अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२) खण्ड तीन

झूटा अगुवाहरूको कामका प्रतिकूल प्रभाव र परिणामहरू

मानिसहरूलाई आफ्नो जीवन प्रवेशमा आइपर्ने सबै कठिनाइका सन्दर्भमा भन्‍नुपर्दा, झूटा अगुवाहरूले के गर्छन्? मानिसहरूले यी आठ प्रकारका कठिनाइहरूमध्ये कुनै एउटामा पर्ने कुनै पनि प्रकारको स्थितिको सामना गर्दा, के झूटा अगुवाहरूले यो पहिचान गर्न सक्छन्, र यी मानिसहरूका समस्याहरू समाधान गर्न परमेश्‍वरका वचनहरू र आफ्नै अनुभवात्मक ज्ञान प्रयोग गर्न सक्छन्? दुर्भाग्यवश, मानिसहरूलाई कठिनाइहरू आइपर्दा, तिनीहरूका समस्या समाधान गर्न यी झूटा अगुवाहरूले सतही प्रयास मात्र लगाउँछन्, र केवल केही छिपछिपे, बिलकुलै गलत र असान्दर्भिक टिप्पणीहरू मात्र गर्छन्, जसको तिनीहरूका स्वभाव र समस्याहरूसँग कुनै सम्बन्ध हुँदैन। उदाहरणका लागि, झूटा अगुवाहरूले प्रायः “तिमी सत्यतालाई प्रेम गर्दै गर्दैनौ” भनेर भन्छन्। तिनीहरू यसरी नै मानिसहरूका वास्तविक कठिनाइहरू समाधान गर्ने र तिनीहरूको सारलाई चित्रण गर्ने प्रयास गर्छन्। तिनीहरूले मानिसहरूलाई सानो समस्या वा स्थितिका लागि समेत परमेश्‍वरका वचनहरूमा जवाफ खोज्न मद्दत गर्न सक्दैनन्, न त सत्यतामा सङ्गति गरेर त्यसलाई समाधान गर्न नै सक्छन्। बरु, तिनीहरू केही धर्मसैद्धान्तिक र असम्बन्धित टिप्पणीहरू गर्छन्, वा तिनीहरू कुनै समस्यालाई टिप्छन्, अनि तिललाई पहाड बनाउँदै, मानिसहरूलाई पश्‍चात्ताप गर्ने कुनै अवसर नदिई पूर्ण रूपमा अस्वीकार गर्छन्। वास्तवमा, यदि कसैसँग परमेश्‍वरका वचनहरू बुझ्ने क्षमता र आत्मिक बुझाइ छ भने, परमेश्‍वरले आफ्ना वचनमा गर्नुभएको यी आठ पक्षीय स्थितिहरूको खुलासा उसले भेट्टाउन सक्नेछ, यो त्यति कठिन छैन। तथापि, झूटा अगुवाहरूमा आत्मिक बुझाइ नहुने, कमजोर क्षमता हुने, र बोध क्षमताको कमी हुने, साथै तिनीहरूमध्ये कति त केवल उत्साही, कदम चाल्न तत्पर, पाखण्डी र आत्मिक मानिसका रूपमा प्रस्तुत हुने हुनाले, तिनीहरूले अरू मानिसका समस्याहरू पटक्कै समाधान गर्न सक्दैनन्। मानिसहरूलाई आइपर्ने विभिन्‍न समस्याहरूका सन्दर्भमा, झूटा अगुवाहरूले तिनीहरूलाई यसो भन्दै सल्लाह दिन्छन्, “परमेश्‍वरको काम यहाँसम्म आइपुगेको छ; किन तिमी अझै पनि अरूप्रति ईर्ष्यालु हुँदै छौ र अरूसँग विवाद गर्दै छौ? के तिमीसँग त्यसका लागि समय छ? त्यसका लागि लडेर के फाइदा? के तिमी त्यसका लागि लडाइँ नगरी चल्न सक्दैनौ?” “परमेश्‍वरको काम यहाँसम्म आइपुगेको छ, तर तिमी अझै पनि एकदमै भावुक छौ, र तिमी त्यो भावना त्याग्न सक्दैनौ। ढिलोचाँडो, यी भावनाहरूले तिम्रो ज्यान लिनेछन्!” “परमेश्‍वरको काम यहाँसम्म आइपुगेको छ, तैपनि तिमी किन अझै खाने कुरा र लुगाफाटाबारे यति चिन्तित हुन्छौ? तिमीले त्यो एउटा लुगा नलगाए हुन्‍न र? के तिमी एक जोडी छालाको जुत्ता नकिनी बाँच्न सक्दैनौ? तिमीले परमेश्‍वरका वचनहरू र आफ्नो कर्तव्यमा बढी विचार गर्नुपर्छ!” “जब तिमीमाथि केही आइपर्छ, परमेश्‍वरलाई अझ धेरै प्रार्थना गर। तिमीलाई जे आइपरे पनि, त्यसमा एउटा पाठ हुन्छ: परमेश्‍वरमा समर्पित हुन अनि उहाँको सार्वभौमिकता र बन्दोबस्त बुझ्न सिक्ने।” के यो सल्लाहले वास्तविक समस्याहरू समाधान गर्न सक्छ? यसले पटक्कै समाधान गर्न सक्दैन। नत्र तिनीहरूले यसो पनि भन्छन्, “मानिसहरू शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएका छन्। के तिमी भावुक भएर परमेश्‍वरविरुद्ध विद्रोह गरिरहेका छैनौ र? के तिमीले आफूलाई नचिनेर परमेश्‍वरविरुद्ध विद्रोह गरिरहेको छैनौ र?” विद्यमान समस्या जेसुकै भए पनि, झूटा अगुवाहरूलाई व्यक्तिको सार वा स्थिति चिरफार गर्न कसरी सत्यतामा सङ्गति गर्ने भनेर थाहै हुँदैन, तिनीहरू मानिसहरूका स्थिति कसरी उत्पन्‍न हुन्छन् भनेर राम्रोसित बुझ्न, र त्यसपछि तिनीहरूका समस्या सुल्झाउनका लागि तिनीहरूको स्थितिका आधारमा सत्यतामा सङ्गति गर्न, र उचित सहयोग र भरणपोषण प्रदान गर्न सक्दैनन्। बरु यसको साटो, तिनीहरूले सधैँ एउटै कुरा भन्छन्: “परमेश्‍वरलाई प्रेम गर! आफ्नो कर्तव्य निर्वाह गर्न कडा परिश्रम गर, तिमी परमेश्‍वरप्रति बफादार हुनैपर्छ, र समस्याहरू आइपर्दा अझ बढी प्रार्थना गर्नैपर्छ!” “सबथोक परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तअन्तर्गत छ। सबथोक परमेश्‍वरको हातमा छ!” “यदि