अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२०) खण्ड छ
इ. झूटा अगुवाहरूले दुष्ट मानिसहरूलाई खुलासा गर्ने र रोक्ने गर्दैनन्
यसपछि, हामी झूटा अगुवाहरूको तेस्रो प्रकटीकरणबारे सङ्गति गर्नेछौँ, जुन मण्डलीको काममा बाधा र अवरोध ल्याउने मानिसहरूलाई बेवास्ता गर्नु र तिनीहरूबारे सोधपुछ नगर्नु हो—दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले मण्डलीको काममा बाधा दिइरहेका छन् भन्ने पत्ता लागे पनि तिनीहरूले यसमा ध्यान नदिनु हो। प्रकृतिको हिसाबमा यो पहिलो दुई प्रकटीकरणभन्दा बढी गम्भीर छ। यो किन बढी गम्भीर छ भनेर भनिएको हो? पहिलो दुई प्रकटीकरणहरूमा झूटा अगुवाहरूको क्षमता संलग्न छ, तर यो प्रकटीकरणमा झूटा अगुवाहरूको मानवता संलग्न छ। कति झूटा अगुवाहरूको क्षमता यति कमजोर हुन्छ कि तिनीहरूले मण्डलीको काममा बाधा र अवरोध ल्याउने कार्यको प्रकृति छर्लङ्ग देख्नै सक्दैनन्। कति झूटा अगुवाहरूले मण्डलीको काममा बाधा र अवरोध ल्याउने समस्याहरू पत्ता लगाउन सक्छन्, तर दुःखको कुरा तिनीहरूले सत्यता बुझ्दैनन् र यी समस्याहरू सम्हाल्न र समाधान गर्न सक्दैनन्। तिनीहरू सधैँ आफ्नै विचार र जोशअनुसार काम गर्छन्, र आफूलाई मन लागेको कामकुरा गर्छन्, र हृदयमा यस्तो सोच्छन्, “मैले मण्डलीको काम गरिरहेको छु भने, त्यो ठीकै हुन्छ; जसले बाधा र अवरोध ल्याउँछ, त्यो उसको व्यक्तिगत मामला हो र त्यससँग मेरो कुनै सम्बन्ध हुँदैन।” कतिपय त्यस्ता झूटा अगुवाहरू पनि हुन्छन् जोसँग अलिअलि क्षमता हुन्छ र जसले अलिअलि काम गर्न सक्छ, र हरप्रकारको व्यक्ति सम्हाल्ने सिद्धान्तहरूबारे अलिअलि थाहा पाएको हुन्छ। तर, तिनीहरूलाई मानिसहरूलाई चिढ्याउँछु भन्ने डर हुन्छ, त्यसकारण दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले बाधा र अवरोधहरू निम्त्याइरहेका छन् भन्ने पत्ता लाग्दा, तिनीहरूले तिनीहरूलाई खुलासा गर्ने, रोक्ने, वा प्रतिबन्धित गर्ने आँट गर्दैनन्। तिनीहरू शैतानी दर्शनहरूअनुसार जिउँछन्, र आफूसँग कुनै सम्बन्ध छैन भन्ने लागेका कुराहरूप्रति आँखा चिम्लिदिन्छन्। तिनीहरूले मण्डलीको कामका परिणामहरू कस्ता छन्, वा परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा कति असर परेको छ भन्ने कुरालाई पटक्कै वास्ता गर्दैनन्; तिनीहरू त्यस्ता कुराहरूसँग आफ्नो कुनै सम्बन्ध छैन भन्ने सोच्छन्। त्यसकारण, त्यस्तो झूटो अगुवाको कार्यकालमा, मण्डली जीवनको सामान्य सुव्यवस्था कायम रहँदैन, र परमेश्वरका चुनिएका मानिसहरूको कर्तव्य र जीवन प्रवेशको सुरक्षा हुँदैन। यो कस्तो प्रकृतिको समस्या हो? यी झूटा अगुवाहरूको क्षमता कमजोर भएर तिनीहरूले काम गर्न सक्दैनन् भन्ने होइन; तिनीहरूको मानवता कमजोर भएकाले, र तिनीहरूमा विवेक र समझको कमी भएकाले, तिनीहरूले वास्तविक काम नगरेका हुन्। झूटा अगुवाहरू कुन हिसाबमा झूटा हुन्छन्? तिनीहरूमा मानवताको विवेक र समझको कमी हुन्छ; त्यसकारण, तिनीहरूले अगुवाका रूपमा काम गर्ने अवधिमा, दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले मण्डलीको काममा बाधा र अवरोध ल्याउने समस्या पटक्कै समाधान हुँदैन। कति दाजुभाइ-दिदीबहिनीहरूलाई त ठूलै हानि हुन्छ, र मण्डलीको काममा पनि ठूलै घाटा हुन्छ। जब यस्तो झूटो अगुवाले समस्या देख्छ, जब उसले दुष्ट व्यक्ति वा ख्रीष्टविरोधीले बाधा वा अवरोध निम्त्याएको देख्छ, तब उसलाई आफ्नो जिम्मेवारी के हो, उसले के गर्नुपर्छ र कसरी गर्नुपर्छ भन्ने थाहा हुन्छ, तैपनि उसले पटक्कै केही गर्दैन, र उसले थाहा नपाएको नाटकसमेत गर्छ, यसलाई पूर्ण रूपमा बेवास्ता गर्छ, र आफ्ना वरिष्ठहरूलाई यसबारे रिपोर्ट गर्दैन। तिनीहरू आफूलाई केही थाहा नभएको र आफूले केही नदेखेको ढोँग गर्छन्, र दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई मण्डलीको काममा बाधा र अवरोध ल्याउन दिन्छन्। के तिनीहरूको मानवतामा समस्या छैन र? के तिनीहरू दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूकै गुटका होइनन् र? तिनीहरूले अगुवाका रूपमा कस्तो सिद्धान्त अपनाउँछन्? “म कुनै बाधा वा अवरोध सिर्जना गर्दिनँ, तर म अरूलाई चिढ्याउने वा अरूको इज्जतमा चोट पुग्ने काम पनि केही गर्दिनँ। मलाई झूटा अगुवाको रूपमा नै चित्रण गर, तर पनि म अरूलाई चिढ्याउने केही गर्दिनँ। मैले आफ्नो लागि उम्कने बाटो राख्नुपर्छ।” यो कस्तो खालको तर्क हो? यो शैतानको तर्क हो। अनि यो कस्तो प्रकारको स्वभाव हो? के यो धेरै धूर्त र छली भएन र? यस्तो व्यक्ति परमेश्वरको आज्ञाप्रति अलिकति पनि इमानदार हुँदैन; ऊ आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ कपटी र धूर्त हुन्छ, कैयौँ घटिया हिसाबकिताब गर्छ, सबै कुरामा आफ्नो बारेमा मात्रै सोच्छ। उसले मण्डलीको कामप्रति अलिकति पनि विचार गर्दैन र उसमा विवेक वा समझ पटक्कै हुँदैन। ऊ आधारभूत रूपमा मण्डली अगुवाका रूपमा सेवा गर्न अयोग्य हुन्छ। त्यस्ता मानिसहरूले मण्डलीको काम वा परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशका लागि अलिकति पनि बोझ लिँदैनन्। तिनीहरूलाई आफ्नै हित र आनन्दको मात्रै चिन्ता हुन्छ; तिनीहरू परमेश्वरका चुनिएका मानिसहरू कस्तो स्थितिमा छन् भन्नेबारे कुनै चिन्ता नगरी हैसियतका लाभहरूमा लिप्त हुनमा मात्रै ध्यान दिन्छन्। के यो सबैभन्दा स्वार्थी र घृणास्पद व्यक्ति होइन र? तिनीहरूले दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले मण्डलीको काममा बाधा दिइरहेका छन् भनेर पत्ता लगाए पनि त्यसप्रति ध्यान दिँदैनन्, मानौँ यी कुराहरूसँग तिनीहरूको कुनै सम्बन्ध नै छैन। यो त ब्वाँसोले भेडा खाइरहेको देखेर पनि केही नगर्ने, आफ्नो जीवन रक्षा गर्नेबारे मात्रै वास्ता गर्ने गोठालोजस्तै हो। यस्तो व्यक्ति गोठालो बन्न योग्य हुँदैन। यस्तो झूटो अगुवाले गर्ने सबै कुरा भनेको आफ्नो प्रतिष्ठा, हैसियत, शक्ति, र आफूलाई हाल प्राप्त भइरहेका विभिन्न लाभहरूको सुरक्षा अधिकतम गर्नका लागि मात्रै हुन्छ। परमेश्वरको आज्ञा, मण्डलीको काम, वा परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशप्रति तिनीहरूका हृदयमा कुनै बोझ हुँदैन, जुन तिनीहरूका कर्तव्य र जिम्मेवारीहरू हुन्; तिनीहरूले कहिल्यै यी कुराहरूलाई ख्याल गर्दैनन्। तिनीहरूले सोच्छन्, “अगुवाले किन यी कामहरू गर्नैपर्छ? यी कामहरू नगर्दा किन काटछाँट र निन्दामा परिन्छ, र दाजुभाइ-दिदीबहिनीहरूद्वारा इन्कार गरिन्छ?” तिनीहरूले बुझ्दैनन् र तिनीहरू पूर्ण रूपमा उदासीन हुन्छन्। मेरो हृदयमा, यस्तो व्यक्ति जतिसुकै सुशील, वा जतिसुकै नियम पालना गर्ने, वा मौन, वा परिश्रमी र योग्य देखिए पनि, उसले सिद्धान्तहरूबिना काम गर्ने र मण्डलीको कामको जिम्मेवारी नलिने कुराले गर्दा म उसलाई नयाँ दृष्टिकोणले हेर्न बाध्य हुन्छु। अन्त्यमा, मैले यस्तो व्यक्तिलाई यसरी परिभाषित गरेँ: तिनीहरूले कुनै ठूलो गल्ती नगर्लान्, तर तिनीहरू अत्यन्तै धूर्त र छली छन्; तिनीहरूले कुनै जिम्मेवारी लिँदै लिँदैनन्, न त तिनीहरूले मण्डलीको कामलाई पटक्कै धान्छन्, तिनीहरूमा कुनै मानवता छैन। मलाई त तिनीहरू एक प्रकारको पशुजस्तै लाग्छन्—धूर्ततामा तिनीहरू अलि स्यालजस्तै छन्। मानिसहरूले स्यालहरू धूर्त हुन्छन् भनेर भन्छन्, तर वास्तवमा यी मानिसहरू स्यालभन्दा पनि धूर्त छन्। झट्ट हेर्दा, तिनीहरूले कुनै दुष्टता गरेका छैनन् जस्तो देखिन्छ, तर वास्तवमा तिनीहरूले भन्ने र गर्ने सबै कुरा आफ्नै ख्याति, प्राप्ति, र हैसियतका लागि हुन्छ। तिनीहरूले जे गर्छन् ती सबैको उद्देश्य आफ्नो हैसियतका लाभहरू प्राप्त गर्ने नै हुन्छ, र तिनीहरूले परमेश्वरका अभिप्रायहरूलाई पटक्कै ख्याल गर्दैनन्। तिनीहरूले मण्डलीको काममा पैदा हुने समस्याहरू अलिकति पनि समाधान गर्दैनन्, न त तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशसँग सम्बन्धित वास्तविक समस्याहरूलाई नै सम्बोधन गर्छन्। यी झूटा अगुवाहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई सत्यता वास्तविकतामा डोर्याउनका लागि कुनै काम गर्दैनन्। तिनीहरूले गर्ने सबै कुराको उद्देश्य के हुन्छ? के यो मानिसहरूलाई खुसी पार्न र आफूलाई उच्च मानियोस् भन्नका लागि मात्र होइन र? तिनीहरू कसैलाई नचिढ्याएर सबैले आफूलाई राम्रो मानून् भन्ने प्रयास गर्छन्, र यसरी आफ्नो प्रतिष्ठा र हैसियतका लाभहरूमा रमाउँछन्। तिनीहरूबारे सबैभन्दा बढी घृणा पैदा गराउने कुरा भनेको तिनीहरूका सबै कार्यहरूले परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा कुनै फाइदा नल्याउनु हो; बरु, तिनीहरूले मानिसहरूलाई बहकाउँछन्, र यसरी अरूलाई आफ्नो प्रशंसा गर्ने र आफूलाई मूर्ति जस्तै पुज्ने बनाउँछन्। के यी मानिसहरू स्यालभन्दा पनि धूर्त र छली हुँदैनन् र? तिनीहरू नमूना, साँच्चिकै झूटा अगुवा हुन्। तिनीहरूसँग अगुवाको हैसियत हुन्छ र तिनीहरूले यो पद धारण गर्छन्, तर कुनै वास्तविक काम गर्दैनन्, केवल केही देखिने र सतही सामान्य मामलाहरू मात्रै सम्हाल्छन्, वा माथिबाट विशेष रूपमा तोकिएको काम मन नलागीनलागी थोरथोरै गर्छन्। यदि माथिबाट कुनै विशेष काम अह्राइएको छैन भने, तिनीहरूले मण्डलीको कुनै पनि अत्यावश्यक काम गर्दैनन्। मण्डलीको काम र मण्डली