अगुवा र कामदारहरूका जिम्मेवारीहरू (३) खण्ड दुई
विषयवस्तु चार: विविध कामका सुपरिवेक्षकहरू र विविध महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूका परिस्थितिहरूका बारेमा सुसूचित रहने, र आवश्यकताअनुसार तिनीहरूका कर्तव्य तुरुन्तै हेरफेर गर्ने वा तिनीहरूलाई बरखास्त गर्ने, ताकि अनुपयुक्त मानिसहरूलाई प्रयोग गर्दा हुने क्षति रोक्न वा घटाउन सकियोस्, र कामको कार्यकौशलता र सहज प्रगतिको प्रत्याभूति दिन सकियोस्
अगुवा र कामदारहरूले विभिन्न कामका सुपरिवेक्षकहरूका परिस्थितिहरू बुझ्नैपर्छ
अगुवा र कामदारहरूको चौथो जिम्मेवारी के हो? (“विविध कामका सुपरिवेक्षकहरू र विविध महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूका परिस्थितिहरूका बारेमा सुसूचित रहने, र आवश्यकताअनुसार तिनीहरूका कर्तव्य तुरुन्तै हेरफेर गर्ने वा तिनीहरूलाई बरखास्त गर्ने, ताकि अनुपयुक्त मानिसहरूलाई प्रयोग गर्दा हुने क्षति रोक्न वा घटाउन सकियोस्, र कामको कार्यकौशलता र सहज प्रगतिको प्रत्याभूति दिन सकियोस्।”) ठीक भन्यौ, काम गर्दा अगुवा र कामदारहरूले पूरा गर्न सक्नुपर्ने न्यूनतम मापदण्ड यही हो। के यो चौथो बुँदासँग सम्बन्धित अगुवा र कामदारहरूका मुख्य जिम्मेवारीहरूबारे तिमीहरू सबै स्पष्ट छौ? अगुवा र कामदारहरूमा विभिन्न कामका सुपरिवेक्षकहरू र विभिन्न महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूबारे प्रस्ट बुझाइ हुनैपर्छ। विभिन्न कामका सुपरिवेक्षकहरू र विभिन्न महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूका परिस्थितिहरू बुझ्नु अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दायराभित्रै पर्छ। त्यसोभए, यी कर्मचारीहरू को हुन्? मूलतः तिनीहरू मण्डली अगुवाहरू हुन्, त्यसपछि टोली सुपरिवेक्षकहरू र विभिन्न समूहका अगुवाहरू हुन्। के विभिन्न कामका सुपरिवेक्षकहरू र विभिन्न महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूमा सत्यता वास्तविकता छ कि छैन, तिनीहरू आफ्ना क्रियाकलापहरूमा सिद्धान्तनिष्ठ छन् कि छैनन्, र तिनीहरूले मण्डलीको काम राम्रोसँग गर्न सक्छन् कि सक्दैनन् भन्नेजस्ता परिस्थितिहरू बुझ्नु र बोध गर्नु अत्यावश्यक र अत्यन्तै महत्त्वपूर्ण छैन र? यदि अगुवा र कामदारहरूले फरक कामका मुख्य सुपरिवेक्षकहरूका परिस्थितिहरू राम्ररी बुझ्छन्, कर्मचारीहरूको उचित समायोजन गर्छन् भने, त्यो तिनीहरूले प्रत्येक काम उचित जाँच गरे जस्तै हो, र यो तिनीहरूले आफ्ना जिम्मेवारी र कर्तव्यहरू पूरा गर्नुसरह हो। यदि यी कर्मचारीहरूको सही समायोजन गरिएन र समस्या आयो भने, मण्डलीको काममा ठूलो असर पर्नेछ। यदि यी कर्मचारीहरू राम्रो मानवता भएका, परमेश्वरमाथिको आफ्नो आस्थामा जग भएका, जिम्मेवार भएर मामलाहरू सम्हाल्ने स्वभावका, र समस्याहरू समाधान गर्नका लागि सत्यता खोज्न सक्षम छन् भने, तिनीहरूलाई कामको प्रभारी बनाउँदा धेरै समस्याबाट बचिनेछ, र सबैभन्दा महत्त्वपूर्ण कुरा त, त्यसले कामलाई सहज रूपमा अघि बढ्न दिनेछ। तर यदि विभिन्न टोलीका सुपरिवेक्षकहरू भरपर्दा छैनन्, कमजोर मानवता भएका छन्, शिष्ट व्यवहार गर्दैनन्, र सत्यता अभ्यास गर्दैनन्, र त्यसको साथै, तिनीहरूले केही अवरोध र बाधाहरू निम्त्याउने सम्भावना हुन्छ भने, यसले तिनीहरूले जिम्मेवारी लिएको काममा र तिनीहरूले अगुवाइ गर्ने दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा असर गर्नेछ। त्यो प्रभाव अवश्यै ठूलो वा सानो हुन सक्छ। यदि सुपरिवेक्षकहरू केवल आफ्ना कर्तव्यहरूलाई उपेक्षा गर्छन् र आफूले गर्नुपर्ने काममा ध्यान दिँदैनन् भने, यसले सम्भवतः काममा केही ढिलाइ मात्र निम्त्याउनेछ; कार्यप्रगति अलि सुस्त