अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२७) खण्ड चार

कुनै पनि बेला मण्डली छोडेर जान सक्‍ने मानिसहरू कस्ता प्रकारका मानिस हुन्? एक प्रकारका मानिसहरू दिमाग नभएका, विचारहीन, अलमल्ल हुन्छन्, जसलाई आफूले परमेश्‍वरमा किन विश्‍वास गर्छु भन्ने नै थाहा हुँदैन, चाहे तिनीहरूले जतिसुकै वर्ष विश्‍वास गरेको किन नहोस्। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो भन्ने तिनीहरूलाई थाहै हुँदैन। अर्को प्रकारका मानिसहरू अविश्‍वासीहरू हुन्, जसले परमेश्‍वरको अस्तित्वमा पटक्कै विश्‍वास गर्दैनन् र परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ वा मूल्य बुझ्दैनन्। तिनीहरूका लागि प्रवचनहरू सुन्नु र परमेश्‍वरका वचनहरू पढ्नु भनेको ईश्‍वरशास्त्र अध्ययन गर्नु वा केही व्यावसायिक ज्ञान सिक्नु जस्तै हो—तिनीहरूले यसलाई बुझेपछि र तिनीहरू यसबारे कुरा गर्न सक्ने भएपछि, तिनीहरूले यो काम पूरा भयो भन्ठान्छन्। तिनीहरूले यसलाई कहिल्यै अभ्यास गर्दैनन्। तिनीहरूका लागि, परमेश्‍वरका वचनहरू एक प्रकारको सिद्धान्त, एउटा नारा मात्रै हुन्, र ती कहिल्यै तिनीहरूको जीवन बन्न सक्दैनन्। त्यसकारण, परमेश्‍वरमा विश्‍वास गर्नेसँग सम्बन्धित कुनै पनि कुराप्रति तिनीहरूलाई रुचि हुँदैन। आफ्नो कर्तव्य पूरा गर्नु, सत्यता पछ्याउनु, परमेश्‍वरका वचनहरू अभ्यास गर्नु, दाजुभाइ-दिदीबहिनीहरूसँग भेला हुनु र सँगै मण्डली जीवन जिउनु, इत्यादि जस्ता कुराहरूले तिनीहरूलाई कुनै पनि हिसाबमा आकर्षित गर्दैनन्, र यीमध्ये कुनै पनि कुराले तिनीहरूलाई खाँदा, पिउँदा, र रमाइलो गर्दा पाइने खुसी र उत्साह दिँदैन। अर्कोतर्फ, परमेश्‍वरका इमानदार विश्‍वासीहरूलाई सत्यता सङ्गति गर्न वा मण्डली जीवन जिउनका लागि दाजुभाइ-दिदीबहिनीहरूसँगै रहनुले सधैँ तिनीहरूलाई फाइदा र प्राप्तिहरू ल्याउन सक्छ भन्ने लाग्छ। कहिलेकाहीँ तिनीहरूले खतरा र सतावट सामना गर्ने भए पनि, वा सुसमाचार प्रचार गर्दा जोखिम उठाउने र आफ्नो कर्तव्य पूरा गर्दा केही कष्ट भोग्ने भए पनि, चाहे जेसुकै होस्, तिनीहरूले कष्ट सहेर र मूल्य चुकाएर सत्यताको बुझाइ प्राप्त गर्छन् र परमेश्‍वरलाई चिन्ने परिणाम हासिल गर्छन्, र यो कष्ट र मूल्यले तिनीहरूको जीवन स्वभावमा रुपान्तरण ल्याउँछ। यो सबै कुरालाई तौलेपछि र मूल्याङ्कन गरेपछि, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु राम्रो कुरा हो, र सत्यता बुझ्न सक्नु अत्यन्तै बहुमूल्य कुरा हो भन्ने महसुस गर्छन्। तिनीहरूको हृदय विशेष रूपमा मण्डलीसँग जोडिन्छ, र तिनीहरूले मण्डली जीवन त्याग्ने कुरा कहिल्यै सोच्दैनन्। यदि परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्नेहरूले केही व्यक्तिहरूलाई मण्डलीको काममा बाधा दिएकोमा मण्डलीद्वारा ख समूहहरूमा पठाइएको वा एकल्याइएको वा निकालिएको देखे भने, तिनीहरूले हृदयमा थोरै सन्ताप महसुस गर्छन्। तिनीहरूले सोच्छन्, “मैले लगनशीलताका साथ आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। म बिलकुलै निकालिन मिल्दैन। निकालिनु भनेको दण्ड पाउनुसरह हो, जसको अर्थ नरक जाने परिणाम हो! त्यसपछि त जिउनुको के अर्थ हुन्छ र?” धेरैजसो मानिसहरू मण्डली छोडेर जान डराउँछन्; तिनीहरूलाई आफूले मण्डली र परमेश्‍वरलाई छोडेपछि, जिइरहन सकिँदैन र सबै कुरा समाप्त हुनेछ भन्ने लाग्छ। तर कुनै पनि बेला मण्डली छोडेर