जीवनको सुव्यवस्था कायम राख्ने कार्यसँग सम्बन्धित मामलाहरूका सम्बन्धमा, तिनीहरू मानिसहरूलाई चिढ्याउँछु कि भनेर डराउँछन् र सिद्धान्तहरू पालना गर्ने आँट गर्दैनन्। तिनीहरूले मण्डलीको काममा थुप्रिएका कुनै पनि समस्याहरू समाधान गर्दैनन्, र तिनीहरूले परमेश्वरको घरका सरसम्पत्ति ख्रीष्टविरोधी र दुष्ट मानिसहरूले उडाएको देख्दा पनि, तिनीहरूले यसलाई रोक्न वा प्रतिबन्धित गर्न केही पनि गर्दैनन्। यी मानिसहरूले दुष्टता गरिरहेका छन् र परमेश्वरको घरका हितहरूमा हानि गरिरहेका छन् भनेर तिनीहरूलाई हृदयमा स्पष्ट रूपमा थाहा हुन्छ, तैपनि तिनीहरूले थाहा नपाएझैँ गर्छन्, र एक शब्द पनि बोल्दैनन्। धूर्त र छली मानिसहरू यिनै हुन्। के यी मानिसहरू स्यालभन्दा धूर्त हुँदैनन् र? तिनीहरू बाहिरी रूपमा सबैप्रति मिलनसार हुन्छन् र तिनीहरूले कसैलाई हानि गर्ने काम गर्दैनन्, तर तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेश, मण्डलीको काम, र सुसमाचार फैलाउने कामजस्ता मुख्य मामलामा ढिलाइ गर्छन्। के त्यस्ता मानिसहरू अगुवा र कामदार बन्न लायक हुन्छन् त? के तिनीहरू शैतानका नोकर होइनन् र? के मण्डलीको काममा बाधा र अवरोध ल्याउने तिनीहरू नै होइनन् र? झट्ट हेर्दा तिनीहरूले कुनै स्पष्ट दुष्टता नगरेका भए पनि, तिनीहरूले यसरी काम गर्नुका परिणामहरू दुष्टता गरेकोभन्दा पनि गम्भीर हुन्छन्। तिनीहरूले परमेश्वरको इच्छालाई अघि बढाउनमा बाधा दिन्छन्, परमेश्वरको प्रतिरोध गर्छन्, र मण्डलीको काममा बाधा र अवरोध ल्याउँछन्। तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई हानि गर्छन् र परमेश्वरका चुनिएका मानिसहरूको मुक्ति पाउने आशासमेत नष्ट गर्न सक्छन्। मलाई भन् त, के यो दुष्टता गर्नु होइन र? मान्छे खुसी पारिहिँड्ने र सिद्धान्तहरू पटक्कै पालना नगर्ने व्यक्तिले ठ्याक्कै यही गर्छ। सत्यता नबुझ्ने मानिसहरूले झूटा अगुवाहरूले यसरी काम गर्नुका भयानक परिणामहरू राम्ररी बुझ्न सक्दैनन्, न त तिनीहरूले तिनीहरूका अभिप्राय, मनसाय, र उद्देश्यहरू नै बुझ्न सक्छन्। तिनीहरूले हृदयमा वास्तवमा के गर्न चाहन्छन् भन्ने कुरा तैँले कहिल्यै भेउ पाउनेछैनस्—त्यस्ता मानिसहरू अत्यन्तै धूर्त हुन्छन्! आलङ्कारिक रूपमा भन्नुपर्दा, तिनीहरू धूर्त स्याल हुन्; ठ्याक्कै भन्दा, तिनीहरू जीवित दियाबलस हुन्, मानिसहरूमाझका जीवित दियाबलस हुन्!
यी झूटा अगुवाहरूलाई कसरी चित्रण गर्ने भन्ने कुरा आउँदा, तिनीहरूको स्वभाव सारका आधारमा, तिनीहरूलाई स्वेच्छाचारी रूपमा दुष्ट मानिस, ख्रीष्टविरोधी, पाखण्डी, आदि इत्यादि वर्गमा राख्नु हुँदैन। तर, तिनीहरूले प्रकट गर्ने कुराहरू, जस्तै तिनीहरूको मानवताका प्रकटीकरणहरू र मण्डलीको कामप्रति तिनीहरूको मनोवृत्ति, साथै तिनीहरूले आफैले पत्ता लगाएका समस्याहरू समाधान नगर्ने कुराका आधारमा हेर्दा, तिनीहरू सबैभन्दा चरित्रभ्रष्ट प्रकारका झूटा अगुवा हुन्। तिनीहरूका विभिन्न प्रकटीकरणहरूका आधारमा हेर्दा, तिनीहरूले सक्रिय रूपमा गुटबन्दी नगर्ने वा आफ्नै स्वतन्त्र राज्य