अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२) खण्ड दुई

उ. देहसुखको लालसा गर्नुसित सम्बन्धित समस्याहरू

देहसुखको लालसा गर्नु पनि गम्भीर समस्या हो। तिमीहरूका विचारमा देहसुखको लालसा गर्नुका केही प्रकटीकरणहरू केके हुन्? तिमीहरूले आफ्नै अनुभवहरूमा देखेका के-कस्ता उदाहरणहरू दिन सक्छौ? के हैसियतका लाभहरूको आनन्द उठाउनु त्यसमा पर्छ? (पर्छ।) अरू केही छ? (आफ्नो कर्तव्य निर्वाह गर्दा कठिन कामभन्दा सजिलो काम रोज्नु, र सधैँ हल्का काम चुन्न चाहनु।) कर्तव्य निर्वाह गर्दा मानिसहरू सधैँ थकाइलाग्दो नहुने, र घरबाहिर गई नानाथरी कुराको सामना गर्नु नपर्ने हल्का काम छान्छन्। यसलाई सजिलो काम छान्‍नु र गाह्रो कामदेखि भाग्‍नु भनिन्छ, र यो देहसुखप्रतिको लालसाको प्रकटीकरण हो। अरू के-के छन्? (कर्तव्य अलिक गाह्रो, अलिक थकाइलाग्दो, र मूल्य चुकाउनुपर्ने हुँदा सधैँ गुनासो गर्नु।) (खानेकुरा र लुगाफाटा, अनि देहसुखमा तल्लीन हुनु।) यी सबै देहसुखप्रतिको लालसाका प्रकटीकरण हुन्। यस्तो व्यक्तिले एकदमै गाह्रो वा जोखिमपूर्ण काम देखेमा, त्यो अरू कसैलाई भिराउँछ; आफूले चाहिँ आरामदायी काम मात्र गर्छ, र आफ्नो क्षमता कमजोर भएको, कार्य क्षमता नभएको, र यो काम वहन गर्न नसक्ने भन्दै बहाना बनाउँछन्—जबकि वास्वतमा देहसुखको लालसाले गर्दा त्यस्तो भएको हुन्छ। तिनीहरूले जे काम गरे पनि वा जे-जस्तो कर्तव्य निर्वाह गरे पनि कष्ट भोग्न चाहँदैनन्। यदि तिनीहरूलाई काम सिध्याएपछि बङ्गुरको मासु खान दिइनेछ भनेर भनियो भने, तिनीहरूले त्यो काम एकदमै चाँडो र दक्ष रूपमा गर्छन्, अनि तैँले तिनीहरूलाई हतार गर्न लगाउनु, दबाब दिनु, वा निगरानी गर्नु जरुरी हुँदैन; तर तिनीहरूका लागि बङ्गुरको मासु छैन भने र तिनीहरूले आफ्नो कर्तव्यमा अतिरिक्त समयसम्म गर्नुपर्‍यो भने, तिनीहरू आलटाल गर्छन्, र त्यसलाई पछि सार्न हरप्रकारका कारण खोज्छन् र बहाना बनाउँछन, र केहीबेर त्यसो गरेपछि यसो भन्छन्, “मलाई त चक्कर लाग्यो, मेरो खुट्टा निदायो, म लखतरान भएँ! मेरो पूरै जीउ दुखिरहेको छ, के म एकछिन आराम गरूँ?” यहाँ समस्या के हो? तिनीहरू देहसुखको लालसा गर्छन्। त्यसैगरी, मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ कठिनाइहरूबारे गुनासो गर्ने, उनीहरू कुनै प्रयास लगाउन नचाहने, अलिकति फुर्सतको समय पाउनासाथ आराम गर्ने, गफ चुट्ने, वा आराम र मनोरञ्‍जनात्मक क्रियाकलापमा भाग लिने कुरा पनि छ। अनि कामको बोझ बढेर तिनीहरूको जीवनको तालमेल र दिनचर्या बिग्रँदा, तिनीहरू दुःखी र असन्तुष्ट हुन्छन्। तिनीहरू गनगन र गुनासो गर्छन्, अनि तिनीहरू आफ्नो कर्तव्य निर्वाहमा झाराटारुवा बन्छन्। यो देहसुखको लालसा गर्नु हो, होइन र? उदाहरणका लागि, कतिपय महिला आफ्नो जीउडाल सुडौलो बनाइराख्न व्यायाम गर्छन् र आफ्नो सुन्दरताका लागि हरदिन निश्‍चित समयमा सुत्छन्। तथापि, कामले व्यस्त भएर यी तालिकामा व्यवधान हुनेबित्तिकै, तिनीहरू बेखुस हुन्छन्, र भन्छन्, “यो राम्रो होइन; यो जागिरले गर्दा त सब कुरामा साह्रै ढिलाइ हुँदै छ। म यसलाई मेरा व्यक्तिगत मामिलामा असर पार्न दिन