अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१२) खण्ड दुई
भेटीहरू सुरक्षित गर्ने सम्बन्धमा अगुवा र कामदारहरूका जिम्मेवारीहरू
अ. भेटीहरू उचित रूपमा सुरक्षित गर्ने
यसपछि, हामी भेटीहरू सुरक्षित गर्ने सम्बन्धमा अगुवा र कामदारहरूले ठ्याक्कै के-कस्ता जिम्मेवारीहरू पूरा गर्नुपर्छ भनेर हेर्नतिर लाग्नेछौँ। भेटीहरूका हकमा, अगुवा र कामदारहरूले सुरुमा भेटीहरू के हुन् भनेर बुझ्न जरुरी छ। जब मानिसहरूले आफूले पाएको चीजको दशांश चढाउँछन्, तब त्यो भेटी हुन्छ; जब उनीहरूले परमेश्वरलाई पैसा वा वस्तुहरू चढाउँदै छु भनेर प्रस्ट रूपमा भन्छन्, तब ती भेटी हुन्छन्; जब उनीहरूले मण्डली वा परमेश्वरको घरलाई कुनै चीज चढाउँदै छु भनेर प्रस्ट रूपमा भन्छन्, तब त्यो भेटी हुन्छ। भेटीहरूको परिभाषा र अवधारणा बुझिसकेपछि, अगुवा र कामदारहरूले मानिसहरूले चढाउने भेटीहरूलाई प्रस्टसँग बोध गर्नैपर्छ र तिनलाई व्यवस्थापन गर्नैपर्छ, र यस सम्बन्धमा उचित जाँच अघि बढाउनैपर्छ। सुरुमा, उनीहरूले व्यवस्थित रूपमा भेटीहरूको अभिलेख राख्ने र भेटीहरू सुरक्षित गर्ने संरक्षकका रूपमा कार्य गर्नका लागि मानकअनुरूपको मानवता भएका भरपर्दा मानिसहरू खोज्नुपर्छ। यो नै अगुवा र कामदारहरूले गर्नैपर्ने कामभित्रको पहिलो कार्य हो। भेटीहरूका यी संरक्षकहरू औसत क्षमता भएका र अगुवा वा कामदार बन्न असक्षम हुन सक्छन्, तर उनीहरू भरपर्दा हुनेछन् र उनीहरूले केही पनि हिनामिना गर्नेछैनन्, भेटीहरू उनीहरूको स्वामित्वमा हुँदा ती हराउनेछैनन् वा मिसमास हुनेछैनन्, र तिनको उचित रूपमा सुरक्षा गरिनेछ। यसका लागि कामका प्रबन्धहरूमा नियमहरू छन्। मानकअनुरूपको मानवता भएको भरपर्दो व्यक्तिबाहेक कसैलाई पनि यो काम दिइनु हुँदैन। कमजोर मानवता भएका मानिसहरूले केही राम्रो चीज देख्दा, तिनीहरूमा त्यसको लोभ जाग्छ, र तिनीहरू सधैँ तिनलाई आफै लिने मौका खोजिरहेका हुन्छन्। चाहे जेसुकै होस्, तिनीहरूले सधैँ फाइदा लिन खोजिरहेका हुन्छन्। त्यस्ता मानिसहरूलाई प्रयोग गर्न मिल्दैन। मानकअनुरूपको मानवता भएको व्यक्ति कम्तीमा पनि इमानदार, र मानिसहरूले भरोसा गर्ने व्यक्ति हुनैपर्छ। उनीहरूलाई भेटीहरू सुरक्षित गर्ने वा मण्डलीका सम्पत्तिहरूको व्यवस्थापन गर्ने जिम्मेवारी दिइएमा, उनीहरूले त्यो राम्रोसँग, मिहिन रूपमा, लगनसाथ, र ठूलो सावधानी अपनाएर गर्नेछन्। उनीहरूमा परमेश्वरको डर मान्ने हृदय हुन्छ र उनीहरूले यी चीजहरू दुरुपयोग गर्ने, पैँचो दिने, आदि इत्यादि गर्नेछैनन्। सङ्क्षेपमा भन्दा, तैँले भेटीहरू उनीहरूको हातमा सुम्पेपछि न त एक पैसा, न त एउटा चीज नै हराउनेछ भनेर ढुक्क हुन सक्छस्। यस्तो व्यक्ति फेला पार्न जरुरी छ। यसबाहेक, परमेश्वरको घरको नियम के छ भने, यस्तो एक जना व्यक्ति मात्र खोज्ने होइन; दुई वा तीन जना खोज्नु उत्तम हुन्छ—जसमध्ये केहीले अभिलेख राख्छन् र केहीले सुरक्षा गर्ने काम गर्छन्। यस्ता मानिसहरू फेला परिसकेपछि, भेटीहरूलाई वर्गीकृत गरिनुपर्छ, र कसले कुन वर्गको वस्तुको सुरक्षा गरिरहेको छ, र उसले कति सुरक्षा गरिरहेको छ भन्ने कुराका व्यवस्थित अभिलेखहरू राखिनुपर्छ। के उपयुक्त मानिसहरू फेला पारेर वस्तुहरू सुरक्षित गरी वर्गहरूमा दर्ता गरिसकेपछि काम सकिन्छ? (सकिँदैन।) त्यसोभए, त्यसपछि के गरिनुपर्छ? आय र व्ययका खाताहरू हरेक तीनदेखि पाँच महिनामा जाँचेर ती सही छन् कि छैनन्—अर्थात्, अभिलेख राख्ने व्यक्तिले सही अभिलेख राखेको छ कि छैन, दर्ता गर्दा केही कुरा छुटेको छ कि छैन, आय र व्ययका खाताहरूसँग कूल रकम मिलेको छ कि छैन, आदि इत्यादि कुराहरू हेरिनुपर्छ। यस्तो लेखासम्बन्धी काम सावधानीपूर्वक गरिनुपर्छ। यस्तो काममा खासै दखल नभएका अगुवा र कामदारहरूले यसमा तुलनात्मक रूपमा निपुण व्यक्तिको बन्दोबस्त गरेर यसलाई अघि बढाउनुपर्छ, र त्यसपछि नियमित निरीक्षणहरू गर्ने र उनीहरूका रिपोर्टहरू सुन्ने गर्नुपर्छ। सारांशमा भन्नुपर्दा, उनीहरू आफैले लेखा र समग्र योजनासम्बन्धी काम बुझे पनि वा नबुझे पनि, भेटीहरू सुरक्षित गर्ने कामलाई यतिकै छोड्न मिल्दैन, न त त्यसलाई बेवास्ता गर्न र त्यसबारे सोधखोज नै नगर्न मिल्छ। बरु, उनीहरूले नियमित निरीक्षणहरू गर्नैपर्छ, जाँच गरिएका खाताहरू कस्ता छन् र ती मिलेका छन् कि छैनन् भनी सोधखोज गरिरहनुपर्छ, र त्यसपछि हालको खर्चको स्थिति कस्तो छ, कुनै फजुल खर्च भएको छ कि छैन, बहीखाताको कार्य कुन अवस्थामा छ, र आयहरू व्ययसँग मेल खान्छन् कि खाँदैनन् भनी हेर्न केही व्ययका अभिलेखहरूको नमुना जाँच गर्नुपर्छ। अगुवा र कामदारहरूले