अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२६) खण्ड तीन
प्रकाश गरिने र हटाइने मानिसहरूका हकमा भन्दा, तिनीहरूका विभिन्न दुष्ट कार्यहरूका प्रकटीकरणहरू, साथै तिनीहरूले आफ्नो दैनिक जीवनमा प्रकट गर्ने दुर्भावनापूर्ण शब्द र वाणीहरू स्पष्ट रूपमा नै देखिन्छन्। तैपनि, कतिपय अगुवा र कामदारहरूले यी दुष्ट मानिसहरूलाई तिनीहरू वास्तवमा के हुन् भनेर खुट्ट्याउन, वा तिनीहरूको प्रकृति सारलाई छर्लङ्ग देख्न सक्दैनन्। यी अगुवा र कामदारहरूलाई तिनीहरू दुष्ट मानिस र अविश्वासी हुन् भन्ने थाहा हुँदैन जस्तो देखिन्छ, त्यसकारण उनीहरूसँग तिनीहरूलाई मण्डलीबाट पखाल्ने, वा तिनीहरूलाई उचित रूपमा निराकरण गर्ने कुनै योजना हुँदैन। यो अगुवा र कामदारका रूपमा उनीहरूले जिम्मेवारीलाई गम्भीर रूपमा बेवास्ता गर्नु हो। दानवीय प्रकृतिका यी मानिसहरूले परमेश्वरको घरका कुनै पनि नियमहरू पालना नगर्दा, तिनीहरू उन्मत्त हुँदा र तिनीहरूले जथाभावी मण्डलीको काम र मण्डली जीवनको सुव्यवस्थामा बाधा दिँदा र त्यसलाई बिथोल्दा, उनीहरू ट्वाल्ल परेर हेर्छन्; उनीहरू यी मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्ने नाममा निर्भिक र बेपरवाह रूपमा काम गर्दा, स्वच्छन्द व्यवहार गर्दा, र परमेश्वरको घरका हितहरूमा हानि गर्दासमेत तिनीहरूलाई आड दिने गर्छन्। परमेश्वरको घरका हितहरूमा हानि गर्नुमा धेरै कुराहरू समावेश हुन्छन्: परमेश्वरको घरका मेसिन र विभिन्न उपकरणहरूमा क्षति पुर्याउनु, यसका कार्यालयका विभिन्न यन्त्र र आपूर्तिहरूमा क्षति पुर्याउनु, परमेश्वरका भेटीहरूलाई समेत आफूखुसी उडाउनु, इत्यादि। अझै गम्भीर कुरा के हो भने, तिनीहरूले जथाभावी विभिन्न विधर्म र भ्रमहरू फैलाउँछन्, जसबाट यस्तो बाधा सिर्जना हुन्छ कि परमेश्वरका चुनिएका मानिसहरूले शान्तिपूर्वक आफ्नो कर्तव्य पूरा गर्न सक्दैनन्, र यो बाधा यस्तो हुन्छ कि कमजोर र नकारात्मक मानिसहरूले आफ्नो कर्तव्य त्याग्छन् र परमेश्वरलाई पछ्याउनुमा विश्वास गुमाउँछन्। यी दुष्ट मानिसहरूले यी सबै खराब कामकुराहरू गर्छन्, तिनीहरूले मण्डलीको काममा बाधा र अवरोध ल्याउने र दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गर्ने यी सबै दुष्ट कार्यहरू गर्छन्, तैपनि अगुवा र कामदारहरूले आँखा चिम्लिन्छन्, सुने पनि नसुनेको जस्तो गर्छन्; उनीहरूमध्ये कतिले यसोसमेत भन्छन्, “मलाई थाहा थिएन, कसैले पनि मलाई कहिल्यै बताएन!” त्यो पशु र दियाबलसहरूको गिरोहले मण्डलीमा ध्वंस मच्चाएको हुन्छ, र अस्तव्यस्तता पैदा गरेको हुन्छ, तैपनि अगुवा र कामदारहरू यसबारे पूर्ण रूपमा अनभिज्ञ र अनजान हुन्छन्! के उनीहरू नीच मानिस होइनन् र? उनीहरूको हृदय कहाँ छ? उनीहरू के गरिरहेका छन्? के तिनीहरू व्यर्थको गफ मात्रै गरिरहेका छैनन् र? के उनीहरूले आफ्नो उचित कामलाई बेवास्ता गरिरहेका छैनन् र? त्यस्ता झूटा अगुवाहरू काममा रहने हरेक दिन भनेको सबै किसिमका दुष्ट मानिसहरूले बेपरवाह भएर मण्डलीमा बाधा दिन र परमेश्वरका चुनिएका मानिसहरूलाई हानि गर्न पाउने थप एक दिन हो। झूटा अगुवाहरूले आफ्नो जिम्मेवारी पूरा नगर्ने हुनाले नै त्यो पशुहरूको गिरोह दिनभरि केही नगरी समय बिताउँछन्, तिनीहरूले कुनै कर्तव्य पूरा गर्दैनन् वा कुनै नियमहरू पालना गर्दैनन्, परमेश्वरको घरको भरमा पेट पाल्छन्, परमेश्वरको घरका विभिन्न भौतिक लाभ र कल्याण सित्तैमा उपभोग गर्छन्—तिनीहरूले जानी-जानी मण्डलीको काममा बाधासमेत दिन्छन्, र परमेश्वरको घरका मेसिन र उपकरणहरूमा क्षति पुर्याउँछन्। तिनीहरू यस्तै व्यवहार गर्छन्, तैपनि परमेश्वरको घरमा आरामदायी जीवन जिउने र आफूलाई जे मन लाग्यो त्यही गर्ने अपेक्षा गर्छन्, र तिनीहरूलाई झिज्याउने वा चिढ्याउने अनुमति कसैलाई हुँदैन। यो निकै गम्भीर समस्या हो, तैपनि अगुवा र कामदारहरूले यसलाई पन्छाउँछन्, अरूले