अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१३) खण्ड दुई
आ. मानिसहरूलाई बहकाउन र तिनीहरूको आदर जित्नको लागि शब्द र धर्मसिद्धान्तहरू बोल्नु
मण्डली जीवनमा अवरोध र बाधा ल्याउने मानिस, घटना, र कामकुराहरूको दोस्रो प्रकटीकरण भनेको मानिसहरूले अरूलाई बहकाउन र आफ्नो प्रतिष्ठा बढाउनको लागि शब्द र धर्मसिद्धान्तहरू बोल्नु हो। सामान्यतया, धेरैजसो मानिसहरूले केही शब्द र धर्मसिद्धान्तहरू बोल्न सक्छन्। धेरैजसो मानिसहरूले बोलेका हुन्छन्। हामीले कुनै व्यक्तिले शब्द र धर्मसिद्धान्तहरू बोल्ने सामान्य कार्यलाई त्यस व्यक्तिको कद सानो भएकोले र सत्यतालाई बुझ्ने क्षमताको कमी भएकोले घट्ने घटनाका रूपमा लिनुपर्छ। तिनीहरूले धेरै समय लिँदैनन्, जानी-जानी यसो गरिरहेका छैनन्, एकोहोरो कुराकानी गर्दैनन्, स्वेच्छाले बोल्नको लागि सबैबाट प्रश्रय माग गर्दैनन्, सबैलाई तिनीहरूको कुरा सुन्न लगाउँदैनन्, र अरूलाई बहकाउने अनि तिनीहरूको आदर जित्ने प्रयास गर्दैनन् भने, यसमा बाधा वा अवरोध ल्याउने कार्य संग्लग्न हुँदैन। धेरैजसो मानिसहरूमा सत्यता वास्तविकताको कमी हुने भएकोले, शब्द र धर्मसिद्धान्तहरू बोल्ने कार्य आम रूपमा देखा पर्ने घटना हो। अलिक अनुचित रूपमा बोल्नु क्षमायोग्य हुन्छ; यसलाई माफी दिएर गम्भीर रूपमा नलिन सकिन्छ। तर, एउटा अपवाद छ, त्यो हो जब व्यक्तिले जानाजान शब्द र धर्मसिद्धान्तहरू बोलिरहेको हुन्छ। तिनीहरूले जानाजान के गर्छन्? शब्द र धर्मसिद्धान्तहरू बोल्नु तिनीहरूले जानाजान गर्ने कार्य होइन, किनभने तिनीहरूमा सत्यता वास्तविकताको पनि कमी हुन्छ। तिनीहरूका क्रियाकलापहरू, जस्तै शब्द र धर्मसिद्धान्तहरू बोल्ने, नाराहरू फलाक्ने, र सिद्धान्तहरूको बारेमा बोल्ने कार्यहरू अरू सबैको जस्तै हुन्छन्। तर, एउटा भिन्नता छ: जब तिनीहरूले शब्द र धर्मसिद्धान्तहरू बोल्छन्, तब तिनीहरूले सधैँ अरूबाट उच्च सम्मान पाउन चाहन्छन् र आफूलाई अगुवाहरू र कामदारहरू, सत्यता पछ्याउने मानिसहरूसँग तुलना गर्न चाहन्छन्। अझै अव्यावहारिक कुरा त, तिनीहरूले जे भने पनि वा जसरी भने पनि, तिनीहरूको उद्देश्य भनेको मानिसहरूलाई आफ्नो पक्षमा ल्याउनु, मानिसहरूको हृदय भ्रमित पार्नु हो, र यो सब उच्च सम्मान पाउनको लागि गरिएको हुन्छ। उच्च सम्मान खोजी गर्नुको उद्देश्य के हो? तिनीहरूले मानिसहरूको हृदयमा हैसियत र प्रतिष्ठा प्राप्त गर्न, विशिष्ट व्यक्ति वा मानिसहरूका भीडमाझ अगुवा बन्न, असाधारण वा असामान्य व्यक्ति बन्न, विशेष व्यक्तित्व बन्न, अख्तियारपूर्ण बोली भएको व्यक्ति बन्ने चाहना राख्छन्। यो परिस्थिति मानिसहरूले शब्द र धर्मसिद्धान्तहरू बोल्ने सामान्य घटनाहरूभन्दा फरक छ र यो अवरोध र बाधा ल्याउनु हो। यी मानिसहरूलाई सामान्य रूपमा देखिने शैलीमा शब्द र धर्मसिद्धान्तहरू बोल्नेहरूभन्दा के कुराले फरक तुल्याउँछ? तिनीहरूको निरन्तर बोल्ने इच्छाले; कुनै अवसर पाउनेबित्तिकै, तिनीहरू