अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२२) खण्ड तीन

विभिन्न प्रकारका दुष्ट मानिसहरूलाई खुट्ट्याउने मानक र आधारहरू

अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारीमा फर्कौँ: “सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै खुट्ट्याउने, त्यसपछि निकाला वा निष्कासित गर्ने।” अगुवा र कामदारहरूले गर्नैपर्ने यो काम मैले भर्खरै सङ्गति गरेको मण्डलीहरूबारेको हरेक विवरणसँग सम्बन्धित छ कि छैन, हेरौँ। हामीले किन यी विशिष्ट विवरणहरूबारे सङ्गति गर्नु आवश्यक छ? यी विवरणहरू अनि अगुवा र कामदारहरूले गर्नैपर्ने यो कामबीचको सम्बन्ध के हो? (यी दुष्ट मानिस र ख्रीष्टविरोधीहरू मण्डलीका सदस्य होइनन् र तिनीहरूलाई पखालेर हटाउनुपर्छ। यसको साथै, तिनीहरूको अस्तित्वले मण्डलीहरूले गर्ने काममा अवरोध र बाधा पनि दिन्छ।) त्यसकारण, यसमा एउटा सम्बन्ध छ; यो सङ्गति व्यर्थ भएको छैन। मण्डलीको पदवीनाम वा परिभाषाबारे हरेक विवरण बुझेपछि, अगुवा र कामदारहरूले मण्डलीका सदस्यहरूलाई कस्तो व्यवहार गर्नुपर्छ, उनीहरूले मण्डलीबाट निकाला वा निष्कासन गर्नुपर्ने विभिन्न मानिसहरूलाई कसरी व्यवहार गर्नुपर्छ, उनीहरूले कसरी यो काम राम्रोसँग गर्न सक्छन्, र उनीहरूले कसरी आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ र कसरी मण्डलीको काम कायम राख्नुपर्छ भन्ने कुरा जाँचौँ। सबभन्दा पहिला, अगुवा र कामदारहरूले मण्डलीको परिभाषा के हो, मण्डली किन हुनुपर्छ, र मण्डलीले के काम गरिरहेको हुनुपर्छ भनेर बुझ्नैपर्छ। यी कुराहरू बुझेपछि, उनीहरूले मण्डलीको अस्तित्वको मूल्य वा मण्डलीले गर्ने कामबारे मण्डलीका कुन-कुन वर्तमान सदस्यहरूले सकारात्मक भूमिका खेल्दैनन्, वा कसले मण्डलीको सारगत काममा बाधा, अवरोध र नकारात्मक असरहरू पार्न सक्छ, वा मण्डलीको छविमा गम्भीर असर पार्न र परमेश्‍वरको नाउँको अपदोष ल्याउनसमेत सक्छ भन्ने कुरा हेर्नुपर्छ। यी मानिसहरूलाई प्रस्ट रूपमा खुट्ट्याउनु र तुरुन्तै निकाल्नु वा निष्कासित गर्नु—के यो नै अगुवा र कामदारहरूले गर्नुपर्ने काम होइन र? (हो।) त्यसोभए, यो काम राम्रोसँग पूरा गर्नुमा के कुरा संलग्न हुन्छ? सबै प्रकारका दुष्ट मानिसहरूलाई पखाल्न वा निष्कासित गर्न र मण्डलीलाई शुद्ध गर्न, अनि मण्डलीको अस्तित्वको मूल्य प्रकट हुन दिन र मण्डलीलाई यसले पूरा गर्नुपर्ने भूमिका पूरा गर्न दिन, र सँगसँगै मण्डलीको कामलाई सहज रूपमा अघि बढ्न दिनका निम्ति, अगुवा र कामदारहरूले सबभन्दा पहिला मण्डलीका कुन-कुन मानिसहरूचाहिँ दुष्ट मानिस र ख्रीष्टविरोधी हुन् भनेर खुट्ट्याउनैपर्छ। यो काम अघि बढाउँदा अगुवा र कामदारहरूले सुरुमा बोध गर्नुपर्ने जानकारी वा वास्तविक परिस्थिति यही हो। विभिन्न प्रकारका मानिसहरूलाई खुट्ट्याउनु नै यो काममा अगुवा र कामदारहरूले सामना गर्ने पहिलो मामला हो। विभिन्न प्रकारका मानिसहरूलाई खुट्ट्याउनुको उद्देश्य के हो? यसको उद्देश्य तिनीहरूलाई आ-आफ्नै प्रकारअनुसार वर्गीकरण गर्नु र मण्डलीका साँचो सदस्यहरूको सुरक्षा गर्नु हो। तर, यी मानिसहरूको सुरक्षा गर्नु मात्रले चौधौँ जिम्मेवारीमा उल्लेखित काम सफलतापूर्वक अघि बढाइँदै छ भन्ने अर्थ्याउँदैन। त्यसोभए, यो कामलाई सफलतापूर्वक अघि बढाउने सबैभन्दा महत्त्वपूर्ण पक्षचाहिँ के हो त? त्यो पक्ष मण्डलीका नहुने सबै प्रकारका अविश्‍वासी र दुष्ट मानिसहरूलाई निकाल्ने वा निष्कासित गर्ने काम हो। यी मानिसहरू दुष्ट मानिस वा ख्रीष्टविरोधीहरू भनेर चित्रण गरिएका भए वा नभए पनि, यदि तिनीहरू निकाला वा निष्कासित हुने सर्तहरू पूरा गर्छन् भने, यो कामको आवश्यकता उत्पन्न हुन्छ, र त्यसपछि अगुवा र कामदारहरूले आफ्नो जिम्मेवारी पूरा गर्ने समय आएको हुन्छ। अब पहिला हामी विभिन्न प्रकारका मानिसहरूलाई कसरी खुट्ट्याउने भन्नेबारे सङ्गति गरौँ।

अ. व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्यका आधारमा

हामीले विभिन्न प्रकारका मानिसहरूलाई कसरी खुट्ट्याउनुपर्छ? पहिलो मापदण्ड भनेको तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्यका आधारमा तिनीहरूलाई खुट्ट्याउनु हो। दोस्रो मापदण्ड तिनीहरूको मानवताअनुसार खुट्ट्याउनु हो। अनि तेस्रो मापदण्ड आफ्नो कर्तव्यप्रति तिनीहरूको मनोवृत्तिअनुसार खुट्ट्याउनु हो। यदि हामीले सरल, छोटा शीर्षकहरू प्रयोग गर्ने हो भने, ती यस्ता हुनेछन्: पहिलो, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य; दोस्रो, तिनीहरूको मानवता; र तेस्रो, आफ्नो कर्तव्यप्रति तिनीहरूको मनोवृत्ति। अब हामीसँग यी तीन शीर्षकहरू भएकाले, यी प्रत्येकबारे तिमीहरूको बुझाइ के छ? हामीले यसअघि मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्यबारे धेरै छलफल गरेका छैनौँ। हामीले मानिसहरूको मानवता र आफ्नो कर्तव्यप्रतिको उनीहरूको मनोवृत्तिबारे बढी कुरा गरेका छौँ, त्यसकारण तिमीहरू यी कुराहरूसँग बढी परिचित छौ। मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य के हुन्छ भन्‍ने कुरा पनि तिमीहरूको लागि वास्तवमा धेरै नौलो होइन, किनभने तिमीहरू आफै एउटा उद्देश्यसाथ परमेश्‍वरमा विश्‍वास गर्न पुगेका हौ। कतिपय मानिसहरू नरक जान नचाहने हुनाले परमेश्‍वरमा विश्‍वास गर्छन्, त्यस्तै कतिपय