अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२९) खण्ड चार

ग. मानिसहरूलाई सुसमाचार प्रचार गर्न पठाउँदा पालना गर्नुपर्ने सिद्धान्तहरू

महत्त्वपूर्ण कर्तव्य पूरा गर्नेहरूको सुरक्षाको सन्दर्भमा, अगुवा र कामदारहरूले ध्यान दिनैपर्ने कामको अर्को क्षेत्र पनि छ, र त्यो आफ्नो कर्तव्य पूरा गर्न बाहिर जानेहरूको सुरक्षा गर्नु हो। मानिसहरूलाई आफ्नो कर्तव्य पूरा गर्न बाहिर पठाउँदा के-कस्ता सिद्धान्तहरू पालना गर्नुपर्छ? पहिलो, मानिसहरूको उमेर र लिङ्ग, साथै तिनीहरूको अन्तर्ज्ञान र जीवन अनुभवलाई ध्यान दिनुपर्छ—यो विषयमा अगुवा र कामदारहरू अन्योलग्रस्त वा लापरवाह हुनु हुँदैन। उदाहरणका लागि, यदि तैँले अपरिचित ठाउँमा सुसमाचार प्रचार गर्न सुसमाचार कामदारहरूलाई पठाइरहेको छस् भने, कस्तो प्रकारका मानिसहरूलाई पठाउनु उपयुक्त हुन्छ? (केही अन्तर्ज्ञान र बुद्धि भएका मानिसहरू।) यदि कुनै निश्‍चित मण्डलीमा धेरै उपयुक्त मानिसहरू छैनन्, त्यसमा धेरैजसो जीवन अनुभव र अन्तर्ज्ञान नभएका, र परिस्थितिहरू सम्हाल्न नजान्‍ने जवान मानिसहरू छन्—र विशेषगरी चुनौतीपूर्ण समस्याहरू सामना गर्दा, तिनीहरूले सिद्धान्तहरूविना बोल्ने गर्छन्, र तिनीहरूमा बुद्धि पनि छैन भने, तिनीहरूले उक्त काम गर्न सक्‍नेछैनन्। यदि त्यस्ता मानिसहरूलाई पठाइयो भने, तिनीहरूले समस्याहरू समाधान गर्न नसक्‍ने मात्र नभई, काममा असर पार्ने र ढिलाइ गराउने सम्भावनासमेत हुन्छ। त्यसकारण, मानिसहरूलाई बाहिर गएर कर्तव्य पूरा गर्नका लागि पठाउँदा, परिपक्‍व मानवता र बुद्धि भएका मानिसहरू छनौट गर्नु जरुरी हुन्छ—यस्ता मानिसहरू मात्रै उपयुक्त हुन्छन्। यदि पर्याप्त उपयुक्त मानिसहरू छैनन् भने, जवान मानिसहरूलाई पाका मानिसहरूसँग सहकार्य गराएर कर्तव्य पूरा गर्न लगाओ। उदाहरणका लागि, मानौँ २५-२६ वर्षकी एउटी जवान बहिनीले परमेश्‍वरमा विश्‍वास गरेको निकै समय भएको भए पनि, ऊसँग आस्था र कद भएको भए पनि, र उसले आफ्नो कर्तव्य लामो समयसम्म पूरा गर्दै आएको भए पनि, अपरिचित ठाउँमा कर्तव्य पूरा गर्न पठाइयो भने उसलाई कसरी आफूलाई सुरक्षित राख्ने भन्‍ने कुरा थाहा हुँदैन—यस्तो अवस्थामा, कर्तव्य पूरा गर्नका लागि ऊसँग सहकार्य गर्न समाजमा अनुभव भएको स्थानीय दाजुभाइ वा दिदीबहिनी खोज्नु जरुरी हुन्छ। अवश्य नै, यदि कर्तव्यको स्थान परिचित क्षेत्र वा पहिले नै मण्डली रहेको स्थान हो भने, जवान दाजुभाइ-दिदीबहिनी पनि जान सक्छन्। तर यदि मानिसहरू सुसमाचार प्रचार गर्न वा अरू काम गर्न अपरिचित ठाउँमा, विशेषगरी कमजोर सार्वजनिक सुरक्षा भएको ठाउँमा जाँदै छन् भने, तिनीहरूको व्यक्तिगत सुरक्षामा ध्यान दिनैपर्छ। अगुवा र कामदारहरूले बाहिर गएर काम गर्नका लागि जसलाई पठाए पनि, सर्वप्रथम सुरक्षाबारे नै विचार गर्नुपर्छ। यदि सुसमाचार स्विकार्ने सम्भावना भएका मानिसहरू कस्ता मानिसहरू हुन्, वा तिनीहरूले अनुचित कामकुराहरू गर्लान् कि नगर्लान् भन्‍ने कुरा स्पष्ट छैन भने, मानिसहरूलाई सुसमाचार प्रचार गर्न पठाउँदा सतर्कता अपनाउनुपर्छ। विगतमा, कतिपय अगुवा र कामदारहरूले प्रायजसो १८-१९ वर्षका, वा २० वर्षका कलिला दिदीबहिनीहरूलाई सुसमाचार प्रचार गर्न अपरिचित ठाउँमा पठाउँछन् भन्‍ने सुनेको थिएँ, र केही दुर्भाग्यपूर्ण घटनाहरू घटेका थिए भनेर रिपोर्ट पनि गरिएको थियो। वास्तवमा जेसुकै भएको भए पनि, यो कुरा अन्ततः अगुवा र कामदारहरूले काम गर्दा राम्ररी ध्यान नपुर्‍याएको तथ्यसँग सम्बन्धित थियो। अगुवा र कामदारहरूले आफ्नो काममा यी कुराहरूलाई ध्यानमा राख्नुपर्छ र अत्यन्तै कलिला दिदीबहिनी वा दाजुभाइहरूलाई आफ्नो कर्तव्य पूरा गर्न अपरिचित र खतरनाक स्थानहरूमा यत्तिकै पठाउनु हुँदैन। एक अगुवाले एकपटक १८-१९ वर्षका दुईजना दिदीबहिनीलाई सुसमाचार प्रचार गर्न प्रबन्ध गरेको थियो। जब कसैले तिनीहरू अत्यन्तै कलिला छन् र यसका लागि उपयुक्त छैनन् भनेर भन्यो, तब अगुवाले उसको सट्टा जान २१ वर्षकी एउटी बहिनी खोज्यो र सोच्यो, “तपाईँले १९ वर्ष एकदमै कम उमेर हो भनेर भन्‍नुभयो, त्यसकारण मैले २१ वर्षकी बहिनी भेट्टाएँ। यो त अलि बढी उमेर भयो होला नि, होइन र?” यो अगुवाको क्षमता कस्तो थियो? उसमा कुरालाई विकृत पार्ने प्रवृत्ति थियो, होइन र? (हो।) १९ वर्षभन्दा दुई वर्ष मात्रै बढी उमेर भएकाले—के उसले जीवन अनुभव प्राप्त गरेकी हुन सक्छे? के उसले समाजमा अनुभव प्राप्त गरेकी हुन सक्छे? कठिनाइ वा खतरनाक परिस्थितिहरू सामना गर्दा, ऊ रुन पो थाल्थी कि? उमेरमा ऊ दुई वर्ष जेठी भए पनि ऊ अझै अत्यन्तै कलिली थिई र उसले यो कामको जिम्मा लिन सक्दिनथि। कम्तीमा पनि, उमेरमा ३०-४०, वा ५०-६० को दशकमा रहेको एक जना दाजुभाइ वा दिदीबहिनी खोज्नु आवश्यक हुन्छ—तिनीहरू पाको उमेरका हुन्छन् र तिनीहरूसँग समाजको अनुभव हुन्छ; परिस्थितिहरू सामना गर्दा, तिनीहरूसँग तिनलाई सम्हाल्ने