अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१२) खण्ड एक
हाम्रो पछिल्लो भेलामा, हामीले अगुवा र कामदारहरूका जिम्मेवारीहरूसम्बन्धी दसौँ विषयवस्तु: “परमेश्वरको घरका विभिन्न भौतिक वस्तुहरूलाई (पुस्तकहरू, विभिन्न उपकरण, अन्नपात र यस्तै अन्य कुराहरू) उचित तरिकाले सुरक्षित गर्ने र विवेकपूर्वक बाँडफाँड गर्ने, अनि क्षति र खेर जाने अवस्थालाई न्यूनीकरण गर्न नियमित निरीक्षण, सम्भार र मर्मत गर्ने; साथै, दुष्ट मानिसहरूलाई ती कुराहरू स्वामित्वमा लिनबाट रोक्ने” बारे सङ्गति गर्यौँ। दसौँ विषयवस्तुको सङ्गति परमेश्वरको घरका विभिन्न भौतिक सामग्रीहरूका सम्बन्धमा अगुवा र कामदारहरूले गर्नुपर्ने काम र उनीहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरूसँग सम्बन्धित थियो, र सँगसँगै, त्यस सङ्गतिले तुलनामार्फत झूटा अगुवाहरूका विभिन्न प्रकटीकरणहरू खुलासा गरेको थियो। यदि अगुवा र कामदारहरूले परमेश्वरको घरको हरेक काममा आफूले पूरा गर्नुपर्ने र गर्न सक्ने जिम्मेवारीहरू पूरा गर्छन् भने, तिनीहरू मानकअनुरूपका अगुवा र कामदार हुन्; यदि तिनीहरूले आफ्ना जिम्मेवारीहरू पूरा गर्दैनन् र कुनै वास्तविक काम गर्दैनन् भने, तिनीहरू झूटा अगुवाहरू हुन् भन्ने कुरा एकदमै प्रस्ट हुन्छ। दसौँ विषयवस्तुका सम्बन्धमा कुरा गर्नुपर्दा, झूटा अगुवाहरूले परमेश्वरको घरका विभिन्न भौतिक सामग्रीहरूको सुरक्षा गर्ने र समझदारीपूर्वक बाँडफाँड गर्ने काम अवश्य नै राम्ररी गर्दैनन्—ती सामग्रीहरूको राम्रोसँग सुरक्षा गरिएको हुँदैन, वा तिनको सुरक्षा बिलकुलै नगरिएको पनि हुन सक्छ, र झूटा अगुवाहरूले तिनको बाँडफाँडलाई भद्रगोल बनाउँछन्। तिनीहरूले यस कामलाई गम्भीर रूपमा बिलकुलै नलिन पनि सक्छन्। यो सामान्य मामलाहरूसम्बन्धी काम भए पनि, यो अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारी र तिनीहरूले गर्नुपर्ने काम नै हो। चाहे यो काम तिनीहरू आफैले गरून् वा यो काम गर्न तिनीहरूले उचित मानिसहरूको बन्दोबस्त गरून्, अनि सुपरिवेक्षण, निरीक्षण, अनुगमन, आदि इत्यादि पनि गरून्, तर जे भए पनि, यो कामलाई अगुवा र कामदारहरूका जिम्मेवारीहरूबाट अलग गर्न सकिँदैन—यी प्रत्यक्ष रूपमै सम्बन्धित छन्। त्यसकारण, यस कामको कुरा आउँदा, यदि अगुवा र कामदारहरूले परमेश्वरको घरका विभिन्न भौतिक सामग्रीहरूको उचित तरिकाले सुरक्षा गर्दैनन् र समझदारीपूर्वक बाँडफाँड गर्दैनन् भने, तिनीहरूले आफ्ना जिम्मेवारीहरू पूरा गरिरहेका हुँदैनन्, र तिनीहरूले आफ्नो काम राम्ररी गरिरहेका हुँदैनन्। यो झूटा अगुवाहरूको एउटा प्रकटीकरण हो। हाम्रो पछिल्लो भेलामा, हामीले झूटा अगुवाहरूले सामान्य मामलाहरूसम्बन्धी यो काम सम्हाल्ने क्रममा देखाउने प्रकटीकरणहरूको सामान्य खुलासा र चिरफार गरेका थियौँ, र केही उदाहरणहरू दिएका थियौँ। यदि कोही झूटो अगुवा हो भने, उसले यस काममा आफ्ना जिम्मेवारीहरू बिलकुलै पूरा गरेको हुँदैन, र उसले गर्ने काम मानकअनुरूप हुँदैन, किनभने झूटा अगुवाहरूले वास्तविक काममा कहिल्यै मेहनत लगाउँदैनन्—एकपटक त्यसको बन्दोबस्त भएपछि, तिनीहरूको काम त्यहीँ समाप्त हुन्छ, र तिनीहरूले कहिल्यै कामको अनुगमन गर्ने वा त्यसमा सहभागी हुने गर्दैनन्। अर्को मुख्य कारण यो हो कि झूटा अगुवाहरू आफूले गर्ने कुनै पनि कामका सिद्धान्तहरू बुझ्दैनन्। तिनीहरू आफ्ना काममा निष्क्रिय भइरहेका नहुँदा पनि, तिनीहरूले जे गर्छन् त्यो परमेश्वरको घरले माग गर्ने सिद्धान्त