स्थापना नगर्ने, र बिरलै मात्र आफ्नो गवाही दिने भए पनि, र तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूसँग राम्ररी मिलेर बस्न सक्ने, कष्ट सहने, मूल्य चुकाउने, भेटी नचोर्ने, र विशेषाधिकारहरू खोज्नबाट आफूलाई कडाइसाथ रोक्न सक्ने भए पनि, तिनीहरूले मण्डलीको काममा बाधा र अवरोध ल्याउने विभिन्न मानिस, घटना, र कामकुराहरू, वा भेटीहरू फजुलमा उडाउने र परमेश्वरको घरको सम्पत्तिमा क्षति पुर्याउने विभिन्न मानिसहरू सामना गर्दा तिनीहरूलाई रोक्ने वा सम्हाल्ने गर्दैनन्, तिनीहरूले केही पनि भन्दैनन् वा कुनै पनि काम गर्दैनन्। त्यस्ता मानिसहरू भयानक हुन्छन्! तिनीहरू सबैभन्दा घृणास्पद प्रकारका झूटा अगुवा हुन्; तिनीहरू असुधार्य हुन्छन्! म किन तिनीहरू असुधार्य हुन्छन् भनेर भन्छु? यो होइन कि तिनीहरूको क्षमता कमजोर हुन्छ वा तिनीहरूले परमेश्वरका वचनहरू बुझ्न सक्दैनन्—तिनीहरूमा निश्चित बुझ्ने क्षमता र कार्य सामर्थ्य हुन्छ, तर जब मण्डलीको काममा कसैले बाधा र अवरोध ल्याइरहेको पत्ता लाग्छ, तब तिनीहरूले त्यो समस्या सम्हाल्ने वा सुल्झाउने गर्दैनन्। तिनीहरूले आफ्ना वरिष्ठ अगुवाहरूको कडा सुपरिवेक्षण र बारम्बार सोधपुछ सामना गरेपछि, वा काटछाँटमा परेपछि मात्रै मन नलागीनलागी यो काम अलिअलि गर्छन्। तिनीहरूले यो काम गरे पनि नगरे पनि, वा तिनीहरूले यो काम जसरी गरे पनि, आफ्नो रक्षा गर्नु नै तिनीहरूको प्रमुख प्राथमिकता हुन्छ। तिनीहरूले अगुवा र कामदारहरूका जिम्मेवारीहरू पटक्कै पूरा गर्दैनन्। तिनीहरूले आफ्नो रक्षा गर्ने र आफ्नै हितहरू कायम राख्नेबाहेक कुनै अत्यावश्यक काम गर्दैनन्, र तिनीहरूले गर्नुको विकल्प नै नभएको सतही काम मात्रै अलिअलि गर्छन्। आफ्नो रक्षा गर्नेबाहेक, तिनीहरूले अरू केही कुराको वास्ता गर्दैनन्। के तिनीहरू स्यालभन्दा धूर्त र कुटिल हुँदैनन् र? कति मानिसहरू भन्छन्, “स-साना जनावरहरू खानु स्यालको नैसर्गिक प्रवृत्ति हो, त्यसकारण के आफ्नो रक्षा गर्नु पनि झूटा अगुवाहरूको नैसर्गिक प्रवृत्ति होइन र?” के यो नैसर्गिक प्रवृत्ति हो त? यो त तिनीहरूको प्रकृति हो! यी झूटा अगुवाहरूले आफ्नो हैसियत, प्रतिष्ठा, र इज्जतको रक्षा गर्छन्, मानिसहरूसँगको सम्बन्धलाई जोगाइराख्छन्, र कसैलाई चिढ्याउँदैनन्, र त्यसो गर्दा परमेश्वरको घरका हितहरूलाई हानि गर्छन् र मण्डलीको काम बिगार्छन्। तिनीहरूले कर्मचारीहरूको बर्खासी वा समायोजनलाई व्यक्तिगत रूपमा सम्हाल्दैनन्, बरु अरूलाई नै तिनीहरूका लागि यो काम गर्न लगाउँछन्। तिनीहरूले सोच्छन्, “यदि त्यो व्यक्तिले बदला लिन खोज्यो भने, ऊ मलाई खोज्दै आउनेछैन। मैले सामना गर्ने कुनै पनि अवस्थामा मैले सुरुमा आफ्नै रक्षा गर्नुपर्छ।” यी मानिसहरू अत्यन्तै धूर्त हुन्छन्! एक अगुवाका रूपमा, तैँले यो जिम्मेवारीसमेत लिन सक्दैनस्, त्यसकारण के तँ अगुवा बन्न लायक छस्? तँ त काम नलाग्ने कायर मात्रै होस्! यति थोरै साहस पनि छैन भने, के तँ अझै परमेश्वरको विश्वासी होस्? के आफ्नो कर्तव्य निर्वाह गर्दा आफ्नो जिम्मेवारीबाट