अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१) खण्ड दुई
विषयवस्तु एक: मानिसहरूलाई परमेश्वरको वचन खान र पिउन तथा बुझ्न अनि परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नको निम्ति अगुवाइ गर्ने
झुटा अगुवाहरूमा परमेश्वरको वचन बुझ्ने क्षमता र सक्षमता हुँदैन
झूटो अगुवा भनेको के हो? त्यो निश्चय नै, खास काम गर्न नसक्ने, अगुवाका रूपमा आफ्ना कर्तव्यहरूलाई ध्यान नदिने व्यक्ति हो। उसले कुनै वास्तविकता वा महत्त्वपूर्ण काम गर्दैन; उसले केवल केही सामान्य मामला र सतही कार्यहरू सम्हाल्छ, ती कुराहरू जसको जीवन प्रवेश वा सत्यतासँग कुनै सम्बन्ध हुँदैन। तिनीहरूले यो काम चाहे जति नै गरेपनि, यो काम गर्नुको कुनै अर्थ हुँदैन। त्यस कारण यस्ता अगुवाहरू झुटा ठहरिन्छन्। त्यसोभए व्यक्तिले कुनै झूटो अगुवालाई ठ्याक्कै कसरी खुट्ट्याउनुपर्छ? अब हाम्रो विश्लेषण सुरु गरौँ। सुरुमा प्रस्ट पार्नैपर्छ कि कुनै अगुवा वा कामदारको पहिलो जिम्मेवारी भनेको अरूलाई परमेश्वरका वचनहरू खान र पिउनमा अगुवाइ गर्नु र अरूले सत्यता बुझ्न र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्ने गरी सत्यताबारे सङ्गति गर्नु हो। यो नै कुनै अगुवा साँचो हो कि झूटो हो भनी जाँच्ने सबैभन्दा महत्त्वपूर्ण मापदण्ड हो। उसले अरूलाई परमेश्वरका वचनहरू खान र पिउनमा अनि सत्यता बुझ्न अगुवाइ गर्न सक्छ कि सक्दैन, र सत्यता प्रयोग गरेर समस्याहरू समाधान गर्न सक्छ कि सक्दैन भनी हेर्। एउटा अगुवा वा कामदारसित कस्तो क्षमता वा परमेश्वरका वचनहरू बुझ्ने सक्षमता छ, र उसले परमेश्वरका चुनिएका मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न अगुवाइ गर्न सक्छ कि सक्दैन भनी जाँच्ने मापदण्ड त्यही मात्र हो। यदि कुनै अगुवा वा कामदार परमेश्वरका वचनहरूलाई विशुद्ध रूपमा बोध गर्न र सत्यता बुझ्न सक्षम छ भने, उसले मानिसहरूमा भएका परमेश्वरमाथिको आस्थाबारे धारणा र कल्पनाहरूलाई परमेश्वरका वचनहरूअनुसार समाधान गर्नुपर्छ, र मानिसहरूलाई परमेश्वरको कामको व्यावहारिकता बुझ्न मदत गर्नुपर्छ। उसले परमेश्वरका चुनिएका मानिसहरूले सामना गर्ने वास्तविक कठिनाइहरू, विशेषगरी तिनीहरूका आस्थामा भएका गलत विचारहरू वा कुनै कर्तव्य पूरा गर्नेबारे गलतफहमीहरू पनि उहाँका वचनहरूअनुसार समाधान गर्नुपर्छ। उसले मानिसहरूले विभिन्न परीक्षा र सङ्कष्टहरू सामना गर्दा सामना गर्ने समस्याहरू समाधान गर्न परमेश्वरका वचनहरू लागु पनि गर्नैपर्छ, र ऊ परमेश्वरका चुनिएका मानिसहरूलाई सत्यता बुझ्न र अभ्यास गर्न, अनि उहाँको वचनको वास्तविकतामा प्रवेश गर्न अगुवाइ गर्न सक्षम हुनैपर्छ। साथै, उसले परमेश्वरका वचनहरूद्वारा प्रकट गरिएका स्थितिहरूका आधारमा मानिसहरूका विभिन्न भ्रष्ट स्वभावहरूलाई चिरफार गर्नैपर्छ, ताकि परमेश्वरका चुनिएका मानिसहरूले यीमध्ये कुन तिनीहरूका लागि लागु हुन्छ भनी देख्न, आफूबारे ज्ञान हासिल गर्न र शैतानलाई घृणा गर्न र त्यसविरुद्ध विद्रोह गर्न सकून्, जसमार्फत परमेश्वरका चुनिएका मानिसहरू आफ्नो गवाहीमा दृढ रहन, शैतानलाई पराजित गर्न, र हरप्रकारका परीक्षाहरूमा परमेश्वरलाई महिमा दिन सक्षम हुनेछन्। अगुवा र कामदारहरूले गर्नुपर्ने काम यही हो। यो नै मण्डलीको सबैभन्दा आधारभूत, महत्त्वपूर्ण र सारभूत काम हो। यदि अगुवाका रूपमा सेवा गरिरहेका मानिसहरूमा परमेश्वरका वचनहरू बोध गर्ने क्षमता र सत्यता बुझ्ने क्षमता छ भने, तिनीहरू परमेश्वरका वचनहरू बुझ्न र तिनको वास्तविकतामा प्रवेश गर्न सक्षम हुने मात्र नभई, तिनीहरूले आफूले अगुवाइ गर्नेहरूलाई, परमेश्वरका वचन बुझ्न र तिनको वास्तविकतामा प्रवेश गर्नहेतु मार्गदर्शन, अगुवाइ र सहायता दिन पनि सक्षम हुनेछन्। तर झूटा अगुवाहरूमा नहुने कुरा नै परमेश्वरका वचनहरू बोध गर्ने र सत्यता बुझ्ने क्षमता हो। तिनीहरूले परमेश्वरका वचनहरू बुझ्दैनन्, तिनीहरूलाई मानिसहरूले विभिन्न परिस्थितिहरूमा प्रकाश गर्ने भ्रष्ट स्वभावहरू जुन उहाँका वचनहरूमा खुलासा गरिन्छन्, ती थाहा नै हुँदैन, वा कस्ता स्थितिहरूले परमेश्वरविरुद्ध प्रतिरोध, गुनासो, विश्वासघात, आदि पैदा गराउँछन्, इत्यादि थाहा हुँदैन। झूटा अगुवाहरूले आत्मचिन्तन गर्न वा परमेश्वरका वचनहरूलाई आफूसित जोड्न सक्दैनन्, तिनीहरूले परमेश्वरका वचनहरूको शाब्दिक अर्थबाट थोरै धर्मसिद्धान्त र केही प्रावधानहरू मात्र बुझ्छन्। तिनीहरूले अरूसँग सङ्गति गर्दा, उहाँका केही वचनहरू वाचन गर्ने, त्यसपछि तिनका शाब्दिक अर्थ व्याख्या गर्ने मात्र गर्छन्। अनि त्यतिमा नै, तिनीहरू आफूले सत्यताबारे सङ्गति गरिरहेको र वास्तविक काम गरिरहेको ठान्छन्। यदि कसैले तिनीहरूलेझैँ परमेश्वरका वचनहरू पढ्न र वाचन गर्न सक्छ भने, तिनीहरूले उसलाई सत्यतालाई प्रेम गर्ने र सत्यता बुझ्ने व्यक्ति ठान्नेछन्। झूटो अगुवाले परमेश्वरका वचनहरूको शाब्दिक अर्थ मात्र बुझ्छ; उसले मूलतः परमेश्वरका वचनहरूको सत्यता बुझ्दैन, त्यसकारण ऊ तीसम्बन्धी आफ्नो अनुभवात्मक ज्ञानबारे कुरा गर्न असक्षम हुन्छ। झूटा अगुवाहरूमा परमेश्वरका वचनहरू बुझ्ने क्षमता हुँदैन; तिनीहरूले तिनको सतही अर्थ मात्र बुझ्न सक्छन्, तर त्यो नै उहाँका वचनहरू र सत्यता बुझ्नु हो भन्ने विश्वास गर्छन्। दैनिक जीवनमा तिनीहरू अरूलाई सल्लाह दिन र मदत गर्नका लागि सधैँ परमेश्वरका वचनहरूको शाब्दिक अर्थको व्याख्या गर्छन्, अनि त्यसो गर्नु भनेको काम गर्नु हो, र तिनीहरूले मानिसहरूलाई परमेश्वरका वचनहरू खान र पिउन साथै तिनका वास्तविकतामा प्रवेश गर्न अगुवाइ गरिरहेका छन् भन्ने विश्वास गर्छन्। तथ्य के हो भने, झूटा अगुवाहरूले बारम्बार परमेश्वरका वचनहरूबारे अरूसँग यसरी सङ्गति गर्ने भए पनि, तिनीहरूले सानो वास्तविक समस्यालाई पनि समाधान गर्न सक्दैनन्, अनि परमेश्वरका चुनिएका मानिसहरू उहाँका वचनहरू अभ्यास वा अनुभव गर्न असक्षम भई बस्छन्। तिनीहरू भेलाहरूमा चाहे जति नै सहभागी हुने वा परमेश्वरका वचनहरू जति नै खाने र पिउने गरे पनि, तिनीहरू सत्यता बुझ्दैनन्, न त तिनीहरूसँग जीवन प्रवेश नै हुन्छ, साथै तीमध्ये कसैले पनि आफ्ना अनुभवात्मक ज्ञानबारे कुरा गर्न सक्दैनन्। दुष्ट मानिस र अविश्वासीहरूले मण्डलीमा बाधा दिइरहेका भए पनि, तिनीहरूलाई कसैले खुट्ट्याउन सक्दैन। कुनै झूटो अगुवाले कुनै अविश्वासी वा दुष्ट व्यक्तिले बाधा सिर्जना गरिरहेको देख्दा, उसले समझशक्ति प्रयोग गर्दैन, बरु उसलाई प्रेम र अर्तीहरू दिन्छ, अरूलाई ऊप्रति सहनशील र धैर्यवान् हुन आग्रह गर्छ, र यी मानिसहरूलाई मण्डलीमा बाधा सिर्जना गरिरहन दिन्छ। यस कारणले गर्दा मण्डलीको प्रत्येक काम अत्यन्तै फलहीन हुन्छ। यो एक झूटो अगुवाले खास काम गर्न नसक्नुको परिणाम हो। झूटो अगुवाहरूले समस्याहरू समाधान गर्नहेतु सत्यता प्रयोग गर्न सक्दैनन्, जुन तिनीहरूमा सत्यता वास्तविकता छैन भन्ने देखाउन पर्याप्त हुन्छ। जब तिनीहरू बोल्छन्, तिनीहरूले शब्द र धर्मसिद्धान्तहरू मात्र ओकल्छन्, साथै तिनीहरूले अरूलाई अभ्यास गर्न भन्ने कुरा धर्मसिद्धान्त र प्रावधानहरू मात्र हुन्छन्। उदाहरणका लागि, जब कसैले परमेश्वरबारे गलतफहमी विकास गर्छ, तब झूटा अगुवाहरूले उसलाई यसो भन्नेछ, “परमेश्वरका वचनहरूले यो सबै पहिल्यै समेटिसके: परमेश्वरले जे गर्नुहुन्छ, त्यो मानिसको मुक्ति हो, त्यो प्रेम हो। हेर त, उहाँका वचनहरू कति प्रस्ट र खुलस्त छन्। तिमीले अझै पनि कसरी उहाँलाई गलत बुझ्न सक्छौ?” झूटा अगुवाहरूले मानिसहरूलाई यस्तै निर्देशन दिन्छन्। तिनीहरू मानिसहरूलाई अर्ती दिन शब्द र धर्मसिद्धान्तहरू ओकल्ने गर्छन्, तिनीहरूलाई, बन्धनमा पार्छन्, र प्रावधानहरू पालना गर्न लगाउँछन्। यो अलिकति पनि प्रभावकारी हुँदैन, र यसले कुनै समस्याहरू समाधान गर्न सक्दैन। झूटा अगुवाहरूले मानिसहरूलाई मार्गदर्शन गर्न शब्द र धर्मसिद्धान्तहरू मात्र बोल्न सक्छन्, जसले ती मानिसहरूलाई धर्मसिद्धान्तहरू बोल्न सक्नुको अर्थ तिनीहरू सत्यता वास्तविकताहरूमा प्रवेश गरेका छन् भन्ने हो भनी सोच्ने तुल्याउँछ। तैपनि तिनीहरूलाई कुनै कठिनाइ आइपर्दा, तिनीहरूलाई कसरी अभ्यास गर्ने भनी थाहा हुन्न, तिनीहरूसित कुनै मार्ग हुँदैन, र तिनीहरूले बुझेका सारा शब्द र धर्मसिद्धान्तहरू छेउ लाग्छन्। यसले के देखाउँछ? यसले धर्मसिद्धान्तहरू बुझ्नु बिलकुलै उपयोगी वा मूल्यवान् हुँदैन भन्ने देखाउँछ। झूटा अगुवाहरूले बुझ्ने एउटा मात्रै कुरा भनेको धर्मसिद्धान्त हो। तिनीहरूले समस्याहरू समाधान गर्न सत्यताबारे सङ्गति गर्न सक्दैनन्; तिनीहरूका कार्यहरूमा कुनै सिद्धान्तहरू हुँदैनन्, र जीवनमा तिनीहरूले आफूलाई राम्रा लागेका केही प्रावधानहरू पालना गर्ने काम मात्र गर्छन्। यस्ता मानिसहरूमा सत्यता वास्तविकताहरू हुँदैनन्। त्यसैले, झूटा अगुवाहरूले मानिसहरूलाई परमेश्वरका वचनहरू खान र पिउन अगुवाइ गर्दा, कुनै वास्तविक असर हुँदैन। तिनीहरूले केवल मानिसहरूलाई परमेश्वरका वचनहरूको शाब्दिक अर्थ बुझ्ने तुल्याउन सक्छन्, र उनीहरूलाई परमेश्वरका वचनहरूबाट अन्तर्दृष्टि प्राप्त गर्न वा उनीहरूमा कस्ता भ्रष्ट स्वभावहरू छन् भनी बुझ्न मदत गर्न सक्दैनन्। झूटा अगुवाहरूले मानिसहरूका स्थितिहरू के हुन् वा कुनै पनि निश्चित परिस्थिति सामना गर्दा, मानिसहरूले कस्तो स्वभाव सार प्रकाश गर्छन्, यी त्रुटिपूर्ण स्थितिहरू र भ्रष्ट स्वभावहरूलाई समाधान गर्न परमेश्वरका कुन वचनहरू प्रयोग गर्नुपर्छ, तीबारे परमेश्वरका वचनहरूमा के भनिएको छ, परमेश्वरका वचनहरूका