स्वर्ग जान चाहेर अनि कतिपय चाहिँ मर्न नचाहेर, कतिपय विपत्तिहरूबाट जोगिन, अनि कतिपय चाहिँ असल मानिस हुने चाहनाका कारण, र कतिपय मानिसहरू दुर्व्यवहारबाट जोगिन, अनि आदि इत्यादि कारणहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्। यो विषय तिमीहरूका लागि नौलो नहुनुपर्ने हो; यति मात्र हो कि मैले चर्चा गर्न लागेका विवरणहरू अलि नौला हुन सक्छन्—मैले तीबारे के भनुँला वा मैले कहाँबाट सुरु गरुँला भन्ने थाहा नभएर तिमीहरू तीबारे अलि अनिश्‍चित हुन सक्छौ। त्यसकारण, यसबारे संक्षिप्त रूपमा कुरा गरौँ। ल भन त, परमेश्‍वरमा विश्‍वास गर्दा कस्ता प्रकारका अभिप्राय र उद्देश्यहरू राख्ने मानिसहरूलाई निकाल्नु वा निष्कासित गर्नुपर्छ? (प्रसिद्धि र हैसियत मात्र पछ्याउने अनि शक्ति मात्र हातमा लिन चाहने, साथै आफ्नो हैसियतका खातिर नैतिकहीन रूपमा मण्डलीलाई बाधा दिनेहरूलाई।) यो एक प्रकारको व्यक्ति हो। अरू पनि छन्? (आशिष्‌हरू मात्र पछ्याउने अनि धित मरुञ्जेल खान खोज्ने अविश्‍वासीहरू।) अविश्‍वासीहरू, यो अर्को प्रकारको व्यक्ति हो। अझै छन्? तिमीहरू केही मानिसहरूका प्रकटीकरणहरूबारे सोचिरहेका हुन सक्छौ, तर तिमीहरूले यी मानिसहरूले भ्रष्ट स्वभावहरू मात्र प्रकट गरिरहेका हुन् कि तिनीहरू वास्तवमै अशुद्ध उद्देश्यहरू बोकेर परमेश्‍वरमा विश्‍वास गर्नेहरू हुन् जसलाई निकाल्नु वा निष्कासित गर्नुपर्छ भनेर प्रस्ट रूपमा खुट्ट्याउन सक्दैनौ। तिमीहरूले यो पत्ता लगाउन सक्दैनौ र यो अलि अस्पष्ट छ भन्ने ठान्छौ, त्यसैले तिमीहरूले यो प्रस्टसित भन्न सक्दैनौ। मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य भन्‍ने विषय निकै फराकिलो छ। परमेश्‍वरमा विश्‍वास गर्नुमा सबैका केही न केही अभिप्राय र उद्देश्यहरू हुन्छन्। तर, हामीले यहाँ कुरा गरिरहेका परमेश्‍वरमा विश्‍वास गर्न अशुद्ध उद्देश्यहरू बोक्‍ने प्रकारका मानिसहरूले परमेश्‍वरको मुक्ति प्राप्त गर्ने सर्तहरू पूरा गर्दैनन्। तिनीहरूले मुक्ति हासिल गर्न सक्दैनन् र तिनीहरू श्रमिक हुने न्यूनतम मानकमा समेत पुग्न सक्दैनन्। यी मानिसहरूको परमेश्‍वरमा विश्‍वास गर्ने उद्देश्य चाहे जे भए पनि, उद्देश्य बोकेर परमेश्‍वरमा विश्‍वास गर्न आउने यी मानिसहरूले, अवसर पाउँदा आफ्ना लक्ष्यहरू हासिल गर्ने प्रयास गर्नेछन्, र यदि तिनीहरूले अवसर पाएनन् भने दुष्टता गर्नेछन् र बाधाहरू सिर्जना गर्नेछन्। यसले मण्डलीको काममा वा परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा अकल्पनीय परिणामहरू ल्याउनेछ, र यी मानिसहरू निकाला वा निष्कासन गरिने पात्रहरू हुनुपर्छ। अहिलेका लागि यी मानिसहरूको मानवता वा आफ्नो कर्तव्यहरूप्रति तिनीहरूले राख्ने मनोवृत्तिहरूलाई पन्छाएर, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्यका सन्दर्भमा मात्र कुरा गर्दा, यो उद्देश्य सत्यता स्विकार्न र मुक्ति हासिल गर्नलाई कदापि हुँदैन, झन् परमेश्‍वरमा समर्पित हुन र उहाँको आराधना गर्नलाई हुन्छ भनेर त कुरै नगरे हुन्छ। त्यसकारण, तिनीहरूको परमेश्‍वरमाथिको विश्‍वासले स्वतः मुक्तिको नतिजामा लाँदैन। यी मानिसहरूलाई मण्डलीमा रहन दिएर परमेश्‍वरका चुनिएका मानिसहरू—साँचो दाजुभाइ-दिदीबहिनी—लाई बाधा दिन दिनुभन्दा तिनीहरूलाई सकेसम्म चाँडो सही रूपमा खुट्ट्याएर चित्रण गर्नु, त्यसपछि तुरुन्तै मण्डलीबाट निकाल्नु नै उचित हुन्छ। तिनीहरूलाई मण्डलीका सदस्य वा दाजुभाइ-दिदीबहिनीहरूझैँ व्यवहार गरिनु हुँदैन। त्यसैले, यसप्रकारका मानिसहरू को हुन् त? भर्खरै, तिमीहरूले केही अवधारणाहरूबारे फराकिलो रूपमा कुरा गर्‍यौ। म केही ठोस उदाहरणहरू दिनेछु, अनि तिमीहरूले ती सुनेपछि बुझ्नेछौ।

क. अधिकारी हुने चाहना पूरा गर्नु

पहिला, मण्डलीबाट निकाल्नु पर्ने वा निष्कासित गर्नुपर्ने पहिलो प्रकारको व्यक्तिबारे कुरा गरौँ। कतिपय मानिस सधैँ समाजमा अधिकारी बन्न र आफ्ना पुर्खाहरूको नाम महिमित तुल्याउन चाहन्छन्, तर उनीहरूका करियरका मार्गहरू असफल हुन्छन्। तर, अधिकारी बन्ने उनीहरूको चाहना बिलकुलै घट्दैन। तर उनीहरूको परिवारको सामाजिक हैसियत उच्च हुँदैन, त्यसकारण उनीहरूले यति सानो चाहनासमेत हासिल गर्न नसकेर, जीवन आशारहित भएको महसुस गर्छन् र संसार अत्यन्तै अन्यायपूर्ण रहेको देख्छन्। उनीहरू आफूसँग केही ज्ञान र दक्षता छ भन्‍ने महसुस गर्छन्, तर कसैले पनि उनीहरूको कदर गर्दैन। उनीहरूले कुनै समर्थक भेट्टाउन सक्दैनन्, र अधिकारी बन्ने सम्भावना उनीहरूका लागि निकै टाढा देखिन्छ। यस्तो व्याकुल परिस्थितिमा, उनीहरूले मण्डली फेला पारे। उनीहरूलाई के लाग्छ भने यदि उनीहरू मण्डलीमा अगुवा बन्न सके, त्यो पनि अधिकारी हुनुजस्तै हो, अनि उनीहरूको चाहना पूरा हुन सक्छ। त्यसकारण, उनीहरू महानता हासिल गर्न चाहँदै परमेश्‍वरको घरमा आउँछन्। उनीहरू आफ्नो दक्षता र सक्षमताहरू ठ्याक्कै परमेश्‍वरको घरमा उपयोग गर्न ठ्याक्कै सही भएको, र यसरी अधिकारी र विशिष्ट व्यक्ति बन्ने आफ्नो आशा साकार गर्न सकिने, र जीवनभरको चाहना पूरा हुने सोच्छन्। परमेश्‍वरमा विश्‍वास गर्नेबारे उनीहरूको विचारलाई यस्ता भनाइहरूमा सारांश गर्न सकिन्छ, जस्तै “गुनको बदला गुनले तिर्नुपर्छ,” “सक्कली सुन अन्तमा चम्किन्छ,” र “बाठो चरोले बलियो हाँगा