूटा अगुवाहरूले कसैलाई गफमा भुलाउनु नै वास्तविक काम गर्नु हो भन्ने विश्वास गर्छन्। तिनीहरूले यी कुराकानीहरूलाई अत्यन्तै मूल्यवान् र महत्त्वपूर्ण ठान्छन्, र तिनीहरूले बोल्ने खोक्रा शब्द र धर्मसिद्धान्तहरूलाई अत्यन्तै अर्थपूर्ण ठान्छन्। तिनीहरूले यी कुराकानीमार्फत मुख्य समस्याहरू सुल्झाएका र वास्तविक काम गरेका छन् भन्ने सोच्छन्। परमेश्वरले मानिसहरूलाई किन न्याय र सजाय, काटछाँट, वा जाँच र शोधन गर्नुहुन्छ भन्ने कुरा तिनीहरूलाई थाहा हुँदैन। तिनीहरूलाई परमेश्वरका वचनहरू र सत्यताले मात्रै मानिसको भ्रष्ट स्वभाव समाधान गर्न सक्छन् भन्ने थाहा हुँदैन। तिनीहरूले परमेश्वरको काम र परमेश्वरबाट हुने मानवजातिको मुक्तिलाई साह्रै नै सरल रूपमा प्रस्तुत गर्छन्। तिनीहरू केही शब्द र धर्मसिद्धान्तहरू बोल्नु नै परमेश्वरको कामको विकल्प हो, र यसले मानिसको भ्रष्टताको समस्या समाधान गर्न सक्छ भन्ने विश्वास गर्छन्। के यो झूटा अगुवाहरूको मूर्खता र अज्ञानता होइन र? झूटा अगुवाहरूमा अलिकति पनि सत्यता वास्तविकता हुँदैन, तैपनि किन तिनीहरूमा यति आत्मविश्वास हुन्छ? के केही धर्मसिद्धान्तहरू फलाक्नुले मानिसहरूलाई आफूलाई चिन्ने तुल्याउँछ? के यसले तिनीहरूलाई आफ्नो भ्रष्ट स्वभाव फाल्न सक्ने तुल्याउँछ? यी झूटा अगुवाहरू कसरी यति अज्ञानी र भोलाभाला हुन सक्छन्? के व्यक्तिको गलत अभ्यास र भ्रष्ट व्यवहार समाधान गर्नु त्यति सरल कुरा हो? के मानिसको भ्रष्ट स्वभावको समस्या समाधान गर्न त्यति सजिलो छ? झूटा अगुवाहरू अत्यन्तै मूर्ख र सतही हुन्छन्! मानिसको भ्रष्टताको समस्या समाधान गर्न परमेश्वरले एउटा विधि मात्रै प्रयोग गर्नुहुन्न। उहाँले मानिसहरूलाई प्रकाश गर्न, शुद्ध पार्न र सिद्ध तुल्याउन धेरै विधिहरू प्रयोग गर्नुहुन्छ र फरकफरक वातावरणहरू योजनाबद्ध गर्नुहुन्छ। त्यसविपरित, झूटा अगुवाहरू अत्यन्तै नीरस र सतही रूपमा काम गर्छन्: तिनीहरू मानिसहरूलाई गफ गर्न बोलाउँछन्, मानिसहरूसँग तिनीहरूका सोचाइको तरिकाबारे परामर्श गर्ने थोरै काम गर्छन्, मानिसहरूलाई थोरै अर्ती दिन्छन्, र यो नै वास्तविक काम गर्नु हो भन्ठान्छन्। यो सतही कुरा हो, होइन र? अनि यस सतहीपनको पछाडि कुन समस्या लुकेको हुन्छ? के त्यो भोलापन होइन र? झूटा अगुवाहरू अत्यन्तै भोलाभाला हुन्छन्, र तिनीहरूले मानिस र कामकुराहरूलाई पनि अत्यन्तै भोलाभाला तरिकाले हेर्छन्। मानिसहरूका भ्रष्ट स्वभावहरू समाधान गर्न जतिको गाह्रो केही पनि हुँदैन—नानीदेखि लागेको बानी बदल्न सकिँदैन। झूटा अगुवाहरूले यो कुरा छर्लङ्ग देख्न सक्दै सक्दैनन्। त्यसकारण, निरन्तर बाधाहरू सिर्जना गरिरहने, सधैँ मानिसहरूलाई बाँध्ने र सास्ती दिने मण्डलीका त्यस्ता सुपरिवेक्षकहरूको कुरा आउँदा, झूटा अगुवाहरू उनीहरूसँग कुरा गरेर तिनीहरूलाई एक-दुई वचन सुनाएर काटछाँट गर्नुबाहेक केही गर्दैनन्, अनि कुरा त्यतिमै सकिन्छ। तिनीहरू उनीहरूलाई तुरुन्तै अर्को काममा खटाउने र बरखास्त गर्ने गर्दैनन्। झूटा अगुवाहरूको यो रवैयाले मण्डलीको काममा ठूलो हानि पुर्याउँछ, र प्रायः मण्डलीको काम रोकिने, त्यसमा ढिलाइ हुने, क्षति पुग्ने, र केही दुष्ट मानिसहरूका बाधाहरूका कारण सामान्य, सहज, र कुशल रूपमा अघि