बोलिहाल्नेछन्। भेला छ भने वा मानिसहरूको समूह भेला भएको छ भने—तिनीहरूसँग श्रोता छ भने—तिनीहरू बोल्नेछन्, र तिनीहरूलाई बोल्ने साह्रै ठूलो इच्छा हुन्छ। तिनीहरूले बोल्नुको उद्देश्य दाजुभाइ-दिदीबहिनीहरूसँग आफ्ना भित्री सोच, प्राप्ति, अनुभव, बुझाइ, वा अन्तर्ज्ञानहरू बाँडेर सत्यताको बुझाइ वा त्यसको अभ्यास गर्ने मार्ग विकास गराउनु होइन। बरु, तिनीहरूको उद्देश्य भनेको धर्मसिद्धान्तहरू बोल्ने अवसरलाई प्रयोग गरेर आफ्नो प्रदर्शन गर्नु, तिनीहरू कति विद्वत् छन् भनेर अरूलाई थाहा दिनु, तिनीहरूसँग दिमाग, ज्ञान, र सिकाइ छ, र तिनीहरू औसत व्यक्तिभन्दा माथि छन् भन्ने देखाउनु हो। तिनीहरू केवल साधारण व्यक्तिहरूका रूपमा नभई सक्षम व्यक्तिहरूका रूपमा चिनिन चाहन्छन्। तिनीहरूले यो चाहन्छन्, ताकि कुनै पनि मामलाको हकमा, सबै जना तिनीहरूकहाँ गएर तिनीहरूबाट परामर्श लिऊन्। मण्डलीमा आउने कुनै पनि समस्या वा दाजुभाइ-दिदीबहिनीहरूले सामना गर्ने कुनै पनि कठिनाइको हकमा, तिनीहरू अरूले सम्झिने पहिलो व्यक्ति बन्न चाहन्छन्; तिनीहरू चाहन्छन् कि अरूले तिनीहरूविना केही गर्न नसकून्, कुनै पनि मामलालाई सम्हाल्ने आँट नगरून्, र सबैले तिनीहरूको आदेश पर्खून्। तिनीहरूले चाहने प्रभाव यही हो। शब्द र धर्मसिद्धान्तहरू बोल्नुको पछाडि तिनीहरूको उद्देश्य भनेको मानिसहरूलाई फन्दामा पार्नु र नियन्त्रण गर्नु हो। तिनीहरूको लागि, शब्द र धर्मसिद्धान्तहरू बोल्नु त एउटा विधि, एउटा शैली मात्रै हो; तिनीहरूले सत्यता नबुझ्ने हुनाले शब्द र धर्मसिद्धान्तहरू बोल्ने होइनन् बरु यसो गरेर, तिनीहरूले मानिसहरूलाई हृदयदेखि तिनीहरूको सराहना गर्ने, तिनीहरूलाई उच्च ठान्ने, र तिनीहरूको डर समेत मान्ने, तिनीहरूको बन्धन र नियन्त्रणमा पर्ने तुल्याउने उद्देश्य राख्छन्। यसरी शब्द र धर्मसिद्धान्तहरू बोल्ने कार्य बाधा दिने र अवरोध ल्याउने कार्य हो। मण्डली जीवनमा, त्यस्ता व्यक्तिहरूलाई प्रतिबन्धित गर्नुपर्छ, र शब्द र धर्मसिद्धान्तहरू बोल्ने यो व्यवहारलाई पनि रोक्नुपर्छ, र जाँच नगरी जारी रहन दिनु हुँदैन। कतिले यसो भन्न सक्छन्, “यस्ता मानिसहरूलाई प्रतिबन्धित गरिनुपर्छ; त्यसपछि पनि के तिनीहरूलाई बोल्ने मौका दिनुपर्छ?” निष्पक्षताको हिसाबमा भन्दा, तिनीहरूलाई बोल्ने मौका दिन सकिन्छ, तर तिनीहरू फेरि आफ्नो प्रदर्शन गर्ने र धाक लगाउने आफ्नो पुरानै शैलीमा फर्केर जानेबित्तिकै, र तिनीहरूको महत्त्वाकाङ्क्षा फेरि प्रस्फुटन हुन लाग्नेबित्तिकै, तिनीहरूलाई स्पष्ट र शान्त पार्न तिनीहरूको कुरा तुरुन्तै रोक्नुपर्छ। यदि तिनीहरूले प्रायजसो यसरी धाक लगाउँछन्, र तिनीहरूको महत्त्वाकाङ्क्षा अझै प्रायजसो प्रकट भइरहन्छ, र तिनीहरूका इच्छाहरू नियन्त्रण गर्न गाह्रो हुन्छ भने के गर्नुपर्छ? तिनीहरूलाई सीधै प्रतिबन्धित गर्नुपर्छ र बोल्नबाट रोक्नुपर्छ। यदि तिनीहरू बोल्दा कसैले पनि सुन्न मन पराउँदैन, र तिनीहरूको बोलीको भाव र व्यवहार, र