अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१४) खण्ड दुई

मण्डली जीवनमा हैसियतको लागि प्रतिस्पर्धा गर्ने कार्यको अर्को प्रकारको प्रकटीकरण पनि छ, र त्यो मण्डली जीवन र मण्डलीको काममा बाधा र व्यवधान ल्याउने कार्यसँग सम्बन्धित छ। उदाहरणको लागि, कहिलेकहीँ जब विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले सँगै मिलेर समस्याबारे सङ्गति गरिरहेका हुन्छन्, तब सबैको सङ्गतिमा केही न केही ज्योति हुन्छ; तिनीहरूले जति धेरै सङ्गति गर्छन्, सत्यता सिद्धान्तहरू त्यति नै धेरै स्पष्ट र छर्लङ्ग हुन्छन्, र अभ्यासको मार्ग तुरुन्तै बुझिने हुन्छ। तैपनि, कसैले अचानक उसको कुनै “उत्कृष्ट विचार,” उसको कुनै सुझाव प्रस्तुत गर्न सक्छ, जसले गर्दा सङ्गतिको बहाव तोडिन्छ र विषय अर्कोतिर मोडिन सक्छ, र जसले गर्दा मुख्य विषयको सङ्गति पूरा हुँदैन। झट्ट हेर्दा, तिनीहरूले बाधा दिइरहेका छन् जस्तो देखिँदैन, र तिनीहरूले अरूलाई सत्यता सङ्गति गर्नबाट प्रतिबन्धित गरिरहेका छन् भन्‍ने त झनै देखिँदैन, तर तिनीहरूले यो विषय प्रस्तुत गर्न उपयुक्त समय छनौट गरेका हुँदैनन्। यसमा समस्या समाधान गर्न सत्यता सङ्गति गरिँदै गरिएको महत्त्वपूर्ण समयमा सङ्गति र छलफलको लागि नयाँ समस्या घुसाएर, पहिलेको समस्या पूर्ण रूपमा समाधान हुन नसक्‍ने गरी काटिएको हुन्छ। के यो आधा बाटोमै काम छोड्नु होइन र? के यसले समस्या समाधानमा ढिलाइ हुँदैन र? यसले समस्या समाधान नभएको मात्र होइन, सत्यतासम्बन्धी मानिसहरूको बुझाइमा समेत ढिलाइ हुन्छ। के समझ भएका मानिसहरूले यसो गर्न सक्छन्? के त्यस्ता कुराहरूले मण्डली जीवनमा बाधा र व्यवधान ल्याउँछन् भनेर भन्‍नु हदभन्दा बाहिर जानु हो? मलाई त्यस्तो हो भन्‍ने पटक्‍कै लाग्दैन। कुनै समस्या समाधान गर्न मानिसहरूले सत्यता सङ्गति गरिरहेका बेलामा यसरी भेलामा बाधा दिनु—के यो जानीजानी मण्डली जीवनमा बाधा र व्यवधान ल्याउनु होइन र? यदि कुनै समस्या समाधान गर्न सत्यता सङ्गति गरिँदै गरिएका महत्त्वपूर्ण क्षणहरूमा कसैले सधैँ आफ्नो कुरा निकाल्छ भने, यदि उसले सधैँ बीचैमा कुरा काटिदिने प्रयास गर्छ भने, यो समझ नहुनुको समस्या होइन; यो त समस्या समाधान गर्न सत्यता सङ्गति गरिँदाको बखत जानीजानी भेलामा बाधा दिनु हो, यो मण्डली जीवनमा बाधा र व्यवधान ल्याउने दुष्कर्म हो, यो त शुद्ध र सरल छ—ख्रीष्टविरोधी र दुष्ट मानिसहरूले मात्रै यसो गर्छन्, सत्यतालाई घृणा गर्ने मानिसहरूले मात्रै यसो गर्छन्। प्रसङ्ग वा परिस्थिति जस्तोसुकै भए पनि, यस्ता मानिसहरूलाई सधैँ आफ्नो “उत्कृष्ट विचारहरू” प्रस्तुत गर्नुपर्ने हुन्छ, र तिनीहरू सधैँ आफूमाथि अरूहरूको नजर परोस्, र आफू ध्यानको केन्द्रबिन्दु बनूँ भन्‍ने चाहन्छन्। मानिसहरूले सङ्गति गरिरहेका विषय जति नै अत्यावश्यक र महत्त्वपूर्ण भए नि, तिनीहरूले सधैँ मानिसहरूको ध्यान भड्काउन आफ्‍नो कुरा उठाउँछन् र आफू अद्वितीय देखिनको लागि उत्कृष्ट सुनिने विचारहरू प्रस्तुत गर्छन्। तिनीहरूले कस्तो तमासा देखाउन खोजिरहेका हुन्छन्? के तिनीहरूले हैसियतको लागि प्रतिस्पर्धा गरिरहेका हुँदैनन् र? तिनीहरूले परिस्थिति नियन्त्रण गर्न चाहन्छन्। तिनीहरू मानिसहरूले सत्यता अझै बढी बुझून् र त्यसमा स्पष्टता प्राप्त गरून् भन्‍ने चाहँदैनन्; तिनीहरूले सबैभन्दा बढी चासो राख्‍ने कुरा भनेको सबैलाई तिनीहरूको कुरामा ध्यान दिने, तिनीहरूको कुरा सुन्‍ने, र तिनीहरूको आज्ञापालन गर्ने, र सबैलाई तिनीहरूले भनेकै कुरा गर्ने बनाउनु हो। यो स्पष्ट रूपमै हैसियतको लागि प्रतिस्पर्धा गर्नु हो। कति मानिसहरूको हकमा त, तिनीहरूले जेसुकै काम गरे नि, जब तैँले तिनीहरूलाई कुनै कुरा लागू गर्ने निश्‍चित विचार र योजनाहरूबारे सङ्गति गर्न, र त्यसलाई विस्तृत रूपमा अघि बढाउने निश्‍चित चरणहरूबारे सोध्छस्, तब तिनीहरूले केही पनि बोल्‍न सक्दैनन्। तैपनि, तिनीहरूलाई उत्कृष्ट सुनिने विचारहरू बोल्न, अपरम्परागत देखिन, र नयाँ र शानदार कुरा गर्न मनपर्छ। सामुन्‍ने परिस्थिति जेसुकै भए नि, तिनीहरूको मनमा कुनै नयाँ विचार आउनेबित्तिकै, तिनीहरूले यसलाई प्रेरणा नै हो जसरी प्रस्तुत गर्छन्, र सोचविचार नै नगरी अरूलाई स्विकार्न र सहमत हुन लाउन हतारहतार त्यो विचार प्रस्ताव गर्छन्। तर अन्त्यमा तिनीहरूलाई अभ्यासका निश्‍चित मार्गहरू छलफल गर्न लगाउँदा भने, तिनीहरू बोल्न नसक्‍ने बन्छन्। तिनीहरूमा क्षमताको कमी हुन्छ, तैपनि सधैँ अरूमाझ देखिने उद्देश्‍यसाथ आफ्नो प्रदर्शन गर्न चाहन्छन्। तिनीहरू अरूभन्दा कम स्तरका बन्‍न