यी परिस्थितिहरूमाथि दरिलो पकड राख्नुपर्छ। यो भेटीहरू सुरक्षित गर्नेसम्बन्धी एउटा कार्य हो। के तिमीहरू यो काम सजिलो छ भनेर भन्छौ? के त्यसमा एक हदसम्म चुनौती छ? कतिपय अगुवा र कामदारहरू यसो भन्छन्, “मलाई सङ्ख्याहरू मन पर्दैन; ती देख्दा मेरो टाउको दुख्छ।” ठिक छ, त्यसोभए तँलाई निरीक्षण र सुपरिवेक्षणमा सहयोग गर्ने एउटा उपयुक्त व्यक्ति फेला पार्; अनि यी कुराहरूको जाँच गर्न उसको मद्दत लि। तँलाई यो काम मन नपर्न सक्ला वा तँ यो काममा दक्ष नहोलास्, तर यदि तैँले मानिसहरूलाई प्रयोग गर्न जानेको छस् र सही तरिकाले त्यसो गर्छस् भने, तैँले अझै पनि यो काम राम्ररी गर्न सक्नेछस्। यो काम गर्न उपयुक्त मानिसहरू प्रयोग गरिस् भने, तैँले केवल उनीहरूका रिपोर्टहरू सुने हुन्छ। यसो गरे पनि हुन्छ। यो सिद्धान्त पालन गर्: यो कामको जिम्मा लिने व्यक्तिसँग सबै सुरक्षित सम्पत्तिहरूको नियमित जाँच र मिलान गर्, र त्यसपछि महत्त्वपूर्ण खर्चहरूबारे केही प्रश्नहरू सोध्—के तैँले यो हासिल गर्न सक्छस्? (सक्छु।) अगुवा र कामदारहरूले यो काम गर्न किन जरुरी छ? किनभने यो भेटीहरू सुरक्षित गर्नु हो—यो तेरो जिम्मेवारी हो।
मानिसहरूले परमेश्वरलाई चढाउने भेटीहरू परमेश्वरले उपभोग गर्नका लागि हो, तर के उहाँले ती उपभोग गर्नुहुन्छ र? के परमेश्वरका लागि यो पैसा र यी वस्तुहरूको कुनै उपयोगिता छ? के परमेश्वरलाई चढाइएका यी भेटीहरू सुसमाचारको काम फैलाउनमा प्रयोग गर्नका निम्ति होइनन् र? के ती परमेश्वरको घरको कामका सबै खर्चहरू वहन गर्नका निम्ति होइनन् र? ती परमेश्वरको घरको कामसँग सम्बन्धित छन्, त्यसैले भेटीहरूको व्यवस्थापन र खर्च दुवैमा अगुवा र कामदारहरूका जिम्मेवारीहरू हुन्छन्। त्यो पैसा जसले चढाउने भए पनि वा ती वस्तुहरू जहाँबाट आउने भए पनि, यदि ती परमेश्वरको घरका हुन् भने, तैँले तिनलाई राम्ररी व्यवस्थापन गर्नुपर्छ, र तैँले त्यो कामको अनुगमन र निरीक्षण गर्नुपर्छ, र त्यसबारे चासो राख्नुपर्छ। यदि परमेश्वरलाई चढाइएका भेटीहरू परमेश्वरको सुसमाचारको काम फैलाउनका लागि उचित रूपमा खर्च गर्न सकिएन, बरु जथाभावी फजुलमा उडाइयो र खेर फालियो, वा दुष्ट मानिसहरूद्वारा खोसियो वा कब्जासमेत गरियो भने, के त्यो उचित हो त? के त्यो अगुवा र कामदारहरूको जिम्मेवारीविमुखता होइन र? (हो।) यो उनीहरूको जिम्मेवारीविमुखता हो। त्यसैले, अगुवा र कामदारहरूले यो काम गर्नैपर्छ। यो उनीहरूका लागि अपरिहार्य कुरा हो। भेटीहरूको राम्ररी व्यवस्थापन गर्नु, तिनलाई सुसमाचारको काम फैलाउनमा र परमेश्वरको व्यवस्थापनसम्बन्धी कुनै पनि काममा सही तरिकाले प्रयोग हुन सक्षम तुल्याउनु अगुवा र कामदारहरूको जिम्मेवारी हो, र यसलाई बेवास्ता गर्नु हुँदैन। दाजुभाइ-दिदीबहिनीहरूले परमेश्वरलाई चढाउनका लागि निकै मेहनत गरेर जसोतसो अलिकति पैसा बचाउँछन्। मानौँ, अगुवा र कामदारहरू कर्तव्यमा लापरवाह र बेपरवाह भएर, यो पैसा दुष्ट मानिसहरूको हातमा पर्छ—दुष्ट मानिसहरूले त्यो सबै अन्धाधुन्ध उडाउँछन् र खेर फाल्छन्, वा कब्जासमेत गर्छन्। परिणामस्वरूप, अगुवा र कामदारहरूसँग यात्रा वा जीवनयापनको खर्चका लागि पर्याप्त पैसा हुँदैन, र परमेश्वरका वचनहरूका पुस्तकहरू छाप्ने वा आवश्यक उपकरण र सामग्रीहरू किन्ने समय आउँदा पनि पर्याप्त पैसा हुँदैन। के यसले काममा ढिलाइ गराइरहेको हुँदैन र? जब दाजुभाइ-दिदीबहिनीहरूले चढाएको पैसा उचित प्रयोगमा लगाउनुको साटो दुष्ट मानिसहरूको कब्जामा पुग्छ, अनि जब परमेश्वरको घरको कामका लागि पैसा खर्च गर्नुपर्ने हुन्छ, तर पैसा पर्याप्त हुँदैन, तब के काममा अवरोध पुगेको हुँदैन र? के अगुवा र कामदारहरू आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएका हुँदैनन् र? (हो।) अगुवा र कामदारहरूले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेर भेटीहरूको राम्रो व्यवस्थापन नगरेका कारण, र उनीहरू असल प्रबन्धक नबनेका वा उनीहरूले यस कामका सम्बन्धमा आफ्नो जिम्मेवारी पूरा गर्न मन नलगाएका कारण, भेटीहरूमा क्षति पुगेको हुन्छ र मण्डलीका कतिपय काम ठप्प भएको वा केही समयका लागि रोकिएको हुन्छ। के यसका लागि अगुवा र कामदारहरूले ठूलो जिम्मेवारी वहन गरेका हुँदैनन् र? यो अधर्म हो। तैँले यी भेटीहरू कब्जा गरेको, उडाएको वा खेर फालेको छैनस् होला, र तिनलाई आफ्नै गोजीमा हालेको छैनस् होला, तर यो परिस्थिति तेरो लापरवाही र जिम्मेवारीविमुखताका कारण सिर्जना भएको छ। के तैँले यसको जिम्मेवारी वहन गर्नुपर्दैन र? (पर्छ।) यो वहन गर्नका लागि निकै ठूलो जिम्मेवारी हो!
