अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२६) खण्ड चार

विभिन्न प्रकारका दुष्ट मानिसहरूलाई खुट्ट्याउने मानक र आधारहरू

२. व्यक्तिको मानवताको आधारमा

यसपछि, हामी अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारीको बारेमा सङ्गति गर्न जारी राख्छौँ: “सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै खुट्ट्याउने, अनि निकाला वा निष्कासित गर्ने।” सबै प्रकारका दुष्ट मानिसहरूलाई खुट्ट्याउने मानकहरूलाई तीन वटा मुख्य वर्गमा विभाजित गरिएको छ। हामीले यसभन्दा पहिले व्यक्तिले परमेश्‍वरमा वि‍श्‍वास गर्नुको उद्देश्यबारे सङ्गति गरेका छौँ, अनि त्यसपछि हामी उसको मानवताबारे सङ्गति गर्नतिर लाग्यौँ। व्यक्तिको मानवताको हिसाबमा भन्दा, हामीले धेरै वटा फरक-फरक प्रकटीकरणहरूलाई पनि वर्गीकरण गर्‍यौँ। हामीले सङ्गति गरिसकेका विभिन्न प्रकटीकरणहरू के-के हुन्? ती पढ। (सबै प्रकारका दुष्ट मानिसहरूलाई खुट्ट्याउनेसम्‍बन्धी दोस्रो बुँदा व्यक्तिको मानवतासँग सम्बन्धित छ। पहिलो, तथ्य र झूटहरूलाई गलत रूपमा प्रस्तुत गर्न मन पराउनु; दोस्रो, फाइदा उठाउन मन पराउनु; तेस्रो, लम्पट र असंयमित हुनु; चौथो, प्रतिशोधप्रति झुकाव राख्नु; पाँचौ, आफ्‍नो जिब्रो काबुमा राख्‍न नसक्‍नु।) हामीले तिनीहरूले आफ्‍नो जिब्रो काबुमा राख्‍न नसक्ने बारेमा रहेको पाँचौँ बुँदासम्म सङ्गति गरेका छौँ। चाहे हामी मानवताका निश्चित प्रकटीकरणहरूका बारेमा सङ्गति गरिरहेका होऊँ वा अरू कुराहरूका बारेमा सङ्गति गरिरहेका होऊँ, मैले भने जस्तै, यसले फरक-फरक प्रकारका मानिसहरूमा फरक-फरक असर पार्नेछ। सत्यता पछ्याउनेहरू सत्यता सुनेपछि आफूलाई जाँच्नमा केन्द्रित हुनेछन्; तिनीहरूले आफूलाई मेरो सङ्गतिसँग मापन गर्नेछन् र तिनीहरूको सक्रिय र सकारात्मक प्रवेश हुनेछ। तर, श्रमिकहरू जस्ता सत्यता नपछ्याउनेहरूले केवल सुन्छन्, र त्योबाहेक केही गर्दैनन्। तिनीहरूले यसलाई हृदयमा लिँदैनन् वा सुन्नमा आफ्नो हृदय लगाउँदैनन्। कहिलेकाहीँ, तिनीहरू प्रवचन सुन्दा निदाउन पनि सक्छन्। तिनीहरूले यसलाई आत्मसात् गर्न सक्दैनन्, र यस्तो समेत सोच्छन्, “यी सानातिना कुराहरू सुन्नुको के फाइदा? यो समयको बरबादी हो—मैले गर्दै गरेको काम समेत अझै सकाएको छैनँ!” परिश्रम आवश्यक पर्ने कामहरूका बारेमा तिनीहरूलाई सधैँ चिन्ता हुन्छ। तिनीहरू परिश्रम गर्न र बफादारी देखाउनमा विशेष रूपमा उत्साहित र समर्पित हुन्छन्, तर तिनीहरूले सत्यतासँग सम्बन्धित मामलाहरूका लागि ऊर्जा जुटाउनै सक्दैनन्। यसले त्यस्ता मानिसहरूलाई सत्यताप्रति चासो हुँदैन भन्ने कुरा स्पष्ट रूपमा प्रकट गर्छ; तिनीहरू केवल परिश्रम गर्नमै सन्तुष्ट हुन्छन्। मानिसहरूको अर्को समूह छ, जसले परमेश्‍वरको घरले सत्यतामा जसरी सङ्गति गरे पनि त्यही मनोवृत्ति कायम राख्छन्: “म प्रतिरोधी र विरोधी मात्रै हुँ। तपाईँले मेरा समस्याहरू औँल्याउनुभयो र मेरा प्रकटीकरण, प्रकाश, र स्वभावहरू खुलासा गर्नुभयो भने पनि, म यस कुरालाई ध्यान दिनेछैनँ वा गम्भीरतापूर्वक लिनेछैनँ। त्यसकारण अरूलाई मेरो खुलासा भइरहेको छ भन्ने थाहा भए के भयो त?” तिनीहरूले निर्लज्ज रूपमा अवज्ञा र विरोध गरिरहन्छन्, जुन कुरालाई सच्याउन सकिँदैन। जेसुकै भए पनि, फरक-फरक प्रकारका मानिसहरूका प्रकटीकरणहरूलाई छुट्याउन सकिन्छ। सत्यता—यसलाई पछ्याउनेहरूका हकमा होस्, परिश्रम गर्न इच्छुक हुने तर यसलाई प्रेम नगर्नेहरूका हकमा होस्, वा सत्यताप्रति विकर्षित र वितृष्ण हुनेहरूका हकमा होस्—यसले दुईधारे तरबार, अर्थात् कसौटीका रूपमा काम गर्छ। यसले सत्यताप्रति मानिसहरूको मनोवृत्तिलाई र तिनीहरू हिँडिरहेको मार्गलाई पनि मापन गर्न सक्छ।

च. अव्यावहारिक र जानी-जानी कष्टदायी हुनु, र तिनीहरूलाई उत्तेजित पार्ने आँट गर्ने कोही नहुनु

यसभन्दा पहिले, हामीले विभिन्न दुष्ट मानिसहरूका पाँच वटा प्रकटीकरणहरूलाई खुट्ट्याउने बारेमा सङ्गति गरेका थियौँ। आज, हामी छैटौँका बारेमा सङ्गति गर्न जारी राख्छौँ। छैटौँ पनि एक प्रकारको दुष्ट व्यक्तिको प्रकटीकरण हो, वा अझै राम्ररी भन्दा, मानिसहरूले यो प्रकारलाई दुष्ट नठाने पनि, सबैले उसलाई मन पराउँदैनन्। किन? किनभने यी मानिसहरूमा विवेक र समझको कमी हुन्छ, सामान्य मानवताको कमी हुन्छ, र तिनीहरूसँगको अन्तरक्रिया निकै कष्टदायी र गाह्रो हुन्छ, जसले गर्दा विकर्षण पैदा हुन्छ। यी मानिसहरूका निश्चित प्रकटीकरणहरू के-के हुन्? अव्यावहारिक र जानीजानी कष्टदायी हुनु, र