अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२) खण्ड पाँच
झुटा अगुवाहरू वास्तविक काम गर्दैनन् वा आफ्नो उचित कामलाई ध्यान दिँदैनन्
कतिपय झुटा अगुवाहरू कुनै ठोस काम गर्न सक्दैनन्, तर केही महत्त्वहीन सामान्य मामिलाहरू सम्हाल्छन्, र यो नै ठोस काम गर्नु हो, यो आफ्ना जिम्मेवारीको दायराभित्र पर्छ भन्ने सोच्छन्। त्यसबाहेक, तिनीहरू यी मामिलालाई एकदमै गम्भीर ढङ्गले सम्हाल्छन् र तिनमा निकै धेरै प्रयास लगाउँछन्, ती एकदमै शिष्ट तरिकाले पूरा गर्छन्। उदाहरणका लागि, मण्डलीमा एक जना व्यक्ति थियो जसले पहिले पेस्ट्री बाबर्चीका रूपमा काम गरेको थियो। एक दिन, उसले राम्रै मनले मेरा लागि पेस्ट्री बनाउने निर्णय गर्यो र मलाई त्यसबारे जानकारी नदिई त्यसको तयारी गर्यो। उसले त्यो बनाउन अनुमति छ कि छैन भनेर आफ्ना अगुवाहरूलाई सोध्यो, र तिनीहरूले भने, “बनाऊ न त। यदि त्यो स्वादिष्ट भयो भने, हामी त्यो परमेश्वरलाई चढाउनेछौँ। यदि स्वादिष्ट भएन भने, हामी सबैले त्यो खान सक्छौँ।” उसले अगुवाहरूको अनुमति पाएको थियो, जसले गर्दा यो काम वैध र उचित बन्यो, त्यसैले उसले तुरुन्तै सामग्री जुटाएर यसो भन्दै पहिलो खेपको पेस्ट्री बनायो, “यो स्वादिष्ट हुन्छ कि हुँदैन, वा यो परमेश्वरलाई चित्तबुझ्दो हुन सक्छ कि सक्दैन, वा उहाँलाई यसको स्वाद मन पर्छ कि पर्दैन, त्यो मलाई थाहा छैन।” अगुवाहरूले जवाफ दिए, “ठिक छ। हामी हाम्रो केही समय र स्वास्थ्य त्याग गर्नेछौँ, र परमेश्वरका लागि थोरै जोखिम मोल्नेछौँ। हामी पहिले त्यो चाखेर परमेश्वरका लागि ठिक हुन्छ कि हुँदैन भनेर जाँच्नेछौँ। यदि त्यो साँच्चै स्वादिष्ट भएन र हामीले परमेश्वरलाई त्यो खान आग्रह गर्यौँ भने, उहाँ हामीसँग रिसाउनुहुनेछ र एकदमै दुःखी हुनुहुनेछ। त्यसकारण, अगुवाका रूपमा हामीसँग यस मामिला सम्बन्धी जाँच गर्ने जिम्मेवारी र दायित्व हुन्छ। यो ठोस काम गर्नु हो।” त्यसपछि, अलिकति “जिम्मेवारी बोध” भएको प्रत्येक समूहको प्रमुखले पेस्ट्री चाख्यो। त्यो चाखेपछि, तिनीहरूले यसो भन्दै समीक्षा गरे, “यस खेपमा ओभन धेरै तातिएछ, तापक्रम अति उच्च भएछ, र सायद त्यसले गर्दा पेस्ट्री भित्रपट्टि डढ्योजस्तो छ—त्यो अलि तितो पनि छ। त्यो राम्रो होइन! हामीले जिम्मेवार मनोवृत्ति राखेर अर्को खेप पकाउनुपर्छ र फेरि त्यो चाख्नुपर्छ!” तिनीहरूले यस खेपको पेस्ट्री चाखेपछि यसो भने, “यो लगभग ठिक छ। यसमा मखनको बास्ना छ, अण्डा र तिलको स्वाद पनि छ। यो हो नि त पेस्ट्री बाबर्चीको कमाल! पेस्ट्रीहरू धेरै छन्, र परमेश्वर एक्लैले यी सबै खान सक्नुहुन्न, त्यसैले एउटा सानो भाँडामा १०-२० वटा हालौँ, र नमुनाका रूपमा परमेश्वरलाई चाख्न दिऊँ। यदि परमेश्वरलाई ती स्वादिष्ट लाग्यो भने, हामी त्यो धेरै मात्रामा पकाइरहन सक्छौँ।” तिनीहरूले मलाई एउटा भाँडो दिए, र मैले तीमध्ये दुइटा चाखेँ। मलाई ती ठिकैको नयाँ स्वाद लाग्यो, तर त्यो मुख्य खानाका रूपमा उपयुक्त थिएन, त्यसैले मैले त्यो खान बन्द गरेँ। कतिपय मानिसले त्यो ठिकै स्वादको भए पनि परमेश्वरको घरको सदस्यले घरमै बनाएको, प्रेम, बफादारी र भयले भरिएको, अनि त्यसले धेरै अर्थ बोकेको समेत ठाने। पछि, मैले पेस्ट्रीको भाँडो फिर्ता गरेँ। मलाई त्यस्ता कुरामा रुचि छैन र म त्यसको भोको छैनँ। त्यसबाहेक, यदि मलाई पेस्ट्री खाने तीव्र चाहना भएमा, म धेरै पैसा खर्च नगरी बजारमा विभिन्न स्वाद र विभिन्न देशका पेस्ट्री किन्न सक्छु। पछि, मैले तिनीहरूलाई भनेँ, “म तिमीहरूको भावनाको कदर गर्छु, तर कृपया मेरा लागि अब योभन्दा बढी नबनाऊ। म त्यो खानेछैनँ, र यदि मलाई केही चाहियो भने, म आफै किन्नेछु। यदि आवश्यकता पर्यो भने, मैले बनाउनू भनेपछि मात्र बनाउनू; यदि मैले