बुद्धि हुन्छ, जसले गर्दा कुनै पनि खतरनाक परिस्थिति आइपर्नबाट जोगाउँछ। कलिला मानिसहरूले धेरै कुरा देखेका वा अनुभव गरेका हुँदैनन् र तिनलाई कसरी सम्हाल्ने भन्‍ने तिनीहरूलाई थाहै हुँदैन; खतराको सामना गर्दा, तिनीहरूले खतरा महसुस समेत गर्न नसक्ने सम्भावना पनि हुन्छ, जसले गर्दा घटनाहरू सहजै घट्छन्। पाको उमेरका मानिसहरूले भने यो समाज र यो मानवजातिका धेरै दुष्टता देखेका हुन्छन्, त्यसैले तिनीहरू मानिसहरूप्रति बढी सतर्क हुने गर्छन्। समाजबाट सिकेको अनुभव र वास्तविक जीवनको ज्ञानका आधारमा, तिनीहरूले निश्‍चित परिस्थितिहरूमा कस्तो खतरा पैदा हुन सक्छ, खतराको स्तर कति उच्च छ, कुन-कुन व्यक्तिहरू दुष्ट मानिसहरू हुन्, र निश्‍चित मानिसहरूले केकस्ता कामकुराहरू गर्न सक्छन् भन्‍नेबारे केही मनासिब मूल्याङ्कन गर्न सक्छन्। खतरनाक परिस्थितिहरू सामना गर्दा, तिनीहरूसँग खतराबाट उम्कनका लागि बुद्धि पनि हुन्छ। अर्कोतर्फ, कलिला मानिसहरूमा अनुभवको कमी हुन्छ। परिस्थितिहरू सामना गर्दा, तिनीहरूले सम्भावित खतरनाक दुष्परिणामहरू बुझ्न सक्दैनन्। त्यसकारण, सुरक्षा समस्याहरूको हकमा, पाका मानिसहरूले कलिला मानिसहरूले भन्दा धेरै विचार पुर्‍याउन सक्छन्। जब अगुवा र कामदारहरूले मानिसहरूलाई बाहिर गएर आफ्नो कर्तव्य पूरा गर्ने प्रबन्ध गर्छन्, तब तिनीहरूले स्थानीय अवस्थाहरूलाई ध्यानमा राख्नुपर्छ र केही बुद्धि र अनुभव भएका तुलनात्मक रूपमा अलि पाका उमेरका मानिसहरूलाई कर्तव्य पूरा गर्न कलिला मानिसहरूसँग सहकार्य गर्ने प्रबन्ध गर्नुपर्छ। अगुवा र कामदारहरूले यी मामलाहरूमा एकदमै राम्ररी विचार पुर्‍याउनैपर्छ।

मण्डलीको काम जुनसुकै देशमा गरिए पनि, कर्तव्य पूरा गर्नेहरूको सुरक्षा सुनिश्‍चित गर्नु अगुवा र कामदारहरूले नजिकैबाट ध्यान दिनैपर्ने काम हो। जोसुकैलाई जुनै काम गर्न खटाइए पनि, तिनीहरू कामका लागि सक्षम हुन र तिनीहरूको सुरक्षा सुनिश्‍चित गर्न तिनीहरूमा निश्‍चित क्षमता र केही सामर्थ्य हुनैपर्छ; खासगरी, कमजोर सार्वजनिक सुरक्षा भएका क्षेत्र वा देशहरूमा यो कुरा अझै बढी लागू हुन्छ। अगुवा र कामदारहरूले कर्तव्य पूरा गर्नेहरूको सुरक्षालाई लापरवाहीपूर्वक बेवास्ता नगरी प्रमुख प्राथमिकताका रूपमा लिनुपर्छ। कतिपय मानिसहरू भन्छन्, “ठीक छ। हामीले परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गरिरहेका छौं—हामीसँग परमेश्‍वरको सुरक्षा छ, त्यसकारण कोही मर्नेछैन। के कुरा गलत हुन सक्ला र?” के तिनीहरूले यसो भन्‍नु सही हुन्छ? (हुँदैन।) किन हुँदैन? (यसरी बोल्नु गैरजिम्मेवारीपन हो, र यो दृष्टिकोण वास्तविकताबाट पनि निकै टाढा छ।) मानिसहरूले आफूले पूरा गर्न सक्‍ने जिम्मेवारीहरू पूरा गर्न र आफूले विचार गर्न सक्‍ने कुराहरूलाई ध्यान दिन सक्दो गर्नुपर्छ; तिनीहरूले परमेश्‍वरलाई जाँच्नु, वा दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षामा खेलबाड गर्नु हुँदैन। परमेश्‍वरले मानिसहरूलाई रक्षा गर्न सक्‍नुहुन्छ, तर यदि तँ आफूले विचार पुर्‍याउन सक्‍ने समस्याहरूबारे विचार पुर्‍याउँदैनस्, र परमेश्‍वरलाई जाँच्‍ने दाउका रूपमा दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षालाई प्रयोग गर्छस् भने, परमेश्‍वरले तँलाई प्रकट गर्नुहुनेछ—यस्तो मूर्ख कुराहरू गर्ने, यस्तो बुद्धु तँलाई कसले बनायो! त्यसकारण, अगुवा र कामदारहरूले यस्तो कुरालाई गैरजिम्मेवार काम गर्ने बहानाका रूपमा प्रयोग गर्नु हुँदैन; कर्तव्य निर्वाह गर्नेहरूको सुरक्षा सुनिश्‍चित गर्नु तेरो जिम्मेवारी हो, र तैँले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। तैँले विचार गर्न सक्‍ने र गर्न सक्‍ने सबै कुराप्रति ध्यान दिएपछि, तैँले विचार नगरेको कुराको हकमा परमेश्‍वरले कसरी कार्य गर्नुहुनेछ भन्‍ने कुरा परमेश्‍वरको आफ्नै मामला हो र त्यो कुरासँग तेरो कुनै सम्बन्ध हुँदैन। कतिपय मानिसहरूले जथाभाबी सबै जिम्मेवारी परमेश्‍वरको काँधमा हालिदिन्छन्, र भन्छन्, “मानिसहरूको सुरक्षाका लागि परमेश्‍वर नै जिम्मेवार हुनुहुन्छ, हामीले डर मान्‍नु आवश्यक छैन; हामीले जसरी मन लाग्यो त्यसरी प्रचार गर्न सक्छौँ। परमेश्‍वरको साथ सबै कुरा स्वतन्त्र र मुक्त हुन्छ; हामीले ती कुराहरूबारे चिन्ता गर्नु आवश्यक छैन!” के यस्तो अभिव्यक्ति सही हुन्छ? (हुँदैन।) यस्तो अभिव्यक्तिअनुसार परिस्थितिहरू आइपर्दा मानिसहरूले सिद्धान्तहरू खोजी गर्नु आवश्यक हुँदैन; यदि त्यसो हुँदो हो त, परमेश्‍वरले व्यक्त गर्नुभएको सत्यताको के फाइदा हुन्छ र? यो व्यर्थ हुन्छ। यत्तिका वर्षहरूमा, परमेश्‍वरले उहाँका चुनिएका मानिसहरूलाई परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुनका लागि यो दुष्ट संसार र यो दुष्ट मानवजातिमाझ कसरी बाँच्‍ने, सत्यता कसरी पछ्याउने, र कसरी आफूलाई आचरणमा ढाल्ने भनेर जान्‍न सक्षम