अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२३) खण्ड एक

विषयवस्तु चौध: सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै खुट्ट्याउने, त्यसपछि निकाला वा निष्कासित गर्ने (भाग दुई)

यसअघिको भेलामा, हामीले अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारीबारे सङ्गति गर्‍यौँ: त्यो हो, “सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै खुट्ट्याउने, त्यसपछि निकाला वा निष्कासित गर्ने।” उक्त सङ्गतिले मण्डली भनेको के हो भन्ने कुराको एउटा पक्ष समेटेको थियो। मण्डलीको परिभाषाबारे सङ्गति गरेपछि, के तिमीहरू यो र अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारीबीचको सम्बन्धबारे प्रस्ट छौ? (परमेश्‍वरले मण्डलीको परिभाषाबारे सङ्गति गर्नुभएपछि, हामीले किन मण्डलीहरू अस्तित्वमा हुन्छन्, मण्डलीले खेल्ने भूमिका के हो, र मण्डलीले गर्ने काम के हो भन्ने बुझ्यौँ। यसका आधारमा, हामीले मण्डलीमा कुन मानिसहरूले बाधा र अवरोधहरू सिर्जना गरिरहेका छन्, र सकारात्मक भूमिका खेलिरहेका छैनन् भनेर खुट्ट्याउन, अनि त्यसपछि यी मानिसहरूलाई निकाल्न वा निष्कासित गर्न सक्छौँ।) मण्डली के हो भन्ने कुरा बुझेपछि, अगुवा र कामदारहरूले परमेश्‍वरले किन मण्डलीहरू स्थापना गर्नुहुन्छ, मण्डलीको गठनले मानिसहरूमाथि कस्तो प्रभाव पार्छ, मण्डलीहरूले गर्नुपर्ने काम के हो, कस्ता प्रकारका मानिसहरू मिलेर मण्डली बन्छ, र कस्ता मानिसहरू साँचो दाजुभाइ-दिदीबहिनीहरू हुन् भन्ने कुरा जान्नुपर्छ। यी कुराहरू बुझेपछि र जानेपछि, तिमीहरूसँग “सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै खुट्ट्याउने, त्यसपछि निकाला वा निष्कासित गर्ने” भन्ने चौधौँ जिम्मेवारीमा रेखाङ्कित कामका सिद्धान्तहरूको एउटा आधारभूत अवधारणा र परिभाषा, साथै एउटा जग हुन्छ। यो तिमीहरू सिद्धान्त र दर्शनको हिसाबले प्रस्ट हुनुपर्ने र तिमीहरूले बुझ्नुपर्ने कुरा हो। यो बुझेपछि, अगुवा र कामदारहरूले वहन गर्नुपर्ने पहिलो काम भनेको सबै किसिमका दुष्ट मानिसहरूलाई खुट्ट्याउनु हो। यसो गर्ने मानक र सिद्धान्तहरू के-के हुन्? सबै किसिमका दुष्ट मानिसहरूलाई खुट्ट्याउने काम मण्डलीको परिभाषा, मण्डलीको अस्तित्वको महत्त्व र मूल्य, र परमेश्‍वरले मण्डली स्थापना गरेर गर्न चाहनुभएको काममा आधारित हुनुपर्छ। यसअघि, विभिन्न किसिमका दुष्ट मानिसहरूलाई खुट्ट्याउने मानक र आधारहरूलाई तीन मुख्य वर्गमा विभाजन गरिएको थियो। यी तीन वर्गहरू के-के हुन्? (व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य, व्यक्तिको मानवता, र आफ्नो कर्तव्यप्रति व्यक्तिको