रोज्छ”—उनीहरू यस्तै प्रकारको पृष्ठभूमिबाट परमेश्‍वरमा विश्‍वास गर्ने मार्ग हिँड्न रोज्छन्। यो व्यक्तिको सार मूल्याङ्कन गर्दा के प्रस्ट हुन्छ भने उसले संसारमा सत्यता छ भनेर विश्‍वास गर्दैन, मुक्तिदाता हुनुहुन्छ भनेर त झनै विश्‍वास गर्दैन। छोटकरीमा भन्दा, उसले एउटै साँचो परमेश्‍वरमा विश्‍वास गर्दैन र सृष्टिकर्ताको अस्तित्वमा त झनै विश्‍वास गर्दैन। बाइबलमा लेखिएको भए पनि अथवा धार्मिक संसारमा प्रचार गरिने भए पनि—कि परमेश्‍वरले संसार र मानवजातिको सृष्टि गर्नुभयो, परमेश्‍वर मानवजातिमाथि सार्वभौम हुनुहुन्छ र मानवजातिलाई अगुवाइ गर्नुहुन्छ—यी सबै भनाइहरू उनीहरूका लागि ऐतिहासिक अभिलेख मात्र हुन्। कसैले तिनको अनुसन्धान गर्दैन, र कसैले तिनलाई पुष्टि गर्न सक्दैन; ती केवल किंवदन्ती र कथा हुन्, एकप्रकारको धार्मिक संस्कृति हुन्। आस्थाबारे उनीहरूको सबैभन्दा आधारभूत बुझाइ नै यही हो। उनीहरू यो बुझाइका साथ परमेश्‍वरमा विश्‍वास गर्न आउँछन्, आफू सही मार्ग हिँडिरहेको, ज्योतिका लागि अन्धकार त्यागेको, र आफू बलियो हाँगा रोज्ने “बाठो चरो” भएको सोच्छन्। अवश्य पनि, उनीहरूले अधिकारी र विशिष्ट व्यक्ति बन्ने आफ्नो रोजाइ र चाहना त्यागेका हुँदैनन्। उनीहरूले यति धेरै मानिसहरू भएको यो विशाल संसारमा, उनीहरूका लागि कुनै ठाउँ छैन र परमेश्‍वरको घरले मात्र उनीहरूलाई आशा दिन सक्छ भन्ने विश्‍वास गर्छन्। मण्डलीमा जिउनाले मात्र उनीहरूलाई आफ्ना प्रतिभाहरू सदुपयोग गर्ने र विशिष्ट व्यक्ति बन्ने उनीहरूको चाहना साकार गर्ने मौका दिन सक्छ। किनभने, उनीहरूको अहिलेको परिस्थितिको दृष्टिकोणमा, बाहिरी संसार झन्झन् दुष्ट र अँध्यारो बनिरहेको छ—यो संसारमा मण्डली मात्र शुद्धताको भूमि हो; संसारमा मण्डली मात्र त्यस्तो ठाउँ हो जसले मानिसहरूलाई आत्मिक भरणपोषण प्रदान गर्न सक्छ, र मण्डली मात्र झन्झन् फस्टाइरहेको छ। उनीहरू त्यस्ता चाहना र उद्देश्यहरू बोकेर परमेश्‍वरमा विश्‍वास गर्न आउँछन्। आस्था राख्न थालेपछि, उनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नेबारे, सत्यता पछ्याउनेबारे, वा सत्यता, परमेश्‍वरको स्वभाव, र परमेश्‍वरको कामसम्बन्धी मामलाहरूबारे केही पनि बुझ्दैनन्। उनीहरूले यी मामलाहरू पछ्याउने वा ध्यान दिने गर्दैनन्। उनीहरूले हृदयमा, हैसियत र अधिकारी पदको चाहना बिलकुलै त्यागेका हुँदैनन्; बरु, उनीहरू मण्डलीमा समय बिताउँदै गर्दा यी धारणा र दृष्टिकोणहरू पक्रिरहेका हुन्छन्। उनीहरू मण्डलीलाई एउटा सामाजिक सङ्गठन, वा धार्मिक समुदायका रूपमा हेर्छन्, अनि परमेश्‍वरको काम र परमेश्‍वरका वचनहरूलाई विश्‍वासीहरूले आफ्नो अन्धविश्‍वासका कारण सिर्जना गरेका भ्रमका रूपमा हेर्छन्। त्यसकारण, जब सत्यता पछ्याउने कुरा आउँछ, जब परमेश्‍वरका वचनहरू र परमेश्‍वरको कामको कुरा आउँछ, तब उनीहरू विकर्षित र प्रतिरोधी महसुस गर्छन्। यदि कसैले कुनै कुरा परमेश्‍वरले गर्नुभएको हो, परमेश्‍वरको सार्वभौमिकता हो, वा परमेश्‍वरको योजनाबद्ध कार्य हो भनेर भन्छ भने, उनीहरू विकर्षित हुन्छन्। तर, उनीहरू जतिसुकै विकर्षित भए पनि, र उनीहरूले सत्यतालाई मान्ने वा स्विकार्ने गरे वा नगरे पनि, अख्तियारको लालसा पूरा गर्न मण्डलीमा हैसियतको पद प्राप्त गर्ने उनीहरूको चाहना कहिल्यै घटेको वा त्यागिएको हुँदैन। उनीहरूमा यस्तो महत्त्वाकाङ्क्षा र चाहना हुने हुनाले, उनीहरूले स्वतः विभिन्न प्रकटीकरणहरू प्रकट गर्छन्। उदाहरणका लागि, उनीहरूले यस्ता कुराहरू भनेर मानिसहरूलाई उक्साउँछन्, जस्तै: “हरेक कुरालाई परमेश्‍वरका वचनहरूमा आधारित बनाउने वा परमेश्‍वरका वचनहरू र परमेश्‍वरसित जोड्ने काम नगर। वास्तवमा, मानिसहरूका धेरै विचार र भनाइहरू सही हुन्छन्; मानिसहरूमा आफ्नै दृष्टिकोण र अडानहरू हुनुपर्छ।” उनीहरू मानिसहरूलाई बहकाउन यी भनाइहरू फैलाउँछन्। त्यो सँगसँगै, उनीहरूले आफ्ना प्रतिभा, वरदान, साथै उनीहरूले संसारमा खेल्न सक्ने विभिन्न रणनीति र चालहरू पनि जोसका साथ प्रस्तुत गर्छन्, मानिसहरूको नजरमा पर्न र तिनीहरूको ध्यान र उच्च सम्मान प्राप्त गर्ने कोसिस गर्छन्। उनीहरूले जोसका साथ प्रदर्शन गर्नुको उनीहरूको उद्देश्य के हो? यसको उद्देश्य मानिसहरूलाई तिनीहरूलाई उच्च ठान्ने र आदर-भावले हेर्ने तुल्याउनु हो; मानिसहरूमाझ हैसियत राख्ने र यसरी आधिकारिक करियर पछ्याउने इच्छा पूरा गर्नु र आफ्ना पुर्खाहरूको नाम महिमित तुल्याउनु हो। मानिसहरूले उनीहरूलाई आदर र प्रशंसा गर्दा, पछ्याउँदा, प्रवर्द्धन गर्दा, पुज्दा, र आदर-भावले हेर्दा, साथै चापलुसी गर्दासमेत उनीहरू सन्तुष्ट हुन्छन्। यति मात्र नभई, उनीहरूले अथक रूपमा यी कुराहरू पछ्याउने र यी कुराहरूमै आनन्द लिनेसमेत गर्छन्। परमेश्‍वरको घरले लगातार रूपमा ख्रीष्टविरोधीहरू, दुष्ट मानिसहरू, र मानिसहरूका विभिन्न भ्रष्ट स्वभावहरूको खुलासा गर्ने भए पनि, उनीहरूले हृदयमा यी कुराहरू तिनीहरूको निन्दाको लायक नरहेको झैँ गरी तिनलाई हेला गर्छन् र यी कुराहरूद्वारा अत्यन्तै विकर्षित हुन्छन्। उनीहरू आफूले संसारमा र समाजमा हासिल गर्न नसकेका चाहनाहरू पूरा गर्न एकोहोरो रूपमा हैसियत र अरूले उनीहरूलाई गर्ने आदर र सम्मान पछ्याउँछन्। त्यसैले, उनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य