सक्दिनँ। म आफूलाई हतार गराउन खोज्ने कसैलाई ध्यान दिनेछैनँ; म आफ्नै तालमा चल्नेछु। योगा गर्ने समयमा योगा गर्नेछु। सुन्दरताका लागि सुत्ने समयमा सुत्नेछु। म यी कुराहरू पहिलेजस्तै गरिरहनेछु। म तिमीहरू सबैजस्तो मूर्ख र मेहनती छैनँ। केही वर्षपछि तिमीहरू सबै साधारण देखिने बुढी आइमाई हुनेछौ, तिमीहरूको शरीर बिग्रनेछ, र तिमीहरू सुडौला रहनेछैनौँ। तिमीहरूलाई कसैले पनि हेर्न चाहनेछैन, र तिमीहरूसँग जीवनमा कुनै पनि आत्मविश्‍वास हुनेछैन।” तिनीहरू आफ्नो देहसुख पाउनका खातिर, आफ्नो सुन्दरताका खातिर, आफूलाई अरूले मन पराऊन् भन्‍नका खातिर, र अझ आत्मविश्‍वाससाथ जिउनका खातिर, कर्तव्य निर्वाहमा आफू जति नै व्यस्त भए पनि आफ्ना देहसुख र रुचिहरू त्याग्न मान्दैनन्। यो देहसुखमा लिप्त हुनु हो। कतिपयले भन्छन्, “परमेश्‍वर चिन्तित हुनुहुन्छ, र हामी उहाँका अभिप्रायहरूलाई ख्याल गर्नुपर्छ।” तर यी महिलाहरू भन्छन्, “मैले त परमेश्‍वर चिन्तित हुनुहुन्छ भन्ने देखेकी छैनँ; म चिन्तित भइनँ भने म ठिकै हुनेछु। यदि मैले परमेश्‍वरका अभिप्रायलाई ख्याल गरेँ भने, मेरा अभिप्रायलाई चाहिँ कसले ख्याल गर्नेछ?” के यस्ता महिलाहरूमा कुनै मानवता हुन्छ? के तिनीहरू दियाबलस होइनन् र? कति मानिसहरू यस्ता पनि हुन्छन, जसको काम जति नै व्यस्त र दबाबपूर्ण भए पनि, त्यसबाट आफ्नो पहिरन शैली र लुगामा असर पर्न दिँदैनन्। तिनीहरू हरदिन घण्टौँ लगाएर मेकअप गर्छन्, र जुत्तासित मिल्दो कुन लुगा लगाउने, अनि ब्यूटी ट्रीटमेन्ट र मसाज कहिले गर्ने भन्ने कुराहरू आफ्नो ठेगानाजत्तिकै स्पष्टसित सम्झन्छन्, र यी कुराहरूबारे कत्ति पनि अन्योलग्रस्त हुँदैनन्। तथापि, तिनीहरूले कति सत्यता बुझ्छन्, अझै पनि कुन सत्यताहरू बुझ्दैनन् वा कुन सत्यतामा अझै पनि प्रवेश गरेका छैनन्, तिनीहरू अझै पनि के-कस्ता कुराहरू झाराटारूवा तरिकाले र बफादारीविना सम्हाल्छन्, तिनीहरूले के-कस्ता भ्रष्ट स्वभावहरू प्रकट गरेका छन्, र जीवन प्रवेशमा संलग्न हुने सत्यतासित सम्बन्धित यस्ता अन्य समस्याहरूका सन्दर्भमा, तिनीहरूलाई कुनै पनि कुरा फिटिक्कै थाहा हुँदैन। तीबारे सोध्दा, तिनीहरू पूरै अनजान हुन्छन्। तर देहसुखसित सम्बन्धित विषयका सन्दर्भमा—खानपान र मनोरञ्जनका बारेमा चाहिँ—तिनीहरू फतरफतर बोलेको बोलेकै गर्न सक्छन्, र तिनीहरूलाई रोक्नसमेत असम्भव हुन्छ। मण्डलीको काम वा तिनीहरूको कर्तव्यमा जति व्यस्तता भए नि, तिनीहरूको जीवनको दैनिकी र सामान्य अवस्थामा कहिल्यै बाधा हुँदैन। तिनीहरू दैहिक जीवनका सानातिना कुरामा समेत कहिल्यै लापरवाही गर्दैनन् र अत्यन्तै कट्टर र गम्‍भीर हुँदै ती कुरालाई पूर्ण रूपमा नियन्त्रणमा राख्छन्। तर परमेश्‍वरको घरको काम सम्हाल्दा, मामला जति ठूलो भए पनि र यो कुरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीको सुरक्षासँग सम्‍बन्धित नै भए पनि, तिनीहरूले त्यसमा लापरवाही गर्छन्। तिनीहरू परमेश्‍वरको आज्ञासँग सम्‍बन्धित कुराहरू वा आफूले गर्ने कर्तव्यलाई वास्ता गर्दैनन्। तिनीहरू कुनै जिम्‍मेवारी लिँदैनन्। यो देहसुखमा लिप्त हुनु हो, होइन र? के देहसुखमा लिप्त