अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२६) खण्ड एक

विषयवस्तु चौध: सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै खुट्ट्याउने, अनि निकाला वा निष्कासित गर्ने (भाग पाँच)

मण्डलीको सफाइको कामप्रति अगुवा र कामदारहरूमा हुनुपर्ने मनोवृत्ति

यस वर्ष, हामीले अगुवा र कामदारहरूका जिम्मेवारीहरू, र संलग्न सबै प्रकारका मानिसहरूका प्रकटीकरणहरूका बारेमा निरन्तर सङ्गति गर्दै आएका छौँ। सङ्गतिका विषयहरू झन्-झन् विस्तृत र विशिष्ट बनेका छन्, जसमा सबै प्रकारका मानिसहरूका विभिन्‍न समस्याहरू समावेश छन्, र यी मानिसहरूका विशिष्ट प्रकटीकरणहरू र तिनीहरूलाई विभाजन गर्नुपर्ने वर्गहरूका बारेमा गरिएको सङ्गति पनि अत्यन्तै विशिष्ट र स्पष्ट रहेको छ। यी विस्तृत समस्याहरूका बारेमा जति विशिष्ट र स्पष्ट रूपमा सङ्गति गरिन्छ, यसले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशका लागि त्यति नै सकारात्मक सहयोग र मार्गदर्शन प्रदान गर्नुपर्छ, र अगुवा र कामदारहरूलाई काम गर्न र आफ्नो कर्तव्य पूरा गर्नका लागि त्यति नै बढी मार्गदर्शन र सहयोग प्रदान गर्नुपर्छ। तर, सङ्गति जसरी गरिए पनि, सङ्गति जति नै विशिष्ट भए पनि, कतिपय अगुवा र कामदारहरू मण्डलीका विभिन्‍न प्रकारका मानिस र समस्यालाई कसरी सम्हाल्ने र हटाउने भन्‍ने बारेमा अझै अस्पष्ट हुन्छन्। सबै प्रकारका मानिसहरूका समस्याहरूका बारेमा स्पष्ट रूपमा सङ्गति गरिन्छ, तैपनि कतिपय अगुवा र कामदारहरूले विभिन्‍न प्रकारका मानिसहरूलाई कसरी खुट्ट्याउने र व्यवहार गर्ने भन्‍ने कुरा अझै बुझ्न सक्दैनन्। तिनीहरूले अझै पनि सत्यता सिद्धान्तहरू अनुसार काम गर्न सक्दैनन्, न त तिनीहरूले मण्डलीका विभिन्‍न प्रकारका मानिस र समस्यालाई सम्हाल्न सत्यताको प्रयोग नै गर्न सक्छन्। यसको कारण के हो? त्यस्ता मानिसहरूमा सत्यता वास्तविकताको कमी हुन्छ। सबै प्रकारका मानिसहरूका प्रकटीकरणहरूका बारेमा सङ्गति गरेर, व्यक्तिले मण्डलीमा आफ्नो कर्तव्य पूरा गर्ने र नगर्ने, सत्यता पछ्याउने र नपछ्याउने, आज्ञाकारी र समर्पित हुने, र बाधा र अवरोध ल्याउनेहरूलाई आधारभूत रूपमा खुट्ट्याउनुपर्छ र तिनीहरूका लागि उचित बन्दोबस्तहरू गर्नुपर्छ। तर, मण्डलीका सबै प्रकारका मानिसहरूको अवस्थालाई हेर्दा, प्रस्ट रूपले दुष्ट मानिसहरू मात्रै निकालिएका छन्; धेरै अविश्‍वासीहरूलाई पूर्ण रूपमा निकालिएको छैन। मण्डलीलाई पखाल्ने काममा, अगुवा र कामदारहरूले यसलाई निष्क्रिय रूपमा लिनु, मान्छे खुसी पारिहिँड्ने व्यक्ति जस्तो व्यवहार गर्नु, वा स्पष्ट रूपले दुष्ट मानिसहरूलाई पखालेपछि सबै कुरा साम्य र ठीक भएको छ भनी सोच्नुको सट्टा दुष्ट मानिसहरू र अविश्‍वासीहरूलाई जति सक्दो चाँडो पखाल्ने परमेश्‍वरको काममा सहकार्य गर्नुपर्छ। अगुवा र कामदारहरूले हरेक समूहको कामलाई सक्रिय रूपमा निरीक्षण गर्नुपर्छ, हरेक समूहका सदस्यहरूको अवस्था कस्तो छ, त्यहाँ सङ्ख्या पुर्‍याउनलाई मात्रै कुनै अविश्‍वासीहरू छन् कि छैनन् वा मण्डलीको काममा बाधा दिन नकारात्मकता र धारणाहरू फैलाउने अविश्‍वासीहरू छन् कि छैनन् भनेर पुष्टि गर्नुपर्छ, र पत्ता लगाएपछि, यी मानिसहरूलाई पूर्ण रूपमा खुलासा गर्नुपर्छ र निकाल्नुपर्छ। अगुवा र कामदारहरूले गर्नुपर्ने काम यही हो; तिनीहरू निष्क्रिय हुनु हुँदैन, तिनीहरूले कार्य गर्न माथिका आदेश र अनुरोध पर्खिरहनु हुँदैन, र तिनीहरूले सबै दाजुभाइ-दिदीबहिनीहरूले भनेपछि केही थोरै मात्र काम गर्ने गर्नु हुँदैन। अगुवा र कामदारहरू आफ्‍नो काममा परमेश्‍वरका अभिप्रायहरूप्रति विचारशील हुनुपर्छ र उहाँप्रति बफादार हुनुपर्छ। तिनीहरूका लागि व्यवहार गर्ने सबभन्दा राम्रो उपाय भनेको सक्रिय भई समस्याहरू पहिचान र समाधान गर्नु हो। तिनीहरू, विशेषगरी आफूसँग आधारका रूपमा अहिलेका यी वचनहरू र सङ्गति हुँदा, निष्क्रिय रहनु हुँदै हुँदैन। तिनीहरूले सत्यतामाथि सङ्गति गरेर वास्तविक समस्या र कठिनाइहरू पूर्ण रूपमा समाधान गर्न पहल गर्नुपर्छ, र आफ्‍नो काम जसरी गर्नुपर्ने हो ठ्याक्कै त्यसरी नै गर्नुपर्छ। तिनीहरूले कार्यप्रगतिबारे तुरुन्तै र पूर्वसक्रिय रूपमा अनुगमन गर्नुपर्छ; तिनीहरूले सधैँ माथिको आदेश र अनुरोध पर्खेर मात्र अनिच्छापूर्वक कदम चाल्न मिल्दैन। यदि अगुवा र कामदारहरू सधैँ नकारात्मक र निष्क्रिय रहन्छन् र वास्तविक काम गर्दैनन् भने, तिनीहरू अगुवा र कामदारका रूपमा सेवा गर्न लायक हुँदैनन्, र तिनीहरूलाई बर्खास्त गरेर तिनीहरूको कर्तव्य हेरफेर गरिनुपर्छ। अहिले आफ्‍नो काममा निष्क्रिय बन्‍ने अगुवा र कामदारहरू धेरै छन्। तिनीहरू माथिबाट आदेश र दबाब आएपछि मात्र थोरै काम गर्छन्; नत्र, तिनीहरू सुस्ताउँछन् र बिलम्ब गर्छन्। कतिपय मण्डलीको काम निकै अव्यवस्थित हुन्छ, त्यहाँ कर्तव्य निभाउने कतिपय मानिसहरू अत्यन्तै सुस्त र झाराटारुवा हुन्छन्, र तिनीहरूले कुनै परिणाम दिँदैनन्। यी समस्याहरू पहिल्यै अत्यन्तै गम्‍भीर र भयानक प्रकृतिका हुन्छन्, तर ती मण्डलीका अगुवा र कामदारहरूले अधिकारी र अधिपतिझैँ व्यवहार गर्छन्। तिनीहरूले कुनै व्यावहारिक काम गर्न मात्र होइन, समस्याहरू पहिचान वा समाधान गर्नसमेत सक्दैनन्। यसले मण्डलीको काम ठप्‍प पार्छ र त्यसलाई गतिरोधमा पुर्‍याउँछ। जहाँ मण्डलीको काम भयानक रूपमा अस्तव्यस्त हुन्छ र व्यवस्थितपनको कुनै छनक हुँदैन, त्यहाँ अवश्य नै झूटो अगुवा वा ख्रीष्टविरोधीले शक्ति हातमा लिएको हुन्छ। झूटो अगुवाले शक्ति हातमा लिएको हरेक मण्डलीमा, मण्डलीको सबै काम भताभुङ्ग