अगुवा र कामदारहरूका जिम्मेवारीहरू (३) खण्ड तीन
भर्खरै, मैले खाना, निद्रा, र मनोरञ्जनको लोभ गर्ने विभिन्न प्रकारका मानिसहरूबारे सङ्गति गरेँ। अर्को प्रकारको व्यक्ति पनि हुन्छ। सुरुमा, सुपरिवेक्षकहरू छनौट गर्ने क्रममा, यस्तो व्यक्ति हरेक हिसाबमा उक्त भूमिकाका लागि उपयुक्त देखिन्छ, र दाजुभाइ-दिदीबहिनीहरू सबै जना उसलाई नै छनौट गर्न इच्छुक हुन्छन्। तिनीहरूले त्यो व्यक्तिमा राम्रो मानवता छ, ऊ उत्साहित, र आफ्नो पेसामा दक्ष छ, साथै समूहमा हरेक पक्षमा ऊ नै सबैभन्दा राम्रो र सबल छ भन्ने सोच्छन्, जसले गर्दा ऊ सुपरिवेक्षक पदका लागि स्पष्ट विकल्प बन्छ। तर, छनौट भएको केही समयपछि, यो व्यक्ति भेलाहरूमा समेत बारम्बार निन्द्राले लट्ठ हुन थाल्छ। जब अरूले ऊसँग कुरा गर्छन्, तब ऊ सधैँ अन्योलमा पर्छ र यसले प्रश्नहरूका अप्रासङ्गिक उत्तर दिन्छ। ऊ पहिले यस्तो थिएन, तर अचानक किन ऊ फरक व्यक्ति बनेजस्तो लाग्छ? पछि अनजानमै कसैले यो सुपरिवेक्षकको कुनै व्यक्तिसँगको कुराकानी सुन्दा तिनीहरू दुई जना रोमान्टिक सम्बन्धमा भएजस्तो कुरा पत्ता लगाउँछ, र तिनीहरू साँच्चै नै रोमान्टिक सम्बन्धमा संलग्न भएका छन् कि छैनन् भन्नेबारे अनुमानहरू पैदा हुन्छन्। यो मामला झन्झन् स्पष्ट हुँदै जाँदा, यो सुपरिवेक्षक झन्झन् भ्रमित हुँदै जान्छ। जब उसलाई कुनै कुराबारे प्रश्न सोधिन्छ वा कुरा गरिन्छ, तब उसको प्रतिक्रिया पहिलेको जस्तो छिटो हुँदैन, र ऊ पहिलेजस्तो स्पष्ट र बुझ्न सकिने हुँदैन। उसले सुपरिवेक्षकले गर्नुपर्ने काम झन्झन् कम रूपमा गर्न थाल्छ, र कर्तव्य निर्वाह गर्नेबारे उसको उत्साह झन्झन् कम हुन्छ। ऊ फरक व्यक्ति बनेजस्तै देखिन्छ; उसलाई आफ्नो लुगा र व्यक्तिगत सजावटप्रति पहिलेभन्दा बढी चासो हुन्छ। यहीँ नै समस्या छ। विगतमा, कामको व्यस्तता हुने समयमा, ऊ बिरलै नुहाउँथ्यो, तर अहिले उसले दिनमा दुई पटक मुख धुन्छ, र हरेक मौकामा कपाल कोर्छ र ऐना हेर्छ, र अरूलाई निरन्तर सोधिरहन्छ, “तपाईँलाई मेरो अनुहारको छाला अचेल अलिक गोरो भएजस्तो लाग्छ कि कालो भएजस्तो लाग्छ? मलाई किन आफू कालो भएजस्तो लाग्छ?” मानिसहरूले जबाफ दिन्छन्, “सुपरिवेक्षक भएर तपाईँले यी चिजहरूबारे कुरा गर्नु अत्यन्तै खेलाँची कुरा हो—गोरो वा कालो बन्नुले कुनै कुरामा के असर गर्छ र?” तिनीहरूले निरन्तर यी सानातिना विषयहरूबारे कुरा गर्छन्, र तिनीहरू आफ्नो काम गर्ने मुडमा हुँदैनन्। जबजब मौका मिल्छ, तबतब तिनीहरूले लुगा, महिला, पुरुष, र मायाप्रेमबारे, अनि मानिसहरूले कस्तो श्रीमान वा श्रीमती छनौट गर्ने भन्नेबारे छलफल गर्छन्, तर तिनीहरूले कर्तव्य-निर्वाहमा के-कस्ता समस्याहरू छन् वा तिनलाई कसरी समाधान गर्ने भनेर कहिल्यै छलफल गर्दैनन्। के यहाँ समस्या छैन र? के तिनीहरूले अझै पनि काम गर्न सक्छन्? (अहँ, सक्दैनन्।) तिनीहरूको मानसिकता परिवर्तन भएको हुन्छ, र कर्तव्य निर्वाह गर्ने कुरा त अब तिनीहरूको विचारमा हुँदै हुँदैन। बरु, तिनीहरूको मन दिनभरि रोमान्टिक सम्बन्धहरूमा कसरी संलग्न हुने, कसरी चिटिक्क परेको लुगा लगाउने, र विपरीतलिङ्गीलाई कसरी आकर्षित गर्ने भनेर सोच्नमै व्यस्त हुन्छ। गैरविश्वासीहरूमाझ एउटा वाक्यांश छ: “प्रेममा फस्नु।” के यो प्रेम हो? अहँ, यो त गहिरो खाल्डो