र नियमहरूअनुरूप हुँदैन, वा सिद्धान्तहरूसँग सम्पूर्ण रूपमै अमिल्दोसमेत हुन्छ। सिद्धान्तहरूसँग अमिल्दो हुनुको अर्थ के हो? त्यसको तात्पर्य के हो भने, तिनीहरू बेपरवाह भएर कार्य गरिरहेका छन्, र आफ्नै कल्पना, इच्छा, भावना, आदि इत्यादिका आधारमा उन्मत्त भएर कार्य गरिरहेका छन्। त्यसैले, चाहे जे भए पनि, अगुवा र कामदारहरूका जिम्मेवारीहरूसम्बन्धी यस विषयवस्तुका सम्बन्धमा झूटा अगुवाहरूका दुइटा प्रमुख प्रकटीकरणहरू रहेका छन्: पहिलो के हो भने, तिनीहरूले वास्तविक काम गर्दैनन्, र दोस्रो, तिनीहरूले सिद्धान्तहरू बोध गर्न सक्दैनन्, त्यसैले तिनीहरूले वास्तविक काम गर्न सक्दैनन्। मूलभूत प्रकटीकरणहरू यिनै हुन्। हाम्रो पछिल्लो भेलामा, हामीले झूटा अगुवाहरूले सामान्य मामलासम्बन्धी यस किसिमको काम सम्हाल्दा तिनीहरूको मानवता कसरी प्रकट हुन्छ भन्नेबारे सङ्गति र खुलासा गर्यौँ। यस सरल, र एउटै कामको हकमा समेत, झूटा अगुवाहरूले आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्दैनन्। तिनीहरूसँग यो काम गर्ने योग्यता हुन्छ, तर तिनीहरूले गर्दैनन्। यो यस किसिमका मानिसहरूको चरित्र र मानवतासँग सम्बन्धित छ। तिनीहरूको मानवतामा कस्तो समस्या हुन्छ? तिनीहरूको हृदय सही ठाउँमा हुँदैन, र तिनीहरूको चरित्र नीच हुन्छ। हामीले मूलतः दसौँ विषयवस्तुअन्तर्गत अगुवा र कामदारहरूका जिम्मेवारीहरू, सामान्य सिद्धान्तहरू, र झूटा अगुवाहरूका विभिन्न प्रकटीकरणहरूबारे सङ्गति गरिसकेका छौँ। आज, हामी अगुवा र कामदारहरूका जिम्मेवारीहरूसम्बन्धी एघारौँ विषयवस्तुबारेको सङ्गति अघि बढाउनेछौँ।
विषयवस्तु एघार: विशेषगरी भेटीलाई व्यवस्थित ढङ्गबाट दर्ता, मिलान र सुरक्षित गर्ने कार्यको निम्ति मानकअनुरूप मानवता भएका भरपर्दा मानिसहरू चयन गर्ने; नियमित रूपमा आय र व्ययको पुनरावलोकन र जाँच गर्ने ताकि फजुलमा उडाउने वा खेर फाल्ने घटनाहरू साथै अनुचित खर्चहरू तत्कालै पहिचान गर्न सकियोस्—यस्ता कुराहरूलाई रोक्ने र उचित क्षतिपूर्ति माग गर्ने; यसका साथै, कुनै पनि उपायद्वारा, भेटीलाई दुष्ट मानिसहरूका हातमा पर्न र तिनीहरूको स्वामित्वमा पर्नदेखि जोगाउने
भेटीहरू भनेका के हुन्
अगुवा र कामदारहरूका जिम्मेवारीहरूसम्बन्धी एघारौँ विषयवस्तु यस्तो छ: “विशेषगरी भेटीलाई व्यवस्थित ढङ्गबाट दर्ता, मिलान र सुरक्षित गर्ने कार्यको निम्ति मानकअनुरूप मानवता भएका भरपर्दा मानिसहरू चयन गर्ने; नियमित रूपमा आय र व्ययको पुनरावलोकन र जाँच गर्ने ताकि फजुलमा उडाउने वा खेर फाल्ने घटनाहरू साथै अनुचित खर्चहरू तत्कालै पहिचान गर्न सकियोस्—यस्ता कुराहरूलाई रोक्ने र उचित क्षतिपूर्ति माग गर्ने; यसका साथै, कुनै पनि उपायद्वारा, भेटीलाई दुष्ट मानिसहरूका हातमा पर्न र तिनीहरूको स्वामित्वमा पर्नदेखि जोगाउने।” यस काममा अगुवा र कामदारहरूका जिम्मेवारीहरू के-के हुन्? उनीहरूले गर्नुपर्ने मुख्य काम के हो? (भेटीहरूलाई उचित तरिकाले सुरक्षित गर्नु।) दसौँ विषयवस्तु परमेश्वरको घरका विभिन्न भौतिक सामग्रीहरू सुरक्षित गर्ने र समझदारीपूर्वक बाँडफाँड गर्नेबारे थियो; यो चाहिँ भेटीहरूलाई उचित तरिकाले सुरक्षित गर्नेबारे रहेको छ। परमेश्वरको घरका विभिन्न भौतिक सामग्रीहरू र त्यसका भेटीहरू केही हदसम्म मिल्दाजुल्दा हुन्छन्—तर के ती एउटै हुन् त? (होइनन्।) के भिन्नता छ? (भेटीहरूले मुख्यगरी पैसालाई जनाउँछन्।) पैसा त्यसको एउटा पक्ष हो। परमेश्वरको घरका विभिन्न भौतिक