अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१) खण्ड एक

झुटा अगुवाहरूलाई खुट्ट्याउन किन आवश्यक छ

अब हामीले ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणबारे सङ्गति सकाएका छौँ, आज हामी नयाँ विषय—झुटा अगुवाहरूका विभिन्न प्रकटीकरणहरू—बारे सङ्गति गर्नेछौँ। तिमीहरूले परमेश्‍वरमा विश्‍वास गरेका यतिका वर्षमा झुटा अगुवाहरूका हरप्रकारका प्रकटीकरण र अभ्यासहरू सामना गरेका छौ। परमेश्‍वरको घरले सबै तहका झुटा अगुवाहरू बरखास्त गर्ने क्रममा, धेरैजसो मानिसहरूले झुटा अगुवाहरूसम्बन्धी लगभग केही न केही समझ प्राप्त गर्छन्; अर्थात्, धेरैजसो मानिससँग झुटा अगुवाहरूको कतिपय विशिष्ट प्रकटीकरणबारे थोरथोरै बुझाइ हुन्छ। तर तेरो बुझाइ जेजस्तो भए पनि वा तैँले जेजति बुझे पनि, अन्ततः त्यो पर्याप्त रूपले व्यवस्थित वा विशिष्ट हुँदैन। मण्डली चुनावको अवधिमा, धेरै मानिसहरूले अगुवाहरू छान्ने सिद्धान्तहरू बुझ्न सक्दैनन्, र अगुवाका रूपमा कस्ता व्यक्तिलाई छान्ने र कस्तो व्यक्तिले अगुवाका रूपमा दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्‍वरका वचनहरूको वास्तविकतामा ल्याउन सक्छ, र कस्तो व्यक्ति मानकअनुरूपको अगुवा हो भनेर बुझ्न सक्दैनन्। तिनीहरू यी कुराबारे त्यति सचेत वा स्पष्ट हुँदैनन्। कतिपय त अलमल्ल र समझहीन मानिसहरूसमेत हुन्छन्, जसले चुनावमा हाकाहाकी झुटा अगुवाहरू चुन्छन्, अगुवाको क्षमता र मानवता भएका अगुवा बन्न साँच्चै योग्य र सक्षम व्यक्तिप्रति आँखा चिम्लेर जो झुटो अगुवाजस्तो छ उसैलाई छान्छन्। आधारभूत रूपमा अगुवा हुने क्षमता र मानवता नै नहुनेहरू बस बाहिरी उत्साह वा केही असल व्यवहारको कारण र “असल” हुनेबारे मानिसहरूको धारणासँग मिल्दो भएकै कारण चयन हुन्छन्, जबकि वास्तवमा नेतृत्व लिन सबै योग्यता हुनेहरू कहिल्यै चुनिँदैनन्। आकर्षणको केन्द्रबिन्दु हुन र आफूलाई उत्साहपूर्वक समर्पित गर्न खोज्ने—तर कुनै कार्य सामर्थ्य नभएकाहरू—सधैँ हरप्रकारका परिवेशमा देखा पर्छन्, र अत्यन्तै सक्रिय देखिन्छन्, र धेरैजसो मानिसहरूले यस्तो व्यक्ति नै योग्य हो र उसैलाई चयन गर्नुपर्छ भनेर सोच्छन्। परिणामस्वरूप, यस्ता मानिसहरू चुनिएपछि, तिनीहरूले कुनै काम काँधमा लिन सक्दैनन्। तिनीहरूले माथिका कार्य बन्दोबस्तहरू लागू गर्नसमेत सक्दैनन्, न त तिनीहरूलाई त्यो कसरी लागू गर्ने भनेर नै थाहा हुन्छ। तिनीहरूले आफूलाई सधैँ एकदमै उत्साहपूर्वक व्यस्त राख्‍ने गर्छन्, तर तिनीहरूले केही समय नेतृत्व गरेपछि पनि मण्डलीको कुनै पनि काममा सुधार आउँदैन र