हुने मानिसहरू कर्तव्य निर्वाह गर्न उपयुक्त हुन्छन्? कसैले कर्तव्य पूरा गर्ने कुरा उठाउनेबित्तिकै, वा मूल्य चुकाउने र कठिनाइ भोग्‍नेबारे बोल्‍नेबित्तिकै, तिनीहरूले टाउको हल्लाइरहन्छन्। तिनीहरूमा समस्यै समस्या हुन्छन्, तिनीहरू गुनासोका पोका हुन्, र तिनीहरू नकारात्मकताले भरिएका हुन्छन्। यस्ता मानिसहरू बेकारका हुन्, तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्न योग्य हुँदैनन् र तिनीहरूलाई हटाइनुपर्छ। जहाँसम्‍म देहसुखको लालसा गर्ने कुरा छ, हामी यसलाई यहीँ छोड्नेछौँ।

ऊ. आफूलाई चिन्नुसित सम्बन्धित कठिनाइहरू

आफूलाई चिन्नु जीवन प्रवेशको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। तर धेरैजसो मानिसहरूका लागि आफूलाई चिन्नु सबैभन्दा ठूलो कठिनाइ बन्छ, किनभने तिनीहरू सत्यतालाई प्रेम गर्दैनन् वा त्यसलाई पछ्याउँदैनन्। तसर्थ, सत्यतालाई प्रेम नगर्नेहरूले आफूलाई साँचो रूपमा चिन्न सक्दै सक्दैनन् भन्ने कुरा निश्‍चित छ। आत्म-ज्ञानका पक्षहरू के-के हुन्? पहिलो त आफ्ना बोली र क्रियाकलापहरूमा के-कस्ता भ्रष्ट स्वभावहरू प्रकट हुन्छन् भनी थाहा पाउनु हो। कहिलेकाहीँ, अहङ्कार प्रकट हुन्छ, अरू बेला छलीपन प्रकट हुन्छ, वा सायद दुष्टता, हठीपन, वा विश्‍वासघात, आदि प्रकट हुन्छन्। त्यसबाहेक, जब कसैलाई केही आइपर्छ, तब उसले आफूसँग सत्यताअनुरूप नभएका कुनै अभिप्राय वा मनसायहरू छन् कि भनी हेर्न आफैलाई जाँच्नुपर्छ। उसले आफ्नो बोली वा क्रियाकलापमा परमेश्‍वरको प्रतिरोध गर्ने वा उहाँविरुद्ध विद्रोह गर्ने कुनै चिज छ कि भनेर पनि जाँच्नुपर्छ। खास गरी, उसले आफूमा बोझको बोध छ कि छैन र आफ्नो कर्तव्यको कुरा आउँदा ऊ बफादार छ कि छैन, उसले आफूलाई निष्कपट रूपमा परमेश्‍वरप्रति समर्पित गरिरहेको छ कि छैन, र ऊ कारोबारी वा झाराटारुवा बनिरहेको छ कि छैन भनेर जाँच्नुपर्छ। आत्म-ज्ञानको अर्थ आफूमा परमेश्वरबारे धारणा र कल्पनाहरू, अनर्गल मागहरू, वा गलतफहमी र गुनासाहरू छन् कि छैनन्, र आफूमा समर्पित हुने मन छ कि छैन भनेर थाहा पाउनु पनि हो। यसको अर्थ परमेश्‍वरले योजनाबद्ध गर्नुहुने परिस्थिति, मानिस, घटना, र कामकुराहरूसँग व्यवहार गर्दा आफूले सत्यता खोज्न, परमेश्‍वरबाट आएको भनी स्विकार्न र परमेश्‍वरप्रति समर्पणताको हृदय राख्न सक्छु कि सक्दिनँ भनेर थाहा पाउनु हो। यसको अर्थ आफूमा विवेक र समझ छ कि छैन र आफू सत्यताप्रेमी हो कि होइन भनी थाहा पाउनु हो। यसको अर्थ कामकुराहरू आइपर्दा, आफू त्यसप्रति समर्पित हुन्छु कि बहस गर्ने कोसिस गर्छु, र यी मामलाहरूसँग व्यवहार गर्दा आफू धारणा र कल्पनाहरूमा भर पर्छु कि सत्यताको खोजीमा भर पर्छु भनी थाहा पाउनु हो। यो सबै आत्मज्ञानको दायरा हो। व्यक्तिले विभिन्‍न परिस्थिति अनि मानिस, घटना, र कामकुराहरूप्रतिको आफ्नो मनोवृत्तिलाई ध्यानमा राखेर आफूले सत्यतालाई प्रेम गर्छु कि गर्दिनँ र परमेश्‍वरमाथि साँचो आस्था राख्छु कि राख्दिनँ भनी चिन्तन गर्नुपर्छ। यदि कसैले आफ्नो भ्रष्ट स्वभावलाई चिन्न र परमेश्‍वरविरुद्ध आफ्नो विद्रोह कति ठूलो छ भनी देख्न सक्छ भने, उसको वृद्धि भएको