तिमी सत्यताको खोजी गर्दैनौ भने, त्यसरी काम चल्दैन। तिमीले परमेश्‍वरका वचनहरू अझ धेरै पढ्नैपर्छ। परमेश्‍वरका वचनले सबै कुरा स्पष्ट पार्छन्, तर मानिसहरू सत्यतालाई प्रेम नै गर्दैनन्!” “विपत्तिहरू आउनै लागेका छन्, सबै कुराको परिणाम निकट छ, र परमेश्‍वरको काम समाप्त हुँदै छ, तर तिमी चिन्तित छैनौ। मानिससँग कति दिन बाँकी छ र? परमेश्‍वरको राज्य आइपुगेको छ!” झूटा अगुवाहरूले यी मिल्दै नमिल्‍ने भनाइहरू मात्र उच्चारण गर्छन्, कहिल्यै विशेष रूपमा विभिन्‍न समस्याहरूको विश्‍लेषण र चिरफार गर्ने, वा मानिसहरूलाई वास्तविक भरणपोषण वा सहयोग गर्ने गर्दैनन्। तिनीहरूले या त मानिसहरूलाई परमेश्‍वरका वचनहरूबाट केही खण्ड खोजेर पढ्न दिन्छन्, या त उनीहरूलाई निराकरण गर्न असान्दर्भिक सल्लाह दिन्छन्। अन्त्यमा के हुन्छ? झूटा अगुवाहरूको हानिमा परेर, मानिसहरूलाई आफ्नो भ्रष्ट स्वभाव मात्र होइन, आफ्नो चरित्र कस्तो छ, आफू कस्तो प्रकारको व्यक्ति हुँ, र आफूसँग कस्तो प्रकृति सार छ भन्‍ने पनि थाहा हुँदैन; तिनीहरू आफ्नो क्षमता कस्तो छ, आफूसँग बोध क्षमता छ कि छैन, वा आफू कुन मार्गमा छु भन्‍नेबारे स्पष्ट हुँदैनन्। तिनीहरू अझै पनि आफूलाई हृदयदेखि मन पर्ने र मूल्यवान् लाग्ने सांसारिक र प्रचलित कुराहरू पक्रिराख्छन्, र कसैले पनि तिनीहरूलाई यी कुराहरू बुझ्न, चिरफार गर्न र विश्‍लेषण गर्न मद्दत गर्दैन। झूटा अगुवाहरूको कामका परिणामहरू यिनै हुन्। समस्याहरू उत्पन्‍न हुँदा, तिनीहरू या त मानिसहरूमाथि आइलाग्छन्, मनमानी ढङ्गले निन्दा गर्छन् र गलत आरोप लगाउँछन्, या त मानिसहरूलाई गलत सल्लाह दिन्छन् र गलत पाठ सिकाउँछन्, या त परमेश्‍वरका वचनहरू प्रयोग गरेर बलजफ्ती गलत तुलनाहरू गर्छन्। तिनीहरूको कुरा सुन्‍नेहरूले सोच्छन्, “मैले कुरा बुझेजस्तो लाग्छ, तर फेरि नबुझेजस्तो पनि लाग्छ—यस्तो लाग्छ, मानौँ मैले तिनीहरूले भनेको कुरा बुझेको छु होला, तर फेरि नबुझेको पनि होला। किन त्यस्तो भएको? अगुवाले भन्‍ने सबै कुरा सही हुन्छ, तर किन म आफ्नो हृदयबाट यो समस्या हटाउन सक्दिनँ? किन म यो कठिनाइको समाधान पाउन सक्दिनँ? किन म अझै पनि यसरी सोच्छु र यी कुराहरू गर्न चाहन्छु? यो समस्याको सार र जड कहाँ छ भनेर किन म बुझ्न सक्दिनँ? अगुवाले म सत्यतालाई प्रेम गर्दिनँ भनेर भन्छन्, र म सत्यतालाई प्रेम गर्दिनँ भन्‍ने कुरा स्विकार्छु, तर यो स्थितिबाट म किन बाहिर निस्कन सक्दिनँ?” के यी अगुवाहरूले कुनै प्रभाव पारेका छन्? तिनीहरूले बोलेका र काम गरेका भए पनि, त्यो सब ठूलो गडबडी मात्र हो, र त्यसले जति प्रभाव पार्नुपर्थ्यो त्यति पारेको छैन। तिनीहरूले मानिसहरूलाई परमेश्‍वरका अभिप्राय बुझ्न, आफूलाई परमेश्‍वरका वचनहरूसँग तुलना गर्न, र आफ्नो स्थितिलाई सही रूपमा बुझ्न, वा आफ्ना कठिनाइहरू समाधान गर्न सक्षम बनाएका छैनन्। जहाँसम्‍म पटक्कै सत्यता नस्विकार्ने, प्रभाव पार्नै नसकिने निर्लज्ज मानिसहरूको कुरा छ, तिनीहरूले जब यी अगुवाहरूले तिनीहरूलाई गम्भीरतापूर्वक र धैर्यसाथ चेताएको सुन्छन्, तब तिनीहरूलाई एकदमै झिजो लाग्छ। त्योसँगसँगै, तिनीहरू यी अगुवाहरूले भनेका शब्दहरूको सुगारटाइ गर्छन्—अगुवाहरूले पहिलो भाग सकेपछि, यी मानिसहरूले अर्को भाग बताउन सक्छन्, तर तिनीहरू चाँडै अधीर हुन्छन् र भन्छन्, “भो अब थप कुरा नभन्‍नुहोस्। तपाईँले भनिरहेको सबै कुरा मैले बुझिसकेको छु। यदि तपाईँले भन्‍न जारी राख्नुभयो भने, मलाई वाकवाक लागेर बान्तै हुनेछ!” अनि अगुवाहरूले भन्छन्, “तिमी सत्यतालाई प्रेम नै गर्दैनौ। यदि तिमीले सत्यतालाई प्रेम गर्थ्यौ भने, मैले भनेको सबै कुरा बुझ्नेथ्यौ।” तिनीहरू ओठे जवाफ दिन्छन्, “मैले सत्यतालाई प्रेम गरे पनि वा नगरे पनि तपाईँले यी शब्दहरू धेरै पटक दोहोर्‍याउनुभएको छ, तिनमा केही नयाँ छैन, र मलाई ती सुन्दा सुन्दा वाक्कै लागिसक्यो!” झूटा अगुवाहरू यसरी नै काम गर्छन्, कडाइसाथ प्रावधानहरू पालन गर्छन् र निश्‍चित वाक्यांशहरूमै एकोहोरिरहन्छन्, र मानिसहरूका वास्तविक कठिनाइहरू हल गर्न पूर्णतः असफल हुन्छन्। यदि कसैसँग परमेश्‍वरबारे धारणा छ भने, झूटा अगुवाहरूले त्यो व्यक्तिले आफूलाई चिन्दैन भनेर भन्छन्। यदि कसैमा कमजोर मानवता छ, ऊ मानिसहरूसँग मिल्न सक्दैन, र ऊसँग सामान्य अन्तरवैयक्तिक सम्बन्धको कमी छ भने, झूटा अगुवाहरूले ऊ र