अलिकति पनि प्रगति हुँदैन, अनि दुष्ट मानिसहरूले बाधा पुऱ्याउने वा शक्ति हडप्ने भएर मण्डलीको काम अस्तव्यस्त हुने वा मानिसहरू एकजुट नहुने अवस्थाहरू प्रायः आइरहन्छन्। झुटा अगुवाहरूको कामले ल्याउने परिणामहरू यिनै हुन्। झुटो अगुवा चयन भएपछि, दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेश प्रभावित हुने र त्यसमा हानि पुग्ने मात्र होइन, त्यससँगै मण्डलीको कामका विभिन्न पक्षहरूमा समेत नकारात्मक असर पर्नेछ, जसले गर्दा सुसमाचार फैलाउने काम सहज वा प्रभावकारी ढङ्गमा सञ्चालन गर्न सकिँदैन। यो आंशिक रूपमा झुटो अगुवा आफैले निम्त्याएको समस्या हो, तर यो आंशिक रूपमा उसलाई चयन गर्नेहरूसित पनि सम्बन्धित छ। यदि तँ सत्यता सिद्धान्तहरू बुझ्दैनस्, तँमा समझशक्ति छैन, र तँ अन्धो छस् र मानिसहरूलाई छर्लङ्ग देख्‍न सक्दैनस् जसले गर्दा तैँले झुटो अगुवा चुन्न पुग्छस् भने, तैँले आफू र अरूलाई हानि गर्ने मात्र होइन, यसले गर्दा मण्डलीको काममा समेत हानि पुग्छ। यो नै झुटा अगुवाहरूले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेश र मण्डलीको काममा पुऱ्याउने प्रभाव र हानि हो। तसर्थ, हामीले झुटा अगुवाहरूका विभिन्न प्रकटीकरणहरू खुट्ट्याउन र तिनको सूची तयार पार्न जरुरी छ, अनि त्यसका आधारमा म तिमीहरूलाई एउटा मानकअनुरूपको अगुवाले कुन-कुन व्यवहारहरू देखाउनुपर्छ, कस्तो काम गर्नुपर्छ, र उसको जिम्मेवारीको दायरा ठ्याक्कै के हो भनेर बुझाउनेछु। झुटा अगुवाहरू खुट्ट्याउने विषय अत्यन्तै महत्त्वपूर्ण छ, किनभने यसले मण्डलीको काम, परमेश्‍वरका चुनिएका हरेक मानिसको जीवन प्रवेश, र विशेषगरी प्रत्येक कर्तव्यमा भइरहेको प्रगतिबारे बताउँछ। कतिले भन्‍न सक्छन्: “चुनावमा उठ्ने मेरो अभिप्राय छैन, न त ममा अगुवा वा कामदार बन्ने कुनै महत्त्वाकाङ्क्षा वा चाहना नै छ। म आफूबारे सचेत छु, र साधारण विश्‍वासी हुन यति भए पुग्छ, त्यसैले सत्यता सिद्धान्तहरूको यो पक्षसित मेरो कुनै सम्बन्ध छैन। यदि मैले सुन्न चाहेँ भने, म मेरो आफ्नै जीवन प्रवेश र मुक्तिबारे कुरा सुन्नेछु। झुटा अगुवाहरूका विभिन्न प्रकटीकरणहरू र तिनमा संलग्न सत्यताहरू मेरो जीवन प्रवेशमा सान्दर्भिक छैनन्, त्यसैले मैले ती सुन्नुपर्दैन वा ध्यान नदिई वा आधा मनले सुन्दै प्रक्रिया मात्र पूरा गरे हुन्छ, त्यसलाई गम्भीर रूपमा लिनु पर्दैन।” के यो राम्रो मनोवृत्ति हो? (होइन।) अरू भन्छन्: “ममा महत्त्वाकाङ्क्षा छैन, र म अगुवाको उम्मेदवार हुन चाहन्नँ। मैले बाल्यकालदेखि नै अधिकारी बन्ने वा अरूभन्दा अलग्गै देखिने