चाहँदैनन्; तिनीहरू अर्को साधारण अनुयायी मात्र बन्‍न चाहँदैनन्। तिनीहरूलाई सधैँ अरूले हेला गर्लान् भन्‍ने डर हुन्छ, र तिनीहरू सधैँ आफ्नो उपस्थितिमा जोड दिन चाहन्छन्। त्यसकारण तिनीहरू अरूमाझ आफू देखिनको लागि सधैँ उत्कृष्ट सुनिने विचारहरू बोल्छन्। सधैँ यसो गर्नुको खास समस्या के हो? जब तिनीहरूको मनमा एउटा विचार आउँछ, तब तिनीहरूले अन्धाधुन्ध यसलाई विचारै नगरी वा विचार पक्‍का नै नभई अभ्यास गर्न लायक ठान्छन्। जब तिनीहरूले हतारहतार यो विचार प्रस्तुत गर्छन्, तब अरूले यसलाई बुझ्दैनन् र स्वाभाविक रूपमै केही प्रश्‍नहरू उठाउँछन्। उत्तर दिन नसक्दा, तिनीहरूले अझै पनि आफ्नो विचार सही छ र सबैले यसलाई स्विकार्नुपर्छ भनेर जोड दिन्छन्। यो कस्तो स्वभाव हो? आधारहीन रूपमा तिनीहरू आफ्नै दृष्टिकोणमा लागिरहँदा यसले के-कस्ता परिणामहरू ल्याउँछ? यो मण्डलीको कामको लागि फाइदाजनक हुन्छ कि बाधादायक हुन्छ? यो परमेश्‍वरका चुनिएका मानिसहरूको लागि फाइदाजनक हुन्छ कि हानिकारक हुन्छ? तिनीहरूले बिनाकुनै जिम्मेवारीबोध यसो भन्‍न सक्छन्—तिनीहरूको उद्देश्य के हुन्छ? आफ्‍नो उपस्थिति जोडसाथ देखाउनु मात्रै हुन्छ। तिनीहरूलाई अरूले तिनीहरूसँग यस्ता “उत्कृष्ट विचारहरू” छन् भन्‍ने थाहा नपाउलान्, तिनीहरूसँग सामर्थ्य, बुद्धि, र क्षमता छन् भन्‍ने थाहा नपाउलान् भन्‍ने डर लाग्छ; तिनीहरू यो पहिचानको लागि लागिपर्छन्, धेरैजसो मानिसहरूलाई आफ्नो उच्च आदर गराउन लागिपर्छन्। अन्त्यमा के हुन्छ? तिनीहरूले हतारहतार सुझावहरू पेश गर्छन्, र सुरुमा त अरूले तिनीहरूसँग साँच्‍चै केही क्षमता छ, कुनै साँचो कुरा छ भन्‍ने सोच्छन्। तर समय बित्दै जाँदा, तिनीहरू वास्तविक ज्ञान वा सीप नभएका तैपनि सधैँ अन्तिम निर्णय आफै गर्न चाहने मूर्खहरू मात्रै हुन् भन्‍ने कुरा स्पष्ट हुन्छ। यो हैसियतको लागि प्रतिस्पर्धा गर्नु हो। तिनीहरू वास्तविक क्षमताविनै अझै आफै निर्णय गर्न चाहन्छन्; तिनीहरू कुनै ठोस योजना प्रस्तुत नगरी सधैँ उत्कृष्ट सुनिने विचारहरू बोल्छन् जसमा अभ्यासको खास मार्ग हुँदैन। यदि त्यस्ता मानिसहरूलाई साँच्‍चै नै कामहरू सुम्पिने हो भने परिणाम के हुनेछ? यसले अवश्य नै ढिलाइ गराउनेछ। तिनीहरूले केही हासिल गर्न नसके नि, किन सधैँ हैसियतको लागि प्रतिस्पर्धा गर्न, र शक्ति हातमा लिन खोज्छन्? तिनीहरू मानसिक रूपमा कमजोर मूर्खहरू हुन्; सुन्दर रूपमा भन्दा, तिनीहरू समझको पूर्ण कमी भएकाहरू हुन्। गैरविश्‍वासीहरूमाझ, त्यस्ता मानिसहरू धेरै हुन्छन्, जो गफ मात्र लडाउँछन् तर काम केही गर्दैनन्। धेरैजसो मानिसहरूले यस्तो व्यक्तिलाई केही मात्रामा खुट्ट्याउन सक्छन्। यदि कसैले सधैँ उत्कृष्ट सुनिने विचारहरू बोल्छ र नवीन सोचवाला व्यक्तिजस्तो देखिन चाहन्छ भने, त्यो व्यक्तिको बहकाउमा नपर्न होसियार हुनुपर्छ। यदि साँच्‍चै नै अन्तर्दृष्टिपूर्ण विचारहरू भएका व्यक्तिहरू छन् जसले ठोस योजना पनि प्रस्तुत गर्न सक्छन् भने, यो व्यावहारिक छ भने मात्रै स्वीकार्य हुन्छ; यदि तिनीहरूले ठोस योजनाहरू प्रस्तुत नगरी उत्कृष्ट सुनिने विचारहरू मात्रै बोल्छन् भने, ती कुरालाई सावधानीसाथ लिनुपर्छ। तिनीहरूको विचार लागू गर्ने व्यावहारिक तरिका छ कि छैन भनेर निर्धारित गर्न सङ्गति गर्नुपर्छ। यदि धेरैजसो मानिसहरूलाई तिनीहरूको विचार व्यवहारिक छ र त्यसमा अभ्यासको मार्ग छ भन्‍ने लाग्छ भने, निर्णय गर्नुभन्दा पहिले परिणामहरू कस्ता हुन्छन् भनेर हेर्न त्यसलाई केही समयसम्म प्रयोग गरेर हेर्नुपर्छ।

मण्डलीले सत्यताको जुनसुकै पक्षबारे सङ्गति गरे नि वा यसले जुनसुकै समस्या समाधान गरे नि, हरप्रकारका मानिसहरू आफै देखा पर्नेछन्। लामो समयसम्म अन्तरक्रिया गरेपछि, सत्यतालाई कसले साँचो रूपमा प्रेम गर्न र स्विकार्न सक्छ, कसले बाधा र व्यवधान दिन्छ, र को उचित काममा सहभागी हुँदैन भन्‍ने कुरा देख्‍न सकिन्छ। के उत्कृष्ट सुनिने विचारहरू फैलाउन र नयाँ विचारहरू प्रस्तुत गर्न मन पराउनेहरूले सत्यता स्विकार्न र परमेश्‍वरमा विश्‍वास गर्ने सही मार्ग हिँड्न सक्छन् भन्‍ने तिमीहरूलाई लाग्छ? मलाई लाग्छ तिनीहरूलाई यो काम गर्न सजिलो हुँदैन। मण्डली जीवनमा यी मानिसहरूले कस्तो भूमिका खेल्छन्? तिनीहरूले प्रायजसो उत्कृष्ट सुनिने विचारहरू बोल्‍नु र उचित काममा सहभागी नहुनुका परिणामहरू के-के हुन्? यसले मण्डली जीवनमा बाधा र व्यवधान ल्याउँछ, जुन कुरा धेरैजसो मानिसहरूले देख्‍न सक्छन्, र यदि यस्तै भइरह्यो भने, यसले परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यता