बढ्नबाट रोकिने अवस्था सिर्जना गर्छ—यो सबै झूटा अगुवाहरूले आफ्ना भावनाहरूका आधारमा कार्य गर्नु, सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्नु, र गलत मानिसहरू प्रयोग गर्नुका गम्भीर परिणामहरू हुन्। बाहिरबाट हेर्दा, झूटा अगुवाहरूले ख्रीष्टविरोधीहरूझैँ जानाजान अनेकौँ दुष्टताहरू गरिरहेका, वा आफ्नै तरिकाले कामकुरा गरिरहेका र तिनीहरूका आफ्नै स्वतन्त्र राज्य स्थापना गरिरहेका हुँदैनन्। तर झूटा अगुवाहरू मण्डलीको काममा उत्पन्न हुने विभिन्न समस्याहरूलाई तत्कालै समाधान गर्न सक्षम हुँदैनन्, अनि जब विभिन्न टोलीका सुपरिवेक्षकहरूमा समस्याहरू देखिन्छन् र जब ती सुपरिवेक्षकहरूले आफ्नो कामको बोझ बोक्न सक्दैनन्, तब झूटा अगुवाहरूले तुरुन्तै तिनीहरूको कर्तव्य फेरबदल गर्न वा तिनीहरूलाई बरखास्त गर्न सक्दैनन्, जसले गर्दा मण्डलीका काममा गम्भीर नोक्सान हुन्छ। अनि यो सबै झूटा अगुवाहरू जिम्मेवारीबाट विमुख हुनुले गर्दा निम्तिएको हो। के झूटा अगुवाहरू अत्यन्तै घृणास्पद हुँदैनन् र? (हुन्छन्।)
ई. झुटा अगुवाहरू कामका बन्दोबस्तहरूविरुद्ध जाने र आफ्नै तरिकाले कामकुरा गर्ने सुपरिवेक्षकहरूलाई कस्तो व्यवहार गर्छन्
झुटा अगुवाहरूले सुपरिवेक्षकहरूले अरूलाई सास्ती दिने, बन्धनमा पार्ने, र मण्डलीको काममा बाधा दिने जस्ता मण्डलीमा देखा पर्ने दुष्ट कार्यहरूलाई तुरुन्तै सम्हाल्न सक्दैनन्। त्यसरी नै, जब कतिपय सुपरिवेक्षकहरू परमेश्वरको घरका कामका बन्दोबस्तविरुद्ध जान्छन् र आफ्नै तरिकाले कामकुरा गर्छन्, तब झुटा अगुवाहरूले यी समस्याहरू तुरुन्तै हल गर्न उचित समाधानहरू निकाल्न सक्दैनन्। यसले गर्दा मण्डलीको काम र परमेश्वरको घरका भौतिक र आर्थिक स्रोत-साधनहरूमा घाटा हुन्छ। झुटा अगुवाहरू भोलाभाला र सतही हुन्छन्, सत्यता सिद्धान्तहरू बुझ्न सक्दैनन्, र विशेष गरी मानिसहरूको प्रकृति सारलाई छर्लङ्गै देख्न सक्दैनन्। परिणामस्वरूप, तिनीहरूले प्रायजसो सतही तरिकाले आफ्नो काम गर्छन्, झारा टार्छन्, प्रावधानहरू पालना गर्छन्, र नाराहरू फलाक्छन्, तर तिनीहरू कार्यस्थलमा गएर काम निरीक्षण गर्न, हरेक सुपरिवेक्षकलाई नियाल्न र तिनीहरूका बारेमा सोध्न, वा यी सुपरिवेक्षकहरूले के गरेका छन्, तिनीहरूको कार्यलाई निर्देशित गर्ने सिद्धान्तहरू के-कस्ता छन्, र त्यसपछिका प्रभावहरू के-के हुन् भनेर समयमा नै सोध्न सक्दैनन्। फलस्वरूप, तिनीहरूले प्रयोग गरिरहेका मानिसहरू वास्तवमा को हुन् र तिनीहरूले के गरेका छन् भन्ने बारेमा तिनीहरू पूर्ण रूपमा अनभिज्ञ हुन्छन्। त्यसकारण, जब यी सुपरिवेक्षकहरू गोप्य रूपमा परमेश्वरको घरका कामका बन्दोबस्तविरुद्ध जान्छन् र आफ्नै तरिकाले कामकुरा गर्छन्, तब झुटा अगुवाहरूलाई यसबारे थाहा नहुने मात्र नभई तिनीहरूले सुपरिवेक्षकहरूको बचाउ गर्ने प्रयाससमेत गर्छन्। तिनीहरूले यसबारे सुने पनि, तिनीहरूले यसको अनुसन्धान गर्दैनन् र तुरुन्तै यसलाई सम्हाल्दैनन्। झुटा अगुवाहरू एक हिसाबले आफ्नो काममा अयोग्य हुन्छन्, र अर्को हिसाबले, तिनीहरू आफ्नो कर्तव्यमा लापरवाह हुन्छन्। एउटा उदाहरण दिऊँ। निश्चित अगुवाले अर्को टोलीबाट हटाइएका एक जना व्यक्तिलाई रोपाइँ प्राविधिकका रूपमा छनौट गर्यो। उसले यो व्यक्तिसँग