अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२५) खण्ड एक

विषयवस्तु चौध: सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै खुट्ट्याउने, त्यसपछि निकाला वा निष्कासित गर्ने (भाग चार)

विभिन्न प्रकारका दुष्ट मानिसहरूलाई खुट्ट्याउने मानक र आधारहरू

आज, हामी अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारी: “सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै खुट्ट्याउने, त्यसपछि निकाला वा निष्कासित गर्ने” बारे सङ्गतिलाई जारी राख्छौँ। अघिल्ला केही पटक, हामीले यो काम गर्दा अगुवा र कामदारहरूले खुट्ट्याउनुपर्ने विभिन्‍न पक्षहरूका बारेमा, साथै तिनीहरूले बुझ्नुपर्ने मुख्य सत्यताहरूका बारेमा सङ्गति गरेका थियौँ; अर्थात्, हामीले सबै किसिमका दुष्ट मानिसहरूलाई कसरी खुट्ट्याउने भन्‍ने बारेमा सङ्गति गरेका थियौँ। सबै प्रकारका दुष्ट मानिसहरूलाई कसरी परिभाषित गरिन्छ? तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने भेषमा परमेश्‍वरको घरमा घुसपैठ गर्ने मानिसहरू हुन्, तैपनि तिनीहरूले सत्यतालाई स्वीकार गर्दैनन् र मण्डलीको काममा बाधा पनि दिन्छन्; त्यस्ता सबै मानिसहरू दुष्ट मानिसका वर्गमा पर्छन्। मण्डलीले निकाला वा निष्कासित गर्नुपर्ने मानिसहरू; अर्थात्, मण्डलीभित्र अस्तित्वमा रहने अनुमति नभएका मानिसहरू तिनै हुन्। हामी तीन वटा मुख्य मापदण्डहरूमार्फत सबै किसिमका दुष्ट मानिसहरूको भिन्नता छुट्याउँछौँ र चिरफार गर्छौँ। यी तीन वटा मापदण्ड के-के हुन्? पहिलो त व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य हो। दोस्रो भनेको व्यक्तिको मानवता—मण्डलीले निकाल्नुपर्ने मानिसहरूमा त्यो व्यक्ति पर्छ कि पर्दैन भनेर खुट्ट्याउन र स्पष्ट रूपमा देख्‍नका लागि उसको मानवतालाई चिरफार गर्नु हो। तेस्रो मापदण्ड के हो? (आफ्नो कर्तव्यप्रति व्यक्तिको मनोवृत्ति।) आफ्नो कर्तव्यप्रति व्यक्तिको मनोवृत्ति तेस्रो मापदण्ड हो। पहिलो मापदण्डका बारेमा पहिले सङ्गति गरिएको थियो। दोस्रो मापदण्ड—व्यक्तिको मानवता—को हकमा भन्नुपर्दा, दुई वटा बुँदाहरूका बारेमा सङ्गति गरिएको थियो। पहिलो बुँदा के थियो? (तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउनु।) अनि दोस्रो? (फाइदा उठाउन मन पराउनु।) यी दुई बुँदाहरूको विषयवस्तुबाट हेर्दा, यी कुराहरूलाई दुष्ट मानिसहरूका प्रकटीकरणहरू ठान्नु अपर्याप्त देखिन्छ होला, तर मैले यसभन्दा पहिले सङ्गति गरेका विस्तृत प्रकटीकरणहरूका आधारमा भन्नुपर्दा, यी दुई प्रकारका मानिसहरूले साँचो पश्चात्ताप नगरी वर्षौँदेखि परमेश्‍वरमा विश्‍वास गरेका हुन्छन्; तिनीहरूका विभिन्‍न प्रकटीकरणहरूले मण्डली जीवनमा, परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा, र परमेश्‍वरका चुनिएका मानिसहरूबीचका सम्बन्धहरूमा बाधा र विनाश सिर्जना गरिसकेका हुन्छन्। यी दुई प्रकारका मानिसहरूका प्रकटीकरणहरू अनुसार र तिनीहरूको प्रकृति सारका आधारमा तिनीहरू दुष्ट मानिसको वर्गमा पर्नुपर्छ। मण्डली अगुवाहरू र परमेश्‍वरका चुनिएका मानिसहरूले तिनीहरूलाई खुट्ट्याउनुपर्छ र चित्रण गर्नुपर्छ, र तिनीहरूलाई समयमा नै निकाल्नुपर्छ। के यो उचित हो? (हो।) यो पूर्ण रूपमा उचित हो। मण्डलीका यी दुई प्रकारका मानिसहरूको व्यवहारले अत्यन्तै नकारात्मक असर पार्छ; तिनीहरूलाई सत्यतामा कुनै रुचि हुँदैन, र तिनीहरू परमेश्‍वरको काममा बिलकुलै समर्पित हुँदैनन्। दाजुभाइ-दिदीबहिनीहरूका बीचमा, तिनीहरूले जे जिउँछन् त्यो गैरविश्‍वासीहरूको भन्दा कुनै फरक देखिँदैन; तिनीहरूले प्रायजसो झूट बोल्छन् र अरूलाई ठग्छन्, झाराटारुवा तरिकाले र अलिकति पनि जिम्मेवारीबोधविना आफ्नो कर्तव्य पूरा गर्छन्, र बारम्बार चेतावनी दिइँदा पनि तिनीहरू परिवर्तन हुँदैनन्। तिनीहरूले मण्डली जीवनमा असर गर्ने मात्र होइन, मण्डलीको काममा पनि गम्भीर रूपमा बाधा दिन्छन्। निस्सन्देह, तिनीहरू मण्डलीले निकाला वा निष्कासित गर्नुपर्ने मानिसहरूमा पर्छन्, र तिनीहरूलाई दुष्ट मानिस भनेर चित्रण गरेर त्यस्ता मानिसहरूको सूचीमा राख्‍नु पूर्ण रूपमा उचित हुन्छ—त्यसो गर्नु पटक्‍कै पनि अतिशयोक्ति होइन। पहिलो प्रकारका, अर्थात् तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउने मानिसहरूका सम्बन्धमा भन्नुपर्दा, तिनीहरूको समस्या भनेको खासै उचित नभएका कुराहरू भन्‍ने, वा अरूसँगको कुराकानीमा अवरोधहरू हुने, आदि जस्ता मात्रै हुँदैन; बरु, तिनीहरूको स्वभावमा नै समस्या हुन्छ। अझ गहिराइमा, तिनीहरूको स्वभावको समस्या तिनीहरूको प्रकृति सारको समस्या हो। अलि सतही रूपमा, यो तिनीहरूको मानवताको समस्या हो; अर्थात्, तिनीहरूको मानवता अत्यन्तै नीच र घृणित हुन्छ, जसले गर्दा तिनीहरूले अरूसँग सामान्य रूपमा अन्तरक्रिया गर्न असम्भव हुन्छ। तिनीहरूमा अरूलाई भरणपोषण गर्ने, सहयोग गर्ने, वा प्रेम गर्ने जस्ता सकारात्मक प्रकटीकरणहरूको कमी हुने मात्र नभई, तिनीहरूका कार्य र व्यवहारले बाधा, विनाश, र विध्वंस ल्याउने काम मात्रै गर्छन्। यदि कतिपय मानिसहरूको तथ्य र झूटहरूलाई उल्ट्याउने बानी नै छ, र तिनीहरूले खुलेआम होस् वा गोप्य रूपमा होस्, सधैँ यसो गरिरहेका हुन्छन्, जसले गर्दा मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूमा गम्भीर रूपमा नकारात्मक असर पर्छ भने, तिनीहरू मण्डलीले निकाल्नुपर्ने मानिसहरूमा पर्छन्। अर्को प्रकारमा फाइदा उठाउन मन पराउने मानिसहरू पर्छन्। अवस्था जस्तोसुकै भए पनि, तिनीहरू सधैँ फाइदा प्राप्त गर्न खोज्छन्, र तिनीहरूको नजर सधैँ आफ्नै हितहरूमा हुन्छ। तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्नमा ध्यान दिँदैनन्, न त आफ्नो कर्तव्य राम्ररी पूरा गर्नमा वा आफ्नै जिम्मेवारीहरू पूरा गर्नमा नै ध्यान दिन्छन्। त्यसभन्दा बढी, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूसँग सामान्य रूपमा अन्तरक्रिया गर्ने, आफ्नै कमीकमजोरीहरूलाई पूर्ति गर्नका लागि अरूका सबल पक्षहरूबाट सिक्ने र सामान्य सम्बन्धहरू निर्माण गर्ने, वा सामान्य मण्डली जीवन जिउने कार्यमा ध्यान दिँदैनन्। तिनीहरू यीमध्ये कुनै कुरामा ध्यान दिँदैनन्—तिनीहरू फाइदा उठाउनका लागि मात्रै मण्डली र दाजुभाइ-दिदीबहिनीहरूका बीचमा आउँछन्। तिनीहरू मण्डलीमा उपस्थित हुन्जेल, र दाजुभाइ-दिदीबहिनीहरू तिनीहरूसँग सम्पर्कमा रहुन्जेल, दाजुभाइ-दिदीबहिनीहरूलाई भित्री रूपमा असहज महसुस हुनेछ। दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूका कार्य र व्यवहारप्रति विकर्षण महसुस गर्ने मात्र नभई मुख्य रूपमा, तिनीहरूलाई प्रायजसो आफ्नो हृदयमा