पछ्याउन र वास्तविकतामा प्रवेश गर्नबाट ढिलाइ गराउनेछ। उत्कृष्ट सुनिने विचारहरू बोल्न मन पराउनेहरू दुष्ट मानिसहरू नै हुन्छन् भन्‍ने हुँदैन, तैपनि तिनीहरूको कार्यका परिणामहरू परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशको लागि अत्यन्तै हानिकारक हुन्छन्, र सँगसँगै तिनीहरूको कार्यले मण्डलीको काममा ढिलाइ र असर पनि पुर्‍याउँछ। त्यसैले, यो समस्या कसरी समाधान गर्नुपर्छ? उत्कृष्ट सुनिने विचारहरू बोल्न र नयाँ विचारहरू प्रस्तुत गर्न मन पराउने मानिसहरूलाई कसरी उचित रूपमा सम्हाल्नुपर्छ? पहिलो विधि यस्तो छ: यदि तिनीहरूलाई उत्कृष्ट सुनिने विचारहरू बोल्न मनपर्छ र तिनीहरूसँग सधैँ कुनै न कुनै विचार हुन्छ भने, सुरुमा तिनीहरूलाई बोल्न देओ, त्यसपछि समझशक्ति प्रयोग गर। जोसुकै भए नि, सबैलाई बोल्ने र विचार व्यक्त गर्ने स्वतन्त्रता हुन्छ; कसैले पनि यसमा प्रतिबन्ध लाउनु हुँदैन। साँचो रूपमा विचारहरू र बुद्धिमत्तापूर्ण अन्तर्ज्ञान हुने जोकसैलाई बोल्न र आफ्‍नो कुरा स्पष्ट पार्न र सबैसामु देखाउन दिनुपर्छ, र त्यसपछि त्यो सही छ कि छैन, त्यो सत्यता सिद्धान्तहरूअनुरूप छ कि छैन, र त्यसमा अपनाउन सकिने कुनै अंश छ कि छैन भनेर हेर्न सङ्गति र छलफल गर्नुपर्छ। यदि त्यसबाट सिक्‍नु सार्थक हुन्छ र त्यसबाट केही फाइदा लिन सकिन्छ भने, त्यो राम्रो कुरा हो; यदि सङ्गति र छलफलपछि, तिनीहरूले भनेको कुराको कुनै मूल्य छैन र त्यो उचित छैन भन्‍ने निर्धारित भयो भने, त्यो कुरालाई त्याग्‍नुपर्छ। यसरी अभ्यास गरेर, सबैजना समझशक्तिमा वृद्धि हुनेछन्; कुनै कुरा आइपर्दा, तिनीहरू सबैले त्यो विषयमा कसरी मनन गर्ने भन्‍ने कुरा जान्नेछन्, र तिनीहरूले विभिन्‍न मानिसहरूलाई अझै राम्ररी बुझ्नेछन्। यस्तो अभ्यास परमेश्‍वरका चुनिएका मानिसहरूको लागि फाइदाजनक हुन्छ र यसले मण्डलीको काममा बाधा ल्याउँदैन; अभ्यास गर्ने यो तरिका सही छ। दोस्रो विधि यस्तो छ: जब भनिएको कुराको कुनै मूल्य हुँदैन, र सङ्गति र छलफल गर्दा पनि यसबाट कुनै फाइदा प्राप्त हुँदैन, तब त्यस्ता सुझावहरू सीधै इन्कार्नुपर्छ, र कुनै सङ्गति वा छलफल गर्नुपर्दैन। यदि कुनै व्यक्तिले यस्ता बेकामे सवालहरू उठाइरहन्छ र “उत्कृष्ट विचारहरू” प्रस्तुत गरिरहन्छ र परमेश्‍वरका चुनिएका मानिसहरूलाई दिक्क लाग्‍ने र सुन्न नचाहने बनाइरहन्छ भने, के त्यस्तो व्यक्तिलाई प्रतिबन्धित गरिनुपर्दैन र? तिनीहरूलाई ठूलो समझ प्रयोग गर्न सुझाव दिनु, अर्थात् अरूलाई असर नपरोस् भनेर तिनीहरूलाई भन्‍न नहुने कुराहरू भन्‍नबाट रोक्‍नु नै बेस हुन्छ। यदि यो व्यक्तिमा समझको कमी छ र उसले निरन्तर यसै गरिरहन जिद्दी गर्छ, जसले गर्दा मण्डली जीवनमा बाधा हुन्छ र सबैजनाले झिजो मान्छन्, र तिनीहरूलाई रिससमेत उठ्छ भने, ऊ मण्डली जीवनमा बाधा दिने दुष्ट व्यक्ति हो। मण्डली सफाइ गर्ने परमेश्‍वरको घरका सिद्धान्तहरूअनुसार उसलाई तह लगाइनुपर्छ—उसलाई मण्डलीबाट निकाल्‍नुपर्छ; यही नै उचित कुरा हो। मलाई भन त, उत्कृष्ट सुनिने विचारहरू बोल्न मन पराउने मानिसहरूमध्ये धेरैजसो कस्ता मानिसहरू हुन्छन्? के तिनीहरू सत्यता पछ्याउने प्रकारका मानिसहरू हुन्? के तिनीहरूले परमेश्‍वरको लागि इमानदारितासाथ आफूलाई समर्पित गरिरहेका हुन्छन्? अवश्य नै हुँदैनन्। त्यसोभए, मण्डली जीवनमा यस्ता बाधाहरू ल्याउने कार्यपछाडि तिनीहरूको उद्देश्य र अभिप्राय के हुन्छ? यसको लागि समझशक्ति चाहिन्छ। यदि यस्ता मानिसहरूबारे सबैलाई पर्याप्त रूपमा थाहा भइसकेको छ भने, अर्थात् तिनीहरूमा बुद्धि, क्षमता, र समझको कमी छ—तिनीहरू मूर्खहरू मात्रै हुन्—भनेर थाहा भइसकेको छ भने, तिनीहरूले आफ्ना “उत्कृष्ट विचारहरू” व्यक्त गर्दा तिनीहरूलाई रोक्नु र प्रतिबन्धित गर्नु, तिनीहरूलाई चुप लगाउनु नै तिनीहरूलाई सम्हाल्ने सबैभन्दा उचित तरिका हो। यदि तिनीहरूले बोल्न, र मण्डली जीवनमा बाधा दिन जिद्दी गर्छन् भने, थप समस्याहरू आउन नदिन तिनीहरूलाई मण्डलीबाट निकालिनुपर्छ। कतिले भन्छन्, “के यो मुक्ति पाउने तिनीहरूको मौका बरबाद पार्नु होइन र?” यसो भन्‍नु गलत छ। के परमेश्‍वरले त्यस्ता मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्छ? के त्यस्तो स्वभाव भएका मानिसहरूले सत्यता स्विकार्न सक्छन्? के तिनीहरूले सत्यता स्विकार्दै नस्विकारी मुक्ति प्राप्त गर्न सक्छन्? के त्यस्ता मामला छर्लङ्गै देख्‍न नसक्‍नु अत्यन्तै मूर्खतापूर्ण र अज्ञानी कुरा होइन र? चाहे जेसुकै भए नि, मण्डली जीवनमा प्रायजसो बाधाहरू ल्याउने मानिसहरू दुष्ट मानिसहरू नै