अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२५) खण्ड दुई

घ. प्रतिशोधप्रति प्रवृत्त हुनु

तेस्रो प्रकारका मानिसहरू—जो लम्पट र असंयमित छन्—तिनीहरूबारे हाम्रो सङ्गति समाप्त भएको छ। यस प्रकारका मानिसहरूबाहेक, दुष्ट मानिसहरूका वर्गमा पर्ने अरू धेरै मानिसहरू छन्, र मण्डलीले यी सबै प्रकारका दुष्ट मानिसहरूलाई खुट्ट्याउनु र निकाल्नु पर्छ। अब यसपछि, हामी चौथो प्रकारबारे छलफल गर्नेछौँ। मण्डलीले खुट्ट्याउनु र निकाल्नुपर्ने विभिन्‍न दुष्ट मानिसहरूमध्ये चौथो प्रकारका मानिसहरूले ठूलो चुनौती र समस्या निम्त्याउँछन्। तिनीहरू को हुन सक्छन्? तिनीहरू प्रतिशोधप्रति प्रवृत्त मानिसहरू हुन्। “प्रतिशोधप्रति प्रवृत्त” भन्‍ने वाक्यांशबाटै थाहा हुन्छ कि ती मानिसहरू राम्रा हुँदै होइनन्; बोलीचालीको भाषामा भन्नुपर्दा, तिनीहरू कुहिएका आलु हुन्। तिनीहरूको मानवताको नियमित प्रकटीकरण र खुलासाहरू, साथै तिनीहरूको कार्यका सिद्धान्तहरूबाट मूल्याङ्कन गर्दा, तिनीहरूको हृदय दयालु हुँदैन। प्रचलित भनाइअनुसार, तिनीहरू “बदमास” हुन्। हामी भन्छौँ, तिनीहरू दयालु प्रकारका होइनन्; अझै किटेर भन्दा, ती व्यक्तिहरू दयालु हृदयका हुँदैनन् बरु तिनीहरूले क्रूरता, दुर्भावना, र निर्दयता बोकेका हुन्छन्। जब कसैले ती व्यक्तिहरूका हित, इज्जत, वा हैसियतलाई छुने वा तिनीहरूलाई चिढ्याउने केही कुरा भन्छ वा गर्छ, तब, एकातिर, तिनीहरूले हृदयमा शत्रुता पाल्छन्। अर्कोतिर, तिनीहरूले यही शत्रुताका आधारमा काम गर्छन्; तिनीहरूले आफ्नो घृणा पोखाउने र आफ्नो रिस मार्ने उद्देश्य र आशयले काम गर्छन्, जसलाई प्रतिशोध लिन खोज्ने व्यवहारका रूपमा चिनिन्छ। मानिसहरूमाझ सधैँ यस्ता व्यक्तिहरूको एउटा झुण्ड हुन्छ। मानिसहरूले तिनीहरूको मानवतालाई तुच्छ, हुकुमी, वा अति संवेदनशील जे शब्दले व्याख्या वा सारांशीकृत गरे पनि, अरूसँगको तिनीहरूको अन्तरक्रियाको साझा प्रकटीकरण भनेको तिनीहरूलाई जसले झुक्किएर वा जानीजानी चोट पुर्‍याउँछ वा चिढ्याउँछ, उसले अवश्यै दुःख पाउँछ र सोही अनुसारका परिणामहरू सामना गर्नैपर्ने हुन्छ। कतिपय मानिसहरूले भन्छन् नि: “तिनीहरूलाई चिढ्या न, अनि तैँले अपेक्षा गरेकोभन्दा बढी पाउनेछस्। यदि तैँले तिनीहरूलाई रिस उठाइस् वा चोट पुर्‍याइस् भने, सजिलै उम्कन्छु भन्‍ने नसोच्।” के मानिसहरूमाझ त्यस्ता व्यक्तिहरू हुन्छन्? (हुन्छन्।) अवश्यै हुन्छन्। चाहे जेसुकै होस्, यो रिसाउन वा सानो मन बनाउन लायक होस् कि नहोस्, प्रतिशोधप्रति प्रवृत्त मानिसहरू यसलाई आफ्नो दैनिक कार्यसूचीमा राख्छन्, र यसैलाई अत्यन्तै महत्त्वपूर्ण मामलाझैँ मान्छन्। तिनीहरूलाई जोसुकैले चिढ्याए पनि त्यो अस्वीकार्य हुन्छ, र तिनीहरू उसले पनि सोहीअनुसारको मूल्य चुकाउनुपर्छ भन्‍ने माग गर्छन्, र यही नै तिनीहरूले मानिसहरूसित, र शत्रु हुन् भन्‍ने लागेका जोकोहीसित व्यवहार गर्ने सिद्धान्त हो। उदाहरणका लागि, मण्डली जीवनमा कतिपय मानिस आफ्नो स्थितिबारे सङ्गति गर्छन् वा सामान्य रूपमा सङ्गति गर्छन् र आफ्ना अनुभवहरू बाँड्छन्, आफ्ना स्थिति र भ्रष्टताबारे छलफल गर्छन्। त्यसो गर्ने क्रममा, तिनीहरूले अनजानमै अरूको स्थिति र भ्रष्टता पनि समेट्छन्। बोल्ने व्यक्तिले अनजानमा बोलेको हुन सक्छ, तर सुन्‍ने व्यक्तिले यसलाई मनमा लिन्छ। सुनेपछि, त्यो व्यक्तिले त्यसलाई सही रूपमा बुझ्न वा लिन सक्दैन, र उसले प्रतिशोध लिने मानसिकता विकास गर्ने सम्भावना हुन्छ। यदि उसले त्यो कुरालाई छोड्दैन र आक्रमण गर्न र प्रतिशोध लिन जिद्दी गर्छ भने, यसले मण्डलीको काममा समस्या ल्याउनेछ, त्यसकारण यस मामलालाई तुरुन्तै सम्हाल्नुपर्छ। जबसम्‍म मण्डलीमा दुष्ट मानिसहरू हुन्छन्, तबसम्‍म अवरोधहरू अपरिहार्य रूपमै उत्पन्न हुनेछन्, त्यसकारण दुष्ट मानिसहरूले मण्डलीमा बाधा पुर्‍याउने घटनाहरूलाई हल्का रूपमा लिनै हुँदैन। चाहे जानीजानी होस् वा नहोस्, तैँले तिनीहरूलाई रिस उठाउने वा चोट पुर्‍याउने गरिस् भने, तिनीहरूले यो कुरालाई सजिलै छोड्‍दैनन्। तिनीहरूले मनमनै सोच्छन्: “तिमी आफ्‍नै भ्रष्टताबारे बोल न, किन मेरो कुरा निकाल्छौ? तिमी आफ्नो आत्मज्ञानबारे कुरा गर न, किन मेरो खुलासा गर्छौ? मेरो भ्रष्टता खुलासा गर्दा, मैले मेरो इज्जत र मर्यादा गुमाउँछु, म दाजुभाइ-दिदीबहिनीहरूमाझ अफ्ठ्यारोमा पर्छु, मैले प्रतिष्ठा गुमाउँछु, र मेरो ख्यातिमा हानि हुन्छ। ठिकै छ त्यसोभए, म तिमीविरुद्ध प्रतिशोध साँध्नेछु; तिमीले अपेक्षा गरेको भन्दा बढ्ता पाउनेछौ! मलाई हेप्न सजिलो छ भन्‍ने नसोच, मेरो पारिवारिक अवस्था कमजोर छ र मेरो सामाजिक हैसियत उच्च छैन भन्दैमा मलाई पेलपाल गर्छु भन्‍ने नसोच। मलाई सहजै मूर्ख बनाउन सकिने व्यक्ति नसोच; म कसैले खेलाँची गर्ने व्यक्ति होइनँ!” तिनीहरूले कसरी प्रतिशोध लिन्छन् भन्‍ने कुरा यहीँ छोडिदिऔँ; यी मानिसहरू आफैमा कस्ता हुन्छन् भन्‍नेबारे मात्र विचार गरौँ: जब तिनीहरूले यी सानातिना कुराहरू—मण्डली जीवनमा आम रूपमा हुने कुराहरू—सामना गर्छन्, तब तिनीहरूले यी कुराहरूलाई सही रूपमा लिन वा बुझ्न नसक्‍ने मात्र होइन, तिनीहरूमा त घृणासमेत पैदा हुन्छ र तिनीहरूले प्रतिशोध लिने अवसरहरू कुर्छन्, र प्रतिशोध लिन अनैतिक उपायहरूसमेत अपनाउँछन्। यसले तिनीहरूको मानवताबारे के भन्छ? (त्यो दुर्भावपूर्ण छ।) के तिनीहरू दयालु मानिस हुन्? (होइनन्।) सबैभन्दा असल मानिसहरू तिनै हुन् जसले सत्यतालाई स्विकार्न सक्छन्। जब तिनीहरूले अरूले सङ्गति गरेको र आफ्नो अनुभव बाँडेको सुन्छन्, तब तिनीहरू यसरी मनन गर्छन्: “ममा पनि यो भ्रष्टता छ। तिनीहरूले जे व्याख्या गर्छन् त्यो मेरै स्थिति जस्तो देखिन्छ। तिनीहरूले मलाई जानीजानी खुलासा गरिरहेका छन् कि मेरो स्थितिसँग मिल्दोजुल्दो कुराबारे अनजानमै बताइरहेका छन्, म यसलाई सही रूपमा बुझ्नेछु—म तिनीहरूले यसलाई कसरी अनुभव गरेका छन्, तिनीहरूले यो स्थिति समाधान गर्न कसरी सत्यता खोजी गर्छन्, साथै कसरी अभ्यास र प्रवेश गर्छन् भन्‍ने कुरा सुन्‍नेछु।” यो साँचो रूपमा सत्यता स्विकार्ने व्यक्ति हो। अलिक तल्लो स्तरको व्यक्तिले यो सुनेपछि यस्तो सोच्न सक्छ, “तिनीहरूले चिनेको भ्रष्ट स्वभाव कसरी मेरो स्थितिजस्तै भयो? के तिनीहरू मेरो बारेमा कुरा गरिरहेका छन्? ठिकै छ, तिनीहरूलाई बोल्न दिऊँ। आखिर, मैले कुनै क्षति बेहोरेको छैनँ, र धेरैजसो मानिसलाई सायद यसबारे थाहा पनि छैन। सायद तिनीहरू आफ्‍नै बारेमा कुरा गरिरहेका छन्, र यो संयोगवश मेरो स्थितिसँग मिल्न गएको हो; हामी सबैको एउटै स्थिति छ।” तिनीहरूले यसलाई गम्भीरतापूर्वक लिँदैनन्, हृदयमा कुनै घृणा पाल्दैनन्, र प्रतिशोध लिने मानसिकता विकास गर्दैनन्। तर, दयाहीन, दुष्ट मानिसहरूका हकमा भने यो फरक हुन्छ। अरूले त्यही मामलालाई सामान्य कुराका रूपमा हेर्छन्, र त्यहीअनुसार त्यसलाई सम्हाल्छन् र त्यसप्रति व्यवहार गर्छन्। अवश्य नै, सत्यतालाई स्विकार्ने असल मानिसहरूले यसलाई सक्रिय र सकारात्मक रूपमा समाधान गर्छन्। साधारण मानिसहरूले यसलाई सकारात्मक रूपमा समाधान नगरे पनि घृणा पनि पाल्दैनन्, झन् प्रतिशोध