अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१८) खण्ड चार

घ. परमेश्‍वरका वचनहरूको गलत अर्थ लगाउने र परमेश्‍वरको कामको आलोचना गर्ने विभिन्‍न प्रकारका आधारहीन अफवाहहरूलाई खुट्ट्याउनु

हामीले भर्खरै कुरा गरेका यस्ता अफवाहहरू कहाँबाट आउँछन्? ती ठूलो रातो अजिङ्गर, धार्मिक संसार, र गैरविश्‍वासीहरूबाट आउँछन्। बाहिरी संसारका अफवाहहरूबाहेक, मण्डलीको भित्री कुराका बारेमा केही भनाइ र हल्‍लाहरू पनि छन्। परमेश्‍वर, परमेश्‍वरको काम, परमेश्‍वरको दिन, र परमेश्‍वरका केही वचनहरूका बारेमा पूर्ण रूपमा झूटा दाबीहरूसमेत छन्, साथै परमेश्‍वर र उहाँको कामसँग सम्बन्धित केही रहस्यहरू पनि छन्, जुन मानिसहरूले आफ्ना कल्पना र धारणाहरूका आधारमा, वा गलत जानकारी र आधारहीन अनुमानहरू फैलाइएको आधारमा सृजना गर्छन्। अनि मानिसहरूले त्यस्ता भनाइहरू, हल्‍ला, र दाबीहरूलाई झकिझकाउ पार्ने हुनाले, यी अफवाहहरू निर्माण हुन्छन्। अफवाहहरू निर्माण भएपछि, अफवाहप्रति अभिरुचि भएका कतिपय मानिसहरू ती फैलाउने कामप्रति उत्साहित हुन्छन्, ती अफवाहहरूलाई वास्तविक मान्छन् र जताततै फैलाउँछन्, तिनलाई यति स्पष्ट र विस्तृत रूपमा वर्णन गर्छन् कि वास्तविक परिस्थितिका बारेमा अनजान, र सत्यता नबुझ्ने र मूर्ख र अज्ञानी कतिपय मानिसहरू साँच्‍चै नै यी अफवाहहरूको बहकाउमा पर्छन्। बहकाउमा परेपछि, के तिनीहरू प्रभावित र बाधित हुन्छन्? (हुन्छन्।) यी पनि मण्डलीमा देखा पर्ने आम समस्याहरू हुन्। परमेश्‍वर र परमेश्‍वरको घरको मानहानि गर्ने र तिनलाई आक्रमण गर्नेहरूको तुलनामा यी अफवाहहरू झिनोमसिनो भए पनि—तिनले परमेश्‍वरको मानहानि वा ईश्‍वरनिन्दा गर्दैनन्—अनि तिनले परमेश्‍वरका काममा कुनै बाधा वा क्षति नपुर्‍याए पनि, तिनले कतिपय मानिसहरूको जीवन प्रवेशमा असर गर्छन् र तिनलाई रोक्‍नुपर्छ। उदाहरणका लागि, जब कतिपय मानिसहरूले केही भ्रामक टिप्पणीहरू सुन्छन्, तब तिनीहरूले हृदयमा ती कुरालाई विश्‍वास गर्छन् र तुरुन्तै ती कुराहरू आफ्‍ना नजिकका मानिसहरूमाझ फैलाउँछन्। अफवाहहरू फैलिएपछि, विवरणहरू झनै बढ्छन् र पूर्ण हुन्छन्, र अन्तमा, अफवाहहरू वास्तविक घटनाहरू जस्तै देखिन थाल्छन्। समय, स्थान, र पात्रहरू जस्ता तत्त्वहरू सबै स्थापित हुन्छन्—त्यस्ता अफवाहहरूले सार्वजनिक रूपमा फैलिन सक्नका लागि चाहिने सर्तहरू पूरा गर्छन्, होइन र? के-कस्ता जानकारीहरू फैलाइँदैछन्? अफवाह फैलाउनेले भन्छ, “आज मैले तिमीलाई एउटा महत्त्वपूर्ण कुरा बताउनैपर्ने छ। बताइनँ भने मलाई भित्री रूपमा असहज महसुस हुनेछ; मैले परमेश्‍वरका वचनहरू पढ्नमा समेत ध्यान दिन सक्नेछैन। म यस मामलाबारे अत्यन्तै उत्साहित छु। अब परमेश्‍वरमा विश्‍वास गर्ने हामीमा बल्ल आशा पलाएको छ!” जब सबैले आशा छ भन्‍ने सुन्छन्, तब तिनीहरूलाई चासो लाग्छ र तिनीहरू उत्साहित बन्छन्; यो विषय निकै सशक्त हुन्छ। तिनीहरूले भन्छन्, “परमेश्‍वरको काम चाँडै समाप्त हुँदैछ। परमेश्‍वरले पहिले आफ्नो कामको अन्त्यका बारेमा अगमवाणी गर्नुभएका धेरै वटा चिन्हहरू देखा परिसकेका छन्। उदाहरणका लागि, चन्द्रमा र सूर्यको स्थिति, पूर्व र पश्चिमको अवस्था, हरेक देशमा परमेश्‍वरका चुनिएका मानिसहरूको सङ्ख्या, कति जना मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्न सक्छन्, आदि इत्यादि—परमेश्‍वरको कामको समाप्तिका यी चिन्हहरू अहिले हामीसामु छन्। हामीले शीघ्र रूपमा तयारी गर्नुपर्छ!” कसैले सोध्छ, “हामीले के तयारी गर्नुपर्छ?” अफवाह फैलाउनेले भन्छ, “हामीले असल कार्यहरू र खाना तयार गर्नुपर्छ, र हाम्रो सबै बचत तुरुन्तै परमेश्‍वरलाई भेटीका रूपमा चढाउनुपर्छ, त्यसपछि हामीले राम्रो गन्तव्य सुरक्षित गर्न सक्छौँ।” तिनीहरूले यसो पनि भन्छन्, “फलानो वर्ष