तिनीहरूको आँखाको हेराइ, र तिनीहरूको हाउभाउ हेर्दा र सुन्दा सबैलाई घृणा लाग्छ भने, यो गम्भीर समस्या हो। यो त सबैलाई वितृष्णा गराउने अवस्थामा पुग्छ। मण्डलीमा प्रतिभारको भूमिका खेल्ने त्यस्ता मानिसहरू स्टेजबाट निस्किनुपर्दैन र? यतिखेर तिनीहरू आफ्नो भूमिकाबाट बाहिर निस्कने समय आएको हुन्छ। के यसले तिनीहरूले आफ्नो सेवा पूरा गरिसकेका छन् भन्ने अर्थ दिँदैन र? तिनीहरूले आफ्नो अन्तिम सेवा पूरा गरिसकेपछि के गर्नुपर्छ? तिनीहरूलाई सफाइ गरी हटाउनुपर्छ। तिनीहरूले बोल्न थाल्नेबित्तिकै, यो तिनीहरूको पुरानै गफ हुन्छ, जुन कुरालाई प्रतिबन्धले समेत रोक्न सक्दैन। यो कुरा सुनेर सबै थकित भइसकेका हुन्छन्। तिनीहरूको घृणित अनुहार, त्यो शैतानको, त्यो दुष्ट दियाबलसको अनुहार स्पष्ट हुन्छ। तिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्? तिनीहरू ख्रीष्टविरोधीहरू हुन्। यदि तिनीहरूलाई निकै चाँडै निकालियो भने, धेरैजसो मानिसहरूले धारणाहरू राख्छन् र हृदयमा विश्वस्त नभएर यसो भन्छन्, “परमेश्वरको घरमा प्रेमको कमी छ, उनीहरूले कसैलाई केही समय अवलोकन नै नगरी हटाउँछन् र पश्चात्ताप गर्ने कुनै मौका दिँदैनन्। तिनीहरूले बाहिरी मानिसहरूका केही शब्दहरू मात्रै बोले, अलिअलि भ्रष्ट स्वभाव प्रकट गरे, र अलिक अहङ्कारी भए, तर तिनीहरूको अभिप्राय खराब थिएन। तिनीहरूलाई यसरी व्यवहार गर्नु अनुचित हुन्छ।” तर जब धेरैजसोले दुष्ट मानिसहरूको सार चिन्न र देख्न सक्छन्, तब के त्यस्ता दुष्ट मानिसहरूलाई मण्डलीमा लापरवाह रूपमा दुष्कर्म, अवरोध र बाधाहरू जारी राख्न दिनु उचित हुन्छ? (हुँदैन।) सबै दाजुभाइ-दिदीबहिनीहरूप्रति यो अनुचित हुन्छ। त्यस्ता परिस्थितिहरूमा, तिनीहरूलाई निकाल्दा समस्या समाधान हुन्छ। तिनीहरूले आफ्नो अन्तिम सेवा दिएपछि र धेरैजसो मानिसहरूले तिनीहरूलाई चिनेपछि, तैँले तिनीहरूलाई निकाल्दा धेरैजसो मानिसहरूले आपत्ति जनाउनेछैनन्—तिनीहरूले परमेश्वरलाई गुनासो गर्ने वा गलत बुझ्नेछैनन्। यदि अझै पनि तिनीहरूलाई प्रतिरक्षा गर्ने मानिसहरू छन् भने, तैँले यसो भन्न सक्छस्: “त्यो व्यक्तिले मण्डलीमा धेरै दुष्कर्महरू गर्यो। उसलाई ख्रीष्टविरोधीको रूपमा चित्रण गरेर निकालिएको हो। तैपनि तिमी अझै त्यो व्यक्तिप्रति धेरै सहानुभूति देखाउँछौ; तिमी अझै उसले तिमीलाई देखाएको दयाबारे विचार गर्छौ, र उसको प्रतिरक्षा गर्छौ। तिमी अत्यन्तै भावुक भइरहेको छौ, र तिमीमा सिद्धान्तहरूको पूर्ण कमी छ। यसका परिणामहरू के हुन्छन्? उसले थोरै सहयोग गरेको थियो, र पनि त्यो तिमी बिर्सन सक्दैनौ; उसले जे भने नि, तिमी निष्ठापूर्वक पालना गर्छौ, र सधैँ उसको दयाको ऋण तिर्न चाहन्छौ। अहिले उसलाई निकालिइएको छ। के तिमी पनि ऊसँगै जान चाहन्छौ? यदि तिमी पनि निकालिन चाहन्छौ भने, त्यस्तै हुनेछ।” के यो परिस्थिति सम्हाल्ने उचित तरिका हो? यस विन्दुमा, यो उचित तरिका हो। यदि त्यस्ता मानिसहरूले अरूलाई बहकाउन निरन्तर शब्द र धर्मसिद्धान्तहरू बोल्छन्, मानिसहरूलाई अबदेखि भेलाहरूमा आउनै नचाहने गरी, असहनीय रूपमा बाधा दिन्छन् भने, के यो अगुवाहरू र कामदारहरू चेतनाशून्य र सुस्त भएकाले, र तिनीहरूमा समझशक्ति र यी मानिसहरूलाई समयमै सम्हाल्ने सक्षमता नभएकोले होइन र? यो तिनीहरूले काम गर्न र जिम्मेवारी पूरा गर्न नसक्नु हो।