हुनेछ, र काम अलि कम कुशल हुनेछ। तर, यदि तिनीहरू ख्रीष्टविरोधीहरू हुन् भने, समस्या गम्भीर हुनेछ: यो काम अलि बढी अकुशल वा अप्रभावकारी हुने समस्याको कुरा मात्र हुनेछैन—तिनीहरूले आफू जिम्मेवार रहेको मण्डलीको काममा बाधा र क्षति पुर्याउनेछन्, जसले गम्भीर हानि गर्नेछ। त्यसकारण, विभिन्न कामका सुपरिवेक्षकहरू र विभिन्न महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूका परिस्थितिहरूबारे सुसूचित रहनु, र कसैले वास्तविक काम नगरेको थाहा पाएपछि समयमै हेरफेर र बरखास्त गर्नु अगुवा र कामदारहरूले टार्न मिल्ने दायित्व होइन—यो अत्यन्तै गम्भीर र महत्त्वपूर्ण काम हो। यदि अगुवा र कामदारहरूले तत्कालै विभिन्न कामका सुपरिवेक्षकहरू र विभिन्न महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूको चरित्र, अनि सत्यता र आफ्ना कर्तव्यहरूप्रति तिनीहरूको मनोवृत्ति, साथै प्रत्येक अवधि र चरणमा तिनीहरूका स्थिति र कार्यप्रदर्शनबारे थाहा पाउन सक्छन्, र तत्कालै ती मानिसहरूलाई परिस्थितिअनुसार समायोजन गर्न वा सम्हाल्न सक्छन् भने, काम सहज रूपमा अघि बढ्न सक्छ। त्यसविपरीत, यदि ती मानिसहरूले खराब कामकुरा गर्दै भाँडभैलो गर्छन् र मण्डलीमा वास्तविक काम गर्दैनन्, अनि अगुवा र कामदारहरूले तत्कालै यो कुरा पहिचान गर्न र समयमै काममा हेरफेर गर्न सक्दैनन्, बरु मण्डलीको काममा ठूलो नोक्सान पुर्याउनेगरी सबै प्रकारका समस्याहरू आइपरेपछि मात्र तिनलाई सामान्य रूपमा सम्हाल्ने, काममा हेरफेर गर्ने, र परिस्थितिलाई सच्याउने र जोगाउने प्रयास गर्छन् भने, ती अगुवा र कामदारहरू फोहोरको डङ्गुर हुन्। तिनीहरू बरखास्त गरिनैपर्ने र हटाइनैपर्ने असली झूटा अगुवाहरू हुन्।
भर्खरै, हामीले विविध कामका सुपरिवेक्षकहरूको वास्तविक स्थिति र तिनीहरूको कामको प्रभावकारिता बुझ्नु र जान्नुको महत्त्वबारे फराकिलो रूपले सङ्गति गर्यौँ, र अगुवा र कामदारहरूले आफ्नो जिम्मेवारी पूरा गरेका छन् कि छैनन् भनेर मूल्याङ्कन गर्न यी वास्तविक अवस्थाहरू प्रयोग गर्यौँ, र तिनीहरूले प्रदर्शन गर्ने कुन-कुन प्रकटीकरणले तिनीहरू झूटा अगुवाहरू हुन् भनेर प्रमाणित गर्छन् भनेर खुलासा गर्यौँ, र यसमार्फत झूटा अगुवाहरूको सार चिरफार गर्यौँ। जब मण्डलीको काममा गम्भीर समस्याहरू देखा पर्छन्, तब झूटा अगुवाहरूले आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैनन्। तिनीहरूले यी समस्याहरू तुरुन्तै पत्ता लगाउन पनि सक्दैनन्, तिनलाई समयमै सम्हाल्न र समाधान गर्न सक्नु त परको कुरा हो। यसले गर्दा समस्याहरू लामो समयसम्म रहिरहन्छन्, र पछि गएर यसबाट मण्डलीको काममा ढिलाइ र हानि हुन्छ, र यसले मण्डलीको काम अवरुद्ध वा अस्तव्यस्त पार्नसमेत सक्छ। यस्तो भइसकेपछि मात्रै झूटा अगुवाहरू मन नलागीनलागी मण्डलीको कामको अवलोकन गर्न जान्छन्, तैपनि तिनीहरूले अझै पनि समस्याहरू समाधान गर्नको लागि सम्बन्धित वा उचित समाधानहरू पहिचान गर्न सक्दैनन्, र अन्ततः तिनीहरूले ती समाधान नभएको अवस्थामै छोड्छन्। झूटा अगुवाहरूको प्राथमिक प्रकटीकरण यही हो।
विभिन्न कामका सुपरिवेक्षकहरू चयन गर्नका लागि मानकहरू
के धेरैजसो मानिसहरू विभिन्न कामका सुपरिवेक्षकहरू र विविध महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरू छनौट गर्ने मानकहरूबारे धेरथोर स्पष्ट हुन्छन्? उदाहरणका लागि, कलासम्बन्धी कामको सुपरिवेक्षकमा मुख्य रूपमा के कुरा हुनुपर्छ? (तिनीहरूमा यो विधाको व्यावसायिक सीप हुनुपर्छ र तिनीहरूले कामको बोझ लिन सक्नुपर्छ।) व्यावसायिक सीप हुनु एउटा सिद्धान्त हो। त्यसोभए, यी व्यावसायिक सीपहरूले ठ्याक्कै के जनाउँछन्? यसलाई व्याख्या गरौँ। यदि कसैलाई चित्रकला मन