र महिनामा, फलानो मितिमा, र फलानो समयमा, हामी एउटा निश्‍चित ठाउँमा भेला हुनुपर्छ, जहाँ परमेश्‍वर हामीलाई लैजान पर्खिरहनुभएको हुनेछ। परमेश्‍वरले ‘यदि तैँले सबै कुरा त्याग्दैनस् भने, तँ मेरो चेला हुन लायक छैनस्, र मेरो अनुयायी हुन लायक छैनस्’ भन्‍नुभएको छ। अहिले परमेश्‍वरको दिन बल्ल आएको छ, र परमेश्‍वरका वचनहरू पूरा भएका छन्। हामीले हाम्रा सम्भाव्यता र करियरहरू मात्र नभई, हाम्रा परिवार, आफन्त, र देहगत सम्बन्धहरू जस्ता सबै सांसारिक कुराहरू पनि त्याग्‍नुपर्छ। हामीले सबै सांसारिक बन्धनहरू त्याग्‍नुपर्छ; हामी परमेश्‍वरलाई भेट्न जाँदैछौँ!” धेरैजसो मानिसहरूले सोध्छन्, “के यो साँचो हो?” अफवाह फैलाउनेले भन्छ, “हो, मैले मेरो घर र गाडी बेचेको छु र आफूले बचत गरेको पैसा निकालेको छु। यदि तिमीलाई मेरो विश्‍वास लाग्दैन भने, परमेश्‍वरका वचनहरूलाई हेर त। एउटा अध्यायमा, निश्‍चित वाक्यलाई उल्था गर्दा ठेगाना प्रकाश हुन्छ, र अर्को अध्यायमा निश्‍चित खण्डलाई उल्था गर्दा वर्ष र महिना प्रकाश हुन्छ…।” यो सुनेपछि, उत्साहित नहुने कोही हुन्छ? के यी शब्दहरूलाई खुट्ट्याउन सक्‍ने कोही छ? के मानिसहरूले अत्यन्तै चिन्ता गर्ने कुराहरू यिनै होइनन् र? के मानिसहरूले लामो समयदेखि आशा गरेका कुराहरू यिनै होइनन् र? कतिपय मानिसहरूले यो सुनेपछि र त्यसपछि परमेश्‍वरका वचनहरूलाई हेरेर त्यो साँच्‍चै नै मिल्‍ने रहेछ भन्‍ने सोचेपछि, वैकल्पिक योजनाका बारेमा विचार गर्न थाल्छन्। कतिपय मानिसहरूले भित्री रूपमा शङ्का गर्ने भए पनि, तिनीहरूले अझै पनि यो साँचो होस् भन्‍ने आशा गर्छन्, र सोच्छन्, “तोकिएको वर्ष र दिन अलिक टाढा भए पनि, कम्तीमा पनि सटीक मिति र समय त तोकिएको छ, त्यसकारण हामीसँग आशा छ।” तिनीहरूले यसलाई साँच्चिकै विश्‍वास नगरे पनि यसमा केही मात्रामा ध्यान दिन्छन्। यो ध्यानले के कुरालाई जनाउँछ? यसले के देखाउँछ भने, मानिसहरू यी कुराहरूद्वारा सजिलै प्रभावित र विचलित हुन्छन्। मण्डलीमा यस्तो अफवाह व्यापक रूपमा फैलिन थालेपछि, ८० देखि ९० प्रतिशत मानिसहरू अत्यन्तै उत्साहित हुनेछन्, र तिनीहरूमा भावनाहरू उर्लेर आउनेछन्, र तिनीहरूले यसो सोच्नेछन्, “हामीले आशा गरेको दिन बल्ल आउँदैछ! परमेश्‍वरले हाम्रा प्रार्थनाहरू सुन्नुभएको छ! परमेश्‍वरले हामीलाई प्रेम गर्नुहुन्छ र हामीलाई त्याग्‍नुभएको छैन!” भेलाहरूमा त्यस्ता विषयहरू फैलाउनुका परिणामहरू के हुनेछन्? के यसले सबैको भावनामा असर गर्नेछ? मानिसहरूले चाहेर पनि यसलाई इन्कार गर्न सक्नेछैनन्; अफवाहको हरेक वाक्यले तिनीहरूको हृदयमा प्रहार गर्नेछ, जसले गर्दा विश्‍वास नगर्नु त असम्भव नै हुनेछ। मानिसहरूले यी शब्दहरूमा विश्‍वास गर्ने सम्भावना धेरै हुन्छ; तिनीहरू शतप्रतिशत पक्का नभए पनि, तिनीहरू यो कुरा साँचो भएको भए हुन्थ्यो भन्‍ने चाहन्छन्, र यस्तो सोच्छन्, “संसारद्वारा इन्कार गरिनु, सरकारद्वारा खेदाइनु, धार्मिक संसारद्वारा सताइनु, जसोतसो सास फेर्न मात्र सक्नु, निरन्तर डरमा जिउनु—परमेश्‍वरलाई पछ्याएर हामीले भोगेका यत्तिका कठिनाइहरूका बारेमा मनन गर्दा लाग्छ, यी दिनहरू कहिले अन्त्य हुनेछन्? अब परमेश्‍वरको दिन बल्ल आइपुगेको छ!” यी विचारहरूले तेरो हृदयभित्र भावना उर्लाउँछ: “हामीले परमेश्‍वरका लागि आफूलाई धेरै समर्पित गरेका छौँ, परमेश्‍वरलाई पछ्याउनुमा हाम्रो आस्था अत्यन्तै दृढ छ; हामीले जे सुनिरहेका छौँ त्यो पक्‍कै साँचो हुनुपर्छ। हामीले अबदेखि यस संसारमा भौँतारिनु र कष्ट भोग्‍नु हुँदैन—हामी त्यस्तो नगर्न लायक छौँ!” जब तँमा यस्तो सोच आउँछ, र तँ यो अफवाहप्रति यति विश्‍वस्त र उत्साही हुन्छस्, तब के तँ अझै पनि परमेश्‍वरका वचनहरू पढ्न चाहन्छस्? यस विन्दुमा, के परमेश्‍वरका वचनहरूको