अभिप्राय कहिल्यै राखिनँ, मलाई त सामान्य, साधारण व्यक्ति बन्न नै मन पर्छ। मैले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि नै म अनुयायी बन्न चाहन्थेँ। मलाई अरूको आदेश पालन गर्न मन पर्छ, र म उनीहरूले जे अह्राउँछन् त्यो गर्छु। यस्तो व्यक्ति हुनु कति सरल हुन्छ! म त चिन्ता गर्न वा बोझ बोक्न नचाहने सामान्य व्यक्ति मात्र हुँ, त्यसैले मैले यी कुराहरू सुन्नु आवश्यक छैन, न त म सुन्न नै चाहन्छु।” यो दृष्टिकोण सही हो कि होइन? (यो सही होइन।) यसमा के सही छैन? (तिनीहरूले अगुवा हुन नचाहे पनि, यदि तिनीहरूले सत्यताको यो पक्ष बुझ्दैनन् र झुटा अगुवाहरू खुट्ट्याउन सक्दैनन् भने, चुनावमा तिनीहरूले झुटो अगुवालाई चुन्ने सम्भावना एकदमै धेरै हुन्छ, जसले मण्डलीको काम र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा असर गर्नेछ।) यो एउटा पक्ष हो। अरू केही छ? (झुटा अगुवाहरूको समस्या हामी सबैमा हुन्छ, र हामीले आफूलाई जाँच्ने, आत्मचिन्तन गर्ने, र आफूलाई बुझ्ने गर्नुपर्छ।) (यदि हामीले झुटा अगुवाहरू चिन्न सकेनौँ भने हामी कहिले तिनीहरूद्वारा भ्रमित पारिनेछौँ भनेरसमेत थाहा पाउनेछैनौँ, र हाम्रो आफ्नै जीवनलाई कष्ट हुनेछ।) (यस्तो दृष्टिकोण सत्यता नपछ्याउनुको प्रकटीकरण हो। परमेश्‍वरको घरमा अगुवा बन्नु भनेको महत्त्वाकाङ्क्षी हुनु र संसारमा अधिकारी बन्न चाहनु जस्तो होइन। अगुवा हुनु भनेको सत्यता अझ राम्ररी पछ्याउनु, मण्डलीको कामको बोझ बोक्नु, र परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्नु हो। यो सत्यताप्रति लागिपर्नु हो।) (परमेश्‍वरका चुनिएका मानिस भएको नाताले, हामीसँग झुटा अगुवाहरूको रिपोर्ट गर्ने दायित्व र जिम्मेवारी हुन्छ। यदि हामी झुटा अगुवाहरू खुट्ट्याउन सक्दैनौँ भने, तिनीहरूलाई शक्ति हत्याउन र मण्डलीको काममा असर पार्न दिन सक्छौँ।) त्यसमा कतिवटा पक्ष भयो? (पाँचवटा पक्ष।) यी पाँचै पक्ष सही छन्, र निकै सटीक छन्। मैले भर्खरै बताएको खालको व्यक्तिको दृष्टिकोणका आधारमा यो समस्याको सारलाई चिरफार गर्दा, त्यसमा मूलतः यी पाँचवटा पक्षहरू छन्। तैँले अगुवा बन्न चाहे पनि वा नचाहे पनि, परमेश्‍वरका चुनिएका मानिस भएको नाताले तैँले अगुवा र कामदारहरूप्रति सुपरिवेक्षकको भूमिका निभाउनुपर्छ। परमेश्‍वरको घर तेरो पनि घर हो, र अगुवा भनेको एउटा सानो घर हेरचाहकर्ता हो। यदि उसले राम्ररी कामकुरा व्यवस्थापन गरेन भने, त्यसले तँलाई पनि असर गर्नेछ र मुछ्नेछ, त्यसैले तँसँग तिनीहरूका सबै कामको सुपरिवेक्षण गर्ने जिम्मेवारी र दायित्व हुन्छ।