मनोवृत्ति।) के यी तीन मुख्य वर्गहरू पर्याप्त रूपमा विशिष्ट र बृहत् छन्? कतिपय मानिसहरू भन्छन्, “सबै किसिमका मानिसहरूलाई खुट्ट्याउने काम उनीहरूले सत्यतालाई कुन हदसम्म प्रेम गर्छन्, अनि उनीहरू कुन हदसम्म परमेश्‍वरमा समर्पित हुन्छन् र परमेश्‍वरको डर मान्छन् भन्ने कुरामा आधारित नभएर, उनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य, उनीहरूको मानवता, र आफ्नो कर्तव्यप्रति उनीहरूको मनोवृत्तिमा किन आधारित हुन्छ? के यी मानकहरू अत्यन्तै न्यून छैनन् र? अर्को शब्दमा, यी तीन वर्गको विशिष्ट विषयवस्तुलाई मूल्याङ्कन गर्दा, किन परमेश्‍वर र सत्यताप्रति मानिसहरूको मनोवृत्तिबारे अझ गहन छलफल हुँदैन? मानिसहरू काटछाँट, न्याय, र सजाय स्विकार्न इच्छुक छन् कि छैनन्, उनीहरूमा परमेश्‍वरमा समर्पित हुने र उहाँको डर मान्ने हृदय छ कि छैन, र सत्यतासम्बन्धी अन्य अझ गहन कुराहरू किन उल्लेख नै गरिँदैन?” के तिमीहरूले कहिल्यै यस प्रश्नबारे सोचेका छौ? अहिलेका लागि यो विषयमा प्रवेश नगरौँ। पहिला तीनवटा मापदण्डहरू हेरौँ: मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य, उनीहरूको मानवता, र आफ्नो कर्तव्यप्रति उनीहरूको मनोवृत्ति। तिनका शीर्षकलाई मूल्याङ्कन गर्दा, यी तीनवटा मापदण्डहरू सतही छन् कि छैनन्? यदि कुनै व्यक्ति यी तीनवटा सबैभन्दा आधारभूत मापदण्डका सन्दर्भमा मानकअनुरूप छैन भने, के उसलाई दाजुभाइ वा दिदीबहिनी भन्न मिल्छ? (मिल्दैन।) के उसलाई मण्डली सदस्य मान्न सकिन्छ? के उसले मण्डलीको हिस्साका रूपमा परमेश्‍वरको मान्यता पाउन सक्छ? (सक्दैन।) उसका लागि यी कुनै पनि कुरा सम्भव हुँदैन। त्यसकारण, यदि कुनै व्यक्ति यी तीनमध्ये कुनै पनि मापदण्डका सम्बन्धमा अपर्याप्त वा निम्नस्तरीय छ भने, त्यस्ता व्यक्तिहरू खुट्ट्याइनुपर्छ; उनीहरू विभिन्न किसिमका दुष्ट मानिसहरूका दर्जामा पर्छन्, र उनीहरूलाई निकाल्नुपर्छ वा निष्कासन गरिनुपर्छ। कुनै व्यक्ति दाजुभाइ वा दिदीबहिनी हो कि होइन, परमेश्‍वरद्वारा मान्यता प्राप्त छ कि छैन, वा मण्डलीले स्विकार्नुपर्ने सदस्य हो कि होइन भन्ने कुरा कम्तीमा पनि ऊ मानकअनुरूप छ कि छैन र ऊ ती तीन मापदण्डका सम्बन्धमा योग्य ठहरिन्छ कि ठहरिँदैन भन्ने कुरामा निर्भर हुन्छ। यदि उसले यी तीनवटा मापदण्डहरू समेत पूरा गर्दैन भने, ऊ निश्चित रूपमा नै दाजुभाइ वा दिदीबहिनी होइन। स्वतः, परमेश्‍वरले उसलाई मान्यता दिनुहुन्न, र मण्डलीले पनि उसलाई स्विकार्नु हुँदैन। त्यसोभए, मण्डलीले उसलाई कस्तो व्यवहार गर्नुपर्छ र कसरी सम्हाल्नुपर्छ? (तिनीहरूलाई निकाल्नुपर्छ वा निष्कासन गर्नुपर्छ।) उसलाई खुट्ट्याइसकेपछि, निकाल्नुपर्छ वा निष्कासित गर्नुपर्छ। ठ्याक्कै त्यही नै हो।