तिमीहरूलाई बनाउनू भनेर भनिनँ भने, त्यो फेरि बनाउनु आवश्यक छैन।” के यो कुरा बुझ्न एकदमै सजिलो थिएन र? यदि तिनीहरू सुसंस्कारी र आज्ञाकारी भएका भए, तिनीहरूले मेरा वचनहरू सम्झनेथिए र फेरि त्यो बनाउने थिएनन्। जब परमेश्वर बोल्नुहुन्छ, तब हुन्छको अर्थ हुन्छ, अनि हुँदैनको अर्थ हुँदैन नै हुन्छ, र “एउटै पनि नबनाऊ” भन्नुको अर्थ “एउटै पनि नबनाऊ” नै हुन्छ। तर, केही समय बितिसकेपछि, तिनीहरूले मलाई थप दुई भाँडा पेस्ट्री पठाए। मैले तिनीहरूलाई भनेँ, “मैले तिमीहरूलाई अबउसो नबनाउनू भनेको होइन?” तिनीहरूले जवाफ दिए, “यो पहिलेको भन्दा फरक छ।” मैले जवाफमा भनेँ, “त्यो फरक भए पनि पेस्ट्री नै त हो। एउटै पनि पेस्ट्री बनाउनु आवश्यक छैन। म सिधै भन्दै छु—यदि मलाई केही चाहिएमा, म तिमीहरूलाई भन्नेछु। के तिमीहरू मानव भाषा बुझ्न सक्दैनौ? अबउसो त्यो नबनाऊ।” के यी शब्दहरू बुझिन्छ? (बुझिन्छ।) तैपनि त्यो बनाउने व्यक्तिले किन सधैँ बिर्सेजस्तो देखिन्छ? यदि पेस्ट्री बनाउने व्यक्तिका अगुवाहरूले उसलाई जाँच गर्न, यो गर्नमा ऊसँग सक्रिय रूपमा सहकार्य नगर्न वा उसलाई प्रोत्साहित नगर्न, र उसलाई तुरुन्तै प्रतिबन्ध लगाउन सकेका भए, के उसले अझै त्यसो गर्ने हिम्मत गर्नेथ्यो? कम्तीमा पनि, उसले यो यति निर्भिक र निर्लज्ज रूपमा गर्नेथिएन। त्यसोभए, ती अगुवाहरूले यस परिस्थितिमा कस्तो प्रभाव पारे? तिनीहरूले हरकुरालाई सूक्ष्म-व्यवस्थापन गरे, सबै कुरामा हस्तक्षेप गरे, र मेरो तर्फबाट जाँच गर्ने जिम्मेवारी लिए। तिनीहरू यति “प्रेमिला” थिए कि यसलाई शब्दमा वर्णन गर्न सकिँदैन। के तिनीहरूले गर्नुपर्ने काम यही हो? परमेश्वरको घरको कामका सिद्धान्तहरूभित्र यसो गर्नुपर्ने कुनै निर्देशनहरू थिएनन् र मैले तिनीहरूलाई यो काम सुम्पेको थिइनँ; यो मानिसहरूले नै सुरु गरेका थिए, मैले त्यो अनुरोध गरेको थिइनँ। त्यसोभए यी अगुवाहरूले किन यस कामलाई यति सक्रिय रूपमा अघि बढाए? यो झूटा अगुवाहरूको एउटा प्रकटीकरण हो: आफ्नो उचित कामप्रति ध्यान नदिने। मण्डलीमा तिनीहरूले अनुगमन, निरीक्षण गर्नुपर्ने र झकझकाउनुपर्ने एकदमै धेरै काम थिए, अनि तिनीहरूले सत्यतामा सङ्गति गरेर समाधान गर्नुपर्ने एकदमै धेरै वास्तविक समस्याहरू थिए, तर तिनीहरूले तीमध्ये कुनै काम गरेनन्। यसको सट्टा, तिनीहरूलाई भान्साकोठामा मेरा लागि पेस्ट्रीहरू चाख्ने फुर्सद थियो। यस मामिलामा तिनीहरू निकै गम्भीर र धेरै प्रयासरत थिए। के यो झूटा अगुवाहरूले गर्ने कुरा होइन र? के यो पहिले नै धेरै घृणित छँदै थियो, होइन र? केही समय बितेपछि यो मामिला फेरि देखा पर्नेछ भनेर मैले कहिल्यै अपेक्षा गरेको थिइनँ। पेस्ट्री बनाउने व्यक्ति फेरि मेरा लागि पेस्ट्री बनाउन सुरु गर्न चाहन्थ्यो। मैले एक जना अगुवालाई तोकेरै भनेँ, “तँ गएर यो कुरा हल गर्। तैँले यो कुरा उसलाई स्पष्ट रूपमा बुझाउनुपर्छ। यदि उसले फेरि त्यसै गर्यो भने, म तँलाई जवाफदेही ठहराउनेछु!” मण्डलीमा गर्नुपर्ने धेरै काम भएकाले, कुनै पनि कामले तिनीहरूलाई केही समयका लागि व्यस्त बनाउनेथ्यो। तिनीहरू किन यति फुर्सदिला थिए? के तिनीहरू यहाँ आफूलाई पोस्याउन वा बेकारको गफसफ गर्नका लागि आएका थिए? यो ठाउँ ती कुराका लागि होइन। त्यसपछि, यस विषयमा थप कुनै खबर आएन। मैले त्यो निर्देशन दिएपछि, त्यस अगुवाले कुनै रिपोर्ट दिएन। जे भए पनि, कसैले पनि मलाई ती स-साना पेस्ट्रीहरू फेरि पठाएन, जुन धेरै राहतको कुरा थियो। यस घटनालाई नियाल्दा, के हामी यी अगुवाहरूले आफ्नो उचित काममा ध्यान दिइरहेका थिएनन् भनेर भन्न सक्छौँ? (सक्छौँ।) यो मामिला त्यति गम्भीर पनि होइन; त्योभन्दा अझ गम्भीर मामिलाहरू छन्।