के हो? उनीहरूको उद्देश्य यस जीवनमा सय गुणा र आउँदो संसारमा अनन्त जीवन प्राप्त गर्नु होइन, र निश्‍चय नै सत्यता स्विकार्ने अनि मुक्ति प्राप्त गर्ने पनि होइन। उनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य सृजित प्राणीका रूपमा काम गर्ने होइन, बरु अधिकारी र मालिक बन्ने, हैसियतका लाभहरूको आनन्द उठाउने हो। मण्डलीमा त्यस्ता मानिसहरू निश्‍चय नै हुन्छन्; मण्डलीमा अवैध रूपमा प्रवेश गर्ने दुष्कर्मीहरू यिनै हुन्। मण्डलीले यस्ता मानिसहरूलाई परमेश्‍वरका चुनिएका मानिसहरूसँग मिसिन कदापि दिँदैन, त्यसकारण निकालिनुपर्ने मानिसहरू यिनै हुन्। के उनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य खुट्ट्याउन सजिलो छ? (छ।) उनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुका अभिप्राय र उद्देश्यहरू, साथै मण्डलीमा उनीहरूका विभिन्न प्रकटीकरणहरूबारे विचार गर्दा, उनीहरू कस्ता प्रकारका मानिसहरू हुन्? (अविश्‍वासीहरू।) हो, उनीहरू अविश्‍वासीहरू हुन्। अविश्‍वासी हुनु बाहेक, उनीहरू आफ्नो अख्तियारको लालसा पूरा गर्न परमेश्‍वरको घरमा हैसियत र सम्भाव्यताहरू पछ्याउन पनि चाहन्छन्। उनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य अधिकारी बन्नु हो। त्यसोभए, यी मानिसहरूलाई पखाल्नुपर्ने कारण के हो? कसैले यसो भन्‍न सक्छ, “यदि अविश्‍वासीहरूले परमेश्‍वरको घरमा श्रम गर्छन्, र मण्डलीका साथीका रूपमा अलिक मदत गर्न सक्छन् भने, के उनीहरूलाई राखिरहनु ठीक होइन र?” के यो भनाइ मान्य छ? (छैन।) यो किन मान्य छैन? (अधिकारी बन्ने उनीहरूको चाहनाले निश्‍चय नै त्यस्ता कामकुरा गर्नतिर डोर्‍याउँछ, जसले अरूलाई बाधा दिन्छ, परमेश्‍वरको घरको कामलाई कुनै फाइदा पुऱ्याउँदैन, अनि दाजुभाइ-दिदीबहिनीहरूको सत्यताको पछ्याइमा असर पार्छ।) तैँले त्यसलाई चाहे जसरी हेरे पनि, अविश्‍वासीहरूले सत्यताको प्रतिरोध गर्छन् र परमेश्‍वरलाई इन्कार्छन्, त्यसकारण परमेश्‍वरको घरले उनीहरूलाई राख्न सक्दैन। उनीहरूले सकारात्मक भूमिका खेल्नेछैनन्। उनीहरू अधिकारी बन्न खोजे पनि वा नखोजे पनि, अविश्‍वासीहरूका रूपमा उनीहरूका टिप्पणी, प्रकटीकरण, र कार्यहरू मात्रले पनि बाधाहरू दिन सक्छन् तर कुनै पनि सकारात्मक प्रभाव पार्नेछैनन्। कतिपय दाजुभाइ-दिदीबहिनीहरूले निश्‍चित वातावरणहरू अनुभव गर्दा यसो भन्छन्, “यो परमेश्‍वरको सार्वभौमिकता हो, र हामी समर्पित हुनैपर्छ।” के अविश्‍वासीहरू समर्पित हुन सक्छन्? उनीहरू बाधा दिन र विरोध गर्न खडा भएनन् भने, त्यो नै काफी हुन्छ। उनीहरूले हृदयमा यस्तोसम्म भन्छन्, “सबथोक परमेश्‍वरको सार्वभौमिकता हो नभन। मानिसहरूसँग पनि आफ्नै केही रायहरू हुनुपर्छ र केही स्वतन्त्रता हुनुपर्छ; सबै कुराको श्रेय परमेश्‍वरको सार्वभौमिकतालाई नदेऊ!” उनीहरूले अरूलाई पछाडि तान्ने मात्र नभई मानिसहरूलाई बहकाउन केही अस्पष्ट, सही लाग्ने तर गलत भ्रमहरू पनि छर्छन्। के यो निर्लज्ज कुरा होइन र? उनीहरूले गैरविश्‍वासीहरूमाझ केही चतुर चालबाजी र चालहरू चल्‍न सक्लान्, तर यी चालबाजी र चालहरू चाल्‍नका लागि परमेश्‍वरको घर गलत ठाउँ हो! कतिपय मानिसहरूले क्लिनिक सञ्चालन गर्छन्, जहाँ सबै जान मन पराउँछन्, किनभने उनीहरू भन्छन्, त्यहाँको सुईले दुख्दैन। सुईले किन दुख्दैन? सुईको टुप्पो एनेस्थेटिकमा डुबाइन्छ, त्यसकारण त्यसले अवश्यै दुखाउँदैन। के यो बुद्धिमानी विधि हो? (होइन, यो दुष्प्रभावी विधि हो।) तैपनि उनीहरूले यसलाई बुद्धिमानी विधिका रूपमा लिन्छन् र यसले उनीहरूको क्षमता र सीप देखाउँछ भन्ने सोचेर यसबारे घमन्ड गर्छन्, र भन्छन्, “तिमी परमेश्‍वरप्रति समर्पित हुनेबारे मात्र, परमेश्‍वरको योजनाबद्ध कार्य, र परमेश्‍वरको सार्वभौमिकताबारे मात्र कुरा गर्छौ। के तिमीसँग ममा भएका सीपहरू छन्?” के यो निर्लज्ज कुरा होइन र? (हो।) उनीहरूले त्यस्ता दुष्प्रभावी चालहरूबारे समेत धाक लगाउँछन्! मण्डलीमा घुसपैठ गर्ने अविश्‍वासीहरूको मनसाय बोकेका मानिसहरू नै मण्डलीबाट निकालिनुपर्ने मानिसहरू हुन्। किन? यी मानिसहरूले हृदयमा सत्यताको प्रतिरोध गर्छन् र सत्यताप्रति वितृष्ण हुन्छन्। उनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य चाहे जेसुकै होस्, त्यो चाहे उनीहरूले खुलस्त रूपमा स्विकार्न सक्ने कुरा भए वा नभए पनि, अविश्‍वासीहरूका रूपमा उनीहरूको सारका आधारमा भन्नुपर्दा, मण्डलीले उनीहरूलाई निकाला वा निष्कासन नै गर्नुपर्छ। यी अविश्‍वासीहरू निश्‍चित उद्देश्यसहित मण्डलीमा घुसपैठ गर्छन्, मण्डलीभित्र आफ्ना प्रतिभाहरू देखाउन, आफ्ना महत्त्वाकाङ्क्षाहरू पूरा गर्न, र आफ्ना चाहनाहरू सन्तुष्ट पार्न चाहन्छन्। उनीहरू मण्डलीजस्तो अमूल्य ठाउँलाई शक्ति हातमा लिने, आफ्नो प्रदर्शन गर्ने, र मानिसहरूलाई भ्रममा र नियन्त्रणमा पार्ने माध्यमका रूपमा प्रयोग गर्न चाहन्छन्। उनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्यलाई ख्याल गर्दा, उनीहरू परमेश्‍वरका चुनिएका मानिसहरू र मण्डलीको कामलाई बाधा र अवरोध दिन सक्षम छन्। त्यसकारण, यी मानिसहरूलाई परमेश्‍वरको घरबाट निकाला वा निष्कासन गर्नैपर्छ। अगुवा र कामदारहरूले उनीहरूको अविश्‍वासी सार छर्लङ्ग देख्नैपर्छ। उनीहरूका प्रकटीकरणहरूमा आधारित भएर होस् वा परमेश्‍वरमा विश्‍वास गर्नेबारे उनीहरूका नियमित भनाइहरूमा आधारित भएर होस्, तैँले परिस्थिति बोध गरेर उनीहरू अविश्‍वासी हुन् भन्ने खुट्ट्याइसकेपछि नहिचकिचाई निर्णायक रूपमा उनीहरूलाई इन्कार्नुपर्छ। तैँले जुनसुकै विधि वा बुद्धि प्रयोग गरेर भए पनि, उनीहरूलाई निकाल्ने कुनै न कुनै उपाय खोज्—यो नै अगुवा र कामदारहरूले गर्नुपर्ने काम हो; यो नै उनीहरूले वहन गर्नुपर्ने काम हो। यो निकाला वा निष्कासन गरिनुपर्ने व्यक्तिको एउटा प्रकार हो।