विभिन्न प्रकारका दुष्ट मानिसहरूलाई खुट्ट्याउने मानक र आधारहरू

अ. व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्यका आधारमा

घ. अवसरवादमा संलग्न हुनु

यसअघिको भेलामा, हामीले परमेश्‍वरमा विश्‍वास गर्नुका तीनवटा उद्देश्यहरूबारे सङ्गति गरेर तिनलाई सूचिकृत गर्‍यौँ। यदि हामीले तिनलाई शीर्षकका रूपमा सूचिकृत गर्ने हो भने, पहिलो शीर्षक अधिकारी बन्ने चाहना पूरा गर्नु हो; दोस्रो विपरीतलिङ्गी खोज्नु हो; र तेस्रो प्रकोपहरूबाट जोगिनु हो। हामीले यी तीनवटा उद्देश्यहरूबारे सङ्गति गरिसकेका छौँ। यसपछि, हामी चौथो उद्देश्यबारे सङ्गति गर्नेछौँ: कतिपय मानिसहरू विशुद्ध रूपमा अवसरवादी कारणहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्, त्यसैले यस उद्देश्यको शीर्षक “अवसरवादमा संलग्न हुनु” भन्ने हो। कतिपय मानिसहरूले धार्मिक संसारका सबै धर्म र सम्प्रदायहरू उजाड छन् र तिनमा पवित्र आत्माको काम छैन भन्ने देख्छन्—मानिसहरूको आस्था र प्रेम ठण्डा भएका छन्, मानिसहरू आफै झन्झन् पतित बनेका छन् र उनीहरूले मुक्तिको कुनै आशा देख्दैनन्, र मानिसहरूले धेरै वर्ष प्रभुमा विश्‍वास गरेपछि पनि केही पनि प्राप्त गरेका छैनन्। धार्मिक संसार पूर्ण रूपमा बन्जर जमिनमा परिणत भएको देखेर, उनीहरूले आफ्ना लागि अघि बढ्ने मार्ग खोज्छन्। उनीहरू मनन गर्छन्, “अहिले कुन मण्डलीमा धेरै मानिसहरू छन्, कुन मण्डली फस्टाइरहेको छ, र कुनमा विकासमा सम्भाव्यताहरू छन्?” उनीहरूले धार्मिक संसारद्वारा प्रतिरोध र निन्दा गरिएको सर्वशक्तिमान् परमेश्‍वरको मण्डली फस्टाइरहेको, त्यससँग पवित्र आत्माको काम भएको, र त्यो देशभित्र र वैदेशिक दुवै रूपमा राम्ररी विकास भइरहेको पाउँछन्। उनीहरू सोच्छन्, “मैले यस मण्डलीको सदस्यता बढिरहेको छ, यसको राम्रो विकास भइरहेको छ, र यससँग प्रचुर जनशक्ति, भौतिक स्रोत, र आर्थिक स्रोत छ, साथै योसँग विकासका सम्भाव्यताहरू छन् भन्ने सुनेको छु। यदि म यो मौका छोपेर उनीहरूको मण्डलीमा आबद्ध भएँ भने, के मैले केही फाइदाहरू प्राप्त गर्न सक्नेछैनँ र? के मैले आफ्ना लागि राम्रा सम्भाव्यताहरू सुनिश्चित गर्नेछैनँ र?” यस्तो अभिप्राय र उद्देश्य, अनि थोरै जिज्ञासा बोकेर, उनीहरू मण्डलीमा घुसपैठ गर्छन्। यी मानिसहरूले मण्डलीमा घुसपैठ गरेपछि, उनीहरूलाई सत्यतामा, परमेश्‍वरमा विश्‍वास गर्नमा, वा आफ्नो जीवन स्वभावको रूपान्तरणमा रुचि हुँदैन। उनीहरू मण्डलीमा आबद्ध हुनुको उद्देश्य एक जना समर्थक वा बस्ने ठाउँ फेला पार्नु र आफूले चाहेका