लिन खोज्नु त परको कुरा हो। तर ती दयाहीन मानिसहरूका हकमा भने, यस्तो सामान्य र अत्यन्तै साधारण कुराले पनि तिनीहरूमा भित्री रूपमा अशान्ति पैदा गर्न सक्छ, जसले गर्दा तिनीहरू शान्त हुन सक्दैनन्। तिनीहरूले पैदा गर्ने कुराहरू सकारात्मक वा साधारण हुँदैनन्, बरु क्रूर र दुष्ट हुन्छन्; तिनीहरू प्रतिशोधको खोजीमा हुन्छन्। तिनीहरूको प्रतिशोधको कारण के हो? तिनीहरू मानिसहरूले दुर्भावपूर्ण टिप्पणी गरेर जानीजानी नै तिनीहरूको अपमान गर्ने, तिनीहरूका वास्तविक अवस्था, साथै तिनीहरूका कुरूप पक्ष र भ्रष्टता खुलासा गर्ने विश्‍वास गर्छन्। तिनीहरू मानिसहरूले भनेका कुरालाई जानीजानी भनिएको कुराका रूपमा लिन्छन्, र यसरी ती मानिसहरूलाई शत्रु ठान्छन्। त्यसपछि, तिनीहरूले यस मामलालाई टुङ्ग्याउन बदला प्रयोग गर्नु उचित ठान्छन्, र प्रतिशोध लिने उद्देश्य हासिल गर्नका लागि विभिन्‍न उपायहरू अपनाउँछन्। के यो क्रूर स्वभाव होइन र? (हो।) मण्डली जीवनमा, जब दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो स्थितिबारे कुरा गर्छन्, तब धेरैजसो श्रोताहरूले यसलाई आफूसँग जोड्न र परमेश्‍वरबाट आएको भनी स्विकार्न सक्छन्। जो सत्यताप्रति वितृष्ण छन् र जोसँग दुष्ट स्वभाव छ तिनीहरूले मात्रै यो सुनेपछि शत्रुता र प्रतिशोधी मानसिकतासमेत पैदा गर्छन्, जसले गर्दा तिनीहरूको प्रकृति सार पूर्ण रूपमा खुलासा हुन्छ। प्रतिशोधी मानसिकता पैदा भएपछि, प्रतिशोधी व्यवहार र कार्यहरू श्रृङ्खलाबद्ध रूपमा देखा पर्छन्। जब प्रतिशोध लिने कार्यहरू देखा पर्छन्, तब मानिसहरूबीचका सम्बन्धहरूको के हाल हुन्छ? ती उचित रहँदैनन्। अनि यसमा वास्तविक पीडित चाहिँ को हुन्छ? (तिनीहरूले प्रतिशोध लिन खोजेको व्यक्ति।) ठिक भन्यौ। वास्तविक पीडितहरू ती हुन् जसले आफ्नो अनुभवात्मक गवाहीबारे सङ्गति गर्छन्। त्यसपछि प्रतिशोधप्रति प्रवृत्त मानिसहरूले आफ्‍नो खुलासा गर्ने वा आफूप्रति शत्रुता राख्‍ने ठानेका मानिसहरूलाई विभिन्‍न परिस्थितिमा बोली वा व्यवहार प्रयोग गरेर आलोचना गर्ने, आक्रमण गर्ने, र फसाउने वा निन्दा गर्ने समेत गर्छन्। प्रतिशोधप्रति प्रवृत्त मानिसहरूले हृदयमा अस्थायी घृणा बोकेर त्यसलाई त्यसैमा सीमित राख्‍ने गर्दैनन्; तिनीहरू आफ्नो प्रतिशोधका निशानामा रहेका मानिस, आफूले शत्रु ठानेका, र आफ्ना लागि प्रतिकूल ठानेका मानिसहरूविरुद्ध प्रतिशोध लिन हरकिसिमका अवसरहरू खोज्‍ने र सिर्जना गर्नेसमेत गर्छन्। उदाहरणका लागि, अगुवाहरूको चुनावको दौरान, यदि तिनीहरूले शत्रु ठानेको व्यक्ति परमेश्‍वरको घरका मानिसहरूलाई प्रयोग गर्ने सिद्धान्तहरूअनुसार छ र ऊ अगुवाका रूपमा निर्वाचित हुन योग्य छ भने, तिनीहरूको शत्रुताले गर्दा तिनीहरूले त्यस व्यक्तिलाई आलोचना, निन्दा, र आक्रमण गर्छन्। तिनीहरूले बदला लिनका लागि पर्दापछाडि रहेरसमेत कार्य गर्न सक्छन् वा त्यस व्यक्तिलाई हानि गर्ने कार्यहरू समेत गर्न सक्छन्। सारांशमा भन्‍नुपर्दा, प्रतिशोध लिने तिनीहरूका उपायहरू विविध हुन्छन्। उदाहरणका लागि, तिनीहरूले कसैविरुद्ध प्रयोग गर्न गलचेपहरू खोजेर उसको कुरा काट्न सक्छन्, बढाइचढाइ र आधारहीन हल्लाहमार्फत त्यस व्यक्तिबारे अफवाह रच्न, वा त्यो व्यक्ति र अरूबीच मतभेद फैलाउन सक्छन्। तिनीहरूले त्यो व्यक्ति कर्तव्य निर्वाहमा अबफादार छ, र उसले नकारात्मकतामार्फत प्रतिरोध गर्छ भनेर दाबी गर्दै अगुवाहरूसामु उसलाई झूटो आरोपसमेत लगाउन सक्छन्। वास्तवमा यी सबै जानीजानी रचिएका झूट हुन्, र आधारहीन कुरा मात्र हुन्। हेर त, त्यो व्यक्तिबारे तिनीहरूले गर्ने शङ्का र गलतफहमीहरूबाट कसरी यति धेरै अनुचित व्यवहार र कार्यहरू उत्पन्न हुन्छन्; यी सबै शैलीहरू तिनीहरूको प्रतिशोधी प्रकृतिबाट आएका हुन्छन्। वास्तवमा, जब त्यो व्यक्तिले आफ्ना अनुभवात्मक गवाहीहरू बाँडेको थियो, त्यो बिलकुलै तिनीहरूप्रति लक्षित थिएन; तिनीहरूप्रति कुनै दुर्भावनाको अभिप्राय थिएन। तिनीहरू सत्यताप्रति वितृष्ण रहेकाले र तिनीहरूमा प्रतिशोधप्रति प्रवृत्त क्रूर स्वभाव भएको हुनाले नै अरूलाई तिनीहरूले आफ्‍नो खुलासा गर्न दिँदैनन्, न त तिनीहरूले आफूलाई चिन्‍नेबारे छलफल गर्न, भ्रष्ट स्वभावबारे छलफल गर्न, वा आफ्नो शैतानी प्रकृतिबारे कुरा गर्न नै दिन्छन्। जब त्यस्ता विषयहरूबारे छलफल गरिन्छ, तब तिनीहरू आफूलाई नै लक्षित र खुलासा गरिएको हो भन्‍ने अनुमान गर्दै रिसाउँछन्, र यसरी तिनीहरूले प्रतिशोधी मानसिकता विकास र निर्माण गर्छन्। प्रतिशोध बोक्ने यस्तो व्यक्तिका प्रकटीकरणहरू बिलकुलै कुनै एउटा परिस्थितिमा मात्र सीमित हुँदैन। म किन यसो भन्दै छु? किनभने त्यस्ता व्यक्तिहरूमा क्रूर प्रकृति हुन्छ; कसैले पनि तिनीहरूलाई उक्साउन वा उत्तेजित पार्न मिल्दैन। तिनीहरूमा बिच्छी वा खजुरोमा जस्तै अन्तर्निहित रूपमै कुनै पनि व्यक्ति र कुनै पनि कुराप्रति आक्रामकता रहेको हुन्छ। त्यसकारण, कसैले चाहे जानीजानी होस् वा अनजानमा बोलेर तिनीहरूलाई चिढ्यायो वा चोट पुर्‍यायो भने, तिनीहरूलाई आफ्नो गौरव वा प्रतिष्ठा गुमेको छ भन्‍ने लागेमा, तिनीहरूले आफ्नो गौरव र प्रतिष्ठा जोगाउने उपायहरू सोच्नेछन्, जसले गर्दा तिनीहरू श्रृङ्खलाबद्ध प्रतिशोधी कार्यहरूमा संलग्‍न हुनेछन्।

यसपछि, म प्रतिशोधप्रति प्रवृत्त मानिसहरूका अरू प्रकटीकरणहरू सङ्गति गर्नेछु। कतिपय मानिसहरू झाराटारुवा रूपमा आफ्नो कर्तव्य पूरा गरेका हुनाले अगुवाहरूबाट काटछाँटमा पर्छन्, जसले गर्दा तिनीहरूले असन्तुष्टि पाल्छन्। ल भन त, के तिनीहरूलाई काटछाँट गर्नु न्यायोचित हो? (हो।) यो पूर्ण रूपमा न्यायोचित र सामान्य कुरा हो। यदि तैँले झाराटारुवा रूपमा आफ्नो कर्तव्य पूरा गर्छस्, र मण्डलीको काममा हानि गर्छस्, साथै तैँले सिद्धान्तहरू अनुसार कार्य गर्दैनस्, र कुनै व्यक्ति तँलाई खुलासा र काटछाँट गर्न खडा हुन्छ भने, त्यो न्यायोचित हो, र तैँले यसलाई स्वीकार गर्नुपर्छ। तर, प्रतिशोधप्रति प्रवृत्त मानिसहरूले यसलाई स्वीकार गर्न नमान्ने मात्र नभई असन्तुष्टि पनि पाल्छन्। अगुवाहरू गएपछि, तिनीहरू गालीगलौज बर्साउन थाल्छन्: “तैँले केको धाक लगाइरहेको छस्? तँसँग एउटा आधिकारिक पद भएको मात्रै होइन र? यदि मसँग त्यस्तो पद भएको भए, मैले तैँलेभन्दा राम्रो गर्नेथिएँ! मलाई काटछाँट गर्ने रे, तैँले आफूलाई को ठानेको छस्? मलाई काटछाँट गर्ने तँलाई म घृणा गर्छु। तँलाई कारले किचोस्, तँ पानी पिउँदा सर्केर मर्, तँ खाना खाँदा सर्केर मर्, यो मेरो तँलाई सराप भयो। तँ बिजोग तरिकाले मर्! तैँले मलाई काटछाँट गर्ने आँट गर्ने? पृथ्वीमा मलाई काटछाँट गर्न आँट गर्ने कोही छैन!” जब ती अगुवाहरूलाई केही मामलाहरूका कारण माथिल्लो तहका अगुवाहरूले काटछाँट गर्छन्, तब तिनीहरू ती अगुवाहरूको दुर्भाग्य देखेर रमाउँछन् र अत्यन्तै खुसी हुन्छन्, र गीत गुनगुनाउँदै मनमनै सोच्छन्: “कस्तो लाग्यो त? तैँले धाक लगाइस्, र अहिले तैँले बदला पाइरहेको छस्! जसले मलाई काटछाँट गर्छ, म उसको जीवन दुःखी बनाइदिनेछु!” त्यस्ता मानिसहरूका बारेमा तिमीहरूलाई के लाग्छ? (तिनीहरू दुर्भावपूर्ण हुन्छन्।) तिनीहरू