रिपोर्ट गरे पनि यसलाई समाधान गर्दैनन्—उनीहरू वास्तविक काम नगर्ने कसिङ्गर होइनन् र? के यो जिम्मेवारीलाई गम्भीर बेवास्ता गर्नु होइन र? (हो।) कतिपयले भन्छन्, “म अरू काममा व्यस्त भएकाले मैले समस्या समाधान गरिनँ। मैले यो गर्नै सकिनँ!” के यी शब्दहरू औचित्यपूर्ण छन्? यदि तैँले त्यस्तो गम्भीर समस्या समाधान गर्दैनस् भने, तँ केमा चाहिँ यति व्यस्त हुन्छस्? के तँ जे कुरामा व्यस्त हुन्छस् त्यसको मूल्य छ? के तैँले आफ्नो कामलाई प्राथमिकता दिन सक्छस्? तँ काममा जति नै व्यस्त भए पनि, के समस्याहरू समाधान गर्नुलाई प्राथमिकता दिनु पर्दैन र? मण्डलीको काममा बाधा र अवरोध ल्याउने विभिन्न प्रकारका मानिसहरूलाई तुरुन्तै बुझ्नु र निराकरण गर्नु अगुवा र कामदारहरूको जिम्मेवारी हो। यदि तँ वास्तविक समस्याहरूलाई पन्छाएर अरू मामलाहरूमा व्यस्त हुन्छस् भने, के तैँले वास्तविक काम गरिरहेको हुन्छस्? यदि तैँले कुनै समस्या पत्ता लगाइस् वा कसैले तँलाई कुनै समस्याको रिपोर्ट गर्यो भने, तैँले गरिरहेको कामलाई थाती राखेर तुरुन्तै स्थलमै गएर समस्याको स्रोत के हो भनेर हेर्नुपर्छ। यदि कुनै दुष्ट व्यक्तिले मण्डलीको काममा बाधा र अवरोध ल्याएको हो भने, तैँले सुरुमा यो दुष्ट व्यक्तिलाई पखाल्नुपर्छ। त्यसपछि, अरू समस्याहरू समाधान गर्न सजिलो हुनेछ। यदि तैँले कुनै समस्या पत्ता लगाइस् र आफू निकै व्यस्त रहेको दाबी गर्दै त्यसलाई समाधान गरिनस् भने, के तँ वास्तवमा पिँजडामा रहेको लोखर्के जस्तै यता-उता दौडिरहेको मात्रै हुँदैनस् र? आखिर तँ के कुरामा यति व्यस्त हुन्छस्? के यो वास्तविक काम हो? के तँ यसलाई प्रस्टसँग व्याख्या गर्न सक्छस्? के तेरा कारण र बहानाहरू औचित्यपूर्ण छन्? तँ समस्याहरू समाधान गर्नुलाई किन महत्त्वहीन ठान्छस्? तँ किन समयमा नै समस्याहरू समाधान गर्दैनस्? तँ किन आफू व्यस्त भएकाले कामकुरा सम्हाल्न नसक्ने भन्दै बहाना खोज्छस् र तिनलाई पन्छाउँछस्? के यो गैरजिम्मेवार हुनु होइन र? मण्डलीको अगुवाका रूपमा, समस्या समाधानलाई प्राथमिकता नदिनु, विभिन्न सानातिना मामलाहरूमा आफूलाई व्यस्त राख्नु, गम्भीर समस्याहरू छन् भनी बुझ्न नसक्नु, काममा महत्त्व र तात्कालिकतालाई छुट्याउन र महत्त्वपूर्ण बुँदाहरू बुझ्न नसक्नु—यी कुराहरू असाधारण रूपमा कमजोर क्षमताका प्रकटीकरणहरू हुन्, र त्यस्तो व्यक्ति अन्योलमा परेको व्यक्ति हो। तँ जति वर्षदेखि अगुवा रहिआएको भए पनि, तैँले मण्डलीको काम राम्ररी गर्न सक्दैनस्। तैँले जिम्मेवारी स्वीकार गर्नुपर्छ र राजीनामा दिनुपर्छ। यदि कुनै अगुवाको क्षमता अत्यन्तै कमजोर छ भने, कुनै पनि तालिम व्यर्थ हुन्छ; उसले निश्चय नै कुनै पनि काम पूरा गर्न सक्दैन—ऊ झूटो अगुवा हो, जसलाई बर्खास्त गर्नुपर्छ र उसको कर्तव्य हेरफेर गर्नुपर्छ। जब झूटा अगुवाहरू काम गरिरहेका हुन्छन्, तब परिणामहरू के-कस्ता आउँछन्? वस्तुगत रूपमा भन्दा, झूटा अगुवाहरूले गर्ने सबै कुराले मण्डलीलाई बहुपक्षीय घाटा हुन्छ। एकातर्फ, मण्डलीको अत्यावश्यक काम राम्ररी पूरा हुँदैन, जसले गर्दा मण्डलीको कामका विभिन्न पक्षहरूको प्रभावकारितामा प्रत्यक्ष रूपमा व्यवधान आउँछ। साथसाथै, यसले परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा पनि हानि र असर गर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले राज्यको सुसमाचारको फैलावटमा असर गर्छ। यी सबै परिणामहरू झूटा अगुवाहरूले वास्तविक काम नगर्नुसँग सिधै सम्बन्धित हुन्छन्। यसलाई अझै प्रस्टसँग भन्दा, झूटा अगुवाहरू वास्तविक काममा नलाग्दाले नै यी सबै कुरा उत्पन्न हुन्छन्। यदि अरू अगुवा र कामदारहरू सक्रिय रूपमा कुनै वास्तविक काममा लाग्न सक्छन्, जसले गर्दा समस्या समाधानको गति द्रुत हुन्छ र लाग्ने समय छोट्टिन्छ भने, के झूटा अगुवाहरूले परमेश्वरको घरमा पुर्याएका विभिन्न क्षतिहरू केही