सम्भाव्यताहरू प्राप्त गर्नु हो। वास्तवमा, हृदयमा उनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नमा, परमेश्‍वरले व्यक्त गर्ने सत्यताहरूमा, वा परमेश्‍वरले गर्ने मुक्तिको काममा कुनै रुचि हुँदैन, र उनीहरू यी कुराहरूका बारेमा सुन्न वा खोजी गर्न चाहँदैनन्। विशेष गरी, उनीहरूलाई परमेश्‍वरको काम र पवित्र आत्माको काममा रुचि पटक्कै हुँदैन। यी मानिसहरू समाजका अवसरवादीहरू जस्तै हुन् जो, जुनसुकै उद्योगमा आबद्ध भए पनि, प्रसिद्धि, लाभ र हैसियत प्राप्त गर्ने अवसरहरू फेला पार्नका लागि मात्र त्यसो गर्छन्, र केवल आफ्ना सम्भाव्यताहरू र नियतिका खातिर लगानी गर्ने र मूल्य तिर्ने गर्छन्। उनीहरूले आफूले हाम फालेको क्षेत्र वा उद्योगमा अहिले कुनै प्रस्ट सम्भाव्यताहरू छैनन्, वा यो उद्योगले उनीहरूलाई आफ्ना सबल पक्षहरू देखाउन र संसारमा उठ्न दिँदैन भन्ने थाहा पाएपछि, उनीहरूले जागिर परिवर्तन गर्ने कि अर्कै उद्योगमा लाग्ने भनेर मनमा बारम्बार लेखाजोखा गर्छन्। उनीहरूले गर्ने जुनसुकै काममा, त्यस्ता मानिसहरू सधैँ कुनै चाल चाल्ने अवसर पर्खिरहेका हुन्छन्; उनीहरूसँग मण्डलीमा आबद्ध हुनुको एउटा अभिप्राय र उद्देश्य हुन्छ। जब मण्डली फस्टाइरहेको हुन्छ, जब त्यो अडिग भएर उभिन सक्छ र समाज वा कुनै पनि देशमा त्यसका विकासात्मक सम्भाव्यताहरू हुन्छन्, तब उनीहरू सक्रियता र उत्साहका साथ मण्डलीको काममा हाम फाल्छन्। तर जब मण्डली दबाब वा प्रतिबन्धमा पर्छ, वा त्यसले उनीहरूका व्यक्तिगत चाहना र मागहरू पूरा गर्न सक्दैन, तब उनीहरूले मण्डली छाडेर आफ्ना लागि अघि बढ्ने अर्को उपाय खोज्नुपर्छ कि भनी चिन्तन गर्छन्। प्रस्ट रूपमा, यी मानिसहरू मण्डलीमा आबद्ध हुनुको वास्तविक उद्देश्य उनीहरूलाई सत्यतामा रुचि भएका कारण होइन; उनीहरू परमेश्‍वरको अस्तित्व र मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको नयाँ काम मान्ने आधारमा मण्डलीमा आबद्ध भएका होइनन्। उनीहरूले कुनै मण्डली रोज्दासमेत, उनीहरू चर्चित, धेरै सदस्य भएका ठूलो स्तरको, विशेष गरी देश भित्र र वैदेशिक दुवै हिसाबले निश्चित स्तरको प्रतिष्ठा भएको मण्डली रोज्छन्। उनीहरूका लागि, यस्तो प्रकारको मण्डलीले मात्र उनीहरूका मानकहरू पूरा गर्छ र यस्तो मण्डली मात्र उनीहरूले आकाङ्क्षा गर्ने वा पछ्याउने लक्ष्यहरूसित पूर्ण रूपमा मिल्छ। तर जे भए पनि, उनीहरूले कहिल्यै साँच्चिकै सत्यतामा विश्‍वास गरेका हुँदैनन्, न त परमेश्‍वरको अस्तित्व वा परमेश्‍वरको कामलाई साँचो रूपमा मानेका हुन्छन्। उनीहरूले कहिलेकाहीँ मण्डलीका लागि केही काम गर्ने वा उनीहरू मण्डलीको कामको कुनै पक्षमा