जान सक्‍ने मानिसहरूले मण्डली छोड्नुलाई एउटा जागिर छोडेर अर्को खोज्नु जस्तै सामान्य कुराका रूपमा लिन्छन्। तिनीहरूलाई कहिल्यै व्यथित महसुस हुँदैन वा भित्र कुनै पीडा हुँदैन। तिमीहरूलाई के लाग्छ—कुनै पनि बेला मण्डली छोडेर जान सक्‍ने मानिसहरूमा कुनै विवेक वा समझ हुन्छ? त्यस्ता मानिसहरू साँच्चै नै उदेकलाग्दा हुन्छन्! कतिपय मानिसहरूको कर्तव्य निर्वाह मानकअनुरूप हुँदैन, र तिनीहरूले सधैँ लापरवाह रूपमा दुष्कर्म गर्छन्, जसले गर्दा मण्डलीको काममा बाधा र अवरोधहरू आइपर्छन्। त्यसपछि मण्डलीले तिनीहरूलाई कर्तव्य पूरा गर्नबाट रोक्छ र कुनै साधारण मण्डलीमा पठाउँछ। त्यसोभए, परिणामस्वरूप के हुन्छ? भोलिपल्ट नै, तिनीहरूले पूर्णतया फरक व्यक्तिझैँ व्यवहार गर्छन्, र पूर्ण रूपमा नयाँ जीवन सुरु गर्छन्। कतिले डेटिङ गर्न थाल्छन् र विवाह गर्छन्, कतिले जागिर खोज्न थाल्छन्, अरू कलेज जान्छन्, र अन्यले फेरि पुराना साथीहरूसँग जोडिन्छन्, सम्पर्कहरू बढाउँछन्, र धनी बन्ने अवसरहरू खोज्छन्। यी मानिसहरू तुरुन्तै विशाल संसारमा मिसिन्छन्, र मानवताको समुद्रमा हराउँछन्—यो कुरा त्यत्ति चाँडै हुन्छ। कतिपय दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्दा खराब परिणामहरू प्राप्त गरेका कारण साधारण मण्डलीमा पठाइएपछि, तिनीहरू केही समयसम्म वेदनामा पर्छन् तर तिनीहरूले आत्मचिन्तन गर्न र आफ्ना समस्याहरू पहिचान गर्न सक्छन्, र सुध्रिने केही मनोवृत्ति देखाउँछन्। तर, कुनै पनि बेला मण्डली छोडेर जान सक्‍ने मानिसहरूले केही कठिनाइहरू सामना गर्नेबित्तिकै, उप्रान्त आफ्नो कर्तव्य पूरा गर्न चाहँदैनन् र भोलिपल्ट नै मण्डली छोडेर गैरविश्‍वासीको जीवनमा फर्केर जान्छन्। तिनीहरूलाई पटक्कै पीडा महसुस हुँदैन र तिनीहरूले यस्तो समेत सोच्छन्, “परमेश्‍वरमा विश्‍वास गर्नुमा यति राम्रो कुरा के छ र? तिमीहरूलाई अरूले निरन्तर गिल्ला र बदनाम गर्छन्, र तिमीहरू पक्राउ पर्ने र जेल पर्ने समेत सम्भावना हुन्छ। यदि ठूलो रातो अजिङ्गरले मलाई कुटेर मार्‍यो भने, के मेरो जीवन व्यर्थ हुनेछैन र? मैले परमेश्‍वरमा यतिका वर्ष विश्‍वास गर्दा धेरै कष्ट भोगेको छु, तर मैले के पाएँ? यदि मैले परमेश्‍वरमा विश्‍वास नगरेको भए, अहिलेसम्म त म पदाधिकारी बनेको हुनेथिएँ, मैले पैसा कमाएको, र प्रतिष्ठित जीवन जिइरहेको हुनेथिएँ! अहिलेसम्म परमेश्‍वरमा विश्‍वास गरेकोमा, मलाई पछुतो समेत हुन्छ—यदि मलाई यस्तो हुन्छ भन्ने थाहा भएको भए, म धेरै पहिले नै गइसक्थेँ! सत्यता बुझ्नुको के फाइदा? के त्यो बुझाइले तिमीलाई खान दिन्छ वा तिम्रो खर्च जुटाइदिन्छ?” देख्यौ त? तिनीहरूलाई कुनै पछुतो नहुने मात्र नभई तिनीहरूले मण्डली छोडेर जान सकेकोमा आफूलाई भाग्यमानी समेत ठान्छन्। के यो अविश्‍वासीका रूपमा तिनीहरूको साँचो मुहार खुलासा भएको होइन र? (हो।)

कतिपय मानिसहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्दा झाराटारुवा हुने र लापरवाह दुष्कर्म गर्ने बानी परेको हुन्छ। मण्डलीले निकालेपछि, जब तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्छन्, तब तिनीहरूले उनीहरूलाई शत्रुझैँ हेर्छन्। दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूसँग राम्रो अभिप्राय राखेर कुरा गर्ने प्रयास गर्दा पनि, तिनीहरूले उनीहरूलाई बेवास्ता गर्छन् र यसो भन्दै घृणाको नजरले हेर्छन्, “मलाई मण्डलीबाट