तुल्याउने उद्देश्‍यले धैर्यता र परिश्रमसाथ मानिसहरूलाई सिकाउन धेरै वचनहरू बोल्नुभएको छ। यो तैँले परमेश्‍वरलाई जाँच्‍नका लागि होइन, न त तैँले शब्द र धर्मसिद्धान्तहरूअनुसार र सिद्धान्तहरूविना आफूले चाहेअनुसार व्यवहार गर्नका लागि नै हो। अगुवा र कामदारहरूले सुसमाचार प्रचारको काममा राम्रो गर्नका लागि, तिनीहरूले सबैभन्दा पहिले मानिसहरूको सुरक्षाको प्रत्याभूति गर्नैपर्छ। त्यसो गर्नका लागि, तिनीहरूले सुरुमा कर्तव्य पूरा गर्ने मानिसहरूको खास अवस्थाहरू पत्ता लगाएर बुझ्नैपर्छ, र उपयुक्त मानिसहरू खटाउनुपर्छ, र मानिसहरूको सुरक्षाको प्रत्याभूति गर्नका लागि विभिन्‍न परिस्थितिहरूमा के गर्ने भन्‍ने कुरा पनि बुझ्नुपर्छ। यदि कुनै स्थान विशेष रूपमा अराजक छ, र त्यहाँ चिनेजानेका मानिसहरू कोही छैनन्, र त्यहाँ सुसमाचार प्रचार गर्न जाने जोकोहीको सुरक्षाको प्रत्याभूति गर्न सकिँदैन भने, अहिलेका लागि त्यहाँ मानिसहरू नपठाओ; यो जोखिम नलिओ, अनावश्यक बलिदानहरू नगर। जुनसुकै कर्तव्य पूरा गरिँदै भए पनि वा जुनसुकै काम अघि बढाइँदै गरिएको भए पनि, तैँले बाह्य संसारमा गएर आफ्नो ज्यान जोखिममा पार्नु आवश्यक छैन, न त तैँले आफ्नो सुरक्षा वा आफ्नो ज्यानको बाजी नै लगाउनुपर्छ। अवश्य नै, चीनको वातावरणमा कर्तव्य पूरा गर्न जोखिम लिनु अपरिहार्य नै हुन्छ। सरकारले परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई सताउँछ, र खतरा छ भन्‍ने कुरा राम्ररी थाहा भए पनि, तैँले अझै परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ, परमेश्‍वरलाई पछ्याउनुपर्छ, र कर्तव्य पूरा गर्नुपर्छ; तैँले कर्तव्य त्याग्‍नु हुँदैन, र कुनै पनि काम रोक्‍न मिल्दैन। बाहिरका देशहरूका परिस्थितिहरू सबै फरक हुन्छन्—कतिपय देशहरू चीनजस्तै निरङ्कुश छन्, जबकि अरूमा लोकतान्त्रिक प्रणालीहरू छन्। लोकतान्त्रिक प्रणाली भएका देशहरूमा, सुसमाचार प्रचारको काम सहज रूपमा अघि बढ्न सक्छ, र विभिन्‍न कामहरू अझै सहज रूपमा अघि बढ्न पनि सक्छन्। तर निरङ्कुश विशेषता भएका कतिपय देशहरूमा, मानिसहरू बर्बर र पिछडिएका दुवै हुन्छन्, र तिनीहरूलाई साँचो मार्ग स्विकार्न सजिलो हुँदैन। जब तिनीहरूलाई सुसमाचार प्रचार गरिन्छ, तब तिनीहरूले यसबारे अनुसन्धान नगर्ने मात्र होइन, बरु उल्टै यसलाई अन्धाधुन्ध निन्दासमेत गर्न सक्छन्, र यो परिस्थितिबारे पुलिसलाई रिपोर्टसमेत गर्न सक्छन्। त्यस्ता अवस्थामा, त्यहाँ सुसमाचार प्रचार गर्न मानिसहरूलाई नपठाओ; बरु, काम गर्नका लागि सुरक्षा सुनिश्‍चित गर्न सकिने ठाउँहरू छनौट गर। यी सबै अगुवा र कामदारहरूले ध्यानपूर्वक विचार गर्नुपर्ने कुराहरू हुन्। उदाहरणका लागि, अत्यन्तै जटिल धार्मिक पृष्ठभूमि भएका मलेसिया, इन्डोनेसिया, वा भारतजस्ता देशहरूमा, निश्‍चित धार्मिक सम्प्रदायहरूको ठूलो प्रभाव हुन्छ र तिनीहरूले सम्पूर्ण समाजमाथि नियन्त्रण राख्छन्, यहाँसम्म कि सरकार पनि यिनै धर्महरूको प्रभावमा परेको हुन्छ। त्यसकारण, त्यस्ता देशहरूमा, सुसमाचार प्रचार गर्न थप मानिसहरू नपठाओ; स्थानीय मण्डलीहरूले सुसमाचार प्रचार गर्नु मात्रै पनि पर्याप्त हुन्छ। कतिपय देशहरूमा त फरकफरक प्रदेश वा प्रान्तहरूमा फरकफरक परिस्थिति हुन्छ, र स्थानीय कानुन र प्रावधानहरू राष्ट्रिय कानुन र प्रावधानहरूभन्दा फरक हुन्छन्। उदाहरणका लागि, निश्‍चित क्षेत्रहरूमा विशेष धार्मिक पृष्ठभूमि हुन्छ, र ती क्षेत्रहरूमा, मण्डली र राज्य एकताबद्ध हुन्छन्। कतिपय अवस्थाहरूमा त धार्मिक अगुवाहरूसँग स्थानीय सरकारी अधिकारीहरूको भन्दा पनि ठूलो अख्तियार हुन्छ र तिनीहरूले केही राष्ट्रिय नीतिहरूलाई खुल्लमखुल्ला उल्लङ्घन गर्न सक्छन्। यदि तैँले त्यस्ता क्षेत्रमा सुसमाचार प्रचार गरिस् भने, त्यहाँ सम्भावित सुरक्षा जोखिमहरू हुनेछन्। ती सम्भावित जोखिमहरू तेरोबारे अफवाहहरू फैलाउने वा तँलाई धपाउने कार्यमा मात्रै सीमित हुँदैनन्—तिनीहरूले बिनाकुनै अभियोग तँलाई पक्राउ गर्न, जेल हाल्‍न, र यातना दिन सक्छन्, र तँलाई अङ्गभङ्ग गर्न वा मार्नसमेत सक्छन्, तैपनि सरकारले कुनै हस्तक्षेप गर्दैन। वास्तवमा, धेरैजसो धार्मिक सम्प्रदायका अगुवाहरूले बाहिरी धर्महरूलाई घृणा गर्छन्। तिनीहरूको प्रभाव अत्यन्तै ठूलो हुने हुनाले र तिनीहरूलाई कुनै पनि कानुनले पाबन्दी नलाउने हुनाले, तिनीहरूले सुसमाचारसम्बन्धी कामदारहरूलाई जति नै निर्दयी रूपमा सताए पनि तिनीहरूलाई जवाफदेही ठहराउने आँट कसैले गर्दैन, र स्थानीय सरकारी अधिकारीहरूसमेत तिनीहरूलाई चिढ्याउन अनिच्छुक हुन्छन्। तैँले तिनीहरूको क्षेत्रमा सुसमाचार प्रचार गर्न थालेपछि, तिनीहरूले तँलाई जसरी मन लाग्यो त्यसरी सास्ती दिन सक्छन्। त्यसकारण, कुनै ठाउँमा सुसमाचार प्रचार गर्न मानिसहरू पठाउँदा, अगुवा र कामदारहरू विशेष रूपमा होसियार हुनैपर्छ। सबभन्दा पहिला, तिनीहरूले त्यो ठाउँको