होम्मिने झैँ देखिए पनि, हृदयको गहिराइमा, सत्यताप्रति र परमेश्‍वरप्रति उनीहरूको मनोवृत्ति अपरिवर्तित रहन्छ। उनीहरूको मनोवृत्ति के हुन्छ? उनीहरूको स्थिर मनोवृत्ति भनेको अहिलेका लागि केवल पछ्याउने, यस मण्डलीबाट ठ्याक्कै के प्राप्त गर्न सकिन्छ भनेर हेर्ने, परमेश्‍वरका बोलिएका वचनहरू कतिवटा र कुन हदसम्म पूरा हुन सक्छन् भनेर हेर्ने, अनि परमेश्‍वरले मानिसलाई प्रतिज्ञा गर्नुभएका आशिष्‌हरू कहिले प्राप्त गर्न सकिन्छ, र यी आशिष्‌हरू अल्पकालीन रूपमा देखिन र पूरा हुन सक्छन् कि सक्दैनन् भनेर हेर्ने हुन्छ। उनीहरूको मनोवृत्ति सधैँ यस्तै हुन्छ। उनीहरू परमेश्‍वरको घरमा जिज्ञासा र प्रयास गरेर हेर्ने चाहना, अनि यदि परमेश्‍वरका वचनहरू पूरा भए र साकार भए भने उनीहरूले आशिष्‌हरू पाउनेछन् र उनीहरूले केही गुमाउनेछैनन् भन्ने मनोवृत्ति बोकेर आएका हुन्छन्। त्यस्ता मानिसहरू परमेश्‍वरको घरमा आउँछन् र, उनीहरू अरूसित मिलनसार भएको, उनीहरूले नियमहरू पालन गर्ने, बाधा वा अवरोधहरू सिर्जना नगर्ने, र उपद्रव नगर्ने झैँ देखिए पनि, परमेश्‍वर र सत्यताप्रति उनीहरूको मनोवृत्तिका आधारमा उनीहरूलाई स्पष्ट अविश्‍वासीका रूपमा पहिचान गर्न सकिन्छ।

अवसर छोपेर आशिष् पाउन मात्र परमेश्‍वरमा विश्‍वास गर्ने, र सत्यता प्राप्त गर्ने कुनै चाहना नभएका अविश्‍वासीहरूको प्रकारलाई हामी कसरी खुट्ट्याउन सक्छौँ? तिनीहरूले जति धेरै प्रवचन सुने पनि, तिनीहरूसँग जे-जसरी सत्यता सङ्गति गरिए पनि, मानिसहरू र विभिन्‍न कामकुराहरूप्रतिका तिनीहरूका सोच र विचारहरू, तिनीहरूका जीवनदृष्टि र मूल्यमान्यताहरू कहिल्यै परिवर्तन हुँदैनन्। किन यस्तो हुन्छ? किनभने तिनीहरूले परमेश्‍वरका वचनहरू गम्भीरतासाथ कहिल्यै मनन गर्दैनन् र परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यताहरू वा विभिन्‍न समस्याहरूबारे परमेश्‍वरले भन्‍नुभएका कुराहरू पटक्कै स्वीकार गर्दैनन्। तिनीहरू आफ्नै दृष्टिकोण र शैतानका दर्शनहरूमा मात्रै टाँसिरहन्छन्। तिनीहरूको हृदयमा, तिनीहरू अझै पनि शैतानका दर्शन र तर्कहरू नै ठीक र सही छन् भन्‍ने विश्‍वास गर्छन्। उदाहरणका लागि, “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ”, “जसले उपहार ल्यायो, उही हाकिमको प्यारो,” वा “असल व्यक्तिको जीवनमा शान्ति हुन्छ।” यसो भन्‍नेहरू पनि छन्, “जब मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्, तब तिनीहरू असल हुनुपर्छ, र यसको अर्थ कहिल्यै ज्यान नलिनु हो; ज्यान लिनु पाप हो, र परमेश्‍वरका लागि यो अक्षम्य कुरा हो।” यो कस्तो दृष्टिकोण हो? यो बौद्ध दृष्टिकोण हो। बौद्ध दृष्टिकोण