म कतिपय मण्डलीमा वरिपरि हेर्न, अगुवाहरूलाई भेट्न, केही काममा निर्देशन दिन र केही समस्याहरू समाधान गर्नका लागि प्रायः गइरहन्छु। कहिलेकाहीँ, मैले यी मण्डलीहरूमा दिउँसोको खाना खानुपर्ने हुन्छ, जसले गर्दा खाना कसले तयार पार्ने भन्ने प्रश्न उठ्छ। अगुवाहरू यति जिम्मेवार थिए कि तिनीहरूले बाबर्ची हुँ भनी दाबी गर्ने व्यक्तिलाई रोजे। मैले भनेँ, “ऊ बाबर्ची हो कि होइन भन्ने कुरा महत्त्वपूर्ण होइन; महत्त्वपूर्ण कुरा के हो भने, म साधारण खाना रुचाउँछु। मलाई मौलिक स्वादको खानेकुरा चाख्न मन पर्छ। खाना धेरै नुनिलो, चिल्लो वा पिरो हुनु हुँदैन। जाडोमा मलाई तातो कुरा खानुपर्ने हुन्छ। साथै, खाना राम्ररी पाकेको हुनुपर्छ, अधकल्चो पाकेको हुनु हुँदैन, र सजिलै पच्ने हुनुपर्छ।” के मैले यी सिद्धान्तहरू स्पष्ट रूपमा बताएको थिइनँ? के ती पालना गर्न सजिला थिए? ती सम्झन र पूरा गर्न दुवै सजिला थिए। तीनदेखि पाँच वर्षसम्म खाना पकाएकी कुनै पनि गृहिणीले यी सिद्धान्तहरू बुझ्न र पालना गर्न सक्थी। त्यसैले, मेरो खाना बनाउनका लागि बाबर्ची खोज्न अड्डी कस्नु पर्दैनथ्यो; घरमा पकाइने खानेकुरा बनाउन सक्ने व्यक्ति भए पुग्थ्यो। तर, यी अगुवाहरू यति “प्रेमिला” थिए कि उनीहरूले मलाई अतिथि सत्कार गर्दा खाना तयार पार्न “बाबर्ची” खोज्न अड्डी कसे। बाबर्चीले आधिकारिक रूपमा मेरा लागि खाना बनाउनुअघि, अगुवाहरूले जाँच गर्नुपर्थ्यो। तिनीहरूले यो कसरी गरे? तिनीहरूले बाबर्चीलाई मोमो र ग्रेभीयुक्त थुक्पाको परिकार बनाउन लगाए, र केही परिकारलाई परपर भुट्न लगाए। विभिन्न समूहका सबै अगुवा र प्रमुखहरूले ती चाखे, र तिनीहरूलाई सबै परिकार निकै राम्रो लाग्यो। अन्त्यमा, तिनीहरूले त्यस बाबर्चीलाई मेरा लागि खाना पकाउने कामको जिम्मा लिन भने। अगुवाहरूको स्वाद परीक्षणका नतिजा र यसमा समावेश समस्याहरूको प्रकृतिलाई छोडेर, पहिले यस बाबर्चीले तयार पारेको खानाबारे कुरा गरौँ। पहिलो पटक म जाँदा, बाबर्चीले केही परिकार परपर भुट्यो, र सबै जना निकै सन्तुष्ट भए। दोस्रो पटक, बाबर्चीले मोमो बनायो। सुरुमा एउटा खाएपछि, मलाई कस्तो-कस्तो लाग्यो—त्यो अलि मसलादार थियो। मेरो वरपरका अरूले पनि मोमो अलि पिरो छ भने, र तिनीहरूलाई जिब्रो सुन्निन थालेको महसुस भयो। तर, मोमो नै मुख्य खाना भएकाले, पिरो भए पनि मैले त्यो सकाउनुपर्यो। किमामा खुर्सानी देखिँदैनथ्यो, त्यसैले जेसुकैले मोमो पिरो बनाएको भए पनि मैले त्यसलाई बेवास्ता गरेँ र खाना सकाएँ। फलस्वरूप, त्यो साँझ मेरो शरीरमा एलर्जी हुन थाल्यो। मेरो शरीरका धेरै ठाउँमा लगातार चिलाउन थाल्यो, र मैले कन्याएको कन्यायै गर्नुपर्यो; मैले रगत निस्किन्जेल कन्याएपछि मात्र अलि आराम मिल्यो। मलाई तीन दिनसम्म चिलायो र त्यसपछि बिस्तारै चिलाउन कम भयो। यो एलर्जी भएपछि, मलाई मोमोमा पक्कै पनि मरिच हालिएको रहेछ भन्ने थाहा भयो; नत्र त्यो त्यति पिरो हुनेथिएन। मैले तिनीहरूलाई मरिचजस्ता पिरो सामग्रीहरूले मलाई राम्रो नगर्ने भएकाले ती नहाल्नू भनेको थिएँ। तर, तिनीहरूले आफ्नो स्वादका लागि त्यो निकै मात्रामा हाले, जुन सामान्य मात्राभन्दा बढी थियो; त्यो मोमो खाँदा पिरो स्वाद आउँथ्यो। बाबर्चीले खाना पकाउँदा ठिक्क अनुपात मिलाउनसमेत सकेको थिएन, उसले कसैलाई एलर्जी हुनेगरी मरिच हालेको थियो। पछि, मैले उसलाई भनेँ, “ती मसलाहरू फेरि कहिल्यै नहाल्। त्यसले मलाई राम्रो गर्दैन। यदि तँमा साँच्चै कुनै मानवता छ भने, फेरि त्यसो नगर्। यदि तँ आफ्ना लागि खाना पकाउँछस् भने, म तेरा खानेकुरामा हस्तक्षेप गर्नेछैनँ। तर, यदि तँ मेरा लागि खाना पकाउँदै छस् भने, हाल्दै नहाल्। मेरा आवश्यक मानकहरू पालना गर्।” के उसले त्यो गर्न सक्यो? के यो काम अगुवाहरूले सम्हाल्नु पर्दैनथ्यो? दुर्भाग्यवश, कसैले