परिस्थितिबारे, अर्थात् त्यहाँ विश्‍वासको स्वतन्त्रता छ कि छैन, धार्मिक शक्तिहरू कति शक्तिशाली छन्, र त्यहाँ सुसमाचार प्रचार गर्ने मानिसहरूबारे रिपोर्ट गरियो भने के-कस्ता परिणामहरू आउन सक्छन् भन्‍नेबारे अनुसन्धान गर्नैपर्छ र जानकारी लिनैपर्छ। त्यहाँ मानिसहरू पठाउने कि नपठाउने भन्‍ने कुरा निर्धारित गर्नुभन्दा पहिले यी मामलाहरू स्पष्ट रूपमा बुझ्नैपर्छ। कुनै ठाउँबारे थाहा भएपछि, यदि त्यो सुसमाचार प्रचार गर्न उपयुक्त छैन भनेर निर्धारित गरियो भने, त्यहाँ प्रचार गर्न मानिसहरू पठाउने अनुमति कसैलाई हुँदैन। यो सुसमाचारसम्बन्धी कामदारहरूको सुरक्षा सुनिश्‍चित गर्नका लागि गर्नुपर्ने कामको एउटा भाग पनि हो। कतिपय अगुवा र कामदारहरूको बुझाइ विकृत हुन्छ, र तिनीहरू भन्छन्, “ठीकै छ; परमेश्‍वरले हामीलाई रक्षा गर्नुहुनेछ। चुनौती जति धेरै कठिन हुन्छ, हामीले त्यसमा त्यति नै धेरै लाग्नुपर्छ। त्यस ठाउँमा प्रभुमा विश्‍वास गर्ने मानिसहरू धेरै छन्, त्यसकारण हामी किन त्यहाँ सुसमाचार प्रचार गर्न नजाने?” कसैले तिनीहरूलाई भन्छ, “त्यहाँ निजी जेलहरू छन्। यदि हामी त्यहाँ सुसमाचार प्रचार गर्न गयौँ भने, हामीलाई हिरासतमा राखिने मात्र होइन, हामी त्यहाँ मर्ने सम्भावनासमेत हुन्छ। हामी त्यहाँ जानु हुँदैन!” ती मूर्ख झूटा अगुवाहरूले यस्तो सोच्छन्, “ठूलो रातो अजिङ्गरसँग धेरै जेलहरू छन्, तर हामीलाई यसको डर लाग्दैन—त्यसकारण हामीले किन त्यहाँका केही निजी जेलहरूको डर मान्‍ने? जेलले हाम्रो शरीरलाई बन्धनमा राख्‍न सक्छ तर हाम्रो हृदयलाई बन्धनमा राख्‍न सक्दैन! नडराओ—जाओ!” त्यसपछि तिनीहरूले मानिसहरूको एकपछि अर्को लहर पठाउँछन्, र अन्त्यमा, तिनीहरू कोही पनि फर्केर आउँदैनन्; तिनीहरू सबैलाई हिरासतमा राखिन्छ। झूटा अगुवाहरू आश्‍चर्यचकित हुन्छन्। यहाँ समस्या के हो? (यस्ता झूटा अगुवाहरू बुद्धुहरू हुन्।) त्यस्ता झूटा अगुवाहरू फटाहा हुन्; तिनीहरू गैरजिम्मेवार हुन्छन्, जसले मानिसहरूलाई खतराको मुखमा धकेल्छन्। तिनीहरू किन आफै जाँदैनन्? तिनीहरूलाई खतराको डर लाग्दैन भने, तिनीहरू नै पहिले जानुपर्छ। यदि तिनीहरू गए, अनि सुरक्षित रूपमा फर्केर आए, र मानिसहरू प्राप्त गरे भने, तिनीहरूको पछि अरू पनि जान सक्छन्। चाहे जे भए पनि, सुसमाचार प्रचार गर्दा मानिसहरूको सुरक्षाको प्रत्याभूति गर्नैपर्छ। सुसमाचार प्रचार गर्न खतरनाक र अनुपयुक्त क्षेत्रमा पटक्‍कै जोखिम नलि। मूलभूमि चीनभन्दा बाहिरको कुनै पनि ठाउँ सुरक्षित छ भन्‍ने नसोच्; यो भ्रम हो, यो विकृत बुझाइ हो। अज्ञानी मानिसहरूले मात्रै यसरी सोच्छन्—त्यस्ता मानिसहरूले यो संसारबारे त्यति धेरै कुरा बुझेका हुँदैनन्! धेरैजसो पश्‍चिमी देशहरूमा विश्‍वासको स्वतन्त्रता भएकाले र प्रभुमा विश्‍वास गर्ने मानिसहरू तुलनात्मक रूपमा धेरै हुने हुनाले, त्यहाँ तैँले खुलेआम सुसमाचार प्रचार गर्न सक्छस् र धार्मिक संसार कति अन्धकारमय र दुष्ट छ भनेर खुलासा गर्ने विभिन्‍न अभिव्यक्तिहरू खुलेआम व्यक्त गर्न सक्छस् भन्‍ने नसोच्; यदि तैँले त्यसो गरिस् भने, परिणामहरू अकल्‍पनीय हुनेछन्। तैँले सुसमाचार प्रचार गर्दा, चाहे धर्मका मानिसहरूलाई प्रचार गर्दा होस् वा गैरविश्‍वासीहरूलाई होस्, तैँले भ्रष्ट मानवजाति, अर्थात् परमेश्‍वरलाई प्रतिरोध गर्ने मानवजाति सामना गरिरहेको हुन्छस् भन्‍ने कुरा बुझ्नैपर्छ। यो मामलाबारे अत्यन्तै सरल रूपमा नसोच्।

यदि अगुवा र कामदारहरूले सुसमाचारसम्बन्धी कामदारहरूको सुरक्षाको प्रत्याभूति गर्न चाहन्छन् भने, तिनीहरूले मामिलाका सबै पक्षहरूबारे राम्ररी विचार गर्नैपर्छ, र कुनै समस्या पैदा भएमा, त्यसलाई तुरुन्तै सम्हाल्नुपर्छ। त्यसपछि, अगुवा र कामदारहरूले अभ्यासका सिद्धान्तहरू र मार्ग भेट्टाउनका लागि अनुभव लिनुपर्छ र पाठहरू सिक्नुपर्छ, र आउँदा दिनमा कसरी अभ्यास गर्ने भनेर निर्धारित गर्नुपर्छ—यो पनि गर्नैपर्ने महत्त्वपूर्ण काम हो। अगुवा र कामदारहरूले पहिले विचार नगरेका वा सामना नगरेका कतिपय कुराहरू हुन्छन्; समस्याहरू पैदा भएपछि, तिनीहरूले यसरी निष्कर्ष निकाल्नुपर्छ: “के हामी अझै पनि त्यस्तो ठाउँमा जानुपर्छ? के मानिसहरू पठाउने यो तरिका सही छ? हामीले सुसमाचार प्रचार गर्ने वा अरू कुनै महत्त्वपूर्ण काम गर्नेसम्बन्धी आगामी चरणहरूका लागि योजना, रणनीति, वा दिशा मिलाउनुपर्ने हो कि?” निष्कर्षहरू निकाल्ने निरन्तरको प्रक्रियामा, अगुवा र कामदारहरूले क्रमिक रूपमा कामका विधि र सिद्धान्तहरू निर्धारित गर्नुपर्छ, ताकि तिनीहरूले जति धेरै काम गर्छन्, त्यो त्यति नै निर्दिष्ट बनोस् र यो अपेक्षा गरिएको मानकमा त्यति नै पुगोस्, कम आकस्मिकताहरू देखा परून्, वा कुनै आकस्मिकताहरू देखा पर्दै नपरून्, वा महत्त्वपूर्ण कार्य-कर्मचारीहरूले कुनै जोखिम नलिई काम गर्न पाऊन्। यो परिणाम हासिल गर्नका लागि, अगुवा र कामदारहरूले बारम्बार अनुभव लिनुपर्छ र सुसमाचार प्रचार गर्दा विभिन्‍न क्षेत्रहरूमा सामना गरिने विभिन्‍न वातावरण र परिस्थितिहरूबारे बुझाइ प्राप्त गर्नुपर्छ। तिनीहरूले जति धेरै जानकारी प्राप्त गर्छन् र यो जति धेरै सही हुन्छ, मामलाहरू सम्हाल्ने सिद्धान्त र योजनाहरू पनि त्यति नै सही हुनेछन्, र अन्ततः मानिसहरूको सुरक्षा सुनिश्‍चित गर्ने परिणाम हासिल हुनेछ। यसरी, सुसमाचार प्रचारको काम व्यवस्थित रूपमा अघि बढ्ने कुरा सुनिश्‍चित गर्न सकिन्छ।