हुनेछ। यसका साथै, परमेश्‍वरसँगको व्यवहार संलग्न भएका मामलाहरूमा, व्यक्तिले परमेश्‍वरको नाम र देहधारणलाई आफूले गर्ने व्यवहारमा धारणाहरू, डर, वा समर्पणता छ कि छैन, र विशेषगरी सत्यताप्रति आफ्नो मनोवृत्ति कस्तो छ भनेर चिन्तन गर्नुपर्छ। व्यक्तिले आफ्ना कमीकमजोरीहरू, आफ्नो कद, र आफूमा सत्यता वास्तविकता छ कि छैन, साथै आफ्नो पछ्याइ र आफूले हिँड्ने मार्ग सही र परमेश्‍वरका अभिप्रायहरूअनुरूप छ कि छैन भन्‍ने कुरा पनि थाहा पाउनुपर्छ। यी सबै मानिसहरूले थाहा पाउनुपर्ने कुराहरू हुन्। सारांशमा, आत्म-ज्ञानका विभिन्‍न पक्षहरूमा सारभूत रूपले निम्न कुराहरू पर्छन्: आफ्नो क्षमता उच्च छ कि न्यून भन्‍ने कुराको ज्ञान, आफ्नो चरित्रको ज्ञान, आफ्ना क्रियाकलापहरूका आशय र मनसायहरूको ज्ञान, आफूले प्रकाश गर्ने भ्रष्ट स्वभाव र प्रकृति सारको ज्ञान, आफ्ना प्राथमिकताहरू र पछ्याइको ज्ञान, आफूले हिँड्ने मार्गको ज्ञान, कामकुराहरूबारे आफ्ना विचारहरूको ज्ञान, जीवन र मूल्य-मान्यताहरूबारे आफ्नो दृष्टिकोणको ज्ञान, साथै परमेश्‍वर र सत्यताप्रति आफ्नो मनोवृत्तिको ज्ञान। आत्म-ज्ञानमा मुख्यतया यिनै पक्षहरू पर्छन्।

ए. परमेश्‍वरप्रति मानिसहरूको व्यवहारमा हुने विभिन्न प्रकटीकरणहरू

जीवन प्रवेशसम्बन्धी अर्को विषयवस्तु मानिसहरूले परमेश्‍वरप्रति मानिसहरूको व्यवहारमा हुने विभिन्न प्रकटीकरणहरूसँग सम्बन्धित छ। उदाहरणका लागि, तिनीहरू परमेश्‍वरबारे धारणा राख्छन्, उहाँबारे गलतफहमी विकास गर्छन् र उहाँप्रति सावधान बन्छन्, उहाँसँग अनुचित मागहरू गर्छन्, सधैँ उहाँदेखि पर बस्न चाहन्छन्, उहाँले बोल्ने वचनहरू मन पराउँदैनन्, र उहाँलाई निरन्तर छानबिन गर्न खोज्छन्। तिनीहरूले परमेश्‍वरको सर्वशक्तिमान्‌ता छर्लङ्गै देख्न वा चिन्न पनि नसक्ने, र साथै सधैँ परमेश्‍वरको सार्वभौमिकता, बन्दोबस्त, र अख्तियारप्रति शङ्कालु मनोवृत्ति राख्ने, र तिनीहरूमा यी कुराको ज्ञान फिटिक्कै नहुने कुरा पनि छ। त्यसबाहेक, तिनीहरूले गैरविश्‍वासीहरू र संसारले परमेश्‍वरविरुद्ध गर्ने निन्दा र भर्त्सनाबाट टाढा बस्‍न र त्यसलाई इन्कार्न नसक्ने मात्र होइन, बरु उल्टै त्यो साँचो वा वास्तविक त होइन भनेर सोध्नसमेत चाहने कुरा पनि छ। के यो परमेश्‍वरमाथि शङ्का गर्नु होइन र? यी प्रकटीकरणबाहेक अरू के छन्? (परमेश्‍वरबारे शङ्कालु हुनु र उहाँलाई जाँच्नु।) (आफूलाई परमेश्‍वरको कृपापात्र बनाउने कोसिस गर्नु।) (परमेश्‍वरको छानबिन स्विकार्न नचाहनु।) तिनीहरू परमेश्‍वरको छानबीन स्विकार्न चाहँदैनन्, साथै परमेश्‍वरले मानिसहरूको भित्री हृदयको छानबिन गर्न सक्नुहुन्छ भन्ने कुरामा शङ्का गर्छन्। (तिनीहरूले परमेश्‍वरको विरोध गर्ने कुरा पनि छ।) यो पनि एउटा प्रकटीकरण हो—परमेश्‍वरको विरोध गर्नु र उहाँविरुद्ध कोलाहल मच्चाउनु। परमेश्‍वरसँग व्यवहार गर्न, उहाँसँग कुराकानी गर्न र सङ्गत गर्न तिरस्कारपूर्ण र अनादरपूर्ण मनोवृत्ति प्रयोग गर्ने कुरा पनि छ। अरू केही? (परमेश्‍वरसँग झाराटारूवा व्यवहार गर्नु र उहाँलाई छल्‍नु।) (परमेश्‍वरबारे गुनासो गर्नु।) मामिलाहरू सामना गर्दा कहिल्यै समर्पित