अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (११) खण्ड दुई

समझदारीपूर्ण बाँडफाँड

परमेश्‍वरको घरका भौतिक सामानहरूका हकमा, तिनको सुरक्षा गर्नेबाहेक अर्को महत्त्वपूर्ण काम छ: तिनलाई समझदारीपूर्वक बाँडफाँड गर्ने। यी सबै सामानहरू मानिसहरूको प्रयोजनका लागि हुन्—ती सबै उपयोगी चीजहरू हुन्—त्यसैले तिनको सुरक्षा गर्नुको मुख्य उद्देश्य भनेको तिनलाई समझदारीपूर्वक प्रयोग गरियोस् भन्‍ने हो। यी सामानहरूलाई समझदारीपूर्वक प्रयोगमा लगाउनुअघि, तिनलाई समझदारीपूर्वक बाँडफाँड गर्नु अगुवा र कामदारहरूको काम हो। समझदारीपूर्ण बाँडफाँड भनेको के हो? यी सामानहरू कसलाई प्रयोग गर्न दिइनुपर्छ भन्‍ने सम्बन्धमा, परमेश्‍वरको घरसँग सिद्धान्त र नियमहरू छन्। चाहे ती दाजुभाइ-दिदीबहिनीहरूले चढाएका हुन् वा परमेश्‍वरको घरले खरिद गरेका हुन्, यी सामानहरूको मुख्य उद्देश्य भनेको तिनलाई राहतका लागि भण्डारण गर्नु वा कल्याणकारी कामका लागि भिक्षाका रूपमा प्रयोग गर्नु होइन; बरु, ती त पूर्णकालीन रूपमा कर्तव्य पूरा गर्ने सबै दाजुभाइ-दिदीबहिनीहरूको प्रयोजनका लागि हो। त्यसोभए, तिनलाई कसरी बाँडफाँड गरिनुपर्छ—तिनलाई बाँडफाँड गर्ने सिद्धान्तहरू के-के हुन्—त्यो अगुवा र कामदारहरूले परमेश्‍वरको घरका विभिन्‍न भौतिक सामानहरूको व्यवस्थापन गर्दा पूरा गर्नुपर्ने अर्को जिम्मेवारी हो। हामीले यहाँ समझदारीपूर्ण बाँडफाँडको कुरा उल्लेख गर्‍यौँ; यस अवस्थामा, “समझदार” हुनु नै परमेश्‍वरको घरले माग गर्ने सिद्धान्त हो।

अ. परमेश्‍वरको घरका पुस्तकहरू समझदारीपूर्वक बाँडफाँड गर्ने

हामी परमेश्‍वरका वचनका पुस्तकहरूबाट सुरु गर्नेछौँ। हरेक पटक नयाँ पुस्तकहरू जारी हुँदा, ती पुस्तकहरू कसलाई जारी गरिनुपर्छ भन्‍ने सिद्धान्तहरूका सन्दर्भमा परमेश्‍वरको घरका माग र नियमहरू हुन्छन्। मण्डलीमा, परमेश्‍वरका वचनहरू पढ्ने र नपढ्ने मानिसहरू हुन्छन्, सत्यतालाई प्रेम गर्ने र नगर्ने मानिसहरू हुन्छन्, साथै कर्तव्यहरू पूरा गर्ने र नगर्ने मानिसहरू हुन्छन्—यस किसिमका मानिसहरूका बीचमा भिन्‍नताहरू छुट्याइनुपर्छ। पाठ्यपुस्तकहरूका वर्गमा केही विशेष पुस्तकहरू—व्याकरण, शब्दकोश, र त्यस्ता अन्य उपयोगी पुस्तकहरू पनि हुन्छन्। यी सबै कडाइका साथ सिद्धान्तहरूअनुरूप वितरण गरिनुपर्छ। तिनको आवश्यकता परेकाहरूलाई मात्र ती दिनुपर्छ, र आवश्यकता नपरेकाहरूलाई दिनु हुँदैन। अनि त्यसपछि त्यस्ता केही उपयोगी पुस्तकहरू हुन्छन् जुन तुलनात्मक रूपमा कम मात्रामा छापिन्छन्—यदि यी कुनै व्यक्तिलाई जारी गरियो भने, त्यस व्यक्तिबाट के माग गरिन्छ? तैँले ती पढ्न सक्छस्, तर तिनलाई क्षति नपुर्‍या; तिनलाई जथाभावी छोड्ने वा जथाभावी च्यात्ने नगर्। अनि तैँले ती पढिसकेपछि तिनलाई पुरानै ठाउँमा फिर्ता राख्नुपर्छ। परमेश्‍वरमाथिको विश्‍वाससम्बन्धी पुस्तकहरूका हकमा, अगुवा र कामदारहरूले तिनलाई कडाइका साथ परमेश्‍वरको घरका कामका प्रबन्धहरूअनुरूप वितरण गर्नुपर्छ, साथै उनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई पनि सिद्धान्तहरू बुझ्न, र तीअनुसार कार्य गर्न दिनुपर्छ।

आ. विभिन्‍न किसिमका उपकरणहरू समझदारीपूर्वक बाँडफाँड गर्ने

त्यसपछि विभिन्‍न किसिमका उपकरणहरू कसरी बाँडफाँड गर्ने भन्‍ने कुरा आउँछ। यो तुलनात्मक रूपमा महत्त्वपूर्ण कार्य हो। विभिन्‍न किसिमका उपकरणहरूलाई केही कडाइका साथ बाँडफाँड गर्नुपर्ने हुन्छ। त्यस्ता उपकरणहरूमा विद्युतीय उपकरणहरू, साथै विभिन्‍न पेसाहरूका लागि आवश्यक पर्ने औजारहरू पर्छन्। अगुवा र कामदारहरूले तिनलाई वितरण गर्दा, त्यसका पनि सिद्धान्तहरू हुनुपर्छ। जसलाई ती वितरण गरिन्छ, उनीहरू त्यस्ता उपकरणहरू सुलभ रूपमा चलाउन सक्ने र तिनको सही र समझदारीपूर्ण प्रयोग गर्न सक्ने मानिसहरू हुनुपर्छ। यदि कोही नयाँ सिकारु छ वा उसले उक्त चीजलाई प्रयोग गर्न जानेकै छैन भने, त्यो उसलाई दिइनै हुँदैन। यो विशेषगरी राम्रा, उच्च-स्तरीय विद्युतीय उपकरणहरूमा लागु हुन्छ, जस्तै उच्च-स्तरीय क्यामेरा र महङ्गा कम्प्युटरहरू, साथै रेकर्ड गर्ने उपकरण, फोटोग्राफीसँग सम्बन्धित उपकरणहरू, वा भिडियोको उत्तर-निर्माणमा आवश्यक पर्ने उपकरण—क्षति हुनबाट जोगाउनका लागि त्यस्तो उपकरण यस्तो व्यक्तिलाई झनै दिइनु हुँदैन। अगुवा र कामदारहरूले त्यस्ता उपकरण प्रयोग गर्नेहरू सुरुमा उक्त उपकरणको महत्त्व बुझ्न, र त्यसपछि त्यसलाई सही ढङ्गले प्रयोग र मर्मतसम्भार गर्न सक्षम छन् भन्‍ने कुरा सुनिश्चित गर्नुपर्छ। उदाहरणका लागि, कतिपय मेसिनलाई त्यसको नियमानुसार दुई घण्टासम्म प्रयोग गरेपछि सेलाउनका लागि दस मिनेट आराम दिनुपर्छ। यदि त्यो सेलाएन भने, त्यसले मेसिनमा क्षति पुर्‍याउँछ र त्यसको उपयोगी आयु छोट्ट्याउँछ। मेसिनलाई महत्त्व दिने मानिसहरूले त्यसलाई कडाइका साथ त्यसको मर्मतसम्भारका सावधानीहरू अनुरूप प्रयोग गर्नेछन्; तैँले नभनीकनै उनीहरू आफैले तिनको पालना गर्नेछन्, र यदि तैँले तिनीहरूलाई प्रोत्साहित गरिस् भने उनीहरू अझ कडाइका साथ र सही रूपमा पालना गर्नेछन्। त्यस्ता मानिसहरू मेसिनहरू प्रयोग गर्न उपयुक्त हुन्छन्; उनीहरू उच्च-स्तरीय सामानहरू प्रयोग गर्न उपयुक्त हुन्छन्, किनभने उनीहरूले मेसिनलाई महत्त्व दिन जानेका हुन्छन्, र त्यसका मर्मत र सम्भारसम्बन्धी सावधानीहरूलाई गम्भीरतापूर्वक लिन्छन्। मेसिनलाई कदर गर्न र सामान्य तरिकाले प्रयोग गर्न सक्ने त्यस्ता मानिसहरू नै उच्च श्रेणीका