ख. विपरीत लिङ्गीहरू खोज्नु

अब, निकाला वा निष्कासन गरिनुपर्ने दोस्रो प्रकारका मानिसहरूका प्रकटीकरणहरू के-के हुन्? कतिपय मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्नमा कहिल्यै संलग्न भएका हुँदैनन्; उनीहरूमा यसबारे राम्रो छाप मात्र हुन्छ। उनीहरूलाई परमेश्‍वरमा विश्‍वास गरेर व्यक्तिले के पछ्याउनु वा प्राप्त गर्नुपर्छ भन्ने कुरा जान्ने रुचि हुँदैन। उनीहरूले के सुनेका हुन्छन् भने परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू निकै कर्तव्यनिष्ठ र सोझा हुन्छन्, त्यसैले उनीहरू मण्डलीमै प्रेमजोडी खोज्न र त्यसपछि विवाह गरेर स्थिर जीवन जिउन चाहन्छन्। यो नै उनीहरूको अभिप्राय र उद्देश्य हो, त्यसकारण उनीहरू मण्डलीमा आफ्नो आदर्श जोडी भेट्टाउन आउँछन्। यी अविश्‍वासीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्ने कहीँकतै कुनै रुचि हुँदैन; उनीहरूलाई सृष्टिकर्ताबारे, सत्यताबारे, अनि मुक्ति पाउने, परमेश्‍वरलाई चिन्ने, कर्तव्य पूरा गर्ने, वा त्यस्ता कुनै पनि मामलाहरूबारे कुनै वास्ता हुँदैन। उनीहरूले परमेश्‍वरका वचन र प्रवचनहरू सुनेर कुरा बुझ्न सके पनि, त्यसलाई हृदयमा लिन चाहँदैनन्। उनीहरू केवल एउटा आदर्श जोडी मात्र भेट्टाउन चाहन्छन्, र अवश्य नै, धेरै मानिसहरू भेटेर आफ्नो सञ्जाल फराकिलो पार्ने आशा राख्छन्। उनीहरू एउटा आदर्श जोडी भेट्टाउने उद्देश्यले परमेश्‍वरमा विश्‍वास गर्न आउँछन्। कतिपय मानिसहरूले भन्लान्, “उनीहरूको उद्देश्य यो हो भनेर तपाईंलाई कसरी थाहा भयो? उनीहरूले केही पनि भनेका वा त्यो तपाईंलाई सुनाएका छैनन्!” उनीहरूले त्यो आफ्नो व्यवहारमार्फत देखाउँछन्। उनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा वा कसैसँग सम्पर्क राख्दा कसरी सधैँ विपरीत लिङ्गीहरू खोज्ने गर्छन् भनी हेर्। कुनै व्यक्ति मन पराएपछि, उनीहरू त्यो व्यक्तिसँग सङ्गति गरिरहन्छन् र उसैको नजिक गइरहन्छन्, सधैँ उसकै बारे सोधपुछ गर्छन् र उसकै बारे जान्‍ने प्रयास गरिरहन्छन्। यी असामान्य व्यवहार र प्रकटीकरणहरूले अगुवा र कामदारहरूको पर्याप्त ध्यान तान्नुपर्छ, जसले उनीहरूका अभिप्रायहरू के हुन् र उनीहरू के उद्देश्य हासिल गर्ने लक्ष्य राखेका छन् भनेर नियाल्नुपर्छ; उनीहरूलाई कसले सुसमाचार सुनाए, किन उनीहरू विशेष रूपले विपरीतलिङ्गीहरूसँग सम्पर्क गर्न खोज्छन्, किन उनीहरूसँग विपरीतलिङ्गीहरूलाई भन्नका लागि सधैँ केही न केही हुन्छ, र किन उनीहरू विपरीतलिङ्गीहरूप्रति विशेष झुकाव राख्ने, र विशेष गरी किन आफूलाई मन पर्ने मानिसहरूप्रति विशेष जिज्ञासा र चासो राख्ने गर्छन् भनेर निश्‍चित गर्नुपर्छ। यस्ता व्यक्तिहरूमा परमेश्‍वरमा विश्‍वास गर्नेहरूबारे सकारात्मक छाप हुन्छ। उनीहरूले भेलाहरूमा, प्रवचनहरू सुन्न, परमेश्‍वरका वचनहरू सङ्गति गर्न, भजनहरू गाउन, व्यक्तिगत अनुभवहरू सङ्गति गर्न, र अन्य यस्तै मामलाहरूमा कुनै रुचि नराखे पनि, सामान्यतया बाधा र अवरोधहरू सिर्जना गर्ने कुनै कुरा बोल्दैनन्। उनीहरू प्रेमजोडी खोजेर असल जीवन जिउनमा मात्रै केन्द्रित हुन्छन्। यदि उनीहरूले जोडी भेट्टाएमा, सो जोडीसँगै परमेश्‍वरमा विश्‍वास गर्न सक्छन्; उनीहरू आफैले नपछ्याए पनि आफ्नो जोडीलाई परमेश्‍वरमा विश्‍वास गर्न साथ दिन सक्छन्। कतिपय मानिसहरू तुलनात्मक रूपमा स्वीकार्य मानवता भएका, र सहयोगी हुन्छन्, साथै तिनीहरू मिलनसार र दयालु बन्न सक्दो प्रयास गर्छन्। उदाहरणका लागि, उनीहरू अरूलाई सहन, कठिनाइमा परेकाहरूलाई ती कठिनाइ हल गर्न मदत गर्ने सबै उपाय सोच्न, केही सल्लाह दिन, आदि इत्यादि गर्न सक्छन्। उनीहरू अरूप्रति तुलनात्मक रूपमा दयालु हुन्छन् र कुनै द्वेषभाव राख्दैनन्, तर उनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य र लक्ष्य खासै सम्माननीय हुँदैन। उनीहरू सत्यता पछ्याउँदैनन्, र जोसुकैले उनीहरूसँग सत्यता सङ्गति गरे पनि त्यो स्विकार्दैनन्। आधा वर्ष वा एक-दुई वर्ष पछ्याएपछि पनि उनीहरूमा कुनै बदलाव आउँदैन। उनीहरूले विश्‍वास नगर्नेबारे केही नभन्ने भए पनि र कुनै बाधा वा अवरोधहरू सिर्जना नगर्ने भए पनि, उनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने मामलाहरूमा पनि कुनै रुचि विकास गर्दैनन्। के त्यस्ता मानिसहरू मण्डलीमा रहनु उचित हुन्छ? (हुँदैन।) के त्यस्ता मानिसहरूलाई पखालिदिनुपर्छ? (उनीहरूलाई पनि पखालिदिनुपर्छ।) यसको कारण के हो? (किनभने उनीहरू सत्यतामा रुचि राख्दैनन्, र उनीहरू मुक्तिका पात्र होइनन्। यदि उनीहरू मण्डलीमा रहेर सधैँ जोडी खोजिरहन्छन् भने, त्यसबाट अरूलाई बाधा पुग्नेछ र उनीहरूलाई परीक्षामा डोऱ्याउनेछ; उनीहरूले सकारात्मक भूमिका खेल्नेछैनन्।) कुरा ठ्याक्कै त्यही हो। उदाहरणका लागि, कतिपय मानिसहरू