सामग्री र भेटीहरूको प्रकृति कसरी फरक हुन्छ? के परमेश्वरका वचनका पुस्तकहरू भेटी हुन्? के कामका लागि प्रयोग गरिने विभिन्न मेसिनहरू भेटी हुन्? के परमेश्वरको घरले किन्ने दैनिक आवश्यकताका विभिन्न सामानहरू भेटी हुन्? (होइनन्।) त्यसोभए, यी के हुन् त? परमेश्वरको घरमा, परमेश्वरका वचनका सारा पुस्तकहरू, र परमेश्वरको घरको काममा चाहिने विभिन्न प्रकारका सबै उपकरणहरू, जुन परमेश्वरका चुनिएका मानिसहरूले चढाएको पैसाले खरिद गरिएका हुन्छन्, जस्तै क्यामेरा, अडियो रेकर्डर, कम्प्युटर, र मोबाइल फोनजस्ता विविध सामग्रीहरू—यी सबै परमेश्वरको घरका भौतिक सामग्रीहरू हुन्। यीबाहेक, टेबुल, कुर्सी, बेन्च, खानेकुरा, र दैनिक आवश्यकताका अन्य त्यस्तै कुराहरू पनि परमेश्वरको घरका भौतिक सामग्री नै हुन्। यीमध्ये कतिपय सामग्रीहरू दाजुभाइ-दिदीबहिनीहरूले खरिद गर्छन्, र कति अरूचाहिँ परमेश्वरको घरले भेटीहरूद्वारा किनेको हुन्छ; यी सबै कुराहरू परमेश्वरको घरका भौतिक सामग्रीहरूका रूपमा वर्गीकृत हुन्छन्। हामीले यस विषयबारे पछिल्लो भेलामा सङ्गति गरेका थियौँ। अब हामी हामीले एघारौँ विषयवस्तुअन्तर्गत सङ्गति गर्ने एउटा महत्त्वपूर्ण कुरा हेर्नतिर लाग्नेछौँ, र यो कुरा हो: भेटी। भेटीहरू ठ्याक्कै के हुन्? तिनको दायरा कसरी तोकिन्छ? हामीले अगुवा र कामदारहरूका जिम्मेवारीहरूमाथि सङ्गति गर्नुअघि, भेटीहरू के हुन् भन्ने सवाल प्रस्ट पार्न जरुरी छ। अधिकांश मानिसहरूले विगतमा येशूमा विश्वास गरेका र कैयौँ वर्षसम्म यस चरणको काम स्विकारेका भए पनि, भेटीहरूबारे तिनीहरूको अवधारणा धूमिल नै रहेको छ। तिनीहरू भेटीहरू साँच्चिकै के हुन् भन्नेबारे अस्पष्ट छन्। कतिले भन्छन्, भेटीहरू परमेश्वरलाई चढाइने पैसा र भौतिक सामग्रीहरू हुन्, जबकि कति अरूचाहिँ भेटीहरूले मुख्यतः पैसालाई जनाउँछन् भनेर भन्छन्। यीमध्ये कुन कथनचाहिँ सही छ त? (यदि कुनै चीज परमेश्वरलाई चढाइएको हो भने, चाहे त्यो पैसा होस् वा अन्य सामग्री, चाहे त्यो ठूलो होस् वा सानो, त्यो भेटी नै हुन्छ।) त्यो तुलनात्मक रूपले सही सारांश हो। अब भेटीहरूका दायरा र सीमाहरू प्रस्ट भएपछि, भेटीहरू ठ्याक्कै के हुन् भनेर सही रूपमा परिभाषित गरौँ, ताकि त्यस अवधारणाबारे सबैजना प्रस्ट हुन सकून्।
भेटीहरूको विषयमा, बाइबलमा के अभिलेख गरिएको छ भने, सुरुमा परमेश्वरले मानिसलाई परमेश्वरलाई दशांश चढाउन भन्नुभयो—यो एउटा भेटी हो। चढाइएको परिमाण धेरै भए पनि वा थोरै भए पनि, र जे चढाइएको भए पनि—चाहे त्यो पैसा होस् वा भौतिक सामग्री—यदि त्यो एउटा व्यक्तिको आम्दानीको चढाउनुपर्ने दशांश हो भने, त्यो पक्कै पनि भेटी हुन्थ्यो। परमेश्वरले मानिसबाट माग्नुभएको कुरा यही थियो, र परमेश्वरमा विश्वास गर्नेहरूले परमेश्वरलाई चढाउनुपर्ने कुरा त्यही थियो। यो दशांश भेटीहरूको एउटा पक्ष हो। कति मानिसहरू सोध्छन्, “के त्यो दशांशले पैसा मात्र जनाउँछ?” पैसा नै हुन जरूरी छैन। उदाहरणका लागि, यदि एक व्यक्तिले दश एकड खेतको बाली भित्र्यायो भने, अन्नपात जति भए पनि, अन्त्यमा एक एकड जमिन बराबरको बाली परमेश्वरलाई चढाउनैपर्छ—मानिसहरूले चढाउनुपर्ने भनेकै यो दशांश हो। यसैले, “दशांश” को अवधारणाले पैसा मात्र जनाउँदैन—यसको अर्थ एउटा व्यक्तिले एक हजार युआन कमाउँदा, उसले परमेश्वरलाई एक सय चढाउनैपर्छ भन्ने मात्र होइन—बरु यसले त मानिसहरूले प्राप्त गर्ने सबथोकलाई जनाउँछ, जसमा अझ धेरै कुराहरू समेटिन्छन्, जसमा भौतिक वस्तुहरू