मेसिनहरूको बाँडफाँड र वितरणका लागि सबैभन्दा उपयुक्त हुन्छन्। अगुवा र कामदारहरूले यस सम्बन्धमा उचित परीक्षणहरू गर्नुपर्छ। यदि एउटा उच्च-स्तरीय कम्प्युटर छ, र आफ्नो आवश्यकता व्यक्त गरेर आवेदन दिने जोकोहीलाई पनि यो दिइन्छ भने, के त्यो सिद्धान्त सही हो? (होइन।) त्यसमा के चाहिँ सही छैन? अगुवा र कामदारहरूका लागि, यस्ता चीजहरूको बाँडफाँड र वितरणको एक भाग कार्यको जिम्मा पाएको व्यक्तिको पेसागत दक्षतामा आधारित हुनुपर्छ; अर्को भाग भनेको उनीहरूले त्यो व्यक्तिले मेसिनलाई कदर गर्ने हद, ऊसँग मानवता छ कि छैन, र उसले मेसिन प्रयोग गर्दा त्यसलाई महत्त्व दिन्छ कि दिँदैन भन्‍ने कुरामा आधारित हुनुपर्छ। यदि त्यस व्यक्तिले मेसिनको हेरचाह गर्न जान्दैन र ऊ उक्त पेसाका सीपहरूसँग अपरिचित छ, र जिज्ञासाका कारण मात्र मेसिन खेलाउन चाहन्छ भने, उसलाई त्यो प्रयोग गर्नबाट रोक र प्रतिबन्ध लगाइनुपर्छ। ऊ उच्च श्रेणीका मेसिनहरूको प्रयोग र हेरचाह गर्न उपयुक्त छैन। साधारण कर्तव्यहरू पूरा गरिरहेकाहरूलाई साधारण मेसिनहरू दिए काफी हुन्छ। जसले कुनै पेसा जानेका छन्; जो असल मानवताका छन्; र जसले मेसिनलाई कसरी प्रयोग गर्ने, मर्मतसम्भार गर्ने, र महत्त्व दिने भनी जानेका छन्, उनीहरूले उच्च श्रेणीका सामानहरू प्रयोग गर्न सक्छन्, किनभने उनीहरू कुनै पेसामा निपुण हुन्छन् र उच्च श्रेणीका मेसिनहरू उपयोग गर्न सक्षम हुन्छन्। यदि तैँले कुनै अन्योलग्रस्त वा रूखो व्यक्तिलाई उच्च श्रेणीको कुनै मेसिन प्रयोग गर्न दिइस् भने, उसले केही दिनमै उक्त मेसिन बिगार्नेछ। अरूले त्यसलाई प्रयोग गर्न सक्नेछैनन्, र त्यसलाई मर्मत गर्न सहज हुनेछैन। यसले मण्डलीको काममा अड्चन ल्याउने मात्र नभई, परमेश्‍वरको घरको एउटा भौतिक सामग्री पनि खेर फाल्छ। यसमा के कुरा निहित छ? त्यस्ता मानिसहरू मेसिनहरू प्रयोग गर्नका लागि उपयुक्त हुँदैनन् भन्‍ने कुरा। राम्रा मेसिनहरू मानवता भएका, कुनै पेसासँग परिचित मानिसहरूलाई नै प्रयोग गर्न दिइनुपर्छ। कुनै पेसामा विज्ञता नभएका र कमजोर मानवता भएका मानिसहरूले साधारण चीजहरू प्रयोग गर्नु नै काफी हुन्छ। के यस तरिकाले सामानहरू बाँडफाँड गर्नु समझदारीपूर्ण कुरा हो? (हो।)

हर प्रकारका भौतिक वस्तुहरूको कुरा आउँदा, फरक-फरक मानिसहरूले तिनलाई व्यवहार गर्ने तरिकाहरू फरक-फरक हुन्छन्। कतिपय मानिसहरूले एउटा उच्चस्तरीय कम्प्युटर किन्छन्, अनि दुई वर्ष प्रयोग गरेपछि, त्यो अझै पनि नयाँ नै देखिन्छ; स्क्रिनमा कहिल्यै कुनै औँलाको दाग देखिँदैन, र किबोर्ड सधैँ अति सफा हुन्छ, त्यसमा धूलोको एउटा कण समेत हुँदैन। डेस्कटप पनि राम्रो र सफा हुन्छ, र कम्प्युटरमा भण्डारण गरिएका सबै कुराहरू अत्यन्तै व्यवस्थित र स्पष्ट हुन्छन्। यदि कसैले उनीहरूलाई लामो समयसम्म स्क्रिन प्रयोग गर्नु त्यसका लागि नराम्रो हो भनेर भनेमा, उनीहरूले सर्वोत्तम रूपमा कसरी स्क्रिनको सुरक्षा गर्ने भनेर तुरुन्तै सोध्नेछन्—जुनसुकै तरिका सर्वोत्तम हुन्छ, उनीहरूले त्यसरी नै गर्छन्। यदि कसैले उनीहरूलाई लामो समयसम्म प्रयोग गरेपछि कम्प्युटरलाई विश्राम चाहिन्छ, धेरै तातियो भने त्यसले पहिले जस्तो राम्रो काम गर्नेछैन, र त्यसले मेसिनको दीर्घायुमा असर पार्नेछ भनेर भन्यो भने, जब उनीहरूले आफूले दुई घन्टाभन्दा बढी समयदेखि कम्प्युटर चलाउँदै आएको भन्‍ने थाहा पाउँछन्, तब उनीहरूले तुरुन्तै त्यसलाई चिसिन दिनका लागि चलाउन छोड्नेछन्। यदि अत्यन्तै गर्मी मौसम भएकाले त्यो ढिलो चिसियो भने उनीहरूले त्यसलाई हावा दिनका लागि पङ्खा जोड्नेछन्। उनीहरूले उक्त मेसिन आफ्नो बच्चा नै भए झैँ गरी त्यसको विशेष हेरचाह गर्छन्। उनीहरूले त्यसलाई झोलामा हाल्दा अत्यन्तै ध्यान पुर्‍याउँछन् र होसियार हुन्छन्, अनि उनीहरूले त्यसलाई टेबुलमा राख्दा, सतहलाई सफा गर्नुपर्ने र मेसिनलाई उचित तरिकाले राख्नुपर्ने हुन्छ। के यो उनीहरूको सबल पक्ष होइन र? (हो।) यस्ता मानिसहरूले आफूले मात्र मेसिनको कदर गर्ने होइनन्—जब उनीहरू अरूले मेसिनलाई बिगारिरहेको र क्षति पुर्‍याइरहेको देख्छन्, उनीहरूलाई त्यो सहन कठिन हुन्छ। यस्ता मानिसहरू राम्रा मेसिनहरू प्रयोग गर्न उपयुक्त हुन्छन्। कतिपय पैसावाल मानिसहरूले पनि उच्चस्तरीय कम्प्युटरहरू किन्‍ने गर्छन्, जसलाई घरमा ल्याएपछि बिलकुलै कदर गर्दैनन्। उनीहरूले तिनमा जतिसुकै धूलो जमेको भए पनि, तिनलाई सफा गर्दैनन्, र अत्यन्तै फोहोर बनाउँछन्। अरूले कुनै मेसिन दुई वर्ष प्रयोग गर्ने गर्छन्, तैपनि त्यो नयाँ नै देखिन्छ; यस्ता मानिसहरूले चाहिँ एउटा मेसिन दुई महिना प्रयोग गरेपछि, त्यो दस वर्ष चलाइएको जस्तो देखिन्छ। उनीहरूलाई मेसिनहरूको मर्मतसम्भार आवश्यक पर्छ भनेर भनिस् भने, उनीहरूले यसो भन्‍नेछन्, “त्यसको मर्मतसम्भार गर्नुको के अर्थ? मेसिनहरूले मानिसहरूलाई सेवा प्रदान गर्ने हो, ती मानिसहरूको सेवामा हुन्छन्। यदि त्यो बिग्रियो भने, नयाँ किने भइहाल्यो नि!” फलस्वरूप, उक्त मेसिन अनुचित प्रयोगका कारण छ महिना नपुग्दै बिग्रिन्छ। त्यस्ता मानिसहरूबारे तँ के भन्छस्? के उनीहरू उच्च श्रेणीका मेसिनहरू प्रयोग गर्न उपयुक्त हुन्छन्? (हुँदैनन्।) उनीहरूले किनेका कम्प्युटरहरू जतिसुकै राम्रा भए पनि, उनीहरूले तिनलाई कदर गर्नेबारे सोच्दैनन्, बरु तिनलाई लछार र पछार गर्छन् अनि लापर्बाहीपूर्वक राख्छन्। उनीहरूका कतिपय कम्प्युटरहरूमा कोरिएर खतै खतले भरिएका हुन्छन्; कतिपय चाहिँ पानीले भिजेर बिग्रेका