पनि यसमा कुनै ध्यान दिएन, र तिनीहरूले गर्नुपर्ने कुनै पनि काम गरेनन्। एक पटक, जब बाबर्चीले फेरि खाना पकाउन लागेको थियो, तब उसले खानामा अलि मरिच हाल्न लाग्दा नजिकै रहेको कसैले त्यो देख्यो र उसलाई रोक्यो। उसको कडा सुपरिवेक्षणमा, बाबर्चीले त्यो हाल्ने मौका पाएन। अगुवाहरूले यति सानो समस्या पनि समाधान गर्न सकेनन्—त्यसोभए तिनीहरूले के गर्न सक्थे? बाबर्चीले खाना पकाउँदै गर्दा, तिनीहरू त्यसको स्वाद चाख्न एकदमै सक्रिय हुन्थे। कैयौँ मानिस त्यसको स्वाद चाख्न जान्थे। त्यो केवल नियमित घरमा पकाइने खाना थियो; त्यसमा त्यस्तो चाख्नलायक के थियो र? के तिमीहरू सबै पाक विशेषज्ञ हौ? के तिमीहरू अगुवा बनेपछि अचानक सबै कुरा बुझ्छौ? के तिमीहरू स्वास्थ्य सम्बन्धी सिद्धान्तहरू बुझ्छौ? के परमेश्वरको घरले तिमीहरूलाई यो गर्न बन्दोबस्त गरेको थियो? मैले कहिले तिमीहरूलाई मेरा लागि खाना चाख्ने जिम्मा सुम्पेँ वा आज्ञा गरेँ? तिमीहरूमा समझको एकदमै कमी छ, तिमीहरूमा पटक्कै लाजसरम छैन! अलिकति पनि लाज भएको जोकोहीले यति निर्लज्ज, यति घिनलाग्दो, यति समझहीन काम गर्दैन। यसले के देखाउँछ भने, यी व्यक्तिहरूमा कुनै लाजसरम छैन—तिनीहरूले मेरा लागि खाना चाखे! तिमीहरू मैले भनेका कुनै पनि सिद्धान्तहरू पालना वा पूरा गर्दैनौ। तिमीहरू आफूलाई जे स्वादिष्ट लाग्छ र तिमीहरूको जिब्रोलाई जे स्वाद पर्छ, बाबर्चीलाई त्यही पकाउन लगाउँछौ। के त्यो मेरा लागि खाना पकाएको हो? त्यो त तिमीहरूकै लागि पकाएको भएन र? के तिमीहरूले अगुवाका रूपमा यसरी नै काम गर्छौ? फाइदा लिन, कमजोरीहरूको फाइदा उठाउन, र मेरो कृपापात्र हुने प्रयास गर्न हरमौका छोप्ने—यदि तिमीहरू मेरो कृपापात्र बन्न चाहन्छौ भने, मलाई हानि नपुर्याओ! के यो सद्गुणको कमी हुनु होइन? के यो अनुचित अभिप्राय राख्नु होइन? तिनीहरू निर्लज्ज हुन्छन् र अनुचित अभिप्राय राख्छन्, तैपनि तिनीहरू अझै आफूलाई एकदमै बफादार ठान्थे! के तिनीहरूले गरेका यी कुराहरूमध्ये कुनै कुरा अगुवाहरूले वास्तवमै गर्नुपर्ने कुरा थियो? (थिएन।) तिनीहरूले गरेको कुनै पनि कुराको कुनै मानक थिएन। तिनीहरूलाई त कुन खाना स्वस्थकर वा अस्वस्थकर छ भन्नेसमेत थाहा थिएन, तैपनि तिनीहरूले आफू यहाँ आएर मेरा लागि स्वास्थ्य र खाद्य विशेषज्ञको भूमिका निभाउन सक्छु भन्ने ठाने! मेरा लागि खाना पकाउने सन्दर्भमा तिमीहरूले जाँच गर्नैपर्छ भन्ने सर्त कसले तोक्यो? के मण्डलीमा यस्तो सर्त हुन्छ? के परमेश्वरको घरले यो प्रबन्ध गरेको थियो? मण्डलीको कामका विभिन्न पक्षमा एकदमै धेरै कमजोरी देखा परे, अत्यन्तै धेरै मानिसमा परमेश्वरबारे गलतफहमी थियो र तिनीहरूले सत्यता पटक्कै बुझ्दैनथे, तैपनि तिमीहरूले ती कुरालाई सम्बोधन गरेनौ। बरु, तिमीहरूले आफ्नो “जिम्मेवारी” पूरा गरेको भन्दै भान्साजस्तो सानो क्षेत्रमा आफ्नो प्रयास लगायौ। तिमीहरू खाँटी झूटा अगुवा हौ, तिमीहरू पाखण्डी हौ! तिमीहरू मेरै अगाडि कामकुरा जाँचिरहेका थियौ—तिमीहरूले के बुझ्यौ? के तिमीहरूले मसँग परामर्श गर्यौ? तिमीहरूले आफ्नै विचार व्यक्त गरिरहेका थियौ कि मेरो विचार? यदि तिमीहरूले मेरो विचार व्यक्त गरिरहेका, र मैले तिमीहरूलाई त्यो व्यक्त गर्नू भनेको भए, तिमीहरूले गरिरहेको कुरा सही हुनेथ्यो। त्यो तिमीहरूको जिम्मेवारी हुनेथ्यो। यदि तिमीहरूले मेरो नभई आफ्नै विचार व्यक्त गरिरहेका थियौ, अनि अरूलाई त्यो सुन्न र स्विकार्न जिद्दी गर्दै बाध्य पारिरहेका थियौ भने, यो कस्तो प्रकृतिको कुरा हो? मलाई भन, के मलाई यो कुरा देखेर घिन लाग्ने थिएन? म त्यहीँ थिएँ, तर तिनीहरूले मलाई म के खान्छु वा मेरा आवश्यकताहरू के हुन् भनेर एक शब्द पनि सोधेनन्—तिनीहरूले मेरो स्वीकृतिविना निर्णयहरू