मासु खान निकै मन पराउँछन्। उनीहरूले मासु खाँदा आफ्नो कामै बिर्सन्छन्। यदि मासु छैन भने उनीहरू अझै पनि गर्नुपर्ने केही काम गर्न त सक्छन्, तर मासु हुँदा उनीहरूको काममा ढिलाइ हुन्छ। उनीहरूका लागि मासु के हो? (परीक्षा।) ठ्याक्कै मिलाइस्, त्यो परीक्षा हो। त्यसोभए, के सधैँ जोडीको खोजीमा हुनेहरूलाई परीक्षाको स्रोत मान्न मिल्छ? (मिल्छ।) उनीहरू वास्तवमै परीक्षाका स्रोत हुन्। त्यस्ता मानिसहरूलाई, यो कुरा प्रस्ट पारिनुपर्छ: “तिमीसँग परमेश्‍वरमा विश्‍वास गर्ने वा आफ्नो कर्तव्य पूरा गर्ने कुराप्रति कुनै निष्कपटता छैन। तिमी कहिल्यै मण्डलीमा समाहित हुन सकेका छैनौ र तिमीलाई कहिल्यै साँचो विश्‍वासी मानिएको छैन। यी दुई वर्षको सङ्गतमा, हामीले तिम्रो उद्देश्य देखिसकेका छौँ: तिमी केवल मण्डलीमा एउटा जोडी खोज्न चाहन्छौ। के यसले असल मानिसहरूलाई हानि गरिरहेको छैन र? तिम्रा लागि मण्डलीका मानिसहरू उचित छैनन्। तिम्रा लागि त गैरविश्‍वासीहरूमाझ नै धेरै जना उचित छन्। गएर गैरविश्‍वासीहरूमाझ नै कोही खोज।” यसको आशय उनीहरूलाई यसो भन्नु हो, “हामीले तिमीलाई छर्लङ्गै देखेका छौँ। तिमी परमेश्‍वरका चुनिएका मानिसहरूमा पर्दैनौ। तिमी परमेश्‍वरको घरको व्यक्ति होइनौ। तिमीलाई हाम्रो दाजुभाइ वा दिदीबहिनी मान्न सकिँदैन।” त्यस्ता मानिसहरूलाई परमेश्‍वरको घरका सिद्धान्तहरूअनुसार मण्डलीबाट निकाल्नुपर्छ। यसरी, जथाभाबी रूपमा जोडी खोजिहिँड्ने र अरूलाई फकाउने यी मानिसहरू पखालिनेछन्। के त्यस्ता मानिसहरूलाई खुट्ट्याउन सजिलो छैन र? (छ।) यी मानिसहरू अविश्‍वासी पनि हुन्। उनीहरूमा मण्डलीप्रति, धार्मिक आस्थाप्रति, र परमेश्‍वरमा विश्‍वास गर्नेहरूप्रति थोरै झुकाव हुन्छ। उनीहरू विश्‍वासीहरूमध्येबाट आफूसँग बस्ने र अर्पित भएर आफ्नो सेवा गर्ने जोडी खोज्न, परमेश्‍वरमा विश्‍वास गर्ने अवसर प्रयोग गर्न मात्र चाहन्छन्। ल भन् त, के यस्तो कुरा सम्भव हुन्छ? के हामीले उनीहरूलाई सन्तुष्ट पार्नुपर्छ? के मण्डलीले यस्ता मामलाहरू प्रबन्ध गर्नुपर्छ? (पर्दैन।) मण्डलीसँग उनीहरूका व्यक्तिगत प्राथमिकताहरू पूरा गर्ने कुनै दायित्व हुँदैन। उनीहरूले विश्‍वासीहरू असल मानिस हुन् भनेर जति नै सोचे पनि, उनीहरूले यी विश्‍वासीहरूसँग उचित तरिकाले जीवन जिउन सकिन्छ, वा विश्‍वासीहरू सही मार्ग हिँड्न सक्छन् भनेर जति नै सोचे नि, त्यो बेकार छ—उनीहरूको रायले कुनै अर्थ राख्दैन। यस्ता अविश्‍वासीहरू धेरैजसो मण्डलीहरूमा भेट्न सकिन्छ। यी मानिसहरूलाई सम्हाल्ने उपाय भनेकै भर्खरै हामीले सङ्गति गरेको विधि प्रयोग गर्नु हो, वा उनीहरूलाई सिद्धान्तहरूअनुसार सम्हालिएसम्म, तिमीहरूसँग योभन्दा राम्रा विधिहरू छन् भने त्यो पनि प्रयोग गर्न सक्छौ। यी अविश्‍वासीहरूलाई विभिन्न प्रकारका दुष्ट मानिसहरूमा वर्गीकृत गरिन्छ—के त्यो अति हुन्छ र? (हुँदैन।) हामी अविश्‍वासीहरूलाई ठ्याक्कै यसरी नै व्यवहार गर्छौँ।

ग. प्रकोपहरूबाट जोगिनु

अरू कस्ता प्रकारका मानिसहरूलाई मण्डलीबाट निकाला वा निष्कासन गरिनुपर्छ? (अर्को प्रकार भनेको प्रकोपहरूबाट जोगिनकै लागि परमेश्‍वरमा विश्‍वास गर्नेहरू हुन्।) प्रकोपहरूबाट जोगिनकै लागि परमेश्‍वरमा विश्‍वास गर्नु पनि मानिसहरूले विश्‍वास गर्नुको एउटा उद्देश्य हो। के परमेश्‍वरमा विश्‍वास गर्ने धेरैजसो मानिसहरूमा पनि यसप्रकारको दूषण हुँदैन र? (हुन्छ।) त्यसोभए, यसका कारण कुन मानिसहरूलाई निकाल्नु वा निष्कासन गर्नुपर्छ, र कुन मानिसहरूले भ्रष्टताको सामान्य प्रकटीकरण मात्र देखाइरहेका हुन्छन् र उनीहरूलाई निकाल्नु वा निष्कासन गर्नु हुँदैन भनेर हामीले कसरी छुट्याउनुपर्छ? अधिकांश मानिसहरूका आस्थामा, प्रकोपहरूबाट जोगिनकै लागि परमेश्‍वरमा विश्‍वास गर्ने मनसाय मिसिएको हुन्छ—यो तथ्य हो। प्रकोपहरूबाट जोगिनका लागि परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्येबाट, तिमीहरूले निकाला वा निष्कासन गर्नका लागि मापदण्डहरू पुग्ने अविश्‍वासीहरू छुट्याउनुपर्छ। उदाहरणका लागि, प्रकोपहरू झन्-झन् खराब हुन थालेका छन् भन्ने देखेपछि, त्यस्ता मानिसहरू अझ बारम्बार भेलाहरूमा सहभागी हुन थाल्छन् र पहिले परमेश्‍वरको घरमै फिर्ता गरेका परमेश्‍वरको वचनका पुस्तकहरू चाँ-चाँडो फिर्ता लान्छन्, र अब गम्भीर रूपमा परमेश्‍वरमा विश्‍वास गर्न चाहन्छु भनेर भन्छन्। तर प्रकोपहरू हराएर गएपछि वा साम्य भएपछि, उनीहरू व्यापार गरेर पैसा कमाउनतिरै फर्किन्छन्, र दाजुभाइ-दिदीबहिनीहरूले भेलाका लागि उनीहरूलाई फेला पार्न वा सम्पर्क गर्न नसकून् भनेर सबै सम्पर्क माध्यमहरू बन्द गर्छन्। जब प्रकोपहरू आउँछन्, तब उनीहरू सक्रिय रूपमा दाजुभाइ-दिदीबहिनीहरूलाई खोज्छन्, तर जब प्रकोपहरू समाप्त हुन्छन्, तब उनीहरूलाई भेट्टाउन दाजुभाइ-दिदीबहिनीहरूलाई निकै गाह्रो पर्छ, र जोकसैले पनि उनीहरूलाई विरलै मात्र सम्पर्क गर्न सक्छन्। के यी प्रकटीकरणहरू निकै प्रस्ट छैनन् र? (छन्।) प्रकोप आएको छैन भने उनीहरू यसो भन्छन्, “मानिसहरूले सामान्य जीवन जिउनुपर्छ। हामी दैनिक गतिविधिहरूमा लाग्नुपर्छ। मैले हरदिन घरमा खाना बनाउनुपर्छ, र बच्चाहरूलाई विद्यालय लैजाने-ल्याउने गर्नुपर्छ, त्यसैले कहिलेकाहीँ म भेलाहरूमा आइपुग्न सक्दिनँ। यसबाहेक, जिउनका लागि पैसा चाहिन्छ; सबै