उपयुक्त अनुभव र विशेषज्ञता छ कि छैन, उसले काम राम्ररी गर्न सक्छे कि सक्दिन, वा ऊसँग गम्भीर र जिम्मेवार मनोवृत्ति छ कि छैन भनेर जाँच गरेन, र उसलाई त्यो भूमिकामा राखिसकेपछि, उसले उसलाई पूर्ण रूपमा छाडा छोडिदियो र भन्यो, “ल सागसब्जी रोप्न थाल। तिमीले बीउ छनौट गर्न सक्छौ, र तिमीले खर्च गर्ने जतिसुकै रकम म स्वीकृत गर्नेछु। यो काम आफूलाई जसरी उचित लाग्छ त्यसरी गर!” अगुवाले यसो भन्यो, त्यसकारण यो सुपरिवेक्षकले आफूलाई उचित लागेअनुसार काम गर्न थाली। उसको पहिलो काम भनेको बीउ छनौट गर्नु थियो। उसले अनलाइन जाँच गर्दा, यो कुरा पत्ता लगाई, “अति धेरै किसिमका तरकारीहरू हुँदा रहेछन्—यो विशाल संसार असाधारण कुराहरूले भरिएको छ! बीउ छनौट गर्नु निकै रमाइलो कुरा हो। मैले यसभन्दा पहिले कहिल्यै यो काम गरेको छैनँ, र मलाई यसमा यति धेरै चासो हुनेछ भन्ने मलाई थाहा थिएन। मलाई यसप्रति यति चासो भएको हुनाले, म पूर्ण रूपमा लागिपर्नेछु!” उसले सुरुमा गोलभेडाको बीउको खण्ड खोली, र ऊ आश्चर्यचकित भई। ती बीउ धेरै प्रजातिका र धेरै आकारका थिए, र रङको कुरा गर्नुपर्दा रातो, पहेँलो, र हरियो थिए। एउटा प्रजाति त बहुरङ्गी समेत थियो—उसले यस्तो कहिल्यै देखेकी थिइन, र यसले उसको दृष्टिकोण साँच्चै नै फराकिलो बनायो! तर उसले कसरी सही बीउ छनौट गर्नुपर्थ्यो? उसले हरेक किसिमका प्रजाति थोरै-थोरै रोप्ने, विशेष गरी अत्यन्तै अद्वितीय देखिने बहुरङ्गी प्रजाति रोप्ने निर्णय गरी। सुपरिवेक्षकले फरक-फरक आकार, रङ, र आकारका १० वटाभन्दा बढी प्रजातिका गोलभेडा छनौट गरी। गोलभेडाको बीउ छनौट गरेपछि, बैगुनको बीउ छनौट गर्ने समय आएको थियो। सामान्यतया, मानिसहरूले खाने बैगुन लामा र बैजनी हुन्छन् वा सेता हुन्छन्, तर उसले सोची, “बैगुन यी दुई प्रकारमा मात्रै सीमित हुनु हुँदैन। हरिया, बुट्टे, लामा, गोला, र अण्डाकार किसिमका पनि हुन्छन्। म हरेक प्रकारका थोरै-थोरै बैगुनहरू छनौट गर्नेछु, ताकि सबैले आफ्नो मनलाई फराकिलो बनाएर सबै किसिमका फरक-फरक बैगुन खान सकून्। सुपरिवेक्षकका रूपमा, म बीउ छनौट गर्न कति सिपालु र साहसी छु, म दाजुभाइ-दिदीबहिनीहरूको कति वास्ता गर्छु, र सबैको रुचि पूरा गर्छु, हेर त।” त्यसपछि, उसले प्याजको बीउ छनौट गरी। स्थानीय स्तरमा १४ किसिमका प्याजका प्रजातिहरू थिए, र उसले ती सबै छनौट गरी, र त्यसो गरिसकेपछि, ऊ निकै सन्तुष्ट भई। के यो सुपरिवेक्षक “साहसी” हो? यति धेरै किसिमका प्रजाति छनौट गर्ने आँट कसले गर्छ र? पछि, मैले यस विषयलाई चिरफार गरिरहेँ, र कसैले यसो समेत भन्यो, “स्थानीय रूपमा १४ प्रजाति मात्रै छैनन्; उसले छनौट नगरेका अझै केही प्रजाति पनि छन्!” उसले के भनिरहेको थियो भने, १४ प्रजाति त्यति धेरै होइन, र सुपरिवेक्षकले छनौट नगरेका अरू पनि प्रजाति छन्, त्यसकारण उसले कुनै गल्ती गरिन। के यसो भन्ने व्यक्ति मन्दबुद्धिको होइन र? यो त मन्दबुद्धिको हुनु, मानव भाषा नबुझ्नु, र मैले किन यस विषयलाई चिरफार गरिरहेको छु भन्ने बारेमा अनभिज्ञ हुनु हो। प्याजको बीउ छनौट गरेपछि, सुपरिवेक्षकले कम्तीमा आठ किसिमका आलु पनि छनौट गरी। यति धेरै किसिमका प्रजातिहरू छनौट गर्नुपछाडिको उसको उद्देश्य के थियो? सबैको