हदसम्म कम हुनेथिएन र? तिनलाई कम्तीमा पनि घटाउन सकिनेथ्यो। समस्याहरू उत्पन्न हुँदा, परमेश्वरको घरले तँलाई तिनलाई तुरुन्तै सम्हाल्न लगाएन भने पनि, कम्तीमा पनि, समस्याहरू रिपोर्ट भएपछि, तैँले तिनलाई तुरुन्तै सम्बोधन गर्न थाल्नुपर्छ: अवस्थाबारे दाजुभाइ-दिदीबहिनीहरूसँग सोधपुछ गर्, र समस्याहरू कसरी समाधान गर्ने भन्ने बारेमा अरू अगुवा र कामदारहरूसँग छलफल र सङ्गति गर्। यदि समस्या गम्भीर छ र तँ यो समाधान गर्न जान्दैनस् भने, तैँले तुरुन्तै यसबारे माथिल्लो तहमा रिपोर्ट गर्नुपर्छ र समाधानहरू खोज्नुपर्छ। सबै अगुवा र कामदारहरूले हासिल गर्नुपर्ने कुरा यही हो। तर वर्तमान समस्या के हो भने, यी अगुवा र कामदारहरूले समस्याहरू समाधान गर्न नसके पनि, माथिल्लो तहमा रिपोर्ट गर्दैनन्। उनीहरू आफ्नो अयोग्यता, अत्यन्तै कमजोर क्षमता, र वास्तविक काम गर्ने असक्षमता खुलासा होला भनेर माथिल्लो तहलाई रिपोर्ट गर्न निकै डर मान्छन्; उनीहरूलाई बर्खास्त भइन्छ कि भन्ने चिन्ता हुन्छ। तैपनि, उनीहरूले काम गर्न अग्रसरता लिँदैनन्; उनीहरू मन्दबुद्धि भएका र चेतनाशून्य हुन्छन्, र कदम चाल्न ढिलाइ गर्छन्। समस्याहरू समाधान गर्ने बाटो नहुँदा, उनीहरू झारा मात्रै टार्छन्, जसले गर्दा समाधान नभएका अति धेरै समस्याहरू थुप्रिँदै जान्छन्, र यसरी उनीहरूले दुष्ट मानिसहरूलाई अवसरहरू प्रदान गर्छन्। यस बेला, झूटा अगुवाहरू केही कामका छैनन् भन्ने देखेर, ती दुष्ट मानिस र महत्त्वाकाङ्क्षा भएका मानिसहरूले त्यो अवसरलाई जथाभावी दुष्ट कार्यहरू गर्ने मौकाका रूपमा प्रयोग गर्छन्, जसले गर्दा मण्डली अराजकता र अस्तव्यस्ततामा डुब्छ, र कामका सबै पक्षहरू अवरुद्ध हुन्छन्। झूटा अगुवाहरूले प्राथमिक जिम्मेवारी लिनुपर्ने भए पनि, अरू अगुवा र कामदारहरूले पनि आफ्नो जिम्मेवारी पूरा गरेका हुँदैनन्। के यो अगुवा र कामदारहरूले जिम्मेवारीलाई गम्भीर रूपमा बेवास्ता गर्नु होइन र? वास्तवमा, मण्डलीमा पैदा हुने धेरैजसो समस्याहरू दुष्ट मानिस र अविश्वासीहरूले सिर्जना गर्ने बाधाहरूसँग सिधै सम्बन्धित हुन्छन्। यदि अगुवा र कामदारहरूले तुरुन्तै समस्याहरूको जड पहिचान गर्न सक्दैनन्, समस्याहरू सिर्जना गर्ने मुख्य दोषीहरूलाई भेट्टाउन सक्दैनन्, र सधैँ अरू ठाउँमा कारणहरू खोज्छन् भने, उनीहरूले आधारभूत रूपमा समस्याहरू समाधान गर्न सक्नेछैनन्, र भविष्यमा पनि समस्याहरू उत्पन्न भइरहनेछन्। यदि उपद्रवी वा पर्दा पछाडि समस्याहरू सिर्जना गर्नेहरूलाई पक्राउ गरियो र सिधै जवाफदेही ठहर्याइयो भने, समस्याहरूलाई सम्हाल्ने यो तरिका सबैभन्दा प्रभावकारी हुन्छ। कम्तीमा पनि, यसले ती अविश्वासी र दुष्ट मानिसहरूले उन्मत्त भइरहने र बाधा र अवरोधहरू सिर्जना गरिरहने आँट नगर्ने कुरा सुनिश्चित गर्छ। के अगुवा र कामदारहरूले हासिल गर्नुपर्ने कुरा यही होइन र? (हो।) मण्डलीका समस्याहरूको सङ्ख्या बढ्नु र ती समयमा नै समाधान नहुनुको मुख्य कारण भनेको अगुवा र कामदारहरूको गैरजिम्मेवारी, वा झूटा अगुवाहरूमा सत्यता वास्तविकताको कमी हुनु र तिनीहरूले वास्तविक काम गर्न नसक्नु हो भनेर निश्चित रूपमा भन्न सकिन्छ। यदि अगुवा र कामदारहरूले मण्डलीमा सिर्जना हुने विभिन्न समस्याहरू समाधान गर्न सक्दैनन् भने, उनीहरूले अवश्य नै आफ्नो पदमा निहित रहेको काम गर्न सक्दैनन्। यहाँ स्पष्ट रूपमा बुझ्नैपर्ने विभिन्न अवस्था र कारणहरू छन्: यदि अगुवा र कामदारहरू अनुभवहीन सिकारु हुन् भने, उनीहरूलाई धैर्यका साथ मदत गर्नुपर्छ, समस्याहरू समाधान गर्न अगुवाइ गर्नुपर्छ, र उनीहरूले समस्याहरू समाधान गर्ने क्रममा केही कुराहरू सिक्नुपर्छ र सत्यता सिद्धान्तहरू बुझ्नुपर्छ। यसरी, उनीहरूले बिस्तारै समस्याहरू समाधान गर्न सिक्नेछन्। यदि अगुवा र कामदारहरू सही मानिस होइनन्, सत्यता स्वीकार गर्न पूर्ण रूपमा इन्कार गर्छन् र त्यसको