हुन्छन्; कतिपय भुइँमा खसेर फुट्छन्। उनीहरूले तिनलाई अत्यन्तै जथाभाबी रूपमा प्रयोग गर्छन्। त्यस्ता मानिसहरूको मानवतामा केही कुराको कमी हुन्छ। के तिमीहरू त्यस्ता मानिसहरूको प्रयोजनका लागि मेसिनहरू बाँडफाँड गर्न इच्छुक छौ? (छैनौँ।) कतिपय मानिसहरूले चस्मा लगाउँछन्, र लेन्सहरू सधैँ पुछेर अत्यन्तै सफा राखिएको हुन्छ, तर अन्य मानिसहरूका लेन्सहरू मैलो र औँलाका दागहरू र त्यस्तै अन्य कुराहरू लागेर फोहोर हुन्छन्। उनीहरूले तिनलाई त्यसरी प्रयोग गर्न पनि कसरी सकेका हुन्? आफ्नो चस्माको ख्याल राख्नेहरूले तिनलाई फुकालेर राख्दा विशेष ध्यान दिन्छन्; उनीहरूले लेन्सलाई टेबुलको सतहमा वा कुनै पनि वस्तुसँग छुन दिनेछैनन्, न त उनीहरूले लेन्सलाई कोरिन वा रगडिन नै दिनेछन्। चस्माहरू विशेषगरी नजिकको दृष्टिदोष भएका मानिसहरूका लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छन्—लेन्सहरू कोरिएमा तैँले तिनलाई कसरी प्रयोग गर्नेछस्? कतिपय मानिसहरू आफ्ना चस्माबारे लापर्बाह हुन्छन्, र उनीहरूले केही समय लगाए पछि नै लेन्सहरू धमिलो हुन्छन्। उनीहरूले ती लगाउँदा केही पनि प्रस्टसित देख्न सक्दैनन्—उनीहरूले ती नलगाउँदा नै राम्रो हुन्छ। तैपनि उनीहरूले ती जस्तो छन् त्यस्तै लगाए हुन्छ भन्ठान्छन्, मानौँ त्यसले केही फरक पर्दैन। म यो कुराले अन्योलमा पर्छु: के उनीहरूले चस्मा लगाउनुको उद्देश्य वस्तुहरू अझ प्रस्ट रूपमा देख्न सक्ने हुनु होइन र? उनीहरूका लेन्सहरू सबै कोरिएपछि उनीहरूले के चाहिँ प्रस्ट रूपमा देख्न सक्छन् त? के यिनीहरू अपरिष्कृत मानिस होइनन् र? वास्तवमै अपरिष्कृत हुन्! अत्यन्तै अपरिष्कृत मानिसहरूको मानवतामा केही कुराको कमी हुन्छ—उनीहरूलाई सामानहरूको कसरी हेरचाह गर्ने भन्‍ने थाहा हुँदैन, तिनको कदर गर्नेबारे त उनीहरूले झन् सोच्दै सोच्दैनन्।

परमेश्‍वरको घरका महत्त्वपूर्ण उपकरण र औजारहरूको कुरा आउँदा, अगुवा र कामदारहरूको जिम्मेवारी के हो? त्यस्ता उपकरण बाँडफाँड गर्दा, त्यो उपयुक्त मानिसहरूलाई दिइनुपर्छ। त्यस्ता महत्त्वपूर्ण, उच्च श्रेणीका उपकरण प्रयोग गर्नेहरू बिलकुल नै सामानहरूको कदर गर्न जान्‍ने मानिस हुनैपर्छ। उनीहरूले त्यसको कदर गर्नेछन्, हेरचाह गर्नेछन्, र त्यसको मर्मतसम्भार गर्नेछन्; जब त्यो उनीहरूको स्वामित्वमा हुन्छ, कुनै क्षणिक लापर्बाही वा सामान्य ज्ञानको केही तत्त्वको कमीका कारण बाहेक, उनीहरूले कहिल्यै जानाजानी वा आफ्नै कारणले त्यसलाई नष्ट पार्ने वा बिगार्नेछैनन् भनेर तँ आश्‍वस्त हुन सक्छस्। त्यस्ता मानिसहरूले यो उपकरण प्रयोग गर्न सक्छन्; उच्च श्रेणीका, राम्रा उपकरण उनीहरूको भागमा पार्न सकिन्छ। जो सामानहरूको प्रयोगमा स्वतः रूखो हुन्छन्, उनीहरूलाई साधारण चीजहरू मात्र प्रयोग गर्न दिनु काफी हुन्छ। साथै, त्यस्ता उपकरण र औजारहरूका संरक्षकहरू तिनको प्रयोगको अभिलेख राख्न जिम्मेवार हुन्छन्: कसले के लगेको छ र उसले त्यो कति समयदेखि प्रयोग गरेको छ, वा कुन सामान चाहिँ निश्चित व्यक्तिको प्रयोजनका लागि मात्र हो, जसले यदि त्यो बिग्रिएमा त्यसको मूल्यअनुसार क्षतिपूर्ति तिर्नुपर्छ। दुवै पक्षले यी कुरामा हस्ताक्षर गर्नुपर्छ, ताकि कामकुराहरू सबैका लागि न्यायोचित र समझदारीपूर्ण होऊन्। मेसिन र उपकरणहरूको राम्रो हेरचाह गरिनुपर्छ, चाहे तिनको प्रयोग अल्पकालीन होस् वा दीर्घकालीन होस्; प्रयोगकर्ताले तिनलाई सही तरिकाले प्रयोग गर्न सिक्नैपर्छ, र यदि तिनमा समस्या आयो भने, तिनलाई तत्काल मर्मत गरिनुपर्छ। यो काम जति सावधानीपूर्वक गरियो, उति नै राम्रो हुन्छ। यदि शैतानको शासनले मानिसहरूलाई पक्राउ गरिरहेको कुनै अवस्था देखा पर्‍यो भने, त्यसबेला अगुवा र कामदारहरूको सबैभन्दा केन्द्रीय जिम्मेवारी भनेको महत्त्वपूर्ण उपकरण र औजारहरू भरपर्दा, र भरोसायोग्य मानिसहरूलाई बाँडफाँड गर्नु हो। त्यो पठाइसकेपछि, उनीहरूले त्यस व्यक्तिलाई यसो भन्दै केही परामर्श दिनुपर्छ, “यी परमेश्‍वरको घरका सामानहरू हुन्, जसलाई तिमीले आफ्नो कर्तव्य पूरा गर्दा प्रयोग गर्न सक्छौ। ती खेलबाड गर्ने सामान होइनन्। तिमीले तिनलाई समझदारीपूर्वक प्रयोग गर्नुपर्छ र तिनको राम्रो हेरचाह गर्नुपर्छ। तिनलाई क्षति नगर्नू। यी उपकरण र औजारहरू कर्तव्य निर्वाहका लागि आवश्यक हुने हुनाले, यदि तिनमा क्षति पुगेमा, तिनको मूल्यअनुसार क्षतिपूर्ति तिर्नुपर्छ। यदि क्षतिग्रस्त उपकरणका कारण काममा ढिलाइ भयो भने, त्यो झनै गम्भीर प्रकृतिको समस्या हो, जसको मतलब काममा केही बाधा र विनाश हुन पुगेको छ। त्यसैले, तिमीले कर्तव्यहरू पूरा गर्दा हर प्रकारका उपकरण र औजारहरू सही तरिकाले प्रयोग गर्न जान्‍नैपर्छ—तिमीले परमेश्‍वरको घरको सम्पत्तिमा कदापि क्षति पुर्‍याउनु हुँदैन। जसरी पनि यी सिद्धान्तहरू याद राख: समझदारीपूर्ण प्रयोग, र नियमित निरीक्षण, मर्मत, र सम्भार—यदि कुनै सामानमा समस्या आयो भने, तुरुन्तै रिपोर्ट गरेर मर्मतका लागि आवेदन देऊ।” यो काम राम्ररी गर्नका लागि, अगुवा र कामदारहरूले, एकातिर बाँडफाँड र प्रयोगका सिद्धान्तहरू जान्‍नैपर्छ; अर्कोतिर उनीहरूले प्रयोगकर्ताहरूलाई कसरी सम्भार गर्ने र राम्रो अवस्थामा राख्ने, र यदि कुनै सामानमा समस्या आयो भने त्यसलाई कसरी मर्मत गर्ने, आदि कुराहरू थाहा दिनुपर्छ। मानिसहरूले हर प्रकारका उपकरण र सामग्रीहरूको हेरचाह गर्दा र प्रयोग गर्दा बुझ्नुपर्ने र तिनीहरूसँग हुनुपर्ने मानक ज्ञान यही हो।