र पैसा पनि पर्छन्। बाइबलले यसकै बारेमा कुरा गर्छ। अवश्य नै, आजकाल परमेश्वरको घरले बाइबलअनुसार नै चलेर अत्यन्तै कडाइसाथ मानिसहरूले प्राप्त गर्ने सबथोकको दशांश चढाउनुपर्ने माग गर्दैन। यहाँ म केवल “दशांश” को अवधारणा र परिभाषा सङ्गति गरिरहेको र फैलाइरहेको छु, ताकि मानिसहरूले दशांश भनेको भेटीको एउटा पक्ष हो भनेर थाहा पाऊन्। म मानिसहरूलाई दशांश चढाउन आह्वान गरिरहेको छैन; मानिसहरूले कति चढाउँछन् भन्ने कुरा उनीहरूको व्यक्तिगत बुझाइ र इच्छामा भर पर्छ, र परमेश्वरको घरसँग यो मामलाका सम्बन्धमा थप मागहरू केही पनि छैनन्।
भेटीहरूको अर्को पक्ष भनेको मानिसहरूले परमेश्वरलाई चढाउने वस्तुहरू हो। आम रूपमा भन्नुपर्दा, यसमा अवश्यै दशांश पनि समावेश हुन्छ; खासगरी भन्नुपर्दा, दशांशबाहेक, मानिसहरूले परमेश्वरलाई चढाउने कुनै पनि कुरा भेटीको वर्गमा पर्छ। परमेश्वरलाई चढाइने चीजहरूले ठूलो दायरा समेट्छन्, उदाहरणका लागि, खाना, उपकरणहरू, दैनिक आवश्यकताका कुराहरू, स्वास्थ्य पूरकहरू, साथसाथै पुरानो करारको समयमा वेदीमा चढाइएका गाई, भेडा, आदि इत्यादि। यी सबै भेटीहरू हुन्। कुनै चीज भेटी हो कि होइन भन्ने कुरा चढाउने व्यक्तिको आशयमा भर पर्छ; यदि चढाउने व्यक्तिले यो कुरा परमेश्वरलाई चढाइएको हो भनेर भन्छ भने, चाहे त्यो सीधै परमेश्वरलाई चढाइयोस् वा सुरक्षाका लागि परमेश्वरको घरमा राखियोस्, त्यो भेटीहरूको वर्गमै पर्छ, र त्यसलाई मानिसहरूले स्वेच्छाचारी रूपमा छुन मिल्दैन। उदाहरण दिनुपर्दा: जब कसैले एउटा उच्चस्तरीय कम्प्युटर किनेर परमेश्वरलाई चढाउँछ, त्यो भेटी बन्छ; जब कसैले परमेश्वरलाई गाडी किनिदिन्छ, त्यो भेटी बन्छ; जब कसैले स्वास्थ्य पूरकको दुई बोतल किनेर परमेश्वरलाई चढाउँछ, ती बोतलहरू भेटी बन्छन्। परमेश्वरलाई चढाइने भौतिक सामग्री के-के हुन् भनेर कुनै खास र निश्चित परिभाषा छैन। समग्रमा भन्नुपर्दा, यो निकै फराकिलो दायरा हो—यी परमेश्वरलाई पछ्याउनेहरूले उहाँलाई चढाउने चीजहरू हुन्। कतिपयले भन्न सक्छन्, “परमेश्वर अहिले धर्तीमा देहधारी हुनुभएको छ, र उहाँलाई चढाइएका चीजहरू उहाँकै हुन्—तर यदि उहाँ धर्तीमा नहुनुभएको भए के हुन्थ्यो? परमेश्वर स्वर्गमा रहनुहुँदा, उहाँलाई चढाइने चीजहरू भेटी हुँदैनन् त?” के यो सही हो? (होइन।) यो कुरा परमेश्वर देहधारणको अवधिमा हुनुहुन्छ कि हुनुहुन्न भन्नेमा आधारित हुँदैन। चाहे जे भए पनि, यदि कुनै चीज परमेश्वरलाई चढाइएको हो भने, त्यो भेटी नै हो। अरूले भन्न सक्छन्, “त्यस्ता धेरै चीजहरू छन् जुन परमेश्वरलाई चढाइन्छन्। के उहाँले तिनको उपयोग गर्न सक्नुहुन्छ? के उहाँले ती सबै उपयोग गर्न सक्नुहुन्छ?” (मान्छेसँग त्यसको कुनै सरोकार छैन।) त्यो भनेको कुरा बताउने सही र तीक्ष्ण तरिका हो। ती चीजहरू परमेश्वरलाई मानवद्वारा चढाइन्छन्; उहाँले तिनलाई कसरी उपयोग गर्नुहुन्छ र उहाँले ती सबै उपयोग गर्न सक्नुहुन्छ कि सक्नुहुन्न, र उहाँले तिनलाई कसरी बाँडफाँड गर्नुहुन्छ र सम्हाल्नुहुन्छ भन्ने कुराको मान्छेसँग कुनै सम्बन्ध छैन। त्यसबारे पिर गर्नुपर्दैन वा चिन्ता लिनुपर्दैन। संक्षेपमा भन्दा, कसैले परमेश्वरलाई केही चीज चढाउनेबित्तिकै, त्यो चीज भेटीहरूको दायरामा पर्न जान्छ। त्यो परमेश्वरको हुन्छ, र कुनै पनि व्यक्तिसँग त्यसको कुनै सरोकार हुँदैन। कतिले भन्न सक्छन्, “तपाईँले जे-जसरी भनिरहनुभएको छ, त्यो सुन्दा यस्तो लाग्छ मानौँ परमेश्वरले जबरजस्ती त्यो चीजको स्वामित्व