र पूर्ण भद्रगोल अवस्थामा हुन्छ—त्यसमा कुनै शङ्का छैन। उदाहरणका लागि, अमेरिकी मण्डलीहरूका धेरै समस्याहरू मैले आफ्नै कान वा आँखाले पत्ता लगाएँ। मैले देखेका धेरैजसो समस्याहरू ठाउँको-ठाउँ समाधान गरिए; अरू केही समस्याहरू मैले अमेरिकी मण्डलीका अगुवाहरूलाई समाधान गर्न लगाएँ। तर, अगुवा र कामदारहरूले अधिकांश काम निकै निष्क्रिय रूपमा गर्छन्, पुनः जाँचको कार्य ज्यादै सुस्त र त्यसको प्रभावकारिता अत्यन्तै न्यून हुन्छ, तिनीहरूका अधिकांश दैनिक कार्यहरू माथिको आदेश र आग्रहपछि मात्र अघि बढ्छन्। माथिले कामको प्रबन्ध गरेपछि, तिनीहरू केही समय व्यस्त हुनेछन्, तर त्यो काम सम्पन्न भएपछि, अब के गर्ने भनेर तिनीहरूलाई थाहै हुँदैन किनकि तिनीहरू आफूले कस्ता कर्तव्यहरू पूरा गर्नुपर्छ भन्‍ने नै बुझ्दैनन्। अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दायराभित्रै तिनीहरूले निर्वाह गर्नुपर्ने कामका बारेमा तिनीहरू कहिल्यै स्पष्ट हुँदैनन्; तिनीहरूका नजरमा, गरिनुपर्ने काम केही पनि हुँदैन। यदि मानिसहरूलाई पूरा गरिनुपर्ने कुनै काम छ भन्‍ने लाग्दैन भने, त्यहाँ के भइरहेको हुन्छ? (तिनीहरूले बोझ वहन गर्दैनन्।) सटीक रूपमा भन्दा, तिनीहरूले बोझ वहन गर्दैनन्; तिनीहरू निकै अल्छी पनि हुन्छन् र चैन-आरामको लोभ गर्छन्, सम्भव भएसम्म धेरै पटक विश्राम लिन्छन्, र कुनै पनि अतिरिक्त कामहरू पन्छाउने कोसिस गर्छन्। यी अल्छी मानिसहरूले प्राय यस्तो सोच्‍ने गर्छन्, “मैले किन यति धेरै चिन्ता गर्ने? धेरै चिन्ता गर्दा छिटो बूढो मात्र भइन्छ। त्यस्तो काम गरेर, यति धेरै भौँतारिएर, अनि आफूलाई त्यति थकाएर मलाई कसरी फाइदा हुन्छ? अत्यधिक थकानले म बिरामी भएँ भने के हुन्छ? मसँग उपचार गर्ने पैसा छैन। अनि म बूढो भएपछि मेरो हेरचाह कसले गर्छ?” यी अल्छी मानिसहरू यति निष्क्रिय र पछौटे हुन्छन्। तिनीहरूमा एकरत्ती सत्यता हुँदैन, र तिनीहरूले केही पनि स्पष्ट देख्‍न सक्दैनन्। तिनीहरू प्रस्ट रूपले अन्योलमा परेका मानिस हुन्, होइनन् र? तिनीहरू सबै अन्योलमा छन्, तिनीहरू सत्यताप्रति बेखबर छन् र तिनीहरूलाई यसमा कुनै चासो हुँदैन, अनि तिनीहरूलाई कसरी मुक्ति दिन सकिन्छ र? मानिसहरू किन जिउँदो लासझैँ सधैँ अनुशासनहीन र अल्छी हुन्छन्? यो तिनीहरूको प्रकृतिको मामिलासँग जोडिएको छ। मानव प्रकृतिमा एक प्रकारको आलस्य हुन्छ। मानिसहरूले जुनसुकै काम गरिरहेका भए पनि, तिनीहरूलाई निरीक्षण र प्रोत्साहन गर्ने कोही न कोही व्यक्ति सधैँ चाहिन्छ। कहिलेकाहीँ मानिसहरूले देहको ख्याल गर्छन्, भौतिक सहजताको तृष्णा गर्छन्, र सधैँ आफ्‍ना लागि केही कुरा जोगाइराख्छन्—यी मानिसहरू दुष्ट अभिप्राय र धूर्त योजनाहरूले भरिपूर्ण हुन्छन्; यिनीहरू साँच्‍चै पटक्कै काम लाग्दैनन्। तिनीहरूले जुनै महत्त्वपूर्ण कर्तव्य निभाइरहेका भए पनि, सधैँ आफूले सक्‍नेभन्दा कम नै गर्छन्। यो गैरजिम्‍मेवारी र अबफादारी हो। आज मैले तिमीहरूलाई काममा निष्क्रिय नहुन यी कुराहरू बताएको छु। म जे भन्छु तिमीहरूले त्यसलाई पालना गर्न सक्नैपर्छ। यदि म विभिन्‍न मण्डलीहरूमा गएको र मैले तिमीहरूले धेरै काम गरेका छौ, तिमीहरूले अत्यन्तै प्रभावकारी रूपमा काम गरेका छौ, र काम अत्यन्तै द्रुत गतिमा अघि बढिरहेको छ, यो सन्तोषजनक स्तरमा पुगेको छ, र सबैले आफ्नो सक्दो प्रयास गरेका छन् भन्‍ने थाहा पाएको वा देखेको भए, म निकै खुसी हुनेथिएँ। यदि म विभिन्‍न मण्डलीहरूमा गएँ र मैले सबै पक्षहरूमा कामको प्रगति सुस्त भइरहेको छ भन्‍ने देखेँ, र यसले तिमीहरूले आफ्नो कर्तव्य राम्ररी पूरा गरेका छैनौ र सुसमाचार प्रचारको सामान्य गतिसँग आफ्नो गति मिलाएका छैनौ भन्‍ने कुरालाई प्रमाणित गर्ने हो भने, तिमीहरूलाई मेरो मुड कस्तो हुनेथ्यो भन्‍ने लाग्छ? के म अझै पनि तिमीहरूलाई देख्दा खुसी हुनेथिएँ? (अहँ।) हुनेथिइनँ। यो काम तिमीहरूलाई सुम्पिएको छ, र मैले भन्‍नुपर्ने सबै कुरा भनिसकेको छु; तिमीहरूलाई अभ्यासका विशिष्ट सिद्धान्तहरू र मार्ग पनि बताइएको छ। तैपनि, तिमीहरू कुनै कदम चाल्दैनौ, काम गर्दैनौ, र मैले व्यक्तिगत रूपमा तिमीहरूको सुपरिवेक्षण र तिमीहरूलाई प्रेरित गर्न, तिमीहरूलाई काटछाँट गर्न वा काम गर्न आदेश समेत दिन पर्खिरहेका हुन्छौ। यहाँ समस्या के हो? के यसलाई चिरफार गर्नु पर्दैन र? जब तिमीहरूले स्पष्ट रूपमा नै गर्नुपर्ने काम गरिरहेका हुँदैनौ र यसलाई वहन गर्न सक्दैनौ—के म तिमीहरूप्रति राम्रो मनोवृत्ति राख्न सक्छु? (सक्‍नुहुन्‍न।) म किन तिमीहरूप्रति राम्रो मनोवृत्ति राख्न सक्दिनँ? (हामी आफ्नो कर्तव्य पूरा गर्नमा अत्यन्तै गैरजिम्मेवार हुन्छौँ।) किनभने तिमीहरूले आफ्नो सारा हृदय र बलले आफ्नो कर्तव्य पूरा गरिरहेका हुँदैनौ, बरु झाराटारुवा तरिकाले मात्रै पूरा गरिरहेका हुन्छौ। आफ्नो कर्तव्यमा बफादार व्यक्तिले कम्तीमा पनि आफ्नो सबै सामर्थ्य लगाउनुपर्छ, तर तिमीहरूले यत्तिसमेत पूरा गर्न सक्दैनौ; तिमीहरू धेरै पछाडि पर्छौ! तिमीहरूको क्षमता अपर्याप्त छ भन्‍ने होइन; तिमीहरूको मानसिकता गलत छ र तिमीहरू गैरजिम्मेवार छौ। तिमीहरूका हृदयमा केही बेतुक कुराहरू छन्, जसले तिमीहरूलाई आफ्नो कर्तव्य पूरा गर्नबाट रोक्छन्। यसका साथै, मान्छे खुसी पारिहिँड्ने मानसिकताले तिमीहरूलाई मण्डलीलाई पखाल्ने काम गर्नमा बाधा दिन्छ। के तिमीहरूलाई मण्डलीलाई पखाल्नुको महत्त्व के हो भन्‍ने थाहा छ? परमेश्‍वरले किन मण्डलीलाई पखाल्न चाहनुहुन्छ? मण्डलीलाई नपखाल्नुका परिणामहरू के-के हुन्? तिमीहरू सबै यी कुराहरूका बारेमा