आ. खाताहरू जाँच्ने
आफ्नो काममा, विभिन्न कामका प्रबन्धहरू उचित तरिकाले कार्यान्वयन गर्ने र समस्याहरू समाधान गर्नका लागि सत्यता सङ्गति गर्न सक्षम हुने बाहेक, अगुवा र कामदारहरूले भेटीहरू पनि राम्ररी सुरक्षित गर्नुपर्छ। उनीहरूले भेटीहरूको व्यवस्थित व्यवस्थापन गर्नका लागि परमेश्वरको घरका मागहरूअनुसार उपयुक्त मानिसहरू फेला पार्नुपर्छ, र बेलाबेलामा खाताहरू जाँच्नुपर्छ। कतिपयले सोध्छन्, “परिस्थितिहरूले साथ दिँदैनन् भने, म कसरी तिनको जाँच गर्न सक्छु?” “परिस्थितिहरूले साथ दिँदैनन्”—के त्यो खाताहरूको जाँच नगर्नुको कारण हो? परिस्थितिहरूले साथ नदिँदा पनि तैँले तिनलाई जाँच्न सक्छस्; यदि तँ आफै जान सक्दैनस् भने, तैँले भरपर्दो, उपयुक्त व्यक्तिलाई सुपरिवेक्षण गर्न पठाउनुपर्छ, र संरक्षकले सुहाउँदो तरिकाले भेटीहरूको सुरक्षा गरिरहेको छ कि छैन, खाताहरूमा कुनै अन्तरहरू छन् कि छैनन्, संरक्षक भरपर्दो छ कि छैन, हालसालै उसको स्थिति कस्तो रहिआएको छ र ऊ नकारात्मक बनेको छ कि छैन, निश्चित परिस्थितिहरू सामना गर्दा उसलाई डर महसुस भयो कि भएन, र धोकाको सम्भावना छ कि छैन भनी हेर्न लगाउनुपर्छ। मानौँ तैँले उसको परिवारलाई पैसाको अभाव छ भन्ने सुनिस् रे—के उसले भेटीहरू दुरुपयोग गर्न सक्ने सम्भावना छ? सङ्गति र परिस्थितिको जाँचबुझमार्फत, तैँले संरक्षक निकै भरपर्दो भएको, उसलाई भेटीहरू छुनु हुँदैन भन्ने थाहा भएको, र उसको परिवारलाई पैसाको जतिसुकै अभाव भए पनि उसले भेटीहरूमा हात नहालेको देख्न सक्छस्, अनि लामो अवधिको अवलोकनमार्फत त्यो संरक्षक पूर्णतया भरपर्दो रहेको प्रमाणित गर्न सकिन्छ। यसबाहेक, भेटीहरू राखिएको घरवरपरको वातावरण खतरनाक छ कि, कुनै दाजुभाइ-दिदीबहिनीहरू ठूलो रातो अजिङ्गरद्वारा पक्राउ गरिएका छन् कि, भेटीहरूको संरक्षकले कुनै खतरा सामना गरेको छ कि, भेटीहरू उपयुक्त ठाउँमा भण्डारण गरिएका छन् कि छैनन्, र तिनलाई अर्को ठाउँमा सार्नुपर्छ कि पर्दैन भनी जाँच्न जरुरी हुन्छ। संरक्षकहरूको घरका वातावरण र परिस्थितिहरू बारम्बार निरीक्षण गरिनुपर्छ, ताकि कुनै पनि समयमा उचित प्रतिक्रिया र योजनाहरू बनाउन सकियोस्। यसो गर्ने क्रममा, तैँले कुन समूहहरूले हालसालै नयाँ उपकरणहरू प्राप्त गरेका छन्, र ती उपकरणहरू कसरी प्राप्त भएका थिए भनेर बारम्बार सोधपुछ गर्नुपर्छ। यदि ती उपकरणहरू किनिएका भए, ती खरिद गर्नुअघि कसैले आवेदनहरूको पुनरावलोकन गरेर तिनमा हस्ताक्षर गरेको थियो कि थिएन, ती उच्च मूल्यमा किनिएका थिए कि उचित बजार मूल्यमा किनिएका थिए, अनावश्यक पैसा खर्च गरियो कि गरिएन भन्नेजस्ता कुराहरू तैँले सोध्नुपर्छ। मानौँ कि खाताहरूको जाँच र पुनरावलोकनमार्फत तिनमा कुनै पनि समस्याहरू भेटिएनन्, तर कतिपय खरिदकर्ताहरूले बारम्बार भेटीहरू फजुल तरिकाले उडाउँदा रहेछन्। त्यस्ताहरूले कुनै चीज जति नै महँगो भए पनि त्यही किन्नेछन्; यसबाहेक, तिनीहरूलाई कुनै सामानमा छूट लाग्नेछ, त्यसको मूल्य घट्नेछ भनेर राम्रोसँग थाहा हुन्छ, तर तिनीहरू पर्खँदैनन्, बरु तुरुन्तै त्यो सामान किन्नेछन्, र तिनीहरूले राम्रा, उच्चस्तरीय, र सबैभन्दा नयाँ मोडेलका सामानहरू किन्नेछन्। ती खरिदकर्ताहरूले सिद्धान्तहीन र फजुलखर्ची ढङ्गले पैसा खर्च गर्छन्, र यसरी परमेश्वरको घरका लागि सरसामान किन्छन्, मानौँ तिनीहरू आफ्नो शत्रुका लागि काम गरिरहेका छन्। तिनीहरूले कहिल्यै सिद्धान्तहरूबमोजिम व्यावहारिक सरसामानहरू किन्दैनन्, बरु कुनै पनि स्टोर खोजेर मूल्य र गुणस्तरको परवाह नगरी सिधै सरसामान किन्छन्। अनि सामानहरू ल्याइसकेपछि, ती केही दिन प्रयोग गर्दैमा बिग्रिन्छन्, र यी खरिदकर्ताहरूले बिग्रेपछि तिनलाई बनाउँदैनन्, बरु नयाँ किन्छन्। यदि खाताहरूको जाँच गर्दा र आर्थिक खर्चहरूको पुनरावलोकन गर्दा, केही मानिसहरूले गम्भीर रूपमा भेटीहरू उडाउँदै र खेर फाल्दै आएको भेटिएमा, यसलाई कसरी सम्हाल्नुपर्छ? के ती मानिसहरूलाई अनुशासनात्मक चेतावनी दिनुपर्छ, कि क्षतिपूर्ति तिर्न लगाउनुपर्छ? अवश्य नै दुइटै जरुरी हुन्छन्। यदि तिनीहरूको हृदय सही ठाउँमा नभएको, तिनीहरू गैरविश्वासी र अविश्वासी भएको, र तिनीहरू दियाबलस भएको पाइएमा, उक्त समस्या तिनीहरूलाई अनुशासनात्मक चेतावनी दिएर वा काटछाँट गरेर मात्र समाधान गर्न सकिँदैन। सत्यतामा जसरी सङ्गति गरे पनि त्यो तिनीहरूले स्विकार्नेछैनन्; तिनीहरूलाई जसरी काटछाँट गरे पनि तिनीहरूले त्यसलाई गम्भीर रूपमा लिनेछैनन्। यदि तिनीहरूलाई क्षतिपूर्ति तिर्न लगाइयो भने, तिनीहरूले तिर्नेछन्, तर भविष्यमा त्यसरी नै व्यवहार गर्न जारी राख्नेछन्, र तिनीहरू बदलिनेछैनन्। तिनीहरूले निश्चय नै परमेश्वरको घरका मागहरूबमोजिम कार्य गर्नेछैनन्; बरु, तिनीहरूले मनमौजी, असावधान, र सिद्धान्तहीन ढङ्गले कार्य गर्नेछन्। यसप्रकारको व्यक्तिलाई कसरी सम्हाल्नुपर्छ? के तिनीहरूलाई भविष्यमा प्रयोग गर्न सकिन्छ? तिनीहरूलाई प्रयोग गरिनु हुँदैन; यदि गरिन्छ भने, यसको मतलब अगुवा र कामदारहरू अत्यन्तै मूर्ख छन्—तिनीहरू अत्यन्तै बेवकुफ छन्! जब त्यस्ता अविश्वासीहरू पत्ता लाग्छन्, तब तिनीहरूलाई बर्खास्त गरिनुपर्छ, हटाइनुपर्छ, र मण्डलीबाट तुरुन्तै पखालेर फालिनुपर्छ। तिनीहरू सेवा प्रदान गर्न समेत योग्य छैनन्—तिनीहरू त्यसो गर्न अयोग्य छन्!