तिनीहरूलाई उत्तेजित पार्ने आँट गर्ने कोही नहुनु। के मण्डलीमा त्यस्ता मानिसहरू हुन्छन्? धेरै नभए पनि, निश्चय नै हुन्छन्। अनि तिनीहरूका निश्चित प्रकटीकरणहरू के-के हुन्? सामान्य परिस्थितिहरूमा, यी मानिसहरूले आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्न र अरूसँग अत्यन्तै सामान्य रूपमा अन्तरक्रिया गर्न सक्छन्; तैँले तिनीहरूबाट क्रूर स्वभाव देख्नेछैनस्। तर, जब तिनीहरूका कार्यहरू सत्यता सिद्धान्तहरू विपरीत हुन जान्छन् र तिनीहरूलाई काटछाँट गरिन्छ, तब तिनीहरू रिसले चूर हुन्छन्, र तिनीहरूले आफ्ना लागि मिथ्या बहानाहरू बनाउँदै सत्यतालाई पूर्ण रूपमा इन्कार गर्छन्। अचानक, तैँले तिनीहरू काँडाले ढाकिएको दुम्सी, छुन नसकिने बाघ जस्तै हुन् भन्ने महसुस गर्छस्। तैँले सोच्छस्, “मैले यो व्यक्तिसँग यति लामो समयदेखि अन्तरक्रिया गरेको छु, र ऊ असल मानवता भएको, बुझ्ने, र बोल्न सजिलो व्यक्ति हो भन्ने सोचेको थिएँ, उसले सत्यतालाई स्वीकार गर्न सक्छ भन्ने वि‍श्‍वास गरेको थिएँ। मैले त ऊ अव्यावहारिक र जानीजानी कष्टदायी हुने व्यक्ति होला भन्ने अपेक्षा नै गरेको थिइनँ। भविष्यमा ऊसँगको अन्तरक्रियामा म अझै होसियार हुनुपर्छ, आवश्यक नपरेसम्म सम्पर्कलाई न्यूनीकरण गर्नुपर्छ, र उसलाई उत्तेजित पार्नबाट जोगिनका लागि आफूलाई टाढा राख्नुपर्छ।” के तिमीहरूले त्यस्तो अव्यावहारिक र जानीजानी कष्टदायी हुने मानिसहरू देखेका छौ? सामान्यतया, तिनीहरूलाई बुझेका मानिसहरूलाई तिनीहरू कति भयानक छन् भन्ने थाहा हुन्छ र तिनीहरूले विशेष शिष्टता र सतर्कताका साथ तिनीहरूसँग कुरा गर्छन्। विशेष गरी, तिनीहरूसँग कुरा गर्दा, तैँले तिनीहरूलाई पटक्कै चोट पुर्‍याउन मिल्दैन, नत्र यसले तिनीहरूसँग अटुट समस्या ल्याउनेछ। कतिपय मानिसहरू भन्छन्, “यी अशिष्ट मानिसहरू वास्तवमा को हुन्? हामीले तिनीहरूलाई अझै भेटेका छैनौँ।” त्यस्तो अवस्थामा, हामीले साँच्चै नै यसबारे कुरा गर्नुपर्छ। उदाहरणका लागि, दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो अनुभवबारे सङ्गति गरिरहेका बेला, जब केहीले आफ्ना भ्रष्ट स्थिति वा व्यक्तिगत कठिनाइहरू उल्लेख गर्छन्, तब अरूले पनि यस्तै अनुभव वा भावनाहरू भोगेका हुनाले सहानुभूति दिनु अवश्यम्भावी हुन्छ। यो अत्यन्तै सामान्य हो। सुनेपछि, कसैले यस्तो सोच्न सक्छ, “मैले पनि त्यस्ता अनुभवहरू भोगेको छु, त्यसकारण हामी सँगै यो विषयमा सङ्गति गरौँ। म तपाईँले कसरी यो कुरा भोग्नुभयो भन्नेबारे सुन्न चाहन्छु। यदि तपाईँको सङ्गतिमा ज्योति छ, र त्यो मेरो समस्यासँग सम्बन्धित छ भने, म यसलाई स्वीकार गर्नेछु र परिणामहरू के हुनेछन् भनेर हेर्नका लागि तपाईँको अनुभव र मार्ग अनुसार अभ्यास गर्नेछु।” यस्तो केवल एउटै प्रकारको व्यक्ति हुन्छ, जो अरूले आफूलाई चिन्ने बारेमा सङ्गति गरेको र आफ्नो भ्रष्टता र कुरूपता उदाङ्गो पारेको सुनेपछि, यो अप्रत्यक्ष रूपमा आफूलाई खुलासा र न्याय गर्नु हो भनेर वि‍श्‍वास गर्छ, र ऊ रिसले चुर भएर टेबुल नठटाई बस्‍न सक्दैन: “भ्रष्टता कसमा हुँदैन र? को चाहिँ शून्यतामा जिउँछ? मैले देखेअनुसार, तिमीहरूको भ्रष्टता त मेरोभन्दा पनि खराब छ! मलाई निसाना बनाउन, मेरो खुलासा गर्नका लागि तिमीहरूसँग के-कस्ता योग्यताहरू छन्? मैले देखे अनुसार त, तिमीहरू मलाई कठिनाइमा पार्न, र बहिष्कार गर्न मात्रै चाहन्छौ! म गाउँबाट आएकाले र मैले तिमीहरूको चापलुसी गर्नका लागि मीठा शब्दहरू बोल्न नसक्ने हुनाले मात्रै यसो भएको होइन र? मेरो शिक्षा तिमीहरूको जस्तो उच्च नभएकाले यसो भएको होइन र? परमेश्‍वरले मलाई हेयको नजरले समेत हेर्नुहुन्न, त्यसकारण मलाई हेयको नजरले हेर्ने अधिकार तिमीहरूलाई केले दिन्छ!” अरूले भन्छन्, “यो सामान्य सङ्गति हो, जुन तपाईँप्रति लक्षित छैन। के सबैका भ्रष्ट स्वभावहरू उस्तै हुँदैनन् र? जब कसैले कुनै विषयबारे सङ्गति गरिरहेको हुन्छ र आफ्नो भ्रष्ट स्थितिबारे उल्लेख गर्छ, तब अरूले पनि आफूलाई यस्तै स्थितिमा पाउनु अवश्यम्भावी हुन्छ। यदि तपाईँलाई आफू पनि उस्तै स्थितिमा छु भन्ने लाग्छ भने, तपाईँले पनि आफ्ना अनुभवहरूका बारेमा सङ्गति गर्न सक्‍नुहुन्छ।” यसबारे उसले यस्तो जवाफ दिन्छ, “त्यसो हो त? एउटा व्यक्तिले गरेको भए यस्तो सङ्गति सहन सक्थेँ, तर तिमीहरू किन मलाई हेप्न दुई-तीन जना मिलिरहेका छौ? के तिमीहरू मलाई हेप्न सजिलो छ भन्ठान्छौ?” उसले जति बोल्छ, उसको बोलीवचन त्यति नै उद्दण्ड हुँदै गइरहेको हुँदैन र? (हुन्छ।) के