अस्पष्ट छौ र तिमीहरूले सत्यताको खोजी गर्दैनौ, जसले तिमीहरूले परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्दैनौ भन्‍ने कुरालाई प्रमाणित गर्छ। तिमीहरू आफ्नो पदको सामान्य र नियमित काम गर्न मात्रै इच्छुक हुन्छौ र विशेष कामहरू, विशेष गरी अरूलाई चिढ्याउन सक्ने कामहरूबाट टाढा बस्छौ। तिमीहरू सबै यी कामहरू अरू कसैलाई सुम्पन रुचाउँछौ। के तिमीहरू यसरी नै सोच्दैनौ र? के यो सम्बोधन गर्नुपर्ने समस्या होइन र? तिमीहरू सधैँ यसो भन्छौ, “मेरो क्षमता कमजोर छ, सत्यतासम्बन्धी मेरो बुझाइ सीमित छ, र मसँग कामको पर्याप्त अनुभव छैन। म कहिल्यै मण्डली अगुवा भएको छैनँ, न त मैले मण्डलीलाई पखाल्ने काम नै गरेको छु।” के यो बहाना बनाउनु होइन र? मण्डलीलाई पखाल्ने कामबारे अत्यन्तै स्पष्ट रूपमा सङ्गति गरिएको छ। ख्रीष्टविरोधीहरू, दुष्ट मानिसहरू, र अविश्‍वासीहरूलाई पखाल्नु अत्यन्तै सरल कुरा हो। के ती केही सिद्धान्तहरू बुझ्न साँच्चिकै त्यति गाह्रो छ? यदि त्यस्ता सरल समस्याहरूलाई स्पष्ट रूपमा व्याख्या गरियो र मानिसहरूले अझै पनि बुझेनन् भने, त्यसले के सङ्केत गर्छ? यसले के सङ्केत गर्छ भने, कि त मानव भाषा बुझ्नका लागि तिनीहरूको क्षमता अत्यन्तै कमजोर छ, कि त तिनीहरू उचित कामहरूमा ध्यान नदिने बदमास मात्रै हुन्। अगुवा र कामदारहरूमध्ये, पक्कै पनि कमजोर क्षमता भएका कतिपय मानिसहरू हुन्छन्, र पक्कै पनि वास्तविक काममा संलग्न नहुने तर मान्छे खुसी पारिहिँड्ने केही व्यक्तिहरू हुन्छन्; उचित कामहरूलाई बेवास्ता गर्ने र लापरवाह रूपमा दुष्कर्म गर्ने केही बदमासहरू पनि अवश्य नै हुन्छन्—यी सबै अवस्थाहरू अस्तित्वमा हुन्छन्। सुरुमा, उचित कामहरूलाई बेवास्ता गर्ने यी बदमासहरूलाई पखाल्नुपर्छ। वास्तविक काम गर्न सक्ने जोकोहीलाई प्रयोग गर्नुपर्छ, अगुवाका रूपमा रहेर मान्छे खुसी पारिहिँड्ने व्यक्तिहरूलाई अवश्य नै बर्खास्त गर्नुपर्छ, र मानव भाषा बुझ्न र केही वास्तविक काम गर्न सक्ने कमजोर क्षमता भएका मानिसहरूलाई राख्नुपर्छ। यी समस्याहरूलाई यस तरिकाले समाधान गर्नुपर्छ। यदि परमेश्‍वरले सङ्गति गर्नुभएपछि, तैँले अगुवा र कामदारहरूले समाधान गर्नुपर्ने मण्डलीको कामका समस्याहरू स्पष्ट रूपमा देख्न सक्छस् भने, तैँले थप ढिलाइ नगरी तिनलाई तुरुन्तै समाधान गर्नुपर्छ। तैँले माथिले व्यक्तिगत रूपमा कामहरू सुम्पने वा आदेशहरू जारी गर्ने कुराको प्रतीक्षा नगरी कार्य गर्नका लागि अग्रसरता लिन सक्नुपर्छ। जस्तोसुकै समस्याहरू पैदा भए पनि, तिनले काममा असर गर्नुभन्दा पहिले नै तिनलाई समाधान गर्नुपर्छ। माथिले समस्याहरूको अनुसन्धान गर्न थाल्नुभन्दा पहिले नै, तैँले समस्याहरूबारे तेरो बुझाइ र तिनका समाधानहरू, तिनलाई सम्हाल्ने सिद्धान्तहरू, र तिनलाई सम्हाल्नुका परिणामहरूका बारेमा रिपोर्ट गरिसकेको हुनुपर्छ। त्यो कति राम्रो कुरा हुनेथ्यो! के त्यसपछि पनि माथि तँप्रति असन्तुष्ट हुन सक्छन्? अगुवा वा कामदारका रूपमा, यदि तैँले निरन्तर आफ्नो जिम्मेवारीको दायराभित्रको काम देख्न सक्दैनस्, वा तँमा केही सचेतना वा विचारहरू भए पनि तैँले बिलम्ब गरिरहन्छस् र कुनै कदम चाल्दैनस्, सधैँ माथिले तेरा लागि कामहरूको प्रबन्ध गरिदिऊन् भनी प्रतीक्षा गर्छस् भने, के यो जिम्मेवारीमा चुक्नु होइन र? (हो।) यो गम्‍भीर रूपले जिम्मेवारीमा चुक्नु हो! कर्तव्यलाई कसरी लिने भनेर अगुवा र कामदारको भूमिकासँगै आउने मनोवृत्ति र जिम्‍मेवारीलाई तैँले गुमाइसकेको हुन्छस्। अगुवा र कामदारहरूले आफ्नो काममा माथिका मागहरूलाई नजिकबाट पालन गर्नुपर्छ; माथिले जे कुरा सङ्गति गरेका छन्, तैँले त्यसैलाई कार्यान्वयन गर्नुपर्छ, त्यो कुरा बुझिसकेपछि तुरुन्तै काम गर्नुपर्छ र कार्यान्वयन गर्नुपर्छ। सत्यताद्वारा समस्याहरू समाधान गर्नु अगुवा र कामदारहरूको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी हो, र तैँले कुनै पनि काम गर्नुभन्दा पहिले माथिले कामको प्रबन्ध गर्ने कुराको निष्क्रिय रूपमा प्रतीक्षा गर्नु हुँदैन। यदि तँ सधैँ निष्क्रिय रूपमा प्रतीक्षा गरिरहेको हुन्छस् भने, तँ अगुवा वा कामदार बन्‍न योग्य छैनस्, तैँले यो कामको बोझ उठाउन सक्दैनस्, र जिम्मेवारी स्वीकार गर्नु र राजीनामा दिनु नै एक मात्र उचित कुरा हुनेछ।

परमेश्‍वरमा विश्‍वास गर्ने तीन प्रकारका मानिसहरूका प्रकटीकरण र परिणामहरू

१. श्रमिकहरू

अगुवा र कामदारहरूका जम्मा पन्ध्र वटा जिम्मेवारीहरू छन्, र हामीले चौधौँ जिम्मेवारीसम्म सङ्गति गरिसकेका छौँ। अगुवा र कामदारहरूले समाधान गर्नुपर्ने मण्डलीभित्रका समस्याहरू, साथै यी समस्याहरूमा संलग्न सबै प्रकारका मानिसहरूका समस्याहरूका बारेमा लगभग ८० देखि ९० प्रतिशतसम्म सङ्गति गरिएको छ। यी सबै अगुवा र कामदारहरूले लिनुपर्ने कामहरू र तिनीहरूले समाधान गर्नुपर्ने समस्याहरू हुन्। यसमा धेरै समस्याहरू समावेश हुन्छन्। एक हिसाबमा, यसले अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरूलाई छुन्छ; अर्को हिसाबमा, यो मण्डलीका सबै प्रकारका मानिसहरूका विभिन्न समस्याहरूसँग पनि सम्बन्धित हुन्छ। यस अवधिमा हाम्रो सङ्गतिको विषयवस्तु अगुवा र कामदारहरूका जिम्मेवारीहरू र झूटा अगुवाहरूको खुलासा भए पनि, हामीले यस विषयवस्तुले छुने विभिन्न प्रकारका मानिसहरूका समस्याहरू—र विभिन्न प्रकारका मानिसहरूको स्थिति र सारका बारेमा पनि धेरै सङ्गति गरेका छौँ। अवश्य नै, मण्डलीमा परमेश्‍वरलाई पछ्याउने सबै प्रकारका मानिसहरूमा यो विशिष्ट विषयवस्तुले फरक-फरक प्रभाव