दृष्टिकोणलाई फराकिलो बनाउनु र तिनीहरूलाई विभिन्न स्वाद चखाउनु। सुपरिवेक्षकले के विश्वास गरी भने, बीउको छनौट दाजुभाइ-दिदीबहिनीहरूलाई फाइदा पुर्याउने सिद्धान्तमा आधारित हुनुपर्छ। तँलाई उसको उत्प्रेरणाबारे के लाग्छ? के सबैको पक्षमा सोच्ने र सबैको सेवा गर्ने मनोवृत्तिका आधारमा व्यवहार गर्नु नै परमेश्वरको घरले माग गरेको सिद्धान्त हो? (होइन।) त्यसोभए, बीउ छनौटका लागि परमेश्वरको घरको सिद्धान्त के हो? हामीले सामान्यतया नखाने केही अनौठा र दुर्लभ किसिमका प्रजाति नरोप। आम रूपमा खाइने प्रजातिहरूका हकमा भन्दा, यदि हामीले पहिले ती रोपेका छैनौँ र ती स्थानीय माटो र हावापानीका लागि उपयुक्त छन् कि छैनन् भन्ने कुरा हामीलाई थाहा छैन भने, एक-दुई किसिमका प्रजाति छनौट गर, बढीमा तीन-चार वटा छनौट गर। पहिलो कुरा, ती स्थानीय माटो र हावापानीका लागि उपयुक्त हुनुपर्छ; दोस्रो, ती उब्जाउन सजिलो अनि रोग र कीराहरू नलाग्ने हुनुपर्छ; तेस्रो, तिनले अर्को वर्षका लागि बीउ दिनुपर्छ; अन्तिममा, तिनले राम्रो फसल दिनुपर्छ। यदि ती स्वादिलो छन् तर तिनले दिने फसल थोरै हुन्छ भने, ती उपयुक्त हुँदैनन्। बीउ छनौटको कुरालाई हेर्दा, के यो सुपरिवेक्षकले सिद्धान्तहरूबमोजिम काम गरी? के उसले खोजी गरी? के ऊ समर्पित भई? के उसले परमेश्वरको घरको ख्याल गरी? के उसले कर्तव्य निर्वाह गर्दा आफूमा हुनुपर्ने मनोवृत्ति अनुसार व्यवहार गरी? (गरिन।) स्पष्ट रूपमा नै, ऊ खराब कुराहरू गर्नमा उन्मत्त भएर लागिरहेकी थिई, खुलेआम परमेश्वरको घरका कामका बन्दोबस्तविरुद्ध गइरहेकी थिई र आफ्नै तरिकाले कामकुरा गरिरहेकी थिई! उसले आफ्नो व्यक्तिगत जिज्ञासा र रमाइलो गर्ने इच्छालाई सन्तुष्ट पार्न यसरी परमेश्वरका भेटीहरू बरबाद गरी, र यस्तो महत्त्वपूर्ण कामलाई खेलका रूपमा लिई, तर उसको झूटो अगुवाले उसलाई प्रश्न नगरी वा हस्तक्षेप नगरी उसले चाहे अनुसार गर्न दियो। जब उसलाई यसो भनेर सोधियो, “तपाईँले छनौट गर्नुभएको सुपरिवेक्षकले वास्तवमा कुनै काम गरी? के-कस्ता परिणामहरू आए? के तपाईँले बीउ छनौट गर्ने क्रममा जाँचहरू गरेर उसलाई सहयोग गर्नुभयो?”, तब उसले यी कुराहरूप्रति ध्यान दिएन, र यति मात्रै भन्यो, “बीउ रोपिएको छ; रोप्ने बेलामा हामीले स्थलगत भ्रमण गरेका छौँ।” उसलाई अरू कुनै समस्याको वास्ता थिएन। अन्तमा यो सुपरिवेक्षकको समस्या कसरी पत्ता लाग्यो? उसले केही स्ट्रबेरी रोपी, र त्यससम्बन्धी प्राविधिक विवरणहरू अनुसार, पहिलो वर्षमा स्ट्रबेरीको बिरुवालाई ढाक्नु वा त्यसमा फल लाग्न दिनु हुँदैन, र सबै फूलहरू टिप्नुपर्छ; नत्र, दोस्रो वर्षमा कुनै फल हुनेछैन, र पहिलो वर्षमा फल फले पनि त्यो अत्यन्तै सानो हुनेछ। विशेषज्ञहरूले सुपरिवेक्षकलाई यो कुरा बताए पनि, उसले सुनिन। उसको तर्क पहिलो वर्षमा स्ट्रबेरीका बिरुवालाई प्लास्टिकले छोपेर फल लाग्न दिनु स्वीकार्य हुन्छ भनेर भन्ने अनलाइन जानकारीमा आधारित थियो। परिणामस्वरूप तिनमा बीउको दानाले ढाकिएका आकार नमिलेका विभिन्न स-साना स्ट्रबेरीहरू फले—कतिपय तीता, कतिपय मीठा, र कतिपय बेस्वादका—सबै किसिमका फलहरू थिए। समस्या यति गम्भीर भएको थियो, तैपनि त्यहाँका झुटा अगुवाहरूले यसलाई पूर्ण रूपमा बेवास्ता