हो! तँ यसमा फसेपछि, यसबाट बाहिर आउन सक्दैनस्। के कर्तव्य निर्वाह गरिरहेका व्यक्तिहरूमाझ यस्ता मानिसहरू हुन्छन्? (हुन्छन्।) मानिसहरूले रोमान्टिक साथी खोज्दा परमेश्वरको घरले हस्तक्षेप नगर्ने भए नि, यदि त्यसो गरेर तिनीहरूले मण्डली जीवनमा बाधा दिए र मण्डलीको काममा असर पारे भने, ती मानिसहरूलाई पखालेर हटाइनुपर्छ। ती जोडीहरूले बाहिर गएर आफै डेटिङ गर्नुपर्छ र अरूलाई असर पार्नु हुँदैन। यदि तँ परमेश्वरका लागि आफ्नो सारा जीवन समर्पित गर्नमा आफूलाई अर्पण गर्ने व्यक्ति होस्, र तैँले रोमान्टिक सम्बन्धहरूमा संलग्न नहुने सङ्कल्प गरेको छस् भने, परमेश्वरप्रति आफूलाई समर्पित गर्नमा ध्यान दे। यदि तँ रोमान्टिक सम्बन्धमा लागेको छस् र तँलाई अब आफ्नो काम गर्न मन लाग्दैन भने, तैँले सुपरिवेक्षकको कर्तव्य निर्वाह गर्नु हुँदैन, र परमेश्वरको घरले त्यो पदका लागि अर्को व्यक्ति छनौट गर्नेछ। तेरो रोमान्टिक सम्बन्धले परमेश्वरको घरको काममा ढिलाइ गराउनु वा असर पार्नु हुँदैन। काम अघि बढिरहनुपर्छ। त्यो कसरी अघि बढिरहन सक्छ? तेरो काम सुम्पन अर्को सुपरिवेक्षक छनौट गरेर, जो रोमान्टिक सम्बन्धमा संलग्न छैन, जोसँग राम्रो व्यावसायिक सीप छ र जसले कामको बोझ लिन सक्छ। परमेश्वरको घर सधैँ यसरी नै सञ्चालन हुन्छ, र यो सिद्धान्त अपरिवर्तित नै रहन्छ। कति सुपरिवेक्षकहरू भन्छन्, “मेरो रोमान्टिक सम्बन्धले मेरो काममा असर पार्दैन; मलाई नै इन्चार्ज रहन दिनुहोस्।” के हामी यो अभिव्यक्तिमा विश्वास गर्न सक्छौँ? (अहँ, सक्दैनौँ।) हामी किन यसमा विश्वास गर्न सक्दैनौँ? किनभने तथ्यहरू सबैले देख्न सक्छन्! जब व्यक्ति रोमान्टिक सम्बन्धमा हुन्छ, तब उसले आफ्नो रोमान्टिक साथीबारे मात्रै सोच्छ, र उसको हृदय यी कुराहरूमा अल्झिएको हुन्छ, त्यसकारण ऊ भेलाहरूमा प्रायः निद्राले लट्ठ हुने गर्छ र उसले आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैन। त्यसकारण, परमेश्वरको घरले त्यस्ता व्यक्तिहरूलाई निराकरण गर्ने तरिका उचित र सिद्धान्तहरूअनुरूप हुन्छ। परमेश्वरको घरले तँलाई डेटिङ गर्नबाट रोक्दैन, न त यसले तँबाट तेरो डेटिङ गर्ने स्वतन्त्रता नै खोस्छ। तैँले धीत मरुन्जेल कसैसँग डेट गर्न सक्छस्: त्यो तेरो आफ्नै निर्णय हो, बस तैँले यसबारे पछुतो नगरे, यसबारे पछि नरोए भइहाल्यो। केही सुपरिवेक्षकहरूलाई रोमान्टिक सम्बन्धका कारण बर्खास्त गरिएको हुन्छ। अनि कति मानिसहरू सोध्छन्, “के व्यक्ति रोमान्टिक सम्बन्धमा भएपछि उसले परमेश्वरमा विश्वास गर्न पाउँदैन र?” परमेश्वरको घरले कहिल्यै त्यसो भनेको छैन। के परमेश्वरको घरले रोमान्टिक सम्बन्धमा संलग्न सबै मानिसहरूलाई इन्कार्ने वा निष्कासित गर्ने गर्छ त? (गर्दैन।) यदि तँ रोमान्टिक सम्बन्धमा छस् भने, तँ सुपरिवेक्षक वा अगुवा वा कामदार बन्न सक्दैनस्, र यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्नप्रति निष्ठावान छैनस् भने, तैँले पूर्णकालीन कर्तव्य मण्डली छोड्नुपर्छ। के कसैले तँलाई अबदेखि परमेश्वरमा विश्वास गर्ने अनुमति छैन, वा तँलाई निष्कासित गरिनेछ भनेर भनेको छ र? के कसैले तँलाई मुक्ति दिन सकिँदैन, वा तँ श्रापित हुनेछस् भनेर फैसला गरेको छ र? (छैन।) परमेश्वरको घरले कहिल्यै त्यस्ता