संलग्न अर्को व्यक्ति दुवै दोषी छन् भनेर भन्छन्, तिनीहरूले दुवैलाई भाषण छाँट्छन्, दुवैलाई दोष दिन्छन्, र भन्छन्, “ठिक छ, अब तिमीहरू दुई जनाको हिसाब बराबर भयो। हामी आफ्ना कार्यहरूमा निष्पक्ष र व्यावहारिक हुनुपर्छ, र कुनै पूर्वाग्रह नराखी सबैलाई समान व्यवहार गर्नुपर्छ। समझसाथ बोल्नेले सत्यतालाई प्रेम गर्छ, जबकि समझबिना बोल्नेले आफ्नो मुख बन्द राख्नुपर्छ, कम बोल्नुपर्छ र भविष्यमा धेरै काम गर्नुपर्छ। सही कुरा बोल्ने व्यक्तिको कुरा धेरै सुन्‍नुपर्छ।” के यो समस्या समाधान गर्नु हो? के यो काम गर्नु हो? के यो बच्चाहरूलाई खुसी पार्नु र मानिसहरूलाई मूर्ख बनाउनु जस्तो मात्र होइन र? झूटा अगुवाहरू व्यस्त रहेजस्तो देखिन सक्छन्, तर तिनीहरूले कसैको समस्या समाधान गर्न सक्दैनन्। तिनीहरूको काम कति प्रभावकारी हुन्छ? त्यो बेकार र वाहियात हुन्छ! यी त गैरविश्‍वासीका कार्यहरू हुन्।

परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासको अनुभवभरि, मानिसहरूले प्रायः केही न केही कठिनाइको सामना गर्छन्, तर झूटा अगुवाहरूले तीमध्ये कुनै पनि समस्या समाधान गर्न सक्दैनन्। झूटा अगुवाहरूले त केही शब्दहरूले नै ठिक गर्न सकिने केही स्पष्ट कठिनाइहरूसमेत समाधान गर्न सक्दैनन्, र तिनीहरू ती कुराबारे ठूलो हल्ला मच्चाउँछन् र हरेक सानो समस्यालाई ठूलो समस्या बनाउँछन्। कति मानिसहरू दुष्ट हुँदैनन्, यति मात्र हो कि तिनीहरूमा आफ्नो मानवताको हिसाबले राम्रो बानीबेहोराको अलि कमी हुन्छ, तिनीहरू आधारभूत शिष्टाचार बुझ्दैनन्, र अलि निकम्मा हुन्छन्। झूटा अगुवाहरू ती मानिसहरूमा अमेट छाप छोड्ने उद्देश्यले यी ससाना समस्याहरू पक्रेर ठूलो कोलाहल मच्चाउँछन्, र दाजुभाइ-दिदीबहिनीहरूलाई तीबारे छलफल गर्न, तिनको आलोचना र निन्दा गर्न लगाउँछन्, ताकि तिनीहरूले त्यस्तो व्यवहार गरिरहने साहस नगरून्। के यसो गर्नु आवश्यक छ? के यो समस्या समाधान गर्ने तरिका हो? के यो सत्यता प्रयोग गरेर समस्या समाधान गर्नु हो? (होइन।) यदि कसैको मानवतामा ठूला समस्याहरू छैनन्, र त्यो व्यक्ति दुष्ट होइन र उसले इमानदारीसाथ आफूलाई समर्पित गर्न सक्छ भने, उसले कुनै कुरा स्विकार्न सक्ने परिस्थितिमा, उसमा काम गर्न जारी राख्नु, उसलाई स्मरण गराउनु, सहयोग दिनु, सङ्गति गर्नु, र साथ दिनु काफी हुन्छ। यदि मानिसहरूले निरन्तर यस्तो व्यवहार गर्छन् भने, तिनीहरूको चरित्रमा समस्या वा क्रूर स्वभाव हुन्छ, र त्यसपछि कडा काटछाँट र ताडना आवश्यक पर्छ। यदि तिनीहरूले यो स्विकार्न मानेनन् भने, या त तिनीहरूको कर्तव्य निलम्बित गरिनुपर्छ, या त तिनीहरूलाई हटाइनुपर्छ। झूटा अगुवाहरू यो कुरा बुझ्न सक्दैनन्, न त तिनीहरूले यस्तो व्यवहार नै गर्छन्; तिनीहरूले यस्ता दुष्ट मानिसहरूलाई भेट्दा, उनीहरूलाई दाजुभाइ-दिदीबहिनीका रूपमा व्यवहार गर्छन्, र तिनीहरूलाई मद्दत गर्छन् र साथ दिन्छन्। के यो काम गर्नु हो? के यो सत्यता प्रयोग गरेर समस्या समाधान गर्नु हो? (होइन।) झूटा अगुवाहरूको काम बेतुके, केटाकेटीको जस्तो र हाँसउठ्दो हुन्छ, र यसबारेका कुनै पनि कुरा परमेश्‍वरका अभिप्रायसँग मेल खाँदैन। तिनीहरूले गर्ने सबै कुरामा, तैँले तिनीहरू भुइँमान्छे हुन्, तिनीहरूमा आत्मिक बुझाइको कमी छ, र तिनीहरू सिद्धान्तविना लापरवाह व्यवहार गर्छन् भनेर देख्न सक्छस्। त्यसैगरी, तिनीहरू मानिसहरूले आफ्नो जीवन प्रवेशमा सामना गर्ने विभिन्‍न कठिनाइहरू छर्लङ्गै देख्न वा सही रूपमा बुझ्न सक्दैनन्। फलस्वरूप, समस्या समाधान गर्ने तिनीहरूको प्रयास एकदमै बेढङ्गको, मूर्खतापूर्ण र भुइँमान्छेको जस्तै देखिन्छन्। तिनीहरूको सहयोग स्विकार्नेहरूलाई पनि अप्ठ्यारो र दबिएको महसुस हुन्छ। समय बित्दै जाँदा, कतिले त आस्थासमेत गुमाउँछन्, र भन्छन्, “अगुवाले मसँग धेरै पटक सङ्गति गरेका छन्, तैपनि किन म परिवर्तन भएको छैनँ? किन म पुरानै लतमा फर्किरहन्छु? के मेरो मानवता एकदमै कमजोर भएकाले, र म मुक्ति पाउन असमर्थ भएकाले यस्तो भएको हो?” कतिले त शङ्कासमेत गर्छन्, र भन्छन्, “के मेरो आत्मामा केही गडबडी छ? के ममा दुष्ट आत्माहरूले काम गर्दै छन्? के परमेश्‍वर मलाई मुक्ति दिनुहुन्‍न? के त्यसको अर्थ मेरो आशा छैन भन्‍ने होइन र?” झूटा अगुवाहरूको कामका परिणामहरू यिनै हुन्। तिनीहरू आफ्नो काममा एउटा कुरा र अर्को कुराबीच झुक्किन्छन्, र