साटो समस्याहरू समाधान गर्न गैरविश्वासीहरूका दृष्टिकोण र विधिहरू प्रयोग गर्छन् भने, यो सत्यता सिद्धान्तहरू अनुरूप हुँदैन। त्यस्ता मानिसहरू अगुवा र कामदार हुन लायक हुँदैनन् र तिनीहरूलाई समयमा नै बर्खास्त गर्नुपर्छ र हटाउनुपर्छ; त्यसपछि, उपयुक्त अगुवा र कामदारहरू छनौट गर्न फेरि एक पटक चुनाव गर्नुपर्छ। यो शैलीले मात्रै समस्यालाई पूर्ण रूपमा समाधान गर्न सक्छ। मण्डली अगुवा बन्नु सजिलो काम होइन, र अवश्य नै कतिपय समस्याहरू सम्हाल्न सकिँदैन। तर, यदि व्यक्तिमा समझ छ भने, समाधान गर्न नसकिने समस्याहरू आइपर्दा, उसले समस्याहरूलाई लुकाउनु वा दबाउनु हुँदैन र त्यसलाई बेवास्ता गर्नु हुँदैन। बरु, सत्यता बुझेका धेरै मानिसहरूको परामर्श लिएर सामूहिक रूपमा समाधान खोज्नुपर्छ, जसले सत्तरीदेखि अस्सी प्रतिशत समस्याहरू समाधान गर्न सक्छ, र कम्तीमा पनि गम्भीर समस्याहरू पैदा हुनबाट अस्थायी रूपमा रोक्न सक्छ। यो व्यवहार्य मार्ग हो। यदि समस्याहरू साँच्चै समाधान गर्न सकिँदैन भने, व्यक्तिले माथिबाट समाधानहरू खोज्नुपर्छ, जुन बुद्धिमानी निर्णय हो। यदि, इज्जत गुम्ने डरले वा तेरो अयोग्यताका कारण माथिले तँलाई काटछाँट गर्नेछ भन्ने डरले तैँले समस्याहरू लुकाउँछस् र रिपोर्ट गर्दैनस् भने, यो पूर्ण रूपमा निष्क्रिय हुनु हो। यदि तैँले के गर्ने भन्ने थाहा नभएको चेतनाशून्य र मन्दबुद्धि भएको व्यक्तिले जस्तो व्यवहार गरिस् भने, यसले मामलाहरूमा ढिलाइ गर्नेछ। त्यस्ता अवस्थाहरूले दुष्ट मानिस र ख्रीष्टविरोधीहरूलाई सजिलै अवसरहरू प्रदान गर्छन्, जसले गर्दा तिनीहरूले अराजकताको फाइदा उठाएर कुनै कदम चाल्न पाउँछन्। तिनीहरूले अराजकताको फाइदा उठाएर कुनै कदम चाल्छन् भनेर किन भन्ने? किनभने तिनीहरूले यही अवसरको प्रतीक्षा गरिरहेका हुन्छन्। जब अगुवा र कामदारहरूले कुनै पनि समस्याहरू सम्हाल्न सक्दैनन्, र परमेश्वरका चुनिएका मानिसहरूलाई चिन्ता र असहज महसुस भइरहेको हुन्छ र तिनीहरूले अगुवा र कामदारहरूमाथिको भरोसा गुमाइसकेका हुन्छन्, तब दुष्ट मानिस र ख्रीष्टविरोधीहरूले यो अन्तरबाट फाइदा उठाउने प्रयास गरिरहेका हुन्छन्। तिनीहरूले मण्डली कुनै नेतृत्व वा व्यवस्थापन नभएको स्थितिमा छ भन्ने सोच्छन्। तिनीहरू यो मौकामा आफ्ना सक्षमताहरू प्रदर्शन गर्न चाहन्छन्, ताकि परमेश्वरका चुनिएका मानिसहरूले तिनीहरूलाई आदरभावले हेरून्, तिनीहरूलाई साथ दिऊन्, र अगुवा र कामदारहरूका तुलनामा तिनीहरूको क्षमता राम्रो छ, तिनीहरू समस्याहरू समाधान गर्न र निकासको अगुवाइ गर्न बढी सक्षम छन्, र अराजकताबीच तिनीहरूले परिस्थितिलाई उल्टाउन सक्छन् भन्ने विश्वास गरून्। के दुष्ट मानिस र ख्रीष्टविरोधीहरूले सबैभन्दा बढी गर्न चाहने कुरा यही होइन र? यस बेला, जब अगुवा र कामदारहरू शक्तिहीन हुन्छन्, र दुष्ट मानिस र ख्रीष्टविरोधीहरू खडा भएर समस्याहरू समाधान गर्छन्, यहाँसम्म कि निकासको अगुवाइसमेत गर्छन्, तब परमेश्वरका चुनिएका मानिसहरूले कसलाई विश्वास गर्नेछन्? स्वाभाविक रूपमा, उनीहरूले दुष्ट मानिस र ख्रीष्टविरोधीहरूका शक्तिहरूलाई विश्वास गर्नेछन्। यसले के देखाउँछ? यसले अगुवा र कामदारहरू केही न कामका छन् र उनीहरूले केही पनि हासिल गर्दैनन्, र तिनीहरू महत्त्वपूर्ण क्षणहरूमा असफल हुन्छन् भन्ने देखाउँछ। के त्यस्ता मानिसहरू अझै पनि अगुवा र कामदार बन्न लायक हुन्छन्? ख्रीष्टविरोधीहरूमा सत्यता वास्तविकताको कमी हुने र तिनीहरूले वास्तविक काम गर्न नसक्ने भए पनि, तिनीहरू सबैसँग फरक-फरक मात्रामा केही वरदानहरू हुन्छन् र तिनीहरू बाहिरी मामलाहरूबारे तुलनात्मक रूपमा बढी चलाख हुन्छन्, त्यो नै तिनीहरूको फाइदाको कुरा हो, र तिनीहरूले यसरी नै मानिसहरूलाई बहकाउन सक्छन्। तर यदि तिनीहरू अगुवा र कामदार बन्ने हो भने, के तिनीहरूले साँच्चै नै परमेश्वरका चुनिएका मानिसहरूका समस्याहरू