दाबी गरिरहनुभएको छ।” के त्यही नै भइरहेको हो त? (होइन।) त्यो चीज परमेश्वरको हो, त्यसैले त्यसलाई भेटी भनिएको हो। मानिसहरूले त्यसलाई आफूखुसी छुन वा बाँडफाँड गर्न मिल्दैन। कतिले सोध्न सक्छन्, “के त्यो खेर फाल्नु होइन र?” त्यसो हो भने पनि त्यो तेरो सरोकारको विषय होइन। अरूले भन्न सक्छन्, “जब परमेश्वर स्वर्गमा हुनुहुन्छ र देहधारी हुनुहुन्न, तब उहाँले मानिसहरूले उहाँलाई चढाएका वस्तुहरू उपभोग वा उपयोग गर्न सक्नुहुन्न। त्यसबेला के गरिनुपर्छ?” त्यसलाई सजिलै सम्हालिन्छ: सिद्धान्तहरूअनुसार ती चीजहरू सम्हाल्नका लागि परमेश्वरको घर र मण्डली छन्; तैँले त्यसबारे पिर गर्नु वा चिन्ता लिनु आवश्यक छैन। समग्रमा भन्दा, कुनै चीजलाई जसरी सम्हालिए पनि, त्यो भेटीहरूको वर्गमा पर्नेबित्तिकै, त्यो भेटीका रूपमा वर्गीकृत हुनेबित्तिकै, मान्छेसँग त्यसको कुनै सम्बन्ध रहँदैन। अनि त्यो चीज परमेश्वरको हुने भएकाले, मानिसहरूले त्यसलाई मनपरी गर्न मिल्दैन—त्यसो गरे परिणामहरू भोग्नुपर्ने हुन्छ। पुरानो करारको युगमा, शरद ऋतुको बाली भित्र्याउने समयमा, मानिसहरूले हर प्रकारका वस्तुहरू वेदीमा चढाउँथे। कतिले अन्नपात, फलफूल, र अन्य विभिन्न बालीहरू चढाउँथे भने, अरूले गाई र भेडाहरू चढाउँथे। के परमेश्वरले ती चीजहरू उपभोग गर्नुहुन्थ्यो? के उहाँले ती चीजहरू खानुहुन्छ? (अहँ।) उहाँले खानुहुन्न भनेर तैँले कसरी थाहा पाइस्? के तैँले त्यो देखिस्? त्यो तेरो धारणा हो। तँ परमेश्वरले ती खानुहुन्न भन्छस्—अनि, यदि उहाँले एकचोटि टोक्नुभयो भने, त्यसले तँलाई कस्तो महसुस गराउँथ्यो? के त्यो तेरा धारणा र कल्पनाहरूसँग अमिल्दो हुँदैनथ्यो र? कति मानिसहरू त परमेश्वरले ती वस्तुहरू खानु वा उपभोग गर्नुहुन्न भने ती चढाउनु आवश्यक छैन भनेर पनि विश्वास गर्छन्, होइन र? तिमीहरू कसरी यति निश्चित हुन सक्छौ? के तिमीहरूले “परमेश्वरले ती खानुहुन्न” भन्नुको कारण तिमीहरूलाई उहाँ एक आत्मिक शरीर हुनुभएकाले उहाँले खान सक्नुहुन्न भन्ने लागेर हो, कि तिमीहरूलाई परमेश्वरसित परमेश्वरका रूपमा आफ्नै पहिचान छ, उहाँ दैहिक र मरणशील हुनुहुन्न, र उहाँले यी वस्तुहरूको आनन्द लिनु नपर्ने हो भन्ने लागेर हो? के मानिसहरूले परमेश्वरलाई चढाएका भेटीहरू उहाँले उपभोग गर्नु उहाँका लागि लाजमर्दो कुरा हो? (होइन।) त्यसोभए, के त्यो मानिसहरूका धारणाहरूसँग अमिल्दो हुन्छ, कि त्यो परमेश्वरको पहिचानसँग अमिल्दो हुन्छ? त्यो ठ्याक्कै के हो? (मानिसहरूले यसबारे छलफल गर्नु हुँदैन।) ठीक भनिस्—त्यो मानिसहरूले चासो राख्नुपर्ने कुरा होइन। तैँले परमेश्वरले तिनलाई उपभोग गर्नैपर्छ, वा उपभोग गर्नु हुँदैन भनेर पनि निर्णय गर्नुपर्दैन। तैँले जे गर्नुपर्ने हो त्यो गर्, तेरा कर्तव्य र जिम्मेवारीहरू पूरा गर्, अनि तेरा दायित्वहरू पूरा गर्—त्यति भए पुग्छ। त्यसपछि तैँले आफ्नो काम पूरा गरेको हुनेछस्। परमेश्वरले ती वस्तुहरू कसरी सम्हाल्नुहुन्छ, त्यो उहाँकै सरोकारको विषय हो। परमेश्वरले ती वस्तुहरू मानिसहरूसँग बाँड्नुहुन्छ, कि यतिकै बिग्रन दिनुहुन्छ, कि उहाँले अलिकति भए पनि तिनको उपभोग गर्नुहुन्छ, कि तिनलाई हेर्नुहुन्छ, यो आलोचनाको विषय होइन, र यो त वैध कुरा हो। परमेश्वरसित यी मामलाहरू कसरी सम्हाल्ने भन्ने कुराको स्वतन्त्रता हुन्छ। यो मानिसहरूले चासो राख्नुपर्ने कुरा होइन, न त यो तिनीहरूले आलोचना गर्नुपर्ने कुरा नै हो। मानिसहरूले यी मामलाहरूबारे मनपरी कल्पना गर्नु