अगुवा र कामदारहरूका पन्ध्र जिम्मेवारीहरूको सिंहावलोकन

झुटा अगुवाहरूलाई खुट्ट्याउन गाह्रो छैन, किनभने यस्तो व्यक्ति मण्डलीभित्र हुनु असामान्य कुरा होइन; तिनीहरू मण्डली अगुवा र मण्डलीको काम अस्तित्वमा आएदेखि नै अस्तित्वमा रहँदै आएका छन्। तिनीहरूको सामर्थ्य र बुझ्ने क्षमता, चरित्र र तिनीहरूले रोजेको मार्ग सबैमा कैयौँ निश्‍चित प्रकटीकरणहरू हुन्छन्। यी निश्‍चित प्रकटीकरणहरूलाई चिरफार गर्नुअघि, हामीले पहिला अगुवा र कामदारहरूका जिम्मेवारीहरू के-के हुन्, र त्यसमा मुख्यतः के-कस्तो खास काम समावेश हुन्छ भनेर बुझ्नुपर्छ। यो खास काम राम्ररी गर्न सक्नेहरू मात्र मानकअनुरूपको अगुवा र कामदार हुन्; यो काम गर्न नसक्नेहरू झुटा अगुवा हुन्। सायद धेरैजसो मानिसहरूसँग झुटा अगुवाहरू खुट्ट्याउने तरिका अझै नहुन सक्छ, र तिनीहरूले आधारभूत सिद्धान्तहरू नबुझ्न सक्छन् र कुन पक्षहरू खुट्ट्याउन सबैभन्दा महत्त्वपूर्ण छ भनेर नजान्‍न सक्छन्। आज, पहिला हामी अगुवा र कामदारहरूका जिम्मेवारीहरू एकएक गरी सूचीबद्ध गरेर ती ठ्याक्कै के-के हुन् भनी व्यवस्थित ढङ्गमा सङ्गति गरौँ, ताकि सबैले प्रस्ट रूपमा थाहा पाऊन्। यी सिद्धान्तहरू बुझेपछि, फेरि अगुवा र कामदारहरू चयन गर्दा, ठ्याक्कै कसरी चयन गर्ने र ठ्याक्कै कुन व्यक्तिलाई चयन गर्दा सही हुन्छ भनेर मापन गर्नका लागि तँसँग सही मानक हुनेछ। त्यसैले, पहिला अगुवा र कामदारहरूका जिम्मेवारीहरू सूचीबद्ध गरौँ।

अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू:

१. मानिसहरूलाई परमेश्‍वरको वचन खान र पिउन तथा बुझ्‍न अनि परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नको निम्ति अगुवाइ गर्ने।

२. हरेक किसिमका मानिसहरूको स्थितिबारे परिचित हुनु र तिनीहरूले आफ्नो वास्तविक जीवनमा सामना गर्ने जीवन प्रवेशसम्बन्धी विविध कठिनाइहरू समाधान गर्ने।

३. हरेक कर्तव्य उचित तरिकाले निर्वाह गर्नका निम्ति बुझ्‍नुपर्ने सत्यता सिद्धान्तहरूमा सङ्‍गति गर्ने।

४. विविध कामका सुपरिवेक्षकहरू र विविध महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूका परिस्थितिहरूका बारेमा सुसूचित रहने, र आवश्यकताअनुसार तिनीहरूका कर्तव्य खटनपटन तुरुन्तै समायोजन गर्ने वा तिनीहरूलाई बरखास्त गर्ने, ताकि अनुपयुक्त मानिसहरूलाई प्रयोग गर्दा हुने क्षति रोक्‍न वा घटाउन सकियोस्, र कामको कार्यकौशलता र सहज प्रगतिको प्रत्याभूति दिन सकियोस्।

५. प्रत्येक कामको स्थिति र प्रगतिको अद्यावधिक बोध र बुझाइ कायम राख्‍ने, अनि तुरुन्तै समस्याहरू समाधान गर्न, विचलनहरूलाई सच्याउन र कामका त्रुटिहरूको निदान गर्न सक्षम हुने ताकि कामको प्रगति सहज होस्।

६. सबै किसिमका योग्य प्रतिभालाई प्रवर्द्धन र संवर्धन गर्ने ताकि सत्यता पछ्याउने सबैले तालिम लिने मौका प्राप्त गर्न सकुन् र जतिसक्दो चाँडो सत्यता वास्तविकतामा प्रवेश गरून्।