समाधान गर्न सत्यताको प्रयोग गर्न सक्नेथिए? के तिनीहरूले साँच्चै नै परमेश्वरका चुनिएका मानिसहरूलाई परमेश्वरका वचनहरू खान-पिउन, सत्यता बुझ्न, र सत्यता वास्तविकतामा प्रवेश गर्न अगुवाइ गर्न सक्नेथिए? बिलकुलै सक्नेथिएनन्। तिनीहरूसँग केही वरदान भए पनि र तिनीहरू बोल्न सिपालु भए पनि, तिनीहरूमा कुनै पनि सत्यता वास्तविकता हुँदैन। के तिनीहरू मण्डलीका अगुवा र कामदार हुन योग्य हुन्छन्? पटक्कै हुँदैनन्! यो परमेश्वरका चुनिएका मानिसहरूले छर्लङ्गै देख्नुपर्ने कुरा हो; तिनीहरू दुष्ट मानिस र ख्रीष्टविरोधीहरूको बहकाउ र फुस्ल्याइमा कहिल्यै पर्नु हुँदैन। अविश्वासी, दुष्ट मानिस, र ख्रीष्टविरोधीहरूले पटक्कै सत्यता पछ्याउँदैनन् र तिनीहरूमा अलिकति पनि सत्यता वास्तविकता हुँदैन। त्यसोभए ल भन्, के तिनीहरूले “अहिले मण्डलीमा कोही पनि प्रभारी नभए पनि, हामीले आफ्नै पहलमा काम गर्नुपर्छ। परमेश्वरको घरका प्रावधानहरू तोड्न मिल्दैन, परमेश्वरको घरले माग गरेका सिद्धान्तहरू परिवर्तन गर्न मिल्दैन। हामीले जे गर्नुपर्ने हो त्यही गर्नुपर्छ; सबै जना आफूले पूरा गर्नुपर्ने कर्तव्यमा लागिरहनुपर्छ, सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ, र व्यवस्थालाई बिथोल्नु हुँदैन” भन्ने जस्तो विवेक र समझ भएको कुरा भन्न सक्छन्? के तिनीहरूले यस्तो कुरा भन्न सक्छन्? (सक्दैनन्।) बिलकुलै सक्दैनन्! यी अविश्वासी र दुष्ट मानिसहरूले के-कस्ता कदमहरू चाल्नेछन्? निगरानी र सुपरिवेक्षणविना, तिनीहरूले आफ्नो कर्तव्यसमेत पूरा गर्दैनन्, तिनीहरू खाने-पिउने, खेल्ने, र रमाइलो गर्ने, व्यर्थको कुराकानी गर्ने, ठट्टा गर्ने, र जिस्किनेसमेत गर्छन्। कतिपयले गैरविश्वासी संसारका भिडियोहरू हेरेरै रात बिताउँछन्, त्यसपछि ढिलासुस्ती गर्न र अत्यधिक मात्रामा सुत्नका लागि आफू आफ्नो कर्तव्य पूरा गर्न राती अबेरसम्म बसेको भनेर बताउँछन्। दुष्ट मानिसहरूका कार्यहरू यीनै हुन्, जो दियाबलसका मानिस हुन्। जब तिनीहरूले यी खराब कार्यहरू गर्छन्, तब के तिनीहरूलाई कुनै ग्लानि हुन्छ? के तिनीहरूले अचानक विवेक प्राप्त गर्छन् र केही मानव जिम्मेवारीहरू पूरा गर्न र परमेश्वरको घर, मण्डली, र दाजुभाइ-दिदीबहिनीहरूका लागि फाइदाजनक हुने कुरा गर्न पहल गर्छन्? बिलकुलै गर्दैनन्। कसैले हेरिरहेको बेलामा, तिनीहरूले खानाको जोहो गर्नका लागि मात्रै भए पनि मन नलागी-नलागी आफू राम्रो देखिने कुनै काम गर्छन्। तिनीहरूले गर्न सक्ने भनेकै यही मात्र हो; यसबाहेक, यी मानिसहरूसँग एउटा पनि परिपूरक विशेषता हुँदैन। त्यसकारण, के यी मानिसहरू परमेश्वरको घरमा बस्नुको कुनै अर्थ छ? यसको कुनै अर्थ छैन। त्यस्ता मानिसहरू वाहियात हुन् र तिनीहरूलाई पखाल्नुपर्छ।
कसैले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भनेर तैँले कसरी मापन गर्छस्? बुझ्नका लागि म तिमीहरूलाई एउटा उदाहरण दिन्छु। कतिपय मानिसहरू कुनै पेसामा संलग्न हुन्छन्, र तिनीहरूले जति धेरै सिक्छन्, आफ्नो अध्ययनलाई जति अघि बढाउँछन्, जति धेरै बुझ्छन्, तिनीहरू यसमा संलग्न हुन त्यति नै इच्छुक हुन्छन् र तिनीहरू पेसा छोड्न त्यति नै कम इच्छुक हुन्छन्। यो कस्तो प्रकटीकरण हो? के यसको अर्थ तिनीहरूलाई यो पेसा साँच्चै मन पर्छ भन्ने हो? (हो।) तिनीहरूले जति नै धेरै कष्ट सहे पनि, जति नै मूल्य चुकाए पनि, तिनीहरूले यसमा जति नै धेरै प्रयास लगाए पनि, तिनीहरू पछुतो नमानी, र हताश नबनी आफ्नो पेसामा लागिरहन्छन्। यो साँचो स्नेह हो, गहिरो र हृदयस्पर्शी अनुराग हो। मानौँ कुनै व्यक्तिले निश्चित काम मन पराउने दाबी गर्छ तर ऊ व्यावसायिक सीपहरू सिक्ने क्रममा कष्ट सहन वा मूल्य चुकाउन अनिच्छुक हुन्छ, र काममा धेरै समस्याहरू उत्पन्न हुँदा उसले समस्यामा परिने डरले समाधानहरू खोज्दैन, र प्रायजसो यो पेसामा संलग्न हुनु झमेला वा बोझ हो