कुराहरू भनेको छैन। परमेश्वरको घरले तेरो व्यक्तिगत निर्णय र स्वतन्त्रतामा कदापि हस्तक्षेप गर्दैन; यसले तँबाट कुनै पनि स्वतन्त्रता खोस्दैन—यसले तँलाई स्वतन्त्रता प्रदान गर्छ। तर, यस्तो सुपरिवेक्षकका हकमा, परमेश्वरको घरले तिनीहरूलाई निराकारण गर्ने सिद्धान्त भनेको तिनीहरूलाई बर्खास्त गर्नु र तिनीहरूको स्थान लिन उपयुक्त व्यक्ति खोज्नु हो। यदि तिनीहरू कर्तव्य निर्वाह गरिरहनका लागि उपयुक्त छन् भने, तिनीहरूलाई कायम राख्न सकिन्छ। होइन भने, तिनीहरूलाई पठाइनेछ। कुनै कुटपिट वा गालीगलौज वा अपमान हुनेछैन। यो लाजमर्दो कुरा होइन; यो अत्यन्तै सामान्य कुरा हो। त्यसकारण जब केही मानिसहरूलाई तिनीहरूको रोमान्टिक सम्बन्धका कारण आफ्नो पदबाट हटाइन्छ वा साधारण मण्डलीमा पठाइन्छ, तब के यो लाजमर्दो कुरा हुन्छ र? यसले तिनीहरूको कर्तव्य निर्वाहमा बफादारीको कमी छ, तिनीहरूलाई सत्यताप्रति चासो छैन, र तिनीहरू आफ्नो जीवन प्रवेशका लागि कुनै बोझ लिँदैनन् भन्ने कुरा मात्रै जनाउन सक्छ। यस्ता सुपरिवेक्षकले आफ्नो उचित काममा ध्यान दिँदैनन्—तिनीहरूले रोमान्टिक सम्बन्धहरूमा मात्रै ध्यान दिन्छन्, जसले गर्दा मण्डलीको काममा ढिलाइ हुन्छ, र यसले मण्डलीको कामको प्रगतिमा असर पारिसकेको हुन्छ—के यो गम्भीर समस्या होइन र? (हो।) त्यसकारण, यस्ता सुपरिवेक्षक कायम राखिनका लागि उपयुक्त हुँदैनन् र तिनीहरूलाई पदबाट हटाउनुपर्छ। कतिले भन्छन्, “के तिनीहरूलाई हटाउनु अलिक हतारमा चालिएको कदम हुँदैन र?” यदि तिनीहरूको रोमान्टिक सम्बन्ध सुरु भएको समयदेखि तिनीहरूलाई हटाइएको समयसम्म एक-दुई दिन मात्रै बितेको छ भने, त्यसलाई हतारमा चालिएको कदम भन्न सकिएला। तर यदि चार-पाँच महिना बितिसकेको छ भने, के त्यसलाई अझै पनि हतारमा चालिएको कदम मानिन्छ र? (मानिँदैन।) यो कारबाही गर्नमा त पर्याप्त ढिलासुस्ती भइसकेको छ, काममा धेरै ढिलाइ भइसकेको छ—तँलाई यसबारे कसरी चिन्ता नलागेको? के यो समस्या होइन र? (हजुर, हो।)
झूटा अगुवाहरूले वास्तविक काम नगर्ने वा आफ्ना उचित कामहरूमा ध्यान नदिने सुपरिवेक्षकहरूका बारेमा सोधपुछ गर्दैनन्। तिनीहरूलाई आफूले सुपरिवेक्षक छनौट गरे पुग्छ, अनि त्यो मामलाको अन्त्य हुन्छ, र पछि सुपरिवेक्षकले कामका सबै मामलाहरू आफै सम्हाल्न सक्नेछ भन्ने लाग्छ। त्यसकारण झूटा अगुवाहरूले कहिलेकाहीँ भेला आयोजना मात्रै गर्छन्, र कामको सुपरिवेक्षण गर्ने वा त्यो कसरी अघि बढिरहेको छ भनेर सोध्ने गर्दैनन्, अनि आफू चाहिँ काम नगरी अरूलाई अह्राउने हाकिमको जस्तो व्यवहार गर्छन्। यदि कसैले सुपरिवेक्षकको समस्याबारे रिपोर्ट गर्यो भने, झूटो अगुवाले भन्नेछ, “यो सानोतिनो समस्या मात्रै हो, ठीकै छ। तपाईँहरू आफैले यो कुरा सम्हाल्न सक्नुहुन्छ। मलाई नसोध्नुहोस्।” समस्या रिपोर्ट गर्ने व्यक्तिले भन्छ, “त्यो सुपरिवेक्षक अल्छे भातमारा हो। उसले खान र मनोरञ्जन गर्नमा मात्रै ध्यान दिन्छ, र ऊ हात बाँधेर बस्छ। ऊ आफ्नो कर्तव्यमा अलिकति पनि कठिनाइ भोग्न चाहँदैन, र आफ्नो काम र जिम्मेवारीहरूबाट पन्छिन सधैँ छल गर्दै अल्याङटल्याङ गर्छ र बहाना बनाउँछ। ऊ सुपरिवेक्षक हुन उपयुक्त छैन।” झूटो अगुवाले भन्छ, “सुपरिवेक्षकका रूपमा छनौट गरिँदा ऊ निकै राम्रो थियो। तपाईँले भन्नुभएको