जब अगुवा र कामदारहरूले खाता र खर्चहरू जाँचिरहेका हुन्छन्, उनीहरूले फजुल खर्च र नाश वा केही अनुचित खर्चका मामिलाहरू मात्र फेला पार्ने नभई, यस्तो काम गर्ने केही मानिसहरूको चरित्र निकृष्ट भएको, तिनीहरू नीच र स्वार्थी रहेको, र तिनीहरूले मण्डलीको काममा घाटा पुर्याएको कुरासमेत पत्ता लाउन सक्छन्। यदि तैँले यस किसिमको परिस्थिति पत्ता लगाइस् भने, त्यसलाई कसरी सम्हाल्नुपर्छ? त्यसलाई सम्हाल्न सजिलो छ: तैँले त्यसलाई ठाउँको ठाउँ सम्हाल्ने र समाधान गर्ने गर्नुपर्छ—ती मानिसहरूलाई बर्खास्त गरिहाल्, त्यसपछि उक्त काम गर्नका लागि उपयुक्त मानिसहरू छान्। उपयुक्त मानिसहरू भनेका तिनै हुन् जसको मानवता मानकअनुरूप छ, जसमा विवेक र समझ छ, र जो परमेश्वरको घरका सिद्धान्तहरूअनुसार कामकुरा सम्हाल्न सक्षम छन्। जब तिनीहरूले परमेश्वरको घरका लागि किनमेल गर्छन्, तिनीहरूले किफायती वस्तुहरू किन्छन्, जुन तुलनात्मक रूपमा व्यावहारिक र टिकाउ पनि हुन्छन्, र जुन किन्नैपर्ने चीजहरू हुन्छन्। तिनीहरू सस्तो वस्तुहरू मात्र किन्न लिँडेढिपी गर्दैनन्, तर सबैभन्दा महङ्गा वस्तुहरू नै किन्न पनि आवश्यक ठान्दैनन्; समान किसिमका वस्तुहरूको समूहमा तिनीहरूले राम्रो समीक्षा र प्रतिष्ठा भएका, साथै उपयुक्त मूल्य भएका वस्तुहरू छान्छन्, र अवश्य नै, यदि ती वस्तुहरूको वारेन्टी अवधि लामो छ भने, त्यो अझ राम्रो हुन्छ। तैँले परमेश्वरको घरका लागि किनमेल गर्न यस्तै किसिमको व्यक्ति फेला पार्नैपर्छ। तिनीहरू हृदयमा सही हुनुपर्छ, र तिनीहरूले आफ्ना कार्यहरूमा परमेश्वरको घरलाई ख्याल गर्नुपर्छ, र कामकुराहरूबारे गहन रूपमा सोच्नुपर्छ; तिनीहरूले कामकुराहरू पनि परमेश्वरको घरका मागहरूअनुसार सम्हाल्नुपर्छ, अनेकार्थक कुरा नगरी र प्रस्टतासाथ शिष्ट रूपमा कार्य गर्ने र आफूलाई आचरणमा ढाल्ने गर्नुपर्छ। तैँले त्यस्तो व्यक्ति फेला पारिसकेपछि, तिनीहरूलाई परमेश्वरको घरका केही कामकुराहरू सम्हाल्न लगा, अनि तिनीहरूलाई नियालेर हेर्। यदि तिनीहरू तुलनात्मक रूपमा उपयुक्त देखिन्छन् भने, तिनीहरूलाई प्रयोग गर्न सकिन्छ। तर त्यसको प्रबन्ध गरेपछि पनि कुरा त्यतिमै टुङ्गिँदैन—भविष्यमा, तैँले तिनीहरूसँग भेटघाट गरिरहनुपर्छ, सङ्गति गरिरहनुपर्छ, र तिनीहरूको कामको निरीक्षण गरिरहनुपर्छ। कतिले सोध्छन्, “के तिनीहरूलाई भरोसा गर्न नसकिने भएर त्यसो गर्नुपर्ने हो?” त्यो पूर्णतया भरोसाको कमीले गर्दा होइन—कहिलेकाहीँ, तिनीहरू भरोसायोग्य नै भए पनि निरीक्षण त गर्नैपर्ने हुन्छ। अनि केको निरीक्षण गर्नुपर्छ त? तिनीहरूले सिद्धान्तहरू नबुझेका परिस्थितिहरूमा तिनीहरूको अभ्यासमा विचलनहरू आएका छन् कि वा तिनीहरूले विकृत बुझाइ पालेका छन् कि भनेर हेर्। जाँच गरेर तिनीहरूलाई मद्दत गर्न जरुरी हुन्छ। उदाहरणका लागि, मानौँ तिनीहरूले बजारमा एकदमै प्रख्यात सामान उपलब्ध छ भनेर भन्छन्, तर तिनीहरूलाई परमेश्वरको घरका लागि त्यो उपयोगी छ कि छैन भन्ने थाहा छैन, तर तिनीहरू यदि अहिले नै किनिएन भने भविष्यमा त्यो बिक्रीमा नहुन सक्छ भनेर चिन्तित हुन्छन्। तिनीहरूले यसलाई कसरी सम्हाल्ने भनेर तँलाई सोध्छन्। यदि तँलाई थाहा छैन भने, तैँले तिनीहरूलाई गएर उक्त पेशेवर काममा संलग्न कोही व्यक्तिलाई सोध्न लगाउनुपर्छ। त्यसपछि उक्त पेशेवर व्यक्तिले भन्छ कि त्यो सामान नवीन हो, जुन बढीजसो उपयोगी हुँदैन, र त्यसमा पैसा खर्च गर्न आवश्यक छैन। उक्त पेशेवर व्यक्तिको रायलाई सन्दर्भ मानेर, उक्त सामान किन्न आवश्यक छैन, त्यो किन्नु फजुल खर्च हुनेछ, र अहिले त्यो नकिन्दा कुनै घाटा हुँदैन भन्ने निर्णय गरिन्छ। अगुवा र कामदारहरूले यो हदसम्म आफ्नो काम गर्नैपर्छ। चाहे कुनै कुरा जति नै महत्त्वपूर्ण वा मामुली किन नहोस्, यदि तिनीहरूले त्यसलाई देख्न सक्छन्, त्यसबारे सोच्न सक्छन्, वा त्यसबारे थाहा पाउन सक्छन् भने, तिनीहरूले एकनासले त्यसको अनुगमन र निरीक्षण गर्नुपर्छ, र त्यसलाई परमेश्वरको घरका मागहरूअनुसार तोकिएको ढङ्गले गर्नुपर्छ। आफ्नो जिम्मेवारी पूरा गर्नु भन्नुको अर्थ नै यही हो।
कतिपय मानिसहरूले प्रायः केही सरसामान किन्न आवेदन दिने गर्छन्, र परमेश्वरको घरलाई यी वस्तुहरू किनिदिन आग्रह गर्छन्, तर ध्यानपूर्वक समीक्षा र जाँच गर्दा, प्रायजसो अनुरोध गरिएका पाँचवटामध्ये एउटा मात्र किन्न आवश्यक देखिन्छ, र अरू चारवटा किन्न आवश्यक हुँदैन। त्यस्ता अवस्थाहरूमा के गर्नुपर्छ? तिनीहरूले आवेदन दिएका वस्तुहरूबारे कडाइसाथ समीक्षा र विचार गर्नुपर्छ, ती हतारमा किन्नु हुँदैन। ती मानिसहरूले काममा आवश्यक छ भनेकै भरमा ती वस्तुहरू किन्नु हुँदैन—ती मानिसहरूलाई त्यो कामका लागि हो भन्ने नाममा आफ्नो इच्छाअनुसार मनपरी वस्तुहरूको आवेदन दिने अनुमति दिनु हुँदैन। यी मानिसहरूले जस्तोसुकै बहाना बनाए पनि, र तिनीहरूको आग्रह जति नै जरुरी भए पनि, अगुवा र कामदारहरू वा भेटीहरूको व्यवस्थापन गर्ने जिम्मा लिएका मानिसहरू हरहालतमा हृदयमा स्थिर रहनुपर्छ। उनीहरूले विवेकी ढङ्गले यी वस्तुहरूबारे निरीक्षण र जाँच गर्नैपर्छ; अलिकति पनि त्रुटि हुनु हुँदैन। बिलकुलै खरिद गर्नैपर्ने वस्तुहरूबारे अगुवाहरूले अनुसन्धान गरेर स्वीकृति दिनैपर्छ, र यदि ती किन्नु ऐच्छिक हो भने, तिनलाई अस्वीकार गर्नुपर्छ, स्वीकृति दिनु हुँदैन। यदि अगुवा र कामदारहरूले यो काम सावधानीपूर्वक, ठोस रूपमा, र गहिराइमा पुगेर गर्छन् भने, त्यसले भेटीहरू फजुलमा उडाइने र खेर फालिने घटनाहरू कम गराउनेछ, र अझ बढी त, अनुचित खर्चहरू पनि अवश्यै घटाउनेछ। यो काम गर्नु भनेको केवल खातामा अभिलिखित आय र व्ययहरू के-कस्ता छन्, अङ्कहरू के-कस्ता छन् भनेर ध्यानपूर्वक हेर्ने कुरा होइन। त्यो त गौण कुरा हो। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको त तेरो हृदय सही स्थानमा हुनुपर्छ, र तैँले हरेक खर्च र हरेक प्रविष्टिलाई आफ्नै बैङ्क खातामा गरिएको प्रविष्टिझैँ व्यवहार गर्नुपर्छ। त्यसपछि तैँले तिनलाई विस्तृत रूपमा हेर्नेछस्, अनि तैँले तिनलाई याद गर्न सक्नेछस्, र तिनलाई बुझ्न सक्नेछस्—अनि यदि कुनै भुलचुक वा समस्या भयो भने, त्यो तैँले भन्न सक्नेछस्। यदि तैँले तिनलाई अरू कसैको वा सार्वजनिक खाताका रूपमा हेर्छस् भने, पक्कै पनि तेरो आँखा र दिमागले काम गरेको हुनेछैन, र तैँले कुनै पनि समस्याहरू पत्ता लगाउन सक्नेछैनस्। कतिपय मानिसहरूले बैङ्कमा अलिकति पैसा बचत गर्छन्, र हरेक महिना त्यसको विवरण लिन्छन् र ब्याज हेर्छन्, त्यसपछि खाताहरू जाँच गर्छन्—तिनीहरूले हरेक महिना कति खर्च भयो, कति पटक पैसा झिकियो, र कति पैसा जम्मा गरियो भनेर जाँच गर्छन्। प्रत्येक प्रविष्टि तिनीहरूको दिमागमा रेकर्ड हुन्छ, तिनीहरूलाई आफ्नो ठेगाना थाहा भएझैँ प्रत्येक अङ्क पनि राम्ररी थाहा हुन्छ, र तिनीहरू दिमागमा तीबारे प्रस्ट हुन्छन्। यदि कहीँकतै कुनै समस्या उत्पन्न भएमा, तिनीहरूले एकै झलकमा त्यो पत्ता लाउन सक्छन्, र तिनीहरूले सानोभन्दा सानो त्रुटिलाई समेत बेवास्ता गर्दैनन्। मानिसहरू आफ्नो पैसामा त यति सावधान हुन सक्छन्, तर के तिनीहरूले परमेश्वरका भेटीहरूप्रति पनि उस्तै चासो देखाउँछन्? मेरो विचारमा, ९९.९% मानिसहरूले देखाउँदैनन्, त्यसैले जब परमेश्वरका भेटीहरू सुरक्षाका लागि मानिसहरूलाई हस्तान्तरण गरिन्छ, तब अक्सर फजुलमा उडाउने र खेर फाल्ने अनि विभिन्न किसिमका अनुचित खर्चका घटनाहरू घट्छन्, तैपनि कसैलाई पनि त्यो समस्या हो भन्ने लाग्दैन, र त्यो कामका लागि जिम्मेवार मानिसहरूलाई पनि कहिल्यै विवेकको घोचाइ महसुस हुँदैन। सय युआन गुमाउँदा त परै जाओस्—तिनीहरूले हजार, वा दस हजार युआन गुमाए पनि हृदयमा धिक्कार, ऋणबोध, वा दोष महसुस गर्दैनन्। मानिसहरू यो मामलामा किन यति अन्योलग्रस्त हुन्छन्? के यसले धेरैजसो मानिसहरूको हृदय सही ठाउँमा छैन भन्ने जनाउँदैन र? अनि तैँले बैङ्कमा कति पैसा बचत गरेको छस् भनेर चाहिँ तँ कसरी यति प्रस्ट हुन्छस्? जब परमेश्वरको घरको पैसा तैँले सुरक्षित गर्नका लागि अस्थायी रूपमा तेरो खातामा जम्मा गरिन्छ, तैँले त्यसलाई गम्भीर रूपमा लिने वा ख्याल गर्ने गर्दैनस्। यो कस्तो मानसिकता हो? तँ परमेश्वरका भेटीहरूको सुरक्षाका हकमा समेत बफादार छैनस् भने, के तँ अझै परमेश्वरको विश्वासी नै होस् त? भेटीहरूप्रतिको मानिसहरूको मनोवृत्ति नै परमेश्वरप्रतिको तिनीहरूको मनोवृत्तिको प्रमाण हो—भेटीहरूप्रतिको तिनीहरूको मनोवृत्ति निकै प्रस्ट छ। मानिसहरू भेटीहरूबारे उदासीन हुन्छन् र तिनको वास्ता गर्दैनन्। भेटीहरू हराएमा त्यो कुराले तिनीहरूलाई दुःखी बनाउँदैन; तिनीहरूले जिम्मेवारी लिँदैनन्, र वास्ता गर्दैनन्। त्यसकारण, के परमेश्वरप्रति पनि तिनीहरूको मनोवृत्ति उस्तै हुँदैन र? (हो।) के कसैले “परमेश्वरका भेटीहरू उहाँका हुन्। मैले तिनको लालच वा तिनलाई कब्जा नगरेसम्म सब थोक सबै ठीक हुन्छ। तिनलाई कब्जा गर्ने जोकोही दण्डित हुनेछ—त्यो उसैको सरोकारको विषय हो, र ऊ त्यसैको लायक हुन्छ। त्यससँग मेरो कुनै सम्बन्ध छैन। त्यसको वास्ता गर्नु मेरो दायित्व होइन” भनेर कसैले भन्छ? के यो कथन सही हो? प्रस्टै छ, यो सही होइन। त्यसोभए, यो कहाँनेर गलत छ? (तिनीहरूको हृदय ठीक छैन; तिनीहरूले परमेश्वरको घरको काम जोगाउँदैनन्, र भेटीहरूको रक्षा गर्दैनन्।) यस्तो व्यक्तिको मानवता कस्तो हुन्छ? (स्वार्थी र नीच हुन्छ। तिनीहरूले आफ्नै वस्तुहरूको धेरै ख्याल गर्छन् र तिनलाई राम्रोसँग रक्षा गर्छन्, तर तिनीहरूले परमेश्वरका भेटीहरूको ख्याल गर्ने वा तीबारे सोधीखोजी गर्ने गर्दैनन्। त्यस्ता मानिसहरूको मानवता अत्यन्तै तल्लो स्तरको हुन्छ।) मूलतः त्यो स्वार्थी र नीच हुन्छ। के यस्ता मानिसहरू भावशून्य हुँदैनन् र? तिनीहरू स्वार्थी, नीच, र भावशून्य हुन्छन्, र तिनीहरूमा मानवीय भावनाको कमी हुन्छ। के त्यस्ता मानिसहरूले परमेश्वरलाई प्रेम गर्न सक्छन्? के तिनीहरू उहाँप्रति समर्पित हुन सक्छन्? के तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय हुन सक्छ? (सक्दैन।) त्यसोभए, त्यस्ता मानिसहरूले केका लागि परमेश्वरलाई पछ्याउँछन्? (आशिष्हरू प्राप्त गर्नका लागि।) के यो पूर्ण रूपमा निर्लज्ज हुनु होइन र? कुनै व्यक्तिले भेटीहरूप्रति कसरी व्यवहार गर्छ भन्ने कुराले उसको प्रकृति कस्तो छ भन्ने कुरालाई सबैभन्दा बढी खुलासा गर्छ। मानिसहरूले वास्तवमा परमेश्वरका निम्ति केही पनि गर्न सक्दैनन्। तिनीहरूले अलिअलि कर्तव्य निर्वाह गर्न सक्ने भए पनि, त्यो अत्यन्तै सीमित हुन्छ। यदि तैँले परमेश्वरका भेटीहरूलाई समेत सही तरिकाले व्यवहार गर्न, वा तिनलाई राम्ररी सुरक्षित गर्न सक्दैनस् भने, यदि तैँले त्यस किसिमको दृष्टिकोण र मनोवृत्ति बोक्छस् भने, के तँ सबैभन्दा बढी मानवताको कमी भएको व्यक्ति होइनस् र? के तैँले परमेश्वरलाई प्रेम गर्छु भन्नु झूटो होइन र? के त्यो कपटी छैन र? त्यो अत्यन्तै कपटी छ! यस प्रकारको व्यक्तिमा बिलकुलै मानवता हुँदैन—के परमेश्वरले त्यस्तो रद्दीलाई मुक्ति दिनुहुन्छ र?