भन्ने समेत महसुस गर्छ। तर, पेसा परिवर्तन गर्न सजिलो हुँदैन, र यो पेसाले ल्याउन सक्ने भौतिक फाइदाहरूलाई ध्यानमा राख्दै, यो व्यक्ति मन नलागी-नलागी यसमा संलग्न हुन्छ, तर ऊ यो पेसामा कहिल्यै उत्कृष्ट बन्नेछैन। त्यसोभए, के उसलाई साँच्चै नै यो पेसा मन पर्छ? (पर्दैन।) स्पष्ट रूपमै मन पर्दैन। अर्को प्रकारको व्यक्ति पनि छ, त्यस्तो व्यक्ति जसले निश्चित पेसाप्रति आफ्नो अनुराग मौखिक रूपमा व्यक्त गर्छ र ऊ यसमा संलग्न हुन्छ, तर उसले व्यावसायिक सीपहरू राम्ररी सिक्नका लागि कहिल्यै कष्ट सहने वा मूल्य चुकाउने गर्दैन। सिकाइको क्रममा उसमा उक्त पेसाप्रति दिगमिग वा तिरस्कारसमेत उब्जिन सक्छ, र ऊ सिक्न झन्-झन् अनिच्छुक हुँदै जान सक्छ। जब उसको दिगमिग एउटा निश्चित स्तरमा पुग्छ, तब उसले करियर परिवर्तन गर्छ, र पछि ऊ त्यो पेसामा संलग्न हुँदाको कुनै पनि प्रक्रिया, कथा, वा अरू कुनै कुरा उल्लेख गर्न अनिच्छुक हुन्छ। के त्यस्ता मानिसहरूलाई साँच्चै नै उक्त पेसा मन परेको हुन्छ? (हुँदैन।) तिनीहरूलाई यो मन परेको हुँदैन। तिनीहरूले सजिलै उक्त पेसा त्याग्न सक्छन्, र तिनीहरूलाई घिन लाग्छ र तिनीहरूले करियरसमेत परिवर्तन गर्न सक्छन्, जसले तिनीहरूलाई त्यो पेसा साँचो रूपमा मन पर्दैन भन्ने कुरा प्रमाणित गर्छ। तिनीहरूले त्यो पेसा त्याग्न सक्नुको कारण के हो भने, धेरै समय, ऊर्जा, र मूल्य लगाएपछि, उक्त पेसाले तिनीहरूलाई आफूले चाहेको धनी जीवन जिउन वा राम्रो भौतिक व्यवहार प्राप्त गर्न दिएको हुँदैन। तिनीहरू हृदयमा यस पेसाप्रति वितृष्ण हुन्छन् र यसलाई श्राप दिन्छन्, अरूलाई यसबारे कुरा गर्न समेत बन्देज लगाउँछन्, आफैले यसबारे कुरा गर्नै छोड्छन्, र यसभन्दा पहिले यो पेसामा संलग्न भएकोमा र यसलाई आफ्नो आकाङ्क्षा र जीवनमा पछ्याउने सबैभन्दा उच्च लक्ष्यका रूपमा लिएकोमा लाजसमेत मान्छन्। तिनीहरू उक्त पेसाप्रति जुन हदसम्म वितृष्ण हुन सक्छन् त्यसलाई हेर्दा, के उक्त पेसाप्रति तिनीहरूले सुरुमा देखाएको अनुराग साँचो थियो? (थिएन।) एक प्रकारको व्यक्तिले मात्रै उक्त पेसालाई साँचो रूपमा मन पराउँछ—त्यो पेसाले उसलाई राम्रो भौतिक जीवन वा ठूला फाइदाहरू दिए पनि वा नदिए पनि, र उसले यस पेसामा जतिसुकै कठिनाइहरू सामना गरे पनि वा जति नै धेरै कष्ट भोगे पनि, ऊ यसमा अन्त्यसम्मै हताश नभई लागिपर्न सक्छ। यो साँचो अनुराग हो। व्यक्तिले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्ने कुरामा पनि यही कुरा लागू हुन्छ। यदि तँ साँच्चै नै सकारात्मक कुराहरूलाई प्रेम गर्छस्, सकारात्मक कुराहरूलाई प्रेम गर्नेदेखि सत्यतालाई प्रेम गर्ने अवस्थासम्म पुगेको छस् भने, तैँले जस्तोसुकै अवस्थाहरू सामना गरे पनि, तँ आफ्नो जीवनको उद्देश्य परिवर्तन नगरी सत्यताको खोजी र पछ्याइमा लागिरहनेछस्। यदि तैँले यत्तिकै परमेश्वरमा विश्वास गर्न छोड्न र मुक्तिको मार्ग त्याग्न सक्छस् भने, यो साँचो रूपमा सत्यतालाई प्रेम गर्नु होइन। सत्यता पनि नपछ्याउने तर छोड्न पनि नछोड्नेहरूका हकमा भन्दा, तिनीहरू लागिपर्नुको एउटै मात्र कारण छ: तिनीहरूले के सोच्छन् भने, राम्रो परिणाम र गन्तव्य, राम्रो भविष्यको थोरै पनि आशा हुन्जेल, यसका लागि जोखिम उठाउनु सार्थक हुन्छ, र तिनीहरू अन्त्यसम्मै लागिपर्नुपर्छ। तिनीहरूले यो दृढता आवश्यक छ भन्ने विश्वास गर्छन्; संयोगवश विपत्तिहरू बढिरहेका हुन्छन् र जाने अरू कुनै ठाउँ हुँदैन, त्यसकारण तिनीहरू यहीँ टिकेर बस्न र भाग्य भरोसा गर्न पनि सक्छन्। के त्यस्ता मानिसहरूको हृदयमा सत्यताप्रति अलिकति पनि प्रेम हुन्छ? (हुँदैन।) तिनीहरूसँग प्रेम हुँदैन। सुरुमा परमेश्वरमा विश्वास गर्न थाल्दा, यी मानिसहरूले संसारलाई घृणा गर्ने, शैतानलाई घृणा गर्ने, नकारात्मक कुराहरूलाई घृणा गर्ने, सकारात्मक कुराहरूलाई प्रेम गर्ने, र ज्योतिको तृष्णा गर्ने