कुनै खण्ड पढ्नु वाहियात देखिँदैन र? तँलाई यस्तो लाग्छ: “अहिले परमेश्‍वरका वचनहरूको अनुभवात्मक बुझाइ बाँड्नु किन यति अनावश्यक देखिन्छ? अबदेखि परमेश्‍वरलाई प्रार्थना गर्नु आवश्यक छैन, होइन र? परमेश्‍वरको दिन आएको छ, र हामी चाँडै नै परमेश्‍वरलाई आमनेसामने भेट्नेछौँ, त्यसकारण के अहिले परमेश्‍वरलाई प्रार्थना गर्नुको अर्थ हामीले परमेश्‍वरलाई आदर गर्दैनौँ भन्‍ने हुँदैन र? परमेश्‍वरबाट टाढा रहेको देहमा जिउने क्रममा पो हामीले हाम्रो तृष्णालाई कम गर्न परमेश्‍वरका वचनहरू पढ्नुपर्थ्यो। अहिले त, हामीले यो संसारलाई पार गर्नै लागेका छौँ र चाँडै नै परमेश्‍वरलाई व्यक्तिगत रूपमा भेट्नेछौँ, त्यसकारण परमेश्‍वरका वचनहरू पढ्नु आवश्यक छैन। हामीले अहिले गर्ने कुनै पनि कुरा त्यो निश्‍चित वर्ष, महिना, दिन, र समयमा परमेश्‍वरलाई भेट्नु जत्तिको महत्त्वपूर्ण छैन। यो कति अद्भुत कुरा हुनेछ! त्यो दिन त्यस ठाउँमा परमेश्‍वरलाई भेट्नुको तुलनामा परमेश्‍वरका वचनहरू पढ्नु अत्यन्तै महत्त्वहीन देखिन्छ।” तैँले त्यस उप्रान्त परमेश्‍वरका वचनहरू पढ्ने कार्यमा ध्यान दिन सक्दैनस्। तेरो हृदय बेचैन भएको हुन्छ, र त्यसले तुरुन्तै त्यो दिन आओस् भन्‍ने तृष्णा गरिरहेको हुन्छ! के यो मनोदशा व्यक्त गर्न गाह्रो छैन र? त्यस्ता अफवाहहरूले आम मानिसको ध्यान आकर्षित गर्छन् र मण्डलीभित्र ती सजिलै फैलिन सक्छन्। एक जनाले दुई जनामा, दुई जनाले दश जनामा फैलाउँछन्, र एउटा मण्डलीबाट दुई वटा मण्डलीमा, दुई वटा मण्डलीबाट पाँच वटा मण्डलीमा गर्दै अफवाहहरू झन्-झन् फैलिन्छन्, र झन्-झन् व्यापक हुँदै जान्छन्। परिणामहरू के-कस्ता हुन्छन्? यी अफवाहहरूले गर्दा मानिसहरूले परमेश्‍वरमाथि शङ्का गर्छन्, परमेश्‍वरबाट आफूलाई टाढा राख्छन्, मानवजातिलाई मुक्ति दिनुपछाडिको परमेश्‍वरको साँचो प्रेम बिर्सन्छन्, आफूले पूरा गर्नुपर्ने कर्तव्य बिर्सन्छन्, र आफूले पछ्याउनुपर्ने मार्ग बिर्सन्छन्। बरु, तिनीहरू एकोहोरो रूपमा परमेश्‍वरको दिन आएको र आफूले आशिष्‌हरू प्राप्त गर्न सक्छौँ कि सक्दैनौँ भनेर हेर्नुको पछ्याइमा लाग्छन्। जब त्यो दिन वास्तवमै आउँछ र केही पनि हुँदैन, तब मात्रै मानिसहरूले अफवाहहरूमा विश्‍वास गर्दा त्यसले आफ्‍नो जीवनमा हानि गरेको छ भन्‍ने महसुस गर्छन्। त्यसपछि के तँ पहिलेको जस्तो शिष्ट तरिकाले आफूलाई आचरणमा ढाल्ने, आफ्नो कर्तव्यमा लागिरहने, आफ्नो धरातलमा बसेर सत्यता पछ्याउने, सबै कुरामा सत्यता सिद्धान्तहरूको खोजी गर्ने, र परमेश्‍वरका वचनहरूअनुसार आफूलाई आचरणमा ढाल्ने र कर्तव्य पूरा गर्ने अवस्थामा फर्केर जान सक्छस्? समय बितिसकेको हुनेछ र यसलाई फिर्ता लिन सकिनेछैन। यसका लागि को दोषी हुन्छ? सत्यता पछ्याउने व्यक्ति कहिल्यै नभएकोमा आफूलाई नै दोष दे। तँ फुरुक्क भएको थिइस् र, परिणामस्वरूप, अफवाहको सिकार बनेको छस्।

जो परमेश्‍वरमा विश्‍वास गर्छन् तर सत्यता बुझ्दैनन् तिनीहरूलाई एउटै अफवाहले अथाह रसातलमा पुर्‍याएर बरबाद गर्न सक्छ। अथाह रसातल भनेको के हो? सुरुमा, तँसँग परमेश्‍वरमाथि सामान्य विश्‍वास थियो र मुक्ति पाउने आशा थियो, तर एउटै अफवाहले तँलाई बहकाएको छ। थाहै नपाई, तँलाई शैतानले बहकाएको छ, तैँले शैतानले बोलेका दुष्ट शब्दहरूलाई विश्‍वास गरेको र त्यसलाई पछ्याएको छस्। तँ शैतानले तेरा लागि तय गरेको मार्गअनुसार हिँड्छस् र पछ्याउँछस्, र तँ जति टाढा जान्छस्, तेरो हृदय त्यति नै अन्धकारमय हुन्छ, र तँ परमेश्‍वरबाट त्यति नै टाढा जान्छस्। जब तैँले परमेश्‍वरलाई पूर्ण रूपमा त्यागेर इन्कार गरेको हुन्छस्, तब तँसँग हृदयमा परमेश्‍वरका बारेमा शङ्का मात्र हुँदैन, अझै गम्भीर रूपमा, तँभित्र परमेश्‍वरका बारेमा गुनासो र परमेश्‍वरको इन्कार बढ्छ। जब तँ यो