इ. सुरक्षाको काममा ध्यान नदिने अगुवा र कामदारहरूलाई कसरी निराकरण गर्ने

कतिपय अगुवा र कामदारहरूको क्षमता कमजोर हुन्छ र तिनीहरूमा जिम्मेवारीबोधको कमी हुन्छ; तिनीहरूले वास्तविक काम गर्न सक्दैनन् र तिनीहरू वास्तविक काम गर्नका लागि अत्यन्तै अल्छी हुन्छन्। महत्त्वपूर्ण कर्तव्य पूरा गर्नेहरूले आफू जिम्मेवार रहेको क्षेत्रमा प्रायजसो सुरक्षा जोखिमहरू सामना गरिरहन्छन्, जसले गर्दा तिनीहरू ठाउँ सर्न वा स्थानान्तर हुन आवश्यक हुन्छ, र यसरी तिनीहरूले शान्त मनले आफ्नो कर्तव्य पूरा गर्न सक्दैनन्। हुँदै नहुनुपर्ने घटनाहरू पनि बारम्बार भइरहन्छन्। उदाहरणका लागि, कुनै अगुवा वा कामदारले होचो क्षेत्रमा रहेको एउटा अतिथि सत्कारक घर खोज्छ। जब भारी वर्षा र बाढीको अपेक्षा गरिन्छ, तब घर डुब्छ भन्‍ने डरले, त्यहाँ बस्‍ने दाजुभाइ-दिदीबहिनीहरू अग्रिम रूपमा सर्नुपर्छ—कामका उपकरण, भाँडा, कराही, र अरू सबै कुरा लिएर लगातार दुई दिनसम्म सर्नुपर्छ। यसले गर्दा सबैजना अत्यन्तै थकित हुन्छन्, र तिनीहरूको शिर निराशाले झुक्छ। तिनीहरूले भन्छन्, “हामी हरेक केही दिनमा सरिरहेका हुन्छौँ, सधैँ भागिरहेका हुन्छौँ। यो कहिले समाप्त हुनेछ? के हामीले आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्न सक्‍ने सुरक्षित र भरपर्दो घर भेट्टाउन सक्दैनौँ र?” त्यस्ता अगुवा र कामदारहरूले यो थोरै कामको बोझसमेत लिन सक्दैनन्; तिनीहरूको अधीनमा रहेका दाजुभाइ-दिदीबहिनीहरूले न त राम्ररी खानै सक्छन् न त राम्ररी सुत्नै सक्छन्, न त तिनीहरूसँग पर्याप्त आवास नै हुन्छ। तिनीहरूको जिउने अवस्था सधैँ अस्थायी हुन्छ, र सबैजना कुनै पनि बेला प्रकोपबाट भाग्न तयार भएर बसेका हुन्छन्। तिनीहरूले आफ्ना दैनिक सामानहरू प्रयोग गरिसकेपछि, तिनलाई तुरुन्तै पोको पार्छन्, किनभने कुनै पनि बेला घरको दर्ताजाँच गरिने परिस्थिति पैदा हुन सक्छ। वास्तवमा, यो परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूको खोजी गर्नु हो भन्‍ने कुरा सबैलाई थाहा हुन्छ, त्यसकारण तिनीहरू कुनै पनि बेला ठाउँ सर्न तयार हुनैपर्छ। परिणामस्वरूप, कर्तव्य पूरा गर्नेहरू सधैँ डराउँछन् र तिनीहरूसँग सुरक्षाको कुनै अनुभूति हुँदैन। के यसले तिनीहरूको कर्तव्यका परिणामहरूमा असर गर्दैन र? के यो अगुवा र कामदारहरूले गरिरहेको कामसँग सम्बन्धित हुँदैन र? (हुन्छ।) तिनीहरूले यो काम कसरी गरिरहेका हुन्छन्? (तिनीहरूले यो काम नराम्ररी गरिरहेका हुन्छन्, र आफ्नो जिम्मेवारी पूरा गरिरहेका हुँदैनन्।) कति अगुवा र कामदारहरू गैरजिम्मेवार हुन्छन् र तिनीहरूमा समर्पणताको कमी हुन्छ। तिनीहरू आफैसँग जिउने अवस्थाहरूबारे उच्च मानकहरू हुँदैनन्; तिनीहरूलाई बतास र वर्षाबाट रक्षा गर्ने ठाउँ छ भने, त्यो नै पर्याप्त हुन्छ। त्यसकारण, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूका लागि बस्‍ने सुरक्षित र स्थिर ठाउँ खोज्न पनि सक्दो प्रयास गर्दैनन्। कतिपय अगुवा र कामदारहरूको क्षमता कमजोर हुन्छ; तिनीहरूलाई कस्तो वातावरण शान्त र बस्‍नका लागि उपयुक्त हुन्छ, वा दाजुभाइ-दिदीबहिनीहरूलाई कर्तव्य पूरा गर्नका लागि उपयुक्त हुन्छ भन्‍ने थाहै हुँदैन। तिनीहरूले अरू कसैले पनि भाडामा लिन नचाहने होचो ठाउँको घर भाडामा लिन्छन्, र दाजुभाइ-दिदीबहिनीहरू त्यहाँ सरेपछि, केही दिनभित्र तिनीहरूलाई एक्जिमा रोग लाग्छ र सबैतिर चिलाउँछ। यहाँ के भइरहेको हुन्छ? घर अत्यन्तै ओसिलो हुन्छ, र भुइँबाट पानी रसाएर निस्किरहेको हुन्छ। के त्यस्तो ठाउँमा कोही बस्‍न सक्छ? त्यस्ता अगुवा र कामदारहरूले यो समस्यासमेत समाधान गर्न सक्दैनन्, तिनीहरूले कर्तव्य पूरा गर्नका लागि उपयुक्त घर भेट्टाउन सक्दैनन्—यो कस्तो क्षमता हो? अरू कतिपय अगुवा र कामदारहरूले निरन्तर पानी चुहिने, झ्याल-ढोकाबाट हावा छिर्ने, आवाज रोक्‍ने केही नभएको, वा इन्टरनेट, पानी, वा बिजुली नभएको घर भाडामा लिन्छन्—त्यहाँ कोही कसरी बस्‍न सक्छ? तिनीहरूले राम्रा घरहरूलाई बेवास्ता गर्छन् र यी घटिया घरहरू भाडामा लिन जिद्दी गर्छन्—के यसले मामलामा बाधा दिँदैन र? दाजुभाइ-दिदीबहिनीहरू बाहिर कष्टकर जीवन जिइरहेका त हुँदैनन्, तर घरमा आधारभूत सुविधाहरू पनि हुँदैनन्; तिनीहरू बरु पालमा बस्दा राम्रो हुन्छ। धेरैजसो दाजुभाइ-दिदीबहिनीहरूलाई कठिनाइको बानी परेको पनि हुन सक्छ, र