अहिले, धेरैजसो मानिसहरूले शब्द र धर्मसिद्धान्तहरू बोल्ने ख्रीष्टविरोधीहरूबारे केही हदसम्म खुट्ट्याउने क्षमता प्राप्त गरेका छन्। तिनीहरूले टाउको नउठाए त ठीकै छ, तर तिनीहरूले टाउको उठाउनेबित्तिकै, विभिन्न तरिकाले ठेट रूपमा पर्याप्त हुने गरी काम गर्नेबित्तिकै, र मानिसहरूले तिनीहरूलाई ख्रीष्टविरोधी भनेर पहिचान गर्नलाई तिनीहरूका विभिन्न प्रकटीकरणहरू पर्याप्त हुनेबित्तिकै, थप ढिलाइ वा हिचकिचाहट गरिनु हुँदैन। तिनीहरूलाई तुरुन्तै प्रतिबन्धित र अलग गरिनुपर्छ। यदि तिनीहरूको सेवाको अब कुनै मूल्य छैन भने, तिनीहरूलाई तुरुन्तै निकाल्नुपर्छ। शब्द र धर्मसिद्धान्तहरू बोल्ने त्यस्ता ढोँगी ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन सजिलो हुन्छ, किनभने त्यस्ता मानिसहरू स्पष्ट रूपमै ख्रीष्टविरोधीहरू हुन्। यति हो, त्यस्तो ख्रीष्टविरोधीले शक्ति हातमा लिने आफ्नो उद्देश्य हासिल गर्न सधैँ अक्षर र धर्मसिद्धान्तहरू बोल्ने मौकाको फाइदा उठाएर मानिसहरूलाई बहकाउन चाहन्छ। ख्रीष्टविरोधीहरू प्रकट हुने एउटा तरिका यही हो, र यसलाई खुट्याउन सजिलो छ। यो विषयमा पहिले नै पर्याप्त छलफल भइसकेको छ, त्यसकारण यसलाई यहाँ विस्तृत रूपमा व्याख्या गरिनेछैन। सारांशमा भन्दा, अगुवाहरू र कामदारहरूले त्यस्ता मानिसहरूलाई निकै ध्यान दिनुपर्छ, तुरुन्तै र सही रूपले तिनीहरूका गतिविधिहरू, विचार, र दृष्टिकोण, साथै तिनीहरूका योजना र कार्य, र तिनीहरूले फैलाउने गलत टिप्पणीहरूलाई बुझ्नु र बोध गर्नुपर्छ, र त्यसैअनुसार तिनीहरूलाई तुरुन्तै तह लगाउनुपर्छ। यो अगुवाहरू र कामदारहरूको जिम्मेवारी हो। त्यसकारण, कम्तीमा पनि, अगुवाहरू र कामदारहरू यो काममा आत्मिक रूपमा तीक्ष्ण र मानसिक रूपमा सूक्ष्म हुनुपर्छ, सुन्न र सुस्त हुनु हुँदैन। यदि ख्रीष्टविरोधीले भेलाहरूमा शब्द र धर्मसिद्धान्तहरू बोलेर धेरै मानिसहरूलाई बहकाउँछ, र मण्डली अगुवाहरूले अझै पनि तिनीहरूलाई ख्रीष्टविरोधीको रूपमा पहिचान गरेर तुरुन्तै खुलासा गर्न र सम्हाल्न सक्दैनन् भने, यो तिनीहरू आफ्नो जिम्मेवारी पूरा गर्न असफल हुनु हो। यदि धेरै मानिसहरूलाई ख्रीष्टविरोधीहरूले पहिले नै बहकाएका छन्, र ख्रीष्टविरोधीहरूले शब्द र धर्मसिद्धान्तहरू बोलेको सुन्न नपाउँदा तिनीहरूलाई भेलाहरू अर्थहीन लाग्छ, र त्यसैले तिनीहरू भेलाहरूमा सहभागी हुन वा परमेश्वरका वचनहरू खान-पिउन र प्रवचनहरू सुन्नसमेत अनिच्छुक हुन्छन्, बरु ख्रीष्टविरोधीहरूकै प्रचार सुन्न मन पराउँछन् भने—यदि मानिसहरूलाई ख्रीष्टविरोधीहरूले यति हदसम्म बहकाएर नियन्त्रण