धेरै हदसम्‍म हस्तक्षेप भएको र बन्धनमा पारिएको महसुस हुन्छ। “धेरै हदसम्‍म” ले केलाई जनाउँछ? यसको अर्थ वास्तविक जीवनका परिस्थितिहरूमा, अविश्‍वासी वा दुष्ट मानिसहरूको दुर्व्यवहारको सामना गर्नुपर्दा, कतिपय व्यक्तिहरू आफ्ना भावनाहरूका बन्धनमा पर्छन् र त्यसबाट मुक्त हुन सक्दैनन्, जबकि अरूलाई यो कुरा मन नपरे पनि, तिनीहरूले खुलेर बोल्ने आँट गर्दैनन् बरु सधैँ भित्री रूपमा बन्धनमा परेको महसुस गर्छन् र तिनीहरूलाई शान्ति हुँदैन। के यो दाजुभाइ-दिदीबहिनीहरूका लागि गम्भीर बाधा होइन र? (हो।) त्यसकारण, परमेश्‍वरका चुनिएका मानिसहरूले यी दुई प्रकारका व्यक्तिहरूलाई खुट्ट्याउनुपर्छ; दुष्ट मानिसहरू भनेर वर्गीकरण गरिएका सबै मानिसहरू मण्डलीले निकाल्नुपर्ने मानिसहरूमा पर्छन्। त्यस्ता व्यक्तिहरूलाई सम्हाल्ने सम्बन्धी निश्‍चित सिद्धान्तहरूका बारेमा पछिल्लो भेलामा सङ्गति गरिसकिएको छ, त्यसकारण अहिले तिनका बारेमा फेरि विस्तृत रूपमा सङ्गति गरिनेछैन। सारांशमा भन्दा, माथि सङ्गति गरिएका दुई प्रकारका मानिसहरूले दाजुभाइ-दिदीबहिनीहरूको मण्डली जीवनमा मात्रै होइन, तिनीहरूले व्यवस्थित कर्तव्य निर्वाहमा पनि बाधाहरू निम्त्याएका छन्; तिनीहरूमध्ये कतिपयको व्यवहारले जग नभएका कतिपय नयाँ विश्‍वासीहरूलाई ठेस पुर्‍याउने सम्भावनासमेत हुन्छ। त्यसकारण, तिनीहरूले कार्य गर्ने तरिका र उपायहरू, साथै तिनीहरूको मानवताका विभिन्‍न प्रकटीकरणहरू र यी प्रकटीकरणहरूले ल्याउने प्रतिकूल परिणामहरूका आधारमा, यी दुई प्रकारका मानिसहरू निकालिनुपर्ने मानिसहरूमा पर्छन्, र तिनीहरूलाई दुष्ट मानिसहरूको सूचीमा राख्‍नु अतिशयोक्ति हुँदै हुँदैन। तथ्य र झूटहरूलाई उल्ट्याउन मन पराउने र फाइदा उठाउन मन पराउने मानिसहरूको व्यवहार मानव धारणाहरूमा परिभाषित गरिने दुष्ट मानिसहरूको जस्तो अनुचित रूपमा कच्चा वा क्रूर नदेखिए पनि—तिनीहरूमा त्यस्ता स्पष्ट प्रकटीकरणहरू नभए पनि—तिनीहरूको व्यवहार र तिनीहरूको मानवताका प्रतिकूल परिणामहरूले गर्दा तिनीहरूलाई मण्डलीबाट निकाल्नु आवश्यक पर्दछ। दुई प्रकारका मानिसहरूका प्रकटीकरणहरू, र तिनलाई सम्हाल्ने सिद्धान्तहरू यिनै थिए, जुन कुरामा पछिल्लो पटक सङ्गति गरिएको थियो।

आ. व्यक्तिको मानवताका आधारमा

ग. लम्पट र असंयमित हुनु

आज, हामी तेस्रो प्रकारका मानिसहरूबाट सुरु गरेर अरू धेरै प्रकारका मानिसहरूको मानवताका प्रकटीकरणहरूबारे सङ्गति गर्न जारी राख्छौँ। यी मानिसहरूको मानवताको प्राथमिक विशेषता के हो? यो लम्पटपन र संयमताको कमी हो। शाब्दिक दृष्टिकोणबाट लम्पटपन र संयमताको कमीलाई बुझ्न निकै सजिलो छ; यसको अर्थ यी व्यक्तिहरूको व्यवहार, आनीबानी, र बोलीवचन अनुचित देखिन्छ भन्‍ने हुन्छ—तिनीहरू इज्जतदार र सभ्य व्यक्ति होइनन्। यस्ता मानिसहरूका प्रकटीकरणहरूबारे यो एउटा आधारभूत बुझाइ हो। मण्डलीमा, परमेश्‍वरमा विश्‍वास गर्नेसम्बन्धी कतिपय मानिसहरूको दृष्टिकोण र तिनीहरूले पछ्याउने तरिकाहरूमा विचलन वा गल्तीहरू हुनु अपरिहार्य छ। तिनीहरूको बोलीवचन र आनीबानीमा कुनै भक्ति हुँदैन, तिनीहरूको जीवनका प्रकटीकरण र तिनीहरूको मानवताको गुणस्तर सन्तहरूको शिष्टता अनुरूप हुँदै हुँदैन, र तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदयको पूर्ण कमी हुन्छ। समग्रमा, तिनीहरूको बोलीवचन, व्यवहार, र आनीबानीलाई लम्पट र असंयमित भनेर मात्रै व्याख्या गर्न सकिन्छ। अवश्य नै, निश्‍चित प्रकटीकरणहरू धेरै छन्, ती सबैले देख्‍न सक्छन्, र तिनलाई खुट्ट्याउन सजिलो छ। यी व्यक्तिहरू अविश्‍वासी र गैरविश्‍वासीहरू जस्तै हुन्छन्; खास गरी, तिनीहरूले अत्यन्तै लम्पट व्यवहार देखाउँछन्। भेलाहरूमा, तिनीहरूको पहिरन र साजसज्जा अत्यन्तै लापरवाह हुन्छ। कतिपयले आफ्नो घरबाट निस्कनुभन्दा पहिले आफ्‍नो सरसफाइ गर्ने झन्झट गर्दैनन्, तिनीहरू कपाल नकोरी र मुख नधोई जिङ्ग्रिङ्ग भएर भेलाहरूमा आउँछन्। कतिपयले झुत्रेझाम्रे कपडा लगाउँछन्, तिनीहरू थोत्रा चप्पल वा पाइजा लगाएरै भेलाहरूमा आउँछन्। अरू चाहिँ व्यक्तिगत सरसफाइलाई ध्यान नदिई लथालिङ्ग जीवन जिउँछन्, र फोहोर लुगा लगाएरै भेलामा आउँदा पनि तिनीहरूलाई मतलब हुँदैन। यी सबै मानिसहरूले भेलाहरूलाई अत्यन्तै सामान्य रूपमा लिन्छन्, मानौँ तिनीहरू छिमेकीको घरमा गएका हुन्, र तिनीहरूले यसलाई गम्भीरतापूर्वक लिँदैनन्। भेलाहरूमा, तिनीहरूको बोलीवचन र व्यवहार पनि असंयमित हुन्छ, र तिनीहरू कुनै सङ्कोच नमानी चर्को स्वरमा बोल्छन्, खुसी हुँदा उत्साहित बन्ने र उन्मत्त इसारा गर्ने, र चरम लिप्तता देखाउने समेत गर्छन्। जति मानिसहरू उपस्थित भए पनि, तिनीहरू हाँस्छन्, ठट्टा गर्छन्, र हात हल्‍लाउँदै कुरा गर्छन्, उपरखुट्टी लगाउँछन्, र आफू अरू सबैभन्दा माथि भए जस्तो व्यवहार गर्छन्; तिनीहरू निकै भड्किला र घमण्डीसमेत हुन्छन्, अरूसँग कुरा गर्दा कहिल्यै सिधै कसैको आँखामा हेर्दैनन्, बरु तिनीहरूको नजर यताउता डुलिरहन्छ। के यो लम्पट होइन र? (हो।) यो अत्यन्तै लिप्त हुनु र एकरत्ती संयमता नहुनु हो। अवश्य नै, गैरविश्‍वासीहरूले त्यस्ता व्यक्तिहरूको बोलीवचन र व्यवहारलाई राम्रो पालनपोषणको अभावसँग जोड्न सक्छन्, तर हामी यसलाई फरक रूपमा बुझ्छौँ; यो राम्रो पालनपोषणको अभावको कुरा मात्रै होइन। वयस्क भएको नाताले, व्यक्तिले अरूसँग बोल्ने, व्यवहार गर्ने, र अन्तरक्रिया गर्ने सही र उचित तरिकाहरू प्रस्ट रूपमा जान्‍नुपर्छ—विशेष गरी, व्यक्तिले सन्तहरूको शिष्टता अनुरूप हुने, दाजुभाइ-दिदीबहिनीहरूलाई शिक्षाप्रद हुने, र सामान्य मानवता हुने तरिकाले—कसैले भनिरहनु नपरी त्यसो गर्नुपर्छ। विशेष गरी मण्डली जीवन जिउने क्रममा, दाजुभाइ-दिदीबहिनीहरूको उपस्थितिमा, ढोँगको आवश्यकता नहुने भए पनि, व्यक्ति संयमित भने हुनैपर्छ। त्यसोभए, यो संयमताको मापक र आवश्यक मानक के हो? यो सन्तहरूको शिष्टता अनुरूप हुनु हो। व्यक्तिको लुगा र वस्त्र इज्जतदार र सभ्य हुनुपर्छ, र अनौठो लुगा लगाउनु हुँदैन। परमेश्‍वरको उपस्थितिमा, व्यक्ति भक्त हुनुपर्छ, र उसले उत्ताउलो हाउभाउ देखाउनु हुँदैन; अवश्य नै, अरू मानिसहरूको अगाडि तिनीहरूले भक्ति र मानव रूपलाई पनि कायम राख्‍नुपर्छ, ताकि तिनीहरूले आफूलाई अरूका लागि उचित, फाइदाजनक, र आत्मिक वृद्धि हुने तरिकाले प्रस्तुत गर्न सकून्। परमेश्‍वरलाई यही कुराले सन्तुष्ट पार्छ। जो लम्पट र असंयमित छन् तिनीहरूले मानवताका सबैभन्दा आधारभूत पक्षहरू जिउने कार्यलाई पटक्‍कै ध्यान दिँदैनन्, र तिनीहरूको उदासीनताको एउटा स्पष्ट कारण भनेको भक्त व्यक्ति वा आदर पाउने निष्ठा र गरिमा भएको व्यक्ति कसरी बन्‍ने भन्‍नेबारे तिनीहरूको पूर्ण अज्ञानता हो; तिनीहरूले यी कुराहरू बुझ्दै बुझ्दैनन्। त्यसकारण, भेलाहरूमा सफा, इज्जतदार, र सभ्य लुगा लगाउने, अनौठा लुगा नलगाउने बारेमा मण्डलीले बारम्बार प्रावधान र मागहरू तोके पनि, तिनीहरूले यी नियमहरूलाई गम्भीरतापूर्वक नलिन जारी राख्छन्, र प्रायजसो चप्‍पल लगाएर, जिङ्ग्रिङ्ग भएर, वा पाइजामा लगाएरै आइपुग्छन्। यो लम्पट र असंयमित मानिसहरूको एउटा प्रकटीकरण हो।