अगुवा र कामदारहरूले समझदारीपूर्वक परमेश्‍वरको घरका विभिन्‍न उपकरणहरूको बाँडफाँड गर्नुपर्छ। उदाहरणका लागि, यदि कुनै कामको कर्मचारीलाई तुलनात्मक रूपमा वृहत् सुविधाहरू भएको कम्प्युटरको आवश्यकता छ भने, तैँले उसलाई एउटा दिनुपर्छ। यदि उसले एउटा पर्याप्त हुँदैन भनेमा, तैँले उसलाई किन भनेर सोध्नैपर्छ, र उसले भनेको कुरा तथ्यपरक हो कि होइन भनी हेर्न वरपर सोधपुछ गर्नैपर्छ। उसको आवेदनकै भरमा उसले मागे जति कम्प्युटरहरू दिने, एउटा पर्याप्त हुँदैन भनेमा दुइटा दिने, दुइटा पर्याप्त हुँदैन भनेमा तीन वटा दिने नगर्। त्यसो गरिस् भने, के तैँले कम्प्युटरहरू खेलौनाझैँ बाँडिरहेको हुनेछैनस् र? के त्यो अविवेकीपन हुनेछैन? तैँले सुरुमा अवस्थाको छानबिन गर्नुपर्छ र परमेश्‍वरको घरका सिद्धान्तहरूका आधारमा निर्णय गर्नुपर्छ। तैँले कुनै पनि हालतमा सबै किसिमका आवेदनहरू जथाभाबी स्वीकृत गर्नु हुँदैन, किनभने कतिपय अवस्थामा मानिसहरूले कर्तव्य पूरा गर्ने बहानामा जथाभाबी आवेदनहरू दिइरहेका हुन्छन्। यसका साथै, महत्त्वपूर्ण काम गर्ने कतिपय मानिसहरूलाई उच्च श्रेणीका कम्प्युटरहरूको आवश्यकता पर्न सक्छ, तैपनि उनीहरूका व्यक्तिगत कम्प्युटरहरूमा तल्लो श्रेणीका विशेषताहरू रहेका हुन्छन्। अगुवा र कामदारहरूले तुरुन्तै यसको पनि जाँचबुझ र समझदारीपूर्वक उपकरणको बाँडफाँड गर्नैपर्छ। कम्प्युटरको प्रबन्ध गर्ने कुरा कुनै व्यक्तिको कामको प्रकृति र कम्प्युटरको श्रेणीका मागहरूका आधारमा निर्णय गरिनुपर्छ। यदि कोही एक साधारण अगुवा वा कामदार मात्र हो, र ऊ कम्प्युटर प्रविधि वा भिडियो निर्माणको काममा संलग्न हुँदैन, र उसले इन्टरनेट चलाउने, स्रोतसाधनहरू खोज्ने, र कल गर्ने जस्ता कामहरू गर्न मात्र कम्प्युटर प्रयोग गर्छ, र उसलाई धेरै विशिष्ट कम्प्युटर चाहिँदैन भने, उसले एउटा साधारण कम्प्युटर प्रयोग गर्दा हुन्छ। कतिपय पाको उमेरका मानिसहरूले टाइप गर्ने, अनलाइन जाने, र कल गर्ने जस्ता सामान्य कामहरू मात्र जानेका हुन्छन्, तैपनि उनीहरू अगुवा वा कामदार बनेपछि, उनीहरूलाई अत्यन्तै उच्च श्रेणीका कम्प्युटरहरू दिइन्छ। के यो समझदारीपूर्ण कुरा हो? के उनीहरूले विशेष सुविधाहरू खोजिरहेका छैनन् र? के उनीहरूले हैसियतका लाभहरू उठाइरहेका छैनन् र? (छन् नि।) यस किसिमको उच्च-स्तरीय, उच्च श्रेणीको उपकरण केका लागि प्रयोग गरिनुपर्छ? ती सम्बन्धित कामका कर्मचारी र पेसागत कर्मचारीहरूलाई प्रयोग गर्न दिइनुपर्छ। ती कुनै व्यक्तिको हैसियतसँग मिल्ने हुनुपर्दैन। कतिपय अगुवाहरू र कामदारहरू भूलवश आफूले परमेश्‍वरको घरका विभिन्‍न सामानहरूको विशेष प्रयोगका अधिकारहरू पाउनुपर्ने विश्‍वास गर्छन्। के त्यो परमेश्‍वरको घरको नियम हो? होइन। कतिपय मानिसहरू अगुवा र कामदार बनिसकेपछि, उनीहरूलाई तुरुन्तै उच्च श्रेणीका कम्प्युटर, मोबाइल, र हेडफोनहरू दिइन्छ, उनीहरूलाई हर प्रकारका उच्च श्रेणीका उपकरणहरू उपलब्ध गराइन्छ। यसको परिणाम के हुन्छ? के यो साँच्चिकै काममा राम्रा नतिजाहरू प्राप्त गर्नका लागि गरिन्छ? के ती मानिसहरू देहसुखको लालसा गरिरहेका हुँदैनन् र? आखिरमा तैँले उच्च श्रेणीका कम्प्युटरहरू केका लागि प्रयोग गरिरहेको छस्? के तैँले केवल अनलाइनमा भेलाहरू राखेर शब्द र धर्मसिद्धान्तहरू प्रचार गरिरहेको छैनस् र? के तैँले भिडियोहरू अपलोड गर्न जानेको छस्, वा के तँ भिडियोहरू निर्माण गर्न सक्षम छस्? के तैँले नेटवर्क सुरक्षा कायम राख्न जानेको छस्, वा के तँ वेबसाइटहरू बनाउन सक्छस्? के तैँले यी पेसाहरू जानेको छस्? यदि जानेको छैनस् भने, तँलाई उच्च श्रेणीको कम्प्युटरको के काम? के यसो गर्नु घिनलाग्दो कुरा होइन र? (हो।) यदि तँसँग आफ्नै पैसा छ भने, त्यो पैसाले जति वटा कम्प्युटरहरू किने पनि कसैले वास्ता गर्दैन, र ती जतिसुकै उच्च श्रेणीका भए पनि कसैले हस्तक्षेप गर्नेछैन। हामी अहिले परमेश्‍वरको घरका भौतिक सामानहरू कसरी समझदारीपूर्वक बाँडफाँड गरिनुपर्छ भन्‍नेबारे कुरा गरिरहेका छौँ। “समझदारीपूर्वक” भन्‍नुको अर्थ के हो? अगुवा र कामदारहरूले परमेश्‍वरको घरको यो उच्च श्रेणीको उपकरण प्रयोग गर्दा, के त्यो त्यसलाई “समझदारीपूर्वक” प्रयोग गरेको मानिन्छ? (मानिँदैन।) उनीहरूले उक्त पेसा वा कुनै पनि काम कसरी गर्ने भनेर जानेका हुँदैनन्। के उच्च श्रेणीको कम्प्युटर हुँदैमा उनीहरू उच्च श्रेणीका हुन्छन्? उनीहरू केका लागि रबाफ देखाइरहेका हुन्छन्? परमेश्‍वरको घरसित अगुवा र कामदारहरूलाई त्यसका भौतिक सामानहरूको प्रयोग र बाँडफाँडमा विशेष अधिकारहरू दिने कुनै नियम छैन; उनीहरूसँग त्यो विशेषाधिकार हुँदैन, र यो परमेश्‍वरको घरले सामानहरू बाँडफाँड गर्ने समझदारीपूर्ण सिद्धान्त होइन—यो समझदारीपूर्ण कुरा पटक्कै होइन। कोही यी वस्तुहरू किन्‍न सक्ने स्थितिमा छ भने उसले आफै किन्‍न सक्छ; यदि छैन, र परमेश्‍वरको घरले नै उसलाई बाँडफाँड गर्नु आवश्यक छ भने, उसले साधारण सामानहरू प्रयोग गर्दा नै काफी हुन्छ। यो न्यायोचित र समझदारीपूर्ण कुरा हो। साँच्चिकै यो उच्च श्रेणीको उपकरण प्रयोग गर्न जानेकाहरू यही काममा संलग्न पेसागत कर्मचारी हुन्, त्यसकारण परमेश्‍वरको घरले उनीहरूलाई यो उपकरण दिनुपर्छ। यी परमेश्‍वरको घरका भौतिक सामानहरूको बाँडफाँडका सम्बन्धमा अगुवा र कामदारहरूले बुझ्नुपर्ने र बोध गर्नुपर्ने केही सिद्धान्तहरू हुन्। यी वस्तुहरू कहीँ कतै असमझदारीपूर्वक बाँडफाँड गरिएका छन् कि भनी हेर्न सिद्धान्तहरूका आधारमा फेरि