हुन्, र परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुन्न। परमेश्‍वरले मुक्ति नदिनुहुने कुनै व्यक्तिलाई मण्डलीमा राख्‍नु, के त्यो परमेश्‍वरका चुनिएका मानिसहरूलाई जानीजानी हानि गर्नु होइन र? के त्यस्ता दुष्ट मानिसहरूलाई दया गर्ने व्यक्ति साँच्‍चै प्रेमिलो हुन्छ र? मलाई त्यस्तो लाग्दैन; तिनीहरूको त्यो प्रेम झूटो प्रेम हो। सत्यता के हो भने, तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्ने अभिप्राय राख्छन्। त्यसकारण, दुष्ट मानिसहरूलाई रक्षा गर्ने कुनै पनि व्यक्तिप्रति परमेश्‍वरका चुनिएका मानिसहरू सतर्क हुनुपर्छ, तिनीहरूका दुष्ट शब्दहरूद्वारा बहकाउमा पर्नु हुँदैन। उत्कृष्ट सुनिने विचारहरू बोल्न मन पराउने कति मानिसहरू त दुष्ट मानिसहरूजस्ता देखिँदैनन् र तिनीहरूले स्पष्टै देखिने दुष्ट कार्यहरू गर्दैनन्, तैपनि तिनीहरूले सधैँ उत्कृष्ट सुनिने आफ्‍ना विचारहरू बोल्दै मण्डली जीवनमा बाधा ल्याउन सक्छन्; कम्तीमा पनि, यी मानिसहरू भ्रमित नै हुन्छन्। तिमीहरूलाई के लाग्छ, के भ्रमित मानिसहरूलाई मुक्ति दिन सकिन्छ? अवश्य नै सकिँदैन। यदि भ्रमित मानिसहरूले मण्डली जीवनमा निरन्तर बाधा दिन्छन् भने, तिनीहरूलाई पनि मण्डलीबाट निकाल्‍नुपर्छ। भ्रमित मानिसहरूले सत्यता स्विकार्दैनन्, तिनीहरू सुधार गर्न नसकिने गरी अपश्‍चात्तापी हुन्छन्, र तिनीहरूको अन्त्य पनि दुष्ट मानिसहरूको जस्तै हुन्छ। चाहे तिनीहरू दुष्ट हुन् वा भ्रमित हुन्, यदि तिनीहरूले प्रायजसो मण्डली जीवनमा बाधा र व्यवधान ल्याउँछन्, सल्लाह मान्दैनन्, र बिग्रेको कारजस्तै रोक्‍नै नसकिने गरी अनवरत बोल्छन् भने, के यो असामान्य समझको लक्षण होइन र? यदि त्यस्ता भ्रमित मानिसहरूले लामो समय यसरी नै मण्डलीमा बाधा दिइरहे भने, परिणामहरू के हुनेछन्? अझ भन्‍ने हो भने, के तिनीहरूले साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छन्? के परमेश्‍वरले असामान्य समझ भएका त्यस्ता भ्रमित मानिसहरूलाई मुक्ति दिनुहुन्छ? यी प्रश्‍नहरूलाई राम्ररी बुझिसकेपछि, त्यस्ता व्यक्तिहरूलाई कसरी उचित रूपमा सम्हाल्ने भन्‍ने कुरा स्पष्ट हुनेछ। भ्रमित मानिसहरूले अवश्य नै सत्यतालाई प्रेम गर्दैनन्, र सत्यता तिनीहरूको पहुँचभन्दा बाहिर हुन्छ। भ्रमित मानिसहरूले मानव भाषा बुझ्न सक्दैनन्; यो भन्‍न सकिन्छ कि भ्रमित मानिसहरूमा सामान्य मानवता हुँदैन र तिनीहरू अर्धपागल हुन्छन्—वास्तवमा, तिनीहरू काम न काजका हुन्छन्। के भ्रमित मानिसहरूले राम्रो सेवा दिन सक्छन्? निश्‍चित रूपमा यो भन्‍न सकिन्छ कि तिनीहरूको समझ कमजोर भएकोले तिनीहरूले मानकअनुरूप सेवासमेत दिन सक्दैनन्; तिनीहरू शिर न पुच्छरका मानिसहरू हुन्। यदि कसैले भ्रमित मानिसहरूलाई प्रेम देखाउन चाहन्छ भने, उसलाई तिनीहरूलाई साथ दिन दे। भ्रमित मानिसहरूप्रति परमेश्‍वरको घरको मनोवृत्ति भनेको तिनीहरूलाई सफाइ गरी हटाइनुपर्छ भन्‍ने हो। सत्यता पटक्‍कै नस्विकार्ने, इमानदारितासाथ आफ्नो कर्तव्य पूरा नगर्ने, सधैँ झाराटारुवा तरिकाले गर्ने व्यक्तिले मण्डली जीवनमा बारम्बार बाधा ल्याउँछ भने, तिनीहरू हरेकलाई प्रतिबन्धित गरिनुपर्छ। यदि तिनीहरूमध्ये कसैले पछुतो गर्दै पश्‍चात्ताप गर्न तयार भए भने, तिनीहरूलाई मौका दिनुपर्छ। छर्लङ्गैसित सार चिन्‍न नसकिएकाहरूलाई अस्थायी रूपमा मण्डलीमा राखिनुपर्छ, ताकि परमेश्‍वरका चुनिएका मानिसहरूले तिनीहरूको सुपरिवेक्षण र अवलोकन गर्दै आफ्‍नो समझशक्ति वृद्धि गर्ने मौका पाऊन्। यदि निरन्तर बाधा र व्यवधान ल्याउने अनि काटछाँटमा परे पनि, अपरिवर्तनीय रूपमा अपश्‍चात्तापी रहने, ख्याति र प्राप्तिको लागि निरन्तर प्रतिस्पर्धा गर्ने, सकारात्मक व्यक्तित्वहरूलाई आक्रमण र बहिष्कार गर्ने मानिसहरू छन् भने—विशेषगरी सत्यता पछ्याउने र अनुभव गवाहीहरू बाँड्न सक्‍ने, र परमेश्‍वरको लागि इमानदारितासाथ आफूलाई समर्पित गर्ने र आफ्नो कर्तव्य निर्वाह गर्नेहरूलाई आक्रमण गर्ने मानिसहरू छन् भने—यी मानिसहरू दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू हुन्, तिनीहरू अविश्‍वासीहरू हुन्। त्यस्ता मानिसहरूको हकमा, तिनीहरूलाई रोक्‍ने र प्रतिबन्धित गर्ने गरेर मात्रै हुँदैन; भविष्यका समस्याहरूबाट जोगिनको लागि तिनीहरूलाई तुरुन्तै मण्डलीबाट निकाल्‍नुपर्छ। अभ्यासको यो तरिका पूर्ण रूपमा परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन्छ।