मानिसहरूका धारणा र कल्पनाहरूसँग मिल्ने भए पनि यसमा कुनै सत्यता छैन। परमेश्‍वरमाथिको आस्था परमेश्‍वरका वचनहरूमा आधारित हुनुपर्छ; परमेश्‍वरका वचनहरू मात्रै सत्यता हुन्। परमेश्‍वरमाथिको आफ्नो आस्थामा, कतिपय मानिसहरूले त गैरविश्‍वासीहरूका बेतुका दृष्टिकोणहरू र धार्मिक संसारका गलत सिद्धान्तहरूलाई समेत सत्यताका रूपमा स्वीकार गर्छन्, र ती कुरालाई प्रिय ठान्छन् र तिनीहरू ती कुरामै टाँसिन्छन्। के यी मानिसहरू सत्यता स्वीकार गर्नेहरू हुन् त? तिनीहरूले मानिसका शब्दहरू र परमेश्‍वरका वचनहरूबीच, वा दियाबलसहरू र शैतान अनि एक मात्र साँचो परमेश्‍वर, सृष्टिकर्ताबीच भिन्‍नता छुट्याउन सक्दैनन्। तिनीहरूले परमेश्‍वरलाई प्रार्थना गर्ने वा सत्यता खोजी गर्ने गर्दैनन्, न त तिनीहरूले परमेश्‍वरले व्यक्त गर्नुभएका कुनै सत्यता नै स्वीकार गर्छन्। मानिसहरू, बाहिरी संसार, र अरू सबै मामलाहरूप्रतिको तिनीहरूको सोच र दृष्टिकोण कहिल्यै परिवर्तन हुँदैन। तिनीहरू आफूले सधैँ राख्दैआएका दृष्टिकोणहरूमै टाँसिन्छन्, जुन परम्परागत संस्कृतिबाट आउँछन्। ती दृष्टिकोणहरू जति नै बेतुका भए पनि, त्यो तिनीहरूले महसुस गर्न सक्दैनन्, र तिनीहरूले अझै ती गलत दृष्टिकोणहरूलाई दह्रिलो गरी समातिरहन्छन् र तिनलाई त्याग्दै त्याग्दैनन्। अविश्‍वासीको एउटा प्रकटीकरण यही हो। अर्कोचाहिँ के हो? मण्डलीको आकार बढ्दै जाँदा र समाजमा यसको हैसियत निरन्तर बढ्दै जाँदा, तिनीहरूको जोस, भावना, र आस्था परिवर्तन हुन्छ। उदाहरणका लागि, जब मण्डलीको काम विदेशमा फैलियो र यसको आकार बढ्यो, र जब सुसमाचारको काम पूर्ण रूपमा फैलियो, तब तिनीहरूले यो देखे र तुरुन्तै उत्साहित भए। तिनीहरूलाई मण्डली झन्-झन् प्रभावशाली हुँदै गइरहेको छ र यसले अबदेखि सरकारको दमन र सतावट भोग्‍नेछैन भन्‍ने लाग्यो, तिनीहरूले परमेश्‍वरमाथिको तिनीहरूको आस्थामा आशा छ, तिनीहरूले आफ्नो शिर ठाडो पार्न सक्छन् भन्‍ने विश्‍वास गरे; र त्यसैकारण तिनीहरूले परमेश्‍वरमा विश्वास गरेर सही दाउ खेलेका, र तिनीहरूको दाउले अन्ततः फल फलाउनेछ भन्‍ने लाग्यो। तिनीहरूलाई आशिष्‌हरू प्राप्त गर्ने तिनीहरूको मौका झन्झन् ठूलो हुँदै गइरहेको छ भन्‍ने लाग्यो र तिनीहरू बल्ल हर्षित हुन थाले। पहिलेका वर्षहरूमा, तिनीहरूले प्रायजसो ठूलो रातो अजिङ्गरले इसाईहरूलाई पक्राउ र दमन गरेको देखेका हुनाले, तिनीहरूलाई दमन, पीडा, र वेदना महसुस हुन्थ्यो। तिनीहरूले किन वेदना महसुस गर्थे? किनभने मण्डली सङ्कटग्रस्त थियो, र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेर सही निर्णय गरे कि गरेनन् भनेर तिनीहरू चिन्तित