त्यस्ता मानिसहरूले यी कुराहरू भन्दा तिनीहरूमा समझ हुन्छ त? (हुँदैन।) यदि तँलाई साँच्चै अरूको सङ्गतिको विषय तँप्रति लक्षित छ भन्ने लाग्छ भने, तैँले यस विषयमा छलफल वा सङ्गति गर्न सक्छस्; तेरो किसानको पृष्ठभूमि, तेरो न्यून स्तरको शिक्षा, वा मानिसहरूले तँलाई हेयको नजरले हेर्ने बारेमा कुरा गर्नुको सट्टा, यो तँप्रति लक्षित छ कि छैन भनेर सिधै सोध्। ती कुराहरू भनेर के काम? के त्यो सही र गलतबारे बकबक गर्नु होइन र? के यो अव्यावहारिक र जानीजानी कष्टदायी हुनु होइन र? (हो।) के तिमीहरूलाई त्यस्ता मानिसहरू भयानक हुन्छन् भन्ने लाग्दैन? (लाग्छ।) उसले यस्तो तमासा देखाएपछि, ऊ कस्तो व्यक्ति हो भन्ने कुरा सबैलाई थाहा हुन्छ, र भविष्यका भेलाहरूमा सङ्गति गर्दा, तिनीहरूले सधैँ होसियार भएर बोल्नुपर्छ र उसको हाउभाउ अध्ययन गर्नुपर्छ। यदि उसको हाउभाउ निराशाजनक बन्छ भने, अरू बोल्न हिचकिचाउँछन्, र भेलाहरूमा सङ्गति गर्दा सबैलाई दबिएको महसुस हुन्छ। के यो ऊ अव्यावहारिक र जानीजानी कष्टदायी हुनुले ल्याउने बन्धन र बाधा होइन र? (हो।) अव्यावहारिक र जानीजानी कष्टदायी हुनेहरू सबै तर्क गर्न नसकिने मानिस हुन्; त्यस्ता व्यक्तिहरूले सत्यतालाई स्वीकार गर्दैनन् र सम्भवतः मुक्ति पाउन सक्दैनन्।

अव्यावहारिक र जानीजानी कष्टदायी हुने यस्तो व्यक्तिको अर्को प्रकटीकरण हुन्छ। कतिपय मानिसहरूले भेलाहरूमा सधैँ यसो भन्छन्, “मैले अबदेखि झाराटारुवा व्यवहार गर्नु हुँदैन। मैले सत्यता अभ्यास गर्नमा ध्यान दिनुपर्छ; मैले सिद्धता पछ्याउनुपर्छ। म स्वाभाविक रूपमा नै उत्कृष्ट हुन लागिपर्छु। मैले जे गरे पनि, त्यो राम्ररी गर्नैपर्छ।” तिनीहरूले कुरा त गर्छन्, तर वास्तवमा, तिनीहरूले अझै पनि आफ्नो कर्तव्य पूरा गर्दा झाराटारुवा व्यवहार गर्छन्, र तिनीहरूले पूरा गर्ने कर्तव्यमा धेरै समस्याहरू हुन्छन्, र तिनीहरू परमेश्‍वरको गवाही दिने परिणाम हासिल गर्नबाट निकै टाढा हुन्छन्। अगुवाहरूले तिनीहरूको कर्तव्य निर्वाहमा देखा पर्ने समस्याहरूलाई औँल्याउँदा र तिनीहरूलाई काटछाँट गर्दा, तिनीहरू तुरुन्तै रिसाउँछन्, र भन्छन्, “मलाई थाहा थियो। तिमीहरू सबै मेरो व्यावसायिक सीप कमजोर छ भनेर मेरो पिठ्युँपछाडि मेरो आलोचना गर्छौ। के यो तिमीहरू सबैले मलाई हेयको नजरले हेरेको होइन र? यो त सानो गल्ती मात्रै थियो। के मलाई यसरी काटछाँट गर्नु आवश्यक छ? यसबाहेक, गल्ती कसले गर्दैन र? म झाराटारुवा काम गर्छु भनेर भन्छौ—के तिमी पनि पहिले आफ्नो काममा झाराटारुवा थिएनौ र? के तिमी मेरो आलोचना गर्न योग्य छौ? मेरो सहयोगविना, तिमीहरूमध्ये कसले यो कामको बोझ बोक्न सक्थ्यौ र?” त्यस्ता मानिसहरूबारे तिमीहरूलाई के लाग्छ? तिनीहरूले जे गर्दा पनि त्यसमा अरूलाई आफ्ना कमीकमजोरीहरू औँल्याउन वा सुझावहरू दिन अनुमति दिँदैनन्; तिनीहरूले न्यायोचित काटछाँट समेत स्वीकार गर्दैनन्। जसले बोल्छ, तिनीहरू उसको विरुद्धमा जान्छन् र उसको विरोध गर्छन्, अनुचित शब्दहरू बोल्छन्, यहाँसम्म कि आफूलाई हेयको नजरले हेरिएको छ भनेर भन्छन्, वा आफू एकलो र शक्तिहीन भएकोमा दुर्व्यवहार गरिएको छ भन्नेजस्ता कुरा पनि गर्छन्। के यो अनियन्त्रित, अव्यावहारिक र जानीजानी कष्टदायी हुनु होइन र? कतिपय मानिसहरू यस्ता पनि हुन्छन्, जसले काटछाँटमा परेपछि आफ्नो कर्तव्य त्याग्ने गर्छन्: “म अबदेखि यो काम गर्नेछैनँ। यदि तिमीहरू गर्न सक्छौ भने, ठीक छ, गर। त्यसपछि तिमीहरूले अझै पनि मविना काम अघि बढाउन सक्छौ कि सक्दैनौ, हेरौँला!” दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई मनाउने प्रयास गर्छन्, तर तिनीहरूले सुन्दैनन्। अगुवा र कामदारहरूले तिनीहरूलाई सत्यता सङ्गति गर्दा पनि, तिनीहरूले स्वीकार गर्न मान्दैनन्; तिनीहरूले स्वाङ पार्न र आफ्नो कर्तव्य त्याग्न थाल्छन्। भेलाहरूमा, तिनीहरू लुसुक्क पर्छन्, न त परमेश्‍वरका वचनहरू पढ्छन् न त सङ्गति नै गर्छन्, र सधैँ अन्तिममा आउने र सबैभन्दा चाँडो जाने गर्छन्। जाने बेलामा, तिनीहरूले खुट्टा बजार्छन् र ढोका ड्याम्‍म लगाउँछन्, र तिनीहरूलाई कसरी निराकरण गर्ने भन्ने बारेमा धेरैजसो मानिसहरू अन्योलमा पर्छन्। जब त्यस्ता मानिसहरूलाई परिस्थितिहरू आइपर्छन्, तब तिनीहरूले उटपटाङ तर्क र बकवास फलाक्छन्; तिनीहरू अराजक बन्छन् र सामानहरू समेत फ्याँक्छन् र तिनीहरूमा समझ छिराउनै सकिँदैन। कतिपयमा त झनै गम्भीर प्रकटीकरणहरू हुन्छन्—यदि दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई अभिवादन गरेनन् भने, तिनीहरू अप्रसन्न हुन्छन् र भेलाहरूमा मौका छोपेर रुन्छन्: “मलाई थाहा छ, तिमीहरू सबैले मलाई हेयको नजरले हेर्छौ। भेलाहरूमा, तिमीहरू सबैले परमेश्‍वरका वचनहरू सङ्गति गर्न र आफ्नै अनुभवात्मक बुझाइहरूका बारेमा छलफल गर्नमा मात्रै ध्यान दिन्छौ। कसैले पनि मेरो वास्ता गर्दैन, कसैले मलाई मुस्कुराएर हेर्दैन, र जाने बेलामा कसैले पनि मलाई बिदा गर्दैन। तिमीहरू कस्ता वि‍श्‍वासी हौ? तिमीहरूसँग साँच्चै नै मानवताको कमी छ!” तिनीहरू मण्डलीमा यसरी नै झनक्क रिसाउँछन्। तिनीहरू सानातिना कुराहरूमा समेत क्रोधित हुन्छन्, र जम्मा भएका आफ्ना सबै गुनासाहरू पोखाउँछन्। स्पष्ट रूपमा, तिनीहरूले आफ्‍नै भ्रष्ट स्वभाव प्रकट गरिरहेका हुन्छन्, तर तिनीहरूले न त आत्मचिन्तन गर्छन्, न त आफूलाई नै चिन्छन्, र तिनीहरूमा परिवर्तन वा सत्यता पछ्याउने कुनै चाहना हुँदैन। बरु, तिनीहरू अरूमा समस्या खोज्छन्, आफ्नो मानसिक सन्तुलन कायम राख्न विभिन्न बहानाहरू खोज्छन्—अनि यसो गर्दा, तिनीहरूले आफ्नो गुनासो पोखाउने अवसरहरू खोज्छन्। अझै महत्त्वपूर्ण कुरा, तिनीहरूको उद्देश्य अझ धेरै मानिसहरूले तिनीहरूलाई देखून् र तिनीहरूको डर मानून् भन्ने हुन्छ, ताकि मानिसहरूमाझ केही प्रतिष्ठा र ध्यान पाइयोस्। यस्ता मानिसहरू अति झन्झटिला हुन्छन्! तिनीहरूले जे भने पनि, कसैले “नाइँ” भन्ने आँट गर्दैन; कसैले पनि तिनीहरूलाई हल्का रूपमा मूल्याङ्कन गर्ने आँट गर्दैन; र कसैले पनि तिनीहरूसँग खुलस्त कुरा गर्ने र सङ्गति गर्ने आँट गर्दैन। तिनीहरूमा केही कमीकमजोरी र भ्रष्ट स्वभावहरू देखिए पनि, कसैले पनि तिनलाई औँल्याउने आँट गर्दैन। भेलाहरूमा, सबैले आफ्ना व्यक्तिगत अनुभवहरू र परमेश्‍वरका वचनहरूसम्बन्धी बुझाइबारे सङ्गति गर्दा, तिनीहरू त्यस व्यक्तिलाई चिढ्याइने र समस्या निम्तिने डरले “अरिङ्गालको गोला”, अर्थात् त्यो व्यक्तिबाट टाढा बस्छन्। कतिपय मानिसहरू घरमा वा काममा आफूमाथि दुर्व्यवहार भएको महसुस भएपछि वा असन्तुष्टि सामना गरेपछि भेलाहरूमा आफ्‍नो मनको कुरा पोखाउँछन्। स्पष्ट रूपमा, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो निकास र मुक्का हान्ने झोला बनाइरहेका हुन्छन्। तिनीहरू उदास हुँदा, उटपटाङ तर्कहरू गर्छन्, रुन्छन्, र झनक्क रिसाउँछन्। त्यसपछि तिनीहरूसँग सत्यता सङ्गति गर्ने आँट कसले गर्थ्यो र? यदि तिनीहरूसँग सङ्गति गरियो, र कुनै शब्दले तिनीहरूको संवेदनालाई छोयो भने, तिनीहरूले आत्महत्या गर्ने धम्की दिन्छन्। त्यो झनै कष्टदायी हुनेछ। त्यस्ता मानिसहरूका हकमा, सामान्य सङ्गतिले काम गर्दैन; सामान्य कुराकानीले काम गर्दैन; अत्यन्तै नम्र वा अत्यन्तै कठोर हुनु दुवैले काम गर्दैन; तिनीहरूबाट टाढा बस्नुले काम गर्दैन; अत्यन्तै नजिक हुनुले काम गर्दैन; अनि यदि दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूको खुसीसँग मिल्ने गरी खुसी व्यक्त गरेनन् भने, त्यसले काम गर्दैन; अनि जब यी मानिसहरूले केही कठिनाइ सामना गर्छन्, तब यदि दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूको हैरानी बुझ्न सकेनन् भने, त्यसले पनि हुँदैन। तिनीहरूलाई जे गरे पनि हुँदैन। जे गरे पनि त्यसले तिनीहरूलाई झिँज्याउन र क्रोधित बनाउन सक्छ। तिनीहरूलाई जस्तो व्यवहार गर्दा पनि, तिनीहरू कहिल्यै सन्तुष्ट हुँदैनन्। निश्चित मानिसहरूको स्थितिबारे मेरा प्रवचन र सङ्गतिले समेत तिनीहरूलाई उत्तेजित पार्न सक्छ। त्यसले तिनीहरूलाई कसरी उत्तेजित पार्छ? तिनीहरूले सोच्छन्, “के यो मेरो खुलासा गर्नु होइन र? तपाईँले मसँग अन्तरक्रियासमेत गर्नुभएको छैन, र मैले गोप्य रूपमा के गरेको छु भन्ने बारेमा मैले तपाईँलाई केही पनि बताएको छैनँ। तपाईँलाई कसरी थाहा भयो? पक्‍कै पनि कसैले पोल लगाएको हुनुपर्छ। मैले तपाईँसँग को सम्पर्कमा आएको छ, कसले पोल लगाएको छ, कसले मेरो बारेमा रिपोर्ट गरेको छ भनेर पत्ता लगाउनुपर्छ; म यसलाई त्यतिकै छोड्नेछैनँ!” अव्यावहारिक र जानीजानी कष्टदायी हुने यस्तो व्यक्तिले जुनसुकै कुराका बारेमा विकृत विचारहरू राख्न सक्छ, र उसले कुनै पनि कुरालाई सही रूपमा लिन सक्दैन। तिनीहरू समझभन्दा बाहिर हुन्छन्! चेतना तिनीहरूको पहुँचभन्दा निकै टाढा हुन्छ, र तिनीहरूले सत्यतालाई त झनै स्विकार्न सक्दैनन्। तिनीहरू मण्डलीमा बस्दा त्यसबाट कुनै फाइदा हुँदैन, त्यसले हानि मात्र गर्छ। तिनीहरू त बोझ मात्रै हुन्, जसलाई तुरुन्तै हटाउनुपर्छ; तिनलाई झट्टै पखाल्नुपर्छ!