विन्दुमा पुग्छस्, तब यो तेरा लागि बाटोको अन्त्य हुँदैन र? के यो अथाह रसातल होइन र? के यो तैँले हेर्न चाहने कुरा हो? जब तँ यो विन्दुमा पुग्छस्, तब के तैँले अझै पनि मुक्ति प्राप्त गर्न सक्छस्? सक्दैनस्, र फर्केर आउनु निकै गाह्रो हुन्छ। किन? किनभने परमेश्‍वरले काम गर्न छोड्नुभएको हुन्छ, पवित्र आत्माले काम गर्न छोड्नुभएको हुन्छ, र तँ अन्धकारले भरिएको हुन्छस्। तँ र परमेश्‍वरका बीचमा एउटा अल्गो पर्खाल ठड्याइएको हुन्छ। यो पर्खाल के हो? यो शैतानले तँमा हालिदिएका धारणा, कल्पना, र अफवाहहरू, र व्यक्तिगत चाहनाहरू हुन्। परमेश्‍वरको पहिचान, सार, हैसियत, इत्यादि जस्ता सकारात्मक कुराहरूबारे तेरो ज्ञान अचानक अस्पष्ट हुन्छ र त्यो बिस्तारै हराउन समेत पुग्छ। यो अत्यन्तै डरलाग्दो कुरा हो। के यो अथाह रसातलमा खस्‍नु होइन र? (हो।) जब तँ यस्तो परिस्थितिमा फस्छस्, तब के तैँले अझै पनि आफ्नो कर्तव्य पूरा गर्नका लागि कठिनाइ भोग्‍न र मूल्य चुकाउन सक्छस्? के तँ अझै पनि मुक्ति पाउनका लागि सत्यता पछ्याउने मार्गमा हिँड्न सक्छस्? म तँलाई भन्छु, फर्केर आउनु निकै गाह्रो हुन्छ। बहकाउमा पर्नु भनेको यही हो! यदि तँ एक क्षणका लागि सावधान भइनस् र बहकाउमा परिस् भने, एउटा मात्र अफवाहले पनि अकल्पनीय परिणामहरू ल्याउन सक्छ। त्यसकारण, जब मण्डलीमा परमेश्‍वरको कामका बारेमा यस्ता अफवाहहरू देखा पर्छन्, तब तिनलाई तुरुन्तै रोक र प्रतिबन्ध लगाउनुपर्छ। मानिसहरूलाई भ्रममा पार्न र लोभ्याएर सही मार्गबाट टाढा लैजानका लागि कसैले पनि हावाका कुराहरू बनाउनु हुँदैन, र मानिसहरूले सुन्न मन पराउने यावत् किसिमका झूटहरू सिर्जना गर्नु हुँदैन। मानिसहरूलाई यी विषयहरू मन परे पनि, तिनलाई हृदयदेखि नै ध्यान दिएर फैलाउनुको के फाइदा हुन्छ र? यसबाट के फाइदा प्राप्त गर्न सकिन्छ? कतिपय मानिसहरूले भन्छन्, “त्यो व्यक्तिले आफूले चाहेको कुरा बोल्न सक्छ, किनभने त्यो उसको मुख हो। त्यसकारण, उसले आफ्नो इच्छाअनुसार बोलोस्।” त्यो के कुरा भनिँदै छ त्यसमा निर्भर हुन्छ। यदि यो मानिसहरूलाई सुधार्ने कुरा हो भने, यो भन्न सकिन्छ र फैलाउन सकिन्छ—यसलाई जसरी फैलाए पनि हुन्छ। तर यी अफवाहहरूले मानिसहरूलाई अलिकति पनि सुधार्दैनन्; तिनले मानिसहरूलाई बहकाउने र तिनीहरूको ध्यान भड्काउने, तिनीहरूको पछ्याइमा बाधा दिने र तिनीहरूलाई सही मार्गबाट टाढा लैजाने, परमेश्‍वरसँगको तिनीहरूको सम्बन्धमा असर गर्ने, तिनीहरूको सामान्य कर्तव्य निर्वाहमा असर गर्ने, र मण्डलीको कामको सामान्य सुव्यवस्थामा असर गर्ने काम मात्र गर्छन्। मानिसहरूले यी अफवाहहरूलाई स्वीकार गरेपछि, त्यो तिनीहरू उम्कन नसकिने एउटा भुलभुलैयामा पर्नु जस्तै हो। त्यसकारण, जब तैँले यी अफवाहहरू सुन्छस्, तब यदि कसैले तँ एकलैलाई ती कुरा बतायो भने, तैँले तिनलाई इन्कार गर्नुपर्छ। यदि उसले अरूका माझमा ती कुरा बोल्यो भने, तैँले तिनलाई इन्कार गर्ने मात्र होइन, तिनको खुलासा र चिरफार पनि गर्नुपर्छ—अझ धेरै मानिसहरूलाई बहकाउमा पर्न नदे। विशेष गरी एक-दुई वर्ष, वा दुई-तीन वर्ष मात्र विश्‍वास गरेका मानिसहरूका हकमा भन्दा, तिनीहरूले अझै पनि गन्तव्य, परमेश्‍वरसँगको भेट, र माथि उचालिनु जस्ता मामिलाहरूलाई छर्लङ्ग देख्‍न सक्दैनन्, तिनीहरूमा सत्यताप्रति रुचि विकास भइसकेको हुँदैन, र तिनीहरूका आस्थामा सत्यता पछ्याउने र स्वभाव परिवर्तन पछ्याउने कुनै मार्ग हुँदैन। त्यस्ता अवस्थामा, तिनीहरू सबैभन्दा सजिलै यी अफवाहहरूको बहकाउ र प्रभावमा पर्छन्, र तिनीहरू बहकाउमा परेपछि, परिणामहरू अकल्पनीय हुन्छन्। यो विष सेवन गर्नु जस्तै हो; यदि प्रत्यौषध छ भने पनि, के तेरो शरीरमा क्षति भइसकेको हुँदैन र? तँ बाँचिस् भने पनि, के तेरो शरीरमा हुने कष्ट र