निकाल्ने तिमीहरू नै हौ। अहिले मलाई हेर त! मेरो अवस्था तिमीहरूको भन्दा राम्रो छ! अहिले म सुन र चाँदीले सजिएको छु, म महत्त्वपूर्ण व्यक्ति हुँ! म संसारमा यति सहज रूपमा जिइरहेको छु, तर परमेश्‍वरमा विश्‍वास गर्नमा तिमीहरू कति जर्जर र थकित छौ, हेर त! तिमीहरू सबै निरन्तर सत्यता प्राप्ति पछ्याइरहेका हुन्छौ, तर मलाई तिमीहरू मभन्दा चलाख छौ जस्तो लाग्दैन! सत्यता प्राप्त गर्नुमा यति राम्रो के छ र? के यसलाई खानेकुरा जस्तै खान वा पैसा जस्तै खर्च गर्न सकिन्छ? सत्यता नपछ्याए पनि, म निकै राम्ररी जिइरहेको छु, होइन र? तिमीहरूले मलाई निकाल्नु मेरो सौभाग्य थियो—मैले यसका लागि तिमीहरूलाई धन्यवाद दिनुपर्छ!” तिनीहरू अविश्‍वासी हुन्, र आफ्नो कर्तव्य पूरा गर्दा त्यसले तिनीहरूलाई प्रकट गरेको छ भन्ने कुरा तिनीहरूको बोलीवचनबाट स्पष्ट हुन्छ। के परमेश्‍वरमा मौखिक रूपमा मात्रै विश्‍वास गर्ने गैरविश्‍वासीले स्वेच्छाले आफ्नो कर्तव्य पूरा गर्न सक्छ? आफ्नो कर्तव्य पूरा गर्नु भनेको ज्याला नलिई वा पैसा नकमाई जिम्मेवारी र दायित्वहरू पूरा गर्नु हो। तिनीहरूले यसलाई घाटाका रूपमा हेर्छन्, त्यसकारण तिनीहरू आफ्नो कर्तव्य पूरा गर्न अनिच्छुक हुन्छन्। यसरी अविश्‍वासीका रूपमा तिनीहरूको साँचो रङ्ग खुलासा हुन्छ; परमेश्‍वरको कामले अविश्‍वासीहरूलाई यसरी नै प्रकाश गर्छ र हटाउँछ। कतिपय मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्दा सधैँ झाराटारुवा मनोवृत्ति अपनाउँछन्, र दिनप्रतिदिन बरालिएर हिँड्ने काम मात्रै गर्छन्। संसारमा पैसा कमाउने वा बढुवा पाउने मौका पाउने बित्तिकै, तिनीहरूले कुनै पनि बेला मण्डली छोड्छन्—तिनीहरूको मनमा सधैँ यही अभिप्राय रहिआएको हुन्छ। यदि आफ्नो कर्तव्य पूरा गर्ने क्रममा तिनीहरूलाई झाराटारुवा हुने र लापरवाह दुष्कर्म गर्ने बानी परेकाले तिनीहरूलाई साधारण मण्डलीमा स्थानान्तर गरियो भने, तिनीहरूले आत्मचिन्तन नगर्ने मात्र नभई यस्तो पनि सोच्नेछन्, “तिमीले मलाई पूर्णकालीन कर्तव्य मण्डलीबाट पखाल्नु भनेको तिम्रा लागि घाटा हो र मेरा लागि फाइदा हो।” तिनीहरूलाई आफूदेखि निकै खुसी समेत लाग्छ। के त्यस्ता मानिसहरू अविश्‍वासी होइनन् र? ल भन त, लापरवाह दुष्कर्ममार्फत मण्डलीको काममा गम्भीर बाधा र अवरोध ल्याएका कारण पखालेर फालिएका ती अविश्‍वासीहरूका हकमा भन्दा, के परमेश्‍वरको घरले तिनीहरूलाई यसरी पखालेर फाल्नु सिद्धान्तहरू अनुरूप हुन्छ? (हुन्छ।) यो पूर्णतया सिद्धान्तहरू अनुरूप छ; यो तिनीहरूलाई अलिकति पनि अन्याय गर्नु होइन। परमेश्‍वरप्रति र आफ्नो कर्तव्य पूरा गर्नेप्रति तिनीहरूको मनोवृत्ति यस्तो हुन्छ कि तिनीहरूले कुनै पनि बेला तिनलाई त्याग्न र धोका दिन सक्छन्। तिनीहरूको हृदयमा सकारात्मक कुराहरूप्रति कुनै रुचि हुँदैन भन्ने कुरा प्रमाणित गर्न यो नै पर्याप्त हुन्छ। तिनीहरूले धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरेका हुन्छन् र धेरै प्रवचनहरू सुनेका हुन्छन्, तैपनि परमेश्‍वरमा विश्‍वास गर्नेसम्बन्धी कुनै पनि सत्यताहरू वा परमेश्‍वरका चुनिएका मानिसहरूका अनुभवात्मक गवाहीहरूले तिनीहरूको हृदयलाई टिकाइराख्न सक्दैनन्। यीमध्ये कुनै पनि कुराले तिनीहरूको चासो जगाउँदैन, तिनीहरूलाई छुँदैन, वा लगाव महसुस गराउँदैन। तिनीहरूको मानवताको सार यही हो, जुन तिनीहरूलाई सकारात्मक कुराहरूप्रति कुनै चासो