काटछाँटमा पर्नु जति नै न्यायोचित भए पनि, तिनीहरूले त्यसलाई स्वीकार गर्न सक्दैनन्। तिनीहरूले निरन्तर तर्क गर्छन् र आफ्नो बचाव गर्छन्, र पछि तिनीहरूले अझै पनि झाराटारुवा तरिकाले नै आफ्नो कर्तव्य पूरा गरिरहन्छन्, बारम्बार चेतावनी दिइँदा पनि तिनीहरू सुध्रनै सक्दैनन्। यदि तैँले सधैँ झाराटारुवा तरिकाले कार्य गर्छस् भने, परमेश्‍वरको घरमा तँलाई काटछाँट मात्र गरिनेछ; यदि तँ बाहिरी संसारमा जागिर खाँदै छस् र झाराटारुवा तरिकाले कार्य गर्छस् भने, तँ बर्खास्त हुन सक्छस् र तैँले आफ्नो रोजीरोटी गुमाउन सक्छस्। प्रायजसो परमेश्‍वरको घरको सिद्धान्त भनेको सत्यता सङ्गति गर्नु र प्रेमका साथ सहयोग गर्नु हो, ताकि धेरैजसो मानिसहरूले सत्यता पछ्याउन र सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गर्न सकून्। वास्तवमा, अगुवा र कामदारहरूमध्ये, थोरैले मात्रै कठोर काटछाँटको सामना गर्न सक्छन्। धेरैजसो मानिसहरूले आस्था, सचेतना, विवेक, र समझका आधारमा काम गर्छन्, परमेश्‍वरको छानबिनलाई स्वीकार गर्छन्, र गम्भीर गल्तीहरू गर्दैनन्, त्यसकारण तिनीहरूले कठोर काटछाँटको सामना गर्दैनन्। तर, काटछाँटमा पर्नु राम्रो कुरा हो; कति जना मानिसहरूले, विशेषगरी माथिले गर्ने, काटछाँटको सामना गर्न पाउँछन्? यसले आत्मज्ञान र जीवन वृद्धिका लागि ठूलो अवसर प्रस्तुत गर्छ। विश्‍वासीहरूले कम्तीमा पनि काटछाँट गरिनुको महत्त्व बुझ्नुपर्छ, र यसलाई असल कुराका रूपमा चिन्नुपर्छ। निश्चित व्यक्तिहरूबाट गरिने काटछाँट पूर्णतया सिद्धान्तहरू अनुरूप नहुने, त्यसमा व्यक्तिगत झुकाव र आवेग मिसिएको हुने भए पनि, तैँले आफ्ना कार्यहरूका कुन-कुन पक्षहरू सिद्धान्तहरू अनुरूप छैनन् भनेर हेर्न आफूलाई जाँच्नुपर्छ र त्यसलाई सकारात्मक रूपमा स्वीकार गर्नुपर्छ; यसो गर्दा तँलाई फाइदा हुन्छ। तर, यी दुष्ट मानिसहरूले न्यायोचित काटछाँटलाई समेत स्वीकार गर्न सक्दैनन्। तिनीहरूले प्रतिशोध साँध्न कुनै कदम नउठाए पनि, तिनीहरूको हृदय ठूलो असन्तुष्टिले भरिएको हुन्छ, र तिनीहरूले सराप्छन् र अपशब्द बोल्छन्। जब तिनीहरूलाई काटछाँट गर्नेहरूले आफै काटछाँटको सामना गर्छन् वा तिनीहरूलाई प्रतिकूलता आइपर्छ, तब तिनीहरू नयाँ वर्ष मनाइरहेको बच्चाभन्दा बेसी खुसी हुन्छन्। यो नै दुष्ट मानिसहरूको प्रकटीकरण हो। कतिपय मानिसहरू यस्ता पनि हुन्छन्, जो आफ्नो कर्तव्य पूरा गर्दा प्रतिस्पर्धात्मक हुन्छन्; प्रायजसो, तिनीहरूले सिद्धान्तहरू पालना गर्दैनन् र झाराटारुवा तरिकाले कार्य गर्छन्, जसले गर्दा तिनीहरूको कर्तव्य निर्वाह निष्फल हुन्छ। जब अगुवाहरूले तिनीहरूका समस्याहरूबारे सङ्गति गर्छन् र तिनीहरूलाई काटछाँट गर्छन्, तब प्रतिशोधप्रति प्रवृत्त मानिसहरूले यस कुरालाई सही तरिकाले लिन सक्दैनन्। तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा देखाएको आफ्नो झाराटारुवापन र सिद्धान्तको कमीलाई भित्री रूपमा स्वीकार गरे पनि, काटछाँट गरिनुको प्रत्युत्तरमा तिनीहरूले प्रतिशोध साँध्ने विचार र कार्यहरूको विकास गर्छन्। त्यसपछि, तिनीहरूले अगुवाहरूलाई झूटो आरोप लगाउँदै पत्रहरू लेख्छन्, अगुवाहरूलाई बर्खास्त गर्ने प्रयासमा तिनीहरूका केही अभ्यास र भ्रष्टताका प्रकटीकरणहरूको फाइदा उठाउँदै बढाइचढाइ गर्छन् र माथिल्लो तहमा रिपोर्ट गर्छन्। यदि तिनीहरूको उद्देश्य हासिल भएन भने, तिनीहरूले पर्दा पछाडि अन्तर्ध्वंस गर्छन् र बाधा निम्त्याउँछन्, र जिद्धीपूर्वक अगुवाहरूका बन्दोबस्तहरूलाई प्रतिरोध गर्छन्। तिनीहरूले मण्डलीको काम, परमेश्‍वरको घरले माग गर्ने सिद्धान्तहरू, वा आफ्नो कर्तव्य पूरा गर्नुको प्रभावकारितालाई ख्याल गर्दैनन्; तिनीहरू आफ्नो रिस पोखाउनमा मात्रै ध्यान दिन्छन्। तिनीहरूले कसैको कुरा सुन्न मान्दैनन्, अगुवा र कामदारहरूको चेतावनीलाई समेत इन्कार गर्छन्। तिनीहरूले आमनेसामने भएरै मुख नलागे पनि वा सिधै प्रतिरोध नगरे पनि, पर्दा पछाडि, तिनीहरूले नकारात्मकता पोखाउन, विरोधमा आफ्नो काम नगर्न, र परमेश्‍वरको घरका कामका बन्दोबस्तहरूका विरुद्धमा वा अगुवा र कामदारहरूका विरुद्धमा प्रयोग गर्न कुनै पनि कमजोरीको फाइदा उठाउन सक्छन्। तिनीहरूले धारणाहरूसमेत फैलाउँछन्; तिनीहरू आफै नकारात्मक हुन्छन् र आफ्नो कर्तव्य पूरा गर्न अनिच्छुक हुन्छन्, तर तिनीहरूले अझै धेरै मानिसहरूलाई नकारात्मक र सुस्त हुन र आफ्नो कर्तव्यलाई बेवास्ता गर्न लगाउने प्रयास पनि गर्छन्। तिनीहरूको सिद्धान्त के हो? “मलाई मर्न डर लाग्दैन; मैले आफूसँगै घिसारेर लग्नका लागि कसैलाई खोज्नुपर्छ। अगुवाहरूले मेरो कर्तव्य निर्वाह मानकअनुरूप भएन भनेर मलाई काटछाँट गर्छन्—त्यसोभए म सबैजना आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न असफल हुने सुनिश्चित गर्नेछु। यदि मैले राम्ररी गरिरहेको छैनँ भने, तिमीहरू कसैले पनि गर्नेछैनौ! अगुवाहरूले मलाई काटछाँट गर्छन्, र तिमीहरू सबै मलाई हेरेर हाँस्छौ; म तिमीहरू सबैको जीवन कठिन बनाउनेछु!” जब तिनीहरूले झाराटारुवा तरिकाले वा सिद्धान्तहरूविरुद्ध गएर आफ्नो कर्तव्य पूरा गर्छन्, र कसैले अगुवाहरूलाई यस कुराको रिपोर्ट गर्छ, तब तिनीहरूले यस विषयमा अनुसन्धान गर्छन्: “मेरो रिपोर्ट कसले गर्‍यो? अगुवाहरूलाई मेरो बारेमा कसले भन्यो? अगुवाहरूसँग निकट सम्पर्कमा को छ? यदि मैले मेरो बारेमा माथिल्लो तहका अगुवाहरूलाई कसले रिपोर्ट गरेको हो भन्ने थाहा पाएँ भने, म त्यो व्यक्तिलाई कुनै दयामाया देखाउनेछैनँ! म त्यसलाई कहिल्यै छोड्नेछैनँ!” तिनीहरूले कठोर अभिव्यक्तिहरू दिन सक्ने मात्र नभई, अवश्य नै, तिनीहरूले यस्ता धम्कीहरू पनि दिन सक्छन्। यी व्यक्तिहरूसँग प्रतिशोध साँध्ने धेरै खराब र गोप्य रणनीतिहरू हुन्छन्, तिनीहरूले अरूको आलोचना र निन्दा गर्न कमजोरीको फाइदा मात्रै उठाउँदैनन्; कतिपयले जानीजानी आफूले प्रतिशोध साँध्न चाहेको व्यक्तिको ल्यापटप चार्जर चोर्छन्, जसले गर्दा उसले आफ्नो ल्यापटप चार्ज गर्न सक्दैन र उसलाई कर्तव्य निर्वाहमा बाधा पुग्छ। अरूले चाहिँ जानीजानी कसैको खानामा खानै नमिल्ने गरी धेरै नुन हाल्दिन्छन्। गैरविश्‍वासीहरूले आम रूपमा प्रयोग गर्ने बदलाका यी निकृष्ट उपायहरू मण्डलीभित्रकै दुष्ट मानिसहरूले पनि प्रयोग गर्छन्। प्रतिशोध साँध्ने तिनीहरूका विधिहरू यीभन्दा धेरै व्यापक हुन्छन्, जसमा हामीले पहिले कहिल्यै नदेखेका केही अनैतिक रणनीतिहरू पनि पर्छन्; हामी त केवल केही सरल उदाहरणहरू मात्रै उद्धृत गरिरहेका छौँ। तीमध्ये, कतिपय व्यक्तिहरूले जानीजानी अरूका लागि समस्या, अवरोध, र कठिनाइहरू सिर्जना गर्छन्; यो भइरहने घटना हो। हरेक समूहमा, विभिन्न परिस्थिति र वातावरणहरूमा, प्रतिशोधप्रति प्रवृत्त मानिसहरूको क्रूर स्वभाव निरन्तर खुलासा हुन्छ। दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूका प्रतिशोधी प्रकटीकरणहरू झनै स्पष्ट हुन्छन्। मण्डलीभित्र दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू रहुन्जेल, परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने र सत्यता पछ्याउने उहाँका चुनिएका मानिसहरूलाई बाधा