जो लम्पट र असंयमित हुन्छन् तिनीहरूले अर्को व्यवहार पनि प्रकट गर्छन्, जुन भेलाहरूमा फेसनेबल लुगा लगाउनु र गाढा र चहकिलो मेकअप घस्नु हो। हरेक भेलाभन्दा दुई दिन पहिले नै तिनीहरू के-कस्तो मेकअप गर्ने, कस्तो गहना लगाउने, कपाल कस्तो बनाउने, कुन लुगा लगाउने, कस्तो झोला बोक्‍ने, र कुन जुत्ता लगाउने भनेर मनन गर्दै सिँगारिन र सजिन थाल्छन्। कतिपय महिलाहरूले त आकर्षक लिपस्टिक र गाजल लगाउने, नाकको आकृति मिलाउने समेत गर्छन्, र झनै चरम अवस्थामा, कतिपयले काँध र ढाड देखिनेगरी अत्यन्तै कामुक पहिरन लगाउँछन् र सजिसजाउ गर्छन्, र अनौठा लुगा लगाउँछन्। भेलाहरूमा, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको सङ्गति ध्यान दिएर सुन्दैनन्, न त प्रार्थना नै गर्छन्; तिनीहरूले सङ्गतिमा सहभागिता जनाउने वा आफ्नो व्यक्तिगत बुझाइ र अनुभवात्मक गवाहीहरू बाँड्ने त झनै गर्दैनन्। बरु, तिनीहरूले आफूलाई अरू सबैसँग तुलना गर्छन्, आफूभन्दा राम्रो लुगा लगाउने को छ वा नराम्रो लुगा लगाउने को छ, कसले विशेष रूपमा प्रचलित ब्रान्डका लुगाहरू लगाइरहेको छ, कसले सडक बजारको सस्तो लुगा लगाइरहेको छ, कसैको चुराको मूल्य कति पर्छ, इत्यादि कुरामा चासो राख्छन्; तिनीहरूले यी कुराहरूमा मात्रै ध्यान दिन्छन्, र प्रायजसो खुलेआम रूपमै यस्ता टिप्पणी गर्छन्। यी व्यक्तिहरूको पहिरन, साथै बोलीवचन, व्यवहार, र आनीबानीबाट के कुरा स्पष्ट हुन्छ भने, मण्डली जीवनमा तिनीहरूको सहभागिता र दाजुभाइ-दिदीबहिनीहरूसँगको तिनीहरूको अन्तरक्रियाको उद्देश्य सत्यता बुझ्ने हुँदैन, र त्यसको उद्देश्य स्वभाव परिवर्तन हासिल गर्न जीवन प्रवेश पछ्याउने त झनै हुँदैन; बरु, तिनीहरूले भेलाहरूको समयलाई पैसा र भौतिक जीवनबाट आफूले लिएको आनन्दबारे देखावटी गर्न प्रयोग गर्छन्। कतिपय मानिसहरू धाक देखाउन नाम चलेका ब्रान्डका लुगा लगाएर भेला स्थलमा आउँछन्, दाजुभाइ-दिदीबहिनीहरूमाझ फेसन र सामाजिक प्रचलनहरूप्रतिका आफ्ना चाहनाहरूमा पूर्ण रूपमा लिप्त हुन्छन्, अरूलाई यी प्रचलनहरू पछ्याउन लोभ्याउँछन् र आफूलाई डाहा गर्न र उच्च नजरले हेर्न लगाउँछन्। आफूप्रति कतिपय दाजुभाइ-दिदीबहिनीहरूको विकर्षित हेराइ र मनोवृत्ति देख्दा देख्दै पनि, तिनीहरू बेवास्ता गरेर बस्छन्, आफ्नै तरिकाले कामकुरा गरिरहन्छन्, अग्लो हील लगाउँछन्, र डिजाइनर झोला बोक्छन्। कतिपयले त भेलाहरूमा कम गुणस्तरीय अत्तर लगाएर धनी र सम्पन्‍न व्यक्ति जस्तो देखिने प्रयाससमेत गर्छन्, जसले गर्दा तिनीहरू कोठामा प्रवेश गरेपछि अत्तर, टल्किने पाउडर र कपालमा लगाउने तेलको मिश्रित बास्नाले चर्को र नमिठो गन्ध फैलिन्छ। भेलामा सहभागी हुने अरू धेरै मानिसहरू रुष्ट हुन्छन्, तैपनि बोल्ने आँट गर्दैनन्, तिनीहरूलाई यी मानिसहरू देख्दै घृणा लाग्छ, र परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्नेहरू तिनीहरूबाट टाढा बस्छन्। तिनीहरूको पहिरन र साजसज्जा चाहे धेरै उच्चस्तरीय होस् वा धेरै सामान्य होस्, त्यस्ता व्यक्तिहरूको पहिचान तिनीहरूको अत्यन्तै स्वतन्त्र र अनुशासनहीन बोलीवचन, व्यवहार, आनीबानी, र जीवनशैली हो, जुन भेलाहरूमा मात्र नभई दाजुभाइ-दिदीबहिनीहरूसँगको तिनीहरूको दैनिक अन्तरक्रियामा वा तिनीहरूको दैनिक जीवनमा पनि देखिन्छ। सटीक रूपमा भन्दा, तिनीहरू अत्यन्तै लिप्त हुन्छन्, र एकरत्ती पनि संयमताद्वारा चल्दैनन्। तिनीहरूको दैनिक जीवनका नियमित ढाँचाहरू हुँदैनन्; तिनीहरू जे मन लाग्यो त्यही भन्छन्, लापरवाही र स्वेच्छाचारी व्यवहार गर्छन्, व्यक्तिगत अनुभवहरूका बारेमा कहिल्यै छलफल गर्दैनन्, परमेश्‍वरका वचनहरूबारे आफ्नो बुझाइ बिरलै बाँड्छन्, र आफ्नो कर्तव्य पूरा गर्दा आइपरेका कठिनाइहरूका बारेमा खासै कुरै गर्दैनन्। तिनीहरूले कुन-कुन विषयमा मात्र छलफल गर्छन्? सामाजिक प्रचलनहरू, फेसन, उच्चस्तरीय खाना, समाजका चर्चित व्यक्तित्वहरू र प्रसिद्ध कलाकारहरू समेतको निजी जीवन, र समाजका असामान्य कथा र प्रसङ्गहरू। तिनीहरूका यी प्राकृतिक प्रकटीकरणहरूबाट, त्यस्ता मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य जसोतसो जीवन जिउने मात्रै हो भन्‍ने कुरा देख्‍न गाह्रो हुँदैन। तिनीहरूको जीवन मण्डली जीवन जिउने, आफ्नो कर्तव्य पूरा गर्ने, वा सत्यता पछ्याउने जस्ता कुराहरूमा नभई खान, पिउन, र रमाइलो गर्नमै पूर्ण रूपमा केन्द्रित हुन्छ। “लम्पट र असंयमित” भन्‍नुको अर्थ के हो भने, यी व्यक्तिहरूको जीवनशैली, तिनीहरूले मानवतामा जिउने कुरा, साथै कामकुरालाई सम्हाल्ने, अरूसँग व्यवहार गर्ने, र अरूसँग अन्तरक्रिया गर्ने तिनीहरूको तरिका पनि सबै लम्पट र असंयमित हुन्छन्। तिनीहरूले प्रायजसो समाजका लोकप्रिय अभिव्यक्तिहरूको नक्कल गर्छन्; दाजुभाइ-दिदीबहिनीहरूले ती कुरा सुन्‍न मन पराऊन् या नपराऊन्, वा तिनीहरूले ती कुरा बुझ्न सकून् या नसकून्, यी व्यक्तिहरूले ती कुरा बोलिरहन्छन्। तिनीहरूले प्रायजसो समाजका केही प्रसिद्ध व्यक्तित्वहरू र सङ्गीत र चलचित्रका चर्चित व्यक्तित्वहरूका भनाइहरूको समेत नक्कल गर्छन्। परमेश्‍वरको घरमा र दाजुभाइ-दिदीबहिनीहरूमाझ प्रायजसो प्रयोग गरिने सकारात्मक शब्दहरूमा भने तिनीहरूले कहिल्यै कुनै चासो देखाउँदैनन्; तिनीहरूले आफ्नो दैनिक जीवनमा सत्यताबारे कहिल्यै सङ्गति गर्दैनन्। तिनीहरूले सांसारिक प्रचलनहरूलाई आदर्श मान्छन्; विभिन्‍न प्रसिद्ध व्यक्तित्व र चर्चित कलाकारहरूलाई तिनीहरूले आदर्शीकरण र अनुकरणका निसाना बनाउँछन्। उदाहरणका लागि, तिनीहरूले अनलाइनका लोकप्रिय शब्द र वाक्यांशहरू तुरुन्तै सिक्छन् र तिनलाई आफ्नो जीवनमा र दाजुभाइ-दिदीबहिनीहरूसँगको कुराकानीमा प्रयोग गर्छन्। अवश्य नै, यी शब्दहरू पक्‍कै पनि कुनै सकारात्मक वा शिक्षाप्रद कुरा हुँदैनन्; ती सबै नकारात्मक हुन्छन्, र परमेश्‍वरमा विश्‍वास गर्नेहरूका लागि तिनको कुनै मूल्य हुँदैन, अर्थ त झनै हुँदैन। ती त भ्रष्ट र दुष्ट मानवजातिले सिर्जना गरेका लोकप्रिय अभिव्यक्तिहरू हुन्, जसले पूर्ण रूपमा दुष्ट शक्तिहरूका विचार र दृष्टिकोणहरूलाई प्रतिनिधित्व गर्छन्। त्यस्ता शब्दहरूलाई प्रायजसो मण्डलीका ती अविश्‍वासीहरूले ध्यान दिन्छन्, स्वीकार गर्छन्, र प्रयोग