नहुने वा सत्यता नखोज्‍ने, अनि सधैँ आफ्नै पक्षबाट तर्क र गुनासो गर्ने कुरा छ। (परमेश्‍वरको आलोचना र निन्दा गर्ने कुरा पनि छ।) (हैसियतका लागि परमेश्‍वरसँग होड गर्नु।) (परमेश्‍वरसँग मोलतोल गर्नु र उहाँबाट फाइदा उठाउनु।) (परमेश्‍वरलाई इन्कार्नु, अस्वीकार गर्नु, र विश्‍वासघात गर्नु।) यी सबै महत्त्वपूर्ण समस्या हुन्; यी कुराहरू परमेश्‍वरप्रतिको मानिसहरूको व्यवहारमा हुने विभिन्न स्थिति र भ्रष्ट स्वभावहरू हुन्। यी कुराहरू मूलतः मानिसहरूले परमेश्‍वरलाई कसरी व्यवहार गर्छन् भन्ने कुराका विभिन्न प्रकटीकरण हुन्।

ऐ. सत्यताप्रति मानिसहरूको व्यवहारमा हुने मनोवृत्ति र विभिन्‍न प्रकटीकरणहरू

जीवन प्रवेशसम्बन्धी विषयवस्तुको अर्को पक्ष मानिसहरूले सत्यतालाई कसरी लिन्छन् भन्‍ने हो। यो पक्षमा केकस्ता प्रकटीकरणहरू छन्? एउटा हो, सत्यतालाई सिद्धान्त वा नारा, वा प्रावधान, वा मण्डलीबाट आफ्नो गुजारा चलाउने र हैसियतका लाभको आनन्द उठाउने पूँजीका रूपमा लिनु। यसमा अरू कुरा थप त। (सत्यतालाई आत्मिक भरणपोषणका रूपमा लिनु।) आफ्ना आत्मिक आवश्यकताहरू पूरा गर्नका लागि सत्यतालाई आत्मिक भरणपोषणका रूपमा लिने कुरा छ। (सत्यता नस्विकार्नु र त्यसप्रति वितृष्णा राख्नु।) यो सत्यताप्रतिको एउटा मनोवृत्ति हो। (परमेश्‍वरका वचन अरूलाई खुलासा गर्नका लागि हुन्, ती आफूसँग सम्बन्धित छैनन् भनेर सोच्नु, अनि आफूलाई सत्यताको मालिक ठान्‍नु।) तैँले यो प्रकटीकरणलाई एकदमै उपयुक्त रूपमा व्याख्या गरेको छस्। यस्तो प्रकटीकरण भएका मानिसहरू आफूले परमेश्‍वरद्वारा व्यक्त सबै सत्यता बुझेको छु, र उहाँले खुलासा गर्ने मानिसका भ्रष्ट स्वभाव र सारले उनीहरूलाई नभई अरूलाई नै जनाउँछन् भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू आफूलाई सत्यताको मालिक ठान्छन्, र प्रायः परमेश्‍वरका वचनहरू प्रयोग गरेर अरूलाई भाषण दिन्छन्, मानौँ तिनीहरू आफैमाचाहिँ भ्रष्ट स्वभावहरू नै छैनन्, र मानौँ तिनीहरू सत्यताको मूर्तरूप वा प्रवक्ता नै भइसकेका छन्। तिनीहरू कस्ता रद्दीहरू हुन्? तिनीहरू सत्यताको मूर्तरूप हुन चाहन्छन्—के तिनीहरू पावलजस्तै होइनन् र? पावलले प्रभु येशू नै ख्रीष्ट र परमेश्‍वर हुनुहुन्छ भनेर इन्कार गर्‍यो; ऊ आफै ख्रीष्ट र परमेश्‍वरको पुत्र हुन चाहन्थ्यो। यी मानिसहरू पावलजस्तै हुन्, तिनीहरू उसकै प्रकारका हुन्, तिनीहरू ख्रीष्टविरोधीहरू हुन्। अरू केही छ? (परमेश्‍वरका वचनलाई अभ्यास गर्नुपर्ने सत्यताका रूपमा नभई साधारण व्यक्तिको वचनका रूपमा लिनु, अनि परेश्‍वरका वचनप्रति उपेक्षापूर्ण र सरसरती हेर्ने मनोवृत्ति राख्नु।) परमेश्‍वरका वचनलाई स्वीकार र अभ्यास गर्नुपर्ने सत्यताका रूपमा नभई, मानव वचनका रूपमा लिनु—यो पनि एउटा हो। (परमेश्‍वरका वचनलाई गैरविश्‍वासीका दर्शन र सिद्धान्तहरूसँग जोड्नु।) परमेश्‍वरका वचनलाई दर्शनहरूसँग जोड्ने, परमेश्‍वरका वचनलाई सजावट वा ख्रोक्रा शब्दका रूपमा लिँदै प्रसिद्ध र महान् व्यक्तिका प्रसिद्ध भनाइहरूलाई चाहिँ सत्यता ठान्‍ने, अनि ज्ञान, परम्परागत संस्कृति र प्रथालाई सत्यताका रूपमा लिने र तिनलाई परमेश्‍वरका