बारेमा पनि कुरा गर्छन्। तर तिनीहरू परमेश्वरको घरमा, मण्डलीमा प्रवेश गरेपछि तिनीहरूको व्यवहार कस्तो हुन्छ? तिनीहरूले आफू श्रमिक भएको पत्ता लगाउँदा, तिनीहरूको कार्य, व्यवहार, र प्रकृति परमेश्वरका लागि अप्रिय छन् भन्ने महसुस हुँदा, तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? तिनीहरूले कस्तो व्यवहार देखाउँछन्? जब तिनीहरूले परमेश्वरको घरमा अबदेखि तिनीहरूलाई निगाह दिइँदैन, तिनीहरूलाई हटाइनेछ भन्ने अनुभूति गर्छन्, महसुस गर्छन्, वा सोच्छन्, तब कतिपयले छोडेर जाने निर्णय गर्छन्। अरू चाहिँ मन नलागी-नलागी मण्डलीमै बसे पनि, तिनीहरू निराश हुन्छन्, र अन्तमा तिनीहरू जान बाध्य हुन्छन्। त्यस्ता मानिसहरूले सत्यतालाई पटक्कै प्रेम गर्दैनन्; जब आशिष्हरू पाउने तिनीहरूको चाहना चकनाचुर हुन्छ, तब तिनीहरूले परमेश्वरलाई धोका दिन र उहाँबाट मोडिन सक्छन्। यी विभिन्न प्रकटीकरणहरूले सत्यताप्रतिको फरक-फरक मानिसहरूको मनोवृत्तिलाई देखाउँछन्।
४. यी तीन प्रकारका मानिसहरूका फरक-फरक परिणामहरू
भर्खरै, हामीले तीन प्रकारका मानिसहरूका विशेषताहरूका बारेमा सङ्गति गरेका थियौँ: श्रमिकहरू, भाडाका कामदारहरू, र परमेश्वरका मानिसहरू। तिनीहरूका विशेषताहरूबाट, तिनीहरूको अन्तिम परिणाम वस्तुगत वातावरण वा अवस्थाहरूद्वारा निर्धारित नभई तिनीहरूको आफ्नै पछ्याइ र तिनीहरूको प्रकृति सारद्वारा निर्धारित हुन्छन् भन्ने कुरा स्पष्ट हुन्छ। अवश्य नै, वस्तुगत रूपमा भन्दा, मानिसहरूको नियति निर्धारित गर्ने परमेश्वर नै हुनुहुन्छ, तर मानिसहरूले सत्यतालाई प्रेम गर्छन् कि गर्दैनन् र तिनीहरूले सत्यतालाई स्वीकार गर्न सक्छन् कि सक्दैनन् भन्ने आधारमा परमेश्वरले यी कुराहरू निर्धारित गर्नुहुन्छ। श्रमिकहरूले पनि सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्ने दाबी गर्छन्, तर अन्त्यमा, परमेश्वरको काम समाप्त हुँदा पनि, परमेश्वरबारे तिनीहरूका धारणा र कल्पनाहरू, परमेश्वरसँग तिनीहरूले राख्ने अतिशय मागहरू, र परमेश्वरप्रतिको तिनीहरूको धोका अपरिवर्तित नै रहन्छन्। किनभने, परमेश्वरको कामको अवधिमा, परमेश्वरलाई पछ्याउने र आफ्नो कर्तव्य पूरा गर्ने क्रममा, तिनीहरूले कहिल्यै आफ्नो भ्रष्ट स्वभावलाई समाधान गरेका हुँदैनन्। तिनीहरूले आफ्नो भ्रष्ट स्वभावलाई समाधान नगर्नुको मूल कारण भनेको तिनीहरूले आधारभूत रूपमा सत्यतालाई स्वीकार नगर्नु हो। तिनीहरूसँग परमेश्वरमा समर्पित हुने चाहना भए पनि, तिनीहरूले साँचो रूपमा प्रकट गर्ने कुरा भनेको त्याग गर्ने क्षमता र मूल्य चुकाउने तत्परता मात्रै हो, तर तिनीहरूले सत्यता सिद्धान्तहरू वा परमेश्वरप्रतिको समर्पणको मार्ग कहिल्यै खोज्दैनन्। अन्तिम परिणाम के हुन्छ भने, धेरै मेहनत लगाउनुका बाबजुद, तिनीहरूसँग परमेश्वरबारे अलिकति पनि ज्ञान हुँदैन। तिनीहरूले अझै पनि परमेश्वरलाई धोका दिन र अरू मानिसहरू र शैतानको अगाडि उहाँबारे आफ्ना धारणा र कल्पनाहरू र उहाँप्रतिका आफ्ना अनुचित मागहरू व्यक्त गर्न सक्छन्। जब परमेश्वरको काम समाप्त हुन्छ, तब तिनीहरूले अझै पनि आफूलाई “असल मानवता भएको, परमेश्वरमा साँचो रूपमा विश्वास गर्ने, त्याग्न र कष्ट सहन सक्ने, र अवश्य नै मुक्ति पाउन सक्ने व्यक्ति” ठान्छन्, र यसले गर्दा, तिनीहरूलाई शान्ति महसुस हुन्छ। वास्तवमा, तिनीहरू सधैँ सत्यता बिलकुलै नपछ्याई श्रमिकको मार्गमा हिँडेका हुन्छन्; त्यसकारण, तिनीहरूले सधैँ श्रमिकको पहिचान कायम राख्छन्। अर्को वर्गका मानिसहरू, अर्थात् भाडाका कामदारहरूका बारेमा हामी छलफल गर्नेछैनौँ। अझै अर्को चाहिँ परमेश्वरका मानिसहरूको वर्ग हो, जसलाई हामीले भर्खरै उल्लेख गर्यौँ। परमेश्वरलाई पछ्याउने क्रममा, तिनीहरूले श्रमिकहरूले जस्तै उहाँप्रति आफूलाई समर्पित गर्छन्, आफ्नो समय र ऊर्जा, र आफ्नो जवानी समेत समर्पित गर्छन्, र धेरै कष्ट