नहुनु हो। त्यसोभए, तिनीहरूलाई के कुरामा चासो हुन्छ? तिनीहरूलाई खाने, पिउने, र रमाइलो गर्ने, देहसुखहरू, दुष्ट प्रचलनहरू, र शैतानका दर्शनहरूमा चासो हुन्छ। तिनीहरूलाई समाजका सबै नकारात्मक कुराहरूमा विशेष चासो हुन्छ; तिनीहरूलाई सत्यता र परमेश्‍वरका वचनहरूमा मात्र चासो हुँदैन। त्यसकारण त तिनीहरू कुनै पनि बेला परमेश्‍वरको घर छोडेर जान सक्छन्। परमेश्‍वरको घरका भेलाहरूमा बारम्बार परमेश्‍वरका वचनहरू पढ्ने वा बारम्बार सत्यता सङ्गति गर्ने कार्यप्रति तिनीहरूलाई कुनै चासो हुँदैन। तिनीहरू कर्तव्य पूरा गर्नुप्रति विशेष रूपमा विकर्षित हुन्छन् र आफ्नो कर्तव्य पूरा गर्नेहरू सबै मूर्ख हुन् भन्ने समेत सोच्छन्। यो कस्तो प्रकारको मानसिकता र कस्तो प्रकारको मानवता हो? तिनीहरूलाई सत्यता वा मानिसहरूलाई परमेश्‍वरले दिनुहुने मुक्तिप्रति कुनै चासो हुँदैन, र तिनीहरूलाई मण्डली जीवनप्रति कुनै लगाव महसुस हुँदैन। तिनीहरूले परमेश्‍वरका वचनहरूलाई खुलेर आलोचना वा निन्दा नगरेका भए पनि, तिनीहरूले अलिकति पनि सत्यता नबुझी धेरै वर्षदेखि प्रवचनहरू सुनेका हुन्छन्—यसले स्पष्ट रूपमा समस्याको सङ्केत गर्छ। सकारात्मक र नकारात्मक दुवै कुराद्वारा कोही पनि विकर्षित हुँदैन। तँलाई सकारात्मक कुराहरू मन नपरुञ्जेल, नकारात्मक कुराहरूमा विशेष चासो हुनेछ। यदि तँलाई नकारात्मक कुराहरूमा विशेष चासो छ भने, तँलाई सकारात्मक कुराहरूमा निश्चय नै चासो हुनेछैन। यस्तो व्यक्तिलाई सकारात्मक कुराहरूमा पटक्कै चासो हुँदैन, त्यसकारण परमेश्‍वरको घरमा उसलाई लगाव महसुस हुने, उसलाई मन पर्ने वा तृष्णा हुने कुरा केही पनि हुँदैन। संसारका दुष्ट प्रचलनहरू, पैसा, ख्याति र लाभ, सरकारी पद, धनी बन्नु, र विभिन्न लोकप्रिय विधर्म र भ्रमहरूमा नै उसलाई सबैभन्दा बढी चासो हुन्छ। उसको हृदय परमेश्‍वरको घरमा नभई संसारमा केन्द्रित हुन्छ, त्यसकारण ऊ कुनै पनि बेला छोडेर जान सक्छ। परमेश्‍वरको घर र मण्डली जीवन छोडेर जाँदा उसलाई कुनै पछुतो, वेदना वा पीडा हुँदैन, बरु पूर्ण राहत हुन्छ। उसले मनमनै सोच्छ: “मैले अबदेखि बल्ल हरेक दिन प्रवचनहरू सुन्नु वा सत्यताबारे सङ्गति गर्नु पर्दैन, म अब यी कुराहरूका बन्धनमा पर्नु पर्दैन। अब म साहसका साथ ख्याति र प्राप्ति पछ्याउन, पैसा पछ्याउन, सुन्दर महिलाहरूलाई पछ्याउन, र मेरा व्यक्तिगत सम्भाव्यताहरूलाई पछ्याउन सक्छु। अन्ततः, म चिन्ता नगरी निर्भिकतापूर्वक झूट बोल्न र अरूलाई ठग्न, षड्यन्त्र र युक्तिहरू कार्यान्वयन गर्न, र सबै किसिमका दुष्ट रणनीतिहरू अभ्यास गर्न सक्छु। म मानिसहरूसँग अन्तरक्रिया गर्न कुनै पनि माध्यम प्रयोग गर्न सक्छु!” परमेश्‍वरको घरमा प्रवचनहरू सुन्नु र सत्यता सङ्गति गर्नु उसका लागि पीडादायी हुन्छ, र परमेश्‍वरको घर छोडेर जाँदा उसलाई राहत महसुस हुन्छ। यसको अर्थ यी सकारात्मक कुराहरू उसको हृदयलाई चाहिने कुरा होइनन् भन्ने हुन्छ। उसलाई चाहिने त संसारका र समाजका सबै कुराहरू हुन्। यसबाट, उसले मण्डली छोडेर जानुको कारण उसका पछ्याइ र अभिरुचिहरूसँग सिधै सम्बन्धित छन् भन्ने कुरा स्पष्ट हुन्छ।