कुरा साँचो होइन, वा हो नै भने पनि, यो क्षणिक प्रकटीकरण मात्रै हो।” झूटो अगुवाले सुपरिवेक्षकको परिस्थितिबारे थप कुरा पत्ता लगाउने प्रयास गर्नेछैन, बरु त्यो सुपरिवेक्षकले विगतमा कस्तो छाप पारेको थियो भन्ने आधारमा त्यो मामिलाबारे मूल्याङ्कन गरेर फैसला गर्छ। सुपरिवेक्षकमा रहेका समस्याहरूबारे जसले रिपोर्ट गरे पनि, झूटो अगुवाले तिनीहरूलाई बेवास्ता गर्छ। त्यो सुपरिवेक्षकले कुनै वास्तविक काम गरिरहेको हुँदैन, र मण्डलीको काम झन्डै ठप्प बनेको हुन्छ, तर झूटो अगुवालाई मतलब हुँदैन, मानौँ तिनीहरू यसमा संलग्न समेत छैनन्। कसैले सुपरिवेक्षकका समस्याहरू रिपोर्ट गर्दा तिनीहरूले देखे पनि नदेखे जस्तो गर्नु आफैमा पनि वाक्कलाग्दो कुरा हो। तर सबभन्दा घिनलाग्दो कुराचाहिँ के हो? जब सुपरिवेक्षकमा रहेका साँच्चै गम्भीर समस्याहरूबारे मानिसहरूले तिनीहरूलाई रिपोर्ट गर्छन्, तिनीहरूले त्यो सुल्झाउने प्रयास गर्नेछैनन्, बरु हर प्रकारका बहानाहरूसमेत बनाउनेछन्: “यो सुपरिवेक्षकलाई मैले चिनेको छु, उसले परमेश्वरमा साँच्चै विश्वास गर्छ, उसमा कहिल्यै कुनै समस्या हुँदैन। उसमा सानो समस्या नै भयो भने पनि, परमेश्वरले उसलाई सुरक्षा र ताडना दिनुहुनेछ। उसले कुनै गल्ती गर्यो भने, त्यो ऊ र परमेश्वरबीचको कुरा हो—हामीले यसबारे चासो लिनु पर्दैन।” झूटा अगुवाहरूले आफ्नै धारणा र कल्पनाअनुसार यसरी काम गर्छन्। तिनीहरूले सत्यता बुझेको र आफूसँग आस्था भएको ढोँग गर्छन्, तर तिनीहरूले मण्डलीको काम भद्रगोल पार्छन्—मण्डलीको काम ठप्पसमेत हुन सक्छ, तैपनि तिनीहरूले यसबारे अझै अनजान रहेको नाटक गर्छन्। के झूटा अगुवाहरूले कागजात खेलाउने मानिसहरूले गर्ने जस्तै व्यवहार निकै गर्दैनन् र? तिनीहरू आफैले वास्तविक काम गर्न सक्दैनन्, र तिनीहरूले समूह अगुवा र सुपरिवेक्षकको कामप्रति पनि मिहिन रूपमा ध्यान दिँदैनन्—तिनीहरूले यसबारे अनुगमन गर्ने वा सोधपुछ गर्ने गर्दैनन्। मानिसहरूसम्बन्धी तिनीहरूको दृष्टिकोण तिनीहरूको आफ्नै विचार र कल्पनामा आधारित हुन्छ। जब तिनीहरूले कसैले केही समयसम्म राम्ररी काम गरिरहेको देख्छन्, तब तिनीहरूलाई यो व्यक्ति सधैँ असल रहनेछ, र परिवर्तन हुनेछैन भन्ने लाग्छ; यो व्यक्तिमा समस्या छ भनेर भन्ने कसैको कुरा पनि तिनीहरूले पत्याउँदैनन्, र यो व्यक्तिका बारेमा कसैले चेतावनी दिँदा, तिनीहरूले बेवास्ता गर्छन्। के तिमीहरूलाई झूटा अगुवाहरू मूर्ख हुन्छन् भन्ने लाग्छ? तिनीहरू मूर्ख र बेवकुफ हुन्छन्। कुन कुराले तिनीहरूलाई मूर्ख बनाउँछ? तिनीहरू कुनै व्यक्ति छनौट हुँदा, उसले शपथ खाएको र सङ्कल्प गरेको अनि आफ्नो अनुहारभरि आँसु झार्दै प्रार्थना गरेको कारणले ऊ भरपर्दो छ, र उसले कामको अभिभारा लिँदा कुनै समस्याहरू हुनेछैनन् भन्दै ऊमाथि निर्धक्क भरोसा गर्छन्। झूटा अगुवाहरूसित मानिसहरूको प्रकृतिका बारेमा कुनै बुझाइ हुँदैन; तिनीहरू भ्रष्ट मानवजातिको साँचो परिस्थितिका बारेमा अनजान हुन्छन्। तिनीहरू भन्छन्, “कुनै व्यक्तिलाई सुपरिवेक्षकका रूपमा छनौट गरिसकेपछि ऊ कसरी खराब रूपमा परिवर्तन हुन सक्छ? अत्यन्तै सख् र भरपर्दो देखिने व्यक्ति कसरी कामदेखि भाग्न सक्छ? तिनीहरूले त्यसो गर्दैनन्, गर्छन् र? तिनीहरूमा धेरै निष्ठा हुन्छ।” झूटा