परिरहनेछ। दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू उपस्थित भएको हरेक दिन मण्डलीलाई कुनै शान्ति हुँदैन—असल मानिसहरूलाई आक्रमण र बहिष्कार गरिनेछ; विशेष गरी, सत्यता पछ्याउनेहरूले दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूको शत्रुता र प्रतिशोधको सामना गर्नेछन्। दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले कसरी अरूलाई सास्ती दिन्छन् र अरूविरुद्ध प्रतिशोध लिन्छन्? सुरुमा, तिनीहरूले सत्यता पछ्याउने र सिद्धान्तहरू पालना गर्नेहरूलाई निसाना बनाउँछन्। यी दुष्ट व्यक्तिहरूले सत्यता पछ्याउनेहरू मात्रै तिनीहरूका लागि सबैभन्दा हानिकारक हुन्छन् भन्ने कुरा स्पष्ट रूपमा बुझ्छन्। सर्वप्रथम, सत्यता बुझ्ने मानिसहरूले तिनीहरूलाई खुट्ट्याउन सक्छन्; यदि तिनीहरूले कुनै खराब काम गरेमा, सत्यता बुझ्ने मानिसहरूले तिनीहरूलाई छर्लङ्गै देख्नेछन्। दोस्रो, सत्यता बुझ्ने मानिसहरू उपस्थित हुँदा, तिनीहरूका दुष्ट कार्यहरू केही हदसम्म सीमित हुनेछन्, जसले गर्दा तिनीहरूलाई आफ्नो उद्देश्य हासिल गर्न गाह्रो हुनेछ। यस दृष्टिकोणबाट हेर्दा, सत्यता पछ्याउनेहरू मात्रै मण्डलीको कामका रक्षक हुन्। सत्यता पछ्याउने मानिसहरू उपस्थित हुँदा, ख्रीष्टविरोधी र दुष्ट मानिसहरूले तानासाही रूपमा काम गर्ने आँट गर्दैनन् र तिनीहरूले केही संयमता अभ्यास गर्नैपर्छ। त्यसकारण, सत्यता पछ्याउनेहरू ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूका लागि आँखाका कसिङ्गर हुन्, तिनीहरूका टाउको दुखाइ हुन्, त्यसकारण तिनीहरूले प्रतिशोध लिने उपायहरू खोज्छन्।

जब दुष्ट मानिसहरूले प्रतिशोध लिन्छन्, तब तिनीहरूले क्रूर स्वभाव देखाउँछन्, तिनीहरू अव्यावहारिक हुन्छन् र तिनीहरूमा चेतनाको कमी हुन्छ। केही समय तिनीहरूसँगै बिताएका र तिनीहरूलाई बुझेका मानिसहरू केही हदसम्म तिनीहरूदेखि डराउँछन्। तिनीहरूसँग कुराकानी गर्नका लागि अत्यन्तै होसियारी र शिष्टता चाहिन्छ, र यसमा अत्यधिक मात्रामा आदर आवश्यक हुन्छ। तिनीहरूले त्यस्ता मानिसहरूलाई निरन्तर सन्तुष्ट पार्नुपर्छ र तिनीहरूका आवश्यकताहरूको ख्याल गर्नुपर्छ, र तिनीहरूमा रहेका कुनै पनि समस्या वा त्रुटिहरूलाई सिधै औँल्याउन मिल्दैन। बरु, तिनीहरूले यी समस्याहरूका बारेमा घुमाउरो तरिकाले, फकाइफुल्याइ गरेर छलफल गर्नुपर्छ, र कुरा गरेपछि, यसो भन्दै तिनीहरूको प्रशंसा पनि गर्नुपर्छ, “तपाईँमा यो त्रुटि वा कमीकमजोरी भए पनि, तपाईँले हामीभन्दा छिटो सीप सिक्नुहुन्छ, तपाईँको व्यावसायिक सामर्थ्य अरूको भन्दा बलियो छ, र तपाईँको कार्यकुशलता हाम्रोभन्दा उच्च छ। म तपाईँका गल्तीहरूलाई सबल पक्षका रूपमा हेर्छु।” तिनीहरूले यस्ताहरूको चापलुसीसमेत गर्नुपर्छ। तिनीहरूले किन यसो गर्छन्? तिनीहरूको प्रतिशोधको डरले। यसरी, यी दुष्ट व्यक्तिहरू खुसी हुन्छन्, र तिनीहरूलाई हृदयमा शान्त महसुस हुन्छ। तिनीहरूको प्रतिशोधबाट जोगिनका लागि, धेरैजसो मानिसहरू आफूले पत्ता लगाएका कुनै पनि समस्याहरू तिनीहरूसँग आमने-सामने भएर उठाउन डराउँछन्, न त तिनीहरूले यी समस्याहरूको रिपोर्ट गर्ने आँट नै गर्छन्। तिनीहरूले परमेश्‍वरको घरका हितहरूमा हानि गरिरहेका छन्, र तिनीहरूको जिद्दीपन र लापरवाही स्वेच्छाचारिताका कारण मण्डलीको काममा ढिलाइ भइरहेको छ भन्ने कुरा स्पष्ट हुँदा पनि, वा तिनीहरूको निर्देशन र सिद्धान्तहरूमा केही विकृतिहरू देखिएका भए पनि, कसैले पनि आपत्ति जनाउने वा माथिल्लो तहमा तिनीहरूको रिपोर्ट गर्ने आँट गर्दैन। तिनीहरूको क्रूर स्वभाव र प्रतिशोधप्रति प्रवृत्त तिनीहरूको मानवताका कारण, अरू तिनीहरूदेखि अलिक डर मान्छन्, तिनीहरूलाई रिस उठ्छ तर यसबारे बोल्न साह्रै डर लाग्छ। तिनीहरूसँगको कुराकानी अत्यन्तै शिष्ट र चलाखीपूर्ण हुनुपर्छ, र तिनीहरूप्रति अत्यन्तै दयालु, कोमल, र शिष्ट मनोवृत्ति देखाइनुपर्छ। जब मानिसहरूले तिनीहरूसँग आदर र शिष्टताका साथ बोल्छन्, तिनीहरूसामु झुक्छन्, तब तिनीहरू भित्री रूपमा सहज महसुस गर्छन्। तर, यदि कसैले सिधा कुरा गर्छ, तिनीहरूका समस्याहरूको खुलासा गर्छ र सुझावहरू दिन्छ भने, तिनीहरू खिन्न हुन्छन्, र तिनीहरूले यसलाई अनादरका रूपमा, अरूले तिनीहरूप्रति आपत्ति जनाएको वा शत्रुता देखाएको रूपमा लिन्छन्। यस कुराले तिनीहरूलाई त्यस व्यक्तिप्रति प्रतिशोध साँध्न र उसलाई सास्ती दिन प्रेरित गर्छ; तिनीहरूले उसलाई ढाल्नुपर्छ र उसको नामलाई बदनाम गर्नुपर्छ। यदि त्यो व्यक्ति तिनीहरूको हातमा पर्‍यो भने, उसको अन्त्य राम्रो हुनेछैन। के त्यस्ता मानिसहरू डरलाग्दा हुन्छन्? (हुन्छन्।) यदि तैँले तिनीहरूलाई बुझिनस् र तिनीहरूलाई चिढ्याइस् भने, तिनीहरूले तँविरुद्ध द्वेष पाल्नेछन्, खाने र सुत्ने बेलामा समेत तँसँग बदला लिने बारेमा मनन गर्नेछन्। तँ तिनीहरूको निसाना बनेपछि, जसरी पनि समस्या आउँछ, किनभने तिनीहरूले प्रतिशोध लिने दृढता लिएका हुन्छन्। बाहिरी रूपमा तिनीहरूले तँसँग पहिले जस्तै कुरा गर्लान्, तर तिनीहरूले प्रतिशोध लिने बारेमा मनन गर्नेबित्तिकै, तैँले तिनीहरूलाई यसभन्दा पहिले जे गरेको छस् वा भनेको छस्, त्यो सबै तिनीहरूका लागि हतियार बनिदिन्छ। तिनीहरूले तँलाई शत्रुका रूपमा लिनेछन्, र तिनीहरूले पर्याप्त रूपमा बदला लिएको महसुस नभएसम्म र तिनीहरू पूर्ण रूपमा सन्तुष्ट नभएसम्म अलिअलि गर्दै प्रतिशोध लिनेछन्। दुष्ट मानिसहरूसँग सङ्गत गर्नुको परिणाम यही हो।

प्रतिशोधप्रति प्रवृत्त मानिसहरूले आफ्नो विभिन्न व्यवहारका आधारमा र तिनीहरूले कार्य गर्ने र आफूलाई आचरणमा ढाल्ने सिद्धान्त र विधिहरूका आधारमा, दयालु हृदय भएका र सबैप्रति मिलनसार र कसैसँग व्यवहार गर्दा सिद्धान्तहरूको कमी हुने मानिसहरूलाई बाहेक लगभग सबैलाई खतरामा पार्छन्—त्यस्ता व्यक्तिहरू क्रूर मानिसहरूका वरिपरि सुरक्षित हुन्छन्। तर, विवेक वा इन्साफको अलिकति पनि बोध भएका मानिसहरूले प्रतिशोधप्रति प्रवृत्त मानिसहरूको उपस्थितिमा फरक-फरक हदसम्म र धेरथोर मात्रामा खतराको महसुस गर्छन्। गम्भीर अवस्थामा, तिनीहरूले शारीरिक हानि वा ज्यानको धम्कीसमेत सामना गर्न सक्छन्, जबकि अलि हल्का परिदृश्यमा, तिनीहरू गालीगलौज, बदनामी, वा षड्यन्त्रको सिकार हुन सक्छन्। यी प्रतिशोधप्रति प्रवृत्त मानिसहरूको क्रूर स्वभावका समग्र प्रकाश र प्रकटीकरणहरूमा पर्छन्। त्यस्ता मानिसहरूका समग्र प्रकटीकरणहरूका आधारमा भन्दा, तिनीहरूले पनि दाजुभाइ-दिदीबहिनीहरू र मण्डलीभित्रै बाधाहरू निम्त्याउँछन्। यी प्रतिशोधी मानिसहरूसँग अन्तरक्रिया गर्ने लगभग सबै जना तिनीहरूको प्रतिशोधका निसाना बन्छन् र लगभग सधैँ नै पीडित बन्छन्। प्रतिशोधप्रति प्रवृत्त मानिसहरूमा क्रूर स्वभाव हुन्छ, र तिनीहरू कुनै पनि बेला विस्फोट हुन सक्ने टाइमबम हुन्। तिनीहरूले भीडको पछि लागेर आफ्नो कर्तव्य पूरा गर्न र सामान्य मण्डली जीवन जिउन सक्ने भए पनि, तिनीहरूको मानवताका आधारमा मूल्याङ्कन गर्दा, तिनीहरूले कुनै पनि बेला प्रतिशोध साँध्न र अरूलाई खतरामा पार्न, साथै मानिसहरूलाई तिनीहरूदेखि डर मान्न र सावधान हुन लगाउन सक्छन्। के यो नै