गरे, र मेरो पिठ्यूँपछाडि मनमानी तरिकाले आदेशहरू दिए। के तिनीहरूले मेरो प्रतिनिधित्व गर्न खोजिरहेका थिए? यो त झूटा अगुवाहरूले नराम्रा कामकुरा गर्दै, आफू आत्मिक भएको, आफूले परमेश्वरको बोझलाई विचार गरेको, सत्यता बुझेको नाटक गर्दै, र केवल पाखण्डी कामहरू गर्दै विध्वंश मच्चाउनु हो। के यो अति भएन र? के यो पहिले नै एकदमै घृणित र तिरस्कृत भइसकेको छैन र? (छ।) के तिमीहरूले कुनै अन्तर्दृष्टि पाएका छौ? के तिमीहरूले यसबाट कुनै पाठ सिकेका छौ? यी प्रत्येक मामिलाहरू अघिल्लो भन्दा बढी घृणित छन्, र अर्को त झनै घिनलाग्दो छ।
यसपालीको जाडो याममा, एक जना दयालु व्यक्तिले मलाई हाँसको प्वाँखबाट बनेको “सुन्दर” डाउन ज्याकेट किनिदियो। यसको सुन्दरता भनेको रङ वा स्टाइलमा नभई यसको उच्च मूल्य र उच्च गुणस्तरमा थियो; यो बहुमूल्य वस्तु थियो। अविश्वासीहरूमाझ एउटा भनाइ छ, “हजार माइल टाढाबाट पठाइएको हाँसको प्वाँख: उपहार सानो होला, तर भावना गहन हुन्छ।” यस कोटमा भावना मात्र थिएन, तर यो वास्तवमै एकदमै महँगो थियो। मैले कोट देख्नुअघि नै, त्यो सुन्दर र रातो रङको, राम्रो डिजाइनको र खप्ने खालको छ भन्ने सुनिसकेको थिएँ। मैले यसबारे सुनेको थिएँ, त्यसैले अवश्य नै केही मानिसले पहिले नै त्यो वास्तविक वस्तु देखेका थिए—अर्थात्, धेरै मानिसले त्यो देखिसकेका थिए, लगभग नापेका थिए, र यसो भन्दै त्यसलाई नजिकबाट जाँचेका थिए, “मलाई यो ब्रान्ड थाहा छ,” “यो रङ राम्रो छ, यो एकदमै सुन्दर छ!” “तपाईँले त्यो हेरेपछि, मलाई हेर्न ल्याइदिनुहोस् है,” र त्यसरी नै खबर फैलिएको थियो। यो खबर मेरा कानमा पुग्न र मलाई यसबारे अलिकति जान्न कति समय लाग्यो भन्ने मलाई थाहा छैन। के तिमीहरू यसमा भएको समस्या देख्न सक्छौ? मैले कोट नदेखीकनै, त्यसलाई अरू धेरै मानिसले देखिसकेका, यताउता घुमाइसकेका र प्रदर्शन गरिसकेका थिए। के यो समस्या होइन? के मानिसहरूले मेरो सामान त्यतिकै हेर्न, छुन र प्रदर्शन गर्न मिल्छ? (मिल्दैन।) मानिसहरूले कसको सामान त्यतिकै छुन र हेर्न मिल्छ? (कसैले पनि यस्तो होस् भन्ने चाहँदैन, र कसैले पनि यसो गर्नु हुँदैन।) त्यसोभए, मेरो सामान झनै कसैको पहुँच बाहिर हुनु पर्दैन र? कतिपय मानिस भन्छन्, “ती किन पहुँच बाहिर हुनुपर्ने? तपाईँ सार्वजनिक व्यक्तित्व हुनुहुन्छ। के सेलिब्रेटी र प्रसिद्ध व्यक्तिहरूको निजी जीवन सधैँ खुलासा हुँदैन र? तिनीहरू कहाँ खेलकुद खेल्छन्, कहाँ सौन्दर्य उपचार गर्छन्, कोसँग सङ्गत गर्छन्, कुन ब्रान्डका चिजबीज लगाउँछन्—के यी सबै कुरा खुलासा हुँदैनन् र? तपाईँका कुराहरू चाहिँ किन खुलासा हुनु हुँदैन र?” के म सेलिब्रेटी हो? म सेलिब्रेटी होइन, र तँहरू मेरो प्रशंसक होइनस्। तँ को होस्? तँ एक साधारण व्यक्ति, एक सृजित प्राणी र एक भ्रष्ट मानिस होस्। म को हुँ? (परमेश्वर।) म सार्वजनिक व्यक्तित्व होइन; ममा सबै कुरा तँलाई खुलासा गर्ने, तँलाई सबै कुराको रिपोर्ट गर्ने, वा सबै कुराबारे जानकारी दिने दायित्व छैन। त्यसोभए, तैँले मेरो स्वामित्वको कुरा किन छोइरहेका छस्? के त्यसो गर्नु घृणित कुरा होइन? के मैले तँलाई मेरो यो सम्पत्ति हेर्न र जाँच्न आदेश दिएको थिएँ? थिइनँ। तैपनि कतिपय मानिसले यस्तो निर्लज्ज पाराले त्यसलाई लिएर त्यतिकै हेर्न, र यताउता घुमाउनसमेत हिम्मत गरे। तँलाई त्यो यताउता पठाउने अधिकार कसले दियो? के यो तेरो दायित्व हो? यदि तँ परमेश्वरमा विश्वास गर्दैनस् भने, हामी एकअर्काका लागि नौला हौँ। तैँले परमेश्वरमा विश्वास गर्ने भएकाले मलाई तँ को होस् भन्ने थाहा छ, तर मलाई तेरो परिवार, दैनिक जीवन, वा आर्थिक अवस्था कस्तो छ भन्ने थाहा छैन, र मलाई जान्न मन पनि छैन। के हामी घनिष्ठ छौँ? म तेरो जिगरी