अगुवाहरूले आफ्नो कल्पना र भावनाहरूमा धेरै आस्था राख्ने हुनाले, यसले तिनीहरूलाई मण्डलीको काममा उत्पन्न हुने धेरै समस्याहरू समयमै हल गर्न असक्षम तुल्याउँछ, र सम्बन्धित सुपरिवेक्षकलाई तुरुन्तै बर्खास्त गर्न र नयाँ काममा खटाउनबाट रोक्छ। तिनीहरू खाँटी झूटा अगुवाहरू हुन्। अनि यहाँको समस्या के हो त? आफ्नो कामप्रतिको झूटा अगुवाको रवैयासित झाराटारूवापनको कुनै सम्बन्ध छ? एक हिसाबमा, तिनीहरूले ठूलो रातो अजिङ्गरले उन्मत्त रूपमा परमेश्वरका चुनिएका मानिसहरूलाई पक्राउ गरेको देख्छन्, त्यसैले आफूलाई सुरक्षित राख्नका लागि तिनीहरूले हचुवाको भरमा कसैलाई कामको अभिभारा सुम्पने बन्दोबस्त गर्छन्, र यसबाट समस्या समाधान हुन्छ र यसप्रति तिनीहरूले अबउप्रान्त ध्यान दिन जरुरी छैन भन्ने विश्वास गर्छन्। तिनीहरूले आफ्नो हृदयमा के सोच्छन्? “यो वातावरण त एकदमै शत्रुतापूर्ण छ, म केही समय लुक्नुपर्छ।” यो देहगत ऐसआरामको लालसा गर्नु हो, होइन र? अर्को हिसाबमा, झूटा अगुवाहरूमा एउटा घातक खोट हुन्छ: तिनीहरू आफ्नै कल्पनामा आधारित भएर मानिसहरूलाई भरोसा गरिहाल्छन्। अनि यो सत्यतालाई नबुझेको कारणले हुने हो, होइन र? परमेश्वरका वचनहरूले भ्रष्ट मानवजातिको सार कसरी प्रकाश गर्छन्? परमेश्वरले ती मानिसहरूलाई भरोसा गर्नुहुन्न भने तिनीहरूले चाहिँ किन भरोसा गर्नुपर्यो? झूटा अगुवाहरू अत्यन्तै अहङ्कारी र आत्मधर्मी हुन्छन्, होइन र? तिनीहरूले के सोच्छन् भने, “मैले यो व्यक्तिलाई गलत रूपमा मूल्याङ्कन गरेको हुन सक्दैन, मैले उपयुक्त भनी मूल्याङ्कन गरेको यो व्यक्तिमा कुनै पनि समस्याहरू नहुनुपर्ने हो; ऊ अवश्य नै खाने, पिउने, र मनोरञ्जन गर्ने काममा लिप्त हुने, वा ऐसआराम मन पराउने र कठिन परिश्रम गर्न मन नपराउने व्यक्ति होइन। ऊ अवश्य नै भरपर्दो र भरोसायोग्य छ। ऊ परिवर्तन हुनेछैन; यदि ऊ परिवर्तन भयो भने, म नै ऊबारे गलत थिएँ भन्ने अर्थ लाग्छ, होइन र?” यो कस्तो प्रकारको तर्क हो? के तँ कुनै विशेषज्ञ होस्? के तँसँग एक्स-रे दृष्टि छ? के तँसँग त्यो विशेष सीप छ? तँ कुनै व्यक्तिसित एक-दुई वर्ष बस्न सक्छस् तर उसको प्रकृति सारलाई उदाङ्गो पार्ने उपयुक्त वातावरणविना तैँले ऊ साँच्चै को हो भनी देख्न सक्छस् र? यदि ऊ परमेश्वरद्वारा प्रकाश नगरिएको भए, तँ ऊसित तीनदेखि पाँच वर्षसम्म पनि सँगसँगै जिउन सक्थिस् र पनि तिनीहरूको प्रकृति सार कस्तो चाहिँ छ भन्ने कुरा देख्न तैँले अझै सङ्घर्ष गर्नुपर्थ्यो। अनि तैँले तिनीहरूलाई बिरलै देख्ने, तिनीहरूसित बिरलै रहने अवस्थामा त यो झन् कति साँचो हुन्छ? झूटा अगुवाहरूले व्यक्तिको अस्थायी छवि वा अरू कसैले तिनीहरूबारे गरेको सकारात्मक मूल्याङ्कनका आधारमा उसलाई निर्धक्क विश्वास गर्छन्, र त्यस्तो व्यक्तिलाई मण्डलीको कामको जिम्मेवारी सुम्पने आँट गर्छन्। यसमा, के तिनीहरू अत्यन्तै अन्धो बनिरहेका हुँदैनन् र? के तिनीहरूले लापरवाह व्यवहार गरिरहेका हुँदैनन् र? अनि झूटा अगुवाहरूले यसरी काम गर्दा, के तिनीहरू अत्यन्तै गैरजिम्मेवार भइरहेका हुँदैनन् र? माथिल्ला अगुवा र कामदारहरूले तिनीहरूलाई सोध्छन्, “के तपाईँले त्यो सुपरिवेक्षकको काम जाँच गर्नुभएको छ? उसको चरित्र र क्षमता कस्तो छ? के ऊ आफ्नो काममा जिम्मेवार छ? के उसले