वचनको ठाउँमा प्रतिस्थापित गर्ने कुरा पनि छ। यस्तो प्रकटीकरण देखाउने मानिसहरू परिस्थितिहरू आइपर्दा सत्यता अभ्यास गर्न र परमेश्‍वरका वचनहरूको गवाही दिन र ती फैलाउन चाहनाबारे निरन्तर कुरा गर्छन्, तर हृदयमा भने अधर्मी संसारका प्रसिद्ध र महान् व्यक्तिहरूलाई नै आदर गर्छन्, अनि यसो भन्दै प्राचीन सोङ वंशका बाओ गोङलाई चिल्लो घस्नेसमेत गर्छन्, “उनी एकदमै कडा र निष्पक्ष न्यायाधीश थिए। उनले कहिल्यै अन्यायपूर्ण फैसला गरेनन्, उनको हातबाट न्यायमा कहिल्यै कुनै चूक भएन, र उनको न्यायदण्डले कुनै निर्दोषको ज्यान लिएन!” के यो कुनै प्रसिद्ध व्यक्ति वा साधुलाई चिल्लो घस्नु र तिनको आदर गर्नु होइन र? प्रसिद्ध व्यक्तिहरूका शब्द र कार्यलाई सत्यताका रूपमा प्रस्तुत गर्न खोज्‍नु सत्यताको अपमान र निन्दा गर्नु हो! मण्डलीमा यस्ता मानिसहरू सत्यता अभ्यास गर्न र परमेश्‍वरका वचनहरू प्रचार गर्न चाहनेबारे धेरै कुरा गर्छन्, तर तिनीहरूले मनमा सोच्ने र सामान्यतया बोल्ने कुराचाहिँ केवल लोक भनाइ र उखानहरू मात्रै हुन्छन्, जसलाई तिनीहरू एकदमै अभ्यस्त र धाराप्रवाह रूपमा व्यक्त गर्छन्। यी कुराहरू सधैँ तिनीहरूको जिब्रोमै झुण्डिएका हुन्छन् र तिनीहरूको मुखबाट सजिलै निस्कन्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरूसम्बन्धी आफ्नो अनुभवात्मक बुझाइको एक शब्द पनि कहिल्यै बोलेका हुँदैनन्, परमेश्‍वरका कुन वचनहरू आफ्ना कार्य र आचरणका मापदण्ड वा आधार हुन् भनेर कहिल्यै बोलेको हुनु त परको कुरा हो। तिनीहरू “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ”, “ज्यान लिएर केही पाइँदैन, टाउको मात्र छिनिन्छ”, “सधैँ दयनीय मानिसहरूमै घृणित कुरा हुन्छ,” “आफ्नो लागि केही न केही विकल्प छोड्नू”, “मैले कुनै उपलब्धि हासिल नगरेको भए पनि, कष्ट भोगेको छु, कष्ट नभए थकान भोगेको छु”, “नदी तरेपछि पुल नभत्काऊ; भारी झारेपछि गधा नमार,” “छोरी पिटेर बुहारी तर्साउनु,” र “नयाँ म्यानेजर आफ्‍नो प्रभाव छोड्न साह्रै इच्छुक हुन्छ,” इत्यादि जस्ता भ्रमहरू मात्र छर्छन्—तिनीहरूले भन्‍ने कुनै पनि कुरा सत्यता हुँदैन। कति मानिसहरू समकालीन कविहरूका शब्दहरू कण्ठस्थ गर्छन् र तिनलाई परमेश्‍वरको घरका भिडियोको कमेन्ट गर्ने ठाउँमा पोस्टसमेत गर्छन्। के यो आत्मिक बुझाइ नहुनुको प्रकटीकरण होइन र? के ती शब्दहरू सत्यता हुन्? के ती सत्यतासँग सम्बन्धित छन्? कतिपय मानिस प्रायः “तँभन्दा तीन फिट माथि एउटा परमेश्‍वर हुनुहुन्छ,” र “अन्त्यमा असल र खराबको मूल्य चुकाइनेछ; त्यो समयको कुरा मात्र हो,” जस्ता कुराहरू भन्‍ने गर्छन्। के यी अभिव्यक्तिहरू सत्यता हुन्? (होइनन्।) ती कहाँबाट आएका हुन्? के ती परमेश्‍वरका वचनमा पाइन्छन्? ती बौद्ध संस्कृतिबाट आएका हुन् र तिनको परमेश्‍वरमा विश्‍वास गर्नुसित कुनै सम्बन्ध छैन। यसको बाबजुद, मानिसहरू प्रायः ती कुरालाई सत्यताको स्तरमा लैजाने प्रयास गर्छन्; यो आत्मिक बुझाइ नहुनुको प्रकटीकरण हो। कतिपय मानिसमा आफूलाई परमेश्‍वरका लागि समर्पित गर्ने अलिअलि सङ्कल्प हुन्छ, र तिनीहरू भन्छन्, “परमेश्‍वरको घरले मलाई बढुवा