तिनीहरूले यस्तो स्तरको कष्ट भोग्‍नु चरम कुरा होइन भन्‍ने महसुस गरे पनि, र यसलाई सहन सके पनि, के हरेक केही दिनमा यसरी निरन्तर सास्ती भोग्नाले तिनीहरूको कर्तव्य निर्वाहमा असर गर्दैन र? त्यसकारण, यदि अगुवा र कामदारहरूको क्षमता कमजोर छ र तिनीहरूमा जिम्मेवारीबोधको कमी छ भने, तिनीहरूले यो कामको बोझ लिन सक्दैनन्; तिनीहरूले तुरुन्तै राजीनामा दिनुपर्छ र यो काम राम्ररी गर्न सक्‍ने कसैलाई आफ्नो पद लिन सिफारिस गर्नुपर्छ, ताकि तिनीहरूले अधिकांश महत्त्वपूर्ण कार्य-कर्मचारीहरूको जीवन र कर्तव्य निर्वाहमा असर नपारून्। महत्त्वपूर्ण कर्तव्य पूरा गर्नेहरूका लागि वासस्थानको बन्दोबस्त गर्न हरेक पक्षबारे विचार गर्नु आवश्यक हुँदैन, तर कम्तीमा पनि आधारभूत जिउने वातावरण सुनिश्‍चित गर्नैपर्छ। यो कुरा सुनिश्‍चित गरिएको छ भने मात्रै मण्डलीको काममा असर पर्दैन। के यो काम गर्न सजिलो छ? (छ।) यो काम गर्न सजिलो छ भनेर भन्‍नु सरल छ, तर यदि अगुवा र कामदारहरू कमजोर क्षमता भएका र अलिकति पनि जिम्मेवारीबोध नभएका अन्यौलग्रस्त मानिसहरू हुन् भने, तिनीहरूले यो काम गर्नै सक्दैनन्। जब अगुवा र कामदारहरूले यो काम गर्न सक्दैनन् वा यो काम राम्ररी गर्न सक्दैनन्, तब धेरै मानिसहरूले दुष्परिणामहरू भोग्छन्, र तिनीहरू हरदिन अनिकालबाट भागिरहे जसरी जिउँछन्—यसरी त तिनीहरूले कसरी आफ्नो कर्तव्य पूरा गर्न सक्छन् र? कतिपय झूटा अगुवाहरूले सत्यता सिद्धान्तहरू बुझ्दैनन्, तैपनि आफूलाई चर्चापरिचर्चामा राख्‍न मन पराउँछन्। तिनीहरूले काम राम्ररी गर्न सक्दैनन्, तर पद त्याग्‍न मान्दैनन्, आफ्नो पदमै टाँसिरहन्छन् र त्यहाँबाट जाँदैनन्। त्यस्ता अगुवाहरूलाई कसरी निराकरण गर्नुपर्छ? (तिनीहरूलाई बर्खास्त गर्नुपर्छ।) तिनीहरूलाई बर्खास्त गर्नु त सजिलो छ; तर समस्या भनेको तिनीहरूको कामको जिम्मा लिनका लागि अझै राम्रो व्यक्ति छ कि छैन भन्‍ने हो। छैन भने, के तिमीहरूले यो कामको बोझ लिन सक्छौ? के तिमीहरूले महत्त्वपूर्ण कार्य-कर्मचारीहरूले जिउने स्थिर वातावरण पाउने कुराको प्रत्याभूति गर्न सक्छौ? यदि एउटा व्यक्तिले यसलाई सम्हाल्न सक्दैन भने, के तिमीहरू चारपाँच जना सहकार्य गरेर यो कामको बोझ लिन सक्छौ? यदि तिमीहरूले पनि यो कामको व्यवस्थापन गर्न सक्दैनौ भने—यदि तिमीहरूले यस्तो सरल कामसमेत गर्न सक्दैनौ भने, एउटा आधारभूत जिउने वातावरणसमेत सुनिश्‍चित गर्न सक्दैनौ भने—तिमीहरूले अस्थायी रूपमा अलिक बढी कठिनाइ र कष्ट भोग्‍नैपर्छ। यदि तिमीहरू अझै पनि आफ्नो कर्तव्य पूरा गर्नमा अड्डी कस्‍न सक्छौ, र कष्ट भोग्‍ने तिमीहरूको सङ्कल्प पर्याप्त रूपमा दह्रिलो देखेर परमेश्‍वरले उक्त काम गर्नका लागि भरपर्दो रूपमा कामकुराहरू सम्हाल्ने र समस्याहरू सुल्झाउन सक्‍ने कसैलाई पठाउनुभयो भने, तिमीहरूका कष्ट भोग्‍ने दिनहरू समाप्त हुनेछन् र तिनलाई असल दिनहरूले प्रतिस्थापन गर्नेछन्। यदि ती समस्याहरू सुल्झाउन यस्तो कोही पनि आएन भने, तिमीहरूले आफ्नो नियति स्विकार्नैपर्छ—तिमीहरूको भाग्यमै कष्ट भोग्‍न लेखिएको छ, यो तिमीहरूले भोग्‍नकै लागि हो; तिमीहरूले हृदय शान्त पारेर यो कुरा भोग्‍नैपर्छ। वास्तवमा, यो थोरै कष्ट भोग्‍नु सार्थक नै हुन्छ; यो जेलमा बसेर यातना भोग्‍नुभन्दा निकै राम्रो कुरा हो। कम्तीमा पनि तँ यातना वा सोधपुछको सिकार हुँदैनस्; तैँले अझै पनि परमेश्‍वरका वचनहरू पढ्न, आफ्नो कर्तव्य पूरा गर्न, र दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर मण्डली जीवन जिउन सक्छस्। बाटोमा केही डरभाव, असफलता, र अड्चन भए पनि, र तैँले बारम्बार ठाउँ सर्नुपरे पनि, यो तेरो जीवनको असाधारण अनुभव नै हो, जसबाट तैँले पाठहरू सिक्‍न र केही प्राप्त गर्न सक्छस्। के यो निकै राम्रो कुरा होइन र? (हो।) मानिसहरूमा कष्ट भोग्‍ने सङ्कल्प हुनुपर्छ, र तिनीहरूले परमेश्‍वरलाई उहाँकै चाहनाअनुसार कामकुरा योजनाबद्ध गर्न दिनुपर्छ। यदि तैँले साँच्‍चै नै यो कष्ट भोग्‍न सक्दैनस् भने, तैँले हृदयदेखि नै यसरी परमेश्‍वरलाई प्रार्थना गर्न सक्छस्: “हे परमेश्‍वर, बिन्ती छ, कष्ट भोगिरहेका हामीलाई हेर्नुहोस्—हामी कति दयनीय छौँ! हामी कुनै गुनासो वा पछुतोविना तपाईँलाई पछ्याउँछौँ! बिन्ती छ, तपाईँप्रतिको हाम्रो अटल बफादारीलाई ध्यानमा राख्दै, यो कष्टको जीवन अन्त्य गरिदिनुहोस्! बिन्ती छ, उपयुक्त ठाउँ खोजिदिने उपयुक्त अगुवा वा कामदार पठाइदिनुहोस्! हामीले हरेक दिन बाहिर बसेर एक ठाउँबाट अर्को ठाउँ सर्दै निरन्तर दुःख भोगिरहेका छौँ, र यो कति लामो समयसम्म जारी रहनेछ भन्‍ने कुरा हामीलाई थाहा छैन। हामी उप्रान्त विस्थापित हुन चाहँदैनौँ—हामीलाई स्थिर आवास खोजिदिनुहोस्!” के यसरी प्रार्थना गर्नु उचित हुन्छ? तैँले यसरी प्रार्थना गर्न सक्छस्; वातावरणका आवश्यकताहरूका आधारमा, तैँले यसरी प्रार्थना गर्नुपर्छ।