हैसियतको लागि प्रतिस्पर्धा गर्नुका विभिन्‍न मामुलीदेखि गम्भीर प्रकटीकरणहरू लगभग यति नै हुन्। मामुली प्रकटीकरणहरूमा मुख्य रूपमा अगुवाहरू र कामदारहरूलाई कठोर शब्दहरूद्वारा गिल्ला गर्ने, खोट लगाउने, र अगुवाहरू र कामदारहरूको सक्रियतामाथि आक्रमण गर्ने कार्यहरू पर्छन्, जसको उद्देश्य तिनीहरूलाई नष्ट गर्नु र बदनाम गर्नु हो। सबैभन्दा गम्भीर प्रकटीकरण भनेको अगुवाहरू र कामदारहरूलाई सोझै र खुल्‍लमखुल्ला विरोध गर्नु, तिनीहरूविरुद्ध प्रयोग गर्न सकिने कुराहरू खोजतलास गर्नु र तिनीहरूलाई आलोचना, निन्दा, आक्रमण, र बहिष्कार गर्नु, र त्यसपछि तिनीहरूलाई अलग्याउनु, र तिनीहरूको हैसियत हत्याउन तिनीहरूलाई गल्ती स्विकार्न र राजीनामा दिन बाध्य पार्नु हो। मण्डली जीवनमा आउने बाधा र व्यवधानका सबैभन्दा गम्भीर समस्याहरू यिनै हुन्। अगुवाहरू वा कामदारहरूविरुद्ध खुल्लमखुल्ला सोर मच्‍चाउने र हैसियतको लागि तिनीहरूसँग प्रतिस्पर्धा गर्नेहरू मण्डलीको काममा बाधा दिने र परमेश्‍वरको विरोध गर्ने मानिसहरू हुन्, तिनीहरू दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू हुन्, र तिनीहरूलाई रोक्‍नु र प्रतिबन्धित गर्नु मात्र पर्याप्त हुँदैन—यदि परिस्थिति गम्भीर छ र तिनीहरूलाई सफाइ गरी निकालिनु वा निष्कासित गर्नु आवश्यक छ भने, तिनीहरूलाई सिद्धान्तहरूअनुसार तह लगाइनुपर्छ। हैसियतको लागि प्रतिस्पर्धा गर्नुको एउटा अर्को प्रकटीकरण पनि छ: मण्डलीमा सत्यता पछ्याउने मानिसहरूलाई एक्ल्याउने र आक्रमण गर्ने। सत्यता पछ्याउने मानिसहरूसँग विशुद्ध बुझाइ हुने भएकोले, र तिनीहरूसँग परमेश्‍वरका वचनहरूको अनुभव र साँचो ज्ञान हुने भएकोले, र तिनीहरूले प्रायजसो दाजुभाइ-दिदीबहिनीहरूमाझ समस्याहरू समाधान गर्न सत्यता सङ्गति गर्ने, र यसरी परमेश्‍वरका चुनिएका मानिसहरूलाई आत्मिक रूपमा निर्माण गर्ने हुनाले, अनि क्रमिक रूपमा तिनीहरूलाई मण्डलीमा प्रतिष्ठा प्राप्त हुँदै जाने हुनाले, यी दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू तिनीहरूप्रति डाही र अटेरी बन्छन्, र तिनीहरूलाई एक्ल्याउँछन् र आक्रमण गर्छन्। सत्यता पछ्याउने मानिसहरूलाई आक्रमण गर्ने वा एक्ल्याउने कुनै पनि व्यवहारले सीधै मण्डली जीवनमा बाधा र व्यवधान ल्याउँछ। कति मानिसहरूले मण्डली अगुवाहरूलाई सीधै निसाना नबनाउन पनि सक्छन्, तर मण्डलीका सत्यता बुझेका र व्यावहारिक अनुभव भएका मानिसहरूप्रति भने तिनीहरूमा निश्‍चित घृणा र तिरस्कार हुन्छै हुन्छ। तिनीहरूले त्यस्ता मानिसहरूलाई एक्ल्याउने र दमन गर्ने पनि गर्छन्, र प्रायजसो तिनीहरूलाई गिल्ला र खिसी गर्ने गर्छन्, र तिनीहरूविरुद्ध पासो हाल्ने र षड्यन्त्र गर्ने, र यस्तै आदि इत्यादि कुराहरूसमेत गर्छन्। यी समस्याहरू प्रकृति र परिस्थितिहरूको हिसाबमा मण्डली अगुवाहरूसँग हैसियतको लागि प्रतिस्पर्धा गर्नुभन्दा कम गम्भीर हुन्छन्, तर यी कार्यहरूले पनि मण्डली जीवनमा बाधा र व्यवधानहरू ल्याउँछन्, र तिनलाई रोकेर प्रतिबन्धित गरिनुपर्छ। यदि मण्डलीका अधिकांश दाजुभाइ-दिदीबहिनीहरूलाई असर परेको छ, र तिनीहरू प्रायजसो नकारात्मकता र कमजोरीमा डुबिरहन्छन् भने—यदि ती समस्याहरूले यस्ता दुष्परिणामहरू निम्त्याउँछन् भने, ती बाधा र व्यवधानहरू हुन्। बाधा र अवरोधहरू पैदा गर्ने दुष्ट व्यक्तिलाई प्रतिबन्धित मात्रै गरिनुहुँदैन, उसलाई त अलग बस्‍न र चिन्तन गर्नका लागि “ख” समूहमा पठाइनुपर्छ, वा पखालिनुपर्छ। बाधा र व्यवधान दिने प्रकृति भएका कार्यहरूमा संलग्‍न हुनेहरू दुष्कर्म गर्ने बानी भएका मानिसहरू हुन्। बारम्बार दुष्कर्म गर्ने दुष्ट मानिसहरू र कहिलेकहीँ दुष्कर्म गर्ने मानिसहरूलाई तिनीहरूप्रति कस्तो व्यवहार गर्ने भन्‍ने आधारमा छुट्याइनुपर्छ। विभिन्‍न प्रकारका दुष्कर्म गर्ने मानिसहरू ख्रीष्टविरोधीहरू हुन्; बेलाबेलामा दुष्कर्म गर्नेहरूचाहिँ कमजोर मानवता भएकाहरू हुन्। यदि दुई मानिसहरूको व्यक्तित्व नमिलेर, वा काम गर्ने क्रममा तिनीहरूको दृष्टिकोण फरक परेर, वा तिनीहरूको बोलीवचनको शैली फरक भएर कहिलेकहीँ तिनीहरू तर्क वा विवाद गर्छन्, तर यसले मण्डली जीवनमा असर पार्दैन भने, यसमा बाधा र व्यवधान ल्याउने प्रकृति हुँदैन; यो दुष्ट मानिसहरूले मण्डली जीवनमा बाधा र व्यवधान ल्याउने कार्यभन्दा फरक हुन्छ। मण्डली जीवनमा बाधा र व्यवधान ल्याउने प्रकृति भएका सबै कुराहरू, जसबारे हामी कुरा गरिरहेका छौं, ती सबै दुष्ट मानिसहरूले गर्ने दुष्कर्मका प्रकटीकरणहरू हुन्। जब दुष्ट मानिसहरूले दुष्कर्म गर्छन्, तब यो आदतगत कुरा हुन्छ। दुष्ट मानिसहरूले सत्यता पछ्याउने मानिसहरूलाई नै सबैभन्दा बढी घृणा गर्छन्। जब तिनीहरूले सत्यता पछ्याउने व्यक्तिले आफ्नो अनुभव