पार्छ। तिनीहरूमध्ये, यस्तो व्यक्ति पनि हुन्छ, जसले यो सबै सङ्गति सुनेपछि पनि, अझै “मसँग असल मानवता छ, म परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्छु, म परमेश्‍वरमाथिको आस्थामा कुराहरू त्याग्न तयार छु, र म आफ्नो कर्तव्य पूरा गर्नका लागि मूल्य चुकाउन र कष्ट सहन तयार छु।” तिनीहरूले सबै प्रकारका मानिसहरूका विभिन्न स्थितिहरू, विभिन्न स्थितिहरूमा संलग्न सत्यता, वा यस अवधिमा सङ्गति गरिएका मानिसहरूले बुझ्नुपर्ने सत्यता सिद्धान्तहरूका बारेमा चासो राख्दैनन्। के यो पनि एक प्रकारको व्यक्ति होइन र? के यस्तो व्यक्ति निकै प्रतिनिधिमूलक हुँदैन र? (हुन्छ।) यस्तो व्यक्तिले सधैँ एउटा निश्चित दृष्टिकोण बोकेको हुन्छ। यो दृष्टिकोण मुख्य रूपमा केबाट बनेको हुन्छ? मैले भर्खरै उल्लेख गरेका तीन वटा बुँदाहरू: पहिलो, तिनीहरू आफ्‍नो मानवता खराब छैन, र यो असल छ भन्ने समेत विश्‍वास गर्छन्। दोस्रो, तिनीहरू आफूले साँच्चै नै परमेश्‍वरमा विश्‍वास गर्छु भन्ने सोच्छन्, जसको अर्थ तिनीहरू साँच्चै नै परमेश्‍वरको अस्तित्व र यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्छन्, मानव नियति परमेश्‍वरको नियन्त्रणमा छ, यो परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत पर्छ भन्ने विश्‍वास गर्छन् भन्ने हुन्छ, जुन “परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्नु” भन्ने कुराको फराकिलो व्याख्या हो। तेस्रो, तिनीहरू आफूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा कुराहरू त्याग्न र आफ्नो कर्तव्य पूरा गर्नका लागि कष्ट सहन र मूल्य चुकाउन सक्छु भन्ने विश्‍वास गर्छन्। यी तीन बुँदाहरू परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा यी मानिसहरूले पालन गर्ने सबैभन्दा आधारभूत, प्राथमिक, र केन्द्रीय तत्त्वहरू हुन् भनेर भन्न सकिन्छ। अवश्य नै, यी कुराहरूलाई परमेश्‍वरमा विश्‍वास गर्ने तिनीहरूको पूँजी, साथै तिनीहरूले पछ्याउने उद्देश्यहरू, र कार्य गर्ने तिनीहरूको उत्प्रेरणा र दिशाका रूपमा पनि लिन सकिन्छ। तिनीहरू के विश्‍वास गर्छन् भने, यी तीन वटा बुँदाहरू प्राप्त गर्दा तिनीहरूले मुक्ति पाउनुका तीन वटा आधारभूत सर्तहरू पूरा गर्न सक्छन्, जसले तिनीहरूलाई परमेश्‍वरले प्रेम गर्नुहुने र स्वीकार गर्नुहुने मानिस बनाउँछ। यो एउटा गम्भीर गल्ती हो; यी तीन बुँदाहरू आफूसँग हुनुले थोरै मानवतालाई मात्रै सङ्केत गर्छ। के थोरै मानवता हुँदैमा परमेश्‍वरको अनुमोदन पाउन सकिन्छ? बिलकुलै सकिँदैन; परमेश्‍वरले उहाँको डर मान्ने र दुष्टताबाट अलग बस्नेहरूलाई अनुमोदन गर्नुहुन्छ। यी तीन बुँदाहरूले सत्यता वास्तविकताको मानक पूरा गर्दैनन्; ती त श्रमिक बन्ने तीन वटा मानक मात्रै हुन्। यसपछि, म तिमीहरूलाई स्पष्ट रूपमा बुझाउनका लागि यी तीन बुँदाका विवरणहरूमा सङ्गति गर्नेछु। पहिलो बुँदा भनेको असल मानवता हुनु हो। तिनीहरू दुष्टता नगर्नु, बाधा र अवरोध सिर्जना नगर्नु, र परमेश्‍वरको घरका हितहरूलाई हानि नगर्नु नै पर्याप्त हुन्छ, र यसको अर्थ तिनीहरूले परमेश्‍वरका अभिप्रायहरूलाई पूरा गर्न र सिद्धान्तहरू अनुसार काम गर्न सक्छन् भन्ने हो भन्ने विश्‍वास गर्छन्। दोस्रो बुँदा “परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्नु” हो। तिनीहरूका लागि, तिनीहरूले “परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्नु” भनेर जुन कुरालाई भन्छन्, त्यसको अर्थ परमेश्‍वरको अस्तित्व वा यावत् थोकमाथि उहाँको सार्वभौमिकताको तथ्यलाई कहिल्यै शङ्का नगर्नु, र मानव नियति परमेश्‍वरको हातमा छ, र यसले तिनीहरूलाई परमेश्‍वरलाई अन्त्यसम्म पछ्याउन सहयोग गर्नेछ भन्ने हो। तिनीहरू आफूले परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गरेसम्म उहाँको अनुमोदन प्राप्त गरिन्छ भन्‍ने विश्‍वास गर्छन्। त्यसकारण, परमेश्‍वरले जसरी अगुवाइ गर्नुभए पनि वा व्यवहार गर्नुभए पनि, वा तिनीहरूले जुनसुकै समस्याहरूको सामना गरे पनि, तिनीहरूले “बस परमेश्‍वरलाई प्रेम गर, परमेश्‍वरलाई पछ्याऊ, परमेश्‍वरमा समर्पित होऊ” भन्छन्। समस्याहरू समाधान गर्ने तिनीहरूको विधि अत्यन्तै सरल छ; के त्यस्ता सामान्यीकृत शब्दहरूले कुनै समस्याहरू समाधान गर्न सक्छन्? तेस्रो बुँदा भनेको परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा कुराहरू त्याग्न सक्नु, र आफ्नो कर्तव्य पूरा गर्नका लागि कष्ट सहन र मूल्य चुकाउन सक्नु हो। तिनीहरूले यसलाई कसरी अभ्यास गर्छन्? तिनीहरूले परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने हुनाले, जब मण्डलीको काममा आवश्यकता हुन्छ वा जब तिनीहरूले परमेश्‍वरका जरुरी अभिप्रायहरू महसुस गर्छन्, तब तिनीहरूले सक्रिय रूपमा आफ्नो परिवार, वैवाहिक जीवन, र करियरलाई त्याग्न, आफ्ना सांसारिक सम्भाव्यताहरूलाई पन्छाउन, र कहिल्यै पछुतो नमानी दृढसङ्कल्पसाथ परमेश्‍वरलाई पछ्याउन र आफ्नो कर्तव्य पूरा गर्न सक्छन्। परमेश्‍वरको घरले तिनीहरूका लागि जुनसुकै कर्तव्यको प्रबन्ध गरे पनि, त्यसका लागि तिनीहरूले कष्ट सहन र मूल्य चुकाउन सक्छन्, चाहे त्यसका लागि थोरै खानु र थोरै सुत्नु नै किन नपरोस्। जिउने अवस्था जति नै कठिन भए पनि, वा केही प्रतिकूल वातावरणमा पनि, तिनीहरू अझै पनि आफ्नो कर्तव्य पूरा गर्नमा लागिरहन सक्छन्। यी तीन बुँदाहरू बाहेक, सत्यतासँग सम्बन्धित अरू सबै पक्षहरूको अभ्यास तिनीहरूका लागि तिनीहरूसँग सम्बन्धित छैन जस्तो देखिन्छ। तिनीहरू आफूलाई जे राम्रो वा ठीक लाग्छ त्यही