जाँच गर्। यदि छन् भने, त्यसलाई चाँडो सच्याइहाल्। कतिपय मानिसहरू अगुवा वा कामदार बनेपछि, उनीहरूले परमेश्‍वरको घरको कसैले पनि उनीहरूको चापलुसी गरिरहेको छैन, कसैले पनि उनीहरूलाई उच्च श्रेणीका सामानहरू दिइरहेको छैन, र उनीहरूले अझै पनि आफ्नै पुराना लुगाहरू, पुराना पहिरनहरू लगाइरहेका छन्, अझै पनि आफ्नै, अत्यन्तै साधारण सानो कम्प्युटर प्रयोग गरिरहेका छन्, र परमेश्‍वरको घरले उनीहरूलाई राम्रो कम्प्युटर उपलब्ध गराएको छैन भन्‍ने देख्छन्। त्यसैले, उनीहरू वित्तीय समूहकहाँ गएर नयाँ कम्प्युटर किन्‍नका लागि आवेदन दिन्छन्। के यो समझदारीपूर्ण कुरा हो? (होइन।) उनीहरूले यसो भन्छन्, “यदि तपाईँले मलाई त्यो उपलब्ध गराउनुभएन भने, म आफ्नो कर्तव्य पूरा गर्नेछैनँ—म परमेश्‍वरको घरलाई मेरा लागि उच्च श्रेणीको, अझै नयाँ मोडेलको र तीव्र गतिको कम्प्युटर किन्‍न लगाउने मौका खोज्नेछु!” उनीहरू निकै हक्की हुन्छन्—उनीहरूले गर्न नआँट्ने केही पनि हुँदैन। यी मानिसहरू अगुवा बनेपछि, उनीहरूले परमेश्‍वरको घरलाई आफ्नै भएको जस्तो व्यवहार गर्छन् र सोच्छन्, “परमेश्‍वरको घरको पैसा पनि मेरै हो—म त्यसलाई जसरी मन लाग्छ त्यसरी खर्च गर्नेछु!” यो ख्रीष्टविरोधीहरूले गर्न सक्ने काम हो।

इ. विभिन्‍न दैनिक आपूर्तिका सामानहरू र खाद्यान्‍नलाई समझदारीपूर्वक बाँडफाँड गर्ने

हामीले अब विभिन्‍न भौतिक वस्तुहरू र उपकरणहरूको समझदारीपूर्ण बाँडफाँडबारे बोलिसकेका छौँ। अब, हामी दैनिक जीवनयापनका वस्तुहरूबारे कुरा गर्नेछौँ, जस्तै: अन्‍नपात, सागसब्जी, र सुकाइएका खानेकुरा, साथै पकाउनका लागि जरुरी सामग्रीहरू, विभिन्‍न पूरक खानाहरू, आदि। यी सामग्रीहरूको समझदारीपूर्वक सुरक्षा गरिनुपर्ने मात्र होइन, तिनलाई समझदारीपूर्वक बाँडफाँड पनि गरिनुपर्छ। त्यसोभए, यी विभिन्‍न सामग्रीहरूलाई कसरी समझदारीपूर्वक बाँडफाँड गरिन्छ त? परमेश्‍वरको घरसँग त्यसको खानाका मानकहरू छन्, र त्यस्ता सामग्रीहरूको व्यवस्थापन गर्नेहरूले ती मानकहरूलाई कडाइका साथ पालना गरेर तिनलाई समझदारीपूर्वक बाँडफाँड गर्नुपर्छ। उनीहरूले राम्रो खाना आफू निकटकालाई बढी दिनु हुँदैन। उदाहरणका लागि, यदि कुनै स्वादिष्ठ, राम्रो गुणस्तरको चामल खरिद गरिएको छ, वा यदि कुनै फलफूल वा मासु कहिलेकाहीँ मात्र किनिन्छ, र तैँले त्यो तँ जोसँग मिल्छस् उसैलाई बढी दिन्छस्, वा राम्रा चीजहरू सबै उसलाई नै दिन्छस्, र नराम्रा चीजहरू अरूलाई पठाउँछस् भने—के त्यसलाई समझदारीपूर्ण बाँडफाँड गर्नु मानिन्छ? (मानिँदैन।) त्यसोभए, यसमा “समझदारी” लाई कसरी मापन गर्नुपर्छ? वस्तुहरू बाँडफाँड गर्ने कस्तो तरिकालाई समझदारीपूर्ण मान्‍न सकिन्छ? खानाका लागि परमेश्‍वरको घरले तोकेका सिद्धान्तहरू र माग गरेका मानकहरूअनुसार बराबर बाँडफाँड गर्नु, जति बाँडफाँड गर्नुपर्ने हो उति बाँडफाँड गर्नु। यदि तैँले आफू कोहीसँग नजिक भएको महसुस गर्छस् भने, तैँले उसलाई तेरो आफ्नै भाग दिन सक्छस्। अरू मानिसहरूका वस्तुहरूका साथ उदार नबन्, अनि अरू मानिसहरूलाई उदारता देखाउन परमेश्‍वरको घरका भौतिक वस्तुहरू प्रयोग नगर्; यदि तँ उदार बन्‍न चाहन्छस् भने, आफ्नै वस्तुहरू दिएर बन्। उदारता परमेश्‍वरको घरको सिद्धान्त नै होइन—परमेश्‍वरको घरको सिद्धान्त त समझदारीपूर्ण बाँडफाँड हो। दैनिक जीवनका आवश्यक चीजहरू र विभिन्‍न खाद्यसामाग्रीहरूको वितरण परमेश्‍वरको घरद्वारा स्थापित मानकहरूअनुसार गर्नुपर्छ, जथाभाबी गर्नु हुँदैन। स्वाभाविक रूपमा, अगुवा र कामदारहरूले सुपरिवेक्षण गरेर त्यस्ता वस्तुहरूको वितरणका लागि जिम्मेवार मानिसहरूको हृदय सही ठाउँमा छ कि छैन, तिनको वितरण समझदारीपूर्ण छ कि छैन, वितरण परमेश्‍वरको घरका सिद्धान्तहरूअनुरूप गरिएको छ कि छैन, धेरैजसो मानिसहरूले त्यो कस्तो छ भनी रिपोर्ट गर्ने गर्छन्, उनीहरूका कुनै गुनासाहरू छन् कि, र सबैको हेरचाह गरिएको छ कि छैन भनी हेर्न सक्छन्। कहिलेकाहीँ वस्तुहरूको अभाव भएमा के गर्नुपर्छ? के अगुवा र कामदारहरूले ती आफै खानलाई राख्नु ठीक हो? कतिपयले यसो भन्लान्, “अगुवा र कामदारहरूको सबैभन्दा उच्च हैसियत र प्रतिष्ठा हुन्छ, र हामीसँग सबैभन्दा धेरै बोल्ने प्रायः उनीहरू नै हुन्छन्, जसले गर्दा उनीहरूको मुख सुक्छ। यदि कुनै राम्रो खानेकुरा छ भने, उनीहरूलाई खान दिऊँ।” के यसरी वस्तुहरूको बाँडफाँड गर्नु ठीक हो? (होइन; वस्तुहरू जसलाई साँच्चिकै आवश्यक पर्छ उनीहरूका लागि राख्नुपर्छ।) यदि तुलनात्मक रूपमा महङ्गा केही स्वास्थ्य सेवासम्बन्धी उत्पादनहरूको अभाव छ भने, तिनलाई कसरी बाँडफाँड गर्नुपर्छ? ती धेरै वर्षदेखि परमेश्‍वरप्रति आफूलाई समर्पित गरेका र योगदान दिएकाहरूलाई नै दिइनुपर्छ। उमेरका कारण यस्ता मानिसहरूको स्वास्थ्य अवस्था कमजोर हुन्छ, तैपनि उनीहरू अझै लगनका साथ आफ्ना कर्तव्यहरू पूरा गरिरहेका हुन्छन्, र दाजुभाइ-दिदीबहिनीहरूले उनीहरूबाट धेरै फाइदा प्राप्त गरेका हुन्छन्। यी मानिसहरूले आफ्ना शरीरको रेखदेख र हेरचाह गर्न आवश्यक हुन्छ, र उनीहरूलाई ती स्वास्थ्य सेवासम्बन्धी उत्पादनहरू खान र प्रयोग गर्न दिनु ठीक नै हुन्छ। अभाव भएका संसाधनहरूका लागि कसैले पनि झगडा गर्नु हुँदैन। अगुवा र कामदारहरूले यी वस्तुहरूलाई यसरी नै बाँडफाँड गर्नुपर्छ। के यो समझदारीपूर्ण कुरा हो? (हो।) त्यसोभए, के धेरैजसो मानिसहरूले यस्तो बाँडफाँडमा आपत्ति जनाउलान् त? के त्यस्तो कोही छ जसले यसो भन्छ, “म त्यति पाको नहुँला, तर मैले