क्षतिलाई बेवास्ता गर्न सकिन्छ? त्यसकारण, यी अफवाहहरूको सामना गर्दा, तैँले तिनलाई खुट्ट्याउन र इन्कार गर्न जरुरी छ, तिनलाई कथाका रूपमा लिनुपर्छ, वा वास्तविक घटनाका रूपमा लिनु हुँदैन। कतिपय मानिसहरू यी अफवाहहरूमा विशेष रुचि राख्छन् र तिनलाई जताततै प्रसार गर्छन् र फैलाउँछन्, र ती सत्यता हुन् जस्तो गरी अरूलाई बाँड्छन्। यसको प्रकृति के हो? के यो शैतानका सेवकहरूका रूपमा कार्य गर्नु होइन र? त्यस्ता मानिसहरूलाई काटछाँट गर्नुपर्छ र चेतावनी दिनुपर्छ। यदि तिनीहरूले पश्चात्ताप गरेनन् भने, तिनीहरूलाई निकाल्नुपर्छ। यदि कुनै बिन्दुमा तिनीहरूको होस खुल्यो, र तिनीहरूले “अफवाह फैलाउनु गलत थियो; मैले त शैतानको सेवकका रूपमा काम गरिरहेको थिएँ, र म फेरि कहिल्यै पनि ती कुरा फैलाउनेछैन” भनेमा, तिनीहरूलाई निगरानीमा राख्‍न सकिन्छ: यदि तिनीहरूले पश्चात्ताप गरे र असल व्यवहार देखाए भने, तिनीहरूलाई मण्डलीमा अस्थायी रूपमा फेरि स्वीकार गर्न सकिन्छ। यदि तिनीहरू फेरि पहिलेकै बानीमा फर्के भने, तिनीहरूलाई पखाल्नुपर्छ।

परमेश्‍वरको कामबारे अफवाहहरू यतिमा मात्रै सीमित छैनन्। मानिसहरूले विश्लेषण र छानबिन गर्नका लागि आफ्ना कल्पना र धारणाहरूको, साथै आफ्नो दिमागको प्रयोग गर्छन्; तिनीहरूले परमेश्‍वरका वचनहरू र विभिन्‍न अगमवाणीहरू, साथै समाज र संसारका विभिन्‍न विपत्ति, चिन्ह, र घटनाहरूलाई छानबिन गर्छन्, र तिनीहरू आफ्ना सपनाहरूका भरमा परमेश्‍वरको कामका बारेमा स्वतन्त्र रूपमा टिप्पणी समेत गर्छन्—तिनीहरूले धेरै अफवाहहरू सिर्जना गर्छन्। धेरै मानिसहरूले नियमित रूपमा परमेश्‍वरका वचनहरू पढ्दैनन्, वा नियमित रूपमा सत्यतामा मेहनत लगाउँदैनन्, तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा सिद्धान्तहरू खोजी गर्नमा नियमित रूपमा मेहनत लगाउनु त झन् परको कुरा हो। बरु, तिनीहरूले यस्ता प्रश्नहरूमा मनन गर्छन्, “परमेश्‍वरको देखापराइ र काम कसरी सुरु भयो? यो सबको सुरुवात कसले गर्र्‍यो? मानिसहरूले कस्तो भूमिका खेले? के-कस्ता घटनाहरू घटे?” तिनीहरूले यी बाहिरी घटनाहरू, र मण्डलीको प्रशासनिक संरचना, कर्मचारी, आदि इत्यादिको छानबिन गर्छन्। यो सब छानबिन गरेपछि, तिनीहरूले यो सबै कुराको सारांश निकाल्छन् र केही तथाकथित नियम वा घटनाहरू अघि सार्छन् र ती सत्यता हुन् जस्तो गरी तिनलाई मण्डलीमा फैलाउँछन्। तिनलाई फैलाउँदा, तिनीहरूले तिनलाई स्पष्ट र विस्तृत रूपमा वर्णन गर्छन्, र समझशक्ति नभएकाहरूले त तिनीहरूले परमेश्‍वरको कामका बारेमा छलफल गरिरहेका छन् भन्‍ने समेत सोच्न सक्छन्। तर, समझशक्ति भएका मानिसहरूले यस्तो सोच्छन्, “के तिमीले वाहियात कुराहरू फलाकिरहेका र विधर्म र भ्रमहरू फैलाइरहेका छैनौ र? के तिमीले परमेश्‍वरको कामको आलोचना गरिरहेको छैनौ र? यो बुझाइ र अनुभवहरू बाँड्नु होइन—यो सत्यतासँग सम्बन्धित छैन। यो त अफवाहहरू सिर्जना गर्नु हो र यसलाई तुरुन्तै रोक्नुपर्छ; नत्र, कतिपय मानिसहरू बहकाउमा पर्नेछन्!” अफवाह मान्न मिल्ने यी भ्रम र विधर्महरू सत्यतासँग मिल्दैनन् र तिनले सत्यताप्रतिको मानिसहरूको बुझाइमा बाधा दिन्छन्। जब मण्डलीमा अफवाह फैलाउने कार्य देखा पर्छ, तब यसलाई तुरुन्तै रोक्नुपर्छ।