चीनमा, परमेश्‍वरमा वि‍श्‍वास गर्दा ठूलो रातो अजिङ्गरको गर्ने दमन र सतावटमा परिन्छ, र धेरै मानिसहरू खेदोमा पर्छन् र घर जान सक्दैनन्। तर, कतिपय मानिसहरूले सतावट भोगेपछि र घर फर्केर जान नसकेपछि, तिनीहरूले खुबी वा योग्यता प्राप्त गरेका छन् भन्ने वि‍श्‍वास गर्छन्। तिनीहरू अतिथि सत्कारक परिवारसँग बस्छन्, र तिनीहरूले मानिसहरूलाई आफ्नो खातिरदारी गर्न मात्रै लगाउँदैनन्—यदि कुनै कुरा थोरै तिनीहरूको इच्छा विपरीत भयो वा तिनीहरूलाई घरको याद आउन थाल्यो भने, तिनीहरूले हङ्गामा मच्चाउन थाल्छन्, र अरूले तिनीहरूलाई फकाउनु र सहनुपर्छ। के त्यस्ता मानिसहरू अव्यावहारिक र जानीजानी कष्टदायी हुँदैनन् र? धेरै मानिसहरूलाई सताइएको हुन्छ, र अतिथि सत्कारक परिवारहरू धेरै हुँदैनन्। दाजुभाइ-दिदीबहिनीहरूले घर फर्कन नसक्नेहरूलाई आश्रय दिनु भनेको प्रेमले गर्दा हो। तिनीहरूले ती मानिसहरूलाई सडकमा पुग्‍नबाट जोगाउँछन् र आफ्नो घरमा बस्न दिन्छन्। के यो परमेश्‍वरको अनुग्रह होइन र? तैपनि, कतिपयले परमेश्‍वरको अनुग्रहलाई कदर गर्न नसक्ने मात्र नभई दाजुभाइ-दिदीबहिनीहरूको प्रेमलाई पनि देख्न सक्दैनन्। बरु, तिनीहरूले आफू पीडित भएको महसुस गर्छन्, र गुनासो समेत गर्छन् र तिनीहरू अराजक बन्छन्। दाजुभाइ-दिदीबहिनीहरूको घरको बस्ने अवस्था वास्तवमा तिनीहरूको आफ्नै घरको भन्दा अलिक राम्रो हुन्छ। विशेष गरी परमेश्‍वरमा वि‍श्‍वास गर्ने र आफ्नो कर्तव्य पूरा गर्ने सम्बन्धमा, दाजुभाइ-दिदीबहिनीहरूको घरमा बस्नु आफ्नै घरमा बस्नुभन्दा पनि राम्रो हुन्छ, र दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर सहकार्य गर्नु भनेको जहिले पनि एकलै बस्नुभन्दा निकै राम्रो हुन्छ। कतिपय क्षेत्रहरूमा जिउने अवस्थाहरू अलिक नराम्रो भए पनि, ती अझै पनि औसत जियाइको स्तरका हुन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूसँग बस्न, बारम्बार भेला हुन र परमेश्‍वरका वचनहरू खान-पिउन, अझै धेरै सत्यताहरू बुझ्न, र आफ्नो पछ्याइका उद्देश्यहरू के-के हुन् भनेर जान्न पाउँछन्। त्यसकारण, सत्यता पछ्याउनेहरूले त्यो मूल्य चुकाउन र त्यो कष्ट भोग्न सक्छन्। यसप्रति धेरैजसो मानिसहरूमा सही मनोवृत्ति हुन्छ; तिनीहरूले यो कष्ट भोग्नु जायज छ, र यो कष्ट तिनीहरूले नै भोग्नुपर्ने हो भन्ने थाहा पाएर यसलाई परमेश्‍वरबाट आएको हो भनी स्वीकार गर्न सक्छन्। तिनीहरूले यसलाई सही रूपमा लिन सक्छन्। तर कतिपय अव्यावहारिक र जानीजानी कष्टदायी हुने अराजक मानिसहरूले यसरी कुराहरू बुझ्न सक्दैनन्। तिनीहरूले एक हप्तासम्म घर फर्कन नपाउनुलाई बल्‍लतल्‍ल सहन सक्छन् होला, तर दुई हप्तापछि, तिनीहरूको मुड परिवर्तन हुन्छ, र एक-दुई महिनाभित्र, तिनीहरू अराजक हुन्छन्, र भन्छन्, “किन तपाईँहरूको परिवार खुसीसाथ सँगै रहन पाउँछ, तर म आफ्नो घर फर्कन पाउँदिनँ? किन मसँग कुनै स्वतन्त्रता छैन, तपाईँहरू सबै आफूले चाहे अनुसार आउन र जान सक्नुहुन्छ?” अरूले यस्तो जवाफ दिन्छन्: “के यो ठूलो रातो अजिङ्गरको सतावटले गर्दा भएको होइन र? के हामीले परमेश्‍वरका अनुयायीका रूपमा यस्तो कष्ट भोग्नु सही होइन र? यो थोरै कष्ट भोग्नु कुन ठूलो कुरा हो र? परिस्थितिहरूलाई हेर्दा, यो भएन, त्यो भएन भन्‍नुपर्ने कुरा के छ र? यदि अरूले यो कष्ट सहन सक्छन् भने, तिमीले किन सक्दैनौ?” जो अव्यावहारिक र जानीजानी कष्टदायी छन् तिनीहरू कष्ट भोग्नै चाहँदैनन्। यदि तिनीहरूलाई पक्राउ गरेर जेल हालियो भने, तिनीहरू अवश्य नै यहूदा बन्नेथिए। अतिथि सत्कारक परिवारसँग बस्दा आखिर कति नै कष्ट हुन्छ र? पहिलो, खानेकुरा मानवले खाने नै हुन्छ; दोस्रो, कसैले पनि तँलाई कठिनाइमा पार्दैन; अनि तेस्रो, कसैले पनि तँलाई हेप्दैन। यति मात्र हो कि, तँ घर फर्कन सक्दैनस् र आफ्नो परिवारसँग तेरो पुनर्मिलन हुन सक्दैन—अनि अव्यावहारिक र जानीजानी कष्टदायी हुने मानिसहरूका लागि त्यो थोरै कष्ट स्वीकार्य हुँदैन। अरूले तिनीहरूलाई सत्यता सङ्गति गर्दा, तिनीहरूले त्यसलाई ग्रहण गर्न मान्दैनन्, बरु यस्ता कुराहरू भन्छन्, “मलाई ती ठूल्ठूला धर्मसिद्धान्तहरूका बारेमा भाषण नदेऊ। मैले तिमीले भन्दा कम बुझेको छैनँ; मलाई यो सबै थाहा छ! मलाई यति मात्र भन, म कहिले घर जान पाउँछु? ठूलो रातो अजिङ्गरले मेरो घरको निगरानी गर्न कहिले रोक्छ? ठूलो रातो अजिङ्गरले मलाई पक्राउ नगर्ने गरी म कहिले घर जान पाउँछु? यदि मलाई आफू कहिले घर जान पाइन्छ भन्‍ने थाहा छैन भने, म नबाँच्नु नै राम्रो हुन्छ!” तिनीहरूले फेरि हङ्गामा मच्चाउँछन्, र यसो गर्ने क्रममा, तिनीहरू भुइँमा बसेर खुट्टा बजार्छन्—अनि तिनीहरूले जति खुट्टा बजार्छन्, तिनीहरू त्यति नै रिसाउँछन्, र तिनीहरू