गर्छन् जो दुष्ट प्रचलनहरू मन पराउँछन्। तिनीहरू परमेश्‍वरको घरको आत्मिक शब्द र शब्दावलीदेखि पूर्ण रूपमा विमुख हुन्छन्, र ती लगनशीलताका साथ सुन्दैनन् वा सिक्दैनन्। यसको विपरीत, तिनीहरूले गैरविश्‍वासी संसारका नकारात्मक कुराहरू र बदमास मानिसहरूले ध्यान दिने कुराहरूलाई तुरुन्तै टिपेर प्रयोग गर्छन्। तसर्थ, यी व्यक्तिहरूलाई तिनीहरूको बाहिरी पहिरन, बोलीवचन, र व्यवहारद्वारा मूल्याङ्कन गरिए पनि, वा तिनीहरूले प्रकट गर्ने विभिन्‍न विचार र दृष्टिकोण र कामकुराहरूप्रतिको मनोवृत्तिद्वारा मूल्याङ्कन गरिए पनि, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूमाझ अति नै फरक हुन्छन्। फरक हुनु भनेको के हो? यसको अर्थ तिनीहरूको बोलीवचन, व्यवहार, र आचरण गैरविश्‍वासीहरूको जस्तै हुन्छ, र तिनीहरूले कुनै किसिमको परिवर्तन देखाउँदैनन्; तिनीहरू सरासर अविश्‍वासी हुन्। उदाहरणका लागि, कतिपय मानिसहरूले परमेश्‍वरको घरको मञ्चमा दुई वटा भजन गाउँछन् र सबैको प्रशंसा पाउँछन्, त्यसकारण तिनीहरूले आफूलाई चर्चित कलाकार वा ठूला व्यक्ति सोच्न थाल्छन्, प्रस्तुति दिँदा सधैँ भारी मेकअप घस्ने माग गर्छन्, निश्‍चित सेलिब्रेटीको जस्तो कपाल बनाउन, र यसलाई अनौठा रङ्गले रङ्गाउन जिद्दी गर्छन्। जब अरूले “विश्‍वासीहरूले इज्जतिलो र शिष्ट लुगा लगाउनुपर्छ; तिम्रो शैलीले परमेश्‍वरको घरका मागहरू पूरा गर्दैन” भनेर भन्छन्, तब तिनीहरूले यसो भन्दै गुनासो गर्छन्, “परमेश्‍वरको घरका नियमहरू अत्यन्तै कडा छन्; यो साँच्‍चै नै कष्टदायी छ! चर्चित व्यक्ति बन्न किन यति गाह्रो भएको?” दुई वटा भजन गाउनेबित्तिकै, तिनीहरूले आफू चर्चित व्यक्ति भएको कल्पना गर्छन् र आफू उत्कृष्ट भएको सोच्छन्, र फुर्सद हुनेबित्तिकै तिनीहरू निरन्तर यस्तो सोच्छन्: “गैरविश्‍वासी संसारका चर्चित कलाकारहरूले माइक्रोफोन समाउन कति वटा औँला प्रयोग गर्छन्? तिनीहरूले मञ्चमा चढ्नका लागि कति पाइला टेक्छन्? मैले किन यति राम्रो गाउँदा पनि फूलहरू पाउँदिनँ? संसारका चर्चित व्यक्तिहरूका एजेन्ट र सहयोगीहरू हुन्छन्; तिनीहरूले धेरैजसो मामलाहरू आफै सम्हाल्नु वा समाधान गर्नु पर्दैन, त्यो सबै तिनीहरूका सहयोगीहरूले गर्छन्। तर परमेश्‍वरको घरको गायकका रूपमा, मैले खानेकुरा ल्याउने, लुगा लगाउने, र किनमेल गर्ने जस्ता अल्छीलाग्दा कामहरू आफैले गर्नुपर्छ। परमेश्‍वरको घर अत्यन्तै रूढिवादी छ!” परमेश्‍वरको घरमा बस्दा तिनीहरू हृदयमा सधैँ बेखुसी हुन्छन्; तिनीहरू निकै दुःखित महसुस गर्छन्, सधैँ असन्तुष्ट र गुनासाले भरिएका हुन्छन्। के त्यस्तो व्यक्तिले सत्यतालाई प्रेम गर्न सक्छ? के तिनीहरूले सत्यता अभ्यास गर्नेछन्? तिनीहरूले किन आत्मचिन्तन गर्दैनन्? कामकुराहरूप्रति तिनीहरूको दृष्टिकोण गैरविश्‍वासीहरूको जस्तै अत्यन्तै विकृत हुन्छ; तिनीहरूले कसरी यो कुरा महसुस गर्न सक्दैनन्? परमेश्‍वरको घरले तिनीहरूलाई चर्चित व्यक्ति बन्‍नबाट रोक्दैन, तर तिनीहरूका यी दृष्टिकोण र शैलीहरू—जुन अविश्‍वासीहरूका दृष्टिकोण हुन्—के ती परमेश्‍वरको घरमा व्यवहार्य हुन्छन्? ती आधारभूत रूपमै अमान्य हुन्छन्। तिनीहरूको सामान्य बोलीवचन र व्यवहार धेरैजसो मानिसहरूका लागि घृणायोग्य हुन्छन्। तिनीहरूको “खुला सोच” र चरम लिप्तताका कारण, त्यस्ता मानिसहरूले जे भने पनि वा जे गरे पनि त्यो लम्पट र असंयमित हुन्छ, जसले शैतानको स्वभावबाहेक केही पनि प्रकट गर्दैन।

दाजुभाइ-दिदीबहिनीहरूले पुरुष र महिलाबीच सीमा कायम राख्‍नुपर्छ, र विपरीत लिङ्गीसँग अल्झिनु हुँदैन भनेर परमेश्‍वरको घरले बारम्बार जोड दिन्छ। तर, कतिपय मानिसहरू लम्पट र असंयमित हुन्छन्, तिनीहरूले यो सल्लाह पटक्‍कै मान्दैनन्, र गोप्य रूपमा अरूलाई यौनाकर्षित गर्ने वा डेट गर्ने प्रयाससमेत गर्छन्, जसले गर्दा मण्डली जीवनमा बाधा पुग्छ। तिनीहरू विपरीत लिङ्गीलाई सम्पर्क गर्न रमाइलो मान्छन्, र तिनीहरूले सम्पर्क गर्न र जिस्किँदै कुराकानी गर्नका लागि कारण र बहानाहरूसमेत खोज्छन्। आकर्षक देखिने वा आफूसँग मिल्ने कुनै विपरीत लिङ्गी व्यक्तिलाई देख्दा, तिनीहरू त्यस व्यक्तिसँग लट्ठारिन थाल्छन्, जिस्किन्छन् र ठट्टा गर्छन्, तिनीहरूको लुगा बिगारिदिन्छन् र कपाल बिगारिदिन्छन्, र हिउँदको बेला तिनीहरूको लुगामा हिउँको डल्लोसमेत फ्याँक्छन्; तिनीहरू कुनै सीमा वा आदरबोधविना, कुनै लाज नमानी एक-अर्कासँग पशुजस्तै गरी खेल्छन्। कतिपय मानिसहरूले भन्छन्, “त्यसलाई कसरी खेलेको भन्‍न मिल्छ? तिनीहरूले स्‍नेह देखाइरहेका छन्; त्यसलाई त प्रेमिलो भएको, रोमान्टिक भएको भनिन्छ।” यदि तँ रोमान्सको खोजीमा छस् भने, तैँले गलत ठाउँ छनौट गरेको छस्। मण्डली त दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो कर्तव्य पूरा गर्ने ठाउँ हो; यो परमेश्‍वरको आराधना गर्ने ठाउँ हो, जिस्किने ठाउँ होइन। सबैको अगाडि सार्वजनिक रूपमा यस्तो व्यवहार प्रदर्शन गर्दा धेरैजसो मानिसलाई विकर्षण र घिन महसुस हुन्छ। मुख्य कुरा के हो भने, यसले अरूमा नैतिक सुधार ल्याउँदैन, र तैँले आफ्नो निष्ठा र इज्जत पनि गुमाउँछस्। आखिर तँ कति वर्ष पुगिस्? के तैँले दाहिने हात र देब्रे हात छुट्याउन सक्दैनस्? के तैँले पुरुष र महिलाबीचको भिन्‍नता बुझ्दैनस्? तैपनि तँ जिस्किन्छस्! सात-आठ वर्षका केटाकेटीहरू खेल्नु सामान्य कुरा हो; यस्ता व्यवहार र रुचिहरू तिनीहरूको उमेरका लागि सामान्य हुन्। तर, यदि वयस्कहरूले यी व्यवहारहरू प्रदर्शन गर्छन् भने, के यो बचकाना होइन र? सरल रूपमा भन्दा, कुरा ठ्याक्कै त्यही हो। सारका हिसाबमा भन्दा, यो के हो? (लिप्तता, लम्पटपन।) यो सबै अत्यन्तै लम्पट कुरा हो! परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिले इज्जतको बोध राख्न जानेको हुनैपर्छ। गैरविश्‍वासीहरूमध्ये पनि, थोरैले मात्र यस्तो लम्पट व्यवहार गर्छन्। त्यस्ता लम्पट व्यक्तिहरू कति तुच्छ र निन्दनीय हुन्छन्! उत्साहका लागि विपरीत लिङ्गीको लुगामा हिउँका डल्‍लाहरू फाल्नु, उसलाई जिस्केर लखेट्ने मात्र नभई उसलाई पछाडिबाट लातसमेत हान्नु—जब कसैले यस्तो व्यवहार अत्यन्तै लम्पट छ र यसले पुरुष र महिलाबीचका सीमाहरूलाई धूमिल बनाउँछ भन्‍ने तथ्यलाई खुलासा गर्छ, तब तिनीहरूले “हामी यति नजिक भएकाले मात्रै यसरी खेल्छौँ; मानिसहरूले बुझ्नुपर्छ” भनेर प्रतिवाद गर्छन्। तिनीहरू यति हदसम्‍म लिप्त हुन्छन् कि, आफू मात्र लिप्त हुँदैनन् तर अरूलाई पनि तिनीहरूसँगै लिप्त हुन लोभ्याउँछन्। यो कस्तो नीच व्यक्ति हो? ल भन त, के त्यस्ता मानिसहरू मण्डलीमा रहनुपर्छ? (अहँ।) यस्तो व्यक्तिको छेउछाउ हुँदा सधैँ असहज र अप्ठ्यारो महसुस हुन्छ। कसैलाई