तिनीहरू हास्यास्पद, बेतुके, मूर्खतापूर्ण र बेढङ्गको तरिकाले काम गर्छन्, जसले गर्दा अन्ततः सत्यता पछ्याउने कतिपय मानिसलाई आइपर्ने विभिन्‍न कठिनाइहरू तुरुन्तै समाधान हुँदैनन्। त्यसको बदलामा, यसले गर्दा ती मानिसहरूमा नकारात्मकता र कमजोरी, साथै परमेश्‍वर र उहाँको कामबारे केही धारणा र गलतफहमी उत्पन्‍न हुन्छन्। तिनीहरू भन्छन्, “मैले परमेश्‍वरका वचन एकदमै धेरै पढेको छु, तैपनि मेरो समस्या किन समाधान हुन सक्दैन? के परमेश्‍वरका वचनहरूले मानिसहरूलाई साँच्चै मुक्ति दिन र परिवर्तन गर्न सक्छन्?” तिनीहरूको हृदयमा शङ्का उब्जन्छ, र तिनीहरू अलमल्ल पर्छन्। त्यसकारण, जब झूटा अगुवाहरू काम गर्छन्, तब तिनीहरूले धेरै सकारात्मक परिणामहरू निकाल्दैनन्, बरु धेरै नकारात्मक कुराहरूचाहिँ उत्पन्‍न गर्छन्। तिनीहरूको कामले परमेश्‍वरबारे मानिसहरूका धारणा, शङ्का र आलोचनाहरू हटाउन नसक्ने मात्र होइन, बरु उल्टै परमेश्‍वरबारे तिनीहरूका गलतफहमी र सावधानी बढाउँछ। धेरै वर्ष आस्थामा रहेपछि पनि, यी मानिसहरूका समस्याहरू सुल्झिएका हुँदैनन्। झूटा अगुवाहरूले तिनीहरूलाई भ्रमित पार्दै र बहकाउँदै गर्दा, परमेश्‍वरबारे तिनीहरूको गलतफहमी र सावधानी झन्झन् गहिरिँदै जान्छ। कुरा यस्तो भएकाले, के तिनीहरूले जीवन प्रवेश प्राप्त गर्न सक्छन् त?

सत्यता र मानिसको स्वभाव परिवर्तनजस्ता सकारात्मक कुराहरूबारे झूटा अगुवाहरूको बुझाइले सकारात्मक कुराहरूप्रतिको धेरै मानिसका दृष्टिकोण र मनोवृत्तिलाई प्रभावित पार्न सक्छ। झूटा अगुवाहरूले कुनै काम नगर्नु एउटा कुरा हो—तिनीहरूले काम गर्न थाल्नेबित्तिकै, विचलनहरू देखा पर्छन् र प्रतिकूल परिणामहरू उत्पन्‍न हुन्छन्। यी मण्डलीहरूमा एउटा अनुचित वातावरण छाउँछ, अर्थात्, प्रायः केही गलत र बेतुके भनाइहरू सृजित हुन्छन्, र त्यहाँका मानिसहरूले परमेश्‍वरका वचनमा बारम्बार उल्लेख गरिने आत्मिक शब्दहरू बुझ्दैनन् वा तिनलाई कसरी लागू गर्ने भनेर जान्दैनन्, जबकि यी झूटा अगुवाहरूले प्रायः बोल्ने तथाकथित आत्मिक शब्द र भनाइहरू भने यी मण्डलीहरूमा व्यापक रूपमा फैलाइन्छन्। ती कुराहरूले मानिसहरूमा पार्ने प्रभाव सानो हुँदैन: तिनले मानिसहरूलाई परमेश्‍वरका वचन र सत्यताको अझ व्यावहारिक र सही ज्ञान पाउन मद्दत गर्न, वा उहाँका वचनहरूमा अभ्यासको सही मार्ग फेला पार्न सक्षम बनाउन नसक्ने मात्र होइन, बरु उल्टै तिनले वास्तवमा मानिसहरूलाई सत्यताको अझ विकृत, सैद्धान्तिक र धर्मसैद्धान्तिक ज्ञान लिनसमेत लगाउँछन्, र सँगसँगै मानिसहरूलाई अभ्यासको मार्गबारे झनै अस्पष्टसमेत पारिदिन्छन्। यसो गरेर झूटा अगुवाहरूले मानिसहरूको दृष्टिमा भाँजो हाल्छन् र सत्यताप्रतिको तिनीहरूको शुद्ध बुझाइमा असर पार्छन्। झूटा अगुवाहरूले यी कामहरू गरेर कस्तो प्रभाव हासिल गर्छन्? तिनीहरूले कस्तो भूमिका खेल्छन्? तिनीहरूलाई अवरोध र बाधा पुर्‍याउने व्यक्ति भनेर चित्रण गर्नु सायद केही हदसम्म बेसी नै हुन सक्छ, तर तिनीहरूलाई चारैतिर दौडधुप गरिहिँड्ने जोकर भन्‍नु पटक्कै अत्युक्ति हुँदैन। मैले कामको यो चरण भर्खरै सुरु गर्दा केही व्यक्तिहरू भेटेको थिएँ, र मैले तिनीहरूको कुरा सुनिरहेको बेला, तिनीहरूमध्ये एउटाले कुनै व्यक्तिको परिस्थितिबारे सोध्यो, र अर्को एउटाले अचानक यी शब्दहरू प्वाक्क भन्यो, “ऊ जलेर खरानी भयो।” मैले “जलेर खरानी भयो? यसको अर्थ के हो?” भनेर सोध्दा, उसले जवाफमा भन्यो, “जलेर खरानी भयो भन्‍नुको अर्थ उसलाई बर्खास्त गरिएको छ र सायद उसले विश्‍वास गर्न छोडेको छ भन्‍ने हो।” मैले भनेँ, “यो एकदमै निर्दयी शब्द हो—यसले त्यो व्यक्तिलाई कुनै छुट दिँदैन। के मैले कहिल्यै यस्तो कुरा भनेको थिएँ? मलाई यो शब्दबारे कसरी थाहा भएन? मैले कहिल्यै कसैलाई यसरी चित्रित गरेको छैनँ, वा कसैले आफ्नो कर्तव्य निर्वाह गर्न छोड्दा वा परमेश्‍वरबाट टाढिँदा, ऊ ‘जलेर खरानी हुन्छ’ भनेर कहिल्यै भनेको छैनँ। यो शब्द कसरी आयो?” पछि, मैले यो वाक्यांश एक वृद्ध विश्‍वासी, पण्डित्याइँ गर्ने एक वृद्ध व्यक्तिबाट उत्पन्‍न भएको रहेछ भन्‍ने थाहा पाएँ। ऊ धेरै विद्वान थियो, लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएको थियो, र ऊ वरिष्ठ थियो। उसले यो वाक्यांश बोल्दा, भ्रमित मानिसहरूको त्यो समूहले त्यसलाई खुट्ट्याएन र ऊबाट त्यो सिक्यो, र त्यो