साथी, सँगी वा मित्र होइन। हामी परिचित छैनौँ, र हामी मेरा सबै कुरा तेरा लागि हेर्नलाई खुला गर्नुपर्ने मोडमा पुगेका छैनौँ। के तँ मलाई तेरा सबै सरसामान हेर्न र सबैले देख्न र छुनका लागि प्रदर्शन गर्न दिन्छस्? तैँले बजारबाट घरमा कुनै चिजबिज ल्याउँदासमेत त्यसलाई कीटाणुमुक्त गर्न धेरै पटक धुनुपर्छ! के अरू मानिसले त्यतिकै छोएका चिजहरू घृणित हुँदैनन् र? के तँ आफूलाई बाहिरी व्यक्तिजस्तो व्यवहार गर्न असफल भएको होइनस् र? तँलाई मेरो कोट निरीक्षण गर्न कसले आदेश दियो? के म तँलाई भरोसा गर्छु? के तैँले मेरो कोटलाई लापरवाहीपूर्वक छुनुअघि आफ्नो हात सफा हुनेगरी धोएको छस्? के मलाई तँदेखि घृणा लाग्नेछैन? के तँ यसबारे स्पष्ट छस्? तँ किन यति निर्लज्ज छस्? तँमा समझको एकदमै कमी छ! तैँले केही वर्षदेखि परमेश्वरमा विश्वास गर्दै आएको छस् र धेरै प्रवचन सुनेको छस्; कसरी तँमा अलिकति पनि समझ छैन? परमेश्वरको स्वामित्वका भेटीहरू त्यतिकै खोल्नु, उहाँको लुगा, उहाँका स्वामित्वमा रहेका चिजहरू त्यतिकै छुनु—यो कस्तो प्रकारको समस्या हो? यी चिजहरूको प्याकेजिङ खोलिएको र फ्याँकिएको देख्दा, म कसरी नरिसाऊँ? मलाई यी कुरादेखि घृणा लाग्छ, र म यी मानिसहरूलाई तिरस्कार गर्छु। म तिनीहरूलाई फेरि हेर्न चाहन्नँ, र म यी सुँगुर र कुकुरभन्दा खराब मानिसहरूसँग अवश्यै सङगत गर्न चाहन्नँ! याद गर्, प्रत्येक व्यक्तिको आफ्नै इज्जत हुन्छ, र मेरो अझ धेरै छ। मेरो स्वामित्वका चिजहरूमा हात नहाल्; नत्र, म तँलाई तिरस्कार र घृणा गर्नेछु!
यसो हेर्दा, झूटा अगुवाहरूले ठूला दुष्टताहरू नगर्लान् वा तिनीहरू पूर्णतया छली खलनायक नहोलान्। तर, तिनीहरूबारे सबैभन्दा घृणित कुरा के हो भने, तिनीहरू आफूले गर्नुपर्ने वास्तविक काम छ भन्ने देख्न सक्छन् तर त्यो गर्दैनन्, तिनीहरूलाई आफूले समस्याहरू समाधान गर्न सक्दिनँ भन्ने राम्ररी थाहा हुन्छ तर तिनीहरू सत्यता खोज्दैनन्, तिनीहरूले दुष्ट मानिसहरूले बाधा पुर्याइरहेको देख्छन् तर तिनीहरूलाई तह लगाउँदैनन्, त्यसको सट्टा बाहिरी सामान्य मामिलाहरूलाई मात्र ध्यान दिन्छन्। तिनीहरू कम महत्त्वका मुद्दा र सानातिना मामिलाहरूमाथि कडा निगरानी राख्छन् र नियन्त्रण गर्छन्, तर परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशसँग सम्बन्धित कुनै पनि काम गर्दैनन्, वा सत्यता सिद्धान्तहरूविरुद्धका विभिन्न मामिलाहरूबारे वास्ता गर्दैनन्। बरु, तिनीहरू सत्यतासँग असम्बन्धित काम मात्र गर्छन्। यिनीहरू खाँटी झूटा अगुवा हुन्। झूटा अगुवाहरू मण्डलीको कामका विभिन्न पक्षसँग सम्बन्धित सत्यता सिद्धान्तहरूबारे पूर्ण रूपमा अनभिज्ञ हुन्छन्। यदि तिनलाई अगुवा र कामदारहरूका सिद्धान्त र मानकहरूसँग मापन गरियो भने, झूटा अगुवाहरू मूर्ख र बेवकूफ हुन्। मण्डलीका काममा उत्पन्न हुने समस्याहरू जति नै गम्भीर भए पनि, झूटा अगुवाहरू ती देख्न वा समाधान गर्न सक्दैनन्, चाहे ती तिनीहरूकै आँखासामु किन घटित नहोऊन्, र माथिले आफै आएर ती समस्या समाधान गर्नुपर्छ। के यी मानिसहरू झूटा अगुवा होइनन् र? (हुन्।) तिनीहरू वास्तवमै झूटा अगुवा हुन्। उदाहरणका लागि, मण्डलीको लेखन-आधारित काममा, कुन पुस्तकहरूको शुद्धाशुद्धि जाँच गर्नुपर्छ र कुन पुस्तकहरू अनुवाद गर्नुपर्छ—यी कुरा मण्डलीका लागि अत्यन्तै महत्त्वपूर्ण काम हुन्। के पुस्तकहरूको शुद्धाशुद्धि जाँच र अनुवाद गर्ने तरिकाबारे कुनै सिद्धान्तहरू छन्? पक्कै पनि यस कामका सिद्धान्तहरू छन्, यो एकदमै सिद्धान्तमा आधारित हुन्छ, र यसलाई साँच्चै विशेष रूपले सङ्गति र मार्गनिर्देशित गर्नुपर्छ; तर झूटा अगुवाहरू यो काम गर्न सक्दैनन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्ना कर्तव्यमा