माग र सिद्धान्तहरू के हुन्, वा तीभित्रका सत्यताहरू के हुन् भन्ने कुरा बुझ्दैनन्। झूटा अगुवाहरूले यी सत्यता वास्तविकताहरूबारे केही पनि बुझ्दैनन्। तिनीहरू मानिसहरूलाई यसो भनेर सल्लाह मात्र दिन्छन्, “परमेश्वरका अझै धेरै वचनहरू खाने र पिउने गर। तिनमा सत्यता छ। तिमीले उहाँका वचनहरू अझ धेरै पढेपछि बुझ्नेछौ। यदि तिमीले तीमध्ये कुनै-कुनै बुझ्दैनौ भने, तिमीले तीबारे अझ धेरै प्रार्थना, खोजी, र मनन गर्नुपर्छ।” तिनीहरूले यसरी नै मानिसहरूलाई परामर्श दिन्छन्, र त्यसो गरेर तिनीहरूले समस्याहरू समाधान गर्न सक्दैनन्। जोसुकैले समस्या सामना गरेर तिनीहरूबाट खोजी गर्न आएपनि, तिनीहरूले एउटै कुरा भन्छन्। पछि, त्यस व्यक्तिले अझै पनि आफूलाई चिनेको हुँदैन र अझै पनि सत्यता बुझ्दैन। तिनीहरूले आफ्नै वास्तविक समस्या समाधान गर्न, वा तिनीहरूले परमेश्वरका वचनहरू कसरी अभ्यास गर्नुपर्छ भनी बुझ्न सक्नेछैनन्, अनि तिनीहरूले परमेश्वरका वचनहरूको शाब्दिक अर्थ र प्रावधान हरू मात्र पालना गर्नेछन्। परमेश्वरका वचनहरू अभ्यास गर्नुका सत्यता सिद्धान्तहरू वा तिनीहरूले प्रवेश गर्नुपर्ने वास्तविकताहरूको कुरा आउँदा, तिनीहरूले ती अझै पनि बुझ्दैनन्। झूटा अगुवाहरूको कामबाट यही नतिजा आउँछ: एउटा पनि वास्तविक नतिजा आउँदैन।
परमेश्वर मानिसहरूले सन्तको शालीनतासहित भद्र र शिष्ट ढङ्गमा लुगा लगाऊन् भन्ने माग गर्नुहुन्छ। “सन्तको शालीनतासहित भद्र र शिष्ट ढङ्गमा”—कुल नौवटा शब्दहरू, तर के तिमीहरू तिनको अर्थ बुझ्छौ? (हामी सबैलाई धर्मसैद्धान्तिक रूपमा थाहा छ, परमेश्वर मानिसहरूले सन्तको शालीनतासहित भद्र र शिष्ट ढङ्गमा लुगा लगाऊन् भन्ने माग गर्नुहुन्छ, तर हामी आफूले लुगा लगाउँदा भद्र वा शिष्ट भनेको के हो भनी मापन गर्न जान्दैनौँ।) यसले सत्यता बुझिएको छ कि छैन भन्ने समस्याबारे बताउँछ। यदि तैँले यो मापन गर्न सक्दैनस् भने, त्यसले तैँले परमेश्वरको वचन बुझ्दैनस् भन्ने प्रमाणित गर्छ। त्यसोभए, परमेश्वरको वचन बुझ्नुको अर्थ के हो? यसको अर्थ परमेश्वरले चर्चा गर्नुहुने भद्रता र शिष्टता वा अझ विशेष गरी, लुगाको रङ र स्टाइलको मापदण्ड बुझ्नु हो। कुन रङ र स्टाइल भद्र र शिष्ट हुन्? सत्यता बुझ्ने क्षमता भएकाहरूलाई भद्र र शिष्ट के हो, अनि अनौठो के हो भन्ने थाहा हुन्छ। कतिपय लुगा भद्र र शिष्ट भए पनि, ती पुराना शैलीका हुन्छन्। परमेश्वर पुरानो शैलीका कुराहरू मन पराउनुहुन्न, र उहाँले मानिसहरूलाई विगतको शैली अनुकरण गर्नू वा पाखण्डी फरिसी बन्नू भनेर भन्नुहुन्न। परमेश्वरले “भद्र र शिष्ट” भन्नुको अर्थ सामान्य मानव स्वरूप हुनु, श्रेष्ठ, सुशोभित र स्तरयुक्त देखिनु हो। परमेश्वर मानिसहरूलाई अनौठो लुगा लगाउन आग्रह गर्नुहुन्न, न त कङ्गालले जस्तो फाटेको लुगा लगाउन नै भन्नुहुन्छ, बरु उहाँ त मानिसहरूले सन्तको शालीनतासहित भद्र र शिष्ट ढङ्गमा लुगा लगाऊन् भनेर आग्रह गर्नुहुन्छ। सामान्य मानिसहरूको बुझाइ यही हो। तर यो कुरा सुनेपछि, एउटा झुटो अगुवा एकदमै जोस्सियो, र उसले यसो भन्यो: “परमेश्वरको वचनले हामीलाई कसरी लुगा लगाउने भन्ने दायरा दिन्छ। ‘सन्तको शालीनतासहित भद्र र शिष्ट ढङ्गमा’—यदि हामीले यी नौवटा शब्दहरू पालन गऱ्यौँ भने, परमेश्वरलाई महिमित पार्नेछौँ, उहाँलाई लज्जित बनाउनेछैनौँ, र हामी गैरविश्वासीहरूमाझ उच्च रूपमा सम्मानित मानिस हुनेछौँ। त्यसोभए, भद्र र शिष्ट भनेको के हो त? त्यसको अर्थ यो हो कि तैँले मानव स्वरूपमा बोल्ने र कार्य गर्ने गर्नुपर्छ, र तँसँग सन्तको जस्तो शालीनता हुनुपर्छ। सन्तहरूको कुरा गर्दा, सामान्यतया हामी प्राचीन सन्तहरूको कुरा गर्छौँ। यदि हामी सन्तको जस्तो शालीनता राख्न चाहन्छौँ भने, हामीले प्राचीन सन्तहरूको शैली अनुकरण गर्नुपर्छ, तर यदि तँ प्राचीन लुगा लगाएर हिँडिस् भने, मानिसहरूले तँलाई पागल ठान्नेछन्। यो परमेश्वरलाई सम्मान गर्ने सिद्धान्तअनुरूप हुँदैन, तर हालसालै सन्तहरूले लगाएका लुगाहरूको केही प्रमाण हुनुपर्छ, जुन हामीले खोज्न सक्छौँ। केही दशकअघिको सामाजिक परिवेश अझ राम्रो थियो। मानिसहरू अझ सरल थिए, अनि अझ परम्परागत र उचित ढङ्गमा लुगा लगाउँथे। यदि यो मानकअनुसार लुगा लगाइयो भने, भद्र र शिष्ट भइन्थ्यो, र सन्तको शालीनता आउनेथ्यो। अभ्यासको मार्ग यही हो।” १९७० र १९८० का दशकमा मानिसहरूले सेतो कमिज र निलो पतलुन लगाउँथे भन्ने थाहा पाएर उसले दाजुभाइ-दिदीबहिनीहरूलाई यसो भन्यो, “मैले परमेश्वरका वचनमा ज्योति देखेको छु। ७० र ८० का दशकमा मानिसहरू निकै उचित र सरल वस्त्र लगाउँथे। उनीहरूलाई मर्यादित भन्न मिल्दैनथ्यो, तर त्यो परमेश्वरको वचनका मागहरूसँग धेरै मेल खाएको देखिन्छ, त्यसैले हामी यो मानकअनुसार लुगा लगाउनेछौँ।” त्यो