लोकप्रिय वाक्यांश बन्यो। के तिमीहरूलाई यो वाक्यांश सही हो भन्‍ने लाग्छ? के यसको आधार छ? के यो सही छ? (अहँ, यो सही छैन।) हामीले यसलाई कसरी लिनुपर्छ? के यसलाई मण्डलीमा रहिरहन दिनुपर्छ? (अहँ, दिनु हुँदैन।) यसलाई खुलासा र आलोचना गर्नुपर्छ, र यसलाई जरैदेखि समाधान गर्नुपर्छ। पछि, आलोचना र चिरफार गरेपछि, यी भ्रमित मानिसहरूले यो वाक्यांश बोलिरहने आँट गरेनन्, तर केही अनभिज्ञ व्यक्तिहरूले भने अझै पनि यसलाई गोप्य रूपमा प्रयोग गरिरहेका हुन सक्छन्। ती मानिसहरूले यो “प्रसिद्ध व्यक्ति” बाट उत्पन्‍न भएको एकदमै आत्मिक वाक्यांश हो भन्‍ने सोच्‍न सक्छन् र तिनीहरूलाई यो प्रयोग गरिरहनुपर्छ भन्‍ने लाग्‍न सक्छ। के तिमीहरूका अगुवाहरू पनि यस्तै अभ्यासहरूमा संलग्न हुने गरेका छन्? के तिनीहरूले तिमीहरूको जीवन प्रवेश, स्वभाव परिवर्तन, वा तिमीहरू हिँड्ने मार्गमा नकारात्मक असर पारेका छन्? (विगतमा, सुसमाचार प्रचार गर्दा एउटा झूटो अगुवाले एक पटक यसो भन्यो, “परमेश्‍वर हामीलाई न्याय र सजायमार्फत जित्नुहुन्छ, त्यसैले हामीले धार्मिक मानिसहरूलाई सुसमाचार प्रचार गर्दा, उनीहरूसँग कठोर लबजले बोल्नुपर्छ र उनीहरूलाई भाषण दिनुपर्छ; तब मात्र तिनीहरूलाई जित्न सकिन्छ।”) यो अभिव्यक्ति उचित लाग्न सक्छ, तर के यो सत्यता सिद्धान्तहरूसँग मेल खान्छ? के परमेश्‍वरले मानिसहरूलाई यसो गर्न निर्देशन दिनुभएको थियो? के परमेश्‍वरको वचनले “व्यापक रूपमा सुसमाचार प्रचार गर्दा, तिमीहरूले खडा भई फलामको डन्डासाथ मानिसहरूलाई शासन गर्नुपर्छ, र व्यापक रूपमा सुसमाचार प्रचार गर्न न्याय र सजाय प्रयोग गर्नुपर्छ” भनेर भन्छ? (भन्दैन।) त्यसोभए, यो अभिव्यक्ति कहाँबाट आयो? स्पष्ट रूपमै, यो आत्मिक समझको कमी भएको कुनै झूटो अगुवाको दिमागले कल्पना गरेको सिद्धान्त हो। झट्ट हेर्दा, यो भनाइ समस्याजनक भएजस्तो नदेखिन सक्छ: “सबै मानवजाति परमेश्‍वरको न्याय र सजायबाट गुज्रनैपर्छ। यदि तिनीहरूले त्यो परमेश्‍वरका वचनहरूबाट सिधै प्राप्त गर्न सक्दैनन् भने, के तिनीहरूले अप्रत्यक्ष रूपमा प्राप्त गर्न सक्दैनन् र? चाहे जे होस्, परमेश्‍वरका वचनले प्राप्त गर्न खोजेको परिणाम यही हो—सबै मानवजातिलाई जित्नु। के तिनीहरूले यो ढिलोभन्दा बरु चाँडो प्राप्त गर्नु राम्रो हुँदैन र? परमेश्‍वरले कदम चाल्नुअघि, हामी यो रोकथामको उपाय अपनाउनेछौँ, ताकि मानिसहरूले एक प्रकारको प्रतिरोधात्मक क्षमता विकास गर्न सकून्। अनि त्यसपछि जब परमेश्‍वरले तिनीहरूलाई साँच्चै न्याय र सजाय गर्नुहुन्छ, तब ती मानिसहरूले परमेश्‍वरविरुद्ध विद्रोह, उहाँको विरोध, वा उहाँलाई धोका दिनेछैनन्। यसले परमेश्‍वरको भावनामा चोट पुग्नबाट रोक्नेछ। के त्यो राम्रो कुरा होइन र?” झट्ट हेर्दा, यसको प्रत्येक वाक्य सही देखिन्छ, र धर्मसैद्धान्तिक दृष्टिकोणले हेर्दा, यो तार्किक पनि देखिन्छ। तथापि, के यो सत्यता सिद्धान्त हो त? सुसमाचार प्रचार गर्नका लागि परमेश्‍वरको घरमा के-कस्ता सर्तहरू छन्? के यसले मानिसहरूले यो कुरा गरून् भन्‍ने माग गर्छ? (गर्दैन।) त्यसकारण, यो सिद्धान्त मान्य छैन, र यो प्रस्ताव गर्ने व्यक्ति झूटो अगुवा हो।

झूटा अगुवाहरू प्रायः आत्मिक भएको नाटक गर्छन्, केही सत्याभासी भ्रमहरू बोलेर मानिसहरूलाई बहकाउँछन् र गलत मार्गदर्शन गर्छन्। यी भ्रमहरू सतहमा समस्यारहित लागे पनि, तिनले मानिसहरूको जीवन प्रवेशमाथि हानिकारक प्रभाव पार्छन्, मानिसहरूलाई सत्यता पछ्याउने मार्गमा हिँड्नमा बाधा दिने, बहकाउने, र अवरोध दिने गर्छन्। यी नक्कली आत्मिक शब्दहरूका कारण, कतिपय मानिसहरूले परमेश्‍वरका वचनहरूप्रति शङ्का र प्रतिरोध, साथै परमेश्‍वरबारे धारणाहरू र गलतफहमीहरू अनि परमेश्‍वरविरुद्ध सावधानी समेत विकास गर्छन्, र त्यसपछि उहाँबाट टाढा जान्छन्। झूटा अगुवाहरूका नक्कली आत्मिक भनाइहरूले मानिसहरूमाथि पार्ने प्रभाव यही हो। मण्डलीका सदस्यहरू झूटा अगुवाको बहकाउमा र प्रभावमा परिरहँदा, त्यो मण्डली इसाई धर्म वा क्याथोलिक धर्मजस्तै एउटा धर्म बन्छ, जसमा मानिसहरूले मानिसकै भनाइ र शिक्षाहरू मात्र पालना गर्छन्। तिनीहरू सबैले पावलका शिक्षाहरूको आराधना गर्छन्, यहाँसम्म कि परमेश्‍वरको मार्ग पछ्याउनुभन्दा बरु प्रभु येशूका वचनहरूका ठाउँमा पावलका वचनहरू प्रयोग गर्छन्। फलस्वरूप, तिनीहरू सबै पाखण्डी फरिसी र