व्यस्त देख्दा ढोँग गर्दै भन्छन्, “लेखन-आधारित काम र अनुवाद कार्य विशेष रूपले महत्त्वपूर्ण छन्। तिमीहरूले यो काम मन लगाएर राम्रोसँग गर्नुपर्छ, र म तिमीहरूलाई भएका कुनै पनि समस्याहरू समाधान गर्नेछु।” कसैले वास्तवमै कुनै मुद्दा उठाउँदा, यी झूटा अगुवाहरू भन्छन्, “म यो मामिला बुझ्दिनँ। म विदेशी भाषाहरू अनुवाद गर्ने कुरामा भुइँमान्छे हुँ। परमेश्वरलाई प्रार्थना गरेर उहाँबाटै जबाफ खोज।” कसैले “हामी निश्चित भाषाहरू अनुवाद गर्न उपयुक्त मानिसहरू भेट्टाउन सक्दैनौँ, हामी यसमा के गरौँ?” भन्दै अर्को मुद्दा उठाउँदा, झूटा अगुवाहरू यस्तो जवाफ दिन्छन्, “म यस मामिलामा भुइँमान्छे हुँ। यसलाई तिमीहरू आफै सम्हाल।” के यसो भनेर समस्या समाधान हुन्छ? तिनीहरू बहाना खोज्छन् र आफूले आफ्नो काम नगरिरहेको तथ्यलाई यसो भन्दै ढाकछोप गर्छन्, “म एक भुइँमान्छे हुँ; म यो पेशा बुझ्दिनँ,” र यसरी आफूले समाधान गर्नुपर्ने समस्याबाट भाग्छन्। झूटा अगुवाहरू यसरी नै काम गर्छन्। कसैले प्रश्न उठाउँदा, झूटा अगुवाहरू भन्छन्, “परमेश्वरलाई प्रार्थना गरेर उहाँबाटै जबाफ खोज; म यो पेशा बुझ्दिनँ, तर तिमीहरू बुझ्छौ।” यो कुरा नम्र लाग्ला, किनकि तिनीहरूले आफू असक्षम छु र आफूले त्यो पेशा बुझ्दिनँ भनेर स्विकारिरहेका हुन्छन्, तर वास्तवमा, तिनीहरू अगुवाइको काम गर्न पटक्कै सक्दैनन्। अवश्य नै, एउटा अगुवा हुनु भनेको, व्यक्तिले हरप्रकारको पेशा बुझ्नैपर्छ भन्ने होइन, तर उसले समस्याहरू समाधान गर्न आवश्यक सत्यता सिद्धान्तहरू प्रस्ट रूपमा सङ्गति गर्नुपर्छ, चाहे ती समस्याहरू जस्तोसुकै पेशासँग सम्बन्धित होऊन्। जबसम्म मानिसहरूले सत्यता सिद्धान्तहरू बुझ्छन्, समस्याहरूलाई सोही अनुसार समाधान गर्न सकिन्छ। झूटा अगुवाहरूले “म यो कुरामा भुइँमान्छे हुँ; म यो पेशा बुझ्दिनँ” भन्ने कारण प्रयोग गरेर समस्याहरू समाधान गर्नका लागि सत्यता सिद्धान्तहरू सङ्गति गर्नबाट पन्छिन्छन्। यो वास्तविक काम गर्नु होइन। यदि झूटा अगुवाहरूले निरन्तर “म यो कुरामा भुइँमान्छे हुँ; म यो पेशा बुझ्दिनँ” भन्ने भनाइलाई समस्याहरू समाधान गर्नबाट पन्छिने कारणका रूपमा प्रयोग गर्छन् भने, तिनीहरू अगुवाइको कामका लागि उपयुक्त छैनन्। तिनीहरूले गर्नुपर्ने सर्वोत्तम काम राजीनामा दिनु र अरू कसैलाई आफ्नो ठाउँ लिन दिनु हो। तर के झूटा अगुवाहरूमा यस्तो समझ हुन्छ? के तिनीहरूले राजीनामा दिन सक्नेछन्? सक्नेछैनन्। तिनीहरूले यस्तो समेत सोच्छन्, “उनीहरू किन मैले कुनै काम गरिरहेको छैन भनेर भन्छन्? म हरदिन भेलाहरू राख्छु, र म यति व्यस्त हुन्छु कि समयमा खाना समेत खान पाउँदिनँ, र मेरो निद्रा पुगिरहेको छैन। समस्याहरू समाधान भइरहेका छैनन् भनेर कसले भन्छ? म भेलाहरू राख्छु र उनीहरूसँगै सङ्गति गर्छु, र म उनीहरूका लागि परमेश्वरका वचनका खण्डहरू खोज्छु।” मानिलिऊँ तैँले तिनीहरूलाई सोधिस्, “कसैले कतिपय भाषाका लागि उपयुक्त अनुवादकहरू खोज्न सकेन भनेर भनेको थियो। तपाईँले यो विशेष समस्या कसरी समाधान गर्नुभयो?” तिनीहरूले भन्नेछन्, “मैले उसलाई म त्यो पेशा बुझ्दिनँ भनेर भनेँ, र उसलाई नै छलफल गरेर त्यो सम्हाल्न लगाएँ।” त्यसपछि तैँले तिनीहरूलाई सोध्छस्, “यो समस्या भेटीहरूको खर्च र मण्डलीको कामको प्रगतिसँग सम्बन्धित छ। उसले आफै निर्णय लिन सक्दैन, उसलाई तपाईँले अरनखटन गर्नुपर्ने र त्यसलाई समाधान गर्न सत्यता सिद्धान्तहरू खोजिदिनुपर्ने हुन्छ। के तपाईँले यो गर्नुभयो?” तिनीहरूले जवाफ दिनेछन्: “मैले कसरी गरिनँ र? मैले कुनै पनि काममा ढिलाइ गरेको छैनँ। यदि त्यो भाषा अनुवाद गर्ने कोही छैन भने, तिनीहरूले अर्को भाषा अनुवाद गरे भैगो!” देखिस् नि, झूटा अगुवाहरू वास्तविक काम गर्न सक्दैनन् तैपनि