गरे। किन? तिनीहरूलाई त्यसै पनि ती स्ट्रबेरीहरू खान पाइँदैन भन्ने लागेको थियो, त्यसैले तिनीहरूले समस्यालाई बेवास्ता गर्ने निर्णय गरे। के तिनीहरूले कुनै कुरा खान पाउँदैनन् भन्दैमा तिनीहरूले त्यसबारे वास्ता गर्नु हुँदैन भन्ने हुन्छ? अनि तिनीहरूले खान पाउने आलु र प्याज चाहिँ—के तिनीहरूले तिनका बारेमा वास्ता गर्थे? यी झुटा अगुवाहरू कसैले पनि वास्ता गर्दैनथिए; तिनीहरूले केवल सुपरिवेक्षकले आफूले चाहे अनुसार गरेको हेरिरहे। एक दिन, म तिनीहरूलाई भेट्न गएँ, र कसैले रायो हुर्केको छ, र चाँडै टिपिएन भने त्यो कसैले पनि खान सक्दैन र बरबाद हुन्छ भनेर रिपोर्ट गर्यो। तर, सुपरिवेक्षकले यसलाई त्यतिकै छोड्नुपर्छ भनेर जिद्दी गरी, र तिनीहरूले यो टिपेमा अरू तरकारीहरू रोप्नुपर्छ भनेर भनी, जुन उसलाई समस्याग्रस्त लाग्थ्यो। यसका बारेमा थाहा पाउँदापाउँदै पनि झुटा अगुवाहरूले केही गरेनन्। अन्तमा, माथिले तिनीहरूलाई तुरुन्तै रायो टिप्न र परिस्थितिलाई सम्हाल्न आदेश दिनुपर्यो; नत्र भने, रायोले जग्गा ओगट्नेथ्यो र ग्रीष्मकालीन सागसब्जी रोप्न पाइने थिएन। काममा यस्तो ठूलो समस्या पैदा भए पनि, झुटा अगुवाहरूले यसका बारेमा केही गरेनन्, तिनीहरूलाई मानिसहरूलाई चिढ्याउँछु कि भनेर अत्यन्तै डर लागेको थियो। सुपरिवेक्षकलाई झुटा अगुवाले बढुवा गरेको र बढुवा गरेपछि उसको काम कहिल्यै जाँच नगरेको हुनाले, उसलाई स्वतन्त्र रूपमा काम गर्न दिएको र उसलाई साथ र समर्थन दिएको, अनि अरू अगुवाहरूले हस्तक्षेप गर्ने आँट नगरेका र तिनीहरूसँग मिलेर काम गरेका हुनाले, अन्तमा धेरै समस्याहरू पैदा भए। अगुवाहरूले गरेको काम यही हो। के तिनीहरूलाई अझै पनि अगुवा भन्न सकिन्छ? तिनीहरूको आँखै अगाडि यस्तो गम्भीर समस्या आइपर्दा पनि तिनीहरूले यसलाई समस्याका रूपमा पहिचान गर्न सकेनन्, यसलाई समाधान गर्नु त परै जाओस्। के यिनीहरू झुटा अगुवा होइनन् र? (हजुर, हुन्।) एक हिसाबमा, तिनीहरू मान्छे खुसी पारिहिँड्ने मानिस थिए र अरूलाई चिढ्याउँछु कि भनेर डर मान्थे। अर्को हिसाबमा, तिनीहरूलाई समस्या कति गम्भीर छ भन्ने थाहा थिएन, तिनीहरूमा सटीक मूल्याङ्कनको कमी थियो, तिनीहरूलाई यो समस्या हो भन्ने थाहा थिएन, र तिनीहरू यो काम तिनीहरूको जिम्मेवारीको दायराभित्र पर्छ भन्नेबारे अनजान थिए। के तिनीहरू केही न कामका र अपव्ययी मानिस होइनन् र? के यो जिम्मेवारीविमुखता होइन र? (हो।) चौथो परिस्थिति यो हो: सुपरिवेक्षकहरूले परमेश्वरको घरका कामका बन्दोबस्तविरुद्ध गएर आफ्नै तरिकाले कामकुरा गर्नु। हामीले एउटा उदाहरण प्रस्तुत गरेका छौँ, जसले यस मामलामा झुटा अगुवाहरू आफ्ना जिम्मेवारीबाट विमुख भएको प्रकटीकरणलाई खुलासा गर्छ र झुटा अगुवाहरूको प्रकृति सारलाई प्रकाशमा ल्याउँछ।
उ. झुटा अगुवाहरूले ख्रीष्टविरोधी र स्वतन्त्र राज्य स्थापित गर्ने सुपरिवेक्षकहरूलाई कस्तो व्यवहार गर्छन्