पछि हट्नका लागि छलकपटको सहारा लिने मानिसहरू परमेश्वरका अनुयायी हुन् त? परमेश्वरले त्यस्ता मानिसहरू चाहनुहुन्न। यी झूटा अगुवाहरू स्यालजस्तै धूर्त र कुटिल हुन्छन्। जब तिनीहरूले कसैले बाधा वा अवरोध निम्त्याएको देख्छन्, तब तिनीहरूले यसलाई न त सम्हाल्छन् न समाधान गर्छन्—तिनीहरूले वास्तविक काम गर्दै गर्दैनन्। तिनीहरूलाई जे-जसरी खुलासा र काटछाँट गरिए पनि तिनीहरूले कामै गर्दैनन्। तैँले अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा नगर्ने भएपछि, तैँले किन त्यो पद ओगटिरहेको छस्? के सजावटको हिस्सा हुन सकूँ भनेर हो? के हैसियतका लाभहरूमा लिप्त हुन सकूँ भनेर हो? त्यसको लागि तँ योग्य छैनस्! वास्तविक काम नगर्ने र पनि दाजुभाइ-दिदीबहिनीहरूले तँलाई श्रद्धा गरून् र तेरो मूर्तिपूजा गरून् भन्ने चाहनु—के यो दियाबलसको मानसिकता होइन र? यो त अति लाजमर्दो कुरा हो! कति मानिसहरू अगुवा बन्न बिलकुलै चाहन्नँ भनेर भन्छन्। त्यसोभए तैँले किन आफ्नो प्रतिष्ठा र हैसियतचाहिँ जोगाइराखेको त? मानिसहरूलाई बहकाउनुमा तेरो उद्देश्य के हो? यदि तँ अगुवा बन्न चाहँदैनस् भने, तैँले सक्रिय रूपमा राजीनामा दिन सक्छस्। तँ किन राजीनामा दिँदैनस्? तैँले किन त्यो पद ओगटिरहन्छस् र राजीनामा दिँदैनस्? यदि तँ राजीनामा दिन चाहँदैनस् भने, तैँले कर्तव्यनिष्ठ भएर केही वास्तविक काम गर्नैपर्छ। अरू कुनै विकल्प छैन—यो तेरो जिम्मेवारी हो। यदि तैँले वास्तविक काम गर्न सक्दैनस् भने, तैँले जबाफदेही भएर राजीनामा दिनु नै उत्तम हुन्छ; तैँले मण्डलीको काममा ढिलाइ गर्नु, वा परमेश्वरका चुनिएका मानिसहरूलाई हानि गर्नु हुँदैन। यदि तँसँग यति थोरै विवेक र समझसमेत छैन भने, के तँमा अझै पनि कुनै मानवता हुन्छ? तँ मानव कहलिन लायक छैनस्! परमेश्वरमा विश्वास गर्ने मानिसहरू अगुवा वा कामदार हुन सक्ने भए पनि नभए पनि, तिनीहरूसँग कम्तीमा थोरै विवेक र समझ छ भने मात्रै तिनीहरू मानव कहलिन लायक हुन्छन्।
अगुवा वा कामदार बन्नका लागि, व्यक्तिमा निश्चित स्तरको क्षमता हुनुपर्छ। व्यक्तिको क्षमताले उसको कार्य सामर्थ्य र उसले सत्यता सिद्धान्तहरू कति हदसम्म बुझ्छ भन्ने कुरा निर्धारित गर्छ। यदि तेरो क्षमतामा केही हदसम्म कमी छ र तँसँग सत्यताबारे पर्याप्त रूपमा गहन बुझाइ छैन, तर तैँले आफूले बुझ्न सकेजति अभ्यास गर्न सक्छस्, र आफूले बुझेको कुरालाई व्यवहारमा उतार्न सक्छस्, र तँ हृदयमा शुद्ध र इमानदार छस्, र तैँले आफ्नो पक्षमा कुनै कुराका लागि षड्यन्त्र गर्ने वा ख्याति, प्राप्ति, र हैसियत पछ्याउने गर्दैनस्, र तैँले परमेश्वरको छानबिन स्विकार्न सक्छस् भने, तँ सही व्यक्ति होस्। तर, झूटा अगुवाहरूसँग यी गुणहरू हुँदैनन्। तिनीहरू मण्डलीमा उत्पन्न हुने विभिन्न बाधा र अवरोधका समस्याहरूसँग सरोकार राख्दैनन्; तिनीहरूले यी समस्याहरू देखे पनि तीप्रति ध्यान दिँदैनन्। अवस्थाबारे अवगत छौ कि छैनौ भनेर सोधिएमा, तिनीहरूले भन्छन्, “मलाई यसबारे थोरथोरै थाहा छ जस्तो लाग्छ, तर सबै कुरा थाहा छैन।” यो तेरै