जियाइ खर्चहरू बेहोर्नैपर्छ। हामी पैसा नकमाई बाँच्न सक्दैनौँ। यो संसारमा, पैसाविना कसैले जीवन धान्न सक्दैन। परमेश्‍वरमा विश्‍वास गर्ने कुरा व्यावहारिक हुनुपर्छ!” उनीहरू पैसा कमाउने र दैनिक गतिविधिहरू गर्ने कुरामा पूरै केन्द्रित भएर, विश्‍वसनीय रूपमा बोल्छन् र पर्याप्त कारणहरू दिन्छन्, कहिलेकाहीँ मात्र भेलामा सहभागिता जनाउँछन् र परमेश्‍वरका वचनहरू विरलै पढ्छन्। परमेश्‍वरमा विश्‍वास गर्ने कुराप्रति उनीहरूको मनोवृत्ति न चिसो न तातो, मनतातो हुन्छ। प्रकोप आउँदा उनीहरू यसो भन्छन्, “अहो, म त परमेश्‍वरविना रहनै सक्दिनँ; मलाई ईश्‍वर चाहिन्छ! मैले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र हरदिन उनलाई पुकार्नुपर्छ! म प्रकोपहरूबाट जोगिन खोजिरहेको होइन; मुख्य कुरा म परमेश्‍वरलाई हृदयमा नराखी बस्नै सक्दिनँ। परमेश्‍वरलाई हृदयमा नराखी जीवन जिउनु अझै खोक्रो नै लाग्छ!” उनीहरूले परमेश्‍वरबारेको ज्ञान देखाउने एउटा शब्द पनि बोल्न सक्दैनन्; उनीहरूले त आफ्ना क्रियाकलाप र व्यवहारलाई जायज ठहराउने शब्दहरू मात्र बोल्छन्। उनीहरूलाई परमेश्‍वरको घरले हरेक व्यक्तिलाई कतिवटा पुस्तकहरू वितरण गर्छ भनेर थाहा हुँदैन; उनीहरूलाई प्रवचनहरू कुन विषयमा पुगेका छन् भनेर थाहा हुँदैन; उनीहरूलाई मण्डली-जीवनमा अहिले कुन सत्यताहरूबारे सङ्गति भइरहेको छ भनेर थाहा हुँदैन। उनीहरू हरेक छ महिनामा एकचोटि वा वर्षको एकपटक भेलामा सहभागी हुन्छन्। सहभागी हुँदा उनीहरू यसो भन्छन्, “गैरविश्‍वासीहरू अति खराब हुन्छन्। समाज अन्यायपूर्ण छ। यो संसार दुष्ट छ। पैसा कमाउन मेहनत गर्नु अत्यन्तै गाह्रो छ! मानिसहरूमा परमेश्‍वरको बोझ हलुका छ…।” उनीहरू यी बेकारका कुराहरू बोलिरहन्छन् जसको भेलाको सङ्गतिका विषय र विषयवस्तुसँग कुनै सम्बन्ध हुँदैन। उनीहरू प्रार्थनामा केही खोक्रा शब्दहरू बोल्छन्, परमेश्‍वरमा विश्‍वास गर्नेबारे थोरै सतही शब्दहरू बोल्छन् र त्यसपछि आफूलाई विश्‍वासी ठान्छन्, अनि हृदयमा ढुक्क र शान्त महसुस गर्छन्। के यो परमेश्‍वरमा विश्‍वास गर्नु हो? यस्ता मानिसहरू कस्ता खालका दुष्ट चिजहरू हुन्? यदि तैँले उनीहरूलाई “तिमी किन नियमित रूपमा भेलाहरूमा सहभागी हुँदैनौ?” भनेर सोधिस् भने, उनीहरू यसो भन्छन्, “मलाई अवस्थाहरूले साथै दिँदैनन्। परमेश्‍वरले मेरा लागि यही वातावरण खडा गर्नुभएको छ, र म समर्पित हुनैपर्छ।” यी शब्दहरू कति मीठा सुनिन्छन्! उनीहरू यस्तो पनि भन्छन्, “हेर, परमेश्‍वरले मेरा लागि यो वातावरण खडा गर्नुभएको छ। मेरो पूरै परिवार खानाका लागि ममा निर्भर छ, त्यसैले जीवन धान्नका लागि मैले पैसा कमाउनुपर्छ! यतिखेर, पैसा कमाउनु नै परमेश्‍वरले मलाई दिनुभएको कार्य हो।” उनीहरू आफ्नो कर्तव्य पूरा गर्ने कुरा, साथै सृजित प्राणीका रूपमा आफ्ना जिम्मेवारी र दायित्वहरूबारे चर्चा गर्न पूर्ण रूपमा चुक्छन्, परमेश्‍वरका वचनहरू कसरी अभ्यास गर्ने भनेर त झन् उल्लेख नै गर्दैनन्; उनीहरू कहिलेकाहीँ मात्र भेलामा सहभागी हुन्छन् र केही युआन पैसा चढाउँछन्, अनि परमेश्‍वरको घरलाई योगदान गरेको छु भन्ठान्छन्। अरू पनि छन्, जो आफ्ना छोराछोरीहरू बिरामी पर्दा परमेश्‍वरलाई प्रार्थना गर्छन्, अनि केही दिनपछि, जब छोराछोरीको स्वास्थ्यमा सुधार आउँछ, तब उनीहरूले तुरुन्तै मण्डलीलाई भेटीस्वरूप केही पैसा चढाउँछन् र त्यसपछि फेरि गायब हुन्छन्। उनीहरूले हरेकपटक दाजुभाइ-दिदीबहिनीहरूसँग अन्तरक्रिया गर्दा सत्यताबारे कहिल्यै सङ्गति गर्दैनन्, न त परमेश्‍वरका वचनहरू नै पढ्छन्। प्रकोप वा विपद्हरू नहुँदा, उनीहरूले कहिल्यै परमेश्‍वरलाई प्रार्थना गर्दैनन्। उनीहरूका दैनिक कुराकानीका विषय सधैँ स-साना घरायसी कुराहरू, सही र गलतमाथिका विवादहरू, दैहिक जीवन, विभिन्न सामाजिक घटना, र देखे-सुनेका विभिन्न कुराहरू हुन्छन्; उनीहरू परमेश्‍वरका वचनहरूबारे विरलै सङ्गति गर्छन् र परमेश्‍वरमा विश्‍वास गर्नेबारे मर्मस्पर्शी शब्द कहिल्यै उच्चारण गर्दैनन्। उनीहरू परमेश्‍वरको हेरचाह र संरक्षण खोज्न मात्र मण्डलीमा आफ्नो स्थान कायम राख्छन्। परमेश्‍वरमा विश्‍वास गर्ने उनीहरूको तरिका नै यही हो; उनीहरू सत्यता बिलकुलै नपछ्याई केवल शान्ति र आशिष्‌हरू खोज्छन्। उनीहरूलाई सत्यतामा कहीँकतै कुनै रुचि हुँदैन। उनीहरू परमेश्‍वरमा विश्‍वास गरेर लाभ, अनुग्रह र आशिष्‌ प्राप्त गर्न मात्र चाहन्छन्। उनीहरू अर्को जुनीबारे वास्ता गर्दैनन्, किनभने उनीहरू त्यो देख्न सक्दैनन् र त्यसमा बिलकुलै विश्‍वास गर्दैनन्। उनीहरू यही जुनीमा परमेश्‍वरको अनुग्रहको आनन्द लिन र सबै प्रकोपहरूबाट जोगिन मात्र चाहन्छन्। परमेश्‍वर र मण्डली नै उनीहरूको शरण भएकाले, उनीहरू निश्‍चय नै कठिनाइ वा प्रकोपहरू सामना गर्दा मात्र भेलाहरूमा सहभागी हुन्छन्। के त्यस्ता मानिसहरू परमेश्‍वरका निष्कपट विश्‍वासी हुन्? (होइनन्।) उनीहरू कस्ता प्रकारका मानिस हुन्? (अवसरवादी र अविश्‍वासीहरू।) यिनीहरू प्रकोपहरूबाट जोगिन मण्डलीलाई प्रयोग गर्न चाहने अविश्‍वासीहरू हुन्। के यस्ता मानिसहरूलाई मण्डलीमा रहन दिनुहुन्छ? (हुँदैन।) जब उनीहरू भेलाहरूमा आउँछन्, उनीहरू अरूलाई बाधा दिन्छन् र भित्री रूपमा उद्विग्न बनाउँछन्। धेरैजसो मानिसहरू अत्यन्तै नम्र हुन्छन् र उनीहरूलाई रोक्ने