ख्रीष्टविरोधीहरू बन्छन्। यसरी, तिनीहरू परमेश्‍वरद्वारा श्रापित र निन्दित हुन्छन्। पावलले जस्तै, झूटा अगुवाहरूले आफैलाई उच्च पार्छन् र आफ्नै गवाही दिन्छन्, तिनीहरूले मानिसहरूलाई बहकाउँछन् र बाधा दिन्छन्। तिनीहरूले मानिसहरूलाई पथभ्रष्ट बनाउँछन् अनि धार्मिक अनुष्ठानहरूमा डोर्‍याउँछन्, अनि यी मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने तरिका धर्ममा रहेका मानिसहरूको जस्तै हुन्छ, जसले परमेश्‍वरमाथिको आस्थामा उनीहरूको सही मार्गमा प्रवेश गर्ने कार्यमा ढिलाइ गराइदिन्छ। झूटा अगुवाहरूले निरन्तर मानिसहरूलाई बहकाउने र बाधा दिने गर्छन्, अनि त्यसपछि ती मानिसहरूले अनेकौँ नक्कली आत्मिक सिद्धान्त र भनाइहरू पैदा गर्छन्। यी सिद्धान्त, भनाइ, र अभ्यासहरू सत्यताको ठ्याक्कै विपरित हुन्छन्, र सत्यतासँग तिनको कुनै सम्बन्ध हुँदैन। तैपनि झूटा अगुवाहरूले मानिसहरूलाई बहकाइरहँदा र गलत मार्गदर्शन गरिरहँदा, उनीहरूले यी कुरालाई सकारात्मक कुराका रूपमा, सत्यताका रूपमा लिन्छन्। तिनीहरूले यी कुराहरू सत्यता हुन् र तिनीहरूले हृदयमा यी कुराहरूमा विश्‍वास गरुञ्जेल र तिनलाई प्रस्टसित भन्‍न सकुञ्जेल, र ती कुराहरूलाई सबैले अनुमोदन गरुञ्जेल, तिनीहरूले सत्यता प्राप्त गरेका हुन्छन् भन्‍ने गलत विश्‍वास गर्छन्। यी सोच र विचारहरूद्वारा पथभ्रष्ट बनाइएपछि, मानिसहरूले सत्यता बुझ्न नसक्ने मात्र होइन, परमेश्‍वरका वचनहरू अभ्यास वा अनुभव गर्न पनि सक्दैनन्, सत्यता वास्तविकतामा प्रवेश गर्न त झनै सक्दैनन्। त्यस विपरित, तिनीहरू परमेश्‍वरका वचनहरूबाट झनै टाढिन्छन् र सत्यता वास्तविकताभित्रको प्रवेशबाट त त्यसभन्दा बढी टाढिन्छन्। सैद्धान्तिक रूपमा, झूटा अगुवाहरूले भन्‍ने शब्दहरू र फलाक्ने नाराहरूमा केही पनि गलत हुँदैन, ती सबै सही हुन्छन्। त्यसोभए, तिनीहरूले किन केही पनि हासिल गर्दैनन्? किनकि झूटा अगुवाहरूले जे बुझ्छन् र बोध गर्छन्, त्यो एकदम सतही मात्रै हुन्छ। त्यो सबै धर्मसिद्धान्तको कुरा मात्र हुन्छ, जुन परमेश्‍वरका वचनहरूको सत्यता वास्तविकता, परमेश्‍वरका मागहरू वा उहाँका अभिप्रायहरूसित असान्दर्भिक हुन्छन्। तथ्य के हो भने, झूटा अगुवाहरूले प्रचार गर्ने सारा धर्मसिद्धान्तहरू सत्यता वास्तविकताभन्दा धेरै टाढा हुन्छन्—ठ्याक्कै भन्‍नुपर्दा, तिनको सत्यतासँग वा परमेश्‍वरका वचनहरूसँग कुनै सम्बन्ध हुँदैन। त्यसोभए, झूटा अगुवाहरूले बारम्बार यी शब्द र धर्मसिद्धान्तहरू ओकल्दा, त्यो केसँग सम्बन्धित हुन्छ? तिनीहरू किन सधैँ सत्यता वास्तविकतामा प्रवेश गर्न असक्षम हुन्छन्? यो झूटा अगुवाहरूको क्षमतासित सिधै सम्बन्धित हुन्छ। यो पूर्ण रूपमा निश्चित छ कि झूटा अगुवाहरू कमजोर क्षमताका हुन्छन् र तिनीहरूमा सत्यता बुझ्ने क्षमता हुँदैन। तिनीहरूले जतिसुकै वर्ष परमेश्‍वरमा विश्‍वास गरे पनि, तिनीहरूले सत्यता बुझ्नेछैनन् वा तिनीहरूसँग जीवन प्रवेश हुनेछैन, र यो पनि भन्‍न मिल्छ कि तिनीहरूले जतिसुकै वर्ष परमेश्‍वरमा विश्‍वास गरे पनि, तिनीहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न सजिलो हुनेछैन। यदि कुनै झूटो अगुवालाई बरखास्त गरिएन, र उसलाई आफ्नो पदमा रहन दिइयो भने, कस्ता प्रकारका परिणामहरू आउनेछन्? उसको अगुवाइले अझ धेरै मानिसहरूलाई धार्मिक अनुष्ठान र प्रावधानहरूमा, शब्द र धर्मसिद्धान्तहरूमा, साथै अस्पष्ट धारणा र कल्पनाहरूमा लैजानेछ। ख्रीष्टविरोधीहरू विपरीत, झूटा अगुवाहरूले मानिसहरूलाई आफूसामु वा शैतानसामु आउन अगुवाइ गर्दैनन्, तर यदि तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई उहाँका वचनहरूको सत्यता वास्तविकताभित्र डोर्‍याउन सक्दैनन् भने, के परमेश्‍वरका चुनिएका मानिसहरूले उहाँको मुक्ति प्राप्त गर्न सक्नेछन्? के उनीहरू परमेश्‍वरद्वारा सिद्ध पारिन सक्नेछन्? कदापि सक्नेछैनन्। यदि परमेश्‍वरका चुनिएका मानिसहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्दैनन् भने, के उनीहरू अझै पनि शैतानको शक्तिअन्तर्गत जिइरहेका हुँदैनन् र? के उनीहरू अझै पनि शैतानको शक्तिको अधीनमा रहेका पतित मानिसहरू होइनन् र? के यसको मतलब उनीहरू झूटा अगुवाहरूका हातमा नष्ट हुन पुग्नेछन् भन्‍ने होइन र? त्यसैकारण झूटा अगुवा र ख्रीष्टविरोधीहरूको कामका परिणामहरू मूलतः उही हुन्छन्। दुवैले परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यता बुझ्ने, वास्तविकतामा प्रवेश गर्ने, र मुक्ति हासिल गर्ने तुल्याउन सक्दैनन्। ती दुवैले परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्छन् र तिनीहरूलाई नष्ट पार्छन्। परिणामहरू ठ्याक्कै उही हुन्छन्।