चिच्याउँदै र रुँदै अराजक रूपमा विस्फोट हुन्छन्। अरूले भन्छन्, “अलिक बिस्तारै बोल न। यदि तिमीले यसो गरिरह्यौ र छिमेकीहरूले यहाँ बाहिरी मानिसहरू बस्छन् भन्ने थाहा पाए भने, त्यसले हामीलाई खुलासा गर्नेछ, होइन र?” तिनीहरूले जवाफ दिन्छन्, “मलाई मतलब छैन, म हङ्गामा मच्चाउन मात्रै चाहन्छु! तिमीहरू सबै घर जान पाउँछौ, तर म जान पाउँदिनँ। यो न्यायोचित भएन! म यस्तो हङ्गामा मच्चाउनेछु कि तिमीहरू पनि म जस्तै घर जान पाउनेछैनौ!” तिनीहरूको रिसको झोँक थामिदैन, र तिनीहरूको द्वेष देखा पर्छ; कसैले पनि तिनीहरूलाई सम्झाउन सक्दैन, कसैले पनि तिनीहरूलाई मनाउन सक्दैन। जब तिनीहरूको मुड अलिक सुधार हुन्छ, तब तिनीहरू शान्त हुन्छन् र तिनीहरूले हङ्गामा मच्चाउन छोड्छन्। तर कसलाई थाहा—कुनै पनि दिन, तिनीहरू फेरि अराजक हुन र हङ्गामा मच्चाउन सक्छन्: तिनीहरूले बाहिर हिँड्डुल गर्नु र स्वतन्त्र हुनु मात्र पर्छ, र घरभित्र ठूलो आवाजमा बोल्नुपर्छ; तिनीहरूले घर जानका लागि निरन्तर षड्यन्त्र गर्नेछन्। दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई यस्तो चेतावनी दिन्छन्: “घर जानु अत्यन्तै जोखिमपूर्ण कुरा हो; त्यहाँ प्रहरीले ठाउँको घेराबन्दी र निगरानी गरिरहेको छ।” तिनीहरूले जवाफ दिन्छन्, “मलाई मतलब छैन, म फर्केर जान चाहन्छु! तिनीहरूले मलाई पक्रे भने, पक्रून्! कुन ठूलो कुरा भो र? बढीमा, म यहूदा त हुनेछु!” के यो पागलपन होइन र? (हो।) तिनीहरूले आफू यहूदा बन्‍न तयार भएको भनेर खुलस्त भन्छन्। तिनीहरूलाई अतिथि सत्कार गर्ने आँट कसले गर्थ्यो? के कसैले यहूदालाई अतिथि सत्कार गर्न चाहन्छ? (चाहँदैन।) के त्यस्तो व्यक्ति परमेश्‍वरको वि‍श्‍वासी हो? दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई परमेश्‍वरका वि‍श्‍वासीका रूपमा अतिथि सत्कार गर्छन्। यदि तिनीहरूमा केही हदसम्म मानवताको कमी छ भने, त्यसलाई सहन सकिन्थ्यो; सत्यता नपछ्याउनुलाई पनि सहन सकिन्थ्यो। तर तिनीहरूले मण्डलीलाई धोका दिन र यहूदा बनेर दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गर्न सक्छन्, र यसरी धेरै मानिसहरूलाई आफ्नो घर फर्कन वा सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गर्न नसक्ने अवस्थामा पुर्‍याउन सक्छन्—यी परिणामहरूका लागि कसले जिम्मेवारी लिन सक्छ? के तैँले यस्तो शत्रुलाई अतिथि सत्कार गर्ने आँट गर्नेथिइस्? के तिनीहरूलाई अतिथि सत्कार गर्नु आफैलाई समस्यामा पार्नु मात्रै होइन र?

अव्यावहारिक र जानीजानी कष्टदायी हुने मानिसहरूले कार्य गर्दा आफ्नै स्वार्थहरूबारे मात्र सोच्छन्, र आफूलाई जे कुराले खुसी दिन्छ त्यही गर्छन्। तिनीहरूका शब्दहरू समझहीन तर्क र विधर्म बाहेक केही होइनन्, र तिनीहरूमा समझ छिर्दैन। तिनीहरूको क्रूर स्वभाव भरिभराउ हुन्छ। तिनीहरूसँग उठबस गर्न कसैले आँट गर्दैन, र आफूमाथि विपत्ति आउने डरले तिनीहरूसित सत्यता सङ्गति गर्न कोही इच्छुक हुँदैन। तिनीहरूलाई मन नपर्ने वा तिनीहरूको इच्‍छासँग नमिल्‍ने एउटा शब्द बोले पनि तिनीहरूले यसैलाई आधार मानेर आफूमाथि घोर आरोपहरू लगाउनेछन् भन्‍ने डरले अरू मानिसहरू तिनीहरूलाई मनको कुरा बताउँदा आकुलव्याकुल हुन्छन्। के त्यस्ता मानिसहरू दुष्ट होइनन् र? के तिनीहरू जीवित पिशाच होइनन् र? क्रूर स्वभाव र खराब समझ भएका मानिसहरू सबै जीवित पिशाच हुन्। अनि जब कसैले जीवित पिशाचसँग अन्तरक्रिया गर्छ, उसले क्षणिक लापरवाही गर्दा नै आफैमाथि विपत्ति ल्याउन सक्छ। के त्यस्ता जीवित पिशाचहरू मण्डलीमा भए भने यसले ठूलो समस्या ल्याउँदैन र? (ल्याउँछ।) यी जीवित पिशाचहरूले आवेग र रिस पोखाएपछि, केही समयसम्‍म मानवजस्तै बोलेर माफी माग्‍न सक्छन्, तर पछि तिनीहरू परिवर्तन हुनेछैनन्। कुन बेला मुड खराब भएर तिनीहरूले फेरि रिसको झोँक देखाउँछन् र समझहीन तर्कहरू फलाक्छन्, कसलाई के थाहा। तिनीहरूको रिस र आक्रोशको निसाना हरेकपटक फरक हुन्छ, तिनीहरूको अभिव्यक्तिको स्रोत र पृष्ठभूमि पनि फरक नै हुन्छ। भन्‍नुको मतलब, कुनै पनि कुराले तिनीहरूलाई निराश तुल्याउन सक्छ, कुनै पनि कुराले तिनीहरूलाई असन्तुष्ट तुल्याउन सक्छ, र कुनै पनि कुराले तिनीहरूलाई रिसको झोँक र अराजक व्यवहारद्वारा प्रतिक्रिया दिने तुल्याउन सक्छ। कस्तो भयानक कुरो! कस्तो कष्टदायी कुरो! यी पागल दुष्ट मानिसहरूले कुनै पनि बेला आफ्नो होस गुमाउन सक्छन्, तिनीहरूले के गर्न सक्छन् कसैलाई थाहा हुँदैन। मलाई त्यस्ता मानिसहरूप्रति सबैभन्दा बढी घृणा लाग्छ। तिनीहरू प्रत्येकलाई सफाइ गर्नुपर्छ—तिनीहरू सबैलाई निकाल्नैपर्छ। म तिनीहरूसँग उठबस गर्न चाहन्‍नँ। तिनीहरूको सोच अलमल्ल र स्वभाव पाश्विक हुन्छन्, तिनीहरू समझहीन तर्क र