हुन्थे, र त्योभन्दा पनि बढी, तिनीहरू मण्डलीमा बस्‍नुपर्छ कि छोडेर जानुपर्छ भन्‍ने सोचेर पनि सुर्ता र चिन्ता गर्थे। ती वर्षहरूमा, मण्डलीले जस्तोसुकै प्रतिकूल परिस्थितिहरू सामना गरे पनि, यसले तिनीहरूको भावनामा असर पार्थ्यो; मण्डलीले जुनसुकै काम गरिरहेको भए पनि र समाजमा मण्डलीको प्रतिष्ठा र हैसियतमा चाहे जसरी उतारचढाव भए पनि, यसले तिनीहरूको भावना र मुडमा असर पार्थ्यो। तिनीहरू बस्नुपर्छ कि जानुपर्छ भन्‍ने प्रश्‍न सधैँ तिनीहरूको मनमा रहिरहन्थ्यो। त्यस्ता मानिसहरू अविश्‍वासीहरू हुन्, होइनन् र? जब मण्डलीलाई राष्ट्रिय सरकारले निन्दा र दमन गर्छ, वा जब विश्‍वासीहरूलाई पक्राउ गरिन्छ वा तिनीहरूलाई धार्मिक संसारले आलोचना, निन्दा, बदनाम, र इन्कार गर्छ, तब तिनीहरूलाई मण्डलीमा आबद्ध भएकोमा गहन रूपमा अपमानित र असाध्यै लाज र बदनामी भएकोसमेत महसुस हुन्छ; तिनीहरूको हृदय डगमगाउँछ र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेकोमा र मण्डलीमा आबद्ध भएकोमा पछुतो गर्छन्। तिनीहरूले कहिल्यै मण्डलीका हर्ष र कष्टहरू दुवैमा सहभागी हुने, वा ख्रीष्टसँगसँगै कष्ट भोग्‍ने कुनै अभिप्राय राख्दैनन्। बरु, जब मण्डली फस्टाइरहेको हुन्छ, तब आस्थाले भरिँदै तिनीहरू देखा पर्छन्, तर जब मण्डलीलाई सतावट, इन्कार, दमन, र निन्दा गरिन्छ, तब तिनीहरू भाग्‍न, र छोडेर जान चाहन्छन्। जब तिनीहरूले आशिष्‌ प्राप्तिको कुनै आशा, वा राज्यको सुसमाचार फैलिने कुनै आशा देख्‍न सक्दैनन्, तब तिनीहरूलाई अझै बढी छोडेर जान मन लाग्छ। जब तिनीहरूले परमेश्‍वरका वचनहरू पूरा भएको देख्दैनन्, र तिनीहरूलाई महाविपत्तिहरू कहिले आइपर्नेछन् र कहिले समाप्त हुनेछन्, वा ख्रीष्टको राज्य कहिले साकार हुनेछ भन्‍ने थाहा हुँदैन, तब तिनीहरू अनिश्‍चित रूपमा डगमगाउँछन् र मनमा शान्तिका साथ आफ्नो कर्तव्य पूरा गर्न सक्दैनन्। जब पनि यस्तो हुन्छ, तब तिनीहरू परमेश्‍वरलाई छोडेर जान, मण्डली छोडेर जान र उम्कने बाटो खोज्न चाहन्छन्। त्यस्ता मानिसहरू अविश्‍वासीहरू हुन्, होइनन् र? तिनीहरूको हरेक चाल तिनीहरूका आफ्नै देहगत हितहरूका लागि हुन्छ। परमेश्‍वरको काम अनुभव गरेर, वा उहाँका वचनहरू पढेर, सत्यता सङ्गति गरेर, अनि मण्डली जीवन जिएर तिनीहरूको विचार र दृष्टिकोणहरू बिस्तारै परिवर्तन हुने कहिल्यै हुनेछैन। जब तिनीहरूमाथि कुनै कुरा आइपर्छ, तब तिनीहरूले कहिल्यै सत्यता खोजी गर्ने, वा यसबारे परमेश्‍वरका वचनहरूले के भन्छन्, परमेश्‍वरका अभिप्रायहरू के-के हुन्, परमेश्‍वरले मानिसहरूलाई कसरी मार्गदर्शन गर्नुहुन्छ, वा उहाँले मानिसहरूबाट के माग गर्नुहुन्छ भनेर खोजी