इ. हर प्रकारका खर्चहरूको अनुगमन, जाँच, र निरीक्षण गर्ने, र कडा परीक्षण गर्ने
अगुवा र कामदारहरू परमेश्वरको घरको असल प्रबन्धक हुनका लागि, उनीहरूले राम्ररी गर्नुपर्ने सबैभन्दा पहिलो काम भनेको भेटीहरूको उचित व्यवस्थापन गर्नु हो। भेटीहरूको उचित सुरक्षा गर्नेबाहेक, उनीहरूले भेटीहरूको खर्चका सम्बन्धमा कडा परीक्षण पनि गर्नुपर्छ। कडा परीक्षण गर्नु भन्नुको अर्थ के हो? मूलतः यसको अर्थ अनुचित खर्च पूर्ण रूपमा हटाउनु, र भेटीहरू फजुलमा उडाउने र खेर फाल्ने कार्य रोक्दै भेटीहरूको हरेक खर्चलाई मनासिब र प्रभावकारी बनाउने प्रयत्न गर्नु हो। यदि भेटीहरूको बर्बादी वा फजुलखर्चका घटनाहरू पत्ता लागेमा, अगुवा र कामदारहरूले तिनलाई तत्काल रोक लगाउने मात्र नभई संलग्नहरूलाई उत्तरदायी बनाउने, र त्यो काम गर्नका लागि उचित मानिसहरू पहिचान गर्ने काम पनि गर्नुपर्छ। अगुवा र कामदारहरूले आफ्नो व्यवस्थापनको दायराभित्र हरेक खर्च कहाँ जान्छ र हरेक खर्च केका लागि हो भनेर ठ्याक्कै थाहा पाउनुपर्छ—उनीहरूले कडाइका साथ यी कुराहरूको समीक्षा गर्नुपर्छ। उदाहरणका लागि, यदि कुनै कोठामा पङ्खा छैन भने, उनीहरूले त्यो कसले किन्ने, त्यसमा कति खर्च गर्ने, र त्यसका लागि सबैभन्दा उपयुक्त प्रकार्यहरू के-के हुन् भन्ने मापदण्डहरू तोक्नुपर्छ। कतिपय अगुवा र कामदारहरू भन्छन्, “हामी व्यस्त छौँ; हामी त्यो किन्न जाने समय निकाल्न सक्दैनौँ।” तँलाई त्यो आफै गएर किन् भनेको होइन। तैँले कुनै असल व्यक्ति, क्षमता भएको व्यक्तिलाई यो काम सम्हाल्न लगाउनुपर्छ। कुनै बुद्धु वा हृदय ठिक ठाउँमा नभएको खराब व्यक्तिलाई यो किन्न नलगा। सामान्य मानवता भएका मानिसहरूलाई तिनीहरूले उपयुक्त विशेषताहरू भएका र उचित मूल्यका सामानहरू किन्नुपर्छ भन्ने थाहा हुन्छ—अत्यधिक विशेषताहरू अनावश्यक हुन्छन्, र ती अत्यन्तै महँगा हुन्छन्। यसविपरीत, भोगविलास खोज्ने र हृदय ठिक ठाउँमा नहुने मानिसहरू अव्यावहारिक वस्तुहरू किन्छन्, जसमा विभिन्न प्रकारका विशेषताहरू जोडजाड गरिएका हुन्छन्, र जसको लागत बढी हुन्छ। खरिदकर्ताहरूमा समझ हुनैपर्छ; तिनीहरूले सिद्धान्तहरू बुझ्नैपर्छ। खरिद गरिएका सामानहरू धेरै लागत नलाग्ने गरी व्यावहारिक, र सबैले उपयुक्त ठान्ने किसिमका हुनुपर्छ। यदि तैँले जथाभाबी पैसा खर्च गर्ने र फजुलमा उडाउने गैरजिम्मेवार व्यक्तिलाई यो खरिद गर्न लगाइस् भने, उसले पङ्खा किन्ने मूल्यको दश गुणा मूल्य तिरेर उच्चस्तरीय एयर कन्डिसनर खरिद गर्नेछ। उसले त्यसलाई अलि बढी मूल्य पर्ने भए पनि मानिसहरू नै हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ भन्ठान्छ—त्यो एयर कन्डिसनरले हावा फिल्टर गर्ने मात्र नभई, आर्द्रता र तापक्रम पनि मिलाउन सक्छ, र त्यसमा धेरै टाइमर र सेटिङ्हरू पनि हुन्छन्। के त्यो पैसाको बर्बादी होइन र? यो पैसाको बर्बादी र फजुलमा उडाउने काम हो। त्यो व्यक्ति आफै रमाइलो गर्ने जमर्को गरिरहेको हुन्छ, र उसले व्यावहारिक वस्तुहरू किन्नका लागि नभई मजा लिनका लागि, र देखाउनका लागि पैसा खर्च गरिरहेको हुन्छ। त्यस्ता मानिसहरूको हृदय ठिक ठाउँमा हुँदैन। यदि तिनीहरू आफैले आफ्ना लागि खरिद गर्ने हो भने, तिनीहरूले पैसा बचाउने उपायहरू सोच्छन्, छूट मूल्यका सामानहरू खोज्छन्, र मोलमोलाइ गर्ने कोसिस गर्छन्। तिनीहरू सकेसम्म पैसा बचत गर्छन्—जति सस्तो उति राम्रो भन्ने ठान्छन्। तर जब तिनीहरू परमेश्वरको घरका लागि खरिद गर्छन्, तब तिनीहरू जतिसुकै पैसा खर्च भए पनि वास्ता गर्दैनन्। तिनीहरू सस्ता वस्तुहरू हेर्ने कष्टसमेत गर्दैनन्; तिनीहरू महँगा, उच्चस्तरीय, र अत्याधुनिक सरसामान मात्र किन्न चाहन्छन्। यसको मतलब तिनीहरूको हृदय ठिक ठाउँमा छैन। के ठिक ठाउँमा हृदय नभएका मानिसहरूलाई प्रयोग गर्न मिल्छ? (मिल्दैन।) परमेश्वरको घरका लागि कार्यहरू सम्हाल्दा, ठिक ठाउँमा हृदय नभएका मानिसहरू बेतुके र बेकारका काम मात्र गर्छन्। तिनीहरू सही कुराहरूमा पैसा खर्च गर्दैनन्; तिनीहरू केवल भेटीहरू खेर फाल्छन् र फजुलमा उडाउँछन्, र तिनीहरूको हरेक खर्च बेमनासिब हुन्छ।
अन्य कतिपय मानिसमा गरिबीको मानसिकता हुन्छ र तिनीहरू परमेश्वरको घरका लागि किनमेल गर्दा सबैभन्दा सस्ता सामानहरू किन्नुपर्ने, र जति सस्तो उति राम्रो भन्ने विश्वास गर्छन्। तिनीहरू यसरी परमेश्वरको घरको पैसा बचत भइरहेको ठान्छन्, त्यसैले तिनीहरू अप्रचलित र घटाइएको मूल्यका सामानहरू मात्र किन्छन्। फलस्वरूप, तिनीहरू सबैभन्दा सस्ता मेसिनहरू किन्छन् जुन कमसल हुन्छन्। यी मेसिनहरू प्रयोग गर्नेबित्तिकै बिग्रिन्छन्, अनि मर्मत र प्रयोग गर्न योग्यसमेत हुँदैनन्। त्यसपछि पर्याप्त गुणस्तरका र सामान्य तरिकाले प्रयोग गर्न सकिने अरू मेसिनहरू किन्नुपर्ने हुन्छ, र त्यसैले अर्को रकम खर्च हुन्छ। के यो मूर्खता होइन र? त्यस्ता मानिसहरूलाई कन्जुस भन्नुपर्छ, र तिनीहरूमा गरिबीको मानसिकता हुन्छ। तिनीहरू सधैँ परमेश्वरको घरको पैसा बचाउन चाहन्छन्, र तिनीहरूको खर्च कटौती र बचतबाट के परिणाम आउँछ? यो पैसाको नाश र फजुलखर्चमा परिणत हुन्छ। तिनीहरूले आफ्ना निम्ति बहानाहरूसमेत बनाउँछन्: “मैले जानाजानी त्यसो गरेको होइन। मेरा अभिप्रायहरू असल थिए—म त केवल परमेश्वरको घरको पैसा बचाउन खोजिरहेको थिएँ—म जथाभाबी पैसा खर्च गर्न चाहन्नथेँ।” के तिनीहरूले त्यसो गर्न नचाहनुको कुनै फाइदा हुन्छ? वास्तवमा, तिनीहरूले जथाभाबी पैसा खर्च गरिरहेका हुन्छन्, तिनीहरूले फजुलखर्च गराउँछन्, र