भेट्दा, तिनीहरूले उसलाई सामान्य रूपमा अभिवादन गर्दैनन्; बरु, तिनीहरूले उसलाई एक मुक्‍का हानेर यसो भन्छन्, “तँ यतिका वर्ष कहाँ थिइस्, हँ? मैले तँ पृथ्वीबाट नै बिलाएर गइस् कि भन्‍ने सोचेको थिएँ! के छ खबर?” तिनीहरूको अभिवादनको शैली पनि अत्यन्तै असभ्य र घमण्डी हुन्छ; तिनीहरूले असभ्य तरिकाले बोल्ने मात्र नभई अरूलाई हातपात पनि गर्छन्। के यो बदमास र डाँकुहरूको व्यवहारसँग मिल्दैन र? के तिमीहरूलाई त्यस्ता मानिसहरू मन पर्छ? (मन पर्दैन।) के गिल्ला गरिनु र खेलौनाझैँ व्यवहार गरिनुको अनुभूति सहज हुन्छ? (हुँदैन।) यो असहज हुन्छ, र तैँले यसलाई व्यक्त समेत गर्न सक्दैनस्; तैँले यो कुरा सहनुको विकल्प छैन, र अर्को पटक तिनीहरूलाई देख्दा, तँ तिनीहरूबाट टाढै बस्छस्। सारांशमा भन्दा, यसले त्यस्ता मानिसहरूको मानवताको गुणस्तरबारे के भन्छ? (त्यो खराब हुन्छ।) तिनीहरूलाई जुनसुकै कोणबाट हेरिए पनि—चाहे त्यो तिनीहरूको बोलीवचन र व्यवहार, तिनीहरूको व्यक्तिगत आचरण, तिनीहरूले संसारसँग व्यवहार गर्ने तरिका, र तिनीहरूले अरूसँग गर्ने अन्तरक्रिया, गैरविश्‍वासी संसारका प्रचलनहरूप्रति तिनीहरूको दृष्टिकोण होऊन्, वा परमेश्‍वरमा विश्‍वास गर्ने तिनीहरूको तरिका र परमेश्‍वर र उहाँका वचनहरूप्रति तिनीहरूको मनोवृत्ति होऊन्—यी व्यक्तिहरूमा भक्ति वा परमेश्‍वरको डर मान्‍ने हृदय हुँदैन भन्‍ने कुरा देख्‍न गाह्रो हुँदैन। न त सत्यताको खोजी गर्ने वा त्यसलाई स्वीकार गर्ने कुरा आउँदा परमेश्‍वरप्रतिको तिनीहरूको विश्‍वासमा कुनै इमानदारी नै देख्‍न सकिन्छ। देखिने कुरा भनेको तिनीहरूको लम्पटपन र संयमताको कमी, तिनीहरूले निरन्तर चर्चित व्यक्तित्व र आदर्श व्यक्तिहरूको अनुकरण गर्ने कार्य, र सत्यता जति सङ्गति गर्दा पनि तिनीहरूमा मार्ग परिवर्तन गर्ने कुनै अभिप्राय नहुनु हो। तिनीहरूको मानवताका विशेषताहरूलाई के भनेर सारांशीकृत गर्न सकिन्छ? लम्पटपन र संयमताको कमी। त्यसकारण, तिनीहरू परमेश्‍वरको घरमा घुसपैठ गरेका गैरविश्‍वासी हुन् भनेर निश्‍चित रूपमा भन्न सकिन्छ; तिनीहरू अविश्‍वासी हुन्।

लम्पट र असंयमित मानिसहरूले गैरविश्‍वासी संसारका डाँकु र गुन्डाहरूले जस्तै शब्दहरू छानेर प्रयोग गर्छन्; तिनीहरू विशेषगरी चर्चित व्यक्तिहरू र समाजका नकारात्मक व्यक्तित्वहरूका बोली र शैली नक्कल गर्न मन पराउँछन्, र तिनीहरूको धेरैजसो भाषाले गुन्डा वा बदमासले जस्तै ठेटावाडी भाव बोकेको हुन्छ। उदाहरणका लागि, जब एउटा गैरविश्‍वासी ढोका ढकढक्याएर केही अनौठा वाक्यांशहरू बोल्दै आइपुग्छ, तब दाजुभाइ-दिदीबहिनीहरूले यसो भन्छन्, “केही त गडबड छ; यो व्यक्ति किन स्काउट वा जासूसजस्तो देखिन्छ?” त्यही बेला तिनीहरू निश्‍चित हुन नसके पनि, यसले धेरैजसो मानिसहरूलाई असहज महसुस गराउँछ। तैपनि, त्यो लम्पट र असंयमित व्यक्तिले रवाफ देखाउँदै बोल्छ, र यसो भन्छ, “स्काउट? मलाई डर लाग्दैन! तिनीहरूसँग किन डराउने? यदि तिमीहरूलाई डर लाग्छ भने, तिमीहरू बाहिर जानु पर्दैन। तिनीहरूको कुरा के रहेछ, म गएर हेर्छु।” हेर त, तिनीहरू कति साहसी र निडर हुन्छन्। के तिमीहरू यसरी बोल्छौ? (अहँ, सामान्य मानिसहरू यसरी बोल्दैनन्; यो त डाँकुले बोल्‍नेजस्तो कुरा हो।) डाँकुहरू सामान्य मानिसहरूले भन्दा फरक तरिकाले बोल्छन्; तिनीहरू अत्यन्तै रबाफ जमाउँछन्। मानिसहरूले आफ्नै किसिमका मानिसहरूको भाषा सिक्छन्; चलाख मानिसहरूले समाजको लोकप्रिय बोलीचाली अपनाउँछन्, डाँकु र गुन्डाहरू आफ्नै प्रकारको भाषा बोल्न मन पराउँछन्, र अविश्‍वासीहरू गैरविश्‍वासीहरूजस्तै हुन्छन्, गैरविश्वासीहरूले भन्ने सबै कुरा भन्छन्। गैरविश्‍वासीहरूको बोलीवचन सुनेपछि असल, मर्यादित, र सभ्य मानिसहरूलाई घिन र घृणा लाग्छ; तिनीहरू कसैले पनि त्यस्तो बोलीवचन नक्कल गर्ने प्रयास गर्दैनन्। कतिपय अविश्‍वासीहरूले दश-बीस वर्ष विश्‍वास गरेपछि पनि गैरविश्‍वासीहरूकै भाषा प्रयोग गर्छन्, जानाजानी यस्तो बोली छनौट गर्छन्, र बोल्दा तिनीहरू गैरविश्‍वासीहरूको आनीबानी, अभिव्यक्ति र भाउभङ्गीका साथै आँखाको हेराइको समेत नक्कल गर्छन्। के त्यस्ता व्यक्तिहरू मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूका नजरमा प्रिय हुन सक्छन्? (सक्दैनन्।) धेरैजसो दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरू अप्रिय र हेर्न असजिला लाग्छन्। तिमीहरूलाई के लाग्छ, परमेश्‍वरले तिनीहरूबारे कस्तो महसुस गर्नुहुन्छ? (घिन।) जबाफ स्पष्ट छ: घिन। तिनीहरूले जिउने कुरा, तिनीहरूको पछ्याइ, र तिनीहरूले हृदयमा आदर गर्ने मानिस, घटना, र कामकुराहरूबाट के स्पष्ट हुन्छ भने तिनीहरूको मानवतामा मर्यादा वा शिष्टता नै छैन र यसमा सन्तहरूको भक्ति र उचित शिष्टताको पनि कमी छ। तिनीहरूको मुखबाट विश्‍वासी वा सन्तहरूले बोल्‍ने वचनहरू, र अरूलाई सुधार गर्ने अनि मर्यादा र निष्ठा व्यक्त गर्ने वचनहरू सुन्‍न पाउनु दुर्लभ कुरा हो; तिनीहरूले यी कुराहरू भन्ने सम्भावना हुँदैन। तिनीहरूले आफ्नो हृदयमा आदर गर्ने, आकाङ्क्षा राख्‍ने, र पछ्याउने कुरा सन्तहरूले पछ्याउनुपर्ने र आकाङ्क्षा राख्‍नुपर्ने कुरासँग आधारभूत रूपमै मिल्दैन, जसले गर्दा तिनीहरूले बाहिरी रूपमा जिउने कुरा, तिनीहरूको बोलीवचन, र आनीबानी संयमित हुन गाह्रो हुन्छ। तिनीहरूलाई संयमित हुन, लम्पट वा भोगविलासी नबन्‍न, र मर्यादा र शिष्टता कायम राख्‍न लगाउनु एकदमै कठिन हुन्छ। सत्यता बुझ्ने र सत्यता वास्तविकतामा प्रवेश गर्ने मानवता र समझ भएको व्यक्तिको रूपमा जिउनु त कुरै छोडौँ, तिनीहरू त सन्तहरूको शिष्टताअनुरूप हुने, नियमहरू पालना गर्ने, र बाहिरी रूपमा तर्कसङ्गत देखिने निष्ठा र मर्यादा भएको सामान्य व्यक्तिजस्तो समेत बन्‍न सक्दैनन्। यसअघि, एउटा व्यक्ति गाउँमा सुसमाचार प्रचार गर्न गयो र उसले केही दाजुभाइ-दिदीबहिनीहरूको परिवार गरिब भएको र उनीहरू पुराना घरमा बस्ने गरेको देख्यो। उसले व्यङ्ग्यात्मक तरिकाले र गिल्ला गर्दै भन्यो, “यो घर त यति पुरानो रहेछ, यो मानिसहरू बस्‍न लायक छैन; यो त सुँगुरका लागि समेत मुस्किलले उपयुक्त छ। तपाईंहरू तुरुन्तै अन्त सर्नुपर्छ!” दाजुभाइ-दिदीबहिनीहरूले भने, “सर्नु त सजिलो छ नि, तर बस्नका लागि हामीलाई अर्को घर कसले दिन्छ र?” उसले लापरवाही र मनोमानी तरिकाले बोल्थ्यो, र अरूलाई पर्न सक्‍ने असरबारे विचार नगरी मनमा जे आयो त्यही भन्थ्यो। यो बदमास प्रकृति हुनु हो। दाजुभाइ-दिदीबहिनीहरूले सोधे, “यदि हामी सर्‍यौँ भने, हामीलाई बस्‍ने घर कसले दिन्छ? के तपाईंसँग घर छ?” ऊसँग कुनै जबाफ थिएन। मानिसहरूलाई कठिनाइ आइपरेको देख्दा उसले बोल्नुभन्दा पहिले नै उनीहरूको