पर्छ र उसलाई कला बनाउनमा रुचि छ, तर त्यो उसको पेसा होइन, उसमा यो विधाको ज्ञान छैन, र उसलाई यो कुरा मन मात्रै परेको हो भने, के त्यस्तो व्यक्तिलाई कला समूहको सुपरिवेक्षकका रूपमा छनौट गर्नु उचित हुन्छ? (अहँ, हुँदैन।) कतिले भन्छन्, “यदि तिनीहरूलाई कला बनाउन मन पर्छ भने, तिनीहरूले काम गर्न र बिस्तारै यसबारे सिक्न सक्छन्।” के यो अभिव्यक्ति सही छ? (छैन।) यसमा एउटा अपवाद छ, जसमा कला समूहका अरू सबै जना पनि उक्त पेशाबारे अपरिचित हुन्छन्, र यो व्यक्तिले अरूले भन्दा अलिक बढी जानेको हुन्छ र छिटो सिक्छ। के उसलाई छनौट गर्नु तुलनात्मक रूपमा उचित हुन्छ? (हो।) यो परिदृश्यबाहेक, मानौँ कला सिर्जनामा संलग्न सबै मानिसहरूमध्ये यो व्यक्तिले मात्रै उक्त पेसा जानेको छैन, तर उसले सत्यता बुझ्ने र उसलाई कला बनाउन मनपर्ने हुनाले उसलाई छनौट गरिन्छ भने—के त्यो उचित हो? (अहँ, होइन।) यो किन उचित होइन? किनभने ऊ पहिलो वा एक मात्र विकल्प होइन। त्यसोभए यस्तो सुपरिवेक्षक कसरी छनौट गरिनुपर्छ? यो पेसामा सबैभन्दा दक्ष र अनुभवी मानिसहरूमध्येबाट सुपरिवेक्षक छनौट गरिनुपर्छ; अर्थात्, ऊ दक्ष हुनुपर्छ, र उसमा व्यावसायिक सीप र कार्य सामर्थ्य दुवै हुनुपर्छ—भुइँमान्छे छनौट नगर। यो एउटा पक्ष हो। यसका साथै, ऊ बोझ लिने, आत्मिक बुझाइ भएको, र सत्यता बुझ्न सक्ने हुनैपर्छ। ऊसँग कम्तीमा परमेश्वरमाथिको आस्थाको जग पनि हुनैपर्छ। यसका मुख्य सिद्धान्तहरू यी हुन्: पहिलो, ऊसँग कार्य सामर्थ्य हुनैपर्छ; दोस्रो, उसले उक्त पेसा बुझेको हुनैपर्छ; अनि तेस्रो, ऊसँग आत्मिक बुझाइ हुनैपर्छ र उसले सत्यता बुझ्न सक्नैपर्छ। विभिन्न कामका सुपरिवेक्षकहरू छनौट गर्न यी तीन मापदण्डहरू प्रयोग गर।
विभिन्न कामका सुपरिवेक्षकहरूका सम्बन्धमा झुटा अगुवाहरूका प्रकटीकरणहरू
विभिन्न विशिष्ट कामहरूका लागि सुपरिवेक्षकहरू छनौट गरेपछि, अगुवा र कामदारहरू केही नगरी पन्छिएर बस्नु हुँदैन; तिनीहरूले आफूले छनौट गरेका यी सुपरिवेक्षकहरूले साँच्चै नै कामको बोझ लिन सक्छन् कि सक्दैनन् र त्यसलाई सही मार्गमा अघि बढाउन सक्छन् कि सक्दैनन् भनेर हेर्न ती व्यक्तिहरूलाई केही समयसम्म तालिम दिँदै संवर्धन पनि गर्नुपर्छ। त्यो नै जिम्मेवारी पूरा गर्नु हो। मानौँ, छनौटको बेला, तैँले तेरा उम्मेदवारहरूले आफ्नो पेसा बुझेका छन्, तिनीहरूसँग कार्य सामर्थ्य छ, तिनीहरूले अलिकति बोझ बोक्छन्, र तिनीहरूसँग आत्मिक बुझाइ छ र सत्यता बुझ्ने क्षमता छ भन्ने देखिस्, र तैँले तिनीहरू यी हिसाबमा योग्य भएकाले सबै कुरा ठीकठाक हुनेछ भन्ने सोचिस्, र यसो भनिस्, “तिमीहरूले काम गर्न थाले हुन्छ; मैले तिमीहरूलाई सबै सिद्धान्तहरू बताइसकेको छु। अबदेखि, परमेश्वरको घरले तिमीहरूलाई जे गर्न लगाउँछ त्यो आफैँ गर।” के यो काम अघि बढाउने स्वीकार्य तरिका हो? तैँले सुपरिवेक्षकहरूको बन्दोबस्त गरिसकेपछि, के यसको अर्थ तैँले त्यसलाई त्यतिकै छोड्न सक्छस् भन्ने हो? (अहँ, होइन।) त्यसोभए के गर्नुपर्छ? मानौँ कुनै अगुवाले हप्तामा दुई पटक सुपरिवेक्षकहरूसँग भेला गर्छ, तिनीहरूसँग सत्यता सङ्गति गर्छ, र त्यसबाहेक अरू केही गर्दैन, बरु उसले ती सुपरिवेक्षकहरू सबै सक्रिय, भरपर्दा, र अरूले भनेको कुरा बुझ्न सक्षम छन्, त्यसकारण तिनीहरूले सत्यताअनुसार अभ्यास गर्न सक्छन् भन्ने विश्वास गर्छ। यो अगुवाले ती सुपरिवेक्षकहरूले ठ्याक्कै कसरी आफ्नो काम गर्छन्, तिनीहरूले अरूसँग सामञ्जस्यपूर्ण सहकार्य गर्छन् कि गर्दैनन्, तिनीहरूले यस अवधिमा व्यावसायिक सीपहरू बुझेका छन् कि छैनन्, वा परमेश्वरको घरले दिएको काम तिनीहरूले कति पूरा गरेका छन् भन्ने कुराको जाँचबुझ वा अनुगमन गर्नुपर्दैन भन्ने सोच्छ। के अगुवा