अगुवाले यस्तो लुगा लगाउनमा नेतृत्व लियो, र सबैले त्यो राम्रो, निकै शिष्ट र सरल देखिन्छ भन्ने ठाने। उक्त अगुवाले भन्यो: “परमेश्वरले अनौठो लुगा नलगाउनू भन्नुभएको छ। सर्वप्रथम, कमिजको टाँक घाँटीसम्म, र बाहुलाको पनि सबै टाँक लगाउनुपर्छ। नाडी देखिनु हुँदैन, कमिज पतलुनभित्र घुसार्नुपर्छ, र सबै कुरा पूरै छोपिएको हुनुपर्छ, छाती वा ढाड ह्वाङ्गै हुनु हुँदैन। हेर, कति भ्रद्र र शिष्ट देखिन्छ! के यो परमेश्वरले माग गर्नुभएझैँ भद्र र शिष्ट, अनि सन्तको जस्तो शालीनताअनुरूप हुँदैन र?” त्यो अगुवा आफूले त्यो क्षण लगाइरहेको पहिरनमा एकदमै रमायो, र त्यही बेला उसले अरूमाथि पनि त्यस्तै माग थोपऱ्यो, “तिमीहरूको लुगा एकदमै आधुनिक, एकदमै फेसनदार छ। त्यसले परमेश्वरलाई लज्जित तुल्याउँछ, र उहाँलाई त्यो मन पर्दैन। सबैजनाले छिटो मैले लगाएजस्तो लुगा लगाऊ, ठ्याक्कै मजस्तै बन!” समझहीन मानिसहरूले जे भनियो त्यही गरे, सन्तको जस्तो शालीनता भएको तथाकथित भद्र र शिष्ट पहिरन खोजेर लगाए, अनि धेरैजसो मानिसहरूलाई त्यो राम्रो छ भन्नेसमेत लाग्यो। तर कति मानिसलाई यी पुरानो शैलीका कुराहरूदेखि हृदयमा घृणा लाग्यो, अनि यसो गर्नु अनुचित हो, र परमेश्वरको वचनबारे यो बुझाइ विकृत हो भन्ने महसुस भयो। यी मानिसहरूले, अगुवाको कुरा सुन्नु सही हो कि गलत हो भनेर स्पष्टसित भन्न नसके पनि र कुनै निष्कर्ष निकाल्ने आँट नगरे पनि, अन्धाधुन्ध भीडलाई नपछ्याउन पैरवी गरे। तिनीहरूलाई अगुवाले भनेको कुरा पूर्णतया सही होइन भन्ने लाग्यो, र तिनीहरूले त्यो पालन गरेनन्। मन्द बुद्धिका, परमेश्वरको वचन बुझ्ने क्षमता नभएका, र परमेश्वरको वचन नपढ्नेहरूले मात्र झुटो अगुवाले जे भन्यो त्यही माने, अनि आफूलाई जे गर्न भनियो त्यही गरे र जसरी गर्न भनियो त्यसरी गरे। तिनीहरूले त्यो झुटो अगुवालाई पछ्याए र उसको अनुकरण गरे, बाहिर जाँदा उसकै जस्तो लुगा लगाए। तिनीहरू बाहिर भीडमाझ जाँदैपिच्छे निकै आनन्द मान्थे र सोच्थे “हामी सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्छौँ, र मेरो पहिरनमा एकदमै धेरै सन्तको जस्तो शालीनता छ। तिमीहरूले के लगाएको? कति भड्किलो, कति आधुनिक, कति दुष्ट! हामीलाई हेर त, हामीले केही पनि देखाइरहेका छैनौँ!” तिनीहरूले आफूलाई अद्भुत ठाने। त्यो झुटो अगुवाले त्यो परमेश्वरको वचनलाई गलत अर्थ्याउनु हो भनेर बुझ्न सक्नु त परै जाओस्, बरु उल्टै आफूले वास्तवमै परमेश्वरको वचन अभ्यास गरिरहेको छु र तिनको वास्तविकतामा प्रवेश गरिरहेको छु भन्नेसमेत ठान्यो। झुटा अगुवाहरूले गर्ने यही हो। मानिसहरूले बुझ्ने सबैभन्दा सरल र सजिला परमेश्वरका मागहरूको कुरामा समेत, झुटा अगुवाहरूले परमेश्वरको वचनले बताउने कुरा, त्यसका आवश्यक मानकहरू, वा सिद्धान्तहरू साँचो रूपमा बुझ्न सक्दैनन्। त्यसोभए के तिनीहरूले मानवजातिको भ्रष्ट स्वभावबारे वा हरप्रकारका मानव अवस्थाबारे परमेश्वरले बताउनुहुने कुराहरू बुझ्न सक्छन् त? के तिनीहरूले यहाँ ठ्याक्कै सत्यता के हो भनेर जान्न सक्छन् त? अवश्य नै सक्दैनन्।
झुटा अगुवाहरूसँग परमेश्वरका वचनहरू बुझ्ने क्षमता हुँदैन; तिनीहरू केवल परमेश्वरका वचनहरूको शाब्दिक अर्थबाट परमेश्वरले भन्नुभएको कुरा जान्दछन् तर परमेश्वरका वचनहरूले के-कस्ता सत्यताहरू व्यक्त गर्छन्, परमेश्वरले मानिसहरूबाट के माग गर्नुहुन्छ, वा मानिसहरूले के-कस्ता सत्यता सिद्धान्तहरू बुझ्नुपर्छ भन्ने कुरा बुझ्दैनन्। त्यसकारण, तिनीहरूले परमेश्वरका वचनहरूबारे सङ्गति गर्दा तिनका केही शाब्दिक अर्थ मात्र लगाउँछन् र मानिसहरूलाई पालन गर्न केही प्रावधान, केही नियम दिन्छन्, र आफूले पनि परमेश्वरका वचनहरू बुझ्छु र काम गरेको छु भनेर प्रमाणित गर्न यी कुराहरू प्रयोग गर्छन्। कति झुटा अगुवाहरूले त परमेश्वरका वचनहरू स्पष्ट छँदै छन्, यति मात्र हो कि मानिसहरू ती खान र पिउन वा तिनमा मेहनत लगाउन सधैँ असफल हुन्छन् भनेरसमेत सोच्छन्। सबैका हातमा परमेश्वरका वचनहरूको पुस्तक देखेर तिनीहरू मानिसहरूलाई परमेश्वरका वचनहरू खान र पिउन अगुवाइ गर्नु अनावश्यक ठान्छन्। तसर्थ, जब तिनीहरूले भेलामा वा कर्तव्य निर्वाह गर्दै गर्दा समस्याहरू भेट्टाउँछन्, तब तिनीहरूले मानिसहरूलाई परमेश्वरका वचनहरूका केही चुनिएका खण्डहरू मात्र पठाउँछन्, र तिनीहरूलाई यस्तो भन्छन्, “परमेश्वरका वचनको यो खण्ड पढ”; “परमेश्वरका वचनको त्यो खण्ड पढ” वा “परमेश्वरका वचनहरूले यो पक्षबारे यसो भन्छन् र त्यो पक्षबारे त्यसो भन्छन्।” तिनीहरूले मानिसहरूलाई परमेश्वरका वचनहरूका चुनिएका खण्डहरू मात्र पठाउँछन्, सम्झाउने-बुझाउने तरिका प्रयोग गर्दै मानिसहरूलाई परमेश्वरका वचनहरू पढ्न प्रोत्साहित गर्छन्, र तिनीहरू मानिसहरूलाई