कठिनाइ समाधान गर्न सक्नुपर्थ्यो। उसले लापरवाही रूपमा बोल्नु तर तिनीहरूको कठिनाइ समाधान गर्न नसक्नुका परिणामहरू के-कस्ता थिए? के यो अत्यन्तै खुलस्त र मुखर हुने समस्या थियो? अवश्य नै थिएन। समस्या त उसको बदमासपन अत्यन्तै गम्भीर थियो; ऊ लम्पट र असंयमित थियो। त्यस्ता मानिसहरूमा निष्ठा, मर्यादा, सोचविचार, सहनशीलता, वास्ता, आदर, बुझाइ, सहानुभूति, कृपा, विचारशीलता, सहयोग इत्यादि कुराको कुनै बीजारोपण हुँदैन। मानिसहरूमा सामान्य मानवतालाई अत्यावश्यक हुने यिनै गुणहरू हुनुपर्छ। तिनीहरूसँग यी गुणहरूको कमी त हुन्छ नै, त्यसमाथि तिनीहरूले अरूसँग अन्तरक्रिया गर्दा, कसैलाई कठिनाइहरू आइपरेको देखेपछि, तिनीहरूले उसलाई उपहास गर्न, गिल्ला गर्न, गिज्याउन, र खिल्‍ली उडाउनसमेत सक्छन्; तिनीहरूले उसलाई बुझ्न वा सहयोग गर्न नसक्‍ने मात्र होइन, उसलाई दुःख, विवशता, पीडा, र समस्या समेत निम्त्याउँछन्। यस्तो गम्भीर नीचता भएका मानिसहरूका हकमा, धेरैजसो मानिसहरूले तिनीहरूलाई स्पष्ट रूपमा देख्न त देख्‍छन् तर बारम्बार तिनीहरूलाई सहन्छन्। के तिमीहरूलाई त्यस्ता मानिसहरूले साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छन् भन्‍ने लाग्छ? मलाई त यो सम्भव छ जस्तो लाग्दैन। तिनीहरूको प्रकृति सार हेर्दा, तिनीहरू सत्यताप्रेमी होइनन्, त्यसकारण तिनीहरूले काटछाँट र अनुशासनमा पर्नुलाई कसरी स्वीकार गर्न सक्छन् र? गैरविश्वासीहरू यी मानिसहरूलाई “आफ्नै बाटोमा लागिरहनु” वा “अरूले जे भने पनि आफ्नै मार्गमा हिँडिरहनु” भन्‍नेजस्ता शब्दावलीहरू प्रयोग गरेर व्याख्या गर्छन्—यो कस्तो हास्यास्पद तर्क हो? यी तथाकथित प्रसिद्ध भनाइ र टुक्काहरूलाई यस समाजमा प्राय सकारात्मक कुराका रूपमा लिइन्छ, जसले तथ्यहरू बङ्ग्याउँछ र सही र गलतबीच दुविधा ल्याउँछ। लम्पट र असंयमित मानिसहरूको मानवताका प्रकटीकरणहरूको कुरा गर्नुपर्दा, यसले आधारभूत रूपमा सबै कुरा समेट्छ।

लम्पट र असंयमित व्यक्तिहरूले मण्डली जीवनमा, दाजुभाइ-दिदीबहिनीहरूबीचका सामान्य सम्बन्धहरूमा, वा परमेश्‍वरका चुनिएका मानिसहरूको सामान्य रूपमा कर्तव्य निर्वाहमा असर गरे पनि वा नगरे पनि, तिनीहरूको मानवताका प्रकटीकरण र प्रकाशहरूले प्रतिकूल प्रभाव र परिणामहरू ल्याउँछन्, र दाजुभाइ-दिदीबहिनीहरूलाई बाधा दिन्छन् भने, यी समस्याहरू समाधान गरिनुपर्छ, र त्यस्ता व्यक्तिहरूलाई बेरोकटोक काम गर्न दिनुको सट्टा, तिनीहरूविरुद्ध उचित कदमहरू चाल्नुपर्छ। सानातिना मामलाहरूका हकमा, सहयोग र साथ प्रदान गर्न सकिन्छ, वा तिनीहरूलाई काटछाँट र चेतावनी दिन सकिन्छ। गम्भीर मामलाहरूका हकमा, जहाँ तिनीहरूको व्यवहार र आचरण गैरविश्‍वासी वा अविश्‍वासीहरूको जस्तै विशेष रूपमा लम्पट हुन्छ, र तिनीहरूमा सन्तको जस्तो शिष्टता अलिकति पनि हुँदैन, त्यहाँ मण्डली अगुवा र कामदारहरूले यी व्यक्तिहरूलाई सम्हाल्न उचित समाधानहरू खोज्नुपर्छ। यदि बहुसङ्ख्यक दाजुभाइ-दिदीबहिनीहरू सहमत छन् र परिस्थितिहरूले साथ दिए भने, यी व्यक्तिहरूलाई निकाल्नुपर्छ; कम्तीमा पनि, तिनीहरूलाई पूर्णकालीन कर्तव्य मण्डलीमा आफ्नो कर्तव्य पूरा गर्न दिनु हुँदैन। “सानातिना मामलाहरूका हकमा” भन्नाले के जनाउँछ? यसको अर्थ कतिपय मानिसहरू नयाँ विश्‍वासी हुन्छन्, जो मूल रूपमा गैरविश्‍वासी थिए, जसले कहिल्यै इसाई धर्ममा विश्‍वास गरेका हुँदैनन् र परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो भन्ने कुरा बुझेका हुँदैनन्। तिनीहरूको बोलीवचन र आचरणले गैरविश्‍वासीहरूका बानीबेहोराहरू प्रकट गर्छन्। तर, परमेश्‍वरको वचन पढेर, सत्यता सङ्गति गरेर, र मण्डली जीवन जिएर, तिनीहरू क्रमिक रूपमा पछाडि फर्किन्छन् र बदलिन्छन्, अनि विश्‍वासीहरू जस्तै हुन्छन्, र तिनीहरूले केही मानव रूप देखाउँछन्। यी व्यक्तिहरूलाई दुष्ट मानिसहरूको दर्जामा वर्गीकरण गर्नु हुँदैन, बरु सहयोग गर्न सकिने मानिसहरूमा वर्गीकरण गर्नुपर्छ। अर्को वर्ग बीस वर्ष हाराहारीका जवान मानिसहरू हुन्, जो तीनदेखि पाँच वर्ष परमेश्‍वरमा विश्‍वास गर्नुका बाबजुद, अझै पनि ख्यालठट्टामा लिप्त हुन्छन्, त्यति स्थिर हुँदैनन्, आफ्नो बाहिरी बोलीवचन र आनीबानीमा केही केटाकेटीपन देखाउने—केटाकेटी जस्तो बोल्ने, व्यवहार गर्ने, र कार्य गर्ने—इत्यादि गर्छन्, किनभने तिनीहरूको उमेर सानै हुन्छ। यी मानिसहरूलाई प्रेमपूर्वक सहयोग र साथ दिनुपर्छ; अत्यन्तै कडा मागहरू नलादी तिनीहरूलाई क्रमिक रूपमा परिवर्तन हुन पर्याप्त समय दिनुपर्छ। अवश्य नै, धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका तर अझै पनि गैरविश्‍वासीहरूले जस्तै लम्पट र असंयमित बोलीवचन, आनीबानी, व्यवहार, र कार्य प्रदर्शन गर्ने, र बारम्बार चेतावनी दिइँदा पनि परिवर्तन हुन नमान्ने वयस्कहरूका हकमा फरक शैली अपनाउनु उचित हुन्छ; तिनीहरूलाई परमेश्‍वरको घरका प्रावधानहरू अनुसार सम्हाल्नुपर्छ। यदि त्यस्ता व्यक्तिहरूको बोलीवचन, आनीबानी, र तिनीहरूको मानवताको प्रकटीकरणले बहुसङ्ख्यकलाई बाधा दिन्छ र मण्डलीमा प्रतिकूल प्रभाव पार्छ, जसले गर्दा धेरै जना तिनीहरूलाई देख्नेबित्तिकै दिगमिगाउँछन्, तिनीहरूले बोलेको सुन्न अनिच्छुक हुन्छन्, तिनीहरूले बोल्दा तिनीहरूको हाउभाउ हेर्न अनिच्छुक हुन्छन्, न त तिनीहरूको पहिरन हेर्न नै इच्छुक हुन्छन्, र त्यस्ता व्यक्तिहरू भेलाहरूमा सहभागी नहुँदा धेरैजसो मानिसहरू झनै खुसी हुन्छन् र झनै राम्रो अवस्थामा हुन्छन्—तिनीहरू बाधा सिर्जना गर्ने कीरा भएझैँ मण्डली जीवनमा तिनीहरूको सहभागिता र दाजुभाइ-दिदीबहिनीहरूका बीचमा तिनीहरूको उपस्थितिले नै असहज र दिगमिग महसुस गराउँछ भने—त्यस्ता व्यक्तिहरू अवश्य नै दुष्ट मानिसहरू हुन्। अर्थात्, जब-जब तिनीहरूले मण्डली जीवन जिउँछन् र दाजुभाइ-दिदीबहिनीहरूसँग आफ्नो कर्तव्य पूरा गर्छन्, तब धेरैजसो मानिसहरूले बाधा महसुस गर्छन् र अत्यन्तै दिगमिगाउँछन्। त्यस्ता अवस्थामा, यी व्यक्तिहरूलाई जति सक्दो चाँडो तह लगाउनुपर्छ, तिनीहरूलाई मनपरी गर्न एकलै छोड्नु वा थप निगरानीमा राख्नु हुँदैन। कम्तीमा पनि, तिनीहरूलाई पूर्णकालीन कर्तव्य मण्डलीबाट पखालिनुपर्छ र पश्चात्ताप गर्न साधारण मण्डलीमा पठाइनुपर्छ। यसलाई किन यसरी सम्हाल्‍ने? (तिनीहरूले धेरैजसो मानिसहरूका लागि बाधा र प्रतिकूल परिणामहरू निम्त्याएका हुन्छन्, जसले गर्दा मण्डली जीवनमा बाधा पुग्छ।) किनभने तिनीहरूका प्रकटीकरणहरूका परिणाम र प्रभावहरू अत्यन्तै घिनलाग्दा हुन्छन्! यस अनुसार, अगुवा र कामदारहरू, साथै परमेश्‍वरका चुनिएका मानिसहरूले तिनीहरूप्रति आँखा चिम्लिनु हुँदैन र अन्धाधुन्ध तिनीहरूको व्यवहारलाई प्रश्रय दिनु हुँदैन। त्यस्ता व्यक्तिहरूले बहुसङ्ख्यकका निम्ति बाधा उत्पन्न गर्दा पनि, अगुवा र कामदारहरू केही नगरी बस्‍नु अनुचित हो; त्यस्ता व्यक्तिहरूलाई परमेश्‍वरको घरका प्रावधानहरू अनुसार मण्डलीबाट पखालिनुपर्छ—यो नै सबैभन्दा बुद्धिमानी निर्णय हो।

के मण्डलीले यसभन्दा पहिले लम्पट र असंयमित मानिसहरूलाई तह लगाएको छ? (छ।) त्यस्ता मानिसहरूलाई तह लगाउँदा, कतिपय यसो भन्दै रोएका छन्, “यो जानी-जानी गरिएको थिएन। यो त मैले कहिलेकहीँ मात्र देखाउने व्यवहार हो; म त्यस्तो व्यक्ति होइनँ। कृपया मलाई अर्को मौका दिनुहोस्! यदि मलाई आफ्नो कर्तव्य पूरा गर्न दिइएन भने, घर फर्केपछि, मैले परमेश्‍वरमा विश्‍वास गर्न सक्नेछैन, जहाँ सबै गैरविश्‍वासी छन्।” तिनीहरू अत्यन्तै मन छुने तरिकाले बोल्छन् र साँच्‍चै व्यथित देखिन्छन्, र परमेश्‍वरलाई छोडेर जाने अनिच्छा व्यक्त गर्छन् र पश्चात्ताप गर्नका लागि परमेश्‍वरको घरसँग अर्को मौका माग्छन्। तिनीहरूलाई अर्को मौका दिनु सम्भव छ, तर मुख्य कुरा तिनीहरू परिवर्तन हुन सक्छन् कि सक्दैनन् भन्ने हो। यदि यो व्यक्तिमा अलिकति पनि मानवता छैन, उसमा कुनै विवेक वा समझ छैन, आधारभूत रूपमा ऊ कुनै हृदय र आत्मा नभएको प्राणी हो भनेर राम्ररी बुझिएको छ भने, उसलाई अर्को मौका दिनु हुँदैन; त्यो व्यर्थ हुनेछ। तर, यदि उक्त व्यक्तिको सारतत्त्व राम्रो छ, र उसको उमेर सानो भएकाले उसको मानवता अपरिपक्व भएको मात्रै हो, र ऊ केही वर्षभित्र पक्कै परिवर्तन हुनेछ भने, उसलाई पश्चात्ताप गर्ने अवसर दिनैपर्छ। उसलाई मण्डलीबाट बिलकुलै निकाल्नु हुँदैन; कुनै पनि असल व्यक्ति कहिल्यै बरबाद हुनु हुँदैन। कतिपय मानिसहरू अन्तर्निहित रूपमै अविश्‍वासी हुन्छन्; तिनीहरू अन्तर्निहित रूपमा लम्पट, अज्ञानी, र मूर्ख हुन्छन्, र तिनीहरूको मानवतामा अन्तर्निहित रूपमा नै सम्मानको बुझाइको कमी हुन्छ, र तिनीहरूलाई लज्जाबोध के हो भन्ने थाहा हुँदैन। सार्वजनिक रूपमा अपरिष्कृत व्यवहार गरेपछि, धेरैजसो मानिसहरूलाई पछुतो हुन्छ र अरूको सामना गर्न लाज लाग्छ। यसका साथै, जब तिनीहरूले त्यस्ता कुराहरू गर्न चाहन्छन्, तब तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूका भावना र विचारहरूलाई ख्याल गर्न, र आफ्नै निष्ठा र इज्जतबारे सचेत रहन सक्छन्, र तिनीहरूले त्यस्तो व्यवहार गर्दैनन्; तिनीहरूले बढीमा सायद घरमा आफ्ना छोराछोरी वा दाजुभाइ-दिदीबहिनीहरूसँग झगडा गर्ने मात्र हो। सामान्यतया अपरिचित मानिसहरूसँग अन्तरक्रिया गर्दा, मानिसहरूले लाजको बोध, शिष्टता, नियम, र इज्जतको अर्थ के हो भन्ने कुरा बुझ्नुपर्छ। के यी अवधारणाहरूका बारेमा बुझाइ नभएको व्यक्ति तेरो सहयोगले पनि परिवर्तन हुन सक्छ र? अहिले तिनीहरूलाई नियन्त्रणमा राखिए पनि, तिनीहरूले कति समयसम्म सहन सक्छन्? तिनीहरूलाई आफ्नो पुरानो शैलीमा फर्केर जान धेरै समय लाग्दैन। त्यस्ता मानिसहरूको मानवतामा इज्जत र लज्जाबोध नहुने हुनाले, तिनीहरूलाई नियम, शिष्टता, वा सन्तहरूको शालीनता के हो भन्ने थाहा नहुने हुनाले, र तिनीहरूको मानवतामा अन्तर्निहित रूपमै यी गुणहरू नहुने हुनाले, तैँले तिनीहरूलाई सहयोग गर्न सक्दैनस्। जुन मानिसहरूलाई सहयोग गर्न सकिँदैन तिनीहरू परिवर्तन हुन नसक्ने, निर्देशन दिन वा प्रभाव पार्न नसकिने मानिसहरू हुन्। त्यस्ता व्यक्तिहरूलाई दाजुभाइ-दिदीबहिनीहरूमाझ बाधाहरू सिर्जना गर्नबाट, लाज निम्त्याउनबाट रोक्नका लागि जति सक्दो तुरुन्तै र चाँडो पखाल्नुपर्छ। परमेश्‍वरको घरलाई सङ्ख्या बढाउनका लागि मात्रै कोही चाहिएको छैन। यदि परमेश्‍वरले कुनै व्यक्तिलाई मुक्ति दिनुहुनेछैन भने, जतिसुकै सङ्ख्या बढाए पनि त्यस व्यक्तिका लागि कुनै फाइदा हुनेछैन। जसलाई परमेश्‍वरले स्वीकार गर्नुहुन्न तिनीहरूलाई निकाल्नुपर्छ—परमेश्‍वरको घरमा रहिरहन नहुनेहरूलाई पखाल, नत्र भने यो एक जना व्यक्तिको उपस्थितिले अरू धेरैलाई प्रतिकूल असर गर्नेछ, जुन बहुसङ्ख्यकका लागि अन्यायपूर्ण हुन्छ। यदि तिमीहरूले लम्पट र असंयमित मानिसहरूको सारलाई छर्लङ्ग देख्यौ भने, तिमीहरूले तिनीहरूलाई अनिश्चितकालसम्म सहनुको सट्टा जति सक्दो चाँडो तह लगाउनुपर्छ र निकाल्नुपर्छ। कतिपयले भन्छन्, “तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा कहिलेकाहीँ केही परिणामहरू निकाल्छन्। तिनीहरू अझै पनि कामको त्यो पक्षका लागि चाहिन्छ। तिनीहरूमा निकै प्रेमिलो हृदय पनि हुन्छ र तिनीहरूले थोरै भए पनि मूल्य चुकाउन सक्छन्।” तर परमेश्‍वरको घरमा रहनेमध्ये कसले थोरै मूल्य चुकाउन सक्दैन र? आफ्नो कर्तव्य पूरा गर्दा केही परिणामहरू हासिल गर्न कसले सक्दैन? यदि सबैले केही परिणामहरू निकाल्न सक्छन् भने, जो कर्तव्य पूरा गर्नका लागि इज्जतदार र सभ्य छन् त्यस्ता असल मानिसहरूलाई किन छनौट नगर्ने? फोहोरी मानिसहरू, बदमास, र मूर्ख मानिसहरूलाई पूर्णकालीन कर्तव्य मण्डलीमा राखेर बाधा निम्त्याउन किन जिद्दी गर्ने? गैरविश्‍वासीहरू जस्तै जिउने ती अविश्‍वासीहरूलाई परमेश्‍वरको घरमा राखेर श्रम गर्न लगाउन किन जिद्दी गर्ने? परमेश्‍वरको घरमा श्रमिकहरूको कमी छैन; परमेश्‍वरको घरले सत्यतालाई प्रेम गर्ने इमानदार मानिसहरू, सिधा मानिसहरू, र सत्यता पछ्याउन सक्ने मानिसहरू मात्रै चाहन्छ, जो परमेश्‍वरप्रति आफूलाई समर्पित गर्छन्।

अहिले कर्तव्य पूरा गरिरहेकामध्ये धेरैजसो मानिसहरू पाँच-छ वर्षभन्दा धेरै समयदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आइरहेकाहरू छन्, र आफ्नो कर्तव्य पूरा गर्ने क्रममा सबै प्रकारका मानिसहरूको पूर्ण रूपमा प्रकाश भएको छ—अविश्‍वासी, अन्योलमा परेका मानिस, झूटा अगुवा, दुष्ट मानिस, र ख्रीष्टविरोधीहरू सबै प्रकाश गरिएका छन्। परमेश्‍वरका चुनिएका धेरै मानिसहरूले यीमध्ये धेरैजसो मानिसहरूले बारम्बार चेतावनी पाउँदा पनि परिवर्तन हुन मान्दैनन्, र तिनीहरूले परमेश्‍वरको घरको काममा गम्भीर बाधा र अवरोधहरू ल्याइसकेका छन् भन्ने कुरा प्रस्ट रूपमा देखेका छन्। यी अविश्‍वासी, दुष्ट मानिस, र ख्रीष्टविरोधीहरूलाई पखाल्नैपर्ने समय आएको छ। तिनीहरूलाई पखालिएन भने, यसले मण्डलीको कामको सञ्चालन र परमेश्‍वरको राज्यको सुसमाचार फैलाउने काममा असर गर्नेछ। तिनीहरूलाई पखालिएन भने, यसले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा प्रभाव पार्नेछ; मण्डली जीवनमा बाधा आइरहनेछ र यसले कहिल्यै शान्ति पाउनेछैन। त्यसकारण, सबै तहका मण्डली अगुवा र कामदारहरूले परमेश्‍वरका अभिप्रायहरू अनुसार र परमेश्‍वरका वचनहरूमा आधारित भएर मण्डलीलाई सफा गर्न थाल्नुपर्छ। म अति धेरै मानिसहरूमा मानवताको कमी छ भन्ने