गर्ने गर्दैनन्। मण्डलीमा आबद्ध हुनुपछाडिको तिनीहरूको एउटै उद्देश्य भनेको मण्डलीले कहिले आफ्नो शिर “ठाडो पार्न सक्‍ने” दिन आउँछ ताकि तिनीहरूले सधैँ चाहना गरेका फाइदाहरू हत्याउन सक्छन् भनेर प्रतीक्षा गर्नु हो। अवश्य नै, तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्‍ने देखेका हुनाले पनि तिनीहरू मण्डलीमा जोडिएका हुन्छन्—तर तिनीहरू सत्यता पटक्‍कै स्वीकार नगर्ने खालका हुन्छन्, र परमेश्‍वरका सबै वचन पूरा हुनेछन् भन्‍ने कुरा तिनीहरू विश्‍वास गर्दैनन्। त्यसोभए तिमीहरू के भन्छौ, के त्यस्ता मानिसहरू अविश्‍वासीहरू हुन्? (हुन्।) मण्डली वा बाहिरी संसारमा जेसुकै भए पनि, तिनीहरूले आफ्नो हितमा कति असर पर्नेछ, र यसले आफूले पछ्याउने उद्देश्यहरूमा कति ठूलो असर पार्नेछ भनेर मापन गर्छन्। समस्याको अलिकति लक्षण देख्‍नेबित्तिकै, तिनीहरूले तुरुन्तै आफ्‍ना सम्भाव्यता, हितहरू, र आफू मण्डलीमा बस्‍नुपर्छ कि छोडेर जानुपर्छ भन्‍नेबारे अत्यन्तै प्रखरतासाथ विचार गर्छन्। कतिपय मानिसहरू त यस्तो कुरा पनि सोधिरहन्छन्, “परमेश्‍वरको काम समाप्त हुनेछ भनेर गएको वर्ष भनिएको थियो—त्यसोभए किन यो अझै जारी छ? परमेश्‍वरको काम ठ्याक्‍कै कुन वर्ष समाप्त हुने हो? के मैले जान्‍न पाउँदिनँ र? मैले पर्याप्त समय कष्ट सहेको छु, मेरो समय बहुमूल्य छ, मेरो जवानी बहुमूल्य छ—तपाईंले मलाई यसरी अल्झाएर राख्‍न मिल्छ र?” तिनीहरू परमेश्‍वरका वचनहरू पूरा भएका छन् कि छैनन् भन्‍ने कुराप्रति, मण्डलीको अवस्था, र यसको हैसियत र प्रतिष्ठाप्रति निकै संवेदनशील हुन्छन्। तिनीहरू आफू सत्यता प्राप्त गर्न सक्षम छु कि छैन वा आफूलाई मुक्ति दिन सकिन्छ कि सकिँदैन भन्‍ने कुराको वास्ता गर्दैनन्, तर तिनीहरू आफू बाँच्न सक्छु कि सक्दिनँ, र परमेश्‍वरको घरमा बसेर आफूले फाइदा र आशिष्‌हरू प्राप्त गर्न सक्छु कि सक्दिनँ भन्‍ने कुराप्रति भने अत्यन्तै संवेदनशील हुन्छन्। त्यस्ता मानिसहरू आशिष् पाउने आफ्नो चाहनाका हिसाबमा अवसरवादी हुन्छन्। तिनीहरूले अन्त्यसम्‍मै विश्‍वास गरे पनि अझै सत्यता बुझ्नेछैनन्, र तिनीहरूसँग भन्नका लागि कुनै अनुभवात्मक गवाही हुनेछैन। के तिमीहरूले यस्ता मानिसहरू भेटेका छौ? वास्तवमा, त्यस्ता मानिसहरू हरेक मण्डलीमा हुन्छन्। तिमीहरूले तिनीहरूलाई खुट्ट्याउनका लागि ध्यान दिनुपर्छ। त्यस्ता मानिसहरू सबै अविश्‍वासीहरू हुन्, तिनीहरू परमेश्‍वरको घरका लागि घातक तत्त्व हुन्, तिनीहरूले मण्डलीलाई ठूलो हानि गर्नेछन् र कुनै फाइदा ल्याउनेछैनन्, र तिनीहरूलाई मण्डलीबाट निकाल्नुपर्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्