यो कामको बोझ उठाउन सक्छ?” झूटा अगुवाहरूले जवाफ दिन्छन्, “उसले अवश्य नै गर्न सक्छ! ऊ छनौट हुँदा, उसले शपथ खाएको र सङ्कल्प गरेको थियो। मसँग अझै पनि उसको लिखित शपथ छ। ऊ यो कामको बोझ लिन सक्षम हुनुपर्ने हो।” झूटा अगुवाहरूका यी शब्दहरूबारे तिमीहरूलाई के लाग्छ? तिनीहरू यो व्यक्तिले आफ्नो प्रतिबद्धता व्यक्त गर्न शपथ नै खाएको हुनाले, उसले अवश्य नै यसलाई पूरा गर्न सक्नेछ भन्ने विश्वास गर्छन्। के यो अभिव्यक्ति साँचो हुन्छ त? आजभोलि कति मानिसहरूले वास्तवमै आफ्नो शपथ पूरा गर्न सक्छन्? आफ्नो सङ्कल्पअनुसार काम गर्ने कति इमानदार मानिसहरू छन्? व्यक्तिले शपथ खाएको छ भन्दैमा यसको अर्थ उसले साँच्चै नै त्यो पूरा गर्न सक्छ भन्ने हुँदैन। मानौँ तैँले उसलाई यस्तो सोधिस् रे, “के तपाईँ त्यो सुपरिवेक्षक बदलिनेछैन भन्ने कुराको प्रत्याभूति दिन सक्नुहुन्छ? के तपाईँ उसको आजीवन बफादारीको प्रत्याभूति दिन सक्नुहुन्छ? जब परमेश्वरले मानिसहरूलाई प्रकाश गर्न चाहनुहुन्छ, तब उहाँले तिनीहरूलाई जाँच्न विभिन्न वातावरणहरू तयार गर्नुपर्छ। तपाईँ ऊ भरपर्दो छ भनेर कुन आधारमा भन्नुहुन्छ? के तपाईँले ऊबारे जाँचबुझ गर्नुभएको छ?” झूटा अगुवाहरूले जवाफ दिन्छन्, “त्यसो गर्नु पर्दैन। दाजुभाइ-दिदीबहिनीहरूले ऊ भरपर्दो छ भनेर रिपोर्ट गरेका छन्।” यो अभिव्यक्ति पनि गलत छ। के दाजुभाइ-दिदीबहिनीहरूले कुनै व्यक्ति असल छ भनेर रिपोर्ट गरेकै कारण ऊ साँच्चै असल हुन्छ र? के सबै दाजुभाइ-दिदीबहिनीहरूसँग सत्यता हुन्छ? के तिनीहरू सबैले कामकुराहरूलाई छर्लङ्ग देख्न सक्छन्? के सबै दाजुभाइ-दिदीबहिनीहरू यो व्यक्तिसँग परिचित हुन्छन्? यो अभिव्यक्ति त झनै घृणित छ! वास्तवमा, त्यो व्यक्ति धेरै पहिले नै प्रकाश भइसकेको हुन्छ। उसले पवित्र आत्माको काम गुमाइसकेको हुन्छ, र सहजतालाई प्रेम गर्ने र परिश्रमलाई घृणा गर्ने, घिचुवा र अल्छे बन्ने, र आफ्नो उचित काममा ध्यान नदिने उसका नीच विशेषताहरू खुलासा भइसकेका हुन्छन्। अझै पनि केही थाहा नभएका झूटा अगुवाहरूले बाहेक, सबैले उसको वास्तविकता धेरै पहिले नै छर्लङ्ग देखिसकेका हुन्छन्—झूटा अगुवाहरूले मात्रै उसलाई अझै पनि यति धेरै भरोसा गर्छन्। यी झूटा अगुवाहरूको के काम? के तिनीहरू केही न कामका हुँदैनन् र? कति अवस्थामा त माथिले कार्यस्थल गएर अनुसन्धान र सोधपुछ गरी निश्चित सुपरिवेक्षकहरूका विभिन्न प्रकटीकरणहरूबारे थाहा पाउँछन्, तैपनि अगुवाहरू अझै पनि यो विषयमा पूरै अन्धकारमा हुन्छन्। के यो समस्या होइन र? यी अगुवाहरू खाँटी झूटा अगुवाहरू हुन्। तिनीहरूले वास्तविक काम गर्दैनन्, तिनीहरू केवल कागजात खेलाउने मानिसहरू हुन्, र अरूलाई अह्राउने मालिकहरूजस्तै तिनीहरूले थोरै काम गर्छन् अनि त्यसपछि त्यसैबाट आफ्नो गुजारा चलाउँछन् र आफूसँग रमाइलो गर्ने अधिकार छ भन्ने सोच्छन्, र परिस्थितिहरू खराब हुँदा मद्दत गर्न समेत अघि सर्दैनन्। हैसियतका फाइदाहरू प्राप्त गर्ने तँसँग के अधिकार छ? यो साँच्चै नै निर्लज्ज कुरा हो! जब झूटा अगुवाहरूले काम गर्छन्, तब तिनीहरूले कहिल्यै कुनै कामको जाँच गर्दैनन्, तिनीहरूले कामको प्रगतिबारे सोधपुछ गर्दैनन्, र तिनीहरूले अवश्य नै विभिन्न टोली सुपरिवेक्षकहरूको परिस्थितिको जाँचबुझ पनि