भोग्छन् र धेरै मूल्य चुकाउँछन्। यो त श्रमिकहरू जस्तै हो। त्यसोभए, फरक के छ त? फरक के हो भने, जब परमेश्वरको काम समाप्त हुन्छ, तब परमेश्वरप्रतिका तिनीहरूका कैयौँ धारणा, कल्पना, र अतिशय मागहरू सम्बोधन गरिएका हुनेछन्। तिनीहरूको भ्रष्ट स्वभावभित्र रहेका परमेश्वरलाई स्पष्ट रूपमै प्रतिरोध गर्ने भ्रष्टताका प्रकटीकरण, स्थिति, र प्रकाशहरू फालिएका हुनेछन्। अझै समाधान नभएका कुराहरू तिनीहरूले अनुभवमार्फत क्रमिक रूपमा सत्यता बुझ्ने क्रममा बिलाएर जानेछन्। तिनीहरूका भ्रष्ट स्वभावहरू पूर्ण रूपमा फालिएका त हुनेछैनन्, तर तिनीहरूको जीवन स्वभावहरूमा केही परिवर्तनहरू आएका हुनेछन्। बढीजसो, तिनीहरूले आफूले बुझेका सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्न सक्नेछन्, र तिनीहरूको भ्रष्ट स्वभावका प्रकटीकरणहरू निकै घटेका हुनेछन्। तिनीहरूले कुनै पनि वातावरणमा ती कुरा प्रकट गर्दैनन् भन्ने नभए पनि, यी मानिसहरूले एउटा आधारभूत माग पूरा गरेका हुनेछन्: तिनीहरूले इमानदार हुनुपर्ने परमेश्वरको माग पूरा गरेका हुनेछन्; तिनीहरू आधारभूत रूपमा इमानदार मानिस हुनेछन्। यसका साथै, जब यी मानिसहरूले भ्रष्ट स्वभावहरू प्रकट गर्छन्, वा अपराधहरू गर्छन्, वा परमेश्वरविरुद्ध धारणा र विद्रोहहरू पाल्छन्, तब तिनीहरूले जुनसुकै वातावरणमा त्यसो गरे पनि, तिनीहरूमा पश्चात्ताप गर्ने मनोवृत्ति हुनेछ। अनि अर्को कुरा पनि छ, जुन सबैभन्दा महत्त्वपूर्ण छ: परमेश्वरले आखिरी दिनहरूको न्यायको काममा जुनसुकै निश्चित कदमहरू चाल्नुभए पनि र उहाँले जसरी व्यवहार गर्नुभए पनि, उहाँले भविष्यमा जेसुकै गर्ने अभिप्राय राख्नुभए पनि, उहाँले मानवजातिको नियति जसरी प्रबन्ध गर्नुभए पनि, र तिनीहरू उहाँले प्रबन्ध गर्नुभएको वातावरणमा जसरी जिए पनि, तिनीहरू सबैमा समर्पणकारी हृदय र समर्पणको मनोवृत्ति हुनेछ, तिनीहरू व्यक्तिगत छनौटहरूबाट र व्यक्तिगत योजना र परिकल्पनाहरूबाट मुक्त हुनेछन्। यी विभिन्न सकारात्मक प्रकटीकरणहरूका कारण, तिनीहरू परमेश्वरलाई चाहिने किसिमका, परमेश्वरको मार्ग पछ्याउने, अर्थात् उहाँको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति बनिसकेका हुनेछन्। तिनीहरू अझै पनि परमेश्वरले भन्नुभएको “परमेश्वरको डर मान्नु र दुष्टताबाट अलग बस्नु, र सिद्ध मानिस बन्नु” भन्ने मानकबाट टाढा हुने भए पनि, जब परमेश्वरका परीक्षाहरू तिनीहरूमाथि आइपर्छन्, तब तिनीहरूले खोजी गर्न र तिनीहरू समर्पित हुन सक्छन्, जुन पर्याप्त हुन्छ। तिनीहरूमा कुनै गुनासो हुनेछैन; तिनीहरूले प्रतीक्षा र समर्पण मात्रै गर्नेछन्। तिमीहरूको वर्तमान परिस्थिति अझै पनि त्यस्तो परिणामबाट निकै टाढा हुन सक्ने भए पनि, र कतिपयका लागि, यो अत्यन्तै टाढा र पुग्न नसकिने जस्तो देखिए पनि, यदि तिमीहरूले सत्यतालाई स्वीकार गर्न र परमेश्वरका वचनहरूलाई अस्तित्वका लागि आफ्नो सिद्धान्त र जगका रूपमा लिन सक्छौ भने, विश्वास गर कि कुनै दिन, तँ, वा तिमीहरू सबै परमेश्वरका साँचो मानिस बन्नबाट टाढा हुनेछैनौ—त्यो दिन नजिकै छ भनी विश्वास गर। अहिले चाहे यो अगमवाणी गरिएको होस् वा नजिकै आइसकेको होस्, दुवै अवस्थामा अन्तिम परिणाम कल्पना नभई साकार हुन र पूरा हुन लागेको तथ्य हो। यो तथ्य वास्तवमा कसमा पूरा हुनेछ, यो कुन-कुन मानिसहरूमा पूरा हुनेछ भन्ने कुरा तिमीहरूले वास्तवमा कसरी सत्यता पछ्याउँछौ भन्ने कुरामा निर्भर हुन्छ। अर्को शब्दमा भन्दा, तैँले सत्यतालाई पछ्याउन र अभ्यास गर्न सक्ने हदसम्म यसलाई साँचो रूपमा प्रेम गरे पनि, वा तँसँग सत्यताप्रति थोरै मात्र प्रेम भएको, तर तैँले यसलाई पूर्ण रूपमा स्विकार्न र अभ्यास गर्न नसक्ने भए पनि, अन्तिम परिणामले तँलाई जबाफ दिनेछ। हुन्छ, हामी यस विषयको हाम्रो सङ्गतिलाई यहीँ टुङ्ग्याउनेछौँ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।