हुँदैन, र तिनको आलोचना वा तीबारे फैसला गर्न त झनै हुँदैन। अब कुरो बुझिस्? मानिसहरूले परमेश्वरलाई चढाएका भेटीहरू उहाँले कसरी सम्हाल्नुपर्छ? (उहाँले तिनलाई जसरी मन लाग्छ त्यसरी सम्हाल्नुहुनेछ।) ठीक भनिस्। यसलाई त्यो तरिकाले बुझ्ने मानिसहरूमा सामान्य समझ हुन्छ। परमेश्वरले यी चीजहरू उहाँको चाहनाअनुसार सम्हाल्नुहुनेछ। उहाँले तिनलाई झलक्क हेर्न पनि सक्नुहुन्छ, वा तिनलाई बिलकुलै नहेर्न वा ध्यान नदिन पनि सक्नुहुन्छ। भेटीहरू चढाउने समय आउँदा भेटीहरू चढाउन, र इच्छा हुँदा परमेश्वरका मागहरूअनुसार भेटीहरू चढाउन, र मान्छेको जिम्मेवारी पूरा गर्नमा मात्र ध्यान दे। परमेश्वरले त्यस्ता मामलाहरू कसरी सम्हाल्नुहुन्छ र तीप्रति कस्तो व्यवहार गर्नुहुन्छ भन्नेबारे सरोकार नराख्। संक्षेपमा भन्दा, यदि तैँले जे गर्छस् त्यो परमेश्वरका मागहरूको दायराभित्र पर्छ, विवेकको मानकअनुसार छ, र मानवजातिको कर्तव्य, दायित्व र जिम्मेवारीअनुरूपको छ भने, त्यो नै काफी हुन्छ। परमेश्वरले ती वस्तुहरू कसरी सम्हाल्नुहुन्छ र तीप्रति कस्तो व्यवहार गर्नुहुन्छ, त्यो उहाँको आफ्नै कुरा हो, र मानिसहरूले त्यसको बिलकुलै आलोचना वा त्यसबारे फैसला गर्नु हुँदैन। तिमीहरूले केही सेकेन्डमै ठूलो गल्ती गर्यौ। मैले तिमीहरूलाई परमेश्वरले यी चीजहरू उपभोग गर्नुहुन्छ कि गर्नुहुन्न वा खानुहुन्छ कि खानुहुन्न भनेर सोधेँ, र तिमीहरूले उहाँले खाने वा उपभोग गर्ने गर्नुहुन्न भन्यौ। तिमीहरूको गल्ती के थियो? (परमेश्वरको आलोचना गर्नु।) त्यो हतारमा सीमा निर्धारण गर्नु र हतारमा आलोचना गर्नु थियो, र यसले मानिसहरूभित्र अझै पनि परमेश्वरप्रतिका मागहरू छन् भन्ने प्रमाणित गर्छ। तिनीहरूको नजरमा, परमेश्वरले यी चीजहरू उपभोग गर्नु पनि गलत हो, र उहाँले उपभोग नगर्नु पनि गलत हो। यदि उहाँले उपभोग गर्नुभयो भने, तिनीहरूले भन्नेछन्, “तपाईँ आत्मिक देह हुनुहुन्छ, दैहिक र मरणशील हुनुहुन्न। तपाईँले यी चीजहरू किन उपभोग गर्नुहुन्छ? यो सोच्नै नसकिने कुरा हो!” अनि यदि परमेश्वरले यी चीजहरूलाई वास्तै गर्नुभएन भने, तिनीहरूले भन्नेछन्, “हामीले तपाईँलाई आफ्नो हृदय अर्पण गर्न कष्टकर श्रम गरेका छौँ, तर तपाईँले हामीले चढाएका चीजहरूतिर झलक्क हेर्नु पनि भएन। के तपाईँलाई हाम्रो कुनै वास्ता छ?” यहाँ पनि मानिसहरूलाई केही भन्नुपर्ने हुन्छ। यो समझ नहुनु हो। सारांशमा भन्दा, मानिसहरूले यो मामलालाई कस्तो मनोवृत्तिले व्यवहार गर्नुपर्छ? (मानिसहरूले परमेश्वरलाई जे चढाउनुपर्ने हो त्यो चढाउनुपर्छ, र परमेश्वरले यी चीजहरू कसरी सम्हाल्नुहुन्छ भन्नेबारे मानिसहरूले कुनै धारणा वा कल्पनाहरू बिलकुलै राख्नु हुँदैन, न त तिनीहरूले त्यसको आलोचना नै गर्नु हुन्छ।) हो—मानिसहरूमा हुनुपर्ने समझ नै त्यही हो। यो परमेश्वरलाई चढाइने चीजहरूसँग सम्बन्धित छ, र ती चीजहरू पनि भेटीहरूकै एउटा पक्ष हुन्। परमेश्वरलाई चढाइने भौतिक वस्तुहरूमा विविध प्रकारका चीजहरू पर्छन्, किनभने मानिसहरू भौतिक संसारमा जिउँछन्, र पैसा, सुन, चाँदी, र गरगहनाका अतिरिक्त, त्यस्ता धेरै चीजहरू छन् जसलाई तिनीहरूले अत्यन्तै राम्रो र मूल्यवान् ठान्छन्, र केही मानिसहरूले परमेश्वरबारे विचार गर्दा वा परमेश्वरको प्रेमबारे सोच्दा, तिनीहरू आफूलाई अमूल्य र मूल्यवान् लाग्ने चीज नै परमेश्वरलाई चढाउन इच्छुक हुन्छन्। जब ती चीजहरू परमेश्वरलाई चढाइन्छन्, तब ती भेटीहरूकै दायरामा पर्छन्; ती भेटी बन्छन्। अनि ती