गरेको छ, परमेश्‍वरले मलाई उचाल्नुभएको छ, त्यसैले मैले ‘सज्जन पुरुषले उसलाई बुझ्नेहरूका लागि आफ्नो ज्यानको बलिदान गर्छ’ भन्‍ने भनाइअनुसार जिउनैपर्छ।” तँ सज्जन पुरुष होइनस्, र परमेश्‍वरले तँलाई आफ्नो जीवन बलिदान गर्नू भनेर भन्‍नुभएको छैन। के कर्तव्य निर्वाह गर्दा त्यस्तो धेरै वीरताबोध हुनुपर्छ र? तँ अहिले जीवित छँदा त आफ्नो कर्तव्य पूरा गर्न सक्दैनस् भने, मरेपछि चाहिँ त्यो पूरा गर्ने कुनै आशा हुन्छ र? अनि तैँले आफ्नो कर्तव्य कसरी निर्वाह गर्नेछस्? अरू भन्छन्, “म स्वाभाविक रूपमै बफादार छु, म साहसी र जोशिलो व्यक्ति हुँ। मलाई आफ्ना साथीहरूका लागि हरजोखिम मोल्न मन पर्छ। परमेश्‍वरका निम्ति पनि त्यही गर्न मन पर्छ: परमेश्‍वरले मलाई चुन्‍नुभएको छ, बढुवा गर्नुभएको छ, र उचाल्नुभएको छ, त्यसैले मैले उहाँको अनुग्रहको ऋण तिर्नैपर्छ। म परमेश्‍वरका लागि मृत्युसम्‍मै हरजोखिम मोल्नेछु!” के यो सत्यता हो? (होइन।) परमेश्‍वरले एकदमै धेरै वचन बोल्नुभएको छ, किन तिनीहरूले तीमध्ये एउटै पनि याद गरेका छैनन्? हरसमय तिनीहरूले सङ्गति गर्ने कुरा यस्तो मात्र हुन्छ: “अरू कुनै कुरा भन्‍नु आवश्यक छैन। सज्जन पुरुषले उसलाई बुझ्नेहरूका लागि आफ्नो ज्यानको बलिदान गर्छ, र व्यक्तिले आफ्ना साथीहरूका लागि हरजोखिम मोल्नैपर्छ र ऊ बफादार हुनैपर्छ।” तिनीहरूले “परमेश्‍वरको प्रेमको ऋण तिर्ने” भन्‍ने वाक्यांश उच्चारणसमेत गर्न सक्दैनन्। यतिका वर्ष प्रवचन सुनेपछि र परमेश्‍वरका वचन पढेपछि पनि, तिनीहरूलाई एउटै सत्यता थाहा हुँदैन, र तिनीहरू केही आत्मिक शब्दहरूसमेत भन्‍न सक्दैनन्—सत्यतासम्बन्धी तिनीहरूको भित्री बुझाइ र परिभाषा यही हो। लौ भन् त, के यो दयनीय कुरा होइन र? के यो हाँस्यास्पद छैन र? के यो आत्मिक बुझाइ नहुनुको प्रकटीकरण होइन र? यतिका धेरै प्रवचन सुनेपछि पनि, तिनीहरू सत्यता बुझ्दैनन् र सत्यता के हो भनेर जान्दैनन्, तैपनि सत्यतालाई प्रतिस्थापन गर्न ती दुष्ट, हास्यास्पद, बेतुके, र अत्यन्तै हाँसउठ्दा शब्दहरू निर्लज्ज रूपमा प्रयोग गर्छन्। तिनीहरूको भित्री सोचाइ र बुझाइ यस्तो हुने मात्र होइन, तिनीहरूले त यही कुरा अरूलाई निरन्तर फैलाउने र सिकाउने, र यसरी अरूलाई आफ्नै जस्तो बुझाइ राख्न लगाउने समेत गर्छन्। के यसमा केही हदसम्म अवरोध र बाधा पुऱ्याउने प्रकृति हुँदैन र? सत्यता नबुझ्ने र आत्मिक बुझाइ नहुने यी मानिसहरू खतरनाक हुने देखिन्छ, र तिनीहरूले कुनै पनि समय र कुनै पनि ठाउँमा अवरोध र बाधा खडा गर्न एवम् हास्यास्पद र बेतुके कामहरू गर्न सक्छन्। मानिसहरूले सत्यतालाई कसरी लिन्छन् भन्‍नेबारे अन्य केही अभिव्यक्तिहरू केके हुन्? (सत्यतालाई घृणा गर्नु, आफ्नो धारणासँग मिल्ने कुराहरू मात्र स्विकार्नु, अनि आफ्नो धारणासँग नमिल्ने कुराहरू इन्कार्नु र अभ्यास गर्न नमान्‍नु।) आफ्नो धारणासँग मिल्ने कुराहरू मात्र स्वीकार र अभ्यास गर्नु अनि आफ्नो धारणासँग नमिल्ने कुराहरूप्रति एकनासले प्रतिरोध र निन्दा गर्नु—यो एउटा मनोवृत्ति हो। (सत्यताले व्यक्तिको भ्रष्ट स्वभाव हटाउन सक्छ वा आफूलाई परिवर्तन गर्न सक्छ भनेर विश्‍वास