आँखाअगाडि भएको थियो—तँ किन यसबारे थाहा छैन भनेर भन्छस्? के तैँले मानिसहरूलाई छल गर्न खोजिरहेको छैनस् र? तँलाई यसबारे थाहा भएकाले, के तैँले यसलाई कसरी सम्हाल्ने भन्नेबारे सोचेको छस्? के तैँले केही काम गरेको छस्? के तैँले कुनै समाधान निकाल्ने प्रयास गरेको छस्? तिनीहरूले जवाफ दिन्छन्, “त्यो व्यक्तिको क्षमता मेरो भन्दा राम्रो छ, र ऊ वाक्पटु र बोल्न सिपालु छ; म उसलाई हस्तक्षेप गर्ने आँट गर्दिनँ। यदि मैले वास्तवमा समस्या नै नभएको कुरा सम्बोधन गरेर उसलाई चिढ्याएँ भने के गर्ने? त्यसले त पछि मेरो काम गाह्रो मात्र बनाउनेछ!” तैँले आँट नगर्ने हुनाले, तँ काम नलाग्ने कायर होस् र आफ्नो जिम्मेवारीमा चुकेको छस्, र तँ अगुवा बन्नलायक छैनस्! जब तँलाई यस्तो परिस्थिति आइपर्छ, तब के यसलाई कसरी सम्हाल्ने भनेर तँलाई थाहा हुन्छ? तिनीहरूले भन्छन्, “मलाई यो कसरी सम्हाल्ने भन्ने थाहा भए पनि म आँट गर्दिनँ। के यो माथिले गर्ने काम होइन र? अनि निर्णयकर्ताको समूह पनि छ। यो कामको दायित्व ममा कसरी आउन सक्छ र?” तैँले यो कुरा देखेको र यसबारे थाहा पाएको हुनाले, यो अवस्था तैँले नै सम्हाल्नुपर्छ। यदि तेरो कद अत्यन्तै सानो छ र तैँले यो समस्या समाधान गर्न सक्दैनस् भने, के तैँले आफ्ना वरिष्ठहरूलाई उक्त समस्याबारे बताएको छस्? के तैँले यसबारे रिपोर्ट गरेको छस्? के तैँले आफ्नो जिम्मेवारीको दायरामा पर्ने कुराहरू र आफ्नो काँधमा आउने कामहरू पूरा गरेको छस्? के तैँले आफ्नो कुनै पनि जिम्मेवारी पूरा गरेको छस्? पटक्कै छैनस्! हृदयमा, तिनीहरूलाई यो कुरा राम्ररी थाहा हुन्छ: “मलाई यो समस्याबारे थाहा थियो, तर मैले काम गरिनँ। मलाई ग्लानि महसुस भएको छ! मैले त्यस मामलाबारे रिपोर्ट गर्नुपर्थ्यो, तर गरिनँ। तर अरूले पनि गरेनन्—मसँग यसको के सम्बन्ध छ र?” के अरू मानिसहरू पनि अगुवा हुन् र? अरू मानिसहरूले यो काम गर्छन् कि गर्दैनन् त्यो तिनीहरूको हो—तैँले चाहिँ किन गरेको छैनस्? यदि अरू मानिसहरूले त्यसो गर्दैनन् भने, के यसको अर्थ तैँले पनि त्यसो गर्नुपर्दैन भन्ने हुन्छ? के यो सत्यता हो? यदि अरू मानिसहरूले त्यो काम गरेका भए पनि, के त्यो तैँले गर्नुको प्रतिस्थापन हुन सक्छ? तैँले जे गर्छस्, त्यो तेरो मामला हो। के तैँले जिम्मेवारी र दायित्वहरू पूरा गरेको छस्? यदि गरेको छैनस् भने, तँ आफ्ना जिम्मेवारीहरूमा चुकेको हुन्छस्, र तँ अगुवा बन्न अयोग्य हुन्छस्, र तैँले जबाफदेही भएर राजीनामा दिनुपर्छ। तँलाई कसरी उत्थान गरिएको छ भन्ने कुरालाई तैँले कदर नै गर्दैनस्, तँ दाजुभाइ-दिदीबहिनीहरूको भरोसाको लायक छैनस्, तँ परमेश्वरको घरको भरोसाको लायक छैनस्, र तँ झनै परमेश्वरको बढाइ पाउन लायक छैनस्। तँ निर्दयी नीच व्यक्ति होस्। तेस्रो प्रकारको झूटो अगुवामा चरित्रको समस्या हुन्छ। तिनीहरूको व्यक्तिगत पछ्याइ र जीवन प्रवेश जे-जस्तो भए पनि तिनीहरूले आफ्नो कार्यकालमा कुनै वास्तविक काम गर्दैनन्, मण्डलीले बेहोरेको कुनै पनि घाटा पूर्ति गर्दैनन्, र निश्चय नै दुष्ट मानिसहरूका दुष्ट