र कामदारले यसरी नै काम सम्हाल्नुपर्ने हो? (अहँ, होइन।) झूटा अगुवाहरूले आफ्नो काम यसरी नै गर्छन्। तिनीहरूले सबै काम एकै पटकमा सधैँका लागि पूरा गर्ने प्रयास गर्छन्, तिनीहरूले सुपरिवेक्षकहरूको बन्दोबस्त गर्छन् र केही सदस्यहरूसहितको टोली बनाउँछन्, र त्यसपछि भन्छन्, “काम सुरु गर। यदि तिमीहरूलाई कुनै उपकरण चाहिन्छ भने, मलाई भन, अनि परमेश्वरको घरले तिमीहरूलाई ती कुरा किनिदिनेछ। यदि तिमीहरूलाई दैनिक जीवनमा कुनै कठिनाइहरू वा कुनै समस्या आइपर्यो भने, तीबारे निर्धक्क भएर बताओ, अनि परमेश्वरको घरले सधैँ तिमीहरूका लागि ती समाधान गरिदिनेछ। यदि तिमीहरूसँग कुनै कठिनाइहरू छैनन् भने, आफ्नो काममा ध्यान देओ। बाधा वा अवरोधहरू ननिम्त्याऊ, र ठुल्ठुला विचारहरू नफलाक।” झूटा अगुवाहरूले यी मानिसहरूलाई मिलेर काम गर्ने बन्दोबस्त मिलाउँछन्, र तिनीहरूसँग खानपान, र बस्ने ठाउँ छ भने, त्यो नै पर्याप्त हुन्छ, र तिनीहरूलाई कुनै ध्यान दिनुपर्दैन भन्ने सोच्छन्। जब माथिले “यस कामका लागि सुपरिवेक्षकहरू छनौट गरिएको कति भयो? काम कसरी अघि बढिरहेको छ?” भनेर सोध्छन्, तब तिनीहरूले जवाफ दिन्छन्, “छ महिना भयो। हामीले तिनीहरूका लागि लगभग १० वटा भेला आयोजना गरेका छौँ, र तिनीहरू उत्साहित देखिन्छन्, र काम भइरहेको छ।” माथिले “त्यसोभए सुपरिवेक्षकहरूको कार्य सामर्थ्य कस्तो छ त?” भनेर सोध्दा, तिनीहरूले भन्छन्, “ठीकै छ; हामीले तिनीहरूलाई छनौट गर्दा, तिनीहरू नै सबैभन्दा उत्कृष्ट थिए।” माथिले तिनीहरूलाई सोध्छन्, “अहिले तिनीहरूको अवस्था कस्तो छ? के तिनीहरूले वास्तविक काम गर्न सक्छन्?” तिनीहरूले जवाफ दिन्छन्, “मैले तिनीहरूका लागि एउटा भेला आयोजना गरेँ।” माथिले जवाफमा भन्छन्, “मैले तिमीले भेला आयोजना गर्यौ कि गरेनौ भनेर सोधेको होइनँ; मैले त तिनीहरूको काम कस्तो चलिरहेको छ भनेर सोधेको हुँ।” तिनीहरूले भन्छन्, “त्यो त ठीकै होला; तिनीहरूका बारेमा कसैले पनि कुनै नराम्रो कुरा रिपोर्ट गरेको छैन।” माथिले प्रतिक्रिया दिन्छन्, “तिनीहरूबारे कसैले पनि नराम्रो कुरा रिपोर्ट नगर्नु मानक होइन। तिमीले तिनीहरूका कार्य सामर्थ्य र व्यावसायिक सीपहरू कस्ता छन् भनेर हेर्नुपर्छ, साथै तिनीहरूसँग आत्मिक बुझाइ छ कि छैन, र तिनीहरूले वास्तविक काम गर्छन् कि गर्दैनन् भनेर हेर्नुपर्छ।” तिनीहरूले जवाफ दिन्छन्, “छनौटको बेला, तिनीहरू ठीकै देखिन्थे। मैले केही समयदेखि यी विवरणबारे सोधपुछ गरेको छैनँ। यदि तपाईँ थाहा पाउन चाहनुहुन्छ भने, म फेरि सोध्छु।” झूटा अगुवाहरूले यसरी नै काम गर्छन्। तिनीहरूले भेलाहरू आयोजना गरिरहन्छन् र आफ्ना मातहतकासँग निरन्तर सङ्गति गर्छन्, तर माथिसँग तिनीहरूले घुमाउरो कुरा गर्छन् र झाराटारुवा प्रतिक्रिया दिन्छन्। तिनीहरूको सबैभन्दा राम्रो झाराटारुवा प्रतिक्रिया “मैले तिनीहरूका लागि भेला आयोजना गरेँ। पछिल्लो पटक, मैले कामबारे धेरै विस्तृत रूपमा सोधेँ” भन्ने हुन्छ। तिनीहरूले माथिलाई यसरी नै प्रतिक्रिया दिन्छन्। के यी झूटा अगुवाहरूले वास्तविक काम गरिरहेका हुन्छन्? के तिनीहरूले वास्तविक समस्याहरू पहिचान गरेका हुन्छन्? के तिनीहरूले ती समस्या समाधान गरेका हुन्छन्? सुपरिवेक्षकहरूको बन्दोबस्त गरेपछि, झूटा अगुवाहरू सुपरिवेक्षकहरूले जिम्मेवारी पूरा गर्ने वा बफादार बन्ने गरेका छन् कि छैनन्, काम कसरी भइरहेको छ, नतिजाहरू राम्रा छन् कि खराब, दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूबारे कसरी रिपोर्ट गरिरहेका छन्, वा उक्त कामका लागि अझै उपयुक्त व्यक्तिहरू छन् कि छैनन् भन्नेबारे पूरै अनजान हुन्छन्। तिनीहरू किन यी कुराहरूबारे अनजान हुन्छन्? किनभने तिनीहरूले यो वास्तविक काम गर्दैनन्; तिनीहरूले आफूलाई व्यर्थका कुराहरूमा मात्रै व्यस्त राख्छन्। तिनीहरू यसरी निरन्तर कामको सुपरिवेक्षण र निरीक्षण गर्नु जरुरी छैन, यसो गर्नुको अर्थ तिनीहरूले ती सुपरिवेक्षकहरूलाई भरोसा नगर्नु हो भन्ने सोच्छन्। तिनीहरूका मनमा, भेलाहरू आयोजना गर्नु नै आफ्नो जिम्मेवारी पूरा गर्नु र बफादारी प्रदर्शन गर्नु हो। झूटा अगुवाहरूले वास्तविक काम नगर्नुको प्राथमिक प्रकटीकरण यही हो।