देख्छु। भेलाहरूमा, कतिपयले सबै किसिमका अनुचित व्यवहार देखाउँछन्, र बस्दा होस् वा उठ्दा, तिनीहरूले उचित चालढाल अपनाउँदैनन्, तिनीहरू आफ्‍नो छेउमा चिया, मोबाइल फोन, अनुहारमा लगाउने क्रिम, र अत्तर तयार गरेर बसेका हुन्छन्। सुन्दर देखिन मन पराउने कतिपय मानिसहरू निरन्तर ऐनामा आफ्नो रूप जाँचिरहेका हुन्छन् र मेकअप मिलाइरहेका हुन्छन्, र अरू चाहिँ सधैँ पानी पिइरहेका हुन्छन्, समाचार पढ्न वा गैरविश्‍वासी संसारका भिडियोहरू हेर्नका लागि आफ्नो फोनमा स्क्रोल गरिरहेका हुन्छन्, उपरखुट्टी लगाएर बोलिरहेका र कुराकानी गरिरहेका हुन्छन्, र शरीरलाई दुईपट्टि मोडेर सर्पझैँ बनाउँछन् र उचित शारीरिक मुद्रा समेत मिलाउँदैनन्। मैले कतिपय मानिसहरू राती आफ्नो शयनकक्षमा जान्छन् र जुत्तासमेत नखोली ओछ्यानमा सुत्छन्, र उषाकालसम्म निदाउँछन् भन्ने पनि सुनेको छु। बिहान, तिनीहरूले प्रार्थना गर्न वा आत्मिक भक्तिमा संलग्‍न हुनका लागि नभई सुरुमा आफ्नो मोबाइलमा समाचार हेर्नका लागि आँखा खोल्छन्। खाना खाने बेला, जब तिनीहरूले स्वादिष्ट खाना, वा मासु देख्छन्, तब तिनीहरू हत्तपत्त गर्दै खान थाल्छन्—आफू नअघाउञ्जेल अरूले खान पाउँछन् कि पाउँदैनन् भन्ने कुराको वास्ता गर्दैनन्—त्यसपछि तिनीहरू फेरि सिधै सुत्न जान्छन्। तिनीहरूले जे गर्दा पनि त्यसमा मानव रूपको कमी हुन्छ, तिनीहरूले गैरविश्‍वासीहरूले जस्तै लम्पट र असंयमित व्यवहार गर्छन्, कुनै नियमहरू बिलकुलै पालना गर्दैनन्, र तिनीहरूमा अलिकति पनि आज्ञाकारिता वा समर्पण हुँदैन, ठीक पशुहरू जस्तै। ल भन त, के यस्तो गम्भीर रूपमा फोहोरी प्रकृति भएका मानिसहरूले मुक्ति पाउन सक्छन्? (सक्दैनन्।) त्यसोभए के तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ छ? सत्यताको स्तरसम्म पुग्नै नसक्ने कमजोर क्षमता भएपछि, के तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्दा ती बुझ्न सक्छन्? आफूलाई आचरणमा ढाल्नुका कुनै नियमहरू साथमा नभई, के तिनीहरूको श्रम मानकअनुरूप हुन सक्छ? विवेक वा समझविना, के तिनीहरूले प्रवचनहरू र सत्यताबारे गरिएको सङ्गति सुन्दा स्वीकार गर्न सक्छन्? (सक्दैनन्।) यी व्यवहारहरू प्रदर्शन गर्नेहरूमा आधारभूत रूपमा कुनै मानवता हुँदैन, त्यसकारण तिनीहरूले कसरी सत्यता प्राप्त गर्न सक्छन् त? जोसँग मानवता छैन तिनीहरू पशु, दियाबलस, आत्मा नभएका मृत मानिस हुन्, जसले सत्यता सुन्दा त्यो बुझ्न सक्दैनन् र तिनीहरू सत्यता सुन्नलायक हुँदैनन्। तिनीहरूलाई सत्यता बुझ्न र प्राप्त गर्न दिनु भनेको माछालाई जमिनमा जिउन बाध्य पार्नु वा सुँगुरलाई उड्न बाध्य पार्नु जस्तै हो—जुन असम्भव छ! यसभन्दा पहिले, कस्ता प्रकारका मानिसहरू पशु हुन् भन्नेबारे कुरा गर्दा, “पशुहरू” भन्ने शब्दमा प्रायजसो “कुकुर” भन्ने उपसर्ग जोडिन्थ्यो, त्यसकारण तिनीहरूलाई “कुकुर जस्ता पशुहरू” भनेर भनिन्थ्यो। तर, कुकुर पालेपछि र तिनीहरूसँग नजिकबाट हेलमेल गरेपछि, मैले कुकुरहरूमा मानिसहरूमा नभएका सबैभन्दा राम्रा कुराहरू हुन्छन् भन्ने पत्ता लगाएको छु: तिनीहरू नियमहरू अनुसार व्यवहार गर्छन्, आज्ञाकारी हुन्छन्, र तिनीहरूमा आत्म-सम्मानको बोध हुन्छ। तैँले तिनीहरूलाई अभ्यास गर्नका लागि सीमा तय गरिस् भने तिनले यसभित्र मात्रै अभ्यास गर्छन्, र तैँले तिनलाई जान निषेध गरेका स्थानहरूमा विना कुनै अपवाद ती पटक्कै जाँदैनन्। यदि तिनले संयोगवश सीमा पार गरे भने, ती तुरुन्तै पछि हट्छन्, निरन्तर आफ्नो पुच्छर हल्‍लाउँछन्, माफी माग्छन् र आफ्नो गल्ती स्वीकार गर्छन्। के मानिसहरूले यो कुरा हासिल गर्न सक्छन्? (सक्दैनन्।) मानिसहरूमा यस्तो कुराको कमी हुन्छ। कुकुरहरूले मानिसहरूले जति नबुझ्ने भए पनि, तिनले एउटा कुरा बोध गर्छन्: “यो मालिकको क्षेत्र हो, मालिकको घर हो। म मालिकले जहाँ जान दिनुहुन्छ त्यहाँ जान्छु र मलाई जान निषेध गरिएका ठाउँहरूमा म जाँदिनँ।” पिटाइ नखाए पनि, ती त्यहाँ जाँदैनन्; तिनमा आत्म-सम्मानको बोध हुन्छ। लाज भनेको के हो भन्ने कुरा कुकुरलाई समेत थाहा हुन्छ भने मानिसहरूलाई किन थाहा हुँदैन? के लाज नभएकाहरूलाई पशुका रूपमा वर्गीकरण गर्नु अतियुक्ति हुन्छ? (हुँदैन।) यो पटक्कै अतियुक्ति हुँदैन; धेरैजसो मानिसहरूमा कुकुरको जस्तो सद्गुणसमेत हुँदैन। भविष्यमा, जब हामी कतिपय मानिसहरूलाई पशु भन्छौँ, तब हामीले तिनीहरूलाई “कुकुर जस्ता पशु” भनेर भन्न छोड्नुपर्छ; त्यसो भनेमा कुकुरहरूको अपमान हुनेछ, किनभने यी मानिसहरू, यी पशुहरू कुकुरभन्दा पनि खराब हुन्छन्। त्यसकारण, त्यस्ता मानिसहरूले एकपटक मण्डली जीवनमा वा दाजुभाइ-दिदीबहिनीहरूको कर्तव्य निर्वाहमा बाधा दिएपछि, तिनीहरूलाई तुरुन्तै निकाल्नैपर्छ—यो उचित, न्यायसङ्गत मात्रै हुन्छ, र अतियुक्ति हुँदै हुँदैन। यो प्रेमहीन हुनु होइन; यो त सिद्धान्त अनुसार व्यवहार गर्नु हो। लम्पट र असंयमित मानिसहरूले आफ्नो कर्तव्यमा केही परिणामहरू देखाए पनि, के तिनीहरूले मुक्ति पाउन सक्छन्? के तिनीहरू सत्यता स्वीकार गर्ने मानिस हुन्? तिनीहरूले आफ्नो व्यवहारलाई समेत नियन्त्रण गर्न सक्दैनन्, त्यसकारण के तिनीहरूले सत्यता स्वीकार गर्न सक्छन्? तिनीहरूले आफ्नै निष्ठा र गरिमा कायम राख्न सक्दैनन्, त्यसकारण के तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्? त्यो असम्भव छ। त्यसकारण, यी व्यक्तिहरूलाई यसरी सम्हाल्नु पटक्कै अतियुक्ति हुँदैन; यो पूर्ण रूपमा सिद्धान्तमा आधारित छ, र यो पूर्ण रूपमा परमेश्‍वरका चुनिएका मानिसहरूलाई शैतानका बाधाहरूबाट रक्षा गर्ने उद्देश्यका लागि हो। सारांशमा, त्यस्ता व्यक्तिहरू पत्ता लगाएपछि, तिनीहरूलाई मैले भर्खरै उल्लेख गरेका विभिन्न सिद्धान्तहरूका आधारमा सोही अनुसार तह लगाइनुपर्छ। के साँच्चै नै लम्पट र असंयमित, र सन्तको शिष्टताविना साँच्चै नै देहमा लिप्त हुने यी मानिसहरूलाई गैरविश्‍वासी र अविश्‍वासी भनेर वर्गीकरण गर्नु अतियुक्ति हुन्छ? (हुँदैन।) तिनीहरूलाई गैरविश्‍वासी र अविश्‍वासीहरूका रूपमा वर्गीकरण गरिने हुनाले, तिनीहरूलाई मण्डलीले निकाल्नुपर्ने विभिन्न प्रकारका दुष्ट मानिसहरूको दर्जामा राख्नु अतियुक्ति हुँदैन। आफ्नो व्यवहार र आनीबानीलाई समेत नियन्त्रण गर्न नसक्ने मानिसहरूले निश्चय नै सत्यता स्वीकार गर्न सक्दैनन्। के सत्यता स्वीकार गर्न नसक्नेहरू सत्यताका शत्रु होइनन् र? (हजुर, हुन्।) के सत्यताका शत्रुहरूलाई दुष्ट मानिसहरूका रूपमा चित्रण गर्नु अतियुक्ति हुन्छ? (हुँदैन।) यो पटक्कै अतियुक्ति हुँदैन। त्यसकारण, तिनीहरूलाई सम्हाल्ने सिद्धान्तहरू पूर्ण रूपमा उचित छन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्