झूटा अगुवाहरूका केही विधर्म र भ्रमहरू केके हुन्? तिनलाई तिमीहरू पछि आफै सारांशीकरण गर। म तिमीहरूले तिनीहरूलाई खुट्ट्याउन सक्छौ कि सक्दैनौ भनी हेर्न यो काम तिमीहरूकै हातमा छोड्छु। के तिमीहरूवरपरका अगुवाहरूले आत्मिक वा मानव भावनासँग मेल खाने, र बाहिरी रूपमा सही र सत्यतासँग मिल्दो देखिने तर तिमीहरूको जीवन प्रवेशमा भरणपोषण गर्न र तिमीहरूका वास्तविक समस्याहरू हल गर्न नसक्ने शब्दहरू कहिल्यै बोलेका छन्? यदि तिमीहरू यी शब्दहरूलाई खुट्ट्याउँदैनौ र तिनलाई प्रिय ठान्‍ने र हृदयमा लिने, अनि आफूमा हाबी हुन र आफूलाई सधैँ डोर्‍याउन र सधैँ आफ्नो विचार र व्यवहारलाई प्रभावित पार्न दिनेसमेत गर्छौ भने, के यसका परिणाम एकदमै गम्भीर हुँदैनन् र? (हुन्छ।) त्यसोभए तिमीहरूले यी समस्याहरूको जड खोतल्नु, र परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासलाई धार्मिक विश्‍वासमा परिणत गराउने हदसम्म मानिसहरूलाई पतन गराउन सक्ने, र फलस्वरूप तिनीहरूलाई परमेश्‍वरको प्रतिरोध गर्ने र परमेश्‍वरद्वारा अस्वीकृत हुने तुल्याउने कुन-कुन कुरा विधर्म र भ्रमहरू हुन् भनेर पत्ता लगाउनु अत्यावश्‍यक छ। उदाहरणका लागि, मानिलिऊँ कुनै व्यक्तिले भन्छ रे, “अगुवा बन्‍ने प्रयास नगर। यदि तिमीलाई अगुवा बनेपछि बर्खास्त गरियो वा हटाइयो भने, तिमीले साधारण विश्‍वासी बन्‍ने मौकासमेत पाउनेछैनौ।” के यस प्रकारको कुरा झूटा अगुवाहरूको विधर्म र भ्रम हो? (हो।) हो? झूटा अगुवाहरूका विधर्म र भ्रमहरूलाई ख्रीष्टविरोधीहरूका विधर्म र भ्रमहरूबाट छुट्याउनैपर्छ; तिनलाई एकसाथ छ्यासमिस नपार। त्यो व्यक्तिले त्यस्तो कुरा भन्‍नुको अर्थ के हो? ती शब्दहरूपछाडि कस्ता अभिप्राय लुकेका छन्? के तिनमा कुनै शङ्कास्पद कुरा छ? स्पष्टतः तिनमा मानिसहरूलाई बहकाउने चाल छ, उसले त्यसो भन्‍नुको मतलब अरू मानिसहरू अगुवा बन्‍ने प्रयास गर्नबाट जोगिनुपर्छ, त्यसो गर्दा राम्रो परिणाम आउनेछैन भन्‍ने हो। उसले यसो भन्‍नुको उद्देश्य मानिसहरूलाई अगुवा बन्‍ने विचार त्याग्न लगाउनु हो ताकि कसैले पनि प्रतिष्ठा र हैसियतका लागि ऊसँग प्रतिस्पर्धा नगरोस्, यसरी उसलाई सधैँभरि अगुवा बन्‍न सहज महसुस होस्। सँगसँगै, उसले मानिसहरूलाई यसो पनि भनिरहेको हुन्छ, “परमेश्‍वरको घरले अगुवा र कामदारहरूलाई यसरी नै व्यवहार गर्छ, जब यसलाई तिम्रो आवश्यक पर्छ, तब यसले तिमीलाई बढुवा गर्छ, र जब यसलाई तिम्रो आवश्यकता पर्दैन, तब यसले तिमीलाई एकदमै फेदमै पुर्‍याउँछ, साधारण विश्‍वासी बन्‍ने मौकासमेत दिँदैन।” यी शब्दहरूको प्रकृति के हो? (परमेश्‍वरविरुद्ध निन्दा।) कस्तो व्यक्तिले परमेश्‍वरविरुद्ध निन्दात्मक शब्दहरू बोल्छ? (ख्रीष्टविरोधीले।) यी शब्दहरूभित्र दुइटा दुष्ट अभिप्राय छन्, जसले दुइटा परिणाम निम्त्याउन सक्छन्: एउटा हो, अरूलाई हैसियतका लागि बिलकुलै प्रतिस्पर्धा नगर्नू भनेर भन्‍नु, जसले उनीहरूकै हैसियत सुरक्षित रहने सुनिश्‍चित गर्छ; अर्को हो, तँलाई परमेश्‍वरलाई गलत बुझ्न लगाउनु, र परमेश्‍वरमा विश्‍वास गर्नबाट रोक्‍नु हो र यसको साटो ऊमाथि विश्‍वास गर्न थाल्न लगाउनु हो। यो सबैभन्दा निर्लज्ज प्रकारको ख्रीष्टविरोधी हो। यस्तो लाग्छ, तिमीहरूमा बोध क्षमताको कमी छ; मैले यसका उदाहरणहरूबारे पहिले नै बोलिसकेको छु। तिमीहरू लापरवाह र कमजोर स्मरणशक्ति भएका मात्र छैनौ, तिमीहरूमा बोध क्षमताको पनि कमी छ। तिमीहरू यस्तो स्पष्ट ख्रीष्टविरोधीलाई समेत खुट्ट्याउन सक्दैनौ। के झूटा अगुवाहरूले यस्ता कुरा भन्छन्? के तिनीहरूले जानाजानी र खुल्लमखुल्ला मानिसहरूलाई बहकाउँछन् र परमेश्‍वरको प्रतिरोध गर्छन्? (गर्दैनन्।) झूटा अगुवाहरूले भन्‍ने र गर्ने कुराहरू यसो हेर्दा समस्याजनक नदेखिए पनि, तिनीहरूका काममा सिद्धान्तहरू हुँदैनन् र तिनले परिणामहरू हासिल गर्न सक्दैनन्। झूटा अगुवाहरूले मानिसहरूको कुनै पनि समस्या समाधान गर्न सक्दैनन्, र तिनीहरूलाई परमेश्‍वरप्रतिको आस्थाको सही मार्गमा ल्याउन, वा तिनीहरूलाई परमेश्‍वरसामु डोर्‍याउन सक्दैनन्। तिनीहरूले भन्‍ने