प्रयास गर्न अप्ठ्यारो मान्छन्, त्यसैले उनीहरूलाई बकबक गर्न र परमेश्‍वरका वचनहरू खान र पिउनमा सबैलाई बाधा पार्न दिन्छन्। यो अवस्थामा अगुवा र कामदारहरूले के गर्नुपर्छ? के उनीहरूले यस्ता मानिसहरूलाई निषेध गर्ने, बहुसङ्ख्यकका हितहरूको सुरक्षा गर्ने, र सामान्य मण्डली जीवन कायम राख्ने जिम्मेवारी लिनुपर्दैन र? (पर्छ।) तैँले उनीहरूसँग भएका परमेश्‍वरका वचनका पुस्तकहरू फिर्ता लिएर उनीहरूलाई मण्डलीबाट निस्केर जाने सल्लाह दिँदा हुन्छ। कसैलाई मनाएर मण्डलीबाट निस्केर जान लगाउने विभिन्न तरिकाहरू छन्—तिमीहरूले आफ्नै उपायहरू सोच्न सक्छौ। बस यो सुनिश्‍चित गर कि उप्रान्त उनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई सम्पर्क गर्दै नगरून्। मानौँ कसैले यसो भन्यो रे, “यो व्यक्ति असल छ। उसले मण्डलीमा स-साना घरायसी कुराहरूबारे बोल्ने मात्र हो, तर मण्डलीको काममा बाधा दिने वा हाम्रो कर्तव्य निर्वाहमा असर पार्ने काम गर्दैन, त्यसकारण हामी सहनशील हुनुपर्छ! परमेश्‍वरमा विश्‍वास गर्दा, के हामीले हरप्रकारका मानिसहरू सहनु र झेल्नुपर्दैन र? परमेश्‍वर हरेक व्यक्तिले मुक्ति पाओस् भन्ने चाहनुहुन्छ र कसैले पनि सर्वनाश भोग्नु परोस् भन्ने चाहनुहुन्‍न!” त्यसोभए तैँले ऊ मुक्तिको पात्र हो कि होइन भनेर विचार गर्नुपर्छ। यदि होइन भने, के हामीले उसलाई खुट्ट्याएर निकाल्नुपर्दैन र? (पर्छ।) कतिपय मानिसहरू भन्छन्, “म अत्यन्तै नम्र छु; उनीहरूलाई मनाएर मण्डलीबाट निस्केर जान लाउन मलाई अप्ठ्यारो लाग्नेछ।” यो समस्या हल गर्न सजिलो छ। यदि तैँले बस उसलाई सम्पर्क गर्दै गरिनस् भने, उसले तँलाई बाधा दिने वा बन्धनमा पार्नेछैन। ऊसित भेट भए पनि तँ ऊसित बोल्नुपर्दैन। परमेश्‍वरमा विश्‍वास गर्ने मामलाहरूबारे ऊसित कुरा गर्नुपर्ने कुनै आवश्यकता नै छैन; उसलाई बस गैरविश्‍वासीजस्तै व्यवहार गर्। कतिपय मानिसहरू भन्छन्, “के हामीले उसलाई प्रेमपूर्वक मदत गर्न र आफूले बुझेको सत्यता ऊसँग सङ्गति गर्न मिल्दैन र?” यस्ता अविश्‍वासीहरूका लागि, यदि तँमा साँच्चिकै प्रेम छ भने, तैँले प्रयास गरे हुन्छ। यदि तैँले उनीहरूलाई साँच्चिकै बदल्न सकिस् भने, उनीहरूलाई निकाल्न वा निष्कासन गर्न आवश्यक हुँदैन। कतिपय मानिसहरू भन्छन्, “म आफ्नो प्रयास खेर फाल्नेछैनँ। उनीहरूलाई मदत गर्नु भनेको सुँगुरलाई नुहाइदिनुजस्तै बेकार हो; त्यसलाई धोएर जति सफा पारे पनि त्यो गएर हिलोमै लडीबुडी गर्छ। त्यो ठ्याक्कै त्यस्तै प्राणी हो; त्यो बदलिनेछैन!” यदि तैँले यो कुरा बुझ्न सक्छस् भने, तँ सही छस्। के तैँले अझै पनि त्यस्ता अविश्‍वासीहरूलाई मदत गर्न उनीहरूसित सत्यता सङ्गति गर्नेछस्? के तिमीहरूले अझै पनि यो अर्थहीन काम गर्नेछौ? (गर्नेछैनौँ।) यो अवस्थामा, तिमीहरूले आफू मूर्ख भएको र मानिसहरूलाई छर्लङ्गै देख्न नसकेको थाहा पाउनेछौ। अविश्‍वासीहरू बदलिन सक्दैनन्। यी मानिसहरूलाई के पनि थाहा हुन्छ भने परमेश्‍वरमा विश्‍वास गर्नेहरूले असल कामकुरा गर्छन् र खराब कामकुरा गर्नबाट जोगिन्छन्, उनीहरूले अरूलाई हेप्ने वा ठग्ने काम गर्दैनन्। परमेश्‍वरमा विश्‍वास गर्नेहरूबारे उनीहरूमा राम्रै छाप परेको हुन्छ, त्यसकारण उनीहरूले आफूलाई “परमेश्‍वर हुनुहुन्छ” र “परमेश्‍वरमा विश्‍वास गर्नु राम्रो हो” भन्ने ध्वजामुनि आफूलाई लुकाउँछन् र मण्डलीमा घुसपैठ गर्छन्, अनि मानिसहरूलाई उनीहरू दाजुभाइ वा दिदीबहिनी हुन् भन्ने सोच्ने तुल्याउँछन्। कतिपय मानिसहरू त यस कुराले वास्तवमै छलिन्छन्, र साँच्चिकै उनीहरूलाई दाजुभाइ वा दिदीबहिनी ठान्छन्, अनि बारम्बार उनीहरूलाई भेट्न जान्छन् र मदत गर्छन्। लामो समयपछि मात्र उनीहरूले महसुस गर्छन्: “यो व्यक्ति आफूले प्रकोप वा कठिनाइहरू सामना गर्दा मात्र मण्डलीमा आउँछ, र काम नलाग्ने, अर्थहीन कुराहरू बोल्छ। जब उसका लागि परिस्थितिहरू सहज र सबै कुरा ठिकै हुन्छ, र उसको जीवन राम्रैसँग चलिरहन्छ, तब उसले सबैलाई बेवास्ता गर्छ। यदि पहिल्यै ऊ दुर्जन हो भन्ने थाहा भएको भए, हामीले उसलाई मदत वा यति मेहनत गर्ने नै थिएनौँ!” अब पछुताएर केही फाइदा छ र? पछुताउन ज्यादै ढिलो भइसकेको छ—तैँले व्यर्थमा धेरै कुरा बोलिसकेको छस्! छोटकरीमा भन्नुपर्दा, यस्ता अविश्‍वासीहरूलाई चाँडोभन्दा चाँडो खुट्ट्याउन, निराकरण गर्न, र मण्डलीबाट निकाल्न आवश्यक छ। उनीहरूलाई दाजुभाइ-दिदीबहिनी नठान्; उनीहरू दाजुभाइ-दिदीबहिनी होइनन्। परमेश्‍वरद्वारा चुनिएका मानिसहरू मात्र दाजुभाइ-दिदीबहिनीहरू हुन्; मुक्ति दिन सकिने र परमेश्‍वरको आराधना गर्ने पछ्याइमा लागेकाहरू मात्र दाजुभाइ-दिदीबहिनीहरू हुन्। प्रकोपहरूबाट जोगिनका लागि परमेश्‍वरको घरमा घुमिरहने र सत्यता नस्विकारी लोभी तरिकाले परमेश्‍वरको अनुग्रहको आनन्द उठाउनेहरू अविश्‍वासीहरू हुन्। उनीहरू दाजुभाइ-दिदीबहिनी होइनन्, र उनीहरू निश्‍चय नै परमेश्‍वरका चुनिएका मानिसहरू होइनन्। कुरो बुझिस्? यस्ता अविश्‍वासीहरूलाई सिद्धान्तहरूअनुसार व्यवहार गर्नुपर्छ; उनीहरूलाई जसरी सम्हाल्नुपर्ने हो त्यसरी सम्हाल्नुपर्छ। यो अगुवा र कामदारहरूको जिम्मेवारी हो, र यो परमेश्‍वरका चुनिएका मानिसहरू सबै स्पष्ट हुनुपर्ने सिद्धान्त पनि हो।

अक्टोबर २३, २०२१

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्