गर्छन्। परमेश्‍वरले मानिसलाई बताउनुभएका विभिन्न अभ्यासका सिद्धान्तहरू, साथै परमेश्‍वरले खुलासा गर्नुभएका मानिसहरूका विभिन्न भ्रष्ट स्वभावहरूका स्थिति, प्रकटीकरण, र सारका हकमा, तिनीहरूलाई थोरै कुरा थाहा भए पनि वा पटक्कै थाहा नभए पनि ठीकै हो भन्ने लाग्छ; तिनीहरूलाई आफ्नो भ्रष्टता जाँच्न र आफ्ना कमीकमजोरीहरूलाई पूर्ति गर्नका लागि विभिन्न सिद्धान्तहरू विशिष्ट रूपमा र सावधानीपूर्वक खोजी गर्नु आवश्यक छैन, वा अरूले आफ्ना विभिन्न अनुभवात्मक गवाहीबारे गरेको सङ्गति सुन्‍न, त्यसपछि आत्म-रूपान्तरण हासिल गर्नका लागि प्रायः भेलाहरूमा सहभागी हुनु, आदि इत्यादि आवश्यक छैन भन्ने लाग्छ। तिनीहरूले परमेश्‍वरमा यसरी विश्‍वास गर्नु अत्यन्तै समस्याजनक हो, र यो अनावश्यक हो भन्ने महसुस गर्छन्। तिनीहरूले परमेश्‍वरमाथिको आस्था र स्वभाव परिवर्तनबारे सतही बुझाइ, साथै परमेश्‍वरको कामबारे विभिन्न धारणा र कल्पनाहरू बोकेर परमेश्‍वरलाई पछ्याउँछन् र आफ्नो कर्तव्य पूरा गर्छन्। के यस्तो व्यक्ति अत्यन्तै प्रतिनिधिमूलक हुँदैन र? (हुन्छ।) तिनीहरूले आफ्ना लागि सबैभन्दा आधारभूत मापदण्ड तय गर्छन्, र परमेश्‍वरमा विश्‍वास गर्ने कार्यप्रति तिनीहरूमा सबैभन्दा आधारभूत मनोवृत्ति हुन्छ। यसबाहेक, तिनीहरू सत्यता, परमेश्‍वरको न्याय र खुलासा, काटछाँट, साथै मानिसहरूका विभिन्न भ्रष्ट स्वभाव र विभिन्न स्थिति, प्रकटीकरण, इत्यादि कुराहरूलाई बेवास्ता गर्छन्। तिनीहरूले यी समस्याहरूका बारेमा कहिल्यै चिन्तन-मनन गर्दैनन्। अर्थात्, यी मानिसहरू आफूलाई असल मानवता भएको, असल मानिस, र परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने मानिस ठान्छन्; अनि मानिसहरूमा भ्रष्ट स्वभावहरू हुन्छन् भनेर स्वीकार गरिरहँदा, तिनीहरू परमेश्‍वरले खुलासा गर्नुभएका मानिसहरूका विभिन्न भ्रष्ट स्वभावका विशिष्ट स्थिति र प्रकटीकरणहरूलाई बेवास्ता गर्छन्, र यी कुराहरूको अनुसन्धान गर्न कुनै प्रयास गर्दैनन्। के यो एक प्रकारको व्यक्ति होइन र? के परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासमा यस्तो व्यक्तिका दृष्टिकोण र विशिष्ट प्रकटीकरणहरू अत्यन्तै प्रतिनिधिमूलक हुँदैनन् र? (हुन्छन्।) परमेश्‍वरमा विश्‍वास गर्नेबारे यी मानिसहरूका दृष्टिकोणहरू, मुक्ति पाउनेबारे तिनीहरूको बुझाइ, र मानिसहरूका विभिन्न भ्रष्ट स्वभावलाई खुलासा गर्ने परमेश्‍वरका वचनहरूप्रतिको तिनीहरूको मनोवृत्तिलाई विचार गर्दा, यी मानिसहरूलाई कुन वर्गमा राख्नुपर्छ? (अन्योलग्रस्त विश्‍वास भएका, सत्यता नपछ्याउने मानिसहरू।) यो त सतही रूप मात्रै हो; यी मानिसहरूलाई साँच्चै कसरी वर्गीकृत गर्नुपर्छ? के मण्डलीमा त्यस्ता मानिसहरू धेरै हुन्छन्? (हुन्छन्।) जब निश्चित समस्याहरूका बारेमा छलफल गरिन्छ र सम्बन्धित सत्यताहरूमा सङ्गति गरिन्छ, तब तिनीहरूलाई निद्रा लाग्न थाल्छ, तिनीहरू झुल्न थाल्छन्, वा तिनीहरू अन्योलमा पर्छन्, र कुनै चासो देखाउँदैनन्। यदि तिनीहरूलाई कुनै काम वा कार्य अह्राइएको छ भने, तिनीहरू कष्ट वा थकाइको परवाह नगरी पाखुरा सुर्केर काममा लागिपर्छन्। तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्नु यस्तो काम गर्नु जस्तै हुने भएको भए गजब हुनेथ्यो—त्यसपछि तिनीहरू उत्प्रेरित हुनेथिए भन्‍ने सोच्छन्। जब कष्ट सहने, मूल्य चुकाउने, र काममा मेहनत लगाउने समय आउँछ, तब तिनीहरूले साँचो तत्परता देखाउँछन्। तर के यो साँचो तत्परता र जोश बफादार हुनु सरह हो? के सत्यता सिद्धान्तहरू बुझेपछि व्यक्तिमा हुनुपर्ने प्रकटीकरण यही हो? (होइन।) मेरो सङ्गतिबाट, के तिमीहरू यी मानिसहरूलाई कुन वर्गमा वर्गीकृत गर्नुपर्छ भन्ने कुरा देख्न सक्छौ? (श्रमिकहरू।) ठीक भन्यौ। यी मानिसहरू श्रमिक हुन्, र श्रमिकहरूले परमेश्‍वरमा यसरी नै विश्‍वास गर्छन्।

हामीले ख्रीष्टविरोधीहरूको प्रकृति, सार, र विभिन्न प्रकटीकरणहरूका बारेमा, साथै ख्रीष्टविरोधीहरूको स्वभाव भएका तर वास्तवमा ख्रीष्टविरोधी नभएका मानिसहरूका विभिन्न प्रकटीकरणहरूका बारेमा सङ्गति गरेर सुरु गर्‍यौँ। अहिले, हामी अगुवा र कामदारहरूका जिम्मेवारीहरूले छुने विभिन्न प्रकारका मानिसहरूका प्रकटीकरणहरूका बारेमा सङ्गति गरिरहेका छौँ। सङ्गति गरिएका विषयहरू ख्रीष्टविरोधीहरू र झूटा अगुवाहरूका बारेमा रहेका भए पनि, हरेक विषयले छुने विशिष्ट समस्या र प्रकटीकरणहरू भ्रष्ट मानवजातिका भ्रष्ट स्वभावहरू, साथै भ्रष्ट स्वभावहरूको प्रभुत्वमा पैदा हुने विभिन्न स्थिति र प्रकटीकरणहरूसँग सम्बन्धित छन्। झूटा अगुवा र ख्रीष्टविरोधीहरू अल्पसङ्ख्यक मात्रै भए पनि, झूटा अगुवा र ख्रीष्टविरोधीहरूका स्वभावहरू, साथै तिनीहरूका विभिन्न स्थिति र प्रकटीकरणहरू हरेक व्यक्तिमा फरक-फरक मात्रामा हुन्छन्। अब यी समस्याहरूमा यति विस्तृत रूपमा सङ्गति गरिएको हुनाले, सत्यता पछ्याउनेहरूसँग सत्यता पछ्याउने, सत्यता अभ्यास गर्ने, सत्यता सिद्धान्तहरू बुझ्ने, र सत्यता वास्तविकतामा प्रवेश गर्ने थप मार्ग र दिशा, र अझै स्पष्ट उद्देश्यहरू हुनेछन्। यो तिनीहरूका लागि राम्रो कुरा हो र हर्षको कारण हो। अर्को शब्दमा भन्दा, तिनीहरू परमेश्‍वरमाथिको आफ्नो आस्थामा नयाँ कोसेढुङ्गोतर्फ अघि बढिरहेका छन्। तिनीहरू प्रावधान, धार्मिक कर्मकाण्डहरू, वा शब्द र धर्मसिद्धान्तहरू, र नाराहरूअन्तर्गत जिउन छाडेका छन्। बरु, तिनीहरूसँग अभ्यासका लागि अझै ठोस दिशा र उद्देश्यहरू रहेका छन्, र अवश्य नै पछ्याउनुपर्ने अझै विशिष्ट सिद्धान्तहरू रहेका छन्। निश्चित