प्रशस्त काम गर्नु छ—म हरेक दिन आठ घन्टाभन्दा बढी काम गर्छु। मेरो काम त्यति कुशल नहोला, र मैले त्यो काम धेरै वर्षदेखि गर्दै आएको नहुँला, तर कहिलेकाहीँ त मेरो स्वास्थ्य पनि खासै राम्रो हुँदैन। किन कसैले पनि मलाई ध्यान दिँदैन? राम्रा वस्तुहरू हुँदा, ती प्राप्त गर्ने मेरो पालो कहिल्यै आउँदैन, तर जब काम गर्नुपर्ने हुन्छ, त्यसबेला सधैँ मलाई नै खोजिन्छ”? के यस्तो व्यक्तिलाई एक भाग दिइनुपर्छ? उनीहरूले यो चीज माग्ने हिम्मत गरेकाले, उनीहरूका लागि अलिकति राखिदे—के त्यो समझदारीपूर्ण कुरा हो? के तैँले त्यसो गर्न मान्‍ने थिइस्? (मान्‍ने थिइनँ।) यदि म भएको भए, मान्‍ने थिएँ। यस्ता कुरामा किन यति चिन्ता लिने? मानिसहरू रमाइलोका लागि जीवन जिउँदैनन्; उनीहरू खान, पिउन, र रमाइलो गर्नका लागि जिउँदैनन्। त्यस्ता कुराहरूका लागि किन झगडा गर्ने? यदि कोही तिनका लागि साँच्चिकै झगडा गर्न चाहन्छ, र उसका परिस्थितिहरू अलि उपयुक्त नै छन् भने, उसलाई यी कुराहरूमा अलिकति रमाउन दे। उनीहरूलाई केही विशेष निगाह देखाइएको हुनेछ, तर त्यसका लागि तैँले केही पनि गुमाएको हुनेछैनस्; यति चिन्ता लिनुपर्ने आवश्यकता नै छैन। त्यसकारण, मानौँ कसैले यसो भन्यो रे, “मलाई किन अलिकति दिँदैनौ? मेरो स्वास्थ्य पनि त त्यति राम्रो छैन; यदि मैले साँच्चिकै केही राम्रो कुरा खान पाएँ भने, मेरो स्वास्थ्यमा सुधार आएर, म अझ बढी काम गर्न र परमेश्‍वरको घरका लागि अझ बढी पीडा वहन गर्न सक्षम हुने थिएँ, र मेरो काम अझ कुशल हुने थियो।” उनीहरूले यो अनुरोध गरिहालेकाले, त्यसलाई अस्वीकार गरेर उनीहरूलाई लज्जित तुल्याउने काम नगर्, उनीहरूलाई केही वितरण गरिदे। अरू मानिसहरूले यसको बारेमा त्यति चिन्ता लिनु पर्दैन—अलि बढी उदार बन्। ती कुराहरू नहुँदा पनि के तेरो जीवन पहिलेको अनुसार नै चल्नेछैन र? परमेश्‍वरले मानिसहरूलाई जे दिनुहुन्छ त्यसको अभाव हुँदैन; त्यो प्रशस्त र प्रचुर हुन्छ—वस्तुहरूका लागि झगडा गर्नुपर्ने कुनै आवश्यकता छैन। यदि कुनै विशेष सामान छ, र कसैलाई पनि यसको आवश्यकता छ वा यसलाई उपभोग गर्नुपर्छ भन्‍ने महसुस हुँदैन भने, बहुमतले अन्ततः जुन किसिमको व्यक्तिलाई सबैभन्दा उपयुक्त मान्छ उसैलाई त्यो खान दिइनुपर्छ। हामी मानवता र वस्तुहरूको समझदारीपूर्ण बाँडफाँडमा जोड दिन्छौँ। यी कुराहरू प्राप्त गर्नेहरूले तिनलाई परमेश्‍वरबाट स्विकार्नुपर्छ र उहाँको अनुग्रहका लागि उहाँलाई धन्यवाद दिनुपर्छ। अरूले तिनका लागि झगडा गर्नु हुँदैन। यदि तँ झगडा गर्छस् भने, तँ बेसमझ छस्, तैँले जानाजानी समस्या सिर्जना गरिरहेको हुन्छस्, र तैँले सीमा नाघेको हुन्छस्। त्यस्ता विशेष परिस्थितिहरूलाई यसरी नै निराकरण गर्नुपर्छ। विशेष र साधारण परिस्थितिहरू दुवैका सिद्धान्तहरू हुन्छन्; तिनलाई जथाभावी व्यवहार गर्नु हुँदैन, मानव सम्बन्धहरूका मागहरूका आधारमा त झनै गर्नु हुँदैन। जब यी वस्तुहरूलाई समझदारीपूर्वक बाँडफाँड गरिन्छ, तब अगुवा र कामदारहरूले आफ्नो जिम्मेवारी पूरा गरेका हुन्छन्।

दैनिक आपूर्ति र खाद्यान्‍न बाँडफाँड गर्दा, अगुवा र कामदारहरूले वास्तविक अवस्थाहरू, वास्तविक मानव सङ्ख्या, र आवश्यक वास्तविक परिमाणका आधारमा पनि बाँडफाँड गर्नुपर्छ, ताकि तिनलाई खेर जान र क्षति हुन नदिने उद्देश्यले तिनको साँच्चिकै समझदारीपूर्वक वितरण गरियोस्। यो अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारी हो। कहिलेकाहीँ, उनीहरूसँग विशिष्ट परिस्थितिहरूको बुझाइ नहुँदा, उनीहरूले केही कुराहरू एउटा आधारभूत सिद्धान्तअनुसार बाँडफाँड गर्न, र पछि सबैको सल्लाह-सुझाव र त्यसपछिको अनुगमनमार्फत बाँडफाँड समझदारीपूर्वक भएको थिएन, त्यो प्रावधानद्वारा अलि बाँधिएको थियो भनेर थाहा पाउन सक्छन्। त्यस अवस्थामा, उनीहरूले त्यस समस्याको पुनरावृत्ति रोक्न र बरबादी र क्षति कम गर्न अर्को पटक सुधार गर्नैपर्छ। त्यो तिनीहरूको जिम्मेवारी पूरा गर्नु हो। अवश्य पनि, क्षति र बरबादीबाट जोगिनका निम्ति, उनीहरूले एकातिर वस्तुहरू बाँडफाँड गर्दा अझ बढी परामर्शहरू लिनैपर्छ; उनीहरूले कडाइका साथ सिद्धान्तहरूलाई पनि पालना गर्नैपर्छ। यो जरुरी छ। वस्तुहरू जथाभाबी वितरण गर्ने, साँच्चिकै खाँचो परेकाहरूलाई नदिने, निष्कपटताका साथ आफ्नो कर्तव्य पूरा गरिरहेका र सत्यता वास्तविकता भएकाहरूलाई नदिने, तर खास गरी आत्मिक बुझाइ नभएका चापलुसहरूलाई दिने काम नगर्। के त्यसो गर्नु सिद्धान्तहरूअनुरूप कार्य गर्नु हो? (होइन।) के त्यसो गर्नु उद्दण्ड लापरवाही होइन र? सिद्धान्तहरूअनुसार कार्य नगर्नु भनेको आफ्ना जिम्मेवारीहरू पूरा नगर्नु हो। आफ्ना जिम्मेवारीहरू पूरा गर्नुले के जनाउँछ? त्यो आलटाल नगर्नु र प्रावधानहरू पालना गर्नु हो, र त्यो श‌ृङ्खलाबद्ध निर्धारित कदमहरू चालेर पूरा हुने होइन—बरु, त्यो त परमेश्‍वरको घरले माग गरेका सिद्धान्तहरूलाई साँच्चिकै कडाइका साथ पालना गरेर कार्य गर्नु, साथसाथै परमेश्‍वरको घरको कुनै पनि कुरामा कुनै बरबादी वा क्षति नहुने पनि सुनिश्‍चित गर्नु हो। साँचो रूपमा आफ्नो जिम्मेवारी पूरा गर्नु भनेको त्यही नै हो। उदाहरणका लागि, पाँच जना मानिसहरूलाई अण्डा वितरण गर्दा, तैँले हरेक व्यक्तिलाई दिनमा एउटा अण्डा दिनुपर्छ, र ती हरेक दस दिनमा वितरण गर्नुपर्छ, ताकि तैँले ठ्याक्कै पचास वटा पठाएस्। तैँले तिनलाई यसरी नै वितरण गर्नुपर्छ किनभने एकातिर, त्यो सङ्ख्या सानो हो र त्यसलाई हेरचाह गर्न सजिलो