अधिकांशका लागि बाधा बन्दैन र? (बन्छ।) तिनीहरूलाई नचिढ्याउन, तिनीहरूलाई खुसी पार्न, र तिनीहरूको द्वेष र प्रतिशोधबाट जोगिनका लागि, मानिसहरूले सधैँ तिनीहरूको अभिव्यक्तिलाई ध्यान दिनुपर्छ र तिनीहरूको बोलीवचनको अन्तर्निहित अर्थ सुन्नुपर्छ, र तिनीहरूले बोल्दा तिनीहरूका अभिप्राय, उद्देश्य, र दिशाहरू पत्ता लगाउने प्रयास गर्नुपर्छ। यस दृष्टिकोणबाट हेर्दा, के धेरैजसो मानिसहरू तिनीहरूद्वारा बाधित मात्र नभई नियन्त्रित पनि हुँदैनन् र? (हुन्छन्।) त्यसकारण, यस मामलाको प्रकृतिलाई हेर्दा, के त्यस्ता प्रतिशोधी व्यक्तिहरू दुष्ट मानिसहरू होइनन् र? (हुन्।) तिनीहरूलाई दुष्ट मानिसहरू भनेर चित्रण गरिनुपर्छ भन्ने कुरा अत्यन्तै प्रस्ट छ। यदि त्यस्ता व्यक्तिहरूको अवस्था बुझ्ने प्रयास गरियो भने, धेरैजसो मानिसहरू तिनीहरूबारे सत्यता बोल्न डराउँछन्, र तिनीहरूका बारेमा सोधिएको हरेक प्रश्नलाई “ठीकै छ” भन्ने जस्ता अप्रतिबद्ध जबाफ दिएर पन्छाउँछन्, तिनीहरूका समस्याहरूको रिपोर्ट गर्ने र तिनीहरूबारे कुरा गर्ने वा तिनीहरूको मूल्याङ्कन गर्ने आँट गर्दैनन्। के यो कष्टदायी अवस्था होइन र? कतिपयले भन्छन्, “यस्ता दुष्ट मानिसहरूले कुनै पनि बेला र कुनै पनि ठाउँमा प्रतिशोध साँध्न सक्छन्; तिनीहरूलाई उत्तेजित पार्ने आँट कसले गर्छ र? यसका साथै, तिनीहरूले सधैँ आपराधिक तथा वैध वृत्त दुवैसँग आफ्नो सम्बन्ध रहेको दाबी गर्छन्, र यदि कसैले तिनीहरूलाई चिढ्यायो भने, त्यस व्यक्तिलाई राम्रो हुनेछैन, तिनीहरूले उसलाई पाठ सिकाउनेछन्, र उसको परिवारको दुःखद मृत्यु हुनेछ भनेर धम्की दिन्छन्। त्यसकारण, कसैले पनि तिनीहरूलाई उत्तेजित पार्ने आँट गर्दैन। तिनीहरूलाई त्यत्तिकै छोडिदिऊँ, र हामी आफ्नो भलाइको आशा मात्रै गरौँ।” हेर् त, मण्डलीमा यस्तो परिस्थिति निर्माण हुन्छ, जसको अर्थ तिनीहरूले यी मानिसहरूलाई नियन्त्रण गरिसकेका छन् भन्ने हुन्छ। प्रतिशोध साँध्नुमा तिनीहरूको क्रूर स्वभाव देखेपछि, मानिसहरूले तिनीहरूलाई आरोप लगाउने वा काटछाँट गर्ने आँट गर्दैनन्, न त तिनीहरूबारे आफ्नो साँचो मूल्याङ्कन बताउने आँट नै गर्छन्। तिनीहरूलाई चिढ्याउने डरले तिनीहरूका वरिपरि कुराकानी गर्दा एकदमै ध्यान पुर्‍याउनुपर्छ, र तिनीहरूको पिठ्युँपछाडि तिनीहरूका साँचो प्रकटीकरणहरूका बारेमा किटेर कुरा गर्नु समेत साह्रै डरलाग्दो हुन्छ। मानिसहरू केको डर मान्छन्? तिनीहरू आफ्नो कुरा प्रतिशोधी व्यक्तिको कानमा पुग्छ, र उसले तिनीहरूविरुद्ध प्रतिशोध साँध्नेछ भनेर डर मान्छन्। बोलेपछि, तिनीहरूले निधारमा प्याट्ट हान्दै भन्छन्, “अहो, होइन, आज मैले जथाभाबी बोलेँ। हेर है त, मैले यसका लागि कष्ट भोग्‍नुपर्छ। म किन मुख बन्द गर्न सक्दिनँ?” त्यसपश्चात, तिनीहरू निरन्तर डर र तनावमा जिउँछन्, जीवनमा सधैँ सतर्क रहन्छन्, त्यो व्यक्तिको वरिपरि हुँदा सधैँ नियाल्छन्, र सोच्छन्, “के उसलाई मैले भनेको कुरा थाहा छ? के यो कुरा उसको कानमा पुगेको छ? के मप्रति उसको मनोवृत्ति पहिलेको जस्तै छ?” तिनीहरू जति बढी मनन गर्छन्, त्यति नै व्याकुल हुन्छन्, र यो कुरा जति लामो समयसम्म चलिरहन्छ, तिनीहरूको डर त्यति नै बढ्छ, त्यसकारण तिनीहरूले उसलाई पूरै टार्नु नै राम्रो हुन्छ भन्ने निर्णय गर्छन्, र सोच्छन्, “म उसलाई उत्तेजित पार्ने जोखिम लिन सक्दिनँ, तर कम्तीमा म ऊबाट टाढा बस्न त सक्छु। मैले भनेको कुरा उसलाई थाहा भए पनि वा नभए पनि, के म ऊबाट टाढा बस्न सक्दिनँ र?” यो डर यति ठूलो बन्छ कि तिनीहरू भेलाहरूमा सहभागी हुने आँटसमेत गर्दैनन्, र यो क्रूर व्यक्ति हुन सक्ने कुनै पनि ठाउँमा जाँदैनन्, चाहे त्यो तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्नुपर्ने ठाउँ नै किन नहोस्, किनकि तिनीहरूको सातोपुत्लो उडेको हुन्छ।

प्रतिशोधप्रति प्रवृत्त ती दुष्ट मानिसहरूलाई कसरी सम्हाल्नुपर्छ? (तिनीहरूलाई निकाल्नुपर्छ।) यो निकै सरल छ: केवल दुई वटा शब्द—तिनीहरूलाई निकाल्नुपर्छ—अनि काम पूरा हुन्छ। यदि तिनीहरूलाई निकालियो र बहुसङ्ख्यक मानिसहरूले गहिरो सन्तुष्टि अनुभूति गर्दै उत्सव मनाउँछन् भने, तिनीहरूलाई निकाल्नु सही निर्णय थियो। यसभन्दा पहिले, भेलाहरूमा, दुष्ट मानिसहरूको उपस्थितिले गर्दा धेरैजसो मानिसहरू सङ्गति गर्दा बन्धनमा पर्थे; तिनीहरू एउटा गलत शब्दले दुष्टहरूलाई चिढ्याउला भनेर डर मान्थे, त्यसकारण तिनीहरूले बोल्दा तिनीहरूप्रति सावधानी अपनाउँथे र तिनीहरूलाई पन्छाउँथे। भेलाहरूमा एउटा अलिखित नियम देखा पर्‍यो: यदि कसैले आँखाले सङ्केत दिएमा, विषय तुरुन्तै परिवर्तन हुन्थ्यो। यस्तो अवस्था उत्पन्न भएको थियो। प्रतिशोधप्रति प्रवृत्त हुनेहरूलाई निकालिएपछि, मण्डलीमा शान्ति छायो, मण्डली जीवन सामान्य बन्यो, र मानिसहरूबीचका सम्बन्धहरू पनि सामान्य अवस्थामा फर्के। अब दाजुभाइ-दिदीबहिनीहरूले कसैको नियन्त्रणमा नपरी, कसैको डर नमानी, र कसैको हाउभाउलाई ध्यान नदिई स्वतन्त्र रूपमा परमेश्‍वरका वचनहरू बाँड्न र प्रार्थनार्थ पढ्न, र स्वतन्त्र रूपमा आफ्ना अनुभवात्मक गवाहीहरू बाँड्न सक्ने भए। यस परिणामका आधारमा हेर्दा, के त्यस्ता दुष्ट मानिसहरूलाई निकाल्नु सही थियो? (थियो।) अवश्य नै। तिनीहरूलाई निकाल्नुपर्छ। तिनीहरूलाई निकालिएन भने, जीवन सबैका लागि असह्य बन्नेछ, र धेरै जना भेलाहरूमा सहभागी हुन अत्यन्तै डराउनेछन्। कतिपय डरपोक व्यक्तिहरू सधैँ दुष्ट पिशाचहरूद्वारा घाँटी निमोठिएको सपना देखेर दुस्वप्नको सिकार समेत बन्न सक्छन्। तिनीहरू भेलाहरूमा सधैँ बढी नै सतर्क हुनेछन्, तिनीहरूले कहिल्यै बोल्ने आँट गर्नेछैनन्, स्वतन्त्र र मुक्त महसुस गर्न सक्नेछैनन्। दुष्ट मानिसहरूलाई निकालिएदेखि, तिनीहरू पूर्ण रूपमा परिवर्तन भएका छन्: अहिले तिनीहरू भेलाहरूमा बोल्ने आँट गर्छन्, सङ्गति गर्दा तिनीहरू अझै सक्रिय बनेका छन्, र तिनीहरू स्वतन्त्र र मुक्त महसुस गर्छन्। के यो राम्रो कुरा होइन र? (हो।) क्रूर स्वभाव भएका त्यस्ता प्रतिशोधी व्यक्तिहरूलाई खुट्ट्याउन सजिलो छ। सामान्यतया, कसैसँग छ महिनाभन्दा बढी समयसम्म अन्तरक्रिया गरेपछि, सबैले ऊ त्यस्तो व्यक्ति हो कि होइन भनेर अनुभूति गर्न र स्पष्ट रूपमा देख्न सक्नुपर्छ; तिनीहरूसँग केही समय बिताएपछि यो कुरा स्पष्ट हुन्छ। मण्डलीका अगुवा र कामदारहरू त्यस्ता दुष्ट मानिसहरूलाई तह लगाउँदा निष्क्रिय हुनु हुँदैन। निष्क्रिय नहुनु भन्नुको अर्थ के हो? यसको अर्थ तिनीहरूलाई निराकरण गर्नुअघि तिनीहरूले कतिपय मानिसहरूलाई बहकाएर र खराब कार्यहरू गरेर सबैलाई क्रोधित नबनाएसम्‍म पर्खिनु हुँदैन भन्‍ने हो—त्यसो गर्नु अत्यन्तै निष्क्रिय हुनेछ। त्यसोभए, दुष्ट मानिसहरूलाई तह लगाउने सबैभन्दा राम्रो समय कहिले हो? राम्रो समय त्यतिबेला हो, जब थोरै मानिसहरूलाई हानि गरिसकिएको हुन्छ र तिनीहरूले तिनीहरूप्रति निकै वितृष्णा र सावधानी महसुस गर्छन्, र जब तिनीहरूलाई दुष्ट मानिस भनेर राम्ररी चित्रण गरिएको हुन्छ। यस विन्दुमा, अझै धेरै मानिसहरूलाई हानि हुन नदिन, र डरपोकहरूलाई तिनीहरूका कारण सातोपुत्लो उड्न वा ठेस पर्नबाट जोगाउनका लागि तिनीहरूलाई