७. फरक-फरक किसिमका मानिसहरूलाई तिनीहरूको मानवता र सबल पक्षका आधारमा समझदारीपूर्वक खटनपटन र प्रयोग गर्ने, ताकि हरेकलाई सर्वोत्तम रूपमा प्रयोग गर्न सकियोस्।

८. काममा अलमल र कठिनाइहरू उत्पन्‍न भएको अवस्थामा चाँडै रिपोर्ट गर्ने र मार्गनिर्देशनको खोजी गर्ने।

९. आवश्यकताको आधारमा, कार्यान्वयनको स्थितिको मार्गनिर्देशन, निगरानी, सुपरिवेक्षण, निरीक्षण र अनुगमन प्रदान गर्दै परमेश्‍वरको घरको विभिन्‍न कार्य बन्दोबस्तलाई सही ढङ्‍गबाट सञ्‍चार, जारी र कार्यान्वयन गर्ने।

१०. परमेश्‍वरका घरका विभिन्‍न सम्पत्तिहरूलाई (पुस्तकहरू, विभिन्‍न उपकरण, अन्‍नपात र यस्तै अन्य कुराहरू) उचित तरिकाले सुरक्षित गर्ने र विवेकपूर्वक परिचालन गर्ने, अनि क्षति र खेर जाने अवस्थालाई न्यून गर्न नियमित निरीक्षणहरू, मर्मत-सम्भार र सुधार गर्ने; साथै, दुष्ट मानिसहरूलाई ती कुराहरू हातमा लिनबाट रोक्‍ने।

११. विशेषगरी भेटीलाई व्यवस्थित ढङ्‍गबाट दर्ता, मिलान र सुरक्षित गर्ने कार्यको निम्ति मानक हदसम्‍म मानवता भएका भरपर्दा मानिसहरू छान्‍ने; आय र व्ययलाई निरन्तर पुनरावलोकन र जाँच गर्ने ताकि उडाउने र खेर फाल्‍ने स्थितिका साथै अनुचित खर्चहरू तत्कालै पहिचान गर्न सकियोस्—यस्ता कुराहरूलाई रोक्‍ने र उचित क्षतिपूर्ति माग गर्ने; यसअलावा, जुनसुकै माध्यम प्रयोग गरेर भए पनि, भेटीलाई दुष्ट मानिसहरूका हातमा पर्न र स्वामित्वमा लिनदेखि जोगाउने।

१२. परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा दिने विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने। ती कुराहरूलाई रोक्‍ने, प्रतिबन्धित गर्ने र परिस्थितिलाई सुल्टाउने; यसअतिरिक्त, सत्यता सङ्‍गति गर्ने ताकि परमेश्‍वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूबाट सुझबुझ विकास गरून् र ती कुराहरूबाट सिकून्।

१३. परमेश्‍वरका चुनिएका जनहरूलाई ख्रीष्टविरोधीको बाधा, बहकाउ, नियन्त्रण र गम्भीर हानिदेखि जोगाउने र तिनीहरूलाई ख्रीष्टविरोधीलाई चिन्‍न र आफ्नो हृदयबाट तिनीहरूलाई त्याग्‍न सक्‍ने बनाउने।

१४. सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई चाँडै खुट्ट्याउने, अनि निकाला वा निष्कासित गर्ने।

१५. सबै किसिमका महत्त्वपूर्ण काम गर्ने व्यक्तिहरूलाई बाहिरी संसारको हस्तक्षेपदेखि रक्षा गर्दै तिनीहरूको सुरक्षा गर्ने, र महत्त्वपूर्ण काम व्यवस्थित ढङ्‍गबाट अगाडि बढोस् भनेर तिनीहरूलाई सुरक्षित राख्‍ने।