अर्को दृष्टिकोणबाट हेर्दा, कष्ट भोग्‍नु त्यति खराब कुरा होइन; केही कष्ट भोग्नाले तेरो इच्छाशक्ति खारिन सक्छ। तेरो इच्छाशक्ति खार्नु भनेको के हो? यसको अर्थ यो कष्ट निरन्तर भोगेपछि, तँ यसप्रति भावशून्य बन्छस् र यसलाई कष्ट मान्‍न छोड्छस्; जति नै कष्ट भोगे पनि तँलाई अब पीडा हुँदैन। तर, परिस्थितिहरू सामना गर्दा, तैँले केही पाठहरू सिक्‍नैपर्छ, केही अन्तर्ज्ञान प्राप्त गर्नैपर्छ, र मानिसहरूलाई कसरी खुट्ट्याउने भनेर जान्‍नैपर्छ। यदि कुनै अगुवा वा कामदारको क्षमता अत्यन्तै कमजोर छ र उसले वासस्थानको बन्दोबस्त गर्ने कामसमेत राम्ररी गर्न सक्दैन भने, उसले कसरी परमेश्‍वरका चुनिएका मानिसहरूलाई भरणपोषण र अगुवाइ गर्न सक्छ? त्यस्ता मानिसहरू अगुवा वा कामदार हुन लायक हुँदैनन्। परमेश्‍वरको घरसँग घरको भाडा दिने पैसा नभएको होइन, र यसले बस्‍नका लागि स्थिर ठाउँ नभएका दाजुभाइ-दिदीबहिनीहरूलाई हेरेर बसिरहन चाहँदैन। परमेश्‍वरको घरले मानिसहरूले सधैँ कष्ट भोग्‍नुपर्छ वा हरदिन कठिन जीवन जिउनुपर्छ भन्‍ने कुराको वकालत गर्दैन, तैपनि अवश्यै मानिसहरूले कुनै कष्ट भोग्‍ने कुरामा पछि पनि हट्दैन। तर यदि अगुवा र कामदारहरूले वासस्थानको बन्दोबस्त गर्ने कामसमेत सम्हाल्न सक्दैनन्, र कुनै पनि उचित कुरा गर्नु तिनीहरूका लागि साँच्‍चै नै सङ्घर्षको कुरा हुन्छ भने, तिनीहरूले धाक देखाउनका लागि के नै बाँकी हुन्छ र? तिनीहरूमध्ये प्रत्येक जना सभ्य नै देखिन्छन्, तिनीहरूसँग डिप्लोमा हुन्छ, र तिनीहरू हैसियत भएका व्यक्तिहरू हुन्छन्, तैपनि यो सानो मामला सम्हाल्‍ने काम तिनीहरूका लागि त्यस्तो सङ्घर्षमय हुन्छ। त्यस्तो अवस्थामा, गर्नका लागि केही कुरा हुँदैन—तैँले बस यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्न मात्रै सक्छस्। यो मानिसहरूले भोग्‍नुपर्ने कष्ट हो; तैँले परमेश्‍वरलाई उहाँले चाहेअनुसार कामकुरा योजनाबद्ध गर्न दिनुपर्छ। यो सही कुरा हो। सायद एक दिन, यो कष्टपछि राम्रा दिनहरू आउनेछन्, र त्यसउप्रान्त यस्तो जीवन जारी रहनेछैन। तँ जस्तोसुकै वातावरणमा भए पनि, तैँले समर्पणताको मनोवृत्ति कायम राख्‍नुपर्छ र तँ गुनासो गर्नबाट परै बस्‍नुपर्छ। यदि कुनै निश्‍चित अगुवा वा कामदार भरोसा गर्न नसकिने छ र उसले काम राम्ररी गर्दैन भने, यसलाई परमेश्‍वरप्रतिको तेरो इमानदारी र बफादारीमा असर पार्न नदे, र यसलाई परमेश्‍वरप्रतिको तेरो समर्पणता र परमेश्‍वरप्रतिको समर्पित मनोवृत्तिमा असर पार्न नदे। यसरी, तँ यो मामलामा दह्रिलो गरी खडा भएको हुनेछस्। अगुवा र कामदारहरू साधारण मानिसहरू मात्रै हुन्। यदि तिनीहरूको क्षमता कमजोर छ र तिनीहरूले काम गर्न सक्दैनन् भने, वा यदि तिनीहरू आफ्नो जिम्मेवारी पूरा नगर्ने झूटा अगुवाहरू हुन् भने, त्यो तिनीहरूको व्यक्तिगत समस्या हो र परमेश्‍वरको घरसँग यसको कुनै सम्बन्ध हुँदैन। तिनीहरूलाई परमेश्‍वरको घरले यसरी व्यवहार गर्न निर्देशन दिएको होइन; यो त तिनीहरूको गैरजिम्मेवारीका कारण तिनीहरूलाई प्रकाश गरिएको मात्र हो। तिनीहरू परमेश्‍वरको घरले तिनीहरूलाई सुम्पिएको काम पूरा गर्न सक्दैनन्, त्यसकारण तिनीहरूलाई बर्खास्त गर्न र हटाउन मात्रै सकिन्छ। त्यस्ता परिस्थितिहरूमा, जब परमेश्‍वरका चुनिएका मानिसहरूले यो कष्ट भोग्छन्, तब तिनीहरूले यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्नुपर्छ र परमेश्‍वरलाई उहाँले चाहेअनुसार कामकुरा योजनाबद्ध गर्न दिनुपर्छ। अगुवा र कामदारहरूले राम्ररी काम नगरेका भए पनि वा तिनीहरूसँग समस्याहरू भए पनि, परमेश्‍वर सत्य, मार्ग, र जीवन हुनुहुन्छ भन्‍ने तथ्य सधैँ अपरिवर्तनीय नै रहन्छ। तैँले परमेश्‍वरलाई पछ्याउने, परमेश्‍वरमा समर्पित हुने, र परमेश्‍वरका वचनहरू स्विकार्ने कार्य कहिल्यै परिवर्तन हुनु हुँदैन। यी अनन्त सत्यताहरू हुन्। कर्तव्य पूरा गरिरहँदा, जस्तोसुकै अप्रिय मामिलाहरू देखा परे पनि तैँले तिनलाई परमेश्‍वरबाट आएका हुन् भनेर स्विकार्नुपर्छ र तीभित्रका पाठहरू सिक्‍नुपर्छ। तैँले आफूलाई परमेश्‍वरअघि शान्त पार्नुपर्छ र उहाँलाई प्रार्थना गर्नुपर्छ, र आफूलाई बाहिरी संसारको प्रभावमा पर्न दिनु हुँदैन। तैँले विभिन्‍न वातावरणहरूमा अनुकूल हुन सिक्‍नैपर्छ र हरप्रकारका वातावरणहरूमा परमेश्‍वरको काम अनुभव गर्न सिक्‍नैपर्छ। यसरी मात्रै तैँले जीवन प्रवेश हासिल गर्न सक्छस्। कति मानिसहरूको कद सानो हुन्छ; जब कष्ट पैदा हुन्छ, तब तिनीहरू गुनासो गर्छन् र चिन्तित हुन्छन्, र व्यथामा पर्छन् र परमेश्‍वरमाथिको आस्था गुमाउँछन्—यो अत्यन्तै मूर्ख र अज्ञानी कुरा हो! वास्तविक काम नगर्ने अगुवा र कामदारहरूलाई प्रकट गरिएको र हटाइएको छ, तर यो कुरासँग तेरो के सम्बन्ध छ? तिनीहरूले कामकुराहरू अनुचित रूपमा बन्दोबस्त गरेकै कारण तँ किन नकारात्मक हुन्छस् र परमेश्‍वरबाट टाढिन्छस्? के यो पूर्णतया विद्रोही कार्य होइन