अ. वास्तविक काम नगर्ने सुपरिवेक्षकहरूलाई झुटा अगुवाहरूले कस्तो व्यवहार गर्छन्
झूटा अगुवाहरूले मण्डलीका हरप्रकारका कामका सुपरिवेक्षकहरूका विभिन्न परिस्थितिहरूप्रति आँखा चिम्लिदिन्छन्; तिनीहरूले यी परिस्थितिहरूबारे बुझ्ने, वा तीबारे जाँचबुझ गर्ने, वा तिनलाई सम्हाल्ने, वा सुल्झाउने गर्दैनन्। सुपरिवेक्षकहरूका के-कस्ता खास परिस्थितिहरू हुन्छन्? पहिलोचाहिँ के हो भने, सुपरिवेक्षकहरूले बोझ लिँदैनन् र आफूले गर्नुपर्ने उचित काम नगरी वा वास्तविक काम नगरी खानपान, र मनोरन्जनको खोजी मात्र गरिरहन्छन्। के यो गम्भीर समस्या होइन र? (हो।) कति मानिसहरूसँग काम गर्ने क्षमता हुन्छ, तिनीहरूमा पेसागत दक्षता हुन्छ, र तिनीहरू सबैभन्दा उत्कृष्ट हुन्छन्; तिनीहरू बोल्न सिपालु र बुद्धिमानी हुन्छन्, र यदि निर्देशनहरू दोहोर्याउन लगाइयो भने तिनीहरूले एउटा शब्द पनि नछुटाई त्यसो गर्न सक्छन्, तिनीहरू त्यति चलाख हुन्छन्; तिनीहरूले सबैबाट निकै राम्रो मूल्याङ्कन पाउँछन्, र तिनीहरू विश्वासी बनेको धेरै भएको हुन्छ। फलस्वरूप, तिनीहरूलाई सुपरिवेक्षकका रूपमा छनौट गरिन्छ। तर, यी मानिसहरू व्यावहारिक छन् कि छैनन्, तिनीहरूले मूल्य चुकाउन सक्छन् कि सक्दैनन्, र वास्तविक काम गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा कसैलाई थाहा हुँदैन। मानिसहरूले तिनीहरूलाई छनौट गरेका हुनाले, सुरुमा संवर्धन गर्न र परीक्षणका आधारमा प्रयोग गर्नका लागि तिनीहरूलाई बढुवा गरिन्छ। तर, केही समय काम गरेपछि, तिनीहरू व्यावसायिक सीप र अनुभवका बाबजुद घिचुवा र अल्छी छन्, र मूल्य चुकाउन अनिच्छुक छन् भन्ने कुरा पत्ता लाग्छ। अलिक थकाइलाग्दो हुनेबित्तिकै तिनीहरूले काम गर्न छोड्छन्, र समस्या वा कठिनाइमा परेर तिनीहरूको मार्गदर्शन आवश्यक परेको कसैलाई तिनीहरूले ध्यान दिन चाहँदैनन्। बिहान, आँखा खोल्नेबित्तिकै, तिनीहरूले सोच्छन्, “आज मैले के खाने होला? भान्सामा सुँगुरको मासु नपकाएको धेरै दिन भयो।” प्रायजसो तिनीहरू अरूलाई सधैँ यसो भन्छन्, “मेरो गृहनगरतिर पाइने खाजा निकै स्वादिष्ट हुन्छ; हामी हरेक चाडपर्वमा बाहिर गएर खान्थ्यौँ। म स्कूल पढ्दा, शनिबार निद्रा पुगुञ्जेल सुत्थेँ, र त्यसपछि अनुहार नधोई वा कपाल नकोरी खाना खान जान्थेँ। दिउँसो, म पाइजामा लगाएर घरभित्रै भिडियो गेम खेलेर बस्थेँ, कहिलेकाहीँ त भोलिपल्ट बिहान ५ बजेसम्म खेल्थेँ। अहिले त, परमेश्वरको घरको कामले मलाई यो हालतमा पुर्याएको छ, र सुपरिवेक्षकका रूपमा, मैले निश्चित कामकुरा गर्नुपर्छ। तिमीहरू सबैलाई कति आनन्द छ, हेर त; तिमीहरूले यो मूल्य चुकाउनुपर्दैन। सुपरिवेक्षकका रूपमा, मैले त कठिनाइ सहन सक्नुपर्छ।” तिनीहरूले यसो भन्छन्, तर के तिनीहरूले देहविरुद्ध विद्रोह गर्छन्? के तिनीहरूले मूल्य चुकाउँछन्? तिनीहरू गुनासोले भरिएका हुन्छन्, र कुनै पनि वास्तविक काम गर्न इच्छुक हुँदैनन्। तिनीहरू धकेलिँदा मात्रै हिँड्छन्, र सुपरिवेक्षणविना, तिनीहरूले झाराटारुवा व्यवहार गर्छन्। कर्तव्य निर्वाह गर्दा, तिनीहरू निश्चिन्त र अनुशासनहीन हुन्छन्, तिनीहरू प्रायजसो धूर्त र सुस्त हुन्छन्, र तिनीहरू अलिकति पनि जिम्मेवार हुँदैनन्। तिनीहरू आफूले देखेका व्यावसायिक समस्याहरू पनि