अगुवा र कामदारहरूका जिम्मेवारीहरू कुल पन्ध्र बुँदामा सारांशीकृत गरिएका छन् र हामी यिनै आधारमा सङ्गति गर्नेछौँ। पहिला यी पन्ध्र बुँदामा रहेका प्रत्येक कामलाई हेरौँ। पहिलो तीन बुँदामा मानिसहरूले सत्यता बुझ्ने र जीवन प्रवेशको मुद्दाबारे बताइएको छ। यो अगुवा र कामदारहरूले गर्नुपर्ने सबैभन्दा आधारभूत काम हो, र यो प्रमुख कार्यवर्गहरूमध्ये एक हो। अगुवा वा कामदारका रूपमा, तैँले सबैभन्दा आधारभूत रूपमा यी कामहरू गर्न सक्नु, तँमा यस्तो क्षमता हुनु, यस्तो बोझ हुनु, र तैँले यो जिम्मेवारी उठाउन सक्नु जरुरी छ। तँमा हुनुपर्ने सबैभन्दा आधारभूत कुराहरू यिनै हुन्। अगुवा र कामदारहरूले परमेश्‍वरका वचनहरूमा सङ्गति गर्न, ती वचनहरूबाट अभ्यासको मार्ग भेट्टाउन, मानिसहरूलाई परमेश्‍वरको वचन बुझ्नतर्फ डोऱ्याउन, र मानिसहरूलाई परमेश्‍वरका वचनहरू अनुभव गर्न र वास्तविक जीवनमा ती वचनहरूमा प्रवेश गर्न र तिनलाई वास्तविक जीवनमा परिणत गर्न, ती वचनहरू प्रयोग गरेर वास्तविक जीवनमा र कर्तव्य निभाउने दौरान आइपर्ने विभिन्न समस्या वा कठिनाइहरू हल गर्नतर्फ डोऱ्याउन सक्नैपर्छ। यदि परमेश्‍वरका चुनिएका मानिसहरूसँग अगुवा वा कामदारले समाधान गर्नुपर्ने समस्याहरू छन्, तर त्यो अगुवा वा कामदारले ती समस्या हल गर्न सत्यता प्रयोग गर्न सक्दैन भने, त्यो अगुवा वा कामदार सबैभन्दा आधारभूत कामसमेत गर्न नसक्ने निकम्मा हो। यस्तो अगुवा वा कामदार मानकअनुरूपको होइन। चौथो र पाँचौँ बुँदा मण्डलीका विभिन्न कामहरू र ती कामका सुपरिवेक्षकहरूसँग सम्बन्धित छन्। यदि अगुवा र कामदारहरूले सुपरिवेक्षकहरूलाई उचित रूपमा निगरानी गरेनन् भने, मण्डलीको काम दुष्ट मानिसहरूद्वारा अस्तव्यस्त पारिन वा बिथोलिन सक्छ, यसले कामको प्रभावकारिता र प्रगतिमा प्रभाव पार्नेछ, र काम नै ठप्पसमेत हुन सक्छ। त्यसकारण, चौथो र पाँचौँ कार्यहरू पनि मानकअनुरूपको अगुवाले राम्ररी गर्नैपर्ने कार्य हुन्। छैटौँ र सातौँ बुँदाले सबै प्रकारका मानिसहरूको बढुवा, संवर्धन र प्रयोगबारे बताउँछन्। मानिसहरूलाई प्रयोग गर्ने सिद्धान्त भनेको सबैलाई सर्वोत्तम रूपमा सदुपयोग गर्नु हो, अनि जबसम्‍म मानिसहरूको मानवता मानकअनुरूप हुन्छ र जबसम्‍म तिनीहरूले परमेश्‍वरको घरका आवश्यक मानकहरू पूरा गर्न सक्छन्, तबसम्‍म सबै प्रकारका मानिसले आफ्नो कर्तव्य निभाउन सक्छन्। अर्थात्, सबै प्रकारका मानिसहरूलाई उचित कर्तव्य निभाउन सक्षम हुन दे; माछालाई जबरजस्ती जमिनमा जिउन लगाउने वा सुँगुरलाई जबरजस्ती उड्न लगाउने कोसिस गर्नुपर्दैन, यदि कुनै व्यक्ति कुनै कामका लागि उपयुक्त छ, उसले त्यो राम्ररी गर्न