परिस्थितिहरूमा कसरी अभ्यास गर्ने र संलग्न सत्यता सिद्धान्तहरू के-के हुन्, वा मानिसहरूमा के-कस्ता स्थिति र भ्रष्टताहरू रहेका छन् र तिनलाई कसरी व्यवहार गर्नुपर्छ, साथै तिनलाई समाधान गर्न कसरी सत्यताको खोजी गर्ने भन्ने कुरा—ख्रीष्टविरोधीहरू र झूटा अगुवाहरूका बारेमा सङ्गति गरिएका मुख्य दुई वटा विषयहरूले प्रायजसो यी विषयवस्तुहरूलाई छुन्छन्। सत्यता पछ्याउनेहरूका हकमा भन्दा, सत्यता जति विशिष्ट रूपमा सङ्गति गरिन्छ, त्यति नै बढी तिनीहरूसँग अभ्यासको मार्ग हुन्छ। सत्यता जति विशिष्ट रूपमा सङ्गति गरिन्छ, मानिसहरूको हृदय त्यति नै बढी उज्यालो र स्पष्ट बन्छ, तिनीहरूले आफूलाई त्यति नै बढी चिन्न र बुझ्न सक्छन्, र तिनीहरू अब केमा प्रवेश गर्नुपर्छ र तिनीहरूले अब के-कस्ता समस्याहरू समाधान गर्नुपर्छ भन्ने बारेमा त्यति नै बढी सचेत हुन्छन्। भर्खरै श्रमिकहरू भनेर उल्लेख गरिएका मानिसहरूका हकमा भन्दा, हामीले मानवजातिको भ्रष्ट स्वभावले पैदा गर्ने विभिन्न स्थितिहरू र समाधान गरिनुपर्ने भ्रष्टताका विभिन्न समस्याहरूका बारेमा व्यापक रूपमा सङ्गति गरेपछि, तिनीहरू अझै पनि अचल नै रहन्छन्। अचल रहनु भनेको के हो? यसको अर्थ तिनीहरू अझै पनि सत्यताको पछ्याइ र परमेश्‍वरले बताउनुभएको मुक्तिको मार्गबारे स्पष्ट हुँदैनन् र तिनीहरूले ती बुझ्न सक्दैनन् भन्ने हुन्छ। अझै गम्भीर रूपमा भन्दा, यति धेरै अत्यावश्यक प्रकटीकरण र समस्याहरू सङ्गति गरिसकेपछि पनि, तिनीहरू अझै यस्तो सोच्छन्, “मसँग असल मानवता छ, म परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्छु, म परमेश्‍वरमाथिको आस्थामा कुराहरू त्याग्न तयार छु, र म आफ्नो कर्तव्य पूरा गर्नका लागि मूल्य चुकाउन र कष्ट सहन तयार छु; यति गरे पुग्छ।” अवस्थाहरूको सामना गर्दा, तिनीहरू न त आफूलाई जाँच्छन् न त परमेश्‍वरका वचनहरूसँग आफूलाई तुलना गर्छन्, बरु आफ्नो मानव भलाइ वा आफूसँग भएको थोरै विवेक र समझका आधारमा मात्रै समस्याहरू समाधान गर्ने प्रयास गर्छन्। अवश्य नै, कतिपय मानिसहरू संयम र धैर्यतामा भर पर्छन्, र बारम्बार कष्ट सहन्छन्, जबकि अरू चाहिँ संसारसँग व्यवहार गर्ने दर्शनहरूमा भर पर्छन्, जसले गर्दा ठूला समस्याहरू सानातिना देखिन्छन्, अनि त्यसपछि सानातिना समस्याहरू समस्यारहित देखिन्छन्। तिनीहरूले पछ्याउने लक्ष्य यस्तो हुन्छ: “परमेश्‍वरको काम समाप्त हुने दिनसम्म, यदि म अझै पनि मण्डलीमा आफ्नो कर्तव्य पूरा गरिरहेको हुन्छु, र मलाई निकालिएको हुँदैन भने, त्यो नै पर्याप्त हुन्छ। मसँग आफूबारे साँचो बुझाइ हुनु वा नहुनु, मेरा भ्रष्ट स्वभाव समाधान भएको हुनु वा नहुनु, मसँग परमेश्‍वरप्रति साँचो समर्पण हुनु वा नहुनु, म परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति हुनु वा नहुनु—ती सानातिना समस्या हुन्, जुन उल्लेख गर्न लायक छैनन्। तपाईँ सबै कुरालाई ठूलो बनाउनुहुन्छ, यति विस्तृत रूपमा सत्यता सङ्गति गर्नुहुन्छ, सङ्गतिका लागि स-साना समस्याहरूसमेत निरन्तर उठाउनुहुन्छ, हामीलाई सधैँ खुट्ट्याउन लगाउनुहुन्छ; म सत्यताबारे यी सङ्गतिहरू सुन्न इच्छुक छँदै छैन, मलाई पटक्कै रुचि छैन। जब परमेश्‍वरको दिन आउँछ, तब हामी सिधै राज्यमा प्रवेश गर्न सक्यौँ भने कति राम्रो हुनेथियो!” हरेकको धैर्यका सीमाहरू हुन्छन् भन्ने कुरा साँचो भए पनि, त्यस्ता मानिसहरूको धैर्य असीमित हुन्छ। किन? किनभने तिनीहरू आफूसँग असल मानवता छ, आफूले परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्छु, परमेश्‍वरका विश्‍वासीका नाताले आफूसँग कुराहरू त्याग्ने क्षमता छ, र आफ्नो कर्तव्य पूरा गर्न मूल्य चुकाउने र कष्ट सहने इच्छा छ भन्ने विश्‍वास गर्छन्; कुनै पनि कुराको सामना गर्दा, तिनीहरूसँग आफ्नै समाधान हुन्छ, र अन्ततः तिनीहरू अझै पनि आफ्नो कर्तव्य दृढतापूर्वक पूरा गर्न र दह्रिलो रूपमा खडा हुन सक्छन्। तर, तिनीहरू आफ्नो कर्तव्य पूरा गर्नमा जसरी लागिपरे पनि, वा तिनीहरू जुनसुकै उपाय लगाएर अन्त्यसम्म लागिपरे पनि, तिनीहरूको उत्प्रेरणा जेसुकै भए पनि, एउटा कुरा निश्चित छ: तिनीहरूसँग परमेश्‍वरप्रति साँचो समर्पण हुँदैन, र तिनीहरूले कहिल्यै आफ्नो भ्रष्ट स्वभाव बुझ्दैनन्। अझै सटीक रूपमा भन्दा, यी मानिसहरू आफूसँग भ्रष्टता छ भन्ने कुरालाई स्वीकार गर्दैनन्, न त तिनीहरू परमेश्‍वरले खुलासा गर्नुभएका मानिसहरूका भ्रष्ट स्वभावबाट पैदा हुने विभिन्न स्थिति र समस्याहरूलाई नै स्वीकार गर्छन्। तिनीहरूले कहिलेकाहीँ यी स्थिति र समस्याहरूसँग आफूलाई तुलना गरे पनि, तिनीहरूले यसलाई रूखो तरिकाले लिन्छन् र भन्छन्, “सबै जना समान रूपमा भ्रष्ट हुन्छन्। सबैमा दियाबलसहरू र शैतानको प्रकृति सार हुन्छ; हामी सबै परमेश्‍वरका शत्रु हौँ। यो कसैले पनि परिवर्तन गर्न नसक्ने तथ्य हो। तर व्यक्ति आफ्नो कर्तव्य पूरा गर्नमा लागिरहेसम्म, परमेश्‍वरले उसलाई अवश्य नै अनुमोदन गर्नुहुनेछ, र अन्त्यसम्म लागिरहनेहरू नै विजेता हुनेछन्।” तिनीहरूको दृष्टिकोणलाई हेर्दा, तिनीहरू परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा निकै दह्रिला हुन्छन्, तर अनुभवात्मक गवाही बाँड्ने कुरामा, तिनीहरू चुपचाप बस्छन्, र एक शब्द पनि बोल्न सक्दैनन्। जब भेलाहरूमा सत्यता सङ्गति गर्ने समय आउँछ, तब तिनीहरू झुल्छन् र तिनीहरूले यो कुरा ग्रहण गर्न सक्दैनन्। यदि तैँले तिनीहरूलाई “तपाईँ हरेक दिन आफ्नो कर्तव्यमा परमेश्‍वरका वचनहरू कसरी अनुभव गर्नुहुन्छ?” भनेर सोधिस् भने, तिनीहरूले भन्छन्, “मण्डलीले मेरा लागि जे गर्न