कुनै पनि बेला परमेश्‍वरको घर छोडेर जान सक्ने यी मानिसहरूको प्रकृति सार के हो? के अहिले तिमीहरूले यो के हो भन्ने देख्यौ? (देख्यौँ। तिनीहरू त्यस्ता मानिस हुन् जो अविश्‍वासी हुन्। यीमध्ये धेरैजसो मानिसहरू पुनर्जन्म भएका पशु हुन्, तिनीहरू सबै दिमाग वा विचार नभएका अन्योलमा परेका व्यक्ति हुन्।) ठीक भन्यौ। तिनीहरूले आस्थासम्बन्धी मामलाहरू बुझ्दैनन्। तिनीहरूले मानव जीवन वास्तवमा के हो, मानिसहरूले कुन मार्ग लिनुपर्छ, के-कस्ता कुराहरू गर्नु सबैभन्दा अर्थपूर्ण हुन्छ, आत्म-आचरणका सम्बन्धमा अभ्यासका के-कस्ता सिद्धान्तहरू पालना गर्नुपर्छ, इत्यादि कुरा बुझ्दैनन्, र तिनीहरू ती कुरा पत्ता लगाउनका लागि सत्यताको खोजी गर्न पनि चाहँदैनन्। तिनीहरू के कुरा पछ्याउन मन पराउँछन्? दिनभरि तिनीहरूको दिमाग फाइदाहरू प्राप्त गर्न र अरूभन्दा माथिल्लो स्तरको जीवनको आनन्द लिनका लागि के गर्न सकिन्छ भन्ने कुरामा घुमिरहेको हुन्छ। कतिपय मानिसहरूले संसारमा जागिर खाँदा नै परमेश्‍वरमा विश्‍वास गर्न थाल्छन्। तर तिनीहरूलाई सुपरिवेक्षक वा प्रबन्धकमा बढुवा गरिनेबित्तिकै, वा तिनीहरू मालिक बन्नेबित्तिकै, तिनीहरूले विश्‍वास गर्न छोड्छन्। जब दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई सम्पर्क गर्छन्, तब तिनीहरूले भन्छन्, “अब म हैसियत र ख्याति भएको, सामाजिक प्रतिष्ठा भएको व्यक्ति हुँ। तिमीहरूसँग परमेश्‍वरमा विश्‍वास गर्नु अत्यन्तै अपमानजनक कुरा हो। तिमीहरू सबै मबाट टाढा बस्नुपर्छ, र मलाई फेरि खोज्न नआओ! तिमीहरू चाहन्छौ भने मलाई हटाउन वा निष्कासित गर्न सक्छौ। जे भए पनि, परमेश्‍वरमा विश्‍वास गर्ने मेरो अध्याय समाप्त भएको छ, र अबदेखि मसँग तिमीहरूको कुनै सम्बन्ध छैन!” तिनीहरू के भन्छन्, देख्यौ त? तिनीहरू कस्ता व्यक्ति हुन्? के तिमीहरूले अझै पनि तिनीहरूलाई सम्पर्क गर्नेछौ? (गर्नेछैनौँ।) तिनीहरूले यो कुरा स्पष्ट रूपमा भनेका छन्, तैपनि कतिपय मण्डली अगुवाहरू तिनीहरूले छोडेर जाँदा पछुतो मान्छन् र तिनीहरूलाई मनाउनका लागि धेरै पटक तिनीहरूलाई सम्पर्क गर्छन्: “तपाईँसँग यति राम्रो क्षमता छ, र तपाईँ अगुवा र कामदारसमेत हुनुहुन्थ्यो। तपाईँले सत्यता नपछ्याउनुभएकाले मात्रै तपाईँलाई बर्खास्त गरिएको हो। यदि तपाईँले लगनशीलताका साथ सत्यता पछ्याउनुभयो भने, अवश्य नै मुक्ति पाउनुहुनेछ, र भविष्यमा, तपाईँ अवश्य नै परमेश्‍वरको घरको खम्बा, र आधारस्तम्भ बन्‍नुहुनेछ!” अगुवाहरूले जति बढी यी कुराहरू भन्छन्, यसले अर्को पक्षलाई त्यति नै विकर्षित गर्छ। कतिपय मण्डली अगुवाहरू अन्योलमा परेका हुन्छन् र तिनीहरूमा समझशक्तिको कमी हुन्छ; यो व्यक्तिलाई संसारमा बढुवा गरिएको थियो, तैपनि यी अगुवाहरूले अझै पनि उसको डाहा गर्छन् र ऊसँग सम्बन्ध स्थापित गर्न चाहन्छन्—के यसले आत्म-सम्मानको कमी देखाउँदैन र? सत्यता बुझ्ने मानिसहरूले यो कुरालाई स्पष्ट रूपमा देख्न सक्छन्: समाजमा बढुवा पाउनु राम्रो सङ्केत होइन; यो व्यक्तिले हिँड्ने सही मार्ग होइन! कतिपय मानिसहरूले समाजमा थोरै हैसियत प्राप्त गर्ने बित्तिकै परमेश्‍वरमा विश्‍वास गर्न छोड्छन्—यसले तिनीहरूलाई प्रकाश गर्छ र तिनीहरू परमेश्‍वरमा इमानदारीपूर्वक विश्‍वास गर्ने वा सत्यतालाई प्रेम गर्ने मानिस होइनन् भन्ने कुरालाई प्रमाणित गर्छ। यदि तिनीहरू इमानदार विश्‍वासी भएका भए, तिनीहरूलाई बढुवा गरिए पनि र समाजमा तिनीहरूको आशाजनक भविष्य भए पनि, तिनीहरूले परमेश्‍वरलाई छोडेर जानेथिएनन्। तिनीहरूले परमेश्‍वरलाई धोका दिएका हुनाले, के अब मण्डलीले तिनीहरूलाई सम्पर्क गर्नुपर्ने र तिनीहरूमाथि काम गर्नुपर्ने कुनै आवश्यकता छ? यसको कुनै आवश्यकता