गरिसकेपछि मात्रै मण्डली अगुवाहरूले परिस्थितिको गम्भीरता महसुस गरेर कार्य गर्न र परिस्थिति सुल्टाउन सुरु गर्छन् भने—यसले निकै ढिलाइ ल्याउनेछ! यस्ता झूटा अगुवाहरूको चेतनासून्यता र सुस्तताको कारण परमेश्वरका चुनिएका धेरै मानिसहरूको जीवन प्रवेशमा गम्भीर क्षति पुग्नेछ। जब ख्रीष्टविरोधीहरूलाई चिरफार गरिन्छ, खुट्ट्याइन्छ, र निकालिन्छ, तब कतिपय मानिसहरू बहकिएर तिनीहरूको पछि लाग्न सक्छन्। कतिले यसोसमेत भन्न सक्छन्, “तपाईंले तिनीहरूलाई निकाल्नुभयो भने, हामी परमेश्वरमा विश्वास गर्न छोड्नेछौँ। यदि तपाईंले तिनीहरूलाई जान दिनुभयो भने, हामी सबै जानेछौँ!” यस विन्दुमा, मण्डली अगुवाहरूले कुनै पनि वास्तविक काम गरिरहेका छैनन् भन्ने कुरा पूर्ण रूपमा स्पष्ट हुन्छ, र त्यो तिनीहरू आफ्नो जिम्मेवारी पूरा गर्न गम्भीर रूपमा असफल हुनु हो।
मण्डली जीवनमा, अगुवाहरू र कामदारहरूले गर्नुपर्ने पहिलो कुरा भनेको विभिन्न व्यक्तिको स्थितिमाथि पकड राख्नु हो। तिनीहरूले मण्डलीका हरेक सदस्यले कुन मार्ग लिएका छन् भनेर अवलोकन गरी बुझ्नुपर्छ र अन्तरक्रियाद्वारा तिनीहरूको स्वभाव सार के हो, र को ख्रीष्टविरोधीको बाटो हिँडिरहेको छ र कोसँग ख्रीष्टविरोधीको सार छ भनेर तुरुन्तै र सही रूपमा पत्ता लगाउनु र पहिचान गर्नुपर्छ। त्यसपछि, तिनीहरूले ती व्यक्तिहरूमा ध्यान दिनुपर्छ, तिनीहरूलाई नियाल्नुपर्छ, र तिनीहरूले फैलाउने दृष्टिकोण र अभिव्यक्तिहरू, र तिनीहरूले हाल के-कस्ता कार्यहरू अघि बढाउने तयारी गरिरहेका छन् भनेर तुरुन्तै बुझ्नु र पकड राख्नुपर्छ। जब तिनीहरूले मानिसहरूलाई बहकाउन, र फन्दामा पार्न र नियन्त्रण गर्न चाहन्छन्, तब अगुवाहरू र कामदारहरूले निष्क्रिय रूपमा पर्खेर बस्नुको सट्टा तिनीहरूलाई रोक्न तुरुन्तै खडा हुनुपर्छ। यदि तैँले परमेश्वरले तिनीहरूलाई प्रकाश गर्नुभइञ्जेलसम्म, वा विश्वासी दाजुभाइ-दिदीबहिनीहरू बहकाउमा परुन्जेलसम्म वा विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले ख्रीष्टविरोधीहरूबारे बुझ्ने र समझशक्ति प्राप्त गरुन्जेलसम्म पर्खिबस्छस्, र त्यसपछि मात्रै ख्रीष्टविरोधीलाई खुलासा गर्छस् भने, त्यसले मामलामा ढिलाइ गरिसकेको हुन्छ। त्यसकारण, ख्रीष्टविरोधीहरूविरुद्ध सतर्क हुँदा, अगुवाहरू र कामदारहरूले पहिले प्रहार गर्न अग्रसरता देखाउनुपर्छ र अग्रिम रूपमा तयारी गर्नुपर्छ। पहिलो कदम भनेको तुलनात्मक रूपमा सीधा र सत्यता खोजी गर्न सक्ने मानिसहरूलाई बढुवा गर्नु र तालिम दिनु हो; अर्थात्, विभिन्न कामहरूमा अगुवाको भूमिका लिने मानिसहरूलाई उचित रूपमा मलजल र आपूर्ति गर्नु, र तिनीहरूलाई मण्डलीका खम्बाहरू बन्न तालिम दिनु हो। यसरी मात्रै मण्डलीको कामका विभिन्न क्षेत्रहरू सहजसाथ र बिनाबाधा अघि बढ्न सक्छन्, र सुसमाचारको काम निरन्तर फैलिन सक्छ। यो जुनसुकै काम भए नि, यदि काममा असल अगुवाको कमी छ भने, यसलाई अघि बढाउन निकै गाह्रो हुन्छ। परमेश्वरविरुद्ध