प्रबन्ध गर्छ, म त्यही गर्छु। के यसका लागि अनुभव गर्नु आवश्यक हुन्छ र?” तिनीहरूले बुझ्दैनन् जस्तो देखिन्छ। त्यसपछि यदि तैँले तिनीहरूलाई “के तपाईँको कुनै भ्रष्टता प्रकट भइरहेको छ? तपाईँ आफूलाई कसरी बुझ्‍नुहुन्छ?” भनेर सोधिस् भने तिनीहरूले भन्छन्, “म त केवल परमेश्‍वरमा समर्पित हुन्छु र परमेश्‍वरलाई प्रेम गर्छु; यसमा के-कस्ता समस्याहरू हुन सक्छन् र?” तिनीहरूको सोचाइ त्यति सरल हुन्छ। तिनीहरूको दृष्टिकोण यस्तो हुन्छ: “परमेश्‍वरमा विश्‍वास गर्ने कार्य यस्तै हुनुपर्छ। किन यति धेरै सानातिना समस्याहरूको झन्झट गर्नु? तिमीहरू परिस्थितिलाई अत्यन्तै जटिल बनाइरहेका छौ!” त्यसकारण, तिनीहरूले सत्यता सिद्धान्तहरू कहिल्यै नखोजी, बरु असल अभिप्राय र जोशका साथ काम गर्दै आफ्नो कर्तव्य पूरा गर्छन् र कामहरू सम्पन्न गर्छन्। अझै सटीक रूपमा भन्दा, तिनीहरूले विवेक र समझको प्रभुत्वमा रहेर कार्य गर्छन्, र सोच्छन्: “मैले धेरै हदसम्म कष्ट भोगिसकेको र मूल्य चुकाइसकेको छु; मैले धेरै हदसम्म सत्यता अभ्यास गरिसकेको र परमेश्‍वरलाई सन्तुष्ट पारिसकेको छु; मबाट योभन्दा बढी नमाग। म जस्तो छु, ठीकै छु, म असल व्यक्ति हुँ, र म परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्छु।” अवश्य नै, कहिलेकाहीँ यी मानिसहरूले मनको कुरा नपोखाई बस्नै सक्दैनन्, त्यसपछि तिनीहरूको असली रूप खुलासा हुन्छ। तिनीहरूले धेरै शब्द र धर्मसिद्धान्तहरू फलाक्न सक्छन्, तर तिनीहरूमा कुनै वास्तविक कद हुँदैन; अर्को शब्दमा भन्दा, तिनीहरूमा कुनै जीवन हुँदैन। जीवन नहुनुले विशेष गरी केलाई जनाउँछ? (तिनीहरूसँग कुनै सत्यता हुँदैन।) सत्यता नहुने अवस्था कसरी आउँछ? (तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्, न त यसलाई पछ्याउँछन् नै।) कुरा तिनीहरूले सत्यतालाई प्रेम गर्छन् कि गर्दैनन् भन्ने नै होइन; ठ्याक्कै भन्नुपर्दा, तिनीहरूले सत्यतालाई स्वीकार नै गर्दैनन्। कतिपयले यसो भन्न सक्छन्, “तिनीहरूले सत्यतालाई स्वीकार गर्दैनन् भनेर तपाईँले कसरी भन्न सक्‍नुहुन्छ? तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न धेरै कष्ट सहन्छन् र ठूलो मूल्य चुकाउँछन्, बिहानदेखि साँझसम्म हरेक दिन परिश्रम गर्छन्; तिनीहरूसँग कुनै सत्यता छैन भनेर तपाईँले कसरी भन्न सक्नुहुन्छ?” के यसो भन्नु तिनीहरूलाई अन्याय गर्नु हो? तर यदि तैँले यी मानिसहरूलाई हेरिस् भने, तिनीहरूको कष्ट भोग्नु र मूल्य चुकाउनुको पछाडि, के तिनीहरूले गर्ने सबै कुरा सत्यता सिद्धान्तहरूको दायराभित्र पर्छ? के तिनीहरूले आफूले गर्ने सबै कुरामा सिद्धान्तहरू खोज्छन्? के तिनीहरू परमेश्‍वरको डर मान्ने हृदय लिएर परमेश्‍वरसामु आउँछन्, र परमेश्‍वरका वचनहरू र परमेश्‍वरको घरले माग गरेका सिद्धान्तहरू अनुसार कामकुरा गर्छन्? गर्दैनन्; तिनीहरू केवल मानव कार्य, मानव संयम अनुसार चल्छन्। तिनीहरूले सत्यतालाई नस्विकार्नुको मुख्य प्रकटीकरण के हो? त्यो के हो भने, कुनै काम गर्नुभन्दा पहिले, तिनीहरूले कहिल्यै सक्रिय रूपमा सत्यताको खोजी गर्दैनन्, न त तिनीहरूले कहिल्यै सत्यताका सिद्धान्तहरू के हुन् भनेर गम्भीरताका साथ मनन गर्छन् र त्यसपछि परमेश्‍वरका वचनहरू अनुसार कडाइका साथ अभ्यास नै गर्छन्। के तिनीहरूले त्यस्ता विचार र मनोवृत्तिहरू बोकेका हुन्छन्? परमेश्‍वरले खुलासा गर्नुभएका मानवजातिको भ्रष्ट स्वभावका विभिन्न प्रकटीकरणहरूप्रति तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? के तिनीहरूले यी वचनहरूलाई स्विकार्छन्? के तिनीहरूले यी वचनहरू तथ्यगत छन् भनेर स्वीकार गर्छन्? के तिनीहरूले यी विशिष्ट प्रकटीकरणहरू भ्रष्टताका प्रकटीकरण हुन् भन्ने कुरा मान्छन्? तिनीहरूले सहमतिमा शिर हल्लाउन वा बाहिरी रूपमा यसलाई स्वीकार गर्न सक्छन्, तर हृदयमा, तिनीहरूले यसलाई स्वीकार गर्दैनन्; तिनीहरूले यसलाई बेवास्ता गर्छन्। यसलाई बेवास्ता गर्नु भनेको के हो? किटेरै भन्दा, यसको अर्थ स्वीकार नगर्नु, कुनै स्पष्ट मनोवृत्ति नहुनु, र कुनै स्पष्ट प्रतिरोध वा विरोध नहुनु, बरु परमेश्‍वरले बोल्नुभएका यी वचनहरूप्रति रूखो व्यवहार गर्ने मनोवृत्ति अपनाउनु हो। “रूखो व्यवहार” भन्नु अलिक अमूर्त हुन्छ; किटेरै भन्नुपर्दा, यसको अर्थ तिनीहरूले यस्तो सोच्छन् भन्ने हो, “तपाईँ मानिसहरू अहङ्कारी र छली हुन्छन् भनेर भन्नुहुन्छ, तर कोचाहिँ छली हुँदैन र? कोसँग अलिकति चलाकी हुँदैन र? अलिकति अहङ्कार वा घमण्ड कसले देखाउँदैन र? यो कुन ठूलो कुरा भयो र? व्यक्तिले कष्ट सहन र मूल्य चुकाउन सकेसम्म, त्यो नै पर्याप्त हुन्छ।” के यो अस्वीकारको मनोवृत्ति र विशिष्ट प्रकटीकरण होइन र? (हो।) यो सत्यतालाई नस्विकार्नु हो। परमेश्‍वरको न्याय र खुलासाका वचनहरूप्रति तिनीहरूमा बेवास्ता र अस्वीकारको मनोवृत्ति हुन्छ। त्यसकारण, जब दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई दिने मूल्याङ्कन र सम्झौटोको, र तिनीहरूका भ्रष्ट स्वभावका बारेमा दाजुभाइ-दिदीबहिनीहरूले प्रदान गर्ने सङ्केत र सहयोगको समेत कुरा आउँछ, के तिनीहरूले यी कुराहरूलाई स्वीकार गर्न सक्छन्? (सक्दैनन्।) त्यसोभए मलाई भन्, तिनीहरूका विशिष्ट प्रकटीकरणहरू के-के हुन्? तिनीहरूले यी कुराहरूलाई किन स्विकार्न सक्दैनन्? यसो भन्नलाई तेरो प्रमाण कहाँ छ? उदाहरणका लागि, जब तैँले तिनीहरूलाई “तिमीले यस्तो लापरवाह तरिकाले आफ्नो कर्तव्य पूरा गर्नु हुँदैन; यो झाराटारुवा तरिका हो” भनेर भन्छस्, तब तिनीहरूका कुन-कुन प्रकटीकरणहरूले तिनीहरूले