छैन, किनभने तिनीहरूलाई अविश्‍वासीका रूपमा प्रकाश गरिसकिएको छ। परमेश्‍वरमा विश्‍वास नगरेर, हार बेहोर्ने तिनीहरूले नै हो—तिनीहरूसँग आशिष् हुँदै हुँदैन। तिनीहरू केवल घृणित प्राणी हुन्; यदि तँ अझै पनि तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नतिर तान्न जिद्दी गर्छस् भने, के त्यो मूर्खता होइन र? तैँले तिनीहरूलाई यसरी जति तान्ने प्रयास गर्छस्, तिनीहरूले तँलाई त्यति नै हेयको नजरले हेर्छन्। तिनीहरू के सोच्छन् भने, परमेश्‍वरमा विश्‍वास गर्ने सबै निम्न सामाजिक हैसियत भएका र क्षमता नभएका मानिस हुन्। त्यसकारण तिनीहरू विशेष रूपमा अहङ्कारी र आत्म-धर्मी हुन्छन्, र सबैलाई अवहेलनाको नजरले हेर्छन्। यदि कसैले तिनीहरूप्रति चासो देखायो वा तिनीहरूलाई वास्ता गर्‍यो भने, तिनीहरूले यसलाई तिनीहरूको चापलुसी गर्ने प्रयासका रूपमा हेर्छन्। यो कस्तो मानसिकता हो? यो दाजुभाइ-दिदीबहिनीहरूलाई सही रूपमा हेर्न नसक्नु हो। के तिनीहरू इमानदारीका साथ परमेश्‍वरमा विश्‍वास गर्ने मानिस हुन्? यस्तो व्यक्तिको सामना गर्दा, तैँले उसलाई इन्कार गर्नुपर्छ। तिनीहरूले “अब म वरिष्ठ सुपरिवेक्षक बनेको छु। मलाई फेरि खोज्दै नआओ। यदि तिमीहरूले मलाई सम्पर्क गरिरह्यौ भने, म तिमीहरूको विरुद्धमा उठ्नेछु! विशेष गरी मेरो कम्पनीमा आएर मलाई लज्जित नबनाऊ—परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूसँग मेरो कुनै सम्बन्ध छैन!” भनेर भन्‍ने बित्तिकै—तिनीहरूले यी शब्दहरू बोलेपछि, तिमीहरू तुरुन्तै त्यहाँबाट जानुपर्छ, उसलाई हटाउनुपर्छ, र फेरि कहिल्यै त्यस्तो व्यक्तिको सङ्गत गर्नु हुँदैन। तिनीहरूलाई हामीले तिनीहरूको सफलताको फाइदा लिनेछौँ भन्ने डर हुन्छ; त्यसकारण हामीमा केही आत्म-सचेतना हुनुपर्छ। तिनीहरू फस्टाइरहेका र माथिल्लो स्तरमा उक्लिरहेका छन्; तिनीहरू हाम्रो स्तरभन्दा ज्यादै माथि छन्। हामी त साधारण मानिस मात्रै हौँ, समाजको तल्लो स्तरका मानिस हौँ। हामीले तिनीहरूसँग सम्बन्ध स्थापित गर्ने प्रयास गर्नु हुँदैन—त्यसरी आफूलाई तल नझार! कतिपय त्यस्ता मानिसहरू पनि हुन्छन् जो वृद्ध हुन्छन् र तिनीहरूका छोराछोरीले सहरमा विलासी घर किन्छन्। घरमा सरेपछि, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई यसो भनेर अचानक हराउँछन्: “मलाई खोज्दै फेरि नआउनू। तिमीहरू सबै गाउँका हौ। यदि तिमीहरू मलाई खोज्दै आयौ भने, मानिसहरूले म पनि गाउँबाट आएको हुँ, मेरा आफन्तहरू ग्रामीण भेगका हुन् भन्ने सोच्नेछन्। त्यो कति लाजमर्दो कुरा हुनेछ! मेरो छोरा कस्तो व्यक्ति हो, तिमीहरूलाई थाहा छ? ऊ पैसावाला व्यक्ति हो, ऊ धनी मान्छे हो, र सार्वजनिक रूपमा चिनिएको मान्छे हो! यदि तिमीहरू मसँग सम्पर्कमा रह्यौ भने, के त्यो मेरो छोराका लागि अपमानजनक हुनेछैन र? त्यसैले भविष्यमा मलाई फेरि खोज्दै नआओ!” तिनीहरूले यी शब्दहरू भन्ने बित्तिकै, यति मात्र जवाफ देओ: “तपाईँको मनोवृत्ति यस्तै हो भने, हामी बुझ्छौँ। त्यसोभए हामी तपाईँलाई खुसी र आनन्दको कामना गर्छौँ!” त्यो क्षणमा, यदि तैँले थप एउटा शब्द पनि बोलिस् भने, तँ मूर्ख र नीच देखिनेछस्। तुरुन्तै छोडेर जानु नै सही कुरा हो। अविश्‍वासीहरूलाई जबरजस्ती मनाउने प्रयास कहिल्यै नगर्—त्यो त मूर्ख व्यवहार मात्रै हो। के तिमीहरूले बुझ्यौ? (बुझ्यौँ।) कतिपय मानिसहरू कति मूर्ख हुन सक्छन्? तिनीहरू भन्छन्, “त्यो व्यक्तिको