अर्को परिस्थिति भनेको सुपरिवेक्षकहरूले आफूभन्दा वरिष्ठहरूविरुद्ध विद्रोह गर्नु र स्वतन्त्र राज्यहरू स्थापना गर्नु हो—यी सुपरिवेक्षकहरू ख्रीष्टविरोधी हुन्। झूटा अगुवाहरूले सुपरिवेक्षकहरूको क्षमता कमजोर हुनु, तिनीहरूमा खराब मानवता हुनु, वा तिनीहरू खराब कुराहरू गर्न उन्मत्त हुनु जस्ता समस्याहरूका हकमा रेखदेखकर्ताको भूमिका खेल्न सक्दैनन्। तिनीहरूले यस्ता सुपरिवेक्षकहरूको उपयुक्तता निर्धारित गर्न तिनीहरूले गरिरहेको काम र तिनीहरूका समस्याहरू तुरुन्तै निरीक्षण गर्न र तिनका बारेमा सोधपुछ गर्न पनि सक्दैनन्। त्यस्तै, झुटा अगुवाहरू अनिष्टकर र आक्रामक मानिसका रूपमा रहेका ख्रीष्टविरोधीहरूको प्रकृति सारलाई छर्लङ्गै देख्न झनै असमर्थ हुन्छन्। तिनीहरूले यो कुरालाई छर्लङ्गै देख्न नसक्ने मात्र होइन, त्योसँगै तिनीहरूलाई यी मानिसहरूको अलिक डर लाग्छ, र तिनीहरू अलिक असहाय र शक्तिहीन हुन्छन्, यहाँसम्म कि प्रायजसो, तिनीहरूलाई ख्रीष्टविरोधीहरूले पकडमा राखेर चलाउँछन्। यो कति गम्भीर हुन सक्छ? ख्रीष्टविरोधीहरूले झुटा अगुवाहरूको कार्यक्षेत्रभित्र गुटबन्दी गर्न सक्छन्, आफ्नै शक्तिहरू आकर्षित गर्न र स्वतन्त्र राज्यहरू स्थापना गर्न सक्छन्, र अन्ततः, तिनीहरूले शक्ति हत्याउन, निर्णय गर्न थाल्न, र झुटा अगुवाहरूलाई टाउके बनाउन सक्छन्। यी झुटा अगुवाहरू ख्रीष्टविरोधीहरूले निर्णय गरेका र जानेका कुराहरूका बारेमा कसैगरी बेखबर हुन्छन्, र तिनीहरू ती कुराहरूका बारेमा अन्धकारमा हुन्छन्। कुनै घटना घटेपछि र कसैले तिनीहरूलाई यसबारे रिपोर्ट गरेपछि मात्रै तिनीहरूले यी कुराहरूका बारेमा थाहा पाउँछन्, तर त्यो बेलासम्म ज्यादै ढिला भइसकेको हुन्छ। झुटा अगुवाहरूले ख्रीष्टविरोधीहरूलाई आफूलाई किन जानकारी गराइएन भनेर समेत सोध्छन्, र तिनीहरूको प्रतिक्रिया यस्तो हुन्छ, “तपाईँलाई भनेर के फाइदा? तपाईँले कुनै पनि कुराबारे निर्णय गर्न सक्नुहुन्न, त्यसकारण तपाईँसँग यसबारे छलफल गर्नुपर्ने कुनै आवश्यकता थिएन, हामीले आफै निर्णय गर्यौँ। हामीले तपाईँलाई जानकारी दिएको भए पनि, तपाईँले अवश्य नै सहमति जनाउनुहुनेथियो। तपाईँसँग कस्तो राय हुन सक्थ्यो र?” त्यस्ता मामलाहरूमा झुटा अगुवाहरू असहाय हुन्छन्। यदि तैँले खुट्ट्याउन, समाधान गर्न, वा यी ख्रीष्टविरोधीहरूलाई सम्हाल्न सक्दैनस् भने, तैँले माथिलाई तिनका बारेमा रिपोर्ट गर्नुपर्छ, तर तैँले त्यसो गर्ने आँट समेत गर्दैनस्—के तँ केही न कामको होइनस् र? (हुँ।) त्यस्ता कुराहरूको सामना गर्दा, यी ठूला काम नलाग्ने मानिसहरू आँसु झार्दै मेरो अघि आएर गुनासो गर्छन्, र झर्कन्छन् “यो मेरो गल्ती होइन; मैले त्यो निर्णय गरेको होइनँ। तिनीहरूले गरेको निर्णय सही थियो कि थिएन भन्ने कुराको मसँग कुनै सम्बन्ध छैन, किनभने तिनीहरूले यो निर्णय गर्दा मलाई त्यसबारे जानकारी दिएनन् वा बताएनन्।” तिनीहरूले यसो भन्नुको अर्थ के हो? (तिनीहरू जिम्मेवारीबाट पछि हटिरहेका छन्।) अगुवा भएको नाताले, तैँले यी कुराहरू जान्नु र बुझ्नुपर्छ; यदि ख्रीष्टविरोधीहरूले तँलाई यी कुराहरूका बारेमा जानकारी दिँदैनन् भने, तँ किन सक्रिय रूपमा गएर आफै सोध्दैनस्? अगुवाको नाताले तैँले हरेक मामलालाई सङ्गठित गर्नुपर्छ, तिनको नेतृत्व गर्नुपर्छ, र तिनका बारेमा निर्णय गर्नुपर्छ; यदि तिनीहरूले तँलाई कुनै कुराका बारेमा जानकारी दिँदैनन् र तिनीहरू आफैले निर्णय गर्छन्, अनि पछि तँलाई हस्ताक्षर गर्न बिलहरू पठाउँछन् भने, के तिनीहरूले तेरो अख्तियार हडपिरहेका हुँदैनन् र? जब झुटा अगुवाहरू ख्रीष्टविरोधीहरूले