यसमा पैसा र जनशक्ति नाश हुन्छ। त्यस्ता मानिसहरूलाई पनि प्रयोग गर्न मिल्दैन—तिनीहरू बुद्धु हुन्, तिनीहरू पर्याप्त मात्रामा जानकार हुँदैनन्। सङ्क्षेपमा भन्दा, ठिक ठाउँमा हृदय नभएका मानिसहरूलाई परमेश्वरको घरका लागि किनमेल गर्ने कार्यमा प्रयोग गर्नु हुँदैन, न त बुद्धुहरूलाई नै प्रयोग गर्नु हुन्छ। प्रयोग गरिनुपर्नेहरू भनेका त निश्चित मात्रामा किनमेलको अनुभव भएका र निश्चित क्षमता भएका, अनि सबै कुरालाई अविकृत शैलीमा हेर्ने जानकार मानिसहरू हुन्। चाहे जेसुकै किनिँदै गरिएको भए पनि त्यो व्यावहारिक हुनैपर्छ, र त्यसको मूल्य उचित हुनैपर्छ, र त्यो बिग्रिए पनि मर्मत गर्न सजिलो हुनैपर्छ, र त्यसका पाटपुर्जाहरू किन्न सजिलो हुनैपर्छ। त्यही नै मनासिब कुरा हो। कतिपय मानिस केही चीज किनेपछि त्यसलाई एक महिनाभित्र फिर्ता गर्न सकिने देख्छन् र हत्तपत्त त्यसलाई प्रयोग गरी हेर्न खोज्छन्, र तिनीहरूले एक महिनाभित्रै नतिजा पाइहाल्छन्। यदि त्यसमा केही खराबी छ र त्यसले राम्रोसँग काम गर्दैन भने, तिनीहरू त्यो तुरुन्तै फिर्ता गर्छन्, र अरू नै केही छान्छन्, जसले गर्दा घाटा कम हुन्छ। यस्ता मानिसहरूमा तुलनात्मक रूपमा अलि असल मानवता हुन्छ। मानवता नै नभएका मानिसहरू चाहिँ केही चीज किन्छन्, र त्यसपछि त्यसलाई मिल्काउँछन्। तिनीहरू त्यसमा कुनै खराबी छ कि छैन वा त्यो टिकाउ छ कि छैन भनी प्रयोग गरी हेर्ने गर्दैनन्, न त तिनीहरू त्यसको वारेन्टी कति छ वा त्यसलाई फिर्ता गर्ने समय कति छ भनेर नै हेर्छन्—तिनीहरू यीमध्ये कुनै पनि कुराको वास्ता गर्दैनन्। जब कुनै दिन तिनीहरूमा त्यो वस्तुप्रति अचानक रुचि जाग्छ, तब तिनीहरू त्यसलाई प्रयोग गरी हेर्छन्, र त्यतिबेला मात्र त्यो बिग्रिएको छ भनेर थाहा पाउँछन्। तिनीहरू रसिद हेर्छन् र फिर्ता गर्ने समय सकिसकेको देख्छन्, अनि त्यो सामान फिर्ता गर्नै मिल्दैन। त्यसपछि तिनीहरू “अर्को किनौँ न त” भन्छन्। के त्यो पैसाको नाश होइन र? “अर्को किनौँ न त”—त्यो वाक्यांशसँगै परमेश्वरको घरले अर्को रकम खर्च गर्नुपर्छ। अर्को किन्न आवेदन दिनु झट्ट हेर्दा मण्डलीको कामकै निम्ति भएको, र मनासिब खर्च नै हो जस्तो देखिन्छ, जबकि वास्तवमा, गहिराइमा हेर्ने हो भने, यो तिनीहरूले सामान किनेपछि तत्काल नजाँचेर आफ्नो कर्तव्यलाई बेवास्ता गरेको कारण भएको हुन्छ। भेटीको एउटा रकम खेर जान्छ, र अर्को रकम तिरिन्छ, तैपनि नयाँ सामानको सुरक्षा गर्ने अझै कोही हुँदैन, त्यसैले त्यो पनि छोटो समय प्रयोग गरेपछि बिग्रिहाल्छ। यी वस्तुहरूको रेखदेख गर्ने कोही नहुनु, यी उत्पन्न समस्याहरू समाधान गर्ने कोही नहुनु साँच्चै अनौठो कुरा हो—अगुवा र कामदारहरू के गरिरहेका हुन्छन्? यस कामबारे तिनीहरू आफ्ना जिम्मेवारीबाट पूर्णतया हटेका हुन्छन्—तिनीहरूले सुपरिवेक्षण, निरीक्षण, र परीक्षणको आफ्नो काम गरेका हुँदैनन्, त्यसैले भेटीहरू यसरी नै फजुलमा उडाइन्छन् र बर्बाद पारिन्छन्। यदि खरिदकर्ताहरू जिम्मेवार मानिस हुन् भने, आफूले खरिद गरेको सामान व्यावहारिक छैन भन्ने देख्नेबित्तिकै तिनीहरूले त्यसलाई तत्काल फिर्ता गर्नेछन्। यसले घाटा र बर्बादी कम गर्छ। यदि तिनीहरू ठिक ठाउँमा हृदय नभएका गैरजिम्मेवार मानिस हुन् भने, तिनीहरूले कमसल वस्तुहरू किन्नेछन्, र यसरी भेटीहरू खेर फाल्नेछन्। त्यसोभए, यसरी पैसाको नाश हुनुको जिम्मा ठ्याक्कै कसलाई दिइनुपर्छ? के खरिदकर्ता अनि अगुवा र कामदारहरू सबैले यसको जिम्मेवारी लिनुपर्दैन र? यदि अगुवा र कामदारहरूले यो मामला इमानदारीपूर्वक, ठोस रूपमा, र सावधानीपूर्वक सम्हालेका भए, के यी समस्याहरू पत्ता लागिसकेका हुनेथिएनन् र? के यी कमीकमजोरीहरूको पूर्ति गरिसकिएको हुनेथिएन र? (हुनेथियो।) यदि अगुवा र कामदारहरू अक्सर विभिन्न ठाउँका मण्डलीहरूमा भेटीहरूको खर्चको स्थिति निरीक्षण गर्न जान्छन् भने, तिनीहरू समस्याहरू फेला पार्न, र यस्तो फजुल खर्च र पैसाको नाश हटाउन सक्षम हुनेछन्। यदि अगुवा र कामदारहरू अल्छी र गैरजिम्मेवार छन् भने, यस्ता अनुचित खर्च अनि अपव्यय र बर्बादीका घटनाहरू बारम्बार उत्पन्न हुनेछन्—ती बढिरहनेछन्। यो वृद्धि केले गराउँछ? के यसको सम्बन्ध अगुवा र कामदारहरूले वास्तविक काम नगर्नु, बरु आफूलाई अरूभन्दा माथि राख्नु र अप्रभावकारी अधिकारीजस्तै व्यवहार गर्नुसँग छैन र? (छ।) त्यस्ता अगुवा र कामदारहरूमा विवेक वा समझ हुँदैन, र तिनीहरूमा मानवता हुँदैन। मण्डलीले खर्च गर्ने सबै पैसा परमेश्वरको घरको भएकाले र त्यो सबै परमेश्वरको भेटी भएको हुनाले, अनि तिनीहरूले आफूसँग त्यसको कुनै सरोकार नभएको ठान्ने हुनाले, तिनीहरू त्यसबारे न त वास्ता गर्छन् न त सोधखोज नै गर्छन्, र तिनीहरू त्यसलाई बेवास्ता गर्छन्। अधिकांश मानिसहरूलाई परमेश्वरको घरको पैसा त खर्च गरिनैपर्ने कुरा हो, त्यसलाई कुनै पनि तरिकाले खर्च गर्दा हुन्छ, त्यसलाई कुम्ल्याउने वा हिनामिना गर्ने नगरेसम्म त्यसलाई खेर फालिए पनि फरक पर्दैन, र त्यो भनेको मानिसहरूले अनुभव किन्नु र आफ्ना दायराहरू फराकिलो बनाउनु मात्र हो भन्ने लाग्छ। अगुवा र कामदारहरूले यसलाई नदेखेझैँ गरिदिन्छन्: “त्यो पैसा आफूलाई मन लागेअनुसार जसले पनि खर्च गर्न सक्छ, र आफूले चाहेको कुरा किन्न सक्छ। जतिसुकै पैसा खेर गए पनि फरक पर्दैन—जसले पैसा खेर फाल्छ त्यसका लागि ऊ नै जिम्मेवार हुन्छ, र उसले भविष्यमा प्रतिशोध र दण्ड भोग्नेछ—यससँग मेरो कुनै सरोकार छैन। आखिर त्यो मैले खर्च गरेको होइन, र मेरो पैसा खर्च भएको