हुन्छ; त्यसका साथै, यो उनीहरूले खानका लागि ठ्याक्कै सही मात्रा हो। परमेश्‍वरको घरले माग गर्ने मानक र निर्देशहरूअनुसार यसरी अभ्यास गर्नु अत्यन्तै सही हुन्छ—त्यो नै सिद्धान्तहरूअनुसार कार्य गर्नु हो। यदि कुनै अगुवा वा कामदारले झन्झटको डरले उनीहरूलाई एक पटकमा सय दिन बराबरको अण्डा—पाँच सय वटा अण्डा—वितरण गर्‍यो भने, के त्यो उचित हुनेथियो? ल भन्, के ढुवानी र हेरचाह गर्नका लागि पचास वटा अण्डा सजिलो हुन्छ कि पाँच सय वटा? (पचास वटा।) थोरै सङ्ख्या भए ढुवानी र हेरचाह गर्न बढी सजिलो हुन्छ। कतिपय मानिसहरूले सय दिन बराबरको नै पठाउँछन्, र फलस्वरूप, कति त बाटोमै फुट्छन्, र कति चाहिँ गन्तव्यमा ओसारपसार गर्दा चकनाचुर हुन्छन्। एकपछि अर्को टुटफुटले गर्दा एक भागमा क्षति पुग्छ। त्यसमाथि मानिसहरूले धेरै अण्डाहरू पठाइएको देख्दा, तिनलाई यतिकै खेर फाल्नेछन्, त्यसैले अर्को ढुवानी हुनु अघिको दिनसम्म उनीहरूसँग खानलाई अन्डा नै हुँदैन। त्यसैले, यी अन्डाहरू फुट्नु र तिनमा क्षति पुग्नुको कारण अगुवा र कामदारहरूको लापरबाही होइन र? (हो।) यदि उनीहरूले अझ बढी मागेमा, के तैँले उनीहरूलाई दिन मिल्छ? सिद्धान्तहरूअनुसार, तैँले उनीहरूलाई तोकिएको मितिभन्दा अगाडि थप दिनै मिल्दैन, तर खानका लागि आफूसँग अण्डा नै नभएपछि उनीहरू दुःखी हुन्छन्। यहाँ के गर्नुपर्छ? (तिनीहरूलाई समयमा र सही मात्रामा दिइनुपर्छ।) तिनीहरूलाई समयमा र सही मात्रामा दिनु नै सिद्धान्तहरूअनुसार कार्य गर्नु हो—त्यो नै समझदारीपूर्ण बाँडफाँड हो। यी कुराहरू बाँडफाँड गर्दा, अगुवा र कामदारहरूले कुनै पनि हालतमा समझदारीपूर्ण बाँडफाँड गर्ने सिद्धान्त र परमेश्‍वरको घरले माग गर्ने मानकलाई एकदमै पालन गर्नैपर्छ र तिनलाई समयमा र नियमित रूपमा वितरण गर्नुपर्छ। त्यसबाहेक, उनीहरूले कतै खेर गएका घटनाहरू छन् कि छैनन्, खेर गएका कारण अभाव भएका वस्तुहरूका लागि पुनः आवेदन वा अनुरोध आएका छन् कि छैनन्, र मानिसहरूलाई मन नपरेका चीजहरू वितरण गर्दा ती खेर गएका छन् कि छैनन् भनेर तुरुन्तै बुझ्नुपर्छ। उदाहरणका लागि, मासु र तरकारीहरू दुइटै वितरण गरिएका छन्, र अधिकांश मानिसहरूले मासु रुचाउँछन्, त्यसैले उनीहरूले त्यसलाई तीन वा पाँच दिनमा खाइसक्छन्, र तरकारीहरू बाँकी रहन्छन्। तरकारीहरू लामो समयसम्म ताजा रहँदैनन्; कति त केही समयपछि बिग्रेर कुहिन्छन्, त्यसकारण ती अर्को खेप वितरण गर्नुअघि नै सकिन्छन्। त्यसपछि कसैले पुनः आवेदन दिएर थप माग्न सक्छ। के यस्तो अवस्थामा थप दिनुपर्छ? के उनीहरूलाई थपेर दिनु समझदारीपूर्ण हुन्छ? (हुँदैन।) अरू मानिसहरूले लुकीलुकी मासु र अन्डा खाइदिन्छन्, र आफूलाई मन पर्ने सबै तरकारी खाइदिन्छन् जबकि आफूलाई मन नपर्ने तरकारी नखान यावत् किसिमका कारण र बहानाहरू बनाउँछन्। जब तरकारीहरू पहेँलो हुन्छन् र बिग्रन्छन्, उनीहरूले ती खान अयोग्य भएको भन्छन्, र अन्त्यमा सुँगुर वा कुखुरालाई खुवाउँछन्, नत्र फालिदिन्छन्, अनि थप माग्छन्। अगुवा र कामदारहरूले यस्तो घटनाको सामना गर्दा, उनीहरूले त्यसलाई कसरी सम्हाल्नुपर्छ? यदि उनीहरूले “म तिमीहरूलाई अर्को पटक बढी दिनेछु, किनभने यतिले नपुग्ने देखिन्छ—म तिमीहरूलाई अझ बढी प्रदान गर्नेछु, किनभने तिमीहरूले धेरै खान्छौ,” भनेर भन्छन् भने, के त्यो त्यसलाई सम्हाल्ने उचित तरिका हो त? के त्यो अन्धोपन होइन र? (हो।) उनीहरू कसरी अन्धा हुन्? (उनीहरूले साँच्चिकै के भइरहेको छ भन्‍ने कुरा बुझ्दैनन्: उनीहरूले वितरण गरेको खाद्यान्‍न अपुग हुनुको मूल कारण भनेको त्यो खेर फालिनु हो।) उनीहरू साँच्चिकै के भइरहेको छ भन्‍ने कुरा नबुझी निष्कर्षमा पुग्छन्। परमेश्‍वरको घरका निर्देशहरूअनुसार खाद्यान्‍न वितरण गरिएको धेरैजसो ठाउँहरूमा खानका लागि पर्याप्त अन्‍नपात हुन्छ। त्यो एउटा ठाउँमा चाहिँ किन कहिल्यै पर्याप्त हुँदैन? के त्यसका लागि विशिष्ट अनुसन्धान आवश्यक छैन र? उनीहरूले के भइरहेको छ भनी हेर्नका लागि स्थलमै गएर अवस्थाबारे होसियारीपूर्वक र विस्तृत रूपमा सोधपुछ गर्नुपर्छ। अन्त्यमा, उनीहरूको अनुसन्धान र बुझाइमार्फत, उनीहरूले त्यस ठाउँको भान्से खराब र अनैतिक व्यक्ति रहेको, जसले मानिसहरूको खाना कुखुरालाई खुवाउने गरेको, र यसरी जानाजान परमेश्‍वरको घरको खाना खेर फाल्ने गरेको पत्ता लगाउँछन्। उनीहरू खानेकुराको मामिलामा अत्यन्तै किचकिचे हुन्छन्, र स्वादिष्ठ खाना मात्र खान रुचाउँछन्। मासु नहुँदा उनीहरू तरकारी नै खाँदैनन्, र मासु छ भने, तोफु समेत खाँदैनन्। अण्डा पाएको बेलामा, उनीहरू हरेक छाकमा अण्डा खान्छन्। उनीहरूले विशेष रूपमा स्वादिष्ठ खाना मात्र रोज्छन् र कुनै पनि साधारण तरकारी खाँदैनन्, न त ती बिग्रिएमा वास्ता नै गर्छन्। बुझाइअनुसार भान्से खराब व्यक्ति भएको देखिएको छ—के अर्को पटक चीजबीजहरू वितरण गरिँदा उसलाई बढाएर दिनुपर्छ? (पर्दैन।) के उसलाई बढी नदिनु नै समाधान होइन र? यस्तो समस्या पत्ता लागेपछि त्यसलाई कसरी समाधान गर्नुपर्छ? उसलाई तुरुन्तै प्रतिस्थापित गर्; उसको सट्टा कर्तव्य वहन गर्न अलिकति मानवता भएको व्यक्ति राख्। समस्या पत्ता लगाएर त्यसलाई तुरुन्तै समाधान गर्, अनि त्यस्ता दुष्ट मानिसहरू, त्यस्ता कुहिएका स्याउहरूलाई हटा। कतिपयले सोध्न सक्छन्, “उनीहरूले अब पकाउन छाडेकाले, के उनीहरूलाई कुखुरालाई चारो खुवाउन लगाउँदा ठीक हुन्छ?” (हुँदैन।) यदि तिनीहरूले कुखुरालाई चारो खुवाएमा, कुखुराहरूले अण्डा पार्नेछैनन्; यदि