मण्डलीको काममा बाधा दिइरहेका छन् भन्ने कुराको आमनेसामने हुन्छन्, तब तिनीहरू स्तब्ध हुन्छन्; तिनीहरू मूर्खहरूले ब्वाँसोको सामना गरे जतिकै असहाय हुन्छन्, र तिनीहरू नाम मात्रका अगुवामा परिणत हुँदै गर्दा र तिनीहरूको अख्तियार लुटिँदै गर्दा निरीह भएर उभिन्छन्। तिनीहरूले त्यसबारे केही पनि गर्न सक्दैनन्—कस्तो बेकामका नीच मानिसहरू! तिनीहरूले समस्याहरू समाधान गर्न सक्दैनन्, ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन वा खुलासा गर्न सक्दैनन्, र तिनीहरूले अवश्य नै तिनीहरूलाई कुनै पनि दुष्ट कार्यहरू गर्नबाट रोक्न सक्दैनन्। यसको साथै, तिनीहरूले यी समस्याहरूका बारेमा माथिलाई रिपोर्ट गर्दैनन्। के यिनीहरू केही न कामका होइनन् र? तँलाई अगुवाका रूपमा छनौट गरेको के काम? ख्रीष्टविरोधीहरू उन्मत्त भएर खराब कुराहरू गर्छन्, तिनीहरूले खुलेआम भेटीहरू उडाउँछन्, शक्ति निर्माण गरेर त्यसको नेतृत्व गर्छन् र मण्डलीभित्रै स्वतन्त्र राज्यहरू स्थापना गर्छन्; यसबीच, तँ तिनीहरूलाई सुपरिवेक्षण गर्न, खुलासा गर्न, नियन्त्रण गर्न, वा सम्हाल्न पूर्ण रूपमा असफल हुन्छस्, तैपनि तँ गुनासो गर्न मकहाँ आउँछस्। तँ कस्तो अगुवा होस्? तँ साँच्चै नै केही न कामको होस्! तिनले जे गरिरहेका भए पनि, ख्रीष्टविरोधीहरूले नेतृत्व गर्ने यी गिरोहहरूले गोप्य रूपमा एक-अर्कासँग छलफल गर्छन् अनि त्यसपछि अख्तियारीविना निर्णय गर्छन्। तिनीहरूले अगुवाहरूलाई के भइरहेको छ भनेर जान्ने अधिकार समेत दिँदैनन्, निर्णय गर्ने अधिकार दिनु त परको कुरा हो। तिनीहरूले अगुवाहरूलाई सिधै नकार्छन्, सबै शक्ति आफै हत्याउँछन् र सबै कुराको निर्णय गर्छन्। यो सबको बीचमा तिनीहरूलाई व्यवस्थापन गर्ने काम पाएका अगुवाहरूले के गर्छन्? तिनीहरू यो कामको निरीक्षण गर्न, सुपरिवेक्षण गर्न, व्यवस्थापन गर्न, वा त्यस सम्बन्धमा निर्णय गर्न पूर्ण रूपमा असफल हुन्छन्। अन्त्यमा, तिनीहरूले ख्रीष्टविरोधीहरूलाई कमान सम्हाल्न र माथिबाट तिनीहरूको व्यवस्थापन गर्न दिन्छन्। के यो समस्या झुटा अगुवाहरूको कामबाट पैदा भएको हुँदैन र? यो समस्याको सार के हो? यो कहाँबाट आएको हुन्छ? यो झुटा अगुवाहरूको क्षमता कमजोर भएकाले, तिनीहरूमा कार्य क्षमताको कमी भएकाले, र ख्रीष्टविरोधीहरूले तिनीहरूलाई पटक्कै वास्ता नगर्ने हुनाले पैदा हुन्छ। ख्रीष्टविरोधीहरू सोच्छन्, “तिमीले अगुवाका रूपमा के गर्न सक्छौ? म अझै पनि तिम्रो कुरा सुन्नेछैन, र म तिम्रो वास्ता नगरी निरन्तर काम गरिरहनेछु। यदि तिमीले माथिलाई यो कुराका बारेमा रिपोर्ट गर्यौ भने, हामी तिमीलाई सास्ती दिनेछौँ!” झुटा अगुवाहरूले त्यस्ता कुराहरूका बारेमा रिपोर्ट गर्ने आँट गर्दैनन्। झुटा अगुवाहरूमा कार्य क्षमताको कमी हुने मात्र होइन, तिनीहरूसँग सिद्धान्तहरू पालना गर्ने साहस पनि हुँदैन, तिनीहरूलाई मानिसहरूलाई चिढ्याउँछु कि भन्ने डर हुन्छ, र तिनीहरूमा बफादारीको पूर्ण रूपमा कमी हुन्छ—के यो गम्भीर समस्या होइन र? यदि तिनीहरूसँग साँच्चै नै केही क्षमता थियो र तिनीहरूले सत्यता बुझेका थिए भने, यी मानिसहरू खराब छन् भन्ने देखेर, तिनीहरूले भन्नेथिए, “म तिनीहरूलाई एकलै खुलासा गर्ने आँट गर्दिनँ, त्यसकारण म यी समस्याहरूलाई