दुष्ट शब्दहरूले भरिएका हुन्छन्, र आफ्नो जीवनमा कुनै परिस्थिति आइपर्दा, तिनीहरूले आवेगपूर्ण गुनासो पोख्छन्। गुनासो पोख्दा तिनीहरूमध्ये कतिपय रुन्छन्, अरू चिच्याउँछन्, र कसैले खुट्टा बजार्छन्, साथै कतिपयले त टाउको हल्लाउँछन् र हातखुट्टा फर्फराउँछन्। तिनीहरू पशु नै हुन्, मानव होइनन्। कतिपय भान्सेहरूले रिस उठ्दा भाँडाकुँडाहरू फाल्छन्; अरू, सुँगुर वा कुकुर पाल्नेहरूले, रिस उठ्दा ती जनावरहरूलाई लात हान्छन् र कुट्छन्, आफ्नो सारा रिस तिनीहरूमाथि पोख्छन्। यी व्यक्तिहरू, चाहे जे भए पनि, सधैँ रिसाएर प्रतिक्रिया जनाउँछन्; तिनीहरू न त चिन्तन गर्न आफूलाई शान्त पार्छन् न त परमेश्‍वरबाट आएको भनेर त्यसलाई स्वीकार नै गर्छन्। तिनीहरूले प्रार्थना वा सत्यताको खोजी गर्दैनन्, न त अरूसित सङ्गति गर्न खोज्छन्। तिनीहरूसित विकल्प नहुँदा, तिनीहरूले सहन्छन्; तिनीहरू सहन अनिच्छुक हुँदा बौलाउँछन्, तिनीहरूले समझहीन तर्कहरू ओकल्छन्, अरूलाई दोषारोपण र निन्दा गर्छन्। तिनीहरूले प्राय: यस्ता कुराहरू भन्छन्, “मलाई थाहा छ, तिमीहरू सबै शिक्षित छौ र मलाई हेयको दृष्टिले हेर्छौ”; “मलाई थाहा छ, तिमीहरूका परिवार समृद्ध छन्, र तिमीहरूले मलाई गरिब भएकोमा तिरस्कार गर्छौ”; वा “मलाई थाहा छ, मेरो आस्थामा जग नभएका कारण तिमीहरूले मलाई तिरस्कार गर्छौ, र मैले सत्यता नपछ्याउने भएकाले तिमीहरूले मलाई तिरस्कार गर्छौ।” आफ्ना अनेकौँ समस्याहरूबारे प्रस्ट रूपले सचेत हुँदाहुँदै पनि, तिनीहरूले तिनलाई समाधान गर्न कहिल्यै सत्यता खोज्दैनन्, न त अरूसँगको सङ्गतिमा आफूलाई चिन्‍नेबारे छलफल नै गर्छन्। तिनीहरूका आफ्नै समस्याहरू उल्लेख हुँदा, तिनीहरू पन्छिन्छन्, र झूटो प्रत्यारोप लगाउँछन्, सारा समस्या र जिम्मेवारीहरूलाई अरूमाथि थोपर्छन्, साथै अरूले तिनीहरूलाई दुर्व्यवहार गरेकाले नै आफ्नो व्यवहार यस्तो भएको भनेर गुनासो समेत गर्छन्। यस्तो लाग्छ, मानौँ तिनीहरूका झर्कोफर्को र निरर्थक झमेलाको कारण अरू नै हुन्, मानौँ अरू सबै जना दोषी छन्, तिनीहरूसित यस्तो व्यवहार गर्नुको विकल्प नै छैन, र तिनीहरूले वैधानिक रूपमा आफ्नो प्रतिरक्षा गरिरहेका छन्। जबजब तिनीहरू असन्तुष्ट हुन्छन्, तब तिनीहरूले आफ्नो रिसईबी पोख्न र बकवाद ओकल्न थाल्छन्, अरू सबै गलत भएझैँ गरी आफ्ना समझहीन तर्कहरूमा जिद कस्छन्, मानौँ तिनीहरू मात्रै राम्रा मानिस हुन् र अरू सबै खलपात्र हुन्। तिनीहरूले जतिसुकै झर्कोफर्को गरे पनि वा समझहीन तर्कहरू ओकले पनि, आफूबारे राम्रो बोलियोस् भन्‍ने माग गर्छन्। तिनीहरूले गल्ती गर्दा समेत, अरूलाई तिनीहरूको खुलासा वा आलोचना गर्नबाट निषेध गर्छन्। यदि तैँले तिनीहरूको सानो समस्या औँल्याइस् भने, तिनीहरूले तँलाई अनन्त विवादहरूमा अल्झाउनेछन्, अनि त्यसपछि तैँले शान्तिपूर्वक जिउने कुरा बिर्से हुन्छ। यो कस्तो प्रकारको व्यक्ति हो? यो अव्यावहारिक र जानीजानी कष्टदायी हुने व्यक्ति हो, र यसो गर्नेहरू दुष्ट मानिस हुन्।

अव्यावहारिक र जानीजानी कष्टदायी हुने मानिसहरूले सामान्यतया कुनै पनि ठूलो विश्वासघाती वा दुष्ट कार्यहरू नगर्न सक्छन्, तर तिनीहरूको हित, प्रतिष्ठा, वा इज्जतको कुरा उठ्नेबित्तिकै, तिनीहरू रिसले चुर हुन्छन्, तिनीहरूले हङ्गामा मच्चाउँछन्, अनियन्त्रित व्यवहार गर्छन्, र आत्महत्या गर्ने धम्की समेत दिन्छन्। ल भन् त, यदि परिवारमा यस्तो बेतुक र अनुचित रूपमा असभ्य व्यक्ति देखा पर्‍यो भने, के सिङ्गो परिवारले दुःख पाउँदैन र? त्यसपछि घर अशान्तिमा डुब्छ, रुवाबासी र चिच्च्याहटले भरिन्छ, जसले गर्दा बाँच्न असहनीय हुन्छ। कतिपय मण्डलीहरूमा त्यस्ता मानिसहरू हुन्छन्; सबै कुरा सामान्य हुँदा यो प्रस्ट नदेखिने भए पनि, तिनीहरू कहिले विस्फोट भएर प्रकट हुन सक्छन् भन्ने कुरा तँलाई कहिल्यै थाहा हुँदैन। त्यस्ता मानिसहरूका प्राथमिक प्रकटीकरणहरूमा हङ्गामा मच्चाउने, उटपटाङ तर्कहरू गर्ने, सार्वजनिक रूपमा अपशब्द बोल्‍ने, आदि पर्छन्। यी व्यवहारहरू महिनामा एक पटक वा हरेक छ महिनामा एक पटक मात्रै देखा परे पनि, तिनले ठूलो हैरानी र कठिनाइ सिर्जना गर्छन्, र धेरैजसो मानिसहरूको मण्डली जीवनमा विभिन्न मात्रामा बाधा ल्याउँछन्। यदि कुनै व्यक्ति साँच्चै नै यो वर्गमा पर्छ भन्ने कुरा पुष्टि भयो भने, उसलाई तुरुन्तै तह लगाएर मण्डलीबाट निकाल्नुपर्छ। कतिपयले यसो भन्न सक्छन्, “यी मानिसहरूले कुनै दुष्टता गर्दैनन्। तिनीहरूलाई दुष्ट मानिस मान्न सकिँदैन; हामी तिनीहरूप्रति सहनशील र धैर्यवान् हुनुपर्छ।” ल भन् त, के त्यस्ता मानिसहरूलाई तह नलगाउनु ठीक हुन्छ? (अहँ, ठीक हुँदैन।) किन हुँदैन? (किनभने तिनीहरूका कार्यले धेरैजसो मानिसहरूलाई ठूलो समस्यामा पार्छ र हैरान गर्छ, र मण्डली जीवनमा पनि बाधाहरू ल्याउँछ।) यो परिणामका आधारमा हेर्दा, मण्डली जीवनमा बाधा दिनेहरू दुष्ट मानिस वा ख्रीष्टविरोधी नभए पनि, तिनीहरू मण्डलीमा बस्नु हुँदैन भन्ने कुरा स्पष्ट हुन्छ। किनभने त्यस्ता मानिसहरूले सत्यतालाई प्रेम गर्दैनन्, बरु तिनीहरू यसप्रति वितृष्ण हुन्छन्, र तिनीहरूले जतिसुकै वर्ष परमेश्‍वरमा वि‍श्‍वास गरे पनि वा तिनीहरूले जति नै प्रवचनहरू सुने पनि, तिनीहरू सत्यतालाई स्वीकार गर्दैनन्। तिनीहरू कुनै खराब काम गरेर काटछाँटमा परेपछि, तिनीहरूले हङ्गामा मच्चाउँछन् र वाहियात कुराहरू बोल्छन्। कसैले तिनीहरूलाई सत्यता सङ्गति गर्दा पनि, तिनीहरूले त्यसलाई स्वीकार गर्दैनन्। तिनीहरूसँग कसैले तर्क गर्न सक्दैन। मैले तिनीहरूलाई सत्यता सङ्गति गर्दा पनि तिनीहरू बाहिर चुप लागेर बस्लान् तर भित्री रूपमा यसलाई स्वीकार गर्दैनन्। वास्तविक अवस्थाहरू सामना गर्दा, तिनीहरूले सधैँ जस्तै व्यवहार गर्छन्। तिनीहरूले मेरा वचनहरू सुन्दैनन्, त्यसकारण तिनीहरूले तिमीहरूको सल्लाहलाई अझै कम स्वीकार गर्नेछन्। यी मानिसहरूले ठूलो दुष्कर्म नगर्लान्, तर तिनीहरूले सत्यतालाई अलिकति पनि स्वीकार गर्दैनन्। तिनीहरूको प्रकृति सारलाई हेर्दा, तिनीहरूमा विवेक र समझको कमी हुने मात्र नभई तिनीहरू अव्यावहारिक, जानीजानी कष्टदायी हुने, र समझ नछिर्ने पनि हुन्छन्। के त्यस्ता मानिसहरूले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छन्? बिलकुलै सक्दैनन्! जसले सत्यतालाई पटक्कै स्वीकार गर्दैनन् तिनीहरू अवि‍श्‍वासी हुन्, तिनीहरू शैतानका नोकर हुन्। जब कामकुराहरू तिनीहरूको हिसाबले चल्दैनन्, तब तिनीहरूले हङ्गामा मच्चाउँछन्, निरन्तर उटपटाङ तर्कहरू गर्छन्, र सत्यता जति सङ्गति गर्दा पनि तिनीहरूले सुन्दैनन्। त्यस्ता मानिसहरू अव्यावहारिक र जानीजानी कष्टदायी हुन्छन्, र तिनीहरू खाँटी दियाबलस र दुष्ट आत्मा हुन्; तिनीहरू पशुभन्दा खराब हुन्छन्! ती खराब समझ भएका मानसिक रोगीहरू हुन्, र तिनीहरूले कहिल्यै साँचो पश्चात्ताप गर्न सक्दैनन्। तिनीहरू जति लामो समय मण्डलीमा बस्छन्, तिनीहरूसँग परमेश्‍वरबारे त्यति नै धेरै धारणाहरू हुन्छन्, तिनीहरूले परमेश्‍वरको घरसँग त्यति नै अनुचित मागहरू गर्छन्, र तिनीहरूले मण्डली जीवनलाई त्यति नै ठूलो बाधा र हानि पुर्‍याउँछन्। यसले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेश र मण्डलीको कामको सामान्य प्रगतिलाई असर गर्छ। मण्डलीको काममा तिनीहरूले गर्ने हानि दुष्ट मानिसहरूको भन्दा कम हुँदैन; तिनीहरूलाई मण्डलीबाट सुरुमै निकाल्नुपर्छ। कतिपय मानिसहरूले भन्छन्, “के तिनीहरू अलिक अराजक मात्रै भइरहेका होइनन् र? तिनीहरू दुष्ट हुने हदसम्म पुग्दैनन्, त्यसकारण के तिनीहरूलाई प्रेमका साथ व्यवहार गर्दा राम्रो हुँदैन र? यदि हामीले तिनीहरूलाई राख्यौँ भने, सायद तिनीहरूले परिवर्तन भएर मुक्ति पाउन सक्छन्।” म तँलाई भन्छु, यो असम्भव छ! यसमा “सायद” भन्ने कुरै आउँदैन—यी मानिसहरूलाई बिलकुलै मुक्ति दिन सकिँदैन। किनभने तिनीहरूले सत्यता बुझ्न सक्दैनन्, यसलाई स्वीकार गर्न त झनै सक्दैनन्; तिनीहरूमा विवेक र समझको कमी हुन्छ, तिनीहरूको सोचाइको प्रक्रिया असामान्य हुन्छ, र तिनीहरूमा आफूलाई आचरणमा ढाल्नका लागि चाहिने सबैभन्दा आधारभूत आम सुझबुझको समेत कमी हुन्छ। तिनीहरू खराब समझ भएका मानिस हुन्। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई बिलकुलै मुक्ति दिनुहुन्न। अलिक बढी सामान्य सोचाइ भएका र अलिक राम्रो क्षमता भएका मानिसहरूले पनि सत्यतालाई पटक्कै स्वीकार गर्दैनन् भने, तिनीहरूले मुक्ति पाउन सक्दैनन्, खराब समझ भएका मानिसहरूले मुक्ति पाउनु त झन् परको कुरा हो। अझै पनि त्यस्ता मानिसहरूलाई प्रेमका साथ व्यवहार गर्नु र तिनीहरूका लागि आशा राख्नु, के त्यो अत्यन्तै मूर्ख र अज्ञानी कार्य होइन र? अहिले म तिमीहरूलाई यो कुरा भनिरहेको छु: अव्यावहारिक, जानीजानी कष्टदायी हुने, र समझ ग्रहण गर्न नसक्ने मानिसहरूलाई मण्डलीबाट पखालेर निकाल्नु पूर्ण रूपमा सही कुरा हो। यसले मूलतः मण्डली र परमेश्‍वरका चुनिएका मानिसहरूप्रतिको तिनीहरूको दुर्व्यवहारलाई पूर्ण रूपमा रोक्छ। यो अगुवा र कामदारहरूको जिम्मेवारी हो। यदि कुनै मण्डलीमा त्यस्ता अनुचित मानिसहरू छन् भने, परमेश्‍वरका चुनिएका मानिसहरूले तिनीहरूबारे रिपोर्ट गर्नुपर्छ, र अगुवा र कामदारहरूले त्यस्ता रिपोर्टहरू प्राप्त गरेपछि तिनीहरूलाई तुरुन्तै तह लगाउनुपर्छ। छैटौँ प्रकारका मानिसहरू—जो अव्यावहारिक र जानीजानी कष्टदायी छन् तिनीहरूलाई सम्हाल्ने सिद्धान्त यही हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्