अरूका लागि समाधान गरिदिँदैनन्, र अरू सबैले तिनीहरूले जस्तै झाराटारुवा व्यवहार गर्दा तिनीहरू खुसी हुन्छन्। तिनीहरू कामलाई कसैले पनि गम्भीरतापूर्वक लियोस् भन्ने चाहँदैनन्। कति सुपरिवेक्षकहरू त आफ्नो हातका कामहरूलाई यत्तिकै झाराटारुवा तरिकाले सक्काइहाल्छन्, त्यसपछि लगातार धेरै टेलीनाटकहरू हेरिरहन्छन्। तिनीहरूले लगातार टेलीनाटकहरू हेर्नुको कारण के हो? “मैले मेरा कामहरू पूरा गरिसकेको छु; मैले परमेश्वरको घरमा सित्तैँमा खाइरहेको छैनँ। म त मनलाई शान्त पार्न मात्रै आराम गरिरहेको छु। नत्र, म अत्यन्तै थकित हुनेछु, र मेरो कामको प्रभावकारितामा असर पर्नेछ। मेरो कामको प्रभावकारिता सुधार्न मलाई केही समय आराम गर्न देऊ।” तिनीहरू राती २-३ बजेसम्म टेलीनाटकहरू हेरिरहन्छन्। भोलिपल्ट बिहान ८ बजे सबैले बिहानको खाजा खाइसकेर कर्तव्य निर्वाह गर्न थाल्दा पनि यी सुपरिवेक्षकहरू अझै सुतिरहेका हुन्छन्, र घाम माथि पुग्दा पनि तिनीहरू ओछ्यानबाट निस्कँदैनन्। पछि, तिनीहरू खुट्टा घिसार्दै, जिउ तन्काउँदै र हाइ काढ्दै मन नलागीनलागी उठ्छन्, अनि अरू सबैले काम थालिसकेको देखेर तिनीहरू आफ्नो अल्छीपन अरूले देख्लान् भनेर डराउँछन्, र बहानाहरू खोज्न थाल्छन्, “म हिजो राती धेरै अबेरसम्म सुतिनँ, काम धेरै थियो, कामको बोझ अत्यन्तै भारी थियो। म अलिक थकित छु। मैले हिजो राती एउटा काममा समस्या भएको सपना पनि देखेँ। आज बिहान बिउँझँदा, मेरो हात कम्प्युटरमा टाइप गर्ने मुद्रामा थियो। मेरो दिमाग साँच्चै धूमिल छ, र आज दिउँसो म सुत्नुपर्छ।” तिनीहरू यति ढिलो उठ्छन् र दिउँसो पनि सुत्नुपर्छ—के तिनीहरू सुँगुर त बनेका छैनन्? तिनीहरूले स्पष्ट रूपमै ढिलासुस्ती गरिरहेका थिए, तैपनि तिनीहरू आफूलाई सही साबित गर्न र आफ्नो बचाउ गर्न बहाना बनाउँछन्, र आफूले राती अबेरसम्म कर्तव्य निर्वाह गरेका कारण आफू थकित भएको दाबी गर्छन्। तिनीहरू स्पष्ट रूपमै लगातार टेलीनाटकहरू हेरिरहेका, देहगत ऐसआराममा लिप्त भइरहेका, र भोगी स्थितिमा जिइरहेका थिए, तैपनि अन्त्यमा तिनीहरूले अरूलाई छल्न राम्रो बहानासमेत भेट्टाउँछन्। के यो आफ्नो उचित काममा ध्यान नदिनु होइन र? (हजुर, हो।) यस्ता मानिसहरूमा कार्य सामर्थ्य र व्यावसायिक सीप होला, तर के तिनीहरू मानकअनुरूपका सुपरिवेक्षक हुन् त? स्पष्ट रूपमै होइनन्। तिनीहरू सुपरिवेक्षक बन्न सुहाउँदैन किनभने तिनीहरू अत्यन्तै अल्छी छन्, तिनीहरू देहगत ऐसआराममा लिप्त हुन्छन्, तिनीहरू खाना, निद्रा, र मनोरञ्जनको लोभ गर्छन्, र तिनीहरूले सुपरिवेक्षकका जिम्मेवारीहरू लिन वा पूरा गर्न सक्दैनन्।
कति महिलाहरूले प्राय अनलाइनमा लुगा, जुत्ता, सौन्दर्य सामग्री, र खानेकुरा हेर्छन्, र त्यो काम सकेपछि, एकोहोरो रूपमा टेलीनाटकहरू हेर्न थाल्छन्। मानिसहरूले भन्छन्, “तपाईँ आफ्नो काम सक्दै नसकी किन टेलीनाटकहरू हेरेर बस्नुहुन्छ? साथै, अरू मानिसहरूसँग अझै पनि धेरै समस्याहरू छन्। सुपरिवेक्षकको रूपमा, तपाईँले तिनीहरूलाई मार्गदर्शन गर्नुपर्छ। तपाईँले किन आफ्नो जिम्मेवारी पूरा गरिरहनुभएको छैन?” ती महिलाहरूले भन्छन्, “विभिन्न टेलीनाटकहरू हेर्नु पनि मेरो कामको भाग नै हो। परमेश्वरको घरका भिडियो र चलचित्रहरू विकास गर्नुपर्छ, र मैले यी टेलीनाटकहरूबाट प्रेरणा प्राप्त गर्नुपर्छ!” के त्यो छली कुरा होइन र? यदि तिनीहरू यो पेसामा संलग्न छन् भने, कहिलेकाहीँ प्रेरणाको लागि टेलीनाटकहरू हेर्नु स्वीकार्य नै हुन्छ, तर के प्रेरणा प्राप्त गर्नको लागि दिन रात हेर्ने त? के त्यो छली कुरा होइन र? (हजुर, हो।) त्यहाँ के भइरहेको छ भन्ने कुरा सबैलाई थाहा हुन्छ, त्यसैले त्यस्ता कुराहरू बोलेर, ती महिलाहरूले आफ्नो गरिमा र निष्ठा