सक्छ, र ऊ दक्ष छ भने त्यो नै पर्याप्त हुन्छ। त्यसबाहेक, कतिपय काममा प्राविधिक, व्यावसायिक पक्षहरू समावेश हुन्छन्, र कति मानिसहरू तिनमा राम्रा हुन सक्छन् तर वास्तवमा तिनीहरूले त्यो क्षेत्रमा कुनै काम गरेकै हुँदैनन्, न त सान्दर्भिक सिद्धान्तहरू नै बुझ्छन्। यदि ती मानिसहरूले परमेश्‍वरका घरमा बढुवा र संवर्धन पाउने मानक पूरा गर्छन् भने, तिनीहरूलाई मौका दिएर बढुवा र संवर्धन गर्नुपर्छ, ताकि तिनीहरूले सिक्न सकून्। यसरी परमेश्‍वरको घरले विभिन्न काम गर्ने अझ उपयुक्त मानिसहरू पाउन सक्छ, र विभिन्न कामका लागि मण्डलीलाई मानिसहरूको खाँचो पर्दा रिक्त स्थान हुनेछैन। यी कुराहरू मानिसहरूलाई बढुवा र संवर्धन, अनि प्रयोग गर्ने दुई पक्षका सवाल हुन्। आठौँ र नवौँ बुँदाहरू हेरौँ: यी दुई बुँदाले अगुवा र कामदारहरूले कामलाई कुन मनोवृत्तिले लिन्छन् भन्‍नेबारे बताउँछन्, अर्थात्, तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गर्न सक्छन् कि सक्दैनन्, तिनीहरूमा बफादारी छ कि छैन, अनि परमेश्‍वरका मागहरू र उहाँको घरका बन्दोबस्तहरूप्रति व्यवहार गर्दा र काममा कठिनाइहरू आइपर्दा तिनीहरूसित असल काम गर्ने क्षमता छ कि छैन भन्‍नेबारे बताउँछन्। दसौँ र एघारौँ बुँदाले परमेश्‍वरको घरका भेटीहरू र सबै प्रकारका सम्पत्तिप्रति गरिने व्यवहारपछिका सिद्धान्तहरूबारे बताउँछन्। एकातिर, यी दुई बुँदाले मानिसहरूको क्षमता र कार्य सामर्थ्यबारे बताउँछन्, र अर्कोतिर तिनले मानवताका समस्याहरूबारे, व्यक्तिमा बफादारी छ कि छैन, र उसले आफ्नो जिम्मेवारी पूरा गर्न सक्छ कि सक्दैन भन्नेबारे बताउँछन्। अब बाह्रौँ, तेह्रौँ र चौधौँ बुँदाहरू हेरौँ, जुन मण्डलीमा हुने केही असाधारण परिस्थितिहरूसँग सम्बन्धित छन्—उदाहरणका लागि, यदि कसैले मण्डलीको सामान्य जीवनमा अवरोध र बाधा पुर्‍याइरहेको र अशान्ति मच्चाउँदै गरेको छ। अवश्य नै, सबैभन्दा गम्भीर कुरा भनेको ख्रीष्टविरोधीहरू वा निकालिनुपर्ने वा निष्कासित हुनुपर्ने खालका अन्य मानिसहरू देखा पर्नु हो। यस्ता मानिसहरूलाई कसरी र कुन सिद्धान्तहरूअनुसार सम्हाल्ने भन्ने कुरा पनि अगुवा र कामदारहरूको जिम्मेवारीको दायराभित्र नै पर्ने काम हो। समस्याहरू तुरुन्तै पत्ता लगाउन सक्नु, र कसैले अवरोध र बाधा पुऱ्याइरहेको थाहा पाउँदा त्यसलाई तुरुन्तै रोक्न, सम्हाल्न र समाधान गर्न, अनि मण्डलीको काम र मण्डली जीवनमा बाधा नपुगोस् भन्‍ने सुनिश्‍चित गर्न सक्नु—यी तीन बुँदाले चर्चा गर्ने सवालहरू यिनै हुन्। अन्तिम बुँदाले सबै प्रकारका महत्त्वपूर्ण कर्मचारीहरूको व्यक्तिगत सुरक्षाको मुद्दाबारे, साथै सबै प्रकारका