सत्यतालाई स्वीकार गर्दैनन् भन्ने प्रमाणित गर्छन्? (तिनीहरूले यसो भन्‍नेथिए, “मैले यसमा आफ्नो हृदय लगाइसकेको छु। मैले कष्ट भोगिसकेको छु र मूल्य चुकाइसकेको छु। म झाराटारुवा भइरहेको छु भनेर तपाईँले कसरी भन्न सक्‍नुहुन्छ?”) यो त तिनीहरूले आफूलाई सही ठहर्‍याउनु हो। के तिनीहरूले कहिलेकाहीँ बहानाहरू खोज्छन्? तिनीहरूले हृदयमा यसलाई स्वीकार गरे पनि, तिनीहरूले अझै यस्तो सोच्छन्, “म झाराटारुवा भएँ त के भो? कसको चाहिँ खराब दिन हुँदैन र? कसले सामान्य भावनाहरू अनुभव गर्दैन र? तर म झाराटारुवा भएको कुरा स्वीकार गर्न सक्दिनँ; मैले यसलाई ढाकछोप गर्ने बहाना खोज्नुपर्छ। मैले इज्जत गुमाउनु हुँदैन।” यसरी, तिनीहरूले चतुर्‍याइँसाथ आफ्नो बचाउ गर्न धेरै कारण र बहानाहरू खोज्छन्, आफूले झारा टारिरहेको तथ्य स्वीकार गर्दैनन्, यस सम्बन्धमा आफ्ना समस्याहरू स्वीकार गर्दैनन्, न त अरू मानिसबाट आएका सङ्केतहरू नै स्वीकार गर्छन्। यो सत्यतालाई स्वीकार नगर्नुको एउटा विशिष्ट प्रकटीकरण हो। वास्तविक अवस्थाहरूको सामना नगर्दा, तिनीहरू आफूलाई “परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने, असल व्यक्ति” ठान्छन्। अवस्थाहरूको सामना गर्दा, तिनीहरूले अब यस कुरालाई ढालका रूपमा प्रयोग गर्न नसके पनि, तिनीहरूले अझै पनि आफूलाई सही साबित गर्ने र आफ्नो बचाउ गर्ने, समस्यालाई लिपपोत गर्ने, यसलाई अन्त्य गर्ने पर्याप्त कारणहरू भेट्टाउँछन्, त्यसपछि आफूलाई “असल मानवता भएको, परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने, र त्याग्ने क्षमता भएको, र आफ्नो कर्तव्य पूरा गर्न कष्ट सहने र मूल्य चुकाउने क्षमता भएको असल व्यक्ति” का रूपमा हेरिरहन्छन्। सटीक रूपमा भन्दा, त्यस्ता मानिसहरूमा श्रमिकहरूको प्रकटीकरण, र सार हुन्छन्। मण्डलीमा यो समूहले ठूलो अनुपात ओगटेको हुन्छ। यी व्यक्तिहरूको अनुपात जति भए पनि, अन्तिममा, यदि तिनीहरूले कुनै पनि ठूलो अपराध नगरी, परमेश्‍वरका प्रशासनिक आदेशहरू उल्लङ्घन नगरी वा उहाँको स्वभावलाई नचिढ्याई साँच्चै कष्ट भोग्न र मूल्य चुकाउन सक्छन्, र अन्त्यसम्म सहन र लागिरहन सक्छन् भने, तिनीहरू बफादार श्रमिकहरू हुन्, जो रहन सक्छन्। यो निकै ठूलो आशिष् हो! तिनीहरू सत्यता पछ्याउँदैनन्, न त तिनीहरूले परमेश्‍वरको इच्छालाई पछ्याउन, परमेश्‍वरको गवाही दिन, वा परमेश्‍वरका वचन र कामको गवाहीका रूपमा कार्य गर्न नै सक्छन्—यो आशिष् प्राप्त गर्नु आफैमा निकै राम्रो कुरा हो। सत्यता नपछ्याई के प्राप्त गर्ने आशा गर्न सकिन्छ? बफादार श्रमिक हुनु नै खराब कुरा होइन। कतिपय मानिसहरूले सोध्छन्, “के यी व्यक्तिहरू परमेश्‍वरका मानिस बन्न सम्भव छ?” सम्भव छ। एक मात्र सम्भावना भनेको, यदि यी व्यक्तिहरूले त्याग्न र कष्ट भोग्न सक्ने आधारमा सत्यतालाई स्वीकार गर्न, आफ्नो भ्रष्टतालाई स्वीकार गर्न र सही रूपमा सामना गर्न सक्छन्, त्यसपछि त्यसलाई समाधान गर्न सत्यताको खोजी गर्न सक्छन्, मानव भलाइ वा मानव संयम, सहनशक्ति, र दृढताका आधारमा कार्य गर्दैनन्, तर सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्छन्, जसले गर्दा अन्तमा, तिनीहरूको स्वभाव केही मात्रामा परिवर्तन हुन सक्छ भने, तिनीहरूसँग परमेश्‍वरका मानिस बन्ने केही मौका हुन्छ। तर, यदि तिनीहरूको कार्य र व्यवहार स्वभाव परिवर्तनसँग सम्बन्धित छैन, सत्यतालाई स्वीकार गर्नु र मुक्ति पाउनुसँग सम्बन्धित छैन भने, परमेश्‍वरका मानिसहरू बन्ने तिनीहरूको सम्भावना शून्य हुन्छ; यो तथ्य हो। बफादार श्रमिकहरूसँग व्यवहार गर्ने सिद्धान्त के हो? यो भनेको यी मानिसहरूलाई स्पष्ट सोच राख्ने बनाउन सक्दो प्रयास गर्नु हो। तिनीहरूलाई स्पष्ट सोच राख्ने बनाउनुको उद्देश्य के हो? तिनीहरूलाई अव्यावहारिक सपना देख्नबाट रोक्नु हो। कतिपयले यस्तो सोध्न सक्छन्, “‘अव्यावहारिक सपना देख्नु’ को अर्थ के हो?” यसको अर्थ मानिसहरूले आफूलाई “असल मानवता भएको, परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने, र त्याग्ने क्षमता र मूल्य चुकाउने इच्छा भएको” ठान्नु, अनि त्यसपछि परमेश्‍वरले मुक्ति दिनुहुनेछ भन्ने अपेक्षा गर्नु हो, जुन असम्भव छ। “असल मानवता हुनु, परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्नु, र त्याग्ने क्षमता र मूल्य चुकाउने इच्छा हुनुले परमेश्‍वरको मुक्ति प्राप्त गर्नतर्फ डोर्‍याउन सक्छ” भन्ने दृष्टिकोण राख्नु गलत र मूर्खतापूर्ण कुरा हो भन्ने कुरा तिनीहरूलाई स्पष्ट पार्नैपर्छ। यी गुणहरू हुनुको अर्थ व्यक्तिले आफ्नो भ्रष्ट स्वभाव त्यागेको छ भन्ने हुँदैन, न त थोरै असल व्यवहारको अर्थ व्यक्तिले मुक्ति पाउन सक्छ भन्ने नै हुन्छ, व्यक्तिले सत्यता प्राप्त गरेको छ भन्ने अर्थ त झनै हुँदैन भन्ने कुरा, र तिनीहरूका दृष्टिकोणहरू बेतुक, हास्यास्पद, र परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यतासँग असङ्गत र पूर्ण रूपमा अमिल्दो छन् भन्ने कुरा तिनीहरूलाई स्पष्ट पार्नैपर्छ। जिद्दी भएर धार्मिक धारणाहरूमा अडिरहने यी मानिसहरूलाई सहयोग गर्नुपर्छ; परमेश्‍वरका वचनहरू पढेर तिनीहरूलाई सत्यतामा सङ्गति दे। यदि तिनीहरूले अझै पनि सत्यतालाई स्वीकार गर्न सक्दैनन्, र तैँले सत्यता जसरी सङ्गति गरे पनि, तिनीहरूले अन्तर्दृष्टि प्राप्त गर्दैनन् र खोजी गर्ने कुनै अभिप्राय देखाउँदैनन् भने, तिनीहरूलाई जबरजस्ती गर्नु पर्दैन। तिनीहरूले अन्तसम्मै श्रमिकका रूपमा मात्रै सेवा गर्न सक्छन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्