पनि होइन।” के यो गैरविश्वासीहरूले सार्वजनिक कोषको खर्चप्रति राख्ने दृष्टिकोण र मनोवृत्ति नै होइन र? यस्तो लाग्छ, मानौँ तिनीहरूले आफ्नो शत्रुको पैसा खर्च गर्ने गर्छन्। गैरविश्वासीहरूले कुनै कारखानामा काम गर्दा, यदि व्यवस्थापनमा कडिकडाइ हुँदैन भने, साझा सामानहरू सधैँ चोरी हुन्छन् र मान्छेका घरमा लगिन्छन् वा त्यतिकै बिग्रिन्छन्, र यदि केही बिग्रियो भने, तिनीहरू कारखानालाई नयाँ किन्न आग्रह गर्छन्। जब तिनीहरू कारखानाका लागि केही खरिद गर्छन्, तिनीहरूले राम्रा र महँगा सामान मात्र किन्छन्। जे भए पनि, पैसा स्वेच्छाचारी रूपमा र उपरि सीमाविना खर्च गरिन्छ। यदि परमेश्वरका विश्वासीहरूमा पनि भेटीहरूप्रति यस्तै मानसिकता छ भने, के तिनीहरूले मुक्ति प्राप्त गर्न सक्छन्? के परमेश्वरले त्यस्ता समूहका मानिसहरूमा काम गर्नुहुनेछ? (गर्नुहुनेछैन।) यदि मानिसहरूले परमेश्वरका भेटीहरूप्रति यस्तो मनोवृत्ति राख्छन् भने, तिमीहरूले ती मानिसहरूप्रति परमेश्वर कस्तो मनोवृत्ति राख्नुहुन्छ भनेर मैले नभनीकनै थाहा पाउनुपर्छ।
परमेश्वरप्रतिको कुनै व्यक्तिको मनोवृत्ति प्रकट हुने सबैभन्दा प्रत्यक्ष तरिका भनेको भेटीहरूप्रतिको उसको मनोवृत्ति हो। भेटीहरूप्रतिको तेरो मनोवृत्ति जस्तो छ, परमेश्वरप्रतिको तेरो मनोवृत्ति पनि त्यस्तै नै हुन्छ। यदि तैँले भेटीहरूलाई पनि आफ्नो बैङ्क खाताका प्रविष्टिहरूलाई जस्तै—सावधानीपूर्वक, होसियारीपूर्वक, सतर्कतापूर्वक, कडाइका साथ, जिम्मेवारीपूर्वक, र ध्यानपूर्वक—व्यवहार गर्छस् भने परमेश्वरप्रतिको तेरो मनोवृत्ति पनि लगभग त्यस्तै नै हुन्छ। यदि भेटीहरूप्रतिको तेरो मनोवृत्ति सार्वजनिक सम्पत्तिप्रतिको वा बजारको तरकारीप्रतिको जस्तै—आफूलाई चाहिएको कुरा जथाभाबी अलिकति किन्ने अनि आफूलाई मन नपर्ने कुनै पनि तरकारीलाई हेर्दा समेत नहेर्ने, ती जहाँ राखिएका भए पनि बेवास्ता गर्ने, कसैले तिनलाई लगेर प्रयोग गर्लान् कि भनी वास्ता नगर्ने, ती भुइँमा खसेर कसैले कुल्चिँदा पनि नदेखेको नाटक गर्ने, अनि तँसँग यसको कुनै सरोकार नभएको ठान्ने—मनोवृत्ति छ भने, यो तेरा लागि समस्याको सङ्केत हो। यदि तँ भेटीहरूप्रति त्यस्तो मनोवृत्ति राख्छस् भने, के तँ जिम्मेवार व्यक्ति होस् त? के तँजस्तो व्यक्तिले राम्ररी कर्तव्य निर्वाह गर्न सक्छ त? तँमा कस्तो किसिमको मानवता छ भन्ने कुरा प्रस्ट छ। सङ्क्षेपमा भन्दा, भेटीहरू व्यवस्थित गर्ने काममा, अगुवा र कामदारहरूको मुख्य जिम्मेवारी भनेको तिनलाई राम्ररी सुरक्षित गर्नुबाहेक, तिनीहरूले त्यसपछिको कामको पनि अनुगमन गर्नैपर्छ—सबैभन्दा महत्त्वपूर्ण कुरा त के हो भने, तिनीहरूले नियमित रूपमा खाताहरू जाँच गर्नुपर्छ, साथै हरप्रकारका खर्चहरूको अनुगमन, जाँच, र निरीक्षण गर्नुपर्छ, र कडा परीक्षण गर्नुपर्छ। तिनीहरूले अनुचित खर्चहरूलाई फजुलमा उडाउने र खेर फाल्ने कार्यमा परिणत हुनुअघि नै पूर्ण रूपमा हटाउनुपर्छ; र यदि अनुचित खर्चहरूले ती दुष्परिणामहरू निम्त्याइसकेका छन् भने, तिनीहरूले जिम्मेवार व्यक्तिहरूलाई उत्तरदायी बनाउनैपर्छ, चेतावनी दिनैपर्छ, र क्षतिपूर्ति तिराउनैपर्छ। यदि तँ यो कामसमेत राम्ररी गर्न सक्दैनस् भने, चाँडो राजीनामा दे—अगुवा वा कामदारको पद ओगटेर नबस्, किनभने तैँले त्यो पदको काम गर्न सक्दैनस्। यदि तैँले यो कामको जिम्मेवारी लिन र यसलाई राम्रोसँग गर्न समेत सक्दैनस् भने, तँ के काम चाहिँ गर्न सक्छस् त? मलाई व्यवस्थित रूपमा भन् त: भेटीहरूका सम्बन्धमा अगुवा र कामदारहरूले गर्नैपर्ने जम्मा कतिवटा कामहरू छन्? (पहिलो, तिनलाई सुरक्षित गर्नु। दोस्रो, खाताहरूको जाँच गर्नु। तेस्रो, हरप्रकारका खर्चहरूको अनुगमन, जाँच र निरीक्षण गर्नु, र कडा परीक्षण गर्नु; अनुचित खर्चहरू हटाउनैपर्छ, र जोसुकैले फजुलमा उडाउने वा खेर फाल्ने भए पनि उसलाई उत्तरदायी बनाउनैपर्छ र क्षतिपूर्ति तिराउनैपर्छ।) के यी चरणहरूअनुसार काम गर्न सजिलो छ? (छ।) यो एउटा स्पष्ट रूपमा परिभाषित काम गर्ने तरिका हो। यदि तैँले यति सरल कामसमेत गर्न सक्दैनस् भने, तैँले अगुवा वा कामदारका रूपमा—परमेश्वरको घरको प्रबन्धकका रूपमा—के चाहिँ गर्न सक्छस् त? हरमोडमा भेटीहरू खेर फालिने र फजुलमा उडाइने घटनाहरू हुन्छन्, र यदि एक अगुवा वा कामदारका रूपमा तँमा त्यसबारे कुनै सचेतना छैन र तँलाई त्यसबारे बिलकुलै नराम्रो लाग्दैन भने, के परमेश्वर तेरो हृदयमा हुनुहुन्छ त—के त्यहाँ उहाँका लागि ठाउँ त छ? यो शङ्कास्पद छ। तँ तेरो परमेश्वरलाई प्रेम गर्ने हृदय महान् छ र तँसित साँच्चिकै परमेश्वरको डर मान्ने हृदय छ भनेर भन्छस्, तर जब उहाँका भेटीहरू यसरी फजुलमा उडाइन्छन् र बर्बाद पारिन्छन्, तब तँलाई त्यसबारे सचेतनै हुँदैन र बिलकुलै दुख लाग्दैन—के त्यसले परमेश्वरप्रतिको तेरो प्रेम र डरमाथि शङ्का उब्जाउँदैन र? (उब्जाउँछ।) तेरो आस्थासमेत शङ्कास्पद छ, झन् परमेश्वरप्रतिको तेरो प्रेम र डरको त कुरै छोडौँ। परमेश्वरप्रतिको तेरो प्रेम र डर खरो उत्रदैन—त्यो तर्कसङ्गत छैन! भेटीहरू राम्रोसँग सुरक्षित गर्नु अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने दायित्व हो, र त्यो तिनीहरूले पन्छाउनै नमिल्ने जिम्मेवारी पनि हो। यदि भेटीहरू राम्रोसँग सुरक्षित गरिएनन् भने, त्यो तिनीहरू जिम्मेवारीबाट हट्नु हो—के भन्न सकिन्छ भने भेटीहरू राम्रोसँग सुरक्षित नगर्नेहरू सबै नै झूटा अगुवा र झूटा कामदारहरू हुन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।