कार्यहरू तुरुन्तै रोक्न वा सम्हाल्न सक्दैनन् भन्ने तथ्यलाई मात्रै हेर्दा पनि, यस्ता व्यक्तिहरूमा कमजोर क्षमता र वास्तविक काम नगर्ने समस्या मात्र हुँदैन, सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनीहरूमा कुनै मानवता नै हुँदैन। तिनीहरूको विवेक पूर्ण रूपमा कुहिएको हुन्छ, र तिनीहरूमा कुनै किसिमको समझ हुँदैन। आम भाषामा भन्दा, तिनीहरू नैतिक रूपमा गिरेका हुन्छन्; तिनीहरू हदैसम्म स्वार्थी र घृणास्पद हुन्छन्, र तिनीहरू भरोसायोग्य हुँदैनन्। हामीले चिरफार गरेका तीन प्रकारका मानिसहरूमध्ये, यस प्रकारका मानिसहरूको मानवता सबैभन्दा खराब हुन्छ। पहिलो दुई प्रकारका मानिसहरूको क्षमता कमजोर हुन्छ, तिनीहरूले काम गर्न सक्दैनन्, र तिनीहरूले मानिसहरूलाई संवर्धन र प्रवर्द्धन गर्ने परमेश्वरको घरका सिद्धान्त र मानकहरू पूरा गर्दैनन्, त्यसैले तिनीहरूलाई संवर्धन वा प्रयोग गर्न सकिँदैन। तिनीहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ, तिनीहरू अन्धा र संवेदनशून्य हुन्छन्, र तिनीहरू व्यावहारिक रूपले मृत मानिस हुन्—तिनीहरू खुलासा र चिरफार गर्न लायक हुँदैनन्। तेस्रो प्रकारको व्यक्तिचाहिँ सबैभन्दा खराब हुन्छ। मानवताको हिसाबले तिनीहरू अत्यन्तै घृणास्पद हुन्छन्, र हामी यस्ता मानिसहरूलाई धूर्त र कुटिल भनेर चित्रण गर्छौँ। यी मानिसहरू स्यालभन्दा पनि धूर्त हुन्छन्। तिनीहरूले कुनै वास्तविक काम गर्दैनन्, तैपनि तिनीहरूसँग प्रशस्त बहाना हुन्छ र तिनीहरू पूर्ण रूपमा ढुक्क हुन्छन्। दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले मण्डलीको काममा जे-जसरी बाधा दिए पनि तिनीहरू यसबारे कुनै तनाव वा चिन्ता लिँदैनन् र अझै पनि अगुवा रहिरहन चाहन्छन्। तिनीहरूलाई किन शक्तिको यति लत लागेको हुन्छ? यी अगुवाहरूले भन्छन्, “मानिस उँभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ। शक्ति त सबैलाई नै मन पर्छ!” तिनीहरू कुनै वास्तविक काम गर्न चाहँदैनन् तर आफ्नो पदमा टाँसिरहन र आफ्नो हैसियतका लाभहरू प्राप्त गर्न चाहन्छन्। यो कस्तो प्रकारको नीच व्यक्ति हो? तिनीहरू विशुद्ध रूपमा शैतानको प्रकारमा पर्छन्, तिनीहरू कुनै गतिलो चिज नै होइनन्।
आज हामीले अगुवा र कामदारहरूको बाह्रौँ जिम्मेवारीका बारेमा तीन वटा बुँदाहरूमा सङ्गति गर्यौँ। हामीले बाह्रौँ जिम्मेवारीमा चिरफार गरेका झूटा अगुवाहरू मूलतः हामीले पहिले खुलासा गरेका झूटा अगुवाहरू जस्तै हुन्। हामीले तीन वटा बुँदालाई चिरफार गरेको भए पनि, तिनले मुख्य रूपमा दुई वटा समस्याहरूलाई समेट्छन्: एउटा के हो भने तिनीहरूको क्षमता कमजोर हुन्छ र तिनीहरूले वास्तविक काम गर्न सक्दैनन्; अर्को के हो भने तिनीहरूको मानवता खराब, घृणित, छली, र धूर्त हुन्छ, र तिनीहरूले वास्तविक काम गर्दैनन्। झूटा अगुवाहरूका आधारभूत र सारगत समस्याहरू यिनै हुन्। कसैमा यी दुई समस्याहरूमध्ये एउटा छ भने, ऊ झूटो अगुवा हो। यसमा कुनै शङ्का छँदै छैन।
सेप्टेम्बर ४, २०२१
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।