र? (हो।) जब मानिसहरूले कुनै गलत काम गर्छन्, तब तैँले तिनीहरूलाई खुट्ट्याउन र इन्कार्न सक्छस्, तर परमेश्‍वरलाई इन्कार्ने वा सत्यतालाई इन्कार्ने नगर्। सत्यता गलत हुँदैन, र परमेश्‍वर गलत हुनुहुन्‍न। परमेश्‍वरको मूल आशय भनेको मानिसहरूले यस्तो कष्ट भोग्‍नुपर्छ भन्‍ने होइन; तर भ्रष्ट मानवजातिका लागि, केही कष्ट भोग्‍नु निश्‍चय नै जरुरी हुन्छ। अलिकति कष्ट भोग्‍नु तेरा लागि फाइदाजनक नै हुन्छ; त्यो फाइदा के हो भने, तैँले पाठहरू सिक्छस् र समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्न सिक्छस्। यदि तैँले विभिन्‍न कठिनाइहरू भोग्‍न सक्छस् भने, तैँले केही सहनशीलता प्राप्त गर्छस्, र तँ हरकिसिमका वातावरणहरूमा आफ्नो गवाहीमा दह्रिलो गरी खडा हुन सक्छस्। कष्ट भोग्‍न सक्‍नुले परमेश्‍वरमा समर्पित हुने तेरो सङ्कल्पलाई निखार्छ। यो परमेश्‍वरको मूल आशय र परमेश्‍वरले तँमा देख्‍न चाहनुहुने परिणाम हो। यदि तैँले परमेश्‍वरका अभिप्रायहरू बुझ्न र परमेश्‍वरका अभिप्रायअनुसार काम र अभ्यास गर्न सक्छस् भने; यदि तैँले जस्तोसुकै प्रकारका मानिसहरू वा वातावरणहरू सामना गरे पनि परमेश्‍वरलाई त्याग्‍नबाट आफूलाई रोक्‍न सक्छस् भने; अनि यदि तैँले तेरो देहले जति नै कष्ट भोगे पनि सत्यता अभ्यास गर्न, परमेश्‍वरमा समर्पित हुन, सही बुझाइ र मनोवृत्ति राख्‍न, र परमेश्‍वरमाथिको अपरिवर्तनीय आस्था कायम राख्‍न सक्छस्, र परमेश्‍वरबारे गुनासो गर्न वा हृदयमा उहाँबाट टाढिनबाट तँ जोगिन सक्छस् भने; तँसँग कद छ।

अगुवा र कामदारहरूले महत्त्वपूर्ण कर्तव्य पूरा गर्ने मानिसहरूको सुरक्षा गर्नैपर्छ, र तिनीहरूलाई बाहिरी संसारको हस्तक्षेपबाट जोगाउनैपर्छ। यस काममा धेरै कुराहरू समावेश छन्। एक हिसाबमा, अगुवा र कामदारहरूले यी विस्तृत कामहरूलाई कसरी निर्दिष्ट रूपमा लागू गर्ने भन्‍ने कुरा बुझ्नुपर्छ। यसका साथै, निश्‍चित विशेष परिस्थितिहरू सामना गर्दा, तिनीहरूले सही मूल्याङ्कन गर्नैपर्छ, र त्यसपछि परिस्थितिहरू सम्हाल्नेबारे उपयुक्त सिद्धान्तहरू खोज्नैपर्छ र निश्‍चित योजनाहरू विकास गर्नैपर्छ। अन्तिम उद्देश्य भनेको हरप्रकारका महत्त्वपूर्ण कार्य-कर्मचारीहरूको सुरक्षा सुनिश्‍चित गर्नु हो। यसरी मात्रै सुसमाचार प्रचारको काम व्यवस्थित रूपमा अघि बढ्ने कुराको प्रत्याभूति गर्न सकिन्छ। यो सिद्धान्त पालना गर्नु सही कुरा हो; अगुवा र कामदारहरूले यो काम गर्नुको उद्देश्य र सिद्धान्त यही हो। यदि अगुवा र कामदारहरूले यो उद्देश्य र सिद्धान्त सही रूपमा पालना गर्छन् भने, तिनीहरू आधारभूत रूपमा यो काम गर्नमा मानकअनुरूपका हुन्छन्। यस काममा अरू के-कस्ता समस्याहरू समावेश हुन्छन्? कतिपय मानिसहरू भन्छन्, “म पहिले कहिल्यै अगुवा वा कामदार भएको छैनँ, न त मैले यस्ता कुराहरू नै सामना गरेको छु। यो काममा मैले के गर्नुपर्छ भन्‍ने कुरा मलाई थाहा छैन, र यो कसरी गर्ने भन्‍ने पनि थाहा छैन। त्यसैले, यो काम मैले गर्नु आवश्यक छैन—तिमीहरू सुरक्षित छौ कि छैनौ, कसलाई के मतलब? तिमीहरू आफै यो कुरा सम्हाल।” के तिनीहरूले यो विषयमा यत्तिकै हात टकटक्याउनु स्वीकार्य हुन्छ? (अहँ, हुँदैन।) त्यस्ता अगुवा र कामदारहरूलाई हटाइनुपर्छ। यदि तैँले वास्तविक काम गर्दैनस् भने, तेरो के काम? तँ सुन्दर देखिन्छस् भनेर हामीले तँलाई सजावटका रूपमा राख्‍नुपर्ने हो र? यस्ता अगुवा र कामदारहरूलाई बर्खास्त गरिनैपर्छ र हटाइनैपर्छ; तिनीहरूलाई कुनै काम नगरी पद ओगटिराख्‍न दिनु हुँदैन। झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन्—तिनीहरूमा विवेक वा समझ हुँदैन, हुन्छ र? यदि तिनीहरूमा साँच्‍चै नै विवेक र समझ हुन्थ्यो भने, समस्याहरू देखा पर्दा तिनीहरूले किन तिनलाई समाधान गर्न सत्यताको खोजी गर्दैनन्? सबै कुरा जानेर कोही जन्मिँदैन; सबैले बिस्तारै सिक्दै जाने हो। यदि तैँले सत्यताको खोजी गर्न सक्छस् भने, तैँले काम राम्ररी गर्ने उपाय भेट्टाउनेछस्। यदि तँमा जिम्मेवारीबोध छ भने, तैँले काम राम्ररी गर्ने उपाय सोच्नेछस्। अगुवाइको काम गर्नु वास्तवमा गाह्रो छैन; व्यक्तिले सत्यताको खोजी गर्न सक्छ भने, उसलाई काम राम्ररी गर्न सजिलै हुन्छ। साथै, अगुवा र कामदारहरूका सहकर्मीहरू पनि हुन्छन्; दुई-तीन जना मानिसहरू एउटै हृदय र मनका भए भने, कुनै पनि काम पूरा गर्न सजिलो हुन्छ। अहिले, धेरै अगुवा र कामदारहरूले तालिम लिइरहेका छन्; तिनीहरूले समस्याहरू समाधान गर्न सबै कुरामा सत्यताको खोजी गर्ने तालिम लिइरहेका छन्। यस विन्दुमा, कम्तीमा पनि केही न केही अगुवा र कामदारहरू अगुवाइको काम गर्न पूर्ण रूपमा सक्षम हुन्छन् र तिनीहरूले सुसमाचार फैलाउने काम राम्ररी गर्न सक्छन्, होइन र? (हो।) त्यसकारण, आजका लागि हामी यही बुँदासम्म सङ्गति गर्नेछौँ। अलबिदा!

जुलाई २०, २०२४

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्