परमेश्वरका वचनहरू खान र पिउन यसरी नै अगुवाइ गर्नुपर्छ र आफूले अगुवाको जिम्मेवारी पूरा गरिरहेको छु भन्ठान्छन्। यी वचनहरू देखेपछि मानिसहरू भन्छन्, “मैले पनि परमेश्वरका यी वचनहरू पढेको छु; तपाईँले मेरा लागि यी वचनहरू सङ्कलन गर्नु अनावश्यक होइन र?” तर, झुटा अगुवाहरू सोच्छन्, “यदि मैले तिमीलाई ती वचनहरू पठाइनँ भने, तिमीले यी वचनहरू कुन अध्याय वा कुन पृष्ठमा छन् भनेर भेट्टाउन सक्नेछैनौ। तिमीलाई त परमेश्वरले यी वचनहरू कुन प्रसङ्गमा भन्नुभएको हो भनेरसमेत थाहा छैन। अगुवा भएको नाताले, मैले तिमीलाई परमेश्वरका वचनहरू कुनै पनि समय र कुनै पनि ठाउँमा पठाउने यो जिम्मेवारी लिनुपर्छ।” कति झुटा अगुवाहरू त कामप्रति आफ्नो बफादारी र मानिसहरूलाई परमेश्वरका वचनहरूको वास्तविकतामा डोऱ्याउने दृढता प्रदर्शन गर्न प्रेम बर्साउँदै कसैलाई दिनमा परमेश्वरका वचनहरूका दस-बिस खण्डहरू नै पठाउँछन्। परमेश्वरका यी वचनहरू मानिसहरूलाई पठाउन त पठाइन्छन्, तर के तिनीहरूका समस्याहरू हल हुन्छन् त? के तिनीहरूले अगुवाले खेल्नुपर्ने भूमिका पूरा गर्छन् त? प्रायः तिनीहरूले यो भूमिका पूरा गर्दैनन्, किनभने यदि मानिसहरू आफैले यी वचनहरू बुझ्न सक्थे त, उनीहरूलाई कुनै अगुवा नै चाहिँदैनथ्यो। झुटा अगुवाहरूले पठाएका परमेश्वरका वचनका खण्डहरू वास्तवमा परमेश्वरका वचन प्रायः पढिरहनेहरूलाई राम्ररी थाहा हुन्छ, तर मानिसहरूमा के कुराको कमी हुन्छ? तिनीहरूका कठिनाइ र समस्याहरू के हुन्? यो कि, जब यी सत्यतासँग सम्बन्धित समस्याहरूको कुरा आउँछ, जब कठिनाइहरू आइपर्छन्, तब मानिसहरूले यी समस्याहरूको सार छर्लङ्ग देख्न सक्दैनन्, तिनको समाधान कहाँबाट थाल्ने, र यी सत्यताहरूमा कसरी प्रवेश गर्ने भनेर जान्दैनन्—अनि झुटा अगुवाहरूले पनि जान्दैनन्। त्यसोभए, के तिनीहरूले यो मामिलामा आफ्नो जिम्मेवारी पूरा गरेका छन् त? के तिनीहरू अगुवाइको काममा दक्ष छन् त? तिनीहरूले स्पष्टतः यो जिम्मेवारी पूरा गरेका छैनन्। उदाहरणका लागि, जब मानिसहरूले परमेश्वरका वचनहरूमा इमानदार व्यक्ति हुनेबारे पढ्छन्, तब एउटा झूटो अगुवाले परमेश्वरका वचनहरू कसरी खाने र पिउने भनेर थाहा नभएर अनि सत्यता बोध गर्ने र बुझ्ने क्षमताको कमी भएर, यसो भन्छ: “परमेश्वरका मागहरू उच्च छैनन्। परमेश्वर हामीलाई इमानदार मानिस बन्नू भनेर भन्नुहुन्छ, र इमानदार हुनु भनेको सत्य बोल्नु हो। के परमेश्वरका वचनहरूले यो सब भनेका छैनन् र: ‘तिमीहरूको बोलीवचन होलाई, हो; होइनलाई, होइन भन्ने होस्’ (मत्ती ५:३७)? परमेश्वरका वचनहरू कत्ति स्पष्ट छन्! तिमी हृदयमा जे सोच्छौ त्यही भन; त्यो कत्ति सरल छ! तिमीले किन त्यो गर्न सक्दैनौ? परमेश्वरको वचन नै सत्यता हो, हामीले यो अभ्यास गर्नैपर्छ। अभ्यास नगर्नु भनेको विद्रोह गर्नु हो, र के परमेश्वरले उहाँविरुद्ध विद्रोह गर्नेहरूलाई मुक्ति दिनुहुन्छ र? उहाँले दिनुहुन्न।” यो कुरा सुनेपछि, मानिसहरूले यस्तो जवाफ दिन्छन्, “तपाईँले भन्नुभएको सबै कुरा सही हो, तर हामीलाई कसरी इमानदार मानिस बन्ने भनेर अझै थाहा छैन। किनभने धेरैचोटि अनजानमै झुट बोलिन्छ, वा अन्य विकल्प नहुँदा यसो गरिन्छ, र त्यसको पछाडि कारण हुन्छ। यसलाई कसरी समाधान गरिनुपर्छ?” त्यो झुटो अगुवाले के भन्ला? “के यसलाई सम्हाल्नु सजिलो छैन र? के परमेश्वरका वचनहरूले त्यो प्रस्ट पारेका छैनन् र? इमानदार व्यक्ति हुनु भनेको बालक हुनुजस्तै हो; त्यो कति सरल छ! तिमी जतिसुकै उमेरको भए पनि, के तिमी बालकजस्तै हुन सक्दैनौ र? बालबालिकाले कस्तो व्यवहार गर्छन् भनेर यसो हेर त।” त्यसपछि त्यो सुन्ने व्यक्तिले सोच्छ: “बालकको मुख्य व्यवहार भोलाभाला र जीवन्त हुनु, उफ्रिहिँड्नु, अपरिपक्व हुनु, र धेरै कुरा नबुझ्नु हो। अगुवाले यसै भनेकाले, म त्यो यसरी नै गर्नेछु।” भोलिपल्ट, तीस वा चालिस वर्षमाथिकी त्यो व्यक्तिले दुइटा ससाना चुल्ठो बाटेकी हुन्छे, गुलाबी हेडब्यान्ड र हेयरक्लिप, अनि गुलाबी कमिज, गुलाबी जुत्ता र गुलाबी मोजा लगाएकी हुन्छे, उसको पूरै पहिरन गुलाबी हुन्छ। यो देखेर अगुवाले भन्छ, “यो ठिक छ! अझै बालकजस्तै उफ्रँदै हिँड। बालकजस्तै अझ अबोध भएर बोल, आँखामा दुष्टपन नहोस्, र मुहारमा मुस्कान होस्—के यो बचपना व्यवहारमा फर्कनु होइन र? इमानदार व्यक्तिको चालढाल यस्तै हुन्छ!” त्यो अगुवा निकै खुसी हुन्छ, जबकि अरूलाई भने यो मूर्खतापूर्ण, र असामान्य व्यवहार लाग्छ। यो झुटो अगुवाले समस्या समाधान गर्न सक्नु त कता हो कता, उसलाई त सत्यता सिद्धान्तहरू कसरी खोज्ने भनेरसमेत बिलकुलै थाहा थिएन, र यसरी उसले मानिसहरूलाई बेतुकताको मार्गमा डोऱ्यायो। इमानदार व्यक्ति बन्ने सबैभन्दा सरल सत्यताका सन्दर्भमा समेत, झुटो अगुवाले त्यसलाई कसरी सही र शुद्ध रूपमा बुझ्ने भनेर जानेको हुँदैन, ऊ अन्धाधुन्ध प्रावधानहरू लागू गर्नतिर लाग्छ, र त्यसलाई यति विकृत रूपमा बुझ्छ कि सुन्नेहरूलाई त्यसदेखि घिन लागेर आउँछ। झुटा अगुवाहरूले गर्ने भनेकै यही हो।