गवाही बाँड्न सक्छ, र यसरी अरूको विशेष आदर प्राप्त गर्छ भन्‍ने देख्छन्, तब तिनीहरूलाई डाहा र घृणा लाग्छ, र तिनीहरूको आँखा रातो हुन्छ। आफ्‍नो बारे चिन्तन गर्ने र आफूलाई चिन्‍ने, आफ्नो व्यावहारिक अनुभव बाँड्ने, र परमेश्‍वरको गवाही दिने जोकसैले यी दुष्ट मानिसहरूबाट गिल्ला, अपमान, दमन, बहिष्कार, आलोचना, र सतावटसमेत भोग्छन्। यसरी व्यवहार गर्ने तिनीहरूको बानी नै हुन्छ। तिनीहरूले अरू कसैलाई तिनीहरूभन्दा राम्रो हुन दिँदैनन्, अनि तिनीहरूले आफूभन्दा असल मानिसहरूलाई देखी सहँदैनन्। आफूभन्दा असल व्यक्तिलाई देख्दा, तिनीहरू ईर्ष्यालु हुन्छन्, क्रोधित हुन्छन्, रिसाउँछन्, र तिनीहरूलाई हानि गर्ने र कष्ट दिने तरिकाहरू सोच्छन्। यस्ता मानिसहरूले मण्डलीको जीवन र व्यवस्थामा गम्भीर अवरोध र विघ्‍नबाधा पुऱ्याइसकेका हुन्‍छन्, र यस्ता व्यक्तिहरूलाई खुलासा गर्न, रोक्‍न, र प्रतिबन्धित गर्न अगुवाहरू र कामदारहरूले दाजुभाइ-दिदीबहिनीहरूसँग हातेमालो गर्नुपर्छ। यदि तिनीहरूलाई प्रतिबन्धित गर्न सम्भव छैन भने, वा तिनीहरूले पश्‍चात्ताप गर्दैनन् र तिनीहरूलाई सत्यतामा सङ्गति दिँदा बाटो परिवर्तन गर्दैनन् भने, तिनीहरू दुष्ट व्यक्ति हुन्, र दुष्ट मानिसहरूलाई मण्डलीबाट सफाइ गर्नको लागि परमेश्‍वरको घरको सिद्धान्तअनुसार कारबाही र व्यवहार गर्नुपर्छ। यदि अगुवाहरू र कामदारहरू सङ्गतिमार्फत सहमतिमा पुग्छन्, र यो दुष्ट व्यक्तिले मण्डलीमा बाधा पुऱ्याउने कार्य हो भन्‍ने निर्क्योल गर्छन् भने, यो मामिलालाई सत्यता सिद्धान्तअनुसार सम्हाल्नुपर्छ: त्यो व्यक्तिलाई मण्डलीबाट निकाल्‍नुपर्छ। मण्डली जीवनमा बाधा दिने त्यस्ता मानिसहरूलाई अबउप्रान्त सहनु हुँदैन। यदि अगुवाहरू र कामदारहरूलाई यो दुष्ट व्यक्तिले पुऱ्याएको बाधा हो भन्‍ने स्पष्ट छ, र उनीहरूले अझै पनि अज्ञानताको बहाना गर्दै दुष्ट व्यक्तिले गरेको दुष्कर्म र उसले पुऱ्याएको बाधालाई सहन्छन् भने, उनीहरू दाजुभाइ-दिदीबहिनीहरूप्रतिको आफ्नो जिम्मेवारीमा चुकिरहेका छन्, र परमेश्‍वर र परमेश्‍वरको आज्ञाप्रति बेइमान भइरहेका छन्।

कतिपय मानिसहरूको रूप हेर्दा ठीकै देखिन सक्छ, तर वास्तवमा तिनीहरूको बुद्धि मूर्खको जस्तै हुन्छ। तिनीहरूले उचित कुरा के हो भन्‍ने नबुझी बोल्ने र व्यवहार गर्ने गर्छन्, र तिनीहरूमा सामान्य मानवताको चेतना हुँदैन। त्यस्ता मानिसहरूले हैसियत र प्रतिष्ठाको लागि प्रतिस्पर्धा गर्न, अन्तिम निर्णय आफै गर्नको लागि लड्‍न, र अरूको उच्च आदर पाउनको लागि होड गर्न मन पराउँछन्। मण्डली जीवनमा तिनीहरूले प्रायजसो अरू धेरैजसो मानिसहरूको ध्यान खिच्‍न र उच्च आदर प्राप्त गर्न जायजजस्तो देखिने तर वास्तवमा भ्रामक रहेका दृष्टिकोण र तर्कहरू प्रस्तुत गर्छन्, र यसरी तिनीहरूले मानिसहरूको विचारमा बाधा दिन्छन्, परमेश्‍वरका वचनहरूबारेको तिनीहरूको सही बुझाइ र ज्ञानमा बाधा दिन्छन्, र सबै कुरामा तिनीहरूको सकारात्मक बुझाइमा बाधा दिन्छन्। जब अरूले परमेश्‍वरका वचनहरू र ती वचनहरूप्रतिको आफ्‍नो शुद्ध बुझाइबारे सङ्गति गरिरहेका हुन्छन्, तब यी मानिसहरू प्रायजसो जोडतोडसाथ आफ्नो उपस्थिति देखाउन, र सबैको ध्यान खिच्न जोकरहरूजस्तै फुत्त देखा पर्छन्, र तिनीहरू सधैँ आफूले एकदुई वटा चलाकी जानेको छु, र आफू विद्वान, र अत्यन्तै ज्ञानी र शिक्षित छु, र यस्तै आदि इत्यादि कुराहरू देखाउन चाहन्छन्। तिनीहरूसित अझै पनि कुन अगुवालाई लक्षित गर्ने, वा कुन अगुवाको पदका लागि प्रतिस्पर्धा गर्ने भन्‍नेबारे तिनीहरूको अझै स्पष्ट उद्देश्य भइसकेको हुँदैन, तैपनि तिनीहरूको इच्छा र महत्त्वाकाङ्क्षाहरू यति ठूला हुन्छन् कि तिनीहरूका बोली र व्यवहारले मण्डली जीवनमा बाधाहरू पुर्‍याएका हुन्छन्, र त्यसकारण परिस्थिति र यसको प्रकृतिको गम्भीरताअनुसार तिनीहरूलाई पनि प्रतिबन्धित गर्नुपर्छ। यस्तोमा सबैभन्दा राम्रो त सुरुमा सत्यता सङ्गति गरेर तिनीहरूलाई सही रूपमा मार्गदर्शन गर्नु, र तिनीहरूको आत्म-आचरणका निम्ति दिशा प्रदान गर्नु, र यसरी तिनीहरूलाई बदलिन, र मण्डली जीवन सामान्य रूपमा कसरी जिउने, अरूसँग कसरी अन्तरक्रिया गर्ने, आफ्‍नो उचित स्थानमा कसरी बस्‍ने, र कसरी तर्कसङ्गत बन्‍ने भनेर बुझ्न मद्दत गर्नु नै हुन्छ। यदि यो तिनीहरूको कलिलो उमेर, अन्तर्ज्ञानको कमी, र जवानीको घमण्डको कारणले आएको हो भने, र यदि तिनीहरूलाई बारम्बार सङ्गति दिएपछि, तिनीहरूले आफ्नो पहिलेको व्यवहार गलत, लाजमर्दो रहेछ, यसले सबैलाई विकर्षित गरेको र सबैलाई समस्या दिएको रहेछ भन्‍ने महसुस गरेर पश्‍चात्ताप