बेचिरहेका हुन्छन्। कति मानिसहरूसँग पहिले नै भिडियो गेम खेल्ने बानी हुन्छ, र त्यो तिनीहरूको जीवनको नियमित कुरा बनेको हुन्छ। तर सुपरिवेक्षकको रूपमा छनौट भएपछि, के तिनीहरूले ती खराब बानीबेहोरा र आनीबानी परिवर्तन गर्नुपर्दैन र? (पर्छ।) यदि तिनीहरूले तीविरुद्ध विद्रोह गर्न सक्दैनन् भने, तिनीहरूलाई सुपरिवेक्षकको रूपमा छनौट गर्दा, तिनीहरूले यसो भन्नुपर्छ, “म यो काम लिन सक्दिनँ। म भिडियो गेम खेल्ने लतमा परेको छु। जब म गेम खेल्छु, तब म सबै कुरा बिर्सिन्छु, र कसैले नि मलाई हस्तक्षेप वा प्रभावित गर्न सक्दैन। यदि तिमीहरूले मलाई छनौट गर्यौ भने, यसले अवश्य नै काममा ढिलाइ गराउनेछ। त्यसैले तुरुन्तै कदम चाल्नुहोस् र मलाई सुपरिवेक्षक बन्न नदिनुहोस्।” यदि ती मानिसहरूले अग्रिम रूपमा यस्तो घोषणा गर्दैनन् र छनौट हुँदा हैसियतलाई प्रिय ठान्दै खुशी र गौरव महसुस गर्छन्, र सुपरिवेक्षक बनेपछि पनि तिनीहरूले पहिलेजसरी मनलाग्दी रूपमै भिडियो गेमहरू खेल्छन् भने, यो अनुचित हुन्छ, र यसले अवश्य नै काममा ढिलाइ गराउनेछ।
कति सुपरिवेक्षकहरूमा निश्चित खराब बानीहरू हुन्छन्। जब दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई छनौट गर्छन्, तब कतिले त तिनीहरूको परिस्थिति नै बुझ्दैनन्, जबकि अरूले ती व्यक्तिहरूले परमेश्वरका लागि आफूलाई पूर्णकालीन रूपमा समर्पित गर्न सक्छन् भन्ने विश्वास गर्छन्, र जवान मानिसहरूका खराब बानीबेहोरा र आनीबानीहरू उमेरसँगै र सत्यताबारे निरन्तर बुझाइ आएसँगै क्रमिक रूपमा परिवर्तन हुन सक्छन् भन्ने सोच्छन्। ती व्यक्तिहरूलाई सुपरिवेक्षकका रूपमा छनौट गर्दा, धेरै मानिसहरूले यही मनोवृत्ति र दृष्टिकोण बोकेका हुन्छन्। ती व्यक्तिहरू छनौट भएपछि, तिनीहरूले अलिअलि काम गर्छन्, तर केही समयपछि नै तिनीहरू नकारात्मक बन्छन् र यस्तो सोच्छन्, “सुपरिवेक्षक बन्नु सजिलो छैन। म बिहानै उठ्नुपर्छ र राती अबेरसम्म बस्नुपर्छ, र मैले हरमोडमा अरूले भन्दा बढी काम र अवलोकन गर्नुपर्छ। मैले अझै धेरै चिन्ता गर्नुपर्छ, र मेरो समय र ऊर्जा अझै धेरै खर्च गर्नुपर्छ। यो काम गाह्रो छ; यो अत्यन्तै थकाइलाग्दो छ!” फलस्वरूप, तिनीहरूले काम छोड्नेबारे सोच्छन्। यदि तैँले बोझ लिँदैनस् भने, तैँले सुपरिवेक्षकको काम गर्न सक्दैनस्। यदि तैँले हृदयमा बोझ बोकेको छस् भने, तँ कामबारे चिन्ता गर्न इच्छुक हुनेछस्, र तैँले आफू अरूभन्दा अलिक थकित भए नि कष्ट भोगिरहेको महसुस गर्नेछैनस्। विश्राम गर्ने समय आए नि अझै तैँले “आजको काम कस्तो भयो?” भनेर सोच्दै बस्नेछस्। यदि तँलाई समाधान नभएको समस्या अचानक याद आयो भने, तँलाई निद्रा लाग्नेछैन। यदि तैँले हृदयमा बोझ बोकेको छस् भने, तैँले सधैँ कामबारे विचार गरिरहेको हुनेछस्, र आफूले कति राम्ररी खाइरहेको छु वा कति आराम गरिरहेको छु भनेरसमेत वास्ता गर्नेछैनस्। यदि मानिसहरूले सुपरिवेक्षकका रूपमा एकदमै थोरै मात्र बोझ लिन्छन् भने, तिनीहरूको थोरै जोश केही दिन मात्रै रहन्छ, र समय बित्दै जाँदा, तिनीहरूमध्ये कतिले त्यो सहनै सक्दैनन्। तिनीहरूले सोच्छन्, “यो काम कति थकाइलाग्दो छ। मैले मनोरञ्जन गर्ने र अलिक आराम गर्ने उपाय के हो? बरु म त केही भिडियो गेम नै खेल्नेछु।” तिनीहरूले छोटो समयसम्म राम्रो कार्यप्रदर्शन गर्छन्, तर अचानक तिनीहरूलाई भिडियो गेम खेल्ने इच्छा जाग्छ। खेल्न सुरु गरेपछि, तिनीहरू रोकिन सक्दैनन्; अनि तिनीहरूमा पहिले भएको त्यो सानो बोझ पनि खेल्न थालेसँगै नष्ट भएर जान्छ, र सँगसँगै कर्तव्य निर्वाहमा भएको आफूलाई समर्पित गर्ने तिनीहरूको उत्साहजनक उत्प्रेरणा, सङ्कल्प, र सकारात्मक मनोवृत्ति पनि हराइजान्छ। जब कसैले तिनीहरूलाई कुनै कुरा सोध्छ, तब