तुरुन्तै तह लगाउनुपर्छ र निकाल्नुपर्छ। यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? यदि दुष्ट मानिसहरूलाई मण्डलीभित्र धेरै समयसम्म बाधाहरू निम्त्याउन दिइयो भने, अन्तिम परिणाम के हुन्छ भने, तिनीहरूले मण्डली र परमेश्‍वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्छन्। कुरा यो हदसम्म पुग्यो भने, सबैले दुःख पाउँछन्। सबैलाई हानिबाट जोगाउनका लागि, जब मानिसहरूको एउटा हिस्सालाई हानि पुगेको हुन्छ, वा जब कतिपयले त्यस्ता व्यक्तिहरूप्रति तीव्र अरुचि विकास गरेका हुन्छन् र त्यस्ता व्यक्तिहरूलाई छर्लङ्ग देखेका हुन्छन्, अनि तिनीहरूलाई प्रतिशोधप्रति प्रवृत्त दुष्ट मानिसहरूका रूपमा पहिचान गरेका हुन्छन्, तब मण्डली अगुवाहरूले तिनीहरूलाई तुरुन्तै निकाल्नुपर्छ। तिनीहरूले कुनै कदम चाल्ने निर्णय गर्नुभन्दा पहिले दुष्ट मानिसहरूले धेरै दुष्टता गरुन्जेल र सार्वजनिक आक्रोश सिर्जना गरुन्जेल प्रतीक्षा गर्नु हुँदैन—त्यो अत्यन्तै निष्क्रिय हुनेछ; अनि के त्यस्ता मण्डली अगुवाहरू केही न कामका हुँदैनन् र? (हुन्छन्।) यस्तो काम गर्ने क्रममा, मण्डली अगुवाहरू त्यस्ता व्यक्तिका स्थिति, प्रकटीकरण, र प्रकाशहरूप्रति विशेष रूपमा संवेदनशील हुनुपर्छ, उनीहरूले तिनीहरूको स्वभावलाई तुरुन्तै छर्लङ्ग देख्नुपर्छ, त्यसपछि तिनीहरू निकालिनुपर्ने दुष्ट मानिस हुन् भनेर निर्धारित गर्नुपर्छ, र तिनीहरूलाई जति सक्दो चाँडो तह लगाउनुपर्छ। यदि सुरुमा निर्धारित गर्न सम्भव हुँदैन भने, निगरानीमा ध्यान दिन जरुरी हुन्छ, तिनीहरूको बोलीवचन, व्यवहार, र चालढालमा ध्यान दिनुपर्छ, तिनीहरूका विचारहरू र तिनीहरूका कार्य प्रवृत्तिहरू बुझ्नुपर्छ। तिनीहरूले प्रतिशोध लिने अभिप्राय राखेका छन् भन्ने पत्ता लागेपछि, अझै धेरै मानिसहरूलाई हानि हुन र प्रतिशोधका कार्यहरू भोग्‍नबाट जोगाउनका लागि तिनीहरूलाई निकाल्ने तात्कालिक उपायहरू अपनाउनुपर्छ।

कतिपय मण्डली अगुवाहरूले भन्छन्, “हामी दुष्ट मानिसहरूदेखि डराउँदैनौँ; परमेश्‍वरको डर मान्ने बाहेक, हामी कसैको डर मान्दैनौँ। दुष्ट मानिसहरू हाम्रा लागि के हुन् र? हामी शैतानदेखि समेत डराउँदैनौँ, न त हामी ठूलो रातो अजिङ्गरले गर्ने पक्राउ र सतावटदेखि नै डराउँछौँ, त्यसकारण हामीले किन दुष्ट मानिसहरूको डर मान्‍ने? दुष्ट व्यक्ति भनेको त सानोतिनो पिशाच मात्रै हो, किन उसको डर मान्ने? हामी तिनीहरूलाई मण्डलीमै राख्नेछौँ र बहुसङ्ख्यक दाजुभाइ-दिदीबहिनीहरूलाई हानि भोग्न दिनेछौँ। हानि भोगेपछि, तिनीहरूको समझशक्ति बढ्नेछ, र समझशक्ति प्राप्त भएसँगै तिनीहरू त्यस्ता दुष्ट मानिसहरूद्वारा बाँधिन र बन्धनमा पारिन छोड्नेछन्। त्यो एकदम राम्रो हुनेछ!” के बहुसङ्ख्यकले यो कद हासिल गर्न सक्छन्? (सक्दैनन्।) तिनीहरूले सक्दैनन्। तिनीहरूको आस्था अत्यन्तै कमजोर हुन्छ, तिनीहरूले बुझ्ने सत्यताहरू अत्यन्तै थोरै हुन्छन्, र तिनीहरूको कद अत्यन्तै सानो हुन्छ। तिनीहरू दुष्ट मानिसहरूलाई देख्नेबित्तिकै पन्छिन्छन्, र तिनीहरूलाई चिढ्याउने आँट गर्दैनन्। मृत्युको डर मान्ने र आफ्नै जीवनलाई महत्त्व दिने बाहेक, धेरैजसो मानिसहरूले आफ्ना विभिन्न देहगत स्वार्थहरूको पनि रक्षा गर्छन्; तिनीहरूले दुष्ट मानिसहरूले गर्ने विभिन्न कुराहरूबाट समझशक्ति प्राप्त गर्न वा पाठहरू सिक्न सक्दैनन्। तसर्थ, यो विचार आधारभूत रूपमै अव्यावहारिक छ र यसले कुनै पनि परिणाम दिन सक्दैन। यदि कुनै दुष्ट व्यक्ति मण्डलीमा देखा पर्‍यो भने, जब धेरैजसो मानिसहरूले त्यो व्यक्तिलाई दुष्ट भनेर चिनेका र निर्धारित गरेका हुन्छन्, तब कति जना मानिसहरूमा खडा हुनुपर्छ, दुष्ट व्यक्तिसँग सम्बन्ध तोड्नुपर्छ, ऊविरुद्ध लड्नुपर्छ, र परमेश्‍वरको घरका हितहरूको रक्षा गर्नुपर्छ भन्ने इन्साफको बोध हुन्छ? त्यस्तो कति प्रतिशत हुन्छ? के त्यो १०% हुन्छ? यदि १०% होइन भने, ५% हुन्छ? (लगभग त्यति हुन्छ।) यसको अर्थ बीस जनाको समूहमा, दुष्ट व्यक्तिविरुद्ध लड्न, उसलाई परमेश्‍वरका वचनहरूद्वारा खुलासा गर्न र चुनौती दिन, बहसमा संलग्न हुन, र उसलाई मण्डलीबाट निकाल्न खडा हुने व्यक्ति एक जना हुन सक्छ। त्यस्ता व्यक्तिहरू परमेश्‍वरका चुनिएका मानिसहरूमध्येका नायक, मण्डलीका योग्य व्यक्ति हुन्। कतिपय अगुवा र कामदारहरू दुष्ट मानिसहरूलाई तह लगाउन डराउँछन्। के त्यस्ता मानिसहरू आफ्नो भूमिकाका लागि उपयुक्त हुन्छन्? के तिनीहरू परमेश्‍वरलाई गवाही दिन योग्य हुन्छन्? मण्डलीबाट निकालिनुपर्ने कुनै दुष्ट व्यक्तिका बारेमा सुन्दा, तिनीहरूले यसो भन्छन्, “तिनीहरूलाई निकाल्न अलि कष्टदायी हुन्छ। म तिनीहरूसँग निकै परिचित थिएँ। तिनीहरूलाई म कहाँ बस्छु र मेरो परिवारमा कसले परमेश्‍वरमा विश्‍वास गर्छ भन्‍ने कुरा थाहा छ। यदि मैले तिनीहरूलाई निष्कासित गरेँ भने, तिनीहरूले अवश्य नै मविरुद्ध प्रतिशोध साँध्नेछन्।” तिमीहरूलाई के लाग्छ, के त्यस्ता मानिसहरू अगुवा र कामदार बन्न लायक हुन्छन्? (हुँदैनन्।) निकालिनुपर्ने दुष्ट व्यक्ति पत्ता लगाएपछि, तिनीहरू त्यस दुष्ट व्यक्तिको प्रतिशोधको डरले सुरुमा आफ्नै हितहरूका बारेमा सोच्छन्। तिनीहरू दुष्ट व्यक्तिलाई भेला हुने ठाउँहरू र दाजुभाइ-दिदीबहिनीहरूको सम्पर्कसम्बन्धी जानकारी थाहा भएको हुनाले, उसलाई निकालिएपछि उसले मण्डली वा दाजुभाइ-दिदीबहिनीहरूलाई घात गर्न सक्छ कि सक्दैन, साथै यसलाई कसरी रोक्नुपर्छ भन्ने कुरालाई ख्याल गर्न सक्दैनन्। तिनीहरूको प्रमुख चिन्ता परमेश्‍वरको घरका हितहरू नभई दुष्ट व्यक्तिले तिनीहरूको पारिवारिक अवस्था थाहा पाएर घात गर्ने र तिनीहरूका परिवारमा नकारात्मक असर पार्ने हो कि भन्ने डर हो। के त्यस्ता अगुवा र कामदारहरूमा गवाही हुन्छ? (हुँदैन।) कतिपय अगुवा र कामदारहरूले दुष्ट मानिसहरूले तानासाही व्यवहार गरिरहेका र मण्डलीलाई नियन्त्रण गर्ने प्रयास गरिरहेका देख्छन्, तैपनि तिनीहरूले बोल्ने आँट गर्दैनन्। बरु, तिनीहरूले सम्झौता गर्छन् र टार्छन्, र दुष्ट मानिसहरूलाई निराकरण गर्ने आँट गर्दैनन्। जब तिनीहरूले दुष्ट मानिसहरूलाई देख्छन्, तब तिनीहरू तीन-टाउके र छ-हाते दुष्ट पिशाच देखेझैँ गरी भयभीत हुन्छन्, र तिनीहरू परमेश्‍वरको घरका हितहरूको रक्षा गर्न असफल हुन्छन्। यस बीच, कतिपय साधारण दाजुभाइ-दिदीबहिनीहरूमा केही इन्साफको बोध हुन्छ, दुष्ट मानिसहरूलाई पत्ता लगाएपछि, खडा भएर तिनीहरूको खुलासा गर्ने साहस र विश्‍वास हुन्छ, र तिनीहरू दुष्ट मानिसहरूले तिनीहरूविरुद्ध प्रतिशोध साँध्नेछन् भनेर डर मान्दैनन्। तर, मण्डलीमा त्यस्ता व्यक्तिहरू अत्यन्तै थोरै हुन्छन्। तिमीहरूले यसभन्दा पहिले उल्लेख गरेको ५% त सतर्क अनुमान नभई बढाएर भनिएको हुन सक्छ। यस दृष्टिकोणबाट हेर्दा, प्रतिशोधप्रति प्रवृत्त हुने क्रूर स्वभाव भएका व्यक्तिहरूप्रति बहुसङ्ख्यकको मनोवृत्ति कस्तो हुन्छ? (धेरैजसो मानिसहरू आत्म-सुरक्षात्मक हुन्छन्।) तिनीहरूको पहिलो सोच भनेको परमेश्‍वरको घर र दाजुभाइ-दिदीबहिनीहरूका हितहरूको रक्षा गर्न कसरी खडा हुने र दुष्टहरूविरुद्ध कसरी लड्ने भन्ने कुरालाई ख्याल नगरी आफ्नै सुरक्षा गर्ने, र