भेटी बनेसँगै, तिनलाई कसरी सम्हाल्ने भन्ने कुरा परमेश्वरकै हातमा हुन्छ—त्यसपछि मानिसहरूले तिनलाई छुन मिल्दैन, ती मानिसहरूको नियन्त्रणमा हुँदैनन्, र ती मानिसहरूको स्वामित्वमा हुँदैनन्। तैँले कुनै चीज परमेश्वरलाई चढाएपछि, त्यो परमेश्वरको हुन्छ, त्यसलाई कसरी सम्हाल्ने भन्ने कुरा तेरो हातमा हुँदैन, र तैँले उप्रान्त त्यो मामलामा हस्तक्षेप गर्न मिल्दैन। परमेश्वरले त्यो मामलालाई जेजसरी सम्हाल्नु भए पनि वा त्यसप्रति जेजसरी व्यवहार गर्नु भए पनि, मान्छेसँग त्यसको कुनै सम्बन्ध हुँदैन। परमेश्वरलाई चढाइने भौतिक सामग्रीहरू पनि भेटीहरूकै एउटा पक्ष हुन्। कति मानिसहरू सोध्छन्, “के पैसा र बहुमूल्य सुन, चाँदी, र गरगहना मात्र भेटी हुन सक्छन्? मानौँ कसैले एक जोर जुत्ता, एक जोर मोजा, वा एक जोर भित्री सोल परमेश्वरलाई चढायो रे—के ती भेटीमा गनिन्छन्?” यदि हामीले भेटीहरूको परिभाषाअनुसार नै हेर्ने हो भने, कुनै चीज जतिसुकै ठूलो होस् वा सानो, अथवा जतिसुकै बहुमूल्य होस् वा सस्तो—चाहे त्यो एउटा कलम होस् वा कागजको टुक्रा नै होस्—यदि त्यो परमेश्वरलाई चढाइएको हो भने, त्यो भेटी नै हो।
भेटीहरूको अर्को पक्ष पनि छ: परमेश्वरको घर र मण्डलीलाई चढाइएका भौतिक सामग्रीहरू। यी वस्तुहरू पनि भेटीको वर्गमा पर्छन्। त्यस्ता भौतिक वस्तुहरूमा के-के पर्छन्? उदाहरणका लागि, मानौँ, कसैले एउटा गाडी किन्यो, र केही समय चलाएपछि उसलाई त्यो अलि पुरानो भएको महसुस भयो, अनि उसले एउटा नयाँ किन्यो, र पुरानो गाडी परमेश्वरको घरले आफ्नो काममा प्रयोग गर्न सकोस् भनेर परमेश्वरको घरलाई चढायो। त्यसपछि त्यो गाडी परमेश्वरको घरको हुन्छ। जुन चीजहरू परमेश्वरको घरका हुन्, तिनलाई भेटीको वर्गमा राख्नुपर्छ—यसो गर्नु ठिक हुन्छ। अवश्य नै, मण्डलीलाई र परमेश्वरको घरलाई चढाइने कुरामा यन्त्र र उपकरण मात्र पर्दैनन्, अरू चीजहरू पनि पर्छन्; यो दायरा निकै ठूलो हुन्छ। कति मानिसहरू भन्छन्, “मानिसहरूले प्राप्त गरेर चढाउने सबै कुराको दशांश एउटा भेटी हो, त्यसैगरी परमेश्वरलाई चढाइएका पैसा र भौतिक वस्तुहरू पनि भेटी नै हुन्; यी चीजहरूलाई भेटीको वर्गमा राख्दा हामीलाई कुनै आपत्ति छैन, यसमा प्रश्न गर्नुपर्ने केही छैन। तर मण्डली र परमेश्वरको घरलाई चढाइएका भौतिक वस्तुहरू पनि किन भेटीको वर्गमै पर्छन्? त्यसको त्यति धेरै अर्थ छैन।” ल भन त, के तिनलाई भेटीको वर्गमा राख्नुको कुनै अर्थ हुन्छ? (हुन्छ।) अनि तिमीहरू किन त्यसो भन्छौ? (परमेश्वर अस्तित्वमा हुनुभएको कारणले गर्दा मात्र मण्डली अस्तित्वमा रहेको हो, त्यसैले मण्डलीलाई जे चढाइन्छ त्यो पनि भेटी नै हो।) राम्रो कुरा गरिस्। मण्डली र परमेश्वरको घर परमेश्वरका हुन्, र ती परमेश्वरको अस्तित्वको कारणले गर्दा मात्र अस्तित्वमा छन्; मण्डली भएको कारणले मात्र दाजुभाइ-दिदीबहिनीहरू भेला हुने र बस्ने ठाउँ छ, र परमेश्वरको घर भएको कारणले नै दाजुभाइ-दिदीबहिनीहरूका सबै समस्याहरू समाधान गर्ने ठाउँ छ, र दाजुभाइ-दिदीबहिनीहरूको एउटा साँचो घर छ। यी सबै परमेश्वरको अस्तित्वको जगमा मात्र अस्तित्वमा छन्। मण्डलीका मानिसहरूले परमेश्वरमा विश्वास गर्ने र तिनीहरू परमेश्वरको घरका सदस्य भएको कारणले मानिसहरूले मण्डली र परमेश्वरको घरलाई वस्तुहरू चढाएका होइनन्—त्यो सही कारण होइन। परमेश्वरकै कारण मानिसहरूले मण्डली र परमेश्वरको घरलाई वस्तुहरू चढाउँछन्। यसको तात्पर्य के हो? यदि परमेश्वरको कारणले होइन भने, कसले