तिनीहरूले सुँगुरलाई चारो खुवाएमा, सुँगुरहरू दुब्लाउनेछन्। तिनीहरूलाई जेलाई खुवाउन लगाए पनि काम लाग्नेछैन। त्यस्ता मानिसहरूलाई खेदाउनैपर्छ—तिनीहरू परमेश्‍वरको घरमा कर्तव्य पूरा गर्न अयोग्य हुन्छन्। यदि परमेश्‍वरको घरका भौतिक वस्तुहरू बाँडफाँड गर्दा अन्य कुनै समस्याहरू भेटिएमा, तिनलाई पनि तुरुन्तै समाधान गरिनुपर्छ। यी समस्याहरू समाधान गर्नुको उद्देश्य के हो? परमेश्‍वरको घरका भौतिक वस्तुहरूको बरबादी र बिगारलाई कम गर्नु। कतिपयले सोध्लान्, “ती समस्याहरू समाधान गर्न, भान्साकै अनुसन्धान गर्नुपर्छ। अगुवा र कामदारहरू भान्सामा प्रवेश गर्न पाउँदैनन् भनेर तपाईँले नै भन्‍नुभएको होइन र? अहिले चाहिँ उनीहरू किन प्रवेश गर्न पाउँछन् त?” ती दुई अलग-अलग मामलाहरू हुन्। मैले उनीहरू जान पाउँदैनन् भनेर भनेको थिइनँ—त्यो त अगुवा र कामदारहरूले काम गर्न नजान्‍ने, उनीहरू यत्तिकै हल्लिने र हिँडडुल गर्ने, हैसियतका लाभहरूमा लिप्त हुने, राम्रा चीजहरू खोजेर खान सधैँ भान्सामा जाने जस्ता कार्यको चिरफार थियो। अहिलेको प्रसङ्गमा, उनीहरू भान्सामा समस्याहरू समाधान गर्न गइरहेका छन्, न कि खानलाई राम्रा चीजहरू खोज्न। जानु पर्दा जा अनि जानु नपर्दा नजा। अगुवा र कामदारहरूले गर्नुपर्ने कामहरू धेरै हुन्छन्, र यो उनीहरूको एउटा कार्य हो, जसका विशिष्ट समस्याहरू भान्साको गहिराइमा पुगेर अनि विस्तृत विवरणहरूको बुझाइ प्राप्त गरेर मात्र थाहा पाउन सकिन्छ। यदि कुनै भान्से अनुपयुक्त पाइएमा, उसलाई तुरुन्तै बर्खास्त गरेर कुनै उपयुक्त व्यक्तिले प्रतिस्थापन गरिनुपर्छ। त्यसो गर्नाले परमेश्‍वरको घरद्वारा वितरण गरिएका वस्तुहरू बरबाद नहुने र नबिग्रने सुनिश्चित हुन्छ। मैले चाहे जसरी भने पनि, अगुवा र कामदारहरूबाट गरिने माग भनेको उनीहरूले आफ्ना जिम्मेवारीहरू पूरा गरून् भन्‍ने हो—यदि कुनै कुराको तैँले नै चिन्ता लिनुपर्ने र त्यो गर्नुपर्ने छ भने, तैँले कुनै पनि हालतमा त्यसको चिन्ता लिनुपर्छ र त्यो काम गर्नुपर्छ। तैँले आफ्नै आँखाले नियाल्नैपर्छ र हरेक प्रकारको व्यक्तिले के भन्छ भनेर ध्यान दिएर सुन्‍न आफ्नै कान प्रयोग गर्नैपर्छ—र अवश्य पनि, तैँले हृदयमा यावत् किसिमका कुराहरूबारे राय, सोच, र खुट्ट्याउने क्षमता राख्न पनि सिक्नैपर्छ; अर्को महत्त्वपूर्ण कुरा भनेको परमेश्‍वरको घरद्वारा पालना गर्न माग गरिएका सिद्धान्तहरूलाई हृदयमा लिनु, र कुनै पनि समयमा तीबाट विचलित नहुनु हो। तैँले चाहे जे काम गरिरहेको भए पनि, सुरुमा तैँले परमेश्‍वरको घरले माग गर्ने सिद्धान्त र नियमहरू के-के हुन् भनी बुझ्नैपर्छ; तैँले काम सुरु गर्नुअघि, आफैलाई थप केही पटक यस्ता प्रश्नहरू सोध्नैपर्छ: के म परमेश्‍वरको घरले माग गरेका सिद्धान्तहरूबारे प्रस्ट छु? यदि यो परमेश्‍वरको घरका सिद्धान्तहरूअनुसार गर्ने हो भने यसलाई कसरी गरिनुपर्छ? विशेष परिस्थितिहरूमा यसलाई सिद्धान्तहरूअनुसार कसरी गरिनुपर्छ? साधारण परिस्थितिहरूमा यसलाई कसरी सम्हाल्नुपर्छ? तैँले काम सुरु गर्नुअघि कुनै पनि हालतमा यी र यस्तै अन्य प्रश्नहरू आफैलाई अझ धेरै सोध्नैपर्छ, र परमेश्‍वरसमक्ष बढी प्रार्थना गर्नैपर्छ। यसको एउटा पाटो आत्मजाँच हो; अर्को पाटो भनेको परमेश्‍वरको छानबिन स्विकार्नु हो। त्यसो गर्दा अगुवा र कामदारहरूलाई गल्तीहरू कम गर्न र आफ्नो काममा कम विचलित हुन, परमेश्‍वरको घरका भौतिक वस्तुहरूको बरबादीलाई कम गर्न, र उहाँको घरले बेहोर्ने घाटाहरू कम गर्नमा मदत पुग्छ। अझ महत्त्वपूर्ण कुरा के हो भने, त्यसो गर्नाले अगुवा र कामदारहरूका जिम्मेवारीहरू कायम रहन्छन् र ती जिम्मेवारीहरू पूरा हुन्छन्। अगुवा र कामदारहरूले साँचो रूपमा गर्नुपर्ने यही नै हो। यो नै अगुवा र कामदारहरूबाट गरिने माग हो। परमेश्‍वरको घरका विभिन्‍न भौतिक वस्तुहरूको सुरक्षा र बाँडफाँड गर्नु कुनै जटिल कार्य होइन। एउटा पाटो भनेको, त्यो अगुवा र कामदारहरू आफै सिद्धान्तहरूसँग परिचित हुने कुरा हो; यसको अर्को पाटो भनेको अगुवा र कामदारहरूले विभिन्‍न भौतिक वस्तुहरूको व्यवस्थापन गर्न जिम्मेवार मानिसहरूलाई यी सिद्धान्तहरू अझ बढी सङ्गति गर्नुपर्छ, कामकुराको अझ धेरै अनुगमन गर्नुपर्छ र कामकुरालाई अझ बढी बुझ्ने र व्यवस्थापनको स्थितिबारे अझ बढी छानबिन गर्ने कोसिस गर्नुपर्छ, र त्यो सँगसँगै परमेश्‍वरको घरका विभिन्‍न भौतिक वस्तुहरू बाँडफाँड गर्ने सुपरिवेक्षकहरूसँग अझ बढी सङ्गति गर्नुपर्छ, र उनीहरूलाई यी सिद्धान्तहरूको अझ राम्रो बोध प्रदान गर्नुपर्छ। अवश्य पनि, ती मानिसहरूले कसरी ती वस्तुहरूको बाँडफाँड र वितरण गरिरहेका छन्, र कुनै विशेष परिस्थितिहरू छन् कि छैनन् भनेर पनि अगुवा र कामदारहरूले निरन्तर सोध्ने र बुझ्ने गर्नैपर्छ—उदाहरणका लागि, परमेश्‍वरको घरले फरक-फरक मौसममा, फरक-फरक समयमा, र विभिन्‍न प्रकारका मानिसहरूका फरक-फरक आवश्यकताहरू हुने अवस्थामा माग गरेका सिद्धान्तहरूअनुसार सुपरिवेक्षकहरूले वस्तुहरूको बाँडफाँड गरिरहेका छन् कि छैनन् भनी हेर्नुपर्छ। त्यसो गर्नुको उद्देश्य भनेको परमेश्‍वरको घरका विभिन्‍न वस्तुहरूलाई प्रभावकारी रूपमा आफ्ना कार्यहरू निर्वाह गर्न सक्षम बनाउनु, र तिनलाई सकेसम्म समझदारीपूर्ण तरिकाले प्रयोग गर्नु, र सम्भव भएसम्म सबैभन्दा उत्कृष्ट हेरचाह र उत्कृष्ट मर्मतसम्भारका साथ तिनको संरक्षण गर्नु हो। यो अगुवा र कामदारहरूको जिम्मेवारी हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्