महत्त्वपूर्ण कामको प्रत्याभूति दिन सकिन्छ कि सकिँदैन भन्ने सवालबारे बताउँछ। कर्मचारीहरू सुरक्षित छन् भने काममा प्रगति हुन सक्छ, तर यदि कर्मचारीको सुरक्षामा समस्या वा गुप्त खतराहरू आए भने, काम अघि बढ्न सक्छ कि सक्दैन भन्ने सवाल उठ्छ। जम्मा कतिवटा प्रमुख कार्यवर्गहरू छन् भनेर फर्केर हेरौँ। पहिलो, दोस्रो, र तेस्रो बुँदाहरू पहिलो वर्गमा पर्छन्: मानव जीवन प्रवेश। चौथो र पाँचौँ बुँदाहरू दोस्रो वर्गमा पर्छन्: मण्डलीका विभिन्न कामहरू र ती कामका सुपरिवेक्षकहरू। छैटौँ र सातौँ बुँदा तेस्रो वर्गमा पर्छन्: सबै प्रकारका मानिसहरूको प्रयोग, संवर्धन र बढुवा। आठौँ र नवौँ बुँदा चौथो वर्गमा पर्छन्: परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरू र कामका कठिनाइहरू। दसौँ र एघारौँ बुँदाहरू पाँचौँ वर्गमा पर्छन्: परमेश्‍वरको घरका भेटी र सम्पत्तिहरू। बाह्रौँ, तेह्रौँ र चौधौँ बुँदाहरू छैटौँ वर्गमा पर्छन्: मण्डलीमा घटित हुने असाधारण परिस्थितिहरू। पन्ध्रौँ बुँदा सातौँ वर्गमा पर्छ: मण्डलीको महत्त्वपूर्ण काम र कर्मचारीहरूको सुरक्षा। जम्मा सातवटा वर्गहरू छन् जसमा पन्ध्रवटा बुँदाहरू समावेश छन्। यी सात वर्गहरू अगुवा र कामदारहरूको जिम्मेवारीको दायराभित्र छन्, र ती तिनीहरूको कामका पाटो हुन्। अगुवा वा कामदारका रूपमा, तेरो कामका सबैभन्दा महत्त्वपूर्ण क्रियाकलापहरू यिनै सात वर्गहरू हुन्, अनि यी सात वर्गहरू अगुवा वा कामदारका लागि परमेश्‍वरको घरका मागहरूका दायरा हुन्। यदि हामी कुनै अगुवाले राम्रो काम गर्न सक्छ कि सक्दैन, उसमा कार्य सामर्थ्य छ कि छैन, ऊसँग अगुवा हुने क्षमता छ कि छैन, र ऊ मानकअनुरूपको अगुवा हो कि होइन भनेर मापन गर्न चाहन्छौँ भने, हामीले यी सात वर्गहरू प्रयोग गर्नुपर्छ। यो कुरा बुझेपछि, हामीले यी सात प्रमुख वर्गहरूका आधारमा, झुटा अगुवाहरूको प्रकटीकरण र विशेष अभ्यासहरू, साथै तिनीहरू झुटा अगुवा हुन् र मानकअनुरूपका अगुवा होइनन् भनेर प्रमाणित गर्ने तिनीहरूले आफू अगुवा हुँदा गरेका कुराहरू एकएक गरी सङ्गति र चिरफार गर्नेछौँ। यी सात वर्गहरूअनुसार मापन गर्दा निर्णायक प्रमाण निस्कन्छ, र यो तुलनात्मक रूपमा निष्पक्ष र उचित हुन्छ। लौ भन् त, हामीले एकएक गरी यी सातवटा वर्गमा सङ्गति गर्नुपर्छ कि पन्ध्रवटा बुँदामा? कसो गर्दा राम्रो हुन्छ? (पन्ध्रवटा बुँदालाई एकएक गरी सङ्गति गर्नु।) त्यो तिमीहरूको रुचिसँग मिल्छ—जति विस्तृत, उति राम्रो, होइन त? अब हामी झुटा अगुवाहरूका विविध प्रकटीकरणहरूबारे औपचारिक रूपमा सङ्गति थाल्नेछौँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्