सजिलै मण्डलीलाई वस्तुहरू चढाउँथ्यो र? परमेश्वरबिना, मण्डली अस्तित्वमा रहनेथिएन। जब मानिसहरूसँग आफूलाई नचाहिने वा आवश्यकताभन्दा बढी वस्तुहरू हुन्छन्, तिनीहरूले तिनलाई फाल्न वा प्रयोग नगरी राख्न सक्छन्; कति वस्तुहरू त बेच्न पनि सकिन्छ। ती वस्तुहरू सम्हाल्न यी सबै विधिहरू प्रयोग गर्न सकिन्छ, होइन र? त्यसोभए मानिसहरूले तिनलाई किन यसरी सम्हाल्दैनन्—त्यसको साटो तिनीहरूले ती वस्तुहरू किन मण्डलीलाई चढाउँछन्? के त्यो परमेश्वरको कारणले होइन र? (हो।) ठ्याक्कै भन्नुपर्दा, परमेश्वर अस्तित्वमा हुनुभएकाले नै मानिसहरूले मण्डलीलाई वस्तुहरू चढाउँछन्। त्यसकारण, मण्डली वा परमेश्वरको घरलाई चढाइएको कुनै पनि चीजलाई भेटी भनेर वर्गीकृत गर्नुपर्छ। कति मानिसहरू भन्छन्, “म मेरो यो सामान मण्डलीलाई चढाउँछु।” त्यो चीज मण्डलीलाई चढाउनु भनेको परमेश्वरलाई चढाउनुसरह हो, र मण्डली र परमेश्वरको घरसित ती वस्तुहरूलाई सम्हाल्ने पूर्ण अख्तियार हुन्छ। जब तैँले मण्डलीलाई केही चीज चढाउँछस्, त्यसपछि त्यो चीजको तँसँगको कुनै पनि सम्बन्ध गुम्छ। परमेश्वरको घरले र मण्डलीले परमेश्वरको घरले तोकेका सिद्धान्तहरूअनुसार यी भौतिक वस्तुहरूलाई समझदारीपूर्वक बाँडफाँड र प्रयोग गर्नेछन् र सम्हाल्नेछन्। त्यसोभए, यी सिद्धान्तहरू कहाँबाट आउँछन्? परमेश्वरबाट। मूलतः यी वस्तुहरू प्रयोग गर्ने सिद्धान्त के हो भने, तिनलाई परमेश्वरको व्यवस्थापन योजनाका लागि, र परमेश्वरको सुसमाचारको काम फैलाउनका लागि प्रयोग गरिनुपर्छ। ती कुनै एउटा व्यक्तिको मात्र प्रयोगका लागि होइनन्, कुनै समूहका मानिसहरूको प्रयोगका लागि त झनै होइनन्, बरु ती त सुसमाचार फैलाउने काम र परमेश्वरको घरका विभिन्न कामका निम्ति प्रयोग गरिनलाई हुन्। त्यसकारण, ती वस्तुहरू प्रयोग गर्ने विशेष अधिकार कसैलाई पनि हुँदैन; तिनको प्रयोग र बाँडफाँडको एक मात्र सिद्धान्त र आधार भनेको परमेश्वरको घरले माग गरेका सिद्धान्तहरूअनुसार त्यसो गर्नु हो। यो मनासिब र उचित हुन्छ।
भेटीको परिभाषाका तीन भागहरू यिनै हुन्, जसको प्रत्येक भाग भेटीको एउटा पक्षको परिभाषा, र त्यसको दायराको एउटा पक्ष हो। अब तिमीहरू सबै जना भेटीहरू भनेका के हुन् भन्नेबारे प्रस्ट छौ, होइन त? (हो।) यसअघि कतिले यसो भनेका थिए, “यो चीज पैसा होइन, र जुन व्यक्तिले यो चढाएको थियो उसले यो परमेश्वरका लागि हो भनेर भनेको थिएन। उसले यो चढाएको हो भनेर मात्र भनेको थियो। त्यसैले, यो परमेश्वरको घरको प्रयोगका लागि हुन सक्दैन, र यो परमेश्वरलाई त झन् दिनै मिल्दैन।” त्यसैले, तिनीहरूले त्यसको अभिलेख राखेनन्, र गोप्य रूपमा त्यो चीज मनपरी प्रयोग गरे। के त्यो मनासिब हो? (होइन।) तिनीहरूले जे भने त्यो नै मनासिब छैन; तिनीहरूले “मण्डली र परमेश्वरको घरलाई चढाइएका भेटीहरू साझा सम्पत्ति हुन्—तिनलाई जसले पनि प्रयोग गर्न मिल्छ” भनेर पनि भने, जुन प्रस्ट रूपमै बेमनासिब छ। ठ्याक्कै भन्नुपर्दा, धेरैजसो मानिसहरू भेटीहरूको परिभाषा र अवधारणाबारे अन्योलग्रस्त र अस्पष्ट भएकै कारणले गर्दा केही नीच खलपात्रहरू र लालची हृदय र अनुचित कामनाहरू भएका मानिसहरूले परिस्थितिको फाइदा उठाउँदै ती वस्तुहरू कब्जा गर्नेबारे सोच्छन्। अब त तिमीहरू भेटीहरूको सही परिभाषा र अवधारणाबारे प्रस्ट भइसकेका छौ, त्यसैले भविष्यमा त्यस्ता घटना र मानिसहरू सामना गर्दा तिमीहरूले तिनलाई खुट्ट्याउन सक्नेछौ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।