सबै कुरा सही हुन्छन्, तिनीहरू आफ्नो काममा फिटिक्कै छलछाम गर्दैनन्, तिनीहरूसँग जोस र उत्साह हुन्छ, र यसो हेर्दा तिनीहरूमा आस्था, र सङ्कल्प भए जस्तो, र तिनीहरू कष्ट सहन र मूल्य चुकाउन इच्छुक भए जस्तो देखिन्छ। त्यसमाथि, तिनीहरूमा अथाह सहनशीलता हुन्छ र तिनीहरू हर प्रकारका थकान र कठिनाइमा दृढ रहन सक्छन् जस्तो देखिन्छ। यति मात्र हो कि, तिनीहरूको सामर्थ्य र बोध क्षमता कमजोर हुन्छ, र तिनीहरूमा सत्यताको सही बुझाइ हुँदैन। बोध क्षमताको यस्तो कमीबारे तिनीहरू के गर्छन्? तिनीहरू यो समस्या हल गर्न प्रावधान र धर्मसिद्धान्तहरू, साथै आफूले बारम्बार कुरा गरिरहने आत्मिक सिद्धान्तहरू प्रयोग गर्छन्। तिनीहरूले अगुवाइ गरेको केही वर्षपछि, मानिसहरूमा हरप्रकारका धर्मसिद्धान्त, प्रावधान र बाहिरी अभ्यासहरू उत्पन्न हुन्छन्। मानिसहरू यी धर्मसिद्धान्त, प्रावधान र अभ्यासहरू पालना गर्छन्, र आफूले सत्यता अभ्यास गरिरहेको र सत्यता वास्तविकतामा प्रवेश गरिरहेको ठान्छन्, तर वास्तवमा तिनीहरू अझै पनि सत्यता वास्तविकताबाट एकदमै टाढा छन्! मानिसहरूको हृदय यी कुराहरूले भरिएपछि, र यी कुराहरूले तिनीहरूको हृदयमा प्रभुत्व जमाएपछि र हृदयलाई अगुवाइ गरेपछि, यी कुराहरू हल गर्न गाह्रो हुन्छ। ती प्रत्येकलाई एकएक गरी चिरफार र विश्‍लेषण गर्नैपर्ने हुन्छ ताकि मानिसहरूले ती कुरा बुझून्। त्यसपछि, मानिसहरूलाई सत्यता, धर्मसिद्धान्त, नारा र प्रावधानहरू, अनि सत्यताको सही बुझाइ, सही भनाइ र सत्यता सिद्धान्तहरू के हुन् भनेर बताउनैपर्ने हुन्छ। यी सबै कुरा एकएक गरी समाधान गर्न आवश्यक हुन्छ; अन्यथा, तुलनात्मक रूपमा शिष्ट, नियमपालक र आत्मिकता पछ्याउनेहरूलाई झूटा अगुवाहरूले बहकाउनेछन् र बर्बाद पार्नेछन्। यी मानिसहरू निष्ठावान्, अनि कष्ट सहन र मूल्य चुकाउन सक्षम, र परिस्थितिहरू आइपर्दा प्रार्थना गर्न सक्ने देखिन सक्छन्। तथापि, परमेश्‍वर फर्कनुहुँदा, धर्मका मानिसहरूले जस्तै तिनीहरूमध्ये कसैले पनि उहाँलाई चिन्दैनन्, तिनीहरूमध्ये कसैले पनि परमेश्‍वरले फेरि नयाँ काम गरिरहनुभएको छ भनेर स्विकार्दैनन्, र तिनीहरू सबैले नै उहाँको प्रतिरोध गर्छन्। यस्तो किन हुन्छ? किनभने झूटा अगुवा र ख्रीष्टविरोधीहरूले तिनीहरूलाई बहकाएका हुन्छन्—ती झुटा अगुवा र ख्रीष्टविरोधीहरूले परमेश्‍वरका धेरै इमानदार विश्‍वासीहरूलाई हानि गरेका र बर्बाद पारेका छन्।

झूटा अगुवाहरू शब्द र धर्मसिद्धान्तहरू मात्र बोल्छन्—तिनीहरूले मानिसहरूलाई बुझाउने कुरा भनेको सत्यता नभई केवल धर्मसिद्धान्त हो, र तिनीहरूले मानिसहरूलाई देखाउने कुरा भनेको झूटो आत्मिकता मात्र हो। शब्द र धर्मसिद्धान्तहरू बोल्नुका परिणामहरू के हुन्? झूटो आत्मिकता, झूटो बुझाइ, झूटो ज्ञान, झूटो अभ्यास, र झूटो अनुपालन—त्यो सबै झूटो हुन्छ। त्यो “झूटोपन” कसरी उत्पन्‍न हुन्छ? त्यो झूटा अगुवाहरूमा सत्यताको विकृत, एकतर्फी र सतही बुझाइ भएकाले र तिनीहरूले सत्यताको सार बिलकुलै बुझ्न नसकेकाले गर्दा उत्पन्‍न हुन्छ। झूटा अगुवाहरू मानिसहरूमाथि थुप्रै नियम, शब्द र धर्मसिद्धान्त, साथै केही नारा र सिद्धान्तहरू थोपर्छन्। ती मानिसहरूले परमेश्‍वरका वास्तविक अभिप्राय पटक्कै बुझ्दैनन्, र तिनीहरूलाई विभिन्‍न जटिल परिस्थितिहरू आइपर्दा, ती कसरी सम्हाल्ने र तिनलाई कसरी लिने, वा परमेश्‍वरका अभिप्राय कसरी बुझ्ने भनेर थाहै हुँदैन। के यस्ता व्यक्तिहरू परमेश्‍वरसामु आउन सक्छन्? के तिनीहरूले परमेश्‍वरलाई स्विकार्न र उहाँको प्रतिरोध गर्न छोड्न सक्छन्? अहँ, तिनीहरूले सक्दैनन्। तसर्थ, तिमीहरूले झूटा अगुवाहरूका विधर्म र भ्रमहरू सारांशीकृत गर्नु र खुट्ट्याउनु महत्त्वपूर्ण र अत्यावश्यक छ। सारांशीकृत गर्ने क्रममा, तिनलाई ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बहकाउन प्रयोग गर्ने भ्रमहरूबाट छुट्याउनु अत्यावश्यक हुन्छ। हरेक किसिमका मानिसहरूको स्थितिसँग परिचित हुनु र तिनीहरूले आफ्नो वास्तविक जीवनमा सामना गर्ने जीवन प्रवेशसँग सम्बन्धित विविध कठिनाइहरू समाधान गर्नु भन्‍ने अगुवा र कामदारहरूको दोस्रो जिम्मेवारीकासम्बन्धमा, हामी झूटा अगुवाहरूका विभिन्‍न अभ्यास र झूटा अगुवाहरूका समस्याहरूको सार विश्‍लेषण गर्दै हाम्रो सङ्गति यहीँ समाप्त गर्दछौँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्