गर्दैनन्। तिनीहरूले काम तोक्ने र सुपरिवेक्षकहरूको बन्दोबस्त गर्ने मात्रै गर्छन्, र त्यसपछि आफूले काम गरिसकेँ, आफ्नो काम सक्किसक्यो, र त्यो सधैँका लागि पूरा भइसक्यो भन्ने सोच्छन्। तिनीहरूले यस्तो विश्वास गर्छन्, “कसैले यो काम सम्हालिरहेको छ, त्यसकारण यो अब मेरो चासोको विषय होइन। म रमाइलो गर्न सक्छु।” के यो काम गर्नु हो? यसरी काम गर्ने जोकोही निस्सन्देह नै झूटो अगुवा हो—मण्डलीको काममा ढिलाइ गर्ने र परमेश्वरका चुनिएका मानिसहरूलाई हानि गर्ने झूटो अगुवा हो।
झूटा अगुवाहरूले कहिल्यै विभिन्न टोली-सुपरिवेक्षकहरूको कार्य परिस्थितिहरूबारे सोध्दैनन् वा त्यसको अनुगमन गर्दैनन्। तिनीहरूले विभिन्न टोलीका सुपरिवेक्षकहरू, र विभिन्न महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूको जीवन प्रवेश, साथै मण्डलीको काम र तिनीहरूका कर्तव्यहरूप्रति, र परमेश्वरमाथिको आस्था, सत्यता, र परमेश्वर स्वयम्प्रति तिनीहरूका मनोवृत्तिहरूबारे पनि सोध्ने, अनुगमन गर्ने, वा बुझ्ने गर्दैनन्। तिनीहरूलाई यी व्यक्तिहरूमा कुनै रूपान्तरण वा वृद्धि भएको छ कि छैन भनेर थाहा हुँदैन, न त तिनीहरूलाई तिनीहरूको काममा हुन सक्ने विभिन्न समस्याहरूबारे नै थाहा हुन्छ; खासगरी, तिनीहरूलाई कामका विभिन्न चरणहरूमा आइपर्ने त्रुटि र विचलनहरूले मण्डलीको काम र परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमाथि पार्ने प्रभावबारे थाहा हुँदैन, साथै यी त्रुटि र विचलनहरू कहिल्यै सच्याइएका छन् कि छैनन् भन्ने पनि थाहा हुँदैन। तिनीहरू यी सबै थोकबारे पूर्णतया अनजान हुन्छन्। यदि तिनीहरूलाई यी विस्तृत अवस्थाहरूबारे केही पनि थाहा छैन भने, समस्याहरू उत्पन्न हुनेबित्तिकै तिनीहरू निष्क्रिय बन्छन्। तर, झूटा अगुवाहरूले आफ्नो काम गर्ने क्रममा यी विस्तृत समस्याहरूबारे बिलकुलै मतलब गर्दैनन्। तिनीहरूले के विश्वास गर्छन् भने, विभिन्न टोली सुपरिवेक्षकहरूको बन्दोबस्त गरेर कामहरू तोकेपछि तिनीहरूको काम सकियो—यसलाई राम्रोसँग काम गरेको मानिन्छ, र यदि अरू समस्याहरू उत्पन्न भएमा त्यो तिनीहरूको चासोको विषय होइन। झूटा अगुवाहरूले विभिन्न टोली सुपरिवेक्षकहरूलाई निरीक्षण, निर्देशन, र अनुगमन नगर्ने, र यी क्षेत्रहरूमा आफ्ना जिम्मेवारीहरू पूरा नगर्ने हुनाले, मण्डलीको काम लथालिङ्ग हुन्छ। यो अगुवा र कामदारहरू कर्तव्यच्युत हुनु हो। परमेश्वरले मानव हृदयको गहिराइको छानबिन गर्न सक्नुहुन्छ; यो त्यस्तो क्षमता हो, जुन मानवसँग हुँदैन। त्यसकारण, काम गर्दा मानिसहरू बढी लगनशील र सचेत हुनुपर्छ, तिनीहरूले मण्डलीको सामान्य कार्यप्रगति सुनिश्चित गर्नका निम्ति नियमित रूपमा कार्यस्थलमा गएर कामको अनुगमन, सुपरिवेक्षण र निर्देशन गर्नुपर्छ। स्पष्ट छ, झूटा अगुवाहरू आफ्ना काममा पूर्णतया गैरजिम्मेवार हुन्छन्, र तिनीहरू कहिल्यै विभिन्न कार्यहरूको सुपरिवेक्षण, अनुगमन, र निर्देशन गर्दैनन्। फलस्वरूप, कतिपय सुपरिवेक्षकहरू काममा उत्पन्न हुने विभिन्न समस्याहरू समाधान गर्न जान्दैनन्, र त्यो काम गर्न अलिकति पनि योग्य नहुँदा पनि सुपरिवेक्षकको भूमिकामै रहन्छन्। अन्ततः काममा बारम्बार ढिलाइ हुन्छ र तिनीहरूले त्यसलाई पूर्णतया लथालिङ्ग पार्छन्। यो झूटा अगुवाहरूले सुपरिवेक्षकहरूका