ख्रीष्टविरोधीहरूको प्रतिरोधको मुख्य प्रकटीकरण भनेको परमेश्वरको घरको कामको हरेक पक्षमा अवरोध गर्न र बाधा दिन परमेश्वरका चुनिएका मानिसहरूलाई बहकाएर तिनीहरूको पछि लाग्ने बनाउनु हो। मण्डलीमा, ख्रीष्टविरोधीहरूले राख्ने पहिलो उद्देश्य भनेको न्यायबोध भएका र कामका विभिन्न क्षेत्रहरूमा अगुवाको भूमिका लिनेहरूलाई हानि गर्नु हो। तिनीहरूले बहकाउन र नियन्त्रण गर्न सक्ने मानिसहरूलाई आफ्नो पक्षमा ल्याउँछन्, र बहकाउन वा नियन्त्रण गर्न नसक्ने मानिसहरूलाई षड्यन्त्रमा पार्छन्, फन्दामा पार्छन्, र ढाल्छन्, र अन्ततः तिनीहरूलाई सफाइ गरी निकाल्छन्। यसले ख्रीष्टविरोधीहरूको लागि मण्डली नियन्त्रण गर्न बाटो खोल्छ। तिनीहरूले सुरुमा सत्यता पछ्याउन सक्ने केही मुख्य व्यक्तिहरूलाई ढाल्छन्; बाँकी धेरैजसो मानिसहरू त परिस्थिति जता बग्छ त्यतै बग्ने मानिसहरू हुन्छन्। त्यसपछि, तिनीहरूलाई निर्दिष्ट रूपमै अगुवाहरू र कामदारहरू तह लगाउन निकै सजिलो हुन्छ। सत्यता पछ्याउनेहरूको सहकार्य र सहयोगविना, अगुवाहरू र कामदारहरूले आधारभूत रूपमा बिनाकुनै सहयोग एकलै लडिरहेका हुन्छन्। तँ ज्योतिमा हुन्छस्, जबकि ख्रीष्टविरोधीहरू अन्धकारमा लुकेर बस्छन्, र तँलाई कुनै पनि बेला धूर्त आक्रमण गर्न, फसाउन, फन्दामा पार्न, र बदनाम गर्न, तँलाई खडा हुन नसक्ने गरी प्रहार गरेर लडाउन तम्तयार हुन्छन्। त्यसपछि ती ख्रीष्टविरोधीहरूले तँ लडिरहेको बेला लात हान्ने मानिसहरू खोज्छन्, जसले गर्दा तँ पूर्ण रूपमा निरुत्साहित र हताश बन्न पुग्छस्। त्यसकारण, यदि सत्यता पछ्याउनेहरू तिनीहरूविरुद्ध एकजुट भएर लागेनन् भने, ख्रीष्टविरोधीहरूको समस्या पूर्ण रूपमा समाधान गर्न निकै गाह्रो हुन्छ। मण्डली जीवनमा, अगुवाहरू र कामदारहरूले गर्नुपर्ने पहिलो कुरा भनेको मण्डलीको सामान्य सुव्यवस्था कायम राख्नु हो। ख्रीष्टविरोधीहरूको मार्ग हिँड्ने यी दुष्ट मानिसहरू उपस्थित हुँदा, मण्डली जीवनबाट कुनै पनि असल परिणामहरू आउँदैनन्, मण्डली जीवन सजिलै सही मार्गमा जाँदैन, र धेरैजसो मानिसहरू बाधा र प्रभावमा पर्छन्। त्यसकारण, दुष्ट मानिसहरू, ख्रीष्टविरोधीहरू, र ख्रीष्टविरोधीहरूको बाटो हिँड्नेहरूलाई पत्ता लगाउनु, बुझ्नु, बोध गर्नु र औँल्याउनु नै अगुवाहरू र कामदारहरूले मण्डली जीवनको सन्दर्भमा गर्नुपर्ने पहिलो र सबैभन्दा महत्त्वपूर्ण काम हो। यी मानिसहरूलाई प्रतिबन्धित गरेर वा निकालेर मात्रै मण्डली जीवनको सामान्य सुव्यवस्था कायम राख्न सकिन्छ। यदि तिनीहरूलाई प्रतिबन्धित गरिएन र मनपरी गर्न र बाधा उत्पन्न गर्न दिइयो भने, मण्डलीको कामका विभिन्न कुराहरू ठप्प हुनेछन्। धेरैजसो मानिसहरू तिनीहरूलाई खुट्याउने समझशक्तिको कमी भएका र तिनीहरूको सार देख्न नसक्ने, र तिनीहरूका विभिन्न भ्रमपूर्ण विचार र दृष्टिकोणहरूद्वारा बाधामा पारिएका र बहकाइएका समेत हुने हुनाले, परमेश्वरका चुनिएका मानिसहरूलाई मण्डली जीवनमा सही मार्ग हिँड्न र सत्यता