गरेका छन् भने, र तिनीहरूले यसको लागि माफी मागेका र आफ्‍नो पछुतो व्यक्त गरेका छन् भने, यो कुरालाई तिनीहरूविरुद्ध प्रयोग गर्नुपर्दैन—तिनीहरूलाई बस प्रेमसाथ सहयोग गर्न सकिन्छ। तैपनि, यदि सबैलाई बाधा दिने तिनीहरूको गलत कार्यहरू जवानीको घमण्ड वा सत्यता बुझाइको कमीको कारण आएको नभएर गुप्त मनसायहरूद्वारा उत्प्रेरित थियो, र बारम्‍बार निरुत्साहित गरिँदा पनि तिनीहरूले आफ्नो व्यवहार जारी राखे भने; अनि यसअलावा, यदि तिनीहरूलाई काटछाँट गरिसकिएको छ, र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले यो समस्याको गम्भीरताबारे तिनीहरूलाई सङ्गति दिइसकेका छन्—तिनीहरूलाई नकारात्मक र सकारात्मक दुवै पक्षबाट सङ्गति र सहयोग प्रदान गरिसकिएको छ—तैपनि तिनीहरूले अझै आफ्नो प्रकृति सार पहिचान गर्न सक्दैनन्, यी कार्यहरूले अरूलाई दिने बाधा र त्यसका गम्भीर परिणामहरू देख्‍न सक्दैनन्, र जुनसुकै बेला मौका पाउनेबित्तिकै यी कार्यहरू गर्दै बाधा र व्यवधानहरू पैदा गर्न जारी राख्छन् भने, यो अवस्थामा कडा कारबाहीहरू चाल्‍नु उचित हुन्छ। यदि पश्‍चात्ताप गर्ने प्रशस्त अवसर पाएपछि पनि, तिनीहरूले आफ्‍नो बारे मनन गर्दैनन् वा आफूलाई चिन्‍ने प्रयास गर्दैनन्, र तिनीहरूलाई जेजसरी सत्यता सङ्गति गरिए पनि, तिनीहरूले बुझ्दैनन्, न त तिनीहरूलाई तर्कसङ्गत रूपमा र सिद्धान्तहरूअनुसार कसरी काम गर्ने भन्‍ने नै थाहा हुन्छ, बरु तिनीहरू जिद्दी भएर काम गर्ने आफ्नै तरिकामा लागिरहन्छन् भने, यी मानिसहरूमा समस्या छ। कम्तीमा पनि, तर्कसङ्गत दृष्टिकोणबाट हेर्दा, तिनीहरूमा सामान्य व्यक्तिको समझको कमी छ। यो भनेको यसलाई सतही रूपमा हेरिएको कुरा हो। सारको हिसाबमा हेर्दाचाहिँ, यदि तिनीहरूलाई जेजसरी सङ्गति दिइए पनि, तिनीहरूले समस्याको गम्भीरता पहिचान गर्न सक्दैनन्, तिनीहरूले आफ्नो उचित स्थान चिन्दैनन्, तिनीहरूले सङ्गति र सहयोग स्विकार्न सक्दैनन्, वा दाजुभाइ-दिदीबहिनीहरूले सङ्गति गरेको मार्गअनुसार अभ्यास गर्ने प्रयास गर्न सक्दैनन् भने—यदि तिनीहरूले यी कुराहरूसमेत हासिल गर्न सक्दैनन् भने, तिनीहरूको समस्या समझको कमी हुनु मात्रै होइन, बरु यो त तिनीहरूको मानवतामा रहेको समस्या हो। तिनीहरूले अनजानमा बाधा र व्यवधानहरू पुर्‍याइरहेजस्तो देखिए पनि, यी कार्यहरू अवश्य नै अभिप्रायविनाका हुँदैनन्, बरु कार्य उद्देश्य र मनसायसाथ गरिएका हुन्छन्। यी व्यक्तिहरूको मनसाय वा उद्देश्य के हुन सक्छ भन्‍ने कुरा पन्छाएर हेर्दा, यदि तिनीहरूले भन्‍ने र गर्ने कुराले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेश, र मण्डली जीवनमा गम्भीर रूपमा बाधा र व्यवधान ल्याउँछ, जसले गर्दा धेरै मानिसहरूले मण्डली जीवन जिउँदा केही पनि प्राप्त गर्न सक्दैनन् भने, र तिनीहरू उपस्थित भएको कारण अरूहरू भेला हुन अनिच्छुक हुन्छन्, वा जब तिनीहरूले बोल्छन्, तब मानिसहरू रुचिहीन हुन्छन् र छोडिजान चाहन्छन् भने, यो समस्याको प्रकृति गम्भीर हुन्छ। त्यस्ता मानिसहरूलाई कसरी सम्हाल्नुपर्छ? यदि धेरैपटक सङ्गति र सहयोग प्रदान गरिए पनि, र पश्‍चात्ताप गर्ने अवसर दिइए पनि, तिनीहरू यी कुराहरूमै निरन्तर लागिपर्छन् भने, तिनीहरूको प्रकृति सार समस्याजनक छ। तिनीहरू साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्ने र सत्यता स्विकार्न सक्‍ने मानिसहरू होइनन्, बरु तिनीहरूमा त अरू नै कुनै उद्देश्य हुन्छ। तिनीहरूको प्रकृति सार हेर्दा, तिनीहरूले मण्डली जीवनमा ल्याउने बाधा र व्यवधानहरू अवश्य नै अनजानमा भएका हुँदैनन्, बरु यी मानिसहरूसँग उद्देश्य र मनसाय रहेको हुन्छ। यदि यस्ता मानिसहरूलाई थप अवसरहरू दिइयो भने, के त्यो सामान्य रूपमा मण्डली जीवन जिउने परमेश्‍वरका चुनिएका मानिसहरूको लागि उचित हुन्छ? (हुँदैन।) त्यस्ता व्यक्तिहरूको समस्या पहिले नै यति हदसम्म प्रकट भइसकेको हुन्छ; यदि तिनीहरूलाई अझै पनि मौका दिएर तिनीहरूले पश्‍चात्ताप गर्लान् भनेर कुरिन्छ, र यसको परिणामस्वरूप तिनीहरूले अझै बढी दुष्कर्म गर्छन्, धेरै मानिसहरूलाई नकारात्मकता, कमजोरी, र उपायहीनतामा पार्छन् भने, यो घाटाको पूर्ति कसले गर्नेछ? त्यसकारण, यदि यी व्यक्तिहरूलाई सङ्गति र प्रेमपूर्ण सहयोग प्रदान गरिएको छ, वा तिनीहरूलाई रोक्न र प्रतिबन्धित गर्न कारबाही चालिएको छ, र पनि तिनीहरूले अझै आफ्नो पुरानो बानीबेहोरा परिवर्तन गरेका छैनन्, र आफ्नो मूल व्यवहारमै जिद्दीपूर्वक लागिरहन्छन् भने, तिनीहरूलाई सिद्धान्तहरूअनुसार सम्हाल्नुपर्छ: सामान्य मामलाहरूमा, तिनीहरूलाई अलग्याइनुपर्छ; गम्भीर