तिनीहरू अधीर बन्छन्। तिनीहरूले या त मानिसहरूलाई काटछाँट गर्छन्, वा तिनीहरूलाई भाषण छाँट्छन् र तिनीहरूको गिल्ला गर्छन्, वा झाराटारुवा तरिकाले काम गर्छन् र आफ्नो काम छोड्छन्। के ती सुपरिवेक्षकहरूमा समस्या हुँदैन र? (हुन्छ।) दिनको समयमा, तिनीहरूले झुम्म भएर आफ्नो काम बल्लबल्ल पूरा गर्छन्, र राती, कसैले नदेखेको बेला, एक झिमिक्क पनि नसुती लुकेर भिडियो गेमहरू खेल्छन्। सुरुमा, तिनीहरूलाई यसबारे सहज नै लाग्छ, र तिनीहरूले सोच्छन्, “मैले दिनको समयमा काममा ढिलाइ गरिनँ। मैले आफूले गर्नुपर्ने सबै काम गरिसकेको छु। मैले अरूले मलाई सोधेका सबै समस्याहरू समाधान गरेको छु। यदि म भिडियो गेम खेल्ने समय निकाल्नका लागि राती सुतिनँ भने पनि, के यो सबै कुरालाई म बफादार भएको मानिँदैन र?” परिणामस्वरूप, तिनीहरूले भिडियो गेम खेल्न थालेपछि, रोकिनै सक्दैनन्, र तिनीहरूले कसैको कुरा सुन्दैनन्। यसले अरूको विश्राम वा काम गर्ने वातावरणमा असर नगरे नि, के त्यस्ता सुपरिवेक्षकहरूले अझै आफ्नो कामको बोझ लिन सक्छन्? के तिनीहरूले राम्ररी काम गर्न सक्छन्? (सक्दैनन्।) किन सक्दैनन्? तिनीहरू प्रायजसो रातभरि नसुती भिडियो गेम खेल्छन्, अनि तिनीहरूले दिनभरि काम गर्नुपर्ने हुन्छ—एक व्यक्तिमा कति ऊर्जा हुन सक्छ र? यदि तिनीहरू यसरी भिडियो गेम खेल्नमा लागिरहन्छन् भने, के तिनीहरूको कामको प्रभावकारिता राम्रो हुनेछ? अवश्य नै हुनेछैन। त्यसकारण, त्यस्ता सुपरिवेक्षकहरूले आफ्नो कर्तव्य निर्वाह गर्न वा आफ्नो कामको बोझ लिन पटक्कै सक्दैनन्। तिनीहरूसँग व्यावसायिक सीप र केही क्षमता भए नि, तिनीहरू खेल्नै मन गर्छन् र उचित काममा ध्यान दिँदैनन्। के यी सुपरिवेक्षकहरूलाई बर्खास्त गरिनुपर्दैन र? यदि तिनीहरूलाई बर्खास्त गरिएन भने, काममा ढिलाइ हुनेछ। कति मानिसहरू भन्छन्, “यदि तिनीहरूलाई बर्खास्त गरियो भने, हामीले तिनीहरूजस्तै व्यावसायिक सीप भएका अरू कोही भेट्टाउन सक्नेछैनौँ। हामीले तिनीहरूलाई यो काम गर्न दिनुपर्छ—तिनीहरूले भिडियो गेम खेल्ने गरे पनि कामको बोझ लिन सक्छन्।” के यो अभिव्यक्ति सही छ? (अहँ, छैन।) व्यक्तिले एकै पटक दुई कुरामा ध्यान दिन सक्दैन; मानिसहरूसँग सीमित ऊर्जा हुन्छ। यदि तैँले आफ्नो धेरैजसो ऊर्जा खेल्नमा केन्द्रित गरिस् भने, कर्तव्य निर्वाह गर्ने तेरो निष्ठामा असर पर्नेछ, र कर्तव्य निर्वाह गर्दा तेरो प्रभावकारिता धेरै कम हुनेछ। यो कर्तव्य निर्वाहप्रतिको गैरजिम्मेवार मनोवृत्ति हो। व्यक्तिले आफ्नो कर्तव्यमा सारा हृदय र सारा ऊर्जा लगाए पनि परिणामहरू शतप्रतिशत मानकअनुरूप नै हुनेछ भन्ने हुँदैन। यदि तैँले आफ्नो हृदय र आफ्नो धेरैजसो ऊर्जा गेममा केन्द्रित गरिस् भने यो अझै खराब हुनेछ—तँसँग आफ्नो कर्तव्य निर्वाह गर्दा प्रयोग गर्नका लागि चाहिने त्यति धेरै ऊर्जा र सोच हुनेछैन, र कर्तव्य निर्वाह गर्दा तेरो प्रभावकारितामा असर पर्नेछ। यसमा असर पर्नेछ भनेर भन्नु यसलाई हल्का ढङ्गले व्यक्त गर्नु हो; वास्तवमा, कर्तव्य निर्वाह गर्दा तेरो प्रभावकारितामा गम्भीर क्षति पुग्नेछ। यदि त्यस्ता सुपरिवेक्षकहरू पहिचान भए भने, तिनीहरूलाई तुरुन्तै अर्को काममा लगाउनुपर्छ र बर्खास्त गर्नुपर्छ, किनभने तिनीहरू पहिले नै अयोग्य साबित भइसकेका हुन्छन्। तिनीहरूको कर्तव्य निर्वाह मानकअनुरूप नहुने मात्र होइन—तिनीहरू पहिले नै कामको बोझ लिन नसक्ने हुन्छन् र तिनीहरूले आफ्नो काममा कुनै पनि सकारात्मक प्रभाव पार्न सक्दैनन्। त्यसकारण, तिनीहरूको काम लिन अलिक कम व्यावसायिक सीप नै भएको कोही इमानदार र जिम्मेवार व्यक्ति खोज्नु नै तिनीहरूभन्दा राम्रो विकल्प हुनेछ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।