परिस्थितिहरूबारे नसोध्नु, त्यसको सुपरिवेक्षण र अनुगमन नगर्नुको परिणाम हो, जुन पूर्णतया झूटा अगुवाहरू जिम्मेवारीबाट विमुख हुनुले निम्त्याएको परिणाम हो। झूटा अगुवाहरूले कामको निरीक्षण र अनुगमन नगर्ने, वा त्यसबारे नसोध्ने, र परिस्थितिलाई तत्कालै बुझ्न नसक्ने हुनाले, तिनीहरू सुपरिवेक्षकहरूले वास्तविक काम गरिरहेका छन् कि छैनन्, काम कसरी अगाडि बढिरहेको छ, र यसले कुनै वास्तविक नतिजाहरू दिएको छ कि छैन भन्ने जस्ता कुराबारे बेखबर रहन्छन्। सुपरिवेक्षकहरू केमा व्यस्त छन् वा तिनीहरूले खासमा के-कस्ता कामहरू सम्हालिरहेका छन् भनेर सोध्दा, झूटा अगुवाहरूले “मलाई थाहा छैन, तर तिनीहरू प्रत्येक भेलामा सहभागी हुन्छन्, र हरेक पटक मैले तिनीहरूसँग कामका बारेमा कुरा गर्दा, तिनीहरूले कहिल्यै कुनै समस्या वा कठिनाइहरू उल्लेख गर्दैनन्” भन्ने जवाफ दिन्छन्। झूटा अगुवाहरूले के विश्वास गर्छन् भने, यदि सुपरिवेक्षकहरूले आफ्नो काम त्याग्दैनन् र तिनीहरूलाई खोज्दा सधैँ भेटिन्छन् भने, तिनीहरूमा बिलकुलै कुनै समस्या छैन। झूटा अगुवाहरू यसरी नै काम गर्छन्। के यो “झूटोपन” को प्रकटीकरण होइन र? के यो तिनीहरू आफ्ना जिम्मेवारीहरू पूरा गर्न असफल हुनु होइन र? यो एउटा गम्भीर जिम्मेवारीविमुखता हो! झूटा अगुवाहरूले आफ्नो काममा झारा टार्नमा मात्रै ध्यान दिन्छन्, र वास्तविक परिणामहरू ल्याउन खोज्दैनन्। सतही रूपमा तिनीहरूले प्रायजसो भेलाहरू आयोजना गरिरहन्छन्, र तिनीहरू साधारण व्यक्तिभन्दा व्यस्त देखिन्छन्। तर तिनीहरूले वास्तवमा के-कस्ता समस्याहरू समाधान गरेका छन्, तिनीहरूले के-कस्ता खास कामहरू राम्ररी सम्हालेका छन्, र तिनीहरूले के-कस्ता परिणामहरू हासिल गरेका छन् भन्ने कुरा अज्ञात नै रहन्छ। यी कुराहरूबारे झूटा अगुवाहरू आफैलगायत कसैले पनि स्पष्ट उत्तर दिन सक्दैन। तर एउटा कुरा निश्चित हुन सक्छ: काम गर्ने ठाउँमा मानिसहरूलाई जे-जस्ता समस्या आइपरे नि यी झूटा अगुवाहरूलाई कहीँ भेट्टाउन सकिँदैन; कसैले पनि काम गर्ने ठाउँमा तिनीहरूलाई मानिसहरूका समस्याहरू समाधान गरेको देखेको हुँदैन। त्यसोभए, झूटा अगुवाहरूले दिनभरि के काम गरिरहेका हुन्छन्? तिनीहरूको भेलाले के-कस्ता समस्याहरू समाधान गर्छन्? त्यो कसैलाई नि निश्चित रूपमा थाहा हुँदैन, र तिनीहरूको कामको निरीक्षणपछि मात्रै चाङ लागेका र समाधान नभएका धेरै समस्याहरू बल्ल पत्ता लाग्छन्। झट्ट हेर्दा, झूटा अगुवाहरू साँच्चै नै व्यस्त देखिन्छन्—तिनीहरूले “नानाथरी मामलाहरू सम्हालिरहे” जस्तो देखिन्छ। तर तिनीहरूको कामका परिणामहरू जाँच्दा, त्यो पूरै भद्रगोल हुन्छ; त्यो अस्तव्यस्त हुन्छ, त्यसमा कुनै मूल्यवान् कुरा बिलकुलै हुँदैन, र यी झूटा अगुवाहरूले अलिकति पनि वास्तविक काम नगरेको स्पष्ट हुन्छ। झूटा अगुवाहरूले समाधान नगरी त्यत्तिकै छोडेका धेरै वास्तविक समस्याहरूका बाबजुद, तिनीहरूसँग कुनै विवेकको चेतना र कुनै आत्मग्लानि नभएजस्तो नै देखिन्छ। त्यसमाथि, तिनीहरू अत्यन्तै आत्मसन्तुष्ट पनि हुन्छन् र तिनीहरूले आफू निकै असल छु भन्ने सोच्छन्; तिनीहरूसँग साँच्चै नै समझको कमी हुन्छ। यस्ता मानिसहरू मण्डलीका अगुवा वा कामदार हुन लायक हुँदैनन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।