छोरा धनी मान्छे हो, समाजमा हैसियत भएको पैसावाला व्यक्ति हो। उसको त सरकारी अधिकारीहरूसँग समेत सम्पर्क छ। यदि हामीले तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गरिरहन मनायौँ भने, तिनीहरूको परिवारले दाजुभाइ-दिदीबहिनीहरूलाई अतिथिसत्कार समेत गर्न सक्छ!” यो विचार कस्तो लाग्छ? यदि तैँले यसबारे मण्डलीको कामको ख्याल गर्ने, दाजुभाइ-दिदीबहिनीहरूको ख्याल गर्ने, र सुरक्षाको ख्याल गर्ने दृष्टिकोणबाट विचार गरिस् भने, यो पूर्ण रूपमा उचित हुन्छ। तर तिनीहरूले परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्छन् कि गर्दैनन् भन्ने कुरा तैँले हेर्नुपर्छ। यदि तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्न इच्छुक छैनन् र दाजुभाइ-दिदीबहिनीहरूको सम्पर्कमा रहन मन पराउँदैनन्, तैपनि तँ तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नका लागि मनाउन चाहन्छस् भने, के त्यो मूर्खता होइन र? आत्म-सम्मानको कमी देखाउने कुराहरू नगर्। परमेश्‍वरमा विश्‍वास गर्नमा हामीसँग परमेश्‍वरको सुरक्षा र परमेश्‍वरको मार्गदर्शन छ। हामी जुनसुकै वातावरणमा जिउने भए पनि, यो सबै परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूअन्तर्गत हुन्छ। हामीले जस्तोसुकै कष्ट भोगे पनि, हामीले इज्जतका साथ जिउनुपर्छ। कतिपय मानिसहरू त परमेश्‍वरको घर छोडेर जाने यो व्यक्ति सक्षम छ भन्दै उसको डाहासमेत गर्छन्—के यो दृष्टिकोण सही हो? हामीले यस मामिलालाई कसरी हेर्नुपर्छ? तिनीहरू ठूलो घरमा सरेपछि, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न छाडे। समाजमा, तिनीहरूको हैसियत र प्रतिष्ठा हुन्छ, र हृदयमा, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई हेयको नजरले हेर्छन्, र तिनीहरूलाई आफूसँग अन्तरक्रिया गर्न लायक नभएका समाजको तल्लो स्तरका मानिसका रूपमा हेर्छन्। त्यसकारण, हामीले आत्म-सचेतना अपनाउनुपर्छ र त्यस्ता मानिसहरूसँग सम्बन्ध स्थापित गर्ने वा तिनीहरूसँग लुटपुटिने प्रयास गर्नु हुँदैन, होइन र? (हो।)

ज-जसले कुनै पनि बेला परमेश्‍वरको घर छाडेर जान सक्छन्, चाहे तिनीहरू अविश्‍वासी हुन् वा कामचोर मात्रै हुन्, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य आशिष्‌हरू प्राप्त गर्ने होस् वा विपत्तिहरूबाट जोगिने होस्—अवस्था जस्तोसुकै भए पनि—यदि तिनीहरूले कुनै पनि बेला परमेश्‍वरको घर छोड्न सक्छन्, र छोडेर गएपछि, दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई सम्पर्क गर्दा तिनीहरू विकर्षित हुन्छन्, दाजुभाइ-दिदीबहिनीहरूको सहयोग र साथदेखि त झन् बढी विकर्षित हुन्छन्, र तिनीहरूसँग सत्यता सङ्गति गर्ने जोकोहीप्रति शत्रुता देखाउँछन् भने, त्यस्ता मानिसहरूलाई कुनै ध्यान दिनु आवश्यक छैन। यदि यस्ता अविश्‍वासीहरू पत्ता लागेमा, तिनीहरूलाई समयमा नै खुलासा गरेर निकाल्नुपर्छ। कतिपय मानिसहरूले सत्यतालाई प्रेम नगर्न सक्छन्, तर तिनीहरू असल मानिस बन्न मन पराउँछन् र दाजुभाइ-दिदीबहिनीहरूसँग बस्न रमाउँछन्; यसले तिनीहरूको मुडलाई खुसी तुल्याउँछ, त्यसमाथि तिनीहरू दुर्व्यवहारमा पर्नबाट जोगिन्छन्। हृदयमा, तिनीहरूलाई आफूले साँचो परमेश्‍वरमा विश्‍वास गर्छु भन्ने थाहा हुन्छ र तिनीहरू लगनशीलताका साथ श्रम गर्न इच्छुक हुन्छन्। यदि तिनीहरूमा साँच्चै नै यस्तो मनोवृत्ति छ भने, के तिमीहरूलाई लाग्छ कि