केही अफवाहहरू यस्ता पनि हुन्छन्, जुन परमेश्‍वरको कामको आलोचना गर्ने दुष्ट शब्दहरू हुन्। उदाहरणका लागि, परमेश्‍वरले कसलाई प्रेम गर्नुहुन्छ, उहाँले कसलाई मुक्ति दिनुहुन्छ, र कसलाई सिद्ध पार्नुहुन्छ भन्‍ने सम्बन्धमा, कतिपय मानिसहरूले आफ्नै तुच्छ चलाकी प्रयोग गरेर यसो भन्दै टिप्पणी गर्छन् र सारांश प्रस्तुत गर्छन्, “जब संसारका सक्षम मानिसहरू, र पदाधिकारीका रूपमा सेवा गरेका मानिसहरू, र उद्यमहरूमा विभागीय प्रमुख वा प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गर्ने मानिसहरू परमेश्‍वरका घरमा आउँछन्, तब तिनीहरू सिधै अगुवा बन्छन् वा तिनीहरूले तुरुन्तै साधारण मामला र वित्तको कमान सम्हाल्छन्। परमेश्‍वरले सिद्ध पार्नुहुने मानिसहरू यिनीहरू नै हुन्।” के यो अफवाहहरू सिर्जना गर्नु होइन र? यो वास्तवमै अफवाहहरू सिर्जना गर्नु हो। अफवाह भनेको के हो? यो तथ्यहरूसँग नमिल्ने तरिकाले गैरजिम्मेवार रूपमा बोल्नु, अन्धाधुन्ध आलोचना गर्नु, र आधारहीन निष्कर्षहरू निकाल्नु हो; यी सबै शब्दहरू अफवाह हुन्। अरू मानिसहरूले भन्छन्, “फलानोले दशौँ हजार युआन भेटी चढायो। उसको आस्था महान् छ, ऊ राज्यमा प्रवेश गर्न सक्छ।” यसले गर्दा पैसा नभएका मानिसहरू नकारात्मक बन्छन् र आत्तिन्छन्; तिनीहरूले भन्छन्, “मैले धेरै भेटीहरू चढाएको भए पनि, त्यो उसले एकै पटकमा चढाएको जति पनि हुँदैन। के यसको अर्थ मैले मुक्ति पाउन र म सिद्ध पारिन सक्दिनँ भन्‍ने हुन्छ? के परमेश्‍वरले म जस्तो व्यक्ति चाहनुहुन्न र?” त्यसपछि अफवाहहरू सिर्जना गर्ने अरू मानिसहरूले भन्छन्, “धनी मानिस राज्यमा प्रवेश गर्न सक्दैन; परमेश्‍वरले त गरिबलाई पो चाहनुहुन्छ।” त्यसपछि ती गरिब मानिसहरू खुसी हुन्छन्: “मैले धेरै पैसा नचढाएको भए पनि, म राज्यमा प्रवेश गर्न पाउँछु, तर धनीहरूले भने पाउनेछैनन्।” अफवाहहरू सिर्जना गर्नेहरूले जे भने पनि, यसले कुनै न कुनै रूपमा गरिब मानिसहरूलाई प्रभाव पार्छ; यो सबै अफवाह र शैतानी शब्दहरू मात्रै हुन् भन्‍ने तथ्यलाई तिनीहरूले छर्लङ्ग देख्‍न सक्दैनन्। किन यस्तो हुन्छ? किनभने तिनीहरूले सत्यता बुझ्दैनन् र तिनीहरूमा समझशक्तिको कमी हुन्छ, त्यसकारण तिनीहरू निरन्तर बहकाउमा पर्छन्। अफवाहहरू सिर्जना गर्नेहरू र तिनलाई फैलाउनेहरू सबै दियाबलस हुन्। तिनीहरूले जति नै बोले पनि, कुन शब्दहरू साँचो हुन् र कुन झूटा हुन्, यी शब्दहरू ठ्याक्कै कहाँबाट आउँछन्, यी शब्दहरू फैलाउनुमा तिनीहरूको मनसाय ठ्याक्कै के हो, र तिनीहरूले के-कस्ता उद्देश्यहरू हासिल गर्ने आशा गर्छन् भन्‍ने कुरा तँलाई थाहा हुँदैन। यदि कसैले यी कुराहरूलाई छर्लङ्ग देख्‍न सक्दैन र अन्धाधुन्ध यी अफवाहहरूलाई स्विकार्छ र फैलाउँछ भने, के ऊ मूर्ख होइन र? के मूर्खलाई बदमास पनि भनिँदैन र? यो शब्द असभ्य सुनिए पनि, मलाई यो निकै उचित लाग्छ। यो किन उचित छ? किनभने त्यस्ता मानिसहरूले गैरजिम्मेवार रूपमा बोल्छन्। तिनीहरूले यतिकै अफवाह फैलाउँछन्, निश्‍चित घटनाहरूका आधारमा लापरवाह रूपमा निष्कर्ष निकाल्छन् र अफवाहहरू सिर्जना गर्छन्, त्यसपछि यी अफवाहहरू वास्तविक घटना हुन् जस्तो गरी तिनलाई यतिकै फैलाउँछन् र मनासिब ढङ्गले वर्णन गर्छन्—परिणामस्वरूप यसले कतिपय मानिसहरूलाई असर गर्छ र बाधा दिन्छ। तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्दैनन् वा सत्यता बुझ्दैनन्; तिनीहरूले मण्डलीमा अफवाह फैलाउँदै र बकबास गर्दै आफ्नो दिन बिताउँछन्। आज, तिनीहरूले कसैले धेरै भेटीहरू चढाउँदै गरेको देख्छन् र त्यो व्यक्तिले मुक्ति पाउन सक्छ भनेर भन्छन्। भोलि, तिनीहरूले जेल परेर पनि यहूदा नबनेको एउटा व्यक्तिलाई देख्छन्, र भन्छन्, “त्यो व्यक्ति परमेश्‍वरसँग एउटै हृदयको छ। ऊ राज्यमा प्रवेश गर्न सक्छ र उसले राम्रो गन्तव्य प्राप्त गर्न सक्छ। भविष्यमा, उसले परमेश्‍वरको घरका बीस सहरहरूमा शासन गर्नेछ; हामी जाबो पैदल सेनाको ऊसँग तुलना हुन सक्दैन।” के यो दुष्ट कुरा होइन र? के यी कुराहरू अफवाह होइनन् र? (हुन्।) यी शब्दहरू बोल्ने मानिसहरूको मनसाय र उद्देश्य जेसुकै भए पनि, के त्यस्ता शब्दहरूले कतिपय मानिसहरूलाई असर गर्ने र बाधा दिनेछैन र? कतिपय मानिसहरूमा थोरै आस्था हुन्छ, र जब तिनीहरूले यी अफवाह र दुष्ट शब्दहरू सुन्छन्, तब तिनीहरूले यस्तो मनन