मामलाहरूमा, तिनीहरूलाई मण्डलीबाट निकालिनुपर्छ। यो सिद्धान्त कस्तो लाग्छ? के यो कुनै व्यक्तिलाई पश्‍चात्ताप गर्ने मौका नदिई निर्दयी ढङ्गले प्रहार गर्नु हो? कि यो कुनै पनि समझ प्रयोग नगरी र तिनीहरूको प्रकृति सार वास्तवमा के हो भनेर स्पष्ट रूपमा नबुझी स्वेच्छाचारी रूपमा निर्णय गर्नु हो? (होइन।) यदि सङ्गति र सहयोग प्रदान गरिए पनि, र पश्‍चात्ताप गर्ने अवसर दिइए पनि, यी मानिसहरूको तरिका र स्वभाव पटक्‍कै परिवर्तन भएको छैन, र तिनीहरूले पश्‍चात्ताप पनि गर्दैनन्, अनि तिनीहरू पहिलेजस्तै नै रहन्छन्—र फरक यति मात्र हुन्छ कि तिनीहरूले पहिले खुलस्त र देखीदेखी गर्थे, र अहिले गुप्तमा र लुकेर गर्छन्, तर बाधा र व्यवधान उस्तै रहन्छन्—भने, मण्डलीले तिनीहरूलाई राखिराख्‍न सक्दैन। त्यस्ता मानिसहरू परमेश्‍वरको घरका सदस्यहरू होइनन्; तिनीहरू परमेश्‍वरका भेडाहरू होइनन्। परमेश्‍वरको घरमा तिनीहरूको उपस्थिति बाधा र अवरोधहरू पैदा गर्नका लागि मात्रै हुन्छ, र तिनीहरू शैतानका नोकरहरू हुन्, दाजुभाइ-दिदीबहिनीहरू होइनन्। यदि तैँले तिनीहरूलाई सधैँ दाजुभाइ-दिदीबहिनीहरूका रूपमा व्यवहार गर्छस्, तिनीहरूलाई निरन्तर साथ र सहयोग दिन्छस् र तिनीहरूसँग सत्यता सङ्गति गर्छस्, र यसले कुनै फल नदिई धेरै मेहनत मात्र खेर जान्छ भने, के त्यो मूर्खता होइन र? यो त मूर्खता मात्रै होइन; पूराको पूरा बेबकुफी, र महामूर्खता नै हो!

यी समस्याहरूको प्रकृति हेर्दा, विभिन्‍न प्रकटीकरणहरू र हैसियतको लागि प्रतिस्पर्धा गर्नमा संलग्‍न हुने मानिस, घटना, र विभिन्‍न कुराहरूलाई आधारभूत रूपमा यी तीन प्रकारमा वर्गीकरण गर्न सकिन्छ। हैसियतको लागि प्रतिस्पर्धा गर्नु मण्डली जीवनको एउटा आम समस्या हो, जुन मानिसहरूको फरकफरक समूहमा र मण्डली जीवनका विभिन्‍न पक्षहरूमा देखा पर्न सक्छ। हैसियतको लागि प्रतिस्पर्धा गर्नेहरूको हकमा भन्दा, सामान्य मामलाहरूमा तिनीहरूलाई सत्यता बुझ्न साथ र सहयोग दिनको लागि सत्यताबारे प्रशस्त सङ्गति दिइनुपर्छ, र तिनीहरूलाई पश्‍चात्ताप गर्ने मौका प्रदान गरिनुपर्छ। यदि मामला गम्भीर छ भने, तिनीहरूलाई नजिकबाट निगरानी गरिनुपर्छ, र तिनीहरूले निश्‍चित मनसाय वा उद्देश्य हासिल गर्ने उद्देश्यले बोल्ने वा व्यवहार गर्ने गर्छन् भन्‍ने पत्ता लाग्‍नेबित्तिकै, तिनीहरूलाई तुरुन्तै रोक्‍ने र प्रतिबन्ध लाउने गरिनुपर्छ। यदि मामला अझै गम्भीर छ भने, मानिसहरूलाई निकाल्‍ने र निष्कासित गर्ने मण्डलीका सिद्धान्तहरूअनुसार तिनीहरूलाई तह लाउने र सम्हाल्ने गरिनुपर्छ। मण्डली जीवनमा हैसियतको लागि प्रतिस्पर्धा गर्ने यी मानिस, घटना, र कामकुराहरू देखा पर्दा अगुवाहरू र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारी यही हो। अवश्य नै, यसका लागि सबै दाजुभाइ-दिदीबहिनीहरूले कदम उठाएर यो काममा अगुवाहरू र कामदारहरूसँग सहकार्य गर्ने माग गरिन्छ, र यसरी बाधा र अवरोध ल्याउने दुष्ट मानिसहरूका विभिन्‍न व्यवहार र कार्यहरूलाई संयुक्त रूपमा प्रतिबन्धित गर्दै, मण्डली जीवनमा दुष्ट मानिसहरूले थप कुनै बाधा वा अवरोध ल्याउँदैनन् भन्‍ने सुनिश्‍चित गर्नु, अनि मण्डली जीवनको हरेक अवसरमा पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुने, शान्ति, आनन्द र परमेश्‍वरको उपस्थिति रहने, र परमेश्‍वरको आशिष् र अगुवाइ प्राप्त हुने, अनि हरेक भेला आनन्द र प्राप्तिको समय हुने कुरा सुनिश्‍चित गर्न लागिपर्नु जरुरी छ। यही नै सबैभन्दा राम्रो प्रकारको मण्डली जीवन हो, यही नै परमेश्‍वरले हेर्न चाहनुहुने जीवन हो। यो काम गर्नु अगुवाहरू र कामदारहरूको लागि तुलनात्मक रूपमा अलि जटिल हुन्छ, किनभने यसमा अन्तरवैयक्तिक सम्बन्धहरू संलग्‍न हुन्छ, यसमा मानिसहरूको इज्जत र हितहरू संलग्‍न हुन्छ, र यसमा मानिसहरूको सत्यता बुझाइको स्तर पनि संलग्‍न हुन्छ, र यसले गर्दा यो अलि चुनौतीपूर्ण हुन्छ। तैपनि, जब समस्याहरू देखा पर्छन्, ती समस्याहरूबाट नभाग, र ठूला समस्याहरूलाई साना समस्याहरूको रूपमा कम आँक्दै अन्त्यमा समाधान नगरीकनै छोडिदिने काम नगर; र तिनलाई सांसारिक व्यवहारका दर्शनहरू प्रयोग गरेर, अनि तिनको गम्भीरताप्रति आँखा चिम्लिएर सम्‍हाल्‍ने पनि नगर। योभन्दा पनि बढी, मान्छे खुशी पार्ने व्यक्ति नबन, बरु हैसियतको लागि प्रतिस्पर्धा गर्ने विभिन्‍न प्रकारका मानिसहरूलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर। के यो सङ्गति स्पष्ट भयो? (भयो।) त्यसोभए, अब समस्या पाँचको हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्