तिनीहरूलाई आफ्नो कर्तव्य पूरा गरिरहन दिनुपर्छ? (पर्छ।) यदि तिनीहरू श्रम गर्न इच्छुक छन्, र तिनीहरूले बाधा वा अवरोध पुर्‍याउँदैनन् भने, तिनीहरूले श्रमलाई निरन्तरता दिन सक्छन्। तर यदि कुनै दिन तिनीहरू श्रम गर्न इच्छुक भएनन् र तिनीहरूले “म संसारमा सफल हुने प्रयास गर्न जाँदैछु। म अबदेखि तपाईँहरूसँग परमेश्‍वरमा विश्‍वास गर्नेछैनँ। यहाँ रमाइलो लाग्दैन, र कहिलेकाहीँ म आफ्नो कर्तव्य पूरा गर्ने क्रममा झाराटारुवा हुँदा, मलाई काटछाँट गरिन्छ। यहाँ बस्न निकै गाह्रो छ; म जान चाहन्छु” भनेर परमेश्‍वरको घर छाड्न चाहे भने—के त्यस्तो व्यक्तिलाई बस्नका लागि मनाउनुपर्छ? (पर्दैन।) हामीले तिनीहरूलाई एउटा मात्र प्रश्न सोधे हुन्छ: “के तपाईँले यसबारे राम्ररी विचार गर्नुभयो?” यदि तिनीहरूले “मैले यसबारे लामो समय विचार गरेको छु” भनेर बताए भने, तैँले यसो भन्न सक्छस्, “त्यसोभए हामी तपाईँलाई शुभकामना दिन्छौँ। आफ्‍नो ख्याल राख्‍नुहोस्, र अलबिदा!” के यो तरिका ठीक छ? (ठीक छ।) तिमीहरूलाई यिनीहरू कस्ता मानिस हुन् भन्ने लाग्छ? तिनीहरू आफूलाई साधारणभन्दा माथि सोच्ने, र संसार र यसका तौरतरिकाहरूलाई तिरस्कार गर्ने, प्रायजसो प्रसिद्ध मानिसहरूका पदहरू वाचन गर्ने मानिसहरू हुन्, जस्तै, “म आफ्नो बाहुला हल्लाउँछु, तर बादलको एउटा टुक्रासमेत लान्नँ।” तिनीहरू आफूले आफूलाई शुद्ध राख्ने गरेको र आफू यो संसारसँग नमिल्ने सोच्छन्, र तिनीहरू परमेश्‍वरमा विश्‍वास गरेर केही सान्त्वना पाउन चाहन्छन्। तिनीहरू सधैँ आफूलाई असाधारण व्यक्तिका रूपमा हेर्छन्, तर वास्तवमा, तिनीहरू सबैभन्दा सांसारिक मानिस हुन्, जो खान, पिउन, र रमाइलो गर्नका लागि मात्रै जिउँछन्। तिनीहरूमा कुनै वास्तविक विचार र वास्तविक पछ्याइ हुँदैन। तिनीहरू आफूलाई उच्च व्यक्तिका रूपमा हेर्छन्, मानौँ कसैले पनि तिनीहरूको विचार बुझ्न सक्दैन वा कोही पनि तिनीहरूको सोच्ने तरिकाको स्तरसम्म पुग्न सक्दैन। तिनीहरूले आफ्नो मानसिक क्षितिजलाई औसत व्यक्तिको भन्दा माथि ठान्छन्, र यस्ता कुराहरू भन्छन्: “तिमीहरू सबै साधारण मानिस हौ, तर मलाई हेर त—म फरक छु। यदि तिमीले मलाई म कहाँको हुँ भनेर सोध्यौ भने, म तिमीलाई मेरो गृहनगर टाढा छ भनेर भन्नेछु।” के तिनीहरूले तँलाई तिनीहरू कहाँका हुन् भनेर बताए? के तँलाई यो तथाकथित “टाढाको” ठाउँ कहाँ छ भनेर थाहा छ? कुनै पनि बेला मण्डली छोडेर जान सक्‍ने मानिसहरू ठीक यस्तै प्रकारका हुन्छन्। तिनीहरू आफूलाई कुनै ठाउँले पनि सन्तुष्ट पार्न सक्दैन भन्ने महसुस गर्छन् र तिनीहरू सधैँ केही अवास्तविक, अस्पष्ट, र भ्रामक कुराहरूका बारेमा सोचिरहेका हुन्छन्। तिनीहरूले वास्तविकतामा ध्यान दिँदैनन् र मानव जीवन केका लागि हो वा मानिसहरूले कुन मार्ग छनौट गर्नुपर्छ भन्ने कुरा बुझ्दैनन्। तिनीहरूले यी कुराहरू बुझ्दैनन्—तिनीहरू केवल अनौठा मानिस हुन्। यदि यस्तो व्यक्तिले मण्डली छोड्ने सोच बनाएको छ र आफूले यसबारे लामो समय विचार गरेको छु भनेर भन्छ भने, उसलाई बस्नका लागि मनाउनु आवश्यक छैन। थप एक शब्द पनि नबोल—तिनीहरूलाई फ्याट्टै हटाऊ, त्यति हो। त्यस्ता मानिसहरूलाई यसरी नै सम्हाल्नुपर्छ; यो मानिसहरूलाई कसरी व्यवहार गर्ने भन्ने सिद्धान्तहरू अनुरूप छ। कुनै पनि बेला मण्डली छोडेर जान सक्‍ने मानिसहरूबारे सङ्गति यहीँ समाप्त हुन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्