वास्तविकतामा प्रवेश गर्न गाह्रो हुन्छ। यदि यो अवधिमा मण्डली जीवन अत्यन्तै सामान्य छ, र परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरका वचनहरू खाने-पिउने र सत्यता सङ्गति गर्ने कार्यमा प्राप्ति र प्रगति गर्छन्, र तिनीहरूले अन्ततः केही जीवन प्रवेश र थोरथोरै सत्यता वास्तविकता प्राप्त गर्छन्, तर ख्रीष्टविरोधीहरूले बोल्ने शब्द र धर्मसिद्धान्तहरूद्वारा बहकाउ र बाधामा पर्छन् भने, तिनीहरूले भर्खरै प्राप्त गरेको त्यो थोरै शुद्ध बोध र साँचो बुझाइ गुमाउने मात्र नभई, तिनीहरूले धेरै किसिमका मिथ्या विधर्म र भ्रमहरू पनि धारण गर्छन्—माझीलाई नाउ खियाउन छोड्नेबित्तिकै छालले किनारमा पुर्याएजस्तै तिनीहरू तुरुन्तै फेरि अलमल्ल पर्छन्, र त्यो समस्याको कुरा हो। मानिसहरूलाई जीवन वृद्धि प्राप्त गर्न सजिलो छैन; थोरथोरै प्रगति देख्न पनि वर्षौँ लाग्न सक्छ, त्यो अत्यन्तै ढिलो कुरा हो। मानिसहरूले पाएको सानो कद प्राप्त गर्न पनि गाह्रो हुन्छ—त्यो सहजै प्राप्त हुँदैन। ख्रीष्टविरोधीहरूको बहकाउ र बाधाद्वारा मानिसहरूमा भएको थोरै शुद्ध बुझाइ पनि हराएको हुन्छ। अझै गम्भीर कुरा त, शैतान र ख्रीष्टविरोधीहरूको बाधापछि, मानिसहरू एकदमै धेरै रूपमा शैतानको दर्शन, शैतानका युक्ति र चलाकीहरू, र शैतानले तिनीहरूमा हालिदिएको विषद्वारा भरिएका हुन्छन्। यी कुराहरूले मानिसहरूलाई परमेश्वरलाई चिन्न र उहाँमा समर्पित हुन नदिने मात्र होइन, बरु उल्टै मानिसहरूलाई परमेश्वरबारे धारणा र गलतफहमीहरू विकास गर्न, र उहाँबाट टाढा जान लगाउँछन्, जसले गर्दा मानिसहरूको भ्रष्ट स्वभाव अझै गम्भीर हुन्छ, र परमेश्वरप्रति तिनीहरूको धोका अझै सबल बन्छ। यसका परिणामहरू अत्यन्तै गम्भीर हुन्छन्। मलाई भन् त, यस्ता गम्भीर परिणामहरू सामना गर्दा, के मानिसहरूलाई शब्द र सिद्धान्तहरूद्वारा बहकाउनेहरूलाई रोक्नु र प्रतिबन्धित गर्नु अत्यावश्यक हुन्न र? के यो मण्डली अगुवाहरूले लिनुपर्ने महत्त्वपूर्ण काम होइन र? (हो।) त्यसकारण, दुष्ट मानिसहरू र अविश्वासीहरूलाई प्रतिबन्धित गर्नु मण्डलीको महत्त्वपूर्ण काम हो। कतिपय मानिसहरूले भन्छन्, “ममा खुट्ट्याउने क्षमता छैन। यो काम कसरी गर्ने मलाई थाहा छैन।” वास्तवमा, जबसम्म तँसँग इच्छा हुन्छ, र जबसम्म तैँले ध्यान दिएर अवलोकन गर्छस्, र सधैँ मानिसहरूका अभिप्राय र मनसायहरू जाँच्छस्, तबसम्म तैँले क्रमिक रूपमा खुट्ट्याउने क्षमता विकास गर्नेछस्। यी अविश्वासी र दुष्ट मानिसहरू देखा पर्नेबित्तिकै, तिनीहरूका आफ्नै अभिप्राय र मनसायहरू हुन्छन्, र त्यो सबै मानिसहरूलाई तिनीहरूलाई सम्मान गर्न र पुज्न लगाउने, र तिनीहरूका कुरा सुन्न लगाउने उद्देश्यमा केन्द्रित हुन्छन्। यदि तैँले तिनीहरूको अभिप्राय र मनसाय थाहा पाउन सक्छस् भने, यो पहिले नै केही खुट्ट्याउने क्षमता प्राप्त गरेको अवस्था हो। यदि तँ पक्का छैनस् भने, तैँले यो विषयमा तुलनात्मक रूपमा अलिक बढी सत्यता