गर्न थाल्छन्: “के मैले मुक्ति पाउन सक्छु? के परमेश्‍वर मदेखि प्रसन्न हुनुहुन्छ?” तिनीहरू हृदयमा दिनभरि यिनै कुरा सोचिरहन्छन्, तीबारे दोधारमा पर्छन् र चिन्ता गर्छन्। अफवाहहरू सिर्जना गर्नेहरूको यो आधारहीन बकबासका कारण, तिनीहरूलाई आफूसँग मुक्ति पाउने आशा छैन भन्‍ने लाग्छ, त्यसैले तिनीहरू परमेश्‍वरसामु आएर प्रार्थना गर्छन्: “हे परमेश्‍वर, के तपाईँ मलाई प्रेम गर्नुहुन्न र? मैले तपाईँका लागि धेरै त्याग गरेको छु। मैले तपाईँलाई कहिले सन्तुष्ट पार्न सक्ने होला?” तिनीहरू गुनासाले भरिएका हुन्छन्। केही भएको छैन, र पनि यी गुनासाहरू कहाँबाट आउँछन्? ती गुनासाहरू ती अफवाहहरूले निम्त्याएका हुन्—यी व्यक्तिहरूलाई विष दिइएको छ र यिनीहरू पतन भएका छन्। तिनीहरूले प्रकट गर्ने जस्तोसुकै भ्रष्ट स्वभाव वा तिनीहरूले गरेका जस्तोसुकै अपराधहरूप्रति तिनीहरूलाई कुनै पछुतो वा ग्लानि महसुस हुँदैन, यसलाई लिएर तिनीहरू कहिल्यै रुँदैनन्—एक थोपा आँसु पनि झार्दैनन्—तर जब तिनीहरूले यस्ता अफवाहहरू सिर्जना गर्नेहरूले तिनीहरू जस्तो मानिसहरूसँग मुक्ति पाउने कुनै आशा छैन भनेर भनेको सुन्छन्, तब तिनीहरू तुरुन्तै आत्तिन्छन्। के तिनीहरूलाई असर परेन त? तिनीहरूलाई असर र बाधा परेको हुन्छ। यी मानिसहरू कदमा अपरिपक्‍व हुन्छन्, तिनीहरूले सत्यता बुझ्दैनन्, र तिनीहरू अत्यन्तै मूर्ख हुन्छन्। अफवाहहरू सिर्जना गर्नेहरूले त्यस्ता मानिसहरूलाई खेलौना बनाउन सजिलो ठान्छन् र त्यसैले तिनीहरूलाई फसाउन केही अफवाहहरू सिर्जना गर्छन्। आज, तिनीहरूले तँसँग मुक्ति पाउने आशा छ भनेर भन्छन्, र तँ खुसी हुन्छस्; भोलि, तिनीहरूले तँसँग मुक्ति पाउने कुनै आशा छैन भनेर भन्छन्, अनि तँ रुन्छस् र आत्तिन्छस्। तैँले किन तिनीहरूको कुरा सुन्छस्? तँ किन सधैँ तिनीहरूको बन्धनमा पर्छस्? के तिनीहरूले अन्तिम निर्णय गर्छन्? बढीमा, तिनीहरू जोकर मात्रै हुन्। तिनीहरूको नियतिसमेत परमेश्‍वरकै हातमा हुन्छ, त्यसकारण अरूलाई मूल्याङ्कन गर्नका लागि तिनीहरूसँग के योग्यता हुन्छ र? कसले मुक्ति पाउन सक्छ र कसले पाउन सक्दैन, वा कस्तो प्रकारका मानिसहरूलाई सिद्ध पार्न सकिन्छ र कस्तालाई सकिँदैन भनेर भन्‍नका लागि तिनीहरूसँग के-कस्ता योग्यताहरू हुन्छन् र? के तिनीहरूले सत्यता बुझ्छन्? तिनीहरूका कुन-कुन शब्दहरू परमेश्‍वरका अभिप्रायहरू र परमेश्‍वरका वचनहरूसँग मिल्छन्? तिनीहरूको एउटा शब्द पनि परमेश्‍वरका वचनहरूसँग मिल्दैन, तर पनि तैँले किन तिनीहरूलाई विश्‍वास गर्छस्? तँलाई किन तिनीहरूबाट बाधा हुन्छ? के यो मूर्खताले निम्त्याएको होइन र? (हो।) चाहे यो मूर्खता र अज्ञानताका कारण होस् वा तेरो कद अत्यन्तै सानो भएकाले र तैँले सत्यता नबुझ्ने हुनाले होस्, जे भए पनि, मण्डलीमा अफवाह फैलाउनेहरू सबैभन्दा घृणित हुन्छन्। तिनीहरूलाई खुट्ट्याउनुपर्छ, खुलासा गर्नुपर्छ, र त्यसपछि प्रतिबन्ध गर्नुपर्छ वा निकाल्नुपर्छ।

कतिपय मानिसहरूले भन्छन्, “यस्तो मिलेको जीउडाल भएको फलानोलाई हेर त; उसलाई मण्डली अगुवाका रूपमा चुनिएको थियो। फलानो व्यक्तिले समाजमा उन्‍नति गर्छ, उसलाई देख्ने सबैले उसलाई मन पराउँछन्; उसले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, दाजुभाइ-दिदीबहिनीहरूले पनि उसलाई मन पराउँछन्, र परमेश्‍वरले पनि उसलाई मन पराउनुहुन्छ।” के यी शब्दहरूमा एउटा पनि सही अभिव्यक्ति छ? (छैन।) किन? (ती सत्यताअनुरूप छैनन्।) ठीक भन्यौ, यी शब्दहरू सत्यताअनुरूप छैनन्, ती सबै दुष्ट कुरा हुन्। कतिपयले भन्छन्, “फलानोको परिवार धनी छ, उसको जियाइ अवस्था राम्रो छ, र ऊ ज्ञानवान् छ। त्यसकारण, परमेश्‍वरका घरमा, उसले आर्थिक पक्ष र साधारण मामलाहरू सम्हाल्छ। ऊ उपयोगी छ र उसले यो कर्तव्यको जिम्मेवारी लिन सक्छ। यो