समाधान गर्न सत्यता पछ्याउने र सत्यता अझै बढी बुझ्ने केही दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गर्नेछु। यदि तिनीहरूसँग सङ्गति गरेपछि पनि हामीले ख्रीष्टविरोधीहरूलाई निराकरण गर्न सकेनौँ भने, म माथिलाई समस्याबारे रिपोर्ट गर्नेछु र उनलाई नै यो कुरा समाधान गर्न दिनेछु। म अरू केही गर्न सक्दिनँ, तर मैले सुरुमा परमेश्वरको घरका हितहरूको रक्षा गर्नुपर्छ; मैले छर्लङ्गै देखेका मामिलाहरू र पत्ता लगाएका समस्याहरूलाई निरन्तर बढ्न दिनु हुँदैन।” के यो समस्याहरू समाधान गर्ने एउटा तरिका होइन र? के यसलाई पनि आफ्नो जिम्मेवारी पूरा गरेको मान्न सकिँदैन र? यदि तैँले यसो गर्न सकेमा, माथिले तँसँग कमजोर क्षमता छ र तँमा कार्य क्षमताको कमी छ भनेर भन्नेछैनन्। तर, तैँले समस्याहरूका बारेमा माथिलाई रिपोर्ट गर्न समेत सक्दैनस्, त्यसकारण तँलाई केही न कामको र झुटा अगुवाका रूपमा चित्रण गरिन्छ। तेरो क्षमता कमजोर हुने र तँमा कार्य क्षमताको कमी हुने मात्र नभई तँसँग ख्रीष्टविरोधीहरूको खुलासा गर्न र तिनीहरूविरुद्ध लड्नका लागि परमेश्वरमा भर पर्ने आस्था र साहस समेत हुँदैन। के तँ केही न कामको होइनस् र? के ख्रीष्टविरोधीहरूद्वारा हडपिएका मानिसहरू दयनीय हुन्छन्? तिनीहरू दयनीय छन् जस्तो लाग्छ होला; तिनीहरूले केही पनि नराम्रो गरेका हुँदैनन्, र आफ्नो काममा तिनीहरू अत्यन्तै सतर्क हुन्छन्, तिनीहरू गल्ती गर्न, काटछाँटमा पर्न, र दाजुभाइ-दिदीबहिनीहरूद्वारा तिरस्कृत हुन डर मान्छन्। तैपनि तिनीहरू आफ्नै आँखाअगाडि ख्रीष्टविरोधीहरूको पूर्ण कब्जामा पर्छन्, तिनीहरूले बोलेको कुनै पनि कुराले प्रभाव पार्दैन, र तिनीहरू त्यहाँ भए पनि वा नभए पनि त्यसले फरक पार्दैन। झट्ट हेर्दा तिनीहरू दयनीय देखिन्छन् होला, तर तिनीहरू वास्तवमा निकै घृणित हुन्छन्। ल भन् त, के परमेश्वरको घरले मानिसहरूले समाधान गर्न नसक्ने समस्याहरू समाधान गर्न सक्छ? के मानिसहरूले समस्याहरूका बारेमा माथिलाई रिपोर्ट गर्नुपर्छ? (हो, गर्नुपर्छ।) परमेश्वरको घरमा, समाधान गर्न नसकिने कुनै समस्याहरू हुँदैनन्, र परमेश्वरका वचनहरूले कुनै पनि समस्या समाधान गर्न सक्छन्। के तँमा परमेश्वरमाथिको साँचो आस्था छ? यदि तँसँग यति थोरै आस्था समेत छैन भने, तँ कसरी अगुवा बन्न योग्य छस् र? के तँ बेकारको नीच मानिस होइनस् र? यो झुटा अगुवा हुने कुरा मात्रै होइन; तँमा परमेश्वरमाथिको सबैभन्दा आधारभूत आस्था समेत छैन। तँ अविश्वासी होस् र तँ अगुवा बन्न लायक छैनस्!
अगुवा र कामदारहरूको चौथो जिम्मेवारीको सम्बन्धमा हामीले झुटा अगुवाहरूले विभिन्न कामहरू र सुपरिवेक्षकहरूलाई कसरी लिन्छन् भनेर खुलासा गर्नका लागि पाँच वटा परिस्थितिहरू सूचीकृत गरेका छौँ। यी पाँच वटा परिस्थितिहरूका आधारमा, हामीले झुटा अगुवाहरूको अत्यन्तै कमजोर क्षमता, अयोग्यता, र वास्तविक काम गर्ने असक्षमताका विभिन्न प्रकटीकरणहरूलाई चिरफार गर्यौँ। यसरी सङ्गति गरेर, के तिमीहरू झुटा अगुवाहरूलाई कसरी खुट्ट्याउने भन्ने बारेमा अलिक प्रस्ट भयौ? (भयौँ।) ठीक छ, आज हामी हाम्रो सङ्गतिलाई यहीँ समाप्त गरौँ। फेरि भेटौँला!
जनवरी २३, २०२१
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।