आत्म-सुरक्षामा मात्रै ध्यान दिने हुन्छ। यो आत्म-सुरक्षाले कस्तो समस्या इङ्गित गर्छ? (यस्ता मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन्।) एक हिसाबमा, यसले गहन रूपमा स्वार्थी मानवतालाई प्रतिविम्बित गर्छ, र अर्को हिसाबमा, यसले परमेश्‍वरमाथिको धेरैजसो मानिसहरूको आस्था अत्यन्तै कमजोर छ भन्ने देखाउँछ। तिनीहरूले “परमेश्‍वरले यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ; परमेश्‍वर हाम्रो आड हुनुहुन्छ” भनेर मौखिक दाबी गर्छन्, तर वास्तविकताको सामना गर्दा, तिनीहरूलाई परमेश्‍वरमा भर पर्न सकिँदैन र आफूमा नै निर्भर हुनुपर्छ भन्ने महसुस हुन्छ, र तिनीहरूले आफ्नो आत्म-सुरक्षालाई नै प्राथमिकता दिन्छन्, जुन तिनीहरूले सबैभन्दा उच्च बुद्धिका रूपमा हेर्ने कुरा हो। यसको निहितार्थ यो हो: “कसैले पनि मेरो सुरक्षा गर्न सक्दैन, परमेश्‍वरसमेत भरपर्दो हुनुहुन्न। परमेश्‍वर कहाँ हुनुहुन्छ? हामीले उहाँलाई देख्न सक्दैनौँ! त्यति मात्र नभएर, मलाई परमेश्‍वरले मेरो सुरक्षा गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने थाहा छैन। यदि उहाँले मेरो सुरक्षा गर्नुभएन भने के गर्ने?” मानिसहरूको आस्था अत्यन्तै दयनीय छ। तिनीहरूले निरन्तर “परमेश्‍वरले यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ; परमेश्‍वर हाम्रो आड हुनुहुन्छ” भनेर उद्घोष गर्छन्, तर जब अवस्थाहरू उत्पन्न हुन्छन्, तब तिनीहरूले आत्म-सुरक्षा मात्रै खोज्छन्, तिनीहरू शैतानविरुद्ध लड्नका लागि खडा हुन र आफ्नो गवाहीमा दह्रिलो रूपमा अडिग रहन सक्दैनन्, र तिनीहरूमा यति पनि आस्था हुँदैन। मानिसहरूको आस्था अत्यन्तै दयनीय छ; यो कुराले यसलाई पनि पूर्ण रूपमा खुलासा गरेको छ। तिनीहरूको कद त्यति सानो हुन्छ। प्रतिशोधप्रति प्रवृत्त ती दुष्ट मानिसहरूका सम्बन्धमा भन्नुपर्दा, यदि केही व्यक्तिहरूले तिनीहरूको खुलासा गर्न चाहन्छन् तर तिनीहरू एक्ल्याइएको र शक्तिहीन भएको महसुस गर्छन् र दुष्टहरूले दमन गर्नेछन् भन्ने डर मान्छन् भने, तिनीहरू धेरै अगुवा र कामदारहरू वा समझशक्ति भएका दाजुभाइ-दिदीबहिनीहरूसँग एकजुट हुनुपर्छ। तिनीहरू एकजुट भएपछि, तिनीहरूसँग विजय प्राप्त गर्ने पूर्ण आत्मविश्‍वास हुनेछ। त्यसपछि, तिनीहरूले त्यस्ता दुष्ट मानिसहरूका कार्य र व्यवहारहरूलाई खुलासा र चिरफार गर्न सक्छन्, जसले गर्दा धेरैजसो मानिसहरूले दुष्ट मानिसहरूको साँचो अनुहार खुट्ट्याउन र स्पष्ट रूपमा देख्न सक्छन्, ताकि सबै जना हृदय र मनमा एक भई दुष्ट मानिसहरूलाई संयुक्त रूपमा निकाल्न सक्षम होऊन्। यसभन्दा पहिले, तिमीहरूले जब दुष्ट व्यक्तिहरू देखा पर्छन्, तब परमेश्‍वरका चुनिएका मानिसहरूमा बीस जनामध्ये लगभग एक जनामा न्यायसङ्गत रूपमा बोल्‍नका लागि इन्साफको बोध हुन सक्छ, र तिनीहरूले त्यस्ता दुष्ट मानिसहरूलाई निकाल्नका लागि खडा हुने आँट गर्न सक्छन् भनेर भनेका थियौ। बीस जनामा एक त ज्यादै नै कम भयो; यदि कुनै मण्डलीमा दश जना मानिसहरू मात्रै छन् भने, तिनीहरूले कसरी दुष्ट व्यक्तिहरूलाई पखालेर फाल्छन्? तिनीहरूले त्यसो गर्न सक्दैनन्; ती दश जना मानिसहरू दुष्टहरूका नियन्त्रणमा हुन्छन्, र तिनीहरूले ती मानिसहरूबाट दुर्व्यवहार भोग्छन्, जुन अस्वीकार्य हुन्छ। दश जनामध्ये एक जना वा पाँच जनामध्ये एक जना मानिसमा समेत दुष्ट मानिसहरूविरुद्ध खडा भएर लड्ने साहस होस् भन्ने लक्ष्य राख्नु राम्रो हुनेछ! निरन्तर आफ्नै सुरक्षा गर्ने प्रयास गर्नाले शैतानको अगाडि गवाही गुम्ने मात्र होइन, अझै खराब कुरा त, परमेश्‍वरको अगाडि सत्यता प्राप्त गर्ने अवसर गुम्छ। एउटा दुष्ट व्यक्ति भएको मण्डलीमा, कम्तीमा पनि केही मानिसहरूलाई हानि हुनेछ; यदि दुई जना दुष्ट व्यक्तिहरू छन् भने, बहुसङ्ख्यकलाई हानि हुनेछ; अनि यदि कुनै ख्रीष्टविरोधीको हातमा शक्ति छ, र उसको मातहतमा धेरै जना मतियार र अनुचर छन् भने, मण्डलीमा रहेका परमेश्‍वरका चुनिएका सबै मानिसहरूलाई हानि हुनेछ। कुरा यही हो? (हो।) दुष्टहरूविरुद्ध खडा हुने एक जना व्यक्तिले एक एकाइ शक्तिको प्रतिनिधित्व गर्छ, जबकि दुष्टहरूविरुद्ध खडा हुने दश जना मानिसहरूले दश एकाइ शक्तिको प्रतिनिधित्व गर्छन्। त्यसोभए, के तिमीहरूलाई दुष्ट मानिसहरूले एक जना व्यक्तिको बढी डर मान्छन् कि दश जना मानिसहरूको बढी डर मान्छन् भन्ने लाग्छ? (दश जना मानिसको।) त्यसोभए, यदि बीस, तीस, वा पचास जना मानिसहरू सबै जना दुष्टहरूविरुद्ध खडा भए भने, अन्तिममा कसले जित्छ? (दाजुभाइ-दिदीबहिनीहरूले।) अन्तमा, दाजुभाइ-दिदीबहिनीहरूले जित्नेछन्। के त्यसले दुष्ट मानिसहरूलाई निकाल्ने कार्यलाई अझ सजिलो बनाउँदैन र? सङ्ख्यामा शक्ति हुन्छ—यो सरल अवधारणाबारे तिमीहरू सबै स्पष्ट हुनुपर्छ। त्यसकारण, दुष्ट मानिसहरूलाई खुट्ट्याउनु र निकाल्नु निश्चित अगुवा वा कामदारको मात्रै जिम्मेवारी नभई मण्डली भित्रका परमेश्‍वरका चुनिएका सबै मानिसहरूको सामूहिक जिम्मेवारी हो। दुष्ट मानिसहरूलाई निकाल्नका लागि अगुवा र कामदारहरूको प्रयास, साथै परमेश्‍वरका चुनिएका मानिसहरूको सहकार्य भयो भने, सबैले राम्रा दिनहरू आनन्दले जिउन सक्छन्। यदि दुष्ट मानिसहरूलाई निकालिएन र तिनीहरूले पश्चात्ताप गर्छन् भन्‍ने आशामा तिनीहरूलाई मण्डलीमै छोडियो, तर छ महिना वा एक वर्षपछि कुनै सुधार देखिएन, र तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई असहनीय रूपमा बाधा दिइरहे भने, यो दुष्टताप्रति कृपा देखाउनुको परिणाम हो। दुष्ट मानिसहरूलाई तानासाही व्यवहार गर्न र मण्डलीलाई नियन्त्रण गर्न दिनु भनेको आफूलाई दुष्टहरूका हातमा सुम्पनु, साथै दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूका हातमा सुम्पनु, र तिनीहरूलाई परमेश्‍वरका चुनिएका मानिसहरूलाई स्वतन्त्र रूपमा नियन्त्रण गर्न र गम्भीर रूपमा हानि गर्न दिनु सरह हो। के दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले शक्ति हातमा लिएको वातावरणमा सत्यता बुझ्न र प्राप्त गर्न सजिलो हुन्छ? (हुँदैन।) समय बहुमूल्य छ। दुष्ट मानिसहरूलाई जति सक्दो चाँडो निकालेर, तैँले जति सक्दो चाँडो शान्ति पुनर्स्थापित गर्न र उचित मण्डली जीवनको आनन्द लिन, र अझ धेरै सत्यता बुझ्न सक्छस्। यदि तैँले दुष्ट मानिसहरूलाई निकालिनस् भने, तिनीहरूले बौलाहा कुकुरले जस्तै मानिसहरूका बीचमा बाधा र विनाश निम्त्याउनेछन्, र जे इच्छा लाग्यो त्यही बोल्नेछन् र गर्नेछन्। यसले तँलाई सत्यता प्राप्त गर्ने समयबाट वञ्चित गर्छ, जसको अर्थ तेरो समय र कर्तव्य निर्वाहलाई दुष्टहरूले नियन्त्रण गर्छन्। यो राम्रो कुरा हो कि खराब कुरा हो? (खराब कुरा।) सिद्धान्तगत रूपमा, यो खराब कुरा हो भन्ने सबैलाई थाहा हुन्छ, तर मण्डलीमा दुष्ट मानिसहरूले बाधा दिइरहेको अवस्थाको सामना गर्नुपर्दा, तिनीहरूले यसरी सोच्नै छाड्छन्, र दुष्ट मानिसहरूको षड्यन्त्रमा वा तिनीहरूको गम्भीर हानिमा नपर्नमा मात्रै ध्यान दिन्छन्। यदि कुनै मण्डलीका परमेश्‍वरका चुनिएका सबै मानिसहरूले यसरी दुष्ट मानिसहरूको डर मान्छन् भने, मण्डली सजिलै दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूको नियन्त्रणमा पर्नेछ, र परमेश्‍वरका चुनिएका मानिसहरू पनि तिनीहरूको नियन्त्रणमा पर्नेछन्। के त्यसपछि परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिन सक्नुहुन्छ? त्यो भन्न गाह्रो छ। यदि कुनै मण्डलीमा सत्यता बुझ्ने र परमेश्‍वरको गवाही दिन र उहाँको सेवा गर्नमा एउटै हृदय र मन भएका दुई-तीन जना मानिस छैनन् भने, यो आशाहीन मण्डली हो, र त्यो एउटा दुःखद अवस्था हो।