परमेश्‍वरले गर्नुभएको नियुक्ति हो।” के “परमेश्‍वरले गर्नुभएको नियुक्ति” थपेपछि यो अभिव्यक्ति सत्यताअनुरूप बन्छ? के यो दुष्ट कुरा होइन र? यस्तो दुष्ट कुरालाई नै सामूहिक रूपमा अफवाह भनिन्छ। तथ्यहरूसँग नमिल्ने, परमेश्‍वरले तोक्नुभएका तथ्यहरूसँग बाझिने कुनै पनि गैरजिम्मेवार अभिव्यक्तिहरू लापरवाह शब्द र स्वेच्छाचारी निष्कर्ष हुन्; त्यस्ता अभिव्यक्तिहरू सबै अफवाह हुन्। किन तिनलाई अफवाहका रूपमा चित्रण गरिन्छ? यी अभिव्यक्तिहरू जारी भएपछि, तिनले कतिपय मानिसहरूको सामान्य मानसिकता र उद्देश्यहरूको पछ्याइमा बाधा दिन्छन् र हानि गर्छन्, त्यसकारण तिनलाई अफवाहका रूपमा चित्रण गरिन्छ। परमेश्‍वरका वचनहरूअनुसार, परमेश्‍वरले यति मात्र भन्‍नुहुन्छ कि मानिसहरूको जन्मस्थल, पारिवारिक पृष्ठभूमि, रूप, शैक्षिक स्तर, आदि इत्यादि कुरा परमेश्‍वरले तोक्नुभएको हो; उहाँले कुनै पनि वर्गका मानिसहरूको रूप, सामाजिक पृष्ठभूमि, वा अन्तर्निहित अवस्थाहरू आशिष् पाउनका लागि पूरा गर्नुपर्ने सर्तहरू हुन् भनेर मानिसहरूलाई कहिल्यै बताउनुभएको छैन। परमेश्‍वरले मानिसहरूबाट माग गर्नुहुने एउटै मात्र मानक भनेको तिनीहरूले सत्यता पछ्याउन र तिनीहरू परमेश्‍वरमा समर्पित हुन सक्नुपर्छ भन्‍ने हो। सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। यदि परमेश्‍वरका वचनहरूले केही कुरा खुलस्त रूपमा व्यक्त गरेको छैन, र यो मानिसहरूको आत्मगत कल्पना वा तिनीहरूको अनुमानको परिणाम मात्रै हो भने, त्यस्ता अभिव्यक्तिहरूलाई पनि अफवाह मानिन्छ। मानिसहरू कुनै व्यक्ति आशिषित् हुन सक्छ कि सक्दैन भन्‍ने कुरा सधैँ आफ्नो अवलोकन र बुझाइमार्फत, साथै आफ्‍ना धारणा र कल्पनाहरूका आधारमा मूल्याङ्कन गर्न चाहन्छन्। त्यसपछि, तिनीहरूले अरूको सत्यता पछ्याइमा प्रभाव पार्न, र कसले मुक्ति पाउन सक्छ र कसले सक्दैन, परमेश्‍वरका मानिसहरू को हुन्, र कामदार को हुन् भनेर स्वेच्छाचारी ढङ्गले निर्णय गर्नका लागि यी भ्रमहरू फैलाउँछन्। यी सबै अफवाह हुन्। अफवाहहरूकै कुरा गर्नुपर्दा, हामी तिनलाई दुष्ट शब्द पनि भन्‍न सक्छौँ। चाहे जस्तोसुकै अफवाह वा शैतानी शब्दहरू देखा परे पनि, मण्डली अगुवाहरू तिनलाई रोक्न र प्रतिबन्धित गर्न तुरुन्तै अघि सर्नुपर्छ; अवश्य नै, यदि कुनै दाजुभाइ-दिदीबहिनीहरूसँग समझशक्ति छ भने, तिनीहरू पनि यी अफवाहहरू कहाँबाट आउँछन् र तिनको प्रकृति के हो भनेर चिरफार गर्न र खुट्ट्याउन अघि सर्नुपर्छ। जब यी दाजुभाइ-दिदीबहिनीहरूले यी कुराहरूबारे बुझाइ प्राप्त गर्छन्, तब तिनीहरू यी अफवाहहरूलाई खण्डन गर्न र विवाद गर्न खडा हुन सक्छन्, र ती अफवाह फैलाउनेहरूलाई प्रतिबन्धित गर्न, र तिनीहरूका विरुद्धमा एकजुट भएर लागिपर्न पनि सक्छन्। तिनीहरूले कसरी यसो गर्नुपर्छ? ती मानिसहरूलाई सबैको अगाडि खुलस्त रूपमा निन्दा गरेर: “तिमीले भनेको सबै कुरा अफवाह र दुष्ट कुरा हुन्, यो परमेश्‍वरका वचनहरू अनुरूप छैन, न त यो हाम्रा आवश्यकताहरू अनुरूप नै छ। यदि चेतावनीहरू पाएर पनि तिमीले अफवाह फैलाइरहन्छौ भने, हामी तिमीलाई निकाल्नेछौँ, र तिमीलाई अफवाहहरू सिर्जना गर्ने र मण्डलीमा अवरोध पुर्‍याउने कुनै अवसर दिनेछैनौँ!” यो अभ्यास कस्तो छ? (राम्रो।) यो काम यसरी गर्नु सत्यता सिद्धान्तहरू अनुरूप हुन्छ। यदि तैँले मानिसहरूलाई सुधार गर्ने कुराहरू बोल्दै आफ्नो व्यक्तिगत अनुभवात्मक बुझाइहरूमा सङ्गति गर्छस् भने, तैँले जसरी बोले पनि त्यो ठीकै हुन्छ। तैँले आफूलाई मन पर्ने कुनै पनि शब्दहरू प्रयोग गर्न सक्छस्, चाहे त्यो औपचारिक भाषा होस् वा बोलीचालीको भाषा होस्; यो सबै स्वीकार्य हुन्छ। तैँले गर्न नहुने एउटै मात्र कुरा भनेको अफवाह फैलाउनु हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्