नगर्नु।) सत्यतालाई नमान्‍नु वा विश्‍वास नगर्नु पनि एउटा मनोवृत्ति हो। अनि अर्को प्रकटीकरणचाहिँ सत्यताप्रतिको व्यक्तिको मनोवृत्ति र दृष्टिकोण उसको मुड, परिवेश र संवेगअनुसार परिवर्तन हुनु हो। यी मानिसहरूको कुरा गर्नुपर्दा, तिनीहरूलाई कुनै दिन राम्रो र एकदमै खुसी महसुस हुँदा, तिनीहरूले सोच्छन्, “सत्यता उत्कृष्ट छ! सत्यता सबै सकारात्मक कुराहरूको वास्तविकता, मानिसहरूले अभ्यास र प्रचार गर्न सबैभन्दा योग्य कुरा हो।” तर तिनीहरूको मुड बिग्रँदा, तिनीहरू सोच्छन्, “सत्यता के हो? सत्यता अभ्यास गर्नाले के फाइदा हुन्छ? के यसबाट पैसा कमाउन सकिन्छ? सत्यताले के परिवर्तन गर्न सक्छ? यदि सत्यता अभ्यास गरियो भने के हुन सक्छ? म यो अभ्यास गर्दै गर्दिनँ—यसले के फरक पार्छ र?” तिनीहरूको पिशाची प्रकृति देखापर्छ। यी प्रकटीकरणहरू मानिसहरूले सत्यतालाई लिने तरिकामा देखाउने विभिन्‍न स्वभाव र स्थितिहरू हुन्। केही अन्य खास प्रकटीकरणहरू केके हुन्? (परमेश्‍वरका वचनहरूलाई सत्यता वा जीवनका रूपमा नलिनु, बरु तिनको विश्‍लेषण र छानबिन गर्नु।) स्विकार्ने र समर्पित हुने कुनै पनि मनोवृत्तिविना प्राज्ञिक मनोवृत्तिसाथ परमेश्‍वरका वचनहरूलाई व्यवहार गर्नु, सधैँ आफ्नो ज्ञानका आधारमा सत्यताको विश्‍लेषण र छानबिन गर्नु। मोटामोटी रूपमा यी कुराहरू नै सत्यताप्रति मानिसहरूको व्यवहारमा हुने कठिनाइहरू हुन्, जसलाई परिभाषित गरेर सारांश शीर्षकहरू बनाउन सकिन्छ।

जीवन प्रवेशका कठिनाइहरूबारे हाम्रो विषयवस्तुमा जम्मा आठ पक्ष छन्, र ती जीवन प्रवेश र मुक्ति प्राप्तिसँग सम्बन्धित मुख्य कठिनाइहरू हुन्। यी आठ पक्षभित्र मानिसहरूले प्रकट गरेका स्थिति र स्वभावहरू सबै नै परमेश्‍वरका वचनहरूमा खुलासा गरिएका छन्; परमेश्‍वरले मानिसहरूका लागि मापदण्डहरू तय गर्नुभएको छ र तिनीहरूलाई अभ्यासको मार्ग औँल्याइदिनुभएको छ। यदि मानिसहरूले परमेश्‍वरका वचनहरूमा प्रयत्‍न लगाउन सक्छन्, र एक गम्भीर मनोवृत्ति, अर्थात् तृष्णा गर्ने मनोवृत्ति अपनाउन सक्छन्, र आफ्नो जीवन प्रवेशका लागि बोझ उठाउन सक्छन् भने, यी आठ प्रकारका समस्याहरू समाधान गर्न तिनीहरूले परमेश्‍वरका वचनहरूमा सान्दर्भिक सत्यताहरू फेला पार्न सक्छन्, र त्यहाँ ती हरेकका लागि नै अभ्यासका मार्गहरू छन्। ती कुनै कुरा पनि समाधान गर्न नसकिने चुनौती वा कुनै प्रकारका रहस्य होइनन्। तथापि, यदि तँ आफ्नो जीवन प्रवेशका लागि कुनै बोझ उठाउँदैनस्, र सत्यताप्रति वा आफ्नो स्वभाव परिवर्तन गर्नप्रति कुनै चासो राख्दैनस् भने, परमेश्‍वरका वचनहरू जति नै स्पष्ट र सही भए नि तेरो लागि ती केवल शब्द र सिद्धान्त मात्र रहनेछन्। यदि तँ सत्यता पछ्याउँदैनस् वा अभ्यास गर्दैनस् भने, तँमा जस्तोसुकै समस्याहरू भए नि तैँले समाधान भेट्टाउन सक्‍नेछैनस्, जसले गर्दा तँलाई मुक्ति प्राप्त गर्न एकदमै गाह्रो हुनेछ। सायद तँ सदाका लागि श्रमजीवी हुने चरणमा रहनेछस्; र हुन सक्छ तँ सदाका लागि मुक्ति प्राप्त गर्न नसक्ने अनि परमेश्‍वरद्वारा तिरस्कृत हुने र हटाइने चरणमै रहिरहनेछस्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्