धेरै बहाना बनाउँछन्। त्यो साँच्चिकै निर्लज्ज र घिनलाग्दो कुरा हो! तेरो क्षमता अत्यन्तै कमजोर छ, तँ कुनै पेशाहरू बुझ्दैनस्, र तँमा कुनै पनि पेशागत कामको हरेक पक्षमा संलग्न हुने सत्यता सिद्धान्तहरू छैन—तँलाई अगुवाका रूपमा पाएर के काम? तँ बस मूर्ख र निकम्मा होस्! तैँले कुनै वास्तविक काम गर्न नसक्ने हुनाले, किन तँ अझै मण्डली अगुवाका रूपमा सेवा गरिरहेको छस् त? तँमा समझ छँदैछैन। तँमा आत्म-चेतना नभएको हुनाले, तैँले परमेश्वरका चुनिएका मानिसहरूको प्रतिक्रिया सुन्नुपर्छ र आफूले अगुवा हुने मानक पूरा गर्छु कि गर्दिनँ भनेर मूल्याङ्कन गर्नुपर्छ। तैपनि, झूटा अगुवाहरूले यी कुराहरूबारे कहिल्यै ख्याल गर्दैनन्। मण्डलीका काममा जतिसुकै ढिलाइ भएको भए पनि, र तिनीहरूले कैयौँ वर्ष अगुवाका रूपमा सेवा गर्दा परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा जतिसुकै क्षति पुगेको भए पनि, तिनीहरूले त्यसबारे वास्ता गर्दैनन्। यो खाँटी झूटा अगुवाहरूको कुरूप मुहार हो।
अगुवा र कामदारहरूले आफ्नो काम कसरी सम्हाल्छन् भन्नेबारे विचार गर—के त्यो मैले भर्खरै तिमीहरूलाई भनेको कुरासँग मेल खान्छ? के वास्तविक काम नगर्ने कोही छ, र के तँ उसलाई झूटो अगुवा हो भनेर खुट्ट्याउन सक्छस्? यदि तँ उसलाई झूटो अगुवा हो भनेर खुट्ट्याउँछस् भने, तैँले आजदेखि नै उसलाई अगुवाका रूपमा व्यवहार गर्नु हुँदैन; तैँले उसलाई अरू कुनै व्यक्तिलाई जस्तै व्यवहार गर्नुपर्छ। यो नै अभ्यासको सही सिद्धान्त हो। कतिपयले सोच्लान्, “के यसको अर्थ ऊ झूटो अगुवा भएको कारण उसलाई भेदभाव गर्नु, होच्याउनु वा बहिष्कार गर्नु हो?” अहँ, त्यसो होइन। ऊ वास्तविक काम गर्न सक्दैन, र तँलाई आलटाल गर्न र पन्छाउन केही शब्द र धर्मसिद्धान्त अनि केही खोक्रा शब्दहरू मात्र बोल्न सक्छ। यसले तँलाई ऊ तेरो अगुवा होइन भन्ने तथ्य बताउँछ। तैँले आफ्ना काममा सामना गर्ने जुनसुकै समस्या वा कठिनाइका लागि ऊसँग निर्देशनहरू माग्नु आवश्यक छैन। आवश्यक भएमा, तिमीहरूले उसलाई नाघेर त्यसलाई कसरी सम्हाल्ने र समाधान गर्ने भन्नेबारे त्यो कुरा माथिलाई रिपोर्ट गरी माथिसँग परामर्श गर्न सक्छौ। मैले तिमीहरूलाई अभ्यासका मार्ग सिकाएको छु, तर तिमीहरू कसरी कार्य गर्छौ, त्यो तिमीहरूमा नै निर्भर छ। मैले सबै अगुवाहरू परमेश्वरद्वारा पूर्वनिर्धारित हुन्छन्, तैँले तिनीहरूको कुरा सुन्नैपर्छ र आज्ञापालन गर्नैपर्छ, अनि तैँले तिनीहरूलाई झूटा अगुवा हुन् भनेर खुट्ट्याए पनि, तिनीहरूको कुरा सुन्नैपर्छ भनेर कहिल्यै भनेको छैनँ। मैले तँलाई त्यसो कहिल्यै भनेको छैनँ। अहिले म झूटा अगुवाहरूलाई कसरी खुट्ट्याउने भन्नेबारे सङ्गति गरिरहेको छु। जब तँ कसैलाई झूटो अगुवा हो भनेर खुट्ट्याउँछस्, तब तैँले यदि उसले भन्ने कुरा सही हो र सत्यतासँग मेल खान्छ भने त्यो स्विकार्न र पालना गर्न सक्छस्। तथापि, यदि उसले समस्या समाधान गर्न सक्दैन, अनि तँलाई आलटाल गर्छ र पन्छाउँछ, जसले गर्दा कार्य प्रगति प्रभावित हुन्छ भने, तैँले उसको अगुवाइ स्वीकार गर्नुपर्दैन। यदि तिमीहरू आफैले सिद्धान्तहरू बुझ्न सक्छौ भने, तीअनुसार काम गर्नुपर्छ। यदि तिमीहरू सिद्धान्तहरू बुझ्न सक्दैनौ, तीबारे अनिश्चित छौ, वा पक्का छैनौ भने, तिमीहरूले सत्यता खोज्नुपर्छ र समस्या समाधान गर्न एकअर्कासँग छलफल गर्नुपर्छ। यदि तिमीहरूले छलफल गरेपछि पनि निर्णय लिन सकेनौ भने, त्यो समस्या माथिलाई रिपोर्ट गरेर त्यसबारे परामर्श लेऊ। यी सबै समस्या समाधान गर्ने राम्रा तरिका हुन्—समाधान गर्न नसकिने कुनै पनि कठिनाइहरू छैनन्।
हाम्रो सङ्गति आजलाई यहीँ समाप्त गरौँ। फेरि भेटौँला!
जनवरी १६, २०२१
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।