झुटा अगुवाहरूले परमेश्वरका वचनहरूलाई हरतरिकाले बुझ्छन्, र विभिन्न विचित्र र अनौठा दृष्टिकोणहरू प्रस्तुत गर्छन्। तिनीहरू आफूले परमेश्वरका वचनहरू अभ्यास गरेको र पछ्याएको ढोँग पनि गर्छन्, र अरूले तिनीहरूको बुझाइ स्विकारून् र पालन गरून् भन्ने माग गर्छन्। सङ्क्षेपमा भन्नुपर्दा, यी झुटा अगुवाहरूजस्ता मानिसहरूसँग प्रायः परमेश्वरका वचनहरूको सतही र विकृत बुझाइ हुन्छ। त्यसलाई व्याख्या गर्न आत्मिक शब्द प्रयोग गर्ने हो भने, हामी तिनीहरूमा “आत्मिक बुझाइको कमी छ” भन्नेथियौँ। परमेश्वरका वचनहरूबारे तिनीहरूको बुझाइ विकृत त हुन्छ नै, त्यसमाथि तिनीहरू अरूले यी विकृत धर्मसिद्धान्त र प्रावधानहरू तिनीहरूले जस्तै पालन गरून् भनेर पनि प्रायः माग गर्छन्। यसैबीच, तिनीहरूले सत्यताको शुद्ध बुझाइ हुनेहरूलाई निन्दा गर्न पनि आफ्नो विकृत बुझाइ प्रयोग गर्छन्। आत्मिक बुझाइ नभएका यी झुटा अगुवाहरूले परमेश्वरका वचनहरूलाई ख्रीष्टविरोधीहरूले जसरी छानबिन र विश्लेषण गर्दैनन्। झट्ट हेर्दा तिनीहरू परमेश्वरका वचनहरूलाई खानेपिउने र स्विकार्ने आज्ञाकारी मनोवृत्तिले लिन्छन् जस्तो लाग्छ। तर, तिनीहरूको कमजोर क्षमता र परमेश्वरका वचनहरू बुझ्ने असक्षमताका कारण, तिनीहरू परमेश्वरका वचनहरूलाई पाठ्यपुस्तकझैँ ठान्छन्, र परमेश्वरका वचनहरू “एक र एक जोड्दा दुई हुन्छ, दुई र दुई जोड्दा चार हुन्छ” भन्ने तर्कअनरूप हुने विश्वास गर्छन्। तिनीहरूलाई परमेश्वरका वचनहरू सत्यता हुन्, र परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न व्यक्तिले परमेश्वरका वचनहरूमा बताइएका सत्यताहरूले के जनाउँछन्, अनि यी सत्यताहरूमा संलग्न विभिन्न स्थिति र विषयवस्तु के-के हुन् भनी बुझ्नुपर्छ भनेर थाहा हुँदैन। जब अरूले परमेश्वरका वचनहरूलाई एकदमै ठोस र व्यावहारिक तरिकाले बुझ्छन्, तब तिनीहरू त्यसलाई सतही र सुन्न अयोग्य मान्छन्, र यसो भन्छन्, “म त्यो सब बुझ्छु, मलाई सबै कुरा थाहा छ। तिमीले बताइरहेको कुरा परमेश्वरका वचनहरूमा पहिल्यै स्पष्टसित व्याख्या गरिएको छ, तिमीले त्यो किन भनिरहनुपऱ्यो र?” वास्तवमा, तिनीहरूलाई अरूले छलफल गरिरहेका कुरामा परमेश्वरका वचनका सत्यताहरूसँग सम्बन्धित विशेष विषयवस्तु समावेश छ भन्ने थाहै हुँदैन। यी झुटा अगुवाहरूसँग आत्मिक बुझाइको कमी हुने र परमेश्वरका वचनहरू बुझ्ने क्षमता नहुने हुनाले, तिनीहरू सबै सत्यता लगभग उस्तै हुन्, सत्यताहरूले उठाएका मुद्दाहरूमा कुनै विशेष भिन्नता हुँदैन भन्ने सोच्छन्; तिनीहरूलाई लाग्छ, यी कुराबारे अनन्तसम्म कुरा गरे पनि, ती सबै मूलतः एउटै मुद्दा हुन्। यस्तो विश्वासले गम्भीर समस्यालाई सङ्केत गर्छ, र त्यसले गर्दा यस्ता व्यक्तिहरूले कहिल्यै सत्यता बुझ्दैनन्।
झुटा अगुवाहरूले मानिसहरूलाई सत्यता वास्तविकतामा डोऱ्याउन सक्दैनन्
अब यहाँ राम्रो क्षमता र बुझ्ने क्षमता भएका केही यस्ता व्यक्तिहरू छन्, जसले परमेश्वरका आधारभूत वचनहरूको केही अनुभव गरिसकेका र तिनमा प्रवेश पाइसकेका छन् र तिनीहरूमा केही सत्यता वास्तविकता छ, तर तिनीहरूलाई अझ विशेष मार्गदर्शन र अगुवाइ चाहिएको छ ताकि तिनीहरूको प्रवेश अझ राम्रो र अझ विस्तृत हुन सकोस्। झुटा अगुवाहरूले मात्र सत्यताका निश्चित वृत्तान्तले के जनाउँछन् वा तीबारे किन त्यो तरिकाले बताइन्छ भनेर बुझ्न सक्दैनन्, तिनीहरू त्यो भनेको कामकुरालाई अनावश्यक रूपमा जटिल पार्नु वा शब्दहरूको खेल खेल्नु हो भन्ने सोच्छन्। तिनीहरू सत्यतामा संलग्न विविध पक्षहरूलाई कसरी बुझ्ने वा अनुभव गर्ने भनेर बुझ्दैनन् वा जान्दैनन्। तसर्थ, तिनीहरूले अगुवा बनेपछि गर्न सक्ने भनेकै मानिसहरूलाई सामान्यतया सङ्गति गरिएका परमेश्वरका वचनहरू खान र पिउन अगुवाइ गर्नु, र त्यसपछि केही धर्मसिद्धान्तहरूबारे कुरा गर्नु, र प्रावधानहरू पालन गर्ने केही अभ्यास विधि सारांशीकृत गर्नु मात्र हो, अनि मानिसहरूले तिनीहरूबाट प्राप्त गर्ने कुरा भनेको केही सतही आत्मिक शब्द र सामान्यतया बोलिने शब्द र धर्मसिद्धान्त, प्रावधान र नाराहरू मात्र हो। नयाँ विश्वासीहरूका लागि झुटा अगुवाहरूले प्रचार गरेका कुराहरू मुस्किलले एक वा दुई वर्षका लागि पर्याप्त हुन सक्छ, तर एक वा दुई वर्षपछि, केही सत्यता बुझिसकेकाहरूले झुटा अगुवाहरूका भनाइ र शैलीहरू खुट्ट्याउन थाल्छन्। आधारभूत रूपमा बुझ्ने क्षमता नभएकाहरूका हकमा चाहिँ, झुटा अगुवाहरूले जसरी प्रचार गरे पनि, तिनीहरूले केही महसुस गर्दैनन्, केही थाहा पाउँदैनन्, र यी