बुझ्ने केही मानिसहरूसँग सङ्गति गर्न सक्छस्। सङ्गतिको अवधिमा, एकतर्फ, तैँले सबैले बुझेको सत्यता र पकडमा राखेका विभिन्न तथ्यहरूको आधारमा यो कुरा निर्धारित गर्न सक्छस्। अर्कोतर्फ, तैँले सङ्गतिको बेला परमेश्वरले दिनुभएको अन्तर्दृष्टि र अगुवाइ र ज्योतिद्वारा यो मामलाबारे सुनिश्चितता प्राप्त गर्न सक्छस्, र यसरी तैँले सम्बन्धित व्यक्ति साँच्चै ख्रीष्टविरोधी र साँच्चै प्रतिबन्धित गरिनुपर्ने व्यक्ति हो कि होइन भनेर निश्चित गर्न सक्छस्। सङ्गतिद्वारा, यदि सबैले सुनिश्चितता प्राप्त गर्छन् र यो व्यक्ति साँच्चै नै प्रतिबन्धित गरिनुपर्ने ख्रीष्टविरोधी हो भनेर सर्वसम्मतिले सहमति जनाउँछन् भने—विश्वासी दाजुभाइ-दिदीबहिनीहरूसँग सहमतिमा पुगेपछि र सबै जना साझा दृष्टिकोणमा पुगेपछि—अगुवाहरू र कामदारहरूले लिनुपर्ने अर्को कदम भनेको यो व्यक्तिलाई सत्यता सिद्धान्तहरूअनुसार तुरुन्तै तह लगाउनु र सफाइ गरी निकाल्नु हो। सिद्धान्त यही हो। मानिसहरूले यो सिद्धान्त बुझेपछि, तिनीहरूले वास्तविक काम गर्नुपर्छ, जसको अर्थ आफ्नो जिम्मेवारी पूरा गर्नु र बफादार हुनु हो। सिद्धान्तहरू बुझ्नु भनेको प्रचार गर्न वा मस्तिष्क भर्नको लागि होइन, बरु आफ्नो कर्तव्यको वास्तविक काममा लागू गर्नको लागि हो। वास्तविक काममा, सिद्धान्तहरू बुझ्नाले तैँले आफ्नो जिम्मेवारी र दायित्वहरू अझै राम्ररी र अझै पूर्ण रूपमा पूरा गर्न सक्छस्। त्यसकारण, यो पनि अगुवाहरू र कामदारहरूको कामको भाग हो। मण्डली जीवनको सामान्य सुव्यवस्था कायम राख्नको लागि र विश्वासी दाजुभाइ-दिदीबहिनीहरूलाई मण्डली जीवन सामान्य रूपमा जिउन र परमेश्वरले तोक्नुभएका सबै सत्यताहरूमा प्रवेश गर्न दिनको लागि, जब शब्द र धर्मसिद्धान्तहरू बोल्ने ख्रीष्टविरोधीहरू देखा पर्छन्, तब अगुवाहरू र कामदारहरूले नै पहिले खडा भएर तिनीहरूलाई रोक्नु र प्रतिबन्धित गर्नुपर्छ। शब्द र धर्मसिद्धान्तहरू बोल्ने ख्रीष्टविरोधीहरूको हकमा, यो कुरा तिनीहरूले केही गलत कुराहरू भनेको कारण तिनीहरूलाई प्रतिबन्धित गर्नु मात्र होइन। यदि तिनीहरू साँच्चै नै ख्रीष्टविरोधी प्रकारका मानिसहरू हुन् भनेर निर्धारण गर्नका लागि दीर्घकालीन अवलोकन वा बहुसंख्यकको प्रतिक्रिया र तिनीहरूको विशिष्ट प्रकटीकरणहरू पर्याप्त छन् भने, अगुवाहरू र कामदारहरूले तिनीहरूलाई रोक्न र प्रतिबन्धित गर्न अग्रसरता जनाउनुपर्छ, र तिनीहरूलाई बिनानियन्त्रण रहन दिनु हुँदैन। तिनीहरूलाई प्रश्रय दिनु भनेको मण्डलीमा दियाबलसहरू, शैतानहरू, अशुद्ध आत्माहरू, र दुष्ट आत्माहरूलाई उन्मत्त हुन दिनुसरह हो, जसको अर्थ त्यस्ता अगुवाहरू र कामदारहरूले आफ्नो जिम्मेवारी बेवास्ता गरिरहेका हुन्छन्, र आधारभूत रूपमा शैतानको लागि काम गरिरहेका हुन्छन्। मण्डली जीवनका अवरोध र बाधाहरूबारे दोस्रो प्रकारको समस्याको सम्बन्धमा गरिएको सङ्गति अहिले यहीँ समाप्त हुन्छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।