प्रतिशोधप्रति प्रवृत्त हुनु दुष्ट आचरणको प्रकटीकरण हो, र यो क्रूर स्वभावले पैदा गर्ने व्यवहार र प्रकटीकरणहरूमध्येको एक हो। त्यस्ता व्यक्तिहरूले यो निश्चित व्यवहार प्रदर्शन गर्दा, तिनीहरूलाई दुष्ट मानिसहरू भनेर चित्रण गर्नुपर्छ। अवश्य नै, कतिपय मानिसहरू तुच्छ भएकाले, तिनीहरूमा अन्तर्ज्ञानको कमी भएकाले, वा तिनीहरू सत्यता नबुझ्ने नयाँ विश्‍वासी भएकाले, तिनीहरू सधैँ अरूसँग झगडा गर्थे, आफूलाई प्रतिकूल भएका वा हानि पुर्‍याएका, वा कुनै बेला निश्चित व्यक्तिहरूप्रति प्रतिशोध साँध्नका लागि केही उपायहरू प्रयोग गरेका मानिसहरूप्रति घृणा पाल्थे—तर प्रतिशोधप्रति प्रवृत्त मानिसहरू दुष्ट मानिस हुन् र तिनीहरूलाई मण्डलीबाट निकालिनुपर्छ भन्ने सुनेपछि, तिनीहरूले आफ्नो सोच परिवर्तन गर्छन्, गोप्य रूपमा आफूलाई भित्री रूपमा बदल्छन्, र आफ्नो व्यवहारमा केही सन्तुलन र संयमता देखाउँछन्। ल भन त, के त्यस्ता मानिसहरूलाई दुष्टको दर्जामा परेको मानिन्छ? (मानिँदैन।) यसलाई के कुराले सङ्केत गर्छ? (आफूलाई परिवर्तन गर्ने तिनीहरूको क्षमताले।) आफूलाई परिवर्तन गर्ने तिनीहरूको क्षमताले के कुरालाई देखाउँछ? यसले तिनीहरूले सत्यता स्वीकार गर्न सक्छन् भन्ने कुरालाई देखाउँछ; यो राम्रो कुरा हो। तिनीहरूले सत्यता स्वीकार गर्न सक्छन् भनेर हामी किन भन्छौँ? किनभने, यस विषयमा सत्यता सुनेपछि र प्रतिशोध साँध्नु भनेको दुष्ट मानिसहरूको प्रकटीकरण हो भनेर बुझेपछि, तिनीहरूले आफ्नै भ्रष्ट स्थितिबारे चिन्तन गर्छन्, आफ्नो भ्रष्ट सारलाई स्विकार्छन्, त्यसपछि परमेश्‍वरसामु पश्चात्ताप गर्छन्, परमेश्‍वरका वचनहरू अनुसार कार्य गर्छन्, र आफ्नो व्यवहारलाई नियन्त्रण गर्छन्। यो सत्यतालाई स्विकार्नुको एउटा प्रकटीकरण हो। हामीले यहाँ कुरा गरेका दुष्ट मानिसहरूले सत्यतालाई स्विकार्दैनन्। तैँले तिनीहरूलाई सत्यतामा जति स्पष्ट सङ्गति दिए पनि, तिनीहरूले यसलाई स्वीकार गर्दैनन्; तिनीहरू हठी नै रहिरहन्छन्, र कसैको कुरा सुन्न मान्दैनन्। तैँले तिनीहरूलाई “तपाईँका कार्यहरूले गर्दा तपाईँलाई निकालिनेछ” भनेर चेतावनी दिइस् भने पनि, तिनीहरूले वास्ता गर्दैनन् र तिनीहरू आफ्नै मार्गमा हिँडिरहन्छन्, तिनीहरूलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। जब तैँले तिनीहरूको खुलासा गर्छस्, तब तिनीहरूले आफ्ना गल्तीहरू स्वीकार गर्दैनन्। जब तैँले तिनीहरूलाई तिनीहरू प्रतिशोधप्रति प्रवृत्त व्यक्ति हुन्, तिनीहरू दुष्ट हुन्, र तिनीहरूलाई निकाल्नुपर्छ भनेर भन्छस्, तब पनि तिनीहरूले आफ्नो दुष्कर्मलाई त्याग्नेछैनन् र अवश्य नै बाटो बदल्नेछैनन्। तिनीहरू कस्ता प्रकारका मानिस हुन्? तिनीहरू सत्यताप्रति वितृष्ण हुने मानिस हुन्। तिनीहरूले सत्यतालाई पटक्कै स्वीकार गर्दैनन्—तिनीहरूको स्वभाव सारलाई जसरी चित्रण गरिए पनि, तिनीहरूका दुष्ट कार्यहरूलाई जसरी खुलासा गरिए पनि, वा तिनीहरूलाई जसरी तह लगाइए पनि, तिनीहरू जस्ताका तस्तै रहन्छन्, तिनीहरूले बिलकुलै आफ्नो शिर झुकाउँदैनन् र आफ्ना गल्तीहरूलाई स्वीकार गर्दैनन्, र अवश्य नै यस कुरालाई छाड्दैनन्। यो आफ्नो बाटो बदल्न नसक्नु हो। आफ्नो बाटो नबदल्नुको सार के हो? यो सत्यता स्वीकार गर्न नमान्नु हो। यदि तिनीहरूले सत्यताको एउटा पनि सही अभिव्यक्ति वा एउटा पक्ष स्वीकार गर्न सक्ने भए, तिनीहरू पछाडि नफर्की गलत मार्गमा अघि बढिरहनेथिएनन्। तिनीहरूले आफ्नो मार्ग परिवर्तन गर्नेथिए, आफ्ना गल्तीहरू स्वीकार गर्नेथिए, र तिनीहरूले आफू पहिले लागिपरेका कुरालाई केही हदसम्म त्याग्नेथिए। तिनीहरू दुष्ट मानिस भएकाले, क्रूर स्वभाव भएका दुष्ट व्यक्ति भएकाले, प्रतिशोध साँध्ने तिनीहरूको व्यवहार यस्तो स्वभावबाट पैदा भएपछि, तिनीहरूले परमेश्‍वरका वचनहरूले खुलासा गरेको कुरा, काटछाँट गरिने कुरा, वा यस्तो चित्रणलाई स्वीकार गर्न नमान्ने मात्र होइन, यसको विपरीत तिनीहरू अन्त्यसम्मै आफ्नो मार्गमा लागिरहन जिद कस्छन्। तिनीहरू चरित्रचित्रण वा खुलासा गरिनुलाई स्वीकार गर्ने योजनामा हुँदैनन्, न त तिनीहरूले आफ्नो भ्रष्टता स्वीकार गर्ने अभिप्राय नै राख्छन्। अवश्य नै, आफ्नो भ्रष्टता स्वीकार नगरी, तिनीहरू प्रतिशोध साँध्ने आफ्नो व्यवहार र कार्यहरू त्याग्ने योजनामा हुँदैनन्, न त तिनीहरूको आत्म-आचरणका सिद्धान्तहरू त्याग्ने योजनामा नै हुन्छन्। तिनीहरू सरासर र पूर्ण रूपमा दुष्ट हुन्छन्। के त्यस्ता दुष्ट मानिसहरू दियाबलस होइनन् र? (हुन्।) तिनीहरू पूर्ण रूपमा शैतानको सार भएका दियाबलस हुन्। तैँले तिनीहरूलाई परिवर्तन गर्न सक्दैनस्। तिनीहरूलाई किन परिवर्तन गर्न सकिँदैन? यसको मूल कारण तिनीहरूले सत्यता स्वीकार गर्न पटक्‍कै नमान्‍नु हो। तिनीहरूले थोरै सत्यता, कुनै पनि सही अभिव्यक्ति, सकारात्मक शब्द, वा सकारात्मक कुरालाई समेत इन्कार गर्छन्। तिनीहरूले मौखिक रूपमा परमेश्‍वरका वचनहरूलाई सत्यता र सकारात्मक कुरा माने पनि, तिनीहरूको हृदयले सत्यतालाई पटक्कै स्वीकार गर्दैन, न त तिनीहरू आफूलाई आचरणमा ढाल्ने र काम गर्ने तिनीहरूको तरिकालाई परिवर्तन गर्नका लागि परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्ने योजनामा नै हुन्छन्। कहिलेकाहीँ, तिनीहरूले आफ्नो कार्य पूर्ण रूपमा शैतानको दर्शनमा आधारित छ भनेर मौखिक रूपमा स्वीकार गर्लान्, तर तिनीहरूले अझै पनि सत्यतालाई पटक्कै स्वीकार गर्नेछैनन्। तिनीहरूसँग सत्यता सङ्गति गर्ने जोकोहीलाई तिनीहरूले चरम घिन मान्छन्, र घृणा र आलोचना समेत गर्छन्, साथै तिनीहरूलाई खुलासा गर्ने र खुट्ट्याउने जोकोही तिनीहरूको घृणा र प्रतिशोधको निसाना बन्छन्, चाहे त्यो जोसुकै होस्—तिनीहरूले आफ्नै आमाबुबालाई समेत बाँकी राख्दैनन्। के तिनीहरू छुटकारा पाउन नसक्‍ने मानिस होइनन् र? (हुन्।) तिनीहरूले छुटकारा पाउन सक्दैनन्। के तिनीहरूलाई निकाल्नु दुःखको कुरा हो? (होइन।) त्यस्ता व्यक्तिहरूलाई अनिवार्य रूपमा निकाल्नुपर्छ वा निष्कासित गर्नुपर्छ। प्रतिशोधप्रति प्रवृत्त मानिसहरूका सबै प्रकटीकरणहरू मूलतः यिनै हुन्; तिनीहरूका विशेषता, स्वभाव, काम गर्ने तरिका र विधिहरू र तिनीहरूको सोचाइका प्रक्रियाहरू, साथै सत्यताप्रति तिनीहरूको मनोवृत्ति यिनै हुन्—आधारभूत रूपमा कुरा यही हो। मण्डली र दाजुभाइ-दिदीबहिनीहरूमा तिनीहरूले पार्ने प्रभावका बारेमा पहिल्यै छलफल गरिसकिएको छ, त्यसकारण यो फेरि सङ्गति गर्नु आवश्यक छैन। चौथो प्रकारका मानिसहरू—जो प्रतिशोधप्रति प्रवृत्त छन् तिनीहरूका प्रकटीकरणहरूका बारेमा गरिएको सङ्गति यहीँ समाप्त हुन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्