अगुवाहरूले प्रचार गरिरहेका कुरा केवल शब्द र धर्मसिद्धान्त हुन् तिनीहरूले बुझेका कुरा केही खोक्रा सिद्धान्त, नारा र प्रावधान मात्र हुन्, जुन सत्यता हुँदै होइनन् भनेर थाहै पाउँदैनन्। यी प्रकटीकरणहरूका आधारमा, के झुटा अगुवाहरूले “मानिसहरूलाई परमेश्वरको वचन खान र पिउन अनि परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न डोऱ्याउने” जिम्मेवारी पूरा गर्न सक्छन्? के तिनीहरूले यो भूमिका निभाउन सक्छन्? के तिनीहरूले आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छन्? (सक्दैनन्।) किन सक्दैनन्? मुख्य समस्या के हो? (यस्ता मानिसहरूमा आत्मिक बुझाइको कमी हुन्छ र उनीहरू सत्यता बुझ्न सक्दैनन्।) तिनीहरूमा आत्मिक बुझाइको कमी हुन्छ र तिनीहरू सत्यता बुझ्न सक्दैनन्, तैपनि अझै अरूलाई अगुवाइ गर्न चाहन्छन्—यो पूर्णतया असम्भव छ! झुटा अगुवाहरूले मानिसहरूलाई परमेश्वरका वचनहरू बुझ्न र परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न अगुवाइ गर्छन् भनेर अपेक्षा गर्नु त खोलालाई उँभो फर्काउन खोज्नुजस्तै हो—त्यो हुनेछैन! इमानदार व्यक्ति हुने उदाहरण नै लिऊँ: यो कुरामा परमेश्वरका वचनहरू निकै सरल छन्, ती केही वाक्य मात्र छन्, जटिल छैनन्। अलिकति शिक्षा पाएका हरकोहीलाई यी वचनहरूको अर्थ के हो भन्ने थाहा हुन्छ। तर झुटा अगुवाहरूले आफू कामका लागि र मानिसहरूलाई अगुवाइ गर्नका लागि सक्षम भएको प्रमाणित गर्न परमेश्वरका वचनहरूका आधारमा विस्तारमा बताउँछन्: “मानिसहरू इमानदार हुनुपर्ने परमेश्वरको मागको के महत्त्व छ? यो कि, इमानदार व्यक्ति हुनु नै परमेश्वरले प्रेम गर्ने कुरा हो। गैरविश्वासीहरू इमानदार हुँदैनन्, तिनीहरूले सत्यता बताउँदैनन्, र तिनीहरूले भन्ने कुरा सबै झुटा र छली हुन्छन्; सम्पूर्ण संसार झूटले भरिएको ठूलो राष्ट्र हो। तसर्थ, आज परमेश्वर आउनुहुँदा उहाँले माग गर्नुहुने पहिलो कुरा मानिसहरू इमानदार बनून् भन्ने हो। यदि तँ इमानदार व्यक्ति होइनस् भने, परमेश्वरले तँलाई प्रेम गर्नुहुनेछैन; यदि तँ इमानदार व्यक्ति होइनस् भने, तैँले मुक्ति पाउन सक्दैनस्, न तँ राज्यमा प्रवेश गर्न नै सक्छस्; यदि तँ इमानदार व्यक्ति होइनस् भने, तैँले सत्यता अभ्यास गर्न सक्दैनस्, र तँ निश्चित रूपमा छली व्यक्ति होस्; यदि तँ इमानदार व्यक्ति होइनस् भने, तँ सृजित प्राणीका रूपमा मानकअनुरूपको छैनस्।” के अब तिमीहरूले इमानदार व्यक्ति कसरी बन्ने भनेर बुझ्यौ? (अहँ।) त्यो सबै कुरा भनिसकेपछि पनि यो अझै स्पष्ट भएको छैन। यो कुरा सुनेपछि नयाँ विश्वासीहरूलाई भने यी शब्दहरू उत्कृष्ट लाग्छ, आफू धर्ममा बिस-तीस वर्ष रहँदासमेत नसुनेको कुराझैँ लाग्छ। कतिले त यसो समेत भन्छन्: “यी वचनहरू शक्तिशाली छन्, हरेक वाक्य ‘आमेन’ भन्न लायक छ। यो प्रवचन एकदमै राम्रो छ, यो साँच्चै राज्यको युगको प्रवचन हो!” त्यसपछि झुटा अगुवाहरूले आफ्नो कुरा जारी राख्छन्: “परमेश्वरले हामीलाई इमानदार मानिस बन्न भन्नुहुन्छ, त्यसोभए के हामी इमानदार मानिस हौँ त?” कतिले यसबारे यस्तो सोच्छन्: “परमेश्वरले हामीलाई इमानदार मानिस बन्न भनिरहनुभएको हुनाले, त्यसको अर्थ हामी अझै इमानदार मानिस भइसकेका छैनौँ।” कति त चुपचाप बस्छन् र यस्तो सोच्छन्, “म आफूलाई निकै सोझो मान्छु। म अरूसँग कहिल्यै लडाइँ गर्दिनँ, र व्यापार गर्दा, म कसैलाई पनि ठग्ने आँट गर्दिनँ। कहिलेकाहीँ, यदि मैले सानो फाइदा लिएँ भने, म राती सुत्न समेत सक्दिनँ। के म इमानदार व्यक्ति हुँ? मलाई त आफू सोझो व्यक्ति हुँ भन्ने लाग्छ, के त्यसको अर्थ इमानदार व्यक्ति हुनुजस्तै होइन र?” अरू भन्छन्, “म त स्वभावैले झूट बोल्न सक्दिनँ। मैले कुनै असत्य कुरा भन्नेबित्तिकै मेरो अनुहार रातो भइहाल्छ, त्यसैले म पक्कै पनि इमानदार व्यक्ति हुनुपर्छ, होइन र?” त्यसपछि झुटा अगुवाहरूले कुरा थप्छन्, “तिमी इमानदार व्यक्ति भए पनि वा नभए पनि, परमेश्वरको वचनले हामीलाई इमानदार हुन भन्ने हुनाले, तिमी इमानदार व्यक्ति हुनु जरुरी छ। यदि तिमी परमेश्वरका वचनहरूअनुसार चल्छौ भने, तिमी इमानदार व्यक्ति हौ। त्यसपछि तिमी छलीपनबाट, र शैतानको कालो प्रभावको बन्धनबाट मुक्त हुन्छौ। तिमी इमानदार व्यक्ति बनेपछि सत्यता वास्तविकतामा प्रवेश गर्छौ, आफ्नो कर्तव्य पूरा गर्न सक्छौ, र परमेश्वप्रति समर्पित हुन सक्छौ।” के अब तिमीहरूले कसरी इमानदार व्यक्ति हुने भनेर बुझ्यौ? (अहँ।) तैपनि, कतिपय त प्रसन्न हुन्छन्: “यी वचनहरू शक्तिशाली छन्। आमेन! हरेक वाक्य सही छ। यीमध्ये कुनै पनि परमेश्वरका वचनबाट सिधै आएको होइन, तर यो सबै परमेश्वरका वचनहरूबाट बुझिएको हो। यो बुझाइ असाधारण छ! म किन यसलाई यसरी बुझ्न सक्दिनँ? यस्तो लाग्छ, यो अगुवा साँच्चै उपाधिको योग्य छ, ऊ साँच्चै अगुवाइ गर्नकै लागि जन्मिएको हो!” यो कुरा सुनेपछि क्षमता र तीक्ष्णता भएका मानिसहरू यस्तो सोच्छन्: “तिमीले इमानदार व्यक्ति भनेको के हो भनेर व्याख्या गरेकै छैनौ। व्यक्ति ठ्याक्कै कसरी इमानदार बन्छ?” झुटा अगुवाहरूले भन्दै जान्छन्: “इमानदार व्यक्ति हुनु भनेको झुटो नबोल्नु हो। उदाहरणका लागि, यदि तिमीले पहिले व्यभिचार गरेका छौ भने, परमेश्वरलाई प्रार्थना गरेर त्यो कतिपटक र कोसँग गरेको हो भन्ने कुरा स्विकार। यदि तिमीलाई परमेश्वरलाई देख्न वा छुन सकिँदैन भन्ने लाग्छ भने, तिमीले अगुवासामु त्यो स्विकार्नुपर्छ, र सबै कुरा प्रस्ट्याउनुपर्छ। खुलस्त भएर स्वीकार गर्नु इमानदार व्यक्ति हुने सबैभन्दा आधारभूत मापदण्ड हो। त्यसबाहेक, यो आफ्नो हृदयको कुरा बताउनु, कुनै कुरामा झुट नमिसाउनु हो। तँ कुनै कुराबारे कसरी सोच्छस्, तँसँग कस्ता अभिप्रायहरू छन्, तँ कस्तो भ्रष्टता प्रकट गर्छस्, तँ कसलाई घृणा गर्छस् वा तैँले हृदयमा कसलाई सरापेको छस्, तँ कसलाई हानि गर्न वा कसको विरुद्ध षड्यन्त्र गर्न चाहन्छस्—यी सबै ती व्यक्तिहरूसामु स्विकार्नुपर्छ। यसो गरेर तँ खुलस्त र स्पष्टवादी बन्छस्, र ज्योतिमा जिउँछस्। इमानदार व्यक्ति हुनु भनेको यही हो। इमानदार व्यक्तिले आफ्नो अहम् त्याग्नैपर्छ; उसले आफ्नो हृदयको सबैभन्दा दुष्ट र अँध्यारो पाटो देखाउन र चिरफार गर्न सक्नैपर्छ।” यो सुनेर, के अब तिमीहरूले कसरी इमानदार व्यक्ति हुने भनेर बुझ्यौ? (अझै बुझेनौँ।) सुनेपछि पनि व्यक्तिले धर्मसिद्धान्तहरू मात्र बुझ्छ, कुनै खास अभ्यास बुझ्दैन। झुटा अगुवाहरूमा परमेश्वरका वचनहरूको यस्तो बुझाइ हुने भएकाले, तिनीहरूले मानिसहरूलाई परमेश्वरका वचनहरू खान र पिउन यसरी नै अगुवाइ गर्छन्, र सङ्गति पनि यसरी नै गर्छन्, र आफूले परमेश्वरका वचनहरू सबैभन्दा बढी बुझेको, आफूसँग परमेश्वरका वचनहरू बुझ्ने क्षमता भएको, र आफूले मानिसहरूलाई परमेश्वरका वचनहरूको वास्तविकतामा डोऱ्याउन सक्ने ठान्छन्। वास्तवमा, तिनीहरूले बुझ्ने र सङ्गति गर्ने कुरा त धर्मसिद्धान्त र नाराहरू मात्र हुन्छन्, जसले सत्यता वास्तविकता खोज्न र सत्यता सिद्धान्तहरू बुझ्न चाहनेहरूलाई कुनै मद्दत गर्दैनन्। तैपनि, झुटा अगुवाहरू आफूसँग बुझ्ने क्षमता एकदमै धेरै छ, आफूसँग परमेश्वरका वचनहरूबारे अद्धितीय अन्तर्दृष्टि छ, र आफू साधारण मानिसहरूभन्दा श्रेष्ठ हुँ भन्ठान्छन्। तिनीहरू यत्रतत्र यी धर्मसिद्धान्त र नाराहरू प्रचार गरिहिँड्छन्, र आफूलाई अरूसँग दाँज्नेसमेत गर्छन्, प्रायः यी धर्मसिद्धान्त र नाराहरू प्रयोग गरेर भनाभनमा उत्रन्छन्, अनि बारम्बार ती प्रयोग गरेर मानिसहरूलाई भाषण दिने, काटछाँट, आलोचना, र निन्दा गर्ने गर्छन्। तिनीहरूले यसो गरेर आफूले काम गरिरहेको, परमेश्वरका वचनहरूलाई वास्तविक जीवनमा ल्याइरहेको, र परमेश्वरका वचनहरू लागू गरिरहेको ठान्छन्। के यो समस्याजनक मामिला होइन र? झुटा अगुवाहरूले परमेश्वरका वचनहरू बुझ्न सक्दैनन्, तिनीहरूले मानिसहरूलाई परमेश्वरका वचनहरूको वास्तविकतामा डोऱ्याउन सक्दैनन्। परमेश्वरका वचनहरू पढेपछि, तिनीहरूले केही शब्द र धर्मसिद्धान्तहरू सङ्गति मात्र गर्न सक्छन्, तैपनि तिनीहरू यत्रतत्र प्रचार गर्दै र देखावा गर्दै हिँड्छन्। तर वास्तवमा तिनीहरूले परमेश्वरका वचनहरूमा भएको कुनै पनि सत्यता बुझ्दैनन्। उदाहरणका लागि, तिनीहरू आत्मिक शब्दहरू वा त्यस्तै अभिव्यक्तिहरू बुझ्दैनन्, न त तिनीहरूलाई तीबीचको भिन्नता के हो वा तिनलाई कसरी वास्तविक परिस्थितिसँग मिल्दो बनाउने भन्ने नै थाहा हुन्छ। प्रावधानहरू पालन गर्ने अनि शब्द र धर्मसिद्धान्तहरू ओकल्नेबाहेक, तिनीहरूमा परमेश्वरका वचनहरूको साँचो बुझाइ हुँदैन र तिनीहरूले साँचो रूपमा ती अभ्यास गर्दैनन्। तसर्थ, झुटा अगुवाहरू आफैले सत्यता बुझ्दैनन्, न त तिनीहरूले मानिसहरूलाई परमेश्वरका वचनहरू बुझ्न र सत्यता वास्तविकतामा प्रवेश गर्न अगुवाइ गर्न नै सक्छन् भन्ने कुरा स्पष्ट छ। हामीले यसलाई इमानदार व्यक्ति हुनेसम्बन्धी उदाहरणद्वारा व्याख्या गरेका छौँ। इमानदार व्यक्ति बन्नेसम्बन्धी सत्यता कसरी बुझ्ने भनेर थाहा नभएर, झुटा अगुवाहरू शब्द र धर्मसिद्धान्तहरू फलाक्ने र नाराहरू प्रचार गर्ने, र यसरी मूर्खहरू र आत्मिक बुझाइ नभएका भ्रमितहरूलाई बहकाउने र दिग्भ्रमित पार्ने कार्यमा लाग्छन्। यी शब्द र धर्मसिद्धान्तहरू सुनेपछि, तिनीहरूले झुटा अगुवाहरूलाई अत्यन्तै पुज्छन्, तर तिनीहरूलाई